Category: स्थानीय

  • सिद्धार्थ राजमार्गः बुटवल–पोखरा खण्डलाई दु्रुतमार्ग बनाइने

    सिद्धार्थ राजमार्गः बुटवल–पोखरा खण्डलाई दु्रुतमार्ग बनाइने

    गण्डकी, १५ जेठः सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड दु्रुतमार्गका रुपमा निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ र ८४ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । उनले आगामी आर्थिक वर्षभित्रमा सिद्धबाबा सुरुङमार्गको काम सम्पन्न हुने बताए ।

    पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको चारलेन सडक निर्माण शीघ्र रुपमा सम्पन्न हुने बजेटमा उल्लेख छ । मुग्लिङ–आँबुखैरेनी खण्डको निर्माण सुरु गर्ने अर्थमन्त्री डा वाग्लेले बताए । नागढुङ्गा–मुग्लिङ खण्डअन्तर्गत ४० किलोमिटर सडक स्तरोन्नति हुने र नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले यी सडकखण्डको लागि रु छ अर्ब ५५ करोड विनियोजन गरेको बताए ।

  • नुवाकोटमा जिप दुर्घटनाः एक जनाको मृत्यु

    नुवाकोटमा जिप दुर्घटनाः एक जनाको मृत्यु

    त्रिशूली (नुवाकोट), १५ जेठः नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो । उनलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए । साथमा रहेको सवारी चालक अनुमतिपत्रका आधारमा उहाँको सनाखत गरिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडाँै महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार ढिकुरेबाट काठमाडौँ जाँदै गरेको बिएई ०५६९ नम्बरको विद्युतीय कार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङ नजिकै अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो । स्थानीयवासीको सहयोगमा प्रहरीले जङ्गल क्षेत्र र अँध्यारो अवस्थाका बाबजुद शीघ्र उद्धार गरेर घाइतेलाई उपचारका लागि काठमाडौँ पठाएको थियो ।

    सञ्चारमन्त्रीबाट दुःख व्यक्त

    नुवाकोटमा भएको सवारी दुर्घटनाबाट एक जनाको निधन र दुई जना गम्भीर घाइते भएको घटनाप्रति सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले दुःख व्यक्त गरेका छन् । दिवङ्गत सञ्जीवकुमार चौधरीप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति मन्त्री डा तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत समवेदना प्रकट गरेका छन् । यस्तै, दुर्घटनामा घाइते भएका उत्सव पोखरेल र लोकेश मिश्रको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मन्त्री तिमिल्सिनाले दुर्घटनापश्चातका विभत्स तस्बिर सामाजिक सञ्जालमा साझा भएकाले त्यसो नगर्न पनि अनुरोध गरेका छन् ।

  • भारतमा चरम गर्मी चेतावनी

    भारतमा चरम गर्मी चेतावनी

    नयाँदिल्ली, १४ जेठ (रासस–एएफपी) । भारतमा बढ्दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कडा चेतावनी जारी गरेका छन् । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा तापक्रम असामान्य रूपमा बढिरहेका बेला उहाँले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् । यसैबीच, जङ्गलमा लागेको आगो नियन्त्रण गर्न सेनाले लामो समयसम्म सङ्घर्ष गरिरहेको छ भने गर्मीका कारण मृत्युका घटनासमेत रिपोर्ट भएका छन् ।

    अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्म एक्युआईका अनुसार बुधबार दिउँसो विश्वका ४५ सबैभन्दा तातो सहरमध्ये अधिकांश भारतमै रहेका थिए, जहाँ तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । यस्तो अवस्थाले देशका धेरै भागमा जनजीवन प्रभावित बनेको छ ।

    प्रधानमन्त्री मोदीले आफ्नो कार्यालयमार्फत जारी गरेको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको र यसले नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गरे । उनले गर्मीको असरलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपिल गरे ।


    उनले अत्यधिक गर्मीले शरीरमा पानीको कमी (डिहाइड्रेसन) ल्याउने, रगत गाढा बनाउने तथा गम्भीर अवस्थामा अङ्ग फेल हुने जोखिम हुने बताए । चेतावनीको सङ्केतलाई बेवास्ता गर्दा अवस्था अझ खतरनाक बन्न सक्ने र ‘हिट स्ट्रोक’ को सम्भावना बढ्ने उनको भनाइ छ । यसैबीच, गत साता मात्रै दक्षिणी राज्य तेलङ्गानामा गर्मीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । गर्मीबाट बालबालिका, वृद्ध तथा बाहिर काम गर्ने श्रमिकहरू सबैभन्दा बढी जोखिममा रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

    भारत मौसम विज्ञान विभाग (आइएमडी) का अनुसार उत्तर प्रदेशको बान्दा सहरमा मङ्गलबार ४७.४ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ । यो सामान्यभन्दा ३.८ डिग्री बढी हो । यस महिनाको सुरुमै सोही क्षेत्रमा तापक्रम ४८.२ डिग्री सेल्सियससम्म पुगेको थियो । राजधानी नयाँदिल्लीमा बुधबार दिउँसो तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ । विज्ञहरूका अनुसार गर्मी बढ्दै जाँदा वन डढेलोको जोखिम पनि उच्च बन्दै गएको छ ।

    यसै सन्दर्भमा भारतीय सेनाले हिमालयन क्षेत्रको पहाडी सहर कसौली नजिक लागेको डढेलो नियन्त्रण गर्न १६ घण्टाभन्दा बढी समयसम्म प्रयास गरेको जनाएको छ । सेनाका अनुसार वायु सेनाका हेलिकप्टरहरूले ठूलो मात्रामा पानी खसालेर आगो नियन्त्रणमा निर्णायक भूमिका खेलेका छन्, यद्यपि आगो निभाउने कार्य अझै जारी छ । मौसम विभागले गर्मी बढेसँगै देशका विभिन्न भागमा पानीको अभाव गहिरिँदै गएको चेतावनीसमेत दिएको छ । ‘नदीहरू सुक्ने, भू–जल स्तर घट्ने, खडेरी र पानी सङ्कट बढ्ने अवस्थाबीच प्रत्येक थोपा महत्त्वपूर्ण हुन्छ’ भन्दै विभागले नागरिकलाई पानी बचत गर्न आग्रह गरेको छ ।

    विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण उष्ण लहरहरू पहिलेभन्दा लामो, बारम्बार र बढी तीव्र हुँदै गएका छन् । दिनको उच्च तापक्रमसँगै राति पनि न्यून तापक्रम नघट्दा मानिसहरूलाई राहत मिल्न कठिन भइरहेको छ । भारतमा हालसम्मकै उच्च आधिकारिक तापक्रम सन् २०१६ मा राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । वर्तमान अवस्थाले त्यसतर्फ पुनः उन्मुख हुने सङ्केत देखिन थालेको भन्दै स्वास्थ्य र वातावरणीय जोखिमप्रति थप सतर्कता अपनाउन विशेषज्ञहरूले आग्रह गरेका छन् ।

  • मासिँदै सनपाट

    मासिँदै सनपाट

    महोत्तरी, १४ जेठ । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान सनपाटखेतीमा लाग्ने गरेका थिए । अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ । किसानका गोठमा पशुवस्तु घट्दै गएसँगै सनपाटको खेती पनि मासिँदै गएको जानकारहरू बताउँछन् । विगतमा पशुवस्तु बाँध्न, डुलाउनमात्र होइन, कैयौँ काममा प्रयोग हुने डोरीको प्रयोग हुने गरेको थियो । एकातिर पशुवस्तु पाल्न छोडिएको र अर्कोतिर प्लाष्टिकका बनिबनाउ डोरी सजिलै पाउने भएकाले सनपाटखेतीतर्फ किसानको सरकार घट्दै गएको हो ।

    “मेरै गोठमा जहिले पनि दुई हल गोरु, दुईवटा भैँसी र एउटा गाई हुन्थ्यो”, दुई दशक पहिलेको आफ्नो गुहाली (गोठ) सम्झँदै बर्दिबास–९ पशुपतिनगरका ७० वर्षीय किसान कारी महतो भन्छन्, “यिनै वस्तुसँग जोडेर बर्सेनि केही जग्गामा सनपाट लगाइन्थ्यो, अब न गोठमा वस्तु छन्, न पाटखेती नै गरिन्छ ।”

    उनी मात्रै होइन, यताका सबैजसो किसानका गोठमा जग्गाको अनुपातमा गोरु पालिन्थे, दूधका लागि घरघरै गाईभैँसी हुन्थे । किसानहरूले ती पशुवस्तु बाँध्न डोरी, दाम्ला बनाउन आफैँ सनपाटखेती गर्थे । पुरानो पुस्ताको अवसानसँगै त्यो प्रचलन हराएको छ । नयाँ पुस्ता पढाइ र कामका लागि विदेसिने क्रम बढेपछि वस्तुपालन र पाटखेती हराएको महतोकै छिमेकी सूर्यदेव सिंह बताउँछन् ।


