Category: स्थानीय

  • नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला

    नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला

    काठमाडौं । मङ्गलबार साँझ नारायणी नदीमा डुबेर बेपत्ता भएका दुईजना दिदीभाइको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित ब्रिटिश क्याम्प नजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका उनीहरुको शव आज दिउँसो सोही स्थानमा फेला परेको हो । नदीमा बेपत्ता भएका गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी १३ वर्षीया छोरी दीक्षा र नौ वर्षीय छोरा स्वपनिलको शव आज सशस्त्र प्रहरी बल १७ नम्बर गण भरतपुरबाट खटिएको गोताखोरको टोलीले फेला पारेको हो ।

    इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले उनीहरु डुबेको ठाउँ नजिकै दिदीभाइको शव फेला परेको जानकारी दिउ । “आज बिहानैबाट दुवै जनाको खोजी गरिएको थियो”, उनले भने, “दुवै जनाको शव दिउँसो १२ः३० बजेतिर फेला पार्न सफल भयौँ ।” उनीहरुको शव पोष्टमार्टमका लागि भरतपुरस्थित भरतपुर सङ्घीय अस्पतालमा पठाइएको विष्टले जानकारी दिनुभयो । दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग मङ्गलबार साँझ नारायणी नदीमा गइ घर फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा बेपत्ता भएका थिए ।

  • प्रधानमन्त्री भन्छन् : राजतन्त्र फर्कन्छ भन्नु दिउँसै देखेको सपनाजस्तै

    प्रधानमन्त्री भन्छन् : राजतन्त्र फर्कन्छ भन्नु दिउँसै देखेको सपनाजस्तै

    २६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्र भएको बताएका छन् । सिरहा सदरमुकाममा नेकपा एमालेको ११औँ जिल्ला अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पक्षधर कस्ता हुँदा रहेछन् भन्ने कुरा १५ चैतको क्रियाकलापले स्पष्ट पारिसकेको बताए । उनले नेपाली जनताले राजतन्त्रलाई नस्वीकार्ने बताए ।

    “राजतन्त्र फर्किन्छ भन्ने कुरा राति देखेको सपना पनि होइन, दिउँसै देखेको सपना हो । यो कुनै काम लाग्दैन । चैत १५ गतेको उनीहरुको क्रियाकलापले त्यो सपना भङ्ग भइसक्यो”, प्रधानमन्त्री ओलीले भने, “राजतन्त्रका पक्षधर कस्ता हुँदारहेछन् भन्ने नेपाली जनताले देखिसके । त्यस्ताको हातमा शासन गयो भने देशमा के हुन्छ होला ? तर, जानेवाला छैन । म आम नेपाली जनतालाई ढुक्क रहन आग्रह गर्दछु ।”

    व्यक्तिको घरघरमा गएर आगो लगाउने, औषधि निर्माण कम्पनीमा आगो लगाउने, सञ्चारगृहमा आगो लगाउने, भित्र मान्छे थुनेर आगो लगाएर मार्ने, लुटपाट मञ्चाउनेजस्ता विध्वंसकारी तथा अराजक तत्वलाई कुनै हालतमा स्वीकार गर्न नसकिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे । सरकारको ध्यान सुशासन, विकास र समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा साकार पार्न आफू लागिपरेको बताए । त्यसका लागि सामाजिक न्याय, समानता, समावेशीता र समानुपातिक प्रणालीलाई अझ प्रभावकारी बनाई लोकतन्त्रलाई मजबुत बनाई छाड्ने उनले बताए ।

    प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा धनुषा र सिरहा जोड्ने हुलाकी सडकको कमला पुल समयमै निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्न सरकारले विशेष ध्यान दिएको बताए । कार्यक्रममा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, पार्टीका मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए । यसअघि प्रधानमन्त्री ओलीले आजै जनकपुरमा मधेस प्रदेशसभालाई सम्बोधन गरेका थिए ।

  • राप्रपासहित विभिन्न समूहको आन्दोलनले काठमाडौंको ट्राफिक अस्तव्यस्त हुँदै

    राप्रपासहित विभिन्न समूहको आन्दोलनले काठमाडौंको ट्राफिक अस्तव्यस्त हुँदै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शन गर्दैछ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपालाई बल्खुमा प्रदर्शन गर्न ठाउँ तोकेको हो। उता, शिक्षकसहित विभिन्न समूहको आन्दोलन समेत काठमाडौंमा जारी छ । यसले आज दिनभर काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाउने छ । राप्रपाले बिहान साढे ११ बजे बल्खुमा सभाको तयारी गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्ने सभा सुरू हुनुअघि विभिन्न स्थानबाट र्‍याली निस्कने पार्टीले जानकारी दिएको छ।

    चक्रपथ क्षेत्रको सवारी आवागमन प्रभावित हुने गरी राप्रपाले प्रदर्शनको तयारी गरेपछि प्रहरीले उक्त क्षेत्रमा सवारी डाइभर्सनको प्रबन्ध गरेको छ। प्रहरीका अनुसार कलंकीको खसिबजार–मकालु–कलंकी चोक हुँदै बाफलतर्फ सवारी डाइभर्सन गरिनेछ। त्यस्तै बल्खु चोक–कुलेश्वर–कालीमाटी चोक–टेकु पुग्ने गरी पनि सवारी डाइभर्सन गरिने प्रहरीले जानकारी दिएको छ। कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुना पुग्ने गरी डाइभर्सन तय गरेको प्रहरीले बताएको छ।

    प्रदर्शनका कारण सवारी चाप बढेमा त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइलाका विन्दुहरूमा पनि यातायात डाइभर्सन गर्ने प्रहरीको तयारी छ।
    त्यस्तै चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर चोकमा पनि डाइभर्सनको प्रबन्ध गर्ने प्रहरीले बताएको छ। त्यस्तै कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउनेहरूका लागि प्रहरीले पार्किङ स्थल पनि तोकिदिएको छ। त्रिभुवन विश्वविद्यालय गेटदेखि दक्षिणतर्फको चोभार सडक पार्किङ स्थलमा प्रयोग गर्न सकिने प्रहरीले जानकारी दिएको छ।

    सानेपा करिडोर सडकको दुबै तर्फ पार्किङ गर्न सकिनेछ। चोभार सुख्खा बन्दरगाह, नयाँ बसपार्क र सीतापाइला– बाफल सडक खण्डमा एक लाइन सवारी साधन व्यवस्थापन गर्न सकिने प्रहरीले बताएको छ। मंगलबार शिक्षकहरूले माइतीघर–बानेश्वर क्षेत्र र लघुवित्त तथा सहकारीपीडितहरूले शान्ति वाटिका क्षेत्रमा प्रदर्शन गर्ने बताएकाले ती स्थानको सवारी आवागमन पनि प्रभावित हुन सक्ने प्रहरीले जानकारी दिएको छ। यी स्थानमा पनि वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

  • आज राजावादीको आन्दोलन, सुरक्षा व्यवस्था चुस्त

    आज राजावादीको आन्दोलन, सुरक्षा व्यवस्था चुस्त

    काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा आयोजना गरेको छ । आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी पार्टीले गरेको छ । ११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किने भएको छ ।

    सभामा ‘३० औं हजार सहभागी हुने अपेक्षा पार्टीको छ । सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका पार्टीका नेताहरुले सम्बोधन गर्ने छन् । अध्यक्ष लिङ्देन सोमबार बेलुकी सभास्थल बल्खु पुगेर स्थलगत अनुगमन गरेका छन् । राप्रपाको यो बागमती प्रदेशस्तरीय सभा हो । बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा भेला गराइएको छ ।

    यसअघि राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो । त्यसपछि राप्रपाले सभास्थलको रुपमा बल्खु रोजेको हो । सभा व्यवस्थित गर्न स्वयंसेवक परिचालन गरिने छ । उनीहरुले सभालाई व्यवस्थित बनाउन र घुसपैठ रोक्न भूमिका खेल्ने छन् । यसअघि राप्रपाका नेताहरुसमेतको सहभागितामा राजावादीहरुले चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।

    सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । सभास्थल वरपर दुई हजार संख्यामा प्रहरी खटाइने छ । सीसीटीभी र ड्रोनबाट समेत निगरानी गर्ने तयारी छ । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।

  • रुपन्देहीमा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

    रुपन्देहीमा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

    २६ चैत, काठमाडौं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

    घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो । भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको उनले जानकारी दिए । दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए । सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा क्षमताभन्दा बढी यात्रु सवार हुँदा भारवहन क्षमता बढी भई दुर्घटना भएको उनले बताए ।

  • हिउँपहिरोमा परेर दुई जना बेपत्ता

    हिउँपहिरोमा परेर दुई जना बेपत्ता

    काठमाडौं । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले जानकारी दिए ।

    आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौंबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिए । पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् । रासस

  • अर्घाखाँचीमा जिप दुर्घटना : कम्तिमा २ जनाको मृत्यु

    अर्घाखाँचीमा जिप दुर्घटना : कम्तिमा २ जनाको मृत्यु

    काठमाडौं । अर्घाखाँचीमा जिप दुर्घटनामा परी कम्तिमा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु मालारानी ४ का हुन्।

    प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेका थिए । खनदहतर्फ गइरहेको जिप आज बिहान साढे तीन बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले पाएको थियो । लगत्तै खनदहबाट प्रहरी टोली उद्धारमा खटिएको थियो ।अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।

  • मोरङमा मोटरसाइकल दुर्घटना : दम्पत्तिको ज्यान गयो

    मोरङमा मोटरसाइकल दुर्घटना : दम्पत्तिको ज्यान गयो

    काठमाडौं । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा दम्पत्तिको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । आमबारीबाट उर्लाबारीतर्फ जाँदै मोटरसाइकल आफैं अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो ।

    दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी पत्नी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको हो । दुर्घटना लगतै स्थानीयले दुवै जनालाई उपचारका लागि रंगेली अस्पताल पठाएका थिए । अस्पतालमा उनीहरुको मृत्यु भएको प्रहरीले हो । उनीको शव पोष्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । रातको समयमा तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

  • पश्चिम नेपालमा भूकम्पको धक्का, क्षतिको विवरण आउँदै

    पश्चिम नेपालमा भूकम्पको धक्का, क्षतिको विवरण आउँदै

    काठमाडौं । शुक्रबार जाजरकोटमा ३ मिनेटको फरकमा दुई पटक भूकम्प गएको छ । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्‍यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताएका छन् ।

    उनका अनुसार पोहोर जाजरकोटमा गएको भूकम्पकै अवशेष भए पनि पछि ठूलो जोखिम ल्याउने संकेत हो । ‘प्रहरीका अनुसार क्षतिको विवरण आउन बाँकी छ । केही घरहरु चर्किएको विवरण सार्वजनिक सञ्जालमा आएका छन् ।

  • राप्रपा सांसद बोहराको निधन

    राप्रपा सांसद बोहराको निधन

    काठमाडौं । प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा निधन भएको उनका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए । अस्पताल स्रोतका अनुसार बोहराको अस्पताल पुग्नुभन्दा अगाडि नै मृत्यु भइसकेको थियो । उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् । पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर ९जेठ २०७७० मा संक्रमित भएका थिए ।

    संक्रमणको चाररपाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए । बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए । संसदमा पनि उनले बोलेनन् । उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।

  • सिस्नेरीमा पौडी खेल्दा डुबेर तीन बालकको मृत्यु

    सिस्नेरीमा पौडी खेल्दा डुबेर तीन बालकको मृत्यु

    काठमाडौं । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । काभ्रे घर भई सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने क्रममा आज अपराह्न करिब साढे ४ बजे डुबेर मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भीमफेदी प्रमुख प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् ।

    इन्द्रसरोबर–३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा १४ वर्षीय सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको ढकालले जानकारी दिएकी छन् । घोरासैनी दाजुभाइ हुन भने आचार्य मामाका छोरा हुन् ।

    उनीहरु सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा घरबाट पौडी खेल्न भनेर गएको प्रहरी निरीक्षक ढकालले बताइन् । गत असोजमा कुलेखानी जलाशयको ड्यामका ढोका खोलेर पानी छोड्दा सिस्नेरी खोलामा आएको बाढीले ढुंगाको ओढारमा दह बनेको थियो । मृतक बालकको शव पोस्टमार्टम गर्न काठमाडौंस्थित अस्पताल पठाइएको ढकालले जानकारी दिइन् ।

  • रविन्द्र मिश्रसँगै पक्राउ परेकाहरुलाई मंगलबारसम्म थुनामै राखेर अनुसन्धान हुने

    रविन्द्र मिश्रसँगै पक्राउ परेकाहरुलाई मंगलबारसम्म थुनामै राखेर अनुसन्धान हुने

    काठमाडौं । तीनकुने हिंसात्मक घटनामा संलग्न भएको आरोपमा पक्राउ ४२ जनालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएको हुनसक्ने आरोपमा पक्राउ परेकालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । शुक्रबार पक्राउ परेकाहरूको हकमा ५ दिन र शनिवार पक्राउ परेकाहरुलाई ४ दिन हिरासतमा राख्न अनुमति भएको हो । अनुमतिको अवधि पक्राउ परेको दिनदेखि नै गणना हुनेछ ।

    जिल्ला सरकारी वकिलको कार्यालयले १० दिन थुनमा राख्न अनुमति मागेकोमा धवलशमशेर जबरा क्यान्सरको बिरामी भनी कागजात पेस भएको थियो । रवीन्द्र मिश्रको हकमा प्रेसरको बिरामी भई इजलासमा फाइल पेस भएकाले अदालतले ५ दिनको अनुमति मात्रै सञ्चारमाध्यले लेखेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा संलग्न भएको आरोप लागेकाहरूलाई बेलुकी ५ बजेतिर जिल्ला अदालतमा पेस गरेको थियो । अदालतमा गोला छनौटका क्रममा आइतबार न्यायाधीश तारादेवी महर्जनलाई थुनाको अनुमतिसम्बन्धी निवेदन हेर्ने जिम्मेवारी तोकिएको थियो ।

  • राजावादी आन्दोलनपछि ५१ जना पक्राउ

    राजावादी आन्दोलनपछि ५१ जना पक्राउ

    काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार शुक्रबार रातिसम्म प्रहरीले ५१ जनालाई पक्राउ गरिसकेको छ । अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    प्रहरीले राप्रपाका उच्च तहका नेता रविँन्द्र मिश्र, धवल शमसेर राणासहितका व्यक्तिलाई पक्राउ गरेको छ । आन्दोलनका मूख्य नाइके दुर्गा प्रसाई भने फरार छन् । उनले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेसँगै आन्दोलनको कमाण्डर बनाइएको थियो । सोहीकारण घटनामा पूर्वराजालाई समेत जिम्मेवार बनाइएको छ ।

  • काठमाडौंको कर्फ्यु हटाइयो

    काठमाडौंको कर्फ्यु हटाइयो

    काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार पहिलो पटक राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।

    रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश आज (शनिबार) बिहान ७ बजेसम्मका लागि थपिएको थियो । शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए । शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।

  • राजावादीको अराजक भिडले तीनकुनेमा घर जलाए, पत्रकारको भित्रै ज्यान गयो

    राजावादीको अराजक भिडले तीनकुनेमा घर जलाए, पत्रकारको भित्रै ज्यान गयो

    काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

    राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए । राजावान्दी आन्दोलनलाई एभिन्यूज टेलिभिजनकै सञ्चालक भाष्करराज राजकर्णिकारको समर्थन रहेको थियो ।

  • राजावादी आन्दोलनमा १५ सुरक्षाकर्मी घाइते

    राजावादी आन्दोलनमा १५ सुरक्षाकर्मी घाइते

    काठमाडौं । राजावादीको आन्दोलनमा खटिएका १५ सुरक्षाकर्मी घाइते भएका छन् । राजावादीले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनमा खटिएका १५ सुरक्षाकर्मीेहरू घाइते भएको गृह मन्त्रालयले जनाएको छ । गृहका सहसचिव छवि रिजालका अनुसार अहिलेसम्म १५ सुरक्षाकर्मी घाइते भएको विवरण आएको छ ।

    यो संख्या थप बढ्न सक्ने उनले बताए । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका कारण आजको स्थिती आएको सरकारी संयन्त्रको बुझाइ छ । यसको सम्पूर्ण जिम्मा आयोजकले लिनुपर्ने र आगजनी र तोडफोडमा उत्रिनलेलाई कानूनी कारबाही हुने गृहको चेतावनी छ ।

  • काठमाडौंमा रातभरका लागि लम्ब्याइयो कर्फ्यु

    काठमाडौंमा रातभरका लागि लम्ब्याइयो कर्फ्यु

    काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय थपेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।

    शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको हो । कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो । कर्फ्यु नै जारी भइसकेपछि पनि प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका छन् ।

  • राजावादी आन्दोलनमा एक जनाको मृत्यु

    राजावादी आन्दोलनमा एक जनाको मृत्यु


    काठमाडौं । काठमाडौंमा राजावादीले गरेको हिंसात्मक आन्दोलनमा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार कीर्तिपुरका २९ वर्षका सविन महर्जनको ज्यान गएको  हो । उनी दिउँसो भएको झडपमा घाइते भएका थिए । आज राजावादीले काठमाडौंमा हिंसात्मक प्रदर्शन गरेका छन् ।

  • दुर्गा प्रसाइले मच्याए आतंक, सर्वसाधारण भड्काएर प्रहरीमाथी गाडी

    दुर्गा प्रसाइले मच्याए आतंक, सर्वसाधारण भड्काएर प्रहरीमाथी गाडी


    दुर्गा प्रसाइले काठमाडौंमा चरम अराजकता प्रदर्शन गरेका छन् । उनले सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई गाडीले धकेल्दै घेरा तोडेको भिडियो सामाजिक संजालमा भाइरल छ । आज राजावादीको आन्दोलनको कमान्डर उनी थिए । सरकारले तिनकुनेमा राजावादीलाई आन्दोलन गर्ने स्थान दिएको थियो  । प्रसाइले निषेधाज्ञा तोड्ने भन्दै आफ्नो गाडी प्रहरि तर्फ जबर्जस्ती लगेका थिए । उनले गाडी भित्रैबाट भिडियो खिच्न लगाएका थिए । राजावादी उग्र बन्दा आज तिनकुने-कोटेश्वर क्षेत्र असान्त बनेको छ ।

  • दुर्गा प्रसाइले नेतृत्व गरेको राजावादीको आन्दोलन उग्र, काठमाडौंमा बितन्डा

    दुर्गा प्रसाइले नेतृत्व गरेको राजावादीको आन्दोलन उग्र, काठमाडौंमा बितन्डा


    राजा ल्याउन भन्दै राजावादीले काठमाडौंमा आयोजना गरेको प्रदर्शन उग्र बन्दा काठमाडौंमा बितन्डा मच्चिएको छ । राजावादीले आज प्रहरी सङ्ग मात्र भिडेनन, निजि सम्पत्तिमा समेत तोडफोड गरेका छन् । तिनकुनेमा घरमा आगो लगाइएको छ । प्रदर्सन उग्र बन्दै गएपछि सरकारले तिनकुने क्षेत्र आसपास कर्फ्यु आदेश जारी गरिएको छ । अहिले सेना परिचालन गरिएको छ । प्रदर्सनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गरिएको छ । प्रहरी परिस्थिति नियन्त्रणमा लिन असफल देखिएको छ ।

  • आज गणतन्त्रवादी र राजावादी सडकमा, जनजीवन प्रभावित हुने

    आज गणतन्त्रवादी र राजावादी सडकमा, जनजीवन प्रभावित हुने

    काठमाडौं । राजावादीलाई काउन्टर दिन आज काठमाडौंमा समाजवादी मोर्चाले शक्ति प्रदर्शन गर्दैछ । जसको नेतृत्व माओवादी केन्द्रले गरेको छ । उता, दुर्गा प्रसाईको नेतृत्वमा राजावादी पक्षधरले समेत प्रदर्शनको आयोजना गर्दा दिनभरजसो यातायात प्रभावित हुने देखिएको छ । मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ ।

    माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दुई ठाउँ र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् । माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सो¥हखुट्टे जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।

    अपरान्ह् १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ। तर, सो सभालाई कस कसले सम्बोधन गर्ने भन्ने अझै सार्वजानिक गरिएको छैन। प्रहरीले भने राजावादी र गणतन्त्रवादीका समर्थकलाई भेट नगराउने गरी तयारी गरेको जनाएको छ । उपत्यका भर ५ हजार भन्दा धेरै प्रहरी परिचालन गरिएको छ ।

  • दुर्गा प्रसाई तोकिए राजावादी आन्दोलनको कमाण्डर

    दुर्गा प्रसाई तोकिए राजावादी आन्दोलनको कमाण्डर

    काठमाडौं । पुराना पञ्चहरूलाई पन्छाउँदै व्यवसायी दुर्गा प्रसाईंले राजावादी आन्दोलनको नेतृत्व पाएका छन् । पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राजसंस्था फर्काउन राजनीति गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रसाईंको नेतृत्वलाई स्वीकार्दै उनले आह्वान गरेको आन्दोलनमा होमिएका छन् ।

    प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनस्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । गठनसँगै उक्त समिति विवादमा तानिएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफू उक्त समितिमा नरहेको जनाएका थिए । राप्रपाको कार्यसम्पादन समितिको बैठकले राप्रपा आफैंले आन्दोलन गर्ने कुनै व्यक्ति विशेषको नेतृत्वमा पार्टीलाई नलैजाने निर्णय लिएको थियो ।

    सुवेदी नेतृत्वको समिति गठन हुनुपूर्व नै प्रसाईंले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । राजावादीहरूको साझा नेता बन्ने प्रयास गरेका सुवेदीले प्रसाईं एक्लैको निर्णयबाट घोषणा गरिएको आन्दोलनको स्वामित्व मात्रै लिएको छैन कि प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका छन् । सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, जनआन्दोलन समिति गठन गर्नुपूर्व नै चैत १५ गतेदेखि सुरू हुने गरी घोषणा रिएको आन्दोलनलाई समितिले अपनत्व लिएको छ । उनले चैत्र १७ गतेबाट समितिका तर्फबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताएका छन् ।

    त्यस्तै, राप्रपाले पनि प्रसाईंले आह्वान गरेको आन्दोलनमा सहभागी हुने जनाएर उनको नेतृत्वलाई स्विकारेको छ । प्रसाईंले सार्वजनिक मञ्चहरूबाटै राप्रपा र तिनका नेताहरूको आलोचना गर्दै आएका छन् । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आन्दोलनमा सक्रिय सहभागीताका लागि कार्यकर्ता पंक्तिलाई आह्वान गरेका छन् ।

    राप्रपा समान विचार र उद्देश्य भएका सबैसँग सहकार्य, कार्यगत एकता र मोर्चा बनाएर आन्दोलनको मोर्चामा उभिन प्रतिबद्ध रहेको भनेका छन् । राप्रपा आफैंले राजसंस्था र हिन्दू राष्ट्र स्थापनाका लागि चैत्र २६ गते उपत्यकामा सभा गर्ने र वैशाख ७ गतेबाट काठमाडौंकेन्द्रित आन्दोलन गर्ने घोषणा गरिसकेको छ । शुक्रबारलाई तीनकुनेमा सभा गर्न काठमाडौं प्रशासनले भनेको छ ।

  • शुक्रबार काठमाडौंमा राजावादी र समाजवादी मोर्चाका छुट्टाछुट्टै प्रदर्शन, यस्तो छ मोर्चाको कार्यक्रम

    शुक्रबार काठमाडौंमा राजावादी र समाजवादी मोर्चाका छुट्टाछुट्टै प्रदर्शन, यस्तो छ मोर्चाको कार्यक्रम

    काठमाडौं । समाजवादी मोर्चाले भोलि शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा विरोध सभा आयोजना गर्दैछ । विरोधसभा अघि मोर्चाले काठमाडौंको विभिन्न स्थानबाट जुलुस प्रदर्शन गर्ने भएको छ । हजारौंको संख्यामा मानिस उतार्ने तयारी गरेको समाजवादी मोर्चाले विरोध प्रदर्शनलाई व्यवस्थित बनाउन रुट निर्धारण गरेको हो । गणतन्त्रको पक्षमा रहेका सबै दललाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको समाजवादी मोर्चाले विरोध प्रदर्शनमा करिब डेढ लाख मानिस सहभागी हुने अपेक्षा राखेको छ । मोर्चाका अनुसार विरोध जुलुस बिहान ११ बजे सुरु हुनेछ ।

    कोटेश्वर हुँदै (पूर्वबाट आउनेहरू) बबरमहल, ललितपुर हुँदै (दक्षिणबाट आउनेहरू) कुपण्डोल, कलंकी हुँदै (पश्चिमबाट आउनेहरू) त्रिपूरेश्वर र बालाजु हुँदै (उत्तरपश्चिमबाट आउनेहरू) सोह्रखुट्टेमा भेला हुने जुलुसको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने छ । यसैगरी मैतीदेव, डिल्लीबजार चोक र शान्तिबाटिकाबाट निस्कने जुलुसको नेतृत्व एकीकृत समाजवादीले गर्नेछ भने नेपाल कम्युनिस्ट पार्टीले सुन्धारा र नेपाल समाजवादी पार्टीले न्यूरोड गेटबाट निस्कने जुलुसको नेतृत्व गर्नेछ ।
    यस्तो छ रुट

  • हेटौडामा देवरले गरे भाउजुको हत्या, दाईलाई बनाए घाइते

    हेटौडामा देवरले गरे भाउजुको हत्या, दाईलाई बनाए घाइते

    काठमाडौं । हेटौँडा उपमहानगरपालिका १ स्थित चौकीटालमा देवरद्वारा आफ्नै भाउजूको हत्या भएको छ । राहुल भन्ने रमेश दासले बुधवार भाउजू गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निज रमेशले जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    उनका अनुसार आफ्नै घरको माथिल्लो तलाको कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा रहेको भन्ने खबर राति ९ः०० बजे प्राप्त भइ प्रहरी अनुसन्धान टोली पुग्दा मृतक जेठी भाउजुलाई माइलो दाजु रुपेश दासलाई खुकुरी प्रहार गर्नुभन्दा पहिले नै अढाइ तल्ले घरको दोस्रो तल्लामा रहेको कोठामा टाउकोमा धारिलो हतियार प्रहार गरी देवर रमेश दासले हत्या गरेको देखिएको छ । दाजु २८ वर्षीय रुपेश दासलाई घरायसी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको पाइएको छ ।

    बुधवार दिउँसो ४ः१० बजेको समयमा भाइ रमेशले खुकुरी प्रहार रुपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागि गम्भिर घाईते बनाएको जानकारी प्राप्त भएपछि प्रहरीले रमेशलाई खुकुरीसहित नियन्त्रणमा लिएको थियो । निजलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएपछि भाउजूमाथि समेत खुकुरी प्रहरी गरेको खुल्न आएको थियो । घटनाको बारेमा थप अनुसन्धान हुँदै र घाइतेको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

  • अर्घाखाँचीको सुपादेउराली दर्शनमा गएको बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    अर्घाखाँचीको सुपादेउराली दर्शनमा गएको बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    काठमाडौं । अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना महिला र एक पुरूष रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सञ्चार शाखाले जनाएको छ। मृत्यु हुनेमा बसका चालक रहेका छन्। यद्यपि उनीहरूको पहिचान खुलिसकेको छैन।

    सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको हो। बुधबार साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा करिब २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीका अनुसार गुडिरहेको बस अचानक अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खसेको थियो।

  • माओवादी उपद्रो मच्याएर थाकेको शक्ति हो : प्रधानमन्त्री

    माओवादी उपद्रो मच्याएर थाकेको शक्ति हो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रलाई उपद्रो मच्चाएर थाकेर बसेको शक्तिको संज्ञा दिएका छन् । राष्ट्रिय युवा संघ नेपालले बुधबार आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने थोत्रो प्रणाली बोकेर हिँड्ने शक्तिको संज्ञा दिए ।

    ‘ती हतियार उठाएर थाकेका क्रान्ति गर्छु भनेर अनेको उपद्रो मच्चाएर, कति मान्छे मारेर, मराएर विध्वंस मच्चाएर थाकेर, थकित तत्वहरूका पसिना पुछ्न किन जानुपर्‍यो,’ विपक्षी दलको बैठकमा सहभागी रास्वपालाई प्रश्न गर्दै ओलीले भने, ‘आफूलाई नयाँ शक्ति भन्छन् नि, ७० वर्षको बुढो भयो रे नेता, ८८ वर्षका खोज्न जान्छन् ।’

    रास्वपालाई संकेत गर्दै ओलीले थोत्रो प्रणाली बोकेर आफूलाई नयाँ भन्ने गरेको टिप्पणी गरे । ‘सबभन्दा थोत्रो प्रणाली सामन्तवादी प्रणाली पुनर्स्थापित गर्छु भन्छन्, नयाँ भनेर उचाल्ने गर्छन्, नयाँ ?’ राजतन्त्रलाई थोत्रो र सामन्तीवादी प्रणाली भन्दै उनले नयाँ शक्ति भन्नेहरू मुखियातन्त्र ल्याउन हिँडेको टिप्पणी गरे ।


    यो विश्वमा राजतन्त्र नयाँ हुन्छ रु १९४७ पछि अंग्रेजले छोडेपछि ५६५ वटा रजौटाहरू भारतमा उन्मुलन भए, ती नयाँ, यस्ता थोत्रा प्रणाली बोकेर हिँड्ने अनि यो भएन त्यो भएन,’ उनले प्रश्न गरे, ‘लोकतन्त्र छोडेर मुखियातन्त्रमा फर्कन खोज्ने अनि नयाँ व्यवस्था भनेर जनता झुक्याउन खोज्ने ?’ नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले युवा संघका नेता कार्यकर्तालाई नयाँ पिंढीलाई कुरा बुझाउन र संगठित गर्न निर्देशन दिए ।

  • कलंकी ग्याङ फाइट प्रकरण : १६ जना पक्राउ

    कलंकी ग्याङ फाइट प्रकरण : १६ जना पक्राउ

    काठमाडौं । प्रहरीले अभय भन्ने अबे तामाङ हत्या प्रकरणमा सङ्लग्न १६ जना पक्राउ गरेको छ । उनको सोमबार साँझ भएको ग्याङ फाइटमा ज्यान गएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार २०८१ चैत ११ गते बेलुका साढे सात बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं। १४ खड्कागाउँस्थित सडकखण्डमा दुई समूहबिच पुरानो रिसिइबीलाई झगडा हुँदा सो घटना घटेको थियो ।

    दोलखा जिल्लाको साविक भेड्पु गाविस हाल मेलुङ गाउँपालिका वडा नं. ४ स्थायी घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ७ बस्ने स्वस्तिका तामाङको छोरा वर्ष २३ को अबे तामाङलाई स्थायी घर पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका वडा न. १० स्युचाटार बस्ने वर्ष २१ को आशिष श्रेष्ठसमेतका व्यक्तिले धारिलो हतियार तथा फलामको रड प्रहार गरि घाइते बनाएका थिए । निज तामाङको उपचारको क्रममा मृत्यु भएको थियो ।

    सो घटनामा सङ्लग्न श्रेष्ठसहित २१ वर्षीय सुजन तामाङ, २७ वर्षीय राज अर्याल, २० वर्षीय डेनिलय विश्वकर्मा, २० वर्षीय निश्चल ब्लोन तामाङ, १९ वर्षीय सुशान श्रेष्ठ, २३ वर्षीय विनय आले मगर, २१ वर्षीय खेमराज बहादुर मगर, २२ वर्षीय रन्जित श्रेष्ठ, २० वर्षीय साङ्गे तामाङ, २५ वर्षीय अजित बुढाथोकी, २५ वर्षीय रोहित खड्का, २० वर्षीय प्रबिन झेडी, १९ वर्षीय गौतम कमर जोगी, २२ वर्षीय प्रवेश गुरुङ र २२ वर्षीय डेबिड घले पक्राउ परेका हुन् ।प्रहरीकाअनुसार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति भइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

  • राजतन्त्रको पक्षमा आन्दोलनमा होमियो राप्रपा

    राजतन्त्रको पक्षमा आन्दोलनमा होमियो राप्रपा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा होमिएको छ । सो पार्टीले काठमाडौंमा चैत २६ गते प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरेको छ।
    मंगलबार राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको राप्रपा मूल आन्दोलन परिचालन समितिको बैठकले उक्त निर्णय गरेको हो।

    लिङ्देनका अनुसार राज संस्था, हिन्दु राष्ट्र र संघीयता खारेजी पक्षमा जसले आन्दोलन गरे पनि शान्तिपूर्ण ढंगले आन्दोलनमा समर्थन गर्ने निर्णय भएको छ। ‘वैशाख ४ र ७ गतेबाट काठमाडौं केन्द्रीत कार्यक्रम निरन्तर अघि बढाएर राप्रपा पूर्ण रूपले आन्दोलनमा होमिने निर्णय गरेको छ, उनले भने। पछिल्लो समय दूर्गा प्रसाइले समेत राजावादी आन्दोलन उचालिरहेका छन् ।

  • कालिमाटीमा ग्याङफाइट, एक जनाको ज्यान गयो

    कालिमाटीमा ग्याङफाइट, एक जनाको ज्यान गयो

    काठमाडौं । कालिमाटीमा ग्याङ फाइट भएको छ । जसमा एक युवकको ज्यान गएको छ । सोमबार साँझ होलिको विषयमा विवाद हुँदा कलंकी एलआएआई स्कुल नजिकै दुई समूहबीच भिडन्त भएको थियो । भिडन्तमा २२ वर्षीय अभय गोले गम्भीर घाइते भएका थिए ।

    घाइते गोलेलाई तत्कालै उपचारका लागि शहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो । उनको त्यहाँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

  • काठमाडौं छिर्ने नाकामा गाडी दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं छिर्ने नाकामा गाडी दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नम्बरको माइक्रो गाडी नागढुंगास्थित ढलानमा रोकिराकेको अवस्थामा आफै गुडेर अनियन्त्रित भई सडक छेउको पेटीमा ठोक्किएको थियो।

    दुर्घटनामा परी नाम, ठेगाना नखुलेको अन्दाजी २५–२६ वर्षकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको थियो। साँझ ५ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको एसपी बोहराले जानकारी दिए।

    दुर्घटनामा थप ९ जना घाइते भएका छन्। घाइतेहरूमा चितवनको कालिका नगरपालिका ७ की ६८ वर्षीया तारादेवी कुमाल, काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ की ३३ वर्षीया बिन्दु देवकोटा, उनका छोरा ३० महिनाका दिव्यन पोखरेल, चितवनको भरतपुर महानगरपालिका ६ की ४० वर्षीया अनिता थापा र उनकी १७ वर्षीया छोरी एरिसा थापा, भरतपुर ४ का ३७ वर्षीय मोहित गुरुङ, चितवनको कालिका नगरपालिका ७ की २५ वर्षीया सीमा कुमाल, उनका ६ वर्षीय छोरा इसान कुमाल र सर्लाहीको सोल्टी बजारकी २० वर्षीया कुसुम राई छिन्।

    उनीहरूको काठमाडौंकै ट्रमा सेन्टर, अन्नपूर्ण न्यूरो अस्पताल र मेड पोइन्टमा उपचार भइरहेको छ। माइक्रो चालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका(१३ का ३० वर्षीय राजेश घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।