२७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । सो अवसरमा वर्तमान राजनीतिक निकासका बारेमा उहाँहरूबीच छलफल भएको थियो ।
सभामुखसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने बताए । यही भदौ २३ गतेपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा राष्ट्रपति पौडेल र सभामुखबीच छलफल भएको र उपयुक्त निकासका बारेमा विचारविमर्श भएको बताइन्छ । उहाँहरूबीचको भेटलाई महत्त्वका साथ हेरिएको छ ।
२६ भदौ, काठमाडौं । जेनजी गरेको प्रदर्शनका क्रममा प्रहरीसहित अन्य सुरक्षा निकायका हातहतियारलगायत सामग्री फिर्ता गर्न नेपाल प्रहरीले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै यही भदौ २३ देखि २५ गते भएको प्रदर्शनमा सुरक्षा निकायका हतियार, सञ्चार साधन, सवारीसाधन र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेमा फिर्ता गर्न आग्रह गरेको हो ।
उक्त हातहतियारलगायत अन्य सामग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल रुक १०० वा टोल फ्री नं १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन अनुरोध गरिएको छ । यस्तै, प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरीको पोसाकहरू दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई अनुरोध गरिएको छ ।
२६ भदौ, झापा । ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका ९२ जना थुनुवाहरू अझै सम्पर्क नआएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यही भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनीमा रहेका ३६, इलाका प्रहरी कार्यालय दमकका ५१ र झिलझिले इलाका प्रहरी कार्यालय पाँच गरी ९२ जना थुनुवा भगेका थिए ।
उनीहरू हालसम्म पनि सम्पर्क नआएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । प्रदर्शनकारीले जिल्लाका दमक, विर्तामोड, झिलझिले र काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा आजगनी र तोडफोड गरेका थिए । विर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा आगजनी हुनुअघि प्रदर्शनकारीले नियन्त्रणमा लिएका हतियार सेनाले फिर्ता लिइसकेको छ ।
वालवालिकाहरुलाई नेपाली भाषा अध्यापन गराउँदै आएका सरल नेपाली भाषा तथा संस्कृति केन्द्र न्युयोर्कले क्वीन्सस्थित फरेष्ट पार्कमा गत आइतबार भव्यताका साथ नवौं वार्षिक उत्सव मनाएको छ । आजभन्दा ९ वर्षअघि न्यूयोर्क, ज्याक्सन हाइट्स कराँते स्टुडियोको कक्षाकोठाबाट शुरु भएको सरल नेपाली भाषा तथा संस्कृति केन्द्र (www.snlcc.org) ले यही सेप्टेम्बरबाट नवौं वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको अवसर पारेर उक्त कार्यक्रम सम्पन्न गरेको हो |
आजका दिनसम्म यस संस्थाबाट ५ सय विद्यार्थीहरू लाभान्वित भइसकेका छन् भने र हाल २१० विद्यार्थीहरू अध्ययनरत छन् | जसमध्ये धेरैजसो विद्यार्थीहरू न्यूयोर्क सहर वाहिर अमेरिकाका विभिन्न राज्यबाट छन् भने केही युरोप, एशियाबाट समेत रहेका छन् |
नवौं वार्षिक उत्सवको अवसरमा संस्थाले यही सेप्टेम्बर ०७, २०२५ आइतबारका दिन “नवौँ वार्षिक उत्सव एवं अनौपचारिक पारिवारिक वनभोज कार्यक्रम”को समेत आयोजना गरेको थियो । प्रतिकुल मौसमको बावजुद पनि करिव २०० को संख्यामा उपस्थिति रहेको थियो । किनकी स-साना बालवच्चासँग आउनु पर्ने भएकोले मौसमकै कारण न्यूयोर्कमा रहेकाहरू पनि धेरै छुटेका थिए | यति हुँदाहुँदै पनि न्यूयोर्क, न्यूजर्सी, अपस्टेट न्यूयोर्कदेखि पेन्सिलभेनियासम्मका करिब २०० जना विद्यार्थी र अभिभावकहरूको उपस्थितिले कार्यक्रम उत्साहजनक देखिएको थियो ।
मौसमले साथ नदिए पनि कार्यक्रमलाई सहज बनाउन ओत लाग्ने टेन्ट, कुर्सीहरूको व्यवस्था म्याग्दी समाज, अमेरिका ( www.MyagdiSamajUSA.org ),मगर संघ अमेरिका ( www.MagarUSA.org ), केन्द्रीय समिति, न्यूयोर्क च्याप्टर एवं अभिभावकहरूले गरेका थिए | त्यसैगरि भोजनको व्यवस्था इच्छुक अभिभावक र संस्थाको तर्फबाट भएको थियो भने यसलाई सही व्यवस्थापन गर्न हिमालयन करी हाउस (www.himalayancurryhousenyc.com) ले साथ दिएको थियो |
