Category: स्थानीय

  • ह्युमपाइप राखेर अवरुद्ध नाला–भक्तपुर सडकखण्ड खुलाइयो

    ह्युमपाइप राखेर अवरुद्ध नाला–भक्तपुर सडकखण्ड खुलाइयो

    २२ असार, काभ्रे । अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो । भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि यातायात सञ्चालन भएका हुन् ।

    गए राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार बनेपा नगरपालिका कार्यालय तथा सडक विभागको समन्वयमा रातभरमा अस्थायी रूपमा पुल सञ्चालनमा ल्याइएको हो ।

    यहाँको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल २०३७ सालमा निर्माण भएको जनाइएको छ । स्थानीयका अनुसार शनिबार राति मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो ।

    पुल भाँचिएपछि अवरुद्ध उक्त वैकल्पिक सडकखण्डमा राजधानी जाने र राधजानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको थियो । हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोक धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका हुन् ।

  • भोजपुरमा एक व्यक्तिले गरे एकै परिवारका चारको हत्या

    भोजपुरमा एक व्यक्तिले गरे एकै परिवारका चारको हत्या

    २२ असार, भोजपुर । भोजपुरमा एक व्यक्तिले परिवारका चार सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राई आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेको स्थानीय सञ्चामाध्यमले पुष्टी गरेका छन् ।
    त्यसपछि तत्काल अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हबल्दार नेतृत्वको टोली परिचालित भएको थियो । घटनास्थल रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा प्रहरी पुग्दा राजेन्द्र राईका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी र उनका श्रीमती र सालोको शव फेला परेको थियो । प्रहरीले श्रीमती र सालो ‘अन्डर एज’को भएको भन्दै नाम भने खुलाएको छैन । श्रीमती १६ वर्ष र सालो १० वर्षका छन् ।
    राजेन्द्र राईलाई भने रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ करिब ४–५ किलोमिटर दुरीमा पर्दछ । राजेन्द्र राईको पेटमा धारिलो हतियारको चोट छ । उनी जिल्ला अस्पतालमा उपचाररत छन् । उनले शनिबार राति करिब ११ बजे सासु आमाले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको बयान दिएका छन् । उनले करिब एक वर्ष अघि प्रेम विवाह गरेका थिए ।

  • पर्यटक आकर्षित गर्दै बुकीपाटनका भेडीगोठ

    पर्यटक आकर्षित गर्दै बुकीपाटनका भेडीगोठ

    २१ असार, ढोरपाटन । बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ । जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन् भर्खरै जन्मिएरका भेडाका पाठा । जसले लेकाली जनजीवनलाई छर्लङ्ग पार्छ । समथर चौरमा चर्दै गरेका भेडाले धेरैलाई आकर्षित गरेको छ ।

    हिजोआज त्यही भेडीगोठ र भेडाका बथान हेर्ने बुकीपाटन पुग्ने पर्यटक बढ्दै छन् । हजारौँ भेडा र सयौँ गोठालको बासस्थन बनेको छ ढोरपाटन बुकीपाटन अब पर्यटक घुम्ने ठाउँका रूपमा पनि विकास हुँदै छ । यति बेला बुकीपाटनमा घाँस पलाएर हरियाली बनेको छ । त्यही हरियालीमा सेताम्मे भेडाका बथाले बुकीपाटनको सुन्दरतालाई बढाएको छ । पाँच वर्ष अगाडिसम्म बुकीपाटन भेडा गोठालाका लागि मात्रै प्यारो थियो । तर अहिले प्राकृतिक सुन्दरतासँग रम्नेका लाग अझ बढी प्रिय बनेको छ ।

    भेडाका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटन उपत्यका पुग्ने जो कोही पर्यटक बुकीपाटन सहजै पुग्न सक्दैन । उच्च पहाडी क्षेत्र रहेको हुँदा लेक लाग्ने सम्भावना बढी हुन्छ । पछिल्लो दुई वर्षयता बुकीपाटन पुग्ने पर्यटक र पत्रकारले त्यहाँको दृश्य सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न थालेपछि ढोरपाटन उपत्यका पुग्ने पर्यटकले बुकीपाटनको यात्रा तय गर्ने छन् । बुकीपाटन पुग्न सडक सञ्जालको सुविधा छैन । अघिल्लो वर्षसम्म गोरेटोमार्फत भेडीगोठाला र पर्यटक बुकीपाटन उक्लिने गर्थे । यस वर्ष भने पदमार्ग बनेको छ ।

    नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ आउने पर्यटकको नजरमा सबैभन्दा पहिले भेडाका बथान र भेठी गोठमा पुग्ने गर्छ । ढोरपाटन पाखाथरदेखि करिब पाँच घण्टाको पैदल यात्राान बुकीपाटनको पहिलो गन्तव्य गर्पाछेडा पुगिन्छ । गर्पाछेडा पुग्दा बित्तिकै चारै तिर हजारौँका सङ्ख्यामा छरिएर चर्दै गरेका भेडाका बथान देख्दा पर्यटकको थकाननै मेटिने गर्छ । बुकीपाटनमा आउने अधिकांश पर्यटक भेडाका बथानसँग रमाउने ढोरपाटनका भेठी गोठाला भक्त अदैले बताए ।

    पाँच वर्ष अगाडिसम्म गोठाला र भेडाका बथानबाहेक कोही पनि बुकीपाटनमा नआउने गरेको भन्दै पछिल्लो समय दिनदिनै सहर बजारबाट पर्यटक घुम्न आउने गरेको उनले सुनाए । आफूहरू बच्चैदेखि बुकीपाटनमा बस्ने हुँदा यहाँको सुन्दरतासँगै रमाउने बानी परिसकेको उनको भनाइ छ । पर्यटकले भेडीगोठ, भेडाका बथान र गोठालाका जनजीवनबारे बढी चासो दिएर हेर्ने गरेको अदैले बताए । पर्यटक आउन थालेपछि बुकी पाटनमा पहलपहल बढ्न थालेको उनी बताउँछन् ।
    “हामीहरू रहरले बुकीमा बसेका हैनौँ, तर अहिले त मान्छेहरू रहरले घुम्न आउँछन्, भेडा पाल्ने हाम्रो बाध्यता हो, यहीबाटै हामीहरूले जीविकोपार्जन गर्छौं, पहिले गाठाला मात्रै हुन्थ्यो, बाहिरी मान्छे कोही आउँदैनथ्यो, अहिले हिउँदसम्मै बाहिरी मान्छेको चाप हुन्छ”, उनले भने, “सहर बजारका मान्छेले भेडाको बथान नदेखेको भएर होला, यहाँ आए भने घण्टौँ भुल्छन्, हामीहरूलाई पनि अनेक जिज्ञासा राखेर जान्छन्, कोही त दुई÷तीन दिननै यही बस्छन् ।”

    दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुनेलगायत थुप्रै बुकीपाटन क्षेत्र पर्छन् । यो याममा बागलुङसहित पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौँ गोठालाहरू अस्थायी गोठ बनाएर बस्दै आएका छन् । सयौँ गोठालाको हजारौँ सङ्ख्यामा भेडाबाख्रा, गाईभैँसीले बुकी पाटननै ढाकिएका हुन्छन् । एउटै गोठालाको पाँच हजारसम्म भेडा हुन्छन् । धेरै स्थानबाट गोठालाहरूले भेडा लिएर आउँदा सिङ्गो पहाडनै ढपक्क ढाकिने गर्छ । रोल्पाको सुनछहारीबाट बागलुङको निसीखोला, निसेलढोर हुँदै बुकीपाटन आउनुभएका पुनराम घर्तीमगरले हिजोआज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको सुनाए ।


    आफू झण्डै ४० वर्षदेखि बुकीपाटनमा भेडा चरनका लागि आएको सुनाउँदै पहिले कोही पनि घुम्नका लागि नआउने उनको भनाइ छ । रोल्पाबाट दुई साता लगाएर भेडी गोठ लिएर आएको घर्तीमगरले बताए । आफूले झण्डै एक हजार ७०० भेडा पाल्दै आएको उहाँको भनाइ छ । एकै ठाउँमा हजारौँको सङ्ख्यामा भेडा देख्दा घुम्न आएका पर्यटक दङ्ग पर्ने घर्ती मगर बताउँछन् । पर्यटकले गोठालाको कपडा, खाना र बासस्थानलाई बढी चासो दिएर हेर्ने गरेको उनले बताए ।


    बुकीपाटन समुद्री सतहदेखि चार हजार ५०० मिटरको उचाइसम्म फैलिएको छ । यहाँ हरेक बर्सातको समय असारदेखि कात्तिकसम्म गोठाला बस्ने गर्छन् । कात्तिक महिना पछाडि चिसो बढ्ने हुँदा बँेसी झर्ने गर्छन् ।

  • किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    २१ असार, गोरखा । गोरखा नगरपालिका–८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । वडाभित्रका १६ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर गरिएको वडाध्यक्ष ऋषिराम खत्रीले जानकारी दिए । किसानलाई कृषि प्रविधिमैत्री बनाउँदै खेती गर्दा कम लगानीमा उत्पादन वृद्धि गराउनका लागि कृषिमा आश्रित विपन्न, युवा कृषक र महिलालाई लक्षित गरेको ट्र्याक्टर वितरण गरिएको उनको भनाइ छ ।

    “प्रत्येकलाई किसानलाई रु २०र२० हजार अनुदान पर्ने गरी हाते ट्र्याक्टर वितरण गरिएको हो”, वडाध्यक्ष खत्रीले भने, “तीन वर्षको अवधीमा वडाभित्र ८४ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।” कृषकलाई वितरण गरिएको ट्र्याक्टर छ हर्जपावर क्षमताको रहेको उनले बताए ।


    वडा कार्यालयको चालु आर्थिक वर्ष २०८१–८२ को कृषिमा यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको हो । परम्परागत खेती प्रणालीमा खेतबारी जोत्न लागि गोरुको प्रयोग गर्दै आएको भए पनि गाउँमा पछिल्लोसमय गोरु पाल्नेको सङ्ख्या न्यून हुँदै गएकाले गोरुको अभावमा खेतबारी बाँझो नबनोस् भन्ने उद्देश्यसहित नगरपालिकाले कृषकलाई कृषि औजारमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख कृष्णबहादुर रानामगरको भनाइ छ ।

    अनुदान उपलब्ध गराउँदा यसअघि अनुदान नपाएका किसानलाई मात्र छनोट गर्ने गरिएको उहाँले बताउनुभयो । कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र उत्पादन वृद्धिका लागि कृषि प्रणालीलाई यान्त्रिक एवं आधुनिकीकरण गर्नु आवश्यक रहेकाले पनि कृषि औजार अनुदान कार्यक्रमलाई नगरपालिकाले प्राथामिकता दिँदै आएको नगरप्रमुख रानामगरले जानकारी दिए ।

  • भोजपुरको चिरखुवा खोलामा बन्यो पक्की पुल

    भोजपुरको चिरखुवा खोलामा बन्यो पक्की पुल

    २० असार, भोजपुर । चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त रकम कोशी प्रदेश सरकारले प्रदान गरेको हो ।

    पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन् । जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ ।

  • माछा मार्न गएका युवकलाई गोहीले मार्यो

    माछा मार्न गएका युवकलाई गोहीले मार्यो

    २० असार, भरतपुर । बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । बिहीबार राति एक जना साथीका साथ माछा मार्न गएका थिए ।

  • ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

    ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

    २० असार, काँक्रेविहार । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए । नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिए ।

    नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए । प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताए ।

  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    २० असार, बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय दीपेन्द्र कुमार झाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

  • चोभार गल्छीका ऐतिहासिक चट्टान हटाउने योजना नरहेको सरकारको स्पष्टीकरण

    चोभार गल्छीका ऐतिहासिक चट्टान हटाउने योजना नरहेको सरकारको स्पष्टीकरण

    १९ असार, काठमाडौं । सहरी विकास मन्त्रालयले काठमाडौँको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ रहेको फोहोर भने हटाउने बताएको हो । अविरल वर्षाका बेला चोभार गल्छी आसपास डुबानको समस्या दोहोरिँदै आएपछि फोहोर व्यवस्थापन गरिने लागेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले ऐतिहासिक चट्टानहरू हटाउने कुनै योजना नभएको उल्लेख गर्दै अनावश्यक रुपमा भ्रम फैलाउने काम भएको बताए ।

    “गल्छी वरपरको क्षेत्रमा विगतमा बगाएर ल्याएको फोहोर हटाउने, पहिरो जान सक्ने सम्भावित क्षेत्रहरूको पहिचान गरी रोकथाम गर्ने र दीर्घकालीन समाधानका लागि आवश्यक प्राविधिक अध्ययनसहित कार्ययोजना तयार गर्ने हाम्रो मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो, “मन्त्रालयले चोभार गल्छी चौडा पार्ने वा प्राकृतिक रूपमा रहेका ऐतिहासिक चट्टानहरू हटाउने कुनै योजना नरहेको स्पष्ट पार्दै यस्ता कार्यको भ्रम फैलाउनु अनुचित हो ।”

