Category: स्थानीय

  • बैतडीमा दुर्घटनामा दुई जनाको मृत्यु

    बैतडीमा दुर्घटनामा दुई जनाको मृत्यु

    १७ जेठ, बैतडी । बैतडीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जनाको भीरबाट लडेर मृत्यु भएको होभने अर्काको ट्रकको ठक्करबाट ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार भीरबाट लडेर दशरथचन्द नगरपालिका–६ टाककी ७० वर्षीया धनपती नाथ र ट्रकको ठक्करबाट सुर्नया गाउँपालिका–५ बिष्टपालीका ८१ वर्षीय महावीर बिष्टको मृत्यु भएको हो । घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी नाथ लडेर गम्भीर घाइते भएकी थिइन् ।

    उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी, धनगढीबाट बिष्टपालीतर्फ आउँदै गरेको सु।प।प्र।०१–००१ क १८१३ नम्बरको मिनी टाटाले बाटोमा हिँडिरहेका विष्टलाई ठक्कर दिएको थियो । गम्भीर घाइते उनको उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

  • जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

    जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

    रासस
    १७ जेठ, जुम्ला । यहाँका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याइनभ्याइ भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले जानकारी दिए । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो समय मार्सीधानको चामलले बजार पाउन थालेपछि किसान मार्सीधानप्रति आकर्षित हुन थालेको स्थानीय पाण्डेको भनाइ छ ।

    जुम्लामा उत्पादन हुने मार्सीको माग देशभर बढिरहेकाले यसको खेती वर्सेनि बढेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए । सिञ्जा, चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली तथा रातो मार्सी धानको रोपाइँ धमाधम भइरहेको छ । जिल्लामा दुई हजार ८५० हेक्टरमा धानखेती हुन्छ । सोमध्ये एक हजार २०० हेक्टरमा मार्सीधानको खेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ ।

    यहाँको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सी धानको रोपाइँ सम्पन्न गरिएको छ । परम्परागतरुपमा रोपिँदै आएको मार्सीधान उक्त शेरा खेतमा रोपिएको हो । चन्दनाथ बाबाले भारतको काश्मीरबाट ल्याएर खेती सुरु गरिएको मार्सीधानलाई मन्दिरको शेरा खेतमा रोपाइँ गरेको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले बताए । हरेक वर्षको जेठ १४ गते शेरा खेतमा रोपाइँ हुने गरेको छ । गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाले भने, “चन्दननाथ बाबाको शेरा जिउलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सीधान रोप्ने गरिन्छ ।” जिउलोमा रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरेको अध्यक्ष थापाको भनाइ छ ।

    जिल्लाको धार्मिक इतिहाससँग जोडिएको शेरा जिउलोमा मार्सीधान रोपाइँ गर्दा अहिले विस्तारै मागल गाउने, पञ्चेबाजा बजाउने क्रियाकलाप हराउन थालेको यहाँका स्थानीयले गुनासो गर्न थालेका छन् । मन्दिरको शेरा खेतमा रोपाइँका लागि स्थानीय, चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीलगायत नागरिक अगुवाको उपस्थिति थियो । पातारासी–३ मा रहेको छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास कार्यालय र पातारासीको मार्सीधान संरक्षण तथा प्रवर्द्धन केन्द्रले संयुक्त रुपमा रोपाइँ सम्पन्न गरेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख रामभक्त अधिकारीको भनाइ छ ।

    स्वदेशी तथा विदेशीको रोजाइमा परेको मार्सीधानको संरक्षण, सम्वद्र्धन र प्रवर्द्धनका लागि सो जिउलोमा रोपाइँ गरिएको हो । विगतका वर्षदेखि धान रोपाइँ भइरहको पातारासी–३ का वडाध्यक्ष गोविन्द रावतको भनाइ छ । विश्वको अग्लो ठाउँमा फल्ने धान यहाँ उत्पादन हुने भन्दै यसको संरक्षण र प्रवर्द्धनमा पालिका लागिपरेको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताए । सिञ्जा सभ्यताको इतिहास जोडिएको जुम्लामा मार्सीधान लोप हुने अवस्थामा पुगेपछि कृषक, स्थानीय सरकारलगायत सरोकार भएका निकाय यसको संरक्षण र प्रवर्द्धनमा लाग्न आवश्यक रहेको उपाध्यक्ष रोकायाको भनाइ छ ।

  • गड्डाचौकी–अत्तरिया सडकखण्ड स्तरोन्नति हुँदै, विकासमा नयाँ आयाम थपिने विश्वास

    गड्डाचौकी–अत्तरिया सडकखण्ड स्तरोन्नति हुँदै, विकासमा नयाँ आयाम थपिने विश्वास

    रासस
    १७ जेठ, कञ्चनपुर । पूर्व पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको विकासमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । आर्थिक वर्ष ०८२–८३ को बजेट वक्तव्यमा चार लेनको सडक स्तरोन्नीका लागि रु २१ अर्ब १९ करोड बजेट विनियोजन भएपछि सडक पूर्वाधार निर्माणले फड्को मार्ने विश्वास गरिएको छ । ‘एसियन हाइवे स्टयाण्र्ड’ को सडक बन्ने भएपछि यसले सुदूरपश्चिमको विकासमा टेवा पु¥याउने भएको छ । बजेटअनुसार आधुनिक तरिकाले सडक पूर्वाधारका कार्य हुने भएका छन् ।

    सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर हरिशप्रसाद जोशीले गड्डाचौकीदेखि अत्तरियासम्मको ४९ किलोमिटर सडक बजेट सुनिश्चित गरिएपछि आउँदो आवदेखि स्तरोन्नतिको कार्य हुने बताए । उहाँले सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सडक स्तरोन्नतिका लागि अलग्गै कार्यालय खोलेर कार्य अगाडि बढाउने बताए । शाखाले देशमा ठूला सडक, पुल निर्माण र मर्मतसम्भार कार्य गर्ने गर्दछ ।

    “ठूलो बहुवर्षीय आयोजना भएकाले अलग्गै कार्यालय खोलेर सडक स्तरोन्नतिको कार्य आगामी आवदेखि सुरू गरिन्छ”, उनले भने, “सडक स्तरोन्नतिको कार्य सुरू गर्नुअघि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर), वातावरण प्रभाव मूल्याङ्कन (आइइ), वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लगायतका कार्य पूरा भएपछि मात्रै ठेक्का प्रक्रियामा जान्छ, आयोजनाको कार्यको गुणस्तरका लागि परामर्शदाता नियुक्तिको कार्य हुन्छ, त्यस पछि मात्रै निर्माण कार्य सुरू हुन्छ ।”

    चार लेनको गुणस्तरयुक्त सडक ‘अस्फाल्ट कङ्क्रिट’ प्रविधिको हुने उनले भने, आयोजना पूरा हुनका लागि तीन वर्षदेखि पाँच वर्षसम्मको समयावधि लाग्ने उनले बताए । वर्षौँदेखि थाँति रहेको सडक स्तरोन्नतिको कार्य हुने भएपछि यस क्षेत्रका व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधिले खुसी व्यक्त गरेका छन् । राजनीतिक तथा सामाजिक अगुवा लालबहादुर सिंहले सडक स्तरोन्नतिको कार्य भएपछि सुदूरपश्चिम क्षेत्रले विकासमा फड्को मार्ने बताए । “सुक्खा बन्दरगाह निर्माणाधीन अवस्थामा रहेको छ, त्यो बनेपछि ठूला ढुवानीका साधन चल्छन्, अहिलेको सडक साँघुरो छ”, उनले भने, “फराकिलो सडकको आवश्यकता थियो, बजेटमा सम्बोधन भएको छ, सकारात्मक छ ।”

