Category: स्थानीय

  • अपडेट : रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार

    अपडेट : रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार

    २७ असार, काठमाडौं । माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन् । यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

    उनका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी ८६२ जनाको उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको उनले बताए । अहिलेसम्म एक जनाको शव सनाखत भएको र अन्य शवहरूको सनाखत हुनसकेको छैन । कतिपयको चिन्न नसक्ने अवस्थाको र कतिपय मानव अङ्गमात्र फेला पारिएको छ ।

    प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका एक जना प्रहरी (असई) लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको तर अरुको पहिचान नहुँदा अन्त्येष्टि गर्न सकिएको छैन । शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

    उक्त बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बेपत्ताहरूको खोजी अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ । उक्त बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । यस्तै २४ वटा कन्टेनर, छवटा ट्रक र ४२ वटा इभी गाडी बगाएको छ । धुन्चेबाट टिमुरे जाने सडकमा ठूलो क्षति पुगेको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालयको यार्डमा पनि क्षति पुगेको छ । यहाँ माथिलो जथाधार क्षेत्रमा रहेको हिमताल विष्फोटबाट बाढी आएको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

  • संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

    संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

    २६ असार, काठमाडौं । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर, सुवर्णमार्गस्थित टेकस्पायर कलेजका प्राध्यापक एवं कोर्स को–अर्डिनेटर विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन् ।

    उनका अनुसार “सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ । यही असार २४ गते बिहान ९ः३० बजे सङ्घीय संसद भवन (उडान निशेधित क्षेत्र) को दक्षिणतर्फको छतमा एक थान ड्रोन फेला परेको र टेकस्पायर कलेजको लोकेशनबाट सो ड्रोनले उडान सुरु गरेको देखिएको प्रहरीले जनाएको छ ।

    कलेजका प्रधानाध्यापक लक्ष्मण पोख्रेलले प्राध्यापक एवं विद्यार्थीहरुलाई उक्त ड्रोन निर्माण गरी परीक्षण गर्न भनि यही असार १३ गते लिखित रुपमा सेमेस्टर कार्य दिइएको भन्ने बुझिएको प्रहरी प्रवक्ता बोहराले बताए ।

  • पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

    पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

    २६ असार, वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु भएको छ । यहाँस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो । प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताए । अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको छ ।

  • सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

    सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

    २६ असार, मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पु¥याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् ।

    बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । यसबाट रु डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मङ्गलबार साँझ लोमान्थाङ—४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का—भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठेपुलमा पूर्ण क्षति पुगेको छ । बाढीले सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशुचौपायामा कुनै क्षति नपुगेको जनाइएको छ ।

    अध्यक्ष गुरुङले लोमान्थाङ गाउँपालिकाभित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की पुल र अस्थायी पुलमा क्षति पुगेको बताए । बाढीले पुलहरुमा क्षति पुगेपछि रिङरोड सडकको सवारी आवागमन अवरुद्ध रहेको उनले बताए । उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी हिमताल फुटेका कारण आएको हुनसक्ने आशङ्का गरिएको छ ।

    पानी नै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले बताए । “हामीले बाढी आउँदा त्यस स्थान र मुहानको लेकमा मौसमी अवस्था कस्तो थियो भनेर स्थानीयसँग जानकारी लियौँ, उनीहरूले त्यस क्षेत्रमा पानी नपरेको जनाएका छन्”, अध्यक्ष गुरुङले भने, “यसरी एकाएक बाढी आउनुको एउटै कारण हुनसक्छ, त्यो हो हिमताल फुट्नु ।”

    ्लोमान्थाङ—२ छोसेरस्थित नेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी)का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनाका कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिए । चुम्जुङस्थित छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा सङ्कलन गर्नेहरूले बताएका उनको भनाइ छ ।

    “यहाँ बाढी आउनाको मुख्य कारण हिमपात नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भनेर जानकारी आइसकेको छैन”, उनले भने । यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौँ हिमताल रहेको जानकारी दिए । उनले जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्चलेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर हिमपातमा क्षति पु¥याउने सम्भावना रहेको उल्लेख गरे ।

  • झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

    झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

    २५ असार, झापा । बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित सवारी दुर्घटनामा परी आज दिउँसो दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र नाम थर खुल्न नसकेको अर्का एक व्यक्ति रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खड्गबहादुर खड्काका अनुसार खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुध्दा दुवै चालक गम्भीर घाइते भएका थिए ।

    उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । उपचारकै क्रममा उनीहरू दुवैको मृत्यु भएको प्रवक्ता खड्काले जानकारी दिए । मृतकहरूको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल चालकको अझै पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । यसैगरी स्कुटीको पछाडि सवार राजवंशीको २७ वर्षीया बुहारी उर्मिला राजवंशी र उनका तीन वर्षीय छोरा आयुष राजवंशी गम्भीर घाइते छन् । उनीहरूको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

