Category: स्थानीय

  • महाकालीमा दुई बालिका बेपत्ता

    महाकालीमा दुई बालिका बेपत्ता

    २५ साउन, दोधारा चाँदनी कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ ऐरी नजिक महाकाली नदीमा दुई बालिका बेपत्ता भएका छन् । नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त रहेका छन् ।

    “महाकालीमा नुहाउने क्रममा बेपत्ता भएका बालिकाको खोजी कार्य जारी छ”, उनले भने, खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका समेत नुहाइरहेका थिए । जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन् ।

  • जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

    जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

    २५ साउन, काठमाडौं । पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरुलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले राससलाई जानकारी दिए ।

    “शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्ति (तान्त्रिक)लाई दिएको मृतकका परिवारले आरोपसहितको सूचना प्रहरीलाई दिएपछि दुवै जनालाई नियन्त्रणमा लिएका हौँ”, उनले भने । नियन्त्रणमा लिइएका दुवै जनालाई अहिले प्रहरी वृत्त गौशलामा राखेर सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताए ।

  • ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    २५ साउन, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
    नारायणघाटतर्फबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई सिस्नेपुलमा ठक्कर दिएको थियो । स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । दुवै जनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ । उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

  • सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

    सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

    २५ साउन, धरान । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन् ।

    कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो ।

  • नदीले बगाएर एक जना बेपत्ता

    नदीले बगाएर एक जना बेपत्ता

    २४ साउन, दमौली । तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । उहाँकमो खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । पिकनिक गएकामध्ये तीन जना मादी नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा परियारलाई पानीले बगाएको थियो ।

  • सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

    सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

    २२ साउन, म्याग्दी । सेवाग्राही खोज्दै म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सहर झरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन् ।

    यस साउन १८ र १९ गते काठमाडाँैमा घुम्ती शिविरमार्फत सेवा दिएको गाउँपालिकाले बुधबारदेखि प्रदेशको राजधानी पोखराको नदीपुरस्थित नेपाल छन्त्याल सङ्घको सभाहलमा शिविर सञ्चालन गरेको छ । पहिलो दिन करिब १५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा लिएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।


    “हरेक वर्ष भत्ताका लागि ‘बायोमेट्रिक’ सहित लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ”, उनले भने, “गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर नवीकरण गर्ने व्यवस्था मिलाएका हौँ ।” गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीको सहजताका लागि जनप्रतिनिधि र वडासचिवहरु सहरमा पुगेर सेवा दिएको बताए ।

    अध्यक्ष र उपाध्यक्ष पुनद्वयका साथै सातवटै वडाका अध्यक्ष र तीन जना वडा सचिवहरुले शिविरमा सेवा दिए । गत आर्थिक वर्षमा धवलागिरिका दुई हजार ९३८ जनालाई रु १० करोड ५८ लाख चार हजार २८८ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । सेवासुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरे पनि धेरैले औपचारिक रुपमा बसाइँसराइ गरेका छैनन् । गत आर्थिक वर्षमा धवलागिरिमा ७६ परिवार बसाइँ गरेर जाँदा १० परिवार आएका थिए ।

  • फलामले लागेर क्रेन अपरेटरको मृत्यु

    फलामले लागेर क्रेन अपरेटरको मृत्यु

    २२ साउन, निजगढ । यहाँको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ । क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो । फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए ।

  • बर्दियाको किरिनखोलामा जलसतह सतर्कता तहभन्दामाथि

    बर्दियाको किरिनखोलामा जलसतह सतर्कता तहभन्दामाथि

    २१ साउन, काठमाडौं । बर्दियाको किरिनखोला जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेकाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले एक सूचना सार्वजनिक गर्दै बर्दियाको किरिनखोला जलमापन केन्द्रको जलसतह बढेको र नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो ।

    विभागले बुधबार बिहानसम्म आवश्यक सावधानी अपनाउनसमेत सबैको ध्यानाकर्षण गरेको छ । यसअघि विभागले रुकुम पश्चिमको ठूलो भेरी नदीको रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको थियो ।

  • जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि…

    जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि…

    २१ साउन, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जङ्गली हात्ती प्रवेश गर्न थालेको छ । हात्ती बस्ती क्षेत्रमा दिउँसै देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । मङ्गलबार दिउँसो भाले वयस्क हात्ती गाउँ छिरेर सडक र खेतबारी हुँदै हिँडिरहेको देखिएको हो । हात्ती गाउँ पसेपछि स्थानीयले होहल्ला गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ भगाएका थिए । हात्ती पुनः बस्तीमा फर्कने डर कायमै रहेको स्थानीय लक्ष्मण रानाले बताए ।


    “हात्तीले प्रत्येक वर्ष बाली नष्ट गर्छ, गत वर्ष एक जनाको ज्यानसमेत लिएको थियो”, उनले भने, “हामी त्रसित छौँ, हात्ती नियन्त्रणमा लिन सम्बन्धित निकायसँग माग गरिरहेका छौँ ।” जाई–पर्सिया गाउँमा प्रत्येक वर्ष जङ्गली हात्ती प्रवेश गर्ने, किसानको बालीमा क्षति पुर्याउने र जनधनको क्षति पुर्याउने काम गर्दै आएको छ । हात्ती लालझाडी संरक्षण क्षेत्र हुँदै जाई र पर्सिया गाउँ पसेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए ।


    लालझाडी सबडिभिजन वन कार्यालयका प्रमुख करुणकर जोशीले लालझाडी संरक्षण क्षेत्रमा पाँच जङ्गली हात्ती रहेको जानकारी दिए । उनका अनुसार हात्ती बस्ती हुँदै निकुञ्जतर्फ आउजाउ गर्ने गरेको छ । हात्ती बस्तीतर्फ जुनसुकै बेला पनि आउन सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए ।

