Category: स्थानीय

  • सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो

    सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो

    ११ साउन, काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ। यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ। यस्तै, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ। साथै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ।

    सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो। घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन् । घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।

  • सुनसरीका थप क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

    सुनसरीका थप क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

    ११ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका थप केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशअनुसार आज राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो । प्रशासनका अनुसार कर्फ्यु अवधिभर तोकिएको चार किल्लाभित्र कसैले पनि आवतजावत गर्न, मेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधि गर्न पाउने छैनन् ।

    कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने प्रशासनले जनाएको छ। इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्गअन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न कर्फ्यु आदेश जारी गरिएको भन्दै सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका(३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन् ।

  • गैंडाकोटमा अचेत भेटिएका दुई महिलाको मृत्यु

    गैंडाकोटमा अचेत भेटिएका दुई महिलाको मृत्यु

    ११ साउन, नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु भएको छ।
    स्थानीयले अचेत अवस्थामा देखेपछि खबर गरेलगत्तै अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले दुवै महिलालाई उपचारका लागि नगर अस्पताल भेडाबारी पुर्‍याएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

    मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई गैंडाकोट नगरपालिका–१२ मा बस्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैंडाकोट नगरपालिका–१० स्थित एक गाई फार्ममा कार्यरत ४५ वर्षीया कान्छी राई रहेको प्रहरीले जनाएको छ। घटना शंकास्पद देखिएकाले त्यसको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • चन्द्रागिरी तीनथानामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

    चन्द्रागिरी तीनथानामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

    ११ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना चोकमा आज बिहान मिनी ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    सतुंगलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशामा चलिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक दुर्घटना आज बिहान करिब ३ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक चन्द्रागिरि नगरपालिका–१२ निवासी ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा ललितपुरस्थित बी एण्ड बी अस्पताल, ग्वार्कोमा बिहान ४ बजे मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    स्कुटरको पछाडि सवार ५६ वर्षीया सुभद्रा कुमारी नेपाल घाइते भएकी छन् । उनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
    प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • सुनसरीका ५ स्थानमा लाग्यो अनिश्चितकालिन कर्फ्यु

    सुनसरीका ५ स्थानमा लाग्यो अनिश्चितकालिन कर्फ्यु

    ११ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेका हुन् । कर्फ्यू बिहान ७ बजेदेखि लागू भएको छ । कर्फ्यु जारी भएको समयमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ ।

    आइतबार राति दुई समूहबीच विवाद हुँदा प्रहरीले चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ ।

    सोमबार बिहान कप्तानगन्जको अवस्था सामान्य छ । थप दुर्घटना हुननदिन स्थानीय प्रशासनले सुनसरीको दक्षिण क्षेत्रमा पर्ने हरिनगरा बजार क्षेत्र, भुटाहाको बजार क्षेत्र, कप्तानगन्जको बजार क्षेत्र, घुस्कीको बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

    हरिनगरा बजार क्षेत्रको पूर्वतर्फ नूनिया टोल, पश्चिम तर्फ खुनिया धार, उत्तर तर्फ हरिनगर गापा कार्यालय र दक्षिण तर्फ बसन्तपुर मोडसम्म कर्फ्यु जारी भएको छ ।

    भुटाहा बजार क्षेत्रको पूर्व तर्फ मोरीया धार खोला, पश्चिम तर्फ इदगाहा फिल्ड, उत्तर तर्फ सुनसरी खोला र दक्षिण तर्फ हरिनगर गापा कार्यालयसम्म कर्फ्यु छ ।

    कप्तनगंज बजार क्षेत्रको पूर्व तर्फ यादव टोल, पश्चिम तर्फ पाँचौ सिमल मावि, उत्तर तर्फ कृष्ण मावि र दक्षिण तर्फ नेपाल( भारत सीमा क्षेत्रसम्म कर्फ्यु जारी भएको छ ।

    घुस्की बजार क्षेत्रको पूर्व तर्फ कासमिया मदरसा, पश्चिम तर्फ प्रहरी चौकी घुस्की, उत्तर तर्फ इशा हार्डवेयर र दक्षिण तर्फ हिलाल पब्लिक स्कुलसम्म कर्फ्यु लागेको छ ।

    देवानगंज बजार क्षेत्रको पूर्वतर्फ विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिम तर्फ मोरीया खोला, उत्तर तर्फ चिउरा मिल र दक्षिण तर्फ गाउँपालिकाको कार्यालयसम्म कर्फ्यु आदेश जारी भएको हो ।

    आइतबार राति युवाहरूको एक समूह डिजे बजाउँदै साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै अवरोध गर्न खोजेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो । दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन राति प्रहरीले गोली चलाएको थियो ।

    झडपपछि राति करिब १२ बजे सुरक्षा समितिको बैठक बसेको थियो । राति साढे १२ बजे प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आज बिहान ७ बजेबाट लागु हुनेगरी कर्फ्यु आदेश जारी गरेका थिए । स्थानीय प्रशासनले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रभरी नै निषेधाज्ञा जारी गरेको छ ।

