१० जेठ, काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका(१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ(सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको हो ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी खटिएको छ । झडपलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिएका छन् । उनका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ ।
रासस १० जेठ, काठमाडौं । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय ऐन, २०६८’ जारी भएको आज १४ वर्ष पूरा भएको छ । तर ऐन कार्यान्वयन पछि पनि जातीय भेदभाव तथा छुवाछूतका घटनामा कमी आउन सकेको छैन । यस अवधिमा पानी, चुल्हो छोएको र अन्तजातीय विवाह गरेको निहुँमा १७ जना दलित समुदायका व्यक्तिको हत्या भएको छ भने कैयौँ सामाजिक बहिष्करणमा परेको समता फाउन्डेशनले जनाएको छ ।
फाउन्डेशनका अनुसार ऐन लागू भएपछि राजेश नेपाली (पर्वत), रुपमती कुमारी दास (मोरङ), नवराज विक (जाजरकोट) मनवीरे सुनार (कालीकोट), शिवशङ्कर दास (सप्तरी), सेते दमाईं (दैलेख), झुमा विक (ताप्लेजुङ), सङ्गीता परियार (तनहुँ) र अस्मिता सार्की (झापा) को हत्या भएको छ । त्यसैगरी लक्ष्मी परियार (काभ्रे), अजित मिजार (काभ्रे), श्रेया सुनार (कास्की), मना सार्की (कालीकोट), दितीया रेष्मा रसाइली (धनुषा), माया विक (कैलाली), टीकाराम नेपाली (रुकुम) र अङ्गिरा पासी (रुपन्देही) को पनि हत्या गरिएको फाउण्डेशनका अध्यक्ष डा मदन परियारले जानकारी दिए । ऐनबमोजिम कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ । कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँ जरिवाना हुने पनि व्यवस्था छ । छुवाछूतका घटनालाई गाउँमै मिलापत्र गर्ने, प्रहरी प्रशासनले ऐनबारे अनविज्ञता प्रकट गर्दै उजुरी दिन आनाकानी गर्ने र यदि उजुरी दर्ता गरेपनि पीडककै पक्षमा फैसला हुने गरेको अध्यक्ष परियार बताउँछन् । अन्तरजातीय विवाह गरेकै कारण थुप्रै जोडी र दलित परिवार विस्थापित भएका छन् ।
विसं २०६८ जेठ १० गते व्यवस्थापिका–संसद्को बैठकले सर्वसम्मतिबाट ‘जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय० ऐन, २०६८’ पारित गरेको थियो । ऐन व्यवस्थापिका–संसद्बाट पारित भएलगत्तै दैलेख तोली गाविस–२ धनीगाउँ निवासी सन्तबहादुर दमार्इं र सोही स्थान बस्ने राजकुमारी शाहीबीच प्रेम सम्बन्ध कायम भई दुवैको आपसी समझदारीमा प्रेमविवाह गरेको निहँुमा राजकुमारी शाहीको माइतीपक्षले २०६८ साल भदौ १४ गते सन्तबहादुरका बाबु सेतेलाई साङ्घातिक आक्रमण गरेपछि निजको मृत्यु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेता पर्शुराम रम्तेलले ऐनको प्रभावकारी कार्यान्वयनमा राज्य गम्भीर हुनुपर्ने बताउँछन् । “मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहेको छ । सामाजिक न्यायमा आधारित समाज निर्माणसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने भनिएको छ । तर कूल जनसङ्ख्याको १४ प्रतिशत दलित समुदाय अहिले पनि विभेदको जीवन बाँचिरहेको छ”, उनले भने । दलित समुदायमाथि भइरहेको जातीय भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य गर्न ऐनको व्यावहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने दलित अधिकारकर्मी बताउँछन् ।
रासस १० जेठ, पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ । गण्डकी प्रदेशभित्र होमस्टे सञ्चालन गरिरहेका २७ होमस्टेसँगै कोशी प्रदेश र बन्दीपुरबाट पर्यटन सम्बद्ध प्रतिनिधि मार्टमा सहभागी छन् ।
मार्टमा सहभागी होमस्टेका तर्फबाट आआफ्ना होमस्टेमा दिइने सेवा, प्याकेज तथा आकर्षणबारे जानकारी गराइएको छभने गाउँ पर्यटन सम्बद्ध विभिन्न विषयमा छलफल सत्रहरू सञ्चालन भएका छन् । होमस्टे मार्टको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गाउँ पर्यटनको विकास सरकारको प्राथमिकतामा रहेको बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले होमस्टे केवल गाउँमै सीमित भएर चल्न नसक्ने बताउँदै सहरका मानिस गाउँ पुग्नैपर्नेमा जोड दिए । गाउँ र सहरलाई पर्यटकीय रुपमा जोड्न मार्ट सञ्चालन गरिएको उनको भनाइ छ । मार्टका क्रममा सञ्चार, उद्योग व्यवसाय र पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरूबाट छुट्टाछुट्टै छलफल तथा विचार विमर्श गरिने जनाइएको छ ।
भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले गाउँ पर्यटनको विकाससँगै होमस्टे व्यवसायलाई प्रभावकारी बनाउन मार्ट उपयोगी बन्ने विश्वास व्यक्त गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हरेक गाउँहरू पर्यटकीय सम्भावनायुक्त हुने बताउँदै गाउँ पर्यटनको विकासका माध्यमबाट तिनीहरूको पर्यटकीय सम्भावना उजागर गर्न सकिने बताए । मार्ट भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
१० जेठ, काठमाडौं । पछिल्लो १० महिनामा औसतमा दैनिक २७ वटा विपद्का घटना घटेका छन् । ती घटनामा मृत्यु भएका ५८९ जनाको शव व्यवस्थापन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार गत मनसुनमा धेरै विपद्जन्य घटना घटेको र मानवीय क्षतिसमेत भएको थियो । प्रवक्ता थापाले १० महिनामा विपद्का आठ हजार २८३ घटना घटेको बताए । ती घटनाहरुमा परेर एक हजार ५१८ घाइते भएका छन् । कूल ३२ परिवार विस्थापित भएको उनले बताए ।
विपद्जन्य घटनाहरुमा ५३ हजार प्रहरी जनशक्ति परिचालन गरी खोजतलास, उद्धार, राहत तथा सुरक्षित स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । मनसुन प्रवेशको सँघारमा रहेकाले विपद् प्रतिकार्यका लागि प्रहरीले योजना निर्माण गरी आवश्यक तयारी गरिरहेको प्रवक्ता थापाको भनाइ छ । केन्द्रमा विपद् व्यवस्थापन कार्यालय रहेको र सबै प्रदेशमा विपद् व्यवस्थापन गुल्ममार्फत टोली परिचालन हुने जनाइएको छ ।
जिल्लामा आवश्यकताका आधारमा विपद् व्यवस्थापन टोली परिचालन हुने प्रहरीले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदर भन्दा बढी वर्षा हुने आँकलन सार्वजनिक गरिसकेकाले प्रभावकारी विपद् व्यवस्थापन अघि बढाउन आवश्यक भएको र सोहीअनुसार तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
