१३ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ । नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई जानकारी दिए । उनले भने, “बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आएको छ । क्षतिको विवरण सङ्कलन हुँदै छ ।”
Category: स्थानीय
-

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
१३ असोज, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । घटनामा २४ जना घाइते भएका छन् । सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं। को सो जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए । उनका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका।–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसिले बताए । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ । दुर्घटना रातको दुई बजे भएको स्थानीयले बताएका छन् ।
-

ओलीसहितका नेतालाई विदेश जान रोक लगाएकोमा एमालेको आपत्ति
१२ असोज, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकार राजनीतिक प्रतिशोधको बाटोमा अगाडी बढेको निष्कर्ष निकालेको छ । आइतबार सम्पन्न पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्न नहुने निष्कर्ष निकालेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले राजनीतिक दलसँग वर्तमान सरकारले कुनै समन्वय नगरी निषेध गर्न खोजेको ठहर गरेको बताए ।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जनामाथि काठमाडौँ उपत्यका छोड्न र विदेश जान नपाउने गरी सरकारले गरेको निर्णयप्रति बैठकले आपत्ति जनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले दसैँलगत्तै असोज १९ र २० गते पुनः सचिवालय बैठक बसेर थप छलफल गर्ने र असोज २७–२९ मा केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको पनि उनले बताए । -

‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिने
१२ असोज, काठमाडौैं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल काम अगाडि बढाउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक समितिको वर्गीकरणपश्चात् त्यस आधारमा घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयमार्फत परिचयपत्रको व्यवस्था गर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घाइतेको पुनःउपचार (फलो अप)का लागि अस्पताल तोक्ने र ती अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ ।पुनःउपचारमा जाने घाइतेलाई निःशुल्क आवतजावत तथा घाइतेको उपचारमा सहजीकरण गर्न स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था र सम्पर्क व्यक्ति तोक्ने निर्णयसमेत गरिएको प्रवक्ता खरेलले जानकारी दिए । मन्त्रिपरिषद्ले मुग्लिन–पोखरा सडकअन्तर्गत चितवनको मुग्लिनदेखि तनहुँको आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजार पारी गोरखातर्फदेखि मस्र्याङ्दी विद्युत् गृहको विपरित गोरखा तर्फसम्म थप सडकको रेखाङ्कन स्वीकृत गरेको छ । उक्त सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५÷१५ मिटर गरी ३० मिटर सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ ।
बैठकले आगामी कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तरराष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौँ बैठकमा सहभागिताका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई स्वीकृति दिएको छ । यसैगरी प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णयसमेत गरिएको मन्त्री खरेलले बताए ।
-

चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन
१२ असोज, काठमाडौं । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
“भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्तिसुरक्षा अमनचयन कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षाको प्रबन्ध गरेका छौँ । सम्भावित जोखिम क्षेत्रसमेत पहिचान गरी विशेष निगरानी बढाइएको छ”, उजले भने । प्रवक्ता घिमिरेका अनुसार आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिने छभने सादा पोसाकमा प्रहरी परिचालन हुनेछन् । काठमाडौँ उपत्यकामा मात्रै छ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकताअनुसार थप जनशक्ति परिचालन हुने गरी तयारी गरिएको छ ।
मुख्यगरी सवारीसाधनको आवागमन सहज बनाउने तथा चाडपर्वमा हुने भेला, जमघटमा मदिरा खाएर होहल्ला, झगडा गर्ने तथा चोरी तस्करीलगायत आपराधिक घटना बढी हुने भएकाले त्यसतर्फ विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ । यस्तै, कालोबजारी र तोकिएभन्दा बढी सावारी भाडा लिनेलगायत गतिविधिको पनि निगरानी भइरहेको प्रहरीले जनाएको छ ।
-

‘इभी’ सवारी दुर्घटनामा १७ जना घाइते
१२ असोज, काँक्रेविहार । नेपालगञ्जबाट सुर्खेत आइरहेको कप्र०२००१ख ११२९ नम्बरका इभी गाडी आज बिहान वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुर्खेत बराहताल गाउँपालिका–४ का ३८ वर्षीय हरि मल्ल सहित जुम्ला चन्दननाथ नगरपालिका–१ का १८ वर्षीय दीपेन्द्र दमाई, जुम्ला सिंजा गाउँपालिका–५ का २८ वर्षीय महेन्द्र शाही, वीरेन्द्रनगर नगरपालिका–३ का ३८ वर्षीय लालबहादुर शाही, २७ वर्षीया लक्ष्मी कठायत, वीरेन्द्रनगर–११ का ३८ वर्षीय नरेश शाही घाइते भएका छन् ।
त्यसैगरी, अन्य घाइतेहरूमा लेकबेँसी नगरपालिका–६ का ३५ वर्षीय पर्शुराम घर्तीमगर, दैलेख दुल्लु नगरपालिका–६ का २३ वर्षीय शम्सेर खड्का, दुल्लु–११ कै ३० वर्षीया लक्ष्माण कार्की, जुम्ला सिंजा गाउँपालिका–३ का २४ वर्षीया राज्यलक्ष्मी हमाल, दैलेख दुल्लु नगरपालिका–१० का २६ वर्षीय गणेश योगी, कालीकोट पचाल झरना गाउँपालिका–३ का २२ वर्षीय रोशन विक, जुम्ला सिंजा गाउँपालिका–४ का २२ वर्षीय ऐन रोकाय, १६ वर्षीया रक्षा धिताल, वडा नं ५ की २२ वर्षीय विष्णु शाही, मुगु सोरु गाउँपालिका–९ का ३२ वर्षीय दिनेश शाही, जुम्ला चन्दननाथ –१ का २१ वर्षीय श्री परियार घाइते प्रहरी उपरीक्षक रिमालले जानकारी दिए । घाइते सबैको उपचार भइरहेको छ ।
-