  • भीषण पहिरोले थुनिएको म्याग्दी नदी बग्न थाल्यो

    भीषण पहिरोले थुनिएको म्याग्दी नदी बग्न थाल्यो

    २५ असार, म्याग्दी । धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानै लयमा बग्न थालेको छ । धवलागिरि गाउँपालिका– ४ र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा भिरबाट खसेको पहिरो थुप्रिँदा नदीको नियमित प्रवाह आंशिक रूपमा रोकिएको र तलाउ बनेको थियो । ठूला डुङ्गासहित पहिरोले बनाएको बाँध नाघेर नदी बग्न र तलाउमा पानीको सतह घट्न थालेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

    दिउँसो १२ः३० देखि पहिरोका कारण तल्लो क्षेत्रमा पानीको सतह घटेको थियो । घटनास्थलमा पुगेका बाँसबोटको छिमेकी छहरीका बासिन्दा तम पुनले थुनिएको नदी बग्न थालेपनि भिरबाट पहिरो खस्ने क्रम भने नरोकिएको बताए । करिब तीन सय मिटर लामो र ३० मिटर गहिरो तलाउ बनेको उनले बताए ।
    आज बिहान म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा भारी वर्षा भएको थियो । छहरी, कल्लेनी, बगर, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिङ्गा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्ती हुन् ।

    धवलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तत्काललाई जोखिम टरे पनि तटीय क्षेत्रका बासिन्दालाई खोला किनारमा नजान र सकर्त रहन अनुरोध गरेका छन् ।

    धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पहिरो खसेको भिरको फेदीमा रहेको बाँसबोटका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने तयारी गरेको बताए । बाँसबोटमा पाँच घरपरिवारको बसोबास छ । पहिरोका कारण धवलागिरि गाउँपालिका–४ खिवाङ, बगर र नाउरा जोड्ने सडक अवरुद्ध भएको छ ।


    सडक अवरुद्ध हुँदा स्थानीयवासीका साथै ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी १ र ३७ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित भएको छ ।

  • रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

    रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

    २५ असार, काठमाडौं । रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका नौमध्ये आठ जनाको शव काठमाडौँ ल्याइएको छ । सबै शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । एक जना बाहेक कुनै पनि शवको सनाखत भने हुन नसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । एक जनाको भने सनाखत भएसँगै आजै अन्त्येष्टि गरिएको पनि उनले जानकारी दिए । उक्त बाढीमा परेर रसुवाबाट बेपत्ता एक जना प्रहरी प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको थियो । उनको आज परिवारले शव बुझेर आजै अत्येष्टि गरिएको हो ।

    रसुवा बाढीमा अझै १९ जना बेपत्ता रहेका छन् । अहिले भेटिएको शव त्यही बेपत्तामध्येको हो की होइन भनेर पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । भेटिएका शवमध्ये पाँच शव मात्रै सनाखत गर्न सकिने खालका रहेको छ । चार वटा मानव अङ्गहरूमात्रै फेला परेको हो । ती शवको डिएनए परीक्षण आवश्यक रहेको प्रहरीले जनाएको छ ।

    उक्त बाढीमा अझै दुई प्रहरी, ६ चिनिया नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । धुन्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ । अहिले बेपत्ताहरूको विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए । यस्तै रसुवाका विभिन्न क्षेत्रमा अलपत्र रहेका नागरिकहरूको उद्धार कार्य पनि जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

  • चन्दा उठाएर प्रहरी चौकी निर्माण

    चन्दा उठाएर प्रहरी चौकी निर्माण

    २५ असार, सिरहा । यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग र चन्दा सङ्कलन गरी अस्थायी प्रहरी चौकीको पक्की भवन निर्माण गरेका छन् । करिब रु २५ लाखमा निर्माण गरिएको सो भवनको आज एक कार्यक्रमबीच नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश–प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा उद्घाटन गरे । नगरप्रमुख चौधरीले स्थानीयवासीको एकता, सहयोग र प्रतिबद्धता प्रशंसनीय रहेको बताए ।
    उनले भने, “समाजका अगुवाहरूले जग्गा दान र चन्दा सङ्कलन गरेर यो भवन निर्माण गर्नुभएको छ, जुन यस क्षेत्रका लागि बरदान सावित भएको छ ।

