Category: स्थानीय

  • स्कुल भ्यानले ठक्कर दिँदा काठमाडौंमा छात्राको मृत्यु

    स्कुल भ्यानले ठक्कर दिँदा काठमाडौंमा छात्राको मृत्यु

    २ असार, काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यानले ठक्कर दिँदा आज एक छात्राको मृत्यु भएको छ । काठमाडौँ कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए ।

    ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त भ्यानको ठक्करबाट घाइते भएका छ जनामध्ये पाँच जनाको नेपाल नेशनल अस्पतालमा र एक जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका भ्यान चालकको पनि बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

    तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

    २ असार, दमौली । गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६ वर्षीय मङ्गले नेपालीको शेराटारस्थित खुदी खोलाको दहमा आज शव फेला परेको छ । नेपालीको शव खुदी खोलास्थित तानेको रहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

    मृतकको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ । बेपत्ता नेपालीको खोजतलास भइरहेको थियो । नहर छेउमा निजले प्रयोग गर्ने कपडा र चप्पल फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते

    बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते

    २ असार, पाल्पा । यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो ।

    दुर्घटनामा परी सवारी धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । उनका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो ।

    दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते हुनुभएको छ । खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । गाडी सडकदेखि ३०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • रास्वपाको नाराबाजीका बीच तीन घण्टासम्म चलाइयो संसद

    रास्वपाको नाराबाजीका बीच तीन घण्टासम्म चलाइयो संसद

    १ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजी गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाए । ‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

    रास्वपाले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको हो । उता, सरकार भने विपक्षीलाई पेलेर अगाडी बढेको छ । खासगरी माओवादी केन्द्र सहमतीमा आएसँगै साना दललाई पेल्ने रणनीतिमा सरकार पुगेको हो । संसदमा सभामुखले आजबाट बजेटसँग सम्बन्धित विषय छलफलमा अगाडी बढाएका छन् ।

  • आज देशैभर वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान

    आज देशैभर वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान

    १ असार, काठमाडौं ।हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

  • मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु

    मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु

    रासस

    १ असार, पथरी । मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

    शनिबार साँझ ८ः०० बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन् । विमलाको कान र खुट्टामा चोट लागेको छभने छोरीको टाउकोमा चोट लागेको छ । उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् । मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना भएको हो । यस क्षेत्रमा काकडभिट्टा–लौकही सडक निर्माण क्रममा छ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा धेरै डाइभर्सन असुरक्षित भएका कारण दुर्घटना बढ्दै गएको छ ।

  • मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो

    मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो

    रासस

    १ असार, खोटाङ । शनिबार दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल खेल प्रतियोगिताका दर्शकले भरिभराउ हुने माटीकोरे खेलमैदान साकेला गीत र ढोल–झ्याम्टाको तालसँगै साकेला सिली प्रदर्शनले गुञ्जयमान बनेको हो ।

    जिल्लाका विभिन्न स्थानीय तहबाट आएका दर्जनौँ साकेला सिली प्रदर्शन टोली सहभागी कार्यक्रममा बालबालिकादेखि बुढापाकासम्म साकेला सिली प्रदर्शनीमा रमाइरहेका थिए । करिब ३० डिग्री सेल्सियसको टन्टलापुर घामको प्रवाह नगरी ढोल र झ्याम्टको तालसँगै साकेला गीत गाउँदै नाच्न कस्सिएकाहरूको मुहारमा बेग्लै हर्ष देखिन्थ्यो ।

    किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले शनिबार संयुक्त रूपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा गैरकिरातले समेत लहर मिलाएर सिली नाचेका थिए । माझ किरात भनेर चिनिने खोटाङमा शनिबारबाट यो वर्षका लागि साकेला उभौली चाड औपचारिक रूपमा मैझारो ९समापन० गरिएको छ । किराती समुदायले वैशाखे पूर्णिमामा उभौली र मङ्सिरे पूर्णिमामा उधौली गरी वर्षमा दुईपटक साकेला सिली प्रदर्शन गर्दै चाड मनाउँदै आएका छन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उँभो लाग्ने भएकाले उभौली भन्ने गरिएको हो ।

    उभौलीमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस्, सुब्बेफाब्बे होस्जस्ता कामना गर्दै प्रकृतिको पूजा गर्ने चलन छ । तीन चुल्हा तथा भूमेथानहरूमा पूजाआजा गरेपछि सामूहिक रूपमा गोलो घेरामा छोरीचेली, बाउमाइती, युवायुवती एक ठाउँ सहभागी भएर साकेला गीत गाउँदै साकेला सिली नाच्ने गरिन्छ । उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन रहेको छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णिमाको दिनदेखि उधौली मनाउने गरिएको हो ।

    साकेला उभौली–उधौली चाडलाई आफन्तसँगको भेटघाट गर्ने महत्त्वपूर्ण अवसरका रूपमा पनि मान्ने गरिएको किरात सेवा समाजका अध्यक्ष ध्यानबहादुर राईले बताउनुभयो । उभौलीको अवसरमा मझुवागढी, तुवाचुङ–जायजुम, छोङ्खा, जन्तेढुङ्गालगायत किरात ऐतिहासिक थलो तथा विभिन्न भूमेथानमा एक महिनासम्म प्रकृतिको पूजा गरी साकेला सिली प्रदर्शन गर्ने चलन छ ।

    साकेला उभौली–उधौली चाडमा सबै जातजाति तथा धर्मका समुदायले साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको किरात राई यायोक्खाका अध्यक्ष युगशन किरातले बताए ।

