Category: स्थानीय

  • कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    ४ साउन, काठमाडौं । कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो ।

    विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुनसक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ । यसअघि विभागले यस्तै सूचनामार्फत लमजुङको भुजुङ वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा पनि सावधानी अपनाउन आग्रह गरेको थियो ।

    यस्तै, विभागले आज बिहान ५ः३० बजे अर्को सूचना जारी गर्दै इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको छ । विभागले सो आसपास वर्षाको मात्रामा क्रमशः वृद्धि भइरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ ।

  • यस्तो आज नेपालको मौसम पूर्वानुमान

    यस्तो आज नेपालको मौसम पूर्वानुमान

    ४ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ ।
    जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।

    यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

  • पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

    पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

    ४ साउन, पर्वत । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन् । उनकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिए ।

    उनका अनुसार स्थानीयले उद्धारकार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिए । गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।

  • नहरमा डुबेर एक जनाको मृत्यु

    नहरमा डुबेर एक जनाको मृत्यु

    ४ साउन, लम्की । कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका– २ का २२ वर्षीय प्रेम रसाइली रहेका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए । रसाइली लम्कीचुहा– ६ गुलरास्थित ससुराली घरमा बस्दै आएका थिए ।

    केही समययता जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । शुक्रबार मात्रै गौरीगङ्गा नगरपालिकास्थित नदीमा डुबेर एकै परिवारका दाजुभाइको मृत्यु भएको थियो । सोही नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको थियो ।

  • मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एकवर्षमा पाँच जनाको मृत्यु

    मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एकवर्षमा पाँच जनाको मृत्यु

    ४ साउन, बेलबारी । मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो । उनी जस्तै एकवर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका-८ बाँसबारीकी राजवंशी घर नजिकै खेतमा पानी हाल्न गएको बेला जङ्गली हात्तीको आक्रमणमा परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् । बिहीबार बिहान बेलबारी १० भाउन्नेका ४१ वर्षीय अमित लिम्बू जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएको बताउँदै उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको चुँडालले उल्लेख गरिन् ।


    आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्युु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । सुन्दरहरैचा नगरपालिका क्षेत्रका तीन, बेलबारी नगरपालिका र लेटाङ नगरपालिका क्षेत्रका एकरएक जनाको मृत्यु भएको कार्यालयका वन अधिकृत विमल केसीले जानकारी दिए । प्रहरी नायब उपरीक्षक चुँडालका अनुसार गत फागुन २५ गते लेटाङ नगरपालिका(९ जाँतेका ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो । वन फडानी, आगलागीलगायत कारणले जङ्गली हात्ती सुरक्षा तथा आहारको खोजीमा बस्ती पस्न थालेकाले आक्रमणका घट्ना बढ्न थालेका उनको भनाइ छ ।

    गत पुस ५ गते सुन्दरहरैचा १० की गङ्गामाया श्रेष्ठ, पुस १५ गते सुन्दरहरैचा ५ की चन्द्रकुमारी लिम्बू र गत माघ ५ गते सुन्दरहरैचाका हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको वन अधिकृत केसीले बताए । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भइसकेको छ । उक्त अवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ । तीमध्ये प्राकृतिक कारणले चार, चोरीतस्करीबाट दुई, गोली हानेर एक, बेवारिसे एक र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको उनले जानकारी दिए ।
    दुई वर्षदेखि मोरङको पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा जङ्गली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए । “हरेक राति जङ्गली हात्ती बस्तीमा छिरेर त्रसित बनाउने, बालीनाली खाइदिएर किसानलाई सास्ती दिने गरेका छन्”, उनले भने । जङ्गल आसपासका क्षेत्रमा आवश्यक सावधानी अपनाउनुका साथै अनावश्यक कामबाहेक रातिको समयमा घरबाट ननिस्कन र घर बाहिर उज्यालो बनाइराख्न डिभिजन वन कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

  • हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन

    हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन

    ३ साउन, सिन्धुपाल्चोक । यहाँको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । हल गोरु पाल्ने दुई सय ४० किसानलाई रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए । पछिल्लो समय प्रविधियुक्त ट्र्याक्टर भित्रिने क्रम बढेपछि हल गोरु पाल्ने प्रचलन हट्दै गएको भन्दै प्रोत्साहन गरिएको उनले बताए ।

    “खेत जोत्ने नयाँ नयाँ प्रविधि आइरहेका छन्, जसले गोरु पाल्ने चलन नै लोप हुने अवस्था आउनसक्छ । त्यसैकारण नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनको नीति लिएका हौँ”, नगरप्रमुख तामाङले भने । नगरपालिका कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले अनुदान रकमका लागि पशु बिमा गर्नका लागि आग्रह गरिएको बताए ।

    यसरी बिमा भएका किसानलाई बैंक खातामार्फत र बिमा भएको तर बैंक खाता नभएका किसानलाई भरपाई गरेर रकम उपलब्ध गराइएको उनले जानकारी दिउ ।
    यस कार्यक्रमले किसानलाई प्रोत्साहन मात्र नभई प्राङ्गारिक मल उत्पादन गरी माटो सुधार र जैविक विविधता संरक्षणमा समेत सुधार ल्याउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

  • जडीबुटीका विरुवासँगै तालिम दिँदै वनस्पती अनुसन्धान केन्द्र

    जडीबुटीका विरुवासँगै तालिम दिँदै वनस्पती अनुसन्धान केन्द्र

    ३ समउा, कैलाली । वनस्पती अनुसन्धान केन्द्र, कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले किसानलाई जडीबुटीका बिरुवा वितरणसँगै तालिम पनि दिएको छ । व्यावसायिक रुपमा जडीबुटी खेती गर्न इच्छुक किसान तथा व्यक्तिगत प्रयोजनको लागि बिरुवा रोप्ने व्यक्तिलाई आर्थिक वर्ष २०८१÷८२ मा ८१ हजार २४२ वटा विभिन्न प्रजातिका जडीबुटीका बिरुवा वितरण गरेको वनस्पति अनुसन्धान केन्द्र कार्यालयका प्रमुख गङ्गादत्त भट्टले जानकारी दिए । जसमा चिउँरी, नीम, तेजपात, शितल चिनी, कुरिलोलगायत बोटबिरुवा रहेका छन् ।