    यहाँका जनताले प्रहरीप्रति विश्वास राखेकाले शान्ति सुरक्षाको प्रत्याभूति पनि गरेका छन् ।” त्यसैगरी प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले प्रहरी र समुदायको सहकार्य अपराध न्यूनीकरणका लागि महत्त्वपूर्ण हुने बताए ।प्रहरीले सेवाग्राहीलाई दिने सेवाबारेमा स्पष्ट पार्दै उनले भने, “प्रहरी सेवा निःशुल्क हो । हामी विचौलियाविहीन, पारदर्शी र समुदायमैत्री सेवामा प्रतिबद्ध छौँं ।”

    कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्दै भने, “शान्ति र सुव्यवस्थाका लागि प्रहरी सबैभन्दा नजिकको सरकारी संयन्त्र हो । यस भवन निर्माणले नागरिक र सुरक्षाकर्मीबीच सुमधुरसम्बन्ध स्थापित गरेको छ ।”

    जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनन्तराम सर्माले समुदायसँगको सहकार्यलाई शान्ति सुरक्षाको स्थायित्व र जनविश्वासको बलियो आधार भएको धारणा राखे । भवन निर्माण समितिका अध्यक्ष तथा समाजसेवी अस्मिनकुमार राउतका अनुसार विसं २०६७ मा गृहमन्त्री भीम रावलको पालामा गाउँमा डकैती जस्ता आपाराधिक घटनाले सताएको बेला पक्कीटोलमा अस्थायी प्रहरी चौकी स्थापना भएको थियो ।

    अहिले जीर्ण संरचनालाई स्थानीयले सहयोग जुटाएर पक्की भवनमा रूपान्तरण गरेका हुन् । अब उक्त अस्थायी प्रहरी चौकीलाई स्थायी रुप दिन उनले माग गरे । यस कार्यमा लहान नगरपालिका र मधेश प्रदेश सरकारको पनि आर्थिक सहयोग रहेको जनाइएको छ ।

  • बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

    बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

    २५ असार, बलेवा ।जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ ।
    आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गङ्गा आचार्यले राससलाई बताए । गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताउनुभयो ।

    बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैञ्युथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ । पैञ्युथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीय आचार्यले बताए । बाढीबाट खोला किनारमा लगाइएको धानबाली क्षति भएको छ ।

  • बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    २५ असार, लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।


    प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार सो समयमा अत्यावश्यक बाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भएकाले यात्रु तथा सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्म बेँसीसहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

    चामे नजिकैको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेँसीसहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ । ती सवारीसाधन नासो गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्ने छ । कूल ६५ किलोमिटर रहेको यस सडकमध्ये ३५ किलोमिटर लमजुङ र ३० किलोमिटर सडक मनाङमा पर्छ । बेँसीसहरमा रहेको तत्कालीन नेपाली सेना कार्यगणले विंसं २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो ।

  • गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा आज भारी वर्षा हुने पूर्वानुमान

    गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा आज भारी वर्षा हुने पूर्वानुमान

    २५ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य प्रदेशका केही भागका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधरणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

  • चट्याङ लागेर एक जनाको मृत्यु

    चट्याङ लागेर एक जनाको मृत्यु

    २४ असार, ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते हुनुभएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका थिए । उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको थियो ।

    त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन् । सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

  • पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

    पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

    २५ असार, ढोरपाटन । पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उहाँले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए । केही स्थानमा सडक भासिएको छ ।

  • ब्राउन सुगर बोक्नेलाई गोली हानेर समात्यो प्रहरीले

    ब्राउन सुगर बोक्नेलाई गोली हानेर समात्यो प्रहरीले

    २५ असार, बनियानी । भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शङ्का लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेपछि छ राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

    गोली लागेर घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर हिरासतमा राखिएको छ । भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए । अभियुक्तद्वयबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • रसुवा बाढी अपडेट : नौ जनाको शव फेला, १९ अझै बेपत्ता

    रसुवा बाढी अपडेट : नौ जनाको शव फेला, १९ अझै बेपत्ता

    २४ असार, काठमाडौं । रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो ।

    कूल २० जना बेपत्ता रहेकामा उनको शव फेला परेपछि अब १९ जना बेपत्ता रहेका प्रहरीको केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    उक्त बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । धुञ्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।

  • यस्तो छ रसुवा र नुवाकोटमा बाढीबाट भएको क्षति विवरण, २० वेपत्ता

    यस्तो छ रसुवा र नुवाकोटमा बाढीबाट भएको क्षति विवरण, २० वेपत्ता

    २४ असार, रसुवा । गत रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षसितको थप विववरण सार्वजनिक भएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् । यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।

    यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ । यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै माथिल्लो त्रिशूली ‘ए’को ६० मेघावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अन्य क्षतिको विवरण प्राप्त भएको छैन ।

