काठमाडौं, वैशाख १९ गते । रोल्पाको थवाङमा भएको भीषण जिप दुर्घटनाबारे तीन दिनपछि प्रधानमन्त्री कार्यालयले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ । २० जनाको ज्यान जाने गरी भएको दुर्घटनामा प्रधानमन्त्री, सत्तारुढ दल र यातायात मन्त्री मौन थिए । त्यसको सामाजिक संजालमा व्यापक आलोचना भएसँगै आज प्रधानमन्त्री कार्यालयले एक स्पष्टीकरण सार्वजनिक गरेको छ ।
जसमा भनिएको छ, दुर्घटनाको ‘दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिको समयावधि आज समाप्त हुँदैछ। गत वैशाख १७ गते थवाङ गाउँपालिका–१, सल्यापमा २० जनाको ज्यान जाने गरी भएको सो हृदयविदारक घटनापछि सरकारले तत्कालै छानबिन प्रक्रियाअघि बढाएको थियो।’
प्रधानमन्त्रीकै नेतृत्वमा रहेको गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको समेत प्रधानमन्त्री कार्यालयको स्पष्टीकरणमा उल्लेख छ । कार्यालयले समितिको प्रतिवेदन प्राप्त हुनासाथ त्यसका निष्कर्ष र सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजाने भनेको छ । सरकारले देशभरकै सडक सुरक्षा प्रणालीमा आवश्यक नीतिगत र संरचनागत सुधार गर्न आफू पूर्ण प्रतिबद्ध रहेको समेत जनाएको छ। सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको गम्भीर विषय भएकाले यसमा देखिने प्राविधिक तथा मानवीय कमजोरी सुधार्न कार्यालयले दृढता व्यक्त गरेको छ।
यसअघि दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सक्रियतामा उद्धार कार्यलाई तीव्रता दिइएको दावि गरिएको छ । घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै गृह मन्त्रालयले सोही दिन आधिकारिक विज्ञप्ति मार्फत छानबिन समितिको जानकारी सार्वजनिक गरेको समेत बताएको छ । प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। सरकारले यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै सडक सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याएको छ।