Category: स्थानीय

  • सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

    सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

    बनेपा (काभ्रपेलाञ्चोक), २१ कात्तिकः सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताए ।


    उनले भने, “वर्षांैदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए । ठाउँ नै खण्डहर जस्तो बनेको थियो । धुलो टकटक््याएर छपाइ थालेका छौँ ।” उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने छ । सञ्चारमन्त्री खरेलले भने, “२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ ।”

    लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भए पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ सुरु गरिएको जानकारी दिए ।

    पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक पाँच सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ । कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आजैदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै रु तीन अर्ब लगानी भएको छ ।

  • नेपालगन्जमा कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

    नेपालगन्जमा कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

    राँझा (बाँके), २१ कात्तिक । नेपालगञ्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपरेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पुर्याउनु ठूलो चुनौती थियो । प्रेमलाल साहु तेलीसँग वर्षौँअघि हवाईजहाजबाट नेपालगञ्जसम्म स्याउ ढुवानी गरेर बिक्री गरेको अनुभव छ ।

    कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो, तर पनि उनले कर्णालीको उत्पादनलाई बजारसम्म पुर्याउने आफ्नो प्रयास जारी राखे । “पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर बिक्री वितरण गर्नुपथ्र्यो, हवाईजहाजबाट ल्याउँदा स्याउ थिचिने सड्ने जोखिम धेरै हुन्थ्यो”, उनी सम्झन्छन् ।


    कर्णाली राजमार्ग सञ्चालनमा आएपछि भने ढुवानीमा क्रान्तिकारी परिवर्तन आएको छ । अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भई स्याउ सिधैँ तराईका बजारहरूमा आइपुग्छ । “अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भएर आउने हुँदा कर्णालीको स्याउ गुणस्तरीय छ, त्यसैले विदेशी स्याउलाई विस्थापित गर्न सकेको छ”, साहु तेली भन्छन् ।


    विषादी प्रयोग नहुने र गुणस्तर पनि राम्रो हुन थालेपछि कर्णालीको स्याउको माग बढेको छ । नेपालगञ्जमा विगत चार दशकदेखि कर्णालीको स्याउको थोक बिक्री गर्दै आउनुभएका प्रेमलालको अनुभवमा अहिले पश्चिम नेपालको फलफूल बजारमा कर्णालीको स्याउको दबदबा छ । भारतीय स्याउको तुलनामा सस्तो र राम्रो भएकाले उपभोक्ताले यसलाई बढी रुचाएका छन् ।

    सडक सञ्जालको सहजताले गर्दा अहिले सुर्खेत, नेपालगञ्ज, धनगढी, बुटवललगायतका सहरमा ग्राहक जुम्लाको स्याउ खोज्दै आउने गरेका छन् । हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आमउपभोक्ताको रुचिमा परेको छ । अहिले नेपालगञ्ज, कोहलपुर, सुर्खेत, दाङ र बुटवलका चोकचोकमा कर्णालीको जुम्ली स्याउले बजार तानेको प्रेमलालको भनाइ छ ।

    नेपालगञ्जमा कर्णालीको स्याउ थोक बिक्रेता रहेका प्रेमलालले यहाँबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सहरमा स्याउ बिक्री वितरण गर्छन् । कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा उपलब्ध छन् । नेपालगञ्जमा कर्णालीको स्याउको आयात बढ्दै गएको छ । यातायातको सिधा पहुँच भएसँगै कर्णालीको जुम्लालगायत जिल्लाबाट सुर्खेत र नेपालगञ्जमा स्याउ आउने गरेको छ ।

    जुम्लाका फलफूल व्यवसायी र किसानमार्फत नेपालगञ्ज र सुर्खेतमा ल्याएर थोक फलफूल व्यापारीले मागअनुसार देशभर कर्णालीको स्याउ बिक्री गर्ने गरेको प्रेमलालले बताए । उनका अनुसार गत वर्ष नेपालगञ्जबाट मात्र करिब तीन हजार क्विन्टल कर्णालीको स्याउ बिक्री भएको थियो । यो वर्ष पाँच हजार क्विन्टल बिक्री हुने अनुमान छ ।

    “अहिलेको उत्पादनले नेपाली बजारलाई तीन महिनालाई मात्र धानेको छ, सरकारले प्रोत्साहन गर्ने हो भने अहिलेको दोब्बर क्षेत्रफलमा स्याउ खेती गरी उत्पादन पनि दोब्बर लिन सकिन्छ”, प्रेमलालले भने, “उत्पादन बढाएर चिस्यान केन्द्रमा राख्ने होभने नेपालको कुल स्याउ बजारको छ महिनालाई नेपाली उत्पादनले धान्ने सम्भावना र अवसर छ ।”

