काठमाडौँ, १८ मङ्सिरः धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो । मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा ललित गिरी हुन् । घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ ।
Category: स्थानीय
-

उज्यालो नेपाल पार्टी घोषणा, कुलमानको सम्बोधन
१८ मंसिर, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको घोषणासभालाई बुधबार सम्बोधन गर्दै उनले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताए । “नेपाल समृद्ध हुन धेरै बेर लाग्दैन । समृद्धिको आधार सुशासन हो, जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय उठाएको हो । भ्रष्टाचार मुक्त देश बन्न सक्यो भने समृद्धितर्फ अघि बढ्छ”, मन्त्री घिसिङले भने । सही पात्र सक्रिय राजनीतिमा आउनुपर्नेमा जोड दिँदै उनले सही पार्टी र नेतृत्व चुन्ने बेला आएको बताए ।
राजनीतिमा जनविश्वास सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विगतदेखिका निराशा र आक्रोश जेनजी आन्दोलनका रूपमा विस्फोट भएको तर्क गरे । उनले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई अग्रगामी दिशामा लैजान वर्तमान सरकार केन्द्रित भइरहेको स्पष्ट पारे ।“आसन्न निर्वाचनले जेनजी परिवर्तनलाई संस्थागत गर्नेछ । अब पविर्तनको नेतृत्व नयाँ र विकल्प दिन सक्ने व्यक्तित्व, संस्था र पार्टीले गर्नुपर्छ”, मन्त्री घिसिङले भने । “यसका लागि आमजनसमुदायको भावनाअनुसार सबै बैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्छ । जस्तो सुकै परिस्थितिमा पनि एकताबद्ध भएर परिवर्तनलाई परिणाम दिने अवस्थामा लैजानुपर्छ ।”
पूर्वमन्त्री सुमना श्रेष्ठले बैकल्पिक शक्ति एकताबद्ध हुन नसक्दा निर्वाचनमार्फत पूरानै राजनीतिक दलहरू हाबी हुनसक्ने औँल्याउँदै अहिलेको अवस्थामा विकल्प दिन चाहने शक्तिहरू एक हुनुपर्नेमा जोड दिइन् । उज्यालो नेपाल पार्टीकी नेत्री रिमा विश्वकर्माले देश र जनताले परिणाम दिनसक्ने नेतृत्व खोजिरहेको जनाउँदै क्षमतावान् व्यक्तित्वले राजनीतिमा हस्तक्षेप बढाउनुपर्ने बताइन् । त्यसक्रममा मन्त्री घिसिङले सो पार्टीको आधिकारिक वेवसाइट शुभारम्भ गरेका थिए ।
-

एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना
काठमाडौँ, १७ मङ्सिरः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए । प्राधिकरणका प्राप्त भएका विवरणमध्ये १७ वटा आगलागीका मात्रै घटना थिए । बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमणको रहेका थिए । पर्साको पर्सागढी नगरपालिका ३ झुलिटार बस्ने ५५ बर्षिया एक महिला जंगलमा घास काटन जाँने क्रममा बाघले आक्रमण गरी घाइते भएका छन् ।
प्राधिकरणका अनुसार आगलागीका कारण रु ८२ लाख ९१ हजार बराबरको क्षति भएको छ । सिरहामा तीन, भोजपुरमा दुई, पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर,कास्की, कपिलवस्तु, गुल्मी, बाँकेमा आगलागीका घटना भएका थिए । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको देखिन्छ ।
गाइगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुल्हो बालेर आगो ताप्दा, विद्युत्को तार सर्ट हुँदा, विद्युत् सर्ट भई आगलागी भएको पाइएको छ । यस्तै अचानक विद्युतीय सवारी साधनमा आगलागी भएको घटना पनि प्राधिकरणमा दर्ता भएको छ । प्राधिकरणको विवरण हेर्दा अधिकांश आगजनी असावधानीका काररण भएको देखिन्छ । सामान्य सावधानी अपनाउँदा समेत जनधनको क्षति हुनबाट जोगाउन सकिने भएपनि असावधानी र जनचेतनाको अभाव देखिन्छ ।
-

मार्तडीमा आगलागी, करोडौँको क्षति
बाजुरा, १६ मङ्सिर । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ । बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।
पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो । आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । क्षतिको विवरण यकिन हुन नसकेको उनले बताए ।
-

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन
मान्म (कालीकोट), १६ मङ्सिरः कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो । जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन सकिएको छैन । दुर्गममा पर्ने यो विद्यालयले सङ्घीय अनुदान कोटामा गत वर्ष प्राप्त गणित विषयको दरबन्दीमा शिक्षक नपाएपछि १९औँ पटकको विज्ञापन गरेको हो ।
वैशाखयता १५÷१५ दिनको फरकमा १८औँ पटक विज्ञापन गर्दा पनि दर्खास्त नपरेको विद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाले बताए । “गणित विषयको शिक्षक पाउनै कठिन भएको छ”, उनले भने, “शिक्षक अनुमतिपत्र लिएको व्यक्ति आवश्यक हुन्छ । अहिलेसम्म पनि कसैको दर्खास्त परेको छैन ।” गत कात्तिक ३० गते विद्यालयले १९औँ पटक आवेदन आह्वान गरेको थियो तर अध्यापन अनुमतिपत्र (लाइसेन्स) भएको शिक्षक हालसम्म नपाइएको प्रधानाध्यापकले जानकारी दिए । “अहिले पनि दर्खास्त नपरे पुनःविज्ञापन गर्नुपर्ने हुन्छ”, उनले भने, “सोमबार अन्तिम दिन हो, आवेदन भने परेको छैन ।”
स्थानीयले मानापाथी उठाएर २०३५ सालमा स्थापना गरेको रूपादेवी विद्यालयमा बालविकासदेखि १० कक्षासम्म ३७५ जना विद्यार्थी अध्ययनरत छन् । तीन जना प्राथमिक विद्यालयमा स्थायी दरबन्दी भएको विद्यालयमा पालिका अनुदान, निजी स्रोत गरी १३ जना शिक्षक कार्यरत छन् । त्यस्तै, जिल्लाको शुभकालिका गाउँपालिका–५ का माध्यमिक विद्यालयमा दरबन्दी शून्य छन् ।
दाहाल मावि सुकाटिया र वडा नं १ को जनता माध्यमिक विद्यालय छातीले पनि सङ्घीय अनुदानको विज्ञान, गणित र अङ्ग्रजी विषयका शिक्षक नपाएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यले बताए ।
“स्थायी दरबन्दी नभएका १२ वटा माध्यमिक विद्यालयलाई अङ्ग्र्रेजी, गणित र विज्ञान विषयका प्रतिविद्यालय तीन जना शिक्षकका लागि सङ्घीय अनुदानको आएको छ”, उनले भने, “प्रतिव्यक्ति रु ४३ हजार ६८९ तलव दिने सरकारी नीति छ । तर, यहाँ शिक्षक पाउन कठिन छ ।”पलाता गाउँपालिकाले गत वर्ष अंग्र्रेजी, गणित र विज्ञान विषयका शिक्षक व्यवस्थापन गर्न संघीय अनुदानको बजेटबाट आफै विज्ञापन गरे पनि दर्खास्त नपरेको शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईले बताए । उनका अनुसार विषयगत शिक्षक नपाउनु कालीकोटका नौवटै स्थानीय तहको साझा समस्या हो ।
-

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या बढ्यो
मुस्ताङ, १६ मङ्सिरः हिउँदयामको अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित बनेका छन् । चिसोले यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याएको पाइएको छ ।
प्रादेशिक अस्पताल जोमसोममा पछिल्लो समय चिसोका कारण रुघाखोकी, निमोनियालगायत समस्याका बिरामी भर्ना हुने क्रम बढेको अस्पतालले जनाएको छ । हिउँदयाममा चिसोबाट जोगिन विशेष सावधानीका उपाय अपनाउन नसक्दा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले बताए । उनका अनुसार अस्पतालमा भर्ना भएर सेवा लिनेमध्ये ८० प्रतिशतभन्दा बढी बालबालिका छन् ।
अस्पतालबाट चालु आवको साउनमा ७४९, भदौमा ६०९, असोजमा ५७० र कात्तिकमा ४८८ जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् । साउनमा १८, भदौमा ३७, असोजमा ३७ र कात्तिकमा ४८ जनाले अस्पताल भर्ना भई स्वास्थ्य सेवा लिएका डा कँडेलले उल्लेख गरे । उनका अनुसार मङ्सिर १५ गतेसम्ममा २८ जना बिरामीले भर्ना भई सेवा लिइसकेका छन् ।
पन्ध्र श्ययाको प्रादेशिक अस्पतालमा चिसोका कारण बिरामीको सङ्ख्या दिनहुँ वृद्धि भइरहँदा प्रभावकारी उपचारमा समस्या हुनुका साथै श्यया अभाव भएको उनको भनाइ छ । बालबालिकामा रुघाखोकी लाग्ने, स्वाशप्रश्वासमा समस्या, स्वाँस्वाँ हुने, छाती घ्यारघ्यार हुने, ज्वरो आउनेलगायत समस्या देखिन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कँडेलले जानकारी दिए । अधिकांश रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या लिएर आउनेमध्ये ८० प्रतिशत जति १० वर्ष मुनिका बालबालिका रहेका उहाँले उल्लेख गरे ।
रुघाखोकी र निमोनियाका लक्षण देखिएमा तुरुन्तै अस्पताल वा नजिकैको स्वास्थ्य संस्थामा जचाउँनुपर्ने डा कँडलले सुझाव दिनुभयो । चालु आवको साउनदेखि मङ्सिर दोस्रो सातासम्मको तथ्याङ्क अनुसार बिरामी भई अस्पताल भर्ना हुने बालबालिका करिब ७० प्रतिशतले वृद्धि भएको अस्पतालले जनाएको छ ।
चिसोबाट सुरक्षित रहन दाउरा वा कोइला बाल्दा, गिजर, हिटरलगायत उपकरण प्रयोग गर्दा हावा छिर्ने गरी ‘भेन्टिलेसन’ खुला गर्नुपर्ने डा कँडेलले बताए । साथै तातोपानी पिउने, झोलिलो र पोषणयुक्त खानपान गर्नेलगायत आवश्यक सावधानी अपनाउनुपर्नेमा डा कँडेलले जोड दिए । यसैबीच, अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसी झरिसकेका छन् । यहाँका बालबालिकालाई चिसोबाट जोगाउन सुरक्षित स्थान खोज्दै बेँसी झारिएको जनाइएको छ । यहाँका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका शैक्षिक संस्था भने सञ्चालनमा छन् ।
-