१० जेठ, सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो । कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरू गरेका उनी ६१ वर्षका भए । पर्वतारोहण पथप्रदर्शकका रूपमा आठ पटक सगरमाथा आरोहण गरिसकेका दावामा हिमालप्रतिको मोह भने अझै उस्तै छ । भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेका उनलाई सगरमाथा क्षेत्रका गाउँहरू र त्यहाँको बाटो निकै प्रिय लाग्छ । उहाँ विगत सम्झँदै भन्छन्, “हालको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजार अहिलेको जस्तो थिएन । पुराना घरहरू थिए । पर्यटन सिजनको बेलामा सयौँ टेन्ट टाँगिएका हुन्थे । शेर्पा युवाहरू कोही भारी बोक्थे, अङ्ग्रेजी बोल्न जान्नेहरू ट्रेकिङ गाइडका रूपमा काम गर्थे ।”
पदयात्राका क्रममा गन्तव्यमा अहिलेको जस्तो होटल थिएनन् । कतिपय स्थानमा ओडारमा रात बिताएका अनुभव उनीसँग छ । उनी सम्झँदै भन्छन्, “जहाँ दाउरा भेटिन्छ, बोक्थ्यौँ । जहाँ ओडार भेटिन्छ, त्यहाँ बस्थ्यौँ र आगो बालेर खाना पकाएर खान्थ्यौँ । त्यो समयमा प्रायः शेर्पा समुदायका युवाहरू देखिन्थे । तर अहिले शेर्पा युवाहरू अलि कम देखिन्छन् ।”
पहिलो पुस्ताका अनुभवी शेर्पाहरूले पर्वतारोहण पथप्रदर्शक धाने पनि आगामी दिनहरूमा पथप्रदर्शकका रूपमा शेर्पा समुदायका युवाहरूको कमी हुन सक्ने नेपाल पर्वतारोहण सङ्घको भनाइ छ । छिटपुट शेर्पा युवाहरूले पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य देखेपनि वर्षौँ पर्वतारोहण पेसामा लागेका अनुभवी शेर्पाहरूका सन्तान यो पेसामा नदेखिएको पर्वतारोहण पेसामा आबद्धहरू बताउँछन् ।
नेपाल पर्वतारोहण सङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङका अनुसार सोलुखुम्बु जिल्लाबाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता देखिन्छ । उनी भन्छन्, “हाल सोलुखुम्बुपछि सङ्खुवासभा जिल्लाबाट धेरै पर्वतारोहण पथप्रदर्शकको रूपमा सहभागी भएको देखिन्छ । त्यसपछि खोटाङ, ओखलढुङ्गालगायत जिल्लाबाट पनि सहभागिता छ ।”
काठमाडौँ,४ जेठः माउन्टेन फ्लाइटबाट आइतबार बिहान देखिएको सगरमाथा आसपास हिमश्रङ्खलाको दृश्य । तस्बिरः हरिराम भेटुवाल\रासस
सङ्घका अनुसार नेपालमा ४६१ हिमाल आरोहणका लागि खुला गरिएको छ । करिब १५० बढी हिमाल आरोहण हुनै बाँकी छ । कतिपय हिमालहरू अझै अध्ययनको क्रममा छन् । सञ्चार अधिकृत गुरूङ भन्नुहुन्छ, “पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको आकर्षण घट्दै गए पनि अन्य समुदायका युवाहरूको आकर्षण बढ्दो छ । भविष्यमा पर्यटकहरूको सङ्ख्या बढ्यो भने पर्वतारोहण पथप्रदर्शक जनशक्ति कम हुन सक्छ । हालसम्म चिन्ता छैन । तर, हिमाल चढ्नु जटिल पेसा भएकाले यस पेसाप्रति आकर्षण घट्छ कि भन्ने चिन्ता हो ।”
शेर्पा संस्कृति र शेर्पा समुदायको हिमालसँग जोडिएको सम्बन्ध केन्द्रित अध्ययन अनुसन्धान गर्दै आउनुभएका ६४ वर्षीय लाक्पा सोनाम शेर्पा पहिलेको तुलनामा पछिल्लो समय हिमाल आरोहण पेसामा शेर्पा युवाहरूको आकर्षण घट्दो क्रममा रहेको स्वीकार गर्छन् । हालसम्म शेर्पाहरू हिमाल आरोहण पेसामा सक्रिय रहेका र आउने पुस्ता यस पेसामा रहन्छन् वा रहँदैनन् भन्ने टुङ्गो नरहेको हिमालयन उद्धार सङ्घका कार्यकारी प्रमुख गोविन्द बस्याल बताउँछन् । नी भन्छन्, “हालसम्म हिमाल आरोहण पेसामा शेर्पा समुदायको बाहुल्यता छ । यस पेसामा आबद्ध शेर्पाका छोराछोरी कोही काठमाडौँमा आएर पढ्ने र कोही विदेशमा अध्ययन गर्ने भएकाले बाबुबाजेको पेसामा उनीहरू फर्कन्छन् भन्ने निश्चित छैन ।”
खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारमा शेर्पा सङ्ग्रहालय सञ्चालन गर्नुभएका लाक्पा सोनामका अनुसार शेर्पाहरूले यो पेसा छोड्दैमा भविष्यमा समस्या नहुन सक्छ । शेर्पा युवाहरूले हिमाल चढ्न छाडे अन्य समुदायका युवाहरूले चढ्ने उहाँको अनुमान छ । बरू जलवायु परिवर्तनको कारण सगरमाथा रहन्छ कि रहँदैन भन्ने मुख्य चिन्ता रहेको उनी बताउँछन् । “बर्सेनि सगरमाथामा हिउँ कम हुँदै गएको छ । सगरमाथा पत्थरमा परिणत भयो भने सगरमाथा को चढ्छ ?”, उनी प्रश्न गर्छन् ।
file
हालसम्म आठ पटक सगरमाथा आरोहण गर्नुभएका ५१ वर्षीय निमा शेर्पा पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको कमी भएको बताउँछन् । उनी भन्छन्, “हाम्रो पुस्ताका शेर्पाहरूले हाल गाइडको काम धानिरहेका छाँै । हिमाल चढ्ने पेसा जोखिमयुक्त भएको कारण पछि आउने पढेलेखेका पुस्ताले यस पेसालाई अँगाल्दैनन् कि भन्ने चिन्ता छ । हाल पर्वतारोहणमा अनुभवी र उमेरले परिपक्व शेर्पाहरू धेरै भेटिन्छन्, पछिल्लो पुस्ताका शेर्पाहरू कम भेटिन्छन् ।”
सोलुखुम्बुको दूधकोसी गाउँपालिका–९ का तार्के शेर्पा उमेरले ५८ वर्ष पुगे । कलिलो उमेरदेखिनै भारी बोकेर सगरमाथा क्षेत्रमा ओहोरदोहोर गरिरहेका उनको पनि सगरमाथा क्षेत्रसँगको गहिरो सम्बन्ध छ । आठ पटक सगरमाथा आरोहण गरिसक्नुभएका तार्केले सगरमाथा आरोहण गर्न छाडेको तीन वर्ष बितिसक्यो । आठ हजार मिटरमुनिका हिमालमा अझै उनी आरोहण दलको नेतृत्व गरिरहेका छन् । हिमाल आरोहणमा शेर्पा युवाहरूको कमी हुँदै आएको उनको स्वीकारोक्ति छ ।
“पढेलेखेका केही युवाहरू व्यवसायमा लागेका छन् भने, केही युवाहरू अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि पुगेका छन्”, उनले भने, “पछिल्ला पुस्ताका शेर्पा युवाहरू पेसामा सक्रिय देखिँदैन । निरन्तर आम्दानीको स्रोत नभएको र हिमाल चढ्नेहरूका लागि सरकारबाट सेवा सुविधा नभएका कारण पनि यो पेसाबाट शेर्पाहरू विस्थापित भएको हुनुपर्छ ।”
खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारका ओङछु शेर्पाका अनुसार पहिले प्रत्येक परिवारको कान्छो छोराबाहेक अरू छोराहरूले सगरमाथा आरोहण गर्थे । ओङछु शेर्पा आफू परिवारको एक्लो छोरा भएको कारण ट्रेकिङ गाइडको काम सम्म गरेको तर हिमाल आरोहण नगरेको बताउँछन् । उनी भन्छन्, “हाल गाउँमा युवाहरू त्यति भेटिँदैनन् । सबै विदेशिएका छन् । खुम्बु क्षेत्रका पाङबोचे, थामे, खुम्बुलगायतका गाउँका केही शेर्पा युवाहरू हिमाल चढ्ने पेसा अँगाले पनि नाम्चे बजारका युवाहरू खासै छैनन् ।”
तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेपछि सगरमाथा आरोहणको बाटो खुलेको हो । विश्वभरबाट पर्यटकहरू सगरमाथा आरोहण तथा त्यस क्षेत्रको अवलोकनका लागि आउन थालेपछि खुम्बु क्षेत्रका स्थानीयले भारी बोकेर आर्थिक आयआर्जन गर्ने अवसर पाएका थिए ।