उक्त कार्यक्रममा पाचौं तह पूरा गरेका १९ जना दिक्षित विद्यार्थीहरूलाई अवार्ड र प्रमाणपत्र, पहिलोदेखि चौथो तह सम्मका ७३ जनालाई कक्षा उत्तीर्ण गरेको प्रमाण पत्र र ११ जना विद्यार्थीहरूलाई प्रत्येक हप्ता एक वर्षसम्म आफूले प्राप्त स्टारको आधारमा “Best Student Of Class” प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको थियो । यसै वर्ष हाइस्कुल सकेर कलेज शुरु गरेकी यस संस्थाकी पूर्व विद्यार्थी/ सहायक शिक्षिका एवं स्वयंसेवक निनिमा राईलाई पनि बधाई दिंदै साथ अवार्ड प्रदान गरेको थियो ।
त्यसैगरी कार्यक्रममा स्वयंसेवकको रुपमा खट्ने २६ जना, नृत्य/ वक्ता ४ जना विद्यार्थीहरूलाई जनही प्रमाण पत्रसहित हौसलास्वरूप नगद $२० उपहार पनि प्रदान गरिएको थियो । संस्थाले भाषा कक्षा लगायत कार्यक्रमहरूमा १२ वर्षभन्दा माथिका आफ्नै विद्यार्थीहरूलाई स्वयंसेवक गर्न मौका दिने गरेको छ ।
हरेक वर्षको कार्यक्रममा स्वफूर्त प्रतिबद्ध भइ स्वयंसेवक गर्दै आउनु भएका स्वयंसेवकहरू (hamrophoto.com) फोटोग्राफर अशोक पन्तले कार्यक्रम अवधिभर तस्विर, भोजन व्यवस्थापनको लागि रेष्टुरेन्ट व्यवसायी भविन्द्र सेरपुन्जा साथै डिजे व्यवस्थापक डिजे राजा राजेन्द्र राई र जस कुमार राईलाई पनि प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । विशेष कामले डिजेमा दिनभर समय दिन नसकेपछि राजेन्द्रले बिहानै पार्कमा डिजेको सबै व्यवस्था मिलाएर पत्रकार जसकुमार राईलाई जिम्मा लगाई दिएका थिए ।
कार्यक्रममा विभिन्न संघ संस्था एवं व्यवसायका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहे पनि वच्चाहरूको कार्यक्रम भएकोले सम्पूर्णलाई अभिभावककै विशेष स्थानमा राखिएको थियो । आसन ग्रहण र तालिकामा कुनै सम्मान/ वक्ता भने राखिएको थिएन । तर सम्पूर्ण उपस्थित इच्छुक अभिभावक, हजुरबा आमा र विद्यार्थीलाई स्फूर्त मनको कुरा राख्नको लागि भने आह्वान गरिएको थियो । केही हजुरबुबा आमा र वच्चाले नै आफ्नो अनुभव एवं मनको कुरा सुनाएर भावुक बनाएका थिए ।
अन्त्यमा संस्थाको तर्फबाट प्रदान गरिएको गुडीव्यागको साथमा सामाजिक अभियन्ता एवं डेमोक्र्याटिक डिस्ट्रिक लिडर (डिस्ट्रिक ३०) विष्णु मगरको पहलमा सिटी काउन्सिल (डिस्ट्रिक २६) का काउन्सिल मेम्बर जुली वानको तर्फबाट प्राप्त स्कुल व्याग/ स्टेशनरी सप्लाइ वितरण गरिसकेपछि नवौं वार्षिक उत्सवको केक काटेर कार्यक्रमको समापन गरिएको थियो |
कार्यक्रमलाई संस्थाकी उपाध्यक्ष/ शिक्षिका यशोदा राईले संचालन गरेकी थिइन् भने सदस्य जानुका वस्ती ढकालले उपस्थित पाहुनाहरूलाई न्यानो स्वागत अभिवादन टक्र्याएकी थिइन् |
२६ भदौ, लुम्बिनी । रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले आज जारी भएको कर्फ्यू आदेशमा जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी यही भदौ २४ गते बेलुका ८ः३० बजेदेखि जारी भएको कर्फ्यू आदेशलाई आज बिहान ९ः०० बजेदेखि पुनः लागू गरिएको जनाइएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ बमोजिम आज बेलुका ७ः०० बजेसम्म रुपन्देही जिल्लाभर पुनः कर्फ्यू आदेश जारी गरिएको सूचनामा जनाइएको छ । यसअघि आज बिहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म कफ्र्यु आदेश खुला गरिएको थियो । कर्फ्यू अवधिभर आदेशको उल्लङ्घन गरी कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गरिने ब्यहोरा आदेशमा जानकारी गराएको छ । प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न थप परिचालन भएका छन् ।
२६ भदौ, काठमाडौं । देशका सुरक्षा सङ्गठनले मुलुकको शान्ति सुव्यवस्थाको परिस्थिति क्रमशः सहजीकरणतर्फ उन्मुख भइरहेकाले त्यसलाई असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न÷नगराउन सबै तह र तप्कासँग आग्रह गरेका छन् ।
देशको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र परिचालित सुरक्षा फौजले सम्हालिँदै गएको परिस्थितिलाई बिथोल्ने कुनै पनि किसिमका गतिविधि र क्रियाकलाप नगर्न समाजका सबै पक्षको ध्यानाकर्षण गराएका छन् । अहिले देशका विभिन्न स्थानमा निषेधाज्ञा र कफ्र्यु जारी छ ।
२६ भदौ, दोधारा चाँदनी । छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । नेपालमा ‘जेनजी’को आन्दोलनपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा कडाइ गर्नुका साथै नेपालीलाई भारत प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
