काठमाडौँ, २९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा ¥यालीसहित जनसभा आयोजना गरेको छ । सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट राससकास्थानीय समाचारदाताहरुले जनाएका छन् । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन् ।
Category: स्थानीय
-

ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस : प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन
दमौली (तनहुँ), २९ कात्तिकः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई वटा मतदान केन्द्र थप गर्न स्थानीय तहबाट सिफारिस भएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले थपघट गर्नुपर्ने भए सिफारिस गर्न आग्रह गरिएबमोजिम ऋषिङ गाउँपालिकाबाट दुई वटा मतदान केन्द्र थप गर्न सिफारिस भएर आएको हो ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ऋषिङ गाउँपालिका–४ र ६ मा यसअघि एक÷एक मतदान केन्द्र रहेकामा थप एक÷एक मतदान केन्द्र थप्न सिफारिस भएर जिल्लामा आएको जानकारी दिए । उनले भने, “भूगोल ठूलो भएकाले मतदान केन्द्रसम्म पुग्नै दुई घण्टाभन्दा बढी लाग्ने देखिएको छ । सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउन पालिकाबाट थपका लागि सिफारिस भएर आएको छ ।”
आइतबार बस्ने समितिको बैठकले जिल्लाका मतदान केन्द्र र मतदानस्थलका बारेमा निर्णय गर्ने प्रजिअ अधिकारीले बताए । उनले भने, “निर्वाचन आयोगले कात्तिक ३० गतेभित्र निर्णय गराएर पठाउन निर्देशन दिएको छ, सोही बमोजिम तयारी गरेका छौँ ।” ऋषिङ गाउँपालिकाबाट थप गर्न माग गरिएका मतदान केन्द्रको जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन गरेको छ ।
तनहुँका दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ३०५ मतदान केन्द्र रहेका छन् । २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता रहेका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख १९ हजार ८९ जना र महिलाको सङ्ख्या एक लाख २७ हजार ९१५ जना रहेको छ । कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली दर्ता गर्ने समय रहेकामा हाल जिल्ला निर्वाचन कार्यालय तनहुँमा मतदाता नामावली दर्ता गर्नेको घुइचो लागेको निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।
-

मधेसमा उमेर नपुग्दै विवाह हुने चलन विकराल
राष्ट्रिय समाचार समिति (रासस)
महोत्तरी, २८ कात्तिक : मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा छ । बालविवाहविरुद्धको कानुन र यससँग जोडिएका अभियान सञ्चालनमा रहे पनि यो समस्या मधेसमा अझै रहेको तथ्याङ्कले देखाएको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँले प्रकाशित गरेको तथ्याङ्कमा मधेसमा अझै १० वर्ष नपुग्दै विवाह हुने पनि पाइएको उल्लेख छ ।
यद्यपि यस्तो सङ्ख्या शून्य दशमलव दुई ०.२ मात्र छ । त्यसैगरी १० देखि १४ वर्षभित्र विवाह हुने ९.३ र १५ देखि १७ वर्षभित्र विवाह हुने २७.७ प्रतिशत छन् । यसैगरी १८ देखि २० वर्षमुनिका ३९.५ प्रतिशत रहेका तथ्याङ्कमा उल्लेख छ । पछिल्लो १८ देखि २० वर्ष उमेर समूहभित्र पुरुषको उमेर सालाखाला २० वर्ष देखिए पनि महिला भने १७ को हाराहारी पाइएका छन् ।
मधेसमा १८ वर्ष नपुग्दै विवाह गर्ने महिलाको सङ्ख्या ४२.४ प्रतिशत छ । यो सङ्ख्या महोत्तरीमा अझ बढी ४३.३ प्रतिशत रहेको बालविवाहविरुद्ध सामाजिक अभियानमा विभिन्न सामाजिक सङ्घसंस्थासँग सहकार्य गर्दै आएको अन्तरराष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेन बर्दिबास कार्यालयका सञ्चार अधिकृत झम्केश्वर ओझा बताउँछन् । मधेसमा पहिलो विवाहको औसत उमेर १८ वर्ष देखिन्छ । जसमा पुरुषको २० वर्ष र महिलाको १७ वर्ष रहेको तथ्याङ्कमा उल्लेख छ । यी उमेर समूहभित्रको विवाहमा पुरुषभन्दा महिला बढी देखिएका छन् । यस्तै २१ देखि २४ वर्ष उमेरभित्र विवाह हुने मधेसमा १४.५ प्रतिशत छन् ।
यद्यपि तथ्याङ्कमा उल्लेख यो अवस्थामा २०७८ सालको जनगणनायता निकै सुधार भएको जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्ण बताउँछन् । “हामीकहाँ बालविवाह अझै सामाजिक समस्याको रूपमा छँदैछ, यद्यपि २०७८ यता यसमा निकै सुधार भएको छ”, कर्ण भन्छन्, “यसबीचमा बालविवाहविरुद्धका सामाजिक अभियानको निरन्तरताले अवस्थामा निकै सुधार आएको छ ।” जिल्लाका १५ मध्ये सात स्थानीय तहले विभिन्न सामाजिक सङ्घसंस्थासँगको साझेदारीमा बालविवाहविरुद्धको अभियानलाई निरन्तरता दिएपछि ती ठाउँमा निकै सुधार आएको कर्णको भनाइ छ ।
त्यसैगरी, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले २०७८ सम्म विकराल सामाजिक समस्या रहेको बालविवाह अब आफ्नो नगर क्षेत्रमा करिब शून्यमा झारिएको बताए । “हामीले त्यसयता बर्सेनि विवरण सङ्कलन, छोरी शिक्षा कार्यक्रम र किशोरी शिक्षासँगसँगै बालविवाहविरुद्ध बस्तीबस्तीमा अभियान टोली सञ्चालन गरेपछि यसको सकारात्मक परिणाम आएको छ”, उनी भन्छन्, “यो वर्ष बालविवाहका घटना देखिएका छैनन् ।”
बालविवाहको अवस्था विकराल देखिएपछि मधेस प्रदेश सरकारले २०७८ सालमै सन् २०३० सम्म प्रदेशलाई बालविवाह मुक्त बनाउन १० वर्षको रणनीतिक योजना अघि बढाएको छ । यसअघि प्रदेश बालअधिकार ऐन, २०७७, सारभूत लैङ्गिक समानता नीति, २०७८, बाल सहभागितासम्बन्धी कार्यविधि, २०७८, बालिका सशक्तीकरण तथा संरक्षण ऐन, २०८१ र सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानले पनि बालविवाहलाई दुरुत्साहन गर्दा पछिल्ला वर्षहरूमा उत्साहजनक सुधार हुँदै आएको जिल्ला समन्यव समितिका प्रमुख कर्णको भनाइ छ ।
-

