Category: स्थानीय

  • प्रमुख सञ्चारमाध्यमका कार्यालय र गगन थापाको घर अगाडी शंकास्पद सवारी पार्किङले दिनभर संसय

    प्रमुख सञ्चारमाध्यमका कार्यालय र गगन थापाको घर अगाडी शंकास्पद सवारी पार्किङले दिनभर संसय

    २९ असार, काठमाडौं । आज काठमाडौंमा मूख्य सञ्चारमाध्यम कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय अगाडी गेट नै ढाकिने गरी सवारी पार्किङ गरिँदा दिनभर संसय उत्पन्न भएको छ । साथै प्रमखु प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडी समेत शंकास्पद सवारी साधन पार्किङ गरिएको थियो । ती सवारी साधन कुन नियतले कसको इशारामा पार्क गरियो भन्ने खुलेको छैन । तर, शंकाको सुई भने सरकारतर्फ सोझिएको छ ।

    खासगरी काठमाडौंमा दिनदहाडै एक युवकले पार्किङको विषयलाई लिएर आत्मदाह गरेसँगै सञ्चारमाध्यमले सरकार जिम्मेवारी हुनुपर्ने माग गरेका थिए । बदलामा सरकारी संयन्त्रबाटै अनाधिकृत रुपमा सञ्चारमाध्यम प्रमुख प्रतिपक्षी दलको कार्यालयमा सवारी पार्किङ गराइदिएको आशंका आज दिनभर सामाजिक संजालमा चलेको छ ।

    अपरान्ह प्रहरीले ती सवारी साधन उठाएर बग्गीखाना लगेको थियो । महानगरीय ट्राफिक प्रहरी कार्यालयले आज अनाधिकृत पार्किङ गरेका १४ सवारी साधनलाई जरिवाना तिराएको विवरण सार्वजनिक गरेको छ । अधिकांश सवारीलाई ५ सय रुपैयाँ जरिवाना गराएर प्रहरीले ती सवारी साधनलाई छाडेको छ ।

  • मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    फिक्कल (इलाम), २९ असार । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको भए पनि गएराति सडक थप भासिएपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको हो ।

    सडक अवरुद्ध भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको छ । इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका ठूलो सङ्ख्याका मालवाहक तथा अन्य सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन् । “दिनदिनैको वर्षाले सडक भासिने र पहिरो झर्ने क्रम बढ्दो छ”, प्रमुख जिल्ला अधिकारी ढकालले भने, “आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिएका थियौँ । जोखिम झन बढेकाले आजदेखि उक्त सडकखण्ड अनिश्चितकालका लागि पूर्ण रूपमा बन्द गरेका छौँ ।”

    राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन आइतबारको बाढीले बगाएपछि उक्त सडक पनि अवरुद्ध भएको छ । यस्तै, इलाम–झापा जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्घा सडक (मेची करिडोर) अन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाएपछि इलाम, पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।


    सडक डिभिजन इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि डेढ महिनाअघि नै सिभिल संरचना तयार भए पनि भारत सरकारले निःशुल्क उपलब्ध गराएको बेलीब्रिजको सामग्री हालसम्म नआउँदा समस्या समाधान हुन सकेको छैन । सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि यात्रा गरेका सर्वसाधारण पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन् ।

  • विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

    विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

    काठमाडौँ, २९ असारः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जनाएको छ ।

    हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई, कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    साथै आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भू–भागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली भू–भागको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    कोशी र बागमती प्रदेशको पहाडी र तराई भू–भाग तथा मधेस प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    विभागले मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । साथै ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको पनि विभागको भनाइ छ ।

  • पूर्वाधार विकासमा अग्रसर व्यास

    पूर्वाधार विकासमा अग्रसर व्यास

    रासस
    दमौली (तनहुँ), २९ असारः व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।

    नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई स्तरोन्नति गरिनेछ । दीर्घकालीन योजना, आवधिक योजना, मध्यकालीन खर्च संरचना तथा एकीकृत सहरी विकास कार्यक्रमको मार्गदर्शनअनुसार नगरपालिकाको सन्तुलित विकास अवधारणालाई कार्यान्वयन गरिएको छ ।

    नगरप्रमुख न्यौपानेले दमौलीसहितका सहरी क्षेत्रमा वर्षायाममा हुने डुबान र ढल निकासको समस्यालाई समाधान गर्न फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना तयार गरी क्रमशः कार्यान्वयन गरिने बताए । नगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीचको सहकार्यमा सहरी वडामा स्मार्ट लाइट जडान तथा ग्रामीण वडाका सबै गाउँमा विद्युतीकरण विस्तार गरिनेछ । सडक बत्तीलाई व्यवस्थित गर्दै ‘उज्यालो नगरपालिका’ अभियानलाई कार्यान्वयनमा ल्याइने उनको भनाइ छ ।

    कृषि उत्पादन वृद्धि र सिँचाइ सुविधा विस्तारका लागि व्यास–१० दुम्सीचौरस्थित निर्माणाधीन नारेश्वर तालबाट पानी लिफ्ट गरी दुम्सीचौर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । नगरपालिकाले सहभागितामूलक योजना तर्जुमा प्रक्रियालाई निरन्तरता दिने भएको छ । प्रत्येक वडा, बस्ती तथा टोल विकास संस्थाको सहभागिता र परामर्शमा विकास आयोजना छनोट गर्ने नीति अवलम्बन गरिएको छ ।

    विकास आयोजनामा उपभोक्ताको सहभागितालाई पनि स्पष्ट रूपमा निर्धारण गरिएको छ । नगरप्रमुख न्यौपानेले आगामी आर्थिक वर्षदेखि उपभोक्ता समितिमार्फत सञ्चालन हुने रु १० लाखभन्दा कम लागतका योजनामा तीन प्रतिशतमात्रै ‘कन्टिन्जेन्सी’ कट्टा गरिने जानकारी दिए । “यसले स्थानीयस्तरमा साना विकास योजनाको प्रभावकारिता बढाउनुका साथै मर्मतसम्भारका लागि छुट्टै स्रोत सुनिश्चित गर्न सहयोग पुग्नेछ”, उनले भने ।


    सहरी क्षेत्रका चोक, सडकपेटी तथा जीर्ण सडकको स्तरोन्नतिका लागि सडक बोर्ड नेपालसँग सहकार्य गरिनेछ । नगरभित्रका सबै सडकको वर्गीकरण गरी सडक किनारमा वृक्षरोपण अभियान सञ्चालन गरेर हरियाली प्रवर्द्धन गरिने नीति अघि सारिएको छ ।

    नगरप्रमुख न्यौपानेले सेती र मादी नदी उपत्यकामा रहेको व्यास मार्ग तथा बुद्धसिं मार्गलाई यस क्षेत्रको ‘जीवनरेखा’का रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए । तनहुँ, लमजुङ र कास्की हुँदै गण्डकी र बागमती प्रदेश जोड्ने उक्त सडकलाई ‘व्यास–बुद्धसिं मार्ग’ नामकरण गरी सङ्घीय सरकारअन्तर्गत निर्माण तथा विस्तारका कामलाई पूर्णता दिन पहल गरिने उनले जानकारी दिए ।

  • ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

    ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

    खोटाङ, २९ असारः निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको कालोपत्र योजना अधुरै रहने भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसँेलुखर्कबजार जोड्ने सडक र सोही खण्डको हुर्लुङबाट जालपा–सप्तेश्वर–बाक्सिलाबजार जोड्ने ग्रामीण सडक कालोपत्र योजना अपुरो हुने भएको हो ।

    कोशी प्रदेश सरकारबाट विनियोजित बजेमार्फत अस्फाल्ट कालोपत्र गर्ने भनिएको यी दुई सडकको काम कालोपत्र गर्ने चरणमा पुगेपछि अलपत्र परेको छ । दुवै सडकको कालोपत्रको काम यही असार १५ गतेभित्र सक्नेगरी निर्माण कम्पनी बिसी–पिसी–पीकेबी जेभीले भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमा ठेक्का सम्झौता गरेको थियो ।

