Category: स्थानीय

  • देशका विभिन्न स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

    देशका विभिन्न स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

    १५ भदौ, काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । सो केन्द्रमा एक सय १५ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै राजधानी काठमाडौँ आसपासका क्षेत्रमा पनि हल्का वर्षा भइरहेको छ ।

    यसैगरी, गोरखाको आरुघाटमा १७ दशमलव एक मिलिमिटर, स्याङजामा १४ दशमलव दुई मिलिमिटर, सिन्धुपाल्चोकमा १५ दशमलव दुई मिलिमिटर, डोटीमा १६ दशमलव दुई मिलिमिटर र बझाङको थलारामा ११ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ । विभागले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरेको छ । आकस्मिक रुपमा बाढी आउन सक्ने भएकाले मध्यम जोखिमको सम्भावना रहेको विभागले जनाएको छ ।

  • अन्नबाली जोगाउन मध्यरातसम्म गस्ती

    अन्नबाली जोगाउन मध्यरातसम्म गस्ती

    रासस

    १५ भदौ, मुस्ताङ । घरपझोङ गाउँपालिका–१ चिमाङ गाउँमा हिमाली भालुको आतङ्कले बालीनाली सखाप पार्ने क्रम नरोकिएपछि त्यहाँका किसान दैनिक मध्यरातसम्म भालु धपाउन गस्तीमा खटिने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको स्याउलगायत अन्नबाली भालु पसेर खाइदिएपछि चिमाङ गाउँमा पाँचपाँच जनाको सातवटा समूह बनाएर पालैपालो भालुको गस्ती गर्न थालेका छन् ।

    स्थानीय सुकबहादुर विश्वकर्माका अनुसार यहाँका किसानलाई भालुले अन्नबाली सखाप पारेर सास्ती दिएको छ । एक्याप संरक्षित क्षेत्रमा हिमाली वन्यजन्तु कालो भालु र मानवबीचको द्वन्द्व बढ्दै जान थालेको छ । समुद्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको चिमाङ गाउँ बेनी–जोमसोम सडकमार्गको कालीगण्डकी पारि अग्लो भिरालो स्थानमा अवस्थित छ । घनाजङ्गलको फेदमा अवस्थित त्यहाँका किसानलाई खेतबारीमा लगाएको अन्नबाली जोगाउन धौधौ परेको छ । त्यहाँ उवा र जौँबाहेक सबै अन्नबाली भालुले सखाप पारिदिने गरेको छ ।

    अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय मातहतमा रहेको चिमाङ गाउँमा हिमाली कालो भालुको जत्थाले किसानले उत्पादन गरेको बालीनाली सखाप पारिदिन थालेपछि किसान चिन्तित बनेका छन् । यो समस्या यहाँका किसानले वर्षौँवर्षदेखि झेल्दै आएका छन् । किसानले उत्पादन गरेको स्याउ, फापर, मकै, सिमी र हरियो ताजा तरकारीलगायत अन्नबाली कालो भालु रातको समयमा खेतबारीमा पसेर सखाप पारिदिने गरेको स्थानीय किसानको भनाइ छ ।

    घरपझोङ गाउँपालिकाले किसानको खेतबारीमा ग्याविनसहित तारजाली लगाएको थियो । तर यहाँ लगाइएको घेराबार तालजालीमाथि उक्लिएर भालुले खेतबारीमा लगाएको अन्नबाली नोक्सान पारिदिएको घरपझोङकी कार्यपालिका सदस्य मनि विश्वकर्माले जानकारी दिए । चिमाङ गाउँ कृषि उत्पादनमा निकै सम्भावना भएको गाउँ हो । यहाँका किसान कृषिमा आत्मनिर्भर छन् । तर, यहाँको मुख्य आम्दानीको रूपमा रहेको कृषि व्यवसायलाई भालुको आतङ्कले दुःख दिन थालेपछि किसान समस्यामा परेका हुन् ।

    भालुको आतङ्क रोक्न गाउँका खेतबारीमा लगाएको तारजालीले काम नगरेपछि त्यसको विकल्पमा एक्याप जोमसोमले गत वर्ष भालु धपाउने यन्त्र (साइरन) जडान गरेको कार्यपालिका सदस्य विकले उल्लेख गरे । तर, त्यस प्रकारको यन्त्रले पनि भालुको आतङ्क रोक्न असफल भएको उनले बताए । चिमाङ गाउँका खेतबारीमा तारजाली र भालु धपाउने यन्त्र जडान गरे पनि त्यसले काम नगरेपछि त्यहाँका किसानले छ–सात जनाको समूह बनाएर दैनिक हेरालो बस्न सुरु गरेका थिए ।

    एक्यापले भालु नियन्त्रण गर्न तीन जना कर्मचारीको पारिश्रमिकबापत एक लाख ३० हजार बजेट विनियोजन गरेको थियो । तर भालु नियन्त्रण गर्न तीन कर्मचारीले मात्र नपुगेपछि छ–सात जनाको समूह बनाएर पारिश्रमिक बाँडफाँट गर्यो । चिमाङकी स्थानीय कार्यपालिका सदस्य मनि विश्वकर्माले गाउँमा भालु आयोकि भनी खेतबारीमा गस्ती गर्ने गरेको बताए ।


    किसानले कृषि उपजको संरक्षण गर्न एक्याप जोमसोमले परीक्षणका रूपमा विद्युतीय तारजाली निर्माण गरेको कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । सौर्य ऊर्जा प्रणालीबाट विद्युुत् प्रवाह हुनेगरी भालु नियन्त्रण गर्न एक हजार २७० मिटर क्षेत्रफलमा विद्युतीय घेराबार निर्माण गरेको कार्यालय प्रमुख गुप्तले बताए । उनले यस कार्यका लागि रु चार लाख बजेट खर्च भएको जानकारी दिए ।

