Category: स्थानीय

  • मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि….

    मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि….

    चितवन, २८ असोजः कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए । घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरु खतिवडासँग जम्का भेट भएपछि प्रहरी भन्दै उम्किएका थिए ।

    खतिवडाले भने, “नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौ । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो । घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो ।

    बत्ती बन्द गरिएकामा शङ्का लाग्यो ।” “मेरो घरबाट चार घर पर अँधेरोमा केही चीज रोकेर राखेकोसम्म आँखा पुग्यो । जब आफ्नो घरअगाडि सडकमा पुगेँ अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरण्डाबाट आँगनमा निस्किए”, घटना विवरण सुनाउँदै उनले भने, “एक्कासि नयाँ मान्छे देख्दा म आत्तिए । चोर , भन्ने सम्झे । तर बोल्न सकिनँ ।” ती व्यक्तिले यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे कहाँ छ ? भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काको घरतर्फ गएको खतिवडाले बताए ।


    भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्किंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उनले बताए । निजहरुले दाजुभाइलाई आफूहरु प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएको उनले सुनाए । घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरु चोर हुन भन्ने एकिन भएको खतिवडाले बताए ।


    राति नै प्रहरीलाई खबर गरी घटनाका विवरण सुनाएको उनले जानकारी दिए । मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तु समेत बोकेको देखेको खतिवडाले बताए । उनका अनुसार नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ । उनीहरु बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरुलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताए ।


    इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन भएको र घटनाको अध्ययन थालिएको बताए । उनीहरु प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले फरार कैदीबन्दी पनि हुन सक्ने आशङ्का बीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताए । उनले भने, “यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ ।” चितवनसहित देशका धेरै कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दी फरार रहेका छन् ।

  • तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

    तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

    काठमाडौँ, २८ असोजः गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

  • काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु

    काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु

    काठमाडौँ, २७ असोजः काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गएराति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।

    टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।

  • खाल्टोको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु

    खाल्टोको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु

    रासस
    चन्द्रपुर, २७ साउन । रौतहटमा आज बिहान पानी भरिएको खाल्टोमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्टोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा राजदेवी नपा–८ लक्ष्मीपुर टोल बस्ने इन्दल बैठाको १३ वर्षीया छोरी आस्थाकुमारी बैठा, सोही गाउँका नवल यादवको १५ वर्षीया छोरी राघनीकुमारी यादव र रुपा बैठाको १५ वर्षीया छोरी मौसमीकुमारी बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए ।


    घाँस काट्नका लागि लक्ष्मीपुरबाट गौर नगरपालिका–१ कानुपट्टिस्थित भित्री सडक खण्डमा बाटोमा नजिकै रहेको पानीको खाल्टो तर्ने क्रममा डुबेर मुत्यु भएको प्रहरी निरीक्षक महतोले जानकारी दिए । आज बिहानै एउटै टोलका सात जना बालिका घाँस काट्न गएका थिए । जसमध्ये चार जना सकुशल पानीको खाल्टो तरेको र बाँकी तीन जना बेपत्ता भएको प्रहरी निरीक्षक महतोले जानकारी दिए ।


    सकुशल उद्धार हुनेहरूमा सोही लक्ष्मीपुर गाउँकी उमेश रामको १५ वर्षीया छोरी मुस्कानकुमारी राम, बिपत बैठाको छोरी १३ वर्षीया मुस्कानकुमारी बैठा, दिनेश रामको छोरी १० वर्षीया चन्द्रमुखीकुमारी राम र जोधन बैठाको १५ वर्षीया छोरी सुनिताकुमारी बैठा रहेको उनले जानकारी दिए ।


    बालिकाहरू पोखरीमा डुबेर बेपत्ता भएपछि भन्सार सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक गोपाल सहनी गोढीको नेतृत्वमा ६ जना, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको नेतृत्वमा ७ जना, सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको नेतृत्वमा ११ जना र वीर दल गण पुरेनवा ब्यारेकबाट मेजरको नेतृत्वमा १९ जनाको टोलीले बेपत्ता बालिकाहरूको उद्धार गरेको समेत उनले बताए ।


    उद्धारपछि बालिकाहरूको उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको र उपचारका क्रममा चिकित्सकहरूले परीक्षण गर्दा तीनैजना बालिकाकलाई मृत घोषणा गरेको महतोले जानकारी दिए । केही दिन अगाडि पनि रौतहटको देवाही गुनाही नगरपालिकाको कर्कच कर्मैया गाउँमा दुई जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको थियो ।

  • बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

    बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

    राष्ट्रिय समाचार समिति
    ढोरपाटन, २७ असोज । यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीमा लगानी गर्दै आएपछि किसानसमेत यसतर्फ आकर्षित भएका छन् ।

    यहाँको तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिकालगायत क्षेत्रमा आलु उत्पादन बढी हुने गर्छ । यस वर्ष दुई हजार ८६० हेक्टर क्षेत्रफलमा आलु लगाइएकामा ५५ हजार ६०० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा यसवर्ष खेती गरेको क्षेत्री र उत्पादनमा कमी आएको उनको भनाइ छ ।

    उनका अनुसार गत वर्ष तीन हजार ७०० हेक्टर क्षेत्रफलमा आलु लगाइएको थियो भने ५६ हजार २४० मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ८४० हेक्टर कम क्षेत्रफलमा आलु लगाइएको थियो । किसानले उत्पादन गरेको आलु प्रति किलो ३५ रुपैयाँमा विक्री भएको अधिकारीले जानकारी दिए । ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा दुई करोड ६० लाख रुपैयाँ, २०८१÷८२ मा एक करोड ५९ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा ५५ लाख ९० हजार रुपैयाँ लागतमा नयाँ क्षेत्र विस्तार गरेको छ ।

    “बागलुङको माथिल्लो क्षेत्र आलु उत्पादनका लागि उपयुक्त हावापानी छ, यहाँ खायन आलु राम्रो उत्पादन हुने गरेको छ, किसानहरु उत्साहित भएर लाग्नुभएको छ, तीन वर्षदेखि यसको क्षेत्र विस्तार र उत्पादन बढाउनका लागि हामीहरु लागि रहेका छौँ”, अधिकारीले भने, “खायन आलु क्षेत्र विस्तारसँगै नयाँ प्रविधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिँचाइ व्यवस्थापन गरी उन्नत जातको बीउ लगाइने छ, यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु लगाउने लक्ष्य छ ।”