  • देशका केही भागमा भारी वर्षाको सम्भावना

    देशका केही भागमा भारी वर्षाको सम्भावना

    २१ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ ।

    मधेस प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका ठाउँको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु

    सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु

    २१ साउन, राजविराज । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । सो क्रममा यादवको तिघ्रामा गोली लागेको हो । गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    राजगड गाउँपालिका–२ स्थित नेपाल–भारत सीमामा ‘सर्च अप्रेसन’ गर्दा उक्त ठाउँबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ । यस्तै चार दिन अगाडि पनि सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले छिन्नमस्ता–१ बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी–७ का मनोज रायलाई पक्राउ गरेको थियो ।

  • अन्नपूर्ण क्षेत्रमा एक वर्षमा लेक लागेर १८ पर्यटकको मृत्यु

    अन्नपूर्ण क्षेत्रमा एक वर्षमा लेक लागेर १८ पर्यटकको मृत्यु

    २० साउन, गण्डकी । गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एकरएकजना नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । पदत्रायाका क्रममा लडेर र अन्य दुर्घटनाका कारण गतवर्ष चारजना पर्यटकले ज्यान गुमाएका एक्यापका प्रमुख डा रविन कडरियाले जानकारी दिए । अधिकांश लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा हुने गरेको उनको भनाइ छ ।

    आव २०८०–८१ मा अन्नपूर्ण क्षेत्रमा २० जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो । लेक लागेका कतिपय पर्यटकलाई हेलिकप्टरबाट समेत उद्धार गरेर बचाइएको एक्यापका प्रमुख कडरियाले बताए । सडकमार्ग भएर मुक्तिनाथ दर्शनका लागि जाने भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको उनले बताए ।

    “हिमाली तथा उच्च पहाडी भेगको यात्रामा जाँदा एकैपटकमा धेरै उचाइमा पुग्न हुँदैन, विश्राम लिँदै जानुपर्छ”, डा कडरियाले भने, “लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्किहाल्नुपर्छ ।” एक्याप कार्यालयले विगत दुई वर्षदेखि लेक लागेका घटनाको तथ्याङ्क राख्न सुरू गरेको हो । पदयात्रामा क्रममा लडेर मृत्यु हुने गरेका घटना पनि बर्सेनि दोहोरिने गरेका छन् । आव २०८०–८१ मा कास्कीमा स्वीडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको पदयात्रा क्रममा लडेर मृत्यु भएको थियो ।

    “लामो दुरीको पदयात्रामा निक्किँदा एक्लै जानुहुँदैन, समूहमा वा पथप्रदर्शक लिएर मात्र हिँडनुपर्छ”, प्रमुख डा कडरियाले भने, “ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा जानु उपयुक्त हुन्छ ।” पर्यटक पथप्रदर्शक दिवस गुरुङले भारतीय पर्यटक गाडीबाट एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या देखिने गरेको बताए । “हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ, कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासि पुग्दा लेक लाग्ने हुन्छ”, उनले भने, “यो समस्या मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकमा बढी देखिने गरेको छ ।”

    काठमाडौँ उपत्यकालगायत तराई भेगबाट तिलिचो ताल पुग्ने नेपालीमा पनि लेक लाग्ने समस्या बढी देखिने गरेको पथप्रर्दशक गुरुङले बताए । स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको उनको भनाइ छ । उहाँले पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्न सुझाव दिए ।


    शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा जानुपर्ने पथप्रदर्शक गुरुङले बताए । नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रा गर्न नहुने उहाँको भनाइ छ । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटक पुगेका थिए ।

    अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् ।

  • नारायणगढ–मुग्लिन सडकः सधैँ ढुङ्गा खस्ने त्रास

    नारायणगढ–मुग्लिन सडकः सधैँ ढुङ्गा खस्ने त्रास

    २० साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम हुने भए पनि ढुङ्गा खस्ने समस्या भने रहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सबैभन्दा बढी समस्या देखिएको तुइन खोलामा ठूलो ढुङ्गा झारिएको छ । सँगै साना ढुङ्गा झारिएको भए पनि अझै सो क्षेत्र जोखिमपूर्ण रहेको उनको भनाइ छ ।

    उनले भने, “यो ठाउँमा रकनेटिङ गर्नका लागि छलफल भइरहेको छ”, झण्डै १६ मिटर माथिबाट अत्यन्तै जोखिममा रहेको ठूलो ढुङ्गालाई लङबुम एक्साभेटरको सहयोगमा गरिएको हो । सोही सडकको लामो बालुवा पुल आसपास क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सोही क्षेत्रमा ढुङ्गा खसेर केही समयअघि एक जना चालकको मृत्यु पनि भएको थियो । घिमिरेका अनुसार सडकको सात सय मिटर जति क्षेत्रमा जोखिम बढी छ । सो क्षेत्रको केही भित्तो काटिएको थियो ।

    यस्तै जोखिम जलवीरेमा छ । झण्डै एक सय मिटर क्षेत्रमा साना ढुङ्गा खस्ने जोखिम रहेको हो । नाम्सी पुल क्षेत्रमा भित्तो काटिएको हुँदा ढुङ्गा खस्ने जोखिम छ । एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिए । तुइन खोला नजिकैको क्षेत्र पनि जोखिममा छ । साठ्ठी मिटर हाराहारी क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सो क्षेत्रमा सडक विस्तार गर्दा हल्का भित्तो काटिएको थियो । केही वर्षअघि यो सडक विस्तार गर्दा ठाउँठाउँमा भित्तो काटिएको थियो । ती क्षेत्रमा रकनेटिङ, वायो इञ्जिनियरिङलगायत प्रविधि प्रयोग गरेर पहिरो र ढुङ्गा खस्ने समस्या रोकथाम गरिएको हो । घिमिरेले भने, “पहिले रोकथामको काम गरेका ठाउँमा समस्या छैन, नयाँ ठाउँमा समस्या देखिएको छ ।” ती समस्या समाधानका लागि कार्यालयले विभागमा लेखी पठाएको छ ।