    चिमाङ गाउँमा मात्र होइन, भालुले थासाङ गाउँपालिकामा बर्सेनि भालुको आतङ्कले किसानको बालीनाली सखाप पारिदिने गरेको छ । यहाँको कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउराली, सौरु, सिर्खुम र नाउरिकोटलगायत स्थानमा कालो भालुको आतङ्कले किसानलाई निकै सास्ती दिने गरेको छ ।

  • कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    १४ भदौ, चितवन । कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक डा विप्लव भट्ट छन् । आज बिहान १ः३० बजे भरतपुर महनानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा भरतपुर महानगरपालिका–२ बस्ने कार चालक भट्ट घाइते भएका थिए । घाइते भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।

  • स्वीमिङ पुलमा युवा मृत फेला

    स्वीमिङ पुलमा युवा मृत फेला

    १४ भदौ, बनियानी । झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा शुक्रबार एक युवा मृत फेला परेका छन् । बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईँ स्वीमिङ पुलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    मृतक प्रसाईँ आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न दिउँसो ३ः०० बजे पार्कमा पुगेका थिए । पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको भनेर पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई राति ८ः०० बजे खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाको थप विवरण र डुब्नुको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • कर्णाली प्रदेशमा दश वर्षमा विपद्का घटना : ६१९ जनाको मृत्यु, साढे तीन अर्बको क्षति

    कर्णाली प्रदेशमा दश वर्षमा विपद्का घटना : ६१९ जनाको मृत्यु, साढे तीन अर्बको क्षति

    १४ भदौ, भेरीगङ्गा । कर्णाली प्रदेशमा पछिल्लो दश वर्षमा विपद््का घटनामा परी ६१९ जनाको मृत्यु भएको छ भने अर्बौँको क्षति भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा २०७२ देखि २०८१ सम्मको दश वर्षको अवधिमा ६१९ जना व्यक्तिको विपद्का घटनामा परी मृत्यु भएको हो ।

    तथ्याङ्कअनुसार दश वर्षमा प्रदेशभर ६८ जना बेपत्ता भएका छन्भने एक हजार २६६ जना घाइते भएका छन् । यो अवधिमा सबैभन्दा बढी जाजरकोट जिल्लामा विपद्बाट १८४ जनाको मृत्यु भएको छभने सबैभन्दा कम मुगुमा २६ जनाको मृत्यु भएको छ । यस्तै, रुकुममा ९२ जना, कालीकोटमा ८४ जना, जुम्लामा ४७ जना, हुम्लामा ४६ जनाको विपद््मा घटनामा परी मृत्यु भएको छ ।

    यसैगरी, सल्यानमा ३९ जना, दैलेखमा ३६ जना, डोल्पामा ३५ जना र सुर्खेतमा ३० जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । एक दशकको अवधि सबैभन्दा धेरै पहिरोबाट १८० जनाको मृत्यु भएको छ । यस्तै भूकम्पबाट कारण १५४ जनाको मृत्यु हुँदा आगलागीबाट ६४ जनाको मृत्यु भएको प्रदेश सरकारका विपद् सहजकर्ता उज्वल अधिकारीले जानकारी दिए ।


    उहाँका अनुसार चट्याङबाट ४६ जना, बाढीबाट ३९ जना, महामारीबाट ३४, लेक लागेर २५ जना, वन डढेलोमा परी १५ जना, डुबेर १४ जना र भारी वर्षाका कारण १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा विशेषगरी भूकम्प, पहिरो, आगलागी, चट्याङ, बाढी र महामारीजस्ता प्रकोपको कारण अत्यधिक रूपमा क्षति भएको आँकडाले देखाउँछ । यसका साथै महामारी, लेक लाग्ने, नदी कटान, डुबान, भूक्षय, जनावर आक्रमण, रोगको प्रकोप, असिना, हुरीबतासजस्त प्रकोपका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । विभिन्न वैज्ञानिक अध्ययनअनुसार कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको छ ।

    तथ्याङ्कअनुसार विपद्बाट दश वर्षमा झण्डै रु साढे तीन अर्बको क्षति भएको छ । सबैभन्दा धेरै क्षति भूकम्पबाट भएको छ । गत वर्ष जाजरकोटमा आएको भूकम्पले धेरै क्षति पुर्‍याएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार भूकम्पबाट मात्रै रु दुई अर्ब ४७ करोडभन्दा धेरैको क्षति भएको छ ।

    यता, प्रदेश सरकारले सम्भावित विपद्का कारण हुनसक्ने क्षति न्यूनीकरणको लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर काम गरिरहेको जनाएको छ । यस्तै मनसुनको बेला हुनसक्ने विपद् जोखिम कम गर्नसमेत मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार काम भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले जानकारी दिए ।


  • साढे चार सय हैजा सङ्क्रमित उपचारपछि घर फर्किए

    साढे चार सय हैजा सङ्क्रमित उपचारपछि घर फर्किए

    १३ भदौ, वीरगञ्ज । वीरगञ्जका अस्पतालमा भर्ना भएका करिब साढे चार सय हैजा सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्केका छन् । वीरगञ्ज महानगर आसपासमा हैजा सङ्क्रमण फैलिएपछि यहाँका १८ वटा अस्पतालमा उपचारपछि घर फर्किएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

