Category: स्थानीय

  • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै, यस्तो छ प्रक्रिया

    प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै, यस्तो छ प्रक्रिया

    काठमाडौँ, २७ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।

    संविधानमा ३० दिनभित्र भनिए पनि सचिवालयले भने बैठक आह्वानका लागि विगतदेखि एक वा दुई हप्ताभन्दा ढिला नगरेको सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिए । “सचिवालयले नवनिर्वाचित सांसदहरूलाई काठमाडौँ आउनका लागि करिब १० दिनको समय दिएर संसद् बैठकका लागि सूचना आह्वान गर्छ । यहीबीचमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुहुन्छ र उहाँले अरु सांसदलाई शपथ गराउनुहुन्छ”, उनले भने ।


    सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्ने कानुनी प्रावधान रहेको प्रवक्ता गिरीले जानकारी दिए । “संसद्को पहिलो बैठकले सभामुखको निर्वाचन घोषणा गर्छ, साथै सभामुखको अनुपस्थितिमा भूमिका निर्वाह गर्नका लागि प्रत्येक दलबाट तीन जनाका दरले सांसदको नाम मागेर अनुमोदन गरिन्छ । त्यसपछि बस्ने पहिलो बैठकमा अध्यादेश छन् भने पेस गरिन्छन्”, उनले भने ।

    हलको भने अभाव
    निर्माणाधीन संसद् भवनको निर्माण सम्पन्न भइनसकेकाले अबको प्रतिनिधिसभाको केही समयसम्म अर्को प्रयोजनका लागि निर्मित हलमा बस्ने तयारी भइरहेको प्रवक्ता गिरीले जानकारी दिए । “प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि निर्माणाधीन भवनको बीचमा रहेको उक्त हलमा बैठक तयारीका लागि आवश्यक प्राविधिक व्यवस्थापन काम भइरहेको छ”, उनले भने ।


    सहरी विकास मन्त्रालय र निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरबीच विसं २०७६ असोज १६ गते भएको सम्झौताअनुसार सङ्घीय संसद् भवन तीन वर्षभित्र अर्थात् २०७९ असोज १५ गतेसम्म निर्माण भइसक्नुपर्ने थियो । कोरोना महामारीलगायत विभिन्न कारण देखाउँदै हालसम्म उक्त भवन निर्माण सम्पन्न हुन सकेको छैन ।

    एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । संसद् भवनभित्र मुख्य भवन आठ वटा हुनेछन् । भवनभित्र ३५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने सानाठूला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन् । यसका चार अतिरिक्त अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, दुईवटा क्यान्टिन क्रमशः १०० र ३०० जना अट्ने क्षमताका र ३९० वटा गाडी पार्किङ क्षमता हुनेछ ।

  • सभापति लामिछानेको चुनावी खर्च नौ लाख ८९ हजार

    सभापति लामिछानेको चुनावी खर्च नौ लाख ८९ हजार

    चितवन, २७ फागुनः चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले निर्वाचन खर्च विवरण पेस गरेका छन् । उनी रास्वपा सभापति समेत हुन् । निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार रु नौ लाख ८९ हजार ९८७ खर्च भएको उल्लेख छ ।

    आयोगमा पेस गरिएको पत्रमा मनोनयन दर्ता खर्च रु १० हजार, नमूना मतपत्र सामग्री छपाइमा रु ६८ हजार १६१, यातायात तथा इन्धन खर्च रु दुई लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च रु १४ हजार २००, वडास्तरीय प्रचारप्रसार रु ४६ हजार, प्रचारप्रसारका लागि झण्डा र ब्याच खरिद रु एक लाख १२ हजार भएको जनाइएको छ ।

    यसैगरी प्रचारप्रसारका लागि ब्यानर र ‘स्टिकर’ खरिद रु ५५ हजार, खाद्यान्न तथा रासन खरिद रु एक लाख ९६ हजार, हवाई खर्च रु १३ हजार ६२६ र गोष्ठी भेलामा रु एक लाख ८० हजार खर्च भएको जनाइएको छ । सो पार्टीको भरतपुर महानगर सभापति सीता ज्ञवालीले खर्च विवरण मङ्गलबार निर्वाचन आयोगमा पेस गरेका हुन् ।

  • पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

    पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

    पर्वत, २७ फागुनस् पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतमा अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण ४६ वटा बङ्गुर मरिसकेका छन् ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका क्षेत्रमा पालिएका केही बङ्गुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो हुने, खाना नखाने र अचानक मृत्यु हुने जस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो । नमूना सङ्कलन गरी गरिएको ¥यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

    थप पुष्टि गर्न नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, पोखरा पठाइएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए । कार्यालयले रोगको शङ्का देखिएको क्षेत्रमा अनुगमन बढाएको छ । साथै रोग फैलिन नदिन किसानलाई बङ्गुर पालनस्थल सफा राख्ने, फार्ममा नियमित रूपमा चुन, ब्लिचिङ पाउडर, फर्मालिनलगायतका औषधि प्रयोग गरी निसङ्क्रमण गर्ने, बिरामी बङ्गुरलाई छुट्टै राख्ने र फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरिएको उनले बताए ।


    शङ्कास्पद अवस्थामा बङ्गुरको नमूना प्रयोगशालामा परीक्षण गराउन, मरेका बङ्गुरलाई गहिरो खाडल खनेर गाड्न वा जलाउन, घरपालुवा बङ्गुरलाई जङ्गली बङ्गुरसँग सम्पर्क हुन नदिन तथा होटल वा भान्साबाट निस्कने फोहर खुवाउन नहुने उनले बताए । पर्वतका विभिन्न पालिकामा गरी ४० भन्दा बढी व्यावसायिक बङ्गुर फार्म रहेका छन् । अहिले सदरमुकाम आसपास यो रोग पुष्टि भएको र आवश्यक सतर्कता नपनाएमा अन्य क्षेत्रमा सङ्क्रमण बढ्ने खतरा रहेकोले कृषकहरुलाई सचेत हुन आग्रह गरिएको छ ।

  • समानुपातिकतर्फ एक करोड छ लाख ८३ हजार मत गणना, कुन पार्टीलाई कति मत ?

    समानुपातिकतर्फ एक करोड छ लाख ८३ हजार मत गणना, कुन पार्टीलाई कति मत ?