    यहाँको भङ्गाहा–६ हतिर्साको मजरा बस्तीका ६० वर्षीय सुरेश बाँतरका अनुसार पशुवस्तुका दाम्ला बनाउन मात्र नभइ घरायसी प्रयोजनका लागि विगतमा पनि डोरी र मोटो रस्सी बाट्न पनि सनपाटको सुत्री चाहिन्थ्यो । दाम्लो, डोरी र मोटो रस्सा बनाउनमात्र नभइ प्राङ्गारिक मलका लागि पनि सनपाटखेती गर्ने चलन रहेको उनको भनाइ छ ।

    “सनपाटका जरामा हुने साना गिर्खा ९गाँठा० मा माटोलाई चाहिने उर्वर शक्ति नाइट्रोजन हुन्छ, अनि डाँठ र पातबाट कम्पोष्ट मल बन्छ” नेपाल सरकारको कृषि सेवाको सहसचिबबाट अवकास प्राप्त भङ्गाहा–५ सीतापुरका ७५ वर्षीय कृषिविज्ञ रामबहादुर भुजेल भन्छन्, “मधेसमा मलका लागि लगाइएको सनपाट खेतमा धान रोप्न, खेत हिल्याउँदा जोतेर केही दिन छाडिने चलन छ । हिलो पानीले सनपाट गलेपछि फेरि दाँदे लगाएर धान रोपिन्छ ।”

    सनपाटको यस्तो मल धानखेतीका लागि निकै उर्वर हुँदा विगतमा किसानको रोजाइमा पर्ने गरेको भुजेलको भनाइ छ । उनले कृषि कार्यालयहरूले किसानलाई मलका लागि यो खेती गर्न कार्यक्रम नै बनाएर अभिप्रेरित गर्ने गरेको पनि स्मरण गरे । सनपाट दाम्ला, डोरी र रस्साका लागि खेती गरिँदा यो छिप्पिएपछि काटेर मुठा बनाइ गहिरो पानीमा डुबाउन पर्छ ।

    त्यसरी केही दिन पानीमा डुबाइएको सनपाटको डाँठबाट रेसा अलग्गिन थालेपछि त्यसलाई धोइपखाली घर ल्याएर सुकाएपछि पाट तयार हुन्छ । यसरी तयार भएको पाट सुत्री कातेर दाम्ला, डोरी र रस्सा बनाउनसँगै उब्रेको पाट बजारमा बेचेर किसान घरखर्चको जोहोसमेत मिलाउने गरेका गौशाला–१० लक्ष्मीनियाँका ७५ वर्षीय किसान लक्ष्मी महतोको सम्झना ताजै छ ।

    “पहिले पो जोत्न गोरु चाहिन्थ्यो र घरघरै जसको जति खेत छ, त्यसअनुसार गोरु पाल्थे, अब सबै ट्रेक्टरबाटै जोत्छन्”, उनी भन्छन्, “गोरुसँगै घरघरैजसो भैँसी र कमसेकम एउटा गाई पालिन्थ्यो, अब न गोठमा वस्तु नै छन्, न यिनलाई बाँध्न चाहिने दाम्ला÷डोरीका लागिको सनपाटखेती ।” व्यावसायिक रूपमा आधुनिक तवरले पशुपालन गर्ने किसान निकै कम भएका र अब बजारमा प्लाष्टिकका दाम्ला, डोरी सजिलै पाइन थालेपछि सनपाटको सम्झना नै हुन छाडेको उनको भनाइ छ ।

    विराटनगरको जुटमिल बन्द हुनु, पशुपालन घट्दै जानु, नयाँ पुस्ताले यसबारे रुचि नदेखाउनु, पोखरी÷दहमा पानी सुक्नु र खेतीमा रासायनिक मलमा निर्भरता बढ्नुले सनपाटखेती हराएको औरही–७ भोइलका पाका किसान ७० वर्षीय मोहन महतोको बुझाइ छ । “करिब दुई दशक अघिसम्म जिल्लाका सबैजसो भेगमा आमकिसानले धेरथोर सनपाटखेती लगाउँथे । यहाँ कुत्रुङ, कश्मिरा र पटुवा जातका सनपाटको खेतीबाट आपूmलाई आवश्यक पर्ने सुत्री कातेर अरु बेचेर घरखर्चका लागि नगदको जोहो गर्थे”, एकडारा गाउँपालिकाको अजमरपट्टी बस्तीका ६० वर्षीय हरिदेव मण्डलले भने, “यो सबै हिजोझैँ लाग्दैछ । अहिलेका किशोर उमेरका नातिनातिनालाई सनपाट भनेको नै थाहै नपाउने अवस्था बनिसक्यो ।”

    सनपाट घरायसी प्रयोजनका डोरी, नाम्ला, दाम्ला र रस्सा एवं प्राङ्गारिक मलका लागिमात्र नभई कागज, बोरा, झोला, कपडा बुन्न उद्योगले समेत किन्ने गरेकाले विगतमा राम्रो आम्दानीको स्रोतको रूपमा थियो । यहाँबाट तयार गरिएको पाट विराटनगर जुट मिलमा जाने गरेकाले आम्दानी गर्न सहज भएको भङ्गाहा–५ धतीयाटोलका ६५ वर्षीय किसान सुपतलाल यादवको सम्झनामा छ । उनी भन्छन्, “मल र घरायसी प्रयोजका लागि सनपाट प्रयोग गथ्र्यौं । बढी भएपछि उद्योगलाई बेचेर कमाउथ्यौँ ।”

    सनपाटको सन्ठी अत्यन्त प्रज्वलनशील हुने हुँदा गाउँघरमा आगो सल्काउनरजगाउन बचाएर राख्ने पुरानो चलनसमेत रहेको थियो । खासगरी सन्ठी दीपावलीमा ‘हुक्कालोलि’ खेल्न प्रयोग गर्ने मधेशको चलन छ । ‘हुक्कालोलि’ मिथिला संस्कृतिकै अङ्ग मानिन्छ । यस प्रयोजनका लागि सन्ठी जोगाएर राखिने गरेको विगत यहाँका पाका किसानले बताउने गरेका छन् ।

    सनपाटखेती गर्मी हावापानीमा हुने गर्छ । छरेको करिब ४५ दिनमा काट्न तयार हुने यो खेतीका लागि महोत्तरीको माटो र वातावरण अनुकूल भएको कृषि प्राविधिक बताउँछन् । पानीका दह घट्दै गएपछि पाटका लागि यो खेती असजिलो हुँदै गए पनि खेतबारीको मलका लागि भने किसानलाई अझै यसतर्फ उत्प्रेरित गर्न आवश्यक रहको कृषिविज्ञ राजकिशोर यादवको भनाइ छ ।

  • प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

    प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

    काठमाडौँ, १३ जेठः प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल र बेमौसमी वर्षाका कारण उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद साजिदा खातुन सिद्धिकीले ‘डायलाइसिस’ गर्ने मेसिन देशका सबै अस्पतालमा उपलब्ध गराउन माग गरिन् ।

    सांसद खड्गबहादुर शाहीले मुगुमा यार्सागुम्बा सङ्कलनका क्रममा यही जेठ १० गते टाँकेखोलामा लेक लागेर पेमा लामाको निधन भएको र अहिलेसम्म लास उठाउन नसकिएको समस्या राखे । सांसद जनकसिंह धामीले कञ्चनपुरको शुक्लाफाँटा क्षेत्रमा वीरेन्द्र ठगुन्ना र उनको परिवार बाघको आक्रमणबाट घाइते भएको विषयमा ध्यानाकर्षण गराउँदै वन्यजन्तुको आक्रमणबाट हुने यस किसिमको क्षति नियन्त्रण गर्न माग गरे ।


    सांसद अनुष्का श्रेष्ठले ट्राफिक व्यवस्थापनमा सुधार देखिए पनि अझ व्यवस्थित गर्न अनुरोध गरिन् । सांसद हरिमोहन भण्डारीले बैतडीमा असिनाबाट कृषिबालीमा क्षति भएको जनाउँदै भीषण वर्षापछिको बाढी, पहिराबाट हुने मानवीय क्षति हुन नदिन बस्ती सार्ने वा पहिरो नियन्त्रण गर्ने कार्यक्रम ल्याउन अनुरोध गरे । सांसद श्रीराम न्यौपानेले बाँदरका कारण पीडित भएका किसानलाई राहत दिन र देशभर बढिरहेको बाँदरको समस्या समाधान गर्न आग्रह गरे ।