    दुरदृष्टि राखेर सडक निर्माणको कार्य हुनुपर्नेमा जोड दिँदै उहाँले बजेट कार्यान्वयको पक्ष कस्तो रहन्छ, त्यसमा भरपर्ने बताए । “कागजी खोष्टका रूपमा आयोजना रहनु हुनुहुँदैन, आयोजनाको कार्य यथाशीघ्र सञ्चालन हुनुपर्छ”, उनले भने, तत्कालीन झलारी गाविसका अध्यक्ष टेकबहादुर हमाल सडक आयोजाका लागि बजेट छुट्टयाउने कार्यलाई सकारात्मक रूपमा लिन्छन् ।


    “अहिलेको सडकमा सवारीसाधनको चाप अधिक छ”, उनले भने, “सवारीसाधनको चाप धान्ने सडक नहुँदा दुर्घटनाका घटना बढ्दै आएका छन्, ट्राफिकको त्यस्तै अवस्था छ, सडक स्तरोन्नतिको कार्यले भएपछि समस्या समाधान हुन्छ ।” सडक डिजाइन गर्दा पुरानै सवारी चापलाई मध्यनजर गरी बनाइएको उल्लेख गर्दै उनले अहिलेको बढ्दो सवारी चाप सडकले धान्ने अवस्था नरहेको बताए । शुक्लाफाँटा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐर गड्डाचौकी–अत्तरिया सडकखण्ड भारतको सिमानासम्म जोड्ने सडक भएकाले नेपाल–भारतबीचको व्यापार, पर्यटन जनसांस्कृतिक आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्ने सडकका रूपमा रहेको बताए ।


    “यस सडकखण्डको अत्तरिया सुदूरपश्चिमको प्रमुख यातायात जक्सनका रूपमा रहेको छ”, उनले भने, “यहाँँबाट कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लामा जाने सडक छुट्टिने गर्दछन्, पूर्व–पश्चिम राजमार्ग र भीमदत्त राजमार्गको सङ्गम विन्दुका रुपमा रहेको छ । सडकको स्तरोन्नतिको कार्य पहिलेनै हुनुपर्दथ्यो, ढिलो भए पनि बजेटमा समावेश गरिएको छ, कार्यान्वयन पक्षलाई सवल बनाएर कार्य अगाडि बढाउनुपर्छ ।” झलारी बजारका मोडर्न इन्टरप्राइजेजका प्रतिष्ठित व्यवसायी मदनराज भट्ट पूर्वपश्चिम राजमार्ग देशकै ‘लाइफलाइन’का रुपमा रहेको बताउँछन् ।
    “पूर्वपश्चिम राजमार्गको गड्डाचौकी अत्तरिया सडकखण्डले सुदूरपश्चिमको तराईका मुख्य सहर अत्तरिया, धनगढी, महेन्द्रनगरलगायतलाई जोड्ने गर्दछ”, उनले भने, “स्तरोन्नतिको कार्यले सवारी चाप घटाउने हुन्छ, दुर्घटनाको जोखिम घटाउँछ, समयको बचत हुन्छ, आर्थिक, सामाजिक, सांस्कृतिक र क्षेत्रीय राष्ट्रिय विकासकोे आधार बन्न सक्छ ।”

    देशकै सबैभन्दा लामो पूर्व–पश्चिम राजमार्ग तत्कालीन राजा महेन्द्रले विसं २०१८ मा गैँडाकोटमा शिलान्यास गरेका थिए । यसको निर्माणको कार्य विसं २०१९ सालदेखि सुरू भएको थियो । पूर्व–पश्चिम राजमार्गको चिसापानी– गड्डाचौकी सडकखण्ड भारत सरकारको सहयोगमा सन् १९९६ मा सुरू भई सन् २००० मा कार्य सम्पन्न भएको थियो । राजमार्गको सडकखण्डमा भारत सरकारले सडकसँगै २२ वटा मोटरेवल पुल निर्माण गरेको थियो ।

  • सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

    सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

    रासस
    १७ जेठ, दोधारा चाँदनी । दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी छन् । हालसम्म छिमेकी मुलकसँग व्यापारिक नाका नभएका कारण पनि महाकाली करिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक हब बन्ने उनको बुझाइ छ ।

    लामो समय शिक्षण पेशामा लागेका उनी अहिले व्यवसायिक रूपमा कृषिमा लागेका छन् । तर भारतसँगको सहज कनेक्टिभिटि नहुँदासुदूरपश्चिमले आर्थिक लाभ लिन नसकेको उनको तर्क छ । “महाकाली करिडोर निमार्णपछि सुदूरपश्चिम मात्रै नभई मुलुककै आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरेका छौँ ।” उनले भने, “सुदूरपश्चिम आर्थिक गतिविधिमा न्युन छ, हाम्रो लागि सम्भावना भनेकै महाकाली करिडोर हो यसलाई राज्यले प्राथमिकताका साथ अगाडी बढाओस ।” दार्चुलाको तिङ्करदेखी कञ्चनपुरको ब्रह्मदेवसम्म महाकाली नदीको किनारै किनार निमार्ण हुने करिडोरले यहाँको सामाजिक, आर्थिक क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।

    भारतका सबैभन्दा ठूला र महत्वपूर्ण, ठूला आर्थिक गतिविधि र जनसङ्ख्या भएका अनि औद्योगिक करिडोर भएका सहरसँग नजिकबाट जोडिएको छ । त्यति मात्रै होइन, उत्तरतिर चीनको सीमासम्म जान पनि सबैभन्दा राम्रो सरल पहुँच हुनेछ । महाकाली करिडोर निर्माण भए कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली किनारैकिनार छोटो दूरीमा यात्रा गर्न सकिने यहाँका स्थानीयको अपेक्षा छ । करिडोरले महाकाली किनारका बस्तीलाई सडक सञ्जालमा जोड्ने र लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने दार्चुलाको मालिकार्जून गाउँपालिका–५ का वडा अध्यक्ष मदन चन्द बताउँछन ।

    “करिडोर सञ्चालनमा आइदिए त यहाँका जनतालाई धेरै फाईदा हुन्थ्यो ।” चन्दले भने, “यहाँबाट कञ्चनपुर घुमाउरो बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्त भइन्छ ।” उनले भने, महाकाली करिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थासमेतमा सुधार आउने बताए । “छोटो दुरीमा आवतजावत त हुने नै भयो तिङ्करनाका सञ्चालनमा आए आर्थिक गतिविधि पनि बढ्छ ।” उनले भने,“सरकारले छिटो काम सम्पन्न गर्नेगरि बजेट विनियोजन गर्नुपर्छ ।”

    ब्रह्मदेवदेखि महाकाली किनार हुँदै डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाको तिङ्करनाकासम्म यातायातको सहज पहुँच विस्तार गरी सुदुरपश्चिम प्रदेश तथा मुलुकको विकासमा कोसे ढुङ्गा सावित हुने अपेक्षा दार्चुलाको लेकम गाउँपालिकाका स्थानीय कोमल विष्ट बताउँछन् ।