    “साकेला किरात समुदायको प्रमुख चाड हो । यो चाड सबै जातजातिको सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने साझा सांस्कृतिक चाड बनेको छ”, उनले भने, “साकेला चाडले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःखसुखको कुराकानी गर्ने वातावरणसमेत सृजना गर्छ । त्यसैले साकेला उभौली–उधौली चाडलाई किरात समुदायले निकै महत्वका साथ मनाउने गरेका छन् ।”

    किरात ऐतिहासिकस्थल मझुवागढीबाट गत वैशाख २९ गते औपचारिक रूपमा सुरु गरिएको साकेला उभौली महिना दिनपछि शनिबार दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिएको छ । समापनका अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घसंस्थाका प्रतिनिधि सहभागी भएर समूहिक रूपमा साकेला सिली नाचेका थिए ।

    छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक वेशभूषामा ठाँटिएर हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभई गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् ।

    चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल, झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरून् भन्ने कामनासहितको साकेला उभौली तथा उधौली चाड मनाउने गरिएको छ । साकेला उभौली तथा उधौली चाड किरात समुदायले साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरेका छन् । यो साकेला उभौली–उधौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मान्ने गरेका छन् ।

  • बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

    बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

    रवीन्द्र काफ्ले / रासस

    १ असार, पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गए राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिए । मृतकका शव सोही अस्पतालमा रहेको उनले बताए ।


    मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो । हेंवा खोलाको फिदिम नगरपालिकातर्फको भागमा बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ टेकाइएको थियो । फिदिमतर्फको भागको भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको प्रत्यक्षदर्शीको भनाइ छ । बेलिब्रिज भाँचिदा जडानको काम गरिरहेको छ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए ।

    २०८० असार २ गते आएको बाढीले यहाँ रहेको ४५ मिटर लामो सडक पुल बगाएपछि सोही वर्षको साउनमा सोही स्थानमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो । तर सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटरमुनि नयाँ बेलिब्रिज निर्माण गरिरहेकामा कार्य सम्पन्न हुन लाग्दा भाँचिएको जनाइएको छ । उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो भने संरचना निर्माण तथा जडान रु तीन करोड ४९ लाखको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो ।

  • हेवाखोला बेलिब्रिज भाँचियो, कामदार घाइते, चारको अवस्था गम्भीर

    हेवाखोला बेलिब्रिज भाँचियो, कामदार घाइते, चारको अवस्था गम्भीर

    ३१ जेठ, पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छजना कामदार घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो । करिब ७० मिटर लामो मोडुलार पुल भाँचिदा निर्माणमा खटिएका छजना कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा बारा सिमरा उपमहानगरपालिका १२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी र २५ वर्षीय भुलेश्वर चौधरी गम्भीर घाइते भएका छन्भने ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रनाउ बुढाथोकीले जानकारी दिए ।लोड थाम्न नसकेर बेलिब्रिज भाँचिएको स्थानीयवासीले बताएका छन् ।

  • नागढुङ्गामा माइक्रोबस दुर्घटना, दर्जन बढी घाइते

    नागढुङ्गामा माइक्रोबस दुर्घटना, दर्जन बढी घाइते

    ३१ जेठ, काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना भएको माइक्रोबसका घाइतेको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा३ख ८३२९ नंको माइक्रोबस अनियन्त्रित भई आज अपराह्न सडकबाट करिब ८० मिटर तल खसेको थियो । उक्त माइक्रोबसमा चालक तथा सहचालकसहित २० जना सवार थिए ।

    सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलबाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमान्डमा खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटनामा चार बालबालिका, पाँच महिला र ११ पुरुष घाइते भएका छन् ।

  • पत्नीको कुटपिटबाट पतिको मृत्यु

    पत्नीको कुटपिटबाट पतिको मृत्यु

    ३० जेठ, टक्सार । भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ । घरायसी विवाद हुँदा पत्नीको कुटपिटबाट पति गम्भीर घाइते भएका थिए । भोजपुर नगरपालिका–३ गुप्तेश्वरका ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट घाइते भएका प्रकाशलाई शुक्रबार बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

    गुप्तेश्वर घर भए पनि राईको परिवार टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बसोबास गर्दै आइरहेको थियो । विवादमा पत्नी सुमित्राले पतिमाथि कुटपिट गरेको र उनको सोही कारण मृत्यु भएको विषयमा थप अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तिमिल्सिनाले बताए ।

  • प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

    प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

    ३० जेठ, काठमाडौं । काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका सात जनालाई गए राति थुनामा पठाउन आदेश भएका निजहरूलाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    उनले भने, “जिल्ला अदालत काठमाडौँको आदेशअनुसार, दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र जीतबहादुर श्रेष्ठलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।” पूर्वराजाको समर्थनमा गत चैत १५ गते भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।

  • ओखलढुङ्गामा तिम्ल्याहा जन्मिए

    ओखलढुङ्गामा तिम्ल्याहा जन्मिए

    ३० जेठ, ओखलढुङ्गा । यहाँको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा आज तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् । बिहीबार अस्पताल भर्ना भएकी तामाङले आज बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिए । निर्देशक खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेका थिए ।

    जन्मिएका तीनै छोरीमध्ये पहिलोको तौल एक हजार ९०० ग्राम, दोस्रोको दुई हजार २०० सय ग्राम र तेस्रोको तौल दुई हजार ३०० सय ग्राम रहेको अस्पतालले जनाएको छ । ३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । तामाङको पहिलो सन्तानका रुपमा सात वर्षीय छोरा छन् ।

