Category: स्थानीय

  • जीप दुर्घटनामा ओखलढुंगामा ३ जनाको मृत्यु

    जीप दुर्घटनामा ओखलढुंगामा ३ जनाको मृत्यु

    काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा जीप दुर्घटना भएको छ । बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलले जानकारी दिए ।

    मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीया तारा गुरुङ रहेका छन् । आगलागीमा परी गम्भीर घाइते मायादेवीलाई लिएर काठमाडौँ जाँदै गरेको दुर्घटनामा परेको हो । खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    जीप चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने भेटिएका छैनन् । उनी फरार रहेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण संकलनको कार्य भइरहेको उनले बताए ।

  • काठमाडौंको चन्द्रागिरिमा एक पुरुष मृत फेला

    काठमाडौंको चन्द्रागिरिमा एक पुरुष मृत फेला

    काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक पुरुष मृत फेला परेका छन्। चन्द्रागिरि नगरपालिका १५ ढुंगेअड्डा पिपल चौतारी स्थित प्रगति युवा क्लबको पक्की तिनतले खाली भवनको दोस्रो तलामा मंगलबार साँझ सुतिरहेको अवस्थामा एक पुरूष मृत अवस्थामा फेला परेका हुन् ।

    थानकोट प्रहरी वृत्तका प्रमुख डिएसपी सूर्य प्रकाश सुवेदीका अनुसार मृतकको पहिचान खुलेको छैन। उमेर अन्दाजी ५८ देखि ६० वर्ष छ। मानिस मृत फेला परेको खबर आएपछि प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा प्रहरी टोली खटेर गएको उनले बताए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • आज शहीद दिवस, देशैभर भब्य रुपमा मनाईदै

    आज शहीद दिवस, देशैभर भब्य रुपमा मनाईदै

    काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम दिन बुधबार भव्य रुपमा शहीद दिवस मनाउने निर्णय गरेको थियो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको जानकारी अनुसार शहीद सप्ताहको अन्तिम दिन बुधबार भएकाले सरकारको तर्फबाट आज शहीदगेटमा शहीदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने छ । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीहरु पनि सहभागी हुनेछन् ।

    विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न संघसंस्थाले मात्र कार्यक्रम गरी दिवस मनाउने गरेका थिए । तर यस वर्ष प्रधानमन्त्री ओली आफैं शहीदगेट पुग्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पुग्ने छन् । सिंहदरबार परिसरमा आयोजना हुने शहीद दिवसको कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

    वि।सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गरिन्छ । यस वर्ष शहीद सप्ताहको अन्तिम दिन सरकारकै तर्फबाट शहीद दिवस मनाउन लागिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

    माघ १६ गते शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिंदैछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद गेट र शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

    यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णय अनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर स्थित राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रमको तयारी भइरहेको छ । गोकर्णेश्वरमा वनमन्त्रीको सहभागितामा कार्यक्रम गर्ने तयारी छ । पछिल्लो समय नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि गर्ने स्थल राखिने घोषणा गरिएको छ । तर त्यो सञ्चालनमा आउन सकेको छैन ।

  • माओवादी अध्यक्ष प्रचण्ड ओलीको जन्म गाउँ जाँदै, जनयुद्ध संग्रहालय उद्घाटन गर्दै

    माओवादी अध्यक्ष प्रचण्ड ओलीको जन्म गाउँ जाँदै, जनयुद्ध संग्रहालय उद्घाटन गर्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार तेह्रथुम प्रस्थान गरेका छन् । उपमहासचिव वर्षमान पुनसँगै उनी सोमबार सैनिक हेलिकप्टरमार्फत् त्यसतर्फ लागेका हुन् । सोमबार उनले लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्‌घाटन गर्ने कार्यक्रम छ । आजै उनी तेह्रथुमको आठराई गाउँपालिका जाने कार्यक्रम छ ।

    आठराई वर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो समेत हो । आठराईमा अध्यक्ष दाहालले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्नेछन् । हाल आठराई गाउँपालिका ३, तत्कालीन ह्वाकु गाउँ विकास समितिमा पर्ने बगालेमा २०५८ माघ १४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारण सामूहिक रुपमा मारिएका थिए ।

    पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो । सोही सन्दर्भमा दाहाल सोमबार त्यहाँ आयोजित कार्यक्रमहरूमा सहभागी हुन लागेका हुन् । सोमबार दुई कार्यक्रममा सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नेछन् । उनी त्यहाँ रहँदा खाम्लालुङमा रहेको झाँक्री गुफा समेत अवलोकन गर्ने कार्यक्रम छ ।

  • अछाममा दुई किशोरी मृत्यु प्रकरणमा दुई किशोर पक्राउ

    अछाममा दुई किशोरी मृत्यु प्रकरणमा दुई किशोर पक्राउ

    काठमाडौं । अछाममा दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने दुवै जना २० वर्षभन्दा कम उमेरका छन् । सोहीकारण पहिचान खुलाइएको छैन । जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षिया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला परेको थियो ।


    शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उहाँहरू त्यही दिनबाट सम्पर्कविहीन भएका थिए । शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका छन् । परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागि स्थानीय प्रशासनसँग माग गरेको छन् । शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका छन् । मृतक दुवै जना एउटै परिवारको हुन् ।