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात
वीरगञ्ज (पर्सा), १६ मङ्सिरः वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आवको सोही अविधको तुलनामा यो रु एक अर्ब २४ करोडले बढी हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु दुई अर्ब २९ करोड बराबरको चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र रु दुई अर्ब एक करोड बराबरको पाँच करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भएको छ । त्यसैगरी, रु एक अर्ब छ करोड मूल्यका एक करोड नौ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको छ ।
-

पर्यटकको आकर्षक केन्द्र बन्दै सुनसरीका तालतलैया
धरान (सुनसरी), १६ मङ्सिर । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो । मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीले जानकारी दिए । उनका अनुसार दिनमा ५०० भन्दाबढी पर्यटक घुमघामका लागि आउने गरेका छन् । वनभोजका लागि यहाँ एकैपटक ७० भन्दाबढी समूहले वनभोज खानसक्ने क्षमता रहेकाले वनभोजमा आउनेले दुई–चार दिन अगाडि बुकिङ गराउनुपर्ने उनले बताए ।
पर्यटकको आकर्षणलाई ध्यानमा राखी तालतलैया परिसरभित्र छ वटा पोखरी निर्माण गरिएको छ । साथै, पर्यटकको थप सुविधाका लागि दुई वटा मोटरबोट सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिले जनाएको छ । मङ्सिरदेखि माघसम्म पर्यटकको चाप अत्यधिक हुने गरेको अध्यक्ष रायमाझीले बताए । उनका अनुसार करिब ४० प्रतिशत पर्यटक भारतका विभिन्न सहर तथा सिरहा, सप्तरी क्षेत्रबाट आउने गरेका छन् । उनले भने, “यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण चिडियाखाना हो, जहाँ दुम्सी, मयँुर, गिद्ध, चित्तल, हाँस, घोडा, बाँदरलगायत विभिन्न वन्यजन्तु छन्, यिनै अवलोकन गर्न पर्यटकको सङ्ख्या यो समय बढ्दो छ ।”आर्थिक वर्ष २०८१\८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको रु ८५ लाख बजेटले तालतलैयाभित्र पर्यटकीय संरचना थप निर्माण गरिएको अध्यक्ष रायमाझीले जानकारी दिए । बजेटबाट शौचालय, चिडियाखानाका थप संरचना, तथा अन्य पर्यटकमैत्री सुविधा निर्माण गरिएको छ । तालतलैयाभित्र नर्सरी, वाटरफाउन्टेन, बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको जनाउँदै उनले स्कुल बिदाका समयमा अभिभावकले बालबालिकालाई खेलाउन ल्याउनेको सङ्ख्या उल्लेख्य रहेको बताए ।
स्थानीय व्यापारी चन्द्रकला श्रेष्ठले भने, “घर नजिकै पर्यटकीयस्थल रहेकाले साना व्यापारीलाई ठूलो फाइदा पुगेको छ ।” दैनिक रूपमा ५०० सम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकाले चटपटे, मःम, चाउमिनलगायत परिकार बढी बिक्री हुने भन्दै उहाँले व्यापार वृद्धि हुँदा आयस्तर सुधार भएको बताए । मोरङको कानेपोखरीबाट साथीसहित घुम्न आउनुभएका निरोज थापाले तालतलैया छुट्टीको उपयुक्त गन्तव्य भएको बताए । उनले भने, “यहाँ फराकिलो खुला क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट, संरचना र फूलबारी भएकाले हामी छुट्टीको समयमा प्रायः यहाँ घुम्न आउने गर्छौं ।”पूर्वक्षेत्रका प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यमध्ये एकका रूपमा विकसित हुँदै गएको तालतलैया स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । यहाँ रहेका विभिन्न संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण तथा प्रवर्द्धनका लागि प्रदेश र सङ्घीय सरकारबाट सहयोग प्राप्त भइरहेको अध्यक्ष रायमाझीले बताउनुभयो । तालतलैयाभित्र अहिले घुम्न आउने पर्यटक विश्राम गर्न दर्जनौँ चौतारा, बगैँचा साथै अवलोकनका लागि विभिन्न प्रकारका मूर्तिसमेत सरकारी सहयोगमा निर्माण गरिएको कार्यसमितिले जनाएको छ ।
-

काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई पितृशोक
काठमाडौँ, १५ मङ्सिर । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ । उनका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए ।
उनलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । शाहलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो । शाह पेशाले प्राकृतिक चिकित्सक थिए । उनको निधनपछि आर्यघाटमा आजै अन्त्येष्टी गरिएको छ । अन्त्येष्टीमा मन्त्रीहरु तथा उच्चपदस्थ अधिकारी सहभागी भए ।
-

सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै
सिरहा, १५ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट र नयाँ–नयाँ संरचनाले गर्दा भालटारडाँडा दिनानुदिन पर्यटकले भरिन थालेको छ ।
धनगढीमाई–१३ को सेल्फीडाँडाको रूपमासमेत परिचित यो भूगोलमा करिब छ महिनाअघि सडक पिच भएर सहज पहुँच बनेपछि यहाँको पर्यटन चहलपहल ह्वात्तै बढेको स्थानीयवासी बताउँछन् । सडक विस्तारले केवल पर्यटकको आगमन मात्र बढाएको छैन, यसले स्थानीय कृषि उत्पादनलाई धनगढीमाई बजारसम्म सजिलै पु¥याउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।
हाल उक्त सडक वडा नं १४ को सर्रे–अम्बाससम्म विस्तार भइसकेको छ, जसले पहाडी बस्तीलाई बजारसँग थप मजबुत रूपमा जोडेको छ । भालटारडाँडामा पुग्ने जो–कसैलाई यहाँको हरियाली, चुरे आसपासका पहाडी बस्ती, चिसो हावा र शान्त वातावरणले मोहित बनाउने गर्दछ । परिवारसहित पिकनिक मनाउन, साथीभाइसँग रमाइलो गर्न, हाइकिङ गर्न तथा मनको थकान मेट्न यहाँ आउनेहरूको सङ्ख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ । पर्यटक आगमनसँगै भालटारमा होटल–रेस्टुराँको सङ्ख्या पनि बढ्दै गएको छ ।
भालटारस्थित भ्यू होटलका सञ्चालक रोशन राई भन्छन्, “विगत आठ वर्षदेखि होटल सञ्चालन गरे पनि पहिला खासै मानिस आउँदैनथ्ये । तर पछिल्लो समय पूर्वाधारको विकाससँगै मानिसको उल्लेख्य आगमन हुन थालेको छ । छिमेकी देश भारतबाट समेत पर्यटक आउने गरेका छन् ।”राईका अनुसार, धेरै पर्यटकले पहिले नै फोन गरेर अर्डर गर्छन्, कोही हिँड्दै–हिँड्दै नै आउने गर्छन् । “यहाँ लोकल कुखुराको स्वाद चाख्न विशेषै पर्यटक आउँछन् । रमाइलो वातावरणमा फ्रेश फिल गर्न आउनेको सङ्ख्या दिनानुदिन बढ्दो छ,” राई थप्नुहुन्छ । होटल व्यवसायीको भनाइमा, सडक राम्रो भएपछि दैनिक रूपमा आउने पर्यटकको सङ्ख्या दोब्बर भएको छ ।
धनगढीमाई नगरपालिका र स्थानीय समुदायले भालटार डाँडालाई व्यवस्थित पर्यटन क्षेत्र बनाउने प्रयासलाई तीव्रता दिइरहेका छन् । वडा नं १३ का वडाध्यक्ष सूर्यमान तामाङले भन्नुभयो, “भालटार डाँडामा पछिल्ला वर्षमा पर्यटकको आकर्षण असाध्यै बढेको छ । त्यसैले हामीले यस क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्य बनाउने लक्ष्यका साथ प्रचारप्रसारदेखि भ्यू–प्वाइन्ट पहिचान, सफाइ अभियान र आवश्यक पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राखेका छौँ ।” नजिकै धनगढीमाई चोकमा पनि सो क्षेत्रको पर्यटन सम्भावनालाई मुख्य केन्द्र बनाउँदै व्यवसाय र यातायात सेवा विस्तार भइरहेको उनले जानकारी दिए ।
सुन्दर भू–आकृति, बढ्दो होटल व्यवसाय, सहज यातायात र बढ्दो आन्तरिक तथा बाह्य पर्यटक आगमनका कारण भालटारडाँडामा ‘मिनी–हिलस्टेशन’ बन्ने सम्भावना अत्यन्त प्रबल देखिएको स्थानीय युवा वीरेन्द्र चौधरीको भनाइ छ । मधेसमै यस्तो रमणीय पहाडी दृश्य पाउन सकिने थोरै ठाउँमध्ये भालटार एक भएकाले स्थानीय तहले यसको प्रवद्र्धन गरी स्थानीयको रोजगारीसँग जोड्न सक्नुपर्ने उनले बताए । -

सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छः संयोजक दाहाल
गण्डकी, १४ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समय आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै संयोजक दाहालले सरकारले निर्वाचनको वातावरण बनाउन जनाधार भएका पार्टीसँग छलफल गरेर चुनावी वातावरण थप सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले भने, “चुनाव तोकिएको समय फागुन २१ गते नै हुनुपर्छ । त्यसका लागि सरकारले जनाधार भएका पार्टीका नेतासँग छलफल गर्नुपर्दछ । जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाएन भने त्यो ठीक हुँदैन ।”
देशको राष्ट्रिय स्वाधीनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिष्ट शक्ति एकजुट हुनु अत्यावश्यक भएको संयोजक दाहालले बताए । उनले अघिल्लो सरकारले दुई तिहाइ बहुमतको घमण्ड गर्दा राष्ट्रले ठूलो क्षति बेर्होनु परेको जिकिर गरे । “हामीले राष्ट्र झन्डै धरापमा पुगेको देख्यौँ । सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ । तर सरकारबाट हटाइयो । अघिल्लो पटक हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताका लागि लड्न शक्ति पुगेन । आगामी निर्वाचनमा पहिलो शक्ति बनेर राष्ट्रियता र सुशासनका लागि विगतका कमीकमजोरी सच्याएर नेपाली कम्युनिष्ट पार्टीले काम गर्नेछ ।”
संयोजक दाहालले विभिन्न १७ घटकसँगको पार्टी एकता चुनाव जित्नका लागि मात्र नभएको उल्लेख गरे । “हामीले सुरु गरेको पार्टी एकता अभियान चुनाव जित्ने उद्देश्यका लागि मात्र होइन । राष्ट्रको रक्षा, स्वाधीनता संरक्षण तथा समृद्धिको आधार निर्माणका लागि हामीले कम्युनिष्ट एकता र लोकतान्त्रिक शक्तिसँगको सहकार्यमा जोड दिएका छौँ,” उनले भने । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक अस्थिरताको अन्त्यका लागि निर्वाचन हुनै पर्ने बताए । उनले देशको रक्षा गर्ने जिम्मेवारी नेकपाको रहेको बताए । उनले भने, “राष्ट्रका सामु अहिले ठूलो सङ्कट सिर्जना भएको छ । यसको अन्त्यका लागि निर्वाचनको विकल्प छैन । देशको रक्षाका लागिसमेत बृहत् र बलियो कम्युनिष्ट पार्टी आवश्यक छ ।”
पूर्वप्रधानमन्त्री एवम् पार्टीका नेता झलनाथ खनालले नेकपालाई नेताप्रधान नभई विधि र पद्धतिमा चल्ने पार्टी बनाउनुपर्ने बताए । “हामीले विधि र पद्धतिलाई अनुसरण गर्ने पार्टी बनाउन चाहेका छौँ । अब विगतको जस्तो नेता प्रधान हुने पार्टी चल्दैन,” उनले भने । नेकपाका नेता भीम रावलले विगतका गल्तीमा माफी माग्दै सच्चिएर अघि बढ्नुपर्ने बताउनुभयो । “विगतका कमीकमजोरीलाई आत्मसात् गर्दै सच्चिएर मात्र बलियो र एकताबद्ध पार्टी निर्माण गर्न सकिन्छ । स्वाधीनता बलियो भएको नेपाल बनाउन सकिन्छ । त्यसका लागि पार्टीका सबै नेता तथा कार्यकर्तामा त्याग र समर्पण आवश्यक छ,” उनले भने ।
नेता नारायणकाजी श्रेष्ठले रुपान्तरित एकीकृत पार्टी आवश्यक रहेकाले सबैले आफूले आफैँलाई बदल्नुपर्ने विचार राखे । उनले भने, “नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान अझै पूरा भएको छैन । त्यसका लागि पार्टीको रुपान्तरण गर्नुपर्दछ ।” सभामा नेताहरू देव गुरुङ, पोखरा महानगर प्रमुख धनराज आचार्य, राजु थापा, डा लक्ष्मी ओली, दीननाथ शर्मा, गायत्री गुरुङ, श्रीनाथ बराललगायतले जनताको आवश्यकता र अपेक्षा पूरा गर्ने पार्टी निर्माणको आवश्यकता आँैल्याए । -

ह्यात होटलमा चोरी र आगजनी गर्ने दुई जना पक्राउ
काठमाडौँ, १४ मङ्सिरः काठमाडौँको ह्यात होटलभित्रको क्यासिनोमा छिरेर रकम चोरी गर्ने, आगजनी गर्ने तथा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित ह्यात होटेलभित्र रहेको क्यासिनोमा छिरेर धारिलो हतियार देखाएर क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गरी तोडफोड गर्ने दुई जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ–६ बौद्धका ४२ का दावा शेर्पा र बूढानीलकण्ठ नगरपालिका–१२ का २९ वर्षीय रन्जित खड्गी रहेका छन् । क्यासिनोभित्र रहेको रकम चोरी गर्ने तथा संरचना तोडफोड र आगजनी गरी फरार रहेका उनीहरुलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए । पक्राउ परेका दुवैमाथि चोरी तथा डाँकासम्बन्धी कसुर र आपराधिक उपद्रव गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।
-

देशभैरी बढे आगलागी घटना
काठमाडौँ, १४ मङ्सिरः राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति भयो । कूल विपदका घटनामध्ये सबैभन्दा बढी १४ आगलागीका घटना थिए ।
त्यसदिन झापा जिल्लामा मात्रै चार आगलागीका घटना भएका थिए । कैलालीमा दुई तथा मोरङ, सङ्खुवासभा, रौतहट, बारा, काठमाडौँ, नवलपरासी पश्चिम, जुम्ला र कञ्चनपुरमा एक÷एक आगलागीका घटना भएका थिए । चिसो बढ्दै गए पनि आगलागीका घटनामा बृद्धि भएको छ ।
प्राधिकरणका अनुसार, मंसिर १० गते बिहान १० बजेदेखि ११ गतेको बिहानसम्म कूल १७ वटा विपदमा घटना भए । त्यस दिन पनि १३ वटा आगलागीका घटना भएका थिए भने सप्तरी, बर्दियामा सर्पदंश र मोरङमा दुई वटा जनावर आक्रमणका घटना भएका थिए । मोरङमा तीन, सर्पामा दुई, सिरहा, सर्लाही, ललितपुर,कास्की, बाग्लुङ,पर्वत, कपिलवस्तु र रुपन्देहीमा आगलागीका घटना भए । त्यसदिन कूल १९ लाख ९६ हजार बराबरको क्षति भयो ।
प्राधिकरणका अनुसार, मङ्सिर नौ गते बिहान १० बजेदेखि १० गते बिहानसम्म कूल १३ विपदमा घटना भए । त्यसमा १० वटा आगलागीका मात्रै घटना भए । सोलुखुम्बुमा डढेलो, कञ्चनपुरमा सर्पदंश र पाँचथर र ताप्लेजुङमा जनावर आक्रमणका घटना भए । मोरङ, सुनसरी, दुई, झापा, ताप्लेजुङ, कास्की, दाङ र कञ्चनपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, विपदका कारण १८ लाख ४३ हजार बराबरको क्षति भयो ।
यस्तै, मङ्सिर ७ गते बिहानदेखि आठ गते बिहानसम्म कूल १८ वटा विपदका घटना भए । त्यसदिन झापामा सर्पदंश, सिन्धुपाल्चोक र हुम्लामा जनावर आक्रमणको घटना भएका थिए । सर्लाहीमा तीन, गुल्मीमा दुई तथा मोरङ, रौतहट, बारा, काठमाडौँ, कास्की, बाग्लुङ, कपिलवस्तु, बाँके र कैलालीमा एक एक आगलागीका घटना भए । त्यसदिन रु ५० लाख आठ हजार बराबरको क्षति भएको थियो ।
सुक्खा मौसम शुरु भए लगत्तै देशव्यापी रुपमा आगलागीका घटनामा वृद्धि भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ । छिट्टै आगो टिप्ने सामग्री नराख्न, ज्वलनशील पदार्थको पहुँचबाट टाढा रहन र आगजनीबाट जोगिन प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।
-

ट्रक र स्कुटर ठोक्किएर भएको दुर्घटनामा दुईको मृत्यु
मङ्गलबारे, १३ मङ्सिरः मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका– ९ भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज दिउँसो झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इलाम नगरपालिका—९ गोलबस्ती बस्ने २६ वर्षीय डेबिट थापा मगर र माईजोगमाई गाउँपालिका नयाँबजार घर भई हाल इलाम—७ चोकबजारमा बस्ने १९ वर्षीय छेवाङ शेर्पा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनालगत्तै उपचारका लागि जिल्ला अस्पताल लगिएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए । ट्रक चालक इलाम—५ बिब्ल्याटेका २५ वर्षीय रामप्रसाद श्रेष्ठलाई नियन्त्रण लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएका भण्डारीले जानकारी दिए ।
-

बुद्ध एयरको जहाजमा चरा ठोक्कियो
गण्डकी, १३ मङ्सिर । काठमाडौँबाट पोखराका लागि आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३ः४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए । चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए ।
-

