Category: स्थानीय

  • ६० वर्षिय महिलाको हत्याका अभियोगमा १५ वर्षिय किशोर पक्राउ

    ६० वर्षिय महिलाको हत्याका अभियोगमा १५ वर्षिय किशोर पक्राउ

    सिद्धार्थनगर (भैरहवा), १० चैत : शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा इलाका प्रहरी कार्यालयले १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार गत चैत २ गते राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि कैची प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्न रहेका आरोपमा पक्राउ परेका किशोर मृतककै छिमेकी हुन् । किशोरले लागुऔषध किन्न पैसा अभाव भएपछि चोरी गर्ने उद्देश्यले पसलमा प्रवेश गरेको र सो क्रममा विवाद हुँदा हत्या गरेको बयान दिएका बताइएको छ ।

    प्रहरीका अनुसार मध्यरातमा भएको उक्त घटनामा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैची प्रहार गरेका थिए । घटनापछि फरार रहेका किशोरलाई प्रहरीले गत शनिबार नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • झापामा सवारी दुर्घटनामा मृत्यु

    झापामा सवारी दुर्घटनामा मृत्यु

    झापा, १० चैत । यहाँस्थित कचनकवल गाउँपालिका–४ मा सवारी साधन (सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गए राति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएको थियो ।

    सो दुर्घटना चालक गणेश गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल उपचारका लागि पठाइएकामा अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरी सिटी चालक स्थानीय वर्ष १९ का सैजन मियाँ, सिटी र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार, बालेनलाई संसदीय दलको नेता बनाउने

    रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार, बालेनलाई संसदीय दलको नेता बनाउने

    काठमाडौँ, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । यही चैत १२ गते अपराह्न २ः०० बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिनको दिउँसो ४ः०० बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो ।

    पार्टी सभापति रवि लामिछानेका अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको सो बैठकमा विविध विषयमा छलफल हुने बताइएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा जीत हासिल गरेको छ ।

  • नवलपरासी पूर्वमा गण्डकी प्रदेशकै सबैभन्दा बढी क्षयरोगी

    नवलपरासी पूर्वमा गण्डकी प्रदेशकै सबैभन्दा बढी क्षयरोगी

    मध्यविन्दु (नवलपरासी), १० चैतः गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सबैभन्दा बढी क्षयरोगी भेटिएका छन् । गत आव र चालु आवको तथ्याङ्कका आधारमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा प्रदेशकै सबैभन्दा बढी क्षयरोगी भेटिएका हुन् । चालु आवको फागुन मसान्तसम्म जिल्लामा ३६२ जना नयाँ क्षयरोगी भेटिएका छन् । चालु आवको फागुन मसान्तसम्म जिल्लामा १६ जना क्षयरोगीको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का क्षयरोग स्थानीय स्रोत व्यक्ति डिल्लीराम तिवारीले जानकारी दिए । उनका अनुसार नयाँमध्ये १४ वर्ष मुनिका दुई जना बालबालिका रहेका छन् ।

    “जिल्लामा अहिले ३६२ जना क्षयरोगीले औषधि सेवन गरिरहनुभएको छ”, उनले भने, “औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये बहुऔषधि प्रतिरोध बिरामी (डिआर) भएका आठ जनाको मध्यविन्दु प्रादेशिक अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीय रूपमा उपचार भइरहेको छ ।” चालु आवमा गण्डकी प्रदेशका अन्य जिल्लामध्ये कास्कीमा ३३१, तनहुँमा १८३, स्याङ्जामा १६०, गोरखामा १३४, बागलुङमा १३०, लमजुङ ६२, पर्वतमा ५२, म्याग्दीमा २९ र मुस्ताङमा १० जना क्षयरोगी भेटिएका छन् । गत आव २०८१र८२ मा नवलपरासी९बर्दघाट सुस्तापूर्व०मा ६७२ जना क्षयरोगी भेटिएका थिए । तीमध्ये १५ जनाको मृत्यु भएको क्षयरोग स्थानीय स्रोत व्यक्ति तिवारीले बताए ।


    “गत आवमा कास्कीमा ६५०, स्याङ्जामा ३४८, तनहुँमा ३१८, गोरखामा २७५, बागलुङमा २६२, लमजुङमा १०४, पर्वतमा ८४, म्याग्दीमा ५०, मुस्ताङमा १६ र मनाङमा चार जना क्षयरोगी भेटिएका थिए”, उनले भने, “क्षयरोगी भेटिएको सङ्ख्याका आधारमा नवलपरासी ९बर्दघाट सुस्तापूर्व० गण्डकी प्रदेशमै पहिलो जिल्ला हो ।”

    क्षयरोगको उपचार नवलपरासी९बर्दघाट का लागिसुस्तापूर्व०मा ७६ डट्स केन्द्र रहेको स्थानीय स्रोत व्यक्ति तिवारीले जानकारी दिए । मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा डिआर (ड्रक रेसिस्टेन्ट) होस्टेल रहेको छ । जहाँ अहिले आठ जना डिआर क्षयरोगीको आवासीय रूपमा उपचार भइरहेको छ । गण्डकी प्रदेशमा डिआर होस्टेल नवलपरासी (बर्दघाट सुस्तापूर्व) सँगै बागलुङ र कास्की जिल्लामा छ ।

    “क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा ६४५ डट्स केन्द्र रहेको छ”, उनले भने, “गण्डकी प्रदेशको ६१ स्थानमा माइक्रोस्कोपी केन्द्र, १० स्थानमा ‘जिनएक्सपट’ केन्द्र, तीन स्थानमा ‘एक्सपर्टएक्सङिआर’ केन्द्र, १० स्थानमा डिआर सवसेन्टर, एक÷एक स्थानमा होस्टेल र होमकेन्द्र रहेका छन् ।” नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा क्षयरोग खोज पड्ताल कार्यक्रमअन्तर्गत आठवटै पालिकामा गरी चार हजार ७७९ जनाको छातीको एक्स–रे गरिएको थियो भने ३२४ जनाको खकार परीक्षण गरिएको थियो । क्षयरोग खोज पडताल शिविर वाट ९२ जना नयाँ क्षयरोगी भेटिएको प्रादेशिक जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईंले बताए ।


    “जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गइरहेको छ”, प्रमुख चापागाईंले भने, “समयमै उपचार गराएमा पूर्ण रूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ ।” उनका अनुसार क्षयरोग एक सरुवा रोग हो । जुन माइकोव्याक्टेरियम ट्युबरकुलोसिसले सूक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासका माध्यमबाट सर्दछ । एक जना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने प्रमुख चापागाईंले बताए । बहुऔषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको उनले बताए ।


    विश्वका आठ वटा देशमा मात्र क्षयरोगका दुई तिहाइ बिरामी रहेका छन् । सोमध्ये २८ प्रतिशत भारतमा, नौ दशमलव दुई प्रतिशत इन्डोनेसियामा, सात दशमलव चार प्रतिशत चीनमा र सात प्रतिशत फिलिपिन्समा रहेका छन् । विश्वस्वास्थ्य सङ्गठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ ।

    नेपाल सरकारले क्षयरोग निवारणका लागि आव २०७७–७८ मा २३८ प्रतिलाख जनसङ्ख्यामा नयाँ क्षयरोग हुने दर भएकामा आव २०८२–८३ सम्ममा १८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य लिएको छ । प्रत्येक वर्ष मार्च २४ तारिखका दिन मनाइने विश्व क्षयरोग दिवस नेपालमा पनि आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको क्षयरोग दिवसको नारा ‘हो : हामी क्षयरोग अन्त्य गर्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ तय गरिएको छ ।