कपुरकोटमा माइक्रोबस दुर्घटनाः तीनजनाको मृत्यु
१२ असोज, दाङ । रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आइरहेको यात्रुवाहक माइक्रोबस (हाइस) दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए ।
आज बिहान लु२ख ६५०२ नम्बरको सो माइक्रोबस कपुरकोट–३ चोरखोलामा दुर्घटना भएको थियो ।दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा रुकुमपश्चिम बाँफिकोट गाउँपालिकाका ४७ वर्षीय खगेन्द्र केसी र सोही ठाउँका ३६ वर्षीय डिना केसी छन् । घाइतेहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पातल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहपुरमा लगिएको छ । गाडी सडकदेखि तीन सय मिटर तल खसेको छ ।
-

सर्लाहीमा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
११ असोज, बरहथवा । सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छभने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको हो भने २३ वर्षका शिवशङ्कर पण्डित गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।घाइते पण्डितको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको एमएच ०४ डिजे १२९७ भारतीय नम्बर भएको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको तीन जना सवार ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र पण्डितलाई रामजानकी अस्पताल जनकपुर पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ । घटनालगत्तै फरार स्कारपियो चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।
-

विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान
रासस
११ असोज, काभ्रेपलाञ्चोक । विसं २०८१ असोजको विपद्मा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ । जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पीडितहरूलाई पहिलो किस्ताबापत रु सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको हो ।दोस्रो किस्ताका लागि कार्यालयको खातामा निकासा भएको करिब रु चार करोड भने अधिकांश स्थानीय तहले माग नगर्दा थन्किएको अवस्थामा रहेको छ । दुई तहले मात्रै दोस्रो किस्ताको रकम कार्यालयसँग माग गरी पीडितलाई वितरण गरेको जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार हालसम्म बेथानचोक र रोशी गाउँपालिकाले दोस्रो किस्तावापतको रकम लगेका हुन् ।
सरकारले पहिलो किस्तामा रु २५ हजार र दोस्रो किस्तामा रु २५ हजार गरी प्रतिघरपरिवार अस्थायी आवास निर्माणार्थ रु ५० हजार उपलब्ध गराउने गरी कार्यविधि तयार गरेको थियो । कार्यालयका अनुसार दोस्रो किस्ताको रकम बेथान्चोकले १९६ र रोशी गाउँपालिकाले ले ४६१ र घरपरिवारलाई रु एक करोड ६४ लाख २५ हजार उपलब्ध गराइएको हो ।
पहिलो किस्ताबापतको अनुदान पाउनेमा धुलिखेल नगरमा ९०, बनेपामा ४१, पनौतीमा ६३४, पाँचखालमा, ८८, मण्डनदेउपुरमा १३३, नमोबुद्धमा ८८४ परिवार रहेका छन् । यस्तै चौँरीदेउराली गाउँपालिकामा २८०, खानीखोलामा ५३, रोशीमा ५४८, भुम्लुमा ४०, तेमालका १४१, बेथानचोकमा २३९ र र खानीखोलामा ५३ पीडित परिवार रहेका छन् ।
यसैबीच २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलन ९डिडिए० भइरहेको रहेको छ । क्षति आकलन सुरु गरिएको करिब छ महिनाको अवधिमा रोशी गाउँपालिकाको मात्रै डिडिए सकिएको जनाइएको छ । घटनाको एक वर्ष बितिसक्दा पनि विविध कारण क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र अवस्थामा रहेको हो । तर, हालसम्म पनि बाढीपहिरोबाट क्षति भएका निजी आवासको पूर्ण विवरण प्राप्त नहुँदा सरकारले निजी आवास पुनर्निर्माण कार्य अलपत्र अघि बढाउन नसकेको जनाइएको छ ।
गत चैत अन्तिम साता जिल्लामा सबैभन्दा बढी जनधनको क्षति ब्यहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरु गरिएको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट यसको सुरुआत गर्नुभएको थियो । स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउन जिल्लामा विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाइएको छ । निजी आवासको विस्तृत क्षति आकलनको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेषरुपमा ध्यानाकर्षण गराइएको छ ।
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये बढी जनधनको क्षति पुगेको नमोबुद्ध नगर, पनौती नगर, बेथानचोक गाउँपालिका, तेमाल, भुम्लु, खानीखोला, महाभारत गाउँपालिकालगायतका प्रभावित स्थानीय तहको भने विस्तृत क्षति आकलनको पूर्ण तथ्याङ्क आउन नसकेको हो । उक्त बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्तामा सूचीकृत गरिएको छभने एक सयको हाराहारीमा घाइते भएका थिए ।
-

धनुषामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु
१० असोज, महेन्द्रनगर । धनुषामा आज तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् ।
जनकनन्दिनी गाउँपालिका ५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । उनका अनुसार कमला नगरपालिका-२ माची र लगमाबीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।सो दुर्घटनामा पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राहुलको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताए । उनका अनुसार तीनै जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लगमा बजारबाट जाँदै गर्दा दुर्घटना भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
-

खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु
१० असार, काँक्रेविहार । पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । दुवै दिदीबहिनीको शव घरमा ल्याएर राखिएको छ । शनिबार शव परीक्षण गरिने उनले बताए ।
-

भागेकामध्ये आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए
१० असोज, काठमाडौं । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो । उनका अनुसार अझै छ हजार ४९४ कैदीबन्दी फरार छन् । फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन् ।उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए । यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ । कूल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना रहेका छन् ।
-

मुख्ययाममै सुनसान छन् म्याग्दीका पर्यटकीयस्थल
१० असोज, म्याग्दी । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् । ‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौसँग जोड्ने नारायणघाट–मुग्लिन र मुग्लिन–काठमाडौँ सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल व्यवसायी राजन लामाले बताए ।
“चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यसपालि पाहुनाको आगमन २० वर्षयताकै कम भएको छ”, उनले भने, “होटल र पर्यटकीयस्थल सुनसान छ ।” विगतका वर्षमा असोज लागेसँगै मुस्ताङ जानेआउने पर्यटक र तीर्थयात्रीले बेनी, गलेश्वर, भुरुङ–तातोपानी, दानाका होटल भरिभराउ हुन्थे । घटस्थापनाअघि सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिने र मुक्तिनाथ दर्शनका लागि नेपाल तथा भारतबाट आएका तीर्थयात्रीको घुइँचो लाग्दथ्यो ।सोह्रश्राद्धको समयमा पनि यसपालि कागबेनी र मुक्तिनाथमा तीर्थयात्राका लागि आउनेहरूको सङ्ख्या न्यून भएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी–पुनहिल क्षेत्रमा आउने पर्यटकको सङ्ख्या पनि फाट्टफुट्टमात्र भएका स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताए ।
“मेरो होटलमा बास बस्न आउने भनेका ३६ वटा विदेशी पर्यटकको समूहले देशको असहज अवस्थालाई कारण देखाएर बुकिङ रद्द गरेका छन्”, उनले भने, “विदेशी पर्यटक आगमन विगतको तुलनामा एकतिहाइ पनि छैन । स्वदेशी पनि आएका छैनन् ।” घोडेपानीमा बास बसेका पर्यटक त्यहाँदेखि ३० मिनेट उकालो पैदलयात्रा गरेपछि पुगिने समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको अवलोकन गर्न जाने गर्छन् । असोज–कात्तिकको शरदयाममा यहाँ तीन सय जनाको हाराहारीमा विदेशी र त्यत्तिकै सङ्ख्यामा स्वदेशी पर्यटक आउने गर्दथे ।
म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीमा दैनिक एक हजार जना क्षमताको २५ वटा सुविधायुक्त होटल छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घोडेपानी जोड्ने चित्रे–घोडेपानी सडक स्तरोन्नतिका क्रममा रहेको हुँदा सवारीसाधनको असहजताका कारण आन्तरिक पर्यटकलाई समस्या भएको छ ।
बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी र अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ तातोपानी कुण्ड पनि सुनसान छ । जमिनमुनिबाट ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको सिङ्गा तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलका रूपमा परिचित छ । भुरुङ–तातोपानी बेनी–जोमसोम सडक भएर मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि थकाइ मेटाउने थलो हो ।
भुरुङ–तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले पर्यटक आगमन नहुँदा वैकल्पिक पेसाको खोजीमा लाग्नुपर्ने अवस्था आएको बताए ।
“दसैँअघि पर्यटक आगमन निराशाजनक छ”, उनले भने, “दसैँपछि पनि यस्तै अवस्था रहने हो भने व्यवसाय छाडेर ऋण तिर्नका लागि विकल्प खोज्नुपर्ने चिन्ताले पिरोलिएका छौँ ।” भुरुङ–तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको प्रवेशविन्दु पनि हो । -

पूर्वगृहमन्त्री लेखकलाई मातृशोक
९ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । उहाँको माता शारदादेवी लेखकको आज उपचारका क्रममा काठमाडौँका ह्याम्स अस्पतालमा निधन भएको हो । ८९ वर्षीया लेखक लामो समयदेखि दमको समस्याबाट प्रभावित थिइन् ।
उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको लेखकको पारिवारिक स्रोतले जनाएको छ । उनका चार छोरी र एक छोरा छन् । जेन जी आन्दोलनमा आम युवाको मृत्यु भएपछि लेखकले राजिनामा गरेका थिए । त्यसपछि उनी सार्वजनिक भएका छैनन् ।
-

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
९ असोज, बनियानी । झापाको विर्तामोड नगरपालिका-७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । विर्तामोड ७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
तराई मूलको जस्तो देखिने ती पुरुषलाई जङ्गलबाट आएको एउटा हात्तीले आक्रमण गरेर थियो । पुरुषको शव आज बिहान ६ः२० बजे स्थानीयवासीले देखेपछि खबर गरेका प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
-

पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युतीकरण
९ असोज, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका) मा विद्युतीकरणको काम धमाधम अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत यहाँ कार्य गरिरहेको हो । वितरण केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार पोल गाड्ने, मजदुरलाई दिने ज्यालासहितको ठेक्का वितरण केन्द्रले गरेको छ । पोल, तार, ट्रान्सफर्मरलगायत सामग्री खरिद गर्ने जिम्मेवारी प्राधिकरणको केन्द्रीय कार्यालयले लिएको छ । यसका लागि करिब रु ६५ लाख खर्च हुने अनुमान छ ।
विद्युतीकरणका लागि वितरण केन्द्रले कलौनी निर्माण सेवासँग ठेक्का सम्झौता गरेको छ । यसअन्तर्गत पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने, ट्रान्सफर्मर राख्ने र विद्युत् सञ्चालनमा ल्याउने कार्य हुने जनाइएको छ । केन्द्र्र प्रमुख श्रीवास्तवले हाल आवश्यक सामग्री ढुवानी भइसकेको र पोल गाड्ने काम तीव्र गतिमा अगाडि बढाइएको बताए ।
धार्मिक क्षेत्र मुडकादेखि पर्यटकीय गाउँ धारापानीसम्मको पाँच किलोमिटर क्षेत्रमा विद्युत् पु¥याउने लक्ष्य रहेको र यसका लागि एक ८२ वटा पोल जडान गरिने उनले जानकारी दिए । ठेक्का सम्झौताअनुसार ९० दिनभित्रै काम सक्ने लक्ष्य राखिएको छ । तिहारअघि नै त्यस क्षेत्रमा बिजुली पु¥याउने हाम्रो रहेको श्रीवास्तवले बताए ।
विद्युतीकरणको काम अघि बढेपछि स्थानीय बासिन्दा र भक्तजनमा खुसी छाएको छ । वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले भने, “धार्मिक क्षेत्रमा विद्युत् अभावका कारण भक्तजनले सास्ती खेप्दै आएका थिए, अब त्यो समस्या अन्त्य हुने चरणमा छ ।” उनका अनुसार धारापानीमा विसं २०२८ सालदेखि बस्ती बसेको भए पनि हालसम्म विद्युत् सेवा पुगेको थिएन । त्यहाँ करिब ३५ परिवारको बसोबास छ । स्थानीय बासिन्दाले लामो समयदेखि टुकीको भरमा रात कटाउँदै आएका थिए ।स्थानीय सायमले धामीले भने, “अब टुकीको उज्यालोमा बिताउने रात अन्त्य हुँदैछ भन्ने समाचारले हामी निकै खुसी भएका छौँ । विद्युत् नहँुदा समस्या थियो, मोबाइल चार्ज गर्न तीन किलोमिटर टाढाको गाउँसम्म पुग्नुपर्दथ्यो, विद्युतीकरणका लागि पोल गाड्ने कार्य अगाडि बढेकाले विद्युत् पुग्नेमा आशावादी भएका छौँ”, उनले भने ।
यसै कार्यक्रमअन्तर्गत शुक्लाफाँटाको मुडका मात्र होइन, भीमदत्त नगरपालिकाको खल्लामुसेट्टि क्षेत्रमा समेत करिब ५५ घरधुरीलाई विद्युत् सेवा विस्तार गरिएको वितरण केन्द्रले जनाएको छ । त्यहाँ अढाई किलोमिटर क्षेत्रमा पोल गाड्ने, तार तान्ने र दुईवटा ट्रान्सफर्मर जडान गरी विद्युत् सञ्चालनमा ल्याइएको छ । श्रीवास्तवका अनुसार पुल विद्युतीकरण कार्यक्रममार्फत दोधारा–चाँदनी, बेदकोट नगरपालिका र कैलालीको गोदावरी नगरपालिका क्षेत्रसम्म पनि विद्युत् बिस्तारको कार्य पूरा गरिएको छ । -

गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते
९ असोज, गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने ५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए । उनका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक घाइते छन् । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको जनाउँदै सारूले यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको बताए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त वलीको नेतृत्वमा टोली आज बिहानै घटनास्थल पुगिसकेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-

कार्यबोझ बढी भएका निकायमा थप दरबन्दी उपलब्ध गराइदै
८ असोज, काठमाडौं । सरकारले कार्यबोझ बढी भएका निकायमा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ दरबन्दी मिलान गर्र्न लागिएको स्पष्ट पारेको छ । गत भदौ ३१ गतेको सचिवहरूको बैठकले गरेको निर्णयका सन्दर्भमा असपष्ट भएको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यबोझ भएका क्षेत्रमा कर्मचारीको थप दरबन्दी उपलब्ध गराइने उल्लेख गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भीष्मकुमार भुसालका अनुसार कार्यबोझ बढी भएका कारण सेवा प्रवाहमा कठिनाइ भएका निकायहरूमा दरबन्दी व्यवस्थापन गर्ने प्रयोजनका लागि सचिवस्तरीय बैठकले निर्णय गरेको उल्लेख गरे । दरबन्दी मिलान गर्दा कर्मचारीको वृत्तिविकासमा कुनै असर नपर्नेगरी गरिने उल्लेख छ । अस्पष्ट भएको विषयमा थप प्रष्ट पारिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयले मङ्गलबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको छ ।
-