    यसैबीच नेपाली सेनाको हेलिकप्टरले नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई सुरक्षित ठाउँमा उद्धार गरेको पनि सहप्रजिअ अधिकारीले बताए । “ल्हेन्दे खोलाको मितेरी पुल बताउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ । १० मिटर चौडाइ र १०० मिटर लम्बाइको रहेको सो पुलमा क्षति भएको प्राविधिकहरूले बताएका छन् । रसुवागढीबाट करिब ८० कोषमाथि छुसुमधो भन्ने चिनियाँ भूभागबाट आएको पहिरोले क्षति बनाएको अनुमान छ”, उनले भने ।

  • प्रधानमन्त्रीसहित उच्चस्तरीय सरकारी टोलीले गर्यो रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

    प्रधानमन्त्रीसहित उच्चस्तरीय सरकारी टोलीले गर्यो रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

    २४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन् । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालवाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए । उक्त विपद्बाट बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् ।

    तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ , डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका छन् । बाढीले ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र र २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र प्रभावित भएको छ । बाढीले ल्हेन्दे खोलाको मितेरी पुल बगउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ ।

    प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए ।

  • रसुवा बाढीको सम्भावित कारण पत्ता लगाउन अध्ययन सुरू

    रसुवा बाढीको सम्भावित कारण पत्ता लगाउन अध्ययन सुरू

    २४ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवा (भोटेकोशी)मा आज आएको बाढीको कारण पत्ता लगाउन अध्ययन सुरू गरिएको जनाएको छ । बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले भोटेकोशी जलाधारको तिब्बती क्षेत्रमा थुप्रै हिमताल रहेको उल्लेख गर्दै आज आएको बाढीको सम्भावित कारण पत्ता लगाउन र नदी किनारमा कस्तो असर गरेको छ भनेर पत्ता लगाउन भूउपग्रहका तस्बिरको अध्ययन प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनले जल ताथा मौसम केन्द्रहरूले दिएको विवरण र प्रारम्भिक अवलोकनका आधारमा भोटेकोशीको बाढी ठूलो पानी परेका कारण आएको भन्ने नदेखिने दाबी गरे ।


    उनले भने, “नेपालका चीन नजिकै रहेको क्यान्जिङ मौसम केन्द्र र धुन्चेमा भएको केन्द्रले त्यहाँ फाटफुुट पानी परेको देखाएको छ । पाल्पामा रहेको मौसमी राडारले रसुवाको सीमावर्ती क्षेत्रमा पानी परेको दखोएको छैन । विश्व मौसम सङ्गठनको गाइडेन्स सिष्टमको भूउपग्रहमा आधारित वर्षा अनुमानका अनुसार पनि भोटेकोसी लजाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा पानी नपरेकोलगायत कारणले वर्षाका कारण बाढी आएको भन्ने देखिँदैन ।”

    आज बिहान ३ बजेतिर तिब्बतबाट भोटेकोशी नदीमा एक्कासि बाढी पसेको थियो । पानीको सतह रसुवाको टिमुरेमा साढे तीन मिटर बढेको देखिएको पनि उनले बताए । रसुवामा भोटेकोशी र त्रिशूली नदी किनारमा ठूलो प्रभाव परेको, नुवाकोटमा मध्यम र धादिङको बेनीघाटसम्म सामान्य प्रभाव परेको पनि उनले जानकारी दिए । बाढी घट्दो क्रममा रहे पनि सावधानी अपनाउन उनले सबैमा अनुरोध गरे । उक्त बाढीका कारण हालसम्म मालवाहक गाडीसहित ६४ वटा सवारीसाधन बगाएको छ । पचपन्न जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । सात जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता रहेका छन् ।

  • नुवाकोटको त्रिशुली नदीमा फसेका दुई जनाको सेनाले हेलिकप्टरबाट गर्यो उद्धार

    नुवाकोटको त्रिशुली नदीमा फसेका दुई जनाको सेनाले हेलिकप्टरबाट गर्यो उद्धार

    काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । उद्धारपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ । सो स्थानमा ‘उद्धारका लागि नेपाली सेनाको एमआई १७ र एक्वेरल हेलिकोप्टर खटिएको छ ।

    पहिलो हेलिकप्टरले उनीहरुको उद्धार नगरी फर्किएको थियो । पछि अर्को ठूलो हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो । आज रसुवा र चीनतर्फ आएको ठूलो बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा भयानक बाढी आएको छ । यसले तटिय क्षेत्रमा वितण्डा मच्याइरहेको छ ।

  • रसुवामा बाढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

    रसुवामा बाढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

    २४ असार, काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ । बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको जानकारी दिइएको छ ।

    खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । भोटेकोशीको बहाब कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ ।

    प्रहरीका अनुसार ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएकोे छ । रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ ।