नेकपाले थाल्यो प्रदेशस्तरीय एकता सभा, धनगढीमा पहिलो कार्यक्रम
सुदूरपश्चिम, १२ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश स्तरीय एकता सभा सुरु गरेको छ । आज धनगढीमा पहिलो सभा आयोजना गरिएको छ । सभालाई संयोजक प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता भीम रावलसहितका नेताले सम्बोधन गरे । कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रमा उत्पन्न सङ्कट समाधानका लागि वामपन्थी र गैरवामपन्थी शक्तिलाई एउटै मोर्चामा ल्याउन जरुरी रहेको बताए ।
दाहालले नेकपा पार्टीमा अन्य वामपन्थी र देशभक्तहरु केन्द्रित भएर अटाउन सक्ने बताए । भदौ २३ र २४ गतेको घटनापछिको परिस्थिति समाधानका लागि वामपन्थी प्रगतिशील, लोकतान्त्रिक शक्तिलाई नेपाली कम्युनिष्ट पार्टीको मोर्चामा ल्याउन पहल भइरहेको जानकारी दिए । हिजो भए गरेका कमीकमजोरीको समीक्षा गरी महान उद्देश्य बोकेर नेकपाको निर्माण सुरु गरिएको स्पष्ट पार्दै उनले भने, नेकपाले कोरेको गोरेटो बाटोमा देश अघि बढ्दै छ, नेपालको एक नम्बर पार्टी नेकपा भइ छाड्छ ।”
देशभरका क्रान्तिकारीले नेकपालाई नयाँ आशा र भरोसाका साथ हेरिरहेको उल्लेख गर्दै उनले बृहत शक्ति निर्माणका लागि पार्टीमा ध्रुविकृत हुन सबैलाई अपिल गरे । हाल उत्पन्न सङ्कटको निकासका लागि निर्वाचनको विकल्प नदेखिएकाले निर्वाचनको वातावरण बनाउने काममा लाग्न नेता कार्यकर्तालाई उनले निर्देशन दिए ।
पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी पार्टीहरुमा विगतमा भएका टुटफुटबाट शिक्षा लिएर नेपाली राजनीतिलाई स्वच्छ बनाउँदै नेकपा अघि बढ्न लागेको बताए । समाज रुपान्तरणका लागि पार्टीमा समाहित भएर अगाडि बढ्नमा सहयोग गर्न आग्रह गर्दै उनले भने, “नयाँ क्रान्तिकारी पार्टी बनाउने सोचले गठन भएको नेकपाले भ्रष्टाचार र बेथितिको अन्त्य र जनताको पक्षमा काम गर्ने सङ्कल्प लिएको छ ।”सो पार्टीका नेता भीमबहादुर रावलले देशको मुहार फेर्न गठन भएको नेकपाले देशलाई रुपान्तरण र परिवर्तन गर्न चाहेको बताए । उनले देशको स्वाधिनता र समृद्धिको यात्रालाई अगाडि बढाउन पार्टी क्रियाशील रहेको उल्लेख गरे । सन्देश सभामा पार्टीका नेता प्रकाश शाह, गिरीराजमणि पोखरेल, भानुभक्त जोशीलगायतले पार्टी गठन र समसामयिक राजनीतिका बारेमा बोलेका थिए ।
झण्डै एक दर्जनभन्दा बढी वाम घटक मिलेर गठन गरिएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता सन्देश आज पहिलो पटक सुदूरपश्चिम प्रदेशको धनगढीबाट सुरु गरेको हो । सन्देश सभास्थलमा अशान्ति हुन नपाओस् भनेर ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । -

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसी झरेनन् माथिल्लो मुस्ताङी
मुस्ताङ, १२ मङ्सिर । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदयामको कात्तिकअगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे । माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको छ ।
नेपाल–चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका अधिकांश नागरिक बर्खे अन्नबाली घरमा भित्र्याएपछि बेँसी झर्थे । अत्यधिक चिसो सिरेटो चल्ने, हिमपातको जोखिमका साथै माथिल्लो मुस्ताङको दैनिक जनजीवन निकै कष्टकर हुन्थ्यो । अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङमा खानेपानीका धारा, शौचालयको सेफ्टीट्याङ्की र सिँचाई कुलोसमेत बरफ बनेर जम्ने गर्छ ।
यसरी हिउँदयाममा अत्यधिक चिसो र हिमपातले जनजीवन कष्टकर हुने र हिउँदयाममा कुनै काम गर्न नसकिने भएकाले त्यहाँका नागरिकहरू बाध्य भएर बेँसी झर्ने प्रचलन रहँदै आएको थियो । यहाँका सबै शैक्षिक संस्था पनि जाडो छल्न र घुम्ती कक्षा सञ्चालन गर्न कात्तिकअगावै बेँसी झर्छन् । यसपालि पनि माथिल्लो मुस्ताङका सबै शैक्षिक संस्था बेँसी झरिसकेका छन् । अत्यधिक चिसोका कारण विद्यार्थी विद्यालयमा उपस्थित हुन नसक्ने, चिसोका कारण विद्यार्थीलाई रुघाखोकी र निमोनियाजस्ता समस्या देखिने र अभिभावकहरू पनि बेँसी झर्ने गर्दा विद्यालय पनि बेँसी झार्ने गरिएको छ ।
अत्यधिक चिसो र हिमपातको जोखिम टार्न माथिल्लो मुस्ताङका अधिकांश नागरिक घरमा ताल्चा मारेर बेँसी झर्दथे । गाउँमा केही ज्येष्ठ नागरिक र याकचौँरी तथा भेडाच्याङ्ग्रा रेखदेख गर्ने गोठालाबाहेक सबै मुस्ताङीहरू यो समय पूरै पोखरा, काठमाडौँलगायत स्थानमा झर्थे । केही नागरिकहरू ‘स्वेटर’को व्यापारका लागि भारतका विभिन्न सहरसम्म पुग्थे । यसैगरी कात्तिकअगावै बेँसी झरेका माथिल्लो मुस्ताङीहरू चैत–वैशाखमा मात्र साविक स्थानमा फर्किन्थे ।
तर अहिले माथिल्लो मुस्ताङको अवस्था निकै फेरिएको छ । सदिँयौदेखि बेँसी झर्ने परम्परा रहेको यहाँको ऐतिहासिक प्रचलनमा परिवर्तन आउन थालेको छ । यहाँको नेपाल–चीन उत्तरी कोरलानाका कोभिडअघि अल्पकालीन अन्तरदेशीय व्यापार मेलाका रूपमा बर्सेनि असार र भदौमा सीमित समयका लागि चल्थ्यो । कोभिडपछि २०८० साल कात्तिक २७ गते यहाँको कोरलानाका माथिल्लो मुस्ताङीका लागि बाह्रै महिना चीनले खुला गरिदियो । तर नाका आंशिक रूपमा खुला भए पनि माथिल्लो मुस्ताङीले राम्ररी व्यापार–व्यवसाय चलाउन अझै सकिरहेको अवस्था थिएन । तैपनि नाकामा केही नागरिकले त्रिपाल टाँटेर व्यापार चलाएका थिए ।
जब कोरलानाका गत ३० भदौमा पूर्ण रूपमा सञ्चालनमा आयो, तब माथिल्लो मुस्ताङीका लागि वैकल्पिक रोजगारी ढोका खुल्न पुग्यो । बाढीपहिरोले तातोपानीनाका र रसुवागढीनाका अवरुद्ध भएपछि कोरलानाकामा नेपाल–चीन व्यापारको मार्ग पूर्ण रूपमा खुला भयो । यो नाकाबाट हालसम्म मुस्ताङ भन्सार कार्यालयले झन्डै रु चार अर्बको राजस्व योगदान गरिसकेको छ ।
कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै माथिल्लो मुस्ताङका धेरैजसो नागरिकले नाकाबाट व्यापार व्यवसायका साथै अस्थायी वैकल्पिक राजगारी पाएका लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिनुभयो । गत वर्षसम्म माथिल्लो मुस्ताङका ९० प्रतिशत नागरिक यतिबेला जाडो छल्न बेँसी झरिसक्नेमा यस वर्ष आंशिक नागरिकमात्र बेँसी झरेको उहाँको भनाइ छ । कोरलानाकाको नेपाल–चीन दसगजा क्षेत्रमा माथिल्लो मुस्ताङी करिब तीन दर्जन बढीले त्रिपालको टहरा निर्माण गरी व्यापार व्यवसाय चलाएर बसेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
कोरलानाकामा व्यापार गर्ने, कोरलास्थित चीनको हाटबजारमा व्यापार गर्न बस्ने, नेपाल–चीन आयातनिर्यातका मालवस्तु ‘लोडअनलोड’ गर्ने र चीनबाट पैठारी गरिएका विद्युतीय कार ९ईभी० चिनियाँ भन्सारबाट नेपाली भन्सारसम्म ल्याउन स्थानीय युवाले राम्रो रोजगारी प्राप्त गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँका युवायुवतीले दैनिक रु पाँचदेखि १० हजारसम्म आम्दानी गर्ने गरेका उहाँले जानकारी दिनुभयो । नाकाको भित्र र बाहिर सबै गरी झन्डै पाँच सयभन्दा बढी व्यक्तिले रोजगारी प्राप्त गरेको बताउनुभयो ।
दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरलानाकामा व्यापारिक तथा पर्यटकीय चहलपहल बढेपछि माथिल्लो मुस्ताङका दुईतिहाइ नागरिक साविककै स्थानमा रहेका छन् । मार्ग खुलेसँगै मुस्ताङीहरू यथास्थानमै बसेर रमाइरहेका छन् । गत वर्ष यसबेलासम्म ८० प्रतिशत नागरिक जाडो छल्न बेँसी झर्ने गरेकामा यस वर्षमा लोमान्थाङ गाउँपालिकाबाट ३० प्रतिशत र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट ५० प्रतिशत नागरिक बेँसी झरेका छन् ।
त्यसैगरी, कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि जोमसोम–कोरला सडकमार्गमा सञ्चालनमा रहेका होटल यथाअवस्थामा खुलेका छन्भने लोमान्थाङ बजारका पूरै होटल सञ्चालनमा रहेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । “केही घरमा ताल्चा मारेर बेँसी झरेका छन्, अधिकांश होटल र केही घरमा मानिस बसेका छन्, कोरलानाका बन्द भएमात्र यहाँका नागरिक झर्नेवाला छन्, नत्र यही बसेर व्यापार चलाएर बस्ने मनस्थितिमा छन्”, कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।
प्रमुख पौडेल उपल्लो मुस्ताङमा हिउँदयामसँगै चिसो अत्यधिक बढेका कारण दैनिक जनजीवनमा समेत प्रतिकूल असर पारेको बताउनुभयो । “बिहानबेलुका माइनस २० डिग्रीसम्म पुग्छ, कुलो, धारा र सेफ्टीट्याङ्की जम्छ भने दिउँसो घाम लाग्दा हिँडडुल गर्न सकिने भए पनि बिहान र बेलुका बाहिर निस्कन सक्ने अवस्था हुँदैन”, कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।
यस्तै, नेपाल–चीन कोरलानाकामा मालवस्तु ढुवानीका लागि झन्डै तीन सय बढी कन्टेनर लोडअनलोडको पर्खाइमा बसेको भन्सारका कार्यालय प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । चिनियाँ भन्सार, कोरलानाका र मुस्ताङ भन्सार कार्यालयमा मालवस्तु ढुवानीका साधन पैठारी र भन्सार जाँचपासका लागि लामबद्ध रहेको भन्सार प्रमुख पौडेलले सुनाउनुभयो । राससबाट
-