    कर्णालीमा अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउखेती गरिरहेका छन् । टिपाइ, ग्रेडिङ, प्याकिङलगायतमा ध्यान दिनसके कर्णालीको स्याउ नेपालभर बिक्री गर्न सकिने व्यवसायी साहुको भनाइ छ । किसान र व्यवसायीको जोडबलमै कर्णालीको स्याउले बजार बनाएको उल्लेख गर्दै उनले सरकारले स्याउखेतीलाई प्राथमिकतामा राखेर प्रोत्साहनमूलक नीति र कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए ।

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    राष्ट्रिय समाचार समिति (रासस)
    घोडाघोडी (कैलाली), २१ कात्तिक । यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपले त्यो दिन पालो पाएनन् । उनलाई धान बेच्नका लागि चार दिन लाग्यो ।

    जिल्लाको भजनी–४ का राजकुमार चौधरीलाई धान बेच्नका लागि चार दिन लाग्यो । सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाइने आशाले किसान उत्साहित छन् । तर खरिद प्रक्रिया ढिलो भई लामो लाइन बस्दा पालो नआउँदा त्यो उत्साह निराशामा बदलिँदै गएको छ । कतिपय किसानले बिहानदेखि बेलुकीसम्म कुर्दा धान बेच्न नपाई घर फर्किनुपरेको छ । कति रातभरै केन्द्र अगाडि बस्छन्, भोलिपल्ट पहिलो पालोमा आफ्नो धान बेच्न सकुन् ।

    तीन दिन भयो घर फर्किएको छैन । घोडाघोडीका किसान विष्णु चौधरी भन्छन्, “धान बेच्न यति दुःख कहिल्यै भएको थिएन । बिहानदेखि बेलुकीसम्म लाइनमा बस्दा पालो आउँदैन, रातमा डल्लफ र धानको सुरक्षा गर्न यही बस्नुपर्छ ।” उनीजस्तै धेरै किसान अहिले सरकारी खरिद केन्द्रमा धान बेच्नका लागि दिनरात लाइनमा उभिरहेका छन् । यस वर्ष सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ तोकेको छ । बजारमा व्यापारीहरूले कम रकममा किन्ने गरेकाले किसान सरकारी मूल्यमा बेच्ने आशामा केन्द्रमा लामबद्ध छन् ।

    जिल्लामा कात्तिक ११ गतेदेखि धान खरिद सञ्चालन गर्ने सूचना निकालिएको थियो । मौसमका कारण कात्तिक १६ गतेदेखि धान खरिद सुरु गरेको भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढा बताउँछन् । प्रतिकिसान ५० क्विन्टलका दरले धान खरिद भइरहेको उनले बताए । बुढाका अनुसार खरिदमा ढिलाइ हुनुको प्रमुख कारण पूर्वाधारको कमी हो । उनी भन्छन्, “धान खरिदका लागि एउटा काटामात्र सञ्चालनमा छ । किसानको समस्यालाई मध्यनजर गरी नगरपालिकासँग समन्वय गरी अर्को काटा थप्ने तयारी गरिरहेका छौँ ।”

    कैलाली जिल्लाको अधिकांश भूभाग तराईमै पर्छ, जहाँको मुख्य आम्दानीको स्रोत धानलगायत अन्य बाली हो । यहाँका किसानले वर्षभरको मेहेनत यही बालीमा लगाउँछन् । खेतमा पसिना बगाउने उनीहरूका लागि धान बेच्नुमात्र व्यापार होइन, परिवारको जीविकोपार्जनको आधार हो । तर धान बेच्ने पालो नपाउँदा उनीहरू समस्यामा छन् ।

    धान बिक्रीमा ढिलाइ हुँदा किसानको आर्थिक अवस्था प्रभावित भएको छ । खेतमा नयाँ बाली लगाउनका लागि रकम चाहिन्छ, तर धान नबेचेसम्म नगद हातमा आउँदैन । कतिपय किसान बाली बेचेर नै घर चलाउँछन् । घोडाघोडीकी रमिता चौधरी भन्छन्, “धान बेचेपछि तिरौला भनेर सापटी मागी घर खर्च चलाएको छु । लाइनमा बसेको दुई दिन भयो खै कहिले पालो आउँछ ।”

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानी १३ वटा खरिद केन्द्रहरू सञ्चालन गरिरहेको छ । जसअन्तर्गत नेपालभरि नै कैलालीबाट धान खरिद सुरु गरेको छ । भजनी, मोहनपुर, सत्ती, गौरीगङ्गा, जोशीपुर र टीकापुर गरी जिल्लाका छवटा खरिद उपकेन्द्रमार्फत धान खरिद गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रमुख दीपक थापाले जानकारी दिए । सबै उपकेन्द्रहरूमा किसानको लामो लाइन छ ।

    कैलालीमा ३५ हजार क्विन्टल धान खरिद गर्ने भनी तोकिएको छ । हिजोसम्म नौ हजार क्विन्टल बढी खरिद भइसकेको छ । सरकारको समर्थन मूल्यमा नै धान खरिद गरिरहेको बताउँदै उनले भने, “अरू ठाउँमा मूल्य कम पाउने गरेका कारण सबै किसान खरिद केन्द्रमै आएका छन् । जसका कारण निकै भीड छ ।”