    यहाँ उत्पादित आलु बागलुङ, बुटवल, चितवनलगायत सहरमा पुग्ने गरेको छ । किसानले अघिल्लो वर्ष हिउँदे आलु प्रतिकिलो ४० र बर्खे आलु प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरे पनि यस वर्ष ३५ रुपैयाँमात्रै मूल्य पाएको ज्ञान केन्द्रले जनाएको छ । आलु लगाउने बेला लामो समय खडेरी पर्दा यसवर्ष उत्पादनमा थोरै गिरावट आएको हो ।

  • भोजपुर, सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युत्को पहुँचमा

    भोजपुर, सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युत्को पहुँचमा

    राष्ट्रिय समाचार समिति (रासस)
    भोजपुर, २६ असोजः पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन् । भौगोलिक रूपमा विकट मानिने यस वडामा स्थानीय तहको पहलमा घरघरमा बत्ती बलेको हो । वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तारको शून्य अवस्थाबाट सुरु गरिएको अभियान अहिले अन्तिम चरणमा पुगेको छ ।

    “दुई बस्तीका ११ घरमा मात्र बत्ती पुग्न बाँकी छ । ती घरमा पनि चाँडै जडान गरिने तयारी भइरहेको छ”, उनले भने । केही दुर्गम बस्तीमा पोल र तारको अभावमा विद्युत् विस्तारमा ढिलाइ भएको वडाध्यक्ष राईको भनाइ छ । बाँकी रहेका घरमा पनि विद्युत् विस्तार गरी वडालाई ‘पूर्ण उज्यालो वडा’ घोषणा गर्ने लक्ष्य राखिएको छ ।

    विद्युत् विस्तारसँगै वर्षौँदेखि टुकी र सोलारमा निर्भर रहँदै आएका स्थानीयले सहजता अनुभव गरेका छन् । “अब अँध्यारो हटेको छ”, स्थानीय हर्कराज राईले भने, “गाउँमै टेलिभिजन, इन्टरनेट चलाउन सकेका छौँ ।” अब सूचना तथा सञ्चारको पहुँच विस्तारसँगै गाउँलेले देशविदेशको खबर र सूचना सजिलै थाहा पाउने उनको भनाइ छ ।

  • जेनजी प्रतिनिधिको आह्वानः चुनावमा भाग लिऔँ

    जेनजी प्रतिनिधिको आह्वानः चुनावमा भाग लिऔँ

    काठमाडौँ, २५ असोजः जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गरेका हुन् । संसदीय अभ्यासमा रहेका पूराना दलहरु निर्वाचनमा भाग नलिए चुनाव नहुने अवस्था हुने भएकाले पनि घोषित निर्वाचनलाई सदुपयोग गर्नुपर्छ भन्ने आफूहरुको मान्यता रहेको बताए ।


    जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले निर्वाचनमार्फत जनप्रतिनिधिको चयन हुने हुँदा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्ने आफूहरुको चाहना रहेको बताए । “निर्वाचनमा सबै दलहरु आइदिनुहोस्, यो लोकतान्त्रिक प्रक्रिया हो, कसैले रोक्न सक्दैन, सबैले भाग लिन पाउनुहुन्छ, अधिकार छ, जनताले छाने भने जो तपाईं नै निर्वाचित हुनुहोला, निर्वाचनमार्फत नयाँ शक्ति पनि उदाउन सक्छ, निष्पक्ष प्रतिष्पर्धा हुन्छ सबैजना आउनुहोस्”, उनले भने । ढुङ्गानाले वर्तमान मन्त्रिपरिषद्मा सडक आन्दोलनलाई उचाइमा पु¥याउन योगदान दिनेलाई समावेश गर्नुपर्छ भन्ने आफूहरुको स्पष्ट धारणा रहेको बताए ।


    राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु र सरकारबीच आगामी निर्वाचनका बारेमा छलफल भएको थियो । उक्त छलफलमा राजनीतिक दलका तर्फबाट चुनावका लागि शान्ति सुरक्षालगायत उपयुक्त वातावरण हुनुपर्ने धारणा व्यक्त भएको थियो भने सरकारकातर्फबाट राजनीतिक दलहरुलाई चुनावमा भाग लिन आग्रह गरिएको थियो ।

  • रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु

    रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु

    रासस
    रसुवा, २५ असोजः स्याफ्रु(रसुवागढी खण्डमा करेन्ट लागेर आज एक जना स्काभेटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजु शाहले रसुवाको कालिका गाउँपालिका-३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।

    टिमुरे–तातोपानी खण्डको बालुवा खानी नजिक राजमार्ग सतहमा हिलोका कारण चक्का दबिएको मालबाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा स्काभेटरको बकेटले प्रवाह भइराखेको विद्युत् प्रसारण लाइनमा बकेटले छुँदा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरी प्रवक्ता शाहले बताए ।

    मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । उक्त स्काभेटर लामो समयदेखि टिमुरे क्षेत्रमा काम गरिरहेको स्थानीयले बताएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

    टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

    बारा, २४ असोजः लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । गोसाइँ असोज १९ गते आइतबार बिहान ८ः३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए । उनको सशस्त्र प्रहरी र नेपाली सेनाको गाताखोरले खोजतलास गरेको थियो । गोसाइँका साथमा हामफालेका २० वर्षीय अनुराग केशरवानी पौडेर नदी किनारमा आएका थिए ।

    इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार, नेपाली सेनाका लप्टन नीरज राईको कमान्डमा २३ जना, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजङ्ग थापाको नेतृत्वमा १० जना र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको कमान्डमा १० जना गरी ४३ जनाको टोली मोटरबोट र गोताखोरको सहयोगमा खोजीमा खटिएको छ ।

    सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा खोलाको एक किलोमिटर क्षेत्रमा तीव्र खोजबिन भइरहेको छ । खोजी दुधौरा खोलाको पुलदेखि फेटा गाउँपालिका–१ त्रिवेणीको झुलेङ्गे पुल, त्रिवेणीको नहर पुल, विश्रामपुर गाउँपालिका–५ नकटुवा हुँदै फेटा गाउँपालिका–२ चिलझपटीसम्म सञ्चालन गरिएको छ ।