    सांसद निष्कल राईले कामको सिलसिलामा विदेशमा रहेका नेपालीले दुःख व्यहोर्नुपरेको उल्लेख गर्दै क्रोयसियामा सडक दुर्घटनामा निधन भएका नेपालीको शव स्वदेश ल्याउन समस्या भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गरे । सांसद रमेशकुमार सापकोटा हावाहुरीका कारण कर्णालीका विभिन्न जिल्लामा बिजुली अवरुद्ध भएको अवगत गराए । सांसद ऐनबहादुर महरले सिंहदरबारभित्रको संसद् भवनलाई हतारमा नभई सही र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नुपर्ने बताए ।

  • हत्या अभियोगमा खोटाङबाट तीन युवा पक्राउ

    हत्या अभियोगमा खोटाङबाट तीन युवा पक्राउ

    खोटाङ, १३ जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुइचुम्मा –४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन् । गत भदौ ३० गते राति रेश्मिका मृतावस्था फेला परेकी थिइन् । घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाउन उच्च अदालत ओखलढुङ्गाको आदेशका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

    यसअघि रेश्मिका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १६ वर्षीय एक किशोरलाई गत असोज १ गते पक्राउ गरेर जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । परिवारका सदस्यले थप तीन जनाको नाम उल्लेख गरेर गत चैत २१ गते उच्च अदालत ओखलढुङ्गामा किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा अदालतले चैत २८ गते घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।

  • हावाहुरीले ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु

    हावाहुरीले ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु

    दाङ, १२ जेठः रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । उनका अनुसार रुजुको घटनास्थलमा नै र मनबुजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा आज मृत्यु भएको थियो ।

    उनीहरू दुवै जना सोमबार बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए । बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी हावाहुरीसहितको पानी पर्दा बाटोमाथिबाट उत्तिसको रूख ढलेपछि उनीहरूलाई च्यापेको थियो । रूख ढलेर मानिसहरू च्यापेको भन्ने खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई उद्धार गरेको थियो ।

  • हुरीले घर भत्किँदा महिलाको मृत्यु

    हुरीले घर भत्किँदा महिलाको मृत्यु

    चन्द्रपुर (रौतहट), १२ जेठः रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो ।

    फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिए । हुरीले रायको घरको टायलको छानो र बासको बार भएको एकतले कच्ची घर भत्किँदा फूलकुमारीको मृत्यु भएको उनले बताए । यसैबीच, जिल्ला प्रहरी कार्यालयले सोमबार विभिन्न मुद्दामा फरार रहेका १० व्यक्तिलाई पक्राउ गरेको छ ।

  • विषाक्त खानाले एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर

    विषाक्त खानाले एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर

    गाईघाट (उदयपुर), ११ जेठः त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोलका स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार विषाक्त खानाका कारण २३ वर्षीय हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी र नन्दहरु १४ वर्षीय यशोदा र अर्का ९ वर्षीय यासिका बुढाथोकी रहेका छन् ।

    छिमेकी राधा बुढाथोकीका अनुसार शनिबार हेमा बुढाथोकीले घरमा बजारबाट ल्याएको मुसुरोको दालसहितको खाना खाएको र शनिबार रातिदेखि नै बान्ता तथा बेहोस हुने लक्षण देखिएपछि परिवारका सबै बिरामीलाई आफन्त र छिमेकीले उपचारका लागि जिल्ला अस्पतालमा लगेको राधा बुढाथोकीले बताए ।

    तीन जना योगेश, यासिका र यशोदाको उपचारपछि घर फर्केको जिल्ला अस्पताल उदयपुरले बताएको छ । तर, २३ वर्षीया हेमा बुढाथोकीको अवस्था चिन्ताजनक भएका कारण थप उपचारका लागि विराटनगर पठाइएको उदयपुरका प्रमुख डा मुकेश झाले बताए । हेमाको श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजागारमा विदेशमा रहेका छन भने घरमा हेमासहित छोरा योगेश र नन्दहरु यशोदा र यसिकासहित बस्दै आएको छिमेकीहरुले बताएका छन् ।

  • रौतहटमा बाघ गणना जारी

    रौतहटमा बाघ गणना जारी

    चन्द्रपुर (रौतहट) । ११ जेठः बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ । बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले यस्तो बताए । बाघप्रति आमनागरिकले सकारात्मक धारणा बनाए मात्रै बाघको संरक्षण हुने र बाघ भएको ठाउँ सुन्दर जङ्गल भएको हँुदा बाघ मार्ने र बाघसँगको दुस्मनी कसैले पनि गर्न नहुने उनको भनाइ थियो ।

    उनले भने, “रौतहटको जङ्गलमा बाघको सङ्ख्या यकीन नभए पनि यहाँका विभिन्न जङ्गलमा बाघ बस्दै आएको देखिएको छ । लोपन्मुख अवस्थामा रहेको पाटेबाघ छ । लमाहा नदीको माथिदेखि तल्लो क्षेत्रमा, धन्सारको वन क्षेत्रमा, हातेमालो सामुदायिक वन उपभोक्ता समुह र रङ्गपुर साझेदारी वनको सतियारी वनक्षेत्र, गैँडाटारको वनक्षेत्र, बागमतीको जुडिबेला र पौराइको वनक्षेत्र, रामलाल वृन्दावन साझेदारीको वनक्षेत्र, फतुवा विजयपुरको नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको बसोबास रहँदै आएको छ ।”

    बाघले मुख्य रूपमा जरायो, चित्तल, बँदेल, बाह्रसिङ्गालगायत जनावरलाई आहाराका रूपमा प्रयोग गर्ने उनले जानकारी दिए । नेपालमा बाघको सङ्ख्या ३५५ रहेको जानकारी दिँदै डिभिजन वन प्रमुख साहले रौतहटमा पनि बाघको गणना भइरहेको र केही समयपछि बाघको सङ्ख्या यकीन हुने बताए । उनले पाटेबाघको शारीरिक बनावट, स्वभाव, आहारा, बासस्थान तथा आक्रमण गर्ने शैलीबारे जानकारी दिँदै बाघले सामान्यतया मानिसबाट टाढा बस्न रुचाउने, तर आत्मसुरक्षा वा बच्चाको सुरक्षाका लागि आक्रमण गर्नसक्ने बताए ।


    साहले बाघ संरक्षणको महत्व, चुनौती तथा रौतहटमा बाघको अवस्थाबारे जानकारी दिए । विसं २०७७ असोज १४ गते रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । चन्द्रपुर नगरपालिका नगरपालिका– ६ का २७ वर्षीय सङ्गम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको थियो । भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा जङ्गलमा शव फेला परेको थियो । भण्डारीलाई खोज्न गएको दुई युवकलाई पनि सोही समयमा आक्रमण गरी घाइते बनाएको थियो ।

    यसैगरी, २०७८ साल असोज २१ गते रौतहटको लमहा जङ्गलमा बाघले आक्रमण गर्दा चन्द्रपुर–६ थोकरटोलका यज्ञबहादुर रायमाझी घाइते भएका थिए । बिहान घाँस लिन जङ्गल गएका रायमाझीलाई राजमार्ग छेउमै बाघले आक्रमण गरेको थियो । त्यस्तै, २०८१ मङ्सिर १५ गते रौतहटको गुजरा नगरपालिका–१ का वडाध्यक्ष रामजित चौधरी र बौराही चौधरीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । गुजरा–१ राईटोलमा आफ्नै घर नजिक रहेको आलुबारीमा पानी लगाउन गएकाबेला बौराहीमाथि बाघले आक्रमण गरेको देखेर बचाउन गएका गुजरा–१ का वडाध्यक्ष रामजीतलाई झम्टिएर घाइते बनाएको थियो ।

  • मापसे गरेर सवारी चलाउँदा एक महिनामा १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    मापसे गरेर सवारी चलाउँदा एक महिनामा १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    काठमाडौँ, ११ जेठ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।


    उनका अनुसार कोशी प्रदेशमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । मधेस प्रदेशमा २० सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् । बागमती प्रदेशमा १२ वटा दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु तथा तीन जना घाइते भएका छन् ।

    लुम्बिनी प्रदेशमा नौ वटा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । उता कर्णाली प्रदेशमा तीन वटा दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका पनि तीन दुर्घटनामा चार जना घाइते भएका प्रहरीले जनाएको छ ।


