Category: स्थानीय

  • मतदान गर्न राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मान्य हुने

    मतदान गर्न राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मान्य हुने

    काठमाडौँ, १९ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ ।

    आयोगले सार्वजनिक गरेको अन्तिम मदाता नामावलीमा नाम भएका र यही फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउनेछन् ।

  • कन्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

    कन्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

    महेन्द्रनगर, १९ फागुनः कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो ।

    सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको आज धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले बताए । यसैगरी मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । बेदकोट नगरपालिकामा मोटरसाइकल अनियन्त्रित हुँदा भीमदत्त नगरपालिका–१८ भगतपुरका २३ वर्षीय निरज चौधरीको मृत्यु भएको हो ।

    बेदकोट–७ गाउजीबाट सुडातर्फ आउँदै गरेका चौधरीले चलाएको म१प ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    सोही मोटरसाइकलमा सवार भगतपुरका २२ वर्षीय सागर चौधरी र १९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन् । दुवै जनाको धनगढीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।

  • देशभरी छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

    देशभरी छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

    काठमाडौँ, १९ फागुन : देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, कास्की, बाँके, रूकुम पूर्व, रूपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

  • नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौँ, १९ फागुनः काठमाडौँको नयाँ बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट आज स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३१ मिनभवनस्थित सिभिल अस्पताल नजिक बा२क ३२२९ नम्बरको फोहर बोक्ने टिपरले ठक्कर दिँदा सुनसरीको इनरुवा स्थायी घर भई हाल भक्तपुर बस्ने ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको काठमाडौँ प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    गोरखाका विकाश थापा मगरले चलाएको प्र ३ –००१ ब ९४५ नम्बरको टिपरले सरकारी नम्बर प्लेट प्र ३ –००१ ब ९४५ को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कोइराला गम्भीर घाइते भएका थिए । उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । टिपर चालक थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा

    सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा

    सुदूरपश्चिम, १९ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सोमबारदेखि सबै मतदानस्थलमा खटाइएको बताए ।

    उनका अनुसार मतदानस्थलमा पुगेका मतदान अधिकृतको टोलीले सोमबार निर्वाचनसम्बन्धी सूचना टाँस गरेको छ । प्रदेशका नौ जिल्लाका प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्रमा १७ लाख १६ हजार ६६० मतदाता रहेका भट्टले जानकारी दिए । उनका अनुसार प्रदेशभरि एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

    कञ्चनपुरमा निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेका छन् । जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, छाप, मतदाता नामावलीलगायत आवश्यक सामग्री बुझेर आआफ्नो मतदान केन्द्रमा पुगेका हुन् ।

    मतदान केन्द्रमा पुगेपछि कर्मचारीहरूले केन्द्र व्यवस्थापन, मतदानकक्ष तयारी, मतदाता सहायता डेस्क स्थापना तथा सुरक्षा समन्वयको कार्य अघि बढाएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिशचन्द्र जोशीका अनुसार सबै मतदान केन्द्रमा आवश्यक सामग्री सुरक्षित रूपमा पुर्याइएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा भएको छ । निर्वाचन लक्षित सुरक्षा योजनाअनुरूप नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी मतदान केन्द्रमा खटिएका छन् भने संयुक्त तथा एकल गस्तीसमेत सञ्चालनमा ल्याइएको छ ।

  • सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते

    सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते

    सिरहा, १८ फागुन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन राय रहेका छन् ।

    गोलबजारबाट पूर्वतर्फ जाँदै गरेको स५प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १०८५ नम्बरको बस ठोक्किँदा गम्भीर घाइते भएका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुधन केसीले जानकारी दिए । दुर्घटनामा परी १७ वर्षीय धिरज मण्डल सख्त घाइते भएका छन् ।

    प्रहरीको अनुसार मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए । घाइते मण्डलको हाल विराटनगरमा उपचार भइरहेको छ भने मृतकहरूको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

    प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

    काठमाडौँ, १८ फागुनः निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा देशभरका ७५३ स्थानीय तहका सबै वडामा आइतबार सम्पन्न भएको हो । हरेक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको थियो ।

    निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुग्न सक्ने र आमनागरिकबीच भिजेका इमान्दार स्वयम्सेवकका कारण यो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वयम्सेविकाको योगदानको प्रशंसा गर्दै लक्षित कार्यक्रम सफल भएको उल्लेख गरे । मतदाता शिक्षा प्रदान गर्न स्वास्थ्य स्वयम्सेविकालाई २०७९ को आम निर्वाचनदेखि जिम्मा दिन थालिएको थियो । यस पटक पनि यस प्रयोजनका लागि उनीहरुहरुलाई नै जिम्मेवारी दिइएको थियो ।

    आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रका माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिइएको आयोगले जनाएको छ । मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरणसमेत गरेको थियो । मतदाता शिक्षा सम्पन्न गरी स्वयंसेवकले आयोगमा प्रतिवेदन बुझाउने जनाइएको छ ।

  • उडान खुल्ने प्रतीक्षामा काठमाडौं विमानस्थलमा अलपत्र यात्री

    उडान खुल्ने प्रतीक्षामा काठमाडौं विमानस्थलमा अलपत्र यात्री

    मधु शाही–रासस
    काठमाडौँ, १७ फागुनः बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै थिए । त्यसैले हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर उनी समयमै विमानस्थल पुगेका थिए । तर उनी कतार जाने भने पाएनन् । विमानस्थल आएपछि उनलाई नेपाल वायुसेवा निगमले हवाई उडान स्थगित भएको सूचना दियो । उनी आइतबार दिउँसो विमानस्थलमा अलपत्र अवस्थामा भेटिए ।

    रासससँगको कुराकानीमा आफूले बर्दियाबाट आउँदा काठमाडौँसम्म आउनका लागि भाडा र खानाका लागि मात्रै पैसा बोकेको सुनाए । उनीसँग अहिले होटलमा बस्न र खानाका लागि पैसा छैन । “हिजो विमानस्थलमै सुतेर राति बिताएँ, अब कहिले उडान हुन्छ थाहा छैन”, उनले भने ।


    पुनको जस्तै अवस्था कैलालीकी सरला विकको पनि छ । रोजगारीका लागि साउदी अरब जान शनिबार विमानस्थल पुगेकी उनी आइतबारसम्म यही छिन् । हवाई उडान कहिले हुन्छ भन्दै बेलाबेलामा निगमका कर्मचारीलाई सोध्छिन् । तर जवाफ चित्तबुझ्दो आउँदैन । निगमका कर्मचारी केही सोध्नुपरे एयरलाइन्सको कार्यालय न्युरोड जान सुझाव दिन्छन् । विक दोस्रो पटक साउदी अरब जाँदै थिएन् । दुई महिनाअघि बिदामा घर आएकी उनी अब काठमाडौँबाट कैलाली फर्कने हो भने फेरि साउदी अरब जान नपाइएला भन्ने चिन्ता पनि छ ।

    पुन र विकजस्ता हजारौँ नेपाली यतिबेला विमानस्थलको चक्कर काटिरहेका छन् । उनीहरु जाने मुलुकमा नेपालबाट हवाइजहाजले उडान भरेको छैन । अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण सुरु गरेपछिको असर नेपाली श्रमिकमा देखिएको हो । खासगरी खाडीमुलुकमा रोजगार गर्न जाने नेपाली बढी प्रभावित भएका छन् ।