  • सिरहामा गुडिरहेको बसबाट खसेर सह-चालकको मृत्यु

    सिरहा, २३ असोजः यहाँको धनगढीमाई नगरपालिका-९ स्थित जिरोमाइल नजिकै आज बिहान गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना ७ ख २६५ नं को यात्रुबाहक बसबाट खसेर लहान नगरपालिका—१ निवासी २१ वर्षीय सहचालक पवनकुमार यादव गम्भीर घाइते भएका थिए ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश पालका अनुसार बसको पछाडिको चक्काले किचिएर गम्भीर घाइते भएका सहचालक यादवलाई तत्कालै उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पु¥याइएको थियो । तर, मध्यान्ह १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    घटनालगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए ।

  • मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

    काठमाडौँ, २३ असोजः जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ ।

    आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

  • सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट

    सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट

    राष्ट्रिय समाचार समिति

    सिरहा, २२ असोजः यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका घरमा तोडफोड तथा लुटपाट भएको छ ।

    पीडितका अनुसार नाचगानका क्रममा केहीले मदिरा पनि सेवन गरेका थिए । यसैक्रममा केही दलित युवा र स्थानीय प्रभाषसिंह राजपुतबीच भनाभन भयो । सुरुमा सामान्य लागेको विवाद यत्तिकै सुल्झिएन । दलित परिवारमा बस्तीबाट उठाइदिने धम्की समेत आयो । धम्की आएपछि दलित परिवार सुरक्षा माग गर्दै इलाका प्रहरी कार्यालय, कल्याणपुर पुगेका थिए ।

    प्रहरीले विवाद समाधान गर्न यही असोज १२ मा छलफल राखेको थियो । तर त्यस दिन छलफल नभएपछि अर्को छलफल असोज २१ गतेका लागि तोकिएको थियो । उक्त छलफल हुनुअघि अर्थात् असोज १७ गते शुक्रबार दिउँसो करिब २ बजेतिर २०÷२५ जनाको समूहले दलित बस्ती तहसनहस पा¥यो ।

    उक्त समूहले पाँचवटा दलितका घरमा तोडफोड र लुटपाट गरेको पीडित सोभित पासमानले बताए । तोडफोड र लुटपाटको समयमा इलाका प्रहरी कार्यालय कल्याणपुरका केही प्रहरी घटनास्थलमै थिए, तर कसैले केही बोलेन । उनीहरुले रोक्ने प्रयास पनि गरेनन्, यसले हामीलाई थप भयभित बनायो”, उनले भने ।
    पीडितहरूका अनुसार, अशोक पासमानको घरबाट चार आना सुन र ३० तोला चाँदीका गहना, राजकुमार पासमानको घरबाट खाद्यान्न, रासलाल पासमानको घरबाट खाद्यान्नका साथै चार आना सुन, १० तोला चाँदीका गहना र रु १८ हजार र बिन्दे पासमानको घरबाट २० तोला चाँदी, दुई आना सुन र रु तीन हजार लुटिएको छ ।

    त्यस्तै, खाना पकाउने भाँडा, लत्ताकपडादेखि बगैंचाबाट आँप, अम्बा, केरा र कागतीका बोटमा पनि क्षति पु¥याइएको छ । पीडित राजकुमार पासमानका अनुसार पाँचवटा परिवारका ३० जनाको परिवार अहिले अलपत्र अवस्थामा छ । घटना भएको भोलिपल्ट प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्मा बस्तीमा पुगेका थिए । उनीहरुले स्थलगत अनुगमनपछि पीडित परिवारलाई त्रिपाल, कम्बल र झुल वितरण गरेका थिए ।


    १३ जनाविरुद्ध जाहेरी
    बस्तीमा भएको तोडफोड र लुटपाट प्रकरणमा वडाध्यक्ष रामकिशोर यादवसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ । पीडितहरूले इलाका प्रहरी कार्यालय मिर्चैयामा सोमबार आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएका हुन् । उनीहरूले वडाध्यक्ष यादव, प्रभास सिंह, कलास सिंह, रामनारायण सिंह, मुस्तफा राइन, गणेश कामतीलगायतका व्यक्तिविरुद्ध तोडफोड, लुटपाट र दुरुत्साहनको आरोप लगाएका छन् ।

    वडाध्यक्षसहति तीन जना पक्राउ
    प्रहरीले वडाध्यक्ष यादवलाई भिडलाई उक्साएको आरोपमा नियन्त्रणमा लिएको छ । यादवलाई गत शनिबार नै इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट पक्राउ गरी हिरासतमा राखिएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीले जाहेरीमा समेत नाम उल्लेख रहेका वडाध्यक्ष यादवसहित कामती र कलासलाई पक्राउ गरिसकेको र अन्यको खोजतलास र अनुसन्धान भइरहेको जानकारी दिए ।


    पीडित परिवारलाई नगरपालिकाको राहत
    पीडित परिवारलाई नगरपालिकाले सोमबार राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवका अनुसार, प्रतिपरिवार २५ किलो चामल, पाँच किलोका दरले दाल, चिउरा, मुरही, सोयाबिन, आलु, प्याज, आटालगायतका सामग्री उपलब्ध गराइएको छ ।
    पीडित परिवारको आवासका लागि समेत पहल भइरहेको जानकारी दिँदै कार्यबाहक नगर प्रमुख रेखादेवी यादवले भने, “उहाँहरूलाई तत्कालका लागि राहत दिएका छौं, आवासको व्यवस्थापनबारे नगरपालिकामा छलफल भइरहेको छ ।”

  • आलेखः एक वर्षमै थिलथिलियो बिपी राजमार्ग

    आलेखः एक वर्षमै थिलथिलियो बिपी राजमार्ग

    राजकुमार पराजुली\रासस
    काभ्रेपलाञ्चोक, २१ असोजः सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडक मार्ग हो बिपी राजमार्ग । गत वर्षको बाढी, पहिरोबाट क्षत्विक्षत बनेको राजमार्ग अस्थायी ढङ्गबाट निर्माण गरी यातायात सञ्चालन हुँदै आएकामा यही असोज १८ र १९ गतेको बाढीपहिरोले पुनःथिलथिलो बनेको छ । राजमार्गको मध्यक्षेत्र अर्थात् काभ्रेपलाञ्चोकतर्फको सडकखण्ड भत्किएर क्षत्विक्षत भएपछि हाल यस राजमार्गको सडक सम्पर्कविच्छेद भएको छ ।