    मापसेका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको बताउँदै ट्राफिक नियमको पालना गर्न सबै चालकलाई प्रवक्ता काफ्लेले आग्रह गरे । उनले विशेषगरी रातिको समयमा, सार्वजनिक बिदा तथा विभिन्न पर्व–उत्सवका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम बढी देखिने गरेको जानकारी दिए । उनले मापसे गरी सवारी चलाउनु आफैँमा गम्भीर कानुनी अपराध मात्र नभई मानवीय जीवनका लागि अत्यन्त जोखिमपूर्ण कार्य भएको उल्लेख गरे ।


    ट्राफिक प्रहरीले पछिल्लो समय देशभर मापसे नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ । विशेषगरी शहरी क्षेत्र, राजमार्ग, व्यस्त चोक तथा रातिको समयमा ट्राफिक चेकजाँचलाई कडाइ गरिएको प्रहरीले जनाएको छ । मापसे गरी सवारी चलाउने चालकलाई कानुनअनुसार कारबाही गर्नुका साथै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए ।


    उनले भने, “मापसे गरी सवारी नचलाउन तथा सुरक्षित यात्राका लागि जिम्मेवार बन्न सम्पूर्ण चालक तथा सर्वसाधारणलाई अनुरोध गर्दै ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।”उनका अनुसार मादक पदार्थ सेवन गरेपछि चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रणमा कठिनाइ हुने तथा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले दुर्घटनाको सम्भावना अत्यधिक रहने गर्दछ । सवारी चलाउँदा पूर्ण रूपमा सतर्कता अपनाउन र ट्राफिक नियमको पालना गर्न उहाँले सबै चालकहरुलाई आग्रह गर्नु भएको छ ।

  • बागमती नदीमा डुबेका दुई युवकको शव भेटियो

    बागमती नदीमा डुबेका दुई युवकको शव भेटियो

    बरहथवा (सर्लाही), १० जेठ । नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ । बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार दुई युवक बेपत्ता भएका थिए । खोलामा डुबेर बेपत्ता भएका लालबन्दी नगरपालिका–९ बस्तीपुरका अन्दाजी १८ वर्षका रोहित महतो र लालबन्दी नगरपालिका–६ का अन्दाजी २० वर्षका गणेश महतोको शव खोजतलासका क्रममा आज बागमती नगरपालिका–११ स्थित खोलाकिनारमा फेलापरेको प्रहरीले जनाएको हो ।

    शनिबार खोला तर्ने क्रममा झप्सी झुलुङ्गे पुलमुनिबाट उनीहरू दुई जनासहित बरहथवा नगरपालिका–५ का अन्दाजी २८ वर्षका सहमद मोमिन, २४ वर्षका मोहम्द अखतर र ब्रहमपुरी गाउँपालिका–३ का अन्दाजी २० वर्षका श्याम भण्डारीलाई समेत खोलाले बगाएको थियो । बगेका तीन जना भने त्यसको केही मिटरको दूरीमा रहेको नुनथर क्षेत्रमा पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।


    उनी शनिबार बिहानै घुम्न निस्किएको र उक्त स्थानमा पुगेको परिवारको भनाइ छ । बेपत्ता रोहित र गणेशको भने खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव घटनास्थलको मुचुल्कापछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ । घटनापछि मृतक युवकहरूको गाउँ शोकमा डुबेको छ ।

  • बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन

    बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन

    काठमाडौँ, १० जेठ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा एक समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

    समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन् । त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।

    बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल सहभागी थिए । यस्तै, नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भिम बुढा, नापी विभागका निर्देशक दयानन्द जोशी र नापी अधिकृत ज्योति ढकालको सहभागिता थियो ।

  • तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

    तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

    काठमाडौँ, १० जेठः वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको पाइएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत वैशाख महिनामा देशभर दुई हजार २९४ दुर्घटना भएकामा एक हजार २५३ दुर्घटना तीव्रगतिका कारण भएको थियो ।

    सो अवधिमा १३७ दुर्घटना चालकको असक्षमता, १३३ दुर्घटना हतारमा बाटो काट्नु, ११२ दुर्घटना मादक पदार्थ सेवा तथा ४६ वटा दुर्घटना अनावश्यक ओभरटेकका कारण भएका थिए । दुर्घटनामा १५८ पुरुष, ५४ महिला र २७ बालबालिका गरी २३९ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ । ती दुर्घटनामा परी ७५२ जना गम्भीर तथा तीन हजार २२० जना सामान्य घाइते भएका छन् ।

    वैशाख महिनामा ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध एक लाख ३७ हजार ९४ वटा कारबाही भएको छ भने सोबापत रु ११ करोड ८२ लाख ७४ हजार १८९ राजस्व असुली भएको छ । सो अवधिमा भएका ती दुर्घटनामा तीन हजार ३३४ वटा सवारी साधन संलग्न भएका थिए । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेका थिए ।

    साँझ ६ देखि राति १२ बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको पाइएको छ । सो समयमा ८५९ दुर्घटना भएका थिए । यस्तै मध्याह्न १२ देखि साँझ ६ बजेसम्म ८५०, बिहान ६ देखि मध्याह्न १२ बजेसम्म ५०६ तथा मध्यराति १२ बजेदेखि बिहान ६ बजेसम्म ७८ वटा दुर्घटना भएको प्रहरी तथ्याङ्कले जनाएको छ ।

    पछिल्लो २४ घन्टामा तीन जनाको मृत्यु

    पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन् । बागमती प्रदेशमा दुई र काठमाडौँ उपत्यकामा एक जनाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • पोखराको अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    पोखराको अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    कृष्ण दवाडी/रासस

    कास्की, १० जेठः पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट सुरु हुने फिर्के फेवातालमा गएर मिसिन्छ । तर फिर्केखोला अहिले अतिक्रमणको सिकार मात्र बनेको छैन, फोहर विसर्जन गर्ने स्थलसमेत बनेको छ । अतिक्रमणका कारण खोलाको प्राकृतिक बहाव नै रोकिने अवस्थाका बीच लामो समयदेखि फिर्के चर्चामा रह्यो । यसैबीच, अन्ततः खोलाघरभित्रका अतिक्रमित संरचना आजदेखि अभियानका रूपमा हटाउन सुरु गरिएको छ ।

    महानगरले लामो प्रयासपछि अन्ततः फिर्केका अतिक्रमित संरचना हटाउन डोजर चलाएको हो । महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको थियो । महानगरले गत वैशाख ३ गते सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो ।

    खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थाहरूलाई पूर्वसूचना दिई सकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताए । अतिक्रमित संरचना हटाउने कार्यको औपचारिक सुरुआत महानगर प्रमुख आचार्यले जिरोकिमी नजिक फिर्केपुलबाट गरेका छन् । महानगरले अतिक्रमित संरचना हटाउनका लागि सुरु गरिने अभियानको सबै तयारीका काम सकिएको जनाएको छ ।

    महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिनेछ । पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नम्बर ५ र ८ तर्फ र पोखरा–७ र ८ को सिमाना जिरोकिलो मिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ गरी तीन स्थानबाट डोजरहरू चलाइने छ । अतिक्रमित संरचना हटाउने अभियान बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ । “फिर्के खोला लगायतका सबै स्थानका सार्वजनिक जमिनका संरचना हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणका लागि महानगरले योजनाबद्ध हिसाबले काम सुरु गरेको छ । आजदेखि खाली गराउन सुरु गरिएको क्षेत्र खोलाघरभित्रको भाग हो । खोला कसैको निजी सम्पत्ति हुन सक्दैन भन्ने तथ्यलाई हामी सबैले गम्भीरतापूर्वक मनन गरौँ,” महानगर प्रमुख आचार्यले भने ।


    महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाहरूले भने आफ्ना संरचना खाली गरिसकेका छन् । फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै सबै सामान सारिसकेको छ । त्यसैगरी, फोटोग्राफर सङ्घलगायतले पनि भवन खाली गरेका छन् । महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचना निर्माण गरिएका छन् । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको नाप जाँच प्रतिवेदनमा उल्लेख छ ।

    यसैगरी, खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरू निर्माण गरिएका छन् । साबिक ग्यारजातीपछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका–१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३।३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ । फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सीमास्तम्भहरू गाडिएका थिए ।

  • पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

    पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

    पाँचथर, १० जेठः अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो ।

    मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा बसेका छन् । गङ्गाप्रसादको ६ जनाको परिवार उनका दाजु दुर्गा बेघाको घरमा बसेको छ । सोही स्थानका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि सो परिवारका ६ जना विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

