Category: स्थानीय

  • कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप

    कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप

    ५ भदौ, सुदूरपश्चिम । कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ । उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको देखिएको बताए । उनले भने, “घटनास्थलको अध्ययन गरी घाइते कैदीबन्दी, कारागारको वस्तुस्थिति, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, प्रशासकसँग कुराकानी ग¥यौँ, बन्दीगृहभित्र रहेको ‘ए ब्लक’ र ‘बी ब्लक’ बीचको आन्तरिक प्रशासनबीच मतभेद सिर्जना भएको देखिन्छ ।”


    घटनाको थप तथ्य बाहिर ल्याउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिनको आवश्यकता देखिएको जोशीको भनाइ छ । उनले भने, “घटनास्थलको अध्ययनका क्रममा ‘सिसिटिभी फुटेज’ स्पष्ट देखिएन, घाइतेले भनेबमोजिमका व्यक्तिले घटनामा संलग्नता अस्वीकार गरेको र उनीहरूसँगको कुराकानीका आधारले मात्रै पुष्टि हुने आधार नदेखिएकाले विशेषज्ञसहितको उच्चस्तरीय समिति आवश्यक देखिएको छ ।”

    समितिलाई १० दिनको समय दिइएकामा अध्ययन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएको छ । गत साउन २३ गते कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ४९ कैदीबन्दी घाइते भएका थिए । गम्भीर घाइते तीन जनाको काठमाडौँमा अझै उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेकामध्ये ४१ जना ‘डिस्चार्ज’ भइसकेका छन् । उनीहरूमध्ये तीन जनालाई कञ्चनपुर कारागार र एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ । अस्पतालले डिस्चार्ज भने पनि धेरै कैदीबन्दी अस्पतालमा नै बसिरहेका छन् । उनीहरूले इच्छाएको कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जनाइएको छ ।

    घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता बोलाएर कृष्णप्रसाद लम्साललाई खटाएको छ । यसैगरी, कारागार शाखा प्रमुखमा पनि नयाँ व्यक्ति खटाइएको छ । १५० जना अटाउने कैलाली कारागारमा हाल ६९७ कैदीबन्दी रहेका छन् ।

  • लागुऔषधसहित सात जना पक्राउ

    लागुऔषधसहित सात जना पक्राउ

    ५ भदौ, चितवन । जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो । उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । भारतको विहार राज्यको पश्चिम चम्पारण एक युवक पनि पक्राउ परेका छन् ।

  • माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    ४ भदौ, झापा । माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल गाउँपालिका–३ का २१ वर्षीय उज्ज्वल राईको मृत्यु भएको छ । स्थानीय ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा राई घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुई दिनअघि मात्र बिग्रिएको टेबल पङ्खा बनाउने क्रममा करेन्ट लागेर मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको मृत्यु भएको थियो । झापामा पछिल्लो समय करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जिल्ला प्रहरीका प्रवक्ता खगेन्द्र खड्काले बताए ।

  • ट्रकको ठक्करबाट काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

    ट्रकको ठक्करबाट काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

    ४ भदौ, काभ्रे । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५ केराघारी नजिक ट्रकको ठक्करबाट चौँरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ । पाँचखालतर्फ गइरहेको ट्रकले उनलाई ठक्कर दिँदा उहाँको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।


    काठमाडौँबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहेका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो । गम्भीर घाइते भएका उहाँलाई धुलिखेल अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक र त्यसका चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

  • कर्णालीमा बुधबार सार्वजनिक बिदा

    कर्णालीमा बुधबार सार्वजनिक बिदा

    ४ भदौ, कर्णाली । कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । विसं २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक सङ्घ संस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।


    दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रुपमा मनाउने उनले बताए ।

  • जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमित र ११ जनाको मृत्यु

    जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमित र ११ जनाको मृत्यु

    ३ भदौ, काठमाडौं । जापानिज इन्सेफलाइटिस्बाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भइसकेको बताए । उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपराली पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक\एक जना तथा चितवन तीन जनाको मृत्यु भएको छ ।

    मृत्यु भएकामध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् । शाखा प्रमुख डा गौतमका अनुसार घरमा नै रहेका ३० प्रतिशत र अस्पताल जाँदाजाँदै २७ प्रतिशतको मृत्यु भएको छ । सन् २०२४ मा जापानिज इन्सेफलाइटिस्बाट २५ जनाको निधन भएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो ।

    उनले जापानिज इन्सेफलाइटिस् खोप नलगाएकाहरूमा धेरै सङ्क्रमण देखिएको बताए । “हालसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा यसको देखिएको छ । २४ वटा स्थानीय तहलाई उच्च जोखिमको रूपमा लिइएको छ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ”, डा गौतमले भने । उनका अनुसार नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफलाइटिस्विरुद्धको खोप लगाई सकिएको छ ।