    वर्षायाममा केही भागमा क्षति पु¥याए पनि अघिल्लो साताको अविरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाएको हो । यस वर्ष पनि असोजमै राजमार्गको विभिन्न सडकखण्डमा सडकको नामोनिसानै मेटिनेगरी, पैदलसमेत हिँड्न नसक्ने गरी बाढीपहिरोले तहसनहस बनाइदियो ।

    गत साल असोजमा क्षत्विक्षत राजमार्गमा अस्थायी सडक एवं डाइभर्सन बनाई सञ्चालन गरिए पनि स्थायी बनाउने प्रक्रियामै रहेकाबेला राजमार्ग पुनःथिलथिलो बनेको छ । डिभिजन सडक कार्यालय भक्तपुरको प्रारम्भिक अनुगमन निरीक्षणअनुसार बाढीले करिब चार किलोमिटर सडक बगाएको छ ।

    पुनःअस्थायी डाइभर्सन बनाउन काम थालिएको कार्यालयको इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेको बाढीले गत सालको बाढी पहिरोपछि बनाइएको डाइभर्सन पूर्ण रुपमा कटान गरेको छ । विसं २०७२ को विनाशकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा रहेका थिए । राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो राजमार्ग बनेको हो ।

    विसं २०७२ असार १८ गते औपचारिक रुपमा यो राजमार्ग जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । करिब २६ अर्ब जापानी येन बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग छोटो र सिधा जोड्को छ । यस राजमार्गको निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौं घुम्नुपर्ने झन्झट अन्त्य भएको थियो । गत वर्षको असोज १०, ११ र १२ गते परेको अबिरल वर्षाका कारण रोशी खोला बढीले बर्दिबासदेखि धुलिखेलसम्म १० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो । त्यसलाई अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको वर्ष दिन नपुग्दै यही असोज १७ र १८ मा वर्षाले पुनःक्षति गराएको हो ।

    सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ । तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई २०८१ र २०८२ सालको बाढी पहिरोले थप क्षतिग्रस्त बनाएको हो । राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् । वर्षा भएकाबेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो सडक बन्द हुने अवस्था निम्तिएको छ ।

    गत सालको वर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले क्षति पुर्‍याएको थियो । विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो । गतसाल राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक तर्फको नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्ण रुपमा बगाएका थियो । गत सालको बर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत बैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको थियो ।

    यही असोज १७ गते रातिदेखि निरन्तर परेको वर्षाले उक्त राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डमा धेरै क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । इञ्जिनियर अधिकारीका अनुसार बिपी राजमार्गअन्तर्गत यस सडकखण्डको १७ स्थानमा रोशी खोलाले क्षति पुर्‍याएको छ भने राजमागको चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेंसी, घुमाउनेलगायतका स्थानमा निकै नै जोखिम रहेको छ । यी स्थानमा अब शून्यबाटै फेरि मर्मत सुरु गर्नुपर्ने अधिकारीको भनाइ छ । अस्थायी रुपमा मर्मतगरी सकेसम्म छिट्टै यातायात सञ्चालन गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । हिजो सोमबारदेखि नै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमा क्षेत्र चौकीडाँडाबाट मर्मत कार्यको थालनी गरिएको छ ।

    कार्यालयका अनुसार रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरी ट्र्याक बनाउन सुरु गरिएको हो । नेपालथोकदेखि सिन्धुलीतर्फ बर्खेखोलासम्म करिब ६०० मिटर रोशी खोलाले बगाएको छ । ट्र्याक खुलेपछि काभ्रेपलाञ्चोकको माम्तीसम्म यातायात सञ्चालन हुनेछ । कार्यालयका अनुसार हाल ११० किलोमिटर सडकमा यातायात सञ्चालन रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको छ ।

    कार्यालयले गत साल असोजको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी यस वर्ष प्रक्रिया अघि बढाइएको थियो । त्यतिबेला बाढीपहिरोले आठ किलोमिटर सडक पुरै बगाएको थियो ।

    क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार हाललाई अस्थायी सडक बनाएर सञ्चालनमा ल्याउने योजना अघि बढाइएको हो । “स्थायी पुनःनिर्माणबारे त्यसपछि के गर्ने भन्ने विषयमा मन्त्रालय र विभागको निर्णयअनुसार अघि बढिनेछ”, योगशेले भन्नुभयो ।

    यस राजमार्ग दुई वर्षमा पुनर्निर्माणका लागि हाल काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको थियो । स्थायी निर्माणको काम भने मनसुन बाहिरिएपछि मात्र सुरु हुने जनाइएको थियो । क्षतिग्रस्त राजमार्गको पाँच किमी सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका०ले काम गर्नेछ । जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३ दशमलव २ किमी सडक निर्माण गर्ने छ । त्यसका लागि फाइनल सर्भेको काम सकिएको र ठेक्का सम्झौताको चरणमा रहेको योगेशले बताउनुभयो । बाँकी सिन्धुलीतर्फको एक सडकखण्ड र काभ्रेपलाञ्चोकतर्फको दुई सडकखण्डमा ठेक्का सम्झौताको तयारी भइरहेको उहाँको भनाइ छ ।

    यस्तै, क्षतिग्रस्त राजमार्ग स्थायी पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहज रुपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्र भएको र अर्को रोशी खोलामा बाढी आउँदा बाढीले खोल्नसक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ । कार्यालयले पहिलो चरणमा भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ ।

    यस राजमार्गमा जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा यही असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको थियो । त्यसअघि राजमार्गमा साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म १२ घण्टा राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउँदै आइएको थियो । पुनःमनसुन सक्रिय रहने भएपछि असोज १६ गतेदेखि रातको समयमा १२ घण्डा रोक लगाइए पनि असोज १८ र १९ गतेको बाढीपहिरोले यस राजमार्गको सडक सम्पर्कबिच्छेद पारिदिएको छ ।

    दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने यस राजमार्गमा चाडबाडका बखत तेब्बर सवारीसाधन ओहोरदोहोर गर्छन् । यस राजमार्ग हाल इन्टरमिडियट लेनको छ भने अब दुई लेनको निर्माण हुने भएको हो । सरकारले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट सडकखण्डलाई रु एक अर्ब उपलब्ध गराएको थियो । त्यसो त जाइकाको प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारीसाधन सञ्चालन गर्दै आइरहेका छन् । बिपी राजमार्गमा टिपरले २५ टनसम्म गिटीबालुवा लिएर निर्वाध रुपमा सञ्चालन हुने गरे पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

    बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकका रुपमा यस सडकमा सञ्चालन हुने टिपर पनि रहेका छन् । दैनिक यस सडकमा छ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी लोड लिएर सञ्चालन भइरहेका छन् । सङ्गठित रुपमा टिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बिपी राजमार्गको संरचनालाई जोखिममा पार्दै आए छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना ठूला गरी दैनिक तीन हजार बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकांश साना सवारीसाधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् । यस सडकमा टिपर, मिनीबस, टाटासुमो र माइक्रोबस बढी सञ्चालन हुने गरेका छन् ।

  • वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

    वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

    काठमाडौँ, २० असोजः केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ ।

    उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो । मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत गाह्रो हुने अवस्था थियो । आइतबार बिहानदेखि मौसममा सुधार आएपछि काठमाडौँका सडकमा गाडीको चाप बढेको छभने सर्वसाधारणको चहलपहल पनि पुनः बढेको छ ।

    शुक्रबारदेखि परेको लगातारको वर्षाले केही दिन काठमाडौँको सडक नेटवर्क प्रभावित भए पनि हाल काठमाडौँका सबै प्रमुख सडक सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी र्दिए । उनले भने, “शुक्रबारदेखि परेको वर्षाका कारण यहाँको जनजीवन केही असमान्य बनेको थियो, आइतबारदेखि मौसममा सुधार आएको छ, सडकमा गाडीको चाप पनि सामान्य अवस्थामा फर्किएको देखिन्छ ।”

    काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने नाकासहित नागढुङ्गा, अरनिको राजमार्ग, टोखा सडकखण्डलगायतका मार्ग नियमित सञ्चालन भइसकेका तथा पहिरोको अवरोधका कारण रोकिएका केही सवारीसाधन आवागमन पनि अहिले सञ्चालनमा आइसकेका प्रवक्ता सुवेदीले बताए । वर्षा रोकिएसँगै काठमाडौँका बजार क्षेत्रमा पनि मानिसहरुको भीड देखिन थालेको छ । अहिले दैनिक उपभोग्य लगायतका सामग्री किनमेल गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । असन, इन्द्रचोक, न्युरोड, पुरानो बानेश्वर, गोङ्गबुलगायतका व्यापारिक क्षेत्रमा उपभोक्ताको उपस्थिति बढ्दै गएको व्यवसायीले बताएका छन् ।

    वर्षाका कारण जनजीवन असमान्य भएको काठमाडौँमा अहिले वर्षा रोकिएर घाम लागेपछि स्थानीय र व्यवसायीहरुले राहतको महसुस गरेका पुरानो बानेश्वरस्थित फेन्सी पसल सञ्चालक सरिता थापाले बताए । उनले भने, “शनिबारसम्म यहाँका सडकमा हिँड्नै सक्ने अवस्था थिएन, आइतबारसम्म जताततै पानी जमेको अवस्था थियो, आज मौसम खुलेर घाम लागेकाले निकै सहज भएको छ ।”

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जनाएको छ । यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराईका भू–भागका स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

  • आजको मौसम : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने

    आजको मौसम : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने

    काठमाडौँ, २० असोजः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन \चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाल जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा पछिल्लो एक सातामा बाढी र पहिरोका कारण अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ ।

  • भारी वर्षाका कारण रौतहटका विभिन्न गाउँ डुबानमा

    भारी वर्षाका कारण रौतहटका विभिन्न गाउँ डुबानमा

    चन्द्रपुर (रौतहट)

    २० असोज । भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ । वर्षाका कारण गाउँ जलमग्न छ । रौतहटको राजपुर नगरपालिका–२ मा रहेको महेशपुर गाउँका करिब ५० वटा घरमा पानी परेको वडाध्यक्ष सोनालाल पण्डित कुम्हरले जानकारी दिए । भारी वर्षाका कारण वडाका तीन सयभन्दा बढी घरमा क्षति पुगेको उनको भनाइ छ ।

    पानीले धानबालीमा पनि क्षति पुगेको उनले बताए । विभागका अनुसार सदरमुकाम गौरमा पनि ३१५.० मिलिमिटर वर्षा भएको छ । सदरमुकाम पनि डुबानमा परेको छ । रौतहटकै गरुडा केन्द्रमा पनि ३०४ मिलिलिटर वर्षा भएको उनको भनाइ छ । उनका अनुसार गरुडाको गेडहीगुठीलगायतका गाउँ बाढीले जलमग्न छन् ।

    अविरल पानी परेसँगै बागमती, लालबकैया, झाझसहितका नदीमा आएको बाढीका कारण आसपासका अधिकांश भूभाग डुबानमा परेका छन् । झाझ नदीमा आएको बाढीका कारण गौर गङ्गापिपरा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीबाट दुर्गा भगवती गाउँपालिकाको पाँच वटै वडाका २५ प्रतिशत घरमा क्षति पुगेको उक्त गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले बताए । दुर्गा गाउँपालिकामा पनि बाढीका कारण क्षति पुगेको उनको भनाइ छ ।


    राजपुर नगरपालिका–३ स्थित हुलाकी राजमार्गमा लालबकैया नदीमा आएको बाढीका कारण उक्त क्षेत्रमा पर्ने सडकमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । गुजरा नगररपालिका–८ स्थित लमहा खोलामा पानीको सतह बढ्दा बालचनपुर जङ्गलसैया भित्री सडक बन्द रहेको नगर प्रमुख शन्तलाल चौधरीले बताए ।