  • रसुवामा भिषण बाढी,ल्हेन्दे खोलाले रसुवागढीको मितेरी पुल बगायो

    रसुवामा भिषण बाढी,ल्हेन्दे खोलाले रसुवागढीको मितेरी पुल बगायो

    २४ असार, रसुवा । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताए ।

    हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिनुभयो । यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।

  • तीन लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ

    तीन लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ

    २३ असार, भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई रु तीन लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डेयलाई पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    वडामा सञ्चालित विभिन्न योजनाको भुक्तानी सिफारिसका लागि वडाध्यक्ष यादवले कमिसन माग्ने गरेका थिए । सोही क्रममा विपिनकुमार पाण्डेयमार्फत रु तीन लाख लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको पौडेलले बताए । दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।

  • बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

    बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

    २३ असार, जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई कीर्ते र जालसाजी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीले परिषद्का कार्यकारी निर्देशक वैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी चार जना कर्मचारीलाई अवैध रूपमा बर्खास्त गरेको अभियोगमा साहलाई आज नियन्त्रणमा लिएको जानकारी दिए । कार्यकारी निर्देशक पासवानले गत चैत २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा यससम्बन्धी उजुरी दिएका थिए ।

    त्यसपछि कीर्ते हस्ताक्षर सम्बन्धमा विधि विज्ञान प्रयोगशालाबाट परीक्षण प्रतिवेदन प्राप्त भएपछि वैशाख २५ मा जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएकामा त्यसयता साह परार रहेका प्रहरी उपरीक्षक रेग्मीले बताए । साहलाई आजै थप अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत धनुषामा उपस्थित गराएको प्रहरीले जनाएको छ । यसअघि कार्यकारी निर्देशकको हस्ताक्षर गरेर बृहत्तरका प्रशासकीय अधिकृत जीतेन्द्र यादव, लेखापाल सावित्री गिरी, नासु मदन चौधरी र सञ्जय मण्डललाई बर्खास्त गरेका थिए ।

  • थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    २३ असार, कञ्चनपुर । वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ । सालका वन क्षेत्रमा डढेलो लागेको वर्ष फुटकी प्रशस्तै पाइन्थ्यो । तर, अहिले भने पाउनै मुस्किल भइसकेको छ । “वर्सात सुरु भएपछि महिला र बालबालिकाको हुल वनतिर लाग्थ्यो, एकैचोटि धेरै सङ्कलन गर्थे,” स्थानीय हवलदार चौधरीले भने,, “अहिले त्यो दृश्य विरलै देख्न पाइन्छ ।”

    वन क्षेत्रमा प्रवेशमा कडाइ, जलवायु परिवर्तन र मानवीय चापका कारण फुटकी लोपोन्मुख बन्दै गएको उनको भनाइ छ । सामुदायिक वनमा अनुमतिबाट मात्रै र निकुञ्ज क्षेत्रमा प्रवेश निषेध हुँदा लुकीचोरी जानेले समेत फुटकी च्याउ भेटिन छाडेको बताउने गरेका छन् । स्थानीय भाषामा ‘पटपुरा’ भनिने फुटकीलाई थारु समुदायले अनेकौँ परिकारमा प्रयोग गर्छन् । जसमा झोलयुक्त तरकारी, अचार, सेकुवा, भुटुवा, सुकुटी, पकुवा हुने गर्दछ । गहुँ वा चामलको पिठोमा मिसाएर फुटकी पकाइने परिकारलाई थारु समुदायले कपुवा भन्ने गर्दछन् ।

    थारु समुदायमा कुन च्याउ खान योग्य छ, भन्ने ज्ञान पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको छ । यही ज्ञानले उनीहरूलाई वनस्पति स्रोतको सुरक्षित र सन्तुलित प्रयोगमा दक्ष बनाएको हवलदार बताउनुहुन्छ । बजारमा फुटकीको अभाव हुँदा अहिले यसको मूल्य प्रतिकिलो रु चार सयदेखि रु एक हजार तीन सयसम्म पुगेको बन्धुराम चौधरीले बताउनुभयो ।

    “प्रकृति पूजक थारु समुदायले जङ्गलमा पाइने च्याउ, जडीबुटीलगायतका वस्तुहरूलाई परम्परागत रूपमा भान्सामा स्थान दिएका छन्”, उनले भने, “तर अहिले वन क्षेत्रमा यी स्रोतहरू घट्दो छ ।” थारु समुदायका अगुवा परदेशी चौधरीका अनुसार फुटकी ‘फङ्गस’ वर्गको च्याउ हो । बर्सातको बेला अनुकूल वातावरणमा उम्रिने फुटकीमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ । पचाउन सजिलो भएकाले स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ ।