  • बागलुङमा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    बागलुङमा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    ३० जेठ, ढोरपाटन । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ की ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते हुनेमा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, यात्रुहरु सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ७५ वर्षीया मनकुमारी थापा, २१ वर्षीया टिकाकुमारी कुँवर, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर गरी जम्मा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

    दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय को गोविन्द थापा र यात्रु १८ वर्षीया लुम्बिनी महतको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक थापाले बताए । घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ ५ः४५ बजे दुर्घटना भएको हो । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

  • कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

    कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

    रासस
    २९ जेठ, कर्णाली । नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्त पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरूमा फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तर्गत पछिल्ला छ दिनमा २७ जनालाई पक्राउ गरिएको हो । विभिन्न अपराधमा संलग्न रही अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती अभियुक्तहरू अदालतको फैसला कार्यान्वयन छली फरार रहेका थिए ।

    प्रहरीले विशेष निगरानी, सुराकी र रणनीतिक अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरी सम्बन्धित अदालतमा पेस गरिएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताए । पक्राउ परेका अभियुक्तहरूबाट हालसम्म जम्मा ३२ वर्ष ११ महिना २० दिन कैदसजायसहित रु २३ हजार १०० बराबरको जरिवाना असुल गरिएको उनले बताए ।
    प्रहरीका अनुसार अदालतको आदेश कार्यान्वयन गर्दै न्याय सम्पादनमा सघाउने उद्देश्यले फरार अभियुक्तलाई खोजी–पक्राउ गर्ने अभियानलाई थप तीव्र बनाइएको छ । यस अभियानले अपराधमुक्त समाज निर्माणमा सहयोग पु¥याउने विश्वास प्रहरीले गरेको छ । प्रहरीले अदालतको निर्णय शीघ्र कार्यान्वयन हुन सकोस् भन्दै फरार अभियुक्तसम्बन्धी सूचना दिन सबैलाई आग्रह गरेको छ ।

  • ठाउँ-ठाउँमा वर्षाः तापक्रम क्रमशः घट्दै

    ठाउँ-ठाउँमा वर्षाः तापक्रम क्रमशः घट्दै

    २९ जेठ, काठमाडौं । मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ ।

    महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताए । पूर्वमा भन्दा पश्चिम क्षेत्रमा बढी तातो हुने पनि उनले जानकारी दिए । मौसमविद् लामिछानेले पछिल्लो केही घण्टामा काठमाडौँ उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको जानकारी दिए । यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहने छ । जसकारण हिजोआजको भन्दा बिहीबार र शुक्रबारको तापक्रममा गिरावट आउने पनि उनले बताए ।


    ठूलो र देशैभरि एकैनासको वर्षा गराउने प्रणाली भने नभएको पनि महाशाखाले जनाएको छ, तर पनि दिउँसोको समयमा भने गर्मी नै महसुस हुने जनाइएको छ । महाशाखाले बुधबार साँझ सूचनामार्फत भनेको छ, “यो सूचना जारी गर्नुभन्दा तीन घण्टादेखि कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानरूमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम र एक–दुई स्थानमा भारी वर्षा मापन भएको छ । सो वर्षा गराउने प्रणाली दक्षिण–पश्चिमतर्फ सर्दै गइरहेकाले आसपासका क्षेत्रमा समेत मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा समेत हल्का वर्षा भएको र बाँकी स्थानहरुमा समेत बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।”

    हाल मनसुन जेठ १५ गतेकै अवस्थामा कोशी प्रदर्शनबाट अन्यत्र नफैलिएको बताउँदै लामिछानेले महाशाखाले अनुगमन गरिरहेको जानकारी दिए । उनले भने, “मनसुनका लागि अनुकूल वातावरण बन्दै गएको छ, केही दिनमा नयाँ परिणाम निस्किन्छ होला, सबै मापदण्ड पूरा भएपछि महाशाखाले बुलेटिनमार्फत जानकारी दिनेछ ।” मनसुन भित्रिने सरदर मिति (जुन १३) आउन अब दुई दिन बाँकी छ । यसपालि यो मिति आउनुभन्दा १५ दिनअघि नै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको र पछि पूर्वी एसिया फर्किएको जनाइएको छ ।

  • मर्स्याङ्दी नदीमा गरियो मनसुन विपद् उद्धार अभ्यास

    मर्स्याङ्दी नदीमा गरियो मनसुन विपद् उद्धार अभ्यास

    २८ जेठ, मनाङ । मनसुन सुरूआतसँगै हुनसक्ने विभिन्न विपद् उद्धार अभ्यास गरिएको छ । नेपाली सेना नयाँ भैरवी दल गुल्म र सशस्त्र प्रहरी बल नं ३२ गुल्म मनाङको संयुक्त आयोजनामा आज नासो गाउँपालिका–१ तालगाउँस्थित मस्र्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास गरिएको छ । मनसुनलाई मध्यनजर गरी नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले विपद् उद्धार अभ्यासमा प्राथमिकता दिँदै आएको छ ।

    नेपाली सेना तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले विपदमा उद्धार गर्न सहयोग पुर्‍याउने उद्देश्यले ‘मनसुन विपद् उद्धार अभ्यास एवं डेमोस्टे«सन’ गरिएको नेपाली सेना नयाँ भैरवी दल गुल्मका गुल्मपति सेनानी रामबहादुर थापाले जानकारी दिए । उनका अनुसार मुनसुनमा घट्नसक्ने बाढी, पहिरो, डुबान एवं विपद् उद्धार अभ्यासले मद्दत पुग्नेछ ।


    जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले मनसुन सक्रिय हुने अवस्थामा विपद्का घटना हुनसक्छन्, त्यस अवस्थामा उद्धारका अभ्यासले टेवा पु¥याउने बताए । उनले भने, “अभ्यासले जनचेतना जगाउन सहयोग गर्ने गर्दछ ।” सशस्त्र प्रहरी बल नं ३२ गुल्मका प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीले भने, “अभ्यासले सुरक्षा निकायलाई अभ्यस्त बनाउनुका साथै स्थानीयलाई पनि सचेत गराउन मद्दत पुग्छ ।” स्थानीय निकाय तथा सरोकारवाला निकायबीचको सहकार्यमा विपद्का घटनामा नेपाली सेना र सशस्त्र प्रहरी बलले प्रभावकारी काम गर्ने उनको भनाइ छ ।

    नेपाली सेना र सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले आगलागी, सडक दुर्घटना, जल उत्पन्न प्रकोप, भूकम्पजस्ता विपद्जन्य घटनामा खोज तथा उद्धार गर्दै आएको छ । बाढी र डुबानमा परेकाको उद्धार गर्नेबारे अभ्यास गरेको हो । अभ्यासले वास्तविक उद्धारमा काम गर्न सहज हुने बताइएको छ । अभ्यासमा दक्ष जनशक्तिले गहिराइमा डुबेका पीडितको उद्धार गर्ने कला प्रदर्शन गरेका थिए ।

    भदौ, आश्विन र कात्तिकमा सडक दुर्घटना, महामारी, चट्याङसम्बन्धी, मङ्सिर, पुस र माघमा ‘लु’ तथा ‘डिहाइड्रेसन’, शीतलहर तथा जाडोसम्बन्धी, फागुन र चैतमा आगलागी, हावाहुरी तथा आँधीबेरी र वैशाख, जेठ र असारमा जल उत्पन्न प्रकोप र बाढी पहिरोसम्बन्धी विपद् सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विसं २०७८ जेठ २९ र असार १ गतेको बाढीको डुबानमा परेका तालगाउँमा उद्धार अभ्यास गरिएको छ । जसले यहाँका स्थानीयवासीलाई उद्धारका अभ्यासले जनचेतना जगाउनेछ ।

  • प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार

    प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार

    २८ जेठ, पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ खपौँदीस्थित फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका दुई चालक सहित चार जनाको आज सकुशल उद्धार गरिएको छ । कास्कीस्थित सशस्त्र प्रहरी बल नं २४ गणबाट फेवा उद्धार टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले उनीहरूको उद्धार गरेको हो । अवतरणका क्रममा अनियन्त्रित भई फेवातालका बीचमा खसेका अग्नि प्याराग्लाइडिङका पाइलट मिलन शाह र उक्त प्याराग्लाइडिङमा सवार भारतको बनारसका अकलेस यादवलाई सकुशल उद्धार गरिएको हो ।

    हेप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी र भारतको बनारसका चन्दनकुमार पटेललाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नं २४ गणका गणपति सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए । मोटरबोटसहित खटिएका गोतखोर उद्धारमा खटेको उनको भनाइ छ ।

  • मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

    मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

    २८ जेठ, दमौली । आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार किसानलाई मह र मासखेतीमा आकर्षित गर्ने उद्देश्यसहित पालिकाले प्रतिकिलो रु २५ का दरले अनुदान दिएको हो । आँबुखैरेनी–४ र ५ का किसानले चालु आर्थिक वर्षमा मह र मास उत्पादन गरेबापत रु तीन लाख ९३ हजार ४५० अनुदान पाएका छन् ।

    पालिकाले मह र मास हाटबजारसम्म ढुवानीको व्यवस्था पनि मिलाएको छ । प्रमुख केसीले भने, “पालिकामा मास र मह उत्पादनको सम्भावना छ । किसानलाई यसमा टिकाइराख्न अनुदानको नीति लिइएको हो । प्रतिकिलो रु २५ का दरले अनुदान दिन्छौँ ।” चालु आर्थिक वर्षमा सात कृषक समूहमा आबद्ध एक सय २३ किसानले अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थामचुली मौरीपालक कृषक समूहमा आबद्ध किसानले चार सय ५० किलो मास र दुई सय ५८ किलो मह उत्पादन गरेबापत रु १७ हजार ७०० अनुदान पाएका छन् ।

    त्यसैगरी आँबुखैरेनी–४ स्थित खस्राङ गाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार ७९७ किलो मास उत्पादन गरेबापत रु ६९ हजार ९२५ अनुदान पाएका छन् । आँबुखैरेनी–५ स्थित माइ छिम्केश्वरी कृषक समूहमा आबद्ध किसानले आठ सय ७१ किलो मास उत्पादन गरेबापत रु २१ हजार सात सय ७५ अनुदान पाएका छन् ।

    आँबुखैरेनी–५ कै खोलागाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार ५९० किलो मास उत्पादन गरेबापत रु ६४ हजार ७५० अनुदान पाएका छन् । इन्द्रदेवी कृषक समूहमा आबद्ध किसानले एक हजार ५० किलो मास उत्पादन गरेबापत रु २६ हजार २५० अनुदान पाएका छन् । भुकुन्डी खेउसिङ कृषक समूहमा आबद्ध किसानले छ हजार सात किलो मास उत्पादन गरेबापत रु एक लाख ५० हजार १७५ अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थानीमाइ कृषक समूहमा आबद्ध किसानले एक हजार ७३२ किलो मास र ११ किलो मह उत्पादन गरेबापत रु ४३ हजार ५७५ अनुदान पाएका छन् ।