    काठमाडौँ, २७ फागुनः समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड छ लाख ७९ हजार ३६२ मत गणना भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको राति १२ः०० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १४ हजार १८५ मत प्राप्त गरेको छ ।

    नेपाली काग्रेसले १७ लाख ३८ हजार ९८, नेकपा ९एमाले०ले १४ लाख ४३ हजार ८६४, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ९६ हजार ६३२, श्रम संस्कृति पार्टीले तीन लाख ७६ हजार ७००, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २८ हजार ७३० मत प्राप्त गरेको छ । जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार २०३, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७० हजार ८३२ ,जनमत पार्टीले ७८ हजार ७९४ प्राप्त गरेको छ । मतगणना जारी छ ।

  • कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो

    कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो

    भेरीगङ्गा (सुर्खेत), २६ फागुनः प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ । प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाममा नेपाली कांग्रेसले एक लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ । कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ मतसहित दोस्रो स्थान हासिल गरेको छ ।

    यसैगरी नेकपा (एमाले)ले एक लाख २० हजार ८६३ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा एक लाख सात हजार १०१ मत ल्याएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीले आठ हजार ५३७ मत ल्याएको छ । नेपाल मजदुर किसान पार्टीले पाँच हजार १३० मत प्राप्त गरेको छ । कर्णालीबाट श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार हजार ६७५ मत प्राप्त गरेको छ ।

    कर्णालीभर ९० उम्मेदवारको जमानत जफत

    प्रदेश निर्वाचन कार्यालय कर्णालीका अनुसार प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवारी दिएका ९० जनाको जमानत जफत भएको छ ।
    प्रदेशभर जम्मा १३८ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ९० जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए । जसअन्तर्गत सुर्खेतका क्षेत्र नम्बर १ मा १३ उम्मेदवारमध्ये १० जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्बर २ मा १७ उम्मेदवार रहेकामा १४ उम्मेदवारको जमानत जफत भएको छ । यस्तै, दैलेख क्षेत्र नम्बर ६ जना तथा क्षेत्र नम्बर २ मा सात जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

    यस्तै, जाजरकोटका आठ, सल्यानमा १०, रुकुम पश्चिममा नौ, कालीकोटमा छ, जुम्लामा छ, मुगुमा चार, डोल्पामा ६ जना र हुम्लामा चार उम्मेदवारको जमानत जफत भएको छ । छत्तीस उम्मेदवारले १०० मतसमेत ल्याउन सकेनन् । कर्णाली प्रदेशका १० जिल्लामा बदर मतको सङ्ख्या धेरै छ । दश जिल्लाको प्रत्यक्ष र समानुपातिक बदर मत ४३ हजार ५०० रहेको छ ।

  • रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

    रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

    त्रिवेणी (रुकुम पश्चिम), २६ फागुनः रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ ।
    उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी किनारामा फेला परेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

    उनका अनुसार १२ वर्षीया सपना ओलीको खोजी भइरहेको छ । उर्मिला र कल्पनाको ५०० मिटर दूरीको अन्तरमा शव फेला परेको हो । उनीहरु हिजो छिमेकीको विवाहमा गएका थिए । घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थलमा प्रहरी निरीक्षक पुनसहितको प्रहरी टोली र अस्थायी प्रहरी पोष्ट छिनखेतबाट प्रहरी टोली पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।

  • ललितपुरबाट चितुवाको उद्धार

    ललितपुरबाट चितुवाको उद्धार

    काठमाडौँ, २६ फागुनः ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कूलको स्टोरबाट आज बिहान एक चितुवाको उद्धार गरेको छ । सो टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरीय प्रहरीको टोलीको संयुक्त सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको हो ।

    अनुमानित १० वर्षको ६० केजी तौलको चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको सदर चिडियाखाना प्रमुख सत्यनारायण साहले जानकारी दिए । उपचारपछि उक्त चितुवालाई प्राकृतिक बासस्थानमै छोडिने उनले बताए ।


    चिडियाखानाले विगत एक वर्षमा २४१ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारी जीवलगायतको उद्धार गरेको छ । त्यसमध्ये उपचार गरी ५७ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारीलाई प्राकृतिक बासस्थानमै छाडिएको थियो । चिडियाखानामा हाल ११५ प्रजातिका एक हजार ३०० बढी वन्यजन्तु छन् ।

  • कम्यूनिष्ट गढ मानिने गण्डकीमा यस पटक एमाले र नेकपाको प्रतिनिधित्व शून्य

    कम्यूनिष्ट गढ मानिने गण्डकीमा यस पटक एमाले र नेकपाको प्रतिनिधित्व शून्य

    गण्डकी, २६ फागुन । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन् । गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ । विसं २०७९ को चुनावमा गण्डकीबाट एमालेले पाँच र नेकपाले दुई निर्वाचन क्षेत्रमा जितेको थियो । अघिल्लो चुनावमा १० क्षेत्रमा जितेको नेपाली कांग्रेस पनि यसपटक गण्डकीमा दुई सिटमा सीमित रह्यो । विसं २०७९ को चुनावमा बागलुङ–१ मा विजयी बनेको राष्ट्रिय जनमोर्चाका उम्मेदवारको यसपालि जमानत नै जफत भयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ निर्वाचन क्षेत्रमा विजयी बन्न सफल भयो । म्याग्दी, मुस्ताङ र मनाङबाहेकका जिल्लामा रास्वपा उम्मेदवारले जितेका हुन् । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बने । मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली र मनाङमा पनि नेपाली कांग्रेसकै टेकबहादुर गुरुङले संसद्को यात्रा तय गर्न सफल भए ।

    रास्वपाले प्रदेश राजधानी रहेको कास्कीलगायत अधिकांश जिल्लामा जित निकालेको हो । रास्वपाबाट कास्की–१ खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ विजयी बने । बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी बने ।


    बागलुङ–१ मा सुशील खड्का र बागलुङ–२ मा सोम शर्मा बिजयी भए । स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार विजयी बने । स्याङ्जा–१ बाट धनञ्जय रेग्मी र स्याङ्जा–२ बाट झविलाल डुम्रे ससंद्मा पुगे । तनहुँका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले जितेका छन् । तनहुँ–१ मा स्वर्णिम वाग्ले र तनहुँ–२ मा श्रीराम न्यौपाने विजयी बने ।


    यस्तै, नवलपुर–१ मा रास्वपाकै राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी बने । लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी विजयी बने । पवर्तबाट रास्वपाकै सागर भुसालले ससंदीय यात्रा तय गरे । गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित्यो । गोरखा–१ मा सुदन गुरुङ र गोरखा–२ मा कविन्द्र बुर्लाकोटी विजयी बने ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

    प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

    चितवन, २६ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो ।

    कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो । उहाँका अनुसार क्षेत्र नं १ मा १८ जना, क्षेत्र नं २ र ३ मा २३–२३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्र नं १ मा रास्वपा, नेपाली कांग्रेस र एमालेका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको छ । सो क्षेत्रमा ९६ हजार १५४ मत खसेको थियो । ९१ हजार ८९९ मत सदर भएको थियो ।

    चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको उनले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा ८७ हजार २२१ मत खसेको थियो । यसमा ८४ हजार २३२ मत सदर भएको थियो । यस्तै, क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीबाहेक अन्य दल र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ ।

    सो क्षेत्रमा एक लाख ५३ मत खसेको थियो । समग्र जिल्लामा दुई लाख ८३ हजार ४२८ मत खसेको उनले जानकारी दिए । जिल्लामा समानुपातिकतर्फको मतगणनासमेत अन्तिम चरणमा पुर्याइएको छ । चितवन २ र ३ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ भने क्षेत्र नं १ को अन्तिम अवस्थामा पुगेको सूचना अधिकारी श्रेष्ठले बताए ।

  • रसुवामा नौ जनाको धरौटी जफत

    रसुवामा नौ जनाको धरौटी जफत

    रसुवा, २६ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका रूपले मनोनयन पत्र दर्ता गराएका नौ उम्मेदवारको धरौटी जफत भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार धरौटी जफत हुनेमा छ दल र तीन स्वतन्त्र उम्मेदवार छन् ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ को दफा ६४ बमोजिम नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरे, प्रगतिशील लोकतान्त्रिकका दावा मिङ्मर तामाङ र नेकपा माओवादी (विप्लब) का होमप्रसाद आचार्य छन् ।