“हाल भारतबाट फर्किने नेपाली नागरिकलाई नेपाली परिचयपत्र अनिवार्य गरिएको छ । भारततर्फ जानेको हकमा पनि भारतीय आधार कार्ड अनिवार्य गरिएको छ”, उनले भने, “नेपालीलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ ।” यसैगरी बुधबार भारतीय एसएसबीले कारागारबाट भागेर त्यहाँ जान लागेका चार जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
२५ भदौ, काठमाडौं । आगामी सरकारको नेतृत्वको सन्दर्भमा जेन जीहरुबीच नै चरम असन्तुष्टि देखिएको छ । उनीहरुले बुधबार साझा नाम टुङ्गो लगाउन सकेनन् । यसले राजनीतिक रिक्तता र अन्यौलता अझ लम्बिएको छ । विवादित जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराए । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी समेत गरे । उनीहरुलाई सो शैलीले नेतृत्व चयन नहुने भन्दै सम्झाएको छ । ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।’ बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरेका थिए । कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहितका नामहरु समेत लिइरहेका छन् । कतिपयले हर्क साम्पाङलाई बनाउन जोड दिएका छन् । जेन जी समूहको भर्चुअल बैठकमा समेत कार्कीको नाममा करीव सहमती देखिएको थियो ।
२५ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उहाँले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताए । यो सङ्ख्या जेनजी पुस्तामा भएको हिंसात्मक प्रदर्शनमा भएको घटनाको हो ।
निजामती कर्मचारी अस्पतालमा छ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको निधन भएको छ ।
यस्तै अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका छन् । सचिव डा देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । सबभन्दा धेरै उपचार ४३६ जना निजामती कर्मचारी अस्पताल, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जनाको घाइतेको उपचार भएको थियो ।
२५ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो । साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ । हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ । प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।
२५ भदौ, कास्की । जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा आज अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश भए पनि आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका थिए । प्रदर्शनका क्रममा पोखरा महानगरपालिका, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकी प्रदेश सभाको कार्यालय, मुख्यमन्त्रीको कार्यालय तथा निवास, महानगरपालिकाका विभिन्न वडा कार्यालयमा उनीहरूले आगजनी गरेका हुन् ।
आन्दोलनकारीकै सहयोगमा कास्की कारागारमा भएका सबै कैदीबन्दी भागेका छन् । उक्त कारागारमा करिब ९०० कैदीबन्दी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । त्यस्तै प्रदर्शनकारीले यहाँस्थित भाटभटेनी सुपर मार्केट, विभिन्न सरकारी गाडीका साथै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको निवास, सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको निवासलगायतमा पनि आगजनी एवमं तोडफोड गरेका छन् ।
२५ भदौ, काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।
२५ भदौ, काठमाडौं । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ । सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।
देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो । सूचनामा भनिएको छ, “केही उछृङ्खल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई अतिरञ्जित बनाउने तथा त्रासको वातावरण सिर्जना गर्न खोजेको हुँदा त्यस्ता क्रियाकलापलाई निस्तेज गर्न आ–आफ्नो क्षेत्रबाट सही खबर मात्र सम्प्रेषण गरी सहयोग गर्न सूचित गरिन्छ ।”
२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’ उनले हालै देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति प्रकट गरेका छन्।
