Category: स्थानीय

  • डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

    डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

    १७ वैशाख, दिपायल । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए । बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन् । घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

  • नेपालीले दुखगरि पठाएको झिटीगुन्टामा नेपाल सरकारको भन्सारले दिएको पिडा

    नेपालीले दुखगरि पठाएको झिटीगुन्टामा नेपाल सरकारको भन्सारले दिएको पिडा

    • बिष्णु सिंह, न्युयोर्क

    नेपालीहरु आफ्नो देशमा अनेकन बिकृति, विसंगति, बेरोजगारी खप्न नसकेर आफ्नो जीवन धान्न र परिवारको पालन पोषणका लागि अनेक दुखकष्ट सहँदै प्राय संसारको सबै मुलुकमा रोजगारीका लागि पुगेका छन।

    तिनै नेपालीले बिदेशबाट दुख गरि कमाएको बिदेशी मुद्रा नेपालमा रेमिट्यान्स पठाएकोले नेपालका पहुचावालाहरुलाई बिदेसी गाडि, गाडीमा हाल्ने तेल, सुखसयलका समानहरु, बिदेशी उपचार, विदेश यात्रा, र अनेकन बिदेसी मुद्रा आवस्यक पर्ने कार्य गर्न सम्भव भएको छ।

    तर तिनै नेपालीले दुख गरि कमाएको रकमले अब आफ्नो बालबच्चा र परिवारलाई आवस्यक पर्ने केहि लत्ताकपडा, औषधि, जुत्ता, फोन, खानेकुरा यस्तै अन्य घरायशी समानहरु बिदेशबाट नेपाल पठाउन नेपाल सरकारको भन्सार कार्यालयले कठिन बनाईदिएको छ। उदाहरणको लागि साउदी अरबमा रोजगारीका लागि गएकी गंगामाया तामाङले कार्गोमार्फत बच्चाका लागि पठाएको ३९ किलो सामान एक महिनादेखि भन्सारमा रोकिएको छ ।

    व्यवसायीहरूको गुनासो:

    डिजी प्लस प्याक र शिप कार्गो कम्पनिका मालिक दावा आहोवा, न्युयोर्क अमेरिकाबाट नेपालमा कार्गो सामानको ओसारपसार गर्दछन।
    उनि भन्छन, “भन्सार कार्यालयको कडाइका कारण व्यक्तिगत रूपमा पठाइएका सामान महिनौँसम्म रोकिने अवस्था भएको छन्।” उनि भन्छन, “उता हाम्रो सामान कहिले आइपुग्छ भनेर ग्राहकहरू भनिरहनुभएको छ, यसको जवाफ दिनसक्ने अवस्था हामीसंग छैन। ” भन्सार कार्यालयले भने अनुसार जाँचपास गरेर लैजान समेत समस्या रहेको उनको भनाइ छ। भन्सार सम्बन्धी प्रस्ट कानुन नहुँदा हामि जस्ता साना व्यवसायी समस्यामा मात्रै पर्ने नभएर ग्राहकको विश्वास समेत गुमाउनु परेको छ । ग्राहकको थुप्रिएको समान देखाउदै उनले भने, “त्यसैले अहिले हाम्रो गोदाममा यति धेरै बक्स जम्मा भएका छन। हाम्रो राख्ने ठाऊ नै छैन। “

    विदेशबाट आउँदा व्यक्तिगत तथा घरायसी प्रयोजनका लागि ल्याइने निश्चित परिमाणका वस्तुलाई भन्सारले महसुल छुट दिने व्यवस्था गरेको छ । यस्तो सामानलाई झिटीगुन्टा भन्ने गरिन्छ ।

    बिगतमा व्यक्तिले आफै वा कार्गो तथा कुरियर सेवा प्रदान गर्ने कम्पनीमार्फत् पठाएको सामानलाई पनि झिटीगुन्टा सरह मानेर भन्सार छुट दिइँदै आएको थियो । तर, सोही माध्यमबाट व्यावसायिक सामान ल्याउँदा भने भन्सार महसुल लिएरमात्रै जाँचपास गरिँदै आएको थियो ।

    तर भन्सार कार्यालयको गत फागुन ११ को “व्यापार सहजीकरण” बैठकले कार्गो तथा कुरियरमार्फत् आउने व्यावसायिक सामानहरू समेत व्यक्तिगत प्रयोजनको भनेर घोषणा गर्ने प्रवृत्ति देखिएको भन्दै यसमा कडाइ गर्ने निर्णय गर्यो । अनि त्यसको भोलिपल्टदेखि भन्सार कार्यालयहरूले जाँचपास कडाइ गरे।

    अहिले कुरियर कम्पनि आफैले भन्सारबाट सामान छुटाएर ग्राहकको ठेगानामा पुर्याउन सक्दैनन्। कम्पनीले ग्राहकलाई सामानको रशिद दिन्छ। अनि ग्राहकले विमानस्थलको भन्सारमा गएर अनेक झमेला खपेर पनि सामान छुटाउन सकिरहेका छैनन्। यसले गर्दा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा दुई सय मेट्रिक टनभन्दा बढी सामान अड्किएको छ ।

    नेपालीहरुको सरकारप्रति आस्था र बिस्वास बढ्ने:
    अहिले विभागको नयाँ नेतृत्वमा महेश भट्टराई छन् भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुखमा दिलीप गौतम छन् । विभाग र कार्यालयमा नयाँ नेतृत्व आएपछि जाँचपासमा कडाइ हुन थालेको छ । महानिर्देशक भट्टराई झिटीगुन्टाको नाममा सरकारले दिएको राजस्व छुटलाई दुरुपयोग गर्दै व्यावसायिक सामान भित्र्याउने गरेको पाइएकाले यसलाई रोक्ने प्रयास गरिएको बताउँछन् ।

    अवस्य पनि सबै ब्यापारी दुधले नुहाएका छैनन्। तर केही गैर कानुनि कार्य गर्ने ब्यापारीको कारण बिदेशमा गएर दुखगरी आफ्नो देशको माया गरि कमाएको धन नेपालमा पठाउने नेपालीलाई दिएको केही सुबिधा पनि कटौति गर्नु कहाँको न्याय हुन्छ ? यो सरकारको लागि बिचारणीय छ। त्यसैले सरकारले दिदै आएको झिटीगुन्टा सहुलियत, कार्गो कम्पनीहरुले नै भन्सार छुटाई सहज तरिकाले ग्राहकको ठेगानामामा पुर्याउन सकेमात्र बिस्वभरिका नेपालीहरुको सरकारप्रति आस्था र बिस्वास बढ्ने छ।

  • पोखरीमा डुबेर दुई बालकको मृत्यु

    पोखरीमा डुबेर दुई बालकको मृत्यु

    १६ वैशाख, महेन्द्रनगर । महोत्तरीको मनरा शिसवा नगरपालिका–१ ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय विकेश सिंहका १० वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पथरघाटा लक्ष्मीपट्टी गाउँ निवासी रूपेश सिंहका ९ वर्षीय छोरा आयुषकुमार सिंहको आज डुबेर मृत्यु भएको हो ।

    आयुषकुमार आफ्नो आफन्तको घरमा आएका थिए । प्रहरीका अनुसार, पोखरीमा डुबेर अशक्त भएका उनीहरूको उपचारका लागि मनरा नगर अस्पताल लगिएको थियो तर उपचारका क्रममा दुवैको ज्यान गएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए ।

  • लुम्बिनीमा पर्यटक चढाउन किनिएका विद्युतीय सवारी प्रयोगविहित

    लुम्बिनीमा पर्यटक चढाउन किनिएका विद्युतीय सवारी प्रयोगविहित

    १६ वैशाख, लुम्बिनी । लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो । कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । जसले राज्यको सम्पत्तिमा असर पारेको छ । यही वैशाख १३ गते लु१झ ६९६ नं को विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ । विसं २०८० चैत २३ गते सोही भ्यानलाई अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको देखेर स्थानीयले प्रहरीलाई बुझाएका थिए । चालकसहित भ्यानमा सवार दुई जना कोषका पदाधिकारी वा कर्मचारी कोही थिएनन् ।

    कोषको सूचना शाखाका कर्मचारी राजन बस्नेतले उक्त सवारी अनधिकृत रूपमा चलाउँदा २०८० साल साउन १९ गते दुर्घटना भएको थियो भने भ्यान मर्मतका लागि रु २८ लाख खर्च लाग्ने प्राविधिकले जनाएका छन् । बस्नेतले चलाउनुभएको उक्त सवारीको ठक्करबाट लुम्बिनी सांस्कृतिक नगरपालिका–७ पक्डीहवाका ४० वर्षीय रविन्द्र यादव घाइते भएका थिए । साथै लु३१प १८६ नं को मोटरसाइकलमा ठूलो क्षति भएको उनको भनाइ छ । उनका अनुसार यहाँ लु१झ ६९४ नंको भ्यान पछाडितर्फ ठोक्किएको छ ।

    “ढोकामा ह्यान्डल गायब छ भने एउटा पाङ्ग्रा खोलिएको छ । लु१झ ६९५ नं भ्यानको चारवटै पाङ्ग्रा पञ्चर भएको छ । पाँचमध्ये चार बसको एसी बिग्रिएको छ । लु १झ ३८४ नम्बरको बसमा अगाडिको सिसा फुटेको छ”, उनले भने । एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिनइनर्जी योजनाबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारी कोषका नाममा विसं २०७९ जेठ १२ गते नामसारी भई आएका हुन् । विभिन्न दुर्घटनामा क्षतिग्रस्त भएका सवारीसाधन, तीनैमध्येबाट हुन् ।

    लुम्बिनीमा ल्याइएका १४ भ्यान र पाँच वटा विद्युतीय बस वातानुकूलीत, अपाङ्गता मैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ । एकपटक पूरा चार्ज गरेपछि चार सय किमी गुड्नसक्ने उक्त बस÷भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा पनि छ । अदालतले सेतोलाई हरियो नं प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न एक महिनाको समय सीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, “उक्त समय सीमा नाघीसक्यो, अवस्था जस्ताको त्यस्तै छ ।”

    “कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्यअनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौँ । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ”, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, “अब हरियो प्लेट बनाएर उद्देश्यअनुसारको प्रयोगमा ल्याइनेछ ।”

  • जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    १६ वैशाख, धनुषा । पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनुभयो ।

    साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ । जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ । सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ ।

    जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइन्छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ । सोहीदिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन कार्यक्रमसमेत गरिने उत्तराधिकारी दासले जानकारी दिए । उनका अनुसार जनकपुरधाममा जानकी जन्मोत्सव विशेष धुमधामका साथ मनाउन व्यापक तयारी गरिएको छ ।

  • दाउन्नेमा रातमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

    दाउन्नेमा रातमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

    १६ वैशाख, मध्यविन्दु । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ः०० देखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म आवागमन बन्द गरिने भएको हो ।

    “दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ”, उनले भने, “सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ ।” यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ः०० देखि ३ः०० बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए ।


    नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।

  • सङ्खुवासभामा चट्याङ लागेर सत्रवटा भैँसी मरे

    सङ्खुवासभामा चट्याङ लागेर सत्रवटा भैँसी मरे

    १५ वैशाख, किमााथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताए ।

    चट्याङ लागेर भैँसी मर्दा रू १० लाख बढीको क्षति भएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली आज घटनास्थलतर्फ लागेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पदैल दूरीमा पर्दछ । पछिल्लो केही दिनयता चट्याङका कारण मानवीय तथा अन्य भौतिक क्षति भइरहेको छ ।

  • अरुण नदीमा जीप खस्यो, तीन जना घाइते

    अरुण नदीमा जीप खस्यो, तीन जना घाइते

    १५ वैशाख, खाँदबारी । सङ्खुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङ्टारबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खस्दा तीन जना घाइते भएका छन् । प्रदेश १ ०२ ००२ च ४१०३ नम्बरको बलेरो जीप दुर्घटना हुँदा खाँदवारी नगरपालिका–९ का रमेश राई, मकालु गाउँपालिका–५ का चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ढोकरबहादुर पाण्डे घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले धर्मदेवी नगरपालिका–८ सूर्तिवारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएर नदीमा खसेको जानकारी आएको बताए । गाडी नदीमा डुबेकाले झिक्ने अवस्था नरहेको र घाइते तीनै जनाको उद्धार गरेर मनकामना अस्पताल तुम्लिङटारमा उपचार भइरहेको उनले जानकारी दिए ।

  • कास्कीमा चट्याङ लागेर दुई मजदुरको मृत्यु

    कास्कीमा चट्याङ लागेर दुई मजदुरको मृत्यु

    १५ वैशाख, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ ।

    घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबारनै घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शमाले बताए । उनले भने, “जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको छ । त्यहाँबाट पैदल पाँच घण्टाभन्दा बढी समय लाग्ने भएकाले दिउँसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुन्छ ।” नेपाल पर्यटन बोर्ड र गाउँपालिकाकाको संयुक्त लगानीमा पदमार्ग निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ ।

  • उपत्यकामा आइतबारबाटै वर्षा, अन्य स्थानको मौसम कस्तो ?

    उपत्यकामा आइतबारबाटै वर्षा, अन्य स्थानको मौसम कस्तो ?

    १५ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू(भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने कोशी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

  • पाल्पामा जिप दुर्घटना, तीनको मृत्यु, दुई घाइते

    पाल्पामा जिप दुर्घटना, तीनको मृत्यु, दुई घाइते

    १५ वैशाख, तानसेन । रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

    दुर्घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको र तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–१ सिद्धेश्वका ३६ वर्षे दीपेन्द्र बुढा, ३१ वर्षे चेतनारायण विक र २३ वर्षे जनक रेगामी छन् । घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट २०० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • राजविराजमा बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

    राजविराजमा बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

    १४ वैशाख, राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आज भएको बस दुर्घटना परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती, उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी २२ वर्षीया कविता चौधरी र झापाको गौरादह–२ का ३९ वर्षीय अनिल राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको बाहक बस अनियन्त्रित भइ सडकमा पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते मगरातीको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो । दुर्घटनामा सप्तकोशी–१ की २१ वर्षीया सुवेता दाहाल, सोही स्थानकी २६ वर्षीया चेतना भट्टाई, झापाका मनोज भट्टराई, सोही स्थानकी मिना भट्टराई, उदयपुरको चौडण्डीगढी नगरपालिका–५ की ५९ वर्षीया कमला भुसाल, नाम नखुलेका एक पुरुष गरी २९ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको कञ्चनरुप–१२ स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • महाकालीको चार लेन पुल पर्यटकीय गन्तब्य बन्दै

    महाकालीको चार लेन पुल पर्यटकीय गन्तब्य बन्दै

    १४ वैशाख, दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकाली चार लेन पुल पुग्ने गरेका छन् । पुल अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

    पुल अवलोकन गर्न आएका शुक्लाफाँटा नगरपालिका–१ का मदन रानाले सामाजिक सञ्जालबाट महाकाली पुलबारे थाहा पाएपछि परिवारसहित यहाँ घुम्न आएको बताउनुभयो । “फेसबुक र टिकटकमा धेरैले यहाँको फोटो÷भिडिओ राखेको देखेर मलाई पनि आउन मन लाग्यो”, उनले भने, “साँझका बेला यहाँ घुम्न अत्यन्त रमाइलो ठाउँ रहेछ ।” पछिल्लो समय यहाँ फोटो र भिडियो बनाउनेकोे भीड लाग्ने गर्छ । स्थानीयका अनुसार यहाँ छिमेकी मुलुक भारतबाट पनि पर्यटक आउने गरेका छन् ।

    पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी अमिर तिरुवा बताउँछन् । “यहाँ महेन्द्रनगर, भारतीय सीमावर्ती सहर र बाहिरी जिल्लाबाट पनि मानिस आउने गरेका छन्”, उनले भने, “पछिल्लो समय दोधारा चाँदनी झोलुङ्गे पुल जाने पर्यटक पनि यहाँ पुग्ने गरेका छन् ।” उनले यहाँ विभिन्न म्युजिक भिडियोसमेत छायाङ्कनका हुने गरेको बताए ।

    पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ । साँझका बेला सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्बिर कैद गर्न सकिने भएकाले पनि साँझको समय फोटो खिच्नेको भीड नै लाग्ने गरेको छ । विसं २०७४ देखि निर्माण सुरु भएको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि पुलसँगै बन्ने अन्य संरचना निर्माणाधीन अवस्थामा छन् ।

    पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गर्न लागेको छ । त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना छ । महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले पुलसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्न टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको जानकारी दिए ।

    “पुलको वारिपारि चारवटा पोखरी निर्माण हुन्छन्, त्यसमा टापु पनि छ, पर्यटकले बोटिङ गरेर त्यो टापुमा जान सक्छन् ।” उनले भने, “पोखरीसँगै हरियाली बनाउन पाँच हजार बिरुवा रोप्छौँ, यसले पर्यटक आकर्षित हुनेछन् ।” उनले पछिल्लो समय पुल अवलोकनका लागि दैनिक दुई–तीन सय जना पुग्ने गरेका बताए । महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलको उत्तरपट्टि एक वर्ग किलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुई गरी चारवटा पोखरी निर्माण हुँदैछन् । अहिले पोखरीका लागि बाँध बाँध्ने काम निर्माणाधीन अवस्थामा छ ।

  • प्रधानमन्त्री ओली लुम्बिनीमा, के छ कार्यक्रम ?

    प्रधानमन्त्री ओली लुम्बिनीमा, के छ कार्यक्रम ?

    १३ वैशाख, लुम्बिनी । लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गरे । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ । महोत्सवअन्तर्गत अन्तरराष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने महोत्सवको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ ।

    नेपाल र चीनबीचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित महोत्सव हुन लागेको हो । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् । महोत्सवमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । महोत्सवमा पाँच हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।

  • शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते

    शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते

    १३ वैशाख, झापा । काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।

    दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएका घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ । “म ड्राइभरको सिट पछाडि नै थिएँ”, घाइते शिक्षक भण्डारीले भने, “अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो । एक्कासि गाडी सडकबाट पल्टियो । मुस्किलले बाँचियो । गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकालेँ ।”

    बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको समेत उनले बताए ।

  • बारपाकमा गोरखा भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी

    बारपाकमा गोरखा भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी

    १२ वैशाख, गोरखा । गोरखा भूकम्पको १०औँ स्मृति दिवसको अवसरमा आज बारपाकमा ‘भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी’ गरिएको छ । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएको ७ दशमलव ८ म्याग्निच्यूडको विनाशकारी गोरखा भूकम्पको स्मृति दिवस पारेर पत्रकार प्रकाश तिमिल्सिनाको फोटो प्रदर्शन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो प्रदर्शनीको उद्घाटन गरे ।

    भूकम्पका बेला खिचिएका बारपाकका ६० वटा फोटो प्रदर्शनीमा राखिएको पत्रकार तिमिल्सिनाले जानकारी दिए । पूर्वप्रधानमन्त्री दाहालसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टलगायत स्थानीयबासीले प्रदर्शनी अवलोकन गरे । भूकम्पका कारण केन्द्रबिन्दु बारपाक गाउँमा मात्र ७२ जनाले ज्यान गुमाएका थिए ।

  • ताप्लेजुङमा बिजुलीको तारका कारण जीपमा लागलागी भएको घटना छानबिन गर्न समिति गठन

    ताप्लेजुङमा बिजुलीको तारका कारण जीपमा लागलागी भएको घटना छानबिन गर्न समिति गठन

    १२ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ । ८ वैशाखका दिन ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना१ज ३०११ नम्बरको बलेरो ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा भएको घटनाबारे छानबिन गर्न मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्य रहेका छन् । समितिलाई दुर्घटना कसरी, किन, र के कारणले भयो भन्ने विषयमा विस्तृत विवरण सङ्कलन गरी प्रतिवेदन तयार पार्न र यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू सुझाव स्वरूप पेस गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

  • बङ्गुर पालेर एक युवाले देखाएको नेपालमै स्वरोजगार र आत्मनिर्भरको बाटो

    बङ्गुर पालेर एक युवाले देखाएको नेपालमै स्वरोजगार र आत्मनिर्भरको बाटो

    १२ वैशाख, म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका छन् । मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बङ्गुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन् । “कुखुरापालनमा असफल भएपछि चार वर्षअघि रु १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपन्छी फार्म खोलेर बङ्गुर र बाख्रापालन सुरु गरेको थिएँ”, उनले भने, “कुखुरामा डुबेको थिएँ, बङ्गुर पालेर उठे ।”

    उनको फार्ममा हाल ५० वटा बङ्गुर र २० वटा बाख्रा छन् । मासु र पाठापाठीका लागि ल्याडरेस जातका बङ्गुर पालेका छन् । फार्ममा जमुनापारी र खरी जातका बाख्रा छन् । सापकोटाले प्रतिकिलो रु छ सयका दरले मासिक छ हजारदेखि सात हजार किलोग्राम बङ्गुरको मासु र प्रतिगोटा रु सात हजारका दरले वार्षिक तीन सय बङ्गुरका पाठापाठी बिक्री हुने बताए ।


    मासुको बिक्री गर्न सापकोटाले मङ्गला गाउँपालिका–२ बाबियाचौरमा मासु पसल पनि सञ्चालन गरेका छन् । बाबियाचौरका साथै मुस्ताङका होटलमा बङ्गुरको मासु खपत हुने गरेको छ । फार्ममा विमलसहित परिवारका थप चार जना सदस्यले रोजगारी पाएका छन् । बुबा तारानाथ सापकोटा, आमा चित्रकला र श्रीमती सुकमायाले विमललाई बङ्गुरपालनमा सघाउँछन् । “छिमेकी र आफन्तले बाहुनले बङ्गुर पाल्न हुँदैन भनेर सुझाएका थिए”, तारानाथले भने, “पहिले बङ्गुर नपाल्न सुझाव दिनेहरू अहिले व्यापार देखेर छक्क पर्छन् ।”

    सापकोटाको बङ्गुर फार्म व्यवस्थित र सफा छ । माउ, भाले, पाठापाठी राख्ने फरकफरक कोठा छन् । रोगबाट बचाउन फार्मको नियमित सरसफाइ गर्नुहुन्छ । फार्मको फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । सो फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा जिल्लामै पहिलोपटक गत चैतमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा बीर्यबाट कृत्रिम गर्भाधान गरिएको थियो । परियोजनाका साथै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र मङ्गला गाउँपालिकाको पशु सेवा शाखाले प्राविधिक सहयोग गरेका छन् ।

    सापकोटाको अनुभवमा महामारीजन्य रोगबाट बचाउनु बङ्गुरपालनको प्रमुख चुनौती हो । दाना आयात गरेर खुवाउनुपर्दा आम्दानीको ठूलो हिस्सा दानामा खर्च हुने गर्छ । बङ्गुरका पाठापाठी र मासुको माग बढेकाले फार्मको क्षमता विस्तार गर्ने उनको योजना छ । “घरव्यवहार र परिस्थितिका कारण कक्षा १० पढेपछि व्यवसायमा जोडिएको थिएँ”, उनले भने, “विदेश जाने योजना बनाएको छैन । स्वदेशमै व्यवसायलाई निरन्तरता दिन्छु । बङ्गुरपालनबाट सन्तुष्ट छु ।”

  • सवारी दुर्घटनाको कहर : लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना–३६ को मृत्यु

    सवारी दुर्घटनाको कहर : लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना–३६ को मृत्यु

    १२ वैशाख, दाङ । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए । फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो ।

    दुर्घटनाबाट रूपन्देही र दाङमा सबैभन्दा धेरै १०–१० जनाको मृत्यु भएको छभने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको सङ्ख्या शून्य छ । बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन–तीन जनाको मृत्यु भएको छभने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताए । दुर्घटनाबाट सात सय ४५ जना घाइते भएका छन् ।

    दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । ६० प्रतिशत मोटरसाइकल दुर्घटना नै हुने गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । उनका अनुसार बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक, ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटना भएका छन् । सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । उनका अनुसार लुम्बिनीका धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले धेरै दुर्घटना बढाएको छ ।

  • सर्वसाधारण कुट्ने चार ट्राफिक प्रहरी कारबाहीमा

    सर्वसाधारण कुट्ने चार ट्राफिक प्रहरी कारबाहीमा

    ११ वैशाख, काठमाडौं । एकजना सर्वसाधारणलाई कुटेको अभियोगमा चार जना ट्राफिक प्रहरीहरु कारबाहीमा परेका छन् । चार जना प्रहरीहरुले एकजना सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि उनीहरुलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

    उनले भने, “सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा आएपछि हामीले खोजीनिती प¥यौँ र उक्त कार्यमा संलग्न देखिएका चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाइएको र आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको छ ।”

    “वैशाख ११ गते सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा ट्राफिक प्रहरीद्धारा एकजना पुरूष व्यक्तिमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो प्रकाशन भएको सम्बन्धमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ”, प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना गत मङ्सिर २३ गते सुन्धारास्थित आकाशे पुल मुनि भएको पाइएको छ । ती प्रहरीहरुलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाइ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

  • कतारी राजकुमारीको चिन्ता : हिमालहरूमा जीवन छैन

    कतारी राजकुमारीको चिन्ता : हिमालहरूमा जीवन छैन

    सुवास दर्नाल / रासस

    ११ वैशाख, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रमा द्रुत रूपमा भइरहेको परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छिन् । सोलुखुम्बुको सानो तर जलवायु असरले गहिरो प्रभावमा परेको थामेमा गाउँ साथसाथै फाउन्डेसनद्वारा आयोजित हिमाली आरोही सम्मेलनलाई सम्बोधन गर्दै राजकुमारी थानीले भनिन्, “सगरमाथा जस्ता हिमालहरूमा हिउँ रित्तिदै जानु केवल नेपालका लागि मात्रै होइन, सम्पूर्ण विश्व समुदायका लागि खतरा हो ।”

    सन् २०१९ मा पहिलो पटक नेपाल आएकी र त्यसै वर्ष सफल सगरमाथा आरोहण गरेकी राजकुमारीले यस पटकका हिमालहरूमा जीवन छैने यात्रालाई निकै भिन्न अनुभवका रूपमा लिएकी छिन् । “पहिलोपटक आएँ, त्यसबेला हिमाल उज्यालो, आकर्षक र जीवन्त लाग्यो । अहिले फर्किंदा ती हिमालहरूमा जीवन छैन जस्तो अनुभूत गरेँ । हिउँ हराउँदै गएको छ, चट्टानहरू खुला र काला देखिएका छन् । मौसम परिवर्तन भएको छ । यो सबै परिवर्तन एकदमै गम्भीर छ”, राजकुमारी अलथानीले भनिन् ।

    हिमाली वातावरणमा आएको परिवर्तनको सबैभन्दा ठूलो असर थामेजस्ता बस्तीहरूले झेलिरहेका छन् । गएको वर्ष सगरमाथा क्षेत्रमा अवस्थित एक हिमताल फुट्दा आएको बाढीले थामे बस्तीमा व्यापक क्षति पु¥याएको थियो । त्यसबाट दर्जनौँ घर विस्थापित भए । विद्युत् संरचना ध्वस्त भयो । सडक सञ्जाल टुट्यो । बस्तीका बालबालिकाको शिक्षामा समेत बाधा पुग्यो । राजकुमारी थानीले यस्ता घटना जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम भएको बताउँदै भनिन्, “यस्ता हिमाली बस्तीको पुनःनिर्माणमा केवल नेपाल सरकारको प्रयास मात्रै काफी हुँदैन । यो सङ्कटसँगै लड्न सम्पूर्ण अन्तरराष्ट्रिय समुदायले हातेमालो गर्नुपर्छ ।”

    बाढीपहिरो, हिमताल विस्फोट, र हिउँपहिरोजस्ता विपद्बाट बच्न पूर्वसूचना प्रणाली जडान गर्नुपर्नेमा राजकुमारीको विशेष जोड थियो । “हिमाली क्षेत्रहरू संवेदनशील छन् । यहाँ यस्ता प्रणाली भए यथासमयमा सूचना प्रवाह भएर जनजीवन जोगिन सक्छ । प्रविधिको सदुपयोग जरूरी छ ।” राजकुमारी थानीले सगरमाथा केवल नेपालको सम्पत्ति नभई सम्पूर्ण मानवजातिको साझा धरोहर भएको उल्लेख गरिन् ।

    “हामी जस्ता आरोहीहरूले सगरमाथा चढ्दा मात्र गौरवको कुरा मान्दैनौँ, हामी त्यसको रक्षा पनि हाम्रो कर्तव्य ठान्छौँ । अब हरेक विकास योजनामा हिमालको अस्तित्वलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, होइन भने भोलि सगरमाथा फोटोमा मात्र सीमित हुनेछ,” उनले चेतावनी दिइन् । राजकुमारीको भनाइलाई समर्थन गर्दै सम्मेलनमा सहभागी अन्य पर्यावरणविज्ञ, आरोही र स्थानीय प्रतिनिधिहरूले हिमालय संरक्षणका लागि वैश्विक सहकार्य आवश्यक भएकामा एकमत जनाए ।

    सम्मेलनमा नेपाल सरकार, स्थानीय निकाय, गैरसरकारी संस्था तथा विदेशी पर्वतारोहण समुदायबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । थामेमा आयोजित सम्मेलन केवल हिमाली आरोहीहरूको जमघट मात्रै थिएन, यो जलवायु चेतना, हिमाली सङ्कट र समाधानको विमर्शको थलो बन्यो ।

    सम्मेलनमा प्रस्तुत गरिएका तथ्याङ्कअनुसार सगरमाथा क्षेत्रको औसत तापक्रम हरेक दशकमा बढ्दै गएको छ । जसको प्रत्यक्ष असर हिमनदीमा परेको छ । राजकुमारी थानीको चेतावनी, अनुभव र भावनात्मक अपिलले सम्मेलनमा गहिरो प्रभाव पारेको थियो । उनको अन्तिम सन्देश थियो, “हिमाल हाम्रो शिर हो, हाम्रो आत्मा हो । यदि हिउँ हरायो भने हामीले पृथ्वीको भविष्य गुमाउँछौँ । सगरमाथा बचाउन हामी सबैको साझा दायित्व हो ।”

    उक्त सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको शुभकामना सन्देश पनि सार्वजनिक गरिएको थियो । उनले सम्मेलनले सगरमाथा संवादको औपचारिक तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।प्रधानमन्त्री ओलीले वातावरणीय सङ्कटबारे जागरुकता फैलाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । साथसाथै फाउन्डेसनले तिनै तहका सरकारसँगको समन्वयमा मङ्गलबार थामेमा आयोजना गरेको सम्मेलनलाई नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना हुने सगरमाथा संवादको पूर्वकार्यक्रमका रूपमा अपनत्व लिएको छ ।

  • संरक्षण कुर्दै ‘तराईको झरना’

    संरक्षण कुर्दै ‘तराईको झरना’

    ११ वैशाख, पथरी । तराईमा पनि झरना हुन्छभन्दा धेरैलाई अचम्म लाग्नसक्छ तर मोरङको सामलिङ्गमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ्ग झरना’ तराई र पहाडको फेदीमा रहेको मिक्लाजुङ्ग–५ मा पर्छ । मनमोहक भएका कारण यो झर्ना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गर्मी बढेसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढ्ने गर्छ । यसपटक पनि गर्मी छल्न यहाँ आउनेहरू बढ्दैछन् तर यसको संरक्षणका लागि उचित पहल हुनसकेको छैन । जसकारण ‘कोलुङ्ग झरना’ ओझेलमा परिरहेको छ ।

    महेन्द्र राजमार्गबाट करिब एक घण्टामा पुग्न सकिने भए पनि बाटो नभएका कारण खोलाको बगरैबगर जानुपर्दा करिब चार घण्टा लाग्ने गरेको छ । त्यसैले पनि धेरैजसोले बाटोको समस्याले चाहेर पनि यहाँ जानसक्दैनन् । न त यसको उचित प्रचार हुनसकेको छ । तथापि थाहा पाएकाहरू यहाँको प्राकृतिक सौन्दर्यको आनन्द लिन आइपुग्छन् । महेन्द्र राजमार्गबाट १७ किलोमिटरको दूरीमा रहेको झरनामा पौडी खेल्न, पिकनिक खान र गर्मी छल्न किशोरकिशोरी, युवालगायत आउने गरेका छन् ।

    यो झरना जिल्ला सदरमुकाम विराटनगरबाट ७० किलोमिटरको दूरीमा छ । महेन्द्र राजगमार्गमा पर्ने पथरीबजारबाट उत्तर जाँतेबजार हुँदै तेली खोलाको किनारै किनारको बाटोबाट यहाँ पुग्नुपर्ने हुन्छ । झरनामा आउने अधिकांशले फोटो खिच्ने, भिडियो तथा टिकटक बनाउने र त्यसैमा रमाउने गरेका छन्  । पर्यटकको सहजताका लागि आधारभूत संरचना बनाउन पनि कसैले ध्यान दिन सकेका छैनन् । स्वयम् मिक्लाजुङ्ग गाउँपालिकाले पनि यसतर्फ ध्यान दिएको छैन ।

    वडाअध्यक्ष मेघनाथ तामाङ भने नेपालकै होचो स्थानको झरना भएकाले यसको प्रवर्द्धनमा स्थानीय सरकार लागिपरेको दाबी गर्छन् । खोलाका कारण झरनासम्म बाटो पु¥याउन नसकेको र त्यसका लागि आफूहरूको बजेटले नधान्ने उनको भनाइ छ । ‘बाटो बनाउन तेली खोलाले समस्या बनाएको छ । खोला तीन–चारपटक ओहोरदोहोर नगरी झरनासम्म पुग्न सकिँदैन । वास्तवमा समस्या धेरै छ । यदि बाटोमात्रै बनाउन सकेको भए पनि धेरै पर्यटक यहाँ आउनसक्ने । यसका लागि सबैले पहल गर्नुपर्ने देखिन्छ”, वडाध्यक्ष तामाङले भने ।


    हुन त पूर्वपश्चिम राजमार्गको मङ्गलबारेबाट १३ किलोमिटरको दूरीमा सामालिङ्गसम्म यातायातका साधन पुग्ने गरेका छन् तर झरनासम्म पुग्न थप तीन किलोमिटर पैदल हिँड्नुपर्छ । यो समस्या समाधान भएमा धेरैले झरनाको आनन्द लिन सक्ने यहाँ पुगेका पथरीशनिश्चरेका विवेक गौतमको विश्वास छ । “माथिबाट बग्ने पानीको फोहराले गर्मीयाममा निकै शीतल दिन्छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि हुन्छ तर पूर्वाधार नभएकाले धेरैले जान सकिरहेका छैनन् ।

    यसमा ध्यान दिन आवश्यक छ”, उनले भने । “यसलाई थप व्यवस्थित गर्न पाएको भए यही झरनामा हेर्न र रमाउन आउनेहरूकै कारणले यहाँका स्थानीयको आर्थिक विकास टेवा पुग्ने थियो ।” यो झरनाको दुई सय मिटरभन्दा लामो छ । सम्भावना भएर पनि संरक्षण र प्रवर्द्धनको अभावमा यो झरना ओझेलमा परिरहेको छ ।

  • बढ्दो तापक्रम : तराई भेगमा ‘हिट वेभ’को चेतावनी

    बढ्दो तापक्रम : तराई भेगमा ‘हिट वेभ’को चेतावनी

    ११ वैशाख, काठमाडौं । हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ । काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । महाशाखाका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्याधिक गर्मीको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका क्षेत्रमा तातो लहरको सम्भावना छ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्याधिक गर्मीको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • शिक्षा मन्त्री बने रघुजी पन्त

    शिक्षा मन्त्री बने रघुजी पन्त

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रघुजी पन्तलाई शिक्षा मन्त्री बनाएका छन् । विद्या भट्टराइले राजिनामा दिएसँगै रिक्त सो मन्त्रालयको जिम्मेवारी पन्तले पाएका हुन् । संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।


    ८ वैशाखमा एमाले नेतृ विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी हुन् । पन्त एमालेका स्थायी कमिटी सदस्य हुन् । आजको पुनर्गठनमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्तीमा परेका छन् । तामाङ बर्खास्तमा परेसँगै ओली क्याबिनेट २४ सदस्यीय बनेको छ ।

  • डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    १० वैशाख, दिपायल । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुुन धामीसहित तीन जनाको मृत्युु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ । पछिल्लो समय स्थानीय सडकमा दुर्घटना हुने दर बढ्दो क्रममा छ ।

  • विश्वभर हिउँचितुवाको संख्यामध्ये १० प्रतिशत हिस्सा नेपालमा

    विश्वभर हिउँचितुवाको संख्यामध्ये १० प्रतिशत हिस्सा नेपालमा

    भीष्मराज ओझा/रासस

    १० वैशाख, काठमाडौं । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ ।

    अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा तीन हजार २० देखि पाँच हजार तीन सय ९० को सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ । हिउँचितुवा बढी जसो नेपाल, चीन, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, कीर्गीस्तान, भारत, मङ्गोेलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायतका १२ वटा मुलुकमा पाइन्छन् । पछिल्लो समयमा नेपालसँगै भारत, मङ्गोलिया र भुटानले प्रविधि, अनुसन्धान र तथ्याङ्क विश्लेषण गरी हिउँचितुवाको नयाँ र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् ।

    तथ्याङ्कअनुसार चीनमा कम्तीमा दुई हजारदेखि दुई हजार पाँच सय, मङ्गोलियामा नौ सय ५३, भारतमा सात सय १८, नेपालमा तीन सय ९७ र भुटानमा एक सय ३४ हिउँचितुवा रहेको विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका पर्वतीय कार्यक्रम प्रबन्धक सरिन श्रेष्ठले जानकारी दिए । वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागको नेतृत्वमा कोषलगायत सङ्घसंस्थाको सहयोगमा विभिन्न तथ्याङ्क र अनुसन्धानको विश्लेषण र मूल्याङ्कन गरी सो तथ्याङ्क निकालिएको उनले बताए ।


    यस मूल्याङ्कनमा २०१५ देखि २०२४ सम्म सरकार, संरक्षण संस्थाहरू र अनुसन्धानकर्ताद्वारा नेतृत्व गरिएका विभिन्न अध्ययनबाट तथ्याङ्क निकालिएको हिउँचितुवा विज्ञ शशाङ्क पौडेलले जानकारी दिनुभयो । यो तथ्याङ्क क्यामेरा ट्रयाप र दिशाको नमूनाहरूको आनुवंशिक विश्लेषणलगायत अत्याधुनिक प्रविधि प्रयोग गरी विभिन्न सात अध्ययन क्षेत्रहरूबाट हिउँचितुवाको वितरण र जनसङ्ख्या घनत्वको तथ्याङ्क प्रयोग गरिएको उनले बताए । यस मूल्याङ्कन उपलब्धिले हिउँचितुवा र तिनीहरूको संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीको सुरक्षा गर्न मुलुकको प्रतिबद्धतालाई जोड दिन्छ ।

    यो मूल्याङ्कन निकुञ्ज विभागका वरिष्ठ पारिस्थितिकीय विद्को नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्रामको ‘पपुलेसन एसेसमेन्ट अफ द वर्ल्डस् स्नो लियोपाड्र्स’ निर्देशिकाअनुसार सञ्चालन गरिएको थियो । जसमा कोषलगायत व्यक्तिगत अनुसन्धानकर्ताहरू र संरक्षण संस्थाहरू सहभागी थिए ।

    विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँचितुवाको बासस्थानमध्ये झण्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको र त्यस्तो बासस्थान खण्डिकरण हुँदै गएकाले यसमा चुनौती थपिएको छ । साथै द्वन्द्वका कारण बद्लावको भावनाले केही व्यक्तिले पासो थाप्ने, आहारमा विष मिसाउने, भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती छन् ।

    हिउँचितुवा सामान्यतया समुद्री सतहबाट पाँच सय ४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छन् । हिउँचितुवालाई आइयुसिएनले ‘रेड लिस्ट’ विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ । बिरालो प्रजातिको हिउँचितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ । तथ्याङ्कअनुसार नेपालको पूर्वको तुलनामा पश्चिममा बढी सङ्ख्यामा हिउँचितुवा छन् त्यसमध्ये डोल्पा क्षेत्रमा हिउँचितुवाको सङ्ख्या ९० रहेको छ ।

    डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले हिउँचितुवाको पछिल्लो तथ्याङ्क नेपालको संरक्षण यात्रामा एक ऐतिहासिक कदम भएको उल्लेख गर्दै यस तथ्याङ्कले हिउँचितुवाको सङ्ख्याको स्पष्ट चित्र मात्र नभई भविष्यका संरक्षण रणनीतिलाई सूचीत गर्ने बताए । उनले यो नतिजाले सहभागीमूलक संरक्षणका लागि आधारको रूपमा काम गर्ने बताउँदै मूल्याङ्कनका निष्कर्षहरूले हिउँचितुवा पाइने क्षेत्रहरूमा तिनको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न परिष्कृत सुरक्षा उपायहरूको आवश्यकता पर्ने संरक्षण प्राथमिकताको उजागर गरेको अवगत गराए ।


    वन मन्त्रालयले हिउँचितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँचितुवा संरक्षण र कार्ययोजना (२०२४–२०३०) तयार गरी कार्यान्वयनमा ल्याएको छ । कार्ययोजनाले संरक्षण प्रयासलाई मार्गदर्शन गर्न विभिन्न रणनीतिक लक्ष्य र उद्देश्य राखेको छ । कार्ययोजनामा हिउँचितुवाको संरक्षणका लागि बासस्थान र करिडोर सुधार गर्ने, समुदायको संलग्नतामार्फत मानव–हिउँचितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानुन कार्यान्वयनमार्फत चोरी सिकारी नियन्त्रण गर्ने र सीमापार, क्षेत्रीय, अन्तरराष्ट्रिय सहयोग र समर्थनलाई बलियो बनाउने लक्ष्य राखिएका छन् ।

    छ वर्षसम्म यो कार्ययोजना कार्यान्वयन गर्न रु एक अर्ब ७७ करोड ९७ लाख खर्च गर्ने अनुमान गरिएको छ । योजनामा मानव–हिउँचितुवा द्वन्द्वलाई कम गर्न समुदायको सहभागितामार्फत करिब ३५ प्रतिशत र वन्यजन्तु अपराध व्यवस्थापनका लागि करिब २६ प्रतिशत बजेट अनुमान गरेको छ । यद्यपि सबै रणनीतिमा, स्थानीय समुदाय र उनीहरूको नेतृत्वलाई साझेदारी, क्षमता निर्माण र संलग्न गर्न लगानी गरिने कार्ययोजनामा उल्लेख छ ।
     
    हिउँचितुवा ठूला बिराला प्रजातिहरूमध्ये सबैभन्दा कम अध्ययन गरिएको क्षेत्रमध्ये पर्दछ । विश्व वन्यजन्तु कोषको सन् २०२१ को एक प्रकाशनअनुसार उक्त समयसम्म हिउँचितुवाको विश्वव्यापी क्षेत्रको लगभग २३ प्रतिशत मात्र व्यवस्थित रूपमा अध्ययन गरिएको छ । तीन प्रतिशतभन्दा कममा मात्र सङ्ख्यासम्बन्धी अनुभवजन्य तथ्याङ्क उपलब्ध छन् ।

  • सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

    सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

    ९ वैशाख, इटहरी । बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी आज पनि जारी रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ८ः३० बजे खोटाङको केपिलास गढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उहाँका भान्जा इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य डुबेर बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले घटनाबारे जानकारी पाउना साथ उद्धारमा प्रहरी खटाइएको बताए ।

    गोताखोरसहितको अनुभवी सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजतलास गरिरहेको उनले जानकारी दिए । प्रवक्ता खतिवडाले भने, “हिजो पानीको सतह बढेको र धमिलो भएकाले खोजीमा समस्या भएको थियो । आज बिहानैदेखि खोजी भइरहेको छ ।” सशस्त्र प्रहरी बलका पाँच जनाको तालिम प्राप्त गोताखोरको टोलीसहित ११ जना पौडीबाज बिहानैदेखि खटिएको सशस्त्र प्रहरी बल–४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । उनीहरु बराह क्षेत्र मन्दिरमा पूजागर्न गएका बेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

  • बेलौरीमा जलेको अवस्थामा भेटियो एक जनाको शव

    बेलौरीमा जलेको अवस्थामा भेटियो एक जनाको शव

    ९ वैशाख, कञ्चनपुर । बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज जलेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरिरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो । शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल समेत जलाइएको पाइएको छ ।

    बेलडाँडी गाउँपालिका–३ का बासिन्दा राना भैँसीपालन गरी दुग्ध व्यवसाय सञ्चालन गर्दैआएका थिए । “घटनास्थलमा प्रहरी टोली पुगेको छ,” प्रहरी नायब उपरीक्षक जोशीले भने, “के कति कारणले रानाको मृत्यु भयो भन्नेबारे अनुसन्धान गर्दैछौँ ।”

  • विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त

    विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त

    ९ वैशाख, जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका–५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सोही घटनामा आमा सिकिस्त छिन् । गतराति एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

    विष सेवनबाट स्थानीय सुशील साहका छ वर्षीय छोरा आदित्य, चार वर्षीया छोरी आकृति तथा दुई वर्षीया छोरी आरुती साह मृत्यु भएको हो । तीनै जनाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • रुपन्देहीमा नदीमा बेपत्तामध्ये दुई जनाको शव फेला

    रुपन्देहीमा नदीमा बेपत्तामध्ये दुई जनाको शव फेला


    काठमाडौं । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका अन्य दुई जनाको शव पनि फेला परेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षे मुनु हरीजनको शव फेला परेको हो । उनीहरु सोही ठाउँका हुन् ।


    सोमबार बेपत्ता भएका उनीहरुको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको हो । बालकको खोजीका लागि सोमबार राति नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो । सोमबार पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका थिए । बेपत्तामध्ये १४ वर्षीय राज यादवको शव सोमबार नै फेला परेको थियो ।