    यसैगरी, स्वतन्त्र उम्मेदवारमा क्रमशः त्रय चित्रकुमारी देवकोटा, मिङ्मर तमाङ र सागर लामा रहेको मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए । सदरको १० प्रतिशत मत प्राप्त गर्नुपर्नेमा सो प्रतिशत नपुगेका कारण धरौटी जफत भएको र सो रकम राज्यकोषमा सदर गरिने जनाइएको छ ।


    नियमानुसार पुरूषकोभन्दा महिला उम्मेदवारको ५० प्रतिशत शुल्क कम हुने भएका कारण रसुवा जिल्लाबाट महिला उम्मेदवारका रूपमा एकमात्र चित्रकुमारी देवकोटा खडा भएकी थिइन् । उनको नामबाट पाँच हजार र अन्य पुरूष उम्मेदवारको हकमा रु १० हजारका दरले जम्मा भएको रू ९५ हजार सरकारको खातामा जाने बताइएको छ ।

    रसुवामा नौ दल र तीन स्वतन्त्र गरी कुल १२ जना उम्मेदवारमध्ये नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका थिए । धरौटी फिर्ता पाउनेमा रास्वपाका वसन्त भट्ट र नेकपा एमालेका प्रेम तामाङ छन् । यस्तै, निर्वाचन ऐननियमअनुसार सबै उम्मेदवारले चुनावी खर्च विवरण ३५ दिनभित्र बुझाउन दल एवं स्वतन्त्र उम्मेदवारलाई आइतबार पत्राचार गरिएको जिल्ला निर्वाचन अधिकारी राजन रायले जानकारी दिए ।

  • यी हुन्, पैँतीस वर्षमुनिका माननीय

    यी हुन्, पैँतीस वर्षमुनिका माननीय

    प्रगति ढकाल–रासस
    काठमाडौँ, २५ फागुनः गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ । यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन् । पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब भने नयाँ पुस्ताको उपस्थिति बाक्लो देखिने भएको छ ।

    विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका धेरै युवा पुस्ताले विभिन्न निर्वाचन क्षेत्रमा प्रभावशाली मतसहित विजय हासिल गरेका छन् । उहाँहरूको जितले नयाँ सोचलाई अवसर दिन चाहेको सन्देश पनि दिएको छ । अब संसद्मा प्रवेश गरेका यी युवा सांसदहरूले जनताले राखेको अपेक्षा कत्तिको पूरा गर्न सक्छन् भन्ने हेर्न बाँकी नै छ । यस निर्वाचनको परिणामले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा भने पक्कै दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ३५ मुनिका २० उम्मेदवार निर्वाचित भएका छन् ।

    यसैगरी, नेपाली कांग्रेसबाट एक, श्रम संस्कृति पार्टीबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना गरी यसपटक २३ जना ३५ वर्षमुनिका उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका छन् । ३५ वर्षमुनिका सांसदको अग्रसूचीमा छन्, ३० वर्षीया सोविता गौतम । दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य गौतम चितवन–३ बाट विजयी भइन् ।


    उनले ५९ हजार २७७ मत ल्याइन् । गौतमको निकतम प्रतिस्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन् । ३० वर्षको उमेरमा उनी दोस्रोपटक प्रतिनिधिसभाको सांसद बनेकी छिन् । उनले २०७९ सालको प्रतिनिधिसभामा काठमाडौँ–२ बाट जित हासिल गरेकी थिइन् । कानुनमा स्नातक अधिवक्ता गौतमले अत्यधिक मतका साथ विजयी भइन् ।


    पैँतीस वर्षमुनिकै अर्का सांसद हुनुहुन्छ, सुलभ खरेल । २०५४ साल भदौ बुटवलमा जन्मिएका खरेल २८ वर्षको उमेरमा नै सांसद बन्ने अर्को उम्मेदवार हुन् । उनी प्रतिनिधिसभा सदस्यको चुनावमा रूपन्देही–२ बाट ५६ हजार ५५० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी पूर्वअर्थमन्त्री विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याए । खरेलले नेपाल ल क्याम्पसबाट पाँचवर्षे बिए–एलएलबी अध्यायन गरेका छन् ।


    प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार रुविना आचार्य विजयी भइन् । विराटनगरमा जन्मिएकी आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले १२ हजार ८५० मत ल्याए । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको चुनावमा बदनकुमार भण्डारी भए ।

    भुम्लु गाउँपालिका–२ मा जन्मिनुभएका बदनले ५३ हजार ३४४ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याए । भण्डारी ई–कमर्स व्यवसायी तथा मिडियाकर्मी समेत हुन् । ३३ वर्षीय भण्डारीले स्नातक (बिए) उत्तीर्ण हुन् ।


    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापा क्षेत्र नम्बर १ बाट निर्वाचित २९ वर्षीय निशा डाँगी पनि कलिलो उमेरमा नै सांसद बनिन् । उनी २०७९ को प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट सांसद बनेकी थिइन् । डाँगीले यसपटक प्रत्यक्षतर्फको उम्मेदवार बन्ने अवसर पाइन् । उनले ४५ हजार ६८० मतसहित विजय हासिल गरिन् । डाँगीको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत ल्याए । विसं २०५३ मा झापाको भद्रपुर नगरपालिकामा जन्मिएकी डाँगीले काठमाडौँको जया मल्टिपल क्याम्पसबाट सामाजिक कार्यमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छिन् ।


    २६ वर्षीय मनीष खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले ४१ हजार ३४७ मतसहित विजयी भए । उनको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले १५ हजार ७५५ मत ल्याएर उपविजेता भए । मध्यविन्दु नगरपालिका–६ निवासी खनाल विसं २०५६ असार ११ गते जन्मिएका हुन् । उनले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक अध्ययन गरेका छन् ।


    अट्ठाइस २८ वर्षीय बब्लु गुप्ता पनि निर्वाचित भए । उनले सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरे । सामाजिक सेवामा सक्रिय गुप्ताले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । उनले ४१ हजार ३२२ मतसहित विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले नौ हजार ७७४ मत ल्याए ।


    रास्वपाबाटै ३५ वर्षमुनिका निर्वाचित उम्मेदवारमध्ये अर्को नाम हो सन्तोष राजवंशी । ३४ वर्षीय राजवंशी मोरङ–४ बाट विजयी भए । सिराहा–२ बाट रास्वपाकै ३० वर्षीया शिवशङ्कर यादव पनि निर्वाचित भए । रास्वपाबाटै ३३ वर्षीय तपेश्वर यादव पनि सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भए । रास्वपाबाटै महोत्तरी–२ मा ३४ वर्षीय दीपककुमार साह निर्वाचित भए । महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भए ।