    अमेरिका र इजराइलले इरानमा गरेको आक्रमणका कारण युएई, साउदी अरब, कतार, कुवेतलगायत मुलुकका विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ । जसकारण विदेश उड्न भनेर आएका नेपाली यात्र अलपत्रमा परेका हुन् । अलपत्र पर्नेमा मोरङका दिलीपप्रसाद राजवंशी पनि छन् । दुबईको आबुधावीमा श्रमिकका रुपमा कार्यरत उनी तीन महिनाको बिदा मनाएर आइतबार दुबई फर्कने तालिका थियो । दुबईस्थित कम्पनीको मालिकको फोन गर्दा आइतबार बिदाको दिन परेकाले उठेन ।

    कम्पनीले दुबहीबाट नै टिकट काटिदिएको थियो । यसबारेमा अब के हुन्छ भन्ने कुनै आधिकारिक जानकारी प्राप्त गरेका छैनन् । “दुबईको विमानस्थल बन्द छ, मात्रै भन्छन्, तर अब के गर्ने ? टिकट कसरी रिफण्ड हुन्छ ? र सस्तोमा पाएको टिकट त्यही मूल्यमा पाइन्छ कि पाइँदैन ? कतै महङ्गोमा पर्ने पो हो कि ?”, उनले भने । उनले आफूलगायत खाडीमुलुक जाने नेपाली यात्रु सही र आधिकारिक सूचना नपाउँदा अलमलमा पर्नुपरेको बताए ।


    दुबई जान विमानस्थल आउनुभएका गणेश मिश्रले पनि जहाँ टिकट काटेको त्यही जानु भनेर सोधपुछ कक्षका कर्मचारीले जवाफ दिएको बताए । आफू अलपत्र र बेवारिसे जस्तै भएको उनले बताए । धनुषाका एमडी रोजेन्दावले आफू कतार जान विमानस्थलमा दुई दिनअघिदेखि नै आइरहेको बताए । “घर फर्किन पनि सकेको छैन, होटलमा बस्न खर्च पनि छैन, हवाई उडान कहिले खुल्छ भन्ने पनि निश्चित छैन”, उनले भने ।


    नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले इरान–अमेरिका तनाव बढेपछि विभिन्न मुलुकका विमान सञ्चालनमा रोक लगाइएकाले उक्त अवस्था समान्य नहुँदासम्म उडान नहुने बताइन् । यद्यपि यात्रुहरुले टिकट रिफन्ड गर्नुपर्ने अवस्था आएमा कार्यालयमै सम्पर्क गर्न आग्रहसमेत गरे । “विमानस्थलमा सबै काम गर्न सम्भव नहुने भएकाले कार्यालयमै सम्पर्क गर्न भनेका हौँ”, उनले भने, “यात्रुहरुको सहजताका लागि निगमको काम विमानस्थलमै गर्न भने त्यति सम्भव छैन ।”

    नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले केही देशका विमानस्थल अनिश्चित रुपमा बन्द भएकाले यात्रुलाई निश्चित सूचना दिन नसकिएको बताए । यद्यपि विमान कम्पनीहरुले यात्रुलाई उडान खुल्नु तीनदेखि चार घण्टाअघि फोन गरेर सूचना दिनुपर्ने भनी सूचना प्रकाशित गरिएको उनले जानकारी दिए ।

  • रास्वपा काठमाडौँ उपत्यकामा प्रचारमा व्यस्त

    रास्वपा काठमाडौँ उपत्यकामा प्रचारमा व्यस्त

    काठमाडौँ, १६ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ उपत्यका केन्द्रित प्रचारमा व्यस्त भएको छ । यसै क्रममा उक्त पार्टीले आज यहाँ, भेटघाटलगायत कार्यक्रम सञ्चालन गरेको छ । र्यालीमा सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेता सहभागी हुनुहुन्छ ।

    र्याली काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भएको थियो । बिहान ६ः०० बजे पाशुपत क्षेत्रबाट सुरु भएको कार्यक्रम साँझ ६ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन हुने सो पार्टीले जनाएको छ ।

  • सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

    सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

    भद्रपुर (झापा), १६ फागुनः यहाँको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए । पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    उनका अनुसार मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत हुनुुहुन्छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कार चालक बिर्तामोड नगरपालिका–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए ।

  • दक्षिणकालीका मतदाताको माग : ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’

    दक्षिणकालीका मतदाताको माग : ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’

    प्रकाश सिलवाल र मधु शाही/रासस

    काठमाडौँ, १५ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूसँग दक्षिणकाली नगरपालिकाका मतदाताले ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’ प्रवर्द्धन गर्नेलाई मतदान गर्ने बताएका छन् । फर्पिङको ‘कोतघर’ पहिला तलेजु भवनीको दरबारले चिनिथ्यो । अहिले यहाँ दरबारको अवशेष पनि देखिदैन । दरबार भत्किएर यहाँ घाँसेचौर भएको छ ।

    छेउमा दक्षिणकाली नगरपालिका–६ को वडा कार्यालय छ । यही कोतघरको चौरमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मतदानस्थल कायम गरिएको छ । कोतघरको अगाडि दक्षिणकाली नगरपालिकाको नगर कार्यपालिका कार्यालय र भित्री चोक पनि पर्दछ ।

    ‘चुनाव नजिकिँदै छ । यहाँका उम्मेदवारसँग के अपेक्षा राख्नुहुन्छ ?’ भन्ने राससको प्रश्नमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को दक्षिणकाली नगरपालिकामा रहेको नगर कार्यपालिकाको आँगनमा उभिएर ७८ वर्षीया जितमाया श्रेष्ठले भनिन्, “अरु सबै छ, ऊ यो पुरानो कोतघर भत्किएर यहाँको इतिहास हराएको छ । हामीलाई पहिलेकै कोतघर आवश्यक छ । जसले बनाइदिन्छ, उसलाई भोट हाल्ने मन छ ।”

    स्थानीय मतदाता श्रेष्ठले यसो भनिरहँदा उनका आँखामा कोतघरसँग इतिहास र पुख्र्यौली संवेदना जोडिएको देखिन्थ्यो । उनका अनुसार यहाँ प्राचीनकालमा स्थानीयले पूजा गर्ने देवीदेवताको मन्दिर थियो । विभिन्न कालखण्डमा जीर्ण भएर भवन भत्किएपछि यहाँका देवीदेवताका मूर्ति केहीपर एकै स्थानमा सारेर थन्क्याइएको छ ।

    भवनको अभावमा यहाँका देवतालाई अन्यन्त्र प्रतिस्थापन गर्दा स्थानीयको आस्था र भरोसा खुम्चिँदै गएको श्रेष्ठले उल्लेख गरिन् । “हाम्रा पुर्खादेखि पूजा गर्दै आएका देवीदेवता राख्ने थलो नहुनु दुःखद् विषय विषय हो । यहाँ फेरि उही पुरानै कोतघर बनाइदिए हामी उत्साहित हुने थियौँ”, उनले भनिन् । पुख्र्यौली संस्कृति र सम्पदाको संरक्षण हुन नसकेको यहाँ स्थानीयको गुनासो यसअघिका जनप्रतिनिधिका उम्मेदवारलाई नसुनाइएको होइन ।

