Category: स्थानीय

  • चितवनको कान्दामा दुई घण्टा बोकेर पुर्याइयो हाते ट्रयाक्टर

    चितवनको कान्दामा दुई घण्टा बोकेर पुर्याइयो हाते ट्रयाक्टर

    २८ वैशाख, भरतपुर । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्याएका छन् । पहिलोपटक बारी जोत्ने ट्रयाक्टर पुग्दा उनीहरु दङ्ग छन् । मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङ गाउँमै हाते ट्रयाक्टर आइपुग्दा सबै स्थानीय खुसी भएको बताए । उनले भने, “युवाहरु श्रम गर्न बाहिर जाँदा गाउँमा बुढाबुढी र बालबालिकामात्र रहनुपर्ने अवस्था छ, गोरु पाल्ने परम्परा पनि घट्दै जाँदा खेतबारी बाँझै हुने अवस्था थियो । अब हाते ट्रयाक्टरले जोत्न पाउँदा सहज हुने भयो ।”

    राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा चितवनको सबैभन्दा विकट ठाउँ पनि हो । अहिलेसम्म विद्युतीकरणसमेत नभएको कान्दा पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै दुई घण्टा गाडीको यात्रा गरेपछि भञ्ज्याङ पुगिन्छ । त्यहाँबाट झण्डै दुई घण्टा हिँडेपछि मात्र कान्दा पुग्न सकिन्छ । उनीहरूले शनिबार बोकेरै हाते ट्रयाक्टर कान्दा पुर्याएका हुन् । हाते ट्रयाक्टर बोक्न सबै गाउँले उपस्थित भएका थिए । यस ठाउँमा १५ वर्षअघि जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो ।

    त्यसपश्चात यस ठाउँमा विभिन्न सङ्घसंस्थाको सहयोगमा रुपान्तरणका काम भइरहेका छन् । जङ्गली कन्दमूल खाएर जीवनयापन गर्दै आएका यहाँका चेपाङ समुदाय पछिल्लो समयमा आफैँ कृषि पेसा गरेर जीविकोपार्जन गर्दै आएका छन् । कृषि पेसालाई व्यावसायिक बनाउन सहयोग गर्न यस हाते ट्रयाक्टरले धेरै सहयोग पुग्ने विश्वास अध्यक्ष सीताबहादुरको छ ।

    स्थानीय किसान कृष्णबहादुर प्रजाले गाउँमा पहिलोपटक ट्रयाक्टर देख्न पाउँदा नयाँ युगमा प्रवेश गरेको अनुभूति गरेको बताए । उनले सबै कुराले पछाडि परेको कान्दालाई राज्यले ध्यान दिन नसकेको गुनासो गरे कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरको सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा विकट कान्दामा हाते ट्रयाक्टर पुगेको हो । पैसठ्ठी घर रहेका कान्दामा मितेरी कृषक समूहमार्फत किसान एकीकृत भएर कृषि पेसा गरिरहेका छन् । यस्तै सोही ठाउँको कान्देश्वरी आधारभूत विद्यालयको छात्राबासको जग्गामा पनि कृषिखेती गरिएको छ ।

    त्यहाँ उत्पादन भएको तरकारी र अन्न छात्राबासमा बसोबास गरेर अध्ययन गर्ने चेपाङ बालबालिकालाई खुवाउने गरिएको छ । हाते ट्रयाक्टर कृषक समूह र छात्राबास दुवैका लागि प्रयोगमा ल्याइने कान्देश्वरी आधारभूत विद्यालयका प्राधानाध्यापक बालकृष्ण थपलियाले बताए । उनले यहाँका किसानलाई हाते ट्रयाक्टर उपलब्ध भएपछि बारी जोत्न र उत्पादन बढाउन सहयोग मिल्ने बताए । “कृषि उत्पादनसँग यहाँ अध्ययनरत चेपाङ बालबालिकालाई जोड्ने गरेका छौँ”, उनले भने, “बालबालिकाकै माध्यमबाट अभिभावकहरू पनि यसतर्फ आकर्षित भइरहनुभएको छ ।”

    सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले पछाडि परेका चेपाङ समुदायलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले राज्य र निजी क्षेत्रको सहकार्य र सहयोगबाट नै चेपाङ समुदायमा रुपान्तरण ल्याउन सकिने बताए । कान्दामा लामो समयदेखि काम गरिहेको मितेरी फाउन्डेसनका अध्यक्ष तथा पत्रकार रमेशकुमार पौडेलले हाते ट्रयाक्टर पुर्याउनका लागि सहजीकरण गर्नुभएको थियो । उहाँले चेपाङ समुदायले लामो समयदेखि परम्परागत कृषि प्रणालीबाट खेती गरिरहेकाले व्यावसायिकताका लागि सहजता ल्याउन किसानको अवस्था देखेर हाते ट्रयाक्टर उपलब्धताका लागि पहल गरिएको बताए ।

    “किसानले चाहना गरे पनि आर्थिक अवस्थाले भ्याउने थिएन, अनुदानको ट्रयाक्टरमा पनि ५० प्रतिशत रकम जुटाउन नसकेपछि सहयोगी हात खोजेका हौँ”, उनले भने, यहाँका चेपाङ समुदायको जीवनस्तर कृषिमार्फत सुधार्न सकिने भन्दै त्यसका लागि राज्यका निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ । यहाँका किसानले मकै, कोदो, फापर र तरकारीखेती गर्दै आएका छन् । हावापानीका दृष्टिकोणले चिसो मौसम रहेको यस ठाउँमा मौसमअनुसारका फलफूलखेती गर्न सकिन्छ ।
    राससबाट

  • टिपर दुुर्घटनामा चालकको मृत्यु

    टिपर दुुर्घटनामा चालकको मृत्यु

    २८ वैशाख, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ‘टिपर’ उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा ‘टिपर’ करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।

    गत चैत ३१ गते मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र बालुवा ‘अनलोड’ गर्न ‘टिपर’ ‘ब्याक’ गर्ने क्रममा बा२क ३४६४ नम्बरको ‘टिपर’ डिलबाट सात मिटर तल खसेर दुर्घटना हुँदा ३१ वर्षीय चालक विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो ।

  • ६ महिनापछि घर फर्किए टिंकरवासी

    ६ महिनापछि घर फर्किए टिंकरवासी

    नरेन्द्रसिंह कार्की/रासस

    २७ वैशाख, दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन् । गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन् । गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनःफर्किएका छन् । “छ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ”, स्थानीय जसपाल तिंकरीले भने, “भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन् ।” छ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँपुगेपछि चहलपहल बढेको छ ।

    टिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन । स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन् । वडा नम्बर १ का वडा सदस्य एवं टिंकरका स्थानीय हितेश बुढाथोकीले भने, “आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ ।” आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरेको स्थानीयको गुनासो छ । राज्यले समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो ।

    सरकारले विशेष अनुदानअन्तर्गत चालू आर्थिक वर्षमा रु पाँच करोड ५० लाख बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेन । यद्यपी गाउँपालिकाले यसै साता मात्र निर्माण कम्पनी छनोट गरेको छ । यो पटक आफ्नै भूमि भएर गाउँ जाने सपना बुनेका व्यासीहरू अन्ततः भारतकै भूमि भएर गाउँ फर्किनुपरेको बुढाथोकी बताउँछन् ।

    उनी भन्छन्, “कहिलेकाही आफ्नै सरकारप्रति हिनताबोध हुन्छ ।” विसं २०७७ जेठ ७ गते सरकारले चुच्चे नक्सा जारी गर्दा स्थानीय निकै खुसी थिए । “भूगोल नआए पनि नक्सामा हाम्रो भन्ने अधिकार पाएको महसुस ग¥यौँ”, जसमल बुढाथोकीले सुनाए । “तर नक्सा पाएका नागरिकको लागि पैदलबाटो बनाउन सरकारले यतिका वर्ष लगाउँदैछ । सडक सपना त अझै धेरै टाढाको छ ।”

    नक्साजारी भएपछि एकपटक सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्‍यो । नागरिकमा एक प्रकारको खुसी महसुस छायो । तर विस्तारै ती सबै सपना जस्तै लाग्न थालेको स्थानीय दानसिंह तिंकरीको बुझाइ छ । उती बेला राज्यका माथिल्लो निकायबाट भएको भ्रमण हेर्दा व्याससम्म सडक चाडै पुग्ने विश्वास थियो । यहाँका बासिन्दा वर्षको आधा समय खलङ्गामा र बाँकी समय टिंकरमा बस्ने गर्छन् ।

    उनीहरूको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ । कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइसराइ हो । तीन हजार तीन सय मिटर उचाइमा अवस्थित यस गाउँमा ६ फिटभन्दा बढी हिउँ पर्ने हुँदा हिउँदमा बस्न सकिँदैन दानसिंह भन्छन् । चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलङ्गातिर सर्छन् ।

    चिसो मौसम भएका कारण छ महिनागाउँ सुनसान हुन्छ । घरका ढोकामा चाबी लगाइएको हुन्छ । दानसिंहले थपे, “अहिलेसम्म गाउँमा चोरी भएको घटना छैन । यो सबै भगवान्को देन हो ।” हामीहरूको संस्कृति, परम्परा र पूजापाठमा गहिरो आस्था छ । यही कारण कोही नहुँदा पनि हाम्रो खाद्यान्न, घर सुरक्षित नै रहेको हुन्छ । स्थानीयको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडिबुटी सङ्कलन हो । यहाँ फापर, उवा, काकनु, आलु गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ । उनीहरू गाई, चौरी, खच्चड, घोडा, बाख्रा पाल्छन् । अहिले गाउँपुगेपछि स्थानीय आलु फापर, गहुँ, छर्ने तयारीमा छन् ।

    चीनसँगको व्यापार खुला हुँदा तिब्बतसँग किनमेल गर्थे । पछिल्लो समय भने चीनबाट खाद्यान्न आउन रोकिएको छ । नेपालमा मात्रै बसोबास गर्ने व्यासी सौका समुदायको मात्रै यहाँ बसोबास हुन्छ । परम्परागत घरले सुन्दरता दिएको छ । टिंकर प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ । फुलेका मनमोहक फूल, घर नजिकै देखिने नाउर जस्ता वन्यजन्तु, अपि हिमाललगायत हिमशृङ्खला, सुदूरहिमाली जीवनशैलीले यहाँलाई विशेष बनाउँछ । सौका समुदायले आफ्नै भाषा ‘रङ्ग’ बोल्छन् ।

    व्याँस गाउँपालिका–१ कातिंकरबासीहरू वर्षको करिब ६ महिना गाउँमा बसोबास गर्छन् । सो अवधिमा स्वास्थ्य चौकी नहुँदा उनीहरू सामान्य रोग लाग्दा पनि भारतीय सुरक्षाकर्मी समक्ष धाउनुपर्छ या आफैँले खलङ्गाबाट बोकेर लिएको औषधि प्रयोग गर्न बाध्य छन् । “सामान्य टाउको दुख्दा औषधि हुँदैन, स्थानीय जसमल बुढाथोकी भने, “ज्येष्ठ नागरिक बिरामी हुँदा अकालमै ज्यान गुमाउनुको विकल्प छैन ।” धेरैले सिटामोल, दमलगायत औषधि खलङ्गाबाटै आफूसँगै बोकेर लिने गर्छन् । उनीहरूको भाषामा आफ्नै स्वास्थ्यकर्मी आफैँ बिरामी जस्तै हो ।

    व्यास १ को छाङ्गरूमा स्वास्थ्य चौकी छ । तर तिंकर गाउँबाट छांगरू आउजाउ गर्न पाँच घण्टा बढी समय लाग्छ । गाउँमा युवा कमै बस्छन् । विरामी हुँदा बोक्न पनि मुस्किल पर्छ । पढाई र रोजगारीको सिलसिलामा गाउँभन्दा बाहिर युवा हुँदा गाउँमा कुनै अप्ठ्यारो पर्दा समस्या हुने गर्छ । “पहिले त कोही बिरामी हुँदा चार पाँच दिनपछि खबर पाउने अवस्था थियो”, बुढाथोकीले भन्नुभयो, “गतवर्षदेखि ल्याण्डलाइन र नेपाल टेलिकमको टु जीफोन सञ्चालन भएपछि सहज भएको छ ।”

    चिसोका कारण बिरामी पर्ने जोखिम उच्च छ, तर यस क्षेत्रमा राज्यको ध्यान कम गएको देखिन्छ । सर्वसाधारण मात्र होइन यहाँका सुरक्षाकर्मीले बोेकरै औषधि लिनुपर्छ । वडा सचिव विनोदसिंह बुढाथोकीका अनुसार तिंकरमा तीन–चार वर्षअघि निर्माण थालिएको स्वास्थ्य भवन अझै पूरा हुन सकेको छैन । उनले भने,“समयमै बजेट नआउँदा स्वास्थ्य संस्था सञ्चालनमा आउन सकेको छैन ।” पञ्चायतकालमा टिंकर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो । बहुदल आएपछि त्यो बाटो बन्द भयो । गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले जहिल्यै आफ्नै गाउँ फर्किन भारतीय भूमि र भारतीय अनुमतिको भर पर्नुपरेको छ ।

    व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामी भन्छन्, “व्यास गाउँपालिका–१ को छाङ्गरू टिंकर जोड्ने गरी पटकपटक बजेट नगएको भने होइन । तर नियमन निकायको अभाव भयो । बजेटको सही प्रयोग हुन नसक्दा यो बाटो कहिल्यै बनेन् । तत्कालीन जिल्ला विकास समिति, गाउँविकास समितिमार्फत बजेट राख्यो । विसं २०७४ मा स्थानीय सरकार बनेपछि गाउँपालिकाले लगानी ग¥यो । गतवर्ष बाटो मर्मत सम्भारमा करोड खर्च भयो । तर बाटोको अवस्था उस्ताको उस्तै छ ।

    विगतमा केही ठाउँमा भारतीय सडक निर्माणको क्रममा नेपालतिरको बाटो अवरूद्ध भएको स्थानीयवासी बताउँछन् । ठाउँठाउँमा भारतले महाकाली नदी किनारैकिनार सडक लाँदा ड्याम बाधिएर नेपालतर्फको बाटो क्षति हुन पुगेको छ । केही ठाउँमा पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । तम्बाकुलगायत क्षेत्रमा नेपालतिर नदीले पूरै कटान गरेपछि पूर्णरूपमा बाटो बन्दभएको वडाध्यक्ष योगेश बोहरा बताए । नेपालतिर बाटो नबनेकै कारण व्यासका नागरिक मात्र होइन, व्यासमा कार्यरत सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म, इलाका प्रहरी कार्यालय छाङ्गरू, बिओपी तिंकर तथा सीमा चौकी तिंकरी प्रहरीलगायतले भारतकै बाटोको भर पर्नुपरेको छ ।

    दार्चुलाको टिंकर क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीको बसाइ अधिकतम छ महिनासम्म मात्र हुने गरेको छ । चिसो मौसमका कारण सुरक्षाकर्मीहरू स्थानीय जस्तै बसाइ सर्नुपर्ने अवस्था आइपरेको हो । स्थानीयको कुञ्चागाउँ पुग्ने बेला सशस्त्र प्रहरी टिंकर उक्लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति डिएसपी लीलीबहादुर चन्दले बताए । अहिले सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाबाट सशस्त्र प्रहरी निरीक्षक अनिल शाहीको नेतृत्वमा सशस्त्र प्रहरी टिंकरमा खटिएको हो । उनीहरू भारतीय बाटो हुँदै टिंकरको छायालेक बीओपी पुगेका हुन् ।

    दुई वर्षदेखि टिंकरको छायालेकमा सशस्त्र प्रहरी बस्न थालेको हो । व्यासकै छाङ्गरूमा गुल्म रहेको छ । चुच्चे नक्सा जारी भएसँगै यहाँ सुरक्षाकर्मी राखिएको हो । छाङ्गरूमा सशस्त्र प्रहरी र नेपाल प्रहरी वर्षभरि नै बस्ने गर्छन् । नेपाल प्रहरी भने एक दुई दिनभित्र टिंकर उक्लिने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्र रावतले बताए । अहिले नेपाल र भारत दुवैतर्फबाट अनुमति पत्र बनाउने काम भइरहेको उनको भनाइ छ ।

  • ध्यान गर्न प्रभुुचेलामा बनाइयो पूर्वाधार

    ध्यान गर्न प्रभुुचेलामा बनाइयो पूर्वाधार

    रासस
    २७ वैशाख, म्याग्दी । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा गण्डकी प्रदेश सरकार र समुदायको रु एक करोडभन्दा बढी लगानी पूर्वाधार निर्माण भएको छ । परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको हो । प्रदेश सरकारको रु ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार तथा समुदायले चन्दा सङ्कलन गरेर जुटाएको रु २८ लाखले तपस्यास्थलका लागि स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर निर्माण भएको प्रभुचेला धुरी प्रवर्द्धन समाजले जनाएको छ ।

    विभिन्न दाताहरूले व्यक्तिगत लगानीमा परापूर्वकालमा ऋषिमुनीहरूले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षणका साथै मन्दिर र खानेपानी निर्माण गरिएको समाजका अध्यक्ष टीकाबहादुर जुग्जालीले बताए । मालिका गाउँपालिकाको सहयोगमा सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको छ । पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुनःनिर्माण गरेका छन् । छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन् । रुपलाल पुनको संयोजकत्वमा स्व मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र ट्याङ्की निर्माण भएको छ ।

    परापूर्वकालमा ऋषिमुुनीहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण थालिएको थियो । वस्तीदेखि टाढा र जङ्गलको बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि उपयुक्त मानिएको छ । पूर्वाधार निर्माण भएपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकलाई सहज भएको प्रभुुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमान गर्बुजाले बताए । प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनीहरूका लागि तपस्यास्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरू आउने गर्दथे ।

    स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए । कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरी र गुर्जा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । समुन्द्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारीसाधनमा ३० मिनेटमा पुगिन्छ ।

  • पहिलेको चरिचरन-अब पर्यटकीय गन्तव्य

    पहिलेको चरिचरन-अब पर्यटकीय गन्तव्य

    राष्ट्रिय समाचार समिति (रासस)

    २७ वैशाख, बागलुङ । एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र चिन्दथे । पशुचौयाया चराउने र घाँस दाउरा लिन पुग्ने हाँडिकोटमा अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । घना जङ्गलको बीचमा रहेको अग्लो पहाड हाँडिकोट टापु एकाएक चर्चामा आउन थालेपछि पदयात्रामा आउनेका लागि उपयुक्त गन्तव्य बन्न थालेको हो । समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाडमा अहिले गोठाला जान छोडे तर आन्तरिक पर्यटक पुग्न थालेका छन् । हाँडिकोट पुग्नका लागि डाँडाखानी र ब्याडथलाबाट दुवैतर्फबाट पदमार्ग निर्माण भएपछि पदयात्रामार्फत त्यहाँ पुग्ने पर्यटकहरू आकर्षति भएका हुन् ।

    डाँडाखानीबाट झण्डै चार किमी पदमार्ग र ब्याडथलाबाट तीन किलोमिटर परम्परागत पदमार्ग निर्माणपछि त्यहाँ पुग्ने पर्यटकलाई सहज भएको छ । पूर्वाधार र प्रचारप्रसारका कारण ऐतिहासिक तथा पशुपालन किसानको चरिचरनस्थल हाँडिकोट टापु पुग्ने आन्तरिक पर्यटकहरू बढिरहेका छन् । बागलुङको गलकोट दुदिलाभाटीबाट तस्बिर कैद गर्नका लागि हाँडिकोट पुग्नुभएको राम खत्रीले यहाँबाट देखिने मनोरम दृश्यले लोभाएको बताए । डाँडाखानीबाट एक घण्टको पैदलयात्रामा हाँडिकोट पुगेका खत्री फर्कंदा ब्याडथलाको पदमार्ग प्रयोग गरेको बताउँछन् । उनले सूर्योदय हेर्न, गुराँसको वन हेर्न र दर्जनाँै हिमाल हेर्नका लागि हाँडिकोट उपयुक्त गन्तव्य रहेको बताए । यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसँगै दर्जर्नौ हिमऋङ्खला देख्न सकिन्छ ।

    “फोटो भिडियो खिच्न रूची राखेर पैदलयात्रामार्फत पर्यटकीय स्थाल पुग्ने गरेको छु, हाँडिकोड पछिल्लो समय चर्चामा आएको गन्तव्य रहेछ, पदयात्रामा रूची राख्ने र प्रकृतिसँग रमाउनेका लागि हाँडिकोट उपयुक्त गन्तव्य लाग्यो, बिहानै आउने पर्यटकका लागि सूर्योदयले मनै लोभ्याउनछ, कोलाहलपूर्ण वातावरणबाट अलग्गै बस्नका लागि हाँडिकोट पृथक गन्तव्य रहेछ”, खत्रीले भने, “यहाँबाट देखिने जैमिनीका अधिकांश गाउँ, हिमालहरूले मनै लोभ्यायो, पहिलाको पशु चरिचरन अहिले पर्यटकीयस्थल भएछ ।” हाँडिकोट पुग्नका लागि पछिल्लो समय सडक मार्ग पु¥याइएको छ । जैमिनी नगरपालिकाले नगरको पर्यटकीय गन्तव्यमा जैमिनी धामपछि हाँडीकोट टापुलाई लिएर पूर्वाधार निर्माणमा तीव्रता दिएको जनाएको छ ।

    धार्मिक तथा ऐतिहासिक महत्त्वको रूपमा रहेको हाँडिकोटका थुपै्र विशेषता रहेका छन् । जसमध्ये सूर्योदय र सूर्यास्त पर्यटकलाई लोभ्याउने माध्यम बनेको छ । बागलुङको जैमिनी नगरपालिकामा रहेको हाँडिकोट टापुबाट देखिने मनोरम दृश्यहरू आन्तरिक पर्यटकलाई साच्चिकै लोभ्याउने खालको छ । जैमिनी नगरपालिका–१० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको शिरमा रहेको हाँडिकोट टापु पछिल्लो बन्दोबस्तीका सामानसहित त्यही रात बिताउन जाने गरेका छन् ।

    पदमार्गको पहुँच विस्तारपछि र प्रचारप्रसारका कारण हाँडिकोटमा आन्तरिक पर्यटक आउन थालेकोे राङ्खानीका स्थानीय लालबहादुर पुनले बताए। उनले बाख्राभैँसी चराउन जाने हाँडिकोटमा अहिले पर्यटक आउने गरेको बताए । हाँडिकोटमा पुग्ने पदमार्ग, मन्दिर, सत्तल तथा भ्यू टावरलगायत संरचनामा करिब ७५ लाख खर्च भइसकेको जैमिनी नगरपालिकाले जनाएको छ । त्यहाँ भ्यू टावरले पूर्णता र खानेपानीको बन्दोबस्त हुन बाँकी रहेको छ । हाँडिकोट टापुबाट तल बाँदलले ढाकेका पहाडहरू देख्दा हाँडिकोटले त्यहाँ पु¥याउने पर्यटकहरूलाई लोभ्याउने गरेको छ ।

    बाइसे चौबिसे राजाका पालामा रहेको दरबारका भग्नावशेषसमेत हाँडिकोटमा पाउन सकिन्छ । समथर भुभाग, राजदरबारका भग्नावशेष, मन्दिर, कुटी, पोखरी र शीला सुसज्जित हाँडिकोट पुगेर सूर्योदय हेर्ने र तस्बिर खिचाउन बागलुङ बजार, पर्वत, म्याग्दी र पोखराबाट पर्यटकहरू आउने गरेका छन् । हाँडिकोट पुग्नलाई सडक मार्ग, दुई तर्फबाट पदमार्ग, विश्रामस्थल, सत्तल, दृश्यावलोकन स्तम्भ, शिव मन्दिर, कुटी, मञ्च, खेल मैदान, टल्कने शिला संरक्षणलगायतका थुप्रै पर्यटकीय पूर्वाधार सतिह ७५ लाखभन्दा बढी लगानी भइसकेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

    हाँडिकोटको प्रचारप्रसारका लागि हाँडिकोट महोत्सव गरिँदै आएको छ । हाँडिकोटमा २०७७ साल यता पूर्वाधार निर्माणले तीव्रता पाएको हो । हाँडिकोट बाइसे चौबिसे राज्यका पालामा भुरेटाकुरे राजा रजौटाहरूले राज्य गरेको स्थान हो । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका जाँतो, ओखललगायत सामग्री अहिले जीवित रहेका छन् । हाँडिकोट टापु पुग्नका लागि सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटर यात्रामा व्याडथला र डाँडाखानी पुग्न सकिन्छ भने त्यहाँबाट पैदलयात्रा र सडक यात्रा दुवैमार्फत टापुमा पुगिन्छ ।

  • सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न

    सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न

    २७ वैशाख, काठमाडौं । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ ।

    विसं २०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनी ऊर्र्जा कम्पनी लिमिटेडबाट एक हजार ५०० सयभन्दा बढि संस्थापक लगानीकर्ता यस आयोजनाका मालिक भएको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिए ।


    विसं २०७७ सालमा निर्माण सुरुवात गरेको आयोजनाको निर्माणकार्य सम्पन्न भई मिति २०८१ कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत् खरिद गर्न सुरु गरेको छ । आयोजना सञ्चालनमा आएपछि हालसम्म हरेक महिना विद्युत् खरिद सम्झौतामा तोकिएभन्दा राम्रो ऊर्र्जा उत्पादन भइरहेको आयोजनाले जनाएको छ । सेतीनदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सवस्टेसनसम्म १३२ केभी क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

    झण्डै रु छ अर्ब लगानी रहेको यस आयोजनाबाट उत्पादित बिजुलीबाट सुरुको वर्षमा वार्षिक रू ८७ करोड आम्दानी गर्नेछ । आयोजनामा एनएमबि बैङ्कको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैङ्कको ऋण लगानी रहको छ । आयोजनाका लागि बैङ्ककातर्फबाट तत्कालिन अवस्थामा अनुमानीत कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापक लगानीकर्ताको स्वपूजी लगानी रहेको छ ।

    कम्पनीले आज यहाँ एक उद्घाटन समारोहको आयोजना गरेको थियो । कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायतले ऊर्जा उत्पादनमा भिजन लुम्बिनीले स्थापना गरेको मानक उदाहरणीय रहेको बताए ।

  • बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    २६ वैशाख, सिन्धुपाल्चोक । जिल्लाको लिसंखु पाखर गाउँपालिका–१, निङ्गाले बागखोरस्थित मुडे–मेलुङ सडकखण्डमा आज साँझ यात्रुबाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, दोलखाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दोलखा मेलुङ गाउँपालिका–३ निवासी २३ वर्षीय सुरेश रसाइली गम्भीर घाइते भएका थिए ।

    उनलाई उपचारका लागि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पु(याइएको थियो । अस्पताल पु¥याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालक दोलखा कालिञ्चोक गाउँपालिका–६ निवासी २३ वर्षीय माधवबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सुन्दरबजारबाट बसाइँसराइ गर्नेको लर्को

    सुन्दरबजारबाट बसाइँसराइ गर्नेको लर्को

    २५ वैशाख, लमजुङ । जिल्लाको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका एक सय ९८ जना यहाँबाट अन्यत्र बसाइँ सरेका हुन् । नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआइएस अपरेटर सन्तोष पोख्रेलले गत आवमा २८ परिवारका ९३ जना बसाइँ सरेकामा चालु आवको चैतसम्म त्यो सङ्ख्या दोब्बरले बढेको जानकारी दिए । उनका अनुसार नगरभित्र पनि अन्यत्रबाट बसाइँसराइ गरी आउनेको सङ्ख्या बढेको छ । गत आवमा १३ परिवारका २७ जना सुन्दरबजार आएका थिए भने चालु आवको चैत मसान्तसम्म ३९ परिवारका एक सय २० जना नगरमा बसाइँसराइ गरी आएका पोख्रेलले उल्लेख गरे ।

    एघार वडा रहेको सुन्दरबजार नगरपालिकाका केही वडामा बजार विस्तार तीव्र गतिमा भइरहेका छन् भने केही वडा अझै ग्रामीण र दुर्गम अवस्थामा छन् । ग्रामीण वडाबाट बजार क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दो रहेको पोख्रेलले बताए । बजार क्षेत्रबाट ठूला सहरतर्फ बसाइँसराइको गति तुलनात्मक रूपमा केही कम रहेको उनको भनाइ छ। चालु आर्थिक वर्षमा सबैभन्दा बढी सुन्दरबजार–३ बाट १४ परिवारका ४१ जना र सबैभन्दा कम वडा नं ५ र १० बाट दुई(दुई परिवारका छ(छ जना बसाइँ सरेका पोख्रेलले जानकारी दिए ।


    बसाइँसराइ बढ्नुका मुख्य कारण शिक्षा, स्वास्थ्य, रोजगारी र लगानीको खोजी रहेका नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विवेककुमार पण्डितले बताए । “बसाइँसराइ रोक्ने स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्नु, प्राविधिक शिक्षालय सञ्चालन तथा लगानीको वातावरण बनाउनेतर्फ पालिकाको प्राथमिकता हुनुपर्छ”, उनले भने । नगरप्रमुख कृष्णप्रसाद कोइरालाले सुन्दरबजारबाट बाहिरिनेको सङ्ख्या भित्रिनेको भन्दा बढी हुनु नगरका लागि चिन्ताको विषय बनेको बताए ।

    उनले भने, “पालिकाले रोजगारी तथा सेवा प्रवाह सहज हुने कार्यक्रम लागू गरिरहेको छ । बसाइँसराइको कारण पहिचान गरी समाधानको उपाय अवलम्बन गर्दै अगाडि बढ्नेछौँ ।” उनका अनुसार आर्थिक सम्पन्नता, शिक्षा, स्वास्थ्य उपचार, रोजगारी, व्यापार व्यवसाय, पारिवारिक सम्पर्कलगायत विविध कारणले नगरवासी ठूला सहरतिर बसाइँ सरिरहेका छन् ।

    राससको सहयोगमा

  • अमेरिकामा विश्वप्रसिद्ध नेपाली नेत्र चिकित्सकसँग अन्तरक्रियाको अवसर

    अमेरिकामा विश्वप्रसिद्ध नेपाली नेत्र चिकित्सकसँग अन्तरक्रियाको अवसर

    बिष्णु सिंह, न्युयोर्क

    नेपाललाई आँखा उपचार क्षेत्रमा विश्वस्तरमा चिनाउने डा. सन्दुक रूईत मे १७ मा भर्जिनिया आउने भएको छ । यस अवसरमा उहाँसँग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया, र हेटौंडामा निर्माणाधीन Tilganga IOL Expansion Project को जानकारी लिन सकिने यो एउटा महत्वपूर्ण अवसर हो। स्थान: 3901 Rugby Rd, Fairfax, समय: 2pm – 5 pm, May 17th , 2025.

    अहिले हेटौंडामा निर्माणाधीन Tilganga IOL Expansion Project चलिरहेको छ। यो परियोजना नेपालीको दृष्टिविहीनता अन्त्य गर्न र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नवप्रवर्तनको केन्द्र बनाउने महान उद्देश्यमा केन्द्रित छ। मानवतावादी सोचबाट सिर्जित यो कार्यक्रम नेपालको महत्वपुर्ण कार्यक्रम हो। यो नेपाली सबैको साझा कार्यक्रम हो। यसलाई सफल बनाएर नेपालीले आत्म गौरब गर्न सक्छन।
    त्यसैले उहाँसँग प्रत्यक्ष भेटघाट गरि अन्तरक्रिया, प्रेरणादायी सम्बोधन, र सहभागिता जनाएर सबै दानी-दाताहरू, स्वास्थ्यकर्मीहरू, समाजसेवीहरू, र आम सर्वसाधाणले नेपालमा आफ्नो योगदान गर्न सकिन्छ।

  • बसको ठक्करबाट तीनकुनेमा युवतीको मृत्यु, तीन घाइते

    बसको ठक्करबाट तीनकुनेमा युवतीको मृत्यु, तीन घाइते

    २५ वैशाख, काठमाडौं । पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बरको बसले तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीय नगिना तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए

    । मोटरसाइकल चालक रामेछापको दोरम्बाका २७ वर्षीय पदम थापामगर, भ्यानका चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्की, ठक्कर दिने बसमा सवार दोलखा गौरीशङ्करकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते भएका छन् । प्रहरीले बस चालक रामकुमार खड्का, भ्यान र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

  • गोरु पाल्ने १७८ किसानलाई दिइयो पोषणभत्ता

    गोरु पाल्ने १७८ किसानलाई दिइयो पोषणभत्ता

    २५ वैशाख, गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो । परम्परागत तरिकाले खेतबारी जोत्न प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रु आठ लाख ९० हजार पोषणभत्ता सोझै किसानको हातमा पु¥याइएको अध्यक्ष राजु थापाले बताए ।


    उनले गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरेर १७८ जनालाई रु पाँच हजारका दरले पोषणभत्ता प्रदान गरिएको बताए । हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएका थियौँ, हाल १७८ किसानले लाभ उठाउनुभएको छ । पालिकाले गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउनका लागि पहिलो पटक यो कार्यक्रम ल्याएको हो”, अध्यक्ष थापाले भने, “गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिन्छ, दूध उत्पादन गर्ने किसानले प्रतिलिटर रु साढे दुईका दरले अनुदानसमेत पाएका छन्भने वडास्तरमा माइनर ल्याब स्थापना गरी पशु सेवा दिइएको छ ।”

    आधुनिकताको नाममा मिनी टिलर हलो वितरण हुन थालेपछि परम्परागत गोरुपालक किसानलाई समस्यामा परेको महसुसपछि यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । “विभिन्न स्थानीय तहमा कृषिमा आधुनिकीकरणका नाममा मिनी टिलर हलो वितरण गर्ने लहडै चलेको तर हामीले गाउँ–गाउँमा परम्परागतखेती गर्नका लागि हलगोरु नै उपयुक्त देखेका छौँ । कृषिमा मलमूत्रको प्रयोग अपरिहार्य रहेकाले किसानलाई प्रोत्साहन गर्न यो अभियान सुरु गरेका हौँ”, अध्यक्ष थापाले भने ।


    गाउँपालिका पशु शाखा प्रमुख होमबहादुर थापा गोरु पाल्दा वातावरणमा सकारात्मक प्रभाव पर्ने भएकाले यसलाई जोगाइ राख्नुपर्ने आवश्यकता देख्छन् । त्यसैकारण पालिका आफैँले यो अभियानको सुरुआत गनले बताए । गाउँपालिका–७ रेशका गोरुपालक किसान डम्मरबहादुर थापाले गोरु पाल्ने किसानले पहिलोपटक सहयोग पाउँदा सम्मानको महसुस गरेको बताए । उनले रेशमा आफूजस्ता हलगोरु पाल्ने पाँच जना किसानले अनुदान पाएको बताए ।

    काठेखोला गाउँपालिकाले किसानलाई प्रोत्साहनका लागि दूधमा समेत अनुदान दिन थालेको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिए । किसानलाई निःशुल्क रूपमा पशुलाई औषधि वितरण र ९२ वटा गाईभैँसीको नस्ल सुधारका लागि कृत्रिम गर्भाधान गराइएको उनले बताए । पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रममार्फत अनुदान र पशुपक्षी फार्म यन्त्रिकीकरणमा सहयोग गरिरहेको छ ।

  • विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा

    विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा

    २५ वैशाख, जुम्ला । गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत्विहीन भएका छन् । यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा समस्या भएको स्थानीय परेक ऐडीले जानकारी दिए । गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ तर मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ ।

    बिजुली अभावले बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी–पिसानी मिल र स्थानीय फर्निचर उद्योगलगायतमा असर परेको स्थानीय गणेश ऐडीले बताए । आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको बताए । गुठीचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि स्थानीय सरकारले रु तीन लाख विनियोजन गरिएको र आवश्यक परे थप बजेटको व्यवस्थापन गरिने बताए । अब चाँडै विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम हुने उनको भनाइ छ ।

  • भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

    भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

    रमेश गिरी/रासस

    २४ वैशाख, भक्तपुर । सूर्यविनायक नगरपालिका–९ काँक्राबारी रातोमाटेको कहाली लाग्दो अग्लो घिसिङ डाँडा । डाँडासँगै जोडिएका झपक्कै हरिया सामुदायिक वन । एक महिना अगाडिसम्म सानो बस्ती देखिन्थो तर अहिले जङ्गलको मुहानबाट स्थानीयले खानेपानीका लागि ल्याएका धारा, हरिया जङ्गल उराठ देखिन थालेका छन् । यहाँको दृश्य देख्दा त्यहाँ पुग्ने जोकोही सच्चा नेपालीको मन कटक्क खान्छ । तर एक महिनादेखि दुई दर्जन डोजरले यहाँको प्रकृति दोहोन गरिँदा नजिकैको स्थानीय सरकारदेखि, डिभिजन वन कार्यालय र जिल्लाका सबै सरोकारवाला निकाय बेखबर झै भए । जैविक विविधता र प्रकृतिमाथि दोहोन भइरह्यो ।

    यतिखेर यहाँको करिब चार सय ५० रोपनी ठारो भीर डोजरले कटान गरी उजाड बनाएको छ । निक भुजिकिक हाउजिङ प्रालिले जग्गा खण्डिकरण गरी आवास निर्माणका लागि भन्दै स्थानीय लामा बस्तीका बासिन्दासँग खरिद गरेको जग्गामा डोजर मात्रै चलाएन यहाँको प्रकृति, कुलो, सार्वजनिक बाटो, सानो लामा बस्ती, सार्वजनिक जग्गा र वन क्षेत्रसमेत मासेको छ ।

    स्थानीयले गुनासो गरेसँगैभक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी गण दुवाकोटका प्रहरी उपरीक्षक, नापी कार्यालय, उपत्यका विकास प्राधिकरण भक्तपुर शाखा, डिभिजन वन कार्यालय, सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख, वडा अध्यक्ष र पत्रकारको टोलीसहित स्थलगत अनुगमन गरेको छ ।

    प्रजिअ अर्यालले भने, “यहाँ प्रक्रिया पूरा गरेर काम गरेको देखिएन, सम्बन्धित निकायसँग अनुमति नलइ नआधिकृत रूपमा डोजर चलाएको पाइयो । त्यसैले सार्वजनिक जग्गा, वन क्षेत्र कति अतिक्रमण भएका छन्, सबैको आधिकारिक प्रतिवेदन तयार पार्नेछौँ । गैरकानुनी भए हामी कारबाही गर्छौँ । प्रक्रिया पूरा गरेर नआएसम्मका लागि आजैदेखि यहाँ डोजर चलाउन र काम गर्न रोक्न निर्देशन गर्नेछु ।”

    यस क्षेत्रमा समस्या अइसकेपछि यहाँका विषयतगत कार्यालयसँग छलफल गरी यथार्थ विवरण लिने र कम्पनीलाई बोलाएर सोधपुछ गर्ने बताउँदै उहाँले सार्वजनिक जग्गा र वन क्षेत्र छुट्याएर सम्पूर्ण प्रक्रिया पूरा गरेर नआएसम्मका लागि कुनै पनि काम नगर्न कम्पनीका नाममा आजै लिखित पत्राचार गर्ने उनले बताए । स्थानीयले साविक नंखेल गाविस वडा नं–४ ‘क’ र ‘ख’ मा पर्ने उक्त क्षेत्रमा प्लटिङका नाममा जङ्गल क्षेत्र, खानेपानीको मूल, पाटी, कुलो, बाटो, पाइपलाइन, खोलालगायत संरचना मासिएको र जोखिममा रहेका ६ घर लामा टोलका घरहरू भत्काएर बस्ती सारिएको छ । सुनपा–९ का वडाध्यक्ष भगवान् खत्रीले जग्गा प्लटिङ कम्पनीले दुई महिना अगाडि सार्वजनिक सुनुवाइ गर्दा यहाँका स्थानीयवासी, चार वटा गुठीसमेतको सहमति भएपछि मात्रै वडा कार्यालयले सूर्यविनायक नगरपालिकालाई सिफारिस गरेको बताए ।


    उनले भने, “यसअघि म आउँदा सार्वजनिक जग्गा र वन क्षेत्र मिचिएको थिएन, तर अहिले आउँदा १२ रोपनी सार्वजनिक जग्गा र १९ रोपनी वन क्षेत्र मिचिएको पाइयो ।” अनुगमन टोलीमै रहनुभएका सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले नगपालिकाले उपत्यका विकास प्राधिकरणलाई सिफारिसम्म दिने बताउँदै यसलाई स्वीकृत दिने निकाय नगरपालिका नभइ प्राधिकरण भएको बताए । उनले भने, “नगरपालिकामा जग्गा सम्याउने भनेर कम्पनीको तर्फबाट निवेदन आएको थियो । नगरपालिकाले अनुमति दिइसकेको छैन । साइड क्लिरियन्सको नाममा स्वीकृत नै नलिइ धेरै काम भइसके छ । यहाँको बस्ती नै हटेछ, हामी पनि छक्क परेका छौँ । अब थप काम अगाडि बढाउन पाइँदैन ।”

    काठमाडौँ उपत्यका विकास प्राधिकरण भक्तपुर शाखाका प्रमुख सफल श्रेष्ठले ५० रोपनीभन्दा माथिको जग्गा प्लानिङका लागि प्राधिकरणको केन्द्रीय कार्यालयसँग अनुमति लिनुपर्ने भएकाले यसबारेमा जिल्ला कार्यालयलाई कुनै जानकारी नभएको बताए । डिभिजन वन कार्यालयका कर्मचारी दिनेश थापामगरले नापी कार्यालयको टोली बोलाएर वन क्षेत्र छुट्याएर किला ठोके पनि करिब १९ रोपनी वन क्षेत्रफलमा डोजर चलाएको बताउँदै यहाँको सल्लाको रूख कटान भएको बताए । काँक्रबारी भित्री सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण तामाङले सामुदायिक वनको करिब १९ रोपनी क्षेत्रफलमा रहेको बुट्यान र सल्लाका रूख कटान भएको बताउँदै यहाँबाट गढी जाने पदमार्ग, घाँस दाउरा गर्न जाने बाटोे, कुलो र पानीको पाइप मासिएको बताए ।

    नापी कार्यालयका सर्वेक्षक राजीव श्रेष्ठले नापी कार्यालय सिमाङ्कनसम्म गरिदिने बताउँदै भूउपयोग नियमावली बमोजिम कित्ताकाट गरेर राजीनामा लिखित गरी मालपोतबाट आएपछि मात्रै नापीले काम गर्ने बताए । सङ्घर्ष समिति अध्यक्ष स्थानीयले प्रेमबहादुर तामाङ, उपाध्यक्ष एकराज तामाङ, सचिव सुनिल तामाङ डोङलगायतले एक महिनासम्म डोजर चलेर प्रकृति विनाश भइरहँदा पनि सरोकारवाला मौन बस्नुको रहस्य खोज्नुपर्ने बताए ।

    समितिका अध्यक्ष तामाङले यहाँका करिब ६० घरधुरीले प्रयोग गर्दै आएको खानेपानी बन्द भएको, २० रोपनीभन्दा बढी वन तथा सार्वजनिक जग्गा अतिक्रमणमा परेको बताए । हाउजिङ कम्पनीका अध्यक्ष पूर्णबहादुर लिम्बूले भने कम्पनीमाथि लागेको आरोप निराधार भएको दाबी गरे । उनले प्रेस विज्ञप्ति नै जारी गर्दै वडा कार्यालयबाट सिफारिस प्राप्त भई नगरपालिकामा फाइल पेस गरी नगरपालिकाबाट निर्णयको अन्तिम चरणमा रहेको, आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया पूरा गरी सम्बन्धित सरकारी निकायबाट स्वीकृति प्राप्त गरिसकिएको दाबी गरे ।


    माटोको गुणस्तर परीक्षण गरिएको, खहरे खोल्सीहरूको हकमा पानीको बहावमापन तयार गरिएको, आयोजना क्षेत्रभित्र पर्ने सरकारी जग्गा, गोरेटो, कुलो खोल्सीको हकमा उपत्यका विकास प्राधिकरणको नियमअनुसार नै सार्वजनिक सम्पत्तिको संरक्षण गरिने, प्राधिकरणबाट निर्णय प्रक्रियाको चरणमा रहेको बताए । कम्पनीले पहिलो चरणमा करिब रू एक अर्ब लगानीमा चार सय रोपनी क्षेत्रमा प्लटिङ आयोजना सञ्चालनमा रहेको बताइएको छ ।

  • बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

    बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

    २४ वैशाख, नेपालगञ्ज । बाँकेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका– १ कुसुमस्थित सौरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको र मोटरसाइकल चालक एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे ९ प ६४२८ नं को मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको बा ०१–०६ ख ३५९३ नं को बसले ठक्कर दिँदा राप्ती सोनारी गाउँपालिका–९ ढकेरी निवासी ३२ वर्षीय सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । सो दुर्घटनामा मोटरसाइकल चालक ढकेरीका ३७ वर्षीय हीरासिंह ओली गम्भीर घाइते भएको उनले बताए ।

    घाइते ओलीलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु(याएर उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनापछि करिब ढेड घण्टा पूर्व–पश्चिम राजमार्गको ढकेरी खण्ड अवरुद्ध भएको थियो । स्थानीयसँग क्षतिपूर्तिका विषयमा बिहीबार छलफल गरेर टुङ्गो लगाउने सहमति गरी शव परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ ।

  • केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने

    केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने

    २४ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए ।

    भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए । “आन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र सूचना आदानप्रदानलगायतका विषयमा कुराकानी भएको छ”, प्रवक्ता तिवारीले भने, “सीमानाकादेखि विमानस्थलसम्मको सुरक्षा व्यवस्थामा विशेष निगरानीसहित चुस्तदुरुस्त बनाउने, राष्ट्रिय तथा आन्तरिक सुरक्षा व्यवस्था सुनिश्चित तुल्याउने, सम्भावित चुनौतीको सामना गर्नेलगायत समसामयिक विषयमा बैठकमा छलफल भएको छ ।”

  • काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

    काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

    २४ वैशाख, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौँ फर्काइएको छ । स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई फर्काइएको हो । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरु काठमाडौँस्थित कपनबाट आएकाले उतै फर्काइएको जानकारी दिए । उनका अनुसार प्रहरी, वडाध्यक्ष मोहनप्रसाद लामिछाने तथा स्थानीयको रोहबरमा फिर्ता पठाइएको हो ।

    यसअघि विसं २०७६ माघमा पनौती नगरपालिका–३ कुशादेवीमा १० परिवारका १३ बालबालिकासहित ३४ रोहिङ्ग्या शरणार्थीले टहरा बनाएर बसेका थिए । एक सय ४० जना शरणार्थी बस्नेगरी टहरा बनाउन लागेको अवस्थामा स्थानीयले अवरोध गरेपछि उनीहरु उक्त ठाउँ छाडेर लसुनटार फर्किएका थिए । काठमाडाँैको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रका टोलमा म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् । ती दुई स्थानमा करिब १४ रोपनी जमिनमा करिब ४०० शरणार्थी रहेको अनुमान गरिएको छ ।

  • नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

    नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

    २४ वैशाख, काठमाडौं । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् । पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका नायब महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए ।

    धनुषाको जटही सीमा क्षेत्रमा खटिनुभएका प्रहरी नायब उपरीक्षक प्रमोद रायले भने, “हामीले सुरक्षा सतर्कता बढाएका छौँ । भारत–पाकिस्तानबीचको तनाव हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी सतर्क छौँ ।” विशेषगरी नयाँ अनुहार र शङ्कास्पद गतिविधि भएका व्यक्तिमाथि निगरानी गरिरहेको उनको भनाइ छ ।

    स्थानीयले दैनिक जीवनमा असर परेको बताउँदै चाँडो समाधानको अपेक्षा गरेका छन् । सिमाना आसपासका बजार पनि प्रभावित भएको छ । सीमावर्ती सुरक्षाकर्मी र प्रशासनले स्थानीयवासीलाई संयमता अपनाउन आग्रह गरेको धनुषा प्रहरी प्रमुख नरहरि रेग्मीले बताए । त्यसैगरी छिमेकी मुलुक भारत र पाकिस्तानबीच बढ्दै गएको तनावलाई लिएर रुपन्देहीका सीमामा पनि निगरानी बढाइएको छ ।

    जिल्लाको मूल नाका बेलहियासँगै सहायक नाका लुम्बिनी, भगवान्पुरलगायतका नाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ । बेलहिया नाकामा भने तालिम प्राप्त कुकुरहरु डेजी र सायाबाट ‘डग स्निफिङ’ गराएर मात्र नेपाल प्रवेश गर्न दिइएको छ । सीमाबाट हुनसक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ ‘डग हेण्डलर’सहित यसअघि नै पठाएको ‘डेजी’ र ‘साया’ लाई बेलहिया सीमा नाकामा खटाइएको हो ।

    ‘डेजी’ र ‘साया’ तालिम प्राप्त कुकुर हुन् । तीन महिनाको हुँदा भारतबाट खरिद गरेर ल्याइएको जर्मन सेफर्ड प्रजातिको ‘डेजी’ ले हातहतियार तथा विष्फोटक पदार्थका सामग्री सुँघेर पत्ता लगाउनमा अब्बल छ भने नेपालमै जन्मिएको ल्याब्राडोर प्रजातिको ‘साया’ लागुऔषध प्रकृतिका साम्रगी सुँघेर पत्ता लगाउनमा अनुभवी रहेको प्रहरीले जनाएको छ ।

    पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल ९एसएसपी०सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त रुपमा गस्ती र खबर आदानप्रदानलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए ।

    यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहनेगरी पट्रोलिङ गरिएको छ । अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयहरुले सोहीअनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेको थापाले बताए ।

    सीमा इलाकामा आवश्यकताअनुसार आवतजावत गर्नेको परिचयपत्र जाँच गरेर अभिलेख राख्ने र निगरानी एवं जाँच तथा सुक्ष्म रुपमा खबर सङ्कलन गरिराखेको उनले बताए । सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेगरी वारपार गर्नेलाई कडा निगरानी गरिएको हो ।

  • वाथरुममा लडेर प्रचण्ड सामान्य घाइते

    वाथरुममा लडेर प्रचण्ड सामान्य घाइते


    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेर उनी घाइते भएको स्रोतलाइ उदृत गर्दै नेपाली संचारमाध्यमले पुष्टि गरेका छन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ ।

    राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् ।
    स्रोतले भन्यो, ‘टाउको टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’

  • वामपन्थी नेता प्रदीप नेपालको निधन

    वामपन्थी नेता प्रदीप नेपालको निधन


    काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए ।

    केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो । उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि बनेका थिए । नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए । उनको आजै दाहसंस्कार गरिँदैछ ।

  • रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

    रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

    २३ वैशाख, रामपुर । घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार छन् । बिहान उज्यालो भएदेखि साँझ अबेरसम्म घार वरिपरि नै बस्न मन पराउने जयनारायण न्यौपाने अहिले भने घार देख्दा विक्षिप्त छन् । मौरीघार उनलाई आम्दानीको स्रोतमात्र नभई दिन बिताउने माध्यम बनेको थियो । घारसँग रमाउँदै दिन कटाउने उनलाई घार देख्दा मन भारी भएर आउँछ । रामपुर नगरपालिका–६ किसानटोलका किसान न्यौपाने घारमा रहेका मौरी मरेर सखाप भएपछि उनी चिन्तित छन् ।


    एक्कासी मौरी मरेपछि उनलाई व्यवसाय निल्नु न ओकल्नुजस्तै बनेको छ । बगैँचामा मौरीसँगै भुलेर दिन कटाउन पाउँदा समय बितेको पत्तो हुँदैनथ्यो । यसरी नै मौरीको रेखदेख गरेर समय बिताउने गरे पनि हिजोआज भने मौरी बगैँचामा पस्न पटक्कै मन छैन । मौरीका रित्ता घार देख्दा उनको मन विक्षिप्त बनेको छ । “बगैँचाभरि मौरीको हेरचाह गरेर समयको गएको पत्तो हँुदैनथ्यो, अहिले मौरी सबै मासिएपछि घरमा दिन कटाउन गाह्रो भएको छ”, उनले भने, “हिजोका दिन खाना खाने समयबाहेक बगैँचामा नै बसेर दिन बिताउँथे, घरमा कोही आफन्त, साथीभाइ, इष्टमित्र आए पनि बगैँचातिर डुलाउँथे, अहिले बगैँचाभित्र पस्न पनि मन छैन, मौरीघार रित्ता देख्दा मन खिन्न भएर आउँछ ।”

    छिमेकीले बालीनालीमा विषादी छरेका कारण फार्ममा भएका मौरी मरेर करिब रु सात लाख बराबरको नोक्सानी व्यहोर्नुपरेको उनी बताउँछन् । विषादीले ८५ गोलाघारमा तयार गरिएको मौरी सबै क्षति हुन पुगेको उनले सुनाए । विसं २०५५ देखि ‘न्यौपाने मौरी उद्योग’ स्थापना गरेर मौरी उद्योग सञ्चालन गर्दै आउनुभएका न्यौपानेले पहिलोपटक ठूलो क्षति व्यहोर्नुपरेको जनाएका छन् । यस वर्ष उहाँ ६० घार गोलासहित मौरी बिक्री गर्ने तयारीमा थिए ।


    विभिन्न ठाउँबाट मौरी तयार हुनुअगावै माग आइसकेको थियो । तर पठाउने तयारी गरिरहेको अवस्थामा एक्कासी मौरी सबै नष्ट हुनपुगेको छ । “छिमेकीले खेतबारीमा विषादी छर्कँदा मौरीमा ठूलो क्षति पुगेको छ, व्यवसायका क्रममा पहिलोपटक यस्तो क्षति भोग्नुपरेको छ, घारमा राखिएका मौरी मरेपछि बगैँचामा फर्कन मन छैन, रित्ता घार देखेर मन खिन्न बनेको छ”, उनले भने ।


    बगैँचामा पसेर मौरीको हेरचाह, स्याहार गरेर उनले आफ्नो समय बिताउाथे । मौरी नै जीवन जिउने साहारा थियो । बुढेसकालको साहारा र नयाँ पुस्तालाई मौरीपालन व्यवसायबारे जानकारी दिन आफ्नै घरमा व्यवसाय चलाएका थिए । उनी उमेरले करिब आठ दशक भए पनि फूर्तिलो बनेर मौरीसँग रमाए । मौरीसँग उनको एक किसिमको गहिरो मायाप्रेम नै बसेको छ । गत फागुनको पहिलो हप्ताबाट विषादीका कारण मौरी मर्न थालेको उनले बताए ।


    लामो समयदेखि यस व्यवसाय सञ्चालन गर्दै आउनुभएका न्यौपानेले जीवनकालमै यस्तो महामारीका रूपमा क्षति भोग्नुपरेको सुनाए ।आफ्ना अभिभावक गुमाउँदाभन्दा बढी पीडावोध भएको दुःखेसो उनले व्यक्त गरे । “मौरीको प्रागसेनले बाली बिरुवालाई राम्रो बनाउँछ, चरनका लागि मौरी बिहान ३ः३० बजे नै निस्केर ९ः०० बजे घारमा आएर बस्छन्, बिहानको समयमा बालीबिरुवामा विषादी छर्कँदालगत्तै चर्न जाने भएकाले रस सेवनले मौरी मासिएको छ, साँझ ५ः०० बजेपछि विषादी प्रयोग गरेको भए कम क्षति हुन्थ्यो”, उले भने ।


    मह बिक्रीबाट न्यौपानेले वार्षिक रु पाँच लाखदेखि छ लाखसम्म आम्दानी गर्दै आएका छन्, भने सरदरमा ८० गोलासहितको घार बिक्री गर्दै आएको उनले बताए । गोलासहित एक घारको रु नौ हजार, खाली घारलाई रु पाँच हजारमा बिक्री भइरहेको छ । गोलासहित बिक्री गर्दा व्यवसायीलाई फाइदा हुने गरेको उनको अनुभव छ ।

    पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, गुल्मी, झापालगायत विभिन्न जिल्लामा यहाँबाट मौरी तथा घार पठाउने गरिएको छ । उद्योगमा नै मौरीघार तयार पारिने भएको हुँदा विभिन्न जिल्लाबाट घार खरिद गर्न आउने गरेका छन् । मौरीलाई जोगाउन स्थानीय निकायबाट किसानलाई चेतनामूलक कार्यक्रम ल्याउन उनको माग छ । मौरीपालन क्षेत्र अध्ययन गरेर कुन समयमा विषादी छर्कँदा उपयुक्त हुन्छ, त्यसबारेमा किसानलाई सुसूचित गराउन पूर्वजानकारी दिइयो भने किसानले पनि उपयुक्त समयमा विषादी प्रयोग गर्ने उनको भनाई छ ।

    राससबाट

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    २३ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • खोलामा डुबेर दुई किशोरको मृत्यु

    खोलामा डुबेर दुई किशोरको मृत्यु

    २२ वैशाख, मध्यविन्दु । गैँडाकोट नगरपालिका–३ केलादीमा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । स्थानीय जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । घटना सोमबारको हो ।

    मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र भरतपुर–४ धर्मचोकका १६ वर्षीय शिशिर पन्त छन् । साथीहरूसँग जुक्तिखोलामा पौडी खेल्न गएका किशोर डुबेर बेपत्ता भएकामा प्रहरी टोलीले खोजी गर्दा दुवै जनाको शव फेला परेको हो ।

  • कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु

    कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु

    २१ वैशाख, चन्द्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत यहाँको चन्द्रपुर–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु भएको छ । आज हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा६च ३५२६ नंको कारले निजगढतर्फ जाँदै गरेको ना३प ९५१२ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

    कारको ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका–३ मलाहीटोल बस्ने ६० वर्षीय बलिराम सहनी घाइते भएकामा स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

    यसैगरी, मोटरसाइकल पछाडि सवार मृतक सहनीकी ४० वर्षीया छोरी उर्मिलादेवी सहनीको सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल बारा पठाएको थियो । उहाँको पनि उपचारकै क्रममा मृत्यु भएको हो । ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएको र मृतकको शवपरीक्षण गरी आफन्तलाई बुझाइए प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

  • गैरआवासीय नेपालीको समेत लगानी रहेको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

    गैरआवासीय नेपालीको समेत लगानी रहेको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

    २१ वैशाख, बेनी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिए ।

    उनका अनुसार, बाँध, सुरुङ, विद्युत्गृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ । विद्युत्गृहमा टर्बाइनलगायतका मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको उनले बताए । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारणमा जोड्नका लागि आठ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ । आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।

    कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेनस्टक पाइप हुँदै ल्याइने पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । यस आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरुङ र छ सय ३४ मिटर पेनस्टक टनेल रहेको छ । गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ ।

    रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर÷त्रिपल एस जेभीले ठेक्का लिएको थियो भने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो ।

  • आजको मौसम : देशका विभिन्न भेगमा वर्षा

    आजको मौसम : देशका विभिन्न भेगमा वर्षा

    २१ वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । देशका हिमाली एवम् पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने मशाशाखाले जनाएको छ । देशको पहाडी भागका केही स्थान र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • कालीगण्डकी तर्न साँघुको भर

    कालीगण्डकी तर्न साँघुको भर

    १९ वैशाख, मुस्ताङ । थासाङ गाउँपालिका–२ का कोवाङ, लार्जुङ र खन्ती गाउँ राष्ट्रिय राजमार्गसँग जोडिँदासोही वडाका सौरु र सिरकुङ कालीगण्डकीका कारण अगम्य भएका छन् । चालीस परिवारको बसोबास रहेको सौरु र सिरकुङका मान्छेको जीविकोपार्जनको स्रोत कृषि र पशुपालन हो । कालीगण्डमा पुल नहँुदा उनीहरुलाई आफ्ना उत्पादन स्याउ, उवा, फापर, जौ, सिमी, बोडी र सागसब्जी बजार पु¥याउन समस्या छ ।

    याकचौँरी र बाख्रापालन गर्दै आएका सौरु र सिरकुङका गाउँले हिउँदमा अस्थायी साँघुबाट नदी तर्छन् तर वर्षायाममा तीन घण्टाभन्दा बढी पैदल कोखेठाटीको बाटोबाट राजमार्गमा पुग्नुपर्ने बाध्यता छ । बर्खामा वडा र गाउँपालिका कार्यालय, माध्यमिक तहका विद्यार्थीलाई विद्यालय पुग्न र स्वास्थ्य सेवा प्राप्त गर्न सास्ती भएको सौरुका सोजन हीराचनले बताए ।

    सङ्घीय व्यवस्था प्रारम्भ हुनुअघि साविक जिल्ला विकास समितिले पनि सौरु र सिरकुङलाई राजमार्गसँग जोड्न कालीगण्डकीमा पुल बनाउने प्रयास नगरेको होइन । स्थानीयको सहयोगमा बनाइएको पुलको आरसिसी पिल्लर बाढीले पुरेपछि हालसम्म पुल बन्ने लक्षण नदेखिएको उनको गुनासो छ ।

    विक्रम सम्वत् २०७७ साल ३० वैशाखमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालले ५७० मिटर लामो सस्पेन्सन पुलको योजना अघि बढायो । इलाइट रुविना कन्ट्रक्सनसँग रु पाँच करोडमा ठेक्का सम्झौता भएको सस्पेन्सन पुलको काम हाल अलपत्र परेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए ।

  • छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर लागे

    छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर लागे

    १८ वैशाख, गोरखा । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए । “कतिपय हिँडिसके, कतिपय जाने तयारीमा छन्”, उनले भने, “मौसम बिग्रिएर दुःख दिइरहेको छ ।” चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकमा उच्च गुणस्तरको यार्सागुम्बा पाइन्छ । यसलाई उत्तरी गोरखाका बासिन्दाको प्रमुख आम्दानीको स्रोत मानिन्छ । चुमनुब्रीको वडा नं ३ र धार्चे गाउँपालिकाको वडा नं ३ का लेकमा पनि यार्सागुम्बा पाइन्छ ।

    छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न वैशाखको पहिलो सातादेखि नै लेकतिर जान थालेका निवर्तमान वडाध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन् । “स्थानीय जान त गएका छन्, तर लेकमा अझै हिउँ जमिरहेको छ”, उनले भने, “यो वर्ष हिउँ ढिला प¥यो, लेक गएका पनि हिउँ पन्छ्याउँदै होलान् ।” वैशाख लागेपछि लेक गएकाहरू असारतिर मात्र फर्कने गर्छन् । स्थानीय बासिन्दाले करिब दुई–अढाइ महिनालाई पुग्ने गरी याक–चौंरीलाई रासनपानी तथा लत्ताकपडा बोकेर लैजान्छन् ।

    यार्साको मोसम सुरु भएपछि अधिकांशले घरमा ढोका लगाएर जहान परिवार, घरपालुवा पशुचौपाया सबै लेकमै लिएर जान्छन् । “लेकमा अस्थायी क्याम्प बनाउँछन्, बालबच्चा पनि लेकमै लान्छन्, याक, चौंरी पनि लेकमै लान्छन्”, लामा पासाङ भन्नुहुन्छ, “कसै–कसैका घरमा हिँड्न नसक्ने बुढाबुढी छन् भने रोङ्बा (तल्लो भेगका मान्छे)लाई घर कुरुवा राखेर आफू सबै लेकमै जान्छन् ।”

    यहाँका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बाबाट हुने कमाइ हो । उनीहरुले यार्सागुम्बा बेचेर रु दुई लाखदेखि चार लाखसम्म कमाउने गर्दछन् । “अचेल लेकमा किरा पाउनै छोड्यो, दिनभरि खोज्दा एउटा, दुईटा मात्र पाइन्छ”, छिरिङ फुञ्जो भन्छन्, “अब केही वर्षपछि त त्यही पनि पाउन छोड्छ होला ।” यार्सागुम्बा सङ्कलनका लागि प्रत्येक घरले स्थानीयस्तरको समितिलाई रु ५०० र पालिकाका लागि रु ५०० तिर्नुपर्ने व्यवस्था छ ।

  • पर्सामा रातको १० बजेपछि ‘डिजे’ बजाउन प्रतिबन्ध

    पर्सामा रातको १० बजेपछि ‘डिजे’ बजाउन प्रतिबन्ध

    १८ वैशाख, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकको स्वास्थ्य र दैनिकीसमेत प्रभावित हुनेगरी विवाह, व्रतबन्ध तथा धार्मिक÷सांस्कृतिक कार्यक्रममा प्रयोग हुने डिजेलगायत उपकरण प्रयोगलाई निरुत्साहित गर्नका लागि अनुरोध गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बुधबार बसेको बैठकले ध्वनि प्रदूषणका गतिविधि निरुत्साहित गर्नका लागि आह्वान गरेको हो । “सांस्कृतिक कार्यक्रमहरूमा गरिने आतसबाजी र पटाकाको प्रयोगलाई पूर्ण रूपले प्रतिबन्ध लगाउने निर्णय भएको छ”, उनले भने, “यो निर्णयविरुद्ध कार्य गर्ने÷गराउनेलाई कानुनको दायरामा ल्याइनेछ । सीमावर्ती क्षेत्रबाट हुने पटाका, डिजेलगायतका उपकरणको प्रवेशलाई कडाइका साथ नियमन गरिनेछ ।”

    बैठकले होटल, क्याटरिङ र पार्टी प्यालेसमा प्रयोग गरिने डिजेलगायतका उपकरणको प्रयोगलाई रातको १०ः०० बजेपश्चात् पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ । प्रशासनले विवाह, व्रतबन्ध तथा धार्मिक÷सांस्कृतिक कार्यक्रमको बुकिङ गर्दा सम्बन्धित होटल÷पार्टी प्यालेसले आयोजकसँग डिजे, पटाकाको प्रयोगलाई पूर्ण बन्देज लगाइएको विषय खुलाई सो बेहोराको सहमतिपत्रमा हस्ताक्षर गराएर मात्र बुकिङ गर्ने निर्णय गरेको प्रजिअ अर्यालले जानकारी दिए ।
    साथै, यस क्षेत्रका व्यवसायीहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व र बक्यौता रकम नियमित रूपमा बुझाउने र सोको सूक्ष्म अनुगमन गरी कारबाहीको दायरामा ल्याउने पनि निर्णय भएको छ । जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले ऐन कानुनविपरीत पटाका तथा आतसबाजी गर्नेलाई विस्फोटक पदार्थ ऐनबमोजिम कारबाहीको दायरामा ल्याइने जानकारी दिए । “सुरक्षा निकायले पनि निरन्तर अनुगमन गरेर कानुनविपरीत कार्य गर्नेलाई कानुनी दायरामा ल्याउनेछौँ”, उनले भने ।
    होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले विवाह तथा अन्य सांस्कृतिक कार्यक्रममा बजाइने डिजेलाई व्यवस्थित गर्न आवश्यक भएको बताए । यहाँका सिटी पार्टी प्यालेसका सञ्चालकहरूले बजाउनका लागि अनावश्यक दबाब आउने गरेकाले त्यस्ता गतिविधिलाई पनि निरुत्साहित गरिनुपर्नेमा जोड दिए ।

  • गुहेश्वरीमा एक महिला मृत फेला

    गुहेश्वरीमा एक महिला मृत फेला

    १७ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिका–८ गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक पेटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । उनले भने, “गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।”

  • आजको मौसम : लुम्बिनी प्रदेशको तराई भेगमा हुरी चल्ने पूर्वानुमान

    आजको मौसम : लुम्बिनी प्रदेशको तराई भेगमा हुरी चल्ने पूर्वानुमान

    १७ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ । महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

    कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।