    वडा नं ९ अमतवास्थित प्रतीक टोलमा अविरल वर्षाका कारण १० वटा घरमा पानी पसेको छ । वृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगरमा बसोबास गर्दै आएका १२८ परिवारलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

  • काठमाडौँ महानगरद्वारा बाढी प्रभावित क्षेत्रमा सफाइ सुरु

    काठमाडौँ महानगरद्वारा बाढी प्रभावित क्षेत्रमा सफाइ सुरु

    काठमाडौँ, १९ असोजः काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा सरसफाइ सुरु गरेको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण प्रभावित बल्खु, टेकु, विष्णुमती करिडोरलगायत क्षेत्रमा नगर प्रहरी र सफाइकर्मीको सहायताले सफाइ तथा हिलो व्यवस्थापनको काम भइरहेको महानगरले जनाएको छ ।

    नगर प्रहरी बलका नायब उपरीक्षक मीनबहादुर थापाका अनुसार आज बिहानदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका एक सय जना कामदार, तीन वटा जेसिभी, तीन वटा जेट मेसिन र डम्पर प्रयोग गरी प्रभावित क्षेत्रमा काम भएको छ ।

    बल्खु तरकारी बजार, साझा पेट्रोल पम्प अगाडि, टेकु दोभान, बङ्सीघाट, च्यासल, शङ्खमूल, नरेफाटको लालीगुराँस चोक तथा विष्णुमती कोरिडोर क्षेत्रमा विशेष रूपमा बाढीजन्य सफाइको काम गरिएको थापाले जानकारी दिए । बङ्सीघाट र टेकु दोभान क्षेत्रमा अत्यधिक हिलोका कारण मेसिनले समेत काम गर्न नसक्दा आजको काम अधुरो रहेको उनले बताए ।


    “हिलो पूरै पानी पानी भएको छ । साबेलले निकाल्न र मेसिनले समेत सोहोर्न नसक्ने अवस्था छ । त्यसैले आज केही ठाउँमा काम गर्न सकिएको छैन । घाम लागेमा भोलिदेखि बाँकी रहेका सबै काम गर्ने तयारी छ”, थापाले भने ।

  • इलाम पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ३७, सबैको सनाखत

    इलाम पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ३७, सबैको सनाखत

    १९ असोज, फिक्कल । इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिउ ।
    पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका–६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा थेवे, माईजोगमाई–३ का ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृती सोङमी रहेका छन् ।


    यस्तै, फाकफोकथुम गाउँपालिका–३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका–१ की ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रस्मिका क्षेत्री, इलाम नगरपालिका–६ का २३ वर्षीय समिर देउजाली, प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङले पहिरोमा परी ज्यान गुमाएका छन् ।

    यस्तै, देउमाई नगरपालिका–५ का २२ वर्षीय रोशन लिम्बू, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बू, २७ वर्षीया ऋषिका लिम्बू, १० वर्षीया दिपिस्का लिम्बू, देउमाई–३ का २८ वर्षीय कृष्ण मगर र माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिखा मगरको ज्यान गएको छ । पहिरोमा परी माङसेबुङ गाउँपालिका–१ का ५७ वर्षीया कृष्णमाया लिम्बू र ५० वर्षीया माया लिम्बू, सन्दकपुर गाउँपालिका–१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेढाईं र ४८ वर्षीया तारादेवी राईको ज्यान गएको छ ।

    पहिरोमा विभिन्न कामले इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा झापाको अर्जुनधारा नगरपालिका–६ की ३२ वर्षीया अनु तामाङ र ती वर्षीय आवास दनुवार, पाँचथरको फाक्तेपका नौ वर्षीय सौजन लिम्बू र ११ वर्षीय सौगात लिम्बू र मिक्लाजुङ गाउँपालिका–६ की १७ वर्षीया नेहा राई रहेका छन् । यस्तै, दोलखा घर भएका ४५ वर्षीय दीप बस्नेत, ४४ वर्षीया भवानी बस्नेत र १२ वर्षीया दिव्या बस्नेतको मृत्यु भएको छ ।

    यस्तै, इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू पहिरोमा बेपत्ता भएका र उनको खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको पनि उनले जानकारी दिए । “सबैतिरबाट क्षतिको विवरण आउने क्रम जारी छ”, कोइरालाले भने, “सडक अवरुद्ध, विद्युत् र इन्टरनेटमा समस्याका कारण केही असहज छ, तथापि हामी लागिरहेका छौँ ।”

  • रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका

    रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका

    १९ असोज, भादगाउँ । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ । गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरुमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्षीया सनिता श्रेष्ठ रहेका छन् ।

    संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लच्छुराम न्यौपानले जानकारी दिए । उनीहरु रामेछापबाट बसाइँसराइ गरेर दधिकोटमा बसोबास गर्दै आएको न्यौपानले बताए । उनीहरुको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए ।


    बेपत्ताहरुको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्यका लागि अनुरोध गरिएको उनले बताए । यसअघि संस्कृति, किशन र सनिता मध्यपुरथिमिमा बस्ने भनि समाचार सार्वजनिक भएको थियो । लाङटाङ जाने क्रममा मध्यपुरथिमि शङ्खधरचोकबाट गाडी चढेकाले रोज कर्माचार्यले उनीहरु थिमिको भएको प्रहरीलाई जानकारी गराएका कारण उनीहरु थिमिको भएको समाचार सार्वजनिक भएको थियो ।

  • अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

    अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

    चितवन, १९ असोजः अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ ।
    शनिबार साँझ ६ः०० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको सडकमा सवारी साधान आवागमन बन्द गरिएको थियो । जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको सडकमा ठाउँठाउँमा पहिरोसँगै ढुङ्गा झरेको छ । ती ढुङ्गा र साना पहिरोहरु पन्छाएर अत्यावश्यक हलुका सवारीसाधन गन्तव्यतर्फ पठाइएको हो ।

    शुक्रबार साँझदेखि परेको वर्षातले सडकमा पहिरोको जोखिम रहेकाले लामो दूरीका सवारीसाधन रोकिएका छन् । उहाँका अनुसार काठमाडौँ जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारी रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिनटार र मुग्लिन, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस ट्रमिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारीसाधन रोकिएको छ ।