    काठमाडौँ–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार २९ वर्षीय सस्मित पोखरेल निर्वाचित भए । २०५२ फागुन १ गते काठमाडौँमा जन्मिएका पोखरेलले कानुनमा स्नातक गरेका छन् । उनी रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता हुन् ।
    काठमाडौँ महानगरपालिका कार्यालयमा सह–विशेषज्ञ भएर काम गरेका पोखरेलको महानगरका सेवा–प्रवाह, कार्यक्रम÷परियोजना कार्यान्वयन र नतिजा निकाल्ने कार्यान्वयन क्षमता छ । उनले काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहका सल्लाहकार भएर काम गरिसकेका छन् । पोखरेलले सांसद कार्यालयमा प्रमुख सहायक भएर काम गरिसकेका छन् । उनमा नीति÷अनुसन्धान, जनगुनासा व्यवस्थापन, टोली परिचालन र समन्वयमार्फत काम ‘टुङ्ग्याउने’ कार्यालय व्यवस्थापन नेतृत्व छ ।

    मकवानपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका २५ वर्षीय प्रशान्त उप्रेतीले चुनाव जितेका छन् । २०५७ सालमा मकवानपुरमा जन्मिएका उप्रेती पेसाले पर्यटन उद्यमी हुन् । उनले पर्यटन व्यवस्थापनमा स्नातक गरेका छन् । निर्वाचित हुने अर्का ३४ वर्षीय उम्मेदवारको अर्को नाम हो सागर ढकाल । रास्वपाकै तर्फबाट गुल्मी– १ बाट उनी निर्वाचित भएका हुन् । गुल्मीको सत्यवती गाउँपालिका–६, पीपलनेटा स्थायी ठेगना भएको ढकाल पेसाले इन्जिनियर हुन् ।


    पैँतीस वर्षमुनिको अर्का सांसद हुन् प्युठान– १ बाट निर्वाचित ३१ वर्षीय सुशान्त वैदिक । काठमाडौँ– १ बाट निर्वाचित र ३५ वर्षमुनिका अर्को चर्चित नाम हो, रञ्जु न्यौपाने (दर्शना) । वैकल्पिक राजनीतिका रूपमा उदाएकी ३० वर्षीया रञ्जुले स्नातक तहसम्मको अध्ययन गरेकी छिन् । रास्वपाकै अर्का निर्वाचित सांसद हुनुहुन्छ, ३४ वर्षीय सोम शर्मा । उनी बाग्लुङ–२ बाट निर्वाचित भए । रास्वपाकै तर्फबाट स्याङ्जा–२ का उम्मेदवार झविलाल डुम्रेले २५ हजार ३५४ मत ल्याएर विजयी भए ।


    राष्ट्रिय स्वतन्त्र पार्टीबाटै सप्तरी–२ का उम्मेदवार ३० वर्षीय रामजी यादव २८ हजार ४०४ मत ल्याएर विजयी भए । कैलाली–२ का रास्वपा उम्मेदवार केपी खनालले १९ हजार ५७ मत ल्याएर विजयी भए । २६ वर्षीय खनालले १३ वर्षदेखि सामाजिक अभियानमा सक्रिय, ‘क्लिन काष्ठमण्डप’ र ‘काठमाडौँ ट्र्यास कलेक्सन’ जस्ता देशव्यापी सरसफाइ अभियानको नेतृत्व समेत गरेका छन् । ‘मैना देवी फाउन्डेसन’ मार्फत बाजुरामा अनाथालय स्थापना, कोरोनाकालमा २०० भन्दा बढी गरिब परिवारलाई सहयोग तथा ‘भोकै छ हुम्ला’ जस्ता मानवीय अभियानको नेतृत्व लिएका थिए ।


    राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा–४ बाट ३३ वर्षीय तपेश्वर यादव निर्वाचित भए । महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भए । यसैगरी, प्यूठान–१ उम्मेदवार ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित भए । नेपाली कांग्रेसबाट भने ३२ वर्षीय योगेश गौचन थकाली मुस्ताङ–१ बाट निर्वाचित भए । यसैगरी, जुम्ला–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३४ वर्षीय ज्ञानबहादुर शाही निर्वाचित भए । श्रम संस्कृति पार्टीबाट २९ वर्षीय आरेन राई खोटाङ–१ बाट निर्वाचित भए ।

  • प्रत्यक्षतर्फ खोटाङका ११ उम्मेदवारको जमानत जफत

    प्रत्यक्षतर्फ खोटाङका ११ उम्मेदवारको जमानत जफत

    खोटाङ, २५ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै खोटाङका ११ जना उम्मेदवारको जमानत जफत भएको छ । आफ्नो जमानत जोगाउन प्रत्येक सम्मेदवारले कम्तीमा पनि पाँच हजार ८६३ मत प्राप्त गर्नुपर्ने थियो । तर, ११ जना उम्मेदवारले त्यो मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो । प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा यही फागुन २१ गते सम्पन्न निर्वाचनमा ६२ हजार २५७ मत खसेको थियो । जिल्लाका १० स्थानीय तहको १३६ वटा मतदान केन्द्रमा खसेको मतमध्ये ५८ हजार ६३८ मत सदर भएको छ भने तीन हजार ९२८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीले जानकारी दिए ।


    निर्वाचन कानुनअनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । उम्मेदवारले आफ्नो नाम दर्ता गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको रकम जफत गरेर राज्यकोषमा जाने कानुनी प्रावधान छ । जमानत जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सुनिल चाम्लिङ, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ध्यानप्रसाद ढकाल, मङ्गोल नेसनल अर्गनाइजेसनका उम्मेदवार प्रयाग राई छन् ।


    यस्तै, राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राई, मितेरी पार्टी नेपालका उम्मेदवार केशरमान चाम्लिङ, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर बुढाथोकी ‘शैलेश’, जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राकेश राई, स्वतन्त्र उम्मेदवारहरू तिलकचन्द्र राई र डा राजकुमार राईको जमानत जफत भएको हो ।

    प्रत्यक्षतर्फ एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा १६ हजार ६१२ मतसहित श्रम संस्कृति पार्टीका महासचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेदवार आरेन राई विजयी भए । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका २९ वर्षीय आरेनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका अध्यक्षसमेत रहनुभएका निकटतम प्रतिस्पर्धी देवविक्रम राईलाई तीन हजार ८९८ मतले पछाडि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।


    एमाले उम्मेदवार देवविक्रमले १२ हजार ७१४ तथा नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा हरि रोकाले नौ हजार ४४३ प्राप्त गरे । दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको जिल्लामा पुरानै राजनीतिक दल (नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी)बीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताउँदै आएका थिए ।

    यसैबीच, समानुपातितर्फको मत परिणमअनुसार खोटाङमा श्रम संस्कृति पार्टी १८ हजार १३७ मतसहित पहिलो राजनीतिक दल बनेको छ भने नेपाली कांग्रेस ११ हजार ३८५ मतसहित दोस्रो बनेको छ । विसं २०७९ को निर्वाचनमा सबैभन्दा बढी २४ हजार २७१ मत ल्याएर जिल्लामा ठूलो पार्टी बनेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) १० हजार ७०५ मतसहित तेस्रो बनेको छ ।

    प्रत्यक्षतर्फ देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङमा समानुपातिकतर्फ आठ हजार ८७९ मतसहित जिल्लाको चौथो दल बनेको छ । २०७९ सालको निर्वाचनमा ११ हजार ८४५ मतसहित तेस्रो स्थानमा रहेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सात हजार २७४ मत ल्याएर पाँचौँ बनेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रबिन मगरले जानकारी दिए ।