    बाढीपहिरोका कारण कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडाँडाका रबिन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरुङ र डम्बरबहादुर गुरुङ, एकराते टोलका रत्नमान राई, लछुमान राई, राजेश राई, कमलबहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगरडाँडा टोलका याम मगर, पूर्णकुमार मगर र सुजन मगरको घर जोखिममा छ ।

    बाढीले लामिटारबाट चाम्लिङडाँडा जोडने झोलुङ्गे पुल र याङवरक–२ दोभानेसिथत झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । बाढीले निर्माणाधीन दुई सडकका पुल बगाएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ दोभानेमा मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो सडक पुल बाढीले बगाएको हो । यहाँ निर्माणाधीन पुलका साथै सडक र डाइभर्सनसमेत बगाएका कारण यातायात पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिए ।


    त्यसैगरी, तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलका संरचनासमेत बाढीले बगाएको छ । याक्थुङहाङ निर्माण सेवा प्रालिले निर्माण गरिरहेको उक्त पुलका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन, फलामे पाइपलगायत सामग्री बगाएको प्रहरी नायब उपरीक्षक कर्णले बताए । पहिरो झरेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग ओयाम बजार र रिजाल भिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    जलविद्युत् आयोजनाहरूमा क्षति

    बाढी र पहिरोले याङवरक–२ मेवाखोलामा रहेको हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित इंवाखोलामा रहेको इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रका पर्खालमा क्षति पुगेको छ । यस्तै पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित काबेली खोला रहेको अरुण काबेली जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।

    यस्तै याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ । बाढी र पहिरोले टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना र मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिए । रासस

  • व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन

    व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन

    भजनी (कैलाली), १० जेठः जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ । गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । एक बिघा १०कट्ठा जमिन इँट्टा व्यवसायी तेजप्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले जानकारी दिए ।


    रु बाह्र करोड आठ लाख २७ हजार ९३८ को लागतमा अढाई तलाको प्रशासनिक भवनको कामत्रिवेणी, लाफा, शुभलक्ष्मी जेभीले गरिरहेको इन्जिनियर शाहीको भनाइ छ । उनका अनुसार २०८२ असार २२ गते भवन निर्माणका लागि भएको सम्झौताअनुसार २०८४ असार २० गते सम्पन्न गरिसक्नुपर्नेछ । “जग्गा नभएका कारण भवन निर्माणमा ढिलाइ भएको हो,” इन्जिनियर शाही भन्छन्, “अर्को वर्षबाट गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन्छ ।”

    निर्माण कम्पनीका इन्जिनियर मनिषकुमार शाहले हालसम्म २५ प्रतिशतमाथि काम भएको बताए । उनले भवन निर्माण स्थलमा डुबानको समस्या हुने हुँदा बर्सातको समयमा काम गर्न कठिन हुने गरेको बताए । “जगको काम सम्पन्न भएको छ । यो असारसम्म पहिलो तलाको काम सम्पन्न गर्ने लक्ष्य छ,” उनी भन्छन्, “काम गर्दै जाँदा समस्या नआए समयमै भवन सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्छौं ।”

    गाउँपालिकाले वडा नं १ को प्रशासनिक भवनबाट हाल सेवा प्रवाह गर्दै आएको छ । केही शाखा अहिले पनि भाडाको घरमा सञ्चालनमा छन् । वडा नं १ को सेवा प्रवाह साबिकको दुर्गौली गाविसको भवनबाट भइरहेको छ । गाउँपालिकामा सार्वजनिक जग्गाको समस्याका कारण वडा नं ५ र वडा नं ६ को प्रशासनिक भवन पनि निर्माण हुन सकेको छैन । दुवै वडा कार्यालय भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।

  • पोखरा उपत्यका नगर विकास समितिद्वारा पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

    पोखरा उपत्यका नगर विकास समितिद्वारा पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

    गण्डकी, १० जेठः पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरुलाई सूचित गरेको हो ।

    तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने शनिबार जारी सूचनामा उल्लेख छ । समितिले बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका जग्गाधनीहरुलाई सात दिनभित्र नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चालु आवको सम्पत्ति÷भूमिकर तिरेको रसिद र जग्गासम्बन्धी प्रमाण पुग्ने अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशनसमेत दिएको छ ।

    पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्कको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन यसअघि गत वैशाख ४ गते पोखरा महानगरपालिकाले पनि सार्वजनिक रुपमा सूचित गरेको थियो । ३५ दिने उक्त सूचनाको अवधि शनिबार सकिएपछि पोखरा उपत्यका नगर विकास समितिले अर्को सूचना जारी गरेको हो ।

    पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गामा सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरु रहेका छन् । आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन विसं २०३१–३२ तिर २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

    बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले करिब ६० रोपनी क्षेत्रफल मात्र बाँकी छ । प्रस्तावित आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराई बसपार्क निर्माणको प्रक्रियालाई अगाडि बढाउने महानगरको योजना छ । भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका नाममा झण्डै ५०० परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बसेको महानगरले जनाएको छ । वास्तविक सुकुमवासीलाई उचित व्यवस्थापन गरी अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने भएको हो ।

  • हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा

    हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा

    काठमाडौँ, ९ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा गरिने भएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने सशस्त्र प्रहरी सहायक हबल्दार कार्कीलाई हालको दर्जाको न्यूनतम अवधि पुगेपछि हबल्दारमा बढुवा गरिने भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उक्त घोषणा गरेसँगै आवश्यक प्रक्रिया थालिएको पनि उनले बताए ।


    साथै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हबल्दार कार्कीलाई हार्दिक बधाई दिनाका साथै उनीहरुले विश्वको सर्वोच्च शिखरमा राष्ट्र र सङ्गठनको झण्डा फहराउनु गर्वको विषय भएको उल्लेख गरे ।

    उनले उच्च मनोबल र हौसलाका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा राष्ट्र र सङ्गठनको झण्डा फहराउनु गौरवको विषय भएको चर्चा गर्नहुँदै उनीहरुले गरेको हिमाल आरोहणले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबलमा समेत हौसला, प्रेरणा र उत्साह मिलेको बताए ।

    सो कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र सङ्गठनको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउन पाउनु गर्वको विषय भएको र सफल आरोहणका लागि सहयोग, समन्वय तथा साथ दिनुहुने सशस्त्र प्रहरी बल नेपाललगायत सम्पूर्णमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरे । सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकाथिए ।


    सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेका थिए । सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सगरमाथा आरोहण गर्ने सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्की सशस्त्र प्रहरी बल नेपालमा पहिलो महिला आरोही हुन् । उनीहरुलाई एपिएफ सम्मानबाट सम्मानित गरिने भएको छ ।

  • बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    बागमती, ९ जेठः हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको बा।प्र।०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । स्कुटरलाई ठक्कर दिने बस र बसका चालक काभ्रेको चाँैरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    यसैगरी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेस्थित जङ्गलको भिरबाट लडेर दुई बालक घाइते भएका छन् । जङ्गलको बाटो हुँदै आज बिहान ११ बजेतिर भोर्लेबाट रमनटारतर्फ जाँदै गरेको साइकल आफैँ अनियन्त्रित भई भिरबाट करिब ३५ मिटर तल खसेर स्थानीय १२ वर्षीय साजन पाख्रिन र १२ वर्षीय रोणित थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता बोगटीले जानकारी दिए । घाइते दुबै बालकलाई उद्धार गरी उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

  • महोत्तरीमा चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९

    महोत्तरीमा चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९

    जलेश्वर (महोत्तरी), ९ जेठः विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । गत २०८२ पुस ११ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो भने पुस २१ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भएलगत्तै सबै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो ।

    सोही क्रममा सबै आवश्यक कागजी प्रक्रिया पूरा गरेर २०८२ माघ ६ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यसअनुसार नेपाली नागरिक आमाबाट नेपालमै जन्मिएका र बाबुको पहिचान हुन नसकेका व्यक्तिहरुले आवश्यक स्वघोषणा र प्रक्रिया पूरा गरेर वंशजका आधारमा नागरिकता प्राप्त गर्न थालेका हुन् । त्यसै क्रममा जिल्ला प्रशासन कार्यालयबाट गत २०८२ माघ महिनाको ६ गतेदेखि २०८३ जेठ ९ गतेसम्म जम्मा २०९ जनाले आमाको नामबाट वंशज नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

  • पाँचथरको याङवरकमा बाढीपहिरो, सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

    पाँचथरको याङवरकमा बाढीपहिरो, सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

    पाँचथर, ९ जेठः अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पु¥याएको हो । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा घर र वडा नं १ र २ मा गरी तीन वटा झोलुङ्गे पुल बगाएको छ । हालसम्म मानवीय क्षतिको विवरण नआएको र वर्षा रोकिएको उपाध्यक्ष मेन्याङ्बोले जानकारी दिए । बाढी पहिरोले याङवरक–१ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

    निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । याङवरक–३ स्थित रिजाल भिरमा पहिरो झरेको छ भने वडा नं २ को दोभानेमा रहेको डाइभर्सन पूर्ण रुपमा बगाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार पुष्पलाल ९मध्यपहाडी० लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड सुचारु गराउने पहल सुरु भएको छ । सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण सङ्कलन थालेको र हालसम्म दुई वटा घर बगाएको जानकारी आएको प्रनाउ कर्णले जानकारी दिए ।


    यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस बाढीले बगाएको प्रहरीले जनाएको छ । हेंवा, काबेली र तमोर नदीमा बाढी आएर तटीय क्षेत्र जोखिमपूर्ण बनेको पाँचथर प्रहरीको भनाइ छ । गए राति आएको बाढीपहिरोले याङवरक–३ ओयाम बजार आसपासको खेतीयोग्य क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको स्थानीयवासी तेजबहादुर योङ्याले जानकारी दिए ।

  • अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

    काठमाडौं । ९ जेठः काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला_ ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो ।

    यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरे ।


    सम्झौताअनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यहीँ जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ । यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको राससलाई जानकारी दिए ।


    उनले भने, “सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको लगेज हराउने, चोरी हुने तथा अन्य अवाञ्छित गतिविधि रोक्न यो प्रणाली प्रभावकारी हुनेछ । यात्रुको सुरक्षालाई केन्द्रमा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्य गरिएको हो । प्रारम्भिक चरणमा जेठ १५ बाट यो व्यवस्था लामो दूरीका सवारी साधनमा लागू हुनेछ ।” राष्ट्रिय यातायात व्यवसायीक महासङघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागिएको जानकारी दिए । उनका अनुसार यात्रुको लगेज सुरक्षित राख्ने विषय लामो समयदेखि चुनौतीका रूपमा रहेको थियो ।

    उनले भने, “जहाजमा जस्तै अब बसमा पनि लगेज ट्याग प्रणाली लागू हुनेछ । यसले यात्रुको झोला साटिने, हराउने वा गलत व्यक्तिले लैजाने समस्या हटाउनेछ । यात्रुले ढुक्क भएर यात्रा गर्न सक्ने वातावरण बन्नेछ ।” यातायात व्यवसायीका अनुसार चाडपर्व, भीडभाड तथा रात्रीकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो । कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसारपसारमा सार्वजनिक सवारीको दुरुपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए । नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।

    यस प्रणालीअन्तर्गत बस काउन्टरबाट यात्रुको लगेजमा कोड वा नम्बरसहितको ट्याग लगाइनेछ । सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ । गन्तव्यमा पुगेर ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिने व्यवस्था मिलाइने तयारी गरिएको छ । ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा प्रविधिमैत्री तथा डिजिटल प्रणालीसमेत जोड्ने योजना बनाइएको छ । आवश्यक परे क्युआर कोड वा डिजिटल रेकर्ड राख्ने अभ्यास पनि सुरु गर्न सकिने बताइएको छ ।

    यसैबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजै “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३”को पनि शुभारम्भ गरेको जनाएको छ । वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो, डुबान तथा सवारी अवरोधलाई लक्षित गर्दै उक्त अभियान सुरु गरिएको कार्यालयले जनाएको छ ।

    ट्राफिक प्रहरीले मनसुन अवधिमा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सवारी साधनको प्राविधिक अवस्था परीक्षण, चालकको स्वास्थ्य जाँच, जोखिमयुक्त सडकको निगरानी तथा यात्रु सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ । सार्वजनिक यातायात क्षेत्रमा नयाँ सुरक्षा अभ्यासको रूपमा हेरिएको लगेज ट्याग प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भए यात्रुको विश्वास बढ्नुका साथै सार्वजनिक यातायात सेवा थप व्यवस्थित र सुरक्षित बन्ने अपेक्षा गरिएको छ ।

  • महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

    महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

    जलेश्वर (महोत्तरी), ८ जेठ । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो । मनरासिस्वा नपा–७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरु १२ वर्षीया स्नेहाकुमारी र छ वर्षीया शिवानीकुमारी तथा अजिज नदाफकी छोरी १२ वर्षीया अफसाना खातुनको डुबेर मृत्यु भएको हो । सरपल्लो गाउँकी तीनै जना बालिका आज दिउँसो अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका थिए । नुहाउने क्रममा खुट्टा चिप्लेर नदीमा डुबेर मृत्यु भएको हो ।

    प्रहरीका अनुसार गौशाला नपा–४ रजखोर गाउँ बस्ने नरेश महतोकी छोरी दुई वर्षीया दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताए । मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

  • सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

    सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

    काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सदस्यहरू आ आफ्नो आसनबाट उठेर भनाइराख्न सभामुखसंग समय माग गरे । यसपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका अध्यक्ष हर्कराज राईलाई बोल्ने समय दिए । अध्यक्ष राईले जनताको सार्वभौम थलो प्रतिनिधिसभासभामा प्रधानमन्त्री र मन्त्रीहरू नियमित उपस्थित भई सदनमा उठान भएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।

    उनले प्रधानमन्त्री वालेन्द्र शाहले गृह र रक्षासमेतको कार्यभार सम्हालेको अवस्थामा सीमा सुरक्षा, सुकुमवासीको व्यवस्थापनलगायत विषयमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराए । सभामुख अर्यालले अध्यक्ष राईको भनाइप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो पार्टीका सांसदसँग आसन ग्रहण गर्न आग्रह गरेका थिए । सो दलका सदस्यहरूले सरकारको जवाफदेहिताको माग गर्दै सदनमा बुधबार ‘प्ले कार्ड’ समेत प्रदर्शन गरेको थियो ।

  • बढघर हुनु त यस्तो पो….

    बढघर हुनु त यस्तो पो….

    रासस
    पकरियापुर (कैलाली), ७ जेठः मध्याह्नको उखरमाउलो गर्मी । तातो हावा चलिरहेको छ । भजनी नगरपालिका–३ पकरियापुरका मानबहादुर चौधरीको अनुहार पटक्कै तातेको देखिँदैन । सार्वजनिक सुरक्षित आश्रयस्थलको खुला चौरमा भेटिनुभएका ४० वर्षीय चौधरी दोस्रो कार्यकालको बढघर (भलमन्सा)को नेतृत्व गरिरहेका छन् । उनका अनुसार बढघर अन्तर्गत ६२६ घरधुरी छ । आश्रयस्थलमा राजनीतिक कार्यक्रम जारी रहँदा उजलाई सुन्न जान मन लागेनछ । किन जानुभएन ? उनले भने, “के पाउनु छ र ? भाषण सुन्न गएर । ताली बजाएर ? विपद् पर्दा भाषण गर्ने जोगाउन आउँदैनन् । आफँैले आफ्नाका सुरक्षा गर्नुपर्दछ ।”

    उनी सोही समयमा नेपाल रेडक्रस सोसाइटी र भजनी नगरपालिकाको संयुक्त सहकार्यमा सञ्चालन भइरहेको विपद्का समयमा नसर्ने रोगसम्बन्धी अत्यावाश्यक हेरचाह ‘प्याकेज’को परीक्षण र कार्यन्वयन तयारीको लागि सञ्चालन भइरहेको कृत्रिम घटना अभ्यासमा जुटिरहेका थिए । विपद्का अवस्थामा तत्काल अस्थायी आवास (सेल्टर) कसरी निर्माण गर्ने र समुदाय सहित नसर्ने रोग लागेका व्यक्तिहरुलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर पूर्वाभ्यास गरिहेका थिए ।

    बाँसका टेका लगाएर नेपाल रेडक्रस चिह्न अङ्कित तारपोलियन मिलाउँदै उनले भने, “बाढी र डुबान नआउने समयमा यस्ता अभ्यास गर्दा भोलिका दिनमा सजिलो हुने रहेछ ।” उनका अनुसार मुख्य गरेर यहाँका कन्द्रा, मोहना, काँढा, पथरैयासहित कर्णालीले डुबान र कटानको कहर नल्याएको वर्ष हुँदैन ।

    बडघरका मानबहादुरकी श्रीमती ब्रेफानी चौधरी पनि समुदायमा विपद्को पूर्वसूचना ‘माइकिङ’ गर्न व्यस्त हुँदा भेटिएकी थिइन । ‘विपद्का सूचना र जानकारी कसरी समुदायमा पु¥याउने’ भनेर उनलाई भ्याइ नभ्याइ थियो । सूचना सम्प्रेषणका विधि र तरिका बारेमा उनले नेपाल रेडक्रस सोसाइटीद्वारा प्रदान गरेको तालिममा सिकेकी थिइन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान सूचना बढघरसम्म आइपुग्नासाथ उन्ी ‘माइक’ बाकेर घरबाट निस्किएकी थिइन् ।