    धादिङ, तनहुँलगायतका जिल्लाहरुमा समेत पहिरो एवं ढुङ्गा खसेर सडक अवरोध भएको उनले जानकारी दिए । सडकको अवरोध नहट्दासम्म र मौसमको प्रतिकुलताअनुसार जिल्लाका विभिन्न विभिन्न स्थानमा रहेका ‘होल्डिङ सेन्टर’मा रहेका सवारीसाधनलाई यथास्थानमा रहनसमेत प्रहरीले आग्रह गरेको छ । अवस्था हेरेर ती साधन पार गराइने उनले जानकारी दिए ।

  • अविरल वर्षाका कारण देशभरका छ सडकमा आवागमन रोकियो

    अविरल वर्षाका कारण देशभरका छ सडकमा आवागमन रोकियो

    काठमाडौँ, १८ असोजः शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ ।
    पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवतजावत प्रभावित भएको छ भने कान्तिलोकपथ ललितपुरको बागमती गाउँपालिका–३ टाकुचेमा खसेको पहिरोले आवात–जावत बन्द छ ।

    यसैगरी फर्पिङ–सस्नेरी अन्तरगत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोलामाथिबाट पहिरो खसेकाले आवागमन बन्द गरिएको छ । बिपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला र बुलढुङ्गामा खसेको पहिरोका कारण सवारी आवागमन बन्द भएको छ ।

    यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिएको र धुलिखेल खावामा र ५४ किलोमा पहिरोका कारण आवतजावत पूर्ण रूपमा बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ ।

    यसैगरी, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुलमा पहिरो जाँदा आवतजावत बन्द भएको प्रवक्ता सुवेदीले बताउनुभयो । प्रहरी प्रशासनले नागरिकलाई आवश्यक कामबाहेक पहिरो सम्भावित स्थानमा यात्रा नगर्न, सुरक्षित र वैकल्पिक मार्गको प्रयोग गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

  • राजमार्गमा रोकिएका सवारीलाई गन्तव्यसम्म पुर्‍याउन गृह मन्त्रालयको निर्देशन

    राजमार्गमा रोकिएका सवारीलाई गन्तव्यसम्म पुर्‍याउन गृह मन्त्रालयको निर्देशन

    काठमाडौँ, १८ असोजः गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पु¥याउने गरी सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

    मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई आज पत्राचार गरी आवश्यकताअनुसार यात्रुलाई स्थानीय तह तथा सङ्घ संस्थासँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित गन्तव्यसम्म पुर्‍याउन, बाटोमा अलपत्र परेका गर्भवती महिलालाई नजिकको ‘बर्थिङ सेन्टर’सम्म पुर्‍याउन व्यवस्था मिलाउनका लागि पनि निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

    बाढी पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । मौसमका कारण उडान स्थगित भई विमानस्थलबाट फर्केका यात्रुलाई यातायात व्यवसायीसँगको समन्वयमा आवश्यक परिवहनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको मन्त्रालयका उपसचिव निशानराज गौतमले जानकारी दिए । बाढी पहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देश गरिएको पनि उनले सुनाए ।


    प्रतिकूल मौसमलाई मध्यनजर गर्दै वर्षातका कारण बाढीपहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई २४ सै घण्टा कार्यालयमा उपस्थित हुने व्यवस्थाका लागि परिपत्र गरिएको छ । बाढी, पहिरोका सन्दर्भमा गरिएका कामको प्रगति विवरण विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउन पनि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशित गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी भएको सूचनाअनुसार लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने÷बाहिरिने सवारीसाधनको आवतजावत आजदेखि असोज २० गते सोमबारसम्म बन्द गर्न÷गराउन पनि मन्त्रालयले पत्राचार गरेको छ । त्यसको अनुगमन र निगरानी गर्न निर्देशन दिइएको छ ।

    जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आजदेखि असोज २० सम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले यस्तो निर्देशन गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । विभागको पूर्वानुमानअनुसार हाल देशभर वर्षा भइरहेकाले मनसुनजन्य विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आह्वान गरेको जनाइएको छ ।

  • राज्यका सबै स्रोत नागरिकलाई जोखिमबाट बचाउनका लागि प्रयोग गर्छौंः प्रधानमन्त्री कार्की

    राज्यका सबै स्रोत नागरिकलाई जोखिमबाट बचाउनका लागि प्रयोग गर्छौंः प्रधानमन्त्री कार्की

    काठमाडौँ, १८ असोजः प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताएकी छिन् । देशवासीका नाममा आज एक भिडियो सन्देश जारी गर्दै उनले असोज १७ गते बेलुकीदेखि निरन्तर देशभर भारी वर्षा भइरहेकाले राज्यका सबै निकाय परिचालन गरिएको र आवश्यक सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहनसमेत आग्रह गरिन्
    प्रधानमन्त्री कार्कीले जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने भएकाले सुरक्षित र सावधानीपूर्वक रहन देशवासीलाई अपिल गरेकी हुन् ।

    “हामी बाढीपहिरो र कटानको उच्च जोखिममा छौँ, धेरै स्थानमा पहिरोको जोखिम छ । सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागिपरेका छन् । राजमार्ग र अन्य पूर्वाधारको सक्रियतापूर्वक निगरानी भइरहेकाले जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुस्, अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्, आवतजावत नगर्नुस्, सवारी नचलाउनुस्, जोखिमको पूर्वआकलन गरेर सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र काम गर्नुस्”, उनले भनिन् । प्रधानमन्त्री कार्कीले जोखिमकै कारण सरकारले आइतबार र सोमबार सरकारले देशभर सार्वजनिक बिदा दिएको पनि उल्लेख गर्दै प्रहरी र अन्य सरकारी निकायले जारी गरेका सूचनाअनुसार नै काम गर्न सबैलाई अनुरोध गरिन् ।

  • काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’

    काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’


    काठमाडौँ, १७ असोज । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र कतिपय स्थानमा अतिभारी वर्षा हुन सक्ने प्रक्षेपण गरेसँगै सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ देखिनै काठमाडौँका जोखिमयुक्त स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरेको छ ।