    कोतघर भत्किएर चौर भएपछि नजिकको ढुङ्गेधारा संरक्षणको पर्खाइमा छ । सोही क्षेत्रका ६८ वर्षीय बुद्धिराम श्रेष्ठले आफ्नो बाल्यकाल यही ढुङ्गेधारोबाट बग्ने शुद्ध मूलको पानी खाएर हुर्किएको स्मरण गरिन् । पञ्चायत, प्रजातन्त्र र गणतन्त्रदेखि सङ्घीय शासन प्रणालीसम्म आइपुग्दा आफ्ना पुख्र्याौली धरोहर हराउँदै गएकामा बुद्धिरामले चिन्ता व्यक्त गरे । यस्ता सम्पदाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण हुनुपर्नेमा उनले जोड दिए ।

    पुख्र्यौली संरचना जगर्ना गर्न सके स्थानीयस्तरमा वैभवपूर्ण समृद्धि अनुभूति गर्न सकिने उनको धारणा छ । यतिबेला घरदैलोमा मत माग्न आउने उम्मेदवारलाई बुद्धिरामले तिनै सुक्दै गएका ढुङ्गेधारा र जीर्ण सम्पदा कसले बनाउँछ ? भन्दै प्रश्न गर्ने गरेको बताउनुभयो । धेरै वटा निर्वाचनको अनुभुति गरेका उनले भौतिक विकास र परम्परागत संस्कृतिको संरक्षणसँगै सुशासन, शान्ति र समृद्धिका पक्षमा काम गर्ने जुनसुकै उम्मेदवार रोजाइमा पर्ने धारणा राखे ।


    स्थानीय युवा उज्वल श्रेष्ठले विगतमा जस्तो आश्वासन दिने र चुनाव जितेपछि प्रतिबद्धता पूरा नगर्ने परिपाटीलाई नेताहरूले हटाउनुपर्ने बताए । उद्योग कलकारखाना सञ्चालन गरेर युवा रोजगार बढाउने प्रतिबद्धता पहिलाको चुनावमा धेरै उम्मेदवारले गर्दै आएका भन्दै अहिलेसम्म पूरा हुन नसकेका उनले गुनासो गरे । उद्योग कलकारखाना सञ्चालनमा आयो भने स्थानीय युवा रोजगारका लागि विदेशिनु नपर्ने बताउँदै युवा जनशक्तिलाई आकर्षित गर्ने सोच भएका उम्मेदवार आफ्नो रोजाइमा पर्ने उज्वलले प्रतिक्रिया दिए ।


    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०६४ को निर्वाचन जितेकाले चर्चामा रहेको यो क्षेत्रमा पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र केसी विजयी भएका थिए । तत्कालीन निर्वाचन क्षेत्र नं ५ (अहिलेको कीर्तिपुर र चन्द्रागिरी) रहेका बेला एमालेका तत्कालीन महासचिव मदन भण्डारी यहाँबाट विजयी भएका थिए ।


    राजधानी उपत्यकाको भाग भए पनि विकासमा पछि परेको काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा यसपटक कांग्रेसबाट हिमाल कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विनोद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रदीप विष्ट, नेकपाबाट रुपा महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बलराम थापा उम्मेदवार छन् ।


    नेपाल मजदुर किसान पार्टीबाट विन्द्रा महर्जन, राष्ट्रिय जनमोर्चाबाट अम्बरबहादुर पौडेल र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट केशवराज अर्याल, श्रम संस्कृति पार्टीबाट धनबहादुर श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट भागरित साह र उज्यालो नेपाल पार्टीबाट राकेश न्यौपाने प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारका रूपमा पूर्णचन्द्र पौडेल, अनुज प्रधान, कविता पुडासैनी (अधिकारी), कुमारखाकी श्रेष्ठ, कृष्णकुमारी नेपाली, दीपकराज पाण्डे, देवकुमार श्रेष्ठ, विनोद बुढाथोकी, मीनबहादुर बुढाथोकी, राजकुमार गिरी र सुलोचना परियार उम्मेदवार रहनुभएको छ । महिला उम्मेदवार पाँच जना छन् ।

    यसअघिको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रसहितको गठबन्धनका आधारमा कांग्रेसका केसी १४ हजार ४६३ मतका साथ विजयी भएका थिए भने एमालेका हिमेश केसीले ११ हजार ७९१ मत प्राप्त गरेका थिए ।

    मतदात अधिकृत खटिँदै

    काठमाडौँ क्षेत्र नं १० को निर्वाचनलाई सुसम्पन्न गर्न कीर्तिपुरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालित छ । निर्वाचन अधिकृत अमृतादेवी शर्माका अनुसार ९८ मतदान अधिकृत र ९८ सहायक मतदान अधिकृतलाई नियुक्तिपत्र प्रदान गरिएको छ । ती मतदान अधिकृतले शनिबार तालिम लिएर कार्यस्थलमा खटिनेछन् ।

    उनले मतपत्रको रुजु गर्ने कार्य लगभग सकिएको जनाउँदै निर्वाचनका लागि सुरक्षा निकाय, स्थानीय तह र सरोकार भएका पक्षबाट आवश्यक सहयोग भइरहेको बताए । निर्वाचन अधिकृत शर्माले यही फागुन १८ गते सबै मतदान केन्द्र (बुथ) मा निर्वाचन सामग्री उपलब्ध हुने र मतदानस्थल निर्माण हुने जानकारी दिँदै निर्वाचन आचारसंहिताको कार्यान्वयनसमेत भइरहेको अवगत गराए ।

    पाँच मतदानस्थल महिलामैत्री

    निर्वाचन अधिकृत शर्माले ९८ मध्ये पाँच मतदानस्थललाई महिलामैत्री (सबै महिला कर्मचारी खटिएका) बनाइएको बताए । ती मतदानस्थलमा कीर्तिपुर नगरपालिका–४ को सल्यानथान आधारभूत विद्यालय, चन्द्रागिरी नगरपालिका–५ को जनकल्याण मावि, किशिपिडी क, ख र ग र दक्षिणकाली नगरपालिका–५ को अरुणोदय मावि मतदान केन्द्र रहेका उनले जानकारी दिए ।

  • पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

    पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

    कञ्चनपुर, १५ फागुन । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाब्ले महत्त्वपूर्ण मानिएको छ । यस चरालाई पहिलोपटक निकुञ्जमा नेपाल पन्छी संरक्षण सङ्घ ९विसिएन०का वरिष्ठ चराविज्ञ हिरूलाल डगौरा, दिलीप चन्द ठकुरी, सुमन चौधरी, डा विकल्प पाण्डेलगायत टोलीले निकुञ्जमा चरा अवलोकनका क्रममा अभिलेख गरेका हुन् । ‘मदना चाँचर’को वैज्ञानिक नाम टर्डस बुबुल रहेको छ । यो थ्रस (चाँचर) परिवारमा पर्ने चरा हो ।

    अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आयुसिएन)ले यसलाई विश्वस्तरमा ‘कम चिन्ताजनक’ अर्थात् सामान्य श्रेणीमा राखेको भए पनि शुक्लाफाँटाका लागि भने यो नितान्त नयाँ र दुलर्भ प्रजातिका रूपमा रहेको चराविज्ञ डगौराले बताए । उनका अनुसार यो चरा मुख्यतः मध्यपहाडी र हिमाली क्षेत्रका आद्र्र वनमा बस्ने गर्छ । सामान्यतया १८०० देखि २७०० मिटर उचाइमा पाइने यो प्रजाति जाडोयाममा केही तल झर्न सक्छ । तर तराईको समथर भूभागमा देखिनुलाई असामान्य मान्न सकिने चराविज्ञ डगौराले बताए ।