कँडेलको चरा पाल्ने रहर : वनकुखुरा पालनमा ५० लाख लगानी
ढोरपाटन (बागलुङ), २८ कात्तिक । घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले यहाँ आउने धेरैलाई आकर्षित गर्छ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका स्थानीय चुडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो ।
कँडेलले २०७५ सालमा रहरले काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज ल्याएर पाले । सुरुमा उहाँलाई व्यावासयिक रूपमा पालन गर्छु भन्ने लागेको थिएन । तर पछि धेरै पाल्ने चाहना जागेपछि अहिले उनको कालिजपालन व्यवसाय फस्टाउँदै गएको हो । रु २४ हजारमा चारवटा कालिज ल्याएर थालेको व्यवसायमा कँडेलले हालसम्म रु ५० लाख बढी लगानी गरिसकेका छन् । दश रोपनी क्षेत्रफलमा कँडेलले तारबार लगाएर कालिज हुर्काइराखेका छन् ।
कालिज व्यवसाय राम्रो हुँदै गएपछि उनले चल्लासमेत आफैँ उत्पादन गर्न थालेका छन् । वनमा पाइने कालिज कँडेलले व्यावसायिक रूपमै पाल्न थालेपछि स्थानीयसमेत दङ्ग छन् । बाह्र वर्ष अगाडि स्थायी रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएका कँडेल स्वास्थ्यकर्मी हुन् । बिहानबेलुका कालिजको रेखदेख गर्ने उहाँ दिउँसोको समयमा बुर्तिबाङ प्रादेशिक अस्पतालमा काम गर्छन् । सानैदेखि चराचुरुङ्गी समाउन र पाल्न रुचि राख्ने कँडेलले कालिजपालनमा थालेपछि टाढाटाढाबाट हर्ने आउनेको सङ्ख्या ठूलो छ ।
सात वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर सुरु गरेको व्यवसाय राम्रो हुँदै गएपछि कँडेल उत्साहित छन् । अहिले उनको फार्ममा सानाठूला गरी करिब दुई हजार कालिज छन् । एक हजार ५०० बढी त बिक्रीका लागि तयार भएको कँडेलले बताए । दसैँतिहारको अवधिमा करिब दुई सय बढी कालिज बिक्री भएको सुनाउँदै पछिल्लो समय कालिज खोज्दै फार्मसम्म धेरै ग्राहक आउने गरेको उनले सुनाए । सुरुमा कालिज बिक्री गर्न निकै समस्या भएको भन्दै अहिले राम्रो बजार पाएको कँडेल बताउँछन् । प्रतिकालिज रु दुई हजारदेखि रु दुई हजार ५०० सम्ममा बिक्री गर्दै आएको उनको भनाइ छ ।
“यो पेसा मेरो रहरको पेसा हो, मैले सुरुमा थोरै लिएर पालेको थिएँ, पछि यसलाई व्यावसायिक रूपमा गर्न सकिने सम्भावना देखेपछि फार्म निर्माण गरेर पाल्न थालेको हुँ, सात वर्षमा कालिजपालन कसरी गर्न सकिँदोरहेछ भन्ने बुझियो, कालिजका भाषा पनि बुझ्न थालियो”, उनले भने, “पहिले धेरै समस्या थियो, अहिले विस्तारै राम्रो हुँदै गएको छ, लगानी पनि बढाउँदै गएको छु ।”
केही दिनअगाडि चितुवा फार्ममा पसेर एक सय ५० कालिज मारिदिँदा रु तीन लाख नोक्सानी व्यहोरेको उनले सुनाए । रुचिले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुसी छन् । कँडेलको कालिजपालनलाई बुबा तुलसीराम कँडेलले साथ दिएका छन् । यस वर्ष रु १५ लाखको कालिज बिक्री गर्ने लक्ष्य रहेको चुडामणिले बताए । पछिल्लो समय फार्म व्यवस्थित बन्दै गएपछि मागसमेत बढ्दै गएको कँडेलको भनाइ छ । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत आफैँ चल्ला उत्पादन गर्ने उनी बताउँछन् । उत्पादन बढ्दै गए पनि बजार पाउन भने मुस्किल पर्ने उनले सुनाए ।
राष्ट्रिय समाचार समिति (रासस) -

हुम्लामा चार दिनदेखी विद्युत् आपूर्ति बन्द
अदानचुली (हुम्ला), २७ कात्तिकः सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएपनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो । अन्य विद्युत्को स्रोत नहुँदा विद्युत्बाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन् । यतिबेला केही सरकारी कार्यालयमा ‘सोलार’ राखिएको भए पनि हिउँदको समयमा खासै घाम नलाग्ने भएकाले मोबाइल चार्ज गर्न समेत समस्या भएको छ ।
मोबाइल र ल्यापटप चार्ज गर्नसमेत नपाएकाले समाचार सङ्कलन र सम्प्रेषणमा समेत समस्या भएको सञ्चारकर्मी नरजङ तामाङले बताए । सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको विद्युत् गृहलगायतका संरचनामा मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत् वितरण बन्द गरिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहले बताए ।
मर्मत कार्य चाँडो गर्न सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले मर्मतस्थलमा पुगेर निर्देशन दिएका छन् । शनिबारसम्म विद्युत् आपूर्ति सञ्चालन गर्ने गरी काम भइरहेको उनले बताए । त्यसैगरी मुहानदेखि फर्बेसम्मको नहरमा पानी चुहिने स्थानको पनि मर्मत कार्य पूरा भएको छ ।
-

भोजपुरका विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान
भोजपुर, २७ कात्तिकः भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान गरिएको हो ।
गाउँपालिकाले हालसम्म बाह्र सामुदायिक विद्यालयमध्ये नौ विद्यालयमा मेसिन जडान गरिसकेको र बाँकी विद्यालयमा चाँडै जडान गरिने गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । “अघिल्ला वर्षमा हामीले विद्यालयमा सेनेटरी प्याड पठाउने गथ्र्यौं,” अध्यक्ष राई भने, “तर धेरै छात्राले लाजका कारण मागेर प्रयोग गर्न हिचकिचाउने गर्थे । अब यो मेसिनबाट उनीहरूले सहजै र गोप्य रूपमा आफैँले लिन सक्नेछन् ।”
गाउँपालिकाले पहिलो चरणमा सात माध्यमिक विद्यालय र पाँच आधारभूत विद्यालयमा यस्तो मेसिन जडान गर्ने योजना बनाएको छ । मेसिनमार्फत कार्ड प्रणालीको प्रयोग गरी छात्राले आवश्यक सेनेटरी प्याड विद्यालयमा नै लिन सक्नेछन् । शिक्षा शाखाका अनुसार, महिनावारीका कारण छात्राको विद्यालयमा उपस्थिति दर घट्ने समस्या समाधान गर्न यो योजना प्रभावकारी हुनेछ ।
मेसिन जडान भएपछि छात्रालाई आत्मसम्मानका साथ विद्यालय आउन सहयोग पुग्ने शाखाले जनाएको छ । विद्यालयमा नै प्याड वितरण भएसँगै छात्राको उपस्थितिको दर बढ्ने शाखाको विश्वास छ । गाउँपालिकाले आगामी चरणमा अन्य विद्यालयमा यस्ता मेसिन जडान गर्ने, साथै विद्यार्थीका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
-