    कार्यालय प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँमा रकनेटिङलगायतका काम गर्नुपर्ने आवश्यकता औँल्याए । विभागसँग परामर्श गरेर काम अघि बढाइने उनको भनाइ छ । वर्षाको समयमा सडक जोखिमपूर्ण भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । कार्यालयले ढुङ्गा र पहिरो खस्न सक्ने जोखिम भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ । यस्तै सेतीदोभानमा लोडर, जेसिभी एक्साभेटर, ट्रकटेलर, टिपर तयारी अवस्थामा राखेको छ । उहाँका अनुसार नाली बन्द हुन नदिन मिनी एक्साभेटर र आवश्यक जनशक्ति सडकमा नियमित परिचालन गरिएको छ ।

  • ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

    ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

    २० साउन, गाईघाट । उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका उदयपुर रौतामाई–७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१४ का ५४ वर्षीय नवराज राउतलाई नियन्त्रणमा लिएको छ ।

  • सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

    सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

    २० साउन, इनरुवा । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ । सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा राति ८ बजे गरिएको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड रहेको थियो ।

    सोमबार राति १० बजेको मापनअनुसार एक लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । अहिले ५२ वटा मूल र चार वटा नहरका ढोकामध्ये १९ वटा खुला गरिएको उनले जानकारी दिए । कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातोबत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । विसं २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।

  • पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    २० साउन, ढोरपाटन । काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो सडकमा आवतजावत अवरुद्ध हुँदा गए रातिदेखि नै लामो तथा छोटो दूरीका सवारीसाधान चल्न सकेका छैनन् ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडकमा लेदोसहितको पहिराले पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङबाट पोखरा, काठमाडौँलगायतका स्थानमा जाने सवारीसाधान रोकिए हुन् ।

    उनले भने, “सडक खुलाउने प्रयास भइरहेको छ । राति पहिराले सडक अवरुद्ध भएपछि हामीलाई फोन आएको थियो, हामीले तुरुन्तै प्रहरी टोली पठायौँ, तर सडक खुलाउन सकिएन, अहिले पहिरो पन्छाएर सवारी आवागमन गराउनका लागि लोकमार्ग कार्यालयसँग छलफल भइरहेको छ, सडक खुल्न अझै केही समय लाग्ने देखिन्छ ।”

  • भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    १९ साउन, खलङ्गा । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजना सिल्ट सफाइका लागि मङ्गलबार बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

    दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जारी गरेको सूचनामा २० गते बिहान ६ देखि २१ गते बिहान ६ बजेसम्म माटो, बालुवालगायतका वस्तु जम्मा भएकाले सफाइ प्रयोजनका लागि ढोका खोलिने जानकारी प्राप्त भएको उल्लेख छ । उक्त समयमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको उनले आग्रह गरेका छन् ।

  • न्युयोर्कको नुवाकोटेको संस्था फोन्नाको अध्यक्षमा भुवनमान डंगोल

    न्युयोर्कको नुवाकोटेको संस्था फोन्नाको अध्यक्षमा भुवनमान डंगोल

    न्युयोर्क

    अमेरिकाको न्युयोर्क सहरमा भएका नुवाकोट मुलबासीहरुको संस्था ‘फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका’ फोन्नाको अध्यक्षमा भुवनमान डंगोल सर्वसम्मत चयन भएको छ ।

    अगष्ट ३ तारिखमा क्विन्स ब्रिज पार्कस्थित अधिवेशन आयोजना स्थलमा सम्पन्न भएको FONNA को दोश्रो अधिवेशनबाट सर्वसम्मत निर्विरोध भएको हो । नव निर्वाचित अध्यक्ष भुवनमान डंगोल लगायत कार्य समितिका सम्पूर्ण पदाधिकारीहरूलाई संस्थाको संरक्षक विज्ञान खनालले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

    नव निर्वाचित कार्यसमिति

    अध्यक्ष: भुवन मान डंगोल
    उपाध्यक्ष: लीला अर्याल
    सचिव: अर्जुन बगाले
    कोषाध्यक्ष: रसिला पाण्डे
    सदस्यहरू:
    १, दिपक पण्डित
    २, रामेश्वर खनाल
    ३, देवेन्द्र लामा
    ४, इन्द्र प्याकुरेल
    ५, भवानी पाण्डे
    ६, राज लामिछाने
    ७, कुमार तिमिल्सेना
    स्थाई प्रवक्ता:
    योगेश आदी

    संस्थाका निवर्तमान अध्यक्ष बिष्णु राना मगरले अधिवेशन सम्पन्न गर्न सहयोग गर्नु हुने र भेलामा उपस्थित हुनु हुने सबैप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।
    पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकाले पूर्व अध्यक्ष बिष्णु राना मगरलाई उपस्थित सम्पूर्णले सम्मान गरे ।

    संस्थाले आगामी दिनमा थप कर्यक्रमहरु र नुवाकोटको चासो र सरोकारमा कार्य गर्न जिल्ला कार्यदल समेत संचालन गर्ने प्रतिबद्दता नवनिर्वाचित अध्यक्षले जानकारी गराए । कार्यक्रममा जिल्लावासीहरुले बार्बेक्यु र नाचगान गरेर समयलाई माधुर्य बनाएका थिए ।

  • बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध

    बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध

    १९ साउन, गुल्मी । अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

    लगातार वर्षाको कारण रिडी–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो खस्दा उक्त सडक पनि पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यसैगरी रिडी–वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोला र वडा नं –५ को बादरेभीरमा बाढीपहिरोका कारण गएरातिदेखि उक्त सडकसमेत पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले जानकारी दिएका छन् ।

    उक्त क्षेत्रमा अहिले पनि लगातार रुपमा वर्षा भइरहेका कारण वर्षा नरोकिएसम्म अवरुद्ध सडक सुचारु गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक पटक–पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकले समस्या भोग्दै आइरहेका छन् । लगातारको वर्षाको कारण बडिगाड खोलामा पनि पानीको सतह बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जिल्लाका करिब दुई सय भन्दाबढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।

  • पृथ्वी राजमार्गको ऐनापहरामा बस दुर्घटना

    पृथ्वी राजमार्गको ऐनापहरामा बस दुर्घटना

    १८ साउन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नं को बस आज दिउँसो सडकबाट तल खसेर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले दुर्घटनामा घाइते पाँच जनाको उद्धार गरी उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको बताए । मस्र्याङ्दी नदीको माथिल्लो भागमा बस अड्किएको छ । बस तान्नका लागि क्रेन मगाइएको र दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

    सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

    १८ साउन, इनरुवा । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोशी नदीमा आज बिहानदेखि पानीको बहाव वृद्धि भएको छ ।
    साँझ ७ बजेको मापनअनुसार कोसी ब्यारेज भएर एक लाख ८९ हजार ३९० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव रहेकामा राति ८ बजे एक लाख ९१ हजार २१० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव मापन भएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । हाल ५६ मध्ये २७ वटा ढोका खुला गरिएका उले बताए ।

    प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले नदीमा पानीको बहाव बढे पनि कुनै समस्या नरहेको बताए । कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव पुगेमा खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रूमले जनाएको छ ।

  • भेडी गोठाला भन्छन्– सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

    भेडी गोठाला भन्छन्– सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

    १६ साउन, ढोरपाटन । अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान । त्यही भेडाका बथानसँगै भेटिनुहुन्छ, टेकध्वज घतान । पसिनाले निथ्रुक भिजेका शरीरका कपडा । शिरमा मैलिएको टोपी । बुढ्यौलीले चाउरिएका अनुहार । हिजोआज टीकाधारामा पुग्ने जोकोहीले भेट्छ टेकध्वजलाई । बागलुङको निसीखोला गाउँपालिका–६ का घतान गत जेठ अन्तिम साता टीकाधारा पुगेका थिए ।


    झण्डै २०० भेडाका बथान लिएर लेकमा उक्लिएका घतानको दैनिकी बिहान भेडा दुहुने र दिउँसोमा घाँस काट्नमै बित्ने गरेको छ । उनीसँगै रुकुमका सत्यराम विश्वकर्मा, रोल्पाका तीर्थबहादुर घर्तीसहित सात जनाको समूह त्यही गोठमा बस्छन् । सात जनाको झण्डै पाँच हजार भेडाले टीकाधाराको खर्कहरू ढपक्क ढाकिएका छन् । सबै एउटै गोठमा बस्ने हुँदा पालैपालो घाँस काट्ने र भेडा चराउन जाने गर्छन् । टेकध्वजले यसरी लेकमा बसेर भेडा पाल्न थालेको ५० वर्षभन्दा बढी भयो । ६४ वर्षीय घतान सानैदेखि गोठमा बस्दै आएका छन् ।


    उमेरले बुढ्यौली लागे पनि घतान अझै हट्टाकट्टा छन् । समुद्री सतहबाट चार हजार २०० मिटरको उचाइमा अझै पनि उत्साहका साथ उनी काम गर्छन् । धेरै भेडा हुँदा हिउँदमा बेँसी र बर्खामा लेक उक्लिनुपर्छ । बाह्रै महिना एउटै ठाउँमा राखेर भेडालाई घाँस पुर्याउन नसकिने हुँदा लेकबेँसी गर्नुपर्ने बाध्यता छ । टीकाधारा बुकीपाटन क्षेत्र हो । यहाँ अरु पनि थुप्रै गोठाला बस्छन् । लेकमा बढी चिसो हुने हुँदा गर्मीयाममा पनि बाक्लो कपडा लगाएर बस्नुपर्ने अवस्था छ । पाँच दशक बढी समय भेडापालनमा खर्चिए पनि अहिलेसम्म कतैबाट अनुदान पाउन नसकेको घतान गुनासो गर्छन् ।


    उनले भने, “यस्तो जाडो छ, सरकारले गोठालालाई एउटा न्यानो ज्याकेट दिए पनि लाउँदा हुँ, गोठको अवस्था यस्तो छ, गतिलो त्रिपाल दिए पनि हुन्थ्यो, बेलाबेलामा आएर कर्मचारीहरूले नाम टिपेर जान्छन्, तर दिने बेला केही पनि दिँदैनन्, समाचारले सरकारले किसानलाई अनुदान दिन्छ भन्छन्, हामीले अहिलेसम्म केही पनि पाएनौँ, बाउबाजेले यही पेसा गरे, हामीहरू पनि यसैमा लागियो अहिलेसम्म यहीबाटै परिवार चलाएका छौँ ।”

    बुकीपाटनमा रहेका भेडीगोठ अब असोज लागेपछि मात्रै बेँसी झर्छन् । यतिबेला टीकाधारा क्षेत्रमा बागलुङसँगै रोल्पा, रुकुम, म्याग्दी र डोल्पाबाट गोठालाहरू भेडा लिएर आएका छन् । बुकीपाटनभरि छरिएर रहेका गोठ र त्यहाँ बस्ने गोठालाको आ–आफ्नै कथाव्यथा र पीडा छ । तर उहाँहरूको गुनासो भने एउटै छ– सरकारले सहयोग गरेन । रुकुमपूर्वका सत्यराम विश्वकर्माले गोठालाका लागि राज्यले गोठ निर्माणका लागि चाहिने सामग्री दिए पनि आफूहरूका लागि ठूलो टेवा पुग्ने बताए ।