एउटै गोठमा ५७ वैदिक गाई संरक्षण
गलकोट, १२ मङ्सिर । बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दू धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो । विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र दर्ता गरेर बागलुङ नगरपालिका–५ मालिकामा वैदिक गाई पाल्न सुरु गरिएको थियो ।
अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा निर्मित गौवंश संरक्षण केन्द्र स्थापना गरिएको थियो । विसं २०७२ मा पर्वतको जलजला गाउँपालिका–७ स्थित धाइरिङको गण्डकी गोपाल गौशालाबाट एउटा गाई हेलिकप्टरमा ल्याएर सुरुआत गरिएको गौवंश संरक्षण केन्द्रमा यतिबेला एउटा साँढेसहित ५७ वटा गाई छन् ।
स्थानीयको निःशुल्क प्राप्त ८२ रोपनी जमिनमा करिब आठ लाखका संरचना निर्माण गरिएको छ । स्थानीय प्रजातिका वैदिक गाई संरक्षणमात्र होइन, गाईको गहुँत प्रशोधन गरेर आयुर्वेद औषधि बनाउने तयारीसमेत गरिएको संरक्षण केन्द्रका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । संरक्षण केन्द्रका गाई बिहान एकपटक मात्र दुहिन्छ, त्यो पनि बाच्छाबाच्छी अघाएपछि, यहाँका बाच्छाबाच्छी दाम्लोमा बाँधिन्न, चौबीसै घण्टा खुला छोड्छौँ”, अध्यक्ष आचार्यले भने, “संरक्षण केन्द्रका परिकल्पनाकार मुक्तिनाथ बाबाको इच्छाअनुसार बाच्छाबाच्छी अघाएपछिमात्र बिहान एक छाक दूध दुहुने हो, साँझमा दुहुने चलन छैन ।”
थोरैथेरै भएको दूध घ्यू पूजापाठमै प्रयोग हुन्छ । पछिल्लो समय गाउँघरमा जर्सी गाई पाल्नेहरू बढ्दैछन् । स्थानीय प्रजातिका गाई देख्नै मुस्किल छ । संरक्षण केन्द्रमा स्थानीय प्रजातिका गाई सङ्ख्या बढ्दै जाँदा धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै छ । बागलुङको पञ्चकोट घुम्न जाने अधिकांश पर्यटक गौवंश संरक्षण केन्द्रमा समेत पुग्न थालेको पञ्चकोट विकास परिषद् बागलुङका अध्यक्ष जगन्नाथ आचार्यले बताए ।
संरक्षण केन्द्रका अध्यक्ष आचार्यले भने, “तिहारको गाईपूजामा गाई पुज्नेहरूको भीड नै लाग्यो, डेढ लाख त भेटीमात्र उठ्यो । एकैठाउँमा स्थानीय प्रजातिका धेरै गाई भएपछि तिहारमा मात्र होइन अन्य समयमा पनि पाठपूजा, वैतरणी गर्न आउनेहरूको सङ्ख्या बढ्न थालेको छ । गाईको गहुँतसमेत लिन आउनेको सङ्ख्या बढ्दो छ ।”
उनका अनुसार यहाँका गाईलाई कृत्रिम गर्भाधान गराउन पाइँदैन । गाईको गोबरबाट निकट भविष्यमा धुप निर्माण गर्ने योजना रहेको अध्यक्ष आचार्यको भनाइ छ । गौवंश संरक्षण केन्द्र पञ्चाकोट विकास परिषद्को सहयोगमा चल्दै आएको छ । गाईको रेखदेख र हेरचाहका लागि पाँच जना गौसेवक खटिएका छन् ।
घाँस काट्ने, गोबर सोर्ने, दानापानी खुवाउने काममा खटिने गौसेवकलाई पारिश्रमिक पञ्चकोट विकास परिषद्ले उपलब्ध गराउँदै आएको छ । संरक्षण केन्द्रका गाईलाई बागलुङ नगरपालिकासँगै काठेखोला, जैमिनी र पर्वतबाट समेत स्थानीयले निःशुल्क पराल उपलब्ध गराउँदै आएका छन् ।
-

जेनजी आन्दोलनका सहिद : ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
प्रेमनारायण आचार्य–रासस
अर्घाखाँची, ११ मङ्सिरः समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरुको परिवारको मनमा लागेको घाउ भने अझै पनि रगताम्य छ । आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौँको बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु हुनुभएका अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ धारापानीका माधव सारु मगरको परिवारमा पनि यो पीडा र चिन्ता रहेको पाइन्छ ।परिवारले छोरा गुमाएको दुःखमाथि सरकारले दिएको प्रतीक्षाको बोझ बोकिरहेका छन् । औपचारिक रूपमा सहिद घोषणा भएको सुन्दा एकछिन मन बलियो बने पनि खोइ त त्यो सम्मानसँगै आउने जिम्मेवारी रु परिवार आज पनि यही प्रश्नले तड्पिएको छ । बीस वर्षीय सहिद माधव सारू मगरको परिवार आज पनि न्यायको प्रतीक्षामा छ ।
सहिद माधव सामान्य किसान परिवारका सम्भावना बोकेका युवा थिए । बुटवलको कान्ति माविबाट १२ कक्षा पास गरेपछि भविष्य खोज्दै काठमाडौँ धाउनुभयो । पढाइमा अब्बल, सबैसँग सहज बोल्ने, अनुशासित र सक्रिय युवाका रूपमा टोल–समुदायमा सबैले चिन्थे उहाँलाई । बढ्दो भ्रष्टाचार, राज्य संयन्त्रको बेथिति र युवापुस्ताको भविष्यसँग खेलवाड भइरहेको अनुभूति गर्दा माधव जेनजी आन्दोलनमा सहभागी हुनुभएको थियो । परिवर्तनका लागि सडकमा उत्रने निर्णय उहाँको अन्तिम यात्राको कारण बन्न पुग्यो ।
आन्दोलनका क्रममा हाम्रो परिवारको सदस्य गुमेको छ, त्यसको पीडा हामीलाई छँदैछ, राज्यले जति सुकै गरे पनि त्यसको पूर्ति पारिवारिक हिसाबले हुन सक्दैन माधवका बुबा चन्द्र भन्नुहुन्छ, “तैपनि राज्यले सम्झेको छ, सहिद घोषणा गरेको छ र केही क्षतिपूर्ति पनि दिएको छ, त्यसका लागि हामी आभार व्यक्त गर्न चाहन्छौँ तर त्योभन्दा अझ बढी हाम्रो अपेक्षा के हो भने अहिले युवा पुस्ताले जुन खालका आवाजहरू सडकमा उठाएको थियो–राज्यमा व्याप्त भ्रष्टाचार, बेथिति, निराशा, बेरोजगारीको विकराल र बढ्दो समस्या, यो देशमा केही पनि सम्भव छैन भनेर युवाहरू विदेश पलायन पनि भइरहेका थिए । अब त्यो खालको आवाज फेरि अर्को पुस्ताले उठाउनु नपरोस् ।”
पछिल्ला नौ वर्ष कतारमा काम गरिरहेका माधवका बुबा चन्द्रबहादुर छोराको मृत्युको खबर पाएलगत्तै स्वदेश फर्किनुभयो । सरकारबाट सहिद परिवारको पुनःस्थापनाबारे स्पष्ट योजना आउन ढिलाइ भएपछि घरको आर्थिक भारले थिचिएर उहाँ फेरि विदेशिन बाध्य हुनुभएको छ । रोजगारीको लागि र घरमा रहेका श्रीमती तथा छोरा, छोरी पाल्नका लागि केही दिनअघि फेरि रोजगारीको लागि कतारमा जानुभयो । परिवारमा अहिले श्रीमती, १२ वर्षीय छोरा र १० वर्षीया छोरी छन् । छोराले कक्षा ७ मा र छोरीले कक्षा ५ मा अध्ययन गरिरहेका छन् ।
आन्दोलनमा सहभागी हुनु अपराध थिएन, तर निहत्था युवामाथि गोली चलाउने अधिकारी आजसम्म कारबाही बाहिर रहेको परिवारको गुनासो छ । माधवकी आमा मधु सारु भने अझै पनि शोकबाट उठ्न सन्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “घरमा माधवको कोठा, किताब र गीत बजाउने बानी सबै उस्तै छन्, तर माधव मात्र छैनन् ।” उहाँको मौनता र आँसु घरैभरि छ । पीडाको प्रत्यक्ष प्रमाण बनेर बसेको छ ।
पुत्र शोकको पीडा सहँदै आमा मधु भन्नुहुन्छ, “देशका लागि जसले ज्यान दियो, त्यहीका परिवारलाई देशले बचाउन सक्दैन भने हामीले कसरी गर्व गर्ने रु” उहाँको गुनासो छ । “देश बदल्ने सपनामा लागेका छोरालाई हामी गुमायौँ तर त्यो सपनालाई मर्न दिनुहुँदैन । जबसम्म न्याय स्थापित हुँदैन, तबसम्म छोराको बलिदानको अर्थ अधुरै रहन्छ ।” गोली हान्नेहरूलाई कानुनी सजाय दिनु र सहिद परिवारका लागि स्वदेशमै स्थायी रोजगारी प्रदान गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।
परिवारको जेठो छोरा माधव परिवारकै मुख्य सहारा थिए । बुटवलको कान्ति माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरी रोजगारी र पढाइका लागि काठमाडौँ जानुभएका उहाँ परिवर्तन, सुशासन र प्रणाली सुधारको सपना बोकेर जेनजी आन्दोलनमा सहभागी हुनुभएको थियो । तर निहत्था आन्दोलनकारी माथि गोली प्रयोग हुँदा उहाँको कलिलो उमेरमै जीवन समाप्त भयो ।
उहाँका साथी पुस्कर पौडेल भन्नुहुन्छ, माधव एउटा व्यक्ति मात्र होइन, युवापुस्ताको पीडा र आक्रोशको प्रतिनिधि थिए । उनको मृत्युले परिवर्तन खोज्ने पुस्ता कति असुरक्षित छ भन्ने सन्देश दिएको छ । जबसम्म उनीहरुको योगदानको सम्मान हुँदैन, सहिदको आत्मा शान्त हुँदैन ।” माधवको बलिदानलाई अर्थपूर्ण बनाउन राज्यले पारदर्शी छानबिन, दोषीमाथि कारबाही र सहिद परिवारको पुनःस्थापनामा गम्भीरता देखाउन ढिलाइ गर्नुहुँदैन उहाँ भन्नुहुन्छ ।
-