  • सुनसरीमा दुई पक्षबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु

    सुनसरीमा दुई पक्षबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु

    ११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । ८ प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीतर्फ ८ जना घाइते भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी प्रवक्त डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुईपक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । कप्तानगन्जमा गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गरेको थियो । हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको थियो ।

    झडपमा घाइते भएका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अधिकांशलाई गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ । २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

    झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ । प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका हुन् । प्रहरीका अनुसार दुई समूहबीचको झडपमा कप्तानगन्ज बजारको घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी छ । घटनाको थप विवरण आउने क्रममा छ ।

  • किन डुब्छ माइतिघर ?, प्राविधिक समितिले देखायो यी गम्भीर कारण

    किन डुब्छ माइतिघर ?, प्राविधिक समितिले देखायो यी गम्भीर कारण

    १० साउन, काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुबानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको अध्ययनले देखाएको छ । झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो । अनुगमनपछि कार्यबाहक प्रमुख डंगोलले, सम्बन्धित कार्यालयका अधिकारीहरुको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन् ।

    कार्यबाहक प्रमुखको निर्देशनपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर के। सी। को संयोजकत्वमा गठित समितिले स्थलगत प्रतिवेदन तयार पारेको हो । टोलीको सदस्यहरूमा महानगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन रेग्मी, सडक विभागका इञ्जिनियर पुरुषोत्तम भण्डारी, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ थिए ।

    प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ । माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ । यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ । यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

    यसबाहेक, टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडक तिर फर्कने ९ब्याक फ्लो० समस्याले गर्दा पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ । भौतिक पूर्वाधार बाहेक वातावरणीय र सहरी विकास तथा व्यवस्थापनका कारणहरूलाई पनि प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औंल्याएको छ ।

    विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे । जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गथ्र्यो । तर, अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका ठूला भवनहरू निर्माण भएपछि जमिन कंक्रिटले ढाकियो । यसकारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ । यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ ।

    अतिक्रमणको समस्या पनि माइतीघर डुबानमा उस्तै जिम्मेवार देखिएको छ । अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचनाहरू निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ । ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिट्टी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ । यस समस्यालाई समाधान गर्न कार्यवाहक प्रमुख डंगोलले अनुगमनकै क्रममा स्थानीय प्रशासन र साझेदार निकायहरूको सहकार्यमा सबै प्रकारका अवरोध हटाउन निर्देशन दिएकी थिइन् ।

    प्रतिवेदनले तत्काल र दीर्घकालीन रूपमा चालिनुपर्ने कदमहरू पनि सिफारिस गरेको छ । तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

    दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ । यसले वर्षाको पिक समयमा आउने पानीलाई केही बेर भण्डारण गरी पछि विस्तारै निकास दिन सहयोग पुग्नेछ ।

    त्यस्तै, टुकुचा खोलाको निकास बिन्दुमा पानी फिर्ता हुन नदिने ‘नन रिटर्न भल्भ’ जडान गर्न, समग्र उपत्यकाको ढल सञ्जालको जीआईएस म्यापिङ गर्न र माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाको आधारमा ढलको क्षमता पुनः डिजाइन गर्न प्रतिवेदनले जोड दिएको छ ।

    सडक, खानेपानी, ढल र विद्युत् जस्ता निकायहरू बीच समन्वयको अभावमा एउटाले बनाउने र अर्कोले खन्ने परिपाटीलाई अन्त्य गरी एकीकृत प्रणाली विकास गर्नुपर्ने आवश्यकतालाई समेत प्रतिवेदनले विशेष महत्वका साथ उठाएको छ ।

  • कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको ज्यान गयो

    कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको ज्यान गयो

    १० साउन, काठमाडौं । कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका ६ बिपियामा गएराति सवा १२ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । तौलिहवास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएका दुवैको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशामा रहेको लुम्बिनी प्रदेश ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • बारा र धनुषामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    बारा र धनुषामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    १० साउन, काठमाडौं । बारा र धनुषामा भएका मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बाराको करैयामाई गाउँपालिका–८ नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका ५० वर्षीय उमेश शाह सुनारको मृत्यु भएको छ । उनको उपचारको क्रममा न्युरो अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा बाराको विश्रामपुर गाउँपालिका–५ बस्ने ४० वर्षीय पवन शाह सुनार घाइते भएका छन् । उनको उपचार जारी छ ।

    मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यसैगरी धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ मा गएराति मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका ८ बालुवाटोलका आनन्द उपाध्यायको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उपाध्यायलाई उपचारका लागि हिरा हेल्थ केयर अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ६४२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार दुईजनाको अस्पतालमा उपचार भइरहेको छ ।

  • मनसुन याममा पनि विभिन्न स्थानमा आगलागी, लाखौंको क्षति

    मनसुन याममा पनि विभिन्न स्थानमा आगलागी, लाखौंको क्षति

    १० साउन, काठमाडौं । पर्सा, काठमाडौं र दाङमा भएका आगलागीका घटनामा लाखौं क्षति भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका ६ स्थित एक कपडा पसलमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बाराको परवानीपुर गाउँपालिका ४ घर भएका राजकुमार साहले सञ्चालन गर्दै आएको दुर्गा रेडिमेड सप्लायर्समा गएराति साढे नौ बजे बिजुलीको तार सट भई आगलागी भएको थियो ।

    आगोले पसल भित्र रहेका लत्ता कपडा जलेको प्रहरीले जनाएको छ । आगो दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । काठमाडौंको काठमाडौं महानगरपालिका–१६ स्थित राधाकृष्ण मन्दिर नजिक एक कपडा सिलाई सेन्टरमा गएराति आगलागी हुँदा ३ लाख ५० हजार रुपैपाँ बराबरको क्षति भएको छ । जागृत खनालको घरको भुइँतलामा सञ्चालित कपडा सिलाई सेन्टरमा गएराति सवा १२ बजे आगलागी भएको थियो ।

    आगलागीको कारण खुलेको छैन । यद्यपि बिजुलीको तार सट भएर आगलागी भएको अनुमान छ । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी वृत्त बालाजुले जनाएको छ । यसैगरी दाङको राप्ती गाउँपालिका–१, पुरानो भालुवाङ बजारस्थित रमेश कुमार गुप्ताको घरमा विद्युत् सर्ट भएर आगलागी भएको छ । गएराति करिब ९ बजेतिर घरको मिटरबक्समा तार सर्ट भई आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, फ्रिज तथा अन्य घरायसी सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

  • सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई पक्राउ, अन्य स्थानबाट समेत समातिए

    सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई पक्राउ, अन्य स्थानबाट समेत समातिए

    १० साउन, काठमाडौं । काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बक तामाङ रहेका छन् । बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट गएराति एक बजे गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

    उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ । यसैगरी पर्साको छिपरमाई गाउँपालिका एक मिर्जापुरबाट गएराति १४० किलो लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ । बगैंचामा बेवारिसे अवस्थामा राखिएको गाँजा गएराति ९ बजे प्रहरीले फेला पारेको हो । गाँजा कसले राखेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच मोरङको कानेपोखरी गाउँपालिका–२ देउलिया खोला नजिकबाट गएराति साढे १० बजे ६ ग्राम ३८० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रंगेलीबाट कानेपोखरी तर्फ आउँदै गरेको प्रदेश १–०२०४४ प ११८ नम्बरको मोटरसाइकलमा सवार मोरङकै बेलबारी नगरपालिका ११ बस्ने रणध्वज राईलाई लागु औषधसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरी मोरङले जनाएको छ ।

  • रोल्पामा दुई महिलाको पहिरोमा पुरिएर मृत्यु

    रोल्पामा दुई महिलाको पहिरोमा पुरिएर मृत्यु

    ९ साउन, काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन् । मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।

    अध्यक्ष पुनको जानकारी अनुसार, सोही पहिरोमा परेर ६२ वर्षीय कुले घर्ती गम्भीर घाइते भएका छन् । उनको उद्धार गरी स्थानीय सेरम स्वास्थ्य चौकीमा लगिएको उनले जानकारी दिए । मृत्यु भएका दुई महिलाको शवसमेत फेला परिसकेको छ । पहिरोमा केही पशुचौपाय पनि परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १ः१० बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासी पहिरो खसेको थियो । लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी कार्यमा खटिएका थिए ।

  • प्रदेश सरकार बनाउन सहकार्य गर्ने एमाले र नेकपाबीच सहमति

    प्रदेश सरकार बनाउन सहकार्य गर्ने एमाले र नेकपाबीच सहमति

    ९ साउन, काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले दुई वटा प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग थप परामर्श गर्ने भएको छ ।
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको छ ।
    जसमा अन्य पाँच वटा प्रदेशको नेतृत्व लिनेबारे सहमति भएको थियो । यद्यपि गण्डकी र मधेश प्रदेशको भने टुंगो लागेको छैन ।

    लिखित सहमति अनुसार, ती प्रदेशहरूमा प्रदेशसभा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागीताको स्वरुप तयार गरिनेछ । नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको हो । सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ ।

  • शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा

    शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा

    काठमाडौँ, साउन ९ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए।

    त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो। यसैबीच, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ । सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ ।

  • स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

    स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

    काठमाडौं,साउन ६ / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएका विधेयकहरूको मस्यौदामा सर्वसाधारण तथा सरोकारवालासँग राय–सुझाव मागेको छ।

    मन्त्रालयको बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण) नियन्त्रण ऐन,२०४९ लाई संशोधन गर्न तयार बनेको विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न तयार बनेको विधेयक तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,२०७५ लाई संशोधन गर्न तयार बनेको विधेयकको मस्यौदा सार्वजनिक गरिएको हो। मन्त्रालयले इच्छुक व्यक्ति,स्वास्थ्यकर्मी,स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवालालाई साउन १२ गतेभित्र मन्त्रालयको कानून शाखाको इमेल [email protected] मा तोकिएको ढाँचाअनुसार राय तथा सुझाव पठाउन आग्रह गरेको छ।

    आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण) नियन्त्रण ऐन संशोधनको मस्यौदामा स्तनपानको संरक्षण तथा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ। स्वास्थ्यकर्मीले निश्चित विशेष अवस्थाबाहेक आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु सिफारिस गर्न नपाउने,सरकारले स्तनपान व्यवस्थापन केन्द्र सञ्चालन गर्न सक्ने,प्रदेश र स्थानीय तहमा स्तनपान संरक्षण तथा सम्बर्द्धन समिति गठन गर्ने तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको विज्ञापन,प्रवर्द्धन र क्रस–प्रमोशनमाथि थप नियमन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। ऐन उल्लंघन गर्ने व्यक्ति वा संस्थाका लागि कैद,जरिवाना तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्थालाई समेत थप स्पष्ट बनाइएको छ।


    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनको मस्यौदामा स्वास्थ्यसम्बन्धी परिषद्मा दर्ता हुने विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पनि ऐनको संरक्षणको दायरामा समेट्ने,स्वास्थ्य संस्थामा हतियारसहित आपराधिक बल प्रदर्शन गर्न नपाइने तथा कार्यरत स्वास्थ्यकर्मीसँगै अध्ययनरत विद्यार्थीमाथि हुने हिंसा वा अवाञ्छित गतिविधिलाई कानुनी रूपमा सम्बोधन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। साथै ऐन कार्यान्वयनका लागि मन्त्रालयलाई आवश्यक निर्देशिका,कार्यविधि तथा मापदण्ड बनाउन सक्ने अधिकार दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

    त्यसैगरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनको मस्यौदामा प्रसूति सेवा दिने स्वास्थ्य संस्थाले दक्ष स्वास्थ्यकर्मी वा तालिमप्राप्त प्रसूतिकर्मीको व्यवस्था गर्नुपर्ने,सम्मानजनक प्रसूति सेवा सुनिश्चित गर्नुपर्ने तथा गर्भवती र सुत्केरी महिलामाथि हुने शारीरिक वा मानसिक हिंसालाई कानुनी रूपमा निषेध गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। मस्यौदाले प्रसूति बिदा कम्तीमा ९८ दिनबाट छ महिनासम्म पुर्‍याउने,सुरक्षित गर्भपतन सेवासम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउने तथा विपद्को समयमा सुरक्षित मातृत्व,आकस्मिक प्रसूति,नवजात शिशुको अत्यावश्यक सेवा,परिवार नियोजन र सुरक्षित गर्भपतन सेवालाई प्राथमिकताका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था पनि प्रस्ताव गरेको छ।
    मन्त्रालयले प्राप्त राय–सुझावका आधारमा तीनै विधेयकका मस्यौदालाई आवश्यक परिमार्जन गरी थप कानुनी प्रक्रियामा अघि बढाइने जनाएको छ।

  • झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

    झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

    काठमाडौं ।जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारामा नगरपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।

    लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।

    सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। यसअघि सरकारले बर्दियाको बढैयातालका
    र झापाको बुद्दशान्तीका भूमिहिनलाई लालपुर्जा वितरण गरेको थियो।

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।

  • पछिल्लो २४ घन्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    पछिल्लो २४ घन्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    काठमाडौं, ६ साउनः बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सडकमा ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वालिङ नगरपालिका–६ आमडालीका ५५ वर्षीय विनोद अर्यालको मृत्यु भएको हो । सप्तरीको शम्भुनाथ नगरपालिका–८ बेरियाइमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका–१ चहकाका ५५ वर्षीय खडकबहादुर आले मगरको मृत्यु भएको छ ।

    यसैगरी, हेटौँडा उपमहानगरपालिका–११ झमसिङटारमा ट्याक्टर दुर्घटना हुँदा त्यसका चालक सल्ल्यानको कपुरकोट गाउँपालिका–३ का २२ वर्षीय विक्रम खड्काको मृत्यु भएको छ । रौतहटको गुजरा नगरपालिका–९ सिमराभनानिपुर चोकमो अटो र भारतमा दर्ता भएको मोटरसाइकल एकापसमा ठोक्किँदा २२ वर्षीय मोटरसाइकल चालक आमोद ठाकुरको मृत्यु भएको समाचारकक्षले जनाएको छ ।

    त्यसैगरी, बाँकेको बैजनाथ गाउँपालिका–५ बाँसगढीबाट कोहलपुरतर्फ गइरहेकोे मोटरसाइकलको ठक्करबाट सोही स्थानकी ६९ वर्षीया रूपावती सुनारको मृत्यु भएको छ ।

  • दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

    दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

    दाङ, ६ साउनः गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका–९ दुधेनाको चमिखोलामा टिपरको ठक्करबाट स्कुटरमा सवार तुलसीपुर–९का ४९ वर्षीया पुष्पा कँडेलको मृत्यु भयो । सोही महिनाको ३ गते गढवा गाउँपालिका–५ बाँकी गाउँमा ठोकिँदा स्थानीय ४२ वर्षीय भानु रिजालको पनि घटनास्थलमै मृत्यु भयो ।

    जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानले ती दुवै दुर्घटना चालकले तीव्रगतिमा सवारी चलाएका कारण भएको निष्कर्ष दिएको छ । दुवै घटना सडक दुर्घटनाका उदाहरण मात्र हुन् । यसैबीच, दाङ जिल्लामा आव २०८२/८३ मा ३४७ सवारी दुर्घटनामा ७२ जनाको मृत्यु भयो ।

    मृत्यु हुनेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती दुर्घटनामा परी १६३ पुरुष, ४७ महिला, १६ बालक र छ बालिका गम्भीर घाइते भए । त्यस्ता दुर्घटनामा सबैभन्दा बढी २८१ वटा मोटरसाइकल दुर्घटना भएका थिए ।

    सडक दुर्घटना हुनुका मुख्यकारण तीव्रगति र मादकपदार्थ सेवन, चालकको लापरबाही, सडककोे अवस्था, यान्त्रिक गडबडी रहेको प्रहरीको भनाइ छ । प्रहरीले यस्ता दुर्घटना नदोहोरिन नदिन र दुर्घटना न्यूनीकरण गर्न नागरिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम गर्दै आएको छ । यसैबीच, पछिल्लो समय ट्राफिक प्रहरीले जतथाभावी सडक वारपार गर्ने पैदल यात्रुलाई सचेतना तथा चालकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गरिरहेको छ ।

  • दाङमा पानीट्याङ्कीका मृतक दुवैको पहिचान खुल्यो

    दाङमा पानीट्याङ्कीका मृतक दुवैको पहिचान खुल्यो

    दाङ, ६ साउनः तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरकोल पानी ट्याङ्कीमा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ दोघरका कमल गिरी र घनश्याम गिरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार कमल पूर्वाधार निर्माणका ठेकेदार र घनश्याम मिस्त्री हुन् । दुवै जनाले ठेक्कामा काम गर्ने हुँदा पानीट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । स्थानीयले उनीहरुलाई पानीट्याङ्कीमा मृतक अवस्थामा देखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए । उनीहरुले गए राति प्रयोग गरेको मोटरसाइकल पनि घटनास्थल नजिक फेला परेको थियो । उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

    आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

    काठमाडौँ, ६ साउनः आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने विषयमा आज उच्चस्तरीय छलफल भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा छलफल भएको हो ।

    सो क्रममा नेपाललाई आयुर्वेदिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको छ । मन्त्री मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताउनुभएको छ ।

    सरकार यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा पनि विशेष जोड दिइएको छ ।

    ती संस्थाहरूको पूर्वाधार, सेवा, विशेषज्ञ जनशक्ति र अन्तरराष्ट्रियस्तरको वेलनेस सेवाको क्षमता अभिवृद्धि गर्दै नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने रणनीतिमा मन्त्रालयले काम अघि बढाउने जनाएको छ । यसका साथै आयुर्वेद सेवालाई स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने, मन्त्रालयमा आयुर्वेदसम्बन्धी संस्थागत संरचना सुदृढ गर्ने, जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि उत्पादनसम्मको मूल्य शृङ्खला विकास गर्ने तथा विश्व स्वास्थ्य सङ्गठन मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्ने विषयमा सहभागीहरूले सुझाव दिएका थिए ।

  • दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

    दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

    भद्रपुर (झापा), ६ साउन : झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमान्को खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको मृत्यु भएको छ भने आक्रमणपछि आत्महत्याको प्रयास गरेका श्रीमान्को पनि उपचारका क्रममा ज्यान गएको छ ।

    दमक नगरपालिका–१ श्रीपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको उपचारका क्रममा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार आज दिउँसो करिब २ः०० बजे श्रीमान्–श्रीमतीबीच सामान्य विषयमा विवाद भएको थियो ।

    सोही विवाद बढ्दै जाँदा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरीको चोटबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर क्षती पुगेको थियो । श्रीमतीमाथि ज्यानै लिने गरी आक्रमण गरेलगत्तै धनबहादुरले घरको अर्को कोठामा गएर सिलिङ पङ्खामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए ।

    सोही क्रममा उनकी २५ वर्षीया छोरीले बुबालाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल पासो काटेर भुइँमा झारेकी थिइन् । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो ।

    प्रहरीले घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि दमक अस्पताल पठाएकामा उपचारकै क्रममा दुवैको मृत्यु भएको हो । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना

    पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना

    काठमाडौँ, ६ साउनः पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् । सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार, सर्पदंश आठ, आगलागी सात, बाढी छ, पहिरो १७, अविरल बर्षा १०, चट्याङ र जनावर आक्रमणका एक/एक र भूकम्पका दुई वटा घटना भएका छन् ।

    विपद्का कारण रु १० लाख ७४ हजार ५०० बराबरको क्षति भएको छ । सात स्थानमा सडक अवरोध भएको थियो । वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

    बाढी पहिरो जान सक्ने जोखिमयुक्त स्थानमा नजान, मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न प्राधिकरणले सबैलाई ध्यानाकर्षण गराएको छ ।

  • धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

    धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


    युवराज पाण्डे / रासस
    नेपालगन्ज, ६ साउनः बाँकेका कुनै पनि स्थानमा अहिले धान रोपाइँका बेला गोरु वा राँगाले खेत जोतेको दृश्य देख्न पाइँदैन । ह ह माले, ह ह तारेको कुनै आवाज पनि सुनिँदैन । खेतमा गह्रामा गोरु जुधेको र दौडेको देख्न मुस्किल छ । कृषि समयसँगै कृषि प्रणालीमा आएको परिवर्तनले खेतका फाँटमा ट्याक्टर र पावर टिलरको प्रयोग व्यापक रूपमा बढेको छ ।