    उनले अफ्नो मातृभाषामा स्थानीयवासीलाई नदीमा पानीको उच्च बहाव बढ्दैछ, डुबान हुने सम्भावना छ सबै जना उच्च सतर्क रहनुहोला र अति सङ्कटासन्न व्यक्तिहरुले विशेष सतर्कता अप्नाउनु होला भन्दै सूचना प्रसार गराइन् । उनको पूर्वसूचना सन्देशमा नयाँ जानकारी थपिएको थियो । ब्रेफानीले दोहो¥याएर सम्प्रेषण गर्दै थिइन्, “बाढीका समयमा नसर्ने रोग लागेका व्यक्ति तथा हेरचाह गर्ने व्यक्तिहरुले ध्यान दिनुहोला । यस्ता विरामीले नियमित सेवन गर्ने औषधिको सुनिश्चितता गर्नुहोला । जोहो गर्नुहोला ।” ‘माइकिङ’ गरेर नसुन्ने स्थानमा नगरपालिकाले बहुउपयोगी ‘साइरन’मार्फत समेत सूचना सम्प्रेषण गर्ने गरेको छ ।

    ‘माइकिङ’ सुनेर महिला स्वयंसेविका किरणा जैसी झटपट झोला बोकेर घरबाट निस्केकी थिइन । झोलामा नसर्ने रोग (रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास)सहित झाडापखाला, ज्वरोका औषधिसहित केही प्राथमिक उपचार सामग्री पनि रहेका थिए । उनले भने, “विपदका अवस्थामा नसर्ने रोगको व्यक्तिको सेवा निरन्तरताका लागि चुनौती छ र यो कृत्रिम घटना अभ्यासले समुदाय तथा नसर्ने रोग लागेका व्यक्तिहरुको विपद् पूर्वतयारी तथा विपद्को पूर्वानुमानपश्चात् गरिने पूर्वकार्यको ज्ञान तथा सीपसमेत वृद्धि गर्नेछ । यसमा समुदायलाई अभ्यस्त बनाउन जरुरी छ ।”

    यहाँ बडघरले समुदायलाई एकताबद्ध, सङ्गठित, अनुशासित र विकासका काममा परिचालन गर्ने काम गरिरहेको छ । बडघर थारू समुदायको मौलिक प्रथा पनि हो । बडघरले थारूको मौलिक सञ्चार प्रणालीअनुसार सूचना प्रवाह गर्ने गर्छन् । बडघरको जिम्मेवारीमा रहेका व्यक्तिले स्वयं प्रत्येक गाउँको घरधुरीमा पुगेर सूचना दिने काम गर्ने परम्परा रही आएको छ । सूचना प्रवाह गर्दा गाउँका सबै घरमा पुगेर लिखित वा मौखिक सूचना दिने काम गर्ने गर्छन् । बडघर मानबहादुरले भने, “बडघर आफैँ खट्नु बढी विश्वसनीय हुने भएकाले समय भएसम्म म आफैँ खट्ने गर्दछु । ”

    बाढी र डुबानसहित नसर्ने रोगको उच्च जोखिम

    भजनी नगरपालिकाका प्रमुख केबल चौधरीका अनुसार नगरपालिकाका नौवटै वडा बाढी र डुबानका उच्च जोखिममा पर्दछ । विगत तीन वर्षदेखि यहाँ बाढी र डुबानका कारण मानवीय क्षति नभए पनि डुबान, कटान सहित कृषिबाली क्षति हुनेक्रम रोकिएको छैन । उनले भने, “पछिल्ला वर्ष नसर्ने रोगको वृद्धिले नगरवासीहरु बाढीको समयमा अझ प्रभावित बन्न थालेका छन् । यहाँको नसर्ने रोग को ‘ग्राफ’ निरन्तर उकालोमा छ ।” उनका अनुसार पालिकाभित्र बाढी र डुबानको उच्च जोखिमबाट समुदायलाई जोगाउन एकसयभन्दा बढी उच्च घर बनाउन सहयोग तथा विस्थापित राख्न १८ उच्च घर बनाइएका छन् ।

    गत माघ र फागुनमा नगरपालिकाले नगर क्षेत्रमा नसर्ने रोगसम्बन्धीे ‘स्क्रिनिङ’ अभियान नै सञ्चालन गरेको थियो । नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाशबहादुर डगौरा थारुका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र भजनी, आधारभूत स्वास्थ्य केन्द्र पल्तुपुर, मन्त्रिफाँटा, धरौना, गोडचौरासहित लालाबोझी स्वास्थ्यचौकी, थापापुर स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र चर्रा र खैलाड स्वास्थ्यचौकीमा ३० वर्षमाथिका एकहजार एकसय ८० को परीक्षण गर्दा रक्तचाप २५५, मधुमेह ९५, मिर्गौला १६, मोटोपना २४४ जना भेटिएको थियो । उनले भने, “समुदायमा नसर्ने रोगको व्यक्तिको खोजपड्ताल गर्नेक्रम जारी छ । पहिचानका लागि यस्ता व्यक्तिलाई ‘कार्ड’ वितरण भइराखेको छ । यसबाट विपद्का समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लगि सहयोग पुग्ने छ । ”

    भजनी नगरपालिकामा नोभो निर्डिस्क फाउन्डेसनको आर्थिक सहयोग तथा डेनिस रेडक्रस, क्यानडियन रेडक्रस तथा आरहुस विश्वविद्यालयको सहकार्यमा ‘रेजिलिएयन्स नसर्ने रोग उपचार’ परियोजना अप्रिल २०२४ देखि मे २०२६ सम्म सञ्चालनमा रहेको छ । सोही परियोजनाले भजनीमा विपद्का समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लगि विपद्को समयमा नसर्ने रोगसम्बन्धी अत्यावाश्यक हेरचाह प्याकेजका ‘पेन डि प्याकेज’ मार्फत निरन्तर पैरवी, सहजीकरणका गतिविधिमा सहयोग गरिराखेको नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य सेवा विभागका स्वास्थ्य कार्यक्रम संयोजक अनिल महर्जनले जानकारी दिए ।
    ‘रेजिलिएयन्स नसर्ने रोग उपचार’ परियोजनाका संयोजक प्रमोद अधिकारीले भने, “विपद्का अवस्थामा नसर्ने रोग लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तरतालाई सुनिश्चित गर्दै स्वास्थ्य क्षेत्र र विपद् जोखिम व्यवस्थापन प्रणालीबीचको अन्तरलाई कम गर्नु ‘रिजिलियन्स एनसिडी’ परियोजनाको मुख्य उद्देश्य रहेको छ । विपद्मा नसर्ने रोगका बिरामीलाई प्राथमिकता दिन सकेमा आकस्मिक जटिलता र मृत्युको जोखिम कम हुन्छ साथै बिरामीको मानसिक तनावसमेत कम हुन्छ । मधुमेह, उच्च रक्तचाप, मुटुरोगजस्ता रोगबाट गम्भीर अवस्था सिर्जना हुनबाट रोकेर मानिसलाई बचाउन सकिन्छ । पेन–डी प्याकेजलाई समावेश गरी नीतिगत रूपमा काम गरेमा विपद्को समयमा नसर्ने रोग भएका व्यक्तिहरुले थप जटिलता भोग्नु पर्ने थिएन ।”

    भजनी विपद् र नसर्ने रोगको दोहोरो मारमा रहेको छ । नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयुक्त सहकार्यमा निर्माण भएको विपद्को समयमा नसर्ने रोगसम्बन्धी अत्यावाश्यक हेरचाह प्याकेजका ‘पेन डी प्याकेज’ को अन्तिम मस्यौदा तयार भइसकेको र भजनी नगरपालिका आगामी वर्षदेखि उक्त प्याकेजलाई पालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर कार्यन्वयन गर्ने तयारीमा रहेको छ । नगरपालिकाका प्रमुख चौधरीले भने, “ विपद्को समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लागि यो प्याकेजले सहजीकरण गर्ने भएकाले भविष्यमा भजनी नगरपालिकामा नसर्ने रोगबाट प्रभावित रहेका व्यक्तिहरु विपद्का समयमा उपचारबाट वञ्चित हुनु पर्दैन ।”

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सामुदायिक स्वास्थ्य विशेषज्ञ डा सविन पराजुली विपद्को समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लागि ‘पेन डी प्याकेज’ सहयोग पु¥याउने जानकारी दिँदै भजनी र लालझाडीको सिकाई अन्य पालिकामा कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

  • चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

    चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

    झापा, ७ जेठ । झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन् । यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन् । नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित उक्त केन्द्र पीडितका लागि भरोसा बन्न थालेको हो । विसं २०६१ मा स्थापना भएको यस केन्द्रबाट हालसम्ममा २१ हजार ७८६ जनाले उपचार सेवा लिइसकेका छन् ।

    केन्द्र सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईका अनुसार पछिल्लो चार वर्षमा नेपाली सेनाको अरिदमन गणस्थित यस केन्द्रमा तीन हजार ८०० जनाले उपचार गराएका छन् । गत वैशाखमा मात्रै यहाँ सर्पले डसेका ४७ जना बिरामीको उपचार गरिएको छ । २१ शय्या क्षमताको यस केन्द्रमा चार जना प्राविधिक कार्यरत छन् । यहाँ उपचार गराइरहेका बिरामीलाई थप जटिलता आएमा भद्रपुरस्थित प्रादेशिक अस्पतालले आवश्यकताअनुसार निःशुल्क सघन उपचार कक्ष (आइसियू) सेवा उपलब्ध गराउँदै आएको छ ।

    केही वर्षयता तराईमा मात्र नभई इलाम, पाँचथरलगायत पहाडी जिल्लामा समेत सर्पदंशका घटना बढ्दै गएका छन् । नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये १७ प्रजाति विषालु छन्, जसमा सबैभन्दा बढी विषालु गोमनका तीन प्रजाति पर्दछन् । पहिले तराईमा मात्रै सीमित गोमन सर्प अचेल पहाडी भूभागमा समेत देखिन थालेको छ । खानेपानीको पाइप, काठ तथा अन्य सामग्रीमा बेरिएर बसेका तराईका सर्पहरू मालवाहक ट्रक तथा अन्य सवारीसाधनमार्फत पहाड पुग्ने गरेको केन्द्रका अध्यक्ष भट्टराईले बताए । पहाडी क्षेत्रमा भने विशेष गरी ‘गुर्बे’ नामक सर्पको बिगबिगी छ ।

    उनका अनुसार गोमनले डस्दा मानव शरीरमा २०० मिलिग्रामसम्म विष फैलाउन सक्ने क्षमता हुन्छ । करेतले १२ मिलिग्रामसम्म विष फाल्न सक्छ । गोमन वा करेतको १२ मिलिग्राम विष मात्रै शरीरमा प्रवेश गरे पनि मानिस बेहोस हुने हुन्छ । गुर्बे र हरेउले १५० मिलिग्रामसम्म विष फाल्न सक्छन् । तराईमा गोमन, करेत र भाइपरको टोकाइ ज्यानमारा हुने गर्दछ भने पहाडको गुर्बेले मानिसलाई गम्भीर बिरामी तुल्याउँछ ।

    प्राविधिकहरूका अनुसार गोमन र करेत जस्ता विषालु सर्प घर वरपरको घाँस, पतकर, दुलो, ओछ्यान, बाकस र झोलाहरूमा लुकेर बस्ने गर्छन् । असावधानीवश छुँदा वा टेक्दा सर्पले डस्ने गरेका छन् । यस्तै, पहाडमा पाइने गुर्बे सर्प भने घाँसमा बेरिएर बस्ने भएकाले घाँस दाउरा गर्न जाने स्थानीय बढी निशानामा पर्ने गरेका छन् । अध्यक्ष भट्टराईले सर्पले डसेका बिरामीलाई धामीझाँक्री वा झारफुकको भ्रममा पारेर समय बर्बाद नगर्न आग्रह गरेका छन् । सर्पदंश भएका व्यक्तिलाई जतिसक्दो चाँडो चारआली सर्पदंश उपचार केन्द्र वा नजिकैको अस्पताल पुर्याउन सके अकाल मृत्युबाट जोगाउन सकिने उनको भनाइ छ ।

  • बालबालिकामा कुपोषण बढ्यो

    बालबालिकामा कुपोषण बढ्यो

    काठमाडौँ, ७ जेठः सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा कुपोषण हुने बालबालिकाको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता सञ्चालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढी सङ्ख्यामा कुपोषण देखिएको हो । स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतभन्दा यसपटक कुपोषणको भएका बालबालिकाको सङ्ख्या बढेको बताए । उनका अनुसार कडा शीघ्र कुपोषण चार प्रतिशत बालबालिकालाई देखिएको छ । यसअघि उक्त सङ्ख्या एक प्रतिशतमा रहेको थियो ।

    “यसपटक हामीले देशभरि नै अभियान सञ्चालन गरेकाले कडा शीध्र कुपोषणका बालबालिकालाई धेरै देखिएको हो”, शाखा प्रमुख थापाले भने, “पहिले हामी प्रदेशमा मात्र कुपोषणको अवस्था पत्ता लगाउने गर्दथ्यौँ र कम देखिएका हुन् ।” उनका अनुसार कडा शीघ्र कुपोषण कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा बढी देखिएका छन् । कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे र करङ देखिने खालको हुने गर्दछन् ।

    कडा शीघ्र कुषोषण लागेका बालबालिकालाई ‘तयारी उपचारात्मक खाना’ दिने र उक्त तयारी खाना खाएपछि बालबालिकालाई स्वस्थ्य हुने उनको भनाइ छ । तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई देशतिर २५ वटा पुनःस्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रूपमा हेरेर तयारी खाना खुवाइने थापाले बताए । यसैगरी, मध्यम कुपोषण १२ प्रतिशत बालबालिकामा देखिएको छ । मध्यम शीघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेरअनुसार तौल नहुने तथा लुरे हुने गर्दछन ।

    अभियान जेठसम्म

    शाखा प्रमुख थापाका अनुसार साधनस्रोतको कमीले जेठ महिनासम्म अभियान सञ्चालन गरिने छ । सरकारले पोषण पत्ता लगाउन पहिलो पटक गत वैशाख १५ देखि ३० गतेसम्म अभियान सञ्चालन गरेको थियो । बालबालिकाको उचाइ र तौल लिने उपकरणको अभावमा सबै पालिकामा अभियान सञ्चालन गर्न नसकिएकाले जेठ महिनासम्म अभियान विस्तार गरिएको हो ।

    अर्को वर्षदेखि यसलाई कार्यक्रमका रूपमा राखिने जानकारी दिए । सरकारले छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकाको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको हो । यस अभियानअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा नापेर पोषणको स्थिति पत्ता लगाउने गरिएको छ ।

  • सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

    सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

    रासस
    काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे सहमति भएको छ । सहमति भएसँगै उनले आफ्नो २३ औँ दिनको अनशन अन्त्य गरेकी हुन् । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाइन् ।


    बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल)मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो । उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दाहाल थिए ।


    उक्त टोलीले सोमबारदेखि नै अधिकारकर्मी खानसँग निरन्तर वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपछि खानले प्रधानमन्त्री शाह र सरकारका प्रतिनिधिप्रति कृतज्ञता व्यक्त गरिन् । सहमति अनुसार जिल्ला प्रहरी कार्यालय, बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ ।

    त्यस्तै, अनशनरत खानले उठाउनुभएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट छानबिन गराउने र त्यस क्रममा कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारीहरूउपर प्रहरी नियमावलीबमोजिम कानुनी कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।

    खानविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ मुद्दामाथिको अनुसन्धानलाई पनि तत्काल टुङ्ग्याउन निर्देशन दिइने सहमति भएको छ । यस मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख, प्रहरी उपरीक्षकलगायतका कर्मचारीहरूको भूमिकाका सम्बन्धमा प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने र कमजोरी पाइएमा कारबाही प्रक्रिया अघि बढाउने सहमति समेत भएको छ ।

    यसैगरी, निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि बाँकेस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने सहमति भएको छ । उक्त सहमतिपत्रमा मानव अधिकार र महिला अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले रोहवरका रूपमा हस्ताक्षर गरेका छन् । रोहवरमा हस्ताक्षर गर्नुहुनेहरूमा इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महत, एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक वसन्त गौतम, महिला अधिकार मञ्चका प्रवक्ता मोहम्मद शेर बागवान, अध्यक्ष मनकुमारी गुरताल र सदस्य गीता रैदास छन् ।

  • मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

    मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

    जलेश्वर (महोत्तरी), ६ जेठः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् ।
    यहाँको बर्दिबासमा आज आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले निरन्रता दिने बताए । सभापति थापाले नेपाली कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टीपंक्तिलाई निर्देशन दिए ।