तुइनखोलामा डाँडै खस्यो, भयानक पहिरोपछि अनिश्चितकालका लागि बन्द भयो राजमार्ग
७ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा फेरि ठूलो पहिरो खसेको छ । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ । आज दिउँसो ४ः५५ बजे ठूलो पहिरो गएको र त्यसपछि पनि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन कठिन भएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लम्सालले जानकारी दिए । उनले भने, “पहिरो झर्ने क्रम नरोकिँदा पहिरो पन्छाउन कठिन भएको छ ।”
गत शुक्रबार पनि सोही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सोमबार मात्रै दुईतर्फी सडक सञ्चालनमा ल्याइएकामा आज पुनः पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउन लामो समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न लम्सालले आग्रह गरे । दशैंको समयमा व्यस्त राजमार्ग बन्द हुँदा लाखौं यात्रुको यात्रा प्रभावित बनेको छ । उक्त पहिरोका कारण अन्य वैकल्पिक राजमार्गमा समेत ट्राफिक अस्तव्यस्त बनेको छ ।
-

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
७ असोज, राजविराज । यहाँको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर ज्यान गएको हो ।
दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । प्रनाउ बस्नेतका अनुसार सो घटनाबारे स्थानीयले जानकारी गराएपछि स्थानीयवासीको सहयोगमा पोखरीबाट बालिकाहरुको शव निकालिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
-

अपहरणपछि ५ करोड फिरौती माग, किशोरको हत्या
७ असोज, गोलबजार । यहाँको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ । आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राती खाना खाएर घर नजिकैको चोकतर्फ घुम्न गएका थिए । त्यसपछि उनी घर फर्किएनन् ।
परिवारजनले रातभर गाउँछिमेकमा खोजतलास गरे पनि भेटिएनन् । सोमबार बिहान महतो परिवारको मोबाइलमा इमोबाट पाँच करोड फिरौती माग गरिएको जानकारीसहित इलाका प्रहरी कार्यालय गोलबजारमा अभिषेकको सकुशल उद्धारका लागि निवेदन दिएको थियो।
अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलको इमोमा छोरा जिउँदो चाहिएमा पाँच करोड फिरौती बुझाउन भनेको जानकारी समेत परिवारजनले प्रहरीलाई सोमबार नै दिएका थिए । इप्रका गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहले भने, “घटनाबारे अनुसन्धान हुँदैछ । संलग्न पत्ता लगाइ कानुनी दायरामा ल्याइने छ ।” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेशकुमार यादवका अनुसार घटनाको अनुसन्धानका लागि कुकुर ल्याइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
-

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले लिए शपथ
६ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई शपथ गराए । नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्री परियारले कृषि तथा पशुपन्छी र मन्त्री खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाएका छन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको सिफारिसमा उनीहरुलाई आइतबार नियुक्त गरेका हुन् । कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । त्यस्तै दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख छन् । यसैगरी मन्त्री परियार कृषि विज्ञ हुनुहुन्छ भने मन्त्री खरेल वरिष्ठ पत्रकार हुन् ।
वर्तमान मन्त्रिपरिषद्मा यसअघि गत भदौ ३० गते रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास र ओमप्रकाश अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छिन् । ‘जेनजी’ समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । -

पर्वतमा पहिरोले छ घर भत्किए, दश घर उच्च जोखिममा
६ असोज, पर्वत । गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पुर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर र गोठपुर्ण रूपमा भत्किएको सो वडाका वडा अध्यक्षमनबहादुर कुँवरले जानकारी दिए ।
कुनै मानविय तथा पशुचौपायाको क्षति भने भएको छैन । जमिन चिरा पर्न थालेपछि र पशुचौपायासहित पहिल्यै सुरक्षित ठाउँमा सर्न भ्याएकाले क्षति हुन नपाएको हो । बस्ती भन्दा तल रहेको खोल्साबाट केही वर्षदेखि पहिरो बग्दै गाउँसम्मपुगेको हो ।
विस्थापित घरपरिवारलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा टेन्ट टाँगेर राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिए । जिल्ला स्थित विपद् व्यवस्थापन समितिका टोली, फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधार तिवारी, उपप्रमुख शोभा क्षेत्रीलगायतका स्थानीय जनप्रतिनिधिले सो स्थानको स्थलगत निरीक्षण गरेका छन् ।
उनीहरुले विस्थापित परिवारलाई अस्थाई वसोवासका लागि पाँचवटा टेन्ट उपलब्ध गराएको सो नगरका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए । विस्थापित परिवारलाई पुनःस्थापना गर्न र सुरक्षित स्थानमा आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पहल गरिने उनले बताए ।
-