    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ८३७, राष्ट्रिय परिवर्तन पार्टीको एक हजार २४४, जनता समाजवादी पार्टी (जसपा)को २०२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को ९५, जनता समाजवादी पार्टी नेपालको ७२, नेपाल मजदुर किसान पार्टीको ३७ मत खसेको छ । जिल्लामा उम्मेदवार नै नभएका पार्टीका लागिसमेत समानुपातिक मत खसेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    समानुपातिकतर्फ एक लाख ४८ हजार ४१९ मतदाता रहेको जिल्लामा फागुन २१ गते सम्पन्न निर्वाचनमा ६३ हजार २५७ मत खसेको थियो । खसेको मतमध्ये ६० हजार १०० मत सदर भएको छ भने तीन हजार १५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • निर्वाचन प्रहरीको बिदाइ बिहीबार

    निर्वाचन प्रहरीको बिदाइ बिहीबार

    काठमाडौँ, २५ फागुनः यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ । निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए ।

    उनले भने, “निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण वातावरण कायम राख्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा व्यवस्था मिलाइएको थियो ।” मतदानका दिनदेखि मतगणनाको चरणसम्म सुरक्षा व्यवस्थाको राम्रो प्रबन्ध मिलाइएकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुगेको उनले बताए । निर्वाचनमा खटिएका प्रहरीले जिम्मेवारीका साथ आफ्नो कार्यसम्पादन गरेको महानिरीक्षक कार्कीको भनाइ छ ।

  • गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    गोरखा, २५ फागुनः प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् । आज सम्पन्न भएको मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।

    उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गरे । नेपाली कांग्रेसका उम्मेदवार खत्रीले १५ हजार ३९८ मत प्राप्त गरे । यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गर्नुभएको सूचना अधिकारी सुवेदीले बताए । नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गरे ।

  • सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

    सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

    बरहथवा (सर्लाही), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्रीसहित १५४ जनाको जमानत जफत भएको छ । निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । गत बिहीबार सम्पन्न निर्वाचनमा ६८ स्वतन्त्रसहित १५४ जना उम्मेदवारको जमानत जफत हुने देखिएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए । यहाँ जमानत जफत हुनेमा पूर्वमन्त्रीदेखि निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत छन् ।


    क्षेत्र नं १ मा निवर्तमान सांसद्सहित २८ जना उम्मेदवारको जमानत जफत हुने भएको छ । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका शम्भुलाल श्रेष्ठ बाहेक सबैको जमानत भएको हो । जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले कम्तीमा सात हजार ३८५ मत प्राप्त गर्नुपर्ने थियो । तर, यस क्षेत्रमा दुई जना बाहेक अन्य उम्मेदवारले १० प्रतिशत थ्रेसहोल्ड कटाउन सकेनन् ।


    यस क्षेत्रबाट उम्मेदवारी दिनुभएका जनता समाजवादी पार्टीका उम्मेदवार निवर्तमान प्रतिनिधिसभा सदस्य राम प्रकाश चौधरी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पूर्व सांसद प्रमोद साह, नेकपा (एमाले)का उम्मेदवार ईश्वरपुर नगरपालिकाका पूर्व मेयरसमेत रहेका मनोजकुमार देवकोटासहित २८ जनाको जमानत जफत भएको हो ।


    निवर्तमान सांसद चौधरीले तीन हजार ९९१, पूर्व सांसद साहले पाँच हजार ४९८ र पूर्व मेयर देवकोटाले ६ हजार १०१ मत मात्र प्राप्त गरे । कूल एक लाख ३० हजार ८७१ मतमध्ये ६०।५३ प्रतिशत अर्थात ७९ हजार २०७ मत खसेको थियो । त्यसमध्ये ७३ हजार ८४२ मत सदर भएको थियो ।

    यस्तै क्षेत्र नं २ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २९ जनाको जमानत जफत भएको छ । त्यसमा १७ जना स्वतन्त्र उम्मेदवार छन् । जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले सदर ७२ हजार ३८१ मतको १० प्रतिशतले हुन आउने सात हजार २३९ मत प्राप्त गर्नुपर्ने छ । सम्पन्न मतगणनाको परिणाम अनुसार राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले पाँच हजार ९९२ मत मात्र प्राप्त गरे ।


    उनले कूल सदर मतको १० प्रतिशत मत समेत प्राप्त गर्न सक्नुभएन । सर्लाही २ मा निकटतम प्रतिस्पर्धी रहनुभएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वमन्त्री महेन्द्रराय यादव भने आठ हजार ५२३ मत प्राप्त गरी जमानत जोगाउन सफल भए । यस क्षेत्रमा कूल एक लाख २५ हजार ३११ मतको ६२।०८ प्रतिशत अर्थात ७७ हजार ७८९ मत खसेको थियो । त्यसमध्ये यहाँ ७२ हजार ३८१ मत सदर र पाँच हजार आठ मत बदर भएको छ ।

    यस्तै सर्लाही ३ मा निकटतम प्रतिस्पर्धी रहेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठको मात्र जमानत जोगिएको छ । ३४ जनाको उम्मेदवारी परेको यस क्षेत्रमा ३२ जनाको जमानत जफत हुने अवस्था आएको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए । १९ जना स्वतन्त्रसहित ३२ जनाले कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न सकेनन् ।


    कूल एक लाख ३४ हजार ४१२ मतदाता रहेको यस क्षेत्रमा ८२ हजार १०८ मत खसेको थियो । त्यसमध्ये ७७ हजार ८३८ मत सदर र चार हजार २६८ मत बदर भएको छ । यस क्षेत्रमा जमानत सुरक्षित गर्न कम्तीमा सात हजार ७८४ मत ल्याउँनुपर्नेमा पूर्व गृहमन्त्री श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरे ।

    यहाँ नेकपा एमालेका उम्मेदवार पूर्व रक्षामन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेती, नेपाली कांग्रेसका विनोदकुमार खनाल लगायतको जमानत जफत भएको हो । यसैगरी सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अमनिसकुमार यादव बाहेक सबै जनाको जमानत जफत भएको छ । ३८ जनाको उम्मेदवारी परेको यहाँ कांग्रेस सभापति थापा र नेकपा एमालेका उम्मेदवार यादवले मात्र जमानत जोगाए । २३ जना स्वतन्त्रसहित ३५ जना उम्मेदवारको भने जमानत बापतको रकम गुमेको छ ।

    यस क्षेत्रमा ३५ जना उम्मेदवारले जमानत जोगाउन आवश्यक सात हजार ३३७ मतसमेत प्राप्त गर्न सक्नुभएन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भए । यस क्षेत्रमा कूल एक लाख २१ हजार १२ जना मतदातामध्ये ७७ हजार ९३१ जनाले मत खसालेका थिए । त्यसमध्ये ७३ हजार ३६२ मत सदर भएको थियो, भने, चार हजार ५६९ मत बदर भएको छ ।

    यहाँ कांग्रेसका उम्मेदवार एवम् निकटतम प्रतिस्पर्धी सभापति थापाले २२ हजार ८३१ र तेस्रो भएका एमालेका यादवले नौ हजार ३४३ मत प्राप्त गर्दै जमानत जोगाए । यहाँ नेपाली कम्युनिष्ट पार्टीका डा रजनिशराय, पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका रामेश्वरराय यादव लगायतको भने जमानत जफत भएको छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ खसेको कूल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत अर्थात् उम्मेदवारी दर्ता गर्दा राखेको रकम जफत हुने कानुनी व्यवस्था छ । उम्मेदवारबाट जफत भएको रकम राज्यकोषमा जाने निर्वाचन आयोगले उल्लेख गरेको छ । यस पटक जिल्लाका चार वटै क्षेत्रमा निर्वाचित उम्मेदवारले भारी मत प्राप्त गर्दा जमानत गुमाउने उम्मेदवारको सङ्ख्या ह्वात्तै बढेको हो ।

  • कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

    कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

    गण्डकी, २५ फागुन । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ विजयी एवम् समानुपातिकतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भन्दा दललाई बढी प्राप्त भएको छ । तीनवटै क्षेत्रमा उक्त दलका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मत एक लाख नौ हजार ५४४ मत रहेकामा समानुपातिकतर्फ भने दलले एक लाख १३ हजार ६२८ मत प्राप्त गरेको छ । उक्त दलका उम्मेदवार भन्दा दलले जिल्लामा चार हजार ८४ मत बढी पाएको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेमा भने दलले भन्दा उम्मेदवारले पाएको मत बढी छ ।

    नेपाली कांग्रेसले समानुपातिकतर्फ दलले २८ हजार ६५६ मत पाएकोमा उम्मेदवारले पाएको मत ३० हजार ४९४ छ । नेकपा एमालेले समानुपातिकतर्फ दलले पाएको मत २४ हजार १९९ रहेकोमा प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत २५ हजार ८२८ रहेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीमा उम्मेदवारले भन्दा दलले बढी मत पाएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत चार हजार २७ रहँदा समानुपातिकतर्फ दलले पाएको मत छ हजार ४६६ रहेको छ । नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत पाँच हजार २११ हुँदा समानुपातिकतर्फ दलले पाएको मत पाँच हजार ७६३ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

  • श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

    श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

    संगीता राई–रासस
    धरान (सुनसरी), २५ फागुन । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बनिरहेका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी बनेका छन् ।
    विसं २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिन्ह लिएर उनी निर्वाचित भएका थिए । सामान्य जीवनशैली, स्पष्ट वक्ता र विकासका लागि श्रमदान अभियानका कारण राई छोटो समयमै चर्चामा आए । नगर प्रमुख बनेपछि उनले परम्परागत राजनीतिक शैली भन्दा फरक अभ्यास गरे । महँगा औपचारिकता भन्दा श्रमदान अभियानलाई प्राथमिकता दिए । उनी आफैं ढुङ्गा बोक्ने, नाली सफा गर्ने तथा पानीका मुहानसम्म पुगेर काम गरे । धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोकाहा खोलाबाट पानी ल्याउने अभियानमा उनले महिनौँसम्म जनतासँगै श्रमदान गरे ।
    सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद, नागरिक सहभागितामा आधारित विकास र भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउने शैलीले उनलाई समर्थकहरूबीच ‘अभियानबाट उठेको नेता’का रूपमा चिनायो । उनको कार्यशैलीलाई लिएर आलोचना गर्नेहरू पनि उत्तिकै सक्रिय रहे । समर्थक र आलोचकबीचको बहसले उहाँलाई निरन्तर सार्वजनिक चर्चाको केन्द्रमा राख्ने गरेको छ ।

    राईको सामाजिक र राजनीतिक सक्रियता भने मेयर बन्नुअघि नै सुरु भइसकेको थियो । २०६८ सालतिर धरानमा कर वृद्धि तथा विभिन्न बेथितिविरुद्ध भएका आन्दोलनमा उनी सक्रिय थिए । पछि जनसरोकार मञ्चमा आबद्ध हुँदै उनले आन्दोलनको नेतृत्व गरे । धरानको पुरानो खानेपानी समस्यालाई लिएर “पानी दे, पानी दे” भन्ने नारासहितको अभियान चलाउँदा उहाँ स्थानीयस्तरमा चर्चामा आए । खानेपानी मुहान अनुगमनका क्रममा पाइप तोडफोडको आरोपमा उनी एकपटक पक्राउसमेत परे । केही दिन पछि रिहा भए ।

    हर्क साम्पाङले अवैध ढुङ्गा गिट्टी उत्खनन रोक्न खोलासम्म पुगेर विरोध गरे । मदन भण्डारी राजमार्ग विस्तारका क्रममा घर भत्काउने विषयमा संघर्ष समितिमा सह संयोजक भएर आन्दोलन गरे । त्यसैगरी सीमा अतिक्रमणदेखि स्वास्थ्य सेवा सुधारसम्मका विषयमा आवाज उठाए । त्यही गतिविधिले उनलाई स्थानीय स्तरमा सक्रिय अभियन्ताका रूपमा स्थापित गरायो । गीत संगीतमा समेत रुचि राख्नुहुने राईले केही बर्ष अगाडि ‘मिसिङ हार्ट’ नामक एल्बमसमेत सार्वजनिक गरेका थिए । हिजोआज पनि कहिलेकाहीँ गितार बजाउँदै गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्ने शैलीले पनि उनलाई फरक पहिचान दिलाएको छ । सामाजिक सञ्जालमा उनी “हर्क साम्पाङ रिभोलुसन” नामबाट चर्चित छन् ।
    नगर प्रमुखकै जिम्मेवारीमा रहँदा उनले गत माघ ४ गते पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरे । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बने । उनले अब सांसदका रुपमा आफूले अघि सारेको श्रम र नागरिक सहभागिताको ढाँचालाई राष्ट्रिय स्तरमा विस्तार गर्ने दाबी गर्दै आएका छन् । धरानको सडक र खानेपानीको मुहानबाट सुरु भएको राईको यात्रा अब संसद् भवनसम्म पुगेको छ । स्थानीय आन्दोलनबाट उठेको राईको राजनीतिक यात्राले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने जिज्ञासा भने सबैको मनमा देखिन्छ ।

  • आरेन राई : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म

    आरेन राई : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म

    खोटाङ, २५ फागुन । यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहेका २९ वर्षीय राईले १६ हजार ६१२ मत प्राप्त गरे । उनी विसं २०८० मा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका सर्वोच्चसभा सदस्य एवम् आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी प्रवेश गरेका थिए ।

    राई पहिचानवादी नेताका रुपमा समेत परिचित छन् । सानै उमेरदेखि विभिन्न सङ्घ–संस्थामा आवद्ध रहेर सामाजिक काम गर्दै खुला राजनीतिमा आएका राईले अब प्रतिनिधिसभामा गएर भूइँ मान्छेको हित हुने किसिमको नीति निर्माण तथा उनीहरुको आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाए ।


    २०७४ सालसम्म राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्य रहेर सामाजिक अभियानमा खटिएका उनी स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन् । जातीय विभेदविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी प्रमिला बिसुका (सार्की)सँग अन्तरजातीय विवाह गरेका थिए । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईको गृह जिल्ला खोटाङमा सोही पार्टीका महासचिव राईको उम्मेदवारी घोषणालाई महत्वका साथ हेरिएको थियो । पार्टी स्थापना भएको तीन महिनामै देशभरका जनताको उत्साह र समर्थनले जिल्लामा आफूहरुको जित भएको श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईले बताए ।


    दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको खोटाङमा पुरानै राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताउँदै आएका थिए । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पनि खोटाङका पाँच जना नेताको समावेश छ । आदिवासी जनजाति महिला कोटामा पार्टीका जिल्ला उपाध्यक्ष उमा चाम्लिङ राई, चन्द्रकला याखा र समला राई, आदिवासी जनजाति पुरुष कोटामा सीताराम राई तथा दलित महिला कोटामा कोपिला घिमिरे छन् ।

  • केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

    केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

    गलकोट (बागलुङ), २५ फागुन । बागलुङ नगरपालिका–३ गुठीमा जन्मनुभएका सुशील खड्का १२ वर्ष अघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्किएका थिए । उनी त्यसपछि उद्यममा लागे । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको बताउने खड्का हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट २० हजार ९२७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।


    खड्का फोहोर व्यवस्थापनदेखि समाजसेवामा सक्रिय रहँदै रास्वपामा प्रवेश गरे । आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्नुभएका खड्काले बागलुङको छविलाई सुधार्ने योजना रहेको बताए । उनले गुमेको बागलुङको साखलाई फिर्ता ल्याउँदै आर्थिक विकास, रोजगारी, हरित वातावरण र उद्यमशिलतामा जोड दिने बताएका छन् ।


    खड्कासँग केमिकल इन्जिनियर, अर्थविद् तथा उद्यमीमा रुपमा काम गरेको अनुभव छ । ‘बागलुङको छोरा, विश्वको ज्ञान—युवा नेतृत्व अबको समाधान’ भन्ने नारासहित उहाँ चुनावमा होमिएका थिए । समृद्ध बागलुङ र आत्मनिर्भर नेपाल निर्माणको लक्ष्यका साथ राजनीतिमा आएको उनी बताउँछन् । शैक्षिक रूपमा खड्काले अमेरिकाबाट केमिकल इन्जिनियरिङ तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

    उच्च शिक्षा पश्चात् नेपाल फर्किएर खड्का पछिल्लो १२ वर्षदेखि व्यवसाय, हरित उद्यम र सामाजिक सेवामार्फत मातृभूमिको सेवामा सक्रिय रहेका थिए । उनले नीति निर्माणलाई उद्यमसँग जोड्न राजनीतिमा आफ्नो उपस्थिति रहेको बताए । उद्यमसँगै नीति निर्माणमा संसदमा आवाज उठाउने खड्काको प्रतिबद्धता छ ।

    “बागलुङलाई हरित उद्यमसँग जोड्ने, गुमेको बागलुङको साख फर्काउने, अलपत्र योजना सक्ने, सम्पर्क कार्यालयमार्फत जनताका गुनासा सुन्ने, जनताको घरमा पुगेर समस्या समाधान गर्ने मेरो लक्ष्य छ”, खड्काले भने, “फोहोर व्यवस्थापन, बागलुङको समृद्धिको खाका बनाएर काम गर्छु ।”

    खड्काले नेपालमा रेस्टुरेन्ट, कृषि, फोहोरमैला व्यवस्थापन तथा हरित लगानीसम्बन्धी विभिन्न उद्यम स्थापना तथा सञ्चालन गर्दै आएका छन् । खड्काले ‘अभ्नी भेन्चर्स’ मार्फत देशकै ठूलो प्लास्टिक रिसाइक्लिङ सञ्जाल स्थापना गरी सयौँलाई रोजगारी सिर्जना गरेको बताए ।


    खड्काले हिमाली जिल्लाहरूमा सरसफाइ अभियान सञ्चालन, रोटरी इन्टरनेशनलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक कार्यक्रममा सहभागिता, तथा बागलुङका धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पु्रयाएका छन् । नीतिगत रूपमा खड्का डिजिटल सुशासनमार्फत भ्रष्टाचार अन्त्य, पारदर्शी तथा जनमैत्री सेवा प्रवाह, युवालाई स्वदेशमै रोजगारी, उद्यमशीलताको प्रवद्र्धन, कृषिको व्यवसायीकरण, दिगो पर्यटन विकास, प्राविधिक शिक्षालाई राष्ट्रिय केन्द्रका रूपमा विकास तथा वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने योजना रहेको सुनाए ।

    खड्काले बागलुङको सम्भावना, समस्या र अवसरको अध्ययन पश्चात संघीय संसदमा शसक्त आवाज उठाउन अगुवाई गर्ने बताउनुहुन्छ । जिल्लावासीले पनि उनीबाट केही न केही परिवर्तनको अपेक्षा गरेका छन् । तर त्यसको परिणाम हेर्न भने खड्काको संसदीय यात्रालाई धैर्यका साथ केही समय कुर्नुपर्ने अवस्था छ ।

  • लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

    लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

    सिद्धार्थनगर (भैरहवा), २५ फागुनस् लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस र नेकपाले दुई–दुई तथा नेकपा (एमाले) ले एक क्षेत्रमा विजय हासिल गरेका छन् । रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् । रुपन्देही–१ मा सुनिल लम्साल, रुपन्देही–२ मा सुलभ खरेल, रुपन्देही–३ मा डा लेखजंग थापा, रुपन्देही–४ मा कन्हैया बनियाँ र रुपन्देही–५ मा तौफिक अहमद खान विजयी भए ।


    त्यसैगरी पश्चिम नवलपरासी–१ मा पनि रास्वपाकै विक्रम खनाल तथा पश्चिम नवलपरासी–२ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । कपिलवस्तु–१ मा रास्वपाकै मोहनलाल आचार्य र कपिलवस्तु–२ मा विक्रमसिंह थापा विजयी भए भने कपिलवस्तु–३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले विजय प्राप्त गरे ।


    दाङ–१ मा रास्वपाकै देवराज पाठक, दाङ–२ मा विपीनकुमार आचार्य र दाङ–३ मा कमल सुवेदी निर्वाचित भए । गुल्मी–१ मा पनि रास्वपाकै सागर ढकाल र गुल्मी–२ मा गोविन्द पन्थी विजयी भए । रास्वपाकै उम्मेदवार बर्दिया–१ मा ठाकुरसिंह थारु तथा बर्दिया–२ मा श्रीधर पोखरेल निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । रास्वपाकै तर्फबाट बाँके–१ मा सुरेशकुमार चौधरी र बाँके–३ मा खगेन्द्र सुनार विजयी भए भने बाँके–२ मा नेकपा (एमाले) का मोहम्मद इश्तियाक राईले विजय प्राप्त गरे ।

    त्यसैगरी रुकुम पूर्वमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा रोल्पामा वर्षमान पुन निर्वाचित भए । प्यूठानमा रास्वपाका सुशान्त बैदिक विजयी प्राप्त गर्नुभएको छ । पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना तथा पाल्पा–२ मा रास्वपाका माधवबहादुर थापा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । अर्घाखाँचीमा रास्वपाका हरिप्रसाद भुसाल विजयी भए ।

  • १६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

    १६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

    काठमाडौँ, २५ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगबाट आज विहान ६ बजे प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएकोे छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ ।

    नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ । नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

  • सुनसरी–२ मा रास्वपाका थापा विजयी

    सुनसरी–२ मा रास्वपाका थापा विजयी

    धरान (सुनसरी), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापा विजयी भएका छन् ।
    थापा ५७ हजार ३४८ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत राजेन्द्रकुमार लम्सालले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुजन लामाले आठ हजार ३०३ मत तथा श्रम संस्कृति पार्टीका चेतन राईले सात हजार ४८४ मत प्राप्त गरे ।