    सम्भावित मनसुनजन्य विपदलाई मध्यनजर गर्दै चोभार, बल्खु, बालाजु, माछापोखरी र बनस्थलीलगायत स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बलले खोला किनार तथा डुबान हुन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस इलाकाका बासिन्दालाई सुरक्षित रहन र तत्काल उद्धार आवश्यक परेमा १११४ मा तत्काल फोन गर्न समेत आग्रह गरेको हो ।

    यसैबीच, सशस्त्र प्रहरीले सम्भावित जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यका लागि देशभरका युनिटलाई आवश्यक श्रोत साधनसहित तयारी अवस्थामा राखेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटलाई विपद् पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको सहप्रवक्ता थापाले जानकारी दिए ।
    विपद्को अवस्थालाई मध्यजनर राख्दै सशस्त्र प्रहरीका गोताखोर, विपद् उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, एम्बुलेन्सलगायत उपकरण तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    विपद् पूर्वतयारी र प्रतिकार्यबारे गृहमन्त्रीको चासो

    यसैबीच, आजै गृहमन्त्री ओमप्रकाश अर्यालले सशस्त्र प्रहरी बलको उपत्यकास्थित इकाईको विपद् प्रतिकार्य पूर्वतयारी एवं परिचालनसम्बन्धी जानकारी लिए । सो अवसरमा कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल तथा उपत्यका स्थित युनिटका कमाण्डरहरुले विपद पूर्वतयारीबारे गृहमन्त्रीलाई जानकारी गराउनुभएको सहप्रवक्ता थापाले जानकारी दिए ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    १७ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग र मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

  • झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु–१३ घाइते

    झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु–१३ घाइते

    १६ असोज, बनियानी । बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

    विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    घाइेत सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरकेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताए । दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ ।

  • ढिस्कोले पुरिएर चार जनाको मृत्यु

    ढिस्कोले पुरिएर चार जनाको मृत्यु

    १५ असोज, बरहथवा । जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए ।

    ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएका थिए । अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका उनले बताए ।

  • सुनसान प्रायः छ काठमाडौँ

    सुनसान प्रायः छ काठमाडौँ

    १५ असोज, काठमाडौं । हाल काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ । उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किएका छन् । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ ।

    सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान बन्दै गएको छ । ग्रामीण बस्ती भने जीवन्त र रमाइलो हुँदै गएका छन् । विगतमा निकै सवारी चाप हुने काठमाडौँका मुख्य सडकमा हाल सवारी चाप घटेको र उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीको भनाइले पनि यसलाई पुष्टि गर्छ ।

    उनले भने, “दसैँका बेला धेरैजसो मानिस गाउँ फर्किसकेका छन्, त्यसैले सडक विगतमा भन्दा खाली भएका छन्, तर ट्राफिक सुरक्षाको दृष्टिले हामी अझै पनि उच्च सतर्कतामा छौँ ।” गाउँघरमा भने दसैँको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेको छ । घरआँगनमा टिका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्बिर सामाजिक सञ्जालमा प्रशस्तमात्रामा देखिन थालेका छन् ।

    परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुनःभेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन् । दसैँको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्रायः गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन् ।

    दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँबाट गाउँ फर्किनेको भीड तीव्र रुपमा बढेको थियो । घटस्थापनादेखि मङ्गलबारसम्म आठ दिनको अवधिमा मात्रै पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

  • महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

    महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

    १५ असोज, मध्यविन्दु । यहाँको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।
    यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो ।

    गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले जानकारी दिए । “असोज ६ गतेदेखि खसीबोका सङ्कलन र बिक्री सुरु गरेका थियौँ । हालसम्म ३५० वटा खसीबोका बिक्री गरेका छौँ”, उनले भनिन्, “प्रतिकिलो ज्युँदो सरदर रु ५७० सम्म बिक्री गरिएको छ ।”

    संस्थामार्फत वर्षभरि नै खसीबोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्वलाई लक्षित गरी बढी सङ्ख्यामा बिक्री भएको हो । “गत वर्षको दसैँमा १५ सय खसीबोका बिक्री गरिएको थियो, त्यसबापत करिब रु दुई करोड ५० लाखको कारोबार भएको थियो”, परियारले भनिन्, “यस वर्ष भने पहिलेजति बिक्री भएन । दसैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौँ ।”

    गाउँमा उत्पादित खसीबोका बजारसम्म पुर्‍याउनका लागि सहकारीले विगत ११ वर्षदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ । कृषकहरूले भनेको समयमा बिक्री गर्न र उत्पादनअनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषिउपजको बजारीकरण गर्दै आएको छ ।

    यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण गरिँदा आम्दानी र कारोबारमा सहज भएपछि स्थानीय कृषकहरू खुसी भएका छन् । पहिले व्यापारीले भनेअनुसार बिक्री गर्ने बाध्यता रहेकामा केही वषृदेखि सहकारीमार्फत बिक्री गर्दा बजारको चिन्ता नभएको र बजारमूल्य पनि पाएको कृषक शर्मिला विश्वकर्माको भनाइ छ । “सहकारीले घरमै आएर खसीबोका जोखेर खरिद गर्ने हुँदा बिचौलियाबाट ठगिने समस्यासमेत हटेको छ”, उनले भनिन् ।


    यहाँ शेयर सदस्यबाहेक अन्य कृषकहरूको पनि खसी बोका खरिद गर्ने गरिएको छ । ठूला व्यापारीदेखि स्थानीयसमेत खसीबोका लिन सहकारीमा आउने गरेका छन् । हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रापालक कृषकहरूको सङ्ख्या उल्लेख्य रहेकाले यहाँबाट बर्सेनि सयौँ खसीबोका काठमाडौँ, पोखरालगायत सहरमा निर्यात गर्ने गरिएको छ । यहाँका बाख्रापालन गर्ने कतिपय महिलाहरूले विदेश गएका श्रीमान्ले भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

  • राँगा काट्ने क्रममा आफ्नै खुट्टा ग्रेण्डर मेसिनले खुट्टा काटिएर एक जनाको मृत्यु

    राँगा काट्ने क्रममा आफ्नै खुट्टा ग्रेण्डर मेसिनले खुट्टा काटिएर एक जनाको मृत्यु

    १४ असोज, सुरुङ्गा । ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए ।

    तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उनी घाइते भएका थिए । घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज ल्याइए पनि उनको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिइन् ।