    “विश्वस्तरमा सामान्य भए पनि शुक्लाफाँटामा देखिनु स्थानीय रूपमा दुर्लभ घटना हो”, उहाँले भन्नुभयो, “यसले वातावरणीय अवस्था वा बसाइँसराइको ढाँचामा आएको परिवर्तनलाई देखाउँछ ।” मदना चाँचर करिब २८–२९ सेन्टिमिटर लामो हुन्छ । भाले चरा कालो रङको र पखेटामा खैरो दाग भएको देखिन्छ भने पोथी चरा खैरो रङको हुन्छ । भालेको चुच्चो पहेँलो र पोथीको हल्का पहेँलो वा खैरो हुन्छ ।

    “नेपालदेखि उत्तरी भियतनामसम्मका पहाडी क्षेत्रमा सीमित मानिने यो प्रजातिको चरा तराईमा देखिनुले जलवायु परिवर्तनको असर वा पारिस्थितिक प्रणालीमा भइरहेको फेरबदलको सङ्केत हो”, चराविज्ञ डगौराले भने, “पहाडी क्षेत्रमा सीमित मानिने चरा तराईमा भेटिनुले शुक्लाफाँटाको जैविक विविधताको दायरा अझ फराकिलो बन्दै गएको छ ।”

    शुक्लाफाँटामा यो नयाँ पाहुनाको आगमनसँगै निकुञ्जमा पाइने चराहरूको सङ्ख्यामा थप वृद्धि भएको छ । पहाडी क्षेत्रको यो चरा शुक्लाफाँटामा अभिलेख भएसँगै यस निकुञ्जलाई चरा अवलोकन र वैज्ञानिक अनुसन्धानको दृष्टिले अझ महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

  • दश जातिको मातृभाषामा डा. हरि रोकाको चुनावी अपिल

    दश जातिको मातृभाषामा डा. हरि रोकाको चुनावी अपिल

    खोटाङ, १५ फागुन: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा हरि रोकाको चुनावी अपिल दश जातजातिको मातृभाषामा तयार पारिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाबाट उम्मेदवारी दिएका अर्थ तथा वाम राजनीतिक विश्लेषक डा रोकाको पक्षमा जनमत जुटाउन चाम्लिङ, दुमी, साम्पाङ, पुमा, वाम्बुले, कोयी, तामाङ, गुरुङ, नेपाल (नेवार) र बान्तावा भाषामा अपिल प्रकाशन गरिएको हो ।

    खस नेपाली भाषासहित ११ भाषामा डा रोकाको चुनावी अपिल प्रकाशन गरिएको प्रचारप्रसार समितिका संयोजक एवं पूर्वमन्त्री राजन राईले जानकारी दिए । उम्मेदवार डा रोकाको पक्षमा चुनावी माहोल सृजना गर्न ‘हरि रोका जिताऔँ’ स्वतन्त्र सहयोग समितिले विभिन्न दश मातृभाषामा निर्वाचन प्रचार सामग्री तयार पारेको हो ।

    मातृभाषामा तयार पारिएको प्रचार सामग्रीलाई अपिलको एकापट्टि मातृभाषामा र अर्कापट्टि खस नेपाली भाषामा डा रोकालाई मत दिनुपर्ने कारण उल्लेख गरिएको छ । विभिन्न जातजातिका मतदातालाई उनीहरूकै भाषामा उम्मेदारको चुनावी एजेन्डाबारे जानकारी दिन भातृभाषामा अपिल तयार पारिएको निर्वाचन परिचालन मूल समितिका संयोजक एवं पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राईले बताए ।
    मातृभाषामा लेखिएको अपिलले विभिन्न मातृभाषाको लेख्य परम्परालाई प्रवर्द्धन गर्न सहयोग पुगेको पूर्वसांसदसमेत रहेका संयोजक राईले जानकारी दिए । “हारजित एक ठाउँमा छ तर, विभिन्न मातृभाषाको संरक्षणमा यसले रेकर्डको काम गर्छ”, संयोजक राईले भने, “चाहेर पनि तिलुङ भाषाको अपिल बनाउन सकिएन । मातृभाषालाई बुझ्ने कोसिस हो यो । यसले मातृभाषामात्रै प्रयोग गर्ने मतदातालाई ठूलो सहयोग पुगेको छ ।”

    मातृभाषामा तयार पारिएका घोषणापत्र नेकपा खोटाङका नेता तथा कार्यकर्ताले सम्बन्धित समुदायका मतदातासमक्ष बाँडिरहेका छन् । डा रोकाले आफ्नो चुनावीसभालाई जनसंवाद कार्यक्रमका रूपमा अगाडि सारेर १० वटै स्थानीय तहका मतदातासँग प्रत्यक्ष सवालजवाफ गरिरहेका छन् । प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपाका उम्मेदवार डा रोकासहित १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्लाका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आफ्नो चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।

    नेपाली कांग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवविक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ उम्मेदवार रहेका छन् । यस्तै, डा राजकुमार राई र तिलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।


    एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा उम्मेदवारहरू आफ्नो पक्षमा जित निकाल्न प्रयास रहेका छन् । आफ्ना पार्टीका उम्मेदवारलाई विजयी बनाउन जिल्लास्थित राजनीतिक दलहरू सक्रिय बन्न थालेपछि कार्यकर्ताहरू तानातानमा परेका छन् ।

  • आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

    आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

    काठमाडौँ, १५ फागुन । आसन्न प्रनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा बढी उत्साह देखिएको पाइएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले गरेको निर्वाचन सर्वेक्षणमा विगतको तुलनामा मधेस प्रदेशका करिब ५५ प्रतिशत मतदातामा आगामी चुनावप्रति उत्साह देखिएको उल्लेख छ । जेनजी आन्दोलनका जगमा हुन लागेको यस निर्वाचनलाई विगतका निर्वाचनभन्दा भिन्न र विशिष्ट मानिएको जियोकका महासचिव कृष्णमान प्रधानले बताए ।


    भदौ २३ गते भएको जेनजी आन्दोलनपछिको पहिलो निर्वाचन भएकाले पनि आममतदातामा ठूलो उत्साह रहेको महासचिव प्रधानले बताए । सोही प्रदेशमा निर्वाचनप्रति सवैभन्दा बढी ७९।२ प्रतिशत विश्वास रहेको सर्वेक्षण तथ्याङ्कले देखाएको छ ।

    जियोकको सर्वेक्षणमा भनिएको छ, “नवयुवा पुस्ताले यस निर्वाचनलाई विगतको भन्दा फरक मानेका छन्, आममतदाता भने तोकिएको समयमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा ढुक्क छन् ।” जियोकले करिब १०० जना मतदातामा गरेको सर्वेक्षणमा सहभागीमध्ये अधिकांश यही फागुन २१ गते हुने निर्वाचनबारे सचेत रहेको उल्लेख छ ।

    सर्वेक्षणमा सहभागी मतदातामध्ये ३४ प्रतिशत राजनीतिक शक्तिबाट उच्च प्रभावित रहेको तथा ५० प्रतिशतमा मध्यम प्रभाव देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा जेनजी आन्दोलनको प्रभावले विगतको तुलनामा चुनावी नतिजालाई केही फेरबदल गर्ने अनुमान गरिएको छ ।

    निर्वाचनको सफलतामा शान्ति, सुरक्षाको पाटोलाई चुनौतीका रूपमा पहिचान गरिए तापनि पछिल्लो समय बन्दै गएको चुनावी वातावरणले अन्य कुरालाई पन्छाउँदै लगेको संस्थाले जनाएको छ । तथापि राजनीतिक दलका कार्यकताबीच हुनसक्ने विवादले केही स्थान विशेषमा भने छिटफुट रूपमा सुरक्षा चुनौती निम्तन सक्ने विषयलाई नकार्न नमिल्ने औँल्याइएको छ ।