    अर्कै समस्या जनशक्ति र पूर्वाधर हो । प्रदेश कार्यालयमा कर्मचारीको दरबन्दी कम हुन्छ । चार कर्मचारी, अछाम, बाजुरा, बझाङ, कालिकोटबाट ल्याएको बताउँदै थापाले भने, “यसपटक सरकारको बजेटमा नै धान खरिद गरेबापत रकम किसानको खातामा हाल्ने व्यवस्था गरेकाले कागजातहरू मिलानका लागि एक जना कर्मचारी त्यही व्यस्त हुन्छन् । त्यसैले धान खरिदमा केही जटिल भएको छ ।” एक उपकेन्द्रमा दुई जना कर्मचारी खटाइएको उनले बताए । बिहान १०ः०० बजेबाट ४ः०० बजेसम्म धान खरिद गर्नुपर्ने भए पनि किसानको चापका कारण बिहान ८ः०० देखि सुरु गरी बेलुका ९ः०० बजेसम्म नै धान खरिद गरिरहेको उनले बताए ।

  • गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन

    गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन

    काठमाडौँ, २० कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गरेका छन् । पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनी भएको थियो । यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका हुन् । त्यसैगरी अर्यालले मङ्गलबार प्रथम राष्ट्रपति डा रामवरण यादवको ललितपुर बागडोलस्थित निवासको अवस्था बुझ्न पुगेका हुन् । रासस

  • विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

    विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा प्रदर्शन गर्दै


    २० कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज काठमाडौंमा प्रदर्शन र सभा गर्दैछ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गर्न लागिएको नेकपाले जनाएको छ । दिउँसो १ बजे भृकुटीमण्डमा आयोजना हुने सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् । सभा अगाडि र्‍याली निकाल्ने योजना नेकपाको छ । सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतार्ने तयारी छ । १० हजार बढीको संख्यामा कार्यकर्ता उतार्ने दाबी उनीहरुको छ ।

  • किसान श्रेष्ठ र रामकुमारी झाँक्री निशर्त एमालेमा फर्कदैं

    किसान श्रेष्ठ र रामकुमारी झाँक्री निशर्त एमालेमा फर्कदैं

    १९ कात्तिक, काठमाडौं । माधव कुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गरेसँगै केही नेताहरु एमालेमै फर्कने निश्चित भएको छ । रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताले आज पत्रकार सम्मेलन गरी निशर्त एमालेमा फर्कन तयार रहेको घोषणा गरे । श्रेष्ठले नेकपा एमालेमा निःशर्त फर्किन लागेको बताएका छन् । उनले एकताभन्दा पनि पसिना बगाएको मूल घर फर्किन लागेको बताए । आज पत्रकार सम्मेलनमा उनले भने, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’

  • तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

    तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

    दमौली (तनहुँ), १९ कात्तिक । बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो । कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • चार दशक सहकार्यपछि प्रचण्डको साथ छाड्ने जनार्दन र राम कार्कीको घोषणा, प्रगतिशील अभियान सुरुआत

    चार दशक सहकार्यपछि प्रचण्डको साथ छाड्ने जनार्दन र राम कार्कीको घोषणा, प्रगतिशील अभियान सुरुआत

    ललितपुर, १८ कात्तिक । ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले समाजवादी ऐक्यबद्धताको आह्वानसहित प्रगतिशील अभियानको सुरुआत भएको घोषणा गरेका छन् । प्रगतिशील अभियानले नेपालमा दशकौँदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्तिहरू एकजुट गराउने विश्वास व्यक्त गरेको छ । पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का पूर्वउपमहासचिव जनार्दन शर्माले भने, “विद्रोह हरेक पीडित, उत्पीडित र बेवास्ता गरिएको जनताको अधिकार हो । आजको आवश्यकता पुराना गल्तीबाट सिक्दै समाजवादी ऐक्यबद्धतामा नयाँ बाटो खोज्ने हो ।”

    उनले माओवादी आन्दोलन र शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक मोड बताउँदै भने, “क्रान्तिको मर्म र सहिदहरूको बलिदानलाई व्यर्थ जान नदिई समाजवादी राजनीति र जनताको सर्वोच्चतामा आधारित नयाँ दिशा तय गर्नुपर्छ ।” त्यसैगरी, माओवादी केन्द्रका पूर्वसचिव राम कार्कीले नेपाली कम्युनिष्ट आन्दोलनभित्रको गुटबन्दी, व्यक्तिवाद र अवसरवादले आन्दोलन कमजोर बनाएको बताए । उनले भने, “नेपालको वाम आन्दोलनले जनताको अपार विश्वास पाएको थियो, तर नेताहरूले जनताप्रति जवाफदेही बन्न नसक्दा त्यो ऊर्जा निराशामा परिणत भयो । अब वैचारिक शुद्धता, आत्मसमीक्षा र सङ्गठनात्मक नवजीवनमार्फत नयाँ समाजवादी आन्दोलन खडा गर्नैपर्छ ।” राम कार्की र शर्माले प्रचण्डको साथ चार दशकको सहकार्यमा टुटाएका हुन् ।

  • रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

    रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

    दोलखा, १७ कात्तिक । रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सात जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको आधार शिविरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार हिमपहिरोबाट जोगिएका थप तीन नेपाली पथप्रदर्शकलाई ना गाउँमा सुरक्षितरुपमा राखिएको छ ।

    उनीहरुको केहीबेरमा उद्धार गरिने प्रजिअ रिसालले बताए । डोल्मा खाङ र यलुङरी हिमाल आरोहणका लागि दुई ट्राभल कम्पनीमार्फत आधार शिविर पुगेका पाँच विदेशीसहित १५ आरोही टेन्ट टाँगेर बसेको स्थानमा सोमबार बिहान हिमपहिरो खसेको हो ।

    हिमपहिरोमा पुरिएर एक विदेशीसहित ३ जनाको मृत्यु भएको थियो । बेपत्ता भएकाहरुको अवस्था थाहा हुन नसकेको प्रजिअ रिसालले बताए । उद्धारका लागि नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली ना गाउँ गएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

  • विकासमा वेथिति : १५ वर्षमा पनि बनेन पक्की पुल

    विकासमा वेथिति : १५ वर्षमा पनि बनेन पक्की पुल

    भोजपुर, १८ कात्तिक । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ । छवटा पिलरको आधार (बेस) राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो ।

    “लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ”, वडाध्यक्ष सुमनले भने, “राज्यको रु चार करोड खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौँ ।” यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्माले बताए । पक्की पुल नहँुदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ ।

    “राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ”, उनले भने, “पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ । सरकार यो पुल निर्माणमा गम्भीर बनेन ।” २०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो । पुल निर्माणको काम किन ढिलाइ भएको भन्ने विषयमा स्थानीय अन्योलमा परेका छन् ।

  • तराई भेगमा सुरु भयो हुस्सुको कहर

    तराई भेगमा सुरु भयो हुस्सुको कहर

    १८ कात्तिक, काठमाडौं । नेपालको तराई भेगमा हुस्सुको कहर सुरु भएको छ । जसले गर्दा हवाई उडानदेखि सामान्य जनजीवन समेत प्रभावित हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले तत्कालका लागि मौसममा प्रतिकुल प्रभाव पार्ने अर्को प्रणाली देखिएको छैन । जसले गर्दा तराई भेगमा मौसममा परिवर्तन आउने सम्भावना समेत छैन । बाक्लो हुस्सुसँगै तापक्रम समेत तल झर्ने क्रम सुरु हुन्छ ।

    सुनसरीको इनरुवा नगरपालिका-४ मा मङ्गलबार बिहान लागेको हुस्सु र उदाउँदै गरेको सूर्य । तस्बिर : नवीन गड्तौला / रासस
  • हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता

    हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता

    दोलखा, १७ कात्तिक : गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिमपहिरोमा परेका छन् । हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ः०० बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको अवस्था अझै एकिन हुनसकेको छैन । आज बिहानैदेखि उद्धारका लागि प्रशासनलाई आग्रह गरे पनि उद्धारमा ढिलाइ भएको वडाध्यक्ष निमगेली शेर्पाले बताए । हेलिकप्टर उडानका लागि रोल्वालिङ क्षेत्र प्रतिबन्धित भएकाले प्रशासनले अनुमतिमा ढिलाइ गर्दा थप समस्या भएको शेर्पाको भनाइ छ ।

    हिमपहिरोमा परेकाको खोजीको प्रयास भइरहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीनहरुको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाएपनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

  • आठ पार्टीबीच कात्तिक १९ मा एकता, आज भयो हस्ताक्षर

    आठ पार्टीबीच कात्तिक १९ मा एकता, आज भयो हस्ताक्षर

    १६ कात्तिक, काठमाडौं । यही कात्तिक १९ गते विभिन्न आठ पार्टीबीच एकता हुने भएको छ । ती पार्टीले आज ‘पार्टी एकता सहमति पत्र’ जारी गरी १९ गते एकता घोषणा गर्ने जनाएका हुन् । सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा (माओवादी–समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (चिरन पुन) र नेकपा (साम्यवादी)का नेताहरूले हस्ताक्षर गरेका छन् ।
    सहमति पत्रमा भनिएको छ, “पार्टीको एकता राष्ट्रिय सम्मेलन एकता प्रक्रियामा सहभागी सबै घटकका केन्द्रीय समितिको संयुक्त भेलाको रुपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कात्तिक १९ गते गरिने छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायत कार्य गरिने छन् ।”

    पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद, पार्टीको तत्कालीन कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने जनाइएको छ ।