    थारु समुदायमा ‘जलेवा’ र ‘भोटैल’ गरी दुई प्रकारका फुटकी चिनिन्छन् । जलेवा सेतो रङ्गको हुन्छ भने भोटैल कालो वा खैरो हुन्छ । बुढापाकाका अनुसार मयुरले पनि फुटकीको गुदी भाग विशेष रूपमा रुचाउने गर्छ । “फुटकी च्याउ केवल एक मौसमी परिकार मात्र नभई थारु समुदायको संस्कृतिसँग गाँसिएको जीवनशैलीको अभिन्न अंशका रुपमा रहेको छ”, थारु अगुवा रेवन चौधरीले भने, “जुन अहिले लोपोन्मुख अवस्थामा छ, यसको संरक्षण आवश्यक छ ।”

  • करेन्ट लागेर एक मजदुरको मृत्यु

    करेन्ट लागेर एक मजदुरको मृत्यु

    २२ असार, जलेश्वर । महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट निर्माण गरिरहेका एक मजदुरको आज साँझ करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रामगोपालपुर–५ बस्ने ३२ वर्षीय मजदुर छटु मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

    औरही नपा–७ भोयल निम्किया गाउँको कृषि सडकमा कल्भर्ट निर्माण गर्दै गरेको मजदुर छटुको शरीरमा बिजुलीको तार चुँडिएर खस्दा करेन्ट लागेर मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय रोशनकुमार यादवले बताए । स्थानीय तथा पीडित परिवारले विद्युत् प्राधिकरणको लापरबाहीको कारण घटना घटेको आरोप लगाएका छन् । प्रहरीले घटनास्थलमा पुगेर सर्जमिन मुचुल्का तथा शवपरीक्षणका लागि अस्पताल पठाउने तयारी गरिहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

  • भोजपुर घटनाः मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो

    भोजपुर घटनाः मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो

    २२ असार, टक्सार । शनिबार राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा सामुहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरुको शव परीक्षण गर्न यहाँ ल्याइएको हो । भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको शनिबार राति हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    उनीहरुको हत्या गरेपछि अभियुक्तले नै घटनाबारे प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । अभियुक्त राई पेटमा धारिलो हतियारको चोट रहेको अवस्थामा फेला परेका थिए । जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार गरी राईलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । मनिषा र राजेन्द्रबीच नौ महिना अगाडी प्रेम बिवाह भएको थियो ।

    झगडा भएपछि केही समयदेखि मनिषा माइतमै बस्दै आएकी थिइन् । भोजपुर नगरपालिका–२, हैलोछा घर भएका राजेन्द्र श्रीमतीलाई लिन ससुराली आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । मृतक गिरी दम्पतीका तीन छोरा र एक छोरी काठमाडौँमा बस्दै आएकाले उनीहरु आएपश्चात् मात्र दास संस्कार गरिने प्रहरीले जनाएको छ ।

  • राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल

    राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल

    २२ असार, म्याग्दी । राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाले सडक, पुल र बस्ती संरक्षणका लागि रु तीन करोड ३९ लाख ८६ हजार ८२३ को लागतमा नदी किनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो । पर्खाल निर्माणपछि सडक, मोटरेबल पुल, गलेश्वर र राहुघाटको बस्तीमा बाढी र कटानको जोखिम न्यूनीकरण भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो । राहुघाटको कटानका कारण गलेश्वर, राहुघाटका करिब ५० घरपरिवार, एक सय मिटर सडक र मोटरेबल पुल जोखिममा परेको थियो ।

    राहुघाट नदी किनारमा राहुघाट बस्तीतर्फ ५० मिटर ‘पलम पर्खाल’ र गलेश्वरतर्फ ८५ मिटर ‘कम्पोजिट’ पर्खाल निर्माण भएको योजना कार्यालयले जनाएको छ । गत फागुनदेखि सुरु भएको योजना निर्धारित समयमै सम्पन्न भएको हो । नदीमा आउने बाढीलाई नियन्त्रण गर्न चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि छ तहमा ग्याविन पर्खाल निर्माण भएको छ ।

    रु चार करोड ७२ लाख ३७ हजार ४६४ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत फागुन १३ गते महाप्रभु–विआरटी साय जेभीसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले रातको समयमा पनि मजदुर र उपकरण परिचालन गरेर नदीमा पानीको सतह बढ्नुअघि नै तटबन्ध गरेको बताए । बेनी–गलेश्वर सडकअन्तर्गत गलेश्वरमा पनि नदी कटानबाट सडकलाई जोगाउन तटबन्धन निर्माण भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर बिष्णु चापागाईँले बताउ ।