प्रधानसेनापति सिग्देलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताएका छन्। उनले भने, ‘नेपालको इतिहासले साक्षी बसेको जस्तो, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहन्छ।’
सिग्देलले आन्दोलनका कारण राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आम नागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा सरोकारवालाको सुरक्षामा प्रतिकूल असर नपार्ने कुरामा जोड दिए। उनले मातृभूमि र देशको जयगान गर्दै राष्ट्रिय सद्भाव र एकताका लागि सबैलाई एकसाथ अगाडि बढ्न आग्रह गरेका छन्।
२४ भदौ, काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने काम’ गरेको भनिएको छ । यस्तोमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको छ । ‘तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ । आज देशभर जेन जी समूहको आन्दोलनको नाममा अराजक व्यक्तिहरुले अधिक लुटपाट मच्याएका छन् । यसको स्वयमः जेन जी समूहले समेत आलोचना गरेको छ ।
२४ भदौ, काठमाडौं । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सेनाले स्मरण गराएको छ । सोमबार र मंगलबार दिनभर जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ । देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । सबै संरचना ध्वस्त भएका छन् ।
यसैबीच सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । यसबीचमा सेनाले जारी गरेको यो विज्ञप्तिलाई चासोका साथ हेरिएको छ । ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ नेपाली सेनाले भनेको छ ।
सेनाले अघि भनेको छ, ‘तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।
२४ भदौ, काठमाडौं । जेन जी प्रदर्शनीकारीहरुले मंगलबार नेता केन्द्रित आक्रमण गरेका छन् । उनीहरुले सबैजसो दलका मूख्य नेताका घरमा आगजनी र आगो लगाइदिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा आगो लगाइएको छ । पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा समेत आगो लगाइएको छ । सो क्रममा देउवा दम्पत्तिमाथि समेत कुटपिट भएको छ । भैसेपाटीस्थित मन्त्री निवासमा आगजनी गरिएको छ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको घरमा आगो लगाइएको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्ड निवासमा ढुंगामुडा गरिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा समेत आगजनी भएको छ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको घरमा समेत तोडफोड भएको छ । सबै एमाले नेताहरुको घरमा आक्रमण गरिएको छ । प्रचण्डपुत्री गंगा दाहालको घरमा समेत आगो लगाइएको छ । हिल्टन होटेलमा आगो लगाइएको छ । गगन थापाको घरमा आगो लगाइएको छ ।
गोकुल बास्कोटाको घर जलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। नेपाल गुणस्तर तथा नापतौल विभागमा आगजनी भएको छ । प्रदर्शनकारीले विभागमा आगजनी गरेका हुन् ।
२४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती माथि कुटपिट भएको छ । उग्र प्रदर्शमा उत्रिएका जेन जी प्रदर्शनकारीले देउवा र उनकी पत्नी आरजु राणा देउवा माथि कुटपिट गरेको पुष्टी भएको छ । यो भिडियो समेत समाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
जसमा देउवा दम्पत्ति रक्ताम्य अवस्थामा देखिएका छन् । प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।
२४ भदौ, जेन जी प्रदर्शनकारीहरूले आज बानेश्वरस्थित संसद् भवनमा आगो लगाएका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए । प्रदर्शनीकारीले आजै सर्वोच्च अदालत र जिल्ला सरकारी वकिलको कार्यालयमा समेत आगो लगाएका छन् । नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित कार्यालयमा समेत आगो लगाइएको छ । आज सरकारी कार्यालय र नेताका घर बढी केन्द्रित छन् ।
२४ भदौ, काठमाडौं । प्रधानसेनापति सहित नेपालका सबै सुरक्षा अंगका प्रमुखहरुले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन् । मुख्य सचिव, गृह सचिवसहित प्रधानसेनापति, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा शान्तिपूर्ण रुपमा समाधान निकाल्न आह्वान गरेका हुन् ।
उनीहरुले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यस विषय परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आह्वान गर्दछौं । यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछौं ।’
आह्वान पत्रमा मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको हस्ताक्षर छ ।
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए । रास्वपाको संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेसहित २० प्रतिनिधिसभा सदस्यहरुले राजीनामा दिने निर्णयबारे जानकारी दिइएको छ ।
यसअघि, सोमबार जेनजी प्रदर्शनपछि रास्वपाका सभापनि रवि लामिछानेले नक्खु कारागारबाट जारी गरेको सन्देशमा आफ्ना मागहरु पूरा नभए राजीनामा दिन तयार रहन सांसदहरुलाई आह्वान गरेका थिए । प्रतिनिधिसभामा रास्वपाका तर्फबाट उपसभामुखसहित २१ जना सांसद छन् ।
२४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ । सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्ततः प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए । मंगलबार बिहानैदेखि सडकमा युवाहरूले प्रदर्शन गरिरहेका छन् ।
सो क्रममा युवाहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी कार्यालय, प्रहरी भवन लगायतमा समेत आगजनी गरे । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । शीर्ष नेताका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् । देशका मन्त्रीहरूलाई समेत अहिले नेपाली सेनाको हेलिकप्टरबाट अन्यत्र सारिएको छ ।
२४ भदौ, भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आज बिहान ८ः३० बजेदेखि लागू हुने निषेधाज्ञा अर्को आदेश जारी नभएसम्मका लागि जारी गरिएको आदेशमा तोकिएको निर्धारित क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक र भीड गर्न रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेद्वारा जारी गरिएकोे आदेशमा भनिएको छ, “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र सूर्यविनायक नगरपालिकाभित्रको निर्धारित चार किल्लाभित्रका क्षेत्रमा कोही पनि मानिस आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलु, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी आदेश जारी गरिएको छ ।”
कार्यालयले जडीबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला क्षेत्रलाई सिमाना मान्दै ती क्षेत्रभित्रको जडीबुटीदेखि अरनिको राजमार्ग साँगासम्म २०० मिटर वरपरको क्षेत्र, पेप्सीकोला मनोहर पुलदेखि निकोसेरा चोकसम्म, कौशलटार बालकोटचोक हुँदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म, राधेराधेचोकदेखि निकोसेरा चोकसम्म, बाखाबजार, नेपाल कोरियन मैत्री नगर अस्पताल हुँदै चारदोबाटो चोकसम्म, सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म, च्यामासिंह, ताथली हुँदै नाला (काभ्रे जिल्लाको सिमाना)सम्म, दुवाकोट मोडदेखि नेपाल इञ्जिनियरिङ कलेज क्षेत्र र देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको हो । स्थानीय सुरक्षा अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै आदेश जारी गरिएको बताउँदै प्रजिअ घिमिरेले अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञा जारी गरेको बताए ।
२४ भदौ, गण्डकी । कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८।०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शहिदचोक आसपासका क्षेत्र, पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्र बैंक चोक, दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइड क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको हो ।
त्यस्तै गण्डकी प्रदेशसभा आसपासको क्षेत्र उत्तरतर्फ भीमकाली पाटन बगर, दक्षिणतर्फ अधिकारी टोल, पूर्वतर्फ नदीपुर हाइवे र पश्चिमतर्फ बागबजार ट्याक्सीचोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको निषेधाज्ञामा उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । यस अवधिमा यस आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने\गराउने कार्यमा अवरोध गर्ने जोसुकैउपर प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।
२४ भदौ, ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन् । कर्फ्यु आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।
कर्फ्यु आदेश जारी भएका क्षेत्र
भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५ः पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म ।
सानेपा क्षेत्र (वडा नं २) पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म ।
च्यासल क्षेत्र (वडा नं ९) पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको बताएका छन् ।
२४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको हो ।
प्रजिअ रिजालका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको हो । कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।
२४ भदौ, इनरुवा । सुनसरीको इटहरीमा सोमबार जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ । इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा चिकित्सककले मृत घोषणा गरेका थिए । मृतक श्रेष्ठको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । अर्का एक युवकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
२४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरात एक वक्तव्य जारी गरेका छन् । उनले सोमबारको घटनालाई हल्का रुपमा लिएको भन्दै ठूलो आलोचना भइरहेको छ । । उनले सामाजिक सञ्जाल बन्द विरुद्धको आन्दोलनमा भएको सरकारी दमनमा १९ जनाको ज्यान गएपछि सोमबार साँझ वक्तव्य जारी गरेका हुने । सरकारको प्रयास र जेनजी पुस्ताबीचको अस्पष्टताले अप्रिय घटना भएको उनको स्पष्टीकरण छ । उनले सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा नरहेको त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने छ’ प्रधानमन्त्रीले भनेका छन् । युवा पुस्तको आन्दोलन भ्रष्टाचार नियन्त्रणमा अधिक केन्द्रित छ । यसमा प्रधानमन्त्रीले कुनै सम्बोधन गरेका छैनन् ।
२३ भदौ, काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाको उपचारका लागि टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मीको टोली सिभिल अस्पतालमा खटाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनमा प्रदर्शनका क्रममा घाइते भएकाको उपचारका लागि आज साँझ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइएको हो । आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको छ भने ४२२ जना घाइते भएका छन् ।
घाइतेमध्ये १७० जनाको सिभिल अस्पताल, १० जनाको वीर अस्पताल, ५९ जनाको ट्रमा सेन्टर, १०२ जनाको एभरेष्ट अस्पताल, ६ जनाको पाटन अस्पताल, ३१ जनाको काठमाडौँ मेडिकल कलेज, १८ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यस्तै, ३ जनाको नर्भिक अस्पताल, चारजनाको अन्नपूर्ण न्यूरो अस्पताल, एक जनाको गण्डकी मेडिकल कलेज, सात जनाको दमक अस्पताल, चार जनाको विपी कोइराला अस्पताल धरान र चार जनाको विराट मेडिकल कलेजमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२३ भदौ, काठमाडौं ।, राज्यले सोमबार काठमाडौं र नेपालका अन्य शहरमा युवा तथा कलेजका विद्यँर्थीहरुको स्वतस्फूर्त आन्दोलनमाथि रक्तपातपूर्ण भयानक दमन गरेको छ । कांग्रेस र एमालेको दुई तिहाई बहुमतको सरकारले अभिव्यक्ति स्वतन्त्रता नै कुण्ठित पार्ने मनसायसहित सामाजिक संजालमा रोक लगाएसँगै युवा विद्यार्थी भड्किएका छन् । हिंसात्मक आन्दोलनमा १९ जनाको ज्यान गइसकेको छ । घटनापछि गृहमन्त्री रमेश लेखकले राजिनामाको घोषणा गरेका छन् ।
अमानवीय रक्तपातमा जिम्मेवार गृहमन्त्रीको राजिनामाका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले भने आजको मन्त्रिपरिषद् बैठकमा आन्दोलनमा घुसपैठ भएको ओठे जवाफ दिएको खबर सार्वजनिक भएको छ । यसले शान्तीपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीलाई अझ भड्काउने निश्चित छ ।
किनकी उनीहरुले आफ्ना साथीहरुको रगतको हिसाव माग्ने बताइसकेका छन् । नाति पुस्ताका नागरिकहरुमाथि सत्ताले देखाएको उन्मादको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले कसरी दिन्छन्, त्यसमा अब उनको राजनीति केन्द्रित रहने निश्चित छ ।