शोभाकलीले सातौँ छावा जन्माउँदा….
इटहरी (सुनसरी), १० मङ्सिरः कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेकी शोभाकली हात्तीले आफ्नो सातौँ सन्तान जन्माएकी छन् । आरक्षका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले गत कात्तिक ३० गते आइतबार राति १०ः३० बजे स्वस्थ (छावा) जन्माएकी हुन् ।
जन्मपछि आमा र छावा दुवैको स्वास्थ्य सामान्य रहेको जनाउँदै चिकित्सक तथा मउते टोलीको निगरानीमा राखिएको आरक्षले जनाएको छ । छावाको जन्म भएको आज ११औँ दिन नवजात हात्तीको औपचारिक रूपमा नामकरण कार्यक्रम आयोजना गरिएको आरक्षका प्रमुख यादवले जानकारी दिए । उनका अनुसार आरक्ष कर्मचारी तथा स्थानीय समुदायको सहभागितामा आयोजित समारोहमार्फत छावाको नाम ‘भुपेन्द्र गज’ राखिएको छ ।
“शोभाकली करिब दुई दशकदेखि आरक्षमा कार्यरत अभिमुखी हात्तीमध्ये एक हुन् । उनलाई मुख्यतः गस्ती, वन्यजन्तु अनुगमन, तथा अत्यावश्यक उद्धार कार्यमा प्रयोग गरिन्छ”, प्रमुख यादवले भने । यो जन्मसँगै शोभाकलीबाट जन्मिएका छावाको सङ्ख्या सात पुगेको छ । आरक्षका अनुसार उनका अधिकांश सन्तान अहिले पनि विभिन्न संरक्षण क्षेत्र तथा हात्ती प्रजनन केन्द्रमा स्वस्थ रूपमा पालनपोषणमा छन् । नवजात भुपेन्द्र गज हाल प्रतिदिन औसत १०–१२ लिटर दूध सेवन गरिरहेको जनाउँदै उनले जन्मेको तेस्रो दिनदेखि आमा पछ्याउँदै हिँड्न थालेको माहुतेहरूले जनाएका बताए ।
कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । हात्ती, गैँडा, हरिण, निलगाईलगायत ४५० भन्दा बढी प्रजातिका चराको महत्वपूर्ण आवासस्थल मानिन्छ । आरक्षभित्र कार्यरत हात्तीले सीमावर्ती क्षेत्रको निगरानी तथा अवैध सिकार नियन्त्रणमा ठूलो योगदान पुर्याउँदै आएका आरक्ष कार्यालयले जनाएको छ । -

बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…
काठमाडौँ, १० मङ्सिर । सर नमस्कार …. म बोलेको (नाम मर्यादाका लागि गोप्य) । छोरीको पाठेघर निकाली दिनुप¥यो । नेपाल परिवार नियोजन सङ्घ, काठमाडौं उपत्यका शाखाका वरिष्ठ शाखा प्रबन्धक शरद्कुमार अर्याललाई एक अपरिचित महिलाले फोन गरेर थप सुनाइन, “छोरीले विवाह गर्छु भनेर हैरान पारिन् । केटा मान्छे देख्नै हुन्न । आकर्षित, लालहित भइहाल्छिन् । लौन पाठेघर नै झिकिदिनुप¥यो । टन्टैसाफ ।”
प्रबन्धक अर्यालले ती महिलालाई तत्काल अलि चर्को स्वरमा जवाफ फर्काइदिए, “हुन्न हुन्न म्याम, म शाखाका साथी शिक्षिकाअर्थात् ‘च्याम्पियन’लाई हजुर कहाँ परामर्शका लागि पठाइदिन्छु, उहाँहरुले के भन्नुहुन्छ, यसपछि के गर्नुपर्छ म सल्लाह दिउँला ।” फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा, बृहत्तर यौनिकता शिक्षा, सरसफाइ (विशेष गरेर महिनावारीका समयमा) लगायतका आवश्यक स्वास्थ्य शिक्षाको परामर्शअर्थात् ‘काउन्सिलिङ’ कसरी गर्ने भन्ने तालिम लिएका शाखामा कार्यरत ती अब्बल ‘च्याम्पियन’ले फोन गर्ने महिला र उनकी बौद्धिक अपाङ्गता भएकी किशोरीलाई भेटघाट गरेँ । च्याम्पियन’का अनुसार ती किशोरीले आफूलाई विवाह गर्ने र बच्चा पाउने र केटा मान्छेसँग गफिने रहर भएको तर आमाले आफ्नो कुरा सुनुवाइ नगरेको दुःखेसो व्यक्त गरिन् ।
‘च्याम्पियन’ ले भने, “किशोरीकी आमालाई बृहत्तर यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध आयाम, फरक क्षमता भएकाको आवश्यकतालगायत अन्य विषयमा आवश्यक परामर्श दिऔँ । छोरीको पाठेघर निकाल्न नहुने कुरामा आमालाई ‘आश्वस्त’ पारेर फर्किऔँ ।”
अपाङ्गतामैत्री छैनन् परिवार व्यवस्थापनको अस्थायी÷स्थायी साधन
अपाङ्गता भएका किशोरीहरु पनि महिनावारी हुन्छन् । यस्तो समयमा उनीहरुलाई आवश्यक पर्ने सामग्री एवं सरसफाइमा ध्यान देलान त ? अभिभावक अथवा हेरचाह कर्ताले कस्तो व्यवहार गर्लान् ? प्रबन्धक अर्यालले भने, “अपाङ्गता भएकी किशोरी महिनावारी हुँदा आफूलाई अभिभावकले गर्ने व्यवहार हाम्रा ‘च्याम्पियन’लाई, क्लिनिकमा सेवा लिन आउँदा अथवा हामीले उनीहरुकै लागि आयोजना गरेका स्वास्थ्य शिविरमा भन्दछन्, यो सुन्दा बृहत्तर यौनिकता शिक्षाका बारेमा अभिभावकमा सचेतना नै छैन ।”
अपाङ्गता भएका व्यक्तिलाई पनि विवाह गर्न, बच्चा जन्माउन मनलाग्दो हो । के उनीहरुको सहज विवाह भएको छ त ? पछिलो जनगणनाअनुसार कूल जनसङ्ख्याको दुई प्रतिशतअर्थात् सात लाख विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति छन् । उनीहरुलाई पनि परिवार योजनाका स्थायी अथवा अस्थायी साधन प्रयोग गर्न मन लाग्दो हो ? यस्ता साधनमा उनीहरुको सहज पहुँच छैन । नेपालमा परिवार व्यवस्थापनको अस्थायी साधन पिल्स मात्र अपाङ्गतामैत्री छ । अर्कोतर्फ स्वास्थ्य सस्थाका पूर्वाधार, सेवा, औषधिमा अपाङ्गता भएका व्यक्तिको पहुँच न्यून छ । पछिल्लो जनसाङ्ख्यिक सर्वेक्षण अनुसार स्वास्थ्य सस्थामा अपाङ्गता भएका व्यक्तिमध्ये दुई प्रतिशतको मात्र पहुँच छ ।
‘अपाङ्गतामैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षा’सम्बन्धी परियोजनाको समीक्षा गर्न मङ्गलबार आयोजित कार्यक्रममा प्रबन्धक अर्यालले अपाङ्गता भएका व्यक्ति, तिनका अभिभावक र हेरचाहकर्ता (केयरटेकर)का आ आफ्नै व्यथाका पुलिन्दा प्रस्तुत गर्दै सीमान्तकृत अपाङ्गता भएका व्यक्तिको शिक्षा र स्वास्थ्यका क्षेत्रमा राज्य गम्भीर बन्न आग्रह गर्नुभयो ।
नेपाल परिवार नियोजन सङ्घद्वारा फिनल्याण्ड सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा काठमाडौँ उपत्यकाभित्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि ‘अपाङ्गतामैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षा’ परियोजना सञ्चालित छ । अपाङ्गता भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षामा कसरी पहुँच सुनिश्चित गर्ने भन्ने प्रमुख ध्येय रहेको सो परियोजनाले त्यस्ता व्यक्तिका लागि अलग्गै स्वास्थ्य शिविर, अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम, बृहत्तर यौनिकता शिक्षा, विद्यालय तहमा अपाङ्गता समावेशी शिक्षाका बारेमा सरोकार निकायसँग मिलेर काम गरिरहेको छ । परियोजनाका संयोजक विवेक रिसालले परियोजनाका गतिविधि प्रस्तुत गर्दै अपाङ्गतामैत्री स्वास्थ्य सेवा र समावेशी शिक्षाका लागि निरन्तर पैरवी जारी रहेको जानकारी दिए ।
उनले भने, “स्वास्थ्य शिविर र सङ्घद्वारा सञ्चालित क्लिनिकमार्फत अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सेवा पु¥याइरहेका छौँ ।” उनका अनुसार सन् २०१९ देखि कार्यान्वयमा आएको सो परियोजनाले हालसम्म १० हजार अपाङ्गता भएका व्यक्तिलाई सो सेवा प्रदान गरिसकेको छ ।दृष्टिसम्बन्धी अपाङ्गता भएकी सन्ध्या श्रेष्ठले भनिन्, “अपाङ्गता भएका व्यक्ति पनि महिनावारी हुन्छन्, उनीहरुलाई केटासँग गफिने, विवाह गर्ने, बच्चा पाउने रहर हुन्छ । अपाङ्गता भएका व्यक्तिको रहर र चाहनालाई नत अभिभावक, नत ‘केयर टेकर’ले नै बुझिदिन्छन् । हामीलाई पाइलापिच्छे अवरोध र समस्या छन् ।” सङ्घका केन्द्रीय सदस्य एवं ‘च्याम्पियन’समेत रहेकी श्रेष्ठले यौन तथा प्रजनन स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्था र सेवा अपाङ्गतामैत्री नरहेको गुनासो गरिन् ।
अपाङ्गतामैत्री सेवा छ, पहुँच र जानकारी छैन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रमुख डा सतिष विष्टले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका स्वास्थ्य प्रदायक संस्थाबाट अपाङ्गता भएका व्यक्तिले प्राप्त गरेका सेवालाई केन्द्रीय सूचना तथा तथ्याङ्क प्रणालीभित्र प्रविष्ट गराउन सुरुआत भइसकेको जानकारी दिँदै अझै स्वास्थ्य सस्था, सेवा, निःशुल्क औषधिलगायतका क्षेत्र अपाङ्गता भएका व्यक्तिको सहज पहुँच छैन भने ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेगालले स्वास्थ्यकर्मी सहित विशेषज्ञ चिकित्सकलाई समेत अपाङ्गता भएका व्यक्तिका स्वास्थ्य समस्या सम्बोधन गर्न कसरी व्यवहार गर्ने भन्ने विषयमा सञ्चारको ज्ञान आवश्यक रहेको, स्वास्थ्य संरचना र सेवालाई अपाङ्गता भएका व्यक्तिमैत्री बनाउन जरुरी रहेको बताए । उनले भने, “अझै पनि समाजमा अपाङ्गता भएका व्यक्तिलाई परिवार व्यवस्थापनको साधन चाहिन्छ र भन्ने प्रश्न गर्नेहरु छन् ।”परिवार कल्याण महाशाखाका परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख शर्मिला दाहाल पौडेलले अपाङ्गतामैत्री सुरक्षित तथा प्रजनन स्वास्थ्य सेवा नीतिगत प्रावधान भएपनि व्यवहारिक कार्यान्वयनमा समस्या रहेको छ भनिन् । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक दीनानाथ गौतमले विद्यालय तहका पाठ्यक्रमलाई समावेशी बनाउँदै लगिने नीति सरकारको रहेको जानकारी दिनुहुँदै यसमा आवश्यक सहयोग गर्न सरोकारवाला निकायसँग आग्रह गरे ।
नेपाल परिवार नियोजन सङ्घका कार्यकारी निर्देशक डा प्रवीण शाक्यले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको चर्चा गर्दै यो जनस्वास्थ्य, आर्थिक, सामाजिक, राजनीतिक ‘इस्यु’ बनेको बताए । राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले भने, “स्वास्थ्य सस्था र सेवा अपाङ्गतामैत्री छैन । यस्ता व्यक्ति यौन तथा प्रजनन स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित छन् । बनेका नीति कागजमा सीमित छन् ।
विद्यालय तहका पाठ्यक्रममा बृहत्तर यौनिकता शिक्षालाई अनिवार्य गरिनुपर्छ । निजी क्षेत्रबाट प्रकाशित पाठ्यक्रमभित्र अपाङ्गता भएका व्यक्तिका आत्मसम्मानमा ठोस पुग्ने शब्दावली हटाउनुपर्छ ।” दृष्टिविहीनहरुको हक अधिकारका क्षेत्रमा पैरवी गर्दै आएको सस्था बायोनका अध्यक्ष कलाधर अधिकारीले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सेवा पहुँच नभएको र बृहत्तर यौनिकता शिक्षा आवश्यक रहेको बताए । नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखाका सभापति तारा पुडासैनीले अपाङ्गता भएका व्यक्ति यौन तथा प्रजनन स्वास्थ्य सेवा पाउने अधिकारलाई पैरवी गरिरहेको बताए । रासस
-

जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो
काठमाडौँ, १० मङ्सिरः बैतडीको शिवनाथ गाउँपालिका–२ मडैगाउँ स्थायी घर भई कोरियाली भाषा अध्ययनका लागि काठमाडौँ आएका १८ वर्षीय दीपकबहादुर साउदको कोरिया गएर परिवारको आर्थिकस्तर उकास्ने सपना जेनजी आन्दोलनको क्रममा सपनामै रोकियो । गत भदौ २४ गते काठमाडौँको कालीमाटी क्षेत्रमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर उनको आँखामा चोट लागेको थियो र उक्त गोलीले मस्तिष्कमा पनि असर गरेकाले त्यसकै कारण ‘बे्रन डेड’ भई मृत्यु भएको थियो ।
आन्दोलनको पहिलो दिन भदौ २३ गते साँझ आफ्नै छोरासँग अन्तिम संवाद गर्ने अवसर पाएकी आमा लक्ष्मी साउदका आँखा अझैसम्म पनि रसाएका छन् । छिमेकी र आफन्तले सात्वना दिन आउँदा पनि उनी सम्हालिन सक्दिनन् । भदौ २३ गते काठमाडौँमा १७ जना र सुनसरीमा दुई युवाको मृत्युको खबर सुनेपछि आमा लक्ष्मीले छोरालाई आन्दोलनमा नजान, कोठामै बस्न वा घर फर्किन भनेकी थिइन् ।
“मैले भनेको मानेको भए सायद मेरो छोरो हामीसँगै हुन्थ्यो होला”, आमा सम्झिन्छन् । तर दीपकले आफ्नो उमेर समूहका साथीहरूले दिएको बलिदान र देशमा व्याप्त भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुने इच्छा व्यक्त गर्दै आमासँग भनेका थिए, “यदि मेरा साथीहरू जान्छन् भने म पनि जानेछु । यसमा मलाई नरोक्नु आमा । आन्दोलनमा जाँदैमा मरिन्छ भन्ने पनि होइन ।”
आन्दोलनमा सहभागी भएसँगै भदौ २४ गते बेलुकीदेखि उनीसँग मोबाइलमा सम्पर्क टुटेको भाउजू सरस्वती साउद बताउछिन् । दीपक दुई जना अन्य साथीसँग काठमाडौँको कीर्तिपुरमा कोठा लिएर बस्दै आएका थिए । बेलुकी साथीहरूले दीपक घाइते भएर अस्पताल लगिएको र उपचार भइरहेको जानकारी दिएका थिए । तर भदौ २५ गते बिहान अप्रत्याशित रूपमा उनको निधनको खबर परिवारले पायो । “त्यो खबरले घरको आशा र भरोसा दुवै तोडिदियो”, भाउजू सरस्वती भन्छिन्, “यस्तो खबर सुन्नुप¥यो भनेर कसैले सोचका पनि थिएनौँ ।”
दीपक पढाइमा पनि अत्यन्त मेहनती थिए । घर नजिकैको विद्यालयमा ११ कक्षा अध्ययन गर्दैगर्दा कोरियन भाषा परीक्षाको तयारीका कारण विद्यालय नजाँदै एकैपटक १२ कक्षा उत्तीर्ण गरेका थिए । पाँच भाइमध्ये तेस्रो दीपकका दुई भाइ गाउँकै विद्यालयमा पढ्दैछन् भने दुवै दाजु रोजगारीका लागि भारतको मुम्बइमा रहेका छन् । भाइको मृत्युको घटनाको खबर पाएपछि मुम्बइबाट गत भदौ २७ गते मात्रै जेठा दाजु वीरेन्द्र काठमाडौँ आएका थिए । चिकित्सकले वीरेन्द्रसँग भाइको आँखामा गोली लागेर ‘बे्रन डेड’ भएर मृत्यु भएको बताएका थिए । वीरेन्द्र भन्छन्, “हामी आउँदासम्म भाइको शव ट्रमा सेन्टरमा राखिएको थियो । भिडियो एक्सरे हेर्दा एक आँखामा गोली लागेको देखियो ।”
वीरेन्द्र थप्नुहुन्छ, “अब केही गरे पनि मेरो भाइ फर्किने छैन तर आन्दोलनमा गएर ज्यान गुमाएका युवाहरूको उद्देश्य सरकारले पूरा गर्नैपर्छ ।” गाउँलेहरू पनि दीपकको बलिदान सम्झँदै दुःख व्यक्त गर्छन् । दीपक आफ्नो गाउँमा इमान्दार र सहयोगी युवा भनेर परिचित हुनुहुन्थ्यो । शिवनाथको मडैगाउँले एक होनहार युवा गुमाएको छ ।
सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जना युवालाई सहिद घोषणा गरिसकेको छ, जसमा दीपक पनि एक छन् । उनको परिवारको एउटै भनाइ छ, सहिद घोषणा मात्र पर्याप्त छैन उनीहरूले उठाएका माग पूरा गर्न सरकारको इच्छाशक्ति, राजनीतिक दल र नागरिक समाजलगायत सवै पक्षको सहयोग अपरिहार्य छ । दीपकको कथा केबल व्यक्तिगत पीडा मात्र होइन, यो त्यस पुस्ताको आवाज हो, जसले भ्रष्टाचार र असमानताविरुद्ध देशमा उज्यालोको आशा बोकेको छ । राससबाट
-