    चिकित्सकहरूका अनुसार जापानिज इन्सेफलाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको बताइन्छ ।

    जापानिज इन्सेफलाइटिस् गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने डा गौतमले बताउनुभयो । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भए पनि धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने गर्दछ । यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

  • झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

    झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

    रासस
    ३ भदौ, झापा । जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ । जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा जिल्लामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरू अधिकांश विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दा छन् ।

    करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उहाँले बताउनुभयो । अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान छैन । अपूर्ण ज्ञान र सतर्कताको कमीका कारण करेन्ट लागेर मानिसले अकालमै मृत्युवरण गरिरहेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा झापामा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ ।

    यसैबीच मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको घरमै करेन्ट लागेर मृत्यु भएको छ । बिग्रिएको टेबल पङ्खा मर्मत गर्ने क्रममा सोमबार साँझ अचानक करेन्ट लागेर अचेत भएका राजवंशीलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारीमा पुर्याइएको थियो । उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान

    आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान

    ३ भदौ, काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थान तथा मधेस प्रदेशको तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थान र तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किए, २ को मृत्यु, ३ घाइते

    बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किए, २ को मृत्यु, ३ घाइते

    २ भदौ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका ७ स्पेसलचोकमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना भएको छ । घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । बागमती प्रदेश ०२–०४१ प ६८१९ को स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ । उनीहरुलाई अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरी प्रभाव बुढानीलकण्ठले जनाएको छ ।

    दुर्घटनामा गोरखा आरुपोखरी घर भई बुढानीलकण्ठ ८ भंगाल बस्ने २४ वर्षीय एरिक परियार, नाम, थर र वतन नखुलेका २८–३० वर्षका पुरुष र ३०–३२ वर्षका पुरुष घाइते छन् । पहिचान नभएका दुई जना पुरुषको अवस्था गम्भीर छ । उनीहरुको उपचार भइरहेको र आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

  • दार्चुला–गोकुेलेश्वर सडक : पहिराले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध

    दार्चुला–गोकुेलेश्वर सडक : पहिराले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध

    २ भदौ, खलङ्गा । पहिराले दार्चुला–गोकुेलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आजविहानदेखि शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक रनेबासमा सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ ।

    निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ । गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन् ।

  • मनसुन सक्रिय भएसँगै सिरहामा यसवर्षको रोपाइँ सकिन लाग्यो

    मनसुन सक्रिय भएसँगै सिरहामा यसवर्षको रोपाइँ सकिन लाग्यो

    २ भदौ, सिरहा । लामो समयको खडेरीपछि साउनको अन्त्यसम्म आइपुग्दा जिल्लामा रोपाइँ सकिन लागेको छ । कृषि ज्ञानकेन्द्र सिराहाका अनुसार हालसम्म जिल्लामा ८८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, भने आगामी केही दिनभित्र बाँकी रोपाइँ पनि सम्पन्न हुने जनाइएको छ । प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार साउन दोस्रो सातासम्म करिब ४५ प्रतिशत मात्र रोपाइँ भएको थियो । उनले भने, ‘साउन तेस्रो साताबाट सुरु भएको निरन्तर वर्षाले रोपाइँको गति बढायो र मसान्तसम्म आइपुग्दा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।”

    उनका अनुसार खडेरीको समयमा अधिकांश किसानले रोपाइँ गर्न सकेका थिएनन् । तर साउनको अन्त्यतिरको अनुकूल मौसम र किसानको सक्रियता रोपाइँलाई तीव्र बनाउन मुख्य कारण बन्यो । “साउन १५ गतेअघि रोपिएको धानको उत्पादन राम्रो हुने सम्भावना छ, तर त्यसपछि रोपिएको धानमा उत्पादनमा केही ह्रास आउने देखिन्छ,” महासेठले भने ।

    उनले भदौको पहिलो सातासम्म थप दुई प्रतिशत रोपाइँ पनि सम्पन्न हुने विश्वास व्यक्त गरे । “यो वर्ष जिल्लामा ९० प्रतिशत हाराहारीमा रोपाइँ पुग्ने अनुमान छ,” तर जिल्लाको उत्तरी भेगमा भने केही क्षेत्रमा अत्यधिक खडेरीका कारण धान रोपोमै सुकेको देखिएको छ । यद्यपि दक्षिणी क्षेत्रमा यस्तो अवस्था नरहेको उनले स्पष्ट पारे । कृषि ज्ञान केन्द्रले जिल्लाका १७ स्थानीय तहसँग समन्वय गरेर रोपाइँको प्रगतिसम्बन्धी तथ्याङ्क सङ्कलन गरेको हो । सबै स्थानीय तहका कृषि शाखाको सहकार्य गरी आफूहरुले तथ्याङ्क तयार पार्ने गरेको उनको भनाइ छ ।