प्रहरी महानिरीक्षक खापुङको बिदाइ
काठमाडौँ, २६ कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरी सेवामा रहँदा देखाउनुभएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरी कर्मचारीको मनोबल उच्च रहेको बताएका छन् । तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए ।
उनले भने, “अवकाश हुँदैमा छुट हुँदैन, राष्ट्रिय जीवनमा तपाईंहरुको योगदान यो मुलुकले अपेक्षा गरिरहने छ ।” गृहसचिव रामेश्वर दङ्गालले प्रहरी सङ्गठनको नेतृत्वमा रहेर खापुङले देखाएको कार्यकुशलता प्रसंशनीय रहेको बताए । प्रहरी महानिरीक्षक खापुङले कुनै पनि सेवामा सफल हुनका लागि सेवाप्रति निष्ठा भाव र लगनशीलता महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे ।
-

गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट
काठमाडौँ, २६ कात्तिकः काठमाडौंँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो ।
स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा पालिकाले अग्रस्थान हासिल गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य सेवाको क्षेत्रमा प्राप्त उत्कृष्टता नगरवासीका लागि गर्वको विषय भएको नगर प्रमुख दीपक रिसालले बताए । उनले यो उत्कृष्टताले नगरवासीलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरिय सेवा दिन प्रोत्साहन गर्ने बताए ।
नगरपालिकाले गुणस्तरिय स्वास्थ्य सेवाका साथै नगरवासीको शारीरिक एवं मानसिक स्वास्थ्यका लागि जीवनशैली परिवर्तन र योगका कार्यक्रमलाईसमेत उच्च महत्व दिएको नगर प्रमुख रिसालले जानकारी दिए । योग नगर घोषणा गरिएको गोकर्णेश्वर नगरपालिकाको विभिन्न ९ वटै वडामा गरी हाल ४५ वटा नियमित योग केन्द्र सञ्चालनमा रहेका छन् ।गोकर्णेश्वर नगर अस्पतालमार्फत नगरपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्नुका साथै नेपाल मेडिकल कलेज, नेपाल अर्थोपेडिक अस्पताल र शङ्करापुर अस्पतालबाट पनि उपचारमा छुटको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।
गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको गहन मूल्याङ्कन पश्चात तयार पारिएको नतिजाका आधारमा शङ्खरापुर नगरपालिका दोस्रो र टोखा नगरपालिका तेस्रो भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९–८० को वार्षिक समीक्षामा पनि गोकर्णेश्वर प्रथम भएको थियो ।
-

सिन्धुलीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, चारजना घाइते
कमलामाई (सिन्धुली), २६ कात्तिक ः सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ प २१४२ नम्बरको मोटरसाइकल तथा मप्र.०२–००६ प ५८४१ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुधौली नगरपालिका–११ टाडी निवासी ३४ वर्षीय रामकुमार कुमर र दुधौली नगरपालिका–३ निवासी २५ वर्षीय फुलबाबु धामीको उपचारका क्रममा दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा दुधौली–३ का २६ वर्षीय विप्लव धामी, सोही ठाउँका २७ वर्षीय वुद्धि थारू, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी घाइते भएका छन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एवं प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार उनीहरू बोल्न समेत नसक्ने अवस्थामा छन् ।
दुर्घटनाग्रस्त मप्र।०२–००६ प ५८४१ नम्बरको मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा क्षति भएकोे छ । ट्रक चालक धनकुटा छथर जोरपाटी गाउँपालिका–६ निवासी २५ वर्षीय शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते चारै जनालाई उपचारका लागि दुधौली नगर अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिए । -

मनसुनः औसतभन्दा बढी बर्षा, जनधनको क्षति कम
काठमाडौँ, २६ कात्तिकः गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष चार सय ९५ जनाको निधन भएकामा यस वर्ष एक सय ४० जनाको ज्यान भएको छ ।
गत वर्ष विपद्का कारण १० हजार आठ सय २३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार नौ सय ९५ घरपरिवार प्रभावित भएका छन् । विपद्मा परेर गत वर्ष ६६ जना बेपत्ता भएकामा यस वर्ष ३० जना बेपत्ता भएका छन् । गत वर्ष विपद्जन्य घटनामा परेर पाँच सय २२ जना घाइते भएकामा यस वर्ष तीन सय जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
प्राधिकरणका अनुसार, यस वर्ष बाढीका दुई सय ९२, पहिरोका पाँच सय १३, भारी वर्षा तीन सय ९७ र चट्याङका दुई सय ५२ वटा घटना भएका थिए । बाढीमा परेर ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते हुँदा तीन हजार दुई सय घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । यस्तै पहिरोमा परेर ६७ जनाको मृत्यु,चार जना बेपत्ता र ७७ जना घाइते भएका थिए भने एक हजार पाँच सय १८ घरपरिवार प्रभावित भएका छन् ।
भारी वर्षाका कारण सात जनाको मृत्यु, २० जना घाइते भए भने नौ सय ६६ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार, चट्याङमा परेर २९ जनाको मृत्यु, एक सय ८९ घाइते हुँदा तीन सय ११ घरपरिवार प्रभावित भएका छन् । यस वर्ष मनसुन सरदरभन्दा बढी अवधिसम्म रह्यो । सरदरभन्दा केही दिनअघि अर्थात् २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन एक सय ३५ दिन रहेर गत असोज २४ गते बाहिरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा एक हजार तीन सय ७५ दशमलव चार मिलिमिटर वर्षा भएको छ । जुन सरदर एक हजार चार १५ दशमलव पाँच मिलिमिटर वर्षाको तुलनामा ९७ दशमलव २३ प्रतिशत हो । औसतभन्दा बढी वर्षा भएपनि मानवीय तथा भौतिक क्षति विगत बर्षको तुलनामा कम भएको थियो । मनसुनको अन्त्यतिर अर्थात् गत असोज १७ देखि २० गतेसम्म ५३ जनाको ज्यान गएको थियो । मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो । इलाममा मात्रै ३९ जनाको ज्यान गएको थियो ।
सरकारले इलामलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । रसुवाको भोटेकोशीमा गत असार २४ गते गएको बाढीका कारण १८ जना बेपत्ता भएकामा ११ वटा शव तथा मानव अंग फेला परेको थियो । बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगायो । सुक्खा बन्दरगाह र तीन वटा जलविद्युत् आयोजानमा अर्बौको क्षति भयो । कार्गोसहित ७६ वटा गाडी बगायो । मनसुनको सुरुवातमा मधेश प्रदेशमा सुक्खाको समस्याबाट प्रभावित भयो । सरकारले मधेश प्रदेशलाई गत सायन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरी सबै निकायलाई एकीकृत रुपमा परिचालन गरेका कारण क्षति कम भएको अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा कमाण्ड सेन्टर स्थापना गरी लगातार ३८ घण्टासम्म स्म्बन्धित सरोकारवालासँग समन्वय तथा निर्देशन जारी भएको थियो ।
यस्तो छ १० वर्षको विवरण
प्राधिकरणका अनुसार, २०७३ सालमा छ सय ४२ विपदजन्य घटना भई दुई सय ८९ जनाको निधन भएको थियो । यस्तै, २०७४ मा छ सय २४ वटा विपदजन्य घटनामा परेर दुई सय ८९ जनाको ज्यान गएको थियो । प्राधिकरणका अनुसार, २०७५ मा छ सय ९३ विपदजन्य घटनामा परेर एक सय २२ जनाको ज्यान गयो ।
यस्तै, २०७६मा आठ सय ४६ विपदजन्य घटनामा परेर दुई सय तीन जनाको निधन भएको थियो । यस्तै, २०७७ मा एक हजार १५ विपदजन्य घटनामा परेर तीन सय ८२ जनाले अकालमा ज्यान गुमाउनु प¥यो । प्राधिकरणको विवरण अनुसार, २०७८ मा सात सय ३७ विपदजन्य घटनामा परेर एक सय ६५ जनाको निधन भयो ।
त्यस्तै, २०७९ मा सात सय १२ वटा विपदजन्य घटनामा परेर एक सय ७९ जनाको ज्यान गयो । त्यसैगरी, २०८० मा आठ सय ९१ वटा विपदजन्य घटनामा परेर ९२ जनाको ज्यान गयो । विसं २०८१ मा दुई हजार एक सय ३९ वटा विपदजन्य घटनामा परेर चार सय ९५ जनाको निधन भएको प्राधिकरणले जनाएको छ ।
-