सगरमाथा आधार शिविर पुग्नका लागि काठमाडौँबाट खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्केसम्म यातायात सुविधा छ भने, काठमाडौँ र रामेछापबाट लुक्लासम्म हवाई सुविधा छ । लुक्लादेखि सगरमाथा आधार शिविरतर्फ पैदलयात्रामार्फत पुग्न सकिन्छ । बाटोमा सुविधा सम्पन्न होटलहरू छन् । हाल लुक्ला र सुर्केबाट खच्चड र मान्छेमार्फत सामान ढुवानी गरिन्छ । नेपालमा हिमाल चढ्ने समुदायको रूपमा शेर्पा समुदायलाई चिनिन्छ । कुनै समय सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रका हरेक युवाहरू सगरमाथा आरोहण र ट्रेकिङ गाइडको लागि तयार हुन्थे । हाल शेर्पा युवाहरूको यस पेसाप्रति आकर्षण घट्दो देखिएको हो ।
१० जेठ, बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अबरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको उनले बताए । कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाडौँ आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे ।
१० जेठ, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । सातै प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
९ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको राससलाई जानकारी दिए । उनले आरोपीलाई फरकफरक मुद्दा चलाउनुपर्ने राय दिइएको पनि बताउनुभयो । झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो ।
आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । गएको चैत १५ गते राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो । त्यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्ति आरोपी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ताको तयारी गरेको थियो । तर समय अभाव भएकाले आज दर्ता नभएको र आइतबार दर्ता गर्ने तयारी गरिएको जनाइएको छ ।
९ जेठ, हेटौँडा । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ भए पनि झट्ट हेर्दा युरोपका स्वीटजरल्याण्ड र इटलीतिर देखिने गाउँभन्दा कम देखिँदैनन् । हरियालीबीच यहाँको वस्ती अत्यन्तै सुन्दर छ । बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर टाढाबाट राताम्मे भएकाले यस गाउँलाई टाढैबाट देख्न सकिन्छ ।
नेपालकोे ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्त्व बोकेको यो बस्तीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छभने यतिबेला गाउँलेहरू पर्यटकको पर्खाइमा बसिरहेका छन् । थाहा नगरपालिकाका अनुसार ऐतिहासिक गोपालीहरूको बसोबास रहेकोे कुञ्छाल गाउँसहित नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भइसकेको छ ।
नगरपालिकाको तथ्याङ्कानुसार ३८औँ विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पर्यटकीय गाउँ घोषणा गरेको हो । भिटोफले हरेक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँका रूपमा घोषणा गर्ने र प्रवर्द्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको बताइएको छ ।
‘कुञ्छाल’ गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरूका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि स्थानीयहरूका अनुसार सय होइन होइन, हजार वर्षको प्राचीन इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन् । यस गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति नपुर्याएको स्थानीय बताउँछन् ।
नेपालको पहिलो त्रिभुवन राजपथसँगै जोडिएको यो बस्ती राजधानी काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथको बाटोबाट ६० किमी टाढा छ । त्यसैगरी, नयाँ खोलिएको थानकोट–चित्लाङ कच्ची बाटो हुँदै त मात्र ३० किलोमिटर पार गर्दा ‘कुञ्छाल’ पुग्न सकिन्छ । फर्पिङ–फाखेल–मार्खु हुँदै जाने हो ५५ किलोमिटर दूरीमा यो स्थान रहेको छ ।
लिच्छविकालीन राजा अंशु बर्माको समेत शिलालेख रहेको भनिएको यस बस्तीको तथ्यगत इतिहास भने तीन सय वर्ष पुरानो देखिने स्थानीय बताउँछन् । यहाँका अन्य गाउँहरूमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइ रहेको देखिएता पनि कुञ्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात् हालका गोपाली भन्न रूचाउने गोपालवंशीहरूको मात्र बसाइ रहेको छ ।
नेपालकै पुरानो र मौलिक सभ्यता बोकेको गोपालीहरूको बस्ती कुञ्छाल गाउँमा धेरै अनौठा प्रचलन पनि रहेका छन् । यस बस्तीमा एक अनौठो चलन छ । यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ । कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो ।
एक सय ७३ घरपरिवार भएको ‘कुञ्छाल’ यस गोपाली गाउँमा युवादेखि वृद्धवृद्धासम्म मिलेर सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको गाउँका अगुवा ७३ वर्षीय विष्णु गोपालीले बताए । उनका अनुसार गाउँमा पुर्खाले नै बनाएको संरचना यथावत भएका कारण यसलाई बिग्रन नदिनेमा गोपालवंशदेखि रहेको र तीन सय वर्ष पुराना हुन् भन्ने प्रशस्त प्रमाण भेटिने उनको दाबी छ ।
उनी भन्छन्, “हामीले बोल्ने नेवारी भाषा काठमाडौँमा बोलिने भाषाभन्दा फरक छ ।” । “शब्द, लवजमा नै धेरै फरक छ, हाम्रो भाषालाई प्राचीन नेपालमण्डलभित्रका भाषाभन्दा हुन्छ ।” उनका अनुसार नेपाल भाषाको इतिहास, मौलिकता आदि अध्ययन गर्न धरैजना आउने गर्छन् ।
त्यसैगरी, यहाँका महिलाहरू पनि पहिलेदेखि नै पुरूषसरह काम गर्ने गरेको ७० वर्षीया माइजुमाया गोपालीले बताउइन् । थाहा आन्दोलनमा प्रणेता रूपचन्द्र विष्टले गाउँको डबलीमा बसेर दैनिक दिने शिक्षाका कारण तत्कालीन समयमा पनि महिलाहरूले पढ्न र अधिकारका कुरा गर्न थालेको उनी सम्झन्छन् । तत्कालीन जनयुद्धमा छोरी गुमाएकी उनलाई अहिलेको परिवर्तनमा आफ्नो परिवारले रगत बगाएकामा पनि निकै गर्व महसुस हुने गरेको बताउँछिन् ।
उनका अनुसार तत्कालीन समयदेखि काम गर्ने, समय खेर नफाल्ने भन्ने सोच पलाएका कारण आफू यो उमेरमा पनि खेती गरेर खाइरहेको सुनाउँछिन् । उनका अनुसार यहाँ पुरूषले पनि भान्साको काम गर्ने गर्छन् भने महिलाहरूले पनि पुरूषसरह खेतीपातीको काम गर्छन् । यहाँ आउने पाहुनालाई आफ्नै खेतीबाट उब्जेको अन्न तथा सागसब्जी खुवाउने उनको भनाइ छ ।
थाहा नगरपालिका प्रमुख विष्णु विष्टले यहाँ हरेक १२ वर्षमा एकपटक देवीनाच लाग्ने गरेको र यो नाचको सम्बन्ध काठमाडौँको केन्द्र हनुमानढोका दरबारसँग रहेको जानकारी दिए । यस नाचलाई हनुमानढोका दरबारको डबलीमा देखाइने चलन पनि रहेको उनी बताउँछन् ।
उनी भन्छन्, “कुञ्छाललाई एउटा जीवित सङ्ग्रहालयका रूपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरूपलाई नै निरन्तरता दिने र यहाँको मौलिक स्वरूप, परम्परागत पेसा नै यहाँका स्थानीयको समृद्धिको आधार बनाउन हामीले जोड दिइरहेका छौँ ।” मकवानपुरको पहाडी भेग अझ काठमाडौँ उपत्यका नजिकका घर २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भए पनि यहाँ कुनै क्षति नभएको नगरप्रमुख विष्टले जानकारी दिए ।
नगरप्रमुख विष्टका अनुसार पुरानो बस्ती कुञ्छालका बासिन्दा असाध्यै मेहनती छन् । कृषि र पशुपालन उनीहरूको मुख्य पेसा र आम्दानीको स्रोत रहेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय गोपाली समुदायले होमस्टे सञ्चालनका लागि आफैँले खर्च जुटाएर आवश्यक व्यवस्थापन गरेको छ । महिला–पुरूषमा कामका हिसाबले भेदभाव नहुनु यहाँको विशेषता हो । बस्ती छेवैको बजारमा मिल भए पनि स्थानीयलाई घरकै ओखलमा कुटेको चामल खाँदा स्वादिलो लाग्ने गर्छ । पर्यटकलाई उसिनेको चामलको भात खुवाउने यहाँको चलन रहेको छ ।
थाहा नगरपालिकाको वडा नं १ र ६ मा पर्ने टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्नका लागि राजधानी काठमाडौँबाट गणेशमानसिंह मार्ग चन्द्रागिरि–चित्लाङ हुँदै करिब एक घण्टामा पुग्न सकिन्छ । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हँुदै करिब तीन घण्टामा पुग्न सकिन्छ । टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्न कुञ्छाल गाउँबाट वा नजिकैको सरस्वती बजारबाट सुरू गर्न सकिन्छ ।
बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाती बगैँचा भ्रमण, कुञ्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शनपश्चात टिस्टुङको वनस्पति उद्यानमा पुग्न सकिन्छ । उद्यानबाट विश्रामसहित ग्रामीण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न सकिन्छ ।
वनस्पति उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम दृश्यावलोकन, खेतीपाती गर्दै गौखुरेश्वर महादेवको दर्शन यही रूटमा गर्न सकिन्छ । ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हँुदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकनपश्चात थाहानगरकै प्रमुख शक्तिपीठका रूपमा रहेको वाराही मन्दिर र सँगैको चौरबाट पैदल जङ्गल सफारीसँगै पैदलमार्गमा प्रकृतिसँग लुकामारी गर्न सकिन्छ ।
वाराही मन्दिरबाट उकालो हिँडेर पुगिने वाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ । निकै मनोरञ्जनात्मक र साहसी पैदलयात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दूरी करिब १६ किलोमिटर रहेको छ । वाराही डाँडाबाट पुनः जङ्गल सफारीसँगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ । स्थानीयहरूको आत्मीय व्यवहार र स्वागतसहितको पैदलयात्रासँगै केही दिनको भ्रमण र बस्नका लागि पनि थाहानगरको बज्रवाराहीमा होटलको राम्रो व्यवस्था भएको तथा कुञ्छालमै रहेका होमस्टेमा पनि बस्न सकिन्छ ।
९ जेठ, पर्वत । कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि पेसालाई चटक्कै छाडेका उदाहरण थुप्रै भेट्न सकिन्छ । तर पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रतिनिधिसँगै आफ्नो कृषि पेसालाई समेत निरन्तरता दिएकी छिन् । फलेवास नगरपालिका–१० कुर्घाकी क्षेत्रीले व्यावसायिक काँक्राखेती गर्दै आएकी छिन् । उनले काँक्राखेती हरियो काँक्रा उपभोग गर्नका लागि नभई भक्तपुरे लोकल जातको काँक्राको मूल बीउ उत्पादनका लागि हो ।
विगत दुई दशकदेखि व्यावसायिक कृषिमा होमिएकी क्षेत्रीले तीन वर्षअघिसम्म व्यावसायिक गाईपालन गर्थिन् । उनले १५ वटासम्म गाई पालेर दैनिक झण्डै एक सय लिटर दूध बिक्री गर्छिन । जब २०७९ सालको निर्वाचनमा फलेवास नगरपालिकाको उपप्रमुखमा विजयी भइन् । त्यसपछि व्यस्तताका कारण व्यावसायिक गाईपालन छाडेर व्यावसायिक काँक्राखेतीमा लाएकी हुन् । क्षेत्रीले २०५६ सालदेखि व्यावसायिक गाईपालन र तरकारीखेती गर्दै आएकी हुन् । अहिले उनले सात रोपनी क्षेत्रफलमा व्यावसायिक काँक्राखेती गरेकी छिन् । उनले हरेक वर्ष रू पाँचदेखि सात लाखसम्म काँक्राको बीउ बिक्री गरेर आम्दानी गर्दै आएकी छिन् ।
उपप्रमुख क्षेत्रीले नै काँक्राखेतीलाई निरन्तरता दिएपछि गाउँलेसमेत काँक्राको व्यावसायिक उत्पादनमा सक्रिय भएर लागेका छन् । उनको पेसामा श्रीमान् सोमबहादुरले साथ दिएका छन् । गत वर्ष केही कम आम्दानी भएकामा यस वर्ष अनुकूल हावापानी र मौसमले उत्पादन पनि बढेकाले काँक्राको आम्दानी पनि बढ्ने अनुमान सोमबहादुरले गरेका छन् ।
“हाम्रो परिवारले मात्र रू सात लाखसम्मको बीउ, बिक्री गर्छौँ, अरू व्यक्ति र समूहको गर्दा करोडौँको बीउ निर्यात गर्ने गरेका छौँ”, उपप्रमुख क्षेत्रीले भनिन् । “जनताको सेवा गरेर बचेको समय कृषिकर्ममा लगाउने गरेकी छु” जनप्रतिनिधिको कर्मचारीजस्तो बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्मको कार्यसमय हुँदैन, साँझबिहान जतिबेला पनि जनताको सेवामा जानुपर्छ, कहिलेकाहीँ खाली रहेको समय तरकारी र गोठमा पालेका वस्तुभाउको स्याहारसुसारमा पनि लाग्ने गरेकी छु ।”
कृषिकर्म गरेर कोही पनि सानो नभइने बताउँदै उपप्रमुख क्षेत्री जुन ठाउँमा जे उत्पादन हुन्छ त्यही पेसालाई व्यावसायिक रूपमा अँगाल्न आफूले सुझाव दिने गरेको बताउँछिन् । उनले आफू उपप्रमुख भएपछि धेरैजसो कृषकमुखी कार्यक्रम नगरबाट ल्याउन सफल भएको दाबी गरिन् । उनी तत्कालीन सत्ता गठबन्धन माओवादी केन्द्रबाट विजयी भएकी हुन् ।
उनीसँग कृषिको करिब दुई दशक लामो साइनो र सङ्घर्ष रहेको छ । क्षेत्रीले भनिन् । “म दिउँसो नगरमा भए पनि साँझबिहान गाईगोठ र खेतबारीमै हुन्छु । मैले भोग्ने दैनिक समस्या नगरवासीका साझा हुन् । त्यसैले नगरमा धेरैजसो किसानकै मुद्दा र आवाज उठाउने गरेकी छु ।”
क्षेत्रीको व्यावसायिक यात्रा २०६४ सालदेखि सुरू भएको थियो । सुरूमा होटल व्यवसाय गर्नुभएकी क्षेत्रीले किराना पसलसँगै सुरू गरेको होटलमा दूधको माग बढेपछि गाई पाल्न थालेकी हुन् । विसं २०७० मा चिर्दीमा चिसापानी दुग्ध सहकारी दर्ता गरेपछि उनी त्यसको संस्थापक सचिवसमेत बनेकी थिइन् । बीस जना सेयर सदस्यबाट रु पाँच हजारका दरले लगानी गरेर दूधलाई व्यावसायिक रूपमा बजार पठाउन सहकारीमा आबद्ध गर्नुभएकी क्षेत्रीको पहलमा अहिले उक्त गाउँका झण्डै सात सय किसानले व्यावसायिक पशुपालन गरेर दूध बिक्री गर्दै आएका छन् ।
काँक्रासँगै क्षेत्रीले टनेलभित्र टमाटर र मौसमअनुसारका तरकारी उत्पादन गर्दै आएका छन् । गाउँ छोडेकाको खेत भाडामा लिएर जेठो बूढो धानको बीउ उत्पादन गरेर बिक्री गछिन् । कुनै समय दूध, तरकारीलगायत कृषि उपजको बिक्रीबाट मासिक रु दुई लाखभन्दा बढीको आम्दानी गरेकी हुन् । उनले उपप्रमुख भएपछि जनताको सेवामा बढी खटिनुपर्दा आम्दानी घट्दै गएको बताइन् । तर पनि राजनीति र कृषिलाई सँगसँगै अघि बढाउने आफ्नो प्रयासमा कमी नआएको उनको भनाइ छ ।
आफूले कृषि र यस पेसाबाट पाएको सफलताबाट अरू किसानलाई पनि सफलताकै बाटोमा डोहोर्याउने उनको इच्छाले समेत सार्थकता पाउँदै गएको उनको भनाइ छ । “सबैलाई व्यावसायिक बनाउने हो, त्यसका लागि नगरपालिकामा हामी सबै हातेमालो गर्न आएका हौँ । जनप्रतिनिधि शासक नभएर सेवक हौँ भन्ने भावना भए सफल भइन्छ भन्ने लागेको छ”, उनले भनिन् ।
फलेवास नगरपालिकाका कुर्घा, देवीस्थान, पाङ्गराङ्ग र विहादी गाउँपालिकाको बाँच्छाका किसानले व्यावसायिक रूपमा भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् । यहाँ काँक्राको बीउ बिक्री गरेर वार्षिक रू छ करोड भित्रिने गरेको छ ।
९ जेठ, बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।
लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।
९ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।
महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।
९ जेठ, भरतपुर । खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट काठमाडौँतर्फ गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारका चालक खैहरनी नगरपालिका–८ का ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
८ जेठ, तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–७ गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासी बर्दाघाट सुस्ता गैँडाकोट नगरपालिका–१२ हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल रहेका छन् ।
मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ को मोटरसाइकल जाँच गर्ने क्रममा अमेरिकामा बनेको ७७१ लेखिएको पेस्तोलसहित म्याग्जिन एक थान र गोली एक थान बरामद गरिएको हो । उक्त मोटरसाइकलको पछाडि सवार ढकालले बोकेको झोलाबाट पेस्तोलसहित दुई युवालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
८ जेठ, दमौली । व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाएपछि बुधबार आयोजित एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङका अनुसार नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनाका दुई हजार ८२८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेललगायत वक्ताले पालिकालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना सुनिश्चितताका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे । साथै राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, आमा समूह, महिला सञ्जालले अभियानको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
७ जेठ, काठमाडौं । काठमाडौँको गौशालास्थित पिङ्लास्थानमा एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति पुगेको छ । आज बिहान गौशालाबाट तिलगङ्गातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस काठमाडौँ महानगरपालिका ८ पिङ्लास्थान नजिक सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उक्त बससहित आठ वटा सवारीसाधनमा क्षति भएको काठमाडौँ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार उक्त दुर्घटनामा बाबा गोकर्णेश्वर यातायातको बससहित एउटा हायस, तीन वटा कार, दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा क्षति पुगेको छ । उक्त दुर्घटनामा धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भई काठमाडौँको टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका-२ भई हाल टोखा बस्ने २२ वर्षीय विकाश कट्टेल र खोटाङ हलेसी टुवाचुङ नगरपालिका-५ घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका उनले बताए ।
अनियन्त्रित भएर पल्टिएको बा५ख ६७३५ नम्बरको सार्वजनिक बसका चालक भने फरार भएकाले निजको खोजी जारी रहेको बताउँदै प्रहरी उपरीक्षक बोहराले घटनाको विस्तृत रूपमा अनुसन्धान भइरहेको जानकारी दिए ।
७ जेठ, चितवन । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका थिए ।साथीहरूसँग पौडी खेल्न गएका निजलाई डुबेको भेटेपछि उनका आठ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका–१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।
रासस ७ जेठ, झापा । सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत रु एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ ।
विश्व बैंकको आर्थिक सहयोग रहेको वडा नम्बर ६, ७ र ८ जोड्ने छ किलोमिटर २५८ मिटर लामो सडकमा हाल कालोपत्र भइरहेको छ । जेठको तेस्रो सातासम्ममा निर्माण सम्पन्न हुने आरपी समता जेभीका मनोज उप्रेतीले बताए । यो सडक आरपी समता जेभीले रु ५८ करोडमा निर्माणको ठेक्का लिएको हो ।
बिर्तामोड नगरपालिकालाई हल्दिबारी गाउँपालिकासँग जोड्ने सहिद चन्द्रमार्गको दुई किलोमिटर सडक आगामी १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन खण्डमा कालोपत्र भइरहेको छ । दुई किलोमिटर लामो उक्त सडकको पहिलो खण्डमा रु पाँच करोड ६० लाखको ठेक्का सिद्धीथुम्का एभरग्रिन जेभीले, दोस्रो खण्डमा ट्रस्ना निर्माण सेवाले रु ६८ लाखमा र तेस्रो खण्डमा नाम्लाक निर्माण सेवाले रु एक करोड पाँच लाखमा निर्माणको जिम्मा लिएको छ ।
वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा एक किलोमिटर सडकको रु छ करोडको ठेक्कामा शान्ति निर्माण सेवा प्रालिले धमाधम निर्माण गरिरहेको वडाध्यक्ष किशोर बुढाथोकीले बताए । विर्तामोड–४ स्थित हर्कलाल मार्गको स्तरोन्नति तीन खण्डमा भइरहेको छ । प्रदेश र नगरपालिकाको लगानीमा निर्माणाधीन उक्त सडकको बीचको खण्डमा कालोपत्र भइसकेको छभने पहिलो र अन्तिम खण्डमा काम जारी छ । उक्त सडकको पहिलो खण्ड रु एक करोड १३ लाख, दोस्रो खण्ड रु छ करोड र अन्तिम खण्ड रु एक करोड ११ लाखमा ठेक्का लागेको हो ।
कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको रु दुई करोड ६० लाख समपूरक बजेटबाट दाहाल गाउँबाट लालमाटी चोक पश्चिम खण्डसम्म एक किलोमिटर क्षेत्रमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । यहाँ केही दिनमा सडक कालोपत्र गरिने निर्माण व्यवसायी दिनेश मैनालीले जानकारी दिए । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा प्रसाईँले सडक स्तरोन्नतिको निरन्तर अनुगमन भइरहेको बताए ।
६ जेठ, बरहथवा । सर्लाहीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । आज क्षेत्रीय सडकखण्डअन्तर्गत बागमती नगरपालिका–४, जिरायतमा पूर्वपश्चिम राजमार्गस्थित पुतली चोकबाट सोल्टी जाँदै गरेको प्रदेश ३–०२–००६ प ७८६८ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नं को मोटरसाइकल आपसमा ठोक्किएका थिऐ ।
दुर्घटनामा ५२६ नं को मोटरसाइकल चालक रौतहटको साविक बिसुनपुर्वा गाविस बस्ने ३३ वर्षीय नागेन्द्र साह सोनार र ७८६८ नं को मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–२३, वसन्तपुर बस्ने ३० वर्षको विवेक मानन्धरको मृत्यु भएको हो । दुर्घटनालगत्तै बागमतीस्थित मोडल अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा दुवैको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
५६२ नं को मोटरसाइकल पछाडि सवार रौतहटको साविक बिसुनपुर्वा–४ की ३२ वर्षीया चनचला देवी साह र भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षकी मुनीदेवी साहको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको हो । दुवैको शव चन्द्रपुरस्थित अस्पतालमा राखिएको छ ।
६ जेठ, जनकपुर । धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनका भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको डुबेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा आज दिउँसो दुवै जनाको डुबेर मृत्यु भएको उनले बताए । घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको सिंहले बताए ।
रासस ६ जेठ काठमाडौं । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेको जानकारी दिइन् ।
उनका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उनले जानकारी दिए ।
“घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्दछन् । बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन् । चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएका छन्”, प्राधिकरणकी सहसचिव श्रेष्ठले भनिन् । विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा तीन सय ६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका उनले जानकारी दिइन् । कोशीमा चट्याङका कारण रु एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने चार सय २० वटा चौपाया मरेका छन् ।
प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने रु तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ । लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित, एक सय ६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका प्राधिकरणकी सहसचिव श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना मानिस घाइते भएका छन् । नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिए । गत चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उनले बताए ।
सहप्राध्यापक सिग्देलका अनुसार उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको उहाँले उल्लेख गरे । चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सहप्राध्यापक सिग्देलको भनाइ छ । सचेतना नै चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उनले बताए ।
मनसुनका समयमा मध्याह्नपछि बढी चट्याङ पर्ने गरेको अध्ययनले देखाएको जनाउँदै उनले सोही समयमा खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईबस्तु चराउने कार्य हुने गरेकाले बढी मानवीय क्षति भएको बताए । त्यस्ता कामहरू मध्याह्नअगावै गरिसक्ने र मेघगर्जन भएका बेला खुला स्थानमा नजाने हो भने मानवीय क्षति स्वतःन्यूनीकरण हुने उनको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीन वटै राडार हाल बिग्रिएर थन्किएका छन् । ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घण्टादेखि एक घण्टाअघि चट्याङ पर्ने क्षेत्रको बारेमा जानकारी पाउन सकिने जलवायु विज्ञ सिग्देलले जानकारी दिए । उक्त राडारले बादल बन्ने प्रक्रिया मोनिटरिङ गरेर चट्याङ पर्ने स्थानको विश्लेषण गर्ने उनले बताए ।
६ जेठ, कास्की । निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ ।
हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी कालोपत्र सकिएको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले झण्डै डेढ किमी सडक एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । उनले भने, “हरिचोक–याम्दी खण्डमा अहिले एकतर्फी कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रमा दुवै खण्डमा काम सम्पन्न गर्ने योजनामा छौँ ।”
हरिचोक–याम्दी सडक १८ मिटर फराकिलो हुने छ । त्यसैगरी नालासहित २१ मिटर रहेको आयोजनाले जनाएको छ । यस खण्डमा अस्फाल्ट कालोपत्र १५ सेमी बाक्लो हुने छ । लामो समयसम्म यस सडकको काम सुस्त हुँदा राजमार्गमा यात्रा गर्ने यात्रीले सास्ती पाएका थिए । दुई किमी २०० मिटर लामो सडक निर्माणमा ढिलाइ हुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रा कष्टकर हुने गरेको थियो । सडक निर्माण सुस्त भएपछि स्थानीयले सडकमै उत्रिएर काम छिटो गर्न दबाब दिएका थिए ।
पोखरा हरिचोकका भानुभक्त अधिकारीले ढिलै भए पनि कालोपत्रको काम सुरु भएकामा खुसी व्यक्त गरे । लामो समयसम्म सडक नबन्दा आफूहरूले धेरै सास्ती पाएकामा अब सजिलो हुने उनको विश्वास छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई वर्षमा सक्नेगरी २०७९ साल साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिसँग मूल्यअभिवृद्धि करसहित रु ४८ करोड लागतमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।
साविकको पोखरा–बाग्लुङ राजमार्गमा पर्ने यस सडक हुँदै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायत जिल्लाबाट दैनिक सयौँ सार्वजनिक तथा निजी सवारीका साधन पोखरा आवतजावत गर्ने गर्छन् ।
६ जेठ, त्रिवेणी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ । समग्रमा कुल भौतिक प्रगति ६६ दशमलब ५० प्रतिशत पुगेको छ ।
पुलहरूले ओगटेको क्षेत्रबाहेक एक सय १० दशमलव ४६ किमी कालोपत्र गर्नुपर्ने छ । पुलले तीन दशमलव ०७ किमी क्षेत्र ओगटेको सूचना अधिकारी खनालले बताए । हाल यस खण्डमा यात्रा गर्ने सवारीले ९३ दशमलव ९४ किमी कालोपत्र सडकमा यात्रा गर्न सक्ने उनले बताए । यो भनेको कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने भएको सूचना अधिकारी खनालले बताए ।
उनका अनुसार यस खण्डमा काम गर्नुपर्ने बाँकी क्षेत्र अधिकांश दाउन्ने खण्डमा रहेको छ । सोहीअनुसार दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ । दाउन्ने क्षेत्रमा हाल कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ । दाउन्ने खण्डको यात्रालाई जतिसक्दो छिटो सहज बनाउने योजनाअनुसारको काम जारी छ ।
नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल एक सय १३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ ।
एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन हुने छ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुने छ ।
राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रीले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । तर अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदा पनि बाटो चिप्लो भएर घण्टौँ जाममा पर्नुपर्ने बाध्यता छ ।
५ जेठ, काठमाडौं । हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा लेदोसहितको पहिरोबाट पीडितलाई तत्काल राहतका लागि पहल गरिने भएको छ । आज गृहमन्त्री रमेश लेखकको संयोजकत्वमा गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले तत्काल राहत सामग्री प्रदान तथा उद्धार गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पहिरो जानुको कारणबारे अध्यायन टोली गठन गर्ने निर्णय भएको जानकारी दिए ।
“हिमताल विस्फोट भएको भनिए पनि हिमताल नै विस्फोट भएको हो या हैन भन्ने यकिन छैन । भिडियो, फोटो हेर्दा हिउँ पग्लिएर जमिन भित्रभित्रैबाट पानी बगेको हुन सक्ने अनुमान छ । तर के भएको हो ? भन्ने विस्तृत अध्ययन गरिने आजको निर्णय छ,” उनले भने, “यस्तै अन्य हिमाली क्षेत्र पनि जोखिममा छन् । जोखिममा भएका क्षेत्रको पहिचान गर्दै जोखिम मूल्याङ्कन गर्ने निर्णय भएको छ ।”
जलवायुविद् मञ्जित ढकालले हालको अवस्था हेर्दा हिमताल फ्ट्ने खतरा बढिहरहेकाले अनुसन्धानमा ध्यान दिनुपर्ने र पूर्वसुचना प्रणाली जडानमा लगानी गर्नुपर्ने सुझाव दिनुभयो । “हुम्लाको घटनामा अहिले हिमताल विस्फोट भएको हो या होइन भन्ने राम्रोसँग तथ्य बाहिर नआउन्जेल केही भन्न मिल्दैन, तर हिमताल फुट्ने जोखिम हिमाली भेगमा बढ्दो छ । सतर्कता र पूर्वतयारीमा जोड दिनुपर्छ,” उनले भने ।
५ जेठ, दमौली । जिल्लाको ऋषिङ गाउँपालिका–३ सोलुङमा घाँस काट्ने क्रममा लडेर आज दुई जनाको मृत्यु भएको छ । सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सोही वडा बस्ने ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ बस्ने २६ वर्षीया खिमसरा मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
बिहान ७ बजेको समयमा घाँस काट्न गएका उनीहरु नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखि अन्दाजी एक सय मिटर तल उनीहरुको शव भेटिएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
४ जेठ, रसुवा । चीनबाट अवैध तरिकाले लुकाई–छिपाई नेपाल भित्रिएको सुन नेपाल प्रहरीले रसुवागढी नाकाबाट आज बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार वा४ख ६२०१ नंको स्याउ बोकेको ट्रकमा लुकाई–छिपाई ल्याएको अवस्थामा सात किलो ६५३ ग्राम सुन बरामद गरिएको हो । ट्रक चालक गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २४ वर्षीय किशोर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको सुनको बजार मूल्य रु ११ करोड ११ लाख ६४ हजार रहेको प्रहरीले जनाएको छ । सुन ल्याउने भुजेल जिल्ला बाहिरबाट बसाइँ सरिआएका व्यक्ति भएको बताइएको छ । सुनसहित पक्राउ परेका भुजेललाई कानुनी प्रक्रिया अगाडि बढाउन रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए । विसं २०७२ मङ्सिर यता सुरक्षा निकायले यहाँबाट ६५ किलो ६९७ ग्राम सुन बरामद गरी कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइसकेको प्रहरीले जनाएको छ ।
४ जेठ, गोरखा । दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन् ।तीस वर्षीया उनीसँगै छरछिमेकका अन्य छोरी बुहारी पनि एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका–२ दलितबस्तीका महिला यसरी बिहान झिसमिसेमा र मध्यरातमा शौचालय धाउनुपर्ने कारण शौचालय अभाव हो । यहाँ २१ परिवारका लागि एउटमा मात्र शौचालय छ ।
बारपाकको पुछारमा रहेको दलितबस्ती हरेक हिसाबले पिछडिएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पपछि हालसम्म पनि यहाँका बासिन्दा अझै त्रिपालमुनि बास बस्दै आएका छन् । दलितबस्तीमा मुख्य समस्या शौचालयको रहेको छ । एक्कास घरधुरी रहेको दलितबस्तीमा जम्मा एउटा मात्र शौचालय छ । त्यो पनि जीर्ण अवस्थामा छ । राम्रोसँग ढोका पनि लाग्दैन ।
सिङ्गो दलितबस्तीलाई शौचालयको समस्याले पिरोलेको स्थानीय दिपासा विक बताउँछिन् । “सरकारले हामीलाई घर बनाइदिन्छौँ, जग्गा दिन्छौँ भनेर १० वर्षअघि यहाँ ल्यायो । हामीले हाम्रो पुरानो घरघडेरीको लालपूर्जा सरकारलाई दिइसक्यौँ तर, के गर्नु अहिलेसम्म घर त के, गतिलो शौचालय पनि बनाउन सकेको छैन”, उनले भनिन्, “हामी अहिले सरकारी जग्गामा बस्दै आएका छौँ । आफ्नो हिसावले शौचालय बनाउन सक्दैनौँ । एक त ठाउँ नै छैन । अर्को कुरा, आफ्नो हिसाबले बनायो भने भोलि भत्काउनु पो पर्छ कि जस्तो लाग्छ ।”,
शौचालय नहुँदा विषेशगरी यहाँका महिला तथा किशोरीहरु समस्यामा छन् । १६ वर्षीया अमृता विकले घरैपिच्छे शौचालय नहुँदा धेरै दुःख सहनु परेको गुनासो गरिन् । उनी भन्छिन्, ‘सबैभन्दा धेरै समस्या महिनावारीको समयमा हुन्छ । एउटा मात्र शौचालय छ, बिहान बेलुका धुँइचो लाग्छ ।” व्यवस्थित शौचालय नहुँदा बस्तीका बासिन्दा खुल्ला रुपमा दिसापिसाव गर्न बाध्य रहेका उनको भनाइ छ ।
यतिधेरै परिवारका व्यक्तिहरुले एउटै शौचालय प्रयोग गर्दा बस्तीमा विभिन्न सरुवा रोगहरु समेत फैलिने डर छ । स्थानीय मङ्गलबहादुर सुनारका अनुसार बस्तीमा समय समयमा हैजा, ज्वरो, झाडा पखाला, रुघा खोकी लगायतका सरुवा रोगहरु फैलिरहन्छन् । “सबैले एउटै शौचालय प्रयोग गर्दा गर्मी समयमा बढी जोखिम हुन्छ”, उनले भनिन् । कोभिड महामारीको समयमा यो बस्तीका पाँच जनाको मृत्यु भएको थियो । साथै, समय समयमा बस्तीका बालबालिका तथा वृद्धवृद्धाको विभिन्न सरुवा रोगका कारण मृत्यु हुने गरेको सुनार बताउँछिन् ।