    अनुसन्धान केन्द्रले वार्षिक ५० हजार विभिन्न प्रजातिका जडीबुटीका विरुवा उत्पादन गर्ने लक्ष्य भए पनि लक्ष्यभन्दा बढी बिरुवा वितरण गरिरहेको उनको भनाइ छ । केन्द्रले मापदण्ड बनाएर प्रत्येक आर्थिक वर्षमा जडीबुटीका बिरुवा वितरण गर्दै आएको छ भने प्रदेशमा जडीबुटी खेती विस्तारसम्बन्धी तालिम दिँदै आएको छ । गत आर्थिक वर्षमा कैलालीको चुरे गाउँपालिका—३ मा २९ जना र वडा नं ४ को गर्भामा २५ जना गरी जम्मा ५४ जनालाई जडीबुटी खेतीसम्बन्धी तालिम दिइएको कार्यालय प्रमुख भट्टले जानकारी दिए । त्यस्तै कैलाली र कञ्चनपुरका पाँच वटा जडीबुटी समूह सहकारीहरुलाई सम्बन्धी तालिम दिएको छ ।

    तालिम दिने क्षेत्रमा पाइने जडीबुटीको अवस्था के छ, खेती गर्न सकिन्छ की सकिदैन, त्यसको सम्भावना के छ, माटोको उर्बरा शक्ति कस्तो छ , अध्ययन गरी पहिचान गरेर मात्रै तालिमको तय हुने गरेको उनले बताए । कार्यालयले अघिल्लो आव २०८०÷८१ मा बाजुराको बुढीगङ्गा र अछामको मेल्लेखमा त्यहाँ उत्पादन हुने जडीबुटीको पहिचान गरी ६० जनालाई जडीबुटी खेती विस्तारसम्बन्धी तालिम दिएको थियो । यी क्षेत्रमा रिठ्ठा उत्पादन हुने गरेको र अछामको रामारोशनमा सतुवा, डालेचुक उत्पादन हुन्छ सोहीलाई आधार बनाएर तालिम दिने गरिएको छ ।

    गत आवमा करिब १० हजार चिउरीका बिरुवा उत्पादन गरिएकोमा त्यसमध्ये सात हजार ९०० बिरुवा वितरण गरी चुरे क्षेत्रका सामुदायिक वनमा रोपी सकेको उनले बताए । चिउरीको फूल माहुरीका लागि लाभदायिक हुन्छ भने यसको दानाबाट ध्यू उत्पादन गर्न सकिन्छ । जडीबुटीखेती गर्ने समूह सहकारीलाई अनुसन्धान केन्द्रले अनुदानको व्यवस्था पनि गर्दै आएको कार्यालय प्रमुख भट्टले बताए । प्राकृतिक हराभरा भएको वनस्पति अनुसन्धान केन्द्रअन्र्तगत देवहरिया वनस्पति उद्यान १४९.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसभित्र जखौर, मुरफुट्टा र मुरफुट्टी गरी तीन वटा प्राकृतिक तालहरु रहेको छन् । पर्यटक, पर्यावरणीय हिसाबले यो उद्यानको छुट्टै महत्व छ ।

  • नेपालमा तीन महिनाको विपद्ः ९३ जनाको मृत्यु, २२ बेपत्ता

    नेपालमा तीन महिनाको विपद्ः ९३ जनाको मृत्यु, २२ बेपत्ता

    २ साउन, काठमाडौं । गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् ।
    प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनामा परेर आजसम्म चार सय ४५ जना घाइते भएका छन् । उनले ती घटनामा परेर चार हजार १३६ परिवार प्रभावित भएका जानकारी दिए ।


    प्राधिकरणले आज सार्वजनिक गरेको विसं २०८२ को पछिल्लो तीन महिनाको विवरणअनुसार बाढीका मात्रै एक सय ३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् । केही दिनअघि गत असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो । माथिल्लो क्षेत्रमा भएको हिमताल विष्फोटबाट उक्त घटना भएको थियो ।

    यस्तै पहिरोका एक सय ७५ घटनामा छ जनाको मृत्यु भएको छ । चट्याङ्बाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको प्रवक्ता सुनारले जानकारी दिए । अन्य हावाहुरी, सर्पदंश, भारी वर्षाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ ।

    बाढीबाट मात्रै एक हजार २४६ तथा आगलागीबाट एक हजार ४८ परिवार प्रभावित भएका छन् । पहिरो, चट्याङ्, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका जनाइएको छ ।

  • काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

    काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

    २ साउन, काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ । विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै सचेत रहन आग्रह गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भुषालले जानकारी दिए ।

    डेङ्गीबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको पनि भुषालले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले यस वर्षको वर्षायाममा विगतका वर्षमा भन्दा बढी पानी पर्ने भनेपछि डेङ्गीको जोखिम झन बढ्ने महानगरले जनाएको छ ।

    सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्र्मीले आ–आफ्नो टोलटोलमा पानी जमेको स्थानको सरसफाइसमेत गरिरहेका छन् । डेङ्गी रोग नियन्त्रण गर्नका लागि सामुदायिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । महानगरका ३२ वटै वडामा रहेका सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

    डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्दछन् । टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत जमेको दाग देखापर्नेलगायत लक्षण रहेको भुषालले जानकारी दिए । एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्ने छ ।

    डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने लुगा लगाउने , काम नलाग्ने र पानी भरिनसक्ने सामान जस्तै बोतल, टायर, प्लाष्टिकका वस्तु पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने, पानी ट्याङ्की, फूलदानी, गमलामा राखिएको प्लेट राम्ररी सफा गर्नेलगायत उपाय अपनाउन महानगरको आग्रह छ ।

  • श्रावण महिना र महिमा

    श्रावण महिना र महिमा

    हजुरी शाह, न्युयोर्क ।

    हिन्दु धर्ममा श्रावण महिनाको सोमवारको विशेष महत्व छ र हरेक सोमवार शिवजीको विशेष पुजा आजा गरि व्रत वस्ने चलन छ। भगवान भोलेनाथको प्रिय महिना भएकोले पुजा व्रत गरेपछि राम्रो फल प्राप्त हुन्छ भन्ने पनि भनाई छ । साथै यो महिनामा अरु चाडवाडहरु सावने सक्रान्ति, नाग पंचमी र जनै पुर्णिमा पनि पर्दछ। प्राय महिलाहरु र कतिपय पुरुषहरुपनि :श्रावणको हरेक सोमवार भगवान शिवको विशेष आराधना गर्ने गर्छन्।

    सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व पनि हो । यो पर्व स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइन्छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन हो । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।
    अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको भनाइ छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ ।