    उनका अनुसार आज विहान १० बजेसम्म हैजा सङ्क्रमित ६७६ जना अस्पतालमा भर्ना भएका थिए । “अहिले यहाँका विभिन्न अस्पतालमा हैजा सङ्क्रमित ३२ जना विरामी सघन उपचार कक्ष (आइसियू)मा उपचारत हुनुहुन्छ भने सात जना उच्च हेरचाह कक्ष (एचडियू)मा उपचाररत हुुनुहुन्छ”, उनले भने, “यहाँका डेढ दर्जन अस्पतालको जनरल वार्डमा १८९ विरामी छन् ।” साथै वीरगञ्ज आसपासमा २२८ हैजाका बिरामी उपचारत छन् ।

    स्वास्थ्य कार्यालय पर्साका अनुसार १५२ वटा नमुना आरडिटीमार्फत कोलेरा जाँच गर्दा हैजाका सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये ७६ जना डिस्चार्ज तथा रेफर भएका छन् भने ७४ जनामा सङ्क्रमण देखिएको छ । यहाँका ३२ वटा बिरामीको दिसाको नमुना ‘कल्चर’ जाँचका लागि पठाइएका मध्ये २० जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

  • छाउगोठमा सुतेका दुई जनाको ढुंगाले किचेर मृत्यु , एक घाइते

    छाउगोठमा सुतेका दुई जनाको ढुंगाले किचेर मृत्यु , एक घाइते

    १३ भदौ, अछाम । छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । पञ्चदेवल विनायक नगरपालिका – ८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका –६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविताको छाउगोठमा सुतेका बेला ढुङ्गाले किचेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले राससलाई बताए ।

    घटनामा घाइते कविताकी आमालाई उपचारको लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको मा प्रहरी नायब उपरीक्षक खनालले बताए ।

  • मुग्लिन–पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै

    मुग्लिन–पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै

    १३ भदौ, दमौली । मुग्लिन–पोखरा सडक योजना ९पश्चिम खण्ड० अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ ।

    मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कँुवरका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्र गर्न बाँकी छ । यो खण्डका १२ मध्ये १० पुल निर्माण भएका छन्भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट पनि बनेका छन् । सात अर्ब ४० करोडको लागतमा प्रारम्भ भएको यो खण्डको काम आगामी पुसमा सम्पन्न गर्ने लक्ष्य छ ।

  • कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

    कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

    १३ भदौ, गुल्मी । बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    यसैगरी, बाढीका कारण गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ ।

    उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलाको बाढीले सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र थापाले राससलाई जानकारी दिए । लगातारको वर्षाले अवरुद्ध दुवै सडक बिहीवार साँझ एकतर्फी खुलेका थिए । उक्त क्षेत्रमा वर्षा जारी रहेकोे र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको उनले बताए । सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन् ।

  • जडिबुटीमा बसमा द्रुत गतिको स्कुटर ठोक्कियो, दुई युवकको मृत्यु

    जडिबुटीमा बसमा द्रुत गतिको स्कुटर ठोक्कियो, दुई युवकको मृत्यु

    १३ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ ।

    काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिका–१ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । सडक किनारमा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ ।

  • खोलामा डुबेर चार किशोरको मृत्यु

    खोलामा डुबेर चार किशोरको मृत्यु

    १३ भदौ, सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीस्थित खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु भएको छ । नुहाउने क्रममा खोलामा डुबेर धनगढी उपमहानगरपालिका–४ रातोपुलका १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय जेब भण्डारी, वडा नं–५ तरानगरका १५ वर्षीय सक्षम जोशी र १७ वर्षीय प्रतिक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो । चारैजना पौडी खेल्ने क्रममा डुबेका थिए ।

    डुबेको खबर पाउनासाथ मालाखेती र स्याउलेबाट खटिएको प्रहरी टोलीले उनीहरुको खोजी गर्न थालेको थियो । घट्नास्थल नजिकै खोलामै चारै जनाको शव फेला परेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । उनीहरुसँगै नुहाउन गएका अन्य तीन किशोर भने सकुसल घर फर्किएका छन् । धनगढीदेखि करिब १८ किलोमिटर उत्तरतर्फ चुरे पहाडको फेदमा रहेको खुटिया खोलामा किशोरहरुको समूह नुहाउनका लागि गएको थियो ।

  • बाढीले बगाउँदा भक्तपुरमा बालिकाको मृत्यु

    बाढीले बगाउँदा भक्तपुरमा बालिकाको मृत्यु

    १३ भदौ, भक्तपुर । सूर्यविनायक नगरपालिका–८ आशापुरी र काभ्रेपलाञ्चोकको नैचालको सिमानामा रहेको शाखापुरी बल्बी खोलामा आएको बाढीले बगाउँदा बालिकाको मृत्यु भएको छ । भैँसी चराउन गएको बेला खोलाको बाढीले बगाउँदा नैचालकी नौ वर्षीया रसमु तामाङको मृत्यु भएको हो । तामाङको शव पनौतीस्थित रोशी भूमिडाँडामा फेला परेको सूयविनायक नगरपालिकाका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।

    भैँसी चराउन उनी दिदी सङ्गीताका साथमा गएकी थिइन् । रसमुलाई खोला तर्ने क्रममा बाढीले बगाएको वडाध्यक्ष बस्नेतले बताए । सूर्यविनायकस्थित रणशेर ब्यारेकको नेपाली सेनाको उद्धार टोली तथा प्रहरी बृत्त जगातीको प्रहरी टोलीले खोजी गर्दा उनको शव रोशी भूमिडाँडामा फेला परेको हो ।

  • डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

    डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

    १२ भदौ, अमरगढी । यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज ७३८ नं को जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
    मृत्यु हुनेमा नवदुर्गा– ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए । उनका अनुसार ठाँटा बजारबाट डडेल्धुुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो ।