    जिल्लाको धानखेतीमा कमला नहरले पनि महत्वपूर्ण भूमिका खेलेको छ । खडेरीका समयमा भूमिगत पानीको स्रोत तथा कमला नहरमार्फत सिँचाइ भएको जमिनमा प्रारम्भिक रोपाइँ गर्न सम्भव भएको थियो । केन्द्रका अनुसार कमला नहरबाट करिब १२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । विशेषगरी कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र सुखीपुर नगरपालिकाका साथै विष्णुपुर र औरही गाउँपालिकाका किसान यसबाट प्रत्यक्ष लाभ लिएका छन् । सिरहामा कूल धान खेतीयोग्य ५४ हजार क्षेत्रफल जग्गा रहेको ज्ञानकेन्द्रले जनाएको छ ।

    जिल्लामा धानबाली प्रमुख बाली हो । हरेक वर्ष करिब उस्तै परिमाणमा बर्खे धानखेती गरिँदै आएको छ । यस वर्षको प्रारम्भिक स्थितिमा देखिएको ढिलाइको बाबजुद साउन अन्त्यसम्म आइपुग्दा रोपाइँको गति उल्लेख्य बनेको छ । अब बाँकी रोपाइँ सम्पन्न भएसँगै आगामी हप्ता जिल्लामा रोपाइँ अन्तिम चरणमा पुग्ने अपेक्षा गरिएको छ ।

  • कालोपत्र नहुँदा बिहुँ–घोडाबाधे सडकखण्डमा वर्षौँदेखि सास्ती

    कालोपत्र नहुँदा बिहुँ–घोडाबाधे सडकखण्डमा वर्षौँदेखि सास्ती

    २ भदौ, गलकोट । नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ । बिहुँ–घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुराअवस्थाका कारण सवारी फसेर यात्रुहरुले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र वर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वारपार गर्नै समस्या हुने गरेको छ । बागलङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरेर नौ वर्षअघि ठेक्का लगाइएको थियो ।

    जसमध्ये बिहुँ घोडाबाँधेको १३ किमिमध्ये ६ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । आठ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो । ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ । चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनि ट्रक बिहुँमा फसेर समस्या भएको चालक रमण शर्माले दुःखेसो गरे । ट्रक मात्रै हैन दर्जनाँै कार तथा जिप सडकमा फस्ने गरेका छन् । लोकमार्गको १४० किमिमध्ये अन्यत्र कालोपत्र भइसकेको छ । बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयवासीको छ ।

    नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्मे भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताउनुभयो । “पुन ठेक्का लगाएको एक वर्ष भयो, रु २१ करोडको ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ, अहिले पूर्वाधारको काम गरिरहेको र वर्खा लागेकाले सडक हिलाम्मे छ”, मिश्रले भने, “निर्माण व्यवसायीलाई वर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ ।”

    बिहुँ–घोडाबाधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ सालको असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी तामाङ-रिजाल भगवती जेभीसँग रु २१ करोड ४९ लाखमा पुन ठेक्का सम्झौता गरिएको थियो ।

    रासस

  • ट्राफिक प्रहरीद्वारा चोरी भएका ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

    ट्राफिक प्रहरीद्वारा चोरी भएका ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

    १ भदौ, काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । यहाँ आयोजित कार्यक्रममा १९ मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले सवारी धनीको निवेदनका आधारमा खोजी गरेर आज सम्बन्धित व्यक्तिलाई हस्तारण गरिएको बताए ।

    खोजी गर्ने क्रममा केहीमा सोही नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको पाइएको प्रहरीले जनाएको छ । यी सवारीसाधन काठमाडौँ उपत्यकाका जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, चापागाउँ, नयाँबानेश्वर, हात्तीसार, एयरपोर्ट, सिफल, पुरानो बसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार, नयाँबसपार्क, बालाजुलगायतका स्थानबाट फेला पारिएको प्रमुख अधिकारीले बताए ।

  • भब्य बन्यो बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

    भब्य बन्यो बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

    १ भदौ, म्याग्दी । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ ।

    प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन गरेको जानकारी दिए । “पुराना र अस्थायी भवनका साँघुरा कोठामा बिरामीलाई कठिन र स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो”, उनले भने, “व्यवस्थापकीय चुनौतीलाई चिर्दै शल्यक्रिया, प्रसूति र फार्मेसी कक्षलाई पनि नयाँ भवनमा सार्ने तयारीमा छौँ ।”

    अस्पताल व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने कार्यालय र निर्माण व्यवसायीसँग समन्वय गरेर नयाँ भवनमा सेवा सञ्चालन गर्न उपसमिति गठन गरेर पहल गरिएको प्रमुख डा प्रधानले बताउए । ज्येष्ठ नागरिक, बालबालिका, महिला, पुरुष र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टाछुट्टै उपचारकक्षको व्यवस्था गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका अमृत गर्बुजाले नयाँ भवनमा सेवा पाउँदा सहज भएको बताए ।


    विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पताल विस्तारित क्षमताअनुसारको भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । पक्की भवन बनाउनका लागि २०७४ सालमा पुरानो बहिरङ्ग विभागको भवन भत्काएपछि अस्थायी भवन बनाएर सेवा सञ्चालन गरिएको थियो । तीनवटामध्ये प्रयोग गर्न मिल्ने भएको एउटा भवनलाई प्रयोगमा ल्याएको र बाँकी भवनलाई पूर्णता दिन ताकेता गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएकी जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिइन् ।


    सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनी र सहरी विकास तथा भवन आयोजना बागलुङसँग २०७३ मङ्सिर २१ गते सम्झौता भएको थियो । रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता भएको योजना लक्ष्यअनुसार २०७६ मङ्सिर २० गते सम्पन्न हुनुपर्ने थियो । पञ्चानब्बे प्रतिशत भौतिक प्रगति भएको बेनी अस्पतालको भवन निर्माण यही भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख कृष्णकुमार मर्हजनले बताए ।


    चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीनवटामध्ये दुईवटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्यालढोका र टायल राख्ने काम अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रवेश गर्ने र बाहिरिने पाँच सय मिटर सडक प्रिमिक्स कालोपत्र गरिएको छ । भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री छ । भवनको भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा आकस्मिक, प्रयोगशाला, रेडियोलोजी, पहिलो तलामा शल्यक्रिया कक्ष, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

    रासस

  • कन्काई घाटमा अब विद्युतीय शवदाह गृह, दुई करोड ३० लाख लागतमा बन्यो संरचना

    कन्काई घाटमा अब विद्युतीय शवदाह गृह, दुई करोड ३० लाख लागतमा बन्यो संरचना

    १ भदौ, बनियानी । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए । “शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ”, उनले भने , “एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

    कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले विद्युतीय शवदाह गृह निर्माणको काम सम्पन्न गरेर फर्किसकेको जानकारी दिए । गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको उनले बताए ।

    विद्युतीय शवदाह गृहबाट एउटा शव दहन हुन करिब ५० मिनेट लाग्ने उनले बताए । दाउराको प्रयोग गरेर शव दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने उनले बताए । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेको थियो ।

    निर्माण सम्पन्न भएसँगै कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीयस्तरबाट उठेको माग सम्बोधन भएको छ । विसं २०६७ मा स्थापना भएको कनकाई घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा छ । विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा प्रयोग गरिने दाउरा र समयको बचत हुने छभने वातावरण संरक्षणमा पनि मद्दत मिल्ने जनाइएको छ । रासस

  • करेन्ट लागेर पिपरामा दम्पतिको निधन

    करेन्ट लागेर पिपरामा दम्पतिको निधन

    १ भदौ, राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–५स्थित पिपरामा विद्युत प्रवाह चुहावट (करेन्ट) भएर आज विहान एक दम्पतिको निधन भएको छ । निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    उहाँका अनुसार कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला (करेन्ट) छाडेका थिए । सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको थियो । उनीहरु आफ्नो घरदेखि करिब एक सय ५० मिटर पूर्वमा रहेको खेतमा जाँदै गरेका जनाइएको थियो । खेतमा जानेक्रममा क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

  • सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

    सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

    ३१ साउन, बनियानी । सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी आज बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट भागेका थिए । उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बिराटपोखर क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

    पौडेललाई सुनसरी जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद, रु पाँच लाख जरिवाना र रु ३० हजार क्षतिपूर्ति तिर्ने सजाय सुनाएको थियो । उनी सोही सजाय भोगिरहेका अवस्थामा कारागारबाट फरार भएका हुन् । पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको प्रहरीले प्रनाउ खड्काले बताए ।

  • सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

    सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

    ३१ साउन, मलङ्गवा । सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । यादवलाई शुक्रबार साँझ आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अज्ञात व्यक्ति आएर गोली प्रहार गरेका थिए ।

    मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहारबाट गम्भीर घाइते यादवको महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको एक स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।


    छरछिमेकीसहित समूहमा बसेर कुराकानी गरिरहेका बेला दुई जना अपरिचित मानिस आएर रामपुकार भनेको को भनी सोधेर नै गोली प्रकार गरेका एक स्थानीयले बताए । गोली प्रहार गर्ने व्यक्ति भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने बसन्तपुरमा दुर्घटनामा परेको थियो । जसमा एक जना फरार भएको छ भने अर्का घाईतेलाई प्रहरी निगरानीमा जनकपुरमा उपचार भइरहेको प्रहरी सर्लाहीका प्रहरी प्रवक्ता राईले जानकारी दिए ।

    घटनामा संलग्नहरूको पहिचान भइसकेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए । मृतक यादव यसअघि सर्लाही सदरमुकाम मलङ्गवाको निजी विद्यालयमा शिक्षण पेसामा आबद्ध भए पनि अहिले खेती किसानी गर्थे । उनले गाउँघरमा केही रकम ऋण लगानीसमेत गरेको स्थानीयहरूले जनाएको छ ।

  • एनआरएनएमा सदस्यता खारेज गरि चुनाव रोक्ने चलखेल

    एनआरएनएमा सदस्यता खारेज गरि चुनाव रोक्ने चलखेल

    बिष्णु सिंह , न्युयोर्क।

    अहिले गैर आवासीय नेपाली संघ अमेरिकाको २०२५-२७ चुनावमा मतदान चलिरहेकोछ। तर यो मतदानमा अलि टाठाबाठा मतदाता सदस्यहरुले भोट गर्न नसकुन भनि अनेकन तिकडम अपनाएको देखिन्छ। त्यसैले यो मतदान प्रक्रियाको सर्वत्र घोर भर्त्सना भएको यत्र तत्र सामाजिक संजालमा देखिन्छ। मत हाल्नुअघि मतादाता दर्ता गराईन्छ। त्यतिबेला नै आफ्नो पासपोर्ट वा सरकारले दिएको फोटो आईडि कार्ड पनि अनिवार्य समावेश गराइन्छ। अहिले यो प्रक्रिया नै अनावस्यक र झनझटिलो बनाएका छन। पुर्व चुनावहरुमा यस्तो थिएन। जस्तो: म आफुनै यस सस्थाको आजीवन सदस्य हुदा मलाइ आई डि नम्बर र फोटो आईडि कार्ड दिइएको छ। तर यही मेरो एन आर एनको पहिचानलाई अहिले मतदानको लागि आधार नबनाई, क्यामरा भएको कम्प्युटर वा क्यमारावाला एन्द्रोइड फोन अनिवार्य गराईएको छ। नत्र सम्पुर्ण प्रक्रिया पुरे गरिसकेपनि यदि यी दुई महंगा साधन नभए भोट हाल्न बन्चित हुनुपर्छ । पैसा तिरी सदस्य बनेर भोट नै हाल्न नपाउने हो भने किन यो संस्थाको सदस्य बन्ने ? त्यसैले हाम्रो सदस्यता खारेज गरि सदस्यता शुल्क फिर्ता पाऊ भनि धेरै सदस्यहरुले शुल्क फिर्ता माग गरेका छन।
    के अब एनआरएनमा महंगा ल्यप्टप र फोन किनेर मात्र सदस्य बन्नु पर्ने हो भनि सदस्यहरुले प्रश्न गरिएको छ। नत्र किन एन आर एन आफैले दिएको फोटो सहितको आईडि र आईडि नम्बर प्रयोग गरेर मतदान गर्न नसकिने ? अथवा पासपोर्ट र अमेरिकि सरकार्ले दिएको आईडि प्रयोग गरेर किन मतदान गर्न नसकिने ? मतदानको लागि ईमेल, फोन नम्बर भोटिङ्ग आईडि सबै जाच गरेपछि फेरी किन फेस भेरिफिकेसन गर्न क्यामरा भएको फोन वा कमप्युटर अनीवार्य गराएको ? यसको सिधा अर्थ हुन्छ बढिसे बढि सदश्यहरुलाई मतदान गर्न रोक्नु हो भन्ने बुझिन्छ।
    गुटबन्दिले किचलो भइरहेको परिवेशमा जिम्मेवारी दिएको निर्वाचन आयुक्त बासु फुलाराले नै अन्तिम समयमा राजिनमा दिएपछि झनै लथालिङ्ग भएको देखिन्छ । निर्वाचनको मुखमै आएर निर्वाचन आयोगको राजीनामाले सबै गहिरो रूपमा स्तब्ध भएको छ । निर्वाचन सम्पन्न गर्न केही दिन मात्र बाँकी रहँदा आयोगको यस कदमले संस्थामा अन्यौलता र विषम परिस्थिति सिर्जना गरेको छ।
    यसैबीच कार्यकाल सकिसकेको अवस्थाको महासचिव रामहरी अधिकारीले सामाजिक संजालमा लेखे;
    “निर्वाचनको मुखमै आएर निर्वाचन आयोगको राजीनामाले म गहिरो रूपमा स्तब्ध भएको छु” । निर्वाचन सम्पन्न गर्न केही दिन मात्र बाँकी रहँदा आयोगको यस कदमले संस्थामा अन्यौलता र विषम परिस्थिति सिर्जना गरेको छ।”

  • मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

    ३० साउन, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।

  • तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुने २१ जना पुगे

    तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुने २१ जना पुगे

    २९ साउन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ । दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ७३२९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो दुर्घटना हुँदा बसमा सवार ११ र माइक्रोमा सवार १० गरी २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    दुर्घटनामा घाइते हुनेमा बा ०१–००६ ख ६५०३ नं को विद्युतीय माइक्रोका चालक नामथर वतन नखुलेको, बसमा सवार तनहुँ व्यास–१० बस्ने २९ वर्षीया आशा दरै, २० महिनाकी साइन दरै, लमजुङ दोर्दी नपा–२ की ३४ वर्षीया गीता थापा कुँवर, निजको छोरी १८ वर्षीया अंशु कुँवर, नवलपरासी सुनौल नपा–६ बस्ने २६ वर्षीय विशाल लामिछाने, तनहुँको व्यास नपा–१० बस्ने २७ वर्षीय सोमबहादुर परियार र चितवन भरतपुर मनपा–११ बस्ने ७४ वर्षीय पर्शुराम भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।


    यस्तै, कास्की पोखरा मनपा बस्ने ४२ वर्षीय मेखकुमार गुरुङ, म्याग्दी बेनी नपा–८ बस्ने ३३ वर्षीय क्षितिज शेरचन दाईने, कास्की पोखरा मनपा–८ बस्ने २५ वर्षीया सम्झना ढकाल, म्याग्दी बेनी नपा–८ बस्ने ३० वर्षीया सजिना पुन, चितवन भरतपुर मनपा २३ वर्षीया रचना भण्डारी, कास्कीको पोखरा मनपा–२९ बस्ने ४२ वर्षीय ध्रुवराज सुवेदी, पोखरा मनपा–३२ बस्ने ३५ वर्षीय सचीन दुवा, महोतरी चुन्म गापा–१ बस्ने २४ वर्षीय सुवासचन्द्र यादव, नवलपुर बुलिनटार गापा– १ बस्ने ३२ वर्षीया सीता श्रेष्ठ, नवलपुर बुलिनटार गापा–१ बस्ने ११ वर्षीय समीर श्रेष्ठ, धादिङ ज्वालामुखी गापा–५ बस्ने ३६ वर्षीय साने विश्वकर्मा, तनहुँको भानु नपा–६ बस्ने ३० वर्षीया साननानी गुरुङ र लमजुङ कोलाहसोथर गापा–५ बस्ने ३८ वर्षीय बखतबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको पोखरा मणिपाल शिक्षण अस्पताल, चितवन मेडिकल कलेज, लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।

  • बाजुरामा बाढी वितण्डा : यस्तो छ क्षतिको विवरण

    बाजुरामा बाढी वितण्डा : यस्तो छ क्षतिको विवरण

    २९ साउन, बाजुरा । बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा थप आठ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ । तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । बाढीले कुमाल बगर बस्ने आइसिंह बोहरा, भीमराज बोहरा, सिमपानी बस्ने चन्द्रलाल, मनी बुढा र रविलाल बुढाको घर बगाएको प्रहरी निरीक्षक चौधरीले बताए ।


    बाढीले वीरसिंह बोहरा, धनरुप बोहरा, प्रबल बोहरा र सोही वडामा रहेको गोल्देमाणुदेखि टिन जोड्ने निर्माणाधीन झोलुङ्गे पुलका सामग्री बगाएको प्रहरी निरीक्षक चौधरीले बताए । बाढीले स्थानीय आइसिंह बोहराको पसल, बाख्राखोरसहित ६० बाख्रा र भीमराज बोहराको बाख्राखोरसहित १० बाख्रा बगाइसकेको छ । बाढीका कारण यहाँका सात घर पूर्ण क्षति भएका छन् भने १७ घर पूर्ण जोखिम, सरकारी तथा आठ वटा सार्वजनिक कार्यालय जोखिममा परेका छन् ।

    बाढी प्रभावितलाई सुरक्षित ठाउँ सारिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । अहिले पनि वर्षा भइरहेकाले बाढीको जोखिम अझै रहेकाले प्रभावितलाई सुरक्षित रहन र बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए । उनीहरुलाई राहत वितरण र पुनःस्थापनाका लागि काम भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

  • हत्या आरोपमा दुई जना पक्राउ

    हत्या आरोपमा दुई जना पक्राउ

    २९ साउन, सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा बस्दै आएका ८८ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन् ।

    उनीहरूले चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरेको तर घरधनी यादवले हल्ला गरेपछि खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । फनिलाल यादवको यही साउन १४ गते हत्या भएको थियो । उनी घरमा एक जना भान्सेको सहयोगमा बस्दै आएको प्रहरीले जनाएको छ । घटनास्थलबाट खुकुरी र एकजोर चप्पल बरामद गरेको थियो ।

    प्रहरीका अनुसार, घटनापछि अनुसन्धान सुरु गरिएको र घटनास्थल नजिकैको सिसीटिभी फुटेज तथा छुटेको चप्पलको आधारमा साउन २३ गते प्रशान्त मण्डललाई पक्राउ गरिएको हो । मण्डलको बयानका आधारमा साउन २७ गते महेश चौधरी पक्राउ परेका थिए । हत्या प्रकरणको अनुसन्धान इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, मधेस प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले गरिरहेको छ । जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद थपगरी अभियुक्तहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

    अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

    २९ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित ‘धरहरा टपरी मःम’का सञ्चालकलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि रु दुई लाख जरिवाना गराएको छ । काठमाडौँ महानगरपालिकाले नियमित अनुगमनका क्रममा धरहरा टपरी मःमका सञ्चालकले बिक्रीवितरणका लागि तयार गरेको मःममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि जरिवाना गरिएको महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेले जानकारी दिए । धरहरा टपरी मःमका सञ्चालकले पटकपटक महानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको उनले बताए ।


    “बजार अनुगमनका क्रममा त्रुटि भेटिएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० ९१० ‘ख’ बमोजिम जरिवाना तोकिएको हो”, प्रमुख न्यौपानेले भने । महानगरले उक्त व्यवसायका सञ्चालकलाई जरिवाना रकम सात दिनभित्र बैंकमार्फत जम्मा गरी सोको जानकारीसहित कामपाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुनेगरी उत्पादन र बिक्रीवितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई आग्रह गरेको छ ।

  • जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

    जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते


    २८ साउन, म्याग्दी । यहाँको मालिका गाउँपालिका–५ रुन्मामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन घाइते भएका छन् । दरवाङदेखि रुन्मातर्फ जाँदै गरेको ग २ च ४३९२ नं को बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनामा परी मालिका गाउँपालिका–५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । जिपका चालक मालिका–५ का ४० वर्षीय चन्द्र पुन, १४ वर्षीया सिर्जना घर्ती र ७३ वर्षीय भविराज फगामी घाइते भएका छन् । घाइतेको दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण

    जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण


    २७ साउन, धनुषा । जनकपुरधाममा कानुन व्यवसायीले पत्रकारमाथि आक्रमण गरेका छन् । गुठी संस्थानले नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशलाई उपलब्ध गराएको जग्गा सम्बन्धमा नेपाल बार एसोसिएसन जनकपुरसँग विवाद हुँदा पत्रकारमाथि कानुन व्यवसायीको समूहले आक्रमण गरेको हो । महासङ्घले संस्थानसँग भाडामा लिएको जग्गा कब्जा गर्दै कानुन व्यवसायीले आफूहरूमाथि कुटपिट गरेको महासङ्घ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोले जानकारी दिए ।
    आक्रमणमा परी र महासङ्घका प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा, महासचिव महतो, पत्रकार दिवाकर रायलगायत छ जनाभन्दा बढी पत्रकार घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । महासचिव महतोको खुट्टामा चोट लागेको छ । अध्यक्ष बन्जाराको शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको छ भने दिवाकरको टाउकोमा चोट लागेको छ ।
    जनकपुरधामस्थित भूतनाथ महादेवको दक्षिणतिर पत्रकार महासङ्घले चार कट्ठा जग्गा लिजमा लिएको छ ।

    नेपाल बार एसोसिएसन जनकपुरधामले भने साउन २० गते सूचना जारी गर्दै २१ गतेदेखि सोही जग्गामा कानुन व्यवसायीलाई गाडी पार्किङ गर्न आह्वान गरेको थियो । महासङ्घको जग्गा बारले बलजफ्ती कब्जा गरेपछि विवाद सुरु भएको हो । प्रदेश अध्यक्ष बनजाराले गुठीसँग विधिवत् रूपमा सबै प्रक्रिया पूरा गरेर वार्षिक रु तीन लाख एक हजार १०० भाडा तिर्नेगरी चार कट्ठा जग्गाको सम्झौता भएको बताए । उनले गुठीसँग २० वर्षका लागि जग्गाको सम्झौता भएको बताए ।


    अध्यक्ष बन्जाराले बारसँग वार्तासमेत भएको उल्लेख गर्दै भने, “बारसँग हाम्रो मौखिक सम्झौता पनि भएको थियो । हाम्रो जग्गाको पछाडि पनि जग्गा छ, यो जग्गा प्रयोग गर्नुस् बाटोको समस्या भए फुकाइदिन्छौँ भन्ने मौखिक सम्झौता भएको थियो, तर आज एकाएक उहाँहरू आक्रमणमा उत्रिनुभयो ।”

    अध्यक्ष बनजाराले यस विषयमा जिल्ला अदालतमा रिट परेको र भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएकाले त्यसैबाट टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । महासङ्घका महासचिव महतोले साउन १९ गते महासङ्घको गुठी संस्थानसँग चार कट्ठा जग्गाको सम्झौता भएको बताए । उनले जेठ ७ गते गोरखापत्रमा तीन वटा जग्गाको लागि सूचना प्रकाशित भएकामा विभिन्न सङ्घ संस्थाले प्रस्ताव पेस गरेकोमा प्राविधिक, आर्थिक प्रस्ताव पेस गरेपछि महासङ्घको प्रस्ताव पारित भएको बताए ।


    “यस विषयमा साउन २ गते गोरखापत्रमा सूचना प्रकाशन गरिएको छ । गुठीले साउन ९ गते हाम्रो प्रस्ताप स्वीकृत भएको जानकारी दिएपछि यही साउन १९ गते सम्झौता भएको हो”, महासचिव महतोले भने, “न्यायका लागि वकालत गर्ने कानुन व्यवसायी नै यसरी आक्रमणमा उत्रिनु निन्दनीय छ । हामी खेद प्रकट गर्दछौँ ।”

  • मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते

    मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते


    २६ साउन, बरहथवा । सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा आज मधेश प्रदेश ०३–०३१ प ४९२३ र ज ११ प ५५०५ नम्बरको मोटरसाइकल दुर्घटना भएका हुन् । दुर्घटनामा मधेश प्रदेश ०३–०३१ प ४९२३ नं को मोटरसाइकलमा सवार बारा कोल्हवी नगरपालिका–९, बस्ने ४२ वर्षीया इनरवती चौधरीको मृत्यु भएको हो । सोही घटनामा मोटरसाइकल चालक चौधरीको छोरा ३२ वर्षका दीपक चौधरी र २८ वर्षका रामरूप चौधरी घाइते छन् ।

    दुर्घटनामा परेर गम्भिर घाइते हुनुभएकी इनरवतीलाई उपचारका लागि तत्काल चन्द्रनिगाहापुर पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । पूर्वपश्चिम राजमार्गबाट भरत तालतर्फ जाँदै गरेका उनीहरु सवार मोटरसाइकललाई सोही दिशाबाट आँउदै गरेको ज ११ प ५५०५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा ठक्कर दिने मोटरसाइकलका चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–९, बस्ने २० वर्षीय विशाल महतो र सोही मोटरसाइकलमा सवार भारतको मुजफ्रपुर जिल्लाको मिनापुर ग्राम पञ्चायत १० बस्ने २० वर्षीय प्रेमकुमार भगत घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए । दुवै जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय कर्मैयाको हिरासतमा राखिएको छ ।

  • सुनसरी दुर्घटना अपडेटः मृतक तीनजनाको सनाखत

    सुनसरी दुर्घटना अपडेटः मृतक तीनजनाको सनाखत


    २६ साउन, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बस र माइक्रोबस एकापसमा ठोक्किँदा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शङकर मण्डल, कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङको बिराटनगर–१० का ४० वर्षीय अशोक यादव रहेका सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

    त्यसैगरी उक्त दुर्घटनामा अन्दाजी ४५÷५० वर्षीया एक महिलाको पनि मृत्यु भएको तर उनको पहिचान खुल्न नसकेको प्रहरी नायव उपरीक्षक खतिवडाले बताउनुभयो । काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जादै गरेको मे१ख १७९९ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको प्र२–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस एकापसमा ठोक्किएका हुन् ।

    माइक्रोबसमा १८ जना सवार थिए । उनीहरुमध्ये दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरुको सुनसरीको भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिए । यसैगरी दुर्घटनामा घाइते अन्यको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बस चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • बसमा अचेत भेटिएका वृद्धको मृत्यु

    बसमा अचेत भेटिएका वृद्धको मृत्यु

    २६ साउन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको आज मृत्यु भएको छ । कास्कीको गगनगौंडाबाट तनहुँको दुलेगौंडातर्फ आइरहेको बसमा अचेत फेला परेका वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरिका करिब ७० वर्षीय गुञ्जबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

    बसबाट झारेपछि प्रहरीले उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । उनी तनहुँको शुक्लागण्डकी नगरपालिका–६ वयामस्थित छोरीको घरमा बस्दै आएका थिए । गगनगौंडाबाट उनी बन्केवाचोकका लागि बस चढेका थिए । बसमा केही पटक बान्ता गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् ।

  • जनकपुरमा रेल र कार ठोक्किए

    जनकपुरमा रेल र कार ठोक्किए

    २५ साउन, महेन्द्रनगर । जनकपुरधाम उपमहानगरपालिका(९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१ ०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए ।

    स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठूलो क्षति पुगेको छ । दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छभने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।