    मैनालीका अनुसार चोभार गल्छी उपत्यकाको प्रमुख जलनिकास बिन्दु हो जहाँ सहरभरिका खोलानाला भएर बगेका पानीहरू भेला हुने र वर्षाको समयमा पानीको निकास अवरुद्ध हुँदा सहरका विभिन्न क्षेत्रहरू डुबानमा पर्ने जोखिम बढ्दो छ । उनले यस क्षेत्रको दीर्घकालीन व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयले आफ्नो उद्देश्य स्पष्ट पार्दै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको चोभार गल्छीको मौलिक स्वरूपलाई जोगाउँदै डुबान न्यूनीकरण गर्न फोहोरको व्यवस्थापन गरिने बताए ।


    यही असार १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको ३२औँ बैठकबाटे चोभार गल्छीमा सम्भावित डुबान न्यूनीकरण गर्न नेपाली सेनासँग समन्वयमा आवश्यक कदम चाल्न निर्देशन दिइएपछि सामाजिक सञ्जाल र विभिन्न राजनीतिक वृत्तहरूमा यस विषयलाई लिएर विभिन्न धारणा सार्वजनिक भएको भन्दै मन्त्रालयले असन्तुष्टि जनाएको छ । विपद् न्यूनीकरणसँग सम्बन्धित निर्णयहरूमा जनचासो बढ्दो रहेको बेला मन्त्रालयको यो स्पष्टिकरणले विवादको निराकरण गर्ने अपेक्षा गरिएको छ ।

  • झोलुङ्गे पुल बनेपछि म्याग्दीको द्यौलागिरीमा सहज

    झोलुङ्गे पुल बनेपछि म्याग्दीको द्यौलागिरीमा सहज

    १९ असार, म्याग्दी । धौलागिरि गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि रु दुई करोड ३१ लाख ३६ हजार ७५० को लागतमा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । पोखरास्थित स्थानीय पूर्वाधार विकास आयोजनाले पुुल निर्माण गरेको हो ।

    पुल बनेपछि धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ । साथै दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दा लामो बाटो भएर गाउँपालिकाको केन्द्र मुना पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । विसं २०८२ को मङ्सिरसम्ममा पूरा गर्नेगरी सम्झौता भएकामा निर्माण कम्पनीले हाले काम पूरा गरेर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेसँगै पुल सञ्चालनमा आएको हो ।

  • पहिरोले घर पुरिँदा चार जना घाइते

    पहिरोले घर पुरिँदा चार जना घाइते

    १८ असार, ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते हुनुभएको स्थानीय मौसम सेलिङले राससलाई जानकारी दिए ।

    घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

  • जीपको ठक्करबाट एक जनाको मृत्यु

    जीपको ठक्करबाट एक जनाको मृत्यु

    १८ असार, कञ्चनपुर । वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपले ठक्कर दिँदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ । विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई मङ्गलबार राति ठक्कर दिएको थियो । गम्भीर घाइते उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–४ गोवरियाका स्थायी बासिन्दा चन्द दैजीमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए ।

  • सिरहामा शङ्कास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    सिरहामा शङ्कास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    १७ असार, सिरहा । यहाँको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार स्थानीय ३५ वर्षीय अजय महरा मृत अवस्थामा फेला परेपछि मृतककी श्रीमतीसहित एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले घटना शङ्कास्पद रहेको र शव परीक्षण प्रतिवेदन आएपछि थप रहस्य खुल्ने बताए । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षणका लागि पठाइएको छ । छिमेकीको खेत नजिकै आँपको रुखमुनि सेतो प्लास्टिकले घाँटी बाँधिएको अवस्थामा महराको शव भेटिएको थियो ।

  • जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

    जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

    १७ असार, कर्णाली । तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरीरहेका १३ भेडा पुरिएका छन् । सोमबार दिउँसो ४ः०० बजेको समयमा पाटनमा चरीरहेका भेडालाई पहिरोले पुरेको हो । वर्षात्का कारण आएको पहिरोले पुरिएर १३ भेडा र एक घोडा मरेको भेटिएको ताम्ती टोप्लाका प्रहरी इन्चार्ज प्रहरी सहायक हवल्दार गणेशबहादुर बलायरले जानकारी दिए ।