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
मुग्लिन (चितवन), २६ कात्तिकः मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ भरतपुर पठाइएको छ । जिपमा चालकसहित चार जना सवार थिए । जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
-

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान
काठमाडौँ, २६ कात्तिकः मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका सम्बोधन गरिनेछ ।
“मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आव २०७९÷८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउन स्थानीय तहबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा पेस गरिनेछ”, सहमतिमा भनिएको छ ।
त्यसका लागि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सत्यतथ्य सङ्कलन गरिनेछ । राहत तथा क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयमा अनुरोध गरिनेछ । सो समितिमा मेलम्ची खानेपानी विकास समिति र स्थानीय सरोकारवाला पिडित पक्षको तर्फबाट तीन जना प्रतिनिधि रहने गरी प्रक्रिया अगाडि बढाउने र यस कार्यलाई तीन महिनाभित्र सम्पन्न गरिनेछ ।
विभिन्न समयमा आएकाको बाढीको कारण मेलम्ची प्रभावित क्षेत्रमा भएको जनधनको क्षति, उद्योग व्यवसाय, कृषि फर्म तथा दैनिक जीवनयापनमा परेको प्रभाव समेतको अध्ययन गरिनेछ । स्थानीय भेण्डरहरुको बक्यौता रकम निकासा गर्ने निर्णय अनुसार अर्थ मन्त्रालयवाट हालसम्म निकासा हुन नसकेकोले निकासा गराई १५ दिनभित्र निकासा गरिनेछ ।
आयोजनाबाट वितरण हुने खानेपानीको परिपूरण निर्धारणका सम्बन्धमा यसअघि गठन भएका समितिका प्रतिवेदन समेतका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी पैतालिस दिनभित्र मन्त्रिपरिषदमा पेश गरिने सहमति भएको छ ।
यस्तै, मेलम्ची अम्बाथान मेलम्ची घ्यांग सडक निर्माणका लागि विनियोजन भएको बजेट रकममध्ये रु २५ करोड सडक विभागलाई हस्तान्तरण भइसकेको हुँदा उक्त रकमको ठेक्का प्रक्रिया अगाडि बढाइनेछ । सो सडकलाई बहुबर्षीय ठेक्का योजनाअन्तर्गत रु एक अर्बको स्रोत सहमति लिई डिभिजन सडक कार्यालय, दोलखाले बोलपत्रको प्रक्रिया तत्काल अगाडि बढाइनेछ ।
स्थानीय सामाजिक उत्थानका कार्यक्रम समितिका लागि बिनियोजन भएको रकम रु चार करोड र थप रकम रु १९ करोड निकासाको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिनेछ । मेलम्ची हेलम्बु एकीकृत विकास कोरिडोर विकास कार्यक्रम अगामी आवका लागि प्रस्ताव गर्ने सहमति भएको छ । सहमति भए पश्चात् आयोजनामा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । सहमतिपत्रमा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हस्ताक्षर गरेका छन् ।
यस्तै, सहमतिपत्रमा स्थानीयबासी तथा सरोकारवाला समूहका तर्फबाट हस्ताक्षर भएको छ । यस्तै, मेलम्ची खानेपानी विकास समितिका तर्फबाट कार्यकारी निर्देशक जगरनाथ दासलगायतले हस्ताक्षर गरेका छन् । नेपाल सरकार, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको समुपस्थितिमा उक्त सहमति भएको हो । -

‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी….’
काठमाडौँ, २५ कात्तिक । मसुरीको दाल, रायोको साग, र टमाटरको चटनीसहित अम्बिका विश्वकर्माले श्रीमान् सन्तोषका लागि खाना पस्किइन् । सन्तोष गहना पसलमा काम गर्थे । बिहानको खाना खाएपछि गहना बनाउने कामका लागि जानुपर्ने सन्तोषको दैनिकी थियो । गत भदौ २३ गते भने सन्तोष सधैँ भन्दा अलि हतारमा देखिन्थे ।
अम्बिकाले त्यो दिन सम्झिँदै भनिन्, “खै किन हतार थियो ? फोन आइरहेको थियो साथीहरुको । खाएर निस्किहाल्नुभयो ।” कामका लागि होला भन्दै अम्बिकाले छिटो खाना खुवाएर सन्तोषलाई बिदा गरिन् । “छोराछोरीले बाउ खोज्छन्, साँझ बेलैमा आउनु है,” सन्तोषले अम्बिकातिर हेर्दै जवाफमा “ल । ल ।” दुई शब्द मात्रै पmर्काए । भदौ २३ गते बिहान १०ः०० बजे बिदा भएका सन्तोष रात बित्यो, फर्किएनन् ।
दिनभर बानेश्वर संसद्भवनअगाडि आगजनी र गोली चल्यो भन्ने समाचार, भिडियोहरु अम्बिकाले सामाजिक सञ्जालमा हेरिरहिन् । त्यही संसद भवन नजिकै आन्दोलनमा सहभागी सन्तोषलाई अम्बिकाले गोली लागेको खबर राति १२ः०० बजे मात्रै थाहा पाइन् ।
काम गर्न भनेर निस्किएका श्रीमान् बेलुका आएरसँगै खाना खाउँला भन्ने प्रतीक्षामा रहेकी अम्बिकालाई श्रीमानलाई गोली लागेर अस्पताल भर्ना भएको खबर मध्यरातमा पाउँदा पृथ्वी भासिएझैँ भयो । खुट्टाहरु काँपिरहे । मुटु चिसो भयो । उदयपुरको बेलका नगरपालिका–४ देखि काठमाडौँ आएर सपरिवार बस्न थालेको एक वर्षमात्रै भएको थियो । काठमाडौँको रहनसहनमा त्यति अभ्यस्त हुन बाँकी अम्बिका विचल्लीमा परिन् ।राति हिँड्ने स्थिति थिएन । भोलिपल्ट उनी सन्तोषका साथीहरुको सहयोगमा काठमाडाँैमा भए जतिका अस्पतालमा घाइते श्रीमान् खोज्न हिँडिन् । अन्तिममा वीर अस्पतालमा मृत शरीर रहेको थाहा भयो । गेटबाट भित्र प्रवेश गर्ने अवस्था थिएन । प्रहरीको कडा सुरक्षाले गर्दा आफ्नो मान्छेसमेत हेर्न जान पाइनन् । अम्बिकालाई त्यो दिन सम्झँदा अहिले पनि रिङ्गटा लाग्छ ।
बोल्दाबोल्दै वाक्य बन्द हुन्छ । आँखाबाट आँशु टिल्पिलाउन थालिहाल्छ । अनि मन पोल्छ । अँध्यारो कोठामा चिच्याउँदै रुन मन लाग्छ । “कति रुनुँ रु मैँ रोए छोराछोरीको मुहारमा हाँसो कसरी आउला ?” अम्बिका यसैगरी फेरि कमजोर भएको मनलाई बलियो बनाएर छोराछोरीका लागि सङ्घर्ष गर्दै छिन् । उनको सङ्घर्ष अब राज्यसँग छ । आन्दोलनमा ज्यान गुमाएर सहिद भएका श्रीमान्को सपना पूरा गर्ने जिम्मेवारी अम्बिकाको काँधमा छ । दुई छोराछोरीको शिक्षादीक्षासँगै उदयपुर, बेलका–४ मा रहेका बुबाआमाको हेरचारसमेत गर्नुछ ।
सन्तोष कान्छा छोरा थिए । उमेरले ७० कटेका बृद्ध बुबाआमाको हेरचाह उनले नै गर्थे । मजदुरी गरेरै जीवन चलाएका सन्तोषको परिवारको अहिलेसम्म सरकारी भूमिमा स्वामित्व छैन । “ऐलानी जग्गामा घर छ, कमाउने मान्छे ढल्यो । सधैँ सुकुम्वासी बन्ने भइयो”, अम्बिका वेदना पोख्दै भन्छिन्, “केही काम पाए, गर्थें । केटाकेटीको पेट पाल्न त सक्थेँ ।”
अम्बिकाका अनुसार सरकारले सहिदका नाममा रु १५ लाख राहत रकम दिएको छ । यीबाहेक जेनजी आन्दोलनमा सहिद भएका परिवारका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने, श्रीमान् वा श्रीमतीलाई रोजगार दिने आमा वा बुबामध्ये एक जनालाई पेन्सन दिनुपर्ने माग थियो । अहिले अम्बिका राज्यसँग पूरा हुन नसकेका माग प्राप्तिका लागि सङ्घर्षरत छिन् । श्रीमान बितेको दिन महिनादेखि अम्बिकाको आम्दानीको स्रोत बन्द भएको छ । सरकारी विद्यालयमा दुई छोराछोरी पढ्छन् । उनीहरुको भविष्यका लागि पनि अम्बिकालाई रोजगारी आवश्यक छ । उनी भन्छिन्, “मैले जीवन साथी गुमाएँ, छोराछोरीले बाउको सहारा गुमाए । बाँच्ने आधार के हो ? राज्यले निकास दिनुपर्छ ।”
जेनजी सहिद परिवारका समूहमा उनले यिनै कुरा उठान गर्दै आएकी छिन् । कलाकारितामा रुचि भएकी छोरीलाई कलाकार बनाउने सन्तोषको सपना अधुरै रहेको अम्बिकाले बताइन् । जेनजी आन्दोलमा बुबा गुमाएको कुरा गरिरहँदा छोराछोरीको मनोविज्ञानमा असर परेको पनि उनको भनाइ छ । “छोरीले बाबा सम्झिन्छिन्, छोरो टोलाइरहन्छ”, अम्बिका भन्छिन्, “के काम गरेर पेट पाल्ने ? रोजगार छैन ।”
-

कागारबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
पर्वत, २५ कात्तिक । यहाँको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् । कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।
कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए । उनलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए ।
अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् । घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ । उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन्भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-

दिल्लीमा विष्फोटपछि अमेरिकाले जारी गर्यो सुरक्षा चेतावनी
२५ कात्तिक, काठमाडौं । सोमबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा भएको विष्फोटपछि अमेरिकाले सुरक्षा चूनौति जारी गरेको छ । लाल किल्ला मेट्रो स्टेशन नजिकै भएको विष्फोटमा अहिलेसम्म ८ जनाको ज्यान गइसकेको छ । विष्फोटको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
भारतले कैयौं राज्यमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । अमेरिकी दूतावासले भीडभाडमा नजान र सुरक्षा सतर्कता अपनाउन अमेरिकी नागरिकलाई अनुरोध गरेको छ । स्थानीय सञ्चार माध्यमबाट निरन्तर अपडेट लिन समेत आह्वान गरेको छ ।
-

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
निजगढ, २५ कात्तिकः पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरी रहेका छन् । प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार वन क्षेत्रबाट राजमार्गमा निस्किएको जङ्गली हात्तीले ना ४ ख १८३० नम्बरको ट्रकका चालक चौधरीलाई आक्रमण गरेको थियो । ज्यान जोगाउन ट्रकबाट ओर्लिएर भागेका चौधरीलाई राजमार्गदेखि केहीभित्र जङ्गलमा हात्तीले आक्रमण गरेको थियो ।
घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक तामाङ, डिभिजन वन कार्यालयका प्रमुख राजिव झासहित सुरक्षा निकायका प्रमुखहरु हात्ती प्रभावित क्षेत्र गएका छन् । हात्ती जङ्गल पस्ने र राजमार्गमा निस्कने गरेका कारण दिनभर उक्त क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ । हात्तीलाई धपाउन अनेकौँ प्रयास गरे पनि सफल हुन सकेको छैन् । हात्ती जङ्गल पसेका बेला सुरक्षाकर्मीको सहयोगमा रोकिएका सवारीसाधनलाई पठाउने गरिएको प्रहरी उपरीक्षक तामाङले बताए । हात्तीले आइतबार रातिदेखि नै उक्त क्षेत्रमा उपद्रो मच्चाइरहेको छ ।
राजमार्गमा राति करिब १० बजे हात्ती देखिएपछि नेपाली सेना, नेपाल प्रहरीको टोलीले राति नै भगाएको थियो । डिभिजन वन कार्यालयका प्रमुख झाले हात्ती नियन्त्रणमा लिन चितवनबाट विज्ञ टोली आउँदै गरेको बताए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता एवं ट्राफिक प्रहरी नायब उपरीक्षक वकिल सिंहले हात्तीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भइरहेको बताए ।
-

अशोक राई नेतृत्वको जसपा र भीम रावलको समूह समेत प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
काठमाडौँ, २४ कात्तिकः जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । दुवै पार्टीका नेताहरुबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो । अशोक राई नेतृत्वको पार्टीले हालै सम्पन्न केन्द्रीय बैठकबाट एकताका लागि केन्द्रीय कार्यकारिणी परिषदलाई जिम्मेवारीसमेत प्रदान गरेको केन्द्रीय सदस्य सोनाम लामाले जानकारी दिए । उनले दुवै पक्ष सैद्धान्तिक विषयमा सहमत भएपछि केही नेताहरु व्यवस्थापनलगायत प्राविधिक विषयको टुङ्गो लगाइने र केही दिनभित्र एकताको घोषणा गरिने जानकारी दिए ।
नेपाली कम्युनिष्ट पार्टीले समान विचारधारा भएका समूह तथा राजनीतिक दलसँग एकता गरी बृहत् कम्युनिष्ट केन्द्र निर्माणको अभियान थालेको छ । नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत दश वामपन्थी दलले गत बुधबार एकता गरेपछि गठन भएको उक्त पार्टीले चुनाव अगाडि वाम शक्ति ध्रुवीकरण गर्ने जनाएको छ । छिट्टै सातै प्रदेशमा एकतासभा गर्ने तयारी समेत गरेको पार्टीले नेकपा (एमाले)का पूर्वउपाध्यक्ष एवं मातृभूमि जागरण अभियानका संयोजक भीम रावलसँग पनि एकताको सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ । -

नेपाल प्रहरी महानिरीक्षकमा कार्की नियुक्त, गर्नेछन् साढे दुई वर्ष नेतृत्व
काठमाडौँ, २४ कात्तिकः सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले कार्कीलाई यही कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । कार्की प्रहरी संगठन भित्र इमानदार कमाण्डर मानिन्छन् । गुल्मीका कार्कीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका गरेका छन् । उनले अब साढे दुई वर्ष प्रहरी संगठनको नेतृत्व गर्नेछन् । उनी अहिले काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।
डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो । चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् ।
-

अवलोकनकर्ताको मन जित्दै आईआईएफटी स्पेस एन्ड डिजाइन एक्स्पो सम्पन्न
प्रेमकृष्ण श्रेष्ठ
पाचौं संस्करणको ‘आईआईएफटी स्पेस एन्ड डिजाइन एक्स्पो’ भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । गएको शुक्रवार दिउँसो कमलपोखरीस्थित सिटी सेन्टरमा यो एक्स्पो भब्यरुपमा उदघाटन गरिएको थियो । ‘आईआईएफटी स्कुल अफ फेसन एन्ड इनटेरियर डिजाइन’ले यो दुई दिने प्रतिस्पर्धात्मक एक्स्पो आयोजना गरेको हो ।
मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेल, मिस इन्टरनेसनल २०२५ उरुषा भण्डारी, आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पा, कर्पोरेट म्यागजिन तथा कर्पोरेट खबरका अध्यक्ष एवम् प्रधान सम्पादक उज्ज्वलजङ्ग शाह, फोटोग्राफर शिवलाल श्रेष्ठलगायतका ब्यक्तित्वले उक्त एक्स्पोको रिबन काटेर समुदघाटन गरेका थिए ।
आईआईएफटीका प्रवन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले बिद्यार्थीभित्र अन्र्तनिहित भएको क्षमता प्रदर्शन गर्ने साथै नेपालमा इन्टेरिजयर डिजाइनको महत्व उजागर गर्ने उद्देश्यले यो आयोजना गरिएको बताउनु भयो ।
एक्स्पोमा इन्टेरियर डिजाइन अध्ययन गर्ने बिद्यार्थीले बनाएका विभिन्न प्रोजेक्टहरु राखिएका थिए । एक्स्पोमा क्याफे, कार शोरुम, बैंक डिजाइन, नेवारी क्याफे, रेष्टुराँ, प्रि–स्कुल, स्पासहित विभिन्न प्रोजेक्टहरु समावेश थिए । एक्स्पोमा बिद्यार्थीले क्याफे तथा रेष्टुराँको थिममा प्रोजेक्ट बनाएका थिए । एक्स्पोमा सहभागिता जनाएका बिद्यार्थीहरुले अहिलेको राष्ट्रिय तथा अन्र्तराष्ट्रियरुपमा इन्टेरियर डिजाइनको करियर भएको हुनाले यो विषयलाई रोजेको हो भनी धारणा ब्यक्त गरेका थिए ।एक्स्पोलाई थेसिस तथा क्याफे गरी दुई समूहमा विभाजित गरिएका थिए । १७ जना बिद्यार्थी थेसिसमा र ३९ जना बिद्यार्थी क्याफेमा सहभागी भएका थिए । थिममा प्रोजेक्ट बनाएका बिद्यार्थीहरु सात महिनाको अध्ययन सकाएका हुन् ।
एक्स्पोमा सहभागी भएका बिद्यार्थीहरुलाई उदघाटन समारोहमा प्रमाणपत्र वितरण गरिएको थियो । शुक्रवार र शनिवार भएको दुई दिने कार्यक्रममा अपेक्षित ४ हजार अवलोकनकर्ताको संख्या पुरा भएको बताउनु भयो । सहभागी भएका कैयन अवलोकनकर्ताहरुले यस्तो अवलोकन नेपालमा विरलै हेर्न पाएको खुसी साथ प्रतिक्रिया दिएका थिए । एक्स्पोको समापन दिन काठमाडौं महानगर पालिकाका उपमेयर सुनिता डंगोलको उपस्थिति रहेको थियो । एक्स्पोका विजेताहरुलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो । -

भक्तपुरमा केन्द्रीय गोदामघर तयार
काठमाडौँ, २४ कात्तिक । नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघर निर्माण गरेको छ । करिव रु १२ करोडका लागतमा बनेको सो गोदामघरमा विपद्का समयमा अत्यावश्यक गैरखाद्य समग्री सहित बालबालिका र महिलाका लागि ‘डिग्निटी किट’ राखिने छ ।
नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारी र चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बिआन सियाओले संयुक्त रुपमा आइतबार सो गोदामघरको शुभारम्भ गर्नुभयो । भूकम्प र अन्य प्राकृतिक विपदको उच्च जोखिम रहेको नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा विपद् व्यवस्थापनका लागि गोदाम घरमा राखिने सामग्रीले राहतका काम गर्ने छ ।
सो अवसरमा चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बियन साओले भने, “नेपाल रेडक्रस सोसाइटीले मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । यहाँ आइपर्ने विपदका समयमा मानवीय सहायता प्रदान गर्ने कार्यको एक हिस्सा बन्न पाउँदा चिनियाँ रेडक्रस अत्यन्त खुसी छ । आगामी दिनमा पनि नेपाल रेडक्रस सोसाइटीलाई आवश्यक पर्ने हरेक क्षेत्रमा साझेदारीका सम्भावनाको खोजी गर्न हामी तयार छौँ ।”
निमित्त कार्यकारी निर्देशक विडारीले चिनियाँ रेडक्रस सोसाइटीले नेपाल रेडक्रस सोसाइटीलाई निरन्तर महत्वपूर्ण क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ भने । उनले भने, “नेपालमा आइपर्ने जुनसुकै विपद पश्चात् पहिलो सहायता प्रदान गर्ने साझेदार निकाय चिनियाँ रेडक्रस सोसाइटी हो ।”
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डेका उहाँले गोदामघर निर्माण लागि चिनियाँ रेडक्रस सोसाइटीले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि चिनियाँ रेडक्रस सोसाइटीबाट नेपाल रेडक्रसलाई प्रकोप व्यवस्थापन र अन्य क्षेत्रमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा यहाँस्थित चीनका राजदूत वाङ् सिन , चिनियाँ रेडक्रस सोसाइटी अन्तरराष्ट्रिय सहयोग विभागका निर्देशक हाई लीमान, चिनियाँ रेडक्रस सोसाइटी विपद व्यवस्थापन विभागका निर्देशक सेई वेन्नन र नेपाल रेड्क्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका पदाधिकारी, जुनियर तथा युवा रेडक्रस सर्कलका युवा स्वयंसेवकलगायत कर्मचारीकोे उपस्थिति रहेको थियो ।
यसैबीच, चिनियाँ रेडक्रस सोसाइटी अन्तर्गतको उच्चस्तरीय प्रतिनिधिमण्डलको टोली नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यलाई थप सुदृढ पार्ने उद्देश्यका साथ नेपाल भ्रमण रहेको छ । उक्त भ्रमण टोलीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आइबार नै आयोजित स्वागत कार्यक्रममा सहभागिता जनाउँदै दुवै संस्थाबीचको आपसी सहयोग, क्षमता विकास र आपत्कालीन तयारीका विषयमा छलफल गरेको थियो ।
टोलीले नेपाल रेडक्रसको केन्द्रीय कार्यालयस्थित केन्द्रीय तालिम तथा गतिविधि केन्द्रको अवलोकन गरी त्यहाँको पुनः ‘डिजाइन’ र विकास योजनाबारे जानकारी लिएको थियो । त्यसपछि टोलीले भक्तपुरको केन्द्रीय गोदाम घरकोे भ्रमण गर्दै अवलोकन तथा भवन उद्घाटन समारोहमा सहभागी भएको थियो ।
-