  • जोखिम बन्दै बेँसीसहर–चामे सडकयात्रा

    जोखिम बन्दै बेँसीसहर–चामे सडकयात्रा

    २२ असार, लमजुङ । चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर । अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । उतिबेला अहिलेजस्तो डोजर र एक्साभेटर चलाइएको होइन, घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । मस्र्याङ्दी नदीको किनारैकिनार बेँसीसहरबाट हिमालपारिको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण बेँसीसहर–चामे सडक ।

    सोही सडकमा दैनिक सयौँ यात्रु जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । साँघुरो कच्ची सडक, सधैँ जोखिम मोल्नुपर्ने अवस्था छ । त्यसमा पनि अहिले ठाउँठाउँमा खसेको पहिरोका कारण जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्री भगवान्को नाम जप्दै यात्रा गर्न बाध्य छन् । यस्तो जोखिमपूर्ण बाटोमा दर्जनाँै सवारीसाधन लमजुङ–मनाङ आवतजावत गर्दछन् । हिमालपारिको जिल्ला मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेँसीसहर–चामे सडक हो । भिरैभिर र मस्र्याङ्दी नदीमाथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा यात्री बँेसीसहर–चामे सडकमा त्रसित हुँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

    बेँसीसहरबाट खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको तालबजार, तिमाङ हुँदै मनाङ सदरमुकाम चामेबजारसम्म ६५ किलोमिटर दूरी छ । यस सडकमा यात्रा जोखिमपूर्ण रहेको यात्रीहरू बताउँछन् । अधिकांश सडकखण्ड चट्टाने पहरो काटेर बनाइएकाले जोखिमपूर्ण छ भने अग्लो भिर, स–साना मोड, ग्रेडिङ नमिलेका र साँघुरो भएकाले थप जोखिमपूर्ण भएको स्थानीय सोमबहादुर गुरुङले बताए ।

    जीप चालक सोमराज मगरातीले भने, “विभिन्न ठाउँमा बेलाबेलामा पहिरो गइरहन्छ, पहिलाभन्दा पनि बाटो बिग्रँदै गएको छ, कुन बेला के हुन्छ डर रहन्छ ।” अर्का चालक रामबहादुर तामाङ भन्छन्, “सडकबाट खसिहाल्यो भने सिधै मस्र्याङ्दीमा पुग्ने भएकाले बाँच्ने कुनै सम्भावना छैन ।” यात्राका क्रममा अधिकांश यात्री सडक र भिरको अवस्था देखेर डराउँछन् । कहिले त जीप गुड्दागुद्दै पनि माथिबाट ढुङ्गा र पहिरो खस्ने गर्छ, अझ बढी बर्खायाममा जोखिम हुने गरेको उहाँको भनाइ छ ।

    डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार बेँँसीसहर–चामे सडकको यात्रा जोखिमपूर्ण छ । सरकारले आवश्कतानुसार पर्याप्त बजेट दिन नसक्दा सडक गुणस्तरीय नहुँदा जोखिम बनिरहेको छ । चालु आर्थिक वर्षमा रु ३६ करोड बजेट प्राप्त भएको थियो । आगामी आवका लागि यस सडकका लागि रु ४० करोड प्रारम्भिक बजेट सरकारले उपलब्ध गराउन लागेको छ ।

    विभिन्न ठाउँमा दैनिकजसो पहिराले सडक अवरुद्ध बनाउँदा मनाङवासी चिन्तित छन् । लामो समयसम्म पहिराले यो सडक अवरुद्ध बनाउँदा मनाङबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जान हेलिकप्टर प्रयोग गर्नुको विकल्प छैन । जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो ।

    विभिन्न कारणले २०५७ सालदेखि नेपाली सेनाले उक्त सडक निर्माणको जिम्मेवारी पायो । बाँदर लड्लाजस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी लगाएर सेनाले उक्त सडक निमार्ण गर्न सफल भयो भने बाटो निर्माणका क्रममा केहीको मृत्युसमेत हुन पुग्यो । यसरी सेनाले निर्माण गरेको सडकबाट मनाङवासीको सपना पूरा भए पनि सडक स्तरोन्नति हुन नसक्दा भने मनाङवासी निराश छन् । उनीहरूमात्र नभई लमजुङवासी, यात्री तथा पर्यटकसमेत सडक स्तरोन्नति नहुँदा चिन्तित छन् । सबैको एउटै चाहना छ, सडक गुणस्तरीय होस् र दुर्घटनाको जोखिम न्यून होस् ।

    बेँसीसहरस्थित तत्कालीन नेपाली सेना कार्यगणले २०६९ सालमा सडक निर्माणकार्य सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो । गणका इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण गरिएको हो । बेँसीसहर–चामे सडक पार गर्न झण्डै ६ घण्टा लाग्छ । बर्खालागेसँगै यो सडकमा पटकपटक पहिरो खस्ने र सडक अवरुद्ध हुँदा यात्रीहरू हैरानीमा छन् ।

  • घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

    घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

    २२ असार, वीरगञ्ज । ठोरी गाउँपालिका–३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष पुग्दा पनि नागरिकता प्राप्त गर्न सकेकी थिइनन् । यस्तो अवस्थामा उनले आफ्ना सन्तानको समेत नागरिकता बनाउन सकेकी थिइनन् । जिल्ला प्रशासन कार्यालयले शनिबार सञ्चालन गरेको एकीकृत सेवा सञ्चालन कार्यक्रममार्फत वैवाहिक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि कुमारीमा खुसीको कुनै सीमा नै छैन ।

    “इलाका प्रशासन कार्यालय सुपौली पुगेर नागरिकता लिन सक्ने अवस्था थिएन”, उनले भनिन्, “घरदैलोमा आयोजित एकीकृत सेवा सञ्चालनमार्फत नागरिकता प्राप्त गर्दा खुसीको कुनै सीमा नै छैन ।” पर्साको विकट तथा ग्रामीण भेग शिकारीबासकी पुनिया कुमारीले मात्र नभएर आवश्यक कागजात पुगेका ठोरी गाउँपालिका–३ शिकारीबासका अन्य आठ जनाले आफ्नै घरदैलोमा नागरिकता प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विकट ग्रामीण भेगका जनतालाई घरदैलोमा सेवा प्रवाह गर्न शिकारीबासमा एकीकृत सेवा सञ्चालन कार्यक्रमअन्तर्गत नागरिकता वितरण गरिएको जानकारी दिए ।

    “इलाका प्रशासन कार्यालय सुपौली र जिल्ला प्रशासन कार्यालय वीरगञ्ज धाउन नसक्नेलाई गाउँघरमै नागरिकता वितरण गरेका छौँ”, उनले भने, प्रशासन कार्यालयसम्म धाउन नसक्ने सर्वसाधारणलाई घरदैलोमै सेवा गर्ने कार्य प्रशासनले थालेको प्रजिअ अर्यालले बताए । जिल्ला प्रशासनकै अगुवाइमा शनिबार शिकारीबासमा जनता आवास कार्यक्रमअन्तर्गत स्थानीय पाँच जनासँग आवास निर्र्माणको सम्झौता पनि भएको छ ।

    पूर्वाधार विकास कार्यालय वीरगञ्जको अगुवाइमा प्रतिघर रु तीन लाख ७२ हजारको लागतमा घर निर्माणको कार्य शुभारम्भ गरिएको छ । शिकारीबासमा घरविहीन भएका पाँच परिवारका लागि आवास निर्माणको प्रबन्ध मिलाइएको पूर्वाधार विकास कार्यालयका प्रमुख लालबाबु रायले जानकारी दिए । यसले आवासविहीन परिवारलाई राहत मिल्ने छ ।

    नारायणी अस्पताल वीरगञ्ज, स्वास्थ्य कार्यालय वीरगञ्ज, रुगटाँ वेलफेयर सोसाइटी, वीरगञ्ज सामुदायिक आँखा अस्पताल, सूर्या हस्पिटल, इम्प्याक्ट्र नेपाल रुगटाँ वेलफेयर नाक कान उपचार केन्द्रलगायतको साझेदारीमा शनिबार नै शिकारीबासमा बृहत स्वास्थ्य शिविर आयोजना गरिएको थियो । सो शिविरमा एक सय ५० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् ।

    त्यसैगरी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका योजना प्रमुख तथा इञ्जिनियर राकेश साहले शनिबार नै ठोरीको शिकारीबासमा नदी कटान क्षेत्रमा करिव रु १० लाख लागतको नदी तटबन्धसहितको तारजालीको व्यवस्था गर्न लागेको जानकारी दिए । उद्योग विभाग मधेस प्रदेशका महानिर्देशक सुशीलकुमार साहले कार्यालयले आगामी आवमा उद्यमशीतलताको विकास गर्न आवश्यक पर्ने तालिमको प्रबन्ध गर्न लागेको बताए ।
    कपर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीले जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सदैव सहज र सुलभ सेवा प्रदान गर्न आवश्यक सहजीकरण गर्दै आएको बताए । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले एकीकृत शिविर सञ्चालन गरेर जनतालाई सहज सेवा उपलब्ध गराउने सराहनीय कार्य गरेको बताए ।

  • सेफ्टी ट्याङ्कीमा खसेर चितवनमा महिलाको मृत्यु

    सेफ्टी ट्याङ्कीमा खसेर चितवनमा महिलाको मृत्यु

    २२ असार, चितवन । सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन् । घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सेफ्टी ट्याङ्कीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।