Category: स्थानीय

  • इटहरी उपमहानगरपालिकाको गेटमा शंकास्पद वस्तु फेला, सेनाले पार्यो निष्कृय

    इटहरी उपमहानगरपालिकाको गेटमा शंकास्पद वस्तु फेला, सेनाले पार्यो निष्कृय

    काठमाडौं । सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको हो ।

    उपमहानगरपालिका अगाडिको भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली खटिएको थियो । टोलीले सो वस्तु निष्कृय पारेको छ । उपमहानगरपालिकासँगै भोटेपुल र बुढी खोलामा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो । सूचनामा भनिए अनुसारको कालो झोला भने उपमहानगरपालिका अगाडि मात्रै भेटिएको छ ।


    आज बिहान करिब साढे ४ बजे इलाका प्रहरी कार्यालय इटहरीमा राजावादी समूहको नाममा तीन ठाउँमा बम राखेको भन्दै म्यासेज आएको थियो । प्रहरीलाई आएको सूचनामा आजदेखि सशस्त्र संघर्ष सुरु भएको भनिएको छ । प्रहरीले शंकास्पद वस्तु राख्ने र प्रहरीलाई सूचना दिने व्यक्तिको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

  • सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका(९, मूर्तिया चोकमा उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । विपरीत दिशामा रहेका ज१त ९८७६ नम्बरको ट्याक्टर र ज४प ३७७ नम्बरको मोटरसाइकल सोमबार राति ठोक्किंएका थिए ।

    दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका-५ बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी गौतम थापाले जानकारी दिए ।

    डीएसपी गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राति नै अस्पतालमा उपचारका क्रममा मृत्यु हो । ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका(७ का ३८ वर्षीय वीरेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • उपत्यकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    उपत्यकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । काठमाडौंको नेपालटारमा सोमबार राति साढे ९ बजे बा९७प ६५४९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको चैनपुर घर भई हाल बौद्ध बस्ने ३३ वर्षीय कमल राई छन् ।

    उनको उपचारको क्रममा राति १० बजेर २० मिनेटमा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक संखुवासभा चैनपुरकै २६ वर्षीय सुभम राई घाइते छन् । उनको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भैंसेपाटीमा माइक्रो बसको ठक्करबाट महिलाको मृत्यु

    यसैगरी सोमबार राति नै ललितपुरको भैंसीपाटीमा यात्रुबाहक माइक्रोबसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बा३ख ३१०२ नम्बरको माइक्रो बस बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित भई बाटो किनारमा हिँडिरहेकी ३५ वर्षीया गोमा लुंगेलीलाई ठक्कर दिएको थियो । ललितपुरको मगरगाउँ बस्ने गोमाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो माइक्रो बस बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित हुँदा रोकिराखेको बोलेरो गाडि र एउटा पसलमा समेत क्षति पुगेको छ ।

  • झापा पुगेर केपी ओलीविरुद्ध प्रचण्डको आक्रामक भाषण

    झापा पुगेर केपी ओलीविरुद्ध प्रचण्डको आक्रामक भाषण

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार झापा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ पुगेका हुन् । उक्त खबरदारी सभामा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाएका छन् । यसअघि पटक–पटक सत्ताका सहयात्री रहेका उनीहरूबीच पछिल्लोपटक कांग्रेससँगको सत्ता सहकार्यपछि सम्बन्ध तितो छ ।

    उनले ओलीलाई देशकै ‘जाली, झेली, कपटी र बेइमानी’ भनेका छन् । ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु,’ प्रचण्डले ओलीलाई भने, ‘जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’ आइतबार मात्रै पर्साको वीरगञ्ज पुगेर प्रधानमन्त्री ओलीले प्रचण्डप्रति लक्षित गर्दै अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको टिप्पणी गरेका थिए ।

    साथै, उनले बिर्तामोडको गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने दाबी गरे । सम्बोधनको क्रममा प्रचण्डले आफूलाई अलोकतान्त्रिक र तानाशाही ढंगबाट हटाइएको जिकिर गरे ।

  • अछाममा मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु

    अछाममा मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु

    काठमाडौं । अछाममा बोइलर कुखुराको मासु खाँदा एक जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार कमलबजार नगरपालिका–३ बयालाका तुलासिंह विकका १४ वर्षीय छोरा कमल विकको मृत्यु भएको हो । शुक्रबार साँझ नजिकैको मासु पसलबाट मरेको कुखुरा ल्याएको र शनिबार बिहानदेखि मासु खाएका सबै परिवारमा स्वास्थ्य समस्या देखिएपछि प्रहरीको सहयोगमा जिल्ला अस्पतालसम्म पुर्‍याएको उनले बताए ।

    सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयबाट अन्य कुखुराको परीक्षण गर्न पनि पहल भएको भण्डारीले बताए । ‘ प्रारम्भिक अनुसन्धानबाट फुड पोइजनको कारण मृत्यु भएको र सोही कारण बिरामी भएको हुन सक्ने देखिएको छ । सबै स्वास्थ्य रिपोर्ट आइसकेको छैन,’ प्रहरी प्रमुख भण्डारीले भने । ‘मरेको कुखुराको मासु खाने एक जनाको मृत्यु भइसकेको छ । तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ,’ उनले भनिन् ,‘हजुरामा र नातीनीको अवस्था भने गम्भीर छ । भोलि (सोमबार) बिहानसम्म पनि स्वास्थ्य अवस्थामा सुधार भएन भने अन्तै रेफर गर्नु पर्ने देखिन्छ ।’

  • प्रहरी जवानले आफैलाई हाने गोली

    प्रहरी जवानले आफैलाई हाने गोली

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए ।

    ‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए ।’

    उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइयो । त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्‍याइएको छ । न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीको भनाइ रहेको छ ।

  • गुल्मीमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

    गुल्मीमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा चन्द्रकोट(६ झापक बस्ने ३० वर्षीय विनोद विक र ४० वर्षीय किरण कुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजन भुजेलले बताए ।जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–७ सिस्नेखोला स्थित मजुवा–रिडी सडक खण्डमा लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटनामा परेको हो

    सडक छेउमा पल्टिरहेको स्कुटरबाट बाटोदेखि अन्दाजी २५० मिटर तल सिस्ने खोलाको पानीमा २ जना पुरुष व्यक्ति तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पानीमा तैरिरहेकालाई प्रहरीले उद्दार गरी उपचारका लागि प्रथामिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनी गुल्मीमा पठाएका थिए । उनीहरुलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको एसपी भुजेलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • जाजरकोटमा एकाबिहानै भूकम्पको धक्का

    जाजरकोटमा एकाबिहानै भूकम्पको धक्का

    काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्प गएको छ । आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

    २०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा साढे एक सय बढीको मृत्यु भएको थियो । पछिल्लो समय पश्चिम नेपालमा निरन्तर भूकम्पको धक्का महसुस भइरहेको छ ।

  • हुम्लामा हिमपातले जनजीवन प्रभावित

    हुम्लामा हिमपातले जनजीवन प्रभावित

    काठमाडौं । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा पनि हिमपात भएको जानकारी दिए । सदरमुकामा दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ ।

    चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।

    (राससबाट)

  • फुल्चोकी जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा

    काठमाडौं । ललितपुरको फुल्चोकी जंगलमा बाटो बिराएका १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । सोमबार साँझ ५ बजे उनीहरूले प्रहरीलाई आफूहरूले बाटो बिराएको भनी उद्धार गर्न खबर गरेको प्रहरीले जनाएको छ । लगत्तै प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक अस्मिता कपालीको नेतृत्वमा ५ जना र स्थानीय एक जनाको टोलीले खोजी कार्य जारी राखेको ललितपुर प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवरत्न पौडेलले बाटो बिराएका उनीहरू सम्पर्कमा रहेको र प्रहरीले खोजी जारी राखेको बताएका छन् । फुल्चोकीमा प्रत्येक वर्ष हिउँ खेल्ने, हाइकिङ जाने र गोदावरी पिकनिक जाने युवकयुवती हराउने गरेका छन् । बाटो बिराएका १३ जनामध्ये १० पुरुष र तीन महिला रहेका छन् ।

  • बाजुरामा भुकम्प, क्षतिको विवरण आउन बाँकी

    बाजुरामा भुकम्प, क्षतिको विवरण आउन बाँकी

    काठमाडौं । शनिबार बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प गएको छ । गोत्री केन्द्रविन्दु बनाएर ५।२ म्याग्नेच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो । भुकम्पबाट भएको क्षतिको विवरण आउन बाकि छ। पछिल्लो समय पश्चिम नेपालमा भूकम्पले निरन्तर धक्का दिइरहेको छ ।

  • काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख विवादमा तानिए

    काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख विवादमा तानिए

    काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं विवादमा तानिएका छन् । उनीमाथि महागरले छानबिन गर्ने भएको छ । आधिकारिक प्रणालीबिनै पुरानो बसपार्कस्थित रहेको काठमाडौं टावरको नक्सापास गरेको भन्दै महानगरले छानबिन प्रक्रिया अघि बढाएको हो ।

    भवन निर्माणको नक्सा पास कागजागतको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक नक्सा पास प्रणाली (इबीपिएस) मार्फत् प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको महानगरले जनाएको छ । ‘अहिले इबीपिएसमार्फत् बाहेक अन्यन्त्रबाट नक्सा पास नै हुँदैन । तर प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा उक्त प्रणाली बाहिरबाट पनि नक्सा पास भएको देखिन्छ,’ महानगरका प्रवक्ता नविन मानन्धरले भने । उनका अनुसार महानगरपालिकाले हस्ताक्षर कसरी भयो ? भन्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत सहित संग्नलहरूलाई छानबिन गरेर निर्णय गर्छ ।

    यस्तो छ महानगरको स्पष्टीकरण

    पुरानो बसपार्कमा टावर बनाउन महानगरपालिकाले २०७१ फागुन २० निर्णय गरेर २२ फागुनमा जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र महानगरबीच दुई पक्षीय सम्झौता भएको थियो । त्यसपछि २०७२ साउन २३ मा सूचना प्रकाशित गरेर २०७२ भदौ ६ मा प्लिन्थ लेभलसम्म नक्सा पास भएको र २०७३ साउन ३० जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र काठमाडौंबीच निर्माणको अवधि पाँच वर्षसहित जम्मा ३० वर्षको लागि डिजाइन निर्माण सञ्चालन र हस्तान्तरणको ढाँचामा दुई पक्षीय सम्झौता भएको थियो ।

    यस्तै २०७४ वैशाख ८ गते दुवै पक्षबीच मिति २०७३ वैशाख १३ मा महानगरले स्वीकृत गरेको नक्साभन्दा विपरीतको संरचना निर्माण गर्न नपाइने गरी सहमति पत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि भवन निर्माण इजाजत जारी सम्बन्धमा दुई तल्ला बेसमेन्ट र जमिन तल्लादेखि १० तल्लासम्म गरी जम्मा १२ तल्लाको निर्माण गर्न नक्सापास गरेकोमा प्लिन्थ लेभलसम्मको निर्माण कार्य गर्न स्वीकृति प्रदान गरिएकोमा प्लिन्थ लेभलसम्मको निर्माण कार्य सम्पन्न भई कामपाको प्राविधिक जाँचपश्चात प्लिन्थ लेभलभन्दा माथिको नक्सा पास गरिसकेपछिमात्र माथिको निर्माण प्रक्रिया अगाडि बढाउनुपर्नेमा सो नगरी डबल बेसमेट प्लिन्थ लेभलभन्दामाथि दुई तल्ला बेसमेन्ट र जमिन तल्लादेखि १० तल्लासम्म जम्मा १२ तल्ला स्ट्रक्चर मात्र निर्माण भएको देखिएको भनि वडा कार्यालयको इन्जिनियरबाट फिल्ड प्रतिवेदनमा पेस भएको छ ।

    जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिबाट मिति २०८०–७–१ मा नक्सापास म्याद थप तथा नक्सा संशोधन गर्न (भवन निर्माण मापदण्ड २०८० का फार मापदण्ड बमोजिम) निवेदन पेस गरेको थियो । त्यस्तै काठमाडौँ भवन निर्माण मापदण्ड २०७५ परिच्छेद–२ दफा १३ बमोजिम निर्माण सम्पन्न भएको भवनको हकमा हालकायम रहेको दस्तुर लिई सुपर स्ट्रक्चर नक्सा पास गर्न सकिने व्यवस्था छ ।

    सोही सम्बन्धमा निर्माण साझेदार जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लिले सुपर स्ट्रक्चर नलिइ निर्माण गरेको जम्मा बेसमेन्टसहित १२ तल्लाको लागि जरिवाना लिइ नक्सा पास प्रकृया अगाडी बढाइएकोमा विभिन्न समयमा कामपाको आधिकारिक नक्सा पास प्रणाली इबीपिएस मार्फत नक्सा पास प्रकृया अगाडि बढाइएको थियो ।

    सोही प्रकृयामा १२ तल्लाको नक्सा पास प्रकृया अगाडि बढाउनु पर्नेमा १९ तलाको संशोधित नक्सा पेश गरेको देखिन्छ । सो नक्सा मिति २०७४ बैशाख ८ गते दुवै पक्षबीच भएको सम्झौता विपरीत भएकाले नक्सा संशोधन प्रकृया रोकिएको थियो । इबीपिएस बमोजिम मिति २०८०–११–२२ देखि प्राविधिक कारणले रोकिएको प्रकृया विद्युतीय नक्सा पास प्रणालीमा मिति २०८१-५-३० गते प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख हरिशचन्द्र लामिछानेलाई फर्वाड गरिएको देखिन्छ ।

    साथै २०८१–६–१० गते हरिशचन्द्र लामिछानेले रजिस्ट्रेसन डेस्कको अनिरा तुलाधर, अनिरा तुलाधरले वार्ड ईन्जिनियर शुशिल केसीलाई, शुशिल केसीले निर्मल कुमार भट्टराईलाई र निर्मलकुमार भट्टराईले हरिशचन्द्र लामिछानेलाई फर्वाड गरेको देखिन्छ ।

    २०८१–६–१३ मा हरिशचन्द्र लामिछानेले निर्मल कुमार भट्टराइलाई र २०८१–६–१८ मा निर्मल कुमार भट्टराईले सुधा रिजाललाई र सुधा रिजालले निर्मलकुमार भट्टराईलाई फरवार्ड गरेको देखिन्छ । मिति २०८१–६–२० मा निर्मलकुमार भट्टराईले हरिश्चन्द्र लामिछानेलाई फरवार्ड गरी आज मिति २०८१ पुस ५ गतेका दिनसम्म कामपाको आधिकारिक नक्सा पास प्रणलीमा विभागीय प्रमुखको डेक्समै रहेको देखिन्छ । उल्लेखित व्यहोरा बमोजिम सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन ।

    तर भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिन्छ । यस विषयमा थप छानबिन गरी नियम विपरित कार्य गर्ने जो कसैलाई कानून बमोजिम कार्वाही प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गरिन्छ ।

  • भक्तपुरमा बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु

    भक्तपुरमा बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका वडा नं २ सहिद स्मृति खेल मैदान नजिकै बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ ।

    अछाम कमलबजार नगरपालिका वडा नं ६ हात्तिबाच घर भई हाल सोही स्थान बस्ने वर्ष ३१ का नरेन्द्र बहादुर शाहीलाई घरायसी विवादका क्रममा बुबा वर्ष ६३ का दिप बहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरेका थिए ।

    चक्कु प्रहारबाट गम्भिर घाईते भएका शाहीलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । शव पोष्मार्टमका लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट लगिएको छ ।

    मृतकका बुबा दिप बहादुर शाहिलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

  • एनपिएल : चितवन कर्णाली बिच खेल जारी

    एनपिएल : चितवन कर्णाली बिच खेल जारी


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटर खेलमा बुधबार (आज) चितवन राइनोज र कर्णाली याक्सबिच प्रतिस्पर्धा सुरु भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिए ।  

    यस खेल दुवै टोलीका लागि ‘नकआउट’ हुनेछ । यस खेलमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । जित्ने टोलीले भने फाइनल पुग्न अर्को खेल खेल्न पाउनेछ । 

    लिग चरणमा चितवनले सात खेलमा चार जित र तीन हारको नितजासहित आठ अङ्क जोडेर तेस्रो बन्दै प्लेअफमा स्थान बनाको हो । कर्णाली पनि सोही नजिता र समान आठ अङ्क जोड्दै नेट रन रेटको आधारमा प्लेअफमा पुगेको थियो ।

    चितवन आज लिग चरणमा कर्णालीसँग हारेको बदला लिने दाउमा छ । यता कर्णाली लिग चरणको जितलाई कायम राख्दै अगाडि बढ्ने अभियानमा छ । लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो ।

    आजै दिउँसो पहिलो क्वालिफायर खेलमा लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्स प्रतिस्पर्धा हुँदैछ । 

  • नेजाद्वारा मल्टिमिडिया स्टोरीटेलिङ वर्कसप सम्पन्न

    नेजाद्वारा मल्टिमिडिया स्टोरीटेलिङ वर्कसप सम्पन्न

    अमेरिका ।

    नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा दुईदिने मल्टिमिडिया स्टोरीटेलिङ वर्कसप सम्पन्न भएको छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम नेटवर्क (निम्जिन)सँगको सहकार्यमा नेजाले अनलाइन प्रविधिमार्फत वर्कसपको आयोजना गरेको हो । वर्कसपमा मल्टिमिडिया जर्नालिस्ट रजनीश भण्डारीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । भण्डारीले “मल्टिमिडिया स्टोरीटेलिङ” विषयमा प्रशिक्षण दिने क्रममा सैद्धान्तिक तथा व्यवहारिक दुवै पक्षलाई समेट्नुभएको थियो ।

    प्रशिक्षक भण्डारीले मल्टिमिडिया जर्नालिजमको विविध आयामबारे जानकारी दिनुका साथै वर्कसपमा मल्टिमिडिया रिपोर्टिङ तथा सम्पादनसम्बन्धी सीपसमेत सिकाइएको थियो । ३५ जनाको सहभागिता रहेको सो कार्यक्रममा विद्यमान प्रविधिको उपयोगिता र यसको प्रयोगात्मक रूपबाट सिक्ने अवसर प्राप्त भएको र यसका कारण प्रविधिको प्रयोगमार्फत पत्रकारिता पेसालाई छिटो र गुणस्तर रूपमा प्रवाह गर्न सहयोग पुग्ने सहभागीहरूले बताएका थिए ।


    सो अवसरमा मल्टिमिडिया जर्नालिस्ट लीना दुवाडी तथा बेनुप भट्टराईले मल्टिमिडिया स्टोरीटेलिङका सम्बन्धमा आफ्ना अनुभवहरु बताउनुभएको थियो । नेजाका महासचिव बाबुराम दाहालले सहजीकरण गर्नुभएको सो दुइदिने वर्कसपमा नेजाका अध्यक्ष सुरज भण्डारीले प्रशिक्षक, वक्ता तथा सहभागीहरुमा धन्यवाद दिँदै पत्रकारको हितअनुकूल समय-समयमा यस्ता क्षमता अभिवृद्धि गर्ने तालिम सञ्चालन आवश्यक रहेको यसलाई नेजाले निरन्तरता दिने बताउनुभयो ।

  • जिप दुर्घटनामा तीन जनाको मृत्यु

    जिप दुर्घटनामा तीन जनाको मृत्यु


    काठमाडौं । बुटवलको तिनाउ पुलको डिभाइडरमा आज बिहान बलेरो जिप ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

    मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने छन् । गौरी खनाललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको थियो । 

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ पुल पार गरिसकेपछि घुमाउरो मोडमा जिप दुर्घटनामा परेको हो ।

  • जाजरकोटमा जिप दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

    जाजरकोटमा जिप दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

    काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    बुधबार राति ग३च ९४४५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

    प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार दुर्घटनामा नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोकाको मृत्यु भएको छ ।

    घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    -राससबाट

  • एमाले सचिवालय बैठक आज बस्दै

    एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौं । नेकपा (एमाले) ले मंगलबार सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालयको बैठक आज अपराह्न ४ बजे च्यासलमा बस्नेछ। आज बस्ने बैठकमा उपनिर्वाचन र प्रधानमन्त्रीको चीन भ्रमणबारे समीक्षा हुने एमालेले बताएको छ। यही मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा एमालेले सन्तोषजनक परिणाम ल्याउन सकेन।

    स्थानीय तहका कूल ४४ स्थानमा भएको उपनिर्वाचनमा एमाले ८ स्थानमा निर्वाचित भएको थियो। एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँचवटा वडाध्यक्ष जित्यो। यसअघि जितेका ७ स्थानमा चुनाव भए पनि यसअघि निर्वाचित भएको ठाउँ एमालेले जोगाउन सकेन।

    उपनिर्वाचनको मुखमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनेर अफवाह फैलाइएको तथा व्यवसायी मीनबहादुर गुरूङबाट दान लिएर पार्टी कार्यालय बनाउने विषयलाई पनि नकारात्मक तवरले प्रचार गरिँदा चुनावी परिणामममा त्यसले असर पारेको एमालेको प्रारम्भिक विश्लेषण छ। प्रधानमन्त्री ओली भर्खरै चीनको औपचारिक भ्रमण गरेर स्वदेश फर्किएका छन्।

    भ्रमणका बेला नेपाली परियोजनामा चिनियाँ सहयोग रहने गरी बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको फेमवर्कमा हस्ताक्षर भएको थियो। बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर हुनुलाई एमालेले उपलब्धीका रूपमा चित्रण गरेको छ। यी विषयमा आज सचिवालय बैठकमा छलफल हुने एमालेले जनाएको छ।

  • जबरजस्ती करणी अभियोग गरेको अभियोगमा झापामा पूर्वमेयर पक्राउ

    जबरजस्ती करणी अभियोग गरेको अभियोगमा झापामा पूर्वमेयर पक्राउ

    काठमाडौं । झापा, बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्। घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

    झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकेर सोधपुछ गरेका थिए। त्यस क्रममा घटनाबारे थाहा भएपछि प्रहरी समेतको सहयोगमा उनलाई उद्धार गरिएको थियो।

    उद्धारपछि बालिकाले आफूमाथि पूर्वमेयर शिवाकोटीले जबरजस्ती करणी गरेको बताएकी र सोही आधारमा शिवाकोटीलाई पक्राउ गरिएको प्रहरी भनाइ छ।
    बालिकाकी आमा भारतमा बस्ने गरेको र उनको बुबा नभएको बताउँदै प्रहरीले जनाए अनुसार बालिकालाई शिवाकोटीले पढाइदिने सर्तमा घरेलु कामदारका रूपमा राखेका थिए। तत्कालीन अनारमनी गाविसको अध्यक्ष भइसकेका एमाले नेता शिवाकोटी २०७४ मा बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए।

  • गढीमाई मेलामा मोवाइल भ्यानबाट अनुगमन

    गढीमाई मेलामा मोवाइल भ्यानबाट अनुगमन

    काठमाडौं । बारास्थित गढीमाई मेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ ले खाद्य पदार्थ अनगुमन र निरीक्षण गरेको छ । मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी गढीमाई मेलामा स्थलगत खाद्य पदार्थ परीक्षण समेत गरी मेलामा खाद्य पदार्थ निरीक्षण अनुगमन गरेको हो ।


    ‘मेला, महोत्सव हुने खाद्य पदार्थमा अत्यधिक रङ प्रयोग, उपभोग्य अवधि सकिएका खाद्यान्न बिक्री, खाद्य वस्तु तार्न एउटै तेल बारम्बार प्रयोग, मसी भएको कागजमा प्याकिङ, अखाद्य रङ प्रयोग र सरसफाइ कमीजस्ता समस्या देखिने गरेको थियो । यसैलाई मध्यनजर गरी हामीले अनुगमन गरेका हौं,’ विभाग प्रवक्ता मोहनकृष्ण महर्जनले भने । प्रवक्ता महर्जनका अनुसार १७ भदौदेखि पुनः सञ्चालनमा रहेको ‘मोबाइल फुड ल्याब भ्यान’ ले पहिलो पटक सांस्कृतिक मेला, महोत्सव निरीक्षण अनुमगन सुरुवात गरेको हो ।

    शुक्रबार र शनिबार मोबाइल फुड ल्याब भ्यानसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र डिभिजन कार्यालय पर्साको संयुक्त टोलीले अनुगमन गरेको थियो । शनिबार रातिसमेत बिक्री स्थल अनुगमन गरेको थियो । अनुमगनका बेला दूध, खुवा, प्रशोधित पिउने पानी, कटन क्यान्डी, लड्डु, जेरी, चप, पानीपुरी तथा तेल लगायत १ सय ३८ नमुना स्थलगत प्रयोगशाला परीक्षण भएको थियो ।

    परीक्षणमा कैफियत पाइएका तेल, रंगिन मिठाई र कटन क्यान्डी नष्ट गरी कारबाही गरेको विभागले जनाएको छ । मेला सञ्चालन अवधिभरि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साबाट नियमित अनुगमन हुने व्यवस्था समेत मिलाएको छ ।

  • नुवाकोटमा दुई छोरासहित आमा मृत फेला

    नुवाकोटमा दुई छोरासहित आमा मृत फेला

    काठमाडौं । नुवाकोटमा दुई छोरा र आमा मृत भेटिएका छन्। आइतबार बिहान किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृत भेटिएका हुन्।
    आफ्नै घरमा भित्रबाट आग्लोमा तीन जना झुण्डिएको अवस्थामा फेला परेका हुन्। २४ वर्षीया चन्दीमाया तामाङ, उनका पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

    घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको थियो। चन्दीमायाका श्रीमान रेसबहादुर घरमाथि रहेको बारीमा केराउ (मटरकोसा) टिप्न गएको समयमा घटना घटेको स्थानीयले बताएका छन्। प्रहरीले शव जिल्ला अस्पताल त्रिशुलीमा पठाएको छ।

  • हिमाली भेगमा हिमपात सुरु

    हिमाली भेगमा हिमपात सुरु

    काठमाडौं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात र वर्षाले बालीनालीलाई फाइदा हुने भए पनि चिसो बढेर जनजीवन भने प्रभावित भएको छ । बझाङ, हुम्ला लगायतका जिल्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै गए रातिदेखि हिमपात सुरु भएको हो । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

    राष्ट्रिय समाचार समिति (रासस) ले आज बिहानसम्म हुम्ला सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको जनाएको छ । उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा पनि एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहरालाई उद्धृत गर्दै राससले जनाएको छ । हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरीसकेको छ ।

    यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हिमपातले बालीनाली र फलफूल सप्रिने किसानहरू बताउँछन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बीनि प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। मध्य र पुर्वी तराइका धेरे भू–भागमा हुस्सु र थोरै भू–भागमा कुहिरो लागेको छ।

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा पनि भइरहेको छ। आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना छ।

  • कैलालीबाट ठूलो मात्रामा सुन-चाँदीसहित तीन जना पक्राउ

    कैलालीबाट ठूलो मात्रामा सुन-चाँदीसहित तीन जना पक्राउ

    काठमाडौं । कैलालीबाट एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । भजनी नगरपालिका ५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका -१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका ११ का ३२ वर्षीय महेश सुनार रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले नियन्त्रणमा लिएको हो ।

    भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडाकुडासहित नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।

  • जाजरकोटमा जीप दुर्घटना : दुई जनाको मृत्यु

    जाजरकोटमा जीप दुर्घटना : दुई जनाको मृत्यु

    काठमाडौं । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कार्कीगाँउ बाट कुदु तर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा कैलालीका २५ बर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुन हमालको मृत्यु भएको हो।

    उनीहरुलाई उपचारका लागि अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सूचना अधिकारी दिनेश तिमिल्सेनाले जानकारी दिएका छन् ।

    दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–८ का कमल चौधरी घाइते भएका छन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ। मृतक र घाइते सबै मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डअन्तर्गत स्याउलीबजारमा सडक स्तरोन्नतिको काम गरिरहेका थिए।

  • धरानका मेयर किन धम्क्याउँदैछन् पत्रकार ?

    धरानका मेयर किन धम्क्याउँदैछन् पत्रकार ?

    काठमाडौं । धरानका मेयर हर्क साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्क्याउँदै पत्रकारिता सिध्याइदिने धम्की दिएका छन् । दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)का लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए ।

    त्यो समाचारमा हर्क साम्पाङ नक्कली माओवादी बनेको, तत्कालीन वाईसीएल कार्यकर्ताहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको लगायतका प्रसंग पनि छन् । यसबारे उनले आज १० बजे पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने बताएका छन् । सोही समाचारका आधारमा हर्कले सामाजिक सन्जाल फेसबुकमा बुधबार स्टाटस लेखेका हुन् ।

    हर्कले लेखेका छन्, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान १८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ।’ फेरि अर्कोपटक पनि हर्क साम्पाङले स्टाटस लेख्दै ‘शीर ठाडो पारेर’ हिँड्न नसक्ने बनाइदिने भन्दै धम्क्याएका छन् । दाहालले समाचार लेखेकै कारण हर्क साम्पाङले धम्की दिएपछि नेपाल पत्रकार महासंघ लगायतले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

  • त्रिभुवन विमानस्थल बिस्तार : मध्यराती मन्त्रीले गरे अवलोकन

    त्रिभुवन विमानस्थल बिस्तार : मध्यराती मन्त्रीले गरे अवलोकन

    काठमाडौं । काठमाडौँ, १८ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । गत राती पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरिरहेको छ ।


    प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तारको काम गरिरहेको हो । विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै पर्यटनमन्त्री पाण्डेले निर्माणको काम तीब्र गतिमा काम भइरहेको भन्दै समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले ठूलो संख्यामा विभिन्न जनशक्ति र उपकरणको प्रभावकारी परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्मार्णले विकासे आयोजनाको कामलाई निर्धारित गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे ।


    पर्यटनमन्त्री पाण्डेले अहिले भइरहेको निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै निर्माणको काम सकेर विमानस्थलको उडान सेवा प्रभावकारी हुने बताए । “दस घण्टा विमानस्थल बन्द गरेर निर्माणको काम तीब्र गतिमा सबै साईडमा काम भइरहेको छ । निर्धारित समय आगामी चैत १८ गतेसम्म १० घण्टा विमानस्थल बन्द गरेर काम गर्ने समय तोकेका थियौँ, त्यो भन्दा पहिला नै काम हुन्छकी भन्ने अहिलेको युद्धस्तरमा भइरहेको कामले सङ्केत गरेको छ”, उनले भने ।
    उनले हरेक परियोजनामा समयमै काम नहुने, ठेक्का तोडिने र सडक भवन अलपत्र हुने अवस्था रहेको छ भन्दै कम्तिमा विमानस्थलमा भइरहेको निर्माणको कामले तोकिएकै समयमा काम गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे ।

  • कीर्तिपुरमा कांग्रेस विजयी, माओवादी दोस्रो

    कीर्तिपुरमा कांग्रेस विजयी, माओवादी दोस्रो

    काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । उनले पाँच हजार ३३४ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरे । यहाँ नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर तेस्रो भए ।

    सुरुदेखि दोस्रो स्थानमा रहेका मानन्धर अन्तिम मतगणनाका क्रममा तेस्रो भएका हुन् । उनले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेतको समर्थन रहेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन भने चौथो स्थानमा रहे । उनले २ हजार ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए । त्यतिबेला नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए । माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए ।

  • कांग्रस-एमालेको गठबन्धन हराउँदै माओवादी रुकुममा विजयी

    कांग्रस-एमालेको गठबन्धन हराउँदै माओवादी रुकुममा विजयी

    काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन् । बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाइन् । एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धामा थिइन् । यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यसबेला पनि यहाँ कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन् । बागुलुङमा भएको दुर्घटनामा उपाध्यक्ष भूपेन्द्रासँगै वडानम्बर २ का वडाध्यक्ष जयबहादुर सीर्पालीको पनि निधन भएको थियो । वडाध्यक्षको उपनिर्वाचनमा भने माओवादीकै जीतबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

  • कांग्रेसको पक्षमा उत्साहजनक देखिएन जनमत

    कांग्रेसको पक्षमा उत्साहजनक देखिएन जनमत

    काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस उपनिर्वाचनको नतिजाबाट निरास बनेको छ । उसले अघिल्लो पटक जितेका क्षेत्र समेत जोगाउन सकेन । एक्लै प्रतिस्पर्धा गर्ने नीति लिएको कांग्रेसले पालिका पदाधिकारीतर्फ ५ स्थानको नतिजा आउँदा कतैपनि जितिसकेको छैन । कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार अगाडी छन् । जबकी उपचुनाव भएका ८ पालिका पदाधिकारी मध्ये ६ ठाउँमा यसअघि कांग्रेसले जितेको थियो । ०७९ मा कांग्रेसले जितेको मोरङको ग्रामथान र दैलेख महाबु गाउँपालिकाको अध्यक्ष कांग्रेसले बचाउन सकेन ।

    मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसबाटै माओवादी प्रवेश गरेका नमोनारायण माझीले जिते । माझीले ६९६९ मत ल्याएर अध्यक्ष जित्दा कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत पाए । यो पालिकामा यसअघि कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७६०५ मत ल्याएर जितेका थिए । त्यसबेला निकटतम् प्रतिद्वन्द्वी थिए, एमालेका शिवनारायण माझी ।

    एमालेका माझीले ६०९३ मत ल्याउँदा माओवादीका विजयकुमार सरदार २७२७ मतमा सीमित भएका थिए । त्यस समयको तेस्रो स्थानको माओवादीले उपचुनावबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष कांग्रेसबाट खोस्यो । यहाँ पालिका प्रमुख जिताउन पार्टी महामन्त्री गगन थापा आफैं पुगेका थिए भने गुरुराज घिमिरे निरन्तर लागिपरेका थिए ।

    दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष त सत्ता साझेदार एमालेले नै खोस्यो । एमालेका जंगबहादुर शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मतमा सीमित भए । २०७९ को चुनावमा एमालेलाई नै कांग्रेसले हराएका थिए । कांग्रेसबाट लछुमन गुरुङले अध्यक्षमा जित्दा एमालेका हरिप्रसाद उपाध्याय त्यसबेला पराजित भएका थिए ।


    ०७९ को चुनावमा गठबन्धन गरेको माओवादीले यो उपचुनावमा जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर कांग्रेसबाट खोसेको छ । माओवादी केन्द्रकी देवका लामिछाने ४२७२ मत ल्याएर उपमेयर निर्वाचित हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंह ३१४७ मत ल्याएर दोस्रो भइन् । बाजुराको स्वामीकार्तिक खापरको उपाध्यक्ष पद सत्ता साझेदार एमालेको पोल्टामा पुगेको छ ।

    कांग्रेस उम्मेदवार पुल्तीसरा शाहीलाई एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले हराइन् । निर्वाचित बुढाले १७४० मत प्राप्त गर्दा कांग्रेसकी शाहीले १४७४ मत पाइन् । २०७९ मा कांग्रेस उम्मेदवार मैना जोशीले १८१० मत ल्याई निर्वाचित हुँदा हाल एमालेबाट निर्वाचित बुढाले त्यसबेला १६३७ मत प्राप्त गरी पराजित भएकी थिइन् । वडातर्फ कांग्रेसले यसअघि जितेको काठमाडौं–१६, नुवाकोटको ककनी–२, ओखलढुङ्गाको मोलुङ–५ लगायत १६ क्षेत्र गुमाएको छ । यद्यपि पहिले नजितेका ९ वडा जितेर कांग्रेसको जित संख्या १६ पुगेको छ ।

    जिल्ला समन्वय सभापति, पालिका पदाधिकारी र वडाध्यक्ष गरी उपचुनाव भएको ४४ पद मध्ये २७ स्थानमा यसअघि कांग्रेसले जितेको थियो । उपचुनावमा जिसस सभापतिसहित १८ पद कांग्रेसले जितेको छ । ४ स्थानमा नतिजा आउन बाँकी छ । कांग्रेसको उपचुनाव हार्ने सूचीमा काठमाडौं–१६ को वडाध्यक्ष पनि प¥यो । जहाँ उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफैले मतदान गरेका थिए । जबकी यो वडा यसअघि दुईपटक कांग्रेसले जितेको थियो । तर पहिलोपटक स्थानीय चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रोजिना श्रेष्ठले २९०२ मत ल्याएर वडाध्यक्ष जितिन् ।

    कांग्रेसले जितेको वडाहरूः
    कीर्तिपुर नगरपालिका–१ र ४
    लालीगुराँस नगरपालिका–८
    सुनसरीको गढी गाउँपालिका–६
    रौतहटको ईशनाथ नगरपालिका–७
    रौतहटको राजपुर नगरपालिका—६
    मकवानपुरको हेटौंडा उपमहानगर–१२
    गुल्मीको मुसिकोट–१
    रोल्पाको रुन्टीगढी गाउँपालिका–४
    बर्दियाको ठाकुरबाबा नगरपालिका–४
    जाजरकोटको कुशे गाउँपालिका–७
    रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५
    बझाङको सूर्मा गाउँपालिका—४
    डोटीको पुर्वीचौकी गाउँपालिका–६
    दार्चुलाको दुहु गाउँपालिका–५
    कञ्चनपुरको भीमदत्त नगरपालिका–६

  • कालिकोट तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार निर्वाचित

    कालिकोट तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार निर्वाचित

    काठमाडौं । कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जितेको छ । नेमकिपाका खड्गराज शाहीले १४३ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले ११५ मत ल्याएकी छन् । नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले भने तेस्रो र चौथो मत ल्याएका छन् ।

    एमालेका ऐनबहादुर शाहीले ७८ र कांग्रेसका पैलबहादुर शाहीले ५९ मत पाए । राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बलमे ५ मत ल्याए । ०७९ को चुनावमा यहाँ माओवादी केन्द्रले वडाध्यक्ष जितेको थियो ।

    माओवादीका परबहादुर शाहीले २३४ मत ल्याएर वडाध्यक्ष जित्दा नेमकिपाका दिपबहादुर शाही १६१ मत सहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । अर्थात् यहाँ नेमकिपा पहिले पनि बलियो प्रतिस्पर्धी शक्ति थियो, र यसपटक वडाध्यक्ष जित्यो । तर कांग्रेस र एमाले भने पहिले पनि दयनीय अवस्थामा थिए ।