    सर्वेक्षणमा सहभागी २१ प्रतिशत मतदाताले आफ्नो मतको निर्णयमा सामाजिक सञ्जालको प्रभाव रहेको स्वीकार गरेको तथा लैङ्गिक रूपमा २४ प्रतिशत पुरुष र २१ प्रतिशत महिला प्रभावित देखिएको उल्लेख छ । प्रविधि प्रयोगमा मात्र होइन, नवयुवा पुस्ता सामाजिक सञ्जालबाट त्यति नै प्रभावित देखिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी तुल्याउन पैसा र पहँुचको दुरुपयोगलाई सबैभन्दा ठूलो चुनौतीका रूपमा औँल्याइएको छ ।

    निर्वाचन सुरक्षामा भ्रामक सूचनाले पनि नकारात्मक असर पर्ने सक्ने भएकाले त्यसको समयमै रोकथाम गर्नेतर्फ ध्यान पुर्याउनुपर्नेमा जोड दिइएको छ । चुनावको मिति नजिकिँदै गर्दा निर्वाचनका लागि आवश्यक वातावरण बनेको, मतदातामा उत्साह बढेको, नयाँ राजनीतिक शक्तिको उदय सङ्केत देखिएको तथा निर्वाचनपछिको परिदृश्य र सुधारको सम्भावना प्रशस्त रहेको जियोकको प्रतिवेदनमा उल्लेख छ ।

  • सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी

    सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी

    किमाथाङ्का (सङ्खुवासभा), १५ फागुन । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारका गतिविधि तीव्र बन्दै गएको अवस्थामा आचारसंहिताको पालना गराउन प्रशासनले निगरानी बढाएको जनाएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका ३३ उजुरी परेका छन् । कार्यालयमा परेका उजुरीमध्ये अधिकांश मौखिक उजुरीसम्बन्धी मौखिक उजुरी बढ्दै गएका छन् ।

    निर्वाचन आचारसंहिता अनुगमन समितिले मौखिक रूपमा आएका आचारसंहिता उल्लङ्घनका उजुरी तत्काल समाधान गर्दै आएको छ । जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका हालसम्म ३३ उजुरी परेको आचारसंहिता अनुगमन संयोजक चिरञ्जीवी अधिकारीले बताए । आचारसंहिता उल्लङ्घनका २१ वटा मौखिक उजुरी, छवटा लिखित उजुरी परेका छन् । त्यस्तैगरी छवटा पार्टी तथा उम्मेदवारविरुद्ध आचारसंहिता उल्लङ्घनका उजुरी परेको आचारसंहिता अनुगमन संयोजक अधिकारीले बताए । जिल्लाका छ वटा पार्टी तथा उम्मेदवारले आचारसंहिताविपरीत टोपी, टिसर्ट, ब्यानर र मोटरसाइकल र्याली गरेको उजुरी परेको हो ।

    आचारसंहिता उल्लङ्घन गर्ने पार्टी तथा उम्मेदवारको नाम भने खुलाइएको छैन । लिखित उजुरीका आधारमा सम्बन्धित पार्टी तथा उम्मेदवार तथा दललाई लिखित तथा मौखिक स्पष्टीकरण मागिएको छ । कार्यालयले सबै दल तथा उम्मेदवारलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रहसमेत गरेको छ । लिखित उजुरी परेका विषयमा औपचारिक रूपमा स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाइएको छ ।

    यस्ता उजुरीका सम्बन्धमा प्रारम्भिक छानबिन गरी आवश्यक निर्देशन तथा सचेत गराउने काम भइरहेको आचारसंहिता अनुगमन संयोजक अधिकारीले बताए । लिखित उजुरी परेका विषयमा औपचारिक प्रक्रिया अपनाइने र मौखिक उजुरीका हकमा प्रारम्भिक तहमा छलफल तथा सचेत गराउने अभ्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता रहेका छन् । जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा देखिएका छन् ।

  • गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौँ, १४ फागुनः काठमाडौँको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्गेल बसपार्क नजिक सडकमा बा ११ च ४७३८ नम्बरको मिनी टाटाले बा ८१ प ४५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी हाइट बस्ने ३० वर्षीय पवन तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा आज मृत्यु भएको हो । मिनीटाटा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    इनरुवा (सुनसरी), १४ फागुनः सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–५ का ३२ बर्षीय बिजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

    आज बिहान बराहक्षेत्र नगरपालिका–११ गुप्ताटोलस्थित भित्रि सडकमा को २५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हँुदा ऋषिदेव गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनमा दुहबी–५ का दिपेन ऋषिदेव घाइते भएका थिए । उनको उपचार भइरहेको प्रनाउ खड्काले बताए ।


    त्यसैगरी इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा गएराति कारले ठक्कर दिँदा पैदलयात्री सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय पैदलयात्री गिरिजानन्द साहको मृत्यु भएको छ । विराटनगरबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च ७५०५ नम्बरको कारले बाटो काट्दै गरेका पैदलयात्री साहलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कार अनियन्त्रित भई सोही दिशातर्फ गइरहेको प्र १–०२–००३ ह ४८९८ नम्बरको टेम्पोलाई समेत ठक्कर दिएको थियो । सो ठक्करबाट इटहरी–२० का ४४ वर्षीय टेम्पो चालक वसन्त घिसिङ, टेम्पोमा सवार ५९ वर्षीय प्रेमकुमार गुरुङ र इटहरी–१२ का २२ वर्षीय कार चालक विकी विश्वकर्मा सामान्य घाइते भएका छन् । सो घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

    निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

    काँक्रेविहार (सुर्खेत), १४ फागुनः यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संमवेदनशील, ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेको जानकारी दिए ।

    प्रदेशमा रहेका ९४१ वटा स्थायी र १८ वटा अस्थायी गरेर ९५९ वटा मतदानस्थल रहेका छन् । यहाँ एक हजार ४५५ वटा मतदान केन्द्रमध्ये सुरक्षाका हिसाबले ४४६ वटा मतदान केन्द्र अति संवेदशील रहेका छन् । संवेदशीलमा ६९७ र सामान्य अवस्थाका २८४ वटा मतदान केन्द्र रहेका छन् ।

    एउटा मात्र केन्द्र भएको स्थलको सङ्ख्या कर्णालीमा ५२५, दुई केन्द्र भए ३५३, तीन केन्द्र भएको स्थल ४९, चार केन्द्र भएको स्थलको सङ्ख्या १२, पाँच केन्द्र भएको स्थलको सङ्ख्या एक, छ केन्द्र भएको स्थल एक रहेको छ । एक केन्द्र भएको अस्थायी स्थलको सङ्ख्या १८, थप मतदान केन्द्रको सङ्ख्या ४९६ रहेका छन् ।

    कर्णालीमा १२ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा दुई\दुई वटा र अन्य आठ जिल्लामा एक\एक वटा निर्वाचन क्षेत्र छन् । प्रदेशमा कुल मतदाना सङ्ख्या १० लाख ३७१८ वडा रहेको कर्णालीमा ५४ वटा गाउँपालिका र २५ वटा नगरपालिका रहेका छन् ।

  • एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना

    एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना

    काठमाडौँ, १३ फागुन । नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षाका लागि परिचालन भएको नेपाली सेनाले विगतमा जस्तै यसपटक पनि सुरक्षा व्यवस्थाको योजना बनाएको छ ।

    सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन केन्द्रित तालिम तथा संयुक्त अभ्यास सञ्चालन गरी आवश्यक तयारी पूरा भइसकेको छ । यसबीचमा सेनाले मतपत्र छपाइ सुरक्षाको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ । आजसम्म ७५ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी भइसकेको र भोलिसम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । भौगोलिक अवस्थाअनुसार पाँच जिल्लामा हवाई माध्यमबाट र अन्य जिल्लामा स्थल मार्गबाट मतपत्र ढुवानी गरिएको हो । सेनाले २०४८ साल यताका सबै निर्वाचनमा मतपत्र छपाइस्थलको सुरक्षा, काठमाडौँबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी गर्दै आएको छ ।

    निर्वाचनको दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन सम्पन्न भएपश्चात् अन्य सुरक्षा निकाय, निर्वाचन अधिकृतलगायत दलका प्रतिनिधिसहितको एकीकृत टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणना स्थलसम्म पुर्‍याउने काम हुँदै आएको छ । मत गणनाको समयमा सेनाले गणनास्थलको बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्दै आइरहेको छ । आसन्न निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन विगत जस्तै सेनालगायत अन्य सुरक्षा निकाय परिचालित भएका सैनिक प्रवक्ता बस्नेतले स्पष्ट पारे ।


    एकीकृत सुरक्षा योजनाअनुसार सेनाले निर्वाचनका दौरान मतदान केन्द्र तथा मतगणना स्थलको सुरक्षा, हवाई गस्ती, शङ्कास्पद वस्तु निष्क्रिय पार्नेलगायत कार्य गर्नेछ । सुरक्षा व्यवस्थाको तेस्रो घेरामा रही आवश्यकताअनुसार विभिन्न साधनमार्फत थप फौज समेत परिचालन गरी जुनसुकै सुरक्षा घेरामा खटिइ निर्वाचनलाई सुरक्षित वातावारण तयार गरिने सेनाले जनाएको छ । निर्वाचन सुरक्षालाई थप सुदृढ बनाउन स्थानीय प्रशासन र सम्बद्ध सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरी देशभर विभिन्न स्थानमा बेस स्थापना गरी नियमित गस्ती भइरहेको छ ।

    भौगोलिक विकट स्थानमा सडक तथा बाटोमा जमेका हिउँ पन्छाएर बाटो खुलाई निर्वाचन सामग्री ढुवानी, व्यवस्थापन एवं आम जनमानसको सहजताको लागि सहयोग प्रदान गरिरहेको सेनाले जनाएको छ । कारागार, विमानस्थल तथा सरकारी कार्यालयसहित अन्य सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेका ११६ महत्वपूर्ण संरचनाको सुरक्षाका लागि समेत सेना खटिएको छ । निर्वाचन सुरक्षासम्बन्धी गतिविधिको केन्द्रीय र स्थानीय तहबाट निरन्तर अनुगमन भइरहेको सेनाले जनाएको छ । सो क्रममा प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न कमान्ड सेन्टर तथा फिल्डमा खटिएका फौजको निरीक्षण गर्दै आवश्यक निर्देशन दिँदै आएका छन् ।


    सैनिक प्रवक्ता बस्नेतले रासससँगको कुराकानीमा निर्वाचन आचारसंहिता तथा मानवअधिकारको पूर्णपालना गर्दै सरकार, निर्वाचन आयोग, स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा गर्न सेना पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

    संयुक्त राष्ट्र सङ्घको आह्वान विश्व शान्ति स्थापना कार्यमा विश्वसनीय र भरपर्दो शान्ति सैनिकको पहिचान बनाएको सेनासँग विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सहयोगी भूमिका निर्वाह गरेको अनुभव रहेको छ । सरकारको दृढ प्रतिबद्धता र सेनालगायत अन्य सुरक्षा निकायको सक्रिय परिचालनले यस पटकको प्रतिनिधिसभा निर्वाचन सुरक्षित र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने अपेक्षा गरिएको सेनाले जनाएको छ ।

  • मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

    मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

    काठमाडौँ, १३ फागुनः नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुवारक जरवान अल शाम्सीले प्राकृतिक विपत्तिलगायत सङ्कटका बेला आफ्नो देशले विश्वसमुदायलाई सहयोग गर्दै आएको र त्यसनिम्ति सधैँ तत्पर रहेको बताएका छन् ।

    मुसलमानहरुको पवित्र महिना रमादानका अवसरमा ‘युएई र मानवीय प्रयास : मानवताका निम्ति दिगो रणनीति’ शीर्षकमा आज यहाँ आयोजित कार्यक्रमा उनले ५० लाख बालबालिकालाई कुपोषणबाट जोगाउने अभियान यसै महिना प्रारम्भ गरिने जानकारी दिए । साथै राजदूत शाम्सीले गत वर्ष एक अर्ब ६० करोड अमेरिकी डलर मानवीय सहयोगका खातिर आवश्यकमा रहेका समुदायलाई प्रदान गरिएको बताए ।

  • ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र

    ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र

    ढोरपाटन (बागलुङ), १३ फागुन । ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । जिल्ला सदरमुकामसँग जोडिएको मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र भएको हो । सडक कालोपत्र भएपछि यात्रा र सामान ढुवानी गर्न सहज भएको छ । सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत मूलपानी–तितौरे सडकको ८.५ किलोमिटर, ओडारचौर–ढोडेनीसम्मको २.५ किमी र गणेशघुम्ती–निरयघाटअन्तर्गत १.५ किमी गरी १२.२ किमी सडक कालोपत्र गरिएको छ ।

    विश्व बैंकको रु ४८ करोड अनुदानमा सडक निर्माण गरेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । सडकले ग्रामीण जनतालाई यात्रा गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्न सहज भएको उनको भनाइ छ । बागलुङ नगरपालिकाका तीनवटा वडामा पर्ने उक्त सडकले नागरिकको जीवनस्तर परिवर्तन ल्याउनने प्रमुख श्रेष्ठ बताउँछन् ।


    उनले भने, “ट्रयाक खुलेको धेरै समय भएको थियो, तर अहिलेसम्म कालोपत्र नहुँदा गाउँमा धुलोले स्थानीय आजित थिए, यात्रा र सामान ढुवानीमा पनि उस्तै समस्या थियो, अब कालोपत्र सडकले उनीहरूको यात्रामात्र होइन दैनिकी नै सहज बनाउने अपेक्षा लिएका छौँ ।” तीन सडकले बागलुङ नगरपालिका–१, ४ र ७ वडा जोडेको छ । सडक कालोपत्र भएपछि धुलो र हिलोबाट मुक्त भएको स्थानीय तुलसी सापकोटाले बताए ।

    केही महिना अगाडिसम्म घर अगाडि गाडी गुड्दा धुलो र हिलो भान्छा कोठामै पुग्ने गरेको भन्दै अहिले कालोपत्र गरेको चिटिक्क बनेको उनको भनाइ छ । अर्का स्थानीय प्रेम विकले अब बागलुङ बजार आवातजावात गर्न निकै सहज हुने बताए । पहिले अप्ठ्यारो र साँघुरो हुँदा साढे एक घण्टा लाग्ने गरेको भन्दै अब २५–३० मिनेटमै बजार झर्न सकिने उनको भनाइ छ ।

  • हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

    हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

    अदानचुली (हुम्ला), १३ फागुन स् आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार ३४ हजार ३७२ मतदाता रहेका जिल्लामा ६४ मतदान केन्द्रमध्ये सबैभन्दा कम जिल्लाको तल्लो क्षेत्र ताँजाकोट गाउँपालिका–३ मा रहेको बानादेव आधारभूत विद्यालयमा जम्मा ५४ मतदाता छन् । जो गाउँपालिकाको केन्द्रबाट पैदल एक दिन लाग्छ, जहाँ सडक सञ्जालले छोएको छैन ।

    सर्केगाड गाउँपालिकामा ३०० भन्दा कम मतदाता रहेका तीनवटा मतदान केन्द्र छन् । वडा नं १ को देबल आधारभूत विद्यालय तुम्चमा २४०, धुमचुली आधारभूत विद्यालय कल्लासमा २१६ र नीलकण्ठ प्रावि फुचामा २८८ जना मतदाता रहेका निर्वाचन अधिकारी रोकायाले बताए । त्यस्तै, चङ्खेली गाउँपालिकामा पनि तीनवटै मतदान केन्द्र छन् । जसमध्ये डाँफे आधारभूत विद्यालय नेप्कामा २४२ मतदाता छन् । उक्त गाउँमा जान पनि गाउँपालिकाको केन्द्रबाट पैदलयात्रा गर्दा पूरा एक दिन लाग्छ जहाँ सडक पुगेको छैन । अन्य रारा आधारभूत विद्यालय मेखालामा १४३ र रामशाह आधारभूत विद्यालय पिपलाङमा २१२ जना मतदाता छन् ।

    अन्य आठवटा मतदान केन्द्र भने जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा छन् । सबैभन्दा टाढा रहेको हिमशिखर प्रावि तिलगाउँमा १३२, भृकुटी प्रावि जाँङगाउँमा २४७ र सुनखानी प्रावि हल्जीमा २९३ मतदाता छन् । तर यी तिनै गाउँमा यतिबेला १५÷२० जनाबाहेक अन्य सबै जिल्ला सदरमुकाम वा अन्य सहरी क्षेत्रमै रहेका छन् ।

    यता अरनिको प्रावि यारीमा १९५, खासरपानी प्रावि मुचुमा २३४, हिमालय प्रावि चालामा १५९, महाबौद्ध मावि याल्वाङमा २८० र नमोडोछोमु प्रावि ताङ्घीनमा १५९ मतदाता छन् । यी सबै मतदान केन्द्रमा यतिबेला हिउँ जमेको छ भने केही मतदान केन्द्रमा जान यारी र न्यालुको लेकमा भएको हिउँका कारण जान नसकिने अवस्था रहेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए । उनका अनुसार स्काभेटरमार्फत हिउँ पन्छाउने काम सुरु भए पनि असम्भवजस्तै देखिएको छ ।

    जिल्लाको सबैभन्दा धेरै मतदाता भएको मतदान केन्द्र भने खार्पुनाथ गाउँपालिकामा रहेको मालिका माध्यामिक विद्यालय लालिमा एक हजार ६३ मतदाता रहेका छन् । त्यसपछि मष्टादेव आधारभूत विद्यालय अदानचुलीमा ९७७ र कोट मावि रोडीकोटमा ९३६ जना रहेको निर्वाचन अधिकारी रोकायाले बताए ।

  • गैँडाकोटमा मृतावस्थामा युवती फेला

    गैँडाकोटमा मृतावस्थामा युवती फेला

    मध्यविन्दु (नवलपरासी), १३ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती मृतावस्थामा फेलापरेकी छन् ।
    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार गुल्मी मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा सोमबार साँझ आफ्नै कोठाभित्र चोटपटकसहित मृतावस्थामा फेला परेकी हुन् ।

    युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो । स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेलापरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

    “प्रारम्भिक अनुसन्धानका क्रममा शरीरका टाउको, घाँटी, दाहिने हातको नाडीमा धारिलो हतियारले काटेको चोट र अनुहारमा निलडाम रहेका छ”, प्रहरी उपरीक्षक खड्काले भने, “घटनाको थप अनुसन्धानका लागि प्रदेशस्तरीय अनुसन्धान टोली तथा कुकुरसहितको विशेष टोलीसमेत परिचालन गरिएको छ ।”

    मृतक सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको बुझिएको छ । उनी हाल एक्लै बस्दै आएकी थिइन् । उनी गत १० फागुनमा गुल्मीबाट गैँडाकोटस्थित डेरामा फर्किएपछि माइती पक्षसँग सम्पर्कमा नआएको खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । घटनाबारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

  • साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

    साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

    मुस्ताङ, १३ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त सडकमा सवारी सञ्चालनका लागि हिउँ पन्छ्याउन सुरु गरिएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले उल्लेख गरे ।

    मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर÷पश्चिमतर्फ समुन्द्री सतहको चार हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबै भन्दापछि पत्ता लागेको गाउँ हो । यहाँको साङ्ता गाउँमा ३९ जना मतदाता छन् । यही गाउँमा अवस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दुरी जोमसोमबाट करिब ४० किलोमिटर टाढा छ । भौगोलिक रुपले विकट स्थानमा रहेको मुस्ताङको साङ्ता गाउँका नागरिक अहिले गाउँभन्दा बाहिर छन् ।

    मुस्ताङ र डोल्पाको सिमाना नजिक रहेको साङ्ता गाउँका नागरिकहरु मङ्सिर अगावै जाडो छल्न गाउँ छोडेर मुस्ताङको जोमसोम आसपासका गाउँहरुमा आफन्तहरुको घरमा बसेका छन् । केही भने हिउँदयामको छेकोमा जाडो छल्न पोखरा–काठमाडौँ झरेका छन् । गाउँमा केही पशुचौपाया हेर्ने गोठालाहरु बाहेक पूरै गाउँका घरहरुमा ताल्चा मारिएको छ । लाग्छ स्थानीय सबै गाउँ छोडेर गएपछि साङ्ता गाउँ पूरै गुमनाम जस्तै छ ।

    यहाँस्थित साङ्ता गाउँमा जम्मा १३ घरधुरी मात्रै छन् । हिउँदयामको जाडो छल्न पारिलो स्थानमा लागेका यहाँका नागरिकहरु चैत÷वैशाख महिनामा मात्रै गाउँ फर्कन्छन् । तर, यसपालिका फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न २१ फागुन अगावै गाउँ पुग्नुपर्ने बाध्यता छ ।

    केही दिन अघि यहाँस्थित साङ्ता गाउँको हिमाली मतदान केन्द्रको अवलोकन गर्न पुगेको जिल्ला सुरक्षा समितिको टोली साङ्ता गाउँ जाने सडकको आधा बाटोमा पुगेर फर्किएको थियो । मुस्ताङका अधिकांश मतदान केन्द्रहरुको जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेपछि यहाँका साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र हिमपातले सडक अवरुद्ध हुँदा अनुमगन हुन सकेको छैन ।

  • प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

    प्रधानमन्त्रीद्वारा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी

    काठमाडौँ, १३ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएकी छिन् । उनले आज साँझ सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर जानकारी लिएकी हुन् । सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।

    हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा पनि गरिएको छ । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको र सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • चुनावका लागि सरकारले घोषणा गर्यो तीन दिन सार्वजनिक बिदा