    उनका अनुसार कुहिरोले ढाकिएकोले कति भेडा तथा घोडा मरेको भन्ने यकिन हुन सकेको छैन । कृषकहरूले भने आआफ्ना भेडा जम्मा गरिरहेका छन् । घटनास्थल करिब ८ घण्टा पैदल यात्रा हिड्नुपर्दछ । इन्चार्ज बलायरको नेतृत्वमा स्थानीयसहित सुरक्षा टोली घटनास्थलमा पुगिसकेको छ ।

    तातोपानी गाउँपालिका वडा नं ७ जुम्लाका स्थानीय भेडापालक कृषक टेकराज रावतले आफूसहित आठ जना कृषकका भेडाहरू चरीरहेको अवस्थामा माथिबाट ठूलो पहिरो खसेर पुरेको बताए । उक्त गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तिलक रावतले पहिरोले धेरै भेडा मरेको भन्ने खबर आए पनि क्षतिको यकिन विवरण आउन समय लाग्ने बताए ।

  • ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

    ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

    १७ असार, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हँुदा चालकको मृत्यु भएको छभने सहचालक घाइते भएका छन् । भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला लिई आउँदै गरेको युपी६१एटी ०९६२ नम्बरको लहरी ट्रक दुर्घटना हुदाँ ट्रक चालक भारतको गाजीपुर जिल्ला पुरैनियाँ निवासी ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

    ट्रकभित्र च्यापिएर अचेत भएको अवस्थामा चालक यादवलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा तत्कालै चिकित्सकले मृत घोषणाा गरेको प्रवक्ता अर्यालले बताए ।दुर्घटनामा घाइते सहचालक भारतको सोही स्थानका २६ वर्षीय मनोज यादवको हेटौँडा अस्पतालमा उपचार जारी छ ।

  • दरवारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

    दरवारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

    १७ असार, काठमाडौं । काठमाडौँको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    मृत्यु हुनेमा कैलालीका ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका २२ वर्षीय विशाल चौधरी रहेका छन् । आज साँझ ५ बजेतिर उनीहरु चौथो तलामा लिफ्टमा बसेर ग्रिज लगाउँदै गर्दा फलामको सिक्री चुँडिएर गम्भीर घाइते भएका थिए । तत्कालै उद्धार गरी वीर अस्पताल लगिएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

  • प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने

    प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने

    १४ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिन आज साँझ त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सम्पादन गर्ने दैनिक प्रशासनिक कार्यभार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोकेका छन् । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्रीको दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुईको मृत्यु, एक घाइते

    पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुईको मृत्यु, एक घाइते

    १४ असार, वीरगञ्ज । पर्सामा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । वीरगञ्ज महानगर–२८ बगहीबाट इनर्वातर्फ जाँदै गरेको ना५त ९९४१ नम्बरको ट्रयाक्टर आज दिउँसो १ः३० बजे भेडाहा खोलामा पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले जानकारी दिए ।

    मृत्यु हुनेमा वीरगञ्ज महानगर–२८ बगहीका शिवु पटेल र सोही ठाउँका आकाश पटेल छन् । सोही समयमा सवार सोही ठाउँका जयकुमार पटेल भने घाइते भएका छन् । मृत्यु भएका दुवै जनाको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ ।

  • शुक्लाफाँटामा पाटेबाघको आतङ्क

    शुक्लाफाँटामा पाटेबाघको आतङ्क

    कञ्चनपुर, १४ असार : शुक्लाफाँटा नगरपालिका–५ खजुवामा रातिका बेला पाटेबाघले गोठबाटै चौपाया तानेर खाने घटना दोहोरिन थालेपछि स्थानीय किसान त्रसित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्कने बयस्क पाटेबाघले बस्तीमा पसेर गाईभैँसीजस्ता घरपालुवा जनावरको खान थलेपछि जनजीवन प्रभावित भएको हो । गएराति मात्र स्थानीय हेमा धामीको ब्याउने गाईलाई पाटेबाघले गोठबाट तानेर दुई सय मिटर पर लगेर खाएको घटना सार्वजनिक भएको छ । यसअघि देवकी पाण्डेयको लैनो भैँसी र कञ्जडो धामीको गाईलाई पनि गोठमैबाट तानेर बाघले खाएको थियो ।

    केही महिना पहिले गोठमै गाई दुहुँदै गरेकी मानमती धामीमाथि बाघले आक्रमण गर्दा घाइते बनाएको थियो । वडा सदस्य जयराज पाण्डेयले बाघ साँझ पर्न नपाउँदै बस्तीमा देखा पर्न थालेको बताए । बाघ अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । उनका अनुसार पाटेबाघको निगरानीका लागि निकुञ्ज कार्यालयले चारवटा स्वचालित क्यामेरा जडान गरेको छ । जसमा वयस्क बाघ देखिएको पुष्टि भएको छ । बाघको जोखिम न्यूनीकरणका लागि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली गस्तीमा छ भने वन रक्षकहरूले पनि निगरानी बढाएका छन् ।

    स्थानीय शिवी लुहार भन्छन्, “बाघ हिजो पनि देखिएको थियो, अस्ति पनि, अहिले त बस्तीमा राति हिँडडुल गर्न पनि डर लाग्न थालेको छ, कहिले मानवीय क्षति हुन्छ भन्ने चिन्ता बढेको छ ।” बाघमात्र होइन, हात्तीजस्ता अन्य जङ्गली जनावरहरूले पनि अन्नबालीमा क्षति पुर्याउने गरेको स्थानीयहरूको भनाइ छ । त्यसमा पनि बाघले गोठमै बाँधिएका चौपाया खाइदिन थालेपछि समस्या झन् जटिल बनेको छ ।

    स्थानीय बासिन्दाहरूको माग छ, “निकुञ्ज क्षेत्रसँग जोडिएका बस्तीमा विद्युतीय मेसवायर जडान गरियोस, जसले गर्दा जङ्गली जनावरको मानविय बस्तीमा प्रवेश रोक्न सकियोस ।” वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार निकुञ्ज छेउमै बस्ती भएकाले स्थानीय किसानले बर्सेनि हैरानी खेप्नुपर्छ, विद्युतीय तार जडानका लागि पटकपटक माग गरिरहेका छौँ, तर अझै काम अगाडि बढ्न सकेको छैन, बढ्ने अश्वासन पाइएकाले काम अघि बढनेमा विश्वस्त छौँ ।

    उनका अनुसार वडाको बजेटले नपुग्ने भएकाले प्रदेश सरकारसँग माग गरिएको छ । यसै आर्थिक वर्षभित्र केही क्षेत्रमा मेसवायर जडान हुने जानकारी पाइएको छ । जङ्गली जनावर नियन्त्रणका लागि स्थायी समाधानका लागि प्रभावकारी सुरक्षामूलक संरचना र सक्रिय निकुञ्ज प्रशासनको समन्वय अपरिहार्य भएको उनले बताए ।

  • भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बैतडी, १४ असारः बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो । घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो । धामीका श्रीमान, एक छोरा र एक छोरी छिन् ।

  • पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

    पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

    १३ असार, मुस्ताङ । बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् । उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिए । उनका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ ।

    “हवाई यात्रु कम भएको र मौसम प्रतिकुलताका कारण तारा एअरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ याम सुरु भएपछि उडान सुरु हुन्छ”, उनले भने । समिट एअरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले एक हप्तापछि २ महिनाका लागि पोखरा(जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जाकारी दिए ।

    “अहिले यस रुटमा हवाई उडान दैनिक मुस्किलले एउटा मात्रै भएको छ, हवाई यात्रु पनि घट्दै गएका छन्”, उनले भने । जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएसँगै हवाई यात्रुको घटेको जनाएको छ । कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा-जोमसोमका लागि तारा एअरले उडान स्थगित गरेको र समिट एयरले पनि केहीदिनमा स्थगित गर्ने जनाएको बताए । बर्खायाम सुरु हवाईमार्ग मात्रै होइन सडकमार्गबाट जोमसोम आउने यात्रु पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताए ।

  • अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

    अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

    १२ असार, टक्सार । अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका छैनन । उनीहरुको खोजी कार्य भने जारी राखिएको छ । हतुवागढी गाउँपालिका–९, मचुवाटारका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अरुण नदीमा बेपत्ता भएका हुन । बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुवै जना कक्षा ८ का बिद्यार्थी हुन् । आफ्ना छोरीहरु बेलुकासम्म घर नआएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए ।