अरुण तेस्रो जलविद्युत आयोजनाका मुद्दा सम्बोधनको सहमति
१० मंसिर, काठमाडौं । अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरुलाई सम्बोधन गर्ने सहमति भएको छ। लगानी बोर्ड, विकासकर्ता कम्पनी एसएपिडिसी, जिल्ला समन्वय समिति, सम्बद्ध स्थानीय तह र जिल्ला विकास प्रशासन कार्यालयले आपसी समन्वयमा परियोजना विकास सम्झौताको प्रावधान समेतलाई विचार गरी परियोजनाबारे उठेका विभिन्न सवालहरुलाई सम्बोधन गर्ने निर्णय गरेका हुन् ।
सखुवासभा जिल्लाको खाँदबारीमा मंगलबार सरोबारवालाहरुसँग भएको छलफल र सुझावका आधारमा सो निर्णय भएको हो। त्यसैगरी परियोजना विकास सम्झौताको प्रावधान अन्तर्गत विकासकर्ताले स्थानीय लाभ साझेदारी योजना अन्तर्गत सञ्चालन गरेका कार्यक्रमहरुको सूची तयार पेश गर्ने र तिनको प्रभावकारिताका सम्बन्धमा परियोजना समन्वय समितिले अनुगमन गर्ने निर्णय भएको छ।
बैठकमा सम्बद्ध स्थानीय तहसँग समेत समन्वयमा आयोजना समन्वय समितिले आगामी दिनमा स्थानीय लाभ साझेदारी योजना अन्तर्गत गरिनुपर्ने कार्यहरुको सूची तय गरी लगानी बोर्डको कार्यालयलाई सिफारिससहित लेखी पठाउने सहमति पनि भएको छ।सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, संखुवासभा जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, लगानी बोर्डका सहसचिव बाबुराज अधिकारी, चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पा, मकालु गाउँपालिकाका अध्यक्ष ओङदी छिरिङ शेर्पा, वाङ छेदर लामा, खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ ९बज्राचार्य०, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे, एसएपिडिसीका प्रमुख कार्यकारी अधिकृत राजेश चंदेल लगायत सहभागी थिए ।
-

सर्लाहीमा आत्मदाहको प्रयास गरेका पुरुषको मृत्यु
१० मंसिर, काठमाडौं । सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका–२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्दागर्दै मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते भएका पोखरेललाई लालबन्दीको एक स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात प्रहरीले मङ्गलबार राति ९ बजे थप उपचारका लागि प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालतर्फ लगिएको थियो ।
पोखरेलको उपचारकै क्रममा बुधबार बिहान २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए । मङ्गलबार साँझ पौने ८ बजेतिर डुमडुमे मन्दिर अगाडि बेवारिसे पुरुषले शरीरमा पेट्रोल छर्किएर आगो लगाएपछि छेउछाउमा रहेका स्थानीयले हतारहतार पानी र बालुवा हालेर आगो निभाएको प्रत्यक्षदर्शी रोशन बोहोराले जानकारी दिए । लालबन्दीमा एक घण्टाभन्दा बढी समय राख्दासमेत जलेर घाइते पुरुषको पहिचान नभएपछि प्रहरीले एम्बुलेन्सको व्यवस्था गरी थप उपचारका लागि जनकपुर पठाएको थियो । प्रहरी निरीक्षक जोहारीका अनुसार मृतकको परिवार बुधबार बिहान मात्रै सम्पर्कमा आएपछि परिचय खुलेको हो ।
आत्मदाहको कारण खुल्न सकेको छैन । प्रारम्भिक जानकारी अनुसार पोखरेल केही समयदेखि प्रायः घरमा नबस्ने र मठ, मन्दिरमा बस्ने गरेको पाइएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ । मृतकका आफन्त अहिले बिहान झापाबाट जनकपुरका लागि प्रस्थान गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
-

कमल थापाको पार्टी राप्रपा नेपाल आयोगमा दर्ता
९ कात्तिक, काठमाडौं । राप्रपा नेपालले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको छ । पार्टी महामन्त्री राजाराम बर्तौलाले प्रतिनिधिसभाको आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि मंगलबार आयोगमा दल दर्ता गरिएको जानकारी दिए । उनका अनुसार मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । राप्रपाका सहायक महामन्त्री एवं केन्द्रीय सचिवालय सहप्रमुख हिक्मतजङ्ग भण्डारी र कार्यालय सचिव कर्णबहादुर माझी आयोग पुगेर दल दर्ता गराएका हुन् ।
-

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोड ८२ लाख बढीको बिक्री
मुस्ताङ, ९ मङ्सिर । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा चालु वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक रूपमा विस्तार हुँदा रु ११ करोड ८४ लाख ७५ हजार ४०० बराबरको आलु उत्पादन वृद्धि भएको जनाइएको छ ।
केन्द्रका अनुसार चालु आवमा प्रतिहेक्टर २० दशमलव २२ मेट्रिक टन आलु उत्पादन भएको हो । गत वर्षभन्दा चालु वर्ष आलु उत्पादनको क्षेत्र १८ हेक्टर वृद्धि भएको हो । त्यसैगरी, गत वर्षको तुलनामा चालु आवमा यहाँ प्रतिहेक्टर करिब दुई मेट्रिक टन आलु उत्पादन वृद्धि भएको छ ।
चालु आवमा जिल्लाका किसानले फार्म गेट औसत मूल्य प्रतिकेजी रु ६५ मा बिक्री भएकाले सोहीअनुसार कुल उत्पादन मूल्यको लेखाजोखा गरिएको केन्द्र प्रमुख गुरुङको भनाइ छ । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको संयुक्त समन्वय र सहकार्यमा स्थानीय तहका कृषि प्राविधिकको उपस्थितिमा गरिएको क्रपकटिङ विधिबाट आलु उत्पादनको लेखाजोखा गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार माथिल्लो मुस्ताङ, मध्यमुस्ताङ र तल्लो मुस्ताङलाई तीन क्षेत्रमा विभाजन गरी त्यहाँका विभिन्न आलु उत्पादनकर्ता किसानको खेतबारीमा पुगेर धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने आलुको उत्पादन तथ्याङ्क सङ्कलन गरी औसत उत्पादनको मापन गरिएको छ ।
गत वर्ष जिल्लाका पाँच स्थानीय तहमा गरी कुल चार सय ६० हेक्टर क्षेत्रमा आठ हजार ४९६ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष यहाँ प्रतिहेक्टर १८ दशमलव ३८ प्रतिशत आलु उत्पादन भएको थियो । केन्द्रका अनुसार गत वर्षको तुलनामा चालु वर्षमा १३ दशमलव ७६ प्रतिशत स्याउ उत्पादन भएको छ ।
त्यसैगरी, गत वर्ष चालु वर्ष एक हजार १६९ मेट्रिक टन आलु उत्पादन वृद्धि भएको केन्द्र प्रमुख गुरुङले बताउनुभयो । गत वर्ष मुस्ताङमा प्रतिकेजी रु ६० मा आलु बिक्री भएकामा चालु वर्ष रु पाँच वृद्धि भई रु ६५ मा बिक्री भएको उहाँको भनाइ छ । चालु आवमा यहाँका पाँच स्थानीय तहमा उत्पादन भएको आलुमध्ये ६० प्रतिशत जिल्ला बाहिर, ३० प्रतिशत जिल्लाभित्र र १० प्रतिशत बीउ प्रयोजनका रूपमा खपत भएको हो । यहाँ घरायसी प्रयोजन र होटल रेष्टुराँमा एकतिहाइ आलु खपत हुने गरेको केन्द्र प्रमुख गुरुङले जानकारी दिनुभयो । यहाँ स्याउबालीभित्र अन्तरबालीका रूपमा पनि आलुखेती गर्ने गरिएको छ ।
हिमाली जिल्ला उच्च भूगोलको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलु स्वादिलो र पोषिलो हुन्छ । मुस्ताङको आलु तरकारी, उसिनेर तथा साँधेर खाने प्रचलन छ । यहाँ उत्पादन गरिने लोकल सेतो आलु सहरबजारका उपभोक्ता तथा जिल्लामा आएका पर्यटकले औधी रुचाउने गर्छन् ।
सहरबजारका थकाली भान्साघर होस् वा ठूला तारेहोटलमा किन नहोस् मुस्ताङी आलु आमउपभोक्तामाझ स्थापित भइसकेकाले पनि मुस्ताङी आलुको माग अधिक छ । पछिल्लो समय कोरला सडक सहज हुँदै जान थालेपछि मुस्ताङी स्याउपछि आलुको माग बढेको घरपझोङ–४ जोमसोमका किसान अजित थकालीले बताउनुभयो ।रासस
-

आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै
काठमाडौँ, ९ मङ्सिरः त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।
रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् । रङ्गभूमि मैदानमा वर र बधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिने हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।
श्रद्धालु भक्तजन बिहानैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।
उक्त महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत रहेको छ । -

मुख्य सचिवमा अर्याल नियुक्त
काठमाडौँ, ८ मङ्सिरः नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद्को निर्णयले अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए । हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् ।
-

कोटेश्वरसहित छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ, ८ मङ्सिर । काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर घाइते भएका उहाँको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मोरङ, बुढीगङ्गा गाउँपालिका–५ स्थित सडकमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने सप्तरी राजविराज नगरपालिका–१ घर भएका १९ वर्षीय सुरज नुनियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको विराट टिचिङ अस्पताल गङ्गाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगरस्थित सडकमा लु ३ त ५९५० नम्बरको थ्रेसर आइतबार दिउँसो दुर्घटना हुँदा थ्रेसरमा सवार सोही नगरपालिका–३ झण्डेनगर बस्ने ४२ वर्षीय पिताम्बर लोनियाको घटनास्थलमै मृत्यु भएको छ । थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
-

क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु
राजकुमार पराजुली/रासस
काभ्रेपलाञ्चोक, ८ मङ्सिरः पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
गतसाल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो । बाढीपहिरोले सडकका विभिन्न खण्ड बगाएपछि गतसालदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो ।
क्षतिग्रस्त सडकखण्डमध्ये तीन खण्डको स्थायी पुनःनिर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मङ्गलटार, नार्के गिम्दीलगायत क्षेत्रबाट स्थायी निर्माण कार्य सुरु गरिएको हो ।
ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ । “पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ, यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ”, योगेशले भन्नुभयो ।
उहाँका अनुसार पाँच पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ । डालाबेंसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख ९भ्याटसहित०मा निर्माण गर्नेगरी ठेक्का पाएको कार्यालयले जनाएको छ ।
यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव शून्य आठ किमी सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड ९भ्याटसहित०मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।
क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडक भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ । यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार यस खण्डको पुनःनिर्माणका लागि जापानले रु दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको जनाएको छ ।
कार्यालयले क्षतिग्रस्त सडकखण्डको स्थायी पुनःनिर्माणका लागि दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको योगेशले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्धारित समयमै काम सम्पन्न गर्नेगरी मङ्सिरको सुरुआतदेखि नै स्याथी पुनःनिर्माण थालिएको हो ।” क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ ।