Category: स्थानीय

  • बाँकेमा ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु

    बाँकेमा ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु

    काठमाडौं । बाँकेको डडुवा गाउँपालिकामा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ । डडुवा–२ स्थित बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा ८ वर्षीय विशाल गोदिया र ९ वर्षका शिउकुमार गोदियाको घटनास्थलमै मृत्यु भएको बाँकेका डीएसपी यमबहादुर मल्लले बताए ।

    बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले पानी ट्यांकर जलाइदिएका छन् । प्रहरी चौकीमा समेत ढुंगामुढा प्रहार भएको उनले बताए । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

  • काठमाडौं विमानस्थलबाट भेपसहित चार पक्राउ

    काठमाडौं विमानस्थलबाट भेपसहित चार पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेप (विद्युतीय) चुरोटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीको दुधौली नगरपालिका–८ का २६ वर्षीय सलिना बर्देवा, पर्वतको मोदी गाउँपालिका–८ का २४ वर्षीय सौगात क्षेत्री र मोरङको लेटाङ गाउँपालिका–५ का ४६ वर्षीय सुरेन्द्र घिसिङ तामाङ छन् ।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । शनिबार फ्लाई दुबईको उडानबाट उनीहरु काठमाडौं आएका थिए । उनीहरुलाई प्रहरीले संकास्पद अवस्थामा विमानस्थलको ट्याक्सी पार्किङ एरियाबाट पक्राउ गरेको हो । उनीहरुले भन्सार छलीका भेप ल्याएको प्रहरीको भनाइ छ । भेपसहित उनीहरुलाई विमानस्थलको भन्सार कार्यालय पठाइएको छ ।

  • भारतबाट नेपाल घुम्न आएका पर्यटक कालिगण्डकीमा वेपत्ता

    भारतबाट नेपाल घुम्न आएका पर्यटक कालिगण्डकीमा वेपत्ता

    काठमाडौं । भारतको उत्तर प्रदेश स्थित गोरखपुर जिल्लाबाट नेपाल घुम्न आएका एक जना युवक कालीगण्डकी नदीमा बेपत्ता भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका ५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार २५ वर्षीय शिवम पाण्डे बेपत्ता भएको पाल्पाका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

    उनीसँगै घुम्न आएका अन्य तीन जना भने सकुशल रहेको मल्लले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा पाण्डेको खोजी कार्य जारी रहेको मल्ले जानकारी दिए ।

  • त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आज स्ववियू निर्वाचन

    त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आज स्ववियू निर्वाचन

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ४६ अंगिक क्याम्पस सहति अरु सम्बन्धन प्राप्त क्याम्पसमा पनि आज चुनाव हुँदैछ । मतदान बिहान ८ बजेदेखि ४ बजे सम्म हुनेछ । १३ वटा आंगिक क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ । ‘रोकिएका क्याम्पसमा सहमतिको प्रयास भइरहेको छ ।

    १५ दिनभित्र चुनाव गराउन भनेका छौं,’ त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले भनेका छन् । त्रिविको ६४ वटा अंगिक क्याम्पस र एक हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । २०७९ मा ५० वटा आंगिक र ३०० बढी सम्बन्ध प्राप्त क्याम्समा चुनाव भएको थियो ।

    विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ । त्रिवि विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ ।

    विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।

    अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ ।

    सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ । स्ववियु निर्वाचनको तयारी भइरहेका बेला त्रिविको चर्चित क्याम्पस रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार मध्यराति अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ ।

    यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिए । सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ । आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ ।

  • कार घरको भित्तामा ठोक्कियो, चालकको ज्यान गयो

    कार घरको भित्तामा ठोक्कियो, चालकको ज्यान गयो

    काठमाडौं । कैलालीमा अनियन्त्रित भएर एक कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अत्तरियाबाट महेन्द्रनगरतर्फ गइरहेको बा १७ च९६४५ नम्बरको स्कारपियो कार शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका–३ को चौकीडाँडास्थित एक घरको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा कार चालक कृष्णपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय सिवित रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले अनियन्त्रित भएको गाडी सडकभन्दा करिब ५० मिटर दक्षिणतर्फ रहेको बहादुर कडाराको पक्की घरको भित्तामा ठोक्किएको बताए । घरको भित्तामा ठोक्किएपछि गम्भीर घाइते भएका चालक रानाको राति साढे ९ बजे सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी बोहराले बताए ।

  • समाजवादी मोर्चाको पत्रकार सम्मेलन, १५ चैतमा प्रदर्शनको तयारी

    समाजवादी मोर्चाको पत्रकार सम्मेलन, १५ चैतमा प्रदर्शनको तयारी

    काठमाडौं । समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको दावि गरेको छ ।
    देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरूको क्रियाकलापबारे दृष्टिकोण अगाडि सार्न शनिबार आयोजित पत्रकार सम्मेललनमा समाजवादी मोर्चाले सो धारणा राखेको हो । मोर्चाले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको पनि उल्लेख गरेको छ ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाह¦को अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ,’ विज्ञप्तिमा भनिएको छ ।

    मोर्चाले सरकारको गलत रबैयाका कारण जनतामा असन्तुष्टि बढ्दै गएको पनि जिकिर गरेको छ । ‘नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ,’ मोर्चाको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा ‘अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्वपूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा सरकार उद्धत रहेको तथा सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ’ उल्लेख छ ।

    मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको भन्दै मोर्चाले प्रदर्शन गर्न लागेको हो ।

  • तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, शनिबार बिहान अन्दाजी साढे ४ बजेतिर काठमाडौं ३२, तिनकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसक्रममा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङ गम्भीर घाइते भएका थिए ।

    एसपी बोहोराका अनुसार, उनीहरुलाई उपचारका लागि तत्काल ट्रमा सेन्टर पठाइएको थियो । उपचारका क्रममा बिहान साढे ५ बजे सुकराम तामाङको मृत्यु भएको छ । अर्का घाइते रमेश तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपरलाई प्रहरीले विमानस्थलको कार्गोभित्र फेला पारेको छ भने चालक फरार छन् ।

  • दैलेखमा रुखले किचेर दुई जनाको मृत्यु

    दैलेखमा रुखले किचेर दुई जनाको मृत्यु

    काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् ।

    सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको बताए ।

  • कैलालीमा नुहाउने क्रममा दुई किशोरको मृत्यु

    कैलालीमा नुहाउने क्रममा दुई किशोरको मृत्यु

    काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका १९ बाइसघरस्थित मोहना नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहरा रहेका छन् । शुक्रबार दिउँसो मोहना नदीमा नुहाउन पसेका दुवै जना डुबेर बेपत्ता भएका थिए ।

    घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल बीओपी लल्लिपुर र बीओपी फुलबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूको खोजतलास गरेको थियो । खोजतलासको क्रममा दुवै जनाको शव बेपत्ता भएको स्थानभन्दा केही तल डुबेको अवस्थामा फेला परेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएपछि..

    भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएपछि..

    काठमाडौं । भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएको छ। बिहीबार साढे १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका(७ सुवर्णस्वरबाट गुण्डु जाँदै गरेको बिएए ०८३४ नम्बरको स्कोरपियो गाडी ओभर तीव्र गतिका कारण सडकमै पल्टिएको प्रहरीको भनाई छ । दुर्घटनामा परी गाडीमा सवार ८ जना घाइते भएको भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले बताए।

    घाइतेहरूमा भक्तपुरको सुर्यविनायक नगरपालिका ५ बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षका कमल अछामी, सुवोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोखरेल,३५ वर्षका विवेक बस्नेत, २७ वर्षीय रूपा पन्त र २७ वर्षीय आशिष अछामी छन्। उनीहरू सबैको मध्यपुर अस्पतालमा उपचार भइरहेको डिएसपी न्यौपानेले बताए।

  • माटोको ढिस्काले पुरिँदा दुई जनाको मृत्यु

    माटोको ढिस्काले पुरिँदा दुई जनाको मृत्यु

    काठमाडौं । माटोको ढिस्कोले पुरिँदा मंगलसेन नगरपालिका ८ सुतुडाका दुई महिलाको मृत्यु भएको छ । वडा नम्बर ९ पान्लिभिडमा चैतेदसैंका लागि घर लिपपोत गर्न माटो ल्याउन गएका एकाघरका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी बिनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।

    डीएसपी भण्डारीका अनुसार उनीहरू दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएका हुन् । घटनाको थप जानकारीका लागि प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

  • आफ्नै पसल जलाएर बीमा दावि

    आफ्नै पसल जलाएर बीमा दावि

    काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८, न्युरोडस्थित शर्मा आइटी हबमा भएको आगलागीमा संलग्न रहेको आरोपमा प्रहरीले जनालाई प्रहरीले पक्राउ गरेको छ। पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले सञ्चालक लोहारले पसलको एक करोड बराबरको बिमा गराएको र बिमा रकम लिन आफैंले पसलमा आगजनी गरेको पाइएको जानकारी दिए । आइटी हबका फागुन १६ गते साँझ ७ बजे आगो लागेको थियो। आगलागी करिब ४५ मिनेटमा नियन्त्रणमा आएको थियो।

    लोहारले शिखर इन्स्योरेन्स कम्पनी बिमा गराएकाले क्षतिपूर्तिका लागि दाबी गरेका थिए । अनुसन्धानका क्रममा पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेकाले सन्देह लागेर अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य खुलेको हो। लोहारमाथि जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप भएको छ। लोहारमाथि आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, ५ पक्राउ

    काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, ५ पक्राउ

    काठमाडौं । काठमाडौंमा हत्या गरी बोराभित्र राखेर फालेको अवस्थामा एक जना महिलाको शव फेला परेको छ। शनिबार मध्याह्न करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको थियो। करिब ३५ वर्षीया महिलाको शव भेटिएको हो। अनुसन्धानको क्रममा महिलाको हत्या भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोरालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    उनले महिलाको हत्या आरोपमा पाँच जनालाई पक्राउ गरेको बताए। उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ आइतबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा सर्लाही बागमती ढुंगेखोला घर भई कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भई सोही वडामा बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट मेघाङ ४ घर भई सोही वडामा बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भई गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालक छन्। मृत भेटिएकी महिलाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। मृत्यु हुनेको सनाखत भएको छैन।

  • प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै

    प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम जाँदै छन् । ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम जान लागेका हुन् । उनी हेलिकप्टरमार्फत बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा पुग्ने छन् । त्यहाँ उनले दीक्षान्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । त्यसपछि भने धनगढी उपमहानगरपालिका(८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम छ ।

  • मोरङ एमालेमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर विजयी, ओली पक्षधरको प्यानलै हार्यो

    मोरङ एमालेमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर विजयी, ओली पक्षधरको प्यानलै हार्यो

    काठमाडौं । नेकपा एमाले मोरङको पदाधिकारीमा अजम्बर राई नेतृत्वको प्यानल नै विजयी भएको छ। संस्थापन पक्षका उम्मेदवारहरूलाई पराजित गर्दै विनोद ढकाल पक्षका उम्मेदवारहरू निर्वाचित भएका हुन्। शुक्रबार साँझ सकिएको पदाधिकारी तर्फको मत गणनाको अन्तिम परिणाम अनुसार ढकाल पक्षका राईले ४४६ मत प्राप्त गरी अध्यक्ष पदमा जित हासिल गरेका हुन्। उनले संस्थापन पक्षका राजकुमार ओझालाई पराजित गरेका हुन्। ओझाले ४०७ मत प्राप्त गरेका छन। उपाध्यक्षमा सागर थापा निर्वाचित भएका छन्। सागरले ४२२ मत पाउँदा संस्थापनकी शान्ति लिम्बूले ३९१ मत पाएकी थिइन्।

    गएको जेठमा सागर थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने कमिटीमा लिम्बू संयोजक थिइन्। सचिवमा ढकाल पक्षका सोमराज थापाले ४६२ मत ल्याएर विजयी बन्दा संस्थापनका रविन थापाले ३६८ मत पाएका छन्। उपसचिवमा सन्तोष वान्तावाले ४९० मत पाएर विजयी भएका छन्। संस्थापनका इरजा लाल राजबंशीले ३११ मत पाएका छन्। उपसचिवमा उषा झा विजयी भएकी छन्। उनले ४१८ मत र संस्थापनकी शिल्पा कार्कीले ४०५ मत पाएकी छन्।

  • पोखरामा कोटीहोम विवाद : झडपले तनावग्रस्त

    पोखरामा कोटीहोम विवाद : झडपले तनावग्रस्त

    काठमाडौं । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको थियो ।

    सो क्रममा कोटीहोम सञ्चालक र महानगर प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । ‘कोटीहोमवाला गर्ने भन्ने नगरपालिका अनुमति नदिएर गर्न नदिने भन्ने विषयमा विवाद हुँदा नगर प्रहरीसँग झडप भएको हो,’ शर्माले भने ।

    नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइड स्थित जग्गा सहरको अति व्यस्त स्थान, विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनार र कोटीहोमले भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी महानगरपालिकाले सो अनुमति तत्काल रद्द गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय यसअघि गरेको थियो ।

  • साँखुमा आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु

    साँखुमा आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।
    द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो ।

    त्यसको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको आश्रय स्थलका फाउण्डर अध्यक्ष युवराज थापाले जानकारी दिए । उनका अनुसार बिहानै प्रहरी आएर मृतक र घाइतेलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पुर्‍याएको थियो ।

    प्रहरीका अनुसार अस्पतालका चिकित्सकले आज बिहान ४ः३३ बजे मृत घोषणा गरेका थिए । अहिले टिपरलाई डोजरको सहायताले तानेर बाहिर निकालिएको छ । उक्त टिपर सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीले चलाएका थिए । उनलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सलम्बुटारमा २०६२ सालदेखि आश्रयस्थल सञ्चालन गर्दै आएको छ । त्यहाँ ६१ जना बस्दै आएका थिए । तीमध्ये १० जना बसेको टहरामा टिपर छिरेको थियो ।

  • पर्वतमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

    पर्वतमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा पर्वत बिहादी गाउँपालिका ३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका ५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए ।

    घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको उनले बताए । उक्त जीपमा सवार एकजना बालकको अवस्था भने सामान्य छ । ‘२ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ’, डिएसपी विष्टले भने, ‘प्रहरी घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान गरिरहेको छ ।’

  • कन्चनपुरमा हत्या अभियोगमा फरार कांग्रेस नेता पक्राउ

    कन्चनपुरमा हत्या अभियोगमा फरार कांग्रेस नेता पक्राउ

    काठमाडौं । कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।उनकाअनुुसार बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ । नेपाली कांग्रेस कञ्चनपुरका सदस्यसमेत रहेका बोहरामाथि वेदकोटकै हर्कबहादुर खडायतको हत्या गरेको आरोप छ ।

    एसपी जोशीका अनुसार बोहरासहितको समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका–१ हात्तीथलामा देउसी–भैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेका थिए । तत्कालीन समयमा पाँच जनाविरुद्ध कर्तव्य ज्यान उद्योग शीर्षकमा मुद्दा दर्ता भएको थियो । तर, खडायतको उपचारका क्रममा १० पुस २०८० मा मृत्यु भएपछि भने कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको थियो । बोहरा पक्राउ परेपनि उक्त मुद्दामा अन्य चार जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • सिन्धुपाल्चोकमा भुकम्प, काठमाडौं आसपास ठूलो धक्का

    सिन्धुपाल्चोकमा भुकम्प, काठमाडौं आसपास ठूलो धक्का


    काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।  

    राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण मस्त निद्रामा रहेका मानिसहरु ब्युँझिएका थिए । अहिले क्षतिको आङ्कलन गर्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

  • राष्ट्रपतिले गरे पशुपतिमा पूजा-अर्चना

    राष्ट्रपतिले गरे पशुपतिमा पूजा-अर्चना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा बुधबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार अपरान्ह पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्न पशुपति पुगेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए ।

    मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका अधिकारी लगायतले स्वागत गरेका थिए । महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।

  • धादिङमा ट्याङकर दुर्घटना : २ जनाको मृत्यु

    धादिङमा ट्याङकर दुर्घटना : २ जनाको मृत्यु

    काठमाडौं । धादिङमा ट्याङ्कर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । गल्छी गाउँपालिका-३ गुप्तेश्वरभिरस्थित भित्रि सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । बा प्र ०१–००४ क ३३५२ नं.को पानी ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गुजुरी-६ कै १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो । दुर्घटनामा गजुरी गाउँपालिका(६ का १९ वर्षीय सिरिश चेपाङ र सोही ठाउँका १७ वर्षीय सुरेश चेपाङ गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

  • पश्चिम नवलपरासीमा झडप, एक जनाको मृत्यु

    पश्चिम नवलपरासीमा झडप, एक जनाको मृत्यु

    काठमाडौं । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समूहबीच झडप भएको छ । सो घटनामा घाइते एक जनाको मृत्यु भएको छ। पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ की एक युवती हराएपछि सोमबार रातीदेखि दुई समूहबीच विवाद उत्पन्न भएको थियो। सोही विवाद बढ्दै गएपछि मंगलबार बिहान दुई समूहबीच झडप भएको थियो। सो क्रममा युवतीका आफन्तले पाल्हीनन्दन वडा नम्बर ३ बेलासपुरका ३५ वर्षीय विजय धोवीलाई गाडीले ठक्कर दिएका थिए।

    वडा नम्बर ३ का वडा अध्यक्ष गोधनप्रसाद हरिजनका अनुसार युवतीतर्फको समूहले चलाएको गाडीले धोवीलाई ठक्कर दिएको थियो। गाडीले ठक्कर दिएका विजय धोवीको मृत्यु भएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले जानकारी दिएका छन् । दुई समूहले एकअर्कालाई आरोप लगाएपछि झडप भएको प्रहरीले जनाएको छ। सोमबार भएको झडपपछि मंगलबार बिहान विवाद समाधानका लागि छलफल गर्न खोज्दा फेरी झडप भएको वडाअध्यक्ष हरिजनले बताए।

    प्रहरीका अनुसार स्थानीय १६ वर्षीया किशोरी पुसको अन्तिमतिर हराइरहेको भन्दै निवदेन परेको छ। उनीसँगै सोही गाउँका एक युवक पनि परिवारको सम्पर्कमा छैनन्। प्रहरीले मंगलबार बिहान झडप नियन्त्रणका लागि ५ राउन्ड अश्रुग्यास र ३ राउन्ड हवाइ फायर गरेको थियो। सो क्रममा स्थानीय र प्रहरी गरी २१ जना घाइते भएका थिए। आक्रोशित समूहले प्रहरीको गाडीमा समेत आगजनी गरेको थियो। प्रहरीले उक्त कार्यमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ।

  • बागलुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

    बागलुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका –९ दर्लिङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते जिल्लाको निसीखोला गाउँपालिका –७ चोलाङका ७५ वर्षिय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका –५ नाथुरे बस्ने ३५ वर्षिया जुना कँडेलको मृत्यु भएको हो ।

    बडिगाड गाउँपालिका ७ भिमगिठेबाट ग्रामीण सडक हुँदै खहरेतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको पिकअप जिप सोमबार साँझ सार्कीपाटा घुम्तीमा दुर्घटना भएको हो । बे्रक फेल भई दुर्घटनामा परेको जिप सडकबाट झण्डै ६० मिटर तल खसेको प्रनाउ यादवले बताए । घटनामा घाइते अन्य चार जनाको बुर्तिबाङमै उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


    दुर्घटनामा परी बडिगाड ९ बस्ने ६३ वर्षिया तेजकुमारी बुढाको अवस्था गंभीर रहेको छ । घाइतेको थप उपचारको लागि बुर्तिवाङ अस्प्तालले पोखरा रिफर गरिएको यादवको भनाइ छ । बुढाको टाउको र शरीरको भित्री भागमा चोट लागेको छ । यस्तै, बडिगाड ९ कै ५० वर्षिय निमसरा बुढा, ५२ वर्षिय यमकुमारी पौडेल, ३० वर्षिय सिता पौडेल, ६ वर्षिया पुर्णिमा पौडेल र ३ वर्षिया अंशु पौडेल घाइते हुनुभएको छ । घाइतेहरुको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी नायव निरीक्षक खगेश्वर अर्याल नेतृत्वको प्रहरी टोली र गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, वडाध्यक्ष र स्थानीयबासी उद्धार कार्यमा खटिएका थिए । दुर्घटनामा परी सामान्य अवस्थामा रहेका सवारी चालक बडिगाड गाउँपालिका ९ कै २३ वर्षिय हिमाल घर्ति मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • ‘नो केवलकार समूह’लाई सरकारले पुनः वार्तामा बोलायो

    ‘नो केवलकार समूह’लाई सरकारले पुनः वार्तामा बोलायो

    काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा रहेका ‘नो केबलकार समूह’ लाई सरकारले वार्तामा बोलाएको छ । सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सह(सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका हुन्। ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन अनुरोध गर्दछु ।’

    यसअघि आन्दोलनरत पक्षसँग विभिन्न चरणमा भएका वार्ता निष्कर्षमा पुग्न सकेको छैन । माघ २२ गते बसेको २ पक्षीय वार्ताले केबुलकार निर्माण कार्य तत्काललाई स्थगित गर्ने र माघ २७ गते दोस्रो चरणको उच्चस्तरीय राजनीतिक वार्ता बस्नेसहित ६ बुँदे सहमति भएको थियो ।

    तर २७ गते गृहमन्त्रालयका सहसचिव भट्टराईकै नेतृत्वमा खटिएको सरकारी वार्ता टोलीसँग नभइ र राजनीतिक टोलीसँग मात्रै वार्ता गर्ने भन्दै आन्दोलनरत पक्षले वार्ता बहिस्कार गरेका थिए । पाथीभरमा केबुलकार बनाउने विषयमा माघ १२ गते प्रहरी र नो केबुलकार पक्षबीच झडप भएपछि सिर्जना भएको विवाद एक महिना हुँदासम्म साम्य हुन सकेको छैन । अहिले यो विवादले सडकदेखि सदनसम्म बहस सिर्जना गरेको छ ।

  • आफ्नै दाजुका छोराबाट प्यूठानमा दम्पत्तिको विभत्स हत्या

    आफ्नै दाजुका छोराबाट प्यूठानमा दम्पत्तिको विभत्स हत्या

    काठमाडौं । माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियार पक्राउ परेका छन् । पङ्कज मृतकका दाजुका छोार हुन् । उनले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको प्रहरीले बताएको छ । घटनाको जानकारी समेत स्वयमः अभियुक्तले प्रहरीमा गएको समेत खुलेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपेश बस्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । डिएसपी बस्यालका अनुसार रिसको झोँकमा घन प्रहार गरी आफ्ना काका र काकीको हत्या गरेको पङ्कजले प्रहरीलाई बयान दिएका छन्।

    युवकले हत्या गरेको स्वीकारेका छन्, डिएसपी बस्यालले भने, प्रहरीसँग सोधपुछका क्रममा पङ्कजले , “सधैँ गाली गर्थे, हेप्थे, थारो भन्थे, सहन सकिनँ घनले हानेर भनी स्वीकार गरेका छन् । एक हप्ताअघि रामबहादुरले पङ्कजलाई ‘स्वास्नी पाउन नसकेको थारो’ भन्दै गाली गरेका थिए । यस घटनाले पङ्कजको मनमा घृणा र आक्रोश सिर्जना गरेको थियो। शनिवार राति रक्सी सेवन गरी, पङ्कजले घरको दोस्रो तलाबाट प्रवेश गरेका थिए। सुतिरहेका दम्पतीलाई देखेपछि उनले घन उठाएर तीन तीन पटक टाउकोमा प्रहार गरेका थिए ।

    प्रहरीले घटनास्थलबाट ५० मिटर परको बारीबाट रगतले लतपतिएको घन र मृतकहरूको रगत पुछेको व्लाङ्केट वरामत गरेको छ । डिएसपी बस्यालले हत्याको सूचना दिने पहिलो व्यक्ति नै पङ्कज भएको समेत जानकारी दिए । उनले भने, ‘जसले हामीलाई सबैभन्दा पहिला घटना शङ्कास्पद छ भनेर सूचना दिएको थियो, उसैले दम्पतीको हत्या गरेको खुल्यो ।’

  • आजबाट माओवादीको हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान

    आजबाट माओवादीको हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आजबाट हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान थाल्दैछ । सोमबार झापाको कचनकबलबाट माओवादीले जागरण अभियान थाल्न लागेको जनाएको छ । यसका लागि अध्यक्ष प्रचण्ड आइतबार नै झापा पुगेका छन् । अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादी केन्द्रले बताएको छ। अभियानको नेतृत्व पार्टी अध्यक्ष ‘प्रचण्डले नै गर्नेछन्। टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली रहनेछन्। सम्बन्धित प्रदेशक, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि रहनेछन्।

    कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ। मधेसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा नै कार्यक्रम हुनेछ। बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँकेमा कार्यक्रम हुनेछ। सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ। अभियानमार्फत माओवादी केन्द्रले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध विस्तार गर्ने लगायतका उद्धेश्य राखेको छ।

    गत पुसको २१ गतेदेखि २३ गतेसम्म बसेको केन्द्रीय समिती बैठकले अभियानको थालनी गर्ने निर्णय गरेको थियो। जागरण अभियान चैत ७ गते कञ्चनपुर पुगेर सकिनेछ। मओावादीले वैशाखमा पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित पूर्व–पश्चिम जागरण अभियान गर्ने समेत जनाएको छ ।

  • पाथिभरा केवलकार विवाद अझै चर्कियोः फुङलिङ बजारमा झडप

    पाथिभरा केवलकार विवाद अझै चर्कियोः फुङलिङ बजारमा झडप

    काठमाडौं । ताप्लेजुङको फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप भएको छ । झडपले ताप्लेजुङको फुङलिङ बजारमा तनाव बनेको छ ।
    सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार झडपमा परेर केही प्रहरी पनि घाइते भएका छन् ।

    पाथिभरामा केबुलकार बनाउन सुरु

    आन्दोलनकारी पक्षका व्यक्तिहरूले फुङलिङ बजारमा सर्वसाधारणकै घरमा आगोका राँको फाल्न थालेपछि अवस्था तनावग्रस्त बन्न पुगेको उनले बताइन् । राज्यले गम्भीर रुपमा नलिँदा ताप्लेजुङमा केवलकार विवादले हरेक दिन झडपको स्थिति बनेको छ ।

  • प्यूठानमा दम्पत्ति मृत फेला

    प्यूठानमा दम्पत्ति मृत फेला

    काठमाडौं । प्यूठानमा एक दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन्। माण्डवी गाउँपालिका–२ रातामाटेका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नो घरभित्रै मृत फेला परेका हुन्। शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि एक जना छिमेकी परियारको दम्पतीलाई बोलाउँदै ढोका ढकढक्याउन गएका थिए। त्यही क्रममा ती छिमेकीले चिहाएर नियाल्दा भित्र परियार दम्पती लडेको अवस्थामा देखेपछि अरूलाई खबर गरेका थिए।

    त्यसपछि प्रहरीलाई खबर भएको प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले बताएका छन् । मृतकका शरीर तथा टाउकोमा घाउ चोट देखिएको प्रहरीले बताएको छ। घटना अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर झिकाइएको डिएसपी बस्यालले जानकारी दिए। कुकुर घटनास्थल आउन अझै केही समय लाग्ने उनले बताए।

  • हनुमानढोकामा एक व्यक्ति मृत फेला, दुई जना नियन्त्रणमा

    हनुमानढोकामा एक व्यक्ति मृत फेला, दुई जना नियन्त्रणमा

    काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएका छन् । यस प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक बिहीबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    नेपालमा सडक दुर्घटनाका कारण प्रतिदिन औसत ७ जनाको मृत्यु

    उनले भने, “हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ ।” मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाले आफुलाई थप्पड हानेका कारण बाँसको चिर्पटले हानेर हत्या गरेको बयान दिएका छन् । उनीहरु १८ वर्ष भन्दा कम उमेरका रहेका कारण प्रहरीले नाम सार्वजनिक गरेको छैन ।