    “करिडोर निमार्णपछि आर्थिक हिसाबले सुदूरपश्चिमलाई फाइदा हुन्छ नै यसले धार्मीक पर्यटनको सम्भावना पनि बढाउँछ ।” विष्टले भने, “सजह अवागमन र आर्थिक गतिविधि बढाउन करिडोर प्रमुख आधार हो ।” करिडोर बनेपछि कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पन्चेश्वर, चमेलिया, दार्चुला जिल्लाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक साँस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्याउने छ ।

    महाकाली करिडोर अन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेल्धुरामा परशुरामधाम, बैतडीमा त्रिपुरा सुन्दरी, मेलौली भगवती र निङ्लाशैनीजस्ता प्रसिद्ध धार्मीकस्थल छन् । त्यसैगरी दार्चुलामा राष्ट्रकै चौथो धामका रूपमा परिचित मालिकार्जुन धामजस्ता प्रसिद्ध धार्मीकस्थल रहेकाले करिडोरले धार्मीक पर्यटनसमेतमा टेवा पुग्ने पर्यटन व्यवसायी बताउँछन् ।

    “महाकाली करिडोर बने मात्रै सुदूरको विकासको ढोका खुल्छ ।” यहाँका पर्यटन व्यवसायि जगदीश चन्द्र भट्टले भने, “यसले धार्मीक पर्यटनसमेतलाई फाइदा पुग्छ अर्कोतर्फ उत्तरतर्फ चीनसँग पनि व्यापारको ढोका खुल्छ ।” उनले अझै पनि भारतबाट यहाँका प्रसिद्ध धाममा भारतीय धार्मीक पर्यटन आउने गरेको बताउँदै करिडोरले आवागमनमा सहज भएपछि यहाँ धार्मीक पर्यटनको फष्टाउने बताए ।

    कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निमार्ण गरिरहेको महाकाली करीडोर सडक ९ब्रह्मदेव–झुलाघाट–दाचुला–तिङ्करसडक) योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी रामचन्द्र जैशीले हालसम्म करिडोरको २३० किलोमिटर ट्र्याक खुलेको जानकारी दिए ।

    उनका अनुसार अझै ५५ किलोमिटर ट्र्याक खोल्न बाँकि छ । करिडोर अन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किमी, बैतडीमा १४४ किमी र दार्चुलामा १२१ किमी सडक निर्माण हुनेछ । जसमध्ये कञ्चनपुरमा ११ किमी ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किमी ट्रयाक खुलेको छ । त्यसैगरी बैतडीमा ११४ किमी र दार्चुलामा ७७ किमी ट्रयाक खुलेको छ ।

    योजनाका लागि चालु आर्थिक वर्षमा रु ४१ करोड ५० लाख बजेट विनियोजन भएको सूचना अधिकारी जोशीले बताए । “बजेट अभावका कारण निर्माण व्यवसायिलाई भुक्तानी दिन सकेत समस्या भएको छ, चालु आर्थिक वर्षमा आएको बजेटमध्ये १७ करोड गत आवको भुक्तानी दायित्व थियो ।” उनले भने, “न्युन बजेट र रुख कटानलगायत प्रक्रियागत अल्झनका कारण निमार्णमा ढिलाइ भइरहेको छ ।” महाकाली करिडोसँगै कञ्चनपुरको महाकाली नदीमा बनेको चार लेनको पक्की पुल र दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्णपछि मुलुककै समृद्धि हुने अपेक्षा व्यवसायिहरूको छ ।

    सुदुरपश्चिम प्रदेशका चार जिल्ला कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सीमामा रहेको पिल्लर नं १ सम्म निर्माण हुने यस सडक योजनाबाट उक्त क्षेत्रमा बसोबास गर्ने करिव एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने सरकारको अपेक्षा छ । त्रिदेशिय नाका भएका कारण व्यापारिक महत्व धेरै नै रहेको र धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको लागी छोटो बाटोको रूपमा प्रयोग हुने छ । निमार्ण सम्पन्न पछि यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा टेवा पुग्ने छ ।

  • माईखोलाको बाढी बस्ती पस्यो, सुगाबथानका २२ घर डुबानमा

    माईखोलाको बाढी बस्ती पस्यो, सुगाबथानका २२ घर डुबानमा

    १७ जेठ, भद्रपुर । झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् । वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ ।

    “माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो”, अध्यक्ष चाम्लागाईले भने, “यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ ।” यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको छ ।

  • कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध

    कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध

    १७ जेठ, धनकुटा । आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ ।
    बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिए ।

    यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले जानकारी दिए । सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथर यातायात ठप्प भएको छ । चुरे पहाडको फेदीमा रहेको यस सडकखण्डमा हरेक वर्षको बाढी र पहिरोले अवरोध हुनेगरेको छ ।

  • नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी

    नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी

    १६ जेठ, काठमाडौं । काठमाडौँ प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यही जेठ १७ देखि २४ गतेसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिए ।

    उनका अनुसार केशरमहल चोकबाट नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेटसम्म निषेधको आदेश गरिएको छ ।

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिसका आधारमा यसअघि तोकिएका निषेधका क्षेत्रका अतिरिक्त उक्त आदेश जारी गरिएको उनले बताए । उता राप्रपाले शनिबार नारायणहिटी दरबार अगाडी प्रदर्शनको कार्यक्रम तय गरेको छ ।

  • नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

    नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

    १६ जेठ, मध्यविन्दु । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।

    चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अहिले वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ । अहिले चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए ।

  • पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रुपमा विकास गरिने

    पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रुपमा विकास गरिने

    १५ जेठ, काठमाडौं । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलललाई पर्यटकीय हबका रुपमा विकास गर्ने भएको छ । सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा पोखरा विमानस्थललाई पर्यटकीय हबका रुपमा विकास गरिने उल्लेख छ ।
    पोखरा विमानस्थलमा सञ्चालनमा आए पनि नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा उडानलाई नियमित गर्नेगरी बजेटमा सम्बोधन हुनुपर्ने भए पनि पर्यटकीय हबका रुपमा विकास गरिने विषय बजेटमा आएको यहाँका पर्यटन व्यवसायीले बताएका छन् ।

    पोखरा विमानस्थललाई पर्यटकीय हबका रुपमा विकास गरिने कुरा अमूर्त भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले टिप्पणी गरे । विमानस्थल पर्यटकीय हबका रुपमा विकास हुनका लागि यहाँबाट नियमित अन्तरराष्ट्रिय उडान हुनुपर्ने भएपनि त्यसतर्फ बजेटमा उल्लेख नभएको उनले बताए । सरकारले यहाँबाट अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि सर्वप्रथमतः नेपाल वायुसेवा निगमका जहाजको व्यवस्था गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । निजी क्षेत्रका सम्बन्धमा बजेटमा उल्लेखित विषय कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।
    सरकारले पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र बजारीकरणका माध्यमबाट नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा ब्राण्डिङ गरिने उल्लेख गरेको छ ।

    छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी प्रवर्द्धनका विशेष प्याकेज सञ्चालन गरिने अर्थमन्त्री पौडेलले बताए । पर्या–पर्यटन, पर्वतीय तथा साहसिक पर्यटन, धार्मिक र सांस्कृतिक पर्यटनका प्रमुख गन्तव्य स्थलहरूमा पर्यटक लक्षित सेवा विस्तार गरिने भन्दै सरकारले प्राकृतिक, सांस्कृतिक, साहसिक, चलचित्र, आरोग्य र खेलमा आधारित पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ । स्थलमार्गबाट आउने पर्यटकहरूलाई लक्षित गरी स्वागत तथा सेवा केन्द्र स्थापना गरिने बजेटमा भनिएको छ ।