    त्यसैगरी घाइते हुनेमा सोही वडाका १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकामस्थित डडेल्धुरा अस्पताल ल्याइएको र घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    रासस

  • ‘कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा’

    ‘कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा’

    कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइएको छ । स्विस सरकार तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी नेपाल)को आर्थिक एवं प्राविधिक सहयोगमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा बुधबार आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना २०७९–२०८७ को मध्यकालीन समीक्षा तथा अन्तरक्रियामा यस्तो तथ्यबारे जानकारी दिइएको हो ।

    सिएमसी नेपालका निर्देशक डा पशुपति महत मानसिक स्वास्थ्य, यसको राष्ट्रिय नीति तथा रणनीतिबारे आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को तथ्याङ्कअनुसार कर्णालीमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी भएको बताए । ११ दशमलव सात प्रतिशत मानिसहरु कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको जनाउँदै उनले यसको रोकथामका लागि सबै तहका सरकारले लगानी गर्नुपर्ने धारणा राखे ।


    कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्य समस्या समाधानमा साझा प्रयास आवश्यक रहेको बताए । उनले भने, “हाल रोग लाग्नेभन्दा पनि लुकाउने समस्या छ, यो सोचनीय कुरा हो । धेरै थोरै मात्र हो सबै मानिसमा मानसिक स्वास्थ्य समस्या छ । यसमा समयमै गम्भीर बनौँ”, उनले भने ।


    मन्त्री भण्डारीले कर्णाली प्रदेशले देशका सात प्रदेशमध्ये पहिलोपटक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति तथा कार्ययोजना निर्माण गरी कार्यान्वयनस्तरमा पुर्याएको बताए । सोही मन्त्रालयका सचिव धोलकराज ढकालले मानसिक स्वास्थ्य आधारभूत अधिकार भएको बताए । स्वास्थ्यले तत्काल र शिक्षाले दीर्घकालीन प्रभाव पार्ने भएकाले जतिसक्दो मानव स्वास्थ्य संरक्षणका लागि सबै सरोकार भएकाहरू सचेत बन्नुपर्ने उनको भनाइ थियो ।

    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतका निर्देशक शक्ति सुवेदीले प्रदेशका विभिन्न जिल्लाका समस्याबारे अध्ययन गरेर विभिन्न प्रकारका औषधि आपूर्तिको काम भइरहेको बताए । राष्ट्रिय मानव अधिकार आयोगका कर्णाली प्रदेश कार्यालय प्रमुख रमेश थापाले मर्यादित जीवन जिउन पाउने अधिकार सुनिश्चितताका लागि सबै लाग्नुपर्ने बताए ।

  • रुबी साहका हत्या आरोपी पासवानको मृत्यु

    रुबी साहका हत्या आरोपी पासवानको मृत्यु

    ११ भदौ, काठमाडौं । रौतहटको रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको आज साँझ उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको छ । आत्मदाहको प्रयास गरेका उनलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो ।

    उनको उपचारका क्रममा आज साँझ ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । आज बिहान आत्मदाहको प्रयास गरेको अवस्थामा उनलाई फेला पारिएको थियो । केही दिन अघि रौतहटमा सुटकेशभित्र साहको शव भेटिएको थियो । आत्मदाह गर्नु अघि उनले उक्त घटनामा आफू संलग्न रहेको स्वीकार्दै भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

    सो भिडियोका अनुसार साह पासवानका पूर्व प्रेमिका हुन् । उनीहरुबीच प्रेम भएर पनि परिवारले छुटाएकाले आफू तनावमा परेको उनले बताएका छन् । गत शनिबार रौतहटको गौर नगरपालिका–९ गौर–सिर्सिया सडक खण्डअन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा सुटकेशभित्र साहको शव फेला परेको थियो ।

  • विद्युत् चुहिएर आगलागी, ५० बाख्रा मरे

    विद्युत् चुहिएर आगलागी, ५० बाख्रा मरे

    ११ भदौ, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् ।
    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो ।

    घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । फार्ममा रहेका जम्मा ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल रहेका छन्भने छवटा घाइते भएका छन् । आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते छन् । उनको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।

  • सवारी दुर्घटनामा झापामा एक जनाको मृत्यु, चार घाइते

    सवारी दुर्घटनामा झापामा एक जनाको मृत्यु, चार घाइते

    ११ भदौ, बनियानी । कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एकै परिवारका चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत गए राति सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५४४६ नम्बरको भ्यान र विपरीत दिशाबाट जाँदै गरेको मे१च ३४४० नम्बरको भ्यान एकापसमा ठोक्किँदा भ्यानका चालक शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको हो ।

    दुर्घटनामा मारुती भ्यानमा सवार शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र नौ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन् । घाइते चारै जनाको अवस्था सामान्य छ । पिकअप र त्यसका चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

  • सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

    सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

    ११ भदौ, सिरहा । सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर लामो अन्तरप्रदेशीय नयाँ सडक मार्ग खोलिने भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीद्वारा निर्माण गरिने यो सडक पूर्व–पश्चिम राजमार्गलाई चुरे क्षेत्र पार गर्दै मदन भण्डारी लोकमार्गमा जोड्नेछ । आयोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८२\८३ मा प्रारम्भिक चरणका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ । सघन सहरी आयोजनाका इञ्जिनियर उदयनारायण चौधरीले भने, “सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन र प्रारम्भिक वातावरणीय मूल्याङ्कन तयार गर्न पाँच सदस्यीय सहयोग समिति गठन भइसकेको छ ।