    यस समय विश्व धरोहर पवित्र तीर्थस्थल , आराध्यदेव श्री पशुपतिनाथको मंदिर काठमाडौंमा तिर्थालु , ब्रतालुहरुको ठुलो भिड लाग्ने गर्दछ संगै देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको घुईंचो लाग्ने गर्दछ।
    श्रावन महिनाको हरियाली संगै हरियो सारी, हरियो चुरा हरियो पोते, हरियो टिका, हरियो मेहंदी साथै सबै हरियो हरियो रंगले ब्यापक प्रचार पाउछ। वस्त्र , गार संगै भोजनको लागी हरियो कर्कलोले पनि राम्रै स्थान पाउंछ । जताततै हरियो रंग देख्दा आंखालाई पनि शितल हुने, मन पनि एक किसीमको खुसी हुने गर्दछ। वास्तवमा हरियो रंगले आशा, उमगं जगाउंछ । हामीलाई प्रकृति संग जोड्छ। हरियो रंग प्रकृति, उर्वरता, सौभाग्य र सकारात्मक उर्जाको पनि वृद्धिको प्रतिक हो भनेर ज्ञाताहरु भन्ने गर्छन् र मलाई पनि त्यस्तै लाग्छ । यस रंगले समृद्धि उन्नति प्रगति र बुध्दि प्राप्तिको साथै परिवार र जीवनमा खुसी ल्याउंछ भन्ने धार्मिक मान्यता पनि रहेको छ। यस रंगलाई शरीरमा धारण गर्दा मनुष्यलाई आ-आफ्नो कार्यक्षेत्रमा सफल हुने धार्मिक विश्वास पनि रहेको छ।

    हरेक बर्ष यो महिना शुरु भए संगै यस्का समर्थक र बिरोधीहरु आआफ्नै हिसाबले समर्थन् बिरोध गर्न थाल्छन् । बिस्वास अविस्वासका कुराहरु संगै धर्म प्रति प्रहार गर्न पनि हिचकिचाउंदैनन् । आफैं मरेर श्रीमानको लामो आयुको लागि ब्रत किन बस्ने भन्ने पनि थुप्रै भेटिन्छन् । तर कोही हाम्रो चाडवाड हो मनाउनु पर्छ , संस्कार जोगाउनु पर्छ भन्ने पनि छन् ।भगवान प्रतिको श्रध्दा, आस्था र विस्वासमा कतै पनि देखावटी गर्नु पर्छ भन्ने छैन । भगवानलाई खुसी आफ्नो गक्ष र श्रध्दाले गर्नु पर्छ । अरुलाई देखाउनु पर्छ भनेर ऋण गरेर चाहिं चाडवाड मनाउन हुन्न जस्तो लाग्छ। धर्मले मानिसलाई अनुशासित बनाउंछ । सही मार्ग निर्देशन् गर्छ साथै सामाजिक र मानवीय दायित्व पनि बोध गराउंछ। ब्रत त स्वास्थ्यको हिसाबले पनि प्राय राख्ने गरिन्छ । हरेक पुजा आजा ,ब्रत तिर्थले परिवारमा सुख , शान्ति ,बृध्दि सम्वृद्धि, उन्नति संगै खुसी आउंछ भन्ने लाग्छ र त यस महिनामा भोलेनाथको मन्दिर दर्शन् पुजा, भजन, कृतन् संगै परिवार साथीभाईसंगको भेटघाटको मज्जा नै अलग्ग हुन्छ।

    लगभग साढे ३ दसकको अति ब्यस्त जिवनमा नेपालमा हुंदा पनि हरियो चुरा सारी लाएर मन्दिर जाने समय खासै भएन किनकी हामी कामकाजी महिलालाई सोमबार त काम गर्नु पर्ने बार, तर अन्तिम सोमबार चाहिं साथीभाईकोमा अथवा आफ्नैमा यसो कर्कलो भुजा खाई ब्रत समापनको आनन्द लिईन्थ्यो ।
    श्रावणमा हरियो रंग विशेष हुन्छ, बसंत ऋतु, आशा,उमगं जगाउंछ प्रकृति संग जोड्छ भन्ने लाग्छ । यस रंगले समृद्धि उन्नति प्रगति र बुध्दि प्राप्तिको साथै परिवार र जीवनमा खुशी ल्याउंछ भन्ने पनि धार्मिक मान्यता रहेको छ।यो श्रावणमा हरियो रंगमा डुबुल्की मारी आफ्नो घर परिवारको खुशी , उन्नति, संबृध्दि, धर्म संरक्षण र महत्व बढाउनको लागि श्रावणको हरियालीमा मस्त होऔं।
    सबैको जिवनमा हरियाली छाओस । श्रावणको शुभकामना ।

  • करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

    करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

    १ साउन, मलङ्गवा । लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो ।

    एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते उनको हरिवनस्थित नमूना अस्पतालमा मृत्यु भएको हो । उक्त दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर रुपमा घाइते छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

  • पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

    पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

    ३२ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ गाडपारमा आज दिउँसो पहिरोले घर पुर्दा वृद्धाको मृत्यु भएको छ । गाडपार गाउँमाथिको पाखोबाट खसेको ढुङ्गा माटोसहितको सुक्खा पहिरोले परिएर ७२ वर्षीया सीता फगामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभित्रै बसिरहेकी फगामीको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

    प्रहरी र स्थानीयवासीले मृतकको शव पहिरो पन्छाएर निकालेका थिए । पहिरोले फगामीको घरसमेत भत्किएको छ । सीताका श्रीमान् ७२ वर्षीय टुकबहादुर फगामीले भागेर ज्यान जोगाएका छन् । पहिरोको जोखिममा रहेका पाँच घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताइन् ।

  • टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

    टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

    ३२ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० का स्थानीयवासी टोटीखोलाको जीर्ण पुलबाट जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । झण्डै तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पूर्वतर्फको भाग भासिएको छ । स्थानीयवासी सोही पुलबाट जोखिम मोलेर आवागमन गरिरहेका छन् । स्थानीय दीपक भट्टका अनुसार पुल जुनसुकै बेला ढल्न सक्ने अवस्थामा छ । पुलको दुरावस्थाबारे नगरपालिकालाई जानकारी गराइएको उनले जानकारी दिए ।

    यसैबीच, पूर्वाधार विकास कार्यालय कञ्चका प्रमुख योगेन्द्र अधिकारीका अनुसार टोटीखोलामा बक्स कल्भर्ट निर्माणका लागि एसएमएम जेभीसँग आगामी असोजदेखि काम थाल्नेगरी असार २३ गते निर्माण सम्झौता भएको छ । उक्त योजनाअन्तर्गत रु दुई करोड ९१ लाख ८८ हजार लागतमा दुई स्पानको बक्स कल्भर्ट निर्माण गरिने छ ।

  • सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

    सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

    ३२ असार, चितवन । भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो । मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो ।

  • पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

    पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

    ३१ असार, अर्घाखाँची । यहाँको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ। आज बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

    दुवै जना रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएकामा समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेका डिएसपी मल्लले बताए । ढुङ्गा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवैजनाको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माको भनाइ छ ।

  • काठमाडौँमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

    काठमाडौँमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

    ३१ असार, काठमाडौं । काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एक जनाको निर्माणाधीन सेफ्टीट्याङ्कीको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो, भने अर्का एकजना भीमसेनथान मन्दिर नजिक रहस्यमयरूपमा मृत भेटिएका हुन् । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार जिल्लाको कीर्तिपुर नगरपालिका–५ जाखास्थित निर्माणाधीन शौचालयको सेफ्टी ट्याङ्कीको पानी जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने रसुवा घर भएका पाँच वर्षीय अभिषेक मगरको मृत्यु भएको छ ।

    डुबेर बेहोस अवस्थामा भेटिएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आजै मृत्यु भएको हो । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । यसैबीच काठमाडौँ महानगरपालिका–२० भीमसेनथान मन्दिर नजिक एक व्यक्तिको रहस्यमय रूपमा मृत्यु भएको छ । मृत भेटिएका अन्दाजी ५०–५५ वर्षीय पुरूषको पहिचान खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सुदूरपहाडमा पाइन छाड्यो डोको, डालो र भकारी

    सुदूरपहाडमा पाइन छाड्यो डोको, डालो र भकारी

    ३१ असार, अमरगढी । प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा र भकारी लोप हुँदै गएका छन् । केही वर्षअघिसम्म गाउँघरमा कृषिकर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन् ।

    यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौँदेखि डोको डालो, सुप्पा र भकारी बुनेर विभिन्न ठाउँमा मेला, पर्व तथा गाउँघरमा बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । पछिल्ला केही वर्षयता कृषिजन्य आयातीत सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चापदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको पाटन नगरपालिका–१० का वीरभान विकले बताए ।
    उनका अनुसार गाउँगाउँमा यातायातका साधन सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुुका सामग्रीको प्रयोगले बाँस र निगालो सङ्कलनमा समस्या हुन थालेपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा सङ्कटमा परेको हो । एकदशक अघिसम्म पनि बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । डडेल्धुराको अमरगढी नगरपालिका–७ तिलाडी, कैनी टोल, छचोडा आलितालको डोला, हन्तड, नवदुर्गा गाउँपालिकाका विभिन्न ठाउँमा यही पेसाकाभरमा जीविकोपार्जन गर्दै आएका कैयौँ व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन् ।

    “बाँस र निगालो पाउन छाडेपछि आयआर्जनको बाटो बन्द भएको छ”, अमरगढी–७ का टीका पार्कीले भने, “परिवार पाल्न धौधौ भएको छ ।” बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको उनले बताए । गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै गएको आलिताल गाउँपालिका–८ का जोगराज भट्टले बताए । सो समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रतिडोकोलाई रु ४०० देखि रु ६०० सम्म बिक्री गर्ने आएका छन् । त्यस्तै, डालो, भकारी, मानो र नाङ्लो रु एक हजारदेखि रु चार हजारसम्ममा बिक्री गर्दै आएका छन् ।

    युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो । निर्माण गरिएका सामग्रीको पनि बिक्री गर्न बजारकोसमेत अभाव छ । नजिकैका गाउँबस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भए पनि उचित मूल्य पाउन सकेका छैनन् । रासस

  • कञ्चनपुरमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने

    कञ्चनपुरमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने

    ३१ असार, कञ्चनपुर । कञ्चनपुरका नौवटै स्थानीय तहमा छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई छाउगोठ भत्काउनका लागि पत्राचार गरेको हो । “छाउगोठ भत्काई परम्परागत रुपमा चलिरहेको कु–प्रथा उन्मूलन गर्न पालिकाबाट आवश्यक निर्णय गरी कार्यान्वयन गर्न अभियान सञ्चालन गरिएको छ”, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

    पत्रमा सामाजिक कु–प्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ । तीन दिनअघि कृष्णपुर नगरपालिका–१, निगाली टोलमा महिनावारीका समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पदंशबाट निधन भएपछि जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।

  • धरान–चतरा खण्डका तीन पुल निर्माण अन्तिम चरणमा

    धरान–चतरा खण्डका तीन पुल निर्माण अन्तिम चरणमा

    ३१ असार, धरान । मदनभण्डारी राजमार्गअन्तर्गत धरान(चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् । यी पुलहरूसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु हुन सकेको छैन । निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माण करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ ।

    उनले धरान–चतरा सडकखण्ड सुनसरीको बराहक्षेत्र नगरपालिका १ मा निर्माण भइरहेको दुवैतर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए ।


    “रेल्वे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्न गएका कारण सुरु हुन सकेको छैन । जङ्गल क्लियरेन्सको काम अफिसले गर्ने भएकाले क्लियरेन्स भएपछि तुरुन्तै काम सुरु गरिनेछ”, इञ्जिनियर श्रेष्ठले भने । कम्पनीले चार वटा मोटरेबल पुल निर्माणका लागि भ्याटसहित रु २१ करोड ७८ लाख ६३ हजार ७५० मा २०७९ साल जेठ महिनामा ठेक्का स्वीकृत गरी निर्माण सुरु गरिएको थियो । तीन वटै पुल सञ्चालनमा आइसकेका छन् भने छेउछेउमा फिनिसिङको काम बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताए । छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ र छेउको बाटोमा यसअघि रोकिएको रुख व्यवस्थापनपछि बाँकी काम सम्पन्न गरिने उनले जानकारी दिए ।


    उनले भने, “बर्खामा खोलामा यात्रा गर्न निकै कठिन थियो, कैयौँ मानवीय क्षति भएको थियो । अब पुल बनेपछि सहज यात्रा सम्भव भएको छ ।” उक्त सडकखण्ड भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाका नागरिकका लागि धरान बजारमा स्वास्थ्य सेवा, शिक्षा तथा कृषि उपज बिक्री वितरणका लागि महत्त्वपूर्ण मार्ग हो । पुल नहुँदा वर्षायाममा सास्ती भोग्नुपरेको समस्याको दीर्घकालीन समाधान हुने स्थानीयहरूको विश्वास छ ।
    रासस

  • पहिरोले बिपी राजमार्गमा पहिरै-पहिरो, यातायात अवरुद्ध

    पहिरोले बिपी राजमार्गमा पहिरै-पहिरो, यातायात अवरुद्ध

    ३१ असार, काभ्रे । बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।

    सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मङ्गलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

    उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो । रातभर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो ।

  • मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    ३० असार, देउखुरी । दाङको घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल सिस्ने खोलामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनास्थलमा पुगेका स्थानीयले दुवै जनालाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिए । मृतकको पहिचान खुल्न बाँकी छ ।