आफूहरु फोहोर मैलामा बसेका कारण सामाजिक रुपमा अपहेलित हुनु परेको स्थानीय ५७ वर्षीया मैती सुनार बताउँछिन् । सरकारी स्वामित्वमा रहेको उक्त दलित बस्तीमा सबैजसो पुग्दैनन् । सरकारी निकाय बारपाकसम्म पुग्छ, तर त्यही मुनि खोल्साको छेउको दलित बस्तीमा भने कोही पुग्दैनन् ।
विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघार सय घरधुरी प्रभावित बनेका थिए । गाउँमा ७२ जनाको मृत्यु भयो । बाँचेकाहरु महिना दिनसम्म चौर र बारीका गरामा बास बसे । डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ घरधुरी विक समुदाय कृषि र पशु कार्यालयको नाउँमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । चौध परिवार फेरि आ–आफ्नै थातथलोमा फर्किए ।
डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिरिएर राङरुङखोलासम्म पुग्यो । फर्किन सक्ने अबस्था नभएपछि उनीहरुले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले । पहल गरेको १० वर्ष बितिसक्दा पनि अझै सफल हुन सकेको छैनन् । राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिइन्छ, तर भूकम्पको केन्द्रविन्दू बारपाककै दलित समुदायको भने भूकम्प गएको पहिलो दिनदेखि १० वर्ष बितिसक्दासम्म टहरोकै बास छ ।
यहाँका दलित समुदायका अगुवा सुकबहादुर विक दलित समुदायलाई बास माग्दै ८६ पटक सिंहदरबार धाएको बताउँछन् । उनी भन्छन्, “तर, यो दलित बस्तीलाई पुनःस्थापना गर्न दौडधुप गर्न थालेको १० वर्षसम्म भइसक्यो, केही प्रगति भएको छैन । एउटा पार्टी सरकारमा आउँदा जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ, अनि सबै फाइल गायब हुन्छन्”, उनले भने ।
पूर्वसहमतिअनुसार यहाँको छ रोपनी १० आना जग्गा २१ घरधुरीका नाममा लालपूर्जा दिनुपर्ने अर्का अगुवा उत्तम विक बताउँछन् । बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट सो जग्गा दलित समुदायको नाममा दिलाउन जति प्रयास गर्दा पनि नसकेकाले कुनै वैकल्पिक ठाउँमा व्यवस्था गर्न बरु सजिलो हुने बताउँछन् ।
रासस ४ जेठ, तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठबाट बसपार्क जावतजावत बुल्दीखोलामा पुल निर्माण गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोलामा एक स्पामको पुल निर्माण गरिएको बताए । पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारी र सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ ।
विसं २०८२ भदौ ३० गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको थियो । सम्झौताभन्दा अगावै २०८२ वैशाख २२ निर्माण सम्पन्न गरेको थियो । उक्त पुलको लम्बाई २५ मिटर र आठ दशमलव ४० मिटर चौडाइ छ । पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड २८ लाख ९४ हजार ६९० (मूल्य अभिवृद्धि करसहित) को लागतमा निर्माण सम्पन्न गरिएको हो ।
यसमा सङ्घीय सरकारको रु एक करोड ३५ लाख रहेको छभने बाँकी रकम व्यास नगरपालिकाको आफ्नै स्रोतबाट व्यवस्थापन गरेको छ । कामलाई निरन्तरता दिने हो भने सम्झौताभन्दा अगावै काम सम्पन्न गर्न सकिन्छ भन्ने गतिलो सन्देश अन्य निर्माण व्यवसायीलाई समेत दिएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए ।
पूर्वाधार विकास कार्यालयका इञ्जिनियर विजय थापाले गर्नुभएको तेश्रो पक्ष मुल्याङकनमा कुनै पनि कैफियत नदेखाई मूल्याङकन पास गरेपछि निर्माण कम्पनीलाई अन्तिम किस्ता भुक्तानीका लागि प्रक्रिया अघि बढाइएको हो । पुल बनेपछि सवारी आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर बस्ती संरक्षणमा सहयोग पुग्ने बताइएको छ । बर्खायाममा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो ।
४ जेठ, म्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । चालु आर्थिक वर्ष २०८१ /८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका हुन् ।
गत फागुनदेखि सुरु भएको दुईवटै योजना बर्खा सुरु हुनुअघि नै सम्पन्न भएको तातोपानीका बासिन्दा दिनेश केसीले बताए । रु एक करोड ५५ लाखमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभी पर्वतले सरस्वती माविमुनि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको छ । यो योजनाका लागि रु दुई करोड ७० लाख लागत अनुमान गरिएको थियो ।
म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताए । जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको रु ५० लाख बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण गरेको छ । यो ठेक्कामार्फत ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताए ।
विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ ।
यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानी र बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि चालु आवमा बहुवर्षीय स्रोत सुनिश्चित भएको रु १० करोड बजेटको योजना कार्यान्वयनका लागि पनि ठेक्का प्रक्रियामा छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर गुरुङका अनुसार तातोपानीमा एक सय दुई मिटर र बेनीको दरवाङ बजार पछाडि एक सय ६५ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो । रासस
४ जेठ, झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
“कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन”, गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले भने, पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ ।
झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ । चिया बगानको सदावहार हरियालीका माझमा ढकमक्क राताम्य भएर फुलेका गुलमोहरले हरेक यात्रुलाई आकर्षित गर्ने गरेको छ । शनिबार र सार्वजनिक बिदाका दिन अन्य दिनभन्दा बढी पर्यटक आउने गरेका अध्यक्ष प्रसाईँले बताए । पालिकाले गत वर्ष त्यस वरपर दुई सयभन्दा बढी गुलमोहरका बिरुवा रोपेको छ ।
पालिकाले गुलमोहरको रुख भएको सडक छेउको आधा किलोमिटर क्षेत्रमा ब्लक बिछ्याएर सडकलाई फराकिलो बनाएको छ । पर्यटकले त्यसलाई ‘टिकटक रोड’ नाम दिएका छन् । इलामको कन्याम, श्रीअन्तु, माइपोखरीलगायत पर्यटकीयस्थल जाँदै गरेका व्यक्ति गुलमोहरको सौन्दर्यबाट मोहित बन्ने गरेका छन् ।
यहाँबाट एक किलोमिटर उत्तर बुद्धशान्तिकै वडा नं ६ मा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल रहेको छ । झोलुङ्गे पुल हेर्न जानेसमेत बाटैमा रहेको गुलमोहरको सौन्दर्यको आनन्द लिन भुल्दैनन् । गुलमोहरले आकर्षित गर्दा यहाँका सवारीसाधनहरुमा यात्रुको चाप बढाएका छ ।