    यस क्षेत्रमा विभिन्न १९ दल र स्वतन्त्रका नौसहित २८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । इटहरी, इनरुवा, देवान्गञ्ज, राधुनी, हरिनगरा गरी ३० वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ९१० मतदाता रहेकामा एक लाख एक हजार चार मत खसेको थियो ।

  • एमाले छाडेर हर्कको पार्टीमा लागेका ध्रुवराज : स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

    एमाले छाडेर हर्कको पार्टीमा लागेका ध्रुवराज : स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

    टक्सार (भोजपुर), २४ फागुनः भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका धु्रवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित भएका छन् । नेकपा (एमाले)मा रहेर विद्यार्थी तहबाट नै नेता बनेका राई भोजपुर बहुमुखी क्याम्पसको दुईपटक स्ववियु सभापति हुँदै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । त्रिचालिस वर्षीय राई २०६२÷६३ को जनआन्दोलनमा अग्रपङ्क्तिमा उभिए ।


    विसं २०७४ को स्थानीय निर्वाचनमा राई कांग्रेस, माओवादी र सङ्घीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै पालिका अध्यक्षमा विजयी बनेका थिए । सोही समय उनले अन्धकारमा रहेको टेम्केमैयुङ गाउँपालिका विद्युत्को पहुँच पु¥याउँदै गाउँ नै झिलीमिली बनाएका थिए । स्थानीय तहको २०७९ को निर्वाचनमा भने राई कांग्रेसका सरोज बस्नेतसँग पराजित भए ।


    राई एमाले परित्याग गर्दै हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा केही महिना अगाडि मात्र प्रवेश गरेका थिए । सोभन्दा अगाडि राई एमालेको कोशी प्रदेश कमिटी सदस्य भए । एमाले छोडेका ईले सोही पार्टीका केन्द्रीय सचिव शेरधन राईलाई एक हजार ९१३ मतले पछि पार्दै विजयी हासिल गरे । उनले १६ हजार ६६३ मत प्राप्त गर्दा एमाले उम्मेदवार राईले १४ हजार ७५० मत प्राप्त गरे ।

  • बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

    बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

    बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल विजयी भएका छन् । पोखरेलले २९ हजार ६ सय ७८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० हजार चार सय दुई मत ल्याए ।

    त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुरेश पन्थले १९ हजार एक सय ८० मत र नेकपा (एमाले) की विमला विकले १० हजार सात सय ७२ मत ल्याए । उक्त क्षेत्रमा ९२ हजार ६ सय १८ मत खसेको थियो । जसमध्ये ८८ हजार एक सय ३० मत सदर तथा चार हजार चार सय ८८ मत बदर भएको निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले बताए ।

  • गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी

    गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी

    गोरखा, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गरे ।

    नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बेल्वासेले बताए । नेकपा (एमाले) का उम्मेदवार मिलन गुरुङले तीन हजार ८७ मत प्राप्त गरे । कूल एक लाख ५५ हजार ५३३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५७ हजार १५६ मत खसेको थियो । खसेकोमध्ये ५४ हजार १४७ मत सदर र तीन हजार नौ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

  • धनुषाबाट रास्वपाका तीन उम्मेदवार विजयी, निधि हारे

    धनुषाबाट रास्वपाका तीन उम्मेदवार विजयी, निधि हारे

    जनकपुर, २४ फागुनः धनुषा जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उम्मेदवार विजयी भएका छन् । धनुषामा चार निर्वाचन क्षेत्रमध्ये तीन निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएको हो । यसरी विजयी हुनेहरूमा निर्वाचन क्षेत्र नं २ बाट विनोद यादव, निर्वाचन क्षेत्र नं ३ बाट मनिष झा तथा निर्वाचन क्षेत्र नं ४ बाट राजकिशोर महतो विजयी भएका हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका यादवले ४१ हजार ६३७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश परसैलाले १० हजार १९८ मत प्राप्त गरेका छन् ।


    यस्तै, धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका झाले ४३ हजार ९८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका बिमलेन्द्र निधिले १६ हजार ६५२ प्राप्त गरे । यसैगरी, धनुषा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका महतोले ४८ हजार २७० मत प्राप्त गर । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ प्राप्त गरे ।

    यसैबीच, निर्वाचन आयोगले धनुषा १ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको सो आयोगले सूचना जारी गरी जनाएको छ । आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।

  • धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

    धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

    काठमाडौँ, २४ फागुनः निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले बताए । आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।

    सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नु नगराउनुहुन आयोगको आजको निर्णयअनुसार अनुरोध गरिएको उनले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई सोको जानकारी आयोगसमक्ष दिन प्रदेश निर्वाचन कार्यालयलाई बोधार्थको पत्र पठाइएको पनि शाखा अधिकृत (कानून) अधिकारीले बताए ।

  • हर्क साम्पाङ सुनसरी–१ बाट विजयी, प्रधानमन्त्री बालेन हुन नहुने अभिव्यक्ति सार्वजनिक

    हर्क साम्पाङ सुनसरी–१ बाट विजयी, प्रधानमन्त्री बालेन हुन नहुने अभिव्यक्ति सार्वजनिक

    धरान (सुनसरी) २४ फागुनः सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उनले ३५ हजार ७४१ मत प्राप्त गरे । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टीकाराम लिम्बुले छ हजार ४६३ मत प्राप्त गरे ।

    यस क्षेत्रमा विभिन्न दल १९ र स्वतन्त्रका ७ जनासहित २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी जम्मा २७ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८ सय ६५ मत खसेको थियो । निर्वाचित भएसँगै हर्कले प्रधानमन्त्री बालेन हुन नहुने आसयको स्टाटस लेखेका छन् । संसदमा उठ्ने प्रश्नको जवाफ बालेनले दिन नसक्ने उनको तर्क छ ।

  • भोजपुरमा हर्क साम्पाङको पार्टीले खोल्यो खाता, श्रम संस्कृतिका राई विजयी

    भोजपुरमा हर्क साम्पाङको पार्टीले खोल्यो खाता, श्रम संस्कृतिका राई विजयी

    टक्सार (भोजपुर), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन् । राईले कूल १६ हजार ६६३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेकपा (एमाले)का शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे । नेपाली कांग्रेसका बालकृष्ण थापाले आठ हजार ६७० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले छ हजार ६०२ मत र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले पाँच हजार ७२८ मत प्राप्त गरे ।


    भोजपुरमा १२ राजनीतिक दलका १२ उम्मेदवार चुनावी मैदानमा थिए । जिल्लामा १६१ वटा मतदान केन्द्र कायम थियो । भोजपुरमा कुल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ जना रहेकामा ४६ दशमलव १७ प्रतिशत मतदान भएको थियो । जसमा ५८ हजार १६७ मतगणना भएको हो ।

  • दोलखामा रास्वपाका खरेल विजयी

    दोलखामा रास्वपाका खरेल विजयी

    दोलखा, १४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश खरेल निर्वाचित भएका छन् । उनले ३२ हजार ३७६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेकपा (एमाले)का पार्वत गुरूङले १७ हजार ४४९ प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) विशाल खड्काले १३ हजार ६५ र नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २९८ मत प्राप्त गरे ।