    अब हामी चाँडै नै सडकको काम सुरु गर्छौँ । चालु आवमै करिब तीन किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छौँ ।” नयाँ सडकमार्ग गोलबजारको पुरानो चोहर्वा बजारबाट सुरु भई घुर्मी बजार हुँदै चुरेफेदीका बस्तीहरू पार गर्दै उदयपुरको रिस्कुसम्म पुग्नेछ । निर्माण पूरा भएपछि मदन भण्डारी राजमार्गसम्मको पहुँच सहज हुनेछ ।

    अहिले रिस्कुवासीलाई सिरहाको मर्चैया वा सप्तरीको कदमहा बजार हुँदै लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले उनीहरूको समय, खर्च र ऊर्जा दुवै खर्चिन्थ्यो । नयाँ सडकले दुरी छोटो हुने र बजारसम्म पुग्न सहज हुने भएकाले विशेष गरी चाडपर्वको समय घरायसी सामान तथा लत्ताकपडा किनमेल गर्न गोलबजार जान झन्झट नहुने उनीहरू बताउँछन् ।

    गोलबजार–१० निवासी क्षेत्रकुमार आले भन्छन्, “सडक कालोपत्रे भएपछि यातायात सहज हुनेछ, व्यापार–व्यवसाय फस्टाउने र सहरी पूर्वाधारमा गति आउने विश्वास छ ।” गोलबजारका व्यापारी सञ्जय यादवले नयाँ सडकले पहाड र तराईबीच हुने ढुवानी सहज बनाउने बताए । यस सडकले उदयपुरको उत्पादनलाई गोलबजारको व्यापारिक केन्द्रसम्म ल्याउन र त्यहाँबाट तराईको उपज पहाड पठाउन सहज हुने भएकाले कृषि क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ । उनले भने, “पहाडमा हुने उत्पादन तराईमा र तराईमा हुने उत्पादन पहाडमा पठाउन सजिलो हुनेछ । ढुवानी लागत कम हुँदा व्यापारमा प्रतिस्पर्धा बढ्नेछ ।”

    आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ, मधेस प्रदेशसभा सदस्य मनोजकुमार सिंह, गोलबजार नगरप्रमुख श्यामकुमार श्रेष्ठ, सम्बन्धित वडाध्यक्षहरू तथा आयोजना इञ्जिनियर चौधरीको सहभागितामा अनुगमन र समन्वयको संरचना बनाइएको छ । पूर्वमन्त्री श्रेष्ठले समितिलाई एक महिनाभित्र सडकको ट्रेस (मार्ग) निर्धारण गरी प्रतिवेदन पेस गर्न निर्देशन दिए । उनले भने, “कामको जिम्मेवारी लिनेले निष्क्रिय बस्न मिल्दैन । समयमै काम सम्पन्न गर्नुपर्छ, नभए विगतझै बजेट फ्रिज भएर जान्छ । त्यसैले, सक्रियताका साथ लाग्न सबैलाई विशेष आग्रह गर्दछु ।” साथै उनले उदयपुरतर्फको कामका लागि जनप्रतिनिधिसँग समन्वय भइरहेको जानकारी दिए ।
    सिरहा–उदयपुर जोड्ने यो अन्तरप्रदेशीय सडकमार्गले दुर्गम क्षेत्रलाई सहरी पूर्वाधारसँग जोड्नेछ । आवागमनमा सहजता ल्याउनुका साथै व्यापार, कृषि, पर्यटन र स्थानीय सेवा सुविधामा दीर्घकालीन प्रभाव पार्ने चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रकुमार महतोको भनाइ छ ।

  • भोटेकोशीमा बोलेरो खस्यो  : दुई बेपत्ता

    भोटेकोशीमा बोलेरो खस्यो : दुई बेपत्ता

    १० भदौ, सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका–४ हिन्दीमा आज बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । अरनिको राजमार्गअन्तर्गत हिन्दीमा दिउँसो करिब साढे ३ बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

    उनका अनुसार सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेशकुमार कुसहवाले चलाएको बोलेरोमा रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए । दुर्घटनापछि उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको र हाल चालक तथा सहचालक दुवै जनाको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा प्रहरी टोलीले खोजी कार्य अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

  • अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

    अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

    १० भदौ, मध्यविन्दु । यहाँका देवचुली नगरपालिका–६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । वडा नं ६ को टोक्रेखोला पुल नजिकै कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नंंको अटो दुर्घटना हुँदा भारत मोतिहारी घर भएका ३५ वर्षीय रिजुवान खातुनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सडकदेखि केही तल खसेको अटोमा चालकसहित १२ जना सवार थिए ।

    घाइते सबैलाई उपचारका लागि चितवन लगिएकामा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनाका सबै घाइते भारतीय नागरिक रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । घाइते हुनेहरूमा ३५ वर्षीया सवना खातुन, १८ वर्षीया रजिया खातुन, ४२ वर्षीय मोहम्मद रजा, १५ वर्षीया मेहेक इस्तियाक, ४० वर्षीया इस्तियाक आलम, १८ वर्षीया मौजमा इमाम, १२ वर्षीया जोया इस्तियाक, ११ वर्षीय निजामुदिन हुसेन, १४ वर्षीय सावा खातुन, १२ वर्षीय उमर रजा र १६ वर्षीया कुलसुम वान रहेकी छन् ।

  • हेटौँडा सिमेन्ट उद्योगद्वारा आजदेखि पुनः उत्पादन सुरु

    हेटौँडा सिमेन्ट उद्योगद्वारा आजदेखि पुनः उत्पादन सुरु

    ९ भदौ, बागमती । हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगका मेसिनहरु मर्मत सम्भार सकिएपछि आजदेखि उत्पादन सुरु गरिएको उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर रामबाबु साहले बताए । मेसिनमा समस्या देखिएपछि गत वैशाखदेखि उद्योग बन्द भएको थियो । मेसिन मर्मत गरी कोइला व्यवस्थापन भएपछि उत्पादन सुरु गरिएको निमित्त महाप्रबन्धक साहले जानकारी दिए ।