    आफन्तले खबर गरेसँगै बालिकाहरुको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । नदीमा पानी सतह बढेको जानकारी आए पनि खोजी कार्य तीव्र पारिएको र अहिलेसम्म उनीहरुलाई फेला पर्न नसकिएको डिएसपी तिमिल्सिनाले बताउनुभयो । खोजीका लागि धनकुटा, सुनसरी र सप्तरी प्रहरीसँग समन्वय गरिएको छ ।

  • कमला नदीमा पुल निर्माण चाँडै

    कमला नदीमा पुल निर्माण चाँडै

    १२ असार, सिरहा । सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथि पुल निर्माणका लागि मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा रु एक करोड विनियोजन गरेको छ । बर्खायाममा कमला नदीमा पुल नहुँदा आवत–जावतमा कठिनाई व्यहोर्दै आएका थिए । यहाँ १४ वर्षदेखि पुल निर्माणाधिन थियो । सर्वसाधारणले जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने बाध्यता थियो । मुख्यमन्त्री सतिशकुमार सिंहको पहलमा यो योजना अघि बढाइएको हो ।


    उनले भने, “कमला नदीमा पुल निर्माण गर्नु धनुषा–सिरहा मात्रै होइन, सिङ्गो मधेस प्रदेशको आवश्यकता हो । हामी यो कार्य दृढताका साथ अगाडि बढाउँछौँ ।” रु एक करोडले मात्र पुल निर्माण सम्भव नभएको उनले बताए । मुख्यमन्त्री सिंहका अनुसार आवश्यकताअनुसार चरणबद्ध रूपमा थप बजेटको व्यवस्था गरिनेछ ।

    सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले भने, “थोरै बजेट राखेर भएपनि प्रदेश सरकारले कमला पुललाई समेटेको छ । पुल बनाउन यो रकम पर्याप्त छैन । सङ्घीय सरकारले पनि यसका लागि सहयोग गरोस् ।” निर्माणाधिन अवस्थामै भासिएको यो पुल विगत लामो समयदेखि जीर्ण छ । वर्षा याममा नदी पार गर्न बाँसको अस्थायी संरचना बनाइएको छ ।

  • दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

    दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

    १२ असार, तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारण बिहानदेखि लामबद्ध लाग्ने गरेको व्यास नगरपालिका–३ देउरालीनगर निवासी उपभोक्ता देव गजमेरले जानकारी दिए ।
    मङ्गलबार साँझदेखि पानी वितरण नभएपछि सर्वसाधारणको साँझ अबेरसम्म भीड लाग्ने गरेको छ । उनले भने, “बुधबार साँझ ९ बजेसम्म पनि १०० को हाराहारीमा मानिस कुवा तथा धारामा पानी लिन लाइनमा बसेका छन् ।” मुग्लिन–पोखरा सडक विस्तारका क्रममा अस्थायी रूपमा रहेको खानेपानीका पाइप हटाएर स्थायी व्यवस्थापन गर्न लागिएका कारण खानेपानी वितरणमा समस्या भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए । उनले भने, बिहान सबेरैदेखि राति १० बजेसम्म निर्माण कार्यमा खटिएका छाँै, जिआइ पाइप जडान कार्य भइरहेको, पाइप जडानपछि क्रङ्क्रिट गरेपछि मात्रै पानी सुचारु गरिनेछ ।”

  • खोल्सामा आएको बाढीले बगाएर ललितपुरमा सवइञ्जिनियरको मृत्यु

    खोल्सामा आएको बाढीले बगाएर ललितपुरमा सवइञ्जिनियरको मृत्यु

    १२ असार, पाटन । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्युु भएको छ । महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो ।

    “खोल्सामा साँझ अन्दाजी ७ः३० बजेतिर आएको बाढीले बगाएर मृत्युु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौँ, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौँ”, उनले भने ।

  • हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

    हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

    ११ असार, काठमाडौं । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान गरेका छन् । सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलमा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ वटा उडानमार्फत १५० जना भारतीय पर्यटक यहाँ आइपुगेका छन् । भारतीय पर्यटकहरु सिमकोटदेखि हिल्सा हुुँदै चीनमा रहेको मानसरोवर र कैलाश दर्शनका लागि जान्छन् । काठमाडौँ–केरुङ हुँदै चीनको मानसरोवर तथा कैलाश जानभन्दा यहाँबाट सहज हुने भएकाले भारतीय पर्यटक यो मार्ग रोज्नेगर्छन् ।

    सिमकोट विमानस्थलका कर्मचारी दीपेन्द्र भण्डारीका अनुसार गत जेठ २४ गते १२ जना विदेशी पर्यटक हुम्ला आएका थिए । उहाँका अनुसार यही असार २ गतेयता कैलाश मानसरोवर जानका लागि ३६२ भारतीय यात्री हवाई मार्ग हुँदै हुम्ला आएका छन् । यहाँबाट यात्रुहरु सडक र हवाईमार्ग हुँदै हिल्सा जान्छन् भने त्यहाँबाट सडकमार्ग हुँदै चीन प्रवेश गर्छन् ।

  • विपद्को समयमा भनसुनमा सवारी साधन चलाउन दिए प्रमुख जिल्ला अधिकारीलाई कारवाही हुने

    विपद्को समयमा भनसुनमा सवारी साधन चलाउन दिए प्रमुख जिल्ला अधिकारीलाई कारवाही हुने

    ११ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यो प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका प्रहरी र ट्राफिक प्रहरीका जिम्मेवार अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आज गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुनसक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा उहाँले मनसुनका बेला हुनसक्ने सडक दुर्घटना न्यूनीकरणका लागि गरिएका निर्णय र बनाइएका आचारसंहिता कार्यान्वयनमा जोड दिए ।

    उनले उक्त निर्णयका बारेमा आम नागरिकसम्म पुगाउन सूचना प्रवाहमा ध्यान दिन आग्रहसमेत गरे । “कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन चल्नु हुन्न भनिसकेपछि कुनै जिल्लामा सवारी साधन भेटियो भने त्यो जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरीलाई कारबाही गरिनेछ”, उहाँले भन्नुभयो, “कारण देखाउनुपर्ने छैन, बिरामी र एम्बुलेन्स छ भने त्यो एउटा विषय बन्ला होइन भने सामान्य गाडी कसैको भनसुनका आधारमा चलाइएको पाइए कारबाहीको विषय बन्छ ।” उनले उक्त विषय गृहसचिव र प्रहरी प्रमुखहरुलाई तल्लो तहसम्म सर्कुलर गर्न निर्देशनसमेत दिए ।


    पहिरोले सडक अवरुद्धका साथै सवारी साधनसमेत बगाउने अवस्था आउने गरेको भन्दै गृहमन्त्री लेखकले सडक सञ्जाल अवरोध हुँदा धेरै समस्या सिर्जना हुने गरेको बताए । “विपद्जन्य घटना हुँदा सर्वसाधारणले सबैभन्दा पहिले सम्झिने सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई हो”, उनले भने, “सूचना प्रवाह धेरै महत्वपूर्ण छ, विपद्का बेला सडक दुर्घटनामा नागरिकको जिउधनको बचाउ गर्ने चालकलाई पुरस्कृत र अटेरी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

  • भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    ११ असार, चितवन । चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमान्सँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् ।

    लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए । कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

    शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

    ११ असार, काठमाडौं । शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर रौतहटको चन्द्रपुर नगरपालिका–१० बिनुवा टोलमा दुई बालबालिकाको मृत्यु भएको छ । सेफ्टी ट्याङ्कीमा डुबेर मङ्गलबार राति घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए ।

    गमिरा साहको छोरा एक वर्षीय रन्जे साह र जगदिश साहको एक वर्षीया छोरी खुश्बु साह खेल्ने क्रममा शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर गम्भीर घाइते भएको अवस्थामा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मङ्गलबार राति दुवै बालबालिकाको खोजी गर्दा हृदय नारायण पासवानको घरको शौचालयको सेफ्टी ट्याङ्कीमा प्लाइले ढाकेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

  • अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

    अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

    रासस
    ११ असार, चितवन । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ । पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ ।

    नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ । सङ्घले आजबाट लागू हुनेगरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट रु चार सय ८० र मझौला रु चार सय ५० कायम गरिएको छ । दुवैमा प्रतिक्रेट रु ३० वृद्धि भएको हो ।

    व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट)को ठूलो रु तीन हजार ५४० र मझौला रु तीन हजार ३३० मा बिक्री गर्ने पोखरेलले बताउनुभयो । चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजारमा झरेको पोखरेलले बताए । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न सकेका छैनन् ।

    विद्यालय, क्याम्पस खुलेर र पर्यटक बढेपछि बजारमा अण्डाको माग बढेको उनी बताँछन् । अण्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो । गत वर्ष प्रतिक्रेट रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा छ ।