    पर्यटकीय गन्तव्यको विकासमा निजी क्षेत्रको लगानी आकर्षित गरिने अर्थमन्त्री पौडेलले बताउनुुभयो । सरकार निजी क्षेत्रको लगानी आकर्षित गर्ने बजेटमा उल्लेख गरिनुलाई सकारात्मक रुपमा लिइएको पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले बताए । आवश्यक पूूर्वाधारको विकास भने राज्यको जिम्मेवारी भएको उनको भनाइ छ ।

    “निजी क्षेत्र लगानी गर्नका लागि सधैँ तयार नै छ”, उनले भने, “सरकारले सडक लगायतका अत्यावश्यकीय पूर्वाधार विकास भने गरिदिनुपर्छ ।” निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने सरकारको बजेटमा भनिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सुरक्षित पर्या पर्यटन पदमार्गहरूको विकास गरिने अर्थमन्त्री पौडेलले बताए ।

    होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकर तथा विद्युत् महसुल छुट दिइने बजेटमा भनिएको छ । सरकारले होटेल तथा रिसोटलाई उत्पादनमुलक उद्योग सरह मान्दै उल्लेखित छुटका विषय उल्लेख गरिनु स्वागत योग्य भएको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । उल्लेखित विषयको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ ।

    नेपालमा अन्तरराष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिइने बजेटमा उल्लेख गरिएको छ । पोखरा विमानस्थललाई पर्यटक हब बनाउने हो भने पहिला त यहाँबाट जहाजहरू चल्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी बताउँछन् । उडानको सुनिश्चितताका लागि विमानस्थलको प्राविधिक सक्षमता, सरकारको व्यवसायिक योजनासँगै विमानस्थल अन्तरराष्ट्रिय नक्सामा अङ्कित हुनुपर्ने उनको भनाइ छ ।

  • आज काठमाडौंमा एमाले र राजावादीको छुट्टाछुट्टै प्रदर्शन : शान्तिपूर्ण बनाउन मानव अधिकार आयोगको अपिल

    आज काठमाडौंमा एमाले र राजावादीको छुट्टाछुट्टै प्रदर्शन : शान्तिपूर्ण बनाउन मानव अधिकार आयोगको अपिल

    १५ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ । आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा २०८२ जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कता सम्बन्धमा काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला प्रहरी प्रमुखहरूसँग बुधबार छलफल गर्दै उक्त अपिल गरेको हो । आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्तिसुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्यमान्यतालाई आत्मसात् गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन गरे । आयोगले विभिन्न टोलीहरू बनाई प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमनसमेत गर्नेछ ।

    उनले आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तरराष्ट्रिय कानुनमा उल्लिखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै एकअर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अपिल गरे । जनप्रदर्शनका क्रममा सुरक्षा संवेदनशीलतामा आउन सक्ने जोखिमहरूको आकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्यमान्यतालाई ध्यान दिन नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गरिएको छ ।

    छलफलका क्रममा प्रदर्शन शान्तिपूर्ण होस् र कुनै बाधा–व्यवधान नआओस् भन्नेतर्फ सचेत रही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको, शान्तिसुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गरिएको, दुई पक्षबीच झडपको स्थिति आउन नदिन दुवै समूह एकापसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको, सञ्चारगृहलगायतका संवेदनशीलस्थलहरूको सुरक्षामा ध्यान दिइएको र सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा नागरिकको सुरक्षालाई दृष्टिगत गर्दै सुरक्षा रणनीति तयार पारिएको प्रमुख जिल्ला अधिकारीहरू एवम् जिल्ला प्रहरी प्रमुखहरूले बताए ।

  • आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

    आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

    रासस
    १५ जेठ, काठमाडौं । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।

    जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ ।

    जनअपेक्षा र जनभावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले आमनागरिकको अधिकारप्रति अटुट आस्था राख्दै यो दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ । लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ । विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ ।

    यसैबीच, अठारौँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभाव सहभागी हुनेछन् । त्यस अवसरमा गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरिनेछ । मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चिता गर्न तथा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा धेरै नेपालीजनले जेलनेल र यातना सहन परेको थियो ।

    लोकतान्त्रिक संस्कृतिको वातावरणमा नागरिकलाई समुन्नत र अधिकारसम्पन्न तुल्याउँदै खुसी दिलाउने अभियानमा जुट्न आजको दिनले अझ धेरै प्रतिबद्ध जनाउने विभिन्न पार्टीका नेताहरूले विश्वास व्यक्त गरेका छन् । त्यसका लागि लोकतान्त्रिक वातावरणमा जनताको जीवनस्तर उकास्न उत्पादन वृद्धि, अवसरको न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने दायित्व रहेको अभिव्यक्ति उनीहरुको छ ।

    आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्दै आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प गरिनुपर्ने सन्देशमा उल्लेख छ ।

    जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्थाअनुरुप एकढिक्का र एकीकृत भई अघि बढ्नसके नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्दछ । समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत गर्ने जागरण पैदा गराउन भने आवश्यक देखिएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेछ ।

  • पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

    पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

    १५ जेठ, बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भ¥याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ः०० बजे पहिरो खसेको हो ।

  • प्रतिपक्षी दलद्वारा गृहमन्त्रीको राजीनामा माग

    प्रतिपक्षी दलद्वारा गृहमन्त्रीको राजीनामा माग

    १४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले ‘भिजिट भिषा’ का सन्दर्भमा देखिएको भनिएको अनियमितताको जिम्मेवार गृहमन्त्री भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने माग गरेको हो ।

    बैठकमा सहभागी आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले गृहमन्त्रीले राजीनामा नदिँदासम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने बताए । विपक्षी दलको बैठक चलीरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (.माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमा टेलिफोन वार्ता भएको उनले जानकारी दिए ।

  • इटाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा दोषि ठहर कांग्रेस नेता आलमलाई अदालतको सफाई

    इटाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा दोषि ठहर कांग्रेस नेता आलमलाई अदालतको सफाई

    १४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम जेलबाट छुटेका छन् । उच्च अदालत वीरगञ्ज इजलासले आलमलाई बुधबार सफाइ दिएको हो । वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै उनलाई कारागारबाट छाडिएको हो । आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । जिल्लाको उक्त फैसला उल्ट्याउँदै वीरगञ्ज इजलासले आलमलाई सफाइ दिएको छ । उनलाई ललितपुरस्थित नख्खु जेलमा राखिएको थियो ।

    संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो । आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि लागेको छ । उनको सफाईपछि सामाजिक संजालमा भने तीव्र आलोचना भइरहेको छ ।

  • बुटवलमा आमा र दुई छोरीको विभत्स हत्या, पूर्वपति पक्राउ

    बुटवलमा आमा र दुई छोरीको विभत्स हत्या, पूर्वपति पक्राउ

    १४ जेठ, काठमाडौं । रूपन्देही जिल्लाको बुटवलमा आमा र दुई छोरीको हत्या भएको छ । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यले पुष्टी गरेका छन् । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।

    उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेको समेत पाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । बालिकाहरु पुर्वपति तर्फका भने होइनन् ।

  • तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

    तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

    १४ जेठ, इटहरी । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ ।
    इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ ।

  • पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

    पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

    १४ जेठ, बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा डुबेर किशोरको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा काठमाडाँै महाननगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका निजलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्यचौकीमा ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

  • सुडानमा हैजाको प्रकोपबाट एक सातामा १७२ जनाको मृत्यु

    सुडानमा हैजाको प्रकोपबाट एक सातामा १७२ जनाको मृत्यु

    एजेन्सी
    १४ जेठ, काठमाडौं । सुडानमा हैजाका घटनामा वृद्धि भएको र एक हप्तामा दुई हजार ७०० सङ्क्रमित र १७२ जनाको मृत्यु भएको सुडानको स्वास्थ्य मन्त्रालयल मङ्गलबार जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “खार्तुम राज्यमा ९० प्रतिशत सङ्क्रमण भेटिएका छन्, उहाँ सन् २०२३ को अप्रिलदेखि सेनासँगको युद्धमा अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) लाई दोषी ठह¥याइएको ड्रोन आक्रमणका कारण हालैका हप्ताहरूमा पानी र बिजुली आपूर्तिमा गम्भीर अवरोध आएको छ।

    देशको दक्षिण, मध्य र उत्तरमा पनि सङ्क्रमण देखिएको छ । गरिबी र सामाजिक रूपमा पछि परेको अफ्रिकी मुलुक सुडानमा हैजाको प्रकोप यसअघि पनि देखिने गरेको भएपनि युद्ध सुरु भएदेखि प्रकोप अझ खराब भएको छ । यहाँ पहिले नै कमजोर रहेको पानी, सरसफाइ र स्वास्थ्य पूर्वाधारहरूलाई युद्धले ध्वस्त बनाएको छ ।

    गत मङ्गलबार मन्त्रालयले पछिल्लो तीन हप्तामा दुई हजार ३०० भन्दा बढी हैजाका बिरामीमध्ये ५१ जनाको मृत्यु भएको जनाएको थियो। आरएसएफले यसै महिना खार्तूममा ड्रोन आक्रमण गरेको थियो । आक्रमणबाट तीन वटा विद्युत गृह पनि प्रभावित भएका थिए तर गत हप्ता आरएसएफलाई राजधानीबाट पूर्ण रूपमा बाहिर निकालिएको थियो। डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) का अनुसार द्वन्द्वका कारण बिजुली र स्थानीय पानीको सञ्जाल सेवाबाट बञ्चित भएपछि त्यहाँका बासिन्दा असुरक्षित पानीका स्रोततर्फ जान बाध्य भएका छन् ।

    खार्तूमस्थित एमएसएफका मेडिकल कोअर्डिनेटर स्लेमेन अम्मरले भने, “पानी प्रशोधन केन्द्रहरूमा अब बिजुली छैन र नाइल नदीबाट स्वच्छ पानी उपलब्ध हुन सक्दैन ।” विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुडानको पहिलेदेखि नै कमजोर स्वास्थ्य सेवा प्रणाली युद्धका कारण ‘थप अस्तव्यस्त’ तर्फ धकेलिएको छ ।

    चिकित्सक सङ्घका अनुसार देशकास्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेका कारण यहाँका ९० प्रतिशतभन्दा बढी अस्पतालहरु कुनै न कुनै बेला युद्धका कारण बन्द भएका छन् र स्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेको छ । अहिले तेस्रो वर्षमा प्रवेश गरेको यो युद्धले दशौं हजारको ज्यान लिइसकेको छ । युद्धले एक करोड ३० लाख विस्थापित गरेको र विश्वको सबैभन्दा ठूलो विस्थापन र भोकमरीको सङ्कट सिर्जना गरेको छ ।

  • बाजुरामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    बाजुरामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    १३ जेट, बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकामा आज जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएसको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

    उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ । नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।

  • ग्यास लिक भएर आगलागी हुँदा एकै घरका दाजु–बहिनीको मृत्यु

    ग्यास लिक भएर आगलागी हुँदा एकै घरका दाजु–बहिनीको मृत्यु

    १२ जेठ, कृष्णनगर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परेर एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ । आइतबार राति घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए ।

    उपचारका लागि अस्पताल लैजाने क्रममा दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए । रेगुलेटर खोल्ने बित्तिकै ग्यास लिक भएर एक्कासी आगो लागेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले बताए । प्रहरीले घट्नास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत रहेको प्रधानाध्यापक लालचन्द्र पाण्डेले जानकारी दिए ।

  • धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु

    धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु

    १२ जेठ, जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ । मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो । उनलाई जानकी हेल्थ केयरमा उपचारका लगिएकामा गएराति नै चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

  • बस दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

    बस दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

    १२ जेठ, मकवानपुर । मकवानपुरको पालुङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । दुर्घटनामा परी हाल ठेगाना नखुलेका अन्दाजी ३५–४० वर्षका कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुवै जनाको शव पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । प्रहरीका अनुसार आज साँझ थाहा नगरपालिका–३ विद्युत् प्राधिकरण नजिकै त्रिभुवन राजपथ सडकखण्डमा गोपाली गाउँबाट थानाबजारतर्फ गइरहेको बा ३ ख ५९९० नं को यात्रुवाहक बस सडकमा हिँडिरहेका पैदलयात्रुलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरमा खसेको थियो ।

    दुर्घटनापछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको कमाण्डमा खटिएको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हो । घाइतेमध्ये अन्दाजी ३५–३६ वर्षका रघुनन्दन यादव र कमलेशकुमार साहलाई थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ ।

    त्यस्तै, बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र त्यहाँकै कोल्हवी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरीको पालुङमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक अर्यालले प्रारम्भिक जानकारी अनुसार बसमा चालक थाहा नगरपालिका–५ निवासी २९ वर्षीय राजेश कार्की मात्र रहेका र मृतक तथा घाइते भएकाहरू पैदलयात्री रहेको बुझिएको बताए । चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ट्याक्टरको ठक्करबाट धरानमा दुईको मृत्यु

    ट्याक्टरको ठक्करबाट धरानमा दुईको मृत्यु

    १२ जेठ, धरान । ट्याक्टरको ठक्करबाट यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चोकमा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्पराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारी गम्भीर घाइते भएका थिए ।

    दुवैलाई उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल लगिएको थियो । उपचारका क्रममा सर्पराजको दिउँसो १ः५० बजे र महजितको २ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक भोक्राहा नरसिंह–३ का ४६ वर्षीय सुब्जी राम चमारलाई जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशैभरीबाट प्रथम

    न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशैभरीबाट प्रथम

    १२ जेठ, चितवन । न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमा प्रथम स्थान प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मूल्याङ्कनमा ८८ प्रतिशत अङ्कसहित भरतपुर अस्पताल देशकै प्रथम स्थान प्राप्त गर्ने अस्पताल बनेको हो । अस्पतालले दिएको जानकारीअनुसार मन्त्रालयले देशभरिका १५ वटा सङ्घीय अस्पतालमा यो अनुगमन गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले उत्कृष्ट अङ्कसहित भरतपुर अस्पतालले ‘ग्रिनजोन’ स्टिकर प्राप्त गरेको जानकारी दिए । ‘ग्रिनजोन’ स्टिकर ८५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ ।