  • साउन यता १७ गैंडा मरे

    साउन यता १७ गैंडा मरे

    चितवन, ९ चैतः चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस आर्थिक वर्षमा बाघ ४ वटा, हात्ती ३ वटा र १८ वटा चित्तल मरेका छन् । चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही २र२ वटा, अजिङ्गर, सुन गोहोरो १र१ वटा र अन्य वन्यजन्तु ४ वटा मरेका छन् । ती वन्यजन्तु प्राकृतिक कारणले मरेका हुन् ।

    ती वन्यजन्तुहरू दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर, बाघको आक्रमणमा परेरलगायत कारण मरेका हुन् । यस आर्थिक वर्षमा सचेतनासँगै सामाजिक रूपमा जागेको भावनाका कारण चोरी शिकारीको निशानाबाट वन्यजन्तु जोगाउन सकीएको उनले बताए । समुदाय स्तरमा संरक्षणको चेतना बढेसँगै वन्यजन्तुको चोरी शिकारी न्यूनीकरणमा सहयोग पुगेको उनले बताए । गत आर्थिक वर्षमा ८१ वटा वन्यजन्तु मरेका थिए ।

  • नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    गण्डकी, ९ चैतः सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९ धन्दुरस्थित सिद्ध गुफा नौ तले संरचनामा फैलिएको छ । पृथ्वी राजमार्गअन्तर्गत भिमाद चोकबाट १० किलोमिटर दुरीस्थित धन्दुर क्षेत्रमा रहेको यो गुफामा अपेक्षित रूपमा पर्यटक भित्र्याउन सकिएको छैन । गुफा क्षेत्रको पूर्वाधार विकाससँगै यसको प्रवर्द्धनमा नगरपालिकाले निरन्तर काम गरिरहेको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी दिए ।

    ऐतिहासिक एवम् धार्मिक महत्वको यस गुफाको प्रवद्र्धनमार्फत यस क्षेत्रको पर्यटकीय विकास गर्ने नगरपालिकाको सोच रहेको छ । यो गुफाका सम्बन्धमा परापूर्व कालदेखि स्थानीय जानकार भए पनि पर्यटकीय पूर्वाधार विकास र प्रचारप्रसार हालै मात्र हुन थालेको सिद्ध गुफा विकास समितिका पूर्वउपाध्यक्ष बेलबहादुर थापाले बताए ।


    उनका अनुुसार गुफाको प्रवेश मार्ग साँघुरो भएका कारण निहुरिएर मात्रै भित्र पस्न सकिन्छ । विभिन्न तलामा संरचित यो गुफामा प्रवेश मार्गबाट करिब ३० मिटरभित्र पसेपछि पहिलो तला आउँछ । उक्त तलामा करिब १५० बढी मान्छे अटाउने ठाउँ छ । त्यसपछि दोस्रो, तेस्रो, चौथो हुँदै नवौँ तलासम्म गुफा फैलिएको छ ।

    नगरपालिकाका प्रमुख सुवेदीका अनुसार यस अघि पुरानो पुस्ताका मानिस नवौ तलासम्म पुगेका थिए । “मेरै पिताजीले गुफाको नवौँ तलासम्म पुगेको अनुभव सुनाउनुहुन्थ्यो भने मेरो दाजुुले सात तलासम्म पुगेको सुनाउनुभयो”, उनले भने, “चौथो तलासम्म मसहित धेरै जना पुगेका छौँ ।”

    अहिले पनि तेस्रो तलासम्म सजिलै पुग्न सकिने बताउँदै उनले चौथो तलामा जाने मार्गमा चुन ढुङ्गा पग्लिएका कारण अत्यन्त साँघुरो र जोखिमयुक्त भएकाले माथि जान रोक लगाइएको बताए । चौथो तलामा आँफूू पुग्दा त्यहाँ तत्कालीन राजा सुरेन्द्रको पालामा काटिएका सिक्का, पैसा चढाउने तामाको भाडाजस्ता पुरातात्विक महत्वका सामग्री देखेको उनको भनाइ छ ।

    सरकारले घोषणा गरेको देशका १०० पर्यटकीय गन्तव्यमा यस गुफा पनि एक रहेको छ । जिदी खोला किनारको जङ्गल क्षेत्रमा अवस्थित यस गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति देखिन्छन् । स्थानीय तेजबहादुर थापाकाअनुुसार यस गुफाको धार्मिक रूपमा पनि उत्तिकै महत्व छ । प्रत्येक वर्ष साउन महिनामा शिवको विशेष पूजासँगै स्थानीयले बाली लगाउने र भित्र्याउने समयमा यहाँ पूजाआजासहित नवान्न चढाउने गर्दछन् । यहाँ चैते दसैँमा मेला लाग्ने गरेको छ । पछिल्ला समयमा यहाँको पर्यटकको आकर्षण बढ्दै गएको छ ।

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

    काठमाडौँ, ८ चैतः मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो । मोरङको रङ्गेली नगरपालिका७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

  • ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

    ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

    काठमाडौंँ, ८ चैतः प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिने भएका छन् । ज्येष्ठ सदस्य केसीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल समक्ष बुधबार बिहान ११ः १५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    नवनिर्वाचित सांसद केसीले सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभा सञ्चालन गर्नेछन् । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित ७८ वर्षीय केसीले यही चैत १२ गते सङ्घीय संसद भवनमा प्रतिनिधिसभाका अन्य २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

  • कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत

    कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत

    काठमाडौँ, ८ चैतः नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकले सभापति थापाले यही चैत ३ गते पदबाट दिएको राजीनामाका सम्बन्धमा छलफल गरी अस्वीकृत गर्ने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारीलाई समेत मध्यनजर गरी उक्त निर्णय गरिएको उनले बताए ।


    बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाटीले प्राप्त गरेको परिणामको जिम्मेवारी केवल एक व्यक्तिका रूपमा पार्टी सभापति र विशेष महाधिवेशनबाट चयन भई केवल ५० दिन जिम्मेवारी सम्हालेको केन्द्रीय कार्यसमितिको मात्र नभएर समग्र पार्टीको साझा जिम्मेवारीको विषय रहेको निष्कर्ष निकालेको छ ।

    मुलुकको मौजुदा परिस्थितिमा कांग्रेस सभापतिको रूपमा थापाले निर्वाह गर्नुपर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभइसकेको वर्तमान अवस्थामा सभापति थापालाई पूर्ववत जिम्मेवारीमा फर्किन आग्रह गर्दै बैठकले सर्वसम्मतिबाट राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

    उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा यही चैत ६ गतेदेखि सुरु भएको बैठक आज सम्पन्न भएको हो । बैठकमा उपसभापति शर्माले गर्नुभएको प्रारम्भिक समीक्षा प्रतिवेदनलाई प्राप्त सुझावसमेत समावेश गरी परिमार्जनसहित पारित गरिएको छ ।

    यसैगरी बैठकले पश्चिम एसियामा चर्किएको युद्ध चाँडै अन्त्य हुने अपेक्षा गर्दै युद्धग्रस्त क्षेत्रमा लाखौँ नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक सक्रिय हुन सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै, हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी सकुशल स्वदेश ल्याउन कांग्रेसले सरकारसँग माग गरेको छ ।

    गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटनाहरू बारे न्यायिक जाँचवुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगद्वारा बुझाएको जाँचबुझ प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग बैठकले माग गरेको छ ।

    यसैगरी पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्य वृद्धि तथा नियमित आपूर्ति भइरहेको खाना पकाउने एलपी ग्यास वितरणमा बजारमा कृतिम अभाव सिर्जना गरिएकातर्फ कांग्रेसले ध्यानाकर्षण गराउँदै पेट्रोलियम पदार्थको मूल्य घटाउन र एलपी ग्यासको सहज आपूर्तिको व्यवस्थाका लागि पनि माग गरेको छ ।

    आजको बैठकमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे, सह–महामन्त्रीहरू डा डिला सङ्ग्रौला पन्त, बहादुरसिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही र मुक्ताकुमारी यादव तथा सदस्यहरू ओमकारप्रसाद श्रेष्ठ, सुरेन्द्रप्रसाद चौधरी, अमृत अर्याल, डा गोपाल दहित, तारामान गुरुङ, राजेन्द्रकुमार केसी, इ मोहन आचार्य, प्रतिमा गौतम, जानकी सिंह, नानु वास्तोला, अजयवावु शिवाकोटी, दिलकुमारी राई, शम्भुलाल श्रेष्ठ, हिमालय कर्माचार्य, नरेन्द्रकुमार केरुङ, दीपकजङ्ग शाह, रेशमबहादुर बानियाँले आफ्नो धारणा राखेका थिए ।

    यसैगरी सदस्यहरू कृष्णबहादुर केसी, उज्ज्वल बराल, दिपनकुमार श्रेष्ठ, वसन्त भट्टराई, प्रकाश पन्थ, कुसुमदेवी थापा मगर, नगेन्द्र कुमाल, मधु शाही, सीता मिजार, मनकुमारी गुरुङ, नवोदिता चौधरी, प्रवक्ता देवराज चालिसे, प्रदीपराज शर्मा, सुरेशकुमार योङ्ग्या, जगतप्रसाद जोशी, शम्भुबहादुर बुढाथोकी, तिलक रानाभाटले पनि आफ्ना धारणा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु राजेन्द्रगोपाल सिंह, प्रेमबहादुर खड्का, डा केदारनरसिंह केसी, प्रमोदहरि गुरागाइँ, तीर्थजङ्ग शाही, धर्मराज गौतम, वजरंग नेपाली, सन्तोषी साउँद ऐरी, गीता सत्याल, शारदादेवी कोइराला, रामानन्दप्रसाद यादव, उमा दाहाल, विष्णुदेवी पाण्डे, रामबहादुर कार्की, रामादेवी खड्का, चिनी पोखरेल, हिमबहादुर रावल, शिवनारायण सिंह गनगाई, छाया सुनार, गङ्गा सुनार, लीला नेपाली, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्यबहादुर विक, दिनेश सुनार, प्रमिला राई, छिन्दुल्होमु शेर्पा, अष्टकुमार कवे, छन्दबहादुर पहराई मगर, भीम श्रीस, बाला अधिकारी, मुना भुसाल, विनिता खड्का, सम्झना खत्री, विजयकुमार स्वाँर, मथुराप्रसाद घिमिरे, जगदीशचन्द्र उपाध्याय, चन्द्रकलाकुमारी यादव, रामपल्टन साह, राधेश्याम पाठक, रामरुप प्रसाद कुर्मी, नरेन्द्रप्रसाद भट्ट र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

  • पाँचथरमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

    पाँचथरमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

    रासस
    पाँचथर, ८ चैत । हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा १२ प्रतिशत मानिसमा नसर्ने रोगहरू देखापरेका छन । समुदायका ३० वर्षभन्दा माथिका चार सय ४३ जना मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशत मानिसहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्याजस्ता नसर्ने रोगका लक्षणहरू देखिएका हुन् ।

    स्वास्थ्य परीक्षणका लागि नआएका र गाउँ समाजमा आफ्नै काममा व्यस्त रहेका मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा यस्तो अवस्था देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेले जानकारी दिए । मधुमेह र उच्च रक्तचापको समस्याले सताए पनि स्वास्थ्य परीक्षण नै नगराइ बसेका मानिससमेत भेटिएको र उनीहरूलाई परामर्श तथा उपचारको प्रबन्ध गरिएको घिमिरेले बताए । “न्यूनतम १२ प्रतिशत स्वस्थ देखिने मानिसहरूमा नसर्ने रोगका लक्षण फेलापरेका छन्”, घिमिरेले भने, “हामीले गत वर्षदेखि नै नसर्ने रोग पहिचानको अभियान चलाइरहेका छौँ । जसमा उल्लेख्य मात्रामा बिरामी भेटिने गर्नुभएको छ ।”

    यहाँका स्वास्थ्य संस्थाहरूले विवाह, भोजभतेरजस्ता सामाजिक तथा धार्मिक कार्यक्रममा पनि सहभागीहरूको स्वास्थ्य परीक्षण गर्ने गरेका छन । मानिसहरू ठूलो स्वास्थ्य समस्या भएपछि मात्रै उपचारका लागि आउने र यो अवस्थासम्म धेरै ढिला भइसकेको हुने देखिएकाले खोजपड्ताल कार्यक्रम चलाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नै मधुमेह र उच्च रक्तचापका बिरामीका लागि निःशुल्क रूपमा औषधि वितरण गर्दै आएको घिमिरेले जानकारी दिए ।


    यस्तै स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ‘सेटलाइट क्लिनिक’ सञ्चालन गर्ने व्यवस्था गरी स्थानीय स्वास्थ्य संस्थाको पहुँचमा नरहेका व्यक्तिहरूलाई प्राथमिक उपचार, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजनका साधनको प्रयोगलगायत विषयमा जानकारी गराउँदै आएको छ । यो कार्यक्रम यहाँका सबै वडामा प्रत्येक महिनामा दुई दिन सञ्चालन हुने गरेको उनले जानकारी दिए ।


    नसर्ने रोगको खोजपड्तालकै क्रममा यहाँका चार जना बासिन्दामा कालाजार र छ जनामा क्षयरोग फेलापरेको छ । सामान्यतया जालाजारको सङ्क्रमण पहाडी क्षेत्रमा विरलै हुने भए पनि यहाँ चार जना बिरामी फेला परेपछि स्वास्थ्य संस्थामार्फत सचेतनाका कार्यक्रमलाई विस्तार गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए । यस्तै क्षयरोगका बिरामीलाई नियमित औषधि सेवनमार्फत निको पार्न र अन्य बिरामीको पहिचानका लागि खोजपड्ताल कार्यक्रमलाई निरन्तरता दिइएको घिमिरेको भनाइ छ । खोजपड्ताल कार्यक्रमले आगामी दिनमा बजेट विनियोजन तथा औषधि खरिद गर्न सहज भएको र सम्बन्धित बिरामी रोगबाट जटिल अवस्थामा पुग्नबाट बचेको उनले बताए ।


    गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले खोज र खोप अभियानअन्तर्गत धेरै बिरामी फेला पर्ने गरेका कारण खोज पड्ताल, सचेतना, उपचार र औषधि वितरणका लागि स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहित गरिएको बताए ।

  • रसुवा अस्पतालद्वारा सेवा विस्तार

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    रसुवा, ८ चैत । धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई सहज भएको छ । आर्थिक वर्ष २०८१–८२ देखि चालु आवको पुस मसान्तसम्म अस्पतालको बाहिरङ्ग सेवा ११ हजार ५९८ र अन्तरङ्ग सेवातर्फ तीन हजार ६६ बिरामीले सेवा लिएका छन् । सोही अवधिमा ११५ शल्यक्रिया गरिएका थिए ।

    अस्पतालद्वारा हालै आयोजित सामाजिक जवाफदेहिता सम्बन्धी कार्यक्रममा दिइएको जानकारी अनुसार १७ शय्याको सो अस्पतालले सामाजिक सेवाअन्तर्गत १८५ प्रकारका औषधि वितरण गरिरहेको छ । त्यस्तै, ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत ३० वर्षभन्दा माथिका ६६ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ ।

    विसं २०२१ मा ‘हेल्थपोस्ट’बाट सुरुआत भएको स्वास्थ्य सेवा विस्तारका क्रममा विसं २०४२ मा अस्पताल बनाइएको थियो । तत्कालीन समयमा डा विजय खनालले अस्पतालमा पहिलो सेवा प्रदान गर्नुभएको जनाइएको छ । कार्यक्रमका सहभागीहरूले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिँदै तत्काल नयाँ एम्बुलेन्स उपलब्ध गराउन माग गरेका थिए । सो अस्पतालाई निक साइमन संस्थाले चिकित्सकीय एव अन्य सहयोग गर्दै आएको छ । अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, घाउ–खटिरालगायतका शल्यक्रिया सेवा नियमित रूपमा सञ्चालनमा छन् । साथै भिडियो एक्स–रे, दन्त सेवा र प्रयोगशाला सेवा पनि विस्तार गरिएको छ ।

    कार्यक्रममा जनस्वास्थ्य अधिकृत झमप्रसाद आचार्यले अस्पतालको सेवा सुधार हुँदै जानकारी दिनुभयो । नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले विगतमा धामीझाँक्रीको निर्भर रहनुपर्ने अवस्थाबाट अहिले आधुनिक उपचार सेवा उपलब्ध हुनु सकारात्मक परिवर्तन भएको बताए । विसं २०७२ को विनाशकारी भूकम्पले अस्पतालका पुराना संरचना पूर्ण रूपमा ध्वस्त बनाएको थियो ।

    यसपछि करिब दुई वर्षसम्म ‘टेन्ट’मै बिरामी राखेर सेवा दिनुपरेको अवस्था थियो । अस्पतालको सेवा तत्काल सुचारु गर्न तत्कालीन वरिष्ठ जनस्वास्थ्य अधिकृत डा गुण शर्माले अथक योगदान दिएका थिए । नेपाल रेडक्रस सोसाइटी र विदेशी दातृ संस्थाको सहयोगमा प्रिफेब्रिकेटेड मोडेलको अस्पताल निर्माण भएपछि सेवा प्रवाह सहज बनेको हो ।

    अस्पतालका मेसु डा अमितकुमार साहले अस्पतालमा जटिल उपचार सेवासमेत सम्भव भएको बताए । कार्यक्रममा डा सुनिलकुमार दास, सञ्चालक समिति अध्यक्ष निवेश श्रेष्ठ, जनस्वास्थ्य अधिकृत आचार्यलगायतले अस्पतालको सेवा सुधारका बारेमा जानकारी दिँदै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी दिए । पत्रकार महासङ्घका अध्यक्ष केशवप्रसाद पौडेल तथा विभिन्न सञ्चारकर्मीहरूले अस्पतालको पारदर्शिता र सामाजिक जवाफदेहिताको अभ्यास प्रशंसनीय रहेको बताए ।

  • दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    रासस
    घोराही (दाङ), ८ चैतः यहाँको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत् सेवाको पहुँच पुगेको छ । विद्युत् सेवा विस्तारसँगै स्थानीय खुसी भएका छन् । सैघा बोल्दीका स्थानीय धनबहादुर सार्कीका अनुसार गाउँमा विद्युत् सेवा पुगेपछि सबैभन्दा राहत भएको छ । उनको घरमा करिब एक महिनाअघि मात्र विद्युत्को सेवा पुगेको हो । “पहिले अँध्यारोमा बस्नुपथ्र्यो । बालबालिकाले टुकी वा सोलारको भरमा पढ्नुपथ्र्यो”, उनले भने, “अहिले घरमा बत्ती बल्दा सहज भएको छ ।”

    उनका अनुसार मोबाइल चार्ज गर्नकै लागि करिब ३० मिनेट टाढाको गाउँ जानुपर्ने बाध्यता थियो । गाउँमा विद्युत् पुगेपछि अहिले त्यो समस्या अन्त्य भएको छ । घरमा कोही बिरामी पर्दा रातिको समयमा उज्यालोको व्यवस्था गर्न कठिन हुने गरेको थियो । एकपटक बिरामी पर्दा घोराही बजारबाट सोलार ल्याएर बालेको दिन अझै सम्झनामा छ ।

    उपमहानगरपालिकाभित्र बसोबास गरे पनि आधारभूत सेवा नपाउँदा आफूहरू उपेक्षित महसुस गर्दै आएको उनको गुनासो छ । स्थानीयहरूका अनुसार विद्युत् सेवा नहुँदा साना व्यवसाय सञ्चालन गर्न पनि असहज थियो । मिल, सिलाइकटाइ, कम्प्युटर सेवा, वेल्डिङजस्ता काम सम्भव थिएनन् । अब भने केही सहज भएको छ । युवाहरूले गाउँमै केही गर्न सक्ने वातावरण बन्दै गएको स्थानीयको भनाइ छ ।

    घोराही–१९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले वडाका सबै बस्तीमा विद्युत् सेवा विस्तार गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताए । यसका लागि आफू लागिपरेको उनले बताए । आफू निर्वाचित भएपछि २०७९ सालमा रु तीन करोड ६७ लाख लागतमा ठेक्का आह्वान गरी विद्युतीकरणको काम सुरु गरेको उनी बताउँछन् ।


    त्यसअघि प्रयास गरिए पनि सार्थकता पाउन सकेको थिएन । बाँकी रहेका ठाउँमा विद्युत् पुर्याउन २०८० सालको अन्त्यतिर पुनः अर्को ठेक्का प्रक्रियामार्फत कामलाई निरन्तरता दिइएको उनले जानकारी दिए । तर ठेक्दार कम्पनीले समयमा काम नगर्दा योजना प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको उनले बताए । नागरिकको घरमा छिटो विद्युत् पुर्याउने आफूहरूको योजनामा यसले समस्या भएको अध्यक्ष रायमाझीको भनाइ छ ।

    उनका अनुसार सैघामा धेरै बस्तीमा बिजुली बलेको छ तर लिथान, सातम, डाँडागाउँ, पाँचपोखरी र धनचौरलगायत बस्तीमा अझै सेवा पुग्न सकेको छैन । ती क्षेत्रमा काम छिटो सम्पन्न गर्न दबाब दिइरहेको उनले बताए । स्थानीयको अपेक्षा भने अब विद्युत्सँगै अन्य पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्नेछ । यस वडा पहाडी क्षेत्र भएकाले सडक, खानेपानी, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा समेत सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ ।

  • उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

    उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

    काठमाडौँ, ७ चैतः उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो । चुनाव हुनेमा धेरैतिरबाट आशङ्का व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकैपटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउनसक्नु चानचुने सफलता नभएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो ।’

    “चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गर्नुभएकोमा सम्माननीयज्यूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौँ,” अध्यक्ष घिसिङले भने, “तपाईँको नेतृत्वमा देशले सेफल्यान्डिङ पाएको छ । यसैमा खुसी छु । यति महत्त्वपूर्ण इतिहासको घडीमा मैले पनि केही समय यस सरकारमा रहेर काम गर्न पाएँ । अब संसद्मा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्छु ।”

    प्रधानमन्त्री कार्कीले उज्यालो नेपाल पार्टीले निर्वाचनमा भाग लिएर यस प्रक्रियालाई सघाएको भन्दै सरहाना गरिन् । यस्तै यस सरकारको सफलताका लागि घिसिङले खेलेको प्रभावकारी भूमिकाको पनि प्रशंसा गरिन् । त्यस अवसरमा उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री कार्कीसमक्ष खाडी क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षा तथा गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिकीकरणको माग पनि गरेको छ ।

  • बुटवल-नारायणगढ सडक अवरुद्ध

    बुटवल-नारायणगढ सडक अवरुद्ध

    मध्यविन्दु (नवलपरासी), ७ चैतः वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि बुटवल(नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएक छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका२ दाउन्ने खण्ड वर्षाले चिप्लो हुँदा उक्त सडक अवरुद्ध भएको हो ।

    दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक चिप्लो हुँदा सवारीसाधन फसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । उनका अनुसार शुक्रबार दिउँसोदेखि परेको वर्षाले सड्क हिलो र चिप्लो हुँदा उकालोमा सवारीसाधन पार हुन नसक्दा सवारीको जाम लागेको छ ।

    “हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा सवारीसाधन फसेर समस्या भएको छ”, प्रहरी उपरीक्षक खड्काले भने, “पूर्वबाट पश्चिम जाने सवारीहरू उकालोमा चिप्लिएकाले अहिले सडक अवरुद्ध भएको छ ।” दाउन्ने खण्डमा सडक अवरोध भएकाले सवारी आवागमनमा समस्या भएको जनाउँदै मर्मत सञ्चालनको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डको निर्माण नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।

    यसैबीच नारायणघाट–बुटवल सडक आयोजना कार्यालयले यही चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त सण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको हो । अहिले साना तथा लामो दूरीका यात्रुवाहक र आकस्मिक सेवाका सवारीसाधन सञ्चालन भइरहे पनि समस्या भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

  • भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

    भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

    काठमाडौँ, ७ चैतः काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उहाँहरूको उपचारका क्रममा गएराति राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । बसचालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।

  • भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    रुकुम पूर्व, ७ चैत्र (रासस) । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

    अहिले सो खण्डमा काठमाडौँबाट छुटेका रात्रिबसहरू फसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार लुकुम–पातिहाल्ना क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल फसेका छन् भने २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन् ।

    अहिले पनि निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक सञ्चालनमा चुनौती देखिएको छ । यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हँुदा थप समस्या भएको छ । यद्यपि यात्रुहरूको उद्धारको लागि स्थानीय तहसँग समन्वय भइरहेको उपरीक्षक ज्ञवालीले बताए ।

  • बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

    बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

    बाजुरा, ६ चैतः लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षासँगै यहाँका उच्च लेकाली भेगमा हिमपात सुरु भएको छ । मौसम विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना छ । हिमपात भएपछि बडिमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र बस्तीमा हिमपात भएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले राससलाई जानकारी दिए ।


    उनका अनुसार हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बुढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहलगायत क्षेत्रका स्थानीय बढी प्रभावित बनेका छन् । आज यहाँका डाँडा सेताम्मे भएका छन् । हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा, बालबालिका र दीर्घरोगी बढी प्रभावित भएका बताउँदै आवश्यक सर्तकता अपनाउन उनले सबैमा आग्रह गरे । बाक्लो हिमपातले बडीमालिका, पोरखेलेक, कालाजग्रा, बुढीनन्दा, रानीसैनलगायत अग्ला डाँडा सेताम्मे बनेका छन् ।

    यहाँका लेकाली भेगमा अहिले पनि हिमपात र भारी वर्षा भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी पुडासैनीले जानकारी दिए । उनका अनुसार जिल्लामा भारी वर्षा भइरहेकाले बाढीपहिरो र भूक्षयको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसधारणलाई आग्रह गरिएको हो । मौसम विभागले वर्षासँगै हुरीबतासको सम्भावना रहेकाले सर्तकता अपनाउन अनुरोध गरे ।

    लगातार वर्षा भएपछि चैते धानका लागि सिँचाइको व्यवस्था सहज भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गहुँको बाली पसाउने, ओसर, स्याउलगायत फलफूल पलाउने बेलामा वर्षा हुनु किसानका लागि उयपुक्त भएको कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताए । “गहुँको बाला लाग्ने बेला भएको छ । फलफूलका बिरुवा फुल्ने बेलामा आएको वर्षाले राहत दिएको छ । चैते धान लगाउन पनि सिँचाइको रूपमा वर्षाले काम गरेको छ”, उनले भने । आज बिहानदेखि निरन्तर वर्षा भएपछि जिल्लामा चिसो बढेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी बढी प्रभावित बनेका छन् । चिसो बढेकाले न्यायो कपडा र घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

    वन्यजन्तुको चोरीसिकारीको सम्भावना बढ्यो

    वर्षासँगै हिमपात भएपछि वन्यजन्तुको चोरीसिकारीको सम्भावना बढेको छ । हिमपातका कारण चिसोबाट बच्न वन्यजन्तु बेँसी झर्ने भएकाले त्यसको सिकारी गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएपछि जङ्गली जनावर घोरल, रतुवालगायत विभिन्न प्रजातिका जनावर न्यानो खोज्दै बेँसीतर्फ आउने भएका सोही मौकामा चोरीसिकारीको सम्भावना बढेको हो ।

    वन्जयजन्तु तथा जङ्गली जनावरको चोरीसिकारी नगर्न डिभिजन वन कार्यालयले सबैलाई आग्रह गरेको छ । जङ्गली जनावरको चोरीसिकारी भएमा वन ऐनअनुसार कानुनी कारबाही गरिने डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले जानकारी दिए । वन्यजन्तुको चोरीसिकारी रोक्न सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

  • बागमती र मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुद्वारा एमाले अध्यक्ष ओलीलाई समवेदना व्यक्त

    बागमती र मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुद्वारा एमाले अध्यक्ष ओलीलाई समवेदना व्यक्त

    भक्तपुर, ६ चैत । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँसहित मन्त्रीहरूको टोलीले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गरेका छन् । भक्तपुरस्थित अध्यक्ष ओली निवास गुण्डु पुगेर मुख्यमन्त्री बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा, भौतिक पूर्वाधारमन्त्री, अर्थमन्त्रीलगायतले एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त गरेका हुन् ।

    उनीहरुले ओलीका दिवङ्गत पिता मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे । त्यसैगरी मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले पनि ओली निवास गुण्डु पुगेर उनलाई समवेदना व्यक्त गर्नुका साथै अध्यक्ष ओलीका पिताप्रति श्रद्धाञ्जली व्यक्त गरे । त्यसैगरी नेकपाका नेता एवं पूर्वमन्त्रीहरू लीलामणि पोखरेल र शशि श्रेष्ठ, प्रतिनिधिसभा सदस्यमा भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित रास्वपा नेता राजीव खत्रीले पनि आज गुण्डु पुगेर ओलीलाई समवेदना व्यक्त गरे । ठमेल पर्यटन परिषदका अध्यक्ष ध्रुव अधिकारीलगायत विभिन्न दलका नेता तथा व्यवसायीहरुले ओली निवास पुगेर समवेदना व्यक्त गरे ।

  • प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

    प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

    जनकपुरधाम, ६ चैतः प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गरेकी छिन् । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन् । त्यसअवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गरे । मन्दिरका पुजारीबाट स्वस्तिवाचनसमेत गरिएको थियो । पूजा आराधनापश्चात् प्रधाममन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकनका साथै आवश्यक जानकारी लिएकी थिइन् ।

    पूजापछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले जनकपुरधाममा आफ्नो विशुद्द धार्मिक यात्रा भएको बताइन् । प्रधानमन्त्री कार्कीले जनकपुरधाम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल भएको बताइन् । उनले जनकपुरधामसहित देशभरका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले जनकपुरधामलाई अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरिन् ।

    उनले अन्तरिम सरकार जनताको अपेक्षाअनुसार सुशासन, विकास र स्थायित्वका लागि केन्द्रित रहेको बताउँदै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । यसअघि जनकपुरधाम जनकपुरविमानस्थलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रमुख सचिवसहित मधेस प्रदेश तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा धनुषाका प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद लुइँटेललगायतले स्वागत गरे ।

  • प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    जुम्ला, ५ चैतः प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गरेकी छिन् । मुगुस्थित रारा तालको भ्रमण सकाएर नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला आ्रएकी प्रधानमन्त्री कार्कीले कर्णाली प्राविधिक शिक्षालय भौतिक संरचनादेखि शिक्षालयको अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान चन्दननाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । कर्णाली प्राविधिक शिक्षालयका निमित्त कार्यालय प्रमुख मुक्ति भण्डारीले शिक्षालयका समस्यालाई प्रधानमन्त्री कार्कीसमक्ष राखिएको बताए ।

  • ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

    ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

    कैलाली, ५ चैत्र (रासस) । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उहाँकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार ना.६ख७७८ नम्बरको ट्रकले गोरुगाडालाई पछाडिबाट ठक्कर दिँदा ती दम्पती गम्भीर घाइते भएका थिए ।

    घाइते दम्पतीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकामा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकले ठक्कर दिँदा गोरुगाडा तान्ने दुवै गोरुको पनि मृत्यु भएको प्रनाउ तिमिल्सिनाले बताए । ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • कैलालीमा श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास

    कैलालीमा श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास

    सुदूरपश्चिम, ५ चैतः कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली प्रहार गरेका छन् । गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ । घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।


    बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमती सञ्जितासँग रामबहादुरले विवाद गरी आफ्नो साथमा रहेको भरुवा बन्दुकले प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए । उनले भने, “गए राति स्थानीयवासीले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ, घटना भएको समय यकिन भइसकेको छैन”, मृतक महिलाका माइती पक्ष आएपछि मात्र शव उठाउने तयारी भइरहेको छ ।

  • मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    सिबी अधिकारी–रासस
    काठमाडौँ, ५ चैतः गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन् । ढोकाबाट भित्र पस्ने जो–कोहीको नजर सिधै तिनै भित्तामा ठाकिन्छन् । ती तस्बिरमा ४५ अनुहारहरू छन् । निर्जीव तस्बिर भए पनि तिनका आँखामा हेर्दा अधुरा सपना र परिवर्तनको आह्वान गरिरहेको आभाष हुन्छ । अनि जिज्ञाशा उब्जिन्छ—यी तस्बिर गृह मन्त्रालयको ढोकैमा किन रु एकछिन अडिएपछि यो प्रश्नको उत्तर भेटिन्छ । ती तस्बिर त तिनै योद्धाहरूका हुन्, जसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुशासन र परिवर्तनका आह्वान गर्दा जीवन अर्पण गरेका थिए ।

    यहाँका अनुहारहरू केवल तस्बिर मात्रै होइनन्, यी त आशा, विद्रोह र बलिदानका साक्षी हुन् । भित्तामा टाँसिएका यी तस्बिरलाई नियाल्नुभयो भने अझै पनि ठूलो आवाजमा केही भनिरहेका जस्तो लाग्छ—हामीले दिएको बलिदानलाई बिर्सिनु त हुने छैन । बाहिर हालैको जेनजी आन्दोलनमा सहिद भएकाहरू र भित्र गृहमन्त्री ओमप्रकाश अर्यालको टेबल अगाडि राष्ट्र निर्माता पृथ्वीनारायण शाह तस्बिर । यसले इतिहास र वर्तमान एउटै कोठामा भेटिएजस्तो लाग्छ ।

    गृहमन्त्री अर्याल भन्छन्, “यी दुवै तस्बिरले नेपालको इतिहास बोक्छन् । कार्यालयमा छिर्दै गर्दा जेनजी आन्दोलनका सहिदहरूका तस्बिरले सुशासनको आह्वान सम्झाउँछ, जसले हामीमाथि भरोसा गरेर आफ्नो जीवन अर्पण गरे । यस्तै, टेबल अगाडि राष्ट्र निर्माताको तस्बिरले पनि हामी यहाँ हुनुको अर्थबोध गराउँछ ।”
    बाहिर सडकमा जीवन सामान्यजस्तै चलिरहेको छ, तर देश भने परिवर्तनको नयाँ मोडमा उभिएको छ । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले निर्वाचन सम्पन्न गरिसकेको छ । अब नयाँ सरकार बन्ने तयारी हुँदैछ, जसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने स्पष्ट जनमत छ ।

    मन्त्री अर्याल हरेक पटक ती तस्बिरहरूतर्फ फर्केर हेर्दा अझै पनि आफूलाई हरेर केही जवाफ माग्दै गरेको र केही प्रतिबद्धता खोज्दै गरेको अनुभूति हुने गरेको बताउँछन् । “के हामीले उनीहरूको सपना पूरा गर्न सक्छौँ ? यो प्रश्न म आफैँलाई र अरु सबैलाई हो”, उनी भन्छन् । यो प्रश्नको उत्तर सजिलो छैन, तर एउटा कुरा स्पष्ट छ—गृह मन्त्रालयको भित्तामा झुन्डिएका ती तस्बिरहरू केवल सम्झना होइनन्, चेतावनी पनि हुन् । ती तस्बिरमार्फत सहिदहरूले हरेक दिन सरकार र नागरिकलाई सम्झाइरहन्छन्—सुशासन केवल शब्दमा होइन, जिम्मेवारीमा झल्कनुपर्छ ।

    जेनजी–जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका व्यक्तिहरूलाई सरकारले सहिद घोषणा गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ कात्तिक १७ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सहिद घोषणा गरेबमोजिम यहाँ गृह मन्त्रालयमा सुशासन योद्धा र अमर प्रहरीहरूको तस्बिरसहितको विवरण राखिएको छ । यसमा ४५ जना सहिदको तस्बिर, नाम ठेगानासहितको विवरण छ ।

    मन्त्रालयको प्रवेशद्वार नजिकै सहिदको तस्बिर, गृहमन्त्रीको कार्यकक्षमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र उनका गुरु गोरखनाथको तस्बिर पनि छ । यसले पुर्खाप्रतिको सच्चा सम्मान, सहिदको स्मरण र गुरुप्रतिको सत्कार झल्केको छ । जेनजी योद्धा र अमर प्रहरीका तस्बिर गृह मन्त्रालय मात्रै हैन सिंहदरबारको दक्षिण प्रवेशद्वार तथा विभिन्न मन्त्रालय र देशभरका सिडिओ कार्यालयमा पनि राखिएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, विभिन्न सडक चोक र महत्त्वपूर्ण सार्वजनिक स्थानमा पनि यी तस्बिर राखिएका छन् । यो मुलुकमा भ्रष्टाचार नियन्त्रण, बेथितिको अन्त्यसहित परिवर्तनको मागसहित जेनजी युवाले गरेको बलिदानी र त्यस क्रममा सहादत प्राप्त गरेका राष्ट्रसेवक अमर प्रहरीको बलिदानीको चीरस्मरणका लागि राष्ट्रका तर्फबाट गरिएको सम्मान हो ।

    जेनजी आन्दोलनपछि गठित नागरिक सरकारको प्रमुख कार्यभार फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु थियो, जुन कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भइसकेको छ । निर्वाचनपछि मुलुक नयाँ सरकार निर्माणको चरणमा प्रवेश गर्दैछ । निर्वाचनको सबै नतिजा आएसँगै राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारको सिट बाँडफाँड पनि मिलाएर निर्वाचन आयोगलाई बुझाइसकेका छन् । निर्वाचनबाट झण्डै दुई तिहाइ सांसदसहित रास्वपाले नयाँ सरकारको नेतृत्व गर्र्दैछ ।

    गृहमन्त्री अर्याल गृह मन्त्रालयलगायत विभिन्न निकायमा राखिएका जेनजी योद्धा र अमर प्रहरीको तस्बिरले उनीहरूको बलिदानको उच्च कदर गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सधैँ झक्झक्याइ रहने बताउँछन् । “जेनजी युवाहरूको ऐतिहासिक आन्दोलनले मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । निर्वाचन सम्पन्न भएर सुशासन र आर्थिक समृद्धिको यात्रा तय गर्ने आधार बनेको छ । अब यो प्रक्रिया र परिवर्तनको आकाङ्क्षाबाट अलमल गर्ने छुट कसैलाई छैन । जेनजीको भावनाअनुरुप देश विकास र सुशासनसहितको समृद्धिको यात्रामा अगाडि बढ्नुको विकल्प छैन । यो कुरा सहिदहरूका यी तस्बिरले हरेक दिन सम्झाइरहने छ”, उनी भन्छन् ।
    जेनजी आन्दोलनको रापमा देशमा ७६ जनाको मृत्यु भयो । सयौँ घाइते भए । त्यसको केही दिनपछि अर्थात् नागरिक सरकार बन्यो । विसं २०८२ असोज ३० गते अर्यालले गृहमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । यसबीचमा जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग सरकारले १० बुँदे सम्झौता गरेको थियो । अब त्यो सम्झौता कार्यान्वयन गर्ने जिम्मेवारी पनि नयाँ सरकारको काँधमा आउँदैछ । त्यसमा जेनजी पुस्ताले मागेका सुशासन, पारदर्शी राज्य प्रणाली र भ्रष्टाचारको अन्त्य गर्दै देश निर्माणका आकाङ्क्षा जोडिएका छन् ।

    गृहमन्त्री अर्यालले नागरिक सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानकहरू स्थापित गरेको बताए । “निर्वाचनमार्फत राजनीतिक सुशासनको नयाँ मानक स्थापित गरका छौँ । आगामी सरकारले यी मानकहरूका साथै नवयुवाको चाहनाअनुसार अरु थुप्रै दायित्व निर्वाह गर्नुपर्नेछ । त्यसमा सबैको सकारात्मक पहलकदमी रहनुपर्छ”, उनको भनाइ छ,“यो बीचमा थुप्रै चुनौती थिए, तर हामी सुबैको प्रयास र संयमले कानुनी राज्यको बहाली गरी संविधानमा पुगेको क्षतिलाई निर्वाचनमार्फत परिपूरण गरेका छौँ । विगतको निर्वाचनभन्दा गुणस्तरीय निर्वाचन गरेर सहज रूपमा सत्ता हस्तान्तरणको बाटो बनेको छ ।यसलाई सम्हालेर अगाडि बढ्नुपर्छ ।”

  • बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    कञ्चनपुर, ५ चैतः यहाँ जिल्लाको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको जीविका परम्परागत बाख्रापालनमै निर्भर रहेको छ । बस्तीका नौ परिवारले बाख्रापालनलाई मुख्य पेसा बनाएर घरायसी खर्च धान्दै आएका छन् । कृषियोग्य जमिन कम भएको र वैकल्पिक आम्दानीको अभावका कारण यहाँका बासिन्दा बाख्रापालनमै आश्रित भएका हुन् ।

    स्थानीय साइमले धामीले आफूलगायत यहाँका धेरैजसो परिवारले बाख्रापालनबाटै जीविको चलाइरहेको बताए । उनले हाल ४० वटा बाख्रा पाल्दै आएका छन् । धामीका अनुसार उनले वर्षमा छ देखि १० वटासम्म खसी बिक्री गर्दै आएका छन् । “खसी बेचेर आएको पैसाले घरको नुन, तेल, लत्ताकपडा र अन्नपानीको जोहो मिलाउने गर्छौं”, उनले भने ।


    यहाँ जिउँदो खसी प्रतिकिलो करिब रु ५०० का दरले बिक्री हुने गरेको छ । धारापानी बस्ती खोला नजिकै रहेकाले अधिक बलौटे र ढुङ्गे माटोका कारण उब्जनी राम्रो हुँदैन । त्यसमाथि बाँदरले अन्नबाली सखाप पार्ने समस्या पनि छ । “अन्नबाली लगाउँदा बाँदरले नोक्सान गरिदिन्छन्, त्यसैले हाम्रो लागि बाख्रापालन नै एक मात्र भरपर्दो आम्दानीको स्रोत बनेको छ”, धामीले थपे, “बाख्रापालनबाट वार्षिक रु ५० हजारदेखि रु एक लाखसम्म आम्दानी हुने गरे पनि त्यो रकमले घरधन्दा चलाउन मात्र ठिक्क हुने गरेको छ ।”

    यहाँ वन क्षेत्र प्रशस्त भएकाले बाख्रा चराउन समस्या छैन । स्थानीय बालाराम गौतमले २४ वटा बाख्रा पालिरहेको बताए । बाख्रापालन आम्दानीको मुख्य स्रोत भए पनि त्यसको व्यवसायीकरणमा भने समस्या रहेको बताए । “यहाँ बाख्रा बिरामी भए उपचार पाइँदैन, कतिपय अवस्थामा उपचार नपाएर खोर नै रित्तो हुने गरेको छ”, उनले गुनासो गरे । “परम्परागत तरिकाले गोठमा राखेर बाख्रापालन गर्दै आएका छौँ । उन्नत जातका बाख्रापालन गरे उत्पादन र आम्दानी दुवै बढ्ने सुनिए पनि हामीले त्यसअनुसार गर्न सकेका छैनौँ ।”

    उनका अनुसार आवश्यक ज्ञान, सीप र लगानी भए बाख्रापालनलाई गुजारामुखीभन्दा पनि बलियो आम्दानीको स्रोत बनाउन सकिने गौतमको बुझाइ छ । “हामीसँग खरी जातका बाख्रा छन्, तौल कम हुने भएकाले मूल्य पनि कम पाइन्छ” उनले भने, “दुई दशकभन्दा बढी समयदेखि बाख्रापालन गर्दै आए पनि आधुनिक प्रविधि र तालिमको अभावले अपेक्षित प्रगति गर्न सकिएको छैन । सरकारबाट तालिम र अनुदानको व्यवस्था भए हामीलाई धेरै सहज हुन्थ्यो ।”

    बस्तीका अन्य किसानहरू पनि उस्तै समस्याबाट जुझिरहेका छन् । साइमले र बालारामजस्तै सुरेन्द्र महराले ४०, मूल्याल साहुले ३५ र मोहन महराले १७ वटा बाख्रापालन गर्दै आएका छन् । उहाँ सबैको जीविका यसै व्यवसायमा निर्भर छ । पछिल्लो समय चितुवाको आक्रमणले किसानहरू थप समस्यामा परेका छन् । सुरेन्द्र महराका अनुसार दैनिकजसो चितुवाले बाख्रा मार्ने गरेको छ । वनमा चराउन पठाएका बाख्रामध्ये दिनमै दुईदेखि चार वटासम्म चितुवाले मारेर खाने गरेको उनले दुःखेसो पोखे । “चितुवाले बाख्रा नखाएको दिन नै हुँदैन । रातदिन भोक–निन्द्रा नभनी बाख्राको स्याहारसुसारमा लागेका छौँ, तर चितुवाले यसरी नोक्सान गर्दा निकै पीडा भएको छ । यस समस्याका कारण बाख्रापालन व्यवसाय विस्तार गर्नसमेत कठिन भएको छ”, महराले भने ।


    स्थानीय मोहन महराका अनुसार वन क्षेत्र नजिकै भएकाले चितुवाको जोखिम उच्च रहेको छ । बाख्रा चराउन पठाउँदा सुरक्षा व्यवस्था नहुँदा किसान सधैँ त्रासमा बस्न बाध्य छन् । “पशु स्वास्थ्य सेवा, तालिम, उन्नत जातका बाख्रा, गोठ सुधार र बिमा जस्ता सुविधाको अभावले पछाडि परेका छौँ”, उनले भने, “सरकारी तथा गैरसरकारी निकायबाट आवश्यक सहयोग प्राप्त भए बाख्रापालन व्यवसायलाई व्यवस्थित र लाभदायक बनाउन सकिन्छ ।”

    धारापानी बस्तीका बासिन्दाले बाख्रापालनलाई दिगो र सुरक्षित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पशु उपचार सेवा विस्तार, तालिमको व्यवस्था, अनुदान कार्यक्रम र वन्यजन्तु नियन्त्रणका उपाय तत्काल लागू गर्न यस क्षेत्रका बासिन्दाले माग गरेका छन् ।

  • पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    भोजपुर, ५ चैतः भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
    यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु २० हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । उनका अनुसार प्रभावित परिवारको अवस्थालाई दृष्टिगत गर्दै स्थलगत निरीक्षणपछि प्रतिपरिवार रु २० हजारका दरले राहत प्रदान गर्ने निर्णय गरिएको हो ।

    “प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोग पु¥याउनु हाम्रो दायित्व हो”, अध्यक्ष राईले भने, “क्षतिको विवरण सङ्कलनसँगै राहत वितरणलाई तीव्रता दिइएको छ ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हावाहुरीका कारण नौ परिवारका घरमा क्षति पुगेको बताए । ती सबै परिवारलाई राहत उपलब्ध गराइने उनले जानकारी दिए । हावाहुरीका कारण कच्ची तथा टिनका छाना भएका घरहरू बढी प्रभावित भएका छन् ।

  • आगामी महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

    आगामी महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

    काठमाडौँ, ५ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ६ गते शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ती जारी गरी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ६ गते शुक्रबार बस्न लागेको जानकारी दिए ।
    उक्त बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ ।

    बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । उक्त बैठकमा उपस्थिती हुनका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ ।

  • केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

    केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

    काठमाडौँ, ४ चैतः जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा कैदीबन्दी अझै फरार रहेको जानकारी दिए । “भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८० कैदीबन्दी थिए, जेनजी आन्दोलनका क्रममा तीन हजार ५१७ कैदीबन्दी भागेका थिए ।

    तीमध्ये अधिकाशं कैदीबन्दी फिर्ता भए, हाल एक हजार २०० कैदीबन्दी अझै फरार छन्,”उनले भने । हाल केन्द्रीय कारागारमा तीन हजार ३१३ कैदीबन्दी छन् । जसमध्ये एक हजार ९२० कैदी, एक हजार ४९३ थुनुवा छन् । केन्द्रीय जेलमा एक हजार ७४९, भद्र जेलमा एक हजार २५० र महिला जेलमा ३१४ कैदीबन्दी रहेको सूचना अधिकारी रेग्मीले बताए । केन्द्रीय कारागारमा जेनजी आन्दोलनका क्रममा सामान्य क्षति भएको थियो । कारागारभित्र रहेका पाँचवटै भवन सुरक्षित भएकाले पुनः कैदीबन्दीलाई फर्काउन सहज भएको कारागार प्रशासनले जनाएको छ ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

    काठमाडौँ, ४ चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले बिहीबार बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए ।


    समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले बिहीबार बेलुकी ५ः३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरको हलमा पत्रकार सम्मेलनको आयोजनासमेत गरेको छ । आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनका लागि एकल रूपमा स्पष्ट बहुमत प्राप्त गरेको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार नै प्रमाणपत्र प्रदान गर्ने तयारी पूरा भएको पनि उनले सुनाए । कान्तिपथस्थित बहादुर भवनमा रहेको केन्द्रीय कार्यालयमा बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । कानुनमा तोकिएको ‘क्लस्टर’ अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्ने गरी तयारी पूरा भएको हो ।

    समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी)बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार–चार जना सांसद निर्वाचित भएको आयोगले सोमबार नै घोषणा गरिसकेको छ ।


    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले नौ, नेकपा आठ, श्रम संस्कृति पार्टी तीन, राप्रपा र स्वतन्त्र एकरएक स्थानमा निर्वाचित भएका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी प्रतिनिधिसभामा कुल २७५ जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।

  • बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

    बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

    केदार मगर–रासस
    खोटाङ, ४ चैतः केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएको थियो । चालकसहित छ जना सवार एयर डाइनेष्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । दुर्घटनामा परेका काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको जनाइएको छ ।

    घाइते काजीबहादुर र चालक सविन थापालाई एयर डाइनेष्टी कम्पनीकै नाइन–एनएएनए नम्बरको अर्को हेलिकोप्टरबाट १२ः ३५ बजे नै उपचारका लागि काठमाडौँ पठाइएको छ । खार्तम्छाका वडाध्यक्ष मिलन राईका अनुसार काजीबहादुरलाई दुर्घटनाग्रस्त हेलिकप्टरले थिचिरहेको अवस्थामा उद्धार गरिएको हो । सो हेलिकप्टरमा एक महिनाअघि बेलायतमा निधन भएकी बालाबेँसी निवासी ७७ वर्षीया मनलक्ष्मी राईको शव अन्त्येष्टि गर्न मृतकका आफन्तहरु आएका थिए । मृतकका श्रीमान् ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई र ललितपुर घर भएका घाइते काजीबहादुर हेलिकोप्टरमा सवार रहेको प्रहरीले जनाएको छ ।

    आफन्तका अनुसार मृतक मनलक्ष्मीको शव भने गाडीमार्फत भोलि बिहीबार बालाबेँसी आइपुग्ने व्यवस्था मिलाइएको थियो । हेलिकप्टर दुर्घटनामा परेका आफन्त भने सकुशल रहेको वडाध्यक्ष राईले जानकारी दिए । दुर्घटनालगत्तै चालकले इञ्जिन अफ गरेपछि थप क्षति हुन नपाएको हेलिकोप्टरमा सवार बालकुमार राईले बताए ।
    “घटना सम्झिँदा सपनाजस्तो लाग्छ । सबैको होस् उडिसकेको थियो । म अगाडिको सिटमा बसेको थिएँ”, उनले भने, “यस्तो दुर्घटना हुँदा पनि बाँच्न सकियो । चालकले तत्कालै इञ्जिन अफ गर्नुभयो । चलिरहेको इञ्जिन अफ भएपछि थप क्षति हुनबाट जोगियौँ ।” एयर डाइनेष्टी कम्पनीका क्याप्टेन सविनसँग सात वर्षको कार्यअनुभव र कूल एक हजार १०५ घण्टा हेलिकप्टर उडाएको रेकर्ड रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । उडानका क्रममा कुनै प्राविधिक समस्या आएको हो वा अन्य कारण, त्यसबारे कम्पनीले अहिले केही खुलाएको छैन ।

    एयर डाइनेष्टीका प्रवक्ता एवम् वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जारी गरेको विज्ञप्तिमा घटनाको यथार्थ कारण पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख छ । बारीको डिलमा अवतरण गरिएको हेलिकप्टर पुनः उठाएर बारीको बीचमा लैजान खोज्दा पछाडिको भाग पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टरको पङ्खा र पुच्छर टुक्रिएको अवस्थामा बारीको कुनामा थुप्रिएको छ । बालाबेँसीमा भएको हेलिकप्टर दुर्घटनाको अनुसन्धान तथा सर्जमिन गर्न अर्को हेलिकप्टरमा काठमाडौँबाट विज्ञ टोली आएर अनुसन्धानपछि फर्किएको स्थानीयले बताएका छन् ।

  • खोटाङमा हेलिकप्टर दुर्घटना, एक घाइते

    खोटाङमा हेलिकप्टर दुर्घटना, एक घाइते

    ४ चैत, काठमाडौं । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट खोटाङ पुगेको हेलिकप्टर दुर्घटनामा परेको हो । ९ एन -एएफक्यु हेलिकप्टर बिहान ११ बजे काठमाडौंबाट उडेको थियो । हेलिकप्टर खोटाङमा बारीको पाटोमा अवतरण गर्दागर्दै दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा एक यात्रु घाइते भएका छन् । पाइलट सहित ६ यात्रु हेलिकप्टरमा सवार थिए ।