    चुनावका लागि सरकारले घोषणा गर्यो तीन दिन सार्वजनिक बिदा

    काठमाडौँ, १२ फागुनः सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो ।

  • कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढी

    कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढी

    कञ्चनपुर, १२ फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । लिखित उजुरी भने न्यून सङ्ख्यामा मात्रै दर्ता भएका छन् । निर्वाचन आचारसंहिता अनुगमन समितिले मौखिक रूपमा आएका आचारसंहिता उल्लङ्घनका उजुरी तत्काल समाधान गर्दै आएको छ । आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार हालसम्म तीन वटा मात्रै लिखित उजुरी दर्ता भएका छन् ।

    “मौखिक रूपमा आएका गुनासोलाई प्राथमिकताका साथ हेरेर तत्काल समाधान गर्ने गरिएको छ”, उनले भने, “आचारसंहिताविपरीत टाँसिएका प्रचारप्रसारका सामग्री हटाउन तथा सार्वजनिक सम्पत्तिमा गरिएका प्रचार नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिने गरिएको छ ।” उनका अनुसार लिखित रूपमा दर्ता भएका उजुरीमाथि आवश्यक छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।

    सम्बन्धित उम्मेदवार वा दलसँग स्पष्टीकरण माग्ने, प्रमाण सङ्कलन गर्ने तथा आवश्यक परे कारबाहीका लागि सिफारिस गर्ने कार्य भइरहेको जनाइएको छ । हालसम्म गम्भीर प्रकृतिको आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी भने नपरेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो, कोणसभा, मोटरसाइकल र्‍याली र टोल भेलामार्फत चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

    प्रचारप्रसारका क्रममा सार्वजनिक स्थानमा अनधिकृत रूपमा टाँसिएका पोस्टर, ब्यानर तथा ध्वनि प्रदूषणसम्बन्धी गुनासा बढी आएका छन् । तर यस्ता विषयमा लिखित उजुरी भने सीमित मात्रै परेको अनुगमन समितिले जनाएको छ ।

    चुनावी अभियान विस्तारसँगै बजार क्षेत्रबाट ग्रामीण बस्तीमा प्रचार सामग्रीको प्रयोग बढेको छ । कतिपय स्थानमा तोकिएको समयभन्दा बाहिर लाउडस्पिकर प्रयोग गरिएको, सार्वजनिकस्थलमा ब्यानर टाँसिएको तथा जुलुस व्यवस्थापनमा कमजोरी देखिएका विषयमा गुनासा आएका छन् । अनुगमन टोलीले दैनिक रूपमा विभिन्न स्थानमा पुगेर आचारसंहिता पालनाको अवस्था मूल्याङ्कन गरिरहेको जनाएको छ ।

    निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार र समर्थकलाई आचारसंहिता कडाइका साथ पालना गर्न समितिले आग्रह गरेको छ । जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन प्रशासन र सुरक्षा निकाय सतर्क अवस्थामा रहेका छन् ।

  • निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    रासस
    काठमाडौँ, १२ फागुनः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ ।

    नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई पूर्णरूरुपमा आचारसंहिता लाग्छ । यस्तै, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई पूर्ण रूपमा आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

    सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीसमेत आचारसंहिताको दायरामा छन् । राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई आचारसंहिता लाग्छ ।

    निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी तथा कर्मचारी पूर्ण रूपमा आचारसंहिताको दायरामा छन् । यस्तै, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारीलाई पूर्ण रुपमा आचारसंहिता लाग्ने आयोगको भनाइ छ ।

    संवैधानिक निकाय, सो निकायका पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, एवं कर्मचारी, सार्वजनिक पद धारण गरेका व्यक्ति अनुमगन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई निर्वाचन आचारसंहिता लाग्छ । यसैगरी मतदाता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, आयोगले तोकेका अन्य निकाय वा व्यक्ति, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पनि आचारसंहिता लाग्छ ।

    स्थानीय कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा सहभागी भएको पाइएपछि आयोगले आइतबार आचारसंहिता स्मरण गराएको थियो । सोमबार पुनःसरकारी वा निजी क्षेत्रमा पूर्ण रूपमा आचारसंहिता लाग्ने स्मरण गराएको हो ।

  • रास्वपा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ छः सभापति लामिछाने

    रास्वपा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ छः सभापति लामिछाने

    बागमती, ११ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ रहेको बताएका छन् । रास्वपा मकवानपुरले आज हेटौँडामा आयोजना गरेको परिवर्तन उद्घोषसभामा उहाँले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

    सभापति लामिछानेले लोकतन्त्रको उत्सवका रूपमा रहेको निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गर्दै निर्वाचनबाट आउने परिणाम आफूहरूलाई स्वीकार्य हुने बताए । “निर्वाचनबाट भाग्ने र निर्वाचन बिथोल्ने छुट कसैलाई छैन । जनताले जे दिन्छ, त्यही स्वीकार्नुपर्छ, जनतालाई मताधिकारबाट वञ्चित गर्ने कार्य कसैले पनि गर्नुहुँदैन”, उनले भने ।

    निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्व सरकार बने सुशासन र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सभापति लामिछानेले सुशासन र विधिको शासन कायम गरी मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने उल्लेख गरे । पार्टीका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईले मुलुकमा सुशासन र विधिको शासन स्थापित गर्न आफ्नो पार्टीलाई विजयी बनाउन आग्रह गर्नुभयो । यस्तै, रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाश गौतम, क्षेत्र नम्बर २ का उम्मेदवार प्रशान्त उप्रेतीले सम्बोधन गरेका थिए ।

  • गौरको सबगढामा सद्भाव भड्काउने बाइस जनाविरुद्ध मुद्दा

    गौरको सबगढामा सद्भाव भड्काउने बाइस जनाविरुद्ध मुद्दा

    चन्द्रपुर (रौतहट), ११ फागुनः रौतहटको गौर नगरपालिका–६ सबगढामा सद्भाव भड्काउने अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । गत बिहीबार एउटा विवाहमा भएको दुई समुदायबीचको विवादमा सद्भाव भड्काउने गरी भएको तोडफोडमा संलग्न २२ जनालाई प्रहरीले पक्राउ गरी आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको हो ।

    पक्राउ पर्नेमा शुभनारायण साह, समिर मियाँ, शेख अलियास, शेख अरमान, रितेशकुमार राम, रितिक कुमार यादव, दीपेन्द्र चन्द्रवंशी, विनोदकुमार साह, शेख रहम्तुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहम्मद राजा, सर्फुदिन अंसारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर, बिहान साह र महम्मद कैफ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।


    गौर–६ का वडाध्यक्ष अबधविहारी साह र पूर्ववडाध्यक्ष एवं जनमत पार्टीका जिल्ला संयोजक शेख जमशैदलाई आवश्यक परेको बखतमा उपस्थिति गराउने शर्तमा रिहा गरिएका प्रवक्ता बस्यालले जानकारी दिए । जिम्मा जमानीमा छुटेका साह र जमशैदसहित तीन जना व्यक्तिको मोबाइल प्रहरी नियन्त्रणमा राखिएको र मोबाइल परीक्षणका लागि काठमाडौँ पठाइने उनले बताए ।

    सुरक्षा निकायले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजीकार्य जारी रहेको र प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । स्थानीय प्रशासनले शान्ति सुव्यवस्थाको लागि यस क्षेत्रमा शनिबारदेखि आज दिउँसो जसम्म कर्फ्यु लगाएको थियो । आज बिहान सबगढा गाउँमा सद्भाव र्याली गरेपछि हाल गाउँको अवस्था सामान्य बनेको छ ।