    ‘ग्रिनजोन’ स्टिकर पाउने भरतपुर अस्पताल एक मात्रै अस्पताल भएको उनले बताए । सुशासन तथा व्यवस्थापन, चिकत्सकीय सेवा र फोहरमैला लगायतका वस्तुहरुको व्यवस्थापनअन्तर्गत पर्ने सहयोगी सेवाका आधारमा न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गरिन्छ । यो हरेक वर्ष मन्त्रालयले गर्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश वुढाथोकीको नेतृत्वमा रहेको टिमले भरतपुर अस्पतालको अनुगमन गरेको थियो ।

    मेडिकल सुपरिटेण्डेन्ट प्रा डा पौडेलले गुणस्तरीय सेवामा आफूहरु निरन्तर लागि रहेको बताए । “अस्पतालको सिङ्गो टिम सेवा सुधारमा लागि रहेको छ । जसको परिणाम राम्रो आयो”, उनले भने । मन्त्रालयले गरेको अनुगमनमा यो अस्पतालले हरेक वर्ष स्तरवृद्धि गराउँदै आएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार विसं २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

  • संरक्षण अभावमा हिमाली जिल्लाका लुलु गाई

    संरक्षण अभावमा हिमाली जिल्लाका लुलु गाई

    १२ जेठ, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पाका किसानले पालन गर्ने विभिन्न प्रजातिका गाईमध्ये लुलु गाई पनि एक हो । पारिस्थितिक प्रणाली ९इको सिस्टम¬०मा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेका हिमाली लुलु गाई पछिल्लो समय भने लोपोन्मुख अवस्थामा रहेको छ । जुरो नभएको स्थानीय गाईका जातमध्ये लुलु गाई एक हो । अन्य गाईभन्दा हिमाली क्षेत्रको उच्च भूगोलमा पालन गरिने लुलु गाई कद केही होचो हुन्छ । यो समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइदेखि माथिको उच्चस्थानमा पालन गर्ने गरिएको छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं पशु चिकित्सक डा लालमणि अर्यालले मुस्ताङमा सदियाँै वर्षदेखि परम्परा र संस्कृतिको रुपमा पालन गर्दैआइरहेको लुलु गाई पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको जानकारी दिए । मुस्ताङमा दश वर्षअघि करिब १० हजार बढी लुुलु गाई रहेकोमा पछिल्लो समय मुस्ताङका पाँचौँ पालिकामा गरी करिब छ हजारको सङ्ख्यामा लुलु गाईपालन गरिएको उनले बताए ।

    “मुस्ताङमा लुलु गाईपालन बर्सेनि घट्दो अवस्थामा छ, यसको संरक्षणमा स्थानीय कृषकले खासै चासो दिएको पाइएन”, पशु चिकित्सक डा अर्यालले थपे, “दूध उत्पादन कम हुने र अन्य वैकल्पिक अवसरले गर्दा लुलु गार्ई संरक्षणतर्फ कसैको ध्यान पुगेको छैन ।”

    मुस्ताङका कृषकले अन्नबाली उत्पादनका लागि मल चाहिने भएको र थोरै मात्रामा दूध उत्पादन गर्न सकिने भएकै कारण लुुलु गाई पाल्ने गरिएको हो । अन्य गाईको तुलनामा लुलु गाईले निकै कम मात्रामा दूध उत्पादन गर्ने भएकाले कृषकले लुलु गाईपालनमा बेवास्ता गरेको घरपझोङ गाउँपालिकाका पशु शाखा प्रमुख आइतलाल थकालीले बताए । “कृषकहरु लुलु गाई जोगाउनु पर्नेतर्फ संवेदनशील भएको पाइँदैन, यो निकै चिन्ताको विषय बनेको छ”, पशुु शाखा प्रमुख थकालीले भने, “गाउँपालिकाले पनि लुलु गाई संरक्षण गर्न कृषकलाई प्रोत्साहन गर्नेलगायतमा सहयोग गर्ने गरेको छ ।”

    मुस्ताङका कृषकले पालन गर्ने लुलु गाई हिमाली परम्परा र संस्कृतिको जैविक आयामको रुपमा लिने गरिन्छ । तर, यहाँको जैविक विविधता र संस्कृतिमा असर पुगेजस्तै हिमाली क्षेत्रमा पालन गरिने लुलु गाई लोप हुने खतरा बढेको पशु शाखा प्रमुख थकालीको भनाइ छ । जिल्लामा विस्थापित हुने अवस्था रहेको लुलु गाईपालन व्यवसाय केवल कृषि प्रयोजनमा मात्रै उपयोग भएको देखिन्छ । पछिल्लो समय सडक सञ्जाल र प्रविधिको विकास हुन थालेसँगै मुस्ताङका कृषकले विस्तारै लुलु गाई पाल्न छाडिसकेका छन् । मुस्ताङमा विद्यमान अवस्थामा पालन गरिएका लुलु गाईलाई पनि कृषकले आवश्यक रुपमा संरक्षण गर्न छाडिसकेको घरपझोङका किसान अजित थकालीले बताए ।

    “अन्य बस्तुभाउभन्दा लुलु गाईलाई कृषकले बेवास्ता गर्न थाले, जथाभावी छाडिदिने गर्न थाले”, उनले भने, “कोही कृषि र होटल चलाउन थालेपछि कृषकले लुलु गाई पाल्न छाडेका हुन् ।” पहिला पहिला एउटै घरमा १०÷१२ वटासम्म लुलु गाई पाल्ने गरिएकोमा अचेल एक घरमा एउटा लुलु गाई पनि नहुने गरेको कृषक थकालीको भनाइ छ । कृषि र पर्यटनको विकाससँगै लुलु गाईतर्फ संरक्षण गर्नपर्छ भन्ने मान्यता राख्न छोडेको कृषक थकाली सुनाए ।


    लुलु गाईले बिहान र बेलुकी गरी बढीमा एक लिटरसम्म दूध उत्पादन गर्ने गर्छ । कम दूध उत्पादन हुने र श्रम र लागत बढी लाग्ने भएकाले हिमालका लुलु गाईहरु लोपोन्मुख हुन थालेका हुन् । त्यस्तै कृषकले लुलुगाई पाठापाठीको संरक्षण नगर्दा कुकुर र हिउँ चितुवाले खाइदिने गर्दा समेत मुस्ताङमा लुलु गाई संरक्षणमा चुनौती बनेको हो ।

    जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा उच्च लेक र खर्कमा पानीको मुहान सुक्दै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेकाले लुलु गाईहरु कृषकले बेवास्ता गरी छाडा रुपमा सडक र गल्लीमा छोड्ने प्रचलन रहेको छ । आफैँ आहारा व्यवस्थापन गर्ने क्षमता भए पनि लुलु गाईले आहार व्यवस्थापन गर्न नसक्दा गाउँबस्ती र सडकमा मिल्काएका कागज र अरुले फ्याकेका खानेकुरा खाएर आहार पूर्ति गर्ने गरेको पाइएको छ ।

  • अब्बल बन्दै कान्दाका चेपाङ बालबालिका

    अब्बल बन्दै कान्दाका चेपाङ बालबालिका

    रासस
    १२ जेठ, भरतपुर । चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ । कक्षा ८ मा अध्यापन सुरु गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो ।

    यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए । शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उनले बताउ । उनका अनुसार यस वर्ष १३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । त्यसमध्ये एक जनाले प्लस, सात जनाले ए र दुई जनाले बि प्लस ल्याएका छन् ।