    मृतक सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन् । शङ्कास्पद व्यक्तिका बारेमा परिवारका सदस्यले दिएको जानकारीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरेका छन् ।

  • अछाममा दुई किशोरी मृत फेला

    अछाममा दुई किशोरी मृत फेला

    काठमाडौं । अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् ।ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए ।

    ईश्वरी र सरस्वती शुक्रबार बिहान खाना खाएर गाईबाख्रा चराउन जंगल गएका थिए । शुक्रबार घर नफर्किएपछि आफन्त र गाउँलेले खोजी सुरु गरेका थिए । खोजीको क्रममा उनीहरु भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेको भनेर शनिबार बेलुकी ६ः४० बजे प्रहरीलाई खबर प्राप्त भएको प्रहरी निरीक्षक देउवाले बताए । थप अनुसन्धानका लागि डिएसपी ईश्वरी प्रसाद भण्डारी नेतृत्वको टोली घटनास्थल गएको छ ।

  • नेपालको हिमाली भेगमा मनाइने लोसारको दिन न्युयोर्क सहरमा पार्किङ सुविधा

    नेपालको हिमाली भेगमा मनाइने लोसारको दिन न्युयोर्क सहरमा पार्किङ सुविधा

    जनवरी २३ । न्युयोर्क ।

    नेपालको हिमाली भेगमा मनाइने लोसार चाडलाई न्युयोर्क सहरको सिटी काउन्सिलले पर्वको दिनमा वैकल्पिक साइड पार्किङ नियम (Alternate Side Parking) निलम्बन गर्ने भएको छ। लोसार पर्व परेको दिन सडक सफा गर्ने दिन परेको क्षेत्रमा असुबिधा नहोस भनेर न्युयोर्क सिटी काउन्सिलले सो सुविधा दिएको हो ।

    कोरियाली मूलका काउन्सिल सदस्य जुली वोनले दर्ता गरेको बिधेयक (Intro-100) सिटी काउन्सिलबाट सर्वसम्मत पारित भएपछि हिमाली समुदायको प्रमुख चाड लोसार (नयाँ वर्ष) पनि न्युयोर्क सिटीको वैकल्पिक साइड पार्किङ चाड (Alternate Side Parking Holiday) को रुपमा सुचिकृत हुन पुगेको छ। न्युयोर्क सहरको फोहोर मैला प्रवन्ध बिभागले बैकल्पिक दिनमा सरसफाई गर्दा सडकमा पार्क गरेका गाडीहरु हटाउनु पर्ने नियम छ । तर अबदेखि उक्त हिमाली लोसारको पहिलो दिनमा सडकमा पार्क गरेको गाडी हटाउने झन्झट नभएको हुनाले ढुक्कै सँग लोसार मनाउन पाउने भएको छ। यस वर्षको लागि सो छुटको दिन फेब्रुअरी २८ लाई राखिएको छ ।

    सिटी काउन्सिलको बैठकपछि काउन्सिल सदस्य जुली वोन र हिमाली समुदायले सिटी काउन्सिलको प्रांगणमा ऐतिहासिक विजयोत्सव र्‍यालीको आयोजना गरेको थियो। धेरै परिषद सदस्यहरूका साथमा लोसार मनाउने समुदायका करिव २०० सदस्यहरू यस ऐतिहासिक उत्सबमा उपस्थित थिए।

    उपस्थित हिमाली समुदायलाई संबोधन गर्दै काउन्सिल सदस्य जुली वोनले भने; “न्युयोर्क सिटीमा नेपाल, तिब्बत, भुटान, मंगोलिया, भारत र अन्य देशहरूबाट आएका बौद्धहरूका लागि पहिलो र एकमात्र ASP छुट्टी हो। मेरो डिस्ट्रिक्ट र न्यूयोर्क सहर भरिका ६१ हजार भन्दा बढी न्यूयोर्कवासीहरूले तिब्बती बौद्ध नयाँ वर्ष लोसार मनाउँछन्। यो ऐतिहासिक बिल तिब्बती र हिमाली समुदायको लागि पहिलो र विशिष्ट ASP चाड हो। हाम्रो तिब्बती र हिमाली समुदायको लागि यो बिल कोसेढुङ्गा पनि हो। हिमाली समुदायसँग लोसार मनाउन पाउँदा र उनीहरूको सँस्कृति सम्मान गर्न पाउँदा मलाई गर्वको अनुभूति भएको छ।”