    पार्टी एकताबारे थप प्रष्ट पार्दै भनिएको छ, “पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता हो ।”

    आन्दोलनको स्वरूपमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने र परिस्थितिअनुसार सडक, सदन र सरकारलगायत सबै मोर्चा प्रयोग गरिने उल्लेख छ । यस्तै, आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा जनाइएको छ ।

    सहमति पत्रमा भनिएको छ, “केन्द्रीय समितिको गठन एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ, केन्द्रीय समितिभित्रको संरचना केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्यसंयोजन समिति हुनेछ ।”

  • तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालन

    तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालन

    काभ्रेपलाञ्चोक, १६ कात्तिकः बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा(नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

    सुक्खा पहिरोका कारण डाइभर्सन तथा अवरोध हटाउन केही समस्या भएको इञ्जिनियर योगेशले बताए । यस्तै, रोशी–१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन नसकिएको उनले बताए । “सुक्खा पहिरो रोकिएपछि अवरोध हटाउँदै राजमार्ग सञ्चालनमा ल्याइएको छ”, उनले भने । यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडकखण्डमा ढुङ्गा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा–नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

    सडक माथिबाट निरन्तर सुक्खा पहिरो खसेकाले बिहीबार रातिदेखि यातायात सञ्चालनमा रोक लगाइएको इञ्जिनियर योगेशले जानकारी दिए । उनका अनुसार बिहीबारदेखिको अविरल वर्षाले नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, बिरुवाडाँडा डालाबेँसी, नार्के, चारसयबेँसी, घुमाउनेलगायत स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर राजमार्गका विभिन्न भाग अवरुद्ध भएका थिए । यसअघि उक्त राजमार्गमा मनसुनको जोखिमका कारण पटकपटक सवारी सञ्चालनमा रोक लगाइँदै आइएको थियो ।

    गत वर्षको असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो । “सडक बगेपछि खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो”, उनले भने । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो ।

    कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइएको जनाएको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

  • धनुषामा बसको ठक्करबाट चार जनाको मृत्यु

    धनुषामा बसको ठक्करबाट चार जनाको मृत्यु

    १६ कात्तिक, जनकपुर । धनुषामा यात्रुवाहक बसको ठक्करबाट चार जनाको मृत्यु भएको छ । शनिवार राति पूर्व-पश्चिम राजमार्ग अन्तर्गत वीरेन्द्रबजारस्थित सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । विराटनगरबाट ढल्केवरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २५८८ नम्बरको बसले प्रदेश ०२–०१–००१ घ १२२० नम्बरको अटोलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि अटोमा सवार धनुषा गणेशमान चारनाथ नगरपालिका–४ का ४० वर्षीय रमेश मगर, उनकी श्रीमती ३२ वर्षकी निशा मगर, सोही ठाउँ बस्ने ठुला मगर र अटो चालक वर्ष ४० को डम्बर राई को मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले जानकारी दिए ।

    उनका अनुसार ठक्करबाट गम्भीर घाइते भएका ठुला मगर र निशाको घटनास्थलमै मृत्यु भएको थियो भने अटो चालक र रमेशको उपचारको क्रममा जनकपुर न्युरो हस्पिटलमा मृत्यु भएको छ । सो दुर्घटनामा मृतक रमेश र निशाका दुई बच्चाहरू समेत गम्भीर घाइते भएका छन् । १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते भई उनीहरूको उपचार जनकपुर न्युरो हस्पिटलमा भइरहेको उनले बताए । ठक्कर दिने बस चालक लखिराम दनुवार थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकहरूको शव पोस्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको छ ।

  • वैशाखयता विपद्जन्य घटनामा तीन सय ३५ जनाको मृत्यु

    वैशाखयता विपद्जन्य घटनामा तीन सय ३५ जनाको मृत्यु

    १६ कात्तिक, काठमाडौं । कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते भएका छन् ।

    बाढीका मात्रै तीन सय १६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका पाँच सय ५० घटना हुँदा ६७ जनाको मृत्यु र चार जना बेपत्ता तथा चट्याङका तीन सय ५६ घटना हुँदा ४४ जनाको मृत्यु, सर्पदंशका पाँच सय ३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ । त्यसैगरी, जनावरको आक्रमणका दुई सय ६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ ।

    भारी वर्षाका चार सय २० घटनामा सात, आगलागीका एक हजार ६१४ घटनामा २६ र हुरीबतासका दुई सय ८६ घटनामा आठ जनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिए। हिउँ पहिरोमा परी नौ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा दुई जनाको मृत्यु भएको छ । विपदजन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।