    निर्माण व्यवसायीले सडक कालोपत्र गर्न आवश्यक सामग्री तयार पारे पनि म्याद र मौसमका कारण काम अघि बढ्न नसकेको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिनुभयो । नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडक रु दुई करोड ३८ लाख ३८ हजारमा दुई हजार २०० मिटर खण्डमा कालोपत्र गर्नेगरी निर्माण व्यवसायीले काम सुरु गरेको थियो ।

    सोही ठेकेदार कम्पनीले हुर्लुङबाट जालपातर्फ दुई हजार ५०० मिटरमा अस्फाल्ट कालोपत्र गर्नेगरी रु दुई करोड ५३ लाख ५४ हजारमा सम्झौता गरेको थियो । हालसम्म नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडकको प्रगति १८ प्रतिशत र जालपा–हुर्लुङ–सप्तेश्वर–बाक्सिला सडकको भौतिक प्रगति १३ प्रतिशतमात्रै भएको कार्यालयले जनाएको छ ।

    सम्झौताअनुसार ड्रेन, रिटेनिङ वाल, ग्याविन जाली, सवबेस, कजवे ढलानलगायतका काम गरिसकिएको छ । तर बेस राखेर कालोपत्र गर्ने समयमा निर्माण व्यवसायीले काम अघि बढाउन नसकेको स्थानीयले बताएका छन् । करिब महिना दिनको काम बाँकी रहँदा नियमित वर्षा भइरहेका कारण ठेकेदार कालोपत्र गर्नबाट पछि हटेको कार्यालय प्रमुख दाहालले जानकारी दिनुभयो । बेलामा ‘बिटुमिन’ किनेर ल्याउन नसकिएका कारण कालोपत्रको काम पूरा गर्न नसकिएको निर्माण व्यवसायीका प्रतिनिधिले बताएका छन् ।

    कालोपत्र हाल्ने चरणमा पुगेपछि कालोपत्र नै नगरी काम छाडिँदा राज्यको रकम खेर जाने अवस्था सृजना भएको हुर्लुङका स्थानीयवासी महन गुरुङले बताए । म्याद थप भए करिब महिना दिनमा कालोपत्र सकिने कार्यालयले जनाएको छ ।

    ठेकेदार कम्पनीले गत वैशाख ३ गते दुवै सडकको कालोपत्र गर्ने कबोलसहित ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेको लामो समयसम्म विभिन्न बहानामा निर्माणको काम सुरु नगरी बसेका निर्माण व्यवसायीका प्रतिनिधिले अन्तिममा आएर काम सुरु गरे पनि वर्षाका कारण काम रोकेर हिँडेका हुन् । कार्यालय तथा स्थानीयको पर्याप्त सहयोग हुँदाहुँदै दुवै सडक कालोपत्र नगरी निर्माण व्यवसायी निर्माणस्थल छाडेर हिँडेपछि स्थानीय आक्रोशित बनेका छन् ।

    दश स्थानीय तह रहेको जिल्लामा मध्यपहाडी लोकमार्गबाहेक अन्य ग्रामीण सडक अहिलेसम्म कालोपत्र भएका छैनन् । निर्माण व्यवसायीले सडक कालोपत्रका लागि निर्माणस्थलमा ल्याएका निर्माण सामग्रीसमेत निर्माणस्थलमै छाडेर हिँडेपछि यातायात सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

  • ड्रागन फ्रुटले बदलेको इङनामको परिचय

    ड्रागन फ्रुटले बदलेको इङनामको परिचय

    रामकुमार लिम्बू/रासस

    फिक्कल (इलाम), २९ असारः इलामको चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनामलाई आजकल फुर्सद छैन । अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमा बित्ने गरेको छ । श्रीअन्तुमा घाम उदाएदेखि साँझ घाम नडुब्दासम्म उनी ड्रागनको रेखदेख गर्न लागिपर्छन् । सात वर्षअघि स्थापना गरिएको ‘भिलेज एग्रो फार्म’ आज जिल्लामै धैरै ड्रागन फ्रुट उत्पादन तथा बिक्रीवितरण गर्ने फार्मका रूपमा परिचित छ । उनले खेतीबाट वार्षिक रु १२ लाखबराबर आम्दानी गरेका छन् ।


    दुई बिघामा लगाइएका दुई हजार ८०० बिरुवाबाट उत्पादन भएको फल बिक्री गरेर प्रसन्न देखिएका इङनामले भन्छन्, “यस वर्ष उत्पादन बढ्ने भएकाले आम्दानीसमेत बढ्ने अपेक्षा छ ।” उनले आफ्नै जमिन र ३८ कट्ठा लिजमा लिएर मलेसियन प्रजातिको रातो ड्रागन फ्रुट रोपेका छन् । सुरुमा तीन कट्ठा जमिनमा ड्रागन खेती सुरु गरेका इङनामले कम लगानीमा धेरै आम्दानी हुन थालेपछि खेती विस्तार गरेका हुन् ।


    “पहिले परीक्षणका लागि तीन कट्ठा जमिनमा ड्रागन फ्रुट रोपेको थिएँ । उत्पादन राम्रो भएपछि क्रमशः बढाउँदै लागेको छु”, उनले भने, “अहिले दुई बिघा (४० कट्ठा)मा खेती विस्तार गरेको छु । आगामी वर्ष थप विस्तार गर्ने योजनामा छु ।” उनले उत्पादन गर्नुभएको ड्रागन फ्रुटको बजारको कुनै समस्या छैन । व्यवसायी बगानमा नै आएर खरिद गरी लैजाने गरेका छन् । उहाँले उत्पादन गर्नुभएको फ्रुट झापाको विर्तामोड र दमक, मोरङको उर्लाबारी र इलाम बजारमा बिक्री हुने गरेको छ ।

    उहाँका अनुसार ड्रागन फ्रुट साइजअनुसार प्रतिकेजी रु २०० देखि रु ५०० सम्म बगानबाटै बिक्री हुने गर्दछ । “उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, व्यापारी बगानमा नै आउँछन्”, उनले भने, “बगानबाट साइजअनुसार प्रतिकलोग्राम रु २०० देखि रु ५०० सम्ममा बिक्री हुने गर्दछ ।”

    उनको फार्मबाट आफू त स्वरोजगार बन्नुभएकै छ, स्थानीयले समेत रोजगारी पाएका छन् । “बगानमा म आफैँ खट्ने गरेको छु, त्यसबाहेक पाँच जना श्रमिकलाई रोजगारी दिएको छु”, उनले भने, “आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा आत्मसन्तुष्टि मिल्दोरहेछ ।”

    पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले गाउँमै बसेर कृषि व्यवसाय सुरु गरेको उनी बताउँछन् । “बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक रूपमा खेती सुरु गरेको हुँ”, इङनाम भन्छन्, “निरन्तरता दिँदै नवीनतम ढङ्गबाट काम गर्ने हो भने गाउँघरमा नै मज्जाले कमाइ गर्न सकिन्छ ।”

    कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले व्यावसायिक खेतीमा जोड दिएको उनको भनाइ छ । अन्नबालीमा मात्र सीमित रहने यस क्षेत्रका किसानका लागि इङनामको यो व्यावसायिक ड्रागन फ्रुट खेती एउटा अनुकरणीय र प्रेरणाको स्रोत बनेको छ । कम मिहिनेत र राम्रो बजार भाउ पाउने भएपछि स्थानीयस्तरमा उक्त खेतीतर्फ अन्य किसानको पनि आकर्षण बढ्न थालेको छ ।