    “पहिलो वर्षमा नै यसरी उत्कृष्ट नतिजा ल्याउँदा निकै खुसी छौँ”, उनले भने, “शिक्षक र विद्यार्थीको अथक मेहनतले यहाँसम्म आइपुगेका हौँ ।” चेपाङ बालबालिका मात्र अध्ययनरत यस विद्यालयको नतिजाले सबैलाई उत्साहित बनाएको बताए । यस विद्यालयमा लक्ष्मी प्रतिष्ठानले आवासीय सुविधासहित छात्रावास सञ्चालन गरेपछि चेपाङ बालबालिकाको शिक्षामा सुधार आएको हो । “यहाँ बिहान ४ बजेदेखि राति ९ बजेसम्म नै विद्यार्थीलाई अध्यापन गराइन्छ”, उनले भने, “शिक्षकहरु पनि आवासीय रुपमै बसिरहनुभएको छ ।”

    राप्ती नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये कान्देश्वरी आधारभूत विद्यालयसहित तीनवटा स्कुलले कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले जानकारी दिइन् । यस नतिजालाई नगरपालिकाले समेत सकारात्मक रुपमा लिएको उनले बताइन् । लामिछानेले बजार क्षेत्रका विद्यालयसँगै विकटमा रहेको विद्यालयले पनि प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उदाहरण कान्दाको विद्यालय बनेको बताइन् ।


    कान्दा चितवनको सबैभन्दा विकट ठाउँका रुपमा चिनिन्छ । सवारीसाधन र बिजुली समेत नपुगेको यस ठाउँ शिक्षाको क्षेत्रमा रुपान्तरण हुँदै गइरहेको स्थानीय सीताबहादुर चेपाङले बताए । उनलेपछिल्लो समय बालबालिकामा पढाइप्रति लगाव बढेको भन्दै हरेक अभिभावकमा आफ्ना छोराछोरी स्कुल पठाउनुपर्छ भन्ने धारणाको विकास भएको बताए ।


    यहाँ पुग्न अझै पनि दुई÷तीन घण्टा हिँड्नुपर्ने बाध्यता छ । यहाँका विद्यार्थी कक्षा ८ उत्तीर्ण भएपछि अन्य ठाउँमा जानुपर्ने बाध्यता छ । गरिबीका कारण यहाँका बालबालिकाले बीचमै पढाइ छाड्ने गर्दछन । पछिल्लो समय ८ कक्षा उत्तीर्ण बालबालिकालाई लक्ष्मी प्रतिष्ठानले काभ्रेमा सञ्चालन गरेको छात्रावासमा कक्षा १२ सम्म पढाउन लैजाने गरेको प्रधानाध्यापक थपलियाले बताए ।


    यहाँ २०७२ साल अगाडि कक्षा ३ सम्म मात्रै अध्यापन हुने गरेको थियो । विसं २०६७ मा एकै घरका आठ जनाले विषालु च्याउ खाएर ज्यान गुमाएपछि यहाँ विभिन्न सङ्घसंस्था र राज्यको ध्यान केन्द्रित हुन थाल्यो । लक्ष्मी प्रतिष्ठान र मितेरी फाउण्डेशनले गरिबी र अभाव देखेर चेपाङ समुदायको उत्थान र बालबालिकाको शिक्षाका लागि काम गर्न थाले । स्कुलमा लक्ष्मी प्रतिष्ठानले छात्रावास सञ्चालन गरिदिएको छ भने फाउण्डेशनले दुई शिक्षकको व्यवस्था गरिदिएपछि कक्षा ८ सम्मको पढाइ सम्भव भएको हो ।

    त्यसभन्दा अघि यहाँका अधिकांश बालबालिकाले कक्षा ३ पढेपछि बीचमै पढाइ छाड्ने गरेको विद्यालयका प्रअ थपलियाले बताए । “अहिले पनि अभिभावकको पढाउने क्षमता छैन, विभिन्न सङ्घसंस्थाले सहयोग नगरेमा यहाँका बालबालिका पढ्नबाट वञ्चित हुनेछन्”, उनले भने ।


    विभिन्न दाताको सहयोगमा कक्षा ८ सम्मको पढाइ गरे पनि दरबन्दी अभावका कारण कक्षा सञ्चालन गर्न समस्या आएको थपलियाले बताए । उनका अनुसार निम्न माध्यमिक विद्यालयमा १० जना शिक्षकको दरबन्दी आवश्यक पर्छ । अहिले सातजना शिक्षकको दरबन्दी रहेको उनले बताए ।

    विद्यालयमा शौचालय, पुस्तकालयको अभाव रहेको भन्दै उहाँले राज्यले विकटको विद्यालयमा ध्यान दिनुपर्ने बताए । ५० जना विद्यार्थी पनि नहुने यस विद्यालयमा अहिले १५० जना अध्ययनरत छन । विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि स्रोतसाधनको आवश्यकता समेत बढेको उनले बताए ।

  • यस वर्ष मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान

    यस वर्ष मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान

    ११ जेठ, काठमाडौं । यस वर्ष प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा उक्त अनुमान गरिएको हो ।

    प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले राससलाई जानकारी दिए । “हामीले अबको मनसुनमा २० लाख मानिस प्रभावित हुने आँकलन गरेका छौँ, देशका सबै प्रदेश प्रभावित हुने छन्, त्यही अनुसारका तयारी गर्न क्षेत्रगत रूपमा जिम्मेवारी समेत तोकिएको छ”, उनले भने, “मौज्दात सामग्री के छरु कति थप आवश्यक पर्दछरु भन्ने सबै विषय आँकलन गरेर कार्ययोजना तयार पारेका हौँ ।”

    यही जेठ १४ गते बस्ने गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उक्त राष्ट्रिय कार्ययोजना पेस हुने जनाउँदै प्रवक्ता केसीले सोही बैठकबाट पारित भएपछि कार्यान्वयनमा जाने उल्लेख गरे । उनका अनुसार केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म कार्य जिम्मेवारी तोकिएको छ । यसपाली प्रस्तावित कार्ययोजनामा हरेक एक÷एक महिनामा विपद्को अवस्थाका विषयमा अनुगमन, मूल्याङ्कन तथा समीक्षासमेत गर्ने योजना अघि सारिएको केसीले बताए ।


    यसअघि नेपालमा मनसुनी आँकलन सार्वजनिक भइसकेको छ । मौसम विज्ञान विभागले सार्वजनकि गरेको आँकलनमा वर्षा र अधिकतम तथा न्यूनतम तापक्रम पनि बढी हुने जनाएको छ । सोही पूर्वानुमानका आधारमा प्राधिकरणले सबै सरोकार भएका निकायका वाला प्रतिनिधि तथा सङ्घसंस्थासँग सुझाव लिएर विपद् प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार पारेको हो । जल तथा मौसम विज्ञान विभागले विभागले कर्णाली प्रदेशको पूर्वीभूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभाग वर्षाबाट बढी प्रभावित हुनसक्ने उल्लेख गरेको छ ।

    यही जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहनुका साथै अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिए ।

    उनका अनुसार यस मनसुन ऋतुमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

    साथै मधेसका पूर्वी तथा दक्षिणी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