    “हाम्रो अघिल्लो पुस्ताले पनि भेडापालन गर्नुभयो, अहिले मैले पनि यही पेसा समाएको छु, अहिले मेरा तीन सयको हाराहारीमा भेडा छन्, गाउँमै बसेर यति धेरै भेडा पाल्न सकिँदैन, ठाउँठाउँमा पुगेर भेडाको स्याहारसुसार गर्नुपर्छ”, विश्वकर्माले भने, “एउटा बर्खामा तीनचार ठाउँमा गोठ सारेर बस्नुपर्छ, गोठ बनाउनका लागि एउटा गतिलो त्रिपाल, रातिमा बाल्ने सोलार दिए हुन्थ्यो ।”

    बुकीपाटनमा यतिबेला भेडीका बथान र गोठालाको चहलपहल छ । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीडभाडनै हुने गरेको छ । पर्यटकले भेडाको बथानमा छिरेर दुःख दिने गरेको भेडीगोठाला लेकबहादुर विकले बताए । पर्यटक बथानमा छिरेर नाच्ने र दौडिने गर्दा भेडा भाग्ने गरेको उनको भनाइ छ । “घुम्न आएका पाँच–सात जना एकैपटक भेडाको बथानमा छिरेर नाच्छन्, चिच्याउँछन्, त्यो गर्दा भेडा डराएर टाढाटाढा भाग्छन्, भागेका भेडालाई जम्मा गर्न धेरै समय लाग्छ, यसरी बथानमा नपस्नु भन्दा उल्टै हामीहरूलाई गाली गर्छन् ।”

  • पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

    पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

    १६ साउन, वीरगञ्ज । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् । वीरगञ्ज आसपासमा खानेपानीको चर्को समस्या भएसँगै समितिका अध्यक्ष डा किरण पौडेल र वीरगञ्ज महानगरकाका प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको भूसतह संरक्षण गरेर पानीको उपयोग गर्दै आइरहेको बाराको अमलेखगञ्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्थलगत निरीक्षण गरे ।

    वीरगञ्ज महानगरका प्रमुख सिंहले महानगर आसपासका क्षेत्रमा पानीको सतह घटेसँगै सो ठाउँमा पानी पुनःभरण गरेर पानीको सतह बढाउने विषयमा आवश्यक निरीक्षण गर्नका लागि अमलेखगञ्ज आएको बताए । “अमलेखगञ्जमा भावर क्षेत्रको भूसतहमा पानीको संरक्षण गर्दै पानी उपयोग गर्दै आइरहेको कुरा थाहा पाएर आज यहाँ स्थलगत निरीक्षण गर्न आएका हौँ”, उनले भने, “अमलेखगञ्जको जस्तै प्रविधि अपनाएर वीरगञ्जको भूसतहको पानी संरक्षण गर्न सकिन्छ कि भनेर आएका हौँ । अब दुई ठाउँको प्राविधिक विषयको अध्ययन गरेपछि मात्र ठोस निष्कर्ष निकाल्न सकिएला ।”

    प्रमुख सिंहले वीरगञ्जका चापाकलका पानी सुकेसँगै फेरि सोही ठाउँमा पानीको सतह वृद्धि गर्न आवश्यक कदम चाल्नका लागि थप सहयोगी हुने अपेक्षा राखेको बताए । “अहिले माथिल्लो तहको पानी बगेर खेरा गइरहेको छ । खेर गइरहेको पानीलाई पोखरीलगायत संरचना बनाएर संरक्षण गर्न सकेको खण्डमा जमिनमुनिको पानीको सतह बढाउन सकिने भएकाले पनि यो निरीक्षणमा आएका हौँ,” उनले भने, “वातावरणसँग सम्बन्धित विज्ञ तथा प्राविधिकले देखाएको बाटोअनुसार नै अघि बढ्ने योजनामा महानगर रहेको छ ।”

    अमलेखगञ्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरले पनि भावर क्षेत्रमा रहेको पानीको स्रोतको संरक्षण गरेर अहिले दैनिक २४ लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको बताए । “पहिला यहाँ पनि खानेपानीको चर्को अभाव थियो । पानीकै लागि यहाँका जनता भौतारिँदै आइरहनुभएको थियो”, उनले भने, “पानीको सतहभन्दा करिब तीन मिटर गहिराइमा पानीको स्रोत संरक्षण गरेर पाइप लाइनमार्फत अमलेखगञ्जस्थित ट्याङ्कीमा पानी राखेर यहाँका आठ सय २७ घरपरिवारलाई खानेपानी वितरण गर्दै आइरहेको बताए ।


    राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन एकाइ कार्यालय चितवनका इञ्जिनियर अनिल सिन्हाले भावर क्षेत्रमा पानीको स्रोतको संरक्षण र संवर्द्धन गर्न सकेको खण्डमा पानीको सतहमा वृद्धि गर्न सकिने बताए ।“भावर क्षेत्रमा रहेका पानीको सतहलाई विभिन्न खालका पोखरी तथा पानी संरक्षणको काम गरेर पानीको सतहलाई वृद्धि गर्न सकिन्छ”, उनले भने, “अमलेखगञ्जमा पनि भावर क्षेत्रमा पानीको संरक्षण गरेर अहिले बाह्र्रैमास खानेपानीको उपलब्धता भइरहेको छ”, उनले भने, “पर्साको भेडाहा खोलाको भावर क्षेत्रको पानीको स्रोत संरक्षण गरेर सो पानी वीरगञ्ज आसपासका क्षेत्रमा वितरण गर्न सकिने छ । त्यसका लागि विभिन्न खालका पोखरी तथा पानी सङ्कलन हुने वातावरण तयार पार्न जरुरी छ ।”

    इञ्जिनियर सिन्हाले अमलेखगञ्जको असल अभ्यासलाई पर्सामा पनि अनुशरण गर्न सकिने बताए । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरको प्राविधिकसहितको टोलीले विहीबार नै वीरगञ्ज महानगर–३१ वेल्बासहित भेडाहा खोलामा पुगेर पानीको स्रोत संरक्षण गर्न सकिने स्थानको पनि स्थलगत निरीक्षण गरेको थियो ।

    समितिका अध्यक्ष पौडेलले पानीको भूसतह कायम गर्नका लागि विभिन्न खालका पानीका पोखरी तथा अन्य विविध खालका संरचना निर्माण गरेर वीरगञ्ज आसपासको पानीको भूसतह वृद्धि गर्न सकिने बताए । ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्जको देखिएको खानेपानीको अभावलाई परिपूर्ति गर्न विभिन्न खालका स्रोतहरूको खोजीकार्यअन्तर्गत दुई ठाउँमा स्थलगत निरीक्षणमा गएको बताए ।

  • महानगरको आह्वान : पानी उमालेर मात्र पिउनुहोस

    महानगरको आह्वान : पानी उमालेर मात्र पिउनुहोस

    १५ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । बर्खाको समयमा जताजतै पानी उपलब्ध हुने भएकाले उत्पादक कम्पनीले मापदण्डविपरीत बिक्री गर्नसक्ने भन्दै कामपाले उपभोक्तालाई उमालेर मात्रै पिउने पानी प्रयोग गर्न आग्रह गरेको हो । कामपाका कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले पानीजन्य जोखिम कम गर्नका लागि कामपाले पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको जनाउँदै उपभोक्ताले पनि पानी उमालेर मात्र पिउनुपर्नेमा जोड दिए ।
    कामपाले गत असारमा मात्रै गरेको अनुगमनका क्रममा १५९ मापदण्डविपरीत पिउने पानी बोकेका जार नष्ट गरेको उनले जानकारी दिए । अनुगमनका क्रममा कामपाले पानी भित्र्याउने विभिन्न नाकामा टोली परिचालन गरी सहरबासीको आवश्यकता पूरा गराउन पानीको प्रशोधित सेवा दिने व्यवसायीका सवारीसाधन तथा जारको नियमित अनुगमन गरिरहेको जनाएको छ ।

    अनुगमनका क्रममा मापदण्डविपरीत भेटिएका जारलाई कामपाले अनुगमनकै क्रममा नष्ट गरेको विभागका प्रमुख न्यौपानेले उल्लेख गरे । कुच्चिएका, फुटेका र भित्रको पानी नदेखिने अपारदर्शी जार प्रयोग नगर्न पनि कामपाले सबैलाई आग्रह गरेको छ । कमजोरी पाइएका पानी उत्पादक कम्पनीलाई मापदण्डविपरीत प्रशोधित जार बिक्री नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिलबीजक गाडीमा लिएर हिँड्न निर्देशन दिइएको न्यौपानेले जानकारी दिए ।
    त्यसैगरी, कामपाले हैजा नियन्त्रणका लागि समुदाय तहमा पुगेर नागरिकले पिउने पानीको नमूना परीक्षण गर्ने तयारी गरेको छ । पानीको नमूना परीक्षणसँगै कामपाको प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम सुरु गर्ने तयारी भइरहेको कामपा महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि ‘फोकल पर्सन’ ऋषि भुसालले जानकारी दिए । उनका अनुसार विगतको वर्षमा भन्दा यस वर्ष मनसुन छिट्टै भित्रिएको र नियमितजस्तै पानी परिरहेकाले हैजाका बिरामी बढ्नसक्ने अनुमान गर्दै कामपाले नियन्त्रणका लागि काम थालनी गर्न लागेको हो । यसअघिका वर्षहरूमा बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी भेटिएका थिए ।

  • कागतीले बजार नपाउँदा निराश

    कागतीले बजार नपाउँदा निराश

    १५ साउन, दमौली । तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन् । व्यावसायिक कागतीखेतीमा लाग्नुभएका उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्छन् । मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गरेका छन् । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उनले बताए । मल्लले भने, “बारीसम्म गाडी पुग्ने बाटो छैन । मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य धेरै पर्न जान्छ । त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा समस्या छ ।”

    स्थानीयस्तरमा बजार नपाएपछि काठमाडाँैस्थित कालीमाटी तरकारी बजारमा पुगेर बिक्रीका लागि व्यापारीसँग अनुरोध गरेको उनले बताए । गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा कागती बिक्री भए पनि यस वर्ष बजार नपाएपछि काठमाडौँ पुग्नुपरेको उनको भनाइ छ । “उत्पादित कागती काठमाडौँसम्म लैजाँदा लागत धेरै पर्ने र उत्पादन लागत पनि पाउन गाह्रो छ, तर बारीमै कुहिनुभन्दा काठमाडौँमा बिक्री गर्न सके केही न केही सहयोग हुने आशा गरेको छु । ३० केजीभन्दा माथि खरिद गर्ने कृषकलाई बारीमै आएर छानीछानी कागती टिप्न दिने भनेको छु”, मल्लले भने । “गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नुपर्थेन । स्थानीय कृषकलाई प्रोत्साहन गर्ने दायित्व स्थानीय तहको पनि हो नि, तर सहयोग पाएका छैनौँ ।”

    एकातिर उत्पादनले बजार पाएको छैन, अर्कातिर गत जेठ १ र २ गते आएको हावाहुरीले कागतीखेतीमा क्षति पुगेको छ । यसले देशमै केही गरौँ भन्ने सोच लिएर सात वर्षअगाडि देखि कागतीखेतीमा लागेका मल्ल थप निराश बनेका छन् । उनले ५०० भन्दा बढी बोट कागती लगाएका छन् । हावाहुरीले ५० बोटमा क्षति पुगेको थियो । वर्षौं मिहिनेत गरेर हुर्काएको कागती प्रत्येक वर्ष आउने हावापानीले क्षति पु¥याए पनि कतैबाट राहतसमेत नपाइएको मल्लको दुःखेसो छ ।

  • ‘पर्यटक बढेपछि गोठमै आम्दानी’

    ‘पर्यटक बढेपछि गोठमै आम्दानी’

    १५ साउन, गलकोट । बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्न थालेको हो ।
    पदमार्ग आसपास र बुकीपानमा चिया–नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । पाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु खपत हुन थालेको र यसले आयआर्जनमा वृद्धि भएको गोठालाहरू बताउँछन् । पर्यटकलाई भैँसीको दूधसँगै खीर, चिया, मोही तथा दही खुवाएर आम्दानी गर्न थालिएको गोठालाहरूको भनाइ छ ।

    बुकीपाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनका रूपमा रहेको बुकीपाटन पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए । “पहिला त ढोरपाटन ल्याएर घ्यू बिक्री गरिन्थ्यो, मही फालिन्थ्यो । हाल बर्खामा पनि पर्यटक भरिभराउ छन, मोहीसमेत बिक्री हुन्छ”, उनले भने, “पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खीर पकाएर खुवाउँछु । गोठमै दूध, मोही बिक्री भएपछि बोकेर ढोरपाटन जानै पर्दैन ।”

    बुकीपाटन उक्लनले बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर गुमानसिंह कुमाईले पनि राम्रो आम्दानी गरिरहेका छन् । बुकी उक्लनेलाई प्रतिगिलास रु १०० मा चिया बिक्री गर्दै आएको उनको भनाइ छ । दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको कुमाईले बताए । उनको गोठमा एकै दिन एक सय गिलाससम्म चिया खपत हुने गर्छ । तीनवटा भैँसी र ६० वटा बाख्रा पाल्दै आएका कुमाईको घुम्ती गोठ पदयात्रा गर्ने छेउमै भएकाले असारयता दूध र चिया निकै खपत भएको हो ।

    “बुकीमा चरेका भैँसीको दूधको चिया पदयात्रीले निकै मीठो मानेर खाने गरेका छन्, दूधबाट चिया बनाउन थालेपछि यो ‘सिजन’मा घ्यू बनाउन आवश्यक छैन”, उनले भने, “पर्यटकका कारण गोठमै पैसा आएको छ, पहिला–पहिला खेर जाने मोही पनि हाल महङ्गो मूल्यमा बिक्री हुन्छ ।” ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि यसपटक बुकीपाटन गुल्जार बनेको छ । प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएपछि घोडा सफारी, घरबास र गोठमा बस्ने पर्यटकका कारण आयआर्जनमा सघाउ पुगेको हो ।

    ढोरपाटन सिकार आरक्षमा पहिले सिकार खेल्न विदेशी पर्यटक मात्र आउने गरेकामा पछिल्लो समय आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकी पाटन र जलजलालगायत क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक पनि यहाँ आउने गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् ।

  • विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

    विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

    १५ साउन, तानसेन । तानसेन नगरपालिका–११ स्थित लिपीन्देवी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न वर्गका ३७ जना विद्यार्थीलाई पाल्पा जेसीजले पाठ्यसामग्रीसहित झोला वितरण गरेको छ । जेसीजले बुधबार विद्यार्थीलाई झोला, कपी, कलम वितरण गरेको हो । तानसेन नगरपालिकाका प्रमुख तथा जेसीजका पूर्वअध्यक्ष सन्तोषलाल श्रेष्ठ, जेसीजका अध्यक्ष जेसी विवेककाजी शाक्य, नगरपालिका प्रवक्ता तथा तानसेन–११ का वडाध्यक्ष यादवसिंह कार्की, तानसेन–१ का वडाध्यक्ष तथा जेसीजका पूर्वअध्यक्ष जेसीज सुनिलकुमार बस्याल, जेसीजका निवर्तमान अध्यक्ष जेसी अर्जुन कार्कीलगायतका जेसीज पदाधिकारीले विद्यार्थीलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गरे ।

    “विपन्न वर्गका विद्यार्थी झोलालगायत शैक्षिक सामग्रीका कारण पढाइबाट वञ्चित हुन नपरोस्, भनेर एक वर्षलाई पुग्ने शैक्षिक सामान उपलब्ध गराएका छौँ”, जेसीजका अध्यक्ष जेसी विवेककाजी शाक्यले भने । त्यस अवसरमा नगर प्रमुख श्रेष्ठले उक्त विद्यालयका विद्यार्थीलाई सघाउन रु ५० हजारको अक्षयकोष स्थापनाको घोषणा गरे ।
    रासस

  • नेपालबाट अन्तर्राष्ट्रिय खुल्ला समर क्याम्प जर्मनी २०२५ मा राजीव महर्जन सहभागी हुने

    नेपालबाट अन्तर्राष्ट्रिय खुल्ला समर क्याम्प जर्मनी २०२५ मा राजीव महर्जन सहभागी हुने

    प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

    जुलाई २९ देखि अगस्ट २० सम्म जर्मनीमा हुने अन्तर्राष्ट्रिय खुल्ला समर क्याम्प २०२५ मा सहभागी हुन मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जन जर्मन जान लागेको हो । जर्मन क्लबका अध्यक्ष हसन हेन्सले उक्त क्याम्पका लागि मार्सल आर्ट अर्गनाइजेसन नेपाललाई निमन्त्रणा दिएका हुन । नेपाल लगायत स्पेन, पोल्यान्ड, स्वीडेन र जर्मनीका प्रशिक्षार्थीहरुको सहभागिता रहने समर क्याम्पमा मार्सल आर्टका तौर तरिका मात्र नभएर सहभागी देशको संस्कृति समेत एक आपसमा साटिने र यी देशबीच भाईचारा तथा मित्रता बढ्ने कुरा प्रशिक्षक महर्जनले बताउनु भयो । हरेक वर्ष हुने यस क्याम्पमा सहभागिता जनाउदै आएका प्रशिक्षक महर्जनले जर्मनीमा नेपालको प्रतिनिधित्व मात्र गरिरहेका छैनन, उनले आफुसंग भएको मार्सल आर्टको ज्ञान र नेपालको संस्कृति विश्व सामु प्रस्तुत गरिरहेका छन ।
    किर्तिपुर नगरपालिका र जर्मनीको लुबिज नगरपालिका बीचको सहकार्यमा नेपालबाट राजीव महर्जन एक हप्ता संचालन हुने क्याम्पमा सहभागिता जनाउन लागेको हो । क्याम्पमा बिभिन्न देशका सयौं प्रशिक्षार्थी तथा प्रशिक्षकहरुले सहभागिता जनाउने जर्मन क्लबका प्रशिक्षक हसन हेन्सले जानकारी दिनुभयो ।
    आयोजक क्लबका प्रशिक्षक हसन हेन्सले विभिन्न समयमा नेपाल आई प्रशिक्षण समेत दिई राख्नु भएको छ। यसरी दुई देशबीचको यो मार्सल आर्टका कला कौशल प्रशिक्षण दिने कार्यले दुबै देशको मार्सल आर्टमा उल्लेख्य विकास हुदै आइरहेको छ।

  • घर भत्किँदा किचिएर बालकको मृत्यु

    घर भत्किँदा किचिएर बालकको मृत्यु

    १४ साउन, बरहथवा । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर भत्किँदा किचिएर एक बालकको मृत्यु भएको छ । आज दिउँसो ४ः३० बजेको समयमा नवीन सिंहको पुरानो दुई तले पक्की घर अचानक भत्किएको थियो । आँगनमा खेलिरहेका स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझीको किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए ।

    प्रहरी टोली घटनास्थल पुगेको र प्रहरी, स्थानीय मिलेर जेसिबीको सहायतामा भत्किएको घरको भग्नावशेष हटाउने काम भइरहेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए । काठ, इँटा र माटोले बनेको उक्त घर पुरानो भएर लडेको हुनसक्ने प्रहरीको अनुमान छ । मृत बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा लगिएको छ ।

  • रसुवागढी क्षेत्रमा पुनः बाढीको वितण्डा

    रसुवागढी क्षेत्रमा पुनः बाढीको वितण्डा

    १४ साउन, काठमाडौं । आज बुधबार बिहान अन्दाजी २ बजे आएको बाढीले रसुवागढी क्षेत्रको भौतिक संरचनामा पुनः ठूलो क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेसी–रसुवागढी सडक पुनस् अवरुद्ध भएको छ । २४ असारमा आएको बाढीले यो सडक खण्ड दुई साता अवरुद्ध भएको थियो । त्यसपछि अस्थायी सञ्चालनमा आएको यो सडकमा बुधबार मेदामुदुङ, कुलुङ, लिङलिङ, तातोपानी, टिमुरे, घट्टेखोला, भन्सार यार्ड प्रवेशद्वार र नेपाली सेनाको चेकपोस्ट नजिक गरी ८ स्थानमा क्षति पुगेको छ । यस भेगमा ५ सय ४० मिटर क्षति पुगेको कार्यालयले जनाएको छ । सडक पुन: पूर्णरूपमा अवरुद्ध भएको छ ।

    स्याफ्रुबेसी–दोभान सडक अन्तर्गत लाङटाङ जलविद्युत् आयोजना प्लान्ट नजिक बाढीका कारण बाटो कटान भई सडक मार्ग अवरुद्ध भएको समेत कार्यालयको विवरणमा उल्लेख छ । टिमुरेस्थित भन्सार यार्डमा थप कटान गरेको छ । साथै, यार्डको दक्षिणतर्फ रहेको सानो घर र सँगै रहेको धर्मकाँटा समेत बगाएको छ । टिमुरे भन्सार यार्डको पारिपट्टि रसुवागढी जलविद्युत् आयोजनाको आवास क्याम्पको वर्कसपमा दुई युनिट फोर्ड पिकअप गाडी आज बाढीले बगाएको छ ।

    गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित भोटेकोशी नदीमा अवस्थित रसुवागढी हाइड्रोपावर जाने पुल र कालिका गाउँपालिका–१ तथा उत्तरगया गाउँपालिका–१ जोड्ने त्रिशूली नदीमा अवस्थित पक्की पुलको दुवैतर्फको प्रोटेक्सन ग्याबिनरवाल बाढीले भत्काएको छ । अहिले दुवै पुल जोखिममा रहेको कार्यालयले जनाएको छ ।

    गोसाइँकुण्ड गाउँपालिका–५ रुङ्गा पुल नजिकै काठले बनेको जस्ताको छानो भएको चार वटा टहरा समेत बाढीले बगाएको कार्यालयले जनाएको छ । २४ असारको बाढीबाट प्रभावित त्रिशूली–३ए जलविद्युत् र त्रिशूली ३बी आयोजनाको हब स्टेसनमा समेत थप क्षति भएको पाइएको छ । आजको बाढीले मानवीय क्षति भने भएको छैन ।