  • रुकुम पूर्वमा अटो दुर्घटना, २ जनाको मृतयु

    रुकुम पूर्वमा अटो दुर्घटना, २ जनाको मृतयु

    १६ कात्तिक, काठमाडौं । रुकुमपूर्वको भूमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको अनुसार शनिबार राति लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा१ह ६७९७ नम्बरको अटो सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुकुमपूर्व अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार उपचारका क्रममा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका २६ वर्षीय प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीय ब्युटी पुन, २ वर्षीया समृद्धि पुन र ३ वर्षीय सक्षम घर्ती सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अटो चालक भूमे–१ लुकुमका २९ वर्षीय जोते घर्ती फरार रहेको प्रहरीको भनाइ छ । दुर्घटनापछि प्रहरी चौकी लुकुम, इलाका प्रहरी कार्यालय काँक्री र जिल्ला प्रहरी कार्यालयको २० जनाको संयुक्त टोलीले उद्धार गरेको थियो ।

  • भोजपुरमा सडक दुर्घटना, दुई जनाको मृत्यु

    भोजपुरमा सडक दुर्घटना, दुई जनाको मृत्यु

    १५ कात्तिक, काठमाडौं । भोजपुरको उत्तरी षडानन्द नगरपालिका –४ दुबेस्थित चाम्लादाङबाट दिङ्ला आउँदैगरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी लिएर आउने क्रममा अनियन्त्रित भएर सडकबाट ३० मिटर तल झरेको थियो ।

    ट्याक्टरमा सवार ६ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते ४ जनाको उपचारका लागि नगर अस्पताल दिङ्ला लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार ट्याक्टर चालक षडानन्द नगरपालिका –४ केराबारीका आइतबहादुर तामाङ र अरुण गाउँपालिका –४ चरम्बी निवासी नवीन तामाङको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको छ ।

    त्यस्तै, घाइते षडानन्द नगरपालिकाका १९ वर्षीय दाछिरी शेर्पा, २२ वर्षीय अम्बरबहादुर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङको नगर अस्पताल दिङलामा उपचार भइरहेको छ । शवलाई कानुनी प्रक्रिया पूरागरी पोस्टमार्टम गर्न लैजाने तयारी हुदैँछ । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    १५ कात्तिक, काठमाडौं । काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र–०२–०५९प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको आज दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको छ भने एकजना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • राष्ट्रिय परिचय पत्र अनिवार्य भएका क्षेत्रको दायरा बिस्तार, अब कुन कुन सेवामा थपियो ?

    राष्ट्रिय परिचय पत्र अनिवार्य भएका क्षेत्रको दायरा बिस्तार, अब कुन कुन सेवामा थपियो ?

    १४ कात्तिक, काठमाडौं । सरकारले विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचयपत्रको पहुँच विस्तार गरी अनिवार्य गरेको छ । कात्तिक १२ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय परिचयपत्रको आबद्धता विस्तार गरेको जानकारी दिए । मन्त्री खरेलका अनुसार वैदेशिक रोजगार सेवासम्बन्धी, अदालतका मुद्दा व्यवस्थापनसम्बन्धी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी, स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपत् व्यवस्थापन सम्बन्धमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

    अध्यागमन सेवा, बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरूको विवरण सम्बन्धमा राष्ट्रिय परिचयपत्र आबद्धता विस्तार गरेको उनले बतए । समरजङ्ग कम्पनी कार्यालयलाई गृह मन्त्रालय अन्तर्गत रहने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको पनि उनले जानकारी दिए । यसअघि राहदानी, बैंक खाता खोल्नेलगायतका सेवामा परिचय पत्र अनिवार्य छ ।

  • चितवनमा दुई बस र ट्रक एक आपसमा ठोक्किए, ३३ घाइते

    चितवनमा दुई बस र ट्रक एक आपसमा ठोक्किए, ३३ घाइते

    १४ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको छ । गतराति पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा. प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किएको थियो ।

    बस सडकमा पल्टिएको थियो । लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो । घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ । क्रेनको सहायताले बसलाई सडक क्षेत्रबाट हटाएर आज बिहान करिब ३ बजेतिर सडक एकतर्फी खुलाइएको थियो । बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका–४ बस्ने ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

    घाइतेहरुमा उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ, धनुषाको जनकपुर उपमहानगरपालिका– १७ बस्ने ३९ वर्षीय सदाकत मिया, सोही ठाउँ बस्ने ५२ वर्षीय नरेन्द्र शाह छन् । यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय समिर अन्सारी, धनुषाको जनकपुर उपमहानगरपालिका– १ बस्ने ४६ वर्षीय बसन्त झा, धनुषाको जनकपर उपमहानगरपालिका– ४ वस्ने ४९ वर्षीय मुकेशलाल कर्ण, सोही ठाउँ बस्ने ३४ वर्षीया अन्जु कर्ण, सोही ठाउँ बस्ने आरुष कर्ण र धनुषाको लक्ष्मीनिया गाउँपालिका– ४ बस्ने १९ वर्षीया विद्या चौधरी छन् ।