  • २४ वर्षदेखि न्यायको पखाईमा छन् शुक्लाफाँटा आरक्ष विस्थापित

    २४ वर्षदेखि न्यायको पखाईमा छन् शुक्लाफाँटा आरक्ष विस्थापित

    रासस
    ११ जेठ, दोधारा चाँदनी । हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा डेढ बिघा जग्गा थियो । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा २०५८ मङ्सिर १२ गते उनी त्यहाँबाट विस्थापित भए । आरक्ष विस्तारका क्रममा राज्यबाट विस्थापित भएपछि भण्डारीले पुनःस्थापनाको पर्खाइमा करिब चार\पाँच वर्ष सडकमै बिताए । राज्यबाट व्यवस्थापन हुन नसकेपछि २०६४ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ढक्का शिविरमा उनी लगायतका ६ सय विस्थापित बसोबास गर्दै आएका छन् ।


    “सरकारले हाम्रो व्यवस्थापन नगरेपछि जङ्गलको किनारमा खाली ठाउँ देखेपछि यहाँ बसेका छौँ” आरक्षपीडित भण्डारीले भने, “सरकारले ३३ आयोग गठन गरे पनि हाम्रो व्यवस्थापन हुनसकेको छैन, २४ वर्ष बितिसक्यो ।” भण्डारीका अनुसार शिविरमा हाल ६ सय चार परिवारको बसोबास छ । “हामी यहाँ झुपडी बनाएर जर्बजस्ती बसेका हौँ, जङ्गली हात्ती आउँछ । घर भत्काउँछ, पुनः झुपडी बनाउन निकुञ्जले रोक्छ”, उनले दुखेको गर्दै भने, “बिजुली बत्ती, खानेपानी, शौचालय केही सुविधा छैन, सोलार पनि निकुञ्जले लगाउन दिँदैन ।”

    उनले २४ वर्षदेखि ढक्का शिविरका बासिन्दा अँध्यारोमा बस्न बाध्य रहेको बताए । जसले गर्दा बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । “राज्यबाट केही सुविधा मिलेको छैन, हाम्रा बालबालिकाले खोप र भिटाभिनसमेत पाएका छैनन्”, भण्डारीले भने, “हाम्रो भोट मात्र चल्छ, अरु केही चल्दैन आधारभूत सेवाबाट वञ्चित भएका छौँ ।” उहाँले उक्त स्थानमा गहँु थ्रेसिङ र खनजोतका लागि पनि निकुञ्जको अनुमति लिनुपर्ने बाध्यता रहेको बताए ।


    सरकारले आरक्ष विस्थापितको समस्या समाधानका लागि विभिन्न समयमा ३३ आयोग गठन गरेको छ तर पनि विस्थापितको समस्या समाधान हुनसकेको छैन । जिल्लाका विभिन्न स्थानबाट विस्थापित भएका छ सय चार परिवार दुई दशकदेखि ढक्का शिविरमा कष्टकर जीवन बिताइरहेका छन् । पिपलाडी–१ बाट विस्थापित भएर शिविरमा बस्दै आएका मोतिलाल डगौरा सरकारले सट्टाभर्ना दिने आश्वासन दिए पनि हालसम्म नदिएको बताउँछन् ।

    “विस्थापित हुने बेला जग्गाधनी पुर्जा थिएन, सट्टाभर्ना पाइएन”, उनले भने, “हाम्रो व्यवस्थापनका लागि सरकारले पटकपटक आयोग गठन गर्यो, ती आयोगले समस्या समाधान गर्नुको साटो विस्थापितको सङ्ख्या थपघट गर्ने काम मात्र गरेको छ ।” उनले सरकारले छानबिन गरेर वास्तविक पीडितको व्यवस्थापन गर्नुपर्ने बताउँछन् । “राज्यले हाम्रो पीडा बुझेन, हामी भोट बैंक मात्र भयौँ”, उनले भने, “निर्वाचनका बेला मात्र नेताहरू आउँछन्, हामी व्यवस्थापन गर्छु भन्छन् अहिलेसम्म आश्वासन मात्र पाएका छौँ ।”

    हालसम्म ३३ आयोग गठन हुँदा पनि विस्थापितको समस्या समाधान हुनसकेको छैन । विसं २०५८ मा द्वन्द्वका बेला सरकारले तत्कालीन शुक्लाफाँटा आरक्षको पूर्वी क्षेत्र विस्तार गर्दा विस्थापित पीडित अझै पनि जङ्गल, खोला नदी छेउछाउमा झुपडी बनाएर बस्दै आएका छन् । निकुञ्जको ‘कोर एरिया’मा रहेको ढक्कालगायत जिल्लाका विभिन्न स्थानका १७ शिविरमा विस्थापित बसोबास गरिरहेका छन् ।

    निकुञ्जभित्रको ढक्का शिविरमा छ सय चार, तारापुर एक सय ८० र लल्लरेडाँडामा १३ परिवारको बसोबास छ । त्यसैगरी कृष्णपुर नगरपालिकाको बाणी, सिसमघारी र मालुबेला, शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटा, बनहरा र वैशाखा, बेदकोट नगरपालिकाको सुडासँगै पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाका शिविरमा गरी दुई हजार ४७३ परिवार विस्थापित छन् ।

    त्यतिबेला विस्थापित भएकालाई भीमदत्त नगरपालिका–१४ र १६ को नयाँ कटान, बेदकोट नगरपालिका–१० र शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटामा पुनःस्थापना गरिएको थियो । पुनःस्थापना हुन नसकेकाहरू अहिले निकुञ्जभित्रै र बाहिर बसोबास गरिरहेका छन् । निकुञ्जभित्र बसोबास गरिरहेकाहरू पनि जङ्गलमै खनजोत गरेर खेतीपाती गरिरहेका छन् । जङ्गलमा वन्यजन्तुदेखि सर्प र कीराको डरैडरमा बाँच्नुपरेको विस्थापित बताउँछन् ।

    लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ढक्का शिविरमा थुप्रै समस्या रहे पनि समाधान गर्न नसकिएको बताए । “हामीले शिविरमा उज्यालोका लागि सोलार जडान गर्ने तयारी गरेका थियौँ, तर निकुञ्जले अनुमति दिएन”, उनले भने, “त्यहाँ हामीले चाहेर पनि केही गर्न सक्दैनाँै ।” उक्त शिविर निकुञ्जको कोर एरियामा भएका कारण त्यहाँ निकुञ्ज प्रशासनले विद्युत्, खानेपानीलगायत सेवा विस्तारमा रोक लगाउने गरेको छ । एक सय ५५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको तत्कालीन आरक्षको पूर्वी क्षेत्र विस्तार गरेर तीन सय पाँच वर्गकिलोमिटर बनाइएको थियो । राजनीतिक दलहरूले चुनावका बेला मुद्दा उठाउने र कार्यकर्ता भर्तीका लागि आयोग गठन गर्ने गरेको विस्थापितको आरोप छ ।

  • मादी नदीमा जिप खस्यो, तीन जनाको मृत्यु

    मादी नदीमा जिप खस्यो, तीन जनाको मृत्यु

    ११ जेठ, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ । तीन जनाको सनाखत समेत भएको छ । मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २०–२२ वर्षीय कुशल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

    दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन् । घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ । दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए ।

  • सप्तरीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    सप्तरीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    १० जेठ, राजविराज । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा आज इँटा बोकेको ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन् । मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो । दुवै जनालाई उपचारका लागि लगेकामा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुरा बस्ने वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका–२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल रहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

    पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स१त ५४४२ नंको ट्र्याक्टर विपरीत दिशाबाट आइरहेको मप्र०२–०१९ प ९६२६ नंको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक फरार छन् घाइते विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुराका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।