  • घुस काण्डमा मुछिएका मन्त्री सँगै राखेर बस्यो मन्त्रिपरिषद् बैठक

    घुस काण्डमा मुछिएका मन्त्री सँगै राखेर बस्यो मन्त्रिपरिषद् बैठक

    ३० असार, काठमाडौं । सोमबार अबेर मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि सहभागी भए । मन्त्री गुप्ताले भूमि आयोग कास्कीका अध्यक्ष नियुक्ति र मालपोत कार्यालय कास्कीका प्रमुख सरुवामा घुस लेनदेन गरेको अडियो अलिे सार्वजनिक भएको छ । यसबारे प्रधानमन्त्री केपी शर्मा ओली मौन छन् । उनै मन्त्री गुप्तालाई राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक राखेको भन्दै आलोचना भइरहेको छ ।

  • नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

    नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

    ३० असार, दाङ । यहाँको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिलसिंह ठकुरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर–७ का १७ वर्षीय विधान केसीको शव फेला परेको हो । आज बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा अवलोकनका लागि गएका उनीहरु छहरा नजिकैको बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

    इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बेपत्ता दुई किशोरको शव खोजी गर्ने क्रममा फेला परेको बताए ।
    हाल दुवैको शव तुलसीपुर ल्याउने तयारी भइरहेको छ । मृतक दुवै जना तुलसीपुरको एक कलेजमा अध्ययनरत थिए । उनीहरु साथीहरुसँगै घुम्न भनेर त्यहाँ पुगेको प्रहरीले जनाएको छ । छ जना साथीहरु पुरन्धरा झरना अवलोकनका लागि पुगेका थिए । नुहाउन भनेर पहिले विधान नदीमा पसेपछि बगाएको थियो ।

    साथीलाई बचाउन भन्दै कुशलले पनि नदीमा हाम फालेका थिए । त्यसपछि कुशल पनि बेपत्ता भएका थिए । उनीहरु बेपत्ता भएको खबर पाएलगत्तै जिल्लाबाट गोताखोरको टोली त्यस स्थानमा पठाइएको थियो । स्थानीयवासीको सक्रियतामा बेपत्ता दुवैजनाको खोजी गर्ने क्रममा बेपत्ता भएको स्थानबाट १० किलोमिटर तल शव भेटिएको प्रहरीले जनाएको छ ।

  • बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

    बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

    ३० असार, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् । तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो ।

    विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरुलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारीखेती गरिएको जानकारी दिए ।

    “धवलागिरिको इच्छा, गरिखाने शिक्षा भन्ने कार्यक्रममार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरुले साँझ बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाडेर तरकारीखेती गरेका हुन,” उनले भने, विद्यार्थीले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्राबासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी भएको छ ।”

    बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिँडालु, करेला, फापर, रायोसाग, धनिया, बन्दा, काउलीलगायत प्रजातिका तरकारी लगाएका छन् । करेसाबारीमा लोपोन्मुख तेलहन फिलिङ्गो पनि रोपिएको छ । चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक रु पाँच हजार तिर्नेगरी भाडामा लिएका छन् ।

    विद्यालय समयपछि साँझ एकदेखि दुई घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनउपयोगी र व्यावसायिक सीप सिक्नुका साथै ‘रिफ्रेस’ महसुस गरेका छन् । गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी रहेका हेम नमूना आवासीय माविका प्रअ शेरबहादुर केसीले बताए । छात्राबासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाट आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायोपालन गर्ने योजना रहेको उनले बताए । करेसाबारी स्थापना गर्न धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार सहयोग गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना र मुनाको धवलागिरि माध्यमिक विद्यालयमा “धवलागिरिको इच्छा, गरिखाने शिक्षा” कार्यक्रम सञ्चालन गरेको बताए । गत वर्ष रु तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले बताए ।

  • बाढी पहिरो पिडितको नाममा गरिने चन्दा संकलन र वितरण

    बाढी पहिरो पिडितको नाममा गरिने चन्दा संकलन र वितरण

    हजुरी शाह, न्युयोर्क

    गत हप्ता रसुवाको चीन नाकामा रहेको मितेरी पुल सहित ठुलासाना गरी ५० भन्दा सवारी साधन समेत बगाउने गरी ठुलो बाढी आयो । मानिस र जनधनको क्षतिको यकिन विवरण नआएपनि करि १८ जना बगाएको अनुमान गरिएको छ । चीनको तिब्बत क्षेत्रबाट रहेको हिमनदी फुटेर आएको बाढीले रसुवा नुवाकोट क्षेत्रमा त्रासदी बढायो ।
    मौसमी बर्षा नभइ अन्य कारणले आएको बाढी भन्दापनि हरेको वर्ष बर्षाको सिजनमा आउने बाढी पहिरोले नेपालमा ठुलो जनधनको क्षति पुर्याएको हुन्छ । नेपालमा पिडा बिपत परेपछि सबैभन्दा पहिला बिदेशमा भएका नेपालीलाई छोएको अनुभूति हुन्छ । तर बिदेशमा उठ्ने राहत सहयोगको सही सदुपयोग कति हदसम्म हुन्छ त्यो भने सधै प्रश्नको घेरामा रहन्छ । यसर्थ चन्दा सहयोग उठाउनु भन्दा पनि पिडितसम्म कहिले र कति पुग्छ भन्ने महत्वपुर्ण हुन्छ ।
    मैले झण्डै २ दशक परदेश बसाईको क्रममा कयौं यस्ता कार्यक्रममा सहभागी भएँ । ती मध्ये केही घटनाबाट हामीले कसरी अझ प्रभावकारी ढंगले गर्न मिल्छ, मनन गर्न सकिन्छ ।

    एउटा संझना;
    सन २०११ मा म ईजरायलमा कार्यरत थिएँ । म संगै मेरा केही सहकर्मीहरु मिलेर २०११ ताका एउटा सामाजिक संस्था “हेल्पिगं हेन्डस् ईन् ईजरायल” भन्ने सहयोगी संस्था खोलेका थिंयौं । त्यस्ले खास मातृभुमिमा सहयोग गर्ने गर्दथ्यो । त्यसबाहेक ईजरायलमा मनोरंजनात्मक र सहयोगात्मक कामहरु गर्ने गर्दथ्यो । यस्तै सहयोग गर्ने क्रममा सन् २०१३ मा सुदुर पश्चिमको दार्चुलामा हामीले केही सहयोग गरेका थियौं । त्यति बेला सुदुर पश्चिममा धेरै ठुलो बाढी गएको र बाढीले त्यता धेरै नै नोक्सान गरेको थियो। मातृभूमी दुख्दा संधै दुख्ने हामी फेरि विचलित भयौं र स्वफुर्त केही सहकर्मीहरु फेरि सहयोगको लागी जुट्न शुरु गर्यौं ।

    “महाकाली बाढी पिडीत अभियान “भनेर संस्थाका २,४ जना र अरु २,४ जना साथीहरुले तुरुन्तै आपातकालिन सहयोग आव्हान गर्यौं । पहिला केही साथीहरुले अभियान शुरु गरेर सहयोग संकलन शुरु गर्यौ । लगत्तै अरु केहि संस्था साथै समुहहरुले पनि सहयोग संकलन शुरु गरे र र पछि गएर हेन्डस् ईन ईजरायलले नै प्राय जसो सबैलाई समेटेर एकमुष्ट सहयोग पठाउने निर्णय गर्यो । हामीले भन्नलाई आपातकालिन सहयोग भनेतापनि बिविध कारणले सॅकलन जुटाउन करिव ३ महिना जति लाग्यो ।त्यति बेला सहयोग जुटाउन मनी टांन्स्फर गर्ने कुनै व्यबस्था थिएन र सो सहयोग संकलनको लागि तेलअभिभ एरिया र अरु संबन्धित ब्यक्तिलाई आआफ्नो एरियाभित्र दिनु पर्ने हुन्थ्यो।
    सरकारले राहत रकम प्रधानमन्त्री कोषमा पठाउन सुचना जारी गरेको भएतापनि हामी त्यस्मा पठाउने पक्षमा थिएनौं र कसरी पिडीतहरुको हातमा रकम पुग्ला भनेर सोच्दै थियौं । यसै क्रममा हामीले न्युज २४ का प्रेम बांनियालाई संपर्क गर्यौं । उहां त्यतिबेला “जय स्वाभिमान” नामक कार्यक्रम चलाउनु हुन्थ्यो। युवा पत्रकार, जोश जांगर र बोल्ने शैली निकै नै दमदार थियो । साथै त्यसताका मलाई एकदम मन पर्ने मिडीयाकर्मी प्रेम बांनिया धेरैको प्रिय हुनुहुन्थ्यो।अन्तत: मिडीया माफर्त वितरण गर्ने हेतुले सेप्टेम्बरमा उहाँ कार्यरत न्युज २४ लाई राहत रकम ११ लाख ४६ हजार २ सय ४ पठाईयो तर मिडीयाले राहत रकम दार्चुला पठाउन धेरै ढिला गर्यो । यता ईजरायलमा हामी २, ४ जनालाई राहत रकम दुरुपयोग भयो। ब्याजमा लगाए । कतै लगानी गरे भन्ने जस्ता आरोप आईलाग्यो । तर हामी कति पनि विचलित नभई सिधा न्युज २४ का कार्यक्रम संचालक प्रेम बांनियालाई बारंबार ताकेता गरि हाम्रा अध्यक्ष कृष्ण ज्ञवालीजीलाई रकम तुरुन्त उपलब्ध गराउन दवाव दियौं ।
    प्रेम बांनिया र कृष्ण ज्ञवालीजीको बिशेष पहलमा करिब ४ महिनापछि जनवरीको अन्ततिर बल्ल मिडीयाबाट त्यो पैसा हामीले प्राप्त गर्यौं । त्यसपछि हाम्रो संस्थाका अध्यक्षज्यु ,प्रेम बांनिया, न्युज २४ का फोटोग्राफर सहित गरि ५ जनाको टोली दार्चुला तर्फ प्रस्थान गर्यो। काठमाडौंदेखि धनगंडीसम्म बस त्यसपछि सानो सुमो रिजर्भ गरि भारत हुंदै टोली दार्चुला पुग्यो । त्यहां पुग्दा त अरु बिभीन्न देशका सहृदयीहरुले पठाएको रकम पनि वितरण गर्न नसकेको अवस्था थियो । त्यस्तो अति संवेदनशिल अवस्थामा सहयोगी संस्था प्रमुख, मिडीया संगै प्रेम बांनिया स्वंय त्यहां पुग्दाखेरि सबैजना खुसी भए र त्यहांका सिडीयो सहित अरु उच्च अधिकारी र हाम्रो संस्थाको रोहवरमा त्यहा पिडीतहरुको अवस्था हेरि त्यहांका पिडीतहरुलाई हामीले पठाएको रकम ११ लाख ४६ हजार २ सय ४ र अरु ठाउंबाट आएको रकम गरि जम्मा ७६ ,९९१,४३/- प्रत्येक पिडीतहरुलाई वितरण गरि हाम्रो टिम काठमाण्डौ फर्क्यो।
    १२ बर्ष अघि गरेका यस्ता कार्यहरुका समाचार कान्तिपुर र अरु मिडीयाहरुले पनि छापेका थिए तर समयसंगै सबै धुमिल भएपनि हामीसंग रहेका फोटो संझनाहरुले प्रत्येक वर्ष नेपालमा बिपत परेको बेला स्मरण र वितरणको कठिनाई स्मरण हुन्छ ।

    मैले १२ वर्षपछि सो वितरणमा भएको कठिनाई र ढिलासुस्तिको कारण पिडाको समयमा तत्काल मल्हम लगाउन नसक्नाले उठाउनु मात्र पनि ठुलो कुरा होइन रहेछ, समयमै पुर्याउनुको अझ ठुलो महत्व हुन्छ भन्न खोजेकी हुँ । यसर्थ चन्दा संकलन गर्नेले शुरुमा नै कसरी ? को मार्फत ? तत्कात राहत पुर्याउने हो, सोको टुङ्गो गरेर मात्र संकलन कार्य शुरु गर्न अनुरोध गर्दछु ।

  • खडेरीले सुक्न थाल्यो बेतना सिमसार

    खडेरीले सुक्न थाल्यो बेतना सिमसार

    रासस
    २९ असार, बेलबारी । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ । लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुनसकेको छैन ।

    सोही सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौँ बिघा जमिन सिँचाइ हुुने गरेको भए पनि यस वर्ष सिँचाइ हुन नसकेको बेलबारी–४ का वडाध्यक्ष चन्द्रबहादुर लिम्बूू बताउँछन् । सिमसारको पानी ड्याम गरेर राख्ने हो भने किसानले धान रोप्न नपाउने भएकाले ड्याम खुुला गरेर धान रोप्न पानी लगिएको अध्यक्ष लिम्बू बताउँछन् । पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेका बेतना सिमसारमा दुईवटा पोखरी छन् । दुवै पोखरी सुक्न थालेपछि पोखरीमा रहेका माछासमेत धमाधम मर्न थालेका हुन् ।

    पोखरीमा रहेको पानीको सतह घटेपछि सोही पोखरीबाट ६ पैनी हुँदै बाह्र सय बिघा बढी खेतीमा गरिएको सिँचाइसमेत नहुँदा धानलगायत बालीनाली सुक्न थालेका छन् । किसानले लगाएको धानलगायत बालीनालीमा पानी नहुँदा बालीनाली सुक्न थालेको बेलबारी–४ का किसान हरिप्रसाद मिश्रले बताउनुुभयो । पोखरीमै रहेका जरुवा पानीका मूल र अन्यत्रबाट बगेर आउने पानीसमेत सुकेका छन् ।

    लामो समयसम्म पानी नपरेपछि पानीको मुहान सुक्न थालेको जानकारहरू बताउँछन् । पछिल्लो एक महिनायता पानी नपरेपछि सबै मूलहरू सुकेका र पोखरीमा पानीको सतह घटेपछि थप चिन्ता थपिएको बेतना सिमासार सामुदायिक वन उपभोक्ता समूहका सहसचिव राजन प्रसाईँ बताउँछन् । उनले पोखरीमा पानीको सतह घट्दै जानु र माछाहरू मर्न थालेपछि समस्या समाधानका लागि पहल भइरहेको बताए ।


    राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृतसमेत रहनुभएका सिमसार अध्येता गोविन्दप्रसाद पोखरेलका अनुसार सिमसार क्षेत्रमा पानीको मात्रा सुुक्दै जानुमा अधिक मात्रामा पानीको प्रयोग, संरचना निर्माण, जथभावी रूपमा पानीको प्रयोग, खेती प्रणालीमा अधिक मात्रामा पानीको प्रयोगजस्ता मानवीय कारणहरू हुनसक्ने बताए ।


    मोरङका सबै सिमसारहरूको अध्ययनसमेत गर्नुभएका संरक्षण अधिकृत पोखरेलका अनुसार बेतना सिमसार क्षेत्रमा आसपासका जङ्गल तथा ससाना खोल्साबाट आउने पानी भण्डारण गरेर बनाइएको हो । पानीलाई भण्डारण गरेर आसपासका क्षेत्रमा सिँचाइका लागि प्रयोग हुँदै आएको छ । कङ्क्रिटका संरचना निर्माणले पानी अडिन गाह्रो हुने उनले बताए । उनका अनुुसार भू तथा जलसतहमा हुने नकरात्मक प्रभावका कारण पनि पानी सुक्नसक्ने हुन्छ ।

    यस्तै, पछिल्ला वर्ष वर्षभरि पर्ने पानी एकै समयमा पर्ने र अन्य महिनामा सुक्खा हुँदा जमिन रसाउने र पानी भण्डारण हुने क्रम घट्दा पनि पोखरी तथा जलासय क्षेत्रमा पानीको मात्रा कम हुने पोखरेलले बताए । यद्यपि यस विषयमा अनुसन्धान गरिनुपर्ने उनले जोड दिए ।

    अनुसन्धानकर्ता पोखरेलले आसपास पानीका मुहानहरू सुक्दा पनि बेतना सिमसारको जलासय क्षेत्रको पानी घट्न सक्ने अर्को कारणका रूपमा लिन सकिने उनले बताए । उनले पारस्थितीकीय प्रणालीहरूको पुनःस्थापना, पानी पुनःभरण, जलासय क्षेत्रको सुधार, पानीको दिगो उपयोगमा जोड दिए समस्या समाधान गर्न सकिने सुझाव दिए ।

  • आकाशको पानी भरपर्दा सर्लाहीमा भएन रोपाइँ

    आकाशको पानी भरपर्दा सर्लाहीमा भएन रोपाइँ

    २९ असार, बरहथवा । हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका छन् । असारको दोस्रो सातादेखि धान रोप्ने तयारी गरेका उनले पानी नपरेपछि धान रोप्न पाएका छैनन् । “असारको पहिलो हप्तातिर हल्का मात्र पानी परेको थियो”, उनले भने, “तर, यस वर्ष धानको ब्याड राख्ने समयमा पनि पानीले साथ नदिएपछि ढिलो भयो ।” सुक्खामा राखेका बीउ राम्रोसँग नबढेपछि पर्खिँदापर्खिँदै समय घर्किन लागेको उनको गुनासो छ ।

    सिँचाइको व्यवस्था नभएको एक बिघा खेतमा उनले अकासे पानीका भरमा धान रोप्दै आएका छन् । यसरी अकासे पानीका भरमा खेती गर्न केही समययता साह्रै सकस हुन थालेको उनले सुनाए । “यस वर्ष धानको बीउ राख्ने समय पनि खडेरीमै गयो”, उनले भने, “पानीको पर्खाइमा बीउ ढिलो भयो, अहिले धान रोप्न उस्तै समस्या छ ।”

    मौसम पूर्वानुमान महाशाखाले यस वर्ष औसतभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ । तर मधेसका जिल्लामा खडेरी बढ्दै गएको किसान बताउँछन् । असारको दिनमा समेत पानी नपरेपछि धान लगाउन ठिक्क पारेका खेत अहिले बाँझै बसेका छन्भने केही स्थानमा समयमै रोप्न नपाउँदा धानको बीउ छिप्पिन थालिसकेको छ ।

    पटकपटक मौसम बदली हुँदै टर्दै गर्न थालेपछि यस वर्ष धान रोप्न नपाइने चिन्ताले सताएको जिल्लाको लालबन्दी नगरपालिका–५ जब्दीका दीपक घिमिरेको भनाइ छ । “पानी बन्दै पर्न छाड्यो”, उनले भने, “खेतमा पटाउन नहर कुलोको सुविधा छैन । आकाशको पानीको भर हो । यस वर्ष यस्तै होला जस्तो छ ।” झण्डै डेढ बिघा खेतमा वर्षामा अकासे पानी र हिउँदमा डिपबोरिङको भरमा उनले खेती गर्दै आएका छन् ।


    “डिपबोरिङले सुक्खा समयमा खेतमा पानी भरेर धान रोप्न सकिँदैन”, घिमिरेले भने “सामान्य तरकारी वा अन्य बालीको जराजरामा हाल्नमात्र पुग्छ ।” समयमै वर्षात् नहुँदा बीउ राख्न नपाएका किसान फेरि धान रोप्ने समयमा पानी नपर्दा समस्यामा छन् । यसरी समय घर्किएर रोपेको धानले राम्रो उत्पादन दिनेमा समेत किसानहरूलाई शङ्का छ ।

    गत वर्ष यही समयमा ८० प्रतिशत धान रोपाइँ सकिएको सर्लाहीमा यस वर्ष मुस्किलले ३५ प्रतिशत पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले बताए । धान रोपाइँ ढिलो हुनुमा सिँचाइ प्रमुख कारण रहेको उनको भनाइ छ । “अर्कातर्फ धेरै किसानले समयमा बीउ राख्न पाएनन्”, उनले भने, “राखेको बीउ धेरैको खडेरीले खायो, फेरि राखेको तयार हुन बाँकी छ ।”

    यसले धानको उत्पादनमा समेत ह्रास आउने उनले बताए । जिल्लाको बागमती, बरहथवा, धन्कौल, हरिवन, लालबन्दी, हरिपुरलगायत सिँचाइ सुविधा भएका केही क्षेत्रमा मात्र रोपाइँ भएको प्रमुख कुशवाहाको भनाइ छ । सिँचाइ सुविधा नभएका स्थानका किसान पानी नभएको भन्दै छट्पटाइरहेका छन् । यस क्षेत्रमा बागमती, सोती, मनुसमारालगायतको सिँचाइको व्यवस्था छ ।

    छयालीस हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्लामा झण्डै आधा ५० प्रतिशत भूभागमा सिँचाइको सुविधा पुगेको छैन । यस क्षेत्रका किसान सधैँ अकासे पानीका भरमा खेती गर्छन् । इनार, डिपट्युबेल, रोअलपम्पबाट अन्य खेती गर्ने गरेका भए पनि धान रोप्न सम्भावना नरहेको किसानको भनाइ छ । मानो रोपेर मुरी फलाउने र वर्षभरिको अन्नको गर्जो टार्ने योजना तुहिने चिन्ता रहेको बागमती नगरपालिका–११ का किसान शङ्कर सापकोटाको भनाइ छ ।

    यसैबीच यस वर्ष प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुक्खाग्रस्त क्षेत्र घोषणासँगै सङ्घ सरकारसँग सोहीअनुसारको राहत माग गर्ने निर्णय प्रदेशस्तरको मन्त्रिस्तरीय बैठकले गरेको छ । किसान भने सुक्खाग्रस्त क्षेत्र घोषणाले के हुन्छ भन्ने कुरामा अन्योलमा देखिएका छन् ।

  • आलु बिक्री गर्न कोसेली घर

    आलु बिक्री गर्न कोसेली घर

    २९ असार, खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको हो ।

    गाउँपालिकाले वडा नं ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो उपयोग गरेर गत फागुनमा आलुखेती लगाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीले यही असार १२ देखि २७ गतेसम्म लगाएर गाउँपालिकाले रोपेको आलु खनिएको गाउँपालिकाका रोजगार शाखा प्रमुख विज्ञान राईले जानकारी दिए ।


    उत्पादित आलुलाई गाउँपालिकाले चिसापानी बजारमा सञ्चालन गरेको कोसेली घरमा भण्डार गरिएको छ । कोसेली घरमा भण्डारण गरेर राखिएको आलु उपभोक्तालाई बिक्री गर्न गाउँपालिकाले असार १८ गतेदेखि सुपथ मूल्यको पसल खुला गरेको छ । स्थानीय राजस्व परामर्श समितिको यही असार १६ गते बसेको बैठकले आलुको मूल्य प्रतिकेजी रु ५५ निर्धारण गरेर कोसेली घरबाटै तोकिएको मूल्यमा सुरु गरिएको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।“

    भण्डारण गरिएको आलु कृषि शाखाबाट कुपन लिएर आउने ग्राहकलाई कुपनका आधारमा बिक्री गर्ने व्यवस्था मिलाइएको छ । हालसम्म एक हजार १०६ केजी आलु बिक्री भइसक्यो”, उनले भने, “आलु बिक्रीबाट आएको आम्दानीलाई गाउँपालिकाको आन्तरिक स्रोतमा जम्मा गर्ने योजना बनाएका छौँ । बाँझो जमिन उपयोग गरेर सुरु गरिएको आलुखेती प्रवर्द्धन कार्यक्रमले उत्पादनमा जोड दिनुपर्छ भन्ने सिकाइ भएको छ ।”

    आलुखेती प्रवर्द्धनअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको रु १५ लाख बजेटमध्ये रु आठ लाखमा ११ टन आलुको बीउ खरिद गरेर किसानलाई निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ । किसानको मागका आधारमा गाउँपालिकाले निःशुल्क आलुको बीउ वितरण गरेपछि बाँकी रहेको रु सात लाख बजेटका साथै जनप्रतिनिधि, कर्मचारी र स्थानीयले श्रमदान गरेर बाँझो जमिन रहेको भञ्ज्याङखर्कमा आलुखेती लगाएको हो ।

    वर्षौँदेखि बाँझिएर उपयोगविहीन भएको सार्वजनिक जग्गा फोरेर आलुखेती लगाउनका लागि गाउँपालिकाको दुईवटा मिनीटिलर प्रयोग गरिएको थियो । यस्तै, बाँझो जमिन खन्न, आलुको बीउ रोप्न र फलेको आलु निकाल्नका लागि खन्न प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई परिचालन गरिएको थियो ।

    गाउँपालिकाले सञ्चालन गरेको आलुखेतीमा रु तीन लाख बराबरको श्रमदान जुटाइएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिइन् । “भज्याङखर्कमा खुमल सेतो प्रजातिको र स्थानीय जातको आलु रोपिएको थियो, आलुसँगै मकैखेती पनि लगाइएको छ”, उनले भनिन्, “उत्पादित आलुलाई ग्रेडिङ गर्दै सानासाना दानालाई भने बीउका रूपमा राख्छौँ । आलुको बीउलाई चिसापानीमै निर्माण गरिएको आगामी साउनदेखि सञ्चालनमा आउने चिस्यान केन्द्रमा भण्डार गर्ने तयारी गरिएको छ ।”

    छिमेकी जिल्ला भोजपुरको सिमानामा रहेको ठूल्ठूला घाँसेमैदान रहेको भञ्ज्याङखर्कमा आगामी आर्थिक वर्ष पनि आलुखेती लगाउने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । आलुखेतीका लागि मल उत्पादन गर्न वडा कार्यालय डम्बर्खुशिवालयले भैँसी खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ ।


    जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालिकाले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर १७औँ गाउँसभाबाट आव २०८२÷८३ का लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका स्थानीय नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै व्यावसायिक कृषि प्रणालीमा लैजान उत्पादनमा जोड दिने किसिमको नीति तथा कार्यक्रम बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिए ।

  • महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

    महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

    २८ असार, दोधारा चाँदनी । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लोे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । भारतस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म खोलिने भएकोले महाकाली नदीमा जलसतह बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । विभागले सूचना अजारी गर्दै महाकाली नदीको जलसतह बढ्ने जनाउँदै आइतबार बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो ।

    त्यसैगरि धौलीगङ्गा पावर स्टेशन एनएचपीसीले पनि एक सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ । पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सल्ट सरसफाइका लागि आकस्मिक रूपमा बाँध खोल्नुपरेको एनएचपीसीले जनाएको छ ।

  • बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

    बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

    २८ असार, दरशथचन्द । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । जीपमा सवार अन्य छ जना घाइते भएका छन् ।

    डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    शनिबार बिहान ५ः३० बजे बैतडीको पाटन–६ स्थित खिपालीमा जीप दुर्घटना भएको हो । दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीय उद्धारमा खटिएका थिए । जीप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।