    साथै, रौतहटको राजदेवी नगरपालिका– १ बस्ने २० वर्षीय अनिकेत कुमार साह, रौतहटको बृन्दावन नगरपालिका– ३ बस्ने ११ वर्षीय आरभ मिश्र, रौतहटको राजदेवी नगरपालिका– १ बस्ने कुष्ण कमार साह, रौतहटको गौर नगरपालिका–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी, महोत्तरीको पिपरा गाउँपालिका– १ बस्ने गितादेवी यादव, महोत्तरीको पिपरा गाउँपालिका–१ बस्ने ३७ वर्षीय राम श्रेष्ठ छन् ।

    यसैगरी धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत, धनुषाको जलेश्वर नगरपालिका–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह, सोही ठाउँ बस्ने ४३ वर्षीया रेखा सिंह, सोही ठाउँ बस्ने २१ वर्षीया अञ्जली सिंह, रौतहटको राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो, रौतहटको गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर र रौतहटको गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह छन् । साथै सोही ठाउँ बस्ने ४० वर्षीय उर्मिला कुमारी साह, रौतहटको बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा, भारत मोतिहारी बस्ने ३२ वर्षीय सुनिल प्रसाद, भारत मोतिहारी बस्ने २५ वर्षीया सुभद्रा कुमारी चौधरी, भारत मोतिहारी बस्ने ७ वर्षीया पृया जैशवाल छन् ।
    भारत मोतिहारी बस्ने ४ वर्षीया कृती जैशवाल, धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी, रौतहटको दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास, रौतहटको माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह। सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास र भारत मोतिहारी बस्ने २२ वर्षीय महमद साहेब समेत घाइते छन् ।

  • बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु

    बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु

    १३ कात्तिक, काठमाडौं । बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका ७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका ५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका ७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।
    बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास गर्दै जाँदा बिहीबार दिउँसो भिरमा मृत अवस्थामा फेला परेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनका अनुसार शिवनाथ–६ ओल्या भिरभन्दा करिब ५०० मिटर तल भीमको शव फेला परेको हो ।

    इन्द्रसिंहको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, बुधबारदेखि हराइरहेकी कार्कीको खोजी गर्दा भिरबाट करिब एक मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक बडूले जानकारी दिए । न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा उनको भिरबाट लडेर मृत्यु भएको जनाइएको छ । तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    रासस

  • बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु

    बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु

    १३ कात्तिक, बैतडी । मेलौली नगरपालिका – ७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए । अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । रासस

  • पाल्पामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    पाल्पामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    १२ कात्तिक, काठमाडौं । पाल्पामा इभी गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा ४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा वडा नं। २ सोमादीका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र वडा नं. ४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेको प्रहरीले पाल्पा प्रहरीका सूचना अधिकारी होम प्रसाद चौधरीले जानकारी दिए । रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्गमा ईभी गाडी दुर्घटना भएको थियो ।

    बुटवलबाट छहराको मेहलढापका लागि छुटेको लु प्र ०१ ००१ ज ००९१ नम्बरको ईभी गाडी बुधबार दिउँसो २ः १० बजेतिर दुर्घटना भएको थियो । मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण नखुलेपनि सवारी सडकबाट करिब तीन सय ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ ।

  • सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

    १२ कात्तिक, काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकप्ट दुर्घटना भएको हो । ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । उनका अनुसार हेलिकप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिइन् । काठमाडौंबाट उद्धार गर्न गएको हेलिकप्टर दुर्घटना भएको हो । अहिले सो क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ ।

  • दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

    दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

    भद्रपुर, १२ कात्तिक । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् । बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

  • मुक्तिनाथ मन्दिरसहित मुस्ताङका धेरै क्षेत्रमा हिमपात

    मुक्तिनाथ मन्दिरसहित मुस्ताङका धेरै क्षेत्रमा हिमपात

    ११ कात्तिक, काठमाडौं । मुक्तिनाथ मन्दिरसहित मुस्ताङमा मङ्गलबार बिहानैदेखि हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपासका क्षेत्रका आंशिक हिमपात भएको छ । तिब्ब्तसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमानथाङ, घमी, चराङ सुरखाङ लगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिएका छन् ।


    एक्याप प्रमुख पौडेलका अनुसार लोमान्थाङ बजारमै हिमपात भइरहेको छ, चिसो बढेको छ, उपल्लो मुस्ताङ जाने पर्यटकले सतर्कता अपनाउनुपर्ने देखिन्छ । यता हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बर्षा भइरहेको वडा अध्यक्ष अध्यक्ष कर्म घ्यचो गुरुङले जानकारी दिए ।

    त्यस्तै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर आसपासका क्षेत्रमा हिमपात भएका कारण जनजिवन कष्टकर भइरहेको छ । हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे हुन थालेको मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरूङले बताए । मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएका कारण चिसोले जनजीवन प्रभावित भएको छ । मुस्ताङमा यो सिजनको पहिलो हिमपात भएको छ ।