    खोला गाउँ कृषक समूहका अध्यक्ष शुकमाया प्रजाले उत्पादनमा आधारित अनुदानले किसान आकर्षित भएका बताए । रासससँगको कुराकानीमा उनले भने, “मास र महका लागि पालिकाले सहयोग गरेपछि किसान यसतर्फ टिकिराख्न सक्छन् ।” भुकुण्डी खेउसिङ कृषक समूहका अध्यक्ष विमला गुरुङले अनुदान नीतिले किसानलाई कृषिमा आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

  • काठमाडौंमा आजैबाट वर्षा सुरु, तापक्रम घट्ने

    काठमाडौंमा आजैबाट वर्षा सुरु, तापक्रम घट्ने

    २७ जेठ, काठमाडौं । काठमाडौंसहित पहाडी भूभागमा वर्षा भएको छ । केही दिनदेखि बढेको तापक्रमका कारण आजित भएकोमा आज राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि हल्का वर्षाको सम्भावना रहेकाले तापक्रम पनि घट्ने जनाएको छ । काठमाडौंसहितका भेगमा भने आजै वर्षा भएको छ । महाशाखाका मौसमविद् प्रतिमा मानन्धरका अनुसार देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ ।

    “मनसुनी हावा सक्रिय हुन नसकेका कारण नेपालको पूर्वी क्षेत्रमा भित्रिएको मनसुन देशभर फैलिन समय लागिरहेको छ । हाल वर्षा नहुँदा गर्मी पनि बढेको छ, तर आज कोशी, बागमती तथा लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको छ”, उनले भनिन्, “बुधबारदेखि भने उपत्यकालगायतका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । बादल पनि लाग्ने हुँदा बुधबारदेखि विस्तारै तापक्रम घट्ने छ ।”

    मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको छ भने भैरहवा, धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ । यसैगरी, आज दिपायलको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको छ । सिमरा, जनकपुर, बिराटनगरको अधिकतम तापक्रम भने ३८ डिग्री सेल्सियससम्म पुगेको छ ।

    महाशाखाले बुधबार बिहानसम्मको मौसम पूर्वानुमान गर्दै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेकाले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न जनाएको छ । यसैले सम्भावित जोखिम तथा असरबाट बच्न आवश्यक तयारी र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

    अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

    २७ जेठ, कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए ।

    बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनले बताए । गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।

  • आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने

    आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने

    २७ जेठ, काठमाडौं । हाल देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । ती प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । यसैगरी कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

    महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

    २६ जेठ, काठमाडौं । भारतको महाराष्ट्र राज्यमा अत्यधिक भीड भएको लोकल रेलको यात्राका क्रममा यात्रुहरू रेलबाट खस्दा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएका छन्। उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेशन नजिकै भएको हो, जुन मुम्बई शहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ। रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू एकअर्कासँग नजिकैबाट गुडिरहेकै समयमा दुवै रेलका ढोकामा झुण्डिएर यात्रा गरिरहेका यात्रुहरू आपसमा ठोक्किएका थिए, जसका कारण केही यात्रु रेलबाट खसेका थिए।

    स्वास्थ्य अधिकारी कैलास पवारका अनुसार, घटनामा १३ जना घाइते भएका थिए, जसमध्ये चार जनाको दुःखद निधन भएको छ। गम्भीर घाइतेहरूको विशेष उपचार भइरहेको छ। अहिले सात जना छत्रपति शिवाजी महाराज अस्पतालमा भर्ना छन्। मध्य रेलका प्रवक्ता स्वप्निल धनराज निलाले यसलाई रेल ठोक्किने दुर्घटना नभई अत्यधिक भीडका कारण भएको घटना भएको स्पष्ट पारे ।

    प्रशासनले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराखी राहत तथा उद्धार कार्यमा तिव्रता दिएको छ। साथै, घटनाबारे विस्तृत छानबिन सुरु भइसकेको जानकारी दिइएको छ। यसैबीच, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

  • हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

    हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

    २६ जेठ, झापा । यहाँको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट फेरि आजित बन्न थालेका छन् । साँझ नपर्दै मेची नदी पार गरेर आउने ५० देखि ६० वटा हात्तीका समूहले किसानले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि उनीहरु आजित बनेका हुन् । बिहानै मेची नदी किनारमा पुग्ने गरेका स्थानीय शङ्कर लुइँटेलले दैनिक बाहुनडाँगी आउने र भारततर्फ फर्कने हात्तीको हुलको तस्बिर, भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन् ।
    किसानले बारीमा लगाएको मकै, सुपारी, केरालगायतका खाद्यान्न बाली खाएर नष्ट गर्दै आएको उनले बताए । “वर्षौं लगाएर हात्तीले नखाने नगदे बाली सुपारीको बोट हुर्काएँ”, उनले बताए । “फल्न सुरु भएको थियो सबै भाँचेर नष्ट गरिदियो ।” उनले विश्व बैंकको सहयोगमा १० वर्षअघि मेची नदी किनारमा गरिएको सोलार फेन्सिङ बिग्रिएपछि हात्ती फेरि बाहुनडाँगीमा हुल बाँधेर आउन सुरु गरेको बताए । सोलार फेन्सिङ बिग्रिएको र मर्मतमा सम्बन्धित निकायले चासो नदिएको उनको गुनासो छ।