माओवादीको ऐतिहासिक निर्णय : केन्द्रीय समिति भङ्ग गर्ने, विशेष महाधिवशेन बोलाउने
५ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मौजुदा केन्द्रीय समिति विघटन गरी महाधिवशेन आयोजक समिति बनाउने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिको ‘एजेण्डा’का रुपमा प्रस्तुत गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
“महाधिवशेनमा जाने कुरा भइरहेको थियो, बदलिँदो परिस्थितिमा आधिकारिक मञ्चबाट संस्थागत धारणा बनाउनुपर्ने आवश्यकता भयो । पार्टी जीवनको सबैभन्दा सर्वोच्च संस्था महाधिवशेन हो”, प्रवक्ता सापकोटाले भने, “महाधिवेशनमा जानका लागि मौजुदा केन्द्रीय समिति विघटन गरेर अध्यक्षको योजकत्वमा महाधिवशेन आयोजक समिति बनाउने प्रचलन छ ।”विशेष महाधिवशेनसम्बन्धी प्रस्तावमाथि छलफल गर्न माओवादीले यही असोज ८ गते स्थायी समिति बैठक बोलाएको छ । सो बैठकमा पदाधिकारी बैठकको निर्णयबारे छलफल हुनेछ । केन्द्रीय समितिको बैठक यही असोज ९ गते बस्नेछ । केन्द्रीय समिति बैठकले पदाधिकारी बैठकको प्रस्तावमाथि छलफल गरी निर्णय लिनेछ । जेनजी प्रदर्शनपछि राजनीतिक दलमा पुस्तान्तरणका लागि दबाब बढिरहेको छ ।
“नेतृत्वको हस्तान्तरण सम्बन्धमा विचार, विधि र प्रक्रियाका बारेमा प्रारम्भिक छलफल भयो”, उपाध्यक्ष सापकोटाले भने, “आगामी कार्यक्रमका बारेमा पनि विस्तृत छलफल भएको छ । सोसम्बन्धी प्रस्ताव पनि केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरिएको छ ।” बैठकमा अध्यक्ष दाहालले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै पार्टी नयाँ स्वरुपबाट अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । अध्यक्षको प्रस्तावमाथि सबै पदाधिकारीले धारणा व्यक्त गरेका थिए ।
बैठकले घोषित मितिमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकामा कुनै कमी आउन नदिने निर्णय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिए । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ । माओवादीले देशभक्त लोकतान्त्रिक र अग्रगमनका पक्षधर सबैलाई वर्तमान परिस्थितिका बारेमा एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
“देश नयाँ परिस्थितिबाट अघि बढ्दै छ, परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ भन्ने बैठकको निष्कर्ष छ”, सापकोटाले भने, माओवादीले जेनजी पुस्ताले उठाएका माग जायज भए पनि त्यसभित्र घुसेर निर्माण गरिएको विशेष परिस्थितिमा अग्रगमन पक्षधर शक्तिको एकताबद्ध प्रयास आवश्यक भएको निष्कर्ष निकालेको छ । -

शुक्रबारदेखि बन्द नारायणगढ–मुग्लिन सडक अझै खुलेन, आज बिहानैदेखि काम
५ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार आज बिहान पहिरो पन्छाउने काम थालिएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ ।
इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा शुक्रबार साँझ खसेको पहिरो पन्छाउने कार्य जारी रहेको हो । रातका समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो । पुनः पहिरो नखसे आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउन सकिने उनले बताए । करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको छभने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो ।
पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
यसैबीच, पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा यहाँका शनिबार निःशुल्क खाना र खाजा वितरण गरेका छन् । जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार स्थानीय युवाहरूले खाना र खाजासँगै शनिबार राति मगर समाज मुग्लिनको भवनमा सुत्ने व्यवस्था मिलाएका थिए । जेसीजकै नेतृत्वमा शनिबार दिनभर पनि चाउचाउ, बिस्कुट र पानी वितरण गरेका थिए ।
पहिरोका कारण सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । मुग्लिन र नारायणढ दुवैतर्फबाट तीनवटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए । जिल्ला प्रशासनको अगुवाइमा पनि शनिबार अलपत्र यात्रुलाई पानी र खाद्यान्न बाँडिएको थियो ।
-

आजबाट सकिँदै पितृपक्ष, भोली घटस्थापना
५ असोज, काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह ९आमाको बा०को श्राद्ध भने सोमबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ ।
पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।
यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ ।आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रा डा भट्टराईले बताए । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत वैदिक मन्त्रले दैनिक १०८ जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी गराए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरू पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रूपमा दिइएका विकल्पअनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्ध, औँसी तिथि सोह्र श्राद्धमा मृत्यु भएका पुरुषको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपालीजस्ता श्राद्धहरू प्रचलित छन् ।
यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको छ । सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ । यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको घुइँचो लाग्छ । पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । असोज ६ गते सोमबार घटस्थापना गरेसँगै दुर्गापक्ष सुरु हुन्छ ।
-

वैशाखयता विपद्मा २४३ जनाको निधन
४ असोज, काठमाडौं । गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा विपद्मा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार छ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् । एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने एक सय ७७ जना घाइते भएका छन् । आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन् ।
बाढीको २६३ घटना हुँदा २९ को मुत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, ४६३ वटा पहिरोका घटना यसबीचमा भएका छन् । पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन् । यसैगरी भारी वर्षाका मात्रै ३४० घटना यसबीचमा भएका छन् । त्यसमा परेर छ जनाको ज्यान जाँदा १४ घाइते भएका छन् भने ८११ परिवार प्रभावित भएका छन् ।
सो अवधिमा २९० वटा चट्याङका घटना दर्ता भएका छन् । चट्याङमा परेर ३८ जनाको ज्यान गएको छ भने २१२ जना घाइते भएका छन् । यस्तै, ३५१ परिवार प्रभावित भएका छन् । सर्पदंशका ३०४ घटना भएका छन् । सर्पको डसाईबाट ७७ जनाको ज्यान गएको भने २३३ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार, वन डढेलोका १८५ घटनामा परेर दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । त्यस्तै, हावाहुरीमा २८४ घटना हुँदा आठ जनाको निधन भएको छ भने ४४ घाइते भएका छन् । हावाहुरीमा परेर ५४१ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका २१७ घटना घटदा २० जानको निधन भएको छ । यस्तै, ८८ जना घाइते हुँदा ३६६ परिवार प्रभावित भएका छन् । विपदबाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको, पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ । -

‘जेन–जी’ आन्दोलनः अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना
राष्ट्रिय समाचार समिति (रासस)
४ असोज, पाँचथर । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताइ गत वैशाखमा झापा आउनुभएका पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ आइपुगेकै सिथएनन् । श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले उहाँ झापामै बसेर विर्तामोड नगरपालिका–१० बिराटपोखरमा घर बनाइरहेका थिए ।
गत भदौ तेश्रो साता मोवाइलमा कुराकानी हुँदा कमलले बुबा गणेशप्रसाद भण्डारीलाई दसैँसम्ममा घरको भुईं तलाको काम सक्ने बताएका थिए । “दसैँमा यहाँको घर सिङ्गार्न आइपुग्छु भन्थ्यो”, गणेशले भने, “तर भदौ २५ गते कान्छो छोराले दाजुलाई गोली लाग्यो भनेर सुनायो ।” गणेशलाई देशका मुख्य शहरमा जेनजीको आन्दोलन भइरहेको र आन्दोलनमा आफ्नो छोरोसमेत सहभागी भएको थाहा नै थिएन ।घर निर्माण गरिरहेका कमल ‘जेनजी’ आन्दोलन चर्किएको समयमा भदौ २४ गते साँझ आन्दोलनमा सहभागी हुन झापाको विर्तामोड गएका थिए । कमलका भाइ पवनका अनुसार श्रीमती सीतालाई ‘धेरै समय बस्दिन । एकैछिन आन्दोलनमा गएर आउँछु’ भनेर कमल गाउँका अन्य साथीसँग विर्तामोड लागेका थिए ।
रात पर्दै गएपनि कमलको फोन उठेन । श्रीमती सीता, बहिनी मायालगायतले रातैभरी मोवाइलमा फोन गरे । फोन लाग्ने तर कुनै प्रतिक्रिया नआउँदा सबैको मनमा आशंका पसिसकेको थियो । बहिनी मायाका अनुसार गत भदौ २५ गते विहान १० बजे कमलको फोन बिएण्डसी अस्पतालका सुरक्षाकर्मीले उठाए ।सुरक्षागार्डले ‘तपाईंको बिरामी यहाँ हुनुहुन्छ । आएर लिएर जानु’ भने । “हामीलाई केही थाहा नै भएन । हाम्रो दाइ घाइते भएर अस्पतालमा हुनुहुन्छ भनेर हामीलाई कसैले जानकारी पनि गराएनन्”, मायाले भनिन्, “दाजुसँगै आन्दोलनमा आएका अरु कसैले पनि हामीलाई जानकारी गराएनन् । हामीले त चिन्ने कुरै भएन । त्यो समूहमा गएकामा दाजुलाई मात्रै गोली लागेछ ।”
जेनजी आन्दोलन उत्कर्षमा पुगेका बेला भदौ २४ गते साँझको खाना खाएर कमल आन्दोलनमा सहभागी हुन विर्तामोड आर्एका थिए । आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय विर्तामोड छेउमा भएको झडपमा कमलको कन्चटमा गोली लागेको थियो । घाइते कमललाई सुरक्षाकर्मी र आन्दोलनकारीले उद्धार गरेर बिएण्डसी अस्पताल पु¥याएका थिए ।
कमलका परिवारले भोलिपल्ट मात्रै उहाँ ‘भेण्टिलेटर’मा भएको जानकारी पाए । “दाजु कस्तो अवस्थामा हुनुहुन्थ्यो भनेर हामीलाई हेर्न नै दिइएन । भाउजू बेहोस् अवस्थामा हुनुहुन्थ्यो”, बहिनी मायाले भनिन्, “चिकित्सकले गोली निकाल्न सकेनौँ । आफन्त पनि आउनु भएन भन्नुभयो । हामीले थाहा नै पाएनौँ भोलिपल्टसम्म । तर त्यतिञ्जेलसम्म धेरै ढिलो भइसकेको रहेछ ।”
कमलको शवलाई भदौ २८ गते अमरपुर ल्याई दाहसंस्कार गरेपश्चात काका शान्तिराम भण्डारी र श्रीमती सीता काजक्रियामा बसेका छन् । ५७ वर्षका बाबु गणेश आफैँ बिरामले थलिएका छन् । बिरामी आमा खगमायाले राम्रोसँग कान नसुन्ने कमलका भाइ पवनको भनाइ छ । बिरामी बाबु गणेशका गला अवरुद्ध छन् । गर्भवती श्रीमती सीता अझैँसम्म ‘अर्धचेत’ हुनुहुन्छ । सिकुवामा ‘हार्दिक श्रद्धाञ्जलि’ लेखेर ३० वर्षका छोराको तस्वीर राखिएको छ । आफन्त र छरछिमेकी घरभरि छन् । तर गणेशलाई न निन्द्रा लागेको छ न भोकप्यास ।
झापामा घर निर्माण सकेर बाबुआमालाई पनि लैजाने कुरा कमलले परिवारसँग गर्दै आएका थिए । परिवारको मियो नै ढलेपछि न झापाको घर निर्माण सम्पन्न भयो न त बाबुआमालाई झापा लैजाने कुरा नै । “हामीलाई पनि घर बनाइ सकेर झापा नै लैजाने भन्दै थियो । तर खोइ आज के आइलाग्यो ?”, भक्कानिदै बाबु गणेशले भन्नुभयो । भुइ तला ढलान सकिएको घर फिनिसिङ गर्न बाँकी छ ।
कमल दसैँमा घर सिङ्गार्न आइपुग्नु भएन नै दसैँको मुखका परिवार र सिङ्गो गाउँ शोकमा डुबेको छ । तीस वर्षीय कमलको आठ वर्ष खाडीमै वितिसकेको थियो । खाडीमा गरेको परिश्रमले झापामा जग्गा खरीद गरेर घर बनाउने क्रममा निधन भएपछि भण्डारी परिवारमाथि बज्रपात परेको छ । कमलका पाँच वर्षका छोराले अब कहिल्यै बाबु भेट्ने छैनन्, गर्भमा रहेको सन्तानले बाबु देख्न पनि पाउने छैन । अर्धचेत श्रीमती सीताले सहयात्राको सात वर्षमै श्रीमान् गुमाउनु परेको छ । “यिनीहरुको भविश्य के होला भन्ने हामीलाई ठूलो चिन्ता छ”, काका शान्तिरामले भने ।
सहिद परिवारलाई भेट्न जनप्रतिनिधि, राजनीतिक दलका नेता र आन्दोलनका अगुवा आइपुगेका छैनन् । “हामीलाई भेट्न वडाध्यक्षसमेत एका छैनन्, सहिद कमलकी बहिनी मायाले भनिन्, “देशमा परिवर्तन होला भनेर आन्दोलनमा गएको दाइ वित्दा कसैले वास्ता पनि गरेनन् ।” जेनजी आन्दोलनका सहादत प्राप्त गरेकाका परिवारलाई दिइने भनेको राहतवारे पनि भण्डारी परिवार जानकार छैन । -