    कृषि कर्ममा गोरुको महत्व आफ्नै खालको थियो । तर आजकल न त गोरु देख्न पाइन्छ, न त किसानले गोरु धपाएको नै भेटिन्छ । जिल्लाभरका खेतमा अहिले ट्याक्टर र पावर टिलर कुदिरहेका छन् । यसले किसानलाई समय बचत हुनाका साथै रोपाइँको काम छिटो र सहज रूपमा सम्पन्न गर्न मद्दत पुगेको छ । बाँकेको जानकी गाउँपालिका–३, कर्मनाका किसान सुन्दर खटिकले समयसँगै धान रोपाइँ प्रणालीमा पनि परिवर्तन बताउनुहुन्छ । आफूले धेरै वर्षदेखि ट्याक्टरको सहायताले खेत जोतेर धान रोपाइँ गर्दै आएको उहाँले जानकारी दिनुभयो ।


    उहाँले यस वर्ष पनि दुई बिघा जमिन (बटैया) अधियामा खेती गर्नुभएको छ । खेतीका लागि ट्याक्टर प्रयोग गरेर खेत जोतेको बताउँदै उहाँले प्रतिघण्टा रु दुई हजार पाँचदेखि तीन हजारसम्म शुल्क तिरेको जानकारी दिनुभयो । “केही किसानले आफ्नै घरमा ट्याक्टर राखेका छन, तर हामीसँग छैन । त्यसैले पैसा तिरेर जोत्न लगाउँछौँ,” उहाँले भन्नुभयो ।

    अहिले धेरै किसानका घरमा खेत जोत्नका लागि गोरु वा राँगा नभएकाले अधिकांश किसानले ट्याक्टर वा पावर टिलरकै सहायताले खेत जोतेर धान रोपाइँ गरिरहेको उहाँको भनाइ छ । “अहिलेसम्म जति पनि रोपाइँ भएको छ, केहीमा पावर टिलर र केहीमा ट्याक्टरको रोटाभेटर प्रयोग गरेर खेत जोतिएको छ,” उहाँले भन्नुभयो । किसान खटिकले खेत जोत्नका लागि यान्त्रिकीकरण बढ्दै गएको उल्लेख गर्दै रोपाइँ गर्ने मजदुरले पनि प्रतिदिन रु ५०० देखि ८०० सम्म ज्याला लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलखाद, रोपाइँ गर्ने मजदुरको ज्याला र ट्याक्टरलाई तिर्नुपर्ने रकमका कारण धानखेतीको लागत बर्सेनि बढ्दै गएको छ ।”

    समयमै रासायनिक मल नपाउँदा धान उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै उहाँले न्यून आय भएका किसानलाई सहुलियत उपलब्ध गराउन आग्रह गर्नुभयो ।

    कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले धान रोपाइँ पहिलेभन्दा आधुनिक बन्दै गएको छ । उपकरणको प्रयोग बढेको छ । उहाँले किसान यान्त्रिकीकरणतर्फ लागेका छन् । उहाँले भन्नुभयो, “अहिले किसानले गोरु र राँगा पाल्न छाडेका छन् । त्यसैले कृषि प्रणालीमा यान्त्रिकीकरण तीव्र रूपमा बढिरहेको छ ।” प्रमुख घिमिरेका अनुसार पछिल्लो समय स्थानीय तहहरूले किसानलाई हाते ट्याक्टर, पावर टिलरलगायत कृषि औजार वितरण गर्दै आएका छन् ।

    जिल्लामा हालसम्म करिब ७० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । सिँचाइ सुविधा भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ भने आकाशे पानीको भरमा खेती गर्ने किसानले अझै रोपाइँ जारी राखेका छन् । विशेषगरी कोहलपुर, बैजनाथ र राप्तीसोनारीका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको जनाइएको छ ।

    नेपालगन्ज उपमहानगरपालिका–१७ का किसान जैनुल शेखले करिब १२ वर्षदेखि खेतमा गोरु वा राँगाले जोतेको दृश्य नदेखेको बताउनुभयो । “अहिले जमाना फेरिएको छ । किसानले ट्याक्टर र पावर टिलरबाट खेत जोतेर लाभ लिइरहेका छन्,” उहाँले भन्नुभयो ।

    उहाँले यस वर्ष ‘राम’ धानको खेती बढी भएको र ‘हाइब्रिड’ जातका धानको रोपाइँ पनि उल्लेख्य रूपमा बढेको जानकारी दिनुभयो । किसान शेखले विगतका वर्षको तुलनामा खेतमा रोपाइँ गर्ने मजदुरको पारिश्रमिक पनि बढेको छ । हाल दिनभर काम गरेबापत रु ६०० देखि रु ९०० सम्म पारिश्रमिक लिन थालेका छन् । “अहिले धेरैले आफ्नै घरमा ट्याक्टर र पावर टिलर राख्न थालेका छन्, तर हामीले भने ट्याक्टरबाट खेत जोताएर भुक्तानी गरेका थियौँ,” उहाँले भन्नुभयो ।