    उक्त कार्यक्रममा सिटी काउन्सिल यातायात समितिका अध्यक्ष सेलभिना ब्रुक्स पावर, भारतीय मूलका पहिलो काउन्सिल मेम्बर शेकर कृष्णन, काउन्सिल मेम्बर नार्सिस मर्सिडिस्, काउन्सिल मेम्बर, लिन्डा ली, लगायत नेपाली, तिब्बती र अन्य हिमाली समुदायका प्रतिनिधिहरु गेशे टाशी दोर्जे, एकाम्पनी क्यापिटलका कार्यकारी निर्देशक याङ्की छिरिङ्, दोखाम क्षुशी गाङड्रुकका अध्यक्ष नोर्बु ल्हामो, न्यूयोर्क न्युजर्सी तिब्बती समुदायका अध्यक्ष नुर्बु छोजुङ, शेर्पा किदुगका महासचिव साङ दोर्जे शेर्पा, गुरुङ तमु समाजका अध्यक्ष ओम गुरुङ, र भुटानीज कम्युनिटीका अध्यक्ष उलप लेकी, एनएसएसपीका अध्यक्ष दालामु शेर्पाले पनि संबोधन गरेका थिए। तिब्बती साँस्कृतिक मामला संबन्धि निर्देशक डोल्मा रिन्जिनले परम पावन दलाई लामा र तिब्बती निर्वासित सरकारका सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा हिमाली सिंह नाच र तिब्बती परम्परागत नामतर गाना प्रसतुत गरिएको थियो ।

    यो लोसार बिधेयक (Intro-100) लाई काउन्सिल मेम्बर Julie Won सहित कूल ४० सह-प्रायोजकहरुको व्यापक समर्थन रहेको थियो । जसमा न्युयोर्कका पाँच बोरोहरू मध्ये क्वीन्स, ब्रुकलिन, र म्यानहट्टन बोरो अध्यक्षहरूका ३७ काउन्सिल सदस्यहरू रहेका छन्। जनवरी २३ मा भएको नगर परिषदको बैठकमा उपस्थित ४८ जना सदस्यहरुको सर्वसम्मतिबाट यो बिल पारित भएको थियो ।

    न्युयोर्कको शेर्पा किदुग लगायतका संघ संन्थाहरुले सन् २०१७ देखि लोसार चाडलाई पहिचान दिलाउने अभियान थालेका थिए। हिमाली चन्द्र पात्रोको पहिलो दिनदेखि १५ दिनसम्म मनाइने लोसार हिमाली समुदायको प्रमुख चाड हो। हर्ष र उल्लासको वातावरणमा नयाँ वर्षको शुभारम्भ गर्ने पर्व हो । लोसारको पहिलो दिन परम्परागत रूपमा घरमै बसेर परिवारसँग रमाइलो वातावरणमा मनाइन्छ । दोस्रो दिनदेखि १५ दिनसम्म गुम्बामा गई शान्ति पुजा गर्ने, ठुलाबडा र मान्यजनहरुसँग भेटेर आशीर्वाद ग्रहण गर्ने र एक अर्कामा शुभकामना र कोशेली साटासाट गर्ने गर्दछन् । चाडको पुरै अवधि भोज भतेर, नाचगान र मनोरन्जनमा बित्दछ ।

  • पर्वत केन्दविन्दु भएर भूकम्प गयो

    पर्वत केन्दविन्दु भएर भूकम्प गयो

    काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।

  • रातो बाँदर अब ‘कृषि हानिकारक वन्यजन्तु’ घोषित

    रातो बाँदर अब ‘कृषि हानिकारक वन्यजन्तु’ घोषित

    काठमाडौं । सरकारले जंगली रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । कृषि हानिकारक वन्यजन्तु निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याए विनाअनुमति धपाउन, लखेट्न र पक्रन पाइन्छ । त्यस क्रममा उक्त जनावर मरे विवरण राखेर स्थानीय तहको रोहवरमा मुचुल्का उठाइ गाड्न समेत पाइन्छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा। दीपककुमार खरालका अनुसार विभिन्न सर्तसहित रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको हो ।

    सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै एक वर्षका लागि रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । सर्त अनुसार बाँदरलाई मार्ने उद्देश्यले गतिविधि गर्न पाइने छैन । तर, लखेट्ने वा पक्रने क्रममा मर्‍यो भने त्यस्तो बाँदरको संख्याको विवरण राख्नुपर्ने गरी सर्त तोकिएको छ । स्थानीय स्तरमा जंगली बाँदरको आतंकप्रति किसानले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।

    कृषि मन्त्रालयका अनुसार जंगली रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा जनधन हानि नोक्सानी पुर्‍याए किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बाँदरलाई धपाउन, लखेट्न वा पक्रन सक्ने छ । रातो बाँदर पक्रिए त्यो बाँदर सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष वा संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहत नजिक कार्यालयमा बुझाउनुपर्ने छ ।

    बाँदर धपाउने क्रममा मर्‍यो भने सम्बन्धित वडाका कम्तीमा एक जना प्रतिनिधि सहित स्थानीय पाँच व्यक्तिको रोहवरमा गाड्न पाइने भएको छ । त्यसको जानकारी निकुञ्ज वा वन कार्यालयमा गराउनुपर्ने छ । साथै, स्थानीय तहको वडामा समेत त्यसको जानकारी गराउनुपर्ने छ । रातो बाँदर मारिएमा कार्यालयहरूले हरेक दुई–दुई महिनामा मन्त्रालयमा विवरण पठाउनुपर्ने छ ।

    राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष वा राष्ट्रिय वन क्षेत्रमा भने जंगली रातो बाँदरलाई धपाउन, लखेट्न र पक्रन पाइँदैन । उता, सरकारले जंगली बँदेललाई समेत थप एक वर्षका लागि कृषि हानिकारिक वन्यजन्तु घोषणा गरेको छ । योसँगै निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेल बाहेक जंगली बँदेललाई विनाअनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न पाइने भएको छ ।

    बँदेल पक्रिए निकुञ्ज वा नजिकको कार्यालयमा बुझाउनुपर्छ । त्यसको सूचना स्थानीय वडा कार्यालयमा समेत गराउनुपर्छ । धपाउने, लखेट्ने वा पक्रने क्रममा बँदेल मरे त्यसलाई सम्बन्धित वडाका एक जना प्रतिनिधि सहित स्थानीय पाँच व्यक्तिको रोहवरमा सम्बन्धित वडाभित्र उपयोग गर्न वा गाड्न पाइने छ ।

    तर, बँदेलको मासुलाई व्यावसायिक प्रयोजनमा बिक्री गर्न भने रोक लगाइएको छ । त्यसको जानकारी भने निकुञ्ज कार्यालय वा वडा कार्यालयमा गराउनुपर्ने गरी सर्त राखिएको छ । निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रभित्र भने बँदेल मार्न पाइँदैन । सरकारले गत वर्ष पनि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो ।

  • भक्तपुरमा कार र मोटरसाइकल ठोक्कियो, एक महिलाको मृत्यु

    भक्तपुरमा कार र मोटरसाइकल ठोक्कियो, एक महिलाको मृत्यु

    काठमाडौं । भक्तपुरमा कार र मोटरसाइकल ठोक्किंदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मोटरसाइकल चालक भोजपुर घर भइ काठमाडौं पेप्सीकोला बस्ने राजु राईकी श्रीमती सपना राईको मृत्यु भएको प्रहरीले जनाएको छ । गत सोमबार मध्यपुरथिमि नगरपालिका २ दिव्यश्वरीस्थित सडकमा पेप्सीकोलाबाट मगर गाउँतर्फ जाँदै गरेको बा.प्र.०१–०२७ च ९२७ नम्बरको कार र सोही दिशातर्फ जाँदै गरेको बा ५० प ७४१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।


    दुर्घटनामा गम्भीर घाइते भएकी सपनालाई उपचारका लागि मदरल्याण्ड अस्पताल लिइएको थियो । त्यहाँबाट थप उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लिइएकोमा उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । सपनाको शव अस्पतालमै राखिएको छ । दुर्घटनामा घाइते भएकी उनकी तीन वर्षीया छोरी ईश्वरीको सोही अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । कार चालक रामेछाप सुनापाती गाउँपालिका १ घर भइ बूढानीलकण्ठ ४ बस्ने ३४ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरी वृत्त ठिमिले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

  • गोठाटारमा एक जना मृत फेला

    गोठाटारमा एक जना मृत फेला

    काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटार बालुवाखानीमा एक पुरुषको शव भेटिएको छ । बालुवाखानीस्थित खाली जग्गामा पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । अन्दाजी ३० वर्ष जतिका ती पुरुष बुधबार मृत फेला परेका हुन् । मृत भेटिएका पुरुषको सनाखत समेत हुन सकेको छैन । नामथर यकिन हुन बाँकी नै रहेकाले थप अनुसन्धानको काम समेत अघि बढ्न नसकेको प्रहरीले जनाएको छ ।

  • पाथिभरामा केबुलकार बनाउन सुरु

    पाथिभरामा केबुलकार बनाउन सुरु

    काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने ‘पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार’ परियोजना निर्माण मंगलबारदेखि सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबुलकार निर्माण कार्य सुरु भएको जानकारी दिए । जिल्लाका सबै राजनीतिक दल, सांसद्, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने केदेमले बताए ।

    केबुलकार कम्पनी सञ्चालक रुद्र पौडेलले पाथीभरा केबुलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुंगा बन्ने बताए । केबुलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने उनको भनाइ छ ।

    पौडेलका अनुसार आगामी १५ महिनाभित्र केबुलकार चढेर पाथीभरा देवी दर्शन गर्न सकिने छ । केबुलकारले अशक्त वृद्धवृद्धा तथा बालबालिका लगायत भक्तजनलाई समेत पाथीभरा देवीको दर्शन गर्न सहज हुनेछ । पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबुलकार उदाहरण बन्ने विश्वास छ ।

    केबुलकार सञ्चालनमा आएपछि पाथीभरा देवी दर्शन गर्न आउने पर्यटक संख्या वार्षिक १० लाखसम्म पुग्ने पौडेलको भनाइ छ । केबुलकार सञ्चालनले पाथीभरा देवी दर्शनको मौका सबैले सहजै प्राप्त गर्दा भक्तजन संख्या ह्वात्तै बढ्ने उनले बताए ।

    साथै, केबुलकार परियोजनाले ताप्लेजुङलाई सुरक्षित, दिगो तथा विश्वस्तरीय पर्यटन उत्पादन र सेवा सुविधा सहित अनुपम पर्यटन गन्तव्यका रूपमा स्थापित गराउन सहयोग पुग्ने उनले उल्लेख गरे ।

    पाथीभरा केबुलकार सञ्चालन तथा व्यवस्थापन आईएमई ग्रुपले गरिरहेको छ । आईएमईले केबुलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव हासिल गरिसकेको छ ।

    काठमाडौं चन्द्रागिरिमा पहिलो केबुलकार निर्माण गरी काठमाडौंमा नयाँ पर्यटन गन्तव्य बनाएको आईएमईले नवलपुरमा मौलाकाली र बुटवलमा लुम्बिनी केबुलकार सञ्चालन गरिरहेको छ । यी दुवै केबुलकार तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आएका थिए । त्यस्तै कर्णालीमा जालपादेवी केबुलकार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।

    अब पाथीभरा देवी दर्शन केबुलकारको काम छिटोभन्दा छिटो सकेर नेपालको पर्यटन बजारमा थप ‘गेम चेन्जर’ परियोजना अघि बढाउने कार्यमा हातेमालो गर्न पनि आईएमई ग्रुपले आह्वान गरेको छ ।

  • बूढानिलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु

    बूढानिलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर एक जना श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ घर भई काठमाडौंको पेप्सिकोलामा बस्ने २७ वर्षीय रोशन माझी रहेका छन् ।

    बूढानीलकण्ठ नगरपालिका-१३ बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला

    काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला

    काठमाडौं । काठमाडौं गोकर्णेश्‍वरमा एक जना पुरुष मृत फेला परेका छन् । गोकर्णेश्‍वर नगरपालिका(५ जम्बुडाँडास्थित सडकपेटीमा पहिचान खुल्न नस्केका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • राष्ट्रपतिबाट भूमि सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपतिबाट भूमि सम्बन्धी अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् । मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेकोमा आज राष्ट्रपति रामचन्द्र पौडेलले जारि गरेका हुन् । चार ओटा यसअघि नै ४ वटा अध्यादेश जारी भइसकेका छन् भने एउटा बाँकी थियो । बाँकी रहेको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले बुधबार जारी गरेका हुन् ।

  • न्यायाधीश चढेको कार दुर्घटनामा

    न्यायाधीश चढेको कार दुर्घटनामा

    काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जंगलमा मंगलबार सवारी दुर्घटना हुँदा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मीसहित दुई जना घाइते भएका छन्। न्यायाधीश रेग्मी चढेको बिएबी ७१४६ नम्बरको कार मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    मदन भण्डारी राजमार्गमा पर्ने बराहक्षेत्र ३ को जंगलमा कार दुर्घटना भएको हो। ५४ वर्षीय न्यायाधीश रेग्मी र उनीसँगै कारमा सवार कृष्ण खनाल घाइते भएको र उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    काठमाडौं । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय माडीको टोली घट्नास्थलतर्फ गएको उनले बताए ।

  • नुवाकोट, रसुवासहितका जिल्लामा आज गोरु जुधाइ महोत्सव

    नुवाकोट, रसुवासहितका जिल्लामा आज गोरु जुधाइ महोत्सव


    काठमाडौं । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाउन लागिएको छ ।

    माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जनाएको छ ।

    जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु दर्ता भएको माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार किसानले पालेकामध्येबाट जुधाइका तोकिएका मापदण्ड पूरा गरेका गोरु दर्ता भएका छन् । ‘विगत वर्षका तुलनामा जुधाइ प्रदर्शनीमा सहभागी गराउने गोरु दर्ताका लागि मापदण्डमा गरिएको कडाइले यो वर्ष सङ्ख्या कम भएको छ’, संयोजक श्रेष्ठले भने, ‘जुधाइमा सहभागी हुने गोरुको प्रस्तुति उत्कृष्ट र दर्शकलाई भरपू्र मनोरञ्जन दिन प्रदर्शनी केन्द्रित गर्ने लक्ष्य लिएका छौँ ।’

    ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित आयोजना गरिएको कार्यक्रममार्फत संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन केन्द्रित गरिँदै आएको संयोजक श्रेष्ठको भनाइ छ ।

    तारुकाको गोरु जुधाइको सुरुआत बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा १८८७ सालमा गोरु जुधाएर मनोरञ्जन दिएकाले सोहीको निरन्तरता भनिए पनि इतिहासमा उक्त तथ्य पुष्टि भएको पाइन्न ।

    यस्तै, माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीमा ११ हल गोरु दर्ता भएका छन् । गोरु जुधाउन किसानले पालेकामध्येबाट उत्कृष्ट ११र हल गोरु दर्ता गरेर गोरु जुधाइ प्रदर्शनी गर्न लागिएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ ।

    गोरु जुधाइ प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटका अनुसार गोरु जुधाइ प्रदर्शनीका लागि छनोट भएका गोरुको समूह विभाजन, गोरु जुधाइको नियम र आचारसंहिता, जुध्ने गोरुका धनीलाई दिइने पुरस्कार, चोटपटक तथा कुनै भवितव्य भएमा उपलब्ध गराइने क्षतिपूर्तिसहितको व्यवस्था गरिएको छ ।

    वेत्रावतीमा आयोजित गोरु जुधाइ प्रदर्शनी नेपाल र भोटबीच भएको युद्धअन्तर्गत १८४९ सालमा वेत्रावतीमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जित भएको उत्सवसँग जोडेर लिने गरिएको छ । यद्यपि उक्त तथ्यको पनि एकीन इतिहास कहीँ उल्लेख छैन ।

    माघे सङ्क्रान्ति मनाउने क्रममा आजै नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल, लिखु गाउँपालिका–३ सूर्यमतिको कट्टीछाप, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, शिवपुरी गाउँपालिका–५ शेराबगरलगायत स्थानमा पनि गोरु जुधाइ प्रदर्शनी गरेर किसानले सङ्क्रान्ति पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेका छन् ।

    किसानले पालेका गोरुलाई एकअर्कासँग अर्थात् ‘वान भर्सेस वान’का आधारमा नछुट्टिएसम्म जुधाइने हुँदा त्यसको अवलोकनका लागि स्वेदश तथा विदेशी पर्यटकहरूको पनि ध्यान केन्द्रित गर्दै आएको छ ।

  • प्रचण्ड सुकुटे पुगे, सडक मर्मतमा तिव्रता दिन आग्रह

    प्रचण्ड सुकुटे पुगे, सडक मर्मतमा तिव्रता दिन आग्रह

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । उनले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर यस्तो आग्रह गरेका हुन् ।

    उनले तत्काल सरकारले मर्मतमा मात्रै ध्यान दिँदा पनि आवागमन सहज हुने अवस्था रहेकाले तत्काल मर्मत कार्य अघि बढाएर पुनर्निर्माणलाई गति दिन आग्रह गरे । काठमाडौँ–सिन्धुपाल्चोक खण्डमा दुई वटा बेलीबृज बनाउने र पहिरो गएको खण्डमा राम्रोसँग मर्मत गर्ने हो भने आवागमन सहज हुने अवस्था रहेको उनले बताए ।

    यसपटकको बाढीपहिरोले काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको थियो। प्रकोप लगत्तै अध्यक्ष प्रचण्डले प्रभावितस्थलको निरीक्षण गर्नुका साथै प्रभावितस्थलमा उद्दार, राहत र पुनर्स्थापनामा नेता कार्यकर्ता परिचालन गरेर विपत व्यवस्थापनको पहल लिएका थिए ।

  • न्युयोर्कको दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रमा स्वस्थानी व्रतकथा हुने

    न्युयोर्कको दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रमा स्वस्थानी व्रतकथा हुने

    न्युयोर्क ।

    हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा जनवरी १३ बाट न्युयोर्कको रिजउडस्थित दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रमा सुरु हुने भएको छ । 

    प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिने प्रचलन अनुसार प्रवासको जीवनशैलीलाई सहजतास्वरुप सामुहिक वाचन र श्रवण गर्न लगिएको हो । जसको व्यवस्थापनको लागि ५० सदस्यीय व्रतकथा समिति समेत गठन गरिएको छ । 

    स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । त्यसैले प्रारम्भको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरवात गरिन्छ । बिहान स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

    एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ । 

    न्युयोर्कमा रिजउड नेपाली समाजको अगुवाईमा हरेक वर्ष व्रतकथा आयोजना गरिंदै आएकोमा यस वर्ष पनि अझ सभ्य र स्तुत्य विधिबाट गरिने अध्यक्ष राजेश भट्टले बताए । 

    नेपालमा खासगरी आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको सबैभन्दा ठुलो मेला मेला सुरु हुने गर्दछ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौं भक्तजन आउने गर्छन् ।

    संस्थाका महासचिव नविन अधिकारीका अनुसार व्रतकथाको हरेक एक दिनको कर्ता एक वा बढी परिवार पनि रहने सक्ने छन् । न्युयोर्कको १६-६२ स्टेफन स्ट्रिट, रिजउडस्थित मन्दिरमा हरेक दिन अर्चना, आरती, स्वस्थानी कथा , पुष्पान्जली र भजन किर्तन साँझ ७ बजेदेखि ९:३० रात्रीसम्म चल्नेछ ।

  • मोरङमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    मोरङमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं । मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बेलुका सुन्दरहरैंचा नगरपालिका ९ र बेलबारी नगरपालिका १० मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुई जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको सुन्दरहरैंचा नगरपालिका–९ नागदेवी खण्डमा प्र१–०२–०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १–०२-०५१ प ७६३५ नम्बरको स्कुटर दुर्घटना भएका थियो ।

    दुर्घटनामा परी स्कुटर चालक मोरङ सुन्दरहरैंचा नगरपलिका– ९ बस्ने ३८ वर्षीया प्रमिला श्रेष्ठको मृत्यु भएको हो । सवारी दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि विराट नर्सिङहोममा भर्ना गरिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सुनसरी इटहरी बस्ने ४० वर्षीय नवीन सिंह ठकुरी घाइते भएका छन् ।

    बेलबारी नगरपालिका१० चाँदनी चोकस्थित भित्री सडक खण्डमा बेलबारी नगरपालिका १०४–२०८१–८२ नम्बरको सिटी सफारी दुर्घट्ना हुँदा सिटी सफारीमा सवार सोही स्थानकी ५० वर्षीया मायादेवी राजवंशीको मृत्यु भएको छ । उनको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सिटी सफारी चालक सोही स्थानका ५० वर्षीय भुपे दाहाल घाइते छन् । उनको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  • सल्यानमा दुई बालिका घरमै मृत फेला, आमा पक्राउ

    सल्यानमा दुई बालिका घरमै मृत फेला, आमा पक्राउ

    काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दिदीबहिनी बालिका मृत फेला परेका छन् । प्रहरीले आमा पुर्णिमा रानालाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान घरभित्रै पुर्णिमाका ६ महिने र ३ वर्षकी छोरी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी गराएको छ । लगत्तै घटनास्थलमा पुगेको प्रहरीले टोलीले आमालाई नियन्त्रणमा लिएको हो ।

    मृतक छोरीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको गरेको पाइएको छ । प्रहरीका अनुसार पुर्णिमाका श्रीमान जेठाजु, सासु, ससुरा नुवाकोटमा काम गर्ने सिलसिलामा गएका छन् । घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको प्रहरीको भनाई छ ।

  • व्यवसायीले किन रोके सगरमाथा क्षेत्रमा अत्यावश्यक उडान ?

    व्यवसायीले किन रोके सगरमाथा क्षेत्रमा अत्यावश्यक उडान ?

    काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु पासाङल्हामु गाउँपालिकाले खुम्बु क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको विरोधमा व्यवसायीले अत्यावश्यक उडान समेत रोकेका छन् । वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेका अनुसार आइतबारदेखि लागु हुने गरी त्यस क्षेत्रमा हुने सबै उडान रोक्ने निर्णय गरिएको छ । साथै, त्यहाँ हवाईजहाजबाट नियमित उडान गरिरहेका कम्पनीले समेत क्रमशः आफ्ना उडान स्थगन गर्ने निर्णय भएको संघले जनाएको छ ।

    निकुञ्ज र गाउँपालिकाले हेलिकप्टरले अनुमति लिएर अत्यावश्यक उडान गर्न सक्ने तर व्यावसायिक उडान गर्न नपाउने गरी १ जनवरीबाट रोक लगाउने निर्णय गरेका थिए । उक्त निर्णय फिर्ता लिन वायुसेवा कम्पनी, नागरिक उड्डयन प्राधिकरण सहितका निकायले आग्रह गरिरहेका छन् । पटक–पटकको वार्ता निक्र्योलमा पुग्न नसकेको, हेलिप्याडहरूमा झन्डा गाडेर अवरोध गरिएको र आपतकालीन अवतरण गर्ने वातावरण समेत नभएको भन्दै वायुसेवा कम्पनीहरूले त्यस क्षेत्रमा अब अत्यावश्यक सहित सबै उडान रोक्ने निर्णय गरेका हुन् ।

  • विपि राजमार्ग पुनर्निर्माणमा २ वर्ष भन्दा धेरै समय लाग्ने अनुमान

    विपि राजमार्ग पुनर्निर्माणमा २ वर्ष भन्दा धेरै समय लाग्ने अनुमान

    काठमाडौं । गत असोज दोस्रो साता बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड हुने भएको छ। बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो।

    डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो। उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो।

    कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका पर्खाल (आरसिसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ। ुअध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, पर्खाल लगाउने भन्नेबारे छलफलपछि निष्कर्ष निकालिनेछ,ु उनले भने।

    प्रमुख योगेशका अनुसार खोलाको बाढी आउन सक्ने ठाउँमा आरसिसी वाल लगाउनुपर्ने देखिएको छ भने कतै प्लम वाल र कतै गेभियन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ। क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न स्रोत सुनिश्चितताको पर्खाइमा रहेको प्रमुख योगेश बताउँछन्। ुसडकखण्ड पुनर्निर्माण गर्न गएिएको अध्ययनअनुसार लाग्ने लागतको स्रोत सुनिश्चित भएको छैन, दातृ निकाय तथा नेपाल सरकारबाटै स्रोत सुनिश्चित भएपछि ठेक्का खोल्ने प्रक्रियातिर लाग्छौँ,ु उनले भने।

    राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो। उक्त राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग छलफल गरेका थिए।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाइकासँग उक्त सडकखण्ड पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको छ। मन्त्रालय जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा रहेको छ। मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने तयारी छ।

    यस्तै दातृ निकायहरू एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर भए पनि राजमार्ग पुनर्निर्माणको तयारी छ। सचिव शर्मा आगामी फागुनसम्ममा ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ। पुनर्निर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षको वर्षामा यातायात सञ्चालनमा कठिनाइ ब्यहोर्नुपर्ने प्रमुख योगेशले बताए। हाल स्रोत सुनिश्चित भएको भए काम सुरु गर्थ्यौं, अब ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन पनि सक्छ, उनले भने।

    तस्बिर : पेमा लामा/ रासस

    उनका अनुसार पूर्ण रूपमा सडक पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्छ। बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ।बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ।

    राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको हो। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३र०५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो।

    खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिमी रु ३५ करोड लागत थियो।

    रासस

  • होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

    होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

    काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् । गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो ।

    त्यसपछि फरार रहेका ती युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको ओखलढुंगा डिएसपी कृष्ण खड्काले सञ्चारमाध्यमलाई जानकारी गराएका छन् । युवक केही समयअघि मात्रै जापानबाट फर्किएका थिए । होटलमा मृत फेला परेकी युवती जापनिज भाषा अध्ययनरत रहेको खुलेको छ ।

  • जलपन्छी गणना हुँदै, देशभरी एकै पटक सुरु

    जलपन्छी गणना हुँदै, देशभरी एकै पटक सुरु

    काठमाडौं । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणना गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पंछीविद सङ्घका बरिष्ठ चरा विद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताए । उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलनकार्य हुनेछ ।

    गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिएको थियो । “यस वर्ष पनि यी क्षेत्रलाई निरन्तरता दिइने लक्ष्य राखेका छौँ” उनले भने, “गोक्यो, गोसाइँकुण्ड, माईपोखरी, फोक्सण्डो तालजस्ता हिमाली क्षेत्रका तालमा भने अझै नियमित गणनाकार्य हुन सकेको छैन, यी ताल र अन्य संभावित सिमसार क्षेत्रमा चरा अबलोकनमा जानेको विवरण माग गरेका छौँ इच्छुक जो सुकैले जान सक्छन् ।”

    विगतका वर्षझै यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौँ उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिने उनले बताए । भारतीय महादिपमा एशियाली जलपंछी गणनाकार्य सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले शुरु गरेको हो । यो कार्य शुरुमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अष्ट्रेलियामा गरिएको थियो ।

    सन् १९८७ देखिनै नेपालमा पनि एशियाली जलपंछी गणनाकार्य नियमितरुपमा हँुदै आएको छ । नेपालमा पहिलो गणना एक रामसार साईट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यस पछि गणनाकार्य निरन्तररुपमा जारी रहेको छ ।
    गत वर्ष सन् २०२४मा गरिएको जलपंछी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्र्तगत ८४ वटा साना क्षेत्रमा चार सय दुई जना स्वयंसेवकले ७९ प्रजातीका ६३ हजार नौ सय जलपंछी रेकर्ड गरेका थिए । यीमध्ये छ वटा रामसारमा सूचिकृत सिमसार क्षेत्र पनि थिए । बरिष्ठ पछीविद पौडयालका अनुसार यस वर्षको गणनाप्रारम्भीक नतिजा आगामी २ फ्रेवुअरी २०२५ मा विश्व सिमसार दिवसको अबसरमा सार्वजनिक गरिने छ ।

  • बझाङमा दुई दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

    बझाङमा दुई दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

    काठमाडौं । बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएका जिप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको र कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको गरी पाँच जनाको मृत्यु भएको हो ।


    सुकगाडमा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीकी छोरी पाँच वर्षीया आकृतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले जानकारी दिए ।

    चालक सहित तीन जनाको घटनास्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शुक्रबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको उक्त जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

    विहीबार राति नै करिब नौ बजेतिर सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९८ नम्बरको जिप बझाङको कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जिप चालक धर्म थापाको मृत्यु भएको छ । चालक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त जिप मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जाँदै थियो ।

  • मंकीपक्स भित्रन नदिन विमानस्थलमै सचेतना अपनाइने, स्वास्थ्य मन्त्रीले गरे छलफल

    मंकीपक्स भित्रन नदिन विमानस्थलमै सचेतना अपनाइने, स्वास्थ्य मन्त्रीले गरे छलफल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मंकीपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । उनले विमानस्थलमा रहेका अधिकारीहरुसँग छलफल गर्दै जोखिम फैलन नदिने गरी प्रभावकारी सेवा दिन आग्रह गरे ।
    मन्त्रालयले मंकीपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आइरहेको छ ।

    हाल साउदी अरेबियाबाट आएका दुई नागरिकमा संक्रमण देखिएकामा एक उपचारपछि घर फर्किसकेका छन् । अर्का एकको सुरक्षित अवस्थामा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भैरहेको छ । उनले नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरुवा रोग नियन्त्रण अस्पताल अनि सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको जनाए ।

    उनले साउदी अरेबियाबाट संक्रमित बिरामी आइरहेकाले नेपाली समुदायमाझ सचेतनाका लागि नेपाली दूतावासमार्फत काम गर्ने प्रतिबद्धतासमेत जनाए । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स नियन्त्रणका लागि अपनाएको सजगता प्रशंसनीय रहेको भन्दै आवश्यक सहयोगका लागि तयार रहेको बताए ।

  • बसको ठक्करबाट सर्लाहीमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

    बसको ठक्करबाट सर्लाहीमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

    काठमाडौं । सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको ज्यान गएको छ । गतराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बसले थिच्दा गम्भीर घाइते तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । चिकित्सकले राति पौने १० बजे मृत घोषणा गरेका थिए । छतौनाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ०१(००६ ख २००४ नम्बरको राजदेवी बस अनियन्त्रित भई पल्टिएको बताइएको छ ।

  • बैतडीमा आज बिहानै भूकम्पको धक्का

    बैतडीमा आज बिहानै भूकम्पको धक्का

    काठमाडौं । बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प हो।


    भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन। सम्बन्धित क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। भूकम्प मापन केन्द्रले थप विवरणका लागि अनुसन्धान गरिरहेको जनाएको छ।