अविरल वर्षाले धानबालीमा क्षति
४ असोज, नवलपरासी । हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पु¥याएको छ । पाल्हीनन्दन र सरावलमा ७०० बिघाहभन्दा बढी धान बाली डुुबान भएको पाल्हीनन्दन‐१ का वडासदस्य चुुल्हाइप्रसाद यादवले जानकारी दिए । उनका अनुसार यस वर्ष सरावल र पाल्हीनन्दनका शंकरपुरमा धान बाली सप्राएकोे थियो । उनका अनुसार धनेवा र झरही खोलामा आएको बाढीले पाल्हीनन्दन र सरावलको धानबालीमा क्षति पु¥याएको हो । पाल्हीनन्दनको शंकरपुर र सरावल गाउँपालिकाको मधवलीया, खडवना र भुजहवाका किसान चैते फसल गेंहु, तोरी, मसुरो र केही मात्रामा ऊखु खेती गर्छन् ।
वडासदस्य यादवले भने, “पाल्हीनन्दन र सरावलका किसान प्रत्येक वर्ष धानबाली लगाउँदछन् । बाढीले खेतमै धान सडछ धान काटन पाउँदैनन् । यस वर्ष धान काट्न पाईन्छ की भन्ने आश लागेको थियो । कतिपय धान फलिसकेको थियो । केही प्रजातिका धान फलिरहेको थियो । अहिले धान काटने बोला बाढी आएर हामीलाई बर्बाद बनायो ।”
बाढीले सरावलमा ७०० बढी बिघाहमा लगाइएको धान बाली डुबान भएको सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले जानकारी दिए । सरावल–६ मधवलीयाका किसान घनश्यामा चौधरीले डेढ बिघाहमा लगाइएको धानबाली नष्ट भएको छ र यसबाट दुई लाख रूपैयाको बराबर नोक्सान भएको जानकारी दिए । जिल्लाका सरावल गाउँपालिका र पाल्हीनन्दनका २७५ हेक्टर क्षेत्रफलमा लगाइएका धान बाली डुबानमा परेको नवलपरासी कृषि ज्ञान केन्द्र प्रमुख डा रविन्द्र नाथ चौबेले जानकारी दिए । उनका अनुसार पाल्हीनन्दन‐१ शङ्करपुर र सरावल‐४, ५, ६, र ७ मा बाढीले धानबालीमा क्षति पु¥याएको हो ।
-

एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन
३ असोज, पाटन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले कांग्रेस पार्टी कार्यालयको अवलोकन गरेका छन् । आज बिहान ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएको कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर उहाँहरूले आवश्यक जानकारी लिए । उपाध्यक्षद्वय गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायत नेताहरू अवलोकनमा गएका थिए ।
उनीहरुलाई कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले क्षतिको जानकारी गराए । “एउटै समूहले योजनाबद्ध रूपमा क्षति पु¥याएको हो । पहिलो, दोस्रो र तेस्रो पटकसम्म उनीहरू आएर सामग्री लुटेर लगे, चौथोपटक आएर आगो लगाइदिए”, श्रेष्ठले भने ।