    ‘‘उद्योग चलाउन हामीलाई कोइलाको समस्या थियो । सिमेन्ट उत्पादन गरी बिक्री गरेर भुक्तानी गर्ने शर्तमा करिब एक हजार टन कोइला व्यवस्थापन गरेका छौँ”, उनले भने, ‘‘कोइलाको व्यवस्थापनसँगै हामीले उत्पादन सुरु गरेका छौँ ।”
    विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

    तर आर्थिक समस्यालगायत कारण उद्योग बन्द हुने खुल्ने क्रम चलिरहेको छ । यसअघि गत वैशाख दोस्रो सातादेखि उद्योग सञ्चालन गरी करिब एक लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो । उद्योगसँग धादिङको जोगीमारा तथा मकवानपुरको ओख्रे, मजुवा र भैँसे गरी चार ठाउँमा चुनढुङ्गा खानी छ ।

    पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन नहुनु, दरबन्दी अनुसार कर्मचारी नहुनु, प्रतिस्पर्धात्मक बजारलगायत समस्याका कारण उद्योग सञ्चालन गर्न कठिनाइ भइरहको निमित्त महाप्रबन्धक साहको भनाइ छ ।

  • ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

    ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

    ९ भदौ, ढोरपाटन । वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई । जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहन अझ चाखलाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको दिज गाउँ पर्यटनको सम्भावना भए पनि बत्ति मुनीको अँध्यारो बनेको छ ।

    गाउँको मौलिक संस्कृति, भेषभूषा र रहनसहनले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गर्छ । तर विकास र प्रचारप्रसार अभावमा यो गाउँ ओझेलमै छ । ढोरपाटन नगरपालिका–९ स्थित दिज गाउँ प्राकृतिक सुन्दरताले भरिएको छ । ढोरपाटन–निसेलढोर सडक खण्डको पारी पट्टी रहेको दिज गाउँमा विस्तारै विकासले गति लिन थालेको छ । तर प्रचारप्रसार कत्ति पनि हुन सकेको छैन । प्रकृति र मौलिकतासँग साइनो गाँस्न चाहनेका लागि त योभन्दा अरु गन्तव्य बिरलै छन् ।

    गाउँको मौलिकता र सुन्दरतालाई बाहिर प्रचार गर्न नसक्दा आगन्तुक दिज गाउँ पुग्न नसकेको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले बताए । लामो समयसम्म स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत्लगायतका पूर्वाधार नजोडिएको यस गाउँमा स्थानीय सरकार आएपछि विस्तारै विकास हुन थालेको उनको भनाइ छ ।

    दिजलाई पर्यटकीय गाउँ बनाउनका लागि नगरपालिकाले नीति बनाएर काम सुरु गरेको अध्यक्ष घर्ती मगर बताउँछन् । “यो पर्यटनका लागि भर्जिन गाउँ हो, पर्यटकसँग जोड्न नगरपालिकाले नीति बनाउँदै छ, गाउँलाई घरबास (होमस्टे)का रूपमा विकास गर्ने र स्थानीयलाई आय आर्जनसँग जोड्ने प्रयास गरिरहेका छौँ,” अध्यक्ष घर्तीमगरले भने, “स्थानीय उत्पादनलाई बढाउने र बजारीकरणलाई ध्यान दिएका छौँ ।”

    दिज गाउँमा अहिलेसम्म सडक पुगेको छैन । स्थानीयले बजारबाट बोकेरै उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । ढोरपाटन सिकार आरक्षले अवरोध गर्दा गाउँमा सडक नजोडिएको स्थानीय बताउँछन् । यो गाउँमा अहिलेसम्म काठैकाठका बाहेक अन्य वस्तुले बनेका घर छैनन् । विस्तारै विकासले गति लिन थालेको स्थानीय मनबहादुर घर्तीले बताउनुभयो । पहिलेदेखिनै समय–समयमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि धेरै सङ्ख्यामा भित्र्याउन नसकेको उनको भनाइ छ ।

    यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समयमा पर्यटक आउने गर्छन् । पछिल्लो समय निसेलढोर जाने पर्यटक दिज गाउँ पस्ने गरेका छन् । गर्मी छल्न ढोरपाटन आउने पर्यटक घुम्दैफिर्दै दिज गाउँ आउने गरेका छन् । गाउँमा आइपुग्न उत्तरगङ्गा नदीमा काठे साँघु बनाइएको छ । यो पुल हेर्नका लागि पनि पर्यटक दिज आउने गर्छन् । गाउँ निकै सुन्दर भए पनि बास बस्न व्यवस्थित ठाउँ नहुँदा ढोरपाटनमै आउनु परेको भैरहवादेखि आएका कुशलराज बेलवासेले बताए ।

    “हाम्रो नेपालमा पनि यति सुन्दर ठाउँ छन्, तर यी ठाउँमा अहिलेसम्म विकास नपुग्दा ओझेलमा परेका छन्, मलाइ त ढोरपाटनभन्दा दिज गाउँ धेरै राम्रो लाग्यो तर बस्नका लागि समस्या रैछ,” उनले भने, “राज्यले सडकलगायत अन्य पूर्वाधार विकास गरेमा भविष्यमा पर्यटकीय सम्भावना छ, गाउँका नागरिकलाई शिक्षित र व्यावसायिक बनाउनु पर्ने जरुरी देखियो, यहाँ आउँदा साँच्चिकै गाउँघरमा आएको महशुस भयो ।”