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त
धनुषा, २४ कात्तिकः मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको हो ।
सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल समेत गठन गरिएको छ । सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका छन् । संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट छ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले यही कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी बर्दिबासको पानस होटलमा शपथ खुवाएकी हुन् ।
-

मनाङमा हराएका दुई भारतीय पर्यटक मृत भेटिए
मनाङ, २४ कात्तिकः यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई पर्यटक मृत भेटिएका छन् । मृत भेटिनेमा भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन् । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको नेतृत्वमा उद्धार सामग्रीसहित खटिएको टोलीले आइतबार मिलेरेपा गुम्बाभन्दा १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मिलेरेपा गुम्बा घुम्न गएका भारतीय नागरिक सम्पर्क विहीन भएका थिए । उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्लाई जानकारी गराएको थियो । “शव प्रदेश अस्पताल मनाङ ल्याइँदैछ । सोमबार त्रिवि शिक्षण अस्पताल काठमाडौँ पठाउँछौँ”, प्रजिअ पौड्यालले भने । -

महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा
महादेव अवस्थी–रासस
दोधारा चाँदनी (कञ्चनपुर), २३ कात्तिक । यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी यहाँ आए । त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उनमा उत्साह थियो । करिडोर यातायातको सुविधामात्र नभइ अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ सम्भावना खुल्ने अपेक्षा उनमा थियो । आफ्नै घर छेउबाट सडक निर्माण हुने भएपछि यहाँको यहाँका स्थानीयको आर्थिक अवस्था फेरिने आशा पलाएको थियो । तर उक्त सडक निर्माण हुन्छ भनेको सुनेको पनि डेढ दशक भइसकेको छ । “त्यो बेला सडक निर्माण हुन्छ भन्ने सुनेपछि धेरै खुसी भएका थियौँ”, थापाले भने, “एकातर्फ महेन्द्रनगर बजार सहज पहुँच हुने र सडक बनेपछि शिक्षा, स्वास्थ्य र व्यापार हुने ठूलो आशा थियो तर अहिलेसम्म बनेन ।”उक्त क्षेत्रमा करिडोरको ट्रयाक खुलेको छ तर यात्रा गर्न सजह छैन । वर्षात्को समयमा त उक्त सडक बन्द हुने गरेको उनको भनाइ छ । “सडक नहुँदा बिरामीलाई बोकेर अस्पताल लग्नुपर्ने बाध्यता आउँछ गाउँमा न स्वास्थ्य संस्था छ न विद्यालय नै”, उनले भने, “हाम्रो मुख्य समस्या भनेकै सडक हो, सडक नहुँदा निकै सास्ती खेप्नुपरेको छ ।” उनले दुई घण्टा पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यताले नातिनीलाई कैलालीको लम्कीस्थित भाइको घरमा अध्ययनका लागि पठाएको बताए । अहिले पनि स्थानीय उत्पादन बिक्री गरेर आम्दानी गरिरहेको बताउँदै सडक सञ्जालले जोडिए यहाँका स्थानीयको आर्थिक सुधार हुने उनको भनाइ थियो ।
बाइस वर्षदेखि यहाँको टुँडिखेलमा बस्दै आएका लीला पुनमगर पनि करिडोर निर्माण हुने खबरले उत्साही भए । तर सडक निर्माणमा ढिलाइ हुँदा भने उहाँको उत्साह पनि निराशामा परिणत भएको छ । “करिडोर बन्छ भन्ने सुनेको १२ वर्षपछि ट्रयाक ९मार्ग० खुलेको छ, अझै आशा त मरेको छैन तर सडक बनिसक्नुपर्ने समयसम्म पनि नबन्दा सुरुको जस्तो उत्साह छैन”, उनले भने, “सरकारले ढिलाइ गर्नु भएन यो सडकलाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्छ ।” उनले सडक निर्माणपछि लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने बताए ।
महाकाली करिडोरले यातायातको पहुँचसँगै भारतसँगको व्यापारिक पहुँच, घरेलु उद्योगको विस्तार र पर्यटन सम्भावनामा समेत ठूलो भूमिका खेल्न सक्ने यहाँका स्थानीय रमेश नायक बताउँछन् । “यो सडक यातायातका लागि मात्र नभई व्यापारिक हिसाबले महत्त्वपूर्ण छ ।” उनले भने, “सरकारको पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणलाई पूर्णता दिनुपर्छ ।”उहाँले करिडोर सञ्चालनमा आए सुदूरपहाडका जनताको आर्थिक अवस्थामा पनि सुधार आउने बताए । “करिडोर सञ्चालनमा आइदिए यहाँका स्थानीयले आठआठ घण्टा लगाएर जानुपर्ने ठाउँमा दुई घण्टामै पुग्छौँ”, उनले भने, “यो सुदूरपहाडका जनताका लागि लाइफ लाइन नै हो ।” करिडोर बनेपछि ब्रह्मदेव, डडेल्धुराको जोगबुढा, बैतडीको पञ्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हँुदै टिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्याउने छ ।
महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सृजना हुनेमा यहाँका व्यवसायी आशावादी छन् । सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा पनि बजेट अभाव, प्रक्रियागत उल्झन र सरकारी उदासिनताका कारण अलपत्र अवस्थामा पुगेको छ ।
सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमानामा रहेको पिलर नम्बर १ सम्म चार सय १३ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ । सडक निर्माणपछि सुदूरपश्चिमका करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारण व्यापारिक महत्व पनि धेरै नै रहेको छ । यसका साथै धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको सुविधा उपलव्ध हुने देखिन्छ । तर प्रक्रियागत उल्झन र बजेट अभावले योजनाले अपेक्षित गति लिनसकेको छैन । सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको महाकाली करिडोर निर्माणका लागि न्यून बजेट विनियोजन हुँदा निर्माणको काम ठप्पजस्तै छ ।
चालु आर्थिक वर्षमा करिडोर निर्माणका लागि रु २२ करोड ९७ लाखमात्र बजेट विनियोजन भएको महाकाली करिडोर सडक (ब्रह्मदेव–झुलाघाट–दाचुला–टिङ्कर सडक) योजना कार्यालयका योजनाका सूचना अधिकारी रामचन्द्र जैशीले जानकारी दिए । उक्त बजेटले निर्माण व्यवसायीको पनि भुक्तानी गर्न सकिँदैन । “योजनाअन्तर्गत कार्यालयले डेढ अर्ब दायित्व भुक्तानी गर्नुपर्ने छ”, उनले भने, “चालु आर्थिक वर्षमा आएको बजेट न्यून छ, यसले नयाँ ठेक्का खोलेर काम गर्न सकिने अवस्था छैन ।” उनले यही गतिमा बजेट आए योजना सम्पन्न गर्न अझै वर्षौँ लाग्ने बताए ।
योजना कार्यालयका अनुसार करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा एक सय ४४ किलोमिटर र दार्चुलामा एक सय २१ किलोमिटर सडक निर्माण हुनेछ । जसमध्ये कञ्चनपुरमा ११ किलोमिटर मार्ग खुलिसकेको छभने डडेल्धुरामा २८ किलोमिटर खुलेको छ । त्यसैगरी, बैतडीमा एक सय १४ किलोमिटर र दार्चुलामा ७७ किलोमिटर मार्ग खुलेको छ । तुसारापानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडकखण्डमा मार्ग खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।डडेल्धुराको सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुर्नयासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा मार्ग खोल्न बाँकी छ । हाल योजनाले छवटा प्याकेजमा गरी डडेल्धुरा र दार्चुलामा ३७ किमीमा सडक कालोपत्रको काम निर्माणाधीन छ । करिडोरअन्र्तगत दार्चुलाको महाकाली नगरपालिका क्षेत्रमा १२ किलोमिटर र खलङ्गादेखि तुसारपानी खण्डमा १०–१० किमी गरी दुई प्याकेजमा सडक कालोपत्रको काम निमार्णाधीन छ । आर्थिक वर्ष २०६५\६६ देखि सुरु भएको करिडोरको सुरुको कुल लागत अनुमान रु १८ अर्ब १६ करोडमा आर्थिक वर्ष २०८०\८१ सम्म पूरा गर्ने लक्ष्य थियो । तर बजेट अभाव, रुख कटानलगायत प्रक्रियागत उल्झनले योजनाको लागत र समय लम्बिँदै गएको छ ।
-