    चुलाचुली गाउँपालिका–२ बुढीझोडाकी मायतीमाया लिम्बूले पनि व्यावसायिक ड्रागन फ्रुट खेती गर्दै आएकी छन् । छ वर्षअघि ‘छथरे ड्रागन फ्रुट कृषि फार्म’ दर्ता गरी खेती गर्न थालेकी उनले अहिले आठ कट्ठा जमिन लिजमा लिएर ६५० बोट ड्रागन फ्रुट रोपेकी छिन् । रोपेका सबै बोटले उत्पादन दिन थालेका छन् । लगानी धेरै नचाहिने र उत्पादनसमेत राम्रो हुने भएकाले मैले आठ कट्ठा जमिनमा ड्रागन फ्रुट खेती गर्दै आएकी छु उनले भनिन् । अन्य अन्नबालीभन्दा मिहिनेत कम र आम्दानी धेरै हुने भएकाले यसलाई विस्तार गर्ने योजना छु ।

    उनले सबै खर्च कटाएर वार्षिक रु एक लाख २५ हजार आम्दानी गरेको सुनाइन् । इङनाम र लिम्बूमात्र होइन, पछिल्लो समय जिल्लाका अन्य किसानको ड्रागन फ्रुट खेतीमा आकर्षण बढ्दै गएको छ । राम्रो आम्दानी हुने भएपछि स्थानीयले परम्परागत खेतीलाई विश्राम दिन थालेका छन् । चुलाचुलीमा ड्रागन फ्रुट खेती प्रवर्द्धनमा सरकारको समेत सहयोग हुँदै आएको छ । इङनामको फार्मलाई चुलाचुली गाउँपालिकाले र लिम्बूको फार्मलाई कृषि ज्ञान केन्द्रले सहयोग गरेको छ ।

    इङ्नामको ‘भिलेज एग्रो फार्म’लाई ड्रागन फलखेती प्रवर्द्धन गर्न चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा रु चार लाख अनुदान दिएको थियो । इङनामले भने । “प्राप्त भएको अनुदानले बगान व्यवस्थापन र नयाँ बिरुवा थप गर्न मद्दत मिलेको थियो । आगामी दिनमा पनि यस्ता प्रवर्द्धनका कार्यक्रम प्राप्त हुने विश्वास छ ।”

    ‘छथरे ड्रागन फ्रुट कृषि फार्म’ लाई बगान व्यवस्थापनका लागि सोही वर्ष कृषि ज्ञान केन्द्र इलामबाट ५० प्रतिशत लागत साझेदारीमा रु दुई लाख ५० हजार अनुदान उपलब्ध भएको थियो । सो अनुदानले बगान व्यवस्थापनमा सहयोग मिलेको लिम्बूले बताइन् । चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले आफ्ना गतिविधि अगाडि बढाएको बताए ।

    “हामीले विगतदेखि नै कृषि क्षेत्रलाई प्राथमिकता राखेर काम गदै आएका छौँ”, अध्यक्ष केरुङले भने । “आगामी वर्ष पनि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नेछौँ । त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेका छौँ ।”

    ड्रागन फ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा विस्तार हुँदै आएको छ । पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको एक आकर्षक र पौष्टिक फलका रूपमा ड्रागन फ्रुटलाई लिइन्छ । समथर जमिनमा ड्याङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फ्रुट लोकप्रिय छ ।

  • कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

    कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

    लमजुङ, २८ असारः अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका कारण सास्ती खेप्दै आएका दोर्दी गाउँपालिकावासी अहिले सहज रूपमा सडक यात्राको अनुभव गरिरहेका छन् । उदिपुर–रिठ्ठेबगर–नौथर हुँदै दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्र सम्पन्न भएपछि यस वर्षको बर्खायाममा ससवारीसाधन सहज रूपमा सञ्चालन भइरहेका छन् ।

    गण्डकी प्रदेश सरकारको ‘एक पालिका, एक सडक’ अभियानअन्तर्गत निर्माण गरिएको उक्त सडक सञ्चालनमा आएपछि सदरमुकाम बेँसीसहर र दोर्दी गाउँपालिकाबीचको यात्रा सहज, छोटो र सुरक्षित बनेको छ । विगतमा वर्षामा सडक हिलाम्मे हुने, सवारीसाधन चिप्लिने, गाडी फस्ने तथा यात्रा गर्न घण्टौँ लाग्ने अवस्था थियो । हिउँदमा धुलो उड्ने समस्या हुँदा स्थानीय बासिन्दा, यात्रु तथा सडक आसपासका बस्तीसमेत प्रभावित हुने गरेका थिए ।

    अहिले अस्फाल्ट प्रविधिबाट कालोपत्र भएपछि स्थानीयले राहत पाएका छन् । सडक राम्रो भएपछि वर्षायाममा पनि सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् भने दैनिक आवतजावत छरितो बनेको छ । दोर्दी गाउँपालिका–४ नौथरसैराका स्थानीय लक्ष्मण गुरुङले सडक कालोपत्र भएपछि बर्खायाममा समेत सहज रूपमा आवतजावत गर्न सकिएको बताए ।


    विगतमा हिलो र चिप्लोपनका कारण उदिपुरबाट दोर्दी पुग्न निकै समय लाग्ने गरेको स्मरण गर्दै उहाँले अहिले मोटरसाइकल तथा साना सवारीसाधनबाट १५–२० मिनेटमै आवतजावत गर्न सकिने भएको बताए । “पहिला बर्खामा सडकको अवस्था खराब हुँदा जोखिम मोलेर यात्रा गर्नुपथ्र्यो । गाडी चिप्लिने, हिलोमा फस्ने र कतिपय अवस्थामा यात्रुले झरेर बाटो मिलाउनुपर्ने अवस्था थियो । अहिले सडक राम्रो भएपछि समयमा नै गन्तव्यमा पुग्न सकिन्छ”, उनले भने ।


    बेँसीसहर नगरपालिका–११ रामचोक बेँसीका ईश्वरराज सेढाईले पनि सडक सहज भएपछि दैनिक आवतजावतमा ठूलो सुविधा पुगेको बताए । घर र कामको सिलसिलामा यही सडक हुँदै नियमित यात्रा गर्ने उहाँले पहिले घर पुगेर फर्किनसमेत धेरै समय लाग्ने गरेकामा अहिले छोटो समयमै काम सकेर फर्किन सकिने अवस्था बनेको बताए ।


    “पहिला जानलाई लाग्ने समयले अहिले गएर आएर काम सक्न सकिने अवस्था छ । समयको सदुपयोग भएको छ”, उनले भने। सडक सहज भएपछि कृषि उत्पादन बजारसम्म पुर्याउन, आवश्यक सामग्री ल्याउन तथा सदरमुकाम आवतजावत गर्न पनि सहज भएको उनको भनाइ छ ।

    दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिका केन्द्र जोड्ने मुख्य सडक कालोपत्र भएपछि स्थानीयलाई ठूलो राहत पुगेको जानकारी दिए । सडक निर्माण सम्पन्न भएपछि पालिका आउने–जाने र सदरमुकाम बेँसीसहरसम्मको यात्रा सहज, छोटो र सुरक्षित बनेको उल्लेख गर्दै उनले वर्षायाममा हुने जोखिमसमेत हटेको बताए ।


    सडक पूर्वाधारको विकासले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानीलगायत अन्य विकासका क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ । “यो सडक दोर्दीको विकासको एउटा महत्त्वपूर्ण उदाहरण हो”, उनले भने । पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले सडक निर्माण सम्पन्न भई अहिले नियमित रूपमा सञ्चालनमा रहेको बताए ।

    उनका अनुसार गत मङ्सिरको अन्तिमतिर कालोपत्र सम्पन्न भएको हो । प्रदेश सरकारको रु २६ करोड २९ लाख लगानीमा निर्माण भएको ७।१ किलोमिटर सडकको ठेक्का कन्टेक निर्माण प्रालि काठमाडौँले पाएको थियो ।

    कम्पनीसँग विसं २०७७ असार ३ गते सम्झौता भएको थियो । कोभिड–१९ लगायतका कारण निर्माण प्रभावित भएपछि तोकिएको समयमा काम सम्पन्न हुन सकेन । त्यसपछि पटकपटक म्याद थप गरिएकामा पछिल्लोपटक थपिएको अवधिभित्र निर्माण सम्पन्न गरी सडक सञ्चालनमा ल्याइएको हो ।

    सडकमा अस्फाल्ट कालोपत्रसँगै आवश्यक स्थानमा ढलान, नाला तथा अन्य संरचना निर्माण गरिएको छ । सडक सञ्चालनमा आएपछि दोर्दी गाउँपालिकाका बासिन्दाको दैनिक आवतजावत, कृषि उपज ढुवानी, शैक्षिक तथा स्वास्थ्य सेवामा पहुँच सहज भएको छ । सदरमुकामसँगको सम्पर्क सहज बनेसँगै स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको छ ।

  • मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    पर्वत, २८ असारः कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध बनेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा आज बिहानदेखि भइरहेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलामा पानीको बहाव बढेको हो । बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र वडा नं १० को सिमाना सेउलीबजार नजिकै सडक कटान गर्दा घान्द्रुक जोड्ने सडक पूर्ण रूपमा बन्द भएको हो । यसैगरी सोही ठाउँमा रहेको स्थानीय दिपिल गुरुङको रेस्टुरेन्ट तथा घर पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा पनि क्षति पुगेको छ ।

    कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत खोला किनारका स्थानीयका घरहरू बाढीको उच्च जोखिममा रहेका अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए । निरन्तर वर्षा भइरहेको र बाढी घट्ने सङ्केत नदेखिएको भन्दै उनले आवश्यक सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गरे । गुरुङको रेस्टुरेन्टबाट केही सामान स्थानीयको सक्रियतामा सुरक्षित स्थानमा सारिएको भन्दै उनले कुनै मानवीय क्षति भने नभएको जानकारी दिए ।


    सडक अवरुद्ध हुँदा पर्यटकीय गाउँ घान्द्रुक, लान्द्रुकलगायत ठाउँमा जाने सयौँ सवारीसाधन अलपत्र बनेका छन् । यसैगरी अन्नपूर्ण चक्रीय पदमार्गमा घुम्नका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित बनेका छन् । कतिपय यात्रु तथा पर्यटक पैदल हिँडेर गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ । तत्काल सडक खुलाउन सक्ने सम्भावना नरहेकाले केही समय आवागमन प्रभावित हुने प्रहरीले जनाएको छ ।

    मोदीखोलामा दिउँसो ३ः०० बजेदेखि पानीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत, जिल्ला प्रहरी कार्यालय पर्वत र मोदी गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मोदीखोला किनारमा बसोबास गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरे । यसैबीच खोलामा पानीको अत्यधिक बहाव बढ्दा मोदीखोलामा सञ्चालित चारवटै विद्युत् गृहले उत्पादन बन्द गरेका छन् ।

    मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् आयोजनाले उत्पादन बन्द गरेको तल्लो मोदी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेले जानकारी दिए । उनका अनुसार चारवटै विद्युत् गृहबाट उत्पादन बन्द हुँदा झन्डै ७४ मेगावाट विद्युत् प्रभावित बनेको छ । मोदीखोलाको पर्वत खण्डमा सुरक्षा सावधानी तथा आवश्यक जोखिम न्यूनीकरणका लागि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

  • खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    गोलबजार (सिरहा), २८ असारः सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गोलबजार–७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजार परिसरमा पशुचौपायालाई पानी खुवाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख रहेका छन् ।

    रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका उनीहरु गोलबजार–७ मा डेरा गरी बस्दैआएका थिए । कवाडी सङ्कलन गरी जीविकोपार्जन गर्दै आएका तीनै जना आज दिउँसो घरबाट खेल्न निस्किएका थिए । घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पु¥याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

  • नेपालगन्जको खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

    नेपालगन्जको खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

    राँझा (बाँके), २८ असारः खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष डम्बरबहादुर विककाअनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सडकको वैकल्पिक मार्गका रूपमा खजुरा गाउँपालिका–३ स्थित आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरिएको हो ।

    अब हुलाकी सडकअन्तर्गत खजुरा बजार वा पेडारी नाला क्षेत्रमा कुनै अवरोध आए पनि अब आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक प्रयोग गरी नेपालगञ्ज–गुलरिया सहज रूपमा आवतजावत गर्न सकिने भएको छ ।

    प्रदेश सरकारको रु।छ करोड १० लाख ९० हजार २८६ को लागतमा पुल निर्माण सम्पन्न भएपछि खजुरा बजार क्षेत्रको मुख्य सडकको वैकल्पिक मार्गका यो सडक निर्माण भएको हो । खजुरा गाउँपालिकाका आठवटै वडाका गाउँहरूलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, प्रत्येक टोलमा कालोपत्रे सडक विस्तार गरी ‘धुलोरहित गाउँ’ निर्माण गर्ने तथा ढल र नालाको निर्माण तथा स्तरोन्नति गरी उचित पानी निकासको व्यवस्था गर्दै ‘डुबानमुक्त गाउँ’ बनाउने लक्ष्यसहित गाउँपालिकाले काम गरिरहेको छ ।

  • नेपालमा आत्मदाहको लगातार दोस्रो घटना, व्यवसायी रावतको निधन

    नेपालमा आत्मदाहको लगातार दोस्रो घटना, व्यवसायी रावतको निधन

    काठमाडौँ, २७ असारः बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा निजको मृत्यु भएको हो । अस्पतालको डा. केडी जोशी जलन उपचार केन्द्रका प्रमुख डा. अपार लामिछानेका अनुसार ७० प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

    “हामीले उहाँलाई बचाउन हरसम्भव प्रयास गर्यौँ तर अत्यधिक जलनका कारण बचाउन सकिएन । उहाँको अनुहारसहित श्वासप्रश्वास नलीमा पनि आगोले धेरै असर गरेको थियो,” डा लामिछानेले भने । उनी व्यवसायी भएको बुझिएको छ । काठमाडौंमा लगातार दोस्रो दिन आत्मदाहको घटना भएको हो ।

  • बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

    बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

    महेन्द्रनगर, २७ असारः बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त जिल्लाको केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र सात जना गम्भीर घाइते भएका हुन् ।

    जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्याकुमारी जोशीले घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण अवतरण हुन नसकेको राससलाई टेलीफोनमा बताए । स्थानीय र सुरक्षाकर्मी उद्धारमा सक्रिय छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले दुर्घटनास्थलमा सदरमुकाम चैनपुरबाट चार वटा एम्बुलेन्स परिचालन भएको बताए । जीपमा १५ जना सवार रहेका जानकारी प्राप्त भएको उनले बताए ।

  • दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    मध्यविन्दु (नवलपरासी), २७ असारः गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो ।

    गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो । विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो । तर यस वर्ष सडकको अधिकांश भाग कालोपत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो सास्ती भोग्नुपरेको छैन ।

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको तथ्याङ्क रहेको छ । तर यस वर्ष त्यो अवस्था हटेको छ । दैनिक रूपमा यही सडक प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरू पनि यस वर्षको अवस्था विगतभन्दा फरक रहेको बताउँछन् ।

    यस राजमार्गमा नियमित सवारीसाधन चलाउँदै आउनुभएका रामु भुसालले पहिले दाउन्ने पार गर्नै घण्टौँ लाग्ने गरेको स्मरण गर्दै अहिले सहज रूपमा यात्रा गर्न पाइएकामा खुसी व्यक्त गरे । “गत वर्ष पानी पर्ने बित्तिक्कै दाउन्नेको जाममा फसिन्थ्यो । अहिले सडक फराकिलो र कालोपत्र भएकाले यात्रा सहज भएको छ । यात्राको समय पनि घटेको छ”, उनले भने ।


    दाउन्ने क्षेत्रमा सहजरुपमा यातायात सञ्चालन हुन थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रुले राहत महसुस गरेका बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । “दाउन्नेको समस्या राष्ट्रिय चिन्ताको विषय बनेको थियो । अहिले सडक विस्तार अन्तिम चरणमा पुग्दा आवागमन सहज भएको छ । यसले स्थानीय अर्थतन्त्र, पर्यटन र दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ”, उनले भने ।


    गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । “गत वर्ष निर्माण कार्य र वर्षाका कारण पटक–पटक लामो जाम व्यवस्थापन गर्नुपथ्र्यो । अहिले सडकको अवस्था सुधारिएकाले सवारी सञ्चालन सहज छ । सामान्य अवस्थामा लामो समय सडक अवरुद्ध हुने अवस्था आएको छैन”, उनले भने, “प्रहरी र आयोजनाबीचको समन्वयले पनि यातायात व्यवस्थापन प्रभावकारी बनेको छ ।”

    नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सडकको कालोपत्र र कङ्क्रिट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताए । “अहिलेसम्म पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ”, उनले भने, “अब सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड, रेलिङलगायतका काम भइरहेका छन् । विगतमा जस्तो निर्माणका कारण यात्रुले सास्ती बेहोर्नुपर्ने अवस्था धेरै हदसम्म हटेको छ ।”

    पूर्व–पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्डमध्ये पर्ने नारायणघाट–बुटवल सडक एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ । आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ भने सडक सुरक्षा तथा अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । सानातिना काम जारी रहे पनि विगतमा जस्तो सामान्य वर्षा हुँदा पनि घण्टौँ सडक अवरुद्ध हुने अवस्था यस वर्ष देखिएको छैन ।

  • सुकुम्बासीको होल्डिङ सेन्टर मध्यराती डुब्यो, कैयौं परिवारलाई सास्ती

    सुकुम्बासीको होल्डिङ सेन्टर मध्यराती डुब्यो, कैयौं परिवारलाई सास्ती

    २७ असार, काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ। लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा शुक्रबार राति डुवान भएको हो । बिहानसम्म पनि सेन्टर जलमग्न छ ।

    डुबानपछि सुरक्षाकर्मीले ५४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ ।

    केही आफन्तकोमा गएका छन् भने अरु सेन्टरकै आसपासमा रहेका छन् । डुबानका कारण कैयौं बालबालिका र महिलाको विचल्ली भएको छ । पटक पटक एक स्थानबाट अर्को स्थानमा सार्दा परिवारमा सास्ती भएको हो । सरकारले विकल्प प्रस्तुत नगरी सुकुमबासी बस्तीमा डोजर लगाउँदा धेरै परिवारको विचल्ली भएको हो ।

  • विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

    विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

    काठमाडौँ, २७ असारः विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो ।

    नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ भने अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ ।

    मन्त्रालयका अनुसार विपद्सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि नागरिकले अब आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्नसक्ने भएकाले उद्धार, समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले शासकीय सुधार कार्यसूचीअनुसार नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्दै नागरिक सेवालाई परिणाममुखी, जवाफदेही र प्रभावकारी बनाउने नीति लिएको थियो । सोही नीतिअनुसार सबै ७७ जिल्लाका आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सँै घण्टा सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले विपद्को समयमा नेपाल सरकारबाट जारी हुने आधिकारिक सूचना तथा पूर्वसूचनाको पालना गर्न र आवश्यक परे १२३४ नम्बरमा सम्पर्क गर्न नागरिकलाई आग्रह गरेको छ ।

  • अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

    अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

    काठमाडौँ, २६ असारः गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र दुई वटा अग्नि नियन्त्रक यन्त्र ‘लोड’ भएको सवारीसाधनको सिलिन्डर विष्फोट भएको हो ।

  • प्रतिनिधिसभाः ‘नेपालीको घटनामा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्छ’

    प्रतिनिधिसभाः ‘नेपालीको घटनामा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्छ’

    काठमाडौँ, २६ असारः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले गणेश नेपालीको आत्मदाह प्रयासपछि निधन भएको विषयमा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेका छन् । आजको बैठकमा समय लिएर सांसद महेन्द्रबहादुर शाहीले नेपालीले आत्मदाहको प्रयास गर्नुको कारण पत्ता लगाउन निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिँदै दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे । दैलेखको शान्तिगडा दुर्घटनामा परी निधन भएकाको १८ दिनपछि शव प्राप्त भएको जनाउँदै उनले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरे ।

    सांसद कलावती शर्माले भुटानी नागरिक विदेशबाट आएर पनि बास पाएकामा नेपालका सुकुमवासीले भने आफ्नै देशमा बास नपाएको विषयप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद साजिदा खातुन सिद्धिकीले बिहीबार त्रिपुरेश्वरमा भएको गणेश नेपालीको आत्मदाहको घटनापछि आमनागरिकमा मनोसामाजिक अवस्था खस्किएको देखाउने भन्दै यसतर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिइन् ।


    सांसद बिना गुरुङले घान्द्रुकसहित पर्यटकीयस्थलमा पर्यटकको आवागमन पूर्ण रूपमा ठप्प भएकाले पदमार्ग खोल्न माग गरिन् । सांसद जगदीश खरेलले गणेश नेपालीको आत्मदाहको घटनाको सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने विश्वास व्यक्त गरे । बैठकमा लक्ष्मीप्रसाद पोखरेल, गङ्गालक्ष्मी अवाल, सीता थपलियालगायत सांसदहरूले गणेश नेपाली आत्मदाह घटनाका विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।

  • प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग

    प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग

    काठमाडौँ, २६ असार । सांसदहरुले सरकारसँग गणेश नेपालीको आत्मदाहको प्रयास र उनको निधन भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सांसद वासना थापालाई वासना थापालाई समय दिएका थिए । थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गरिन् ।


    साथै उनले हरियो रङको बसलाई निलो बनाएर कसैको पनि सुरक्षा नहुने उनको भनाइ थियो । सुकुमवासीलाई पनि नदीमा हाम फाल्न बाध्य हुनुपर्ने वातावरण बनाइएको सांसद थापाले बताइन् । सांसद भूमिका लिम्बू सुब्बाले पनि गणेश नेपालीमाथि मोटरसाइकल पार्किङ गरेका कारण रु १० हजार जरिवाना गरिएकै कारण आत्मदाहको प्रयास गरेको भन्दै यस्तो वातावरण बनाउनु दुःखद् भएको बताइन् । नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ भनी उनले सरकारको ध्यानाकर्षण गराइन् ।


    सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको भन्दै उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिन् । सांसद राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिन हुनुपर्ने पनि उनले बताइन् । सांसद ज्ञानबहादुर शाहीले गरिब, दुःखी जनता राजधानीमा बाँच्न नसक्ने वातावरण बनेको बताए । सुविधा र व्यवस्था हुनेखानेका पक्षमा मात्र रहेको उनले सुनाए । युरोपमाभन्दा बढी कर तिरेर सोमालियामा जस्तै पाउन नागरिक बाध्य भएको सांसद शाहीको भनाइ थियो ।

  • जलनबाट घाइते नेपालीको निधन, संसदमा विपक्षीको हंगामा

    जलनबाट घाइते नेपालीको निधन, संसदमा विपक्षीको हंगामा

    काठमाडौँ, २६ असारः जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ । काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले शरीरमा आगो लगाएका नेपालीको ‘आइसियु’मा राखेर उपचार गरिरहेका अवस्थामा आज निधन भएको वीर अस्पतालका प्रवक्ता डा प्रकाश बुढाथोकीले पुष्टि गरे ।
    सो अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालले निरन्तर रुपमा अथक प्रयास गरे पनि बिहान ११ः१९ बजे नेपालीको निधन भएको जानकारी दिए । डा दाहालले भने, “उहाँको जीवनरक्षाका लागि चिकित्सक, अस्पताल, प्रशासन र सरकारले बिहीबारदेखि निरन्तर प्रयास गर्‍यो तर बचाउन सकिएन, उहाँको शरीर गम्भीर रुपमा जलेको थियो ।”

    सरकारले जलनबाट घाइते नेपालीको उपचारमा विशेष चासो राखेपछि संयोजक डा दाहालको नेतृत्वमा प्लास्टिक विभाग, क्रिटिकल केयर, एनेस्थेसिया र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सकीय टोली खटिएको थियो । यसअघि सो अस्पतालले पत्रकार सम्मेलन गरी शरीरको करिब ५५ प्रतिशत भाग जलेको नेपालीको स्वास्थ्यावस्था गम्भीर रहेको जानकारी दिँदै विशेष टोलीको व्यवस्थासहित ज्यान जोगाउन अथक प्रयास गरे पनि सम्भव नभएको बताएको थियो ।

    नेपाल सरकारले थप उपचारका लागि एयर एम्बुलेन्सको व्यवस्थासहित भारत लैजाने तयारी पूरा गरे पनि चिकित्सकहरुले उनको अवस्था निकै जटिल रहेकाले तत्काल सघन उपचार कक्षबाट निकाल्न नहुने सुझाव दिएपछि नयाँदिल्लीस्थित एम्स अस्पताल लैजान नसकिएको दावि गरिएको छ ।

  • कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

    कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

    दैलेख, २६ असारः कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ । यो सँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको सङ्ख्या तीन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका छन् ।

    पहिचान खुल्नेमा यसअघि भिरमा शव फेला परेका कालिकोट पचाल झरना गाउँपालिका–९ का जेखे तिरुवा, सोही ठाउँका बेपत्ता भनिएका मेखे तिरुवा र कालिकोटकै रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्का रहेका छन् । उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तद्वारा सनाखत भइसकेको प्रहरी प्रमुख विकले जानकारी दिए ।

    सवारी चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी र उनका सहोदर भाइ (सहचालक) रामु सुवेदीसहित अन्य यात्रुको अवस्था भने अझै अज्ञात छ । बेपत्ता दुवै दाजु भाइका काका दिल्ली सुवेदीका अनुसार घरका मुख्य साहारा नै नदीमा डुबेकाले परिवार, आफन्त र छरछिमेक यति बेला गहिरो शोकमा छन् ।

    सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क।प्र। ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा गत बिहीबार खसेको थियो । सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहितको संयुक्त सुरक्षा निकायले नदी र आसपासका क्षेत्रमा बाँकी बेपत्ताको खोजी अझै जारी राखेको छ ।

  • पठाओ चालकले राहदानी विभाग अगाडी आत्मदाहको प्रयास घटनामा सरकारको आलोचना

    पठाओ चालकले राहदानी विभाग अगाडी आत्मदाहको प्रयास घटनामा सरकारको आलोचना

    २५ असार, काठमाडौं । काठमाडौंमा पठाओ चलाइरहेका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेपछि सो घटनामा सरकारको व्यापक आलोचना भइरहेको छ । विगतमा प्रधानमन्त्री बालेनले यस्तै घटनामा राज्यलाई दोष दिँदै कडा स्टाटस राख्ने गर्थे आजको घटनमा भने उनी मौन छन् । उनीमात्र होइन, राज्यका सबै निकाय मौन छन् । प्रहरीका अनुसार नेपालीको गम्भीर अवस्थामा विर अस्पतालमा उपचार जारी छ ।

    उनले आत्महत्या प्रयास गर्नुमा महानगर प्रहरीसँग ह्विललकको विवाद रहेको देखिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका २६ वर्षीय गणेश नेपालीलाई गरिबी र राज्यको नियतीले मर्न बाध्य बनाएको भन्दै आलोचना भएको हो । नेपालीको अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टाको केही भाग गम्भीर रूपमा जलेको छ । अस्पतालमा गणेशले आफ्ना दाइसँग भनेका थिए, ‘यो सबै महानगर प्रहरीले गर्दा भएको हो‘। आमा–बुवालाई राम्रो गर्नू ।’


    ‘भक्तपुरको कमलविनायकमा बस्दै आएका गणेश पछिल्लो साढे दुई वर्षदेखि पठाओ चलाउने काम गर्थे । त्यही कामबाट परिवार चलिरहेको थियो । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश ७ वर्ष अगाडि काठमाडौं छिरेका थिए । कृषि विषयमा जेटी (जुनियर टेक्निसियन) अध्ययन गरेका उनी विदेश जाने तयारीमा थिए । गणेशका श्रीमती, दुई वर्षकी छोरी र वृद्ध आमा–बुबा गाउँमा छन् । उता, महानगरले भने नियमित रुपमा आफ्नो काम कानून अनुसार काम गरेको भन्दै यो घटनाको कारक महानगर नभएको बताएको छ ।

    काठमाडौंमा महानगरपालिकालाई उग्र बन्न उक्काउने तत्कालिन मेयर बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डे भएको भन्दै आलोचनामा उनीहरु निसानामा परेका छन ।

  • तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    रासस

    दमौली (तनहुँ), २५ असारः तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो ।

    ऋषिङ गाउँपालिका–१ झापुटारमा जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । 

    आयोजनामा हालसम्म ७५ दशमलव पाँच प्रतिशत प्रगति भएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना ९हेडवक्र्स०, प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण तथा प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण जारी छ ।

    बाँधलगायतका संरचनाको भौतिक प्रगति ५९ प्रतिशत बराबर पुगेको छ । यस्तै, मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङलगायतका संरचनाको निर्माण सम्पन्न भएको छ ।

    यस्तै, विद्युत्गृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायत संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको छ । त्यसको भौतिक प्रगति ७७ प्रतिशत छ । उहाँका अनुसार जलाशयको पानीलाई विद्युत्गृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट ‘लाइनिङ’ कार्य जारी छ । प्रसारण लाइनअन्तर्गत ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हाल्ने काम सम्पन्न भएको छ । 

  • भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

    भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

    रासस

    काँक्रेविहार (सुर्खेत), २५ असारः राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ ।

    सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ । त्यसका लागि एक दशमलव सात किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ ।

    भेरी नदीको पानी ‘डाइभर्सन’ गरी बबईमा झारेर सिँचाइ सुविधा उपलब्ध गराउने र त्यसबाट करिब ४६ दशमलव आठ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

    प्रस्तावित प्रसारण लाइनमा नौवटा टावर रहनेछ । त्यसमध्ये तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र बाँकी छवटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछ ।

    प्रसारण लाइनको क्षेत्राधिकार १८ मिटर रहनेछ । प्रसारण लाइनका कारण सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछ । आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्न लागेकाले आवश्यक सुझाव दिन आग्रह गरेको छ ।

    भेरी–बबईको प्रगति ७० प्रतिशत

    भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको झण्डै ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

    हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत रहेको छ । बाँकी काम सम्पन्न गर्न अझै तीन वर्ष लाग्ने आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाले जानकारी दिए । अपेक्षित प्रगति नभएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले केही दिनपहिले आयोजना स्थलको निरीक्षण गरेका थिए । उनले निर्माण प्रक्रियालाई तीव्र पार्न निर्देशन दिएका थिए ।  

    आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ । सिभिल निर्माण कार्य, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलको काम जारी छ । प्रसारण लाइन निर्माण कार्यको वातावरणीय प्रभाव मूल्याङ्नका लागि पूर्वस्वीकृतिको प्रक्रिया सुरु भएको छ । 

  • सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    कास्की, २५ असारः कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ ।

    सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवद्र्धक कम्पनी निर्देशक दीपक बरालले जानकारी दिए । 

    उनका अनुसार प्रारम्भिक रुपमा १५ दिन आयोजना परीक्षण अवधिमा रहनेछ । त्यसपछि नियमित व्यावसायिक उत्पादन सुरु हुनेछ । सो अवधिमा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणको प्राविधिक परीक्षण गरिने छ ।

    आयोजनाले गत मङ्सिरदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो । तर प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा सम्पन्न गर्न विलम्ब भएको बताइन्छ । प्रसारण लाइनका लागि निर्माण गरिएका पाँच टावरमध्ये तीन वटा वन क्षेत्रमा परेकाले आवश्यक स्वीकृतिका लागि समय लागेको निर्देशक बरालको भनाइ छ ।

    सेती खोला जलविद्युत् आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ । त्यहाँबाट तीन हजार १०६ मिटर लामो सुरुङमार्ग हुँदै पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्‍याइएको छ । यहाँ ११/११ मेगावाट क्षमताका दुईवटा ‘टर्वाइन’ जडान गरिएका छन् ।

    आयोजनामा रु पाँच अर्ब पाँच करोड लगानी भएको छ । आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्रै सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरिएको छ ।

    सेती नदीमा पछिल्लो समय विभिन्न क्षमताका जलविद्युत् आयोजना निर्माणका क्रममा छन् । गत वर्षदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रवद्र्धन गरेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन गरिसकेको छ । हाल आधा दर्जन आयोजना निर्माणको प्रारम्भिक चरणमा र केही निर्माणाधीन छन् ।

  • मन्त्री सिता बादीले हप्ताको एक दिन राष्ट्रिय बाल अधिकार परिषद्बाटै सेवा प्रवाह गर्ने

    मन्त्री सिता बादीले हप्ताको एक दिन राष्ट्रिय बाल अधिकार परिषद्बाटै सेवा प्रवाह गर्ने

    २४ असार, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष सिता बादीले आज राष्ट्रिय बाल अधिकार परिषद्को अनुगमन गरेकी छिन् । अनुगमनका क्रममा माननीय मन्त्री सिता बादीले परिषद्को समग्र कार्यसम्पादन, सेवा प्रवाहको अवस्था, बाल अधिकार संरक्षणसँग सम्बन्धित गतिविधि, उजुरी व्यवस्थापन, समन्वय प्रणाली तथा संस्थागत अवस्थाबारे जानकारी लिइन् ।

    उनले परिषद्का कर्मचारीहरूसँग छलफल गर्दै बालबालिकाको अधिकार संरक्षण र सेवाग्राहीलाई प्रदान गरिने सेवामा थप प्रभावकारिता ल्याउन आवश्यक निर्देशन दिइन् । मन्त्री सिता बादीले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिइन् । बाल अधिकार संरक्षणका लागि सम्बन्धित निकायबीचको समन्वय, जवाफदेहिता र उत्तरदायित्वलाई थप मजबुत बनाउनुपर्ने बताइन् ।

    राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्षसमेत रहेकीस मन्त्री सिता बादीले सेवाग्राहीको सहज पहुँच सुनिश्चित गर्ने र बाल अधिकारसँग सम्बन्धित समस्या तथा गुनासाको प्रत्यक्ष सम्बोधन गर्ने उद्देश्यले अबदेखि हप्ताको एक दिन राष्ट्रिय बाल अधिकार परिषद्मै उपस्थित भई सेवा प्रवाहको अवस्था अनुगमन गर्ने, सेवाग्राही तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने र आवश्यक सहजीकरण गर्ने व्यवस्था लागू गरिने घोषणा गरिन् ।

    मन्त्री सिता बादीको यो पहलले राष्ट्रिय बाल अधिकार परिषद्को सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउँदै बालबालिका तथा सरोकारवालाको पहुँचलाई सहज बनाउने अपेक्षा गरिएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नागरिकमैत्री, पारदर्शी र परिणाममुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रत्यक्ष अनुगमन तथा सेवामूलक अभ्यासलाई निरन्तरता दिने जनाएको छ।

  • उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

    ललितपुर, २४ असारः बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ ।

    पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।

    विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहे पनि काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ ।

    विभागको तथ्याङ्कअनुसार सङ्क्रमण नियन्त्रणका लागि हालसम्म देशभर सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ ।

    त्यसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै दुई लाख ८६ हजार २७७ पन्छी, एक लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।

    डा उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी सङ्घीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारिएको छ । सोही आधारमा सङ्क्रमित क्षेत्रका पन्छी नष्ट गर्ने तथा सङ्क्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ । 

  • भन्सार र राजश्वका महानिर्देशकलाई अर्थमन्त्रीको निर्देशन : मिसन १६ खर्ब राजस्व संकलनमा लाग्नुस्

    भन्सार र राजश्वका महानिर्देशकलाई अर्थमन्त्रीको निर्देशन : मिसन १६ खर्ब राजस्व संकलनमा लाग्नुस्

    २३ असार, काठमाडौँ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई राजस्व संकलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशकद्वय यमलाल भुसाल र डा.भीष्मकुमार भुसाल र भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका सहसचिव प्रेमप्रसाद आचार्यलाई कार्यक्षेत्रमा खटिनुअघि उनले मंगलबार मन्त्रालयमा भेट गर्दै विशेष निर्देशन दिए ।

    व्यावसायिक वातावरण र मनोबल उच्च राख्दै राजस्वको लक्ष्य भेटिने गरी मिसन १६ खर्बका लागि इमानदारीपूर्वक लाग्नुहोस्,ू अर्थमन्त्री वाग्लेले भने, ‘चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबैखाले सहयोग उपलब्ध गराउँछ।’

    अर्थमन्त्री डा।वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर चुस्त र पारदर्शी बनाउन पनि निर्देशन दिए । भन्सार र कर आम्दानी बढाएर मुलुकको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामर्थ्यमा मुलुकले विकासको गति लिने उनको भनाइ छ। भन्सार र करको लक्ष्य पूरा गर्ने कदम चाल्दा व्यावसायिक वातावरण राम्रो बनाउने र प्रणालीको चुहावट टाल्नु मुख्य काम भएको उनले बताए । 

    अर्थमन्त्री डा. वाग्लेले दुई महानिर्देशक र भन्सारमा नयाँ आउनुभएका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई मातहतका निकायमा गलत काम गर्ने कर्मचारीमाथि निर्मम बन्न र इमानदारीपूर्वक काम गर्नेलाई पुरस्कार र प्रोत्साहन सुनिश्चित रहेकोबारे अवगत गराउन आग्रह गरे । प्रशासन संयन्त्रमा राम्रो र क्षमतावान् भनी चिनिएका अब्बल दुई सहसचिवलाई राज्यको प्रतिष्ठासँग जोडिएको निकायको नेतृत्वमा ल्याएको भन्दै अर्थमन्त्री वाग्लेले ६–८ महिनामै नतिजा देखिनेमा आशावादी रहेको पनि बताए । 

    असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो। असार २२ मा मन्त्रालयमा हाजिर भएका तीनै जना सहसचिवलाई मन्त्रालयले क्रमशः भन्सार र आन्तरिक राजस्वको महानिर्देशक र भन्सारको उपमहानिर्देशकको जिम्मेवारी तोकेको थियो। नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिवले मन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्ने बताए ।

  • दैलेख दुर्घटना:  कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

    दैलेख दुर्घटना: कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

    कर्णाली, २३ असार । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको सवारी दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता चार जनामध्ये एक जनाको शव कैलाली जिल्लामा भेटिएको छ । मोहन्याल गाउँपालिका–६ कैलालीमा भेटिएको शव पहिचान गर्दा पचालझरना गाउँपालिका–९ कालीकोटका मेखे तिरुवा रहेको उनका छोरा रवीन्द्र तिरुवालाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय चिसापानी कैलालीका प्रमुख प्रहरी निरक्षक मीरा खड्काले पनि शव ६२ वर्षीय मेखे तिरुवा नै रहेको राससलाई जानकारी दिए । प्रहरी नायब उपरीक्षक विकका अनुसार मृतक मेखेसहित हराएका रास्कोट नगरपालिका–२ खड्कागाउँका सिर्जना खड्का, पञ्चपुरी नगरपालिका–८ सुर्खेत माझीगाउँका चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी र सवारी अझै पत्ता लागेको छैन । उक्त सवारी दैलेख, चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङगेतडामा दुर्घटना भएको थियो ।

    बेपत्ता व्यक्तिहरुसहित गाडीको खोजीमा ‘रिभर भेहिकल म्याग्नेट’, ‘सोनार’, ‘ड्रो’ न र ‘बोरेस्कोप क्यामरा’ सहितको उच्च प्रविधियुक्त गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरेर करिब १०० जना जनशक्ति पाँच दिनदेखि परिचालन गरिएका छ । 

  • ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

    ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

    रासस

    तानसेन (पाल्प), २३ असारः गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् । रोजगारी, अध्ययन र पेसा व्यवसायको खोजीमा युवापुस्ता सहर तथा विदेशतिर जान थालेपछि यहाँका कतिपय गाउँका बस्ती सुनसान जस्तै देखिन्छन् ।

    एक समय खेतबारीको चहलपहल र मेलापातले गुञ्जिने गाउँ अहिले वृद्धवृद्धाको सहारामा मात्र टिकेको छ । गाउँमा रहेका अधिकांश बूढापाका छोराछोरी र नाति नातिनाको प्रतीक्षामा दिन बिताइरहेका छन् । चाडपर्व वा विशेष अवसरमा मात्र परिवारका सदस्य घर फर्कने भएकाले वर्षको अधिकांश समय बूढापाका एक्लोपनसँग जुध्न बाध्य छन् ।

    तिनाउ गाउँपालिकाकी ७९ वर्षीया धनकला बगालेलाई हिजोआज दिन बिताउन निकै गाह्रो छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःखसुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि धनकलाले एक्लो महसुस गर्दै छिन् । 

    तानसेन अर्चलेका रामबहादुर बस्याललाई पनि हिजोआज पुरानो गाउँले दिनको सम्झनाले हुरुक्कै बनाउँछ । नबनाओस् पनि किन, ५०-६० घरधुरी थियो, गाउँमा उर्वरभूमि थियो । हरेकले आफूलाई पुग्ने खाद्यान्न र तरकारी फलाउँथे । सबैजसोका बारीमा फलफूल थिए । बस्तुभाउ पाल्नका लागि दुःख थिएन तर समयको त्यो चक्र हेर्दाहेर्दै परिवर्तन भएको छ ।

    एक दशकयता एकपछि अर्को गर्दै छिमेकीहरू बसाइँसराइ गरी तराई र सहरतिर गएपछि उनी एक्लिए । उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँ छोडेर बसाइँ सरेका छन् । यो अवस्था कचल र तानसेनका ग्रामीण क्षेत्रको मात्र होइन सिङ्गो पाल्पाका अधिकांश ग्रामीण क्षेत्र यतिबेला खाली छन् । सुविधा र अवसरको खोजीमा सहर वा तराईमा बसाइँसराइ गर्ने बढेपछि यहाँका घर खाली भएका हुन् । गाउँमा तीव्र गतिमा विकास हुन थाले पनि यहाँका ग्रामीण बस्ती रित्तिँदै गएका छन् ।

    वैदेशिक रोजगारी र सहरमुखी बसाइँसराइका कारण गाउँका धेरै घर वर्षौंदेखि बन्द छन् । कतिपय घर जीर्ण बन्दै गएका छन् भने केही घरका आँगनमा झारपात उम्रिएका छन् । खेतीयोग्य जमिनसमेत बाँझो हुन थालेपछि गाउँको उत्पादन र आर्थिक गतिविधिमा पनि असर परेको छ । वृद्धवृद्धाले स्वास्थ्य सेवा, नियमित हेरचाह र आकस्मिक अवस्थामा सहयोग पाउन कठिनाइ हुने गरेको गुनासो गर्छन् ।

    हरेक गाउँमा यातायात, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्य र सञ्चारमा सुविधा बढ्दै गएको छ तर गाउँबाट सहर झर्नेहरू घटेका छैनन् । गाउँघरमै सिंहदरबार र दैलोमा स्थानीय सरकारको नारा चलिरहे पनि पहाडी जिल्लामा स्थानीय सरकारलाई पुरानो थातथलो छोडेर सहर र तराईमा बसाइँसराइ गरेर जाने प्रवृत्ति रोक्न चुनौती बनेको छ । केही स्थानीय तहले युवालाई रोक्न प्रयास गरे पनि त्यसो हुन सकेको छैन । युवाको पलायन रोक्न नीति तथा कार्यक्रममा केही कार्यक्रम ल्याइएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउँछन् । 

    कृषि क्षेत्रको विकासमार्फत युवा रोजगारी बढ्ने उनले विश्वास लिए । उनले भने, “अब जसरी हुन्छ, बसाइँसराइ रोक्नुपर्नेछ ।” मान्छेहरू अलिअलि पैसा कमाउन थाले भने बजार नै झर्ने गरेका छन्, बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोतसाधनको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ स्थानीय सरकारले ध्यान नदिने हो भने गाउँमा बूढाबूढीबाहेक अरू कोही पनि नहुने रिब्दीकोटका गोविन्द पोखरेलको भनाइ छ ।

  • पाल्पामा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पाल्पामा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    तानसेन (पाल्पा), २३ असारः यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ । रम्भा गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरूबीच प्रतिस्पर्धा गराएर विभिन्न २२ वटा स्वास्थ्य सूचकका आधारमा, प्रतिसूचक पाँच अङ्कका दरले ११० अङ्क ल्याउने आमालाई ‘स्मार्ट’ आमा घोषणा गरी सम्मान गरेको हो ।

    स्वस्थ आमा, स्वस्थ बच्चासहित समृद्ध समाज निर्माण गर्दै पोषणमैत्री गाउँपालिका घोषणा गर्ने अभियानअन्तर्गत आमालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । आमाहरूलाई पालिकाले दोषल्ला ओढाएर, नगद रु १० हजार र स्वास्थ्य सामग्रीबाट सम्मान गरेको छ ।

    स्वास्थ्य संस्थामा अनिवार्य प्रसूति भएको, गर्भवती भएको सुनिश्चित भएपछि फोलिक एसिड सुरु गरेको तीन महिनापछि जुकाको औषधि खाएको, कम्तीमा चारपटक गर्भ जाँच गरेको, टिटी खोप लगाएको, गर्भवती र सुत्केरी अवधिमा २२५ वटा आइरन र क्यालसियम खाएको, बच्चाको जन्मतौल दुई दशमलव पाँच किलोभन्दा माथि भएको, पिनसी जाँच तीन पटक गरेको, सुत्केरीपछि बच्चालाई पूर्ण रूपमा स्तनपान गराएको र समयमै अन्य खानपान सुरु गरेको, प्रोटोकलअनुसार बच्चालाई पूर्ण खोप लगाएकोलगायत सूचक पूरा हुनुपर्दछ ।

    यसैगरी, प्रत्येक महिना बच्चाको तौल तथा उचाइ नापजाँच गरेको, बालभिटा खुवाएको, बच्चालाई नियमित रुपमा भिटामिन र जुकाको औषधि खुवाएको, बच्चा जन्मिएपछि हालसम्म कार्ड रुजु गरेको, आमा र बच्चाको सरसफाइ नियमित रुपमा भएको, गर्भान्तर कम्तीमा दुई वर्षको रहेको, आमा र बच्चा कुपोषित नभएको, धूमपान र मध्यपान नगर्ने आमा, बच्चाको जन्मदर्ता गरेको, महिनावरी स्वच्छतासम्बन्धी ज्ञान भएको जस्ता २२ वटा स्वास्थ्य सूचक पूरा गर्ने आमा स्मार्ट आमाका रूपमा सम्मानित भएका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

    उनका अनुसार पालिकाबाट १३८ जना आमा प्रतिस्पर्धामा सहभागी भए पनि १५ जना स्मार्टआमा सम्मानित भएका हुन् । स्मार्ट आमा सम्मानका लागि गाउँ कार्यपालिकाले कार्यविधि बनाएको छ ।