  • पोखरा ‘ग्रेट ट्रेल’ निर्माणको अन्तिम चरणमा

    पोखरा ‘ग्रेट ट्रेल’ निर्माणको अन्तिम चरणमा

    ९ भदौ, कास्की । पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पदमार्गको निर्माण पूरा हुनेछ । उक्त ट्रेलमा करिव चार हजार ५०० सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ । कालिखोलादेखि काँहुकोटसम्म एक किमी ८०० मिटरको पदमार्ग निर्माण विसं २०८० वैशाखदेखि सुरू गरिएको थियो । यसका लागि महानगरले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

    पोखरा महानगर प्रमुख धनराज आचार्यले मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको यस ट्रेल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र आकर्षक रहेको बताए । उनका अनुसार फुट ट्रय्याकका लागि चालू आवमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । “पर्यटकीय राजधानी पोखरामा बिहान र साँझको समयमा हिँड्न रमाउनेका लागि यो एक उपयुक्त थलोका रूपमा विकास हुने विश्वास गरेका छौँ । स्थानीय विशेषता झल्कने र पहिचानसहितको अग्र्यानिक पदमार्ग भनेका छौँ, यो पदमार्गमा यात्राका क्रममा अग्र्यानिक उत्पादनको स्वाद लिन सकिनेछ,” नगर प्रमुख आचार्यले भने ।


    निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार पदमार्गमा ढुङ्गा काटेर विच्छ्याइएको छ । पदमार्गका विभिन्न चार स्थानमा विश्राम स्थल हुनेछन् भने १० स्थानमा ‘भ्युपोइन्ट’ निर्माण हुनेछ । पदमार्ग १० फिट चौडाइको हुने र बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने बस्नेतले बताए । पोखराको प्राकृतिक ‘भ्युपोइन्ट’का रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवर्द्धनमा पदमार्ग निर्माणले सहयोग पुग्ने आशा गरिएको छ ।

    ‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियान अन्तर्गत आइतबार सो ट्रेलको दायाँबायाँ करिव ४०० फलफूलका बिरुवासमेत रोपिएको छ । पोखरा महानगरको दुई लाख २६ हजार विरुवा लगाउने ‘मेगा ’अभियान अन्तर्गत सो क्षेत्रमा आरु, आरुवखडा, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँसलगायतका विरुवा रोपिएका छन् ।

  • पर्सामा महामारी : स्वास्थ्यकर्मीको अत्यावश्यक बाहेकका बिदा कटौती

    पर्सामा महामारी : स्वास्थ्यकर्मीको अत्यावश्यक बाहेकका बिदा कटौती

    ९ भदौ, वीरगञ्ज । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यहाँ झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो । सो बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो ।

    निमित्त प्रजिअ कार्कीले झाडा पखाला, कोलेरा (हैजा) रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताए । सोही बैठकले सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त थप जनशक्ति तथा स्रोत साधनको ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन एवं अनुगमन गर्ने निर्णय गरेको छ ।

    हाल फैलिरहेको महामारीको ‘सोर्स अफ इन्फेक्सन आइडेन्टिफिकेसन’का लागि महामारीको अनुसन्धान, सम्बन्धित स्थानीय तहले गर्ने तथा सोको लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय भएको जनाइएको छ ।

  • थारू समुदायले आज अटवारी पर्व मनाउँदै

    थारू समुदायले आज अटवारी पर्व मनाउँदै

    ८ भदौ, देउखुरी । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ ।

    घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । “अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ । हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन्”, उहाँले भन्नुभयो, “थारू समुदायमा यो पर्वको छुट्टै महत्व छ ।”

    व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको घोराही उपमहानगरपालिकाका–३ का सुरज चौधरीले बताए । “यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुसेऔँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ”, उनले भने । उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्याउने गरिन्छ ।

    पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद् अशोक चौधरी बताउनुहुन्छ । अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ ।

    दाङका थारूराजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारूराजा दङीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द«ोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दाङका थारूराजा दङ्गीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारू समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।

    यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अट्वारी पर्वका अवसरमा आज सर्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका छ जिल्लामा सार्वजनिक बिदा दिएको हो । थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो ।

  • त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

    त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

    ८ भदौ, गाईघाट । त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला अस्पतालका अनुसार साउन अन्तिम हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिकासहित जिल्लाको अन्य क्षेत्रमा पनि फैलन थालेपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

    जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र मण्डलका अनुसार निरन्तर पानी पर्न थालेपछि सामान्य जमिनको पानीमा प्रदूषण र पिउने पानीको प्रदूषणका कारण पनि भाइरलको प्रकोप बढ्न थालेको हो । जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेका अनुसार अहिले दैनिक चार सय ५० देखि पाँच सय सयको सङ्ख्यामा भाइरलका बिरामी उपचार गर्न अस्पताल आउने गरेका छन् । अस्पतालमा आकस्मिक, ओपिडीसहित अन्य कक्षमा गरेर दैनिक पाँच सयका हाराहारीमा बिरामी बढ्दै गएपछि उनीहरूलाई बेडमा राखेर उपचार गर्न पनि समस्या हुन थालेको अस्पताल प्रशासनले जनाएको छ ।

    साउनको अन्तिम हप्तादेखि फाटफुट्ट भाइरलका बिरामी अस्पतालमा उपचारमा आउन थालेका र भदौ सुरु हुनासाथ वृद्धि भएर चार सय ५० देखि दैनिक पाँच सयको सङ्ख्यामा बिरामी वृद्धि भएको सूचना अधिकारी पाण्डेले बताउनुभयो । भदौ लागेसँगै भाइरलको प्रकोप बढ्न थालेपछि जिल्ला अस्पतालसहित स्थानीय निजी अस्पताल, क्लिनिक र स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामी उपचारमा आउने सङ्ख्या बढ्दै जान थालेको स्थानीय निजी अस्पताल तथा क्लिनिकले जनाएका छन् ।

    वर्षासँगै मौसम प्रदूषण भएपछि अहिले त्रियुगा नगरपालिका क्षेत्रका वडा नं १ जोगीदह, ३ मोतिगडा, २ खैजनपुर, ७ चुहाडे, ८ शाहीखोला, राजाबास, असारी, पोर्ताह, गाईघाट, लक्ष्मीपुरसहितका क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेपछि विद्यालय जाने उमेरकालाई समेत प्रभाव पार्न थालेको त्रियुगा–१२ का वडाध्यक्ष नवीनकुमार राईले बताए ।
    त्यसैगरी बेलका नगरपालिकाको भागलपुर, परनदह, आम्बासी, तपेस्वरीसहित चौदण्डीगढी नगरपालिकाका हँढिया, सुन्दरपुर, सिवाई बेलही देवधार क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेको हँडियाका समाजसेवी युवा देवनारायण चौधरीले बताए । रासस

  • भाद्रकृष्ण औँसी : पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

    भाद्रकृष्ण औँसी : पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

    ७ भदौ, काठमाडौं । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले आज बिहानैदेखि यहाँ हजारौँ भक्तजनको घुइँचो भएको हो । यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ ।

    गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वाग्मतीको कोरिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ । यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खोजतलासलगायत सेवा पनि मन्दिर क्षेत्रमा दिइएको गोकर्णेश्वर मेला समितिका संयोजक एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए ।
    सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्रकृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिए । गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिक रूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाएको बताउँछन् । डोल्पाबाट आएका दर्शनार्थी रणेन्द्र बुढाथोकी गाडीको असुविधाले मेलामा दुःख पाइएको बताउँछन् । “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ”, उनले भने ।


    मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि उहाँले गुनासो गर्नुभयो । शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाएको धेरै भक्तजन बताउँछन् ।

    यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु डुण्डुप लामाले बताए । बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पिताको स्वरूप दर्शन गर्न पाइने विश्वास समेत गर्ने गरेको पनि उहाँले जानकारी दिनुभयो । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रही आएको छ ।

    आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आज देशभर मनाइँदैछ ।

  • नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

    नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

    चितवन । यहाँस्थित भरतपुरको हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको आशंकामा एक डेण्टल क्लिनिक बन्द गराइएको छ । नेपाल मेडिकल काउन्सिलले हेल्दी स्माईल डेण्टल केयर सेन्टरमा अनुगमन गर्दा दर्ता नभएको पाइएपछि बन्द गराएको हो । नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष तथा काउसिन्लका सदस्य डा. अनिलविक्रम कार्कीका अनुसार विषम चौधरीले सञ्चालन गरेको डेण्टल क्लिनिक कुनै पनि निकायमा दर्ता भएको पाइएन । अनुगमनका क्रममा उक्त क्लिनिकमा कोही चिकित्सक नभेटिएको कार्कीले जानकारी दिए । सञ्चालक चौधरीले आफूले भारतको छत्तिसगढबाट बिडिएस र कान्तिपुर डेण्टलबाट सिडिएस अध्ययन गरेको दाबी गरेको उनको भनाइ छ । डा कार्कीका अनुसार चौधरी काउन्सिलमा दर्ता भएका छैनन् ।

    नेपाल डेण्टल एशोसिएशनका अध्यक्ष एवं काउन्सिलका सदस्य अजयकुमार साह, नेपाल मेडिकल काउन्सिलका सदस्य डा विक्रान्त ढकाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधिसहितले अनुगमन गरेका थिए । काउन्सिलमा परेको उजुरीका आधारमा अनुगमन गरिएको जनाइएको छ । अनुगमनपछि क्लीनिकमा रहेको सिसी टिभीको हार्डडिस्क जफत गरेर काउन्सिलमा पठाइएको छ । उक्त हार्डडिस्को अध्ययन गरेपछि थप विषय थाहा हुने उनले बताए । उक्त क्लिनिकमा उपचारको क्रममा फलोअप गर्न आएका बिरामीसँग सोधपुछ गर्दा निज चौधरीले ‘म चिकित्सक हुँ’ भन्दै उपचार गर्ने गरेको पाइएको छ । चौधरीसहित अन्य दुई कर्मचारी त्यहाँ कार्यरत थिए ।

  • वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

    वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

    ६ भदौ, काठमाडौं । काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

  • उत्तरी गोरखामा भीरबाट खसेर दुईको मृत्यु

    उत्तरी गोरखामा भीरबाट खसेर दुईको मृत्यु

    ५ भदौ, गोरखा । उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको हो । चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक भन्ने ठाउँको भीरबाट करिब एक सय मिटर तल स्यारखोलामा खसेर उनीहरुको मृत्यु भएको मृतकका आफन्त नुर्बु दोर्जेले बताए ।

    “आइतबार चुम्लिङमा विद्युत् समितिको बैठक भएको थियो, बैठकबाट फर्कने क्रममा रिञ्जिन लामा हराएका थिए, उनको शव आज विहान गाउँलेले भेटेका थिए”, उनले भने । रिञ्जिनको शव हिसेदोर्जेले भेट्टयाएका थिए । उनको शव लिएर लिएर खोलातर्फ जाने क्रममा आज विहान ९ बजेतिर सोही ठाउँबाट खरेस हिसेदोर्जेको मृत्यु भएको हो । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।