    सोको रेखदेखको जिम्मेवारी पाएको मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष निरोज घिमिरेले हाल सोलार फेन्सिङको मर्मत भइरहेको बताए । उनले डिभिजन वन कार्यालय झापाबाट झारपात फाँड्नका लागि चालु आर्थिक वर्ष २०८१–८२ मा रु आठ लाख प्राप्त भएको र मेचीनगर नगरपालिकाद्वारा कर्मचारीको पारिश्रमिकका लागि रु सात लाख बजेट प्राप्त भएको बताए ।

    सोलार फेन्सिङको हेरचाहका लागि मासिक पाँच हजारका दरले तलब दिएर १० जना र रु १२ हजारका दरले तलब दिएर दुई जना प्राविधिक संस्थामार्फत राखिएको बताए । पछिल्लो समय हात्ती आतङ्क बढ्यो भनेर स्थानीयवासीले समाधानको मागसहित मेचीनगर नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् । डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले सोलार फेन्सिङ प्राकृतिक र हात्तीका कारण नभई मान्छेले भत्काउने गरेको बताए । विगत १० वर्षयता बाहुनडाँगीमा यही सोलार फेन्सिङका कारण जङ्गली हात्ती आउने क्रम घटेको थियो ।

  • सुनकोशी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

    सुनकोशी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

    २६ जेठ, ओखलढुङ्गा । सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । पालिकास्तरीय सार्वजनिक सुनुवाई र ज्येष्ठ नागरिक, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो । १० वटा वडा रहेको पालिकामा ८० वर्ष पुगेका ४८० ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट, इलेक्ट्रिक जग र थर्मस प्रदान गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए ।

    त्यसैगरी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगदसहित कदरपत्रले सम्मान गरिएको छ । स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमश ः नगद रु दुई हजार, एक हजार पाँच सय र एक हजार सहित सम्मान गरिएको हो । पालिकाबाट प्रतियोगितामा भाग लिई ३१ जनाले स्वर्ण, १२ जनाले रजत र तीन जनाले कास्य पदक प्राप्त गरेका थिए ।

    दुई आर्थिक वर्षको एसइई परीक्षामा उत्कृष्ट जिपीए ल्याउने छात्रछात्रालाई नगदसहित कदरपत्रले सम्मान गरिएको छ । आर्थिक वर्ष २०७९–८० र आर्थिक वर्ष २०८०–८१ मा उत्कृष्ट जिपीए ल्याउने पाँच छात्रछात्रालाई नगद रु पाँच हजारसहित कदरपत्रले सम्मान गरिएको हो । एसइईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई पनि सम्मान गरिएको छ । तीन वटा विद्यालयले आर्थिक वर्ष २०८०–८१ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएका थिए ।

    सुनकोशी माध्यमिक विद्यालय बलखु गौडा, आरुभञ्ज्याङ माध्यमिक विद्यालय बलखु र पञ्चकन्या माध्यमिक विद्यालय सिस्नेरीले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएका थिए । ती विद्यालयलाई नगद रु २० हजारसहित कदरपत्रले सम्मान गरिएको शिक्षा शाखा प्रमुख विवेक तामाङले जानकारी दिए । शिक्षामा उच्च शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यालय र विद्यार्थीहरुको मनोबल उच्च पार्दै हौसला प्रदान गर्न सम्मान गरिएको पालिका अध्यक्ष कमल तामाङले बताए ।

  • पाल्पामा समेत भेटियो यार्सागुम्बा

    पाल्पामा समेत भेटियो यार्सागुम्बा

    २६ जेठ, तानसेन । रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए ।
    रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो । उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो । गाउँपालिकाले उक्त क्षेत्रमा प्रवेश निषेध गरेको छ । पालिकाले सूचना नै निकालेर सो क्षेत्रमा प्रवेश निषेध गरेको हो ।


    प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर यार्सा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विष्णुुप्रसाद भण्डारीले जानकारी दिए । “रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,” प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भन्नुभयो “तर त्यो कस्तो प्रजातिको हो, साथै त्यसको मेडिसनल भेल्यु कति छ भन्ने यकिन भएको छैन ।” एक हजार आठ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा यार्सा भेटिएको प्रमाणित भएपछि जिल्लावासी उत्साहित भएका छन् ।

    हिमाली तथा उच्च पहाडी क्षेत्रमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको बताइएको छ । यार्सागुम्बामा औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिवद्र्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुने जनाइएको छ । समुद्री सतहबाट तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा यार्सागुम्बा पाइन्छ । आयुर्वेद चिकित्सककाअनुसार यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो ।

  • मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सम्पन्न

    मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सम्पन्न

    २६ जेठ, दमौली । मुग्लिन पोखरा सडक विस्तार अन्तरगत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । पश्चिम खण्डतर्फ तीन किमी एकतर्फी बाँकी कालोपत्र गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य रहेको उनले जानकारी दिए ।


    पश्चिम खण्डतर्फ १२ मध्ये दश पुल सम्पन्न भएको छ, भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट निर्माण सकिएको उनले बताए । यो खण्डमा चार सय २४ विद्युत् पोल हटाउन बाँकी रहेको र यसले गर्दा काममा केही ढिलाइ भएको उनको भनाइ छ । तालचोकदेखि आदर्शचोकसम्म र डाँडाको नाकदेखि विजयपुरसम्मको पोल हटाउन ढिलाइ हुँदा काममा समस्या भएको उनले बताए । उक्त पोल एक साताभित्र हटाउने भन्ने प्रतिबद्धता आएकाले असार मसान्तसम्म कोत्रेदेखि सेतीपुलसम्मको चार लेन काम सम्पन्न गरिसक्ने उनले बताए ।


    विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले रु सात अर्ब ४० करोडमा पाएको थियो । पूर्वीखण्ड अन्तरगत आँबुखैरेनीदेखि जामुनेसम्मको काम भने करिब अन्तिम चरणमा पुगेको छ । यो खण्डको काम ८५ प्रतिशत सकिएको छ ।

    आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा कालोपत्र करिब सकिएको इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । यो खण्ड अन्तरगत अब मादी पुल नजिक र विमलनगरको एकतर्फी मात्रै कालोपत्र गर्न बाँकी छ । दमौली बजारमा पनि कालोपत्र अन्तिम चरणमा पुगेको छ ।

    यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने पाण्डेले बताए । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंकको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

  • पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै

    पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै

    २५ जेठ, गण्डकी । सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण लमजुुङको क्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँले पर्यटक लोभ्याउने गरेको छ । प्राकृतिक सुन्दरतासँगै परम्परागत संस्कार र संस्कृतिलाई जोगाएर राखेको यो गाउँ गुरुङ संस्कार र संस्कृतिका लागि आफैँमा जीवन्त सङ्ग्रहालयजस्तै देखिन्छ । समुद्री सतहबाट एक हजार ६५० मिटरको उचाइमा रहेको यस गाउँको प्राचीन मौलिकतालाई स्थानीयले जोगाएर राखेका छन् ।

    संस्कृतिहरूको पुस्तान्तरण गरिएको यस गाउँमा अहिले पनि गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, सतिघाटु नाचलगायत लोपोन्मुख संस्कृतिलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । गाउँको प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ यस गाउँमा २०६० सालदेखि घरबास (होमस्टे) सञ्चालन गरिएको पसगाउँ सामूहिक होमस्टेका सचिव रतनसिंह गुरुङले बताए । गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ गाउँका २२ घरमा होमस्टे सञ्चालन भइरहेको उनले बताए ।


    साथै प्राचीन मौलिकतालाई जोगाउँदै बढ्दो बसाइँसराइ रोक्दै गाउँमा नै पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन लक्ष्य रहेको उनले बताए । विसं २०६० देखि स्थापित भए पनि २०७४ सालदेखि औपचारिक दर्ता भई सञ्चालनमा आएको होमस्टेमा दैनिक एक सय जनासम्म राख्न सक्ने क्षमता रहेको उनको भनाइ छ । सुरुमा तीनवटा घरबाट यहाँ होमस्टे सुरु गरिएको थियो ।

    गाउँमा स्थानीय मौलिकतालाई जोगाउनका लागि ढ्ङ्गाले छाएका घरलाई संरक्षण गरिएको छभने गाउँका चोक तथा बाटो छपक्क ढुङ्गाले छापिएको छ । गाउँभित्रै ठाउँठाउँमा रहेका परम्परागत घुमाउने घरले यहाँको सौन्दर्यलाई अझै उजगार गरेको छ । यहाँका एक सय ५३ घरमध्ये अधिकांशका छाना ढुङ्गाबाटै छाइएका छन् ।

    गाउँको शिरमा रहेको क्होंमे्रडाँडामा भ्यूटावरसँगै अन्य विभिन्न संरचना निर्माण गरिएको छ । गाउँको पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा आदिले पनि यहाँको सौन्दर्यता र महत्वलाई अझै बढाएका छन् । त्यस्तै कैलाश पर्वतजस्तै देखिने शिलाका साथै विभिन्न देवीदेवताका आकृतिका शिलाले यहाँको धार्मिक महत्वलाई अझै उजागर गरिरहेको स्थानीयवासी बताउँछन् ।

    शिला रहेको क्षेत्रस्थित सेतो भिरमा प्राचीनकालदेखि लामा बस्ने विश्वाससमेत रहेको छ । यहाँस्थित ठूलो शिलाको फेदमा रहेको देवीको प्राकृतिक मूर्तिलाई स्थानीयले अत्यन्त श्रद्धाविश्वासका साथ पूजाआजा गर्ने गरेका छन् । यहाँको घरबासलाई गुुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गअन्तर्गत समेट्ने गरी प्रवर्द्धनका कार्यक्रम पनि सुरु गरेको छ ।

    सङ्घले पसगाउँलगायत प्राचीन गुरुङ गाउँहरूलाई गुरुङ सम्पदा पदमार्गमा समेट्दै प्रवर्द्धन र विकासका कार्यक्रम थालेको सङ्घका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुुरुङले बताए । सङ्घकै सक्रियतामा कास्की, लमजुुङ र मनाङका विभिन्न भूभाग समेट्दै सम्पदा पदमार्ग घोषणा गरिएकामा यसलाई सन् २०२६ देखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजनाका साथ चरणबद्ध रूपमा अध्ययन, अनुसन्धानका कार्यक्रम सञ्चालन गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिइन् ।

    उहाँका अनुसार सङ्घले तेस्रो चरणको कार्यक्रमअन्तर्गत यही जेठ २३ गतेदेखि पोखराबाट सिङ्दी, पसगाउँलगायत गाउँ समेट्दै दूधपोखरी, गुरुङ देउरालीलगायत स्थाननसम्म अन्वेषणात्मक पदयात्रा सञ्चालन गरेको छ । पसगाउँलाई पदयात्रासँग जोड्ने गरी कार्यक्रमहरू सञ्चालन हुनुलाई आफूहरूले अर्थपूर्ण रूपमा लिएको होमस्टे सञ्चालक सदस्य मायादेवी गुरुङले बताउनुुभयो । पसगाउँ आएका पर्यटकलाई यहीँका स्थानीय उत्पादन खुवाउने गरिएको बताउँदै उहाँले पर्यटक फर्कँदा खुसी भएर फर्कने गरेको अनुुभव सुनाउनुुभयो ।