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड
चितवन, २३ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराएको छ ।
छिटफुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ । घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरी हित एवं राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुनेगरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आह्वान गरेको छ ।
रास्वपा प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीले अगाडि सारेका दृष्टिकोण, एजेण्डा र उम्मेदवारको पक्षमा मतमार्फत जनविश्वास व्यक्त हुनेगरी प्रभावकारी योजना निर्माण एवं परिचालनमा केन्द्रित हुन पार्टी संरचना र पङ्क्तिलाई विशेष आग्रह गर्दछौँ ।”
जेनजी आन्दोलनका क्रममा भएका मानवताविरोधी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न मागसमेत रास्वपाले गरेको छ । विज्ञप्तिमा आउँदा दिनमा राज्यका निकायमा जेनजी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताको प्रिय र विश्वासयोग्य शक्ति बनाउन पार्टीभित्र आन्तरिक लोकतन्त्रको सुदृढीकरण र समावेशितालाई थप व्यवस्थित र प्रोत्साहित गर्ने, पार्टी रुपान्तरणको पक्षमा व्यक्त भएका आवाज र प्रस्तावलाई विधि–प्रक्रियाअन्तर्गत नै सम्बोधन गर्ने तथा निर्णय प्रक्रियामा सबै तहका समिति र सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरणलाई क्रमशः फराकिलो बनाउने निर्णय गरेको छ ।
देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेकाले यसका लागि समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह बैठकले गरेको छ ।
फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति ९फागुन ७–९०मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै छ महिनाभित्र महाधिवेशन गर्नेगरी तालिका ल्याउन केन्द्रीय समितिलाई बैठकले आग्रह गरेको छ ।
बैठकमा देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रूपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल र पार्टीको आन्तरिक जीवन एवं तत्कालीन कार्यभारबारे छलफल भएको थियो ।
केन्द्रीय समितिका सदस्यसहित देशभरबाट आमन्त्रित पाँच सय १२ प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा स्वर्णिम वाग्लेले चुनावी बाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रुपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो । ती प्रतिवेदनलाई समूहगत छलफल गरिएको थियो ।
विस्तारित बैठकमा केन्द्रीय सदस्य डा तोसिमा कार्की, केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ तथा चितवन, झापा, रुपन्देही जिल्ला समितिले लिखित सुझाव पेस गरेको विज्ञप्तिमा जनाइएको छ । रासस
-

कैलालीको घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन घाइते
घोडाघोडी (कैलाली), २३ कात्तिक । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौराको मृत्यु भएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए । प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा पैदलयात्री घोडाघोडी –२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुर बस्ने ४५ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा रहेका छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । घाइते पदमबहादुर शाहीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
-

बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु
२३ कात्तिक, बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्युु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-

माइक्रोबस दुर्घटनामा १७ जना घाइते
गोरखा, २३ कात्तिकः सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन् ।
भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटना भएको उनले बताए ।दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए । घाइते अधिकांश चितवनको खैरेनी नगरपालिका घर भएका रहेका खुल्न आएको प्रहरीले जनाएको छ । उक्त माइक्रोबसमा १९ यात्रु सवार थिए ।
-

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु
लमजुङ, २२ कात्तिक । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मस्र्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए । जिप अनयन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते भएपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो ।
घाइतेहरूलाई बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहर लमजुङमा उपचारको लागि ल्याए पनि उपचारको क्रममा मृत्यु भएको उहाँको भनाइ छ । त्यस्तै सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका ४ का २० वर्षीय उमेश लिम्बू भने सकुसल रहेको प्रहरीले जनाएको छ ।
-

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
काठमाडौँ, २२ कात्तिक । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढीरहेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुनेछ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म अठार वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन् । आयोगका अनुसार सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले यही कार्तिक ३० गते भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरिएको छ ।
मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आउने गरेको आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात विगतमा जस्तै १६ वर्ष उमेर पूरा भई नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने छन् ।
-

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
काठमाडौँ, २२ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौँको सीनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका आलमको आज बिहान २ः०० बजे निधन भएको हो ।
आलमलाई दसैँअघिदेखि अस्पतालमा भर्ना गरेर राखिएको थियो । पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । आलमको उपचारका क्रममा आज निधन भएको अस्पतालका सञ्चालक एवं कांग्रेसका निवर्तमान सांसद डा सुनिल शर्माले राससलाई जानकारी दिए ।
आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी भएका थिए ।विजयी भएसँगै विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री बनेका थिए । त्यसपछि उहाँ २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए । त्यसपछि उहाँ भूमि सुधारमन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत बनेका थिए । उनी विसं २०६७ को पार्टीको १२ औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
स्व आलमले विसं २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि कारागार जीवन बिताएका थिए । उनलाई गत जेठ १४ गते रौतहट जिल्ला अदालतको फैसलाले कारागारमुक्त भएपछि ब्रेन स्टोक भएको थियो । पूर्वमन्त्री आलमको दुई छोरा र एक छोरी छन् ।