    कृषि ज्ञान केन्द्र बाँकेकी कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी सुजिता शर्माले प्रदेश सरकार स्थापना भएपछि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा हालसम्म १८० वटा पावर टिलर, थ्रेसरलगायत कृषि उपकरण वितरण गरिएको जानकारी दिनुभयो । उहाँले ती उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरिएको उल्लेख गर्दै पछिल्लो समय उपकरण वितरणसँगै सञ्चालन र मर्मतसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन भइरहेको बताउनुभयो । जिल्लाको ५५ हजार ८२६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार हालसम्म २० हजार २६८ हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ ।

  • कीर्तिपुरमा जलेको कारबाट शव निकालियो

    कीर्तिपुरमा जलेको कारबाट शव निकालियो


    काठमाडौँ, ५ साउन : काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा अकस्मात आगलागी भएपछि त्यसमा रहेका एक जना पुरुषको शव निकालिएको छ ।

    स्थानीयका अनुसार बा५च ३०३८ नम्बरको कारमा अकस्मात आगलागी भएको थियो । आगो लागिरहेकै कारबाट प्रहरीले एक जना पुरुषको शव फेलापारेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

    उहाँले सो कारबाट एक पुरुषको शव निकालिएको र शव पूर्ण रूपमा जलेको अवस्थामा रहेको बताउनुभयो । आगलागी भएको उक्त कार बैंकको नाममा रहेको खुलेको र कारभित्र जलेका व्यक्तिको पहिचान नखुलेको जानकारी पनि उहाँले दिनुभयो । उक्त घटनाका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

  • शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

    शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो



    काठमाडौँ, ५ साउन : सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखिएको उल्लेख गर्दै अहिलेका लागि समता कर हटाइएको उल्लेख गर्नुभएको छ ।


    प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागु नगर्ने निर्णय गरिएको बताउनुभयो । “यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो,” प्रधानमन्त्री शाहले भन्नुभएको छ ।

    तीन प्रतिशत समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको प्रधानमन्त्रीको भनाइ छ ।

    उहाँले करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्यसहित उक्त व्यवस्था ल्याइएको बताउनुभयो । उहाँले नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको र नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न आफूहरुको प्रतिबद्धता अटल र स्पष्ट रहेको बताउनुभयो ।

    “सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसमा सुधार र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ”, प्रधानमन्त्री शाहले भन्नुभयो, “विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १० प्रतिशत शय्या र निजी क्याम्पस तथा विश्वविद्यालयमा १० प्रतिशत सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।”

  • स्थानीय तहसङ्ग सम्बन्धित जनगुनासो मुख्यसचिवबाट सम्बोधन गरिने

    स्थानीय तहसङ्ग सम्बन्धित जनगुनासो मुख्यसचिवबाट सम्बोधन गरिने


    काठमाडौँ, ५ साउन : ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत सम्बोधन हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा त्यसप्रकारका गुनासा मुख्यसचिवमार्फत प्रभावकारी रुपमा सम्बोधन हुने व्यवस्था मिलाइएको जनाइएको छ ।

    “स्थानीय तहमा हुने सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, ठेक्का पट्टा र निर्माण कार्यमा अनियमितता भ्रष्टाचार र बेथितिलगायतका गुनासोहरु हेलो सरकारको पोर्टल तथा सुनुवाइका विभिन्न पोर्टलमार्फत प्राप्त भइरहेकाले उल्लेखित गुनासोहरु नेपाल सरकारका मुख्य सचिवमार्फत प्रभावकारी रुपमा सम्बोधन हुने व्यवस्था मिलाइएको छ”, विज्ञप्तिमा भनिएको छ ।

  • नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल

    नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल


    जनकपुरधाम, ५ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताउनुभएको छ ।

    जनकपुरधाम विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा (एमाले)सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गर्नुभयो । तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउनुहुँदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताउनुभयो ।

    नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आउनुभएका संयोजक दाहालले पार्टीको प्रशिक्षण र सङ्गठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो । नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार साउन ६ गते पार्टीका संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने छ उद्योगलाई जरिवाना

    सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने छ उद्योगलाई जरिवाना

    काठमाडौँ, ५ साउन : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले सिर्सिया नदीमा फोहर फ्याक्ने छ वटा उद्योगलाई प्रत्येकलाई १० लाखको दरले जरिवाना गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको अगुवाईमा सिर्सिया नदी दुर्गन्धित गर्ने उद्योग तथा कलकारखानालाई प्रदूषण नियन्त्रण गर्नका एक महिनाको समय सीमा दिइएको थियो ।

    एक महिनाको अवधिमा उद्योग कलकारखानाबाट निस्कने फोहरमैला तथा प्रदूषण नियन्त्रण नगरेको भन्दै उद्योग विभागले १२ वटा उद्योगलाई कारबाही प्रक्रिया अघि बढाएको छ । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले छ वटा उद्योग १० लाखका दरले जरिवाना गरेको बताउनुभयो ।

    उहाँका अनुसार जगदम्बा स्टिल इन्डस्ट्रिज लिमिटेड, बारा, हुलास स्टिल इन्डस्ट्रिज प्रालि बारा, शिवशक्ति घिउ उद्योग प्रालि, बारा, सुशील वनस्पति प्रालि, पर्सा, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स, बारा र अशोक स्टिल इन्डष्ट्रिज प्रालि बारालाई १० लाखको दरले जरिवाना गरिएको छ । उद्योग विभागले मधेस प्रदेश सरकार मातहत पर्ने छ वटा उद्योग तथा कलकारखानालाई आवश्यक कारबाही गर्नका लागि सिफारिस गरेको जनाएको छ । यसअघि वातावरण विभागको प्राविधिकसहितको अनुगमन टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत निरीक्षण गरी फोहर पानीको नमूना सङ्कलन गरेको थियो ।

    नमूना सङ्कलन गरेकामध्ये १२ वटा उद्योग कलकारखानाबाट निस्कने पानी प्रदूषित भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । सिर्सिया नदी वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौँदेखि रसायनयुक्त फोहर पानी मिसिँदै आएपछि अत्यधिक प्रदूषित हुँदै आइरहेको छ । मन्त्री यादवले उद्योगबाट निस्कने फोहरमैलाले नदीलाई प्रदूषित गराएको खण्डमा आवश्यक निरीक्षण गरेर जरिवाना गर्नका लागि निर्देशन दिनुभएको छ ।

  • काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो

    काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो


    काठमाडौँ, ५ साउन : काठमाडौँ उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ रहेको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्यसम्पादनको सकारात्मक प्रभाव परेको बताउनुभयो ।

    “दुर्घटना हुनु आफैँमा दुखद् हो तर सडक नियमको पालाना आफ्नै सुरक्षाको लागि हो भन्ने महसुस सबै सडक प्रयोग कर्ताहरूले गर्नुभयो भने नतिजा सकारात्मक नै आउँछ । त्यसैले ट्राफिक नियमको पालानाप्रति सबै नागरिक जिम्मेवार बन्नुपर्दछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार वर्षभरिका दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना गत शुक्रबार भएको देखिएको छ ।

    “शुक्रबार एक हजार १०३ वटा दुर्घटना भएका छन् । त्यसैगरी सबैभन्दा कम दुर्घटना बुधबार भएको छ, जहाँ ६४५ वटा दुर्घटना भएका छन्”, सुवेदीले भन्नुभयो । ट्राफिक प्रहरीले सडक सुरक्षामा सुधार ल्याउन चालक र पैदलयात्री दुवैले ट्राफिक नियमको पूर्णपालना गर्नुपर्नेमा जोड दिएको छ ।

  • तेह्र स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

    तेह्र स्थानीय तहले ल्याएनन् चालु आवको बजेट


    काठमाडौँ, ५ साउनः तेह्र स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ । कूल ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मधेश प्रदेशका १० स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

    सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गरेका छैनन् ।

    पर्साको छिपहरमाई गाउँपालिका र पकाहा मैनपुर गाउँपालिकाले विभिन्न कारणले बजेट सार्वजनिक गर्न सकेका छैनन् । कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रुपन्देही कोटहीमाई गाउँपालिका, कपलिवस्तुको शुद्धोधन गाउँपालिकाले बजेट ल्याएका छैनन् । कोशी प्रदेशमा १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहले बजेट ल्याएका छन् । वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय

    गत असार भित्रै बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् ।

    संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारको, असार १ गते प्रदेश सरकार र असार महिनाभर स्थानीय तहको बजेट सार्वजनिक हुने गरेको छ । स्थानीय तहमा उत्पन्न राजनीतिक विवाद, प्राविधिक समस्यालगायत कारणले ती स्थानीय तहले बजेट सार्वजनिक गर्न नसकेको बताइएको छ । विपद्को समयमा कार्यालय नछाड्न निर्देशन यसैबीच, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थिति भई सेवा प्रवाह गर्न जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गरेको छ ।

    मन्त्रालयले विपद्को संवेदनशील समयावधीभर आफ्नो कार्यालय नछाड्न तथा कार्यालयमा नियमति रुपमा उपस्थित भई आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन निर्देशन दिएको छ । देशका विभिन्न स्थानमा अविरल बर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाको जोखिम तथा प्रभावलाई दृष्टिगत गरी विपद व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ ।

    कुनै प्रकारको बिदामा रहेको भए उक्त बिदा छोट्याइ यथाशीघ्र सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी सम्हाल्न भनिएको छ । विपद्सँग सम्बन्धित सूचना, उद्धार तथा राहत कार्य, क्षतिको विवरण तथा अन्य आवश्यक समन्वय कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा सङ्घीय निकायसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    कुनै विशेष कारणबस कार्यालय छाड्नुपर्ने अवस्था सिर्जना भएका सम्बन्धित निकायको पूर्वस्वीकृति लिइ जिम्मेवारीको उचित व्यवस्थापन गरेर मात्र कार्यालय छाड्न मन्त्रालयले पत्राचार गरेको छ ।