    पदयात्रासँगै जोडिएपछि यहाँको प्रकृति र संस्कृति पर्यटन बजारमा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो । पसगाउँमा आउने चाहने पर्यटकका लागि विभिन्न बैकल्पिक मार्ग पनि छन् । लमजुङको बेँसीसहरबाट घलेगाउँ, भुजुङ हुँदै यहाँ आउन सकिन्छ भने बेँसीसहरबाटै मालिङ, साल्मे भञ्ज्याङ हुँदै पनि आउन सकिन्छ । पोखराबाट कालिका हुँदै, रामबजार कर्पुटार हुँदै यहाँ आउने सवारीसाधन सञ्चालन भइरहेका छन् ।

    पोखरा हुँदै यहाँ आउनका लागि कास्कीको मादीतर्फको बाटो अझै व्यवस्थित भइनसक्दा पनि यात्रीले समस्या भोग्दै आएको स्थानीयवासीको गुनासो छ । गुुरुङ सम्पदा पदमार्गको नक्साङ्कनमा समेटिएका पसगाउँलगायत गाउँको प्रवर्द्धन र विकासका लागि पनि स्थानीयवासीको उत्तिकै जागरुकता आवश्यक हुने गुुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव तुल गुरुङले बताए । प्रकृति र संस्कृतिको उपयोगसँगै पर्यटकलाई प्रदान गरिने आतिथ्यताका लागिसमेत सबैको सामूहिक प्रयास आवश्यक हुने उनको भनाइ छ।

  • किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

    किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

    २५ जेठ, गलकोट । बागलुङ नगरपालिका–५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छमहिने बाख्राको पाठी तुलसी सापकोटालाई उपहार प्रदान गरिन् । ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक सहयोगमा महिलाहरूलाई एक सय चार बाख्राका पाठी वितरण गरेको छ । यसअन्तर्गत सापकोटाले उपहारमा पाठी प्राप्त गरेकी हुन् । कालिका किसानले गत वर्ष पाएको बाख्राबाट जन्मेको पहिलो पाठी सापकोटालाई उपहारस्वरुप प्रदान गरेकी हुन् ।


    बागलुङ नगरपालिकाको आर्थिक सहयोग, हेफरको प्राविधिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको व्यवस्थापनमा बागलुङ नगरपालिकाभित्रका १० वडामा गत वर्षदेखि आत्मनिर्भर बागलुङ कार्यक्रम लागू गरिएको छ । आत्मनिर्भर बागलुङ कार्यक्रमअन्तर्गत मालिकामा गठित तीन अगुवा आमा समूहमार्फत गत वर्ष १९ बाख्राको पाठी प्राप्त गरेका महिलाले अहिले १९ पाठा उपहारमा छिमेकीलाई प्रदान गरेका छन् । कालिका किसानले गत वर्ष लगेको बाख्राबाट जन्मेको पाठी बिउँपुजीका रूपमा सापकोटालाई दिइन् ।


    सुरुको वर्ष खरिद गरेर प्रदान गरेको बाख्राबाट जन्मेको पहिलो पाठी उपहारस्वरूप समूहकै अर्का सदस्यलाई दिनुपर्ने नियमानुसार असारभित्र नगरपालिकाका १० वडामा एक सय चार पाठी उपहारस्वरूप प्रदान गर्न थालिएको छ । उक्त उपहार कार्यक्रमले महिलालाई आयआर्जनमा सघाउने भएकाले आत्मनिर्भर बागलुङ कार्यक्रम सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठले उपहारस्वरूप १९ बाख्राका पाठी विपन्न तथा लक्षित महिलालाई वितरण गरे ।


    उनका अनुसार, मालिकाको उच्च भेगका विभिन्न वडामा बाख्रापालनको निकै सम्भावना छ, परम्परागत रूपमा बाख्रापलान नभएको होइन, व्यावसायिक बन्न खोर सुधार तथा बाख्राको स्वास्थ्यमा ध्यान दिन आवश्यक हुन्छ । बाख्राको पाठामात्रै दिँदैनौँ, बाख्रापालनको सीप, खोर सुधार र आयआर्जनको रकम बचत गर्न सिकाउँछौँ । नगरपालिकाका १४ मध्ये १० वडामा उक्त कार्यक्रम सञ्चालनमा आएको छ ।

    कार्यक्रमबाट दुई वर्षमै दुई सय आठ महिला लाभान्वित भएका छन् । उनीहरूलाई बाख्रापालनका लागि बीउपुँजीबाट सहयोग मिलिरहेको छ । समूहअन्तर्गत रहेका महिला विस्तारै बाख्रापालनको रकमलाई बचत गर्दै लैजाने योजनामा छन् । आत्मनिर्भर बागलुङ कार्यक्रम १८ मूल समूहअन्तर्गत ७२ उपसमूह गठन भइसकेका छन् ।

  • पोखरीमा डुबेर दुई बालकको मृत्यु

    पोखरीमा डुबेर दुई बालकको मृत्यु

    २४ जेठ, झापा अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए ।

    आज बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटल पुर्‍याएका थिए । हस्पिटलका चिकित्सकहरूले बिहान ८ः३० बजेतिर दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले बताउए ।