    मुस्ताङमा बिदा मनाउन गएका पर्यटकलाई सुरक्षित बस्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले जिल्लाभर हिमपातबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी सुरक्षा निकायलाई समेत अर्लट राखिएको छ । प्रजिअ भुषालका अनुसार ‘हिमपात र वर्षाले पर्यटकलाई प्रभावित बनाउन सक्छ, यस समयमा यात्रा नगर्न सचेत गराइएको छ ।

  • चर्चा चार जनाको, तर दुई मन्त्री मात्र नियुक्त

    चर्चा चार जनाको, तर दुई मन्त्री मात्र नियुक्त

    ९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शपथ ग्रहण गरे । स्वास्थ्यमन्त्री शर्मा पूर्व सचिव हुन् भने खेलकुदमन्त्री गुप्ता सामाजिक अभियन्ता हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।


    कार्की नेतृत्वको मन्त्रिपरिषदमा भदौ ३० गते अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास कुलमान घिसिङ र गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल मन्त्री बनेका थिए । असोज ६ गते महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिन्हा उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त भएका थिए ।

    आइतबार स्वास्थ्य र खेलकुद मन्त्रीको शपथ ग्रहणसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । यसअघि आइतबार चार जनालाई मन्त्री नियुक्ति गर्ने चर्चा थियो । अभियन्ता खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाम पनि मन्त्रीका रुपमा चर्चामा थियो । उनीहरुको नाम अन्तिम समयमा आएर काटिएको छ । सुनारको नाममा भने विभिन्न विवाद सार्वजनिक भएका थिए ।

  • मनसुन लगत्तै बढ्न थाले आगलागीका घटना

    मनसुन लगत्तै बढ्न थाले आगलागीका घटना

    ९ कात्तिक, काठमाडौं । एकैदिन देशभर १४ आगलागीका घटना भएका छन् । पूर्वसावधानी तथा चेतना अभावमा देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको तथ्याङ्क राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा एकैदिन अर्थात् कात्तिक ७ गते आगलागीका घटना घटेका छन् । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको देखिन्छ ।

    प्राधिकरणका अनुसार कात्तिक ६ गते पनि १३ आगलागीका घटना भएका थिए । झापा, इलाम, सुनसरी, सङ्खुवासभा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, कालीकोट र पर्सामा दुई आगलागीका घटना भएका थिए । यस्तै पाल्पामा तीन आगलागीका घटना घटेका थिए । कात्तिक ५ गते १७ आगलागीका घटना घटेका थिए । प्राधिकरणको उपलब्ध गराएको तीन दिनको विवरणमा अधिकांश विपद्का घटनामा आगलागी देखिएको छ । मनसुन सकिएर वर्षा हुन छाडेपछि देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको देखिएको छ ।

    आगलागीबाट जोगिनका लागि विशेष सावधानी अपनाउनसमेत प्राधिकरणले आग्रह गरेको छ । कात्तिक ७ गते देशभर कुल १८ विपद्का घटना घटेका थिए । ती घटनामा परेर ६ जना घाइते भएका छन् । ती घटनामा परेर रु ७७ लाख ९१ हजारबराबरको अनुमानित क्षति भएको छ । यस्तै, सर्पदंशका दुई, पहिरो एक र चट्याङ, जनावर आक्रमणका एकएक घटना घटेका थिए । रासस

  • बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

    बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

    ८ कात्तिक, काठमाडौं । पछिल्लो समयमा बाँके र बर्दियामा बाघ र चितुवाको आक्रमणबाट मृत्यु र घाइते हुनेको सङ्ख्या बढ्दै गएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका मानिसहरुमाथि निरन्तर आक्रमण गरिरहेका छन् । सोही क्रममा पछिल्लो पटक बाघको आक्रमणमा परी बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीमा एक पुरुषको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको मृत्यु बाघको आक्रमणबाट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार राप्ती सोनारीको रिम्ना सामुदायिक वनमा शुक्रबार दिउँसोबाट बेपत्ता हुनुभएका खत्री साँझसम्म पनि घर नफर्कंदा स्थानीयवासीहरूले खोजतलास गर्दा शनिबार बिहान करिब ७ः३० बजे बाघले आक्रमण गरेको अवस्थामा शव फेला परेको हो । तीन टुक्रा भएको अवस्थामा शव भेटिएकाले उनको मृत्यु बाघकै आक्रमणबाट भएको देखिएको जनाउँदै उनले सो बारेमा अनुसन्धान भइरहेको बताए ।
    बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्रायजसो बाघ र चितुवाको आक्रमणका घटनाहरु भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रुपमा वनजङ्गल नजिक नजान पनि अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निकुञ्ज वरिपरिका क्षेत्रमा पटक पटक बाघ र चितुवाको आक्रमण हुने गरेकाले सो क्षेत्रका स्थानीय निकै त्रसित र आतङ्कित बनेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए ।