काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दैछ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आजको विरोध प्रदर्शन बालुवाटारमा आयोजना गरेको हो । विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ ।
कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तय भएको छ । १२ बजेदेखि साढे २ बजेसम्म हुने प्रदर्शनको उपसभापति डीपी अर्यालले समापन गर्नेछन् ।
पक्राउ परेका सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् । रास्वापले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ । यस कार्यक्रमका लागि रास्वपाले देशभरबाट कार्यकर्ता उतार्दैछ ।
काठमाडौं । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा स्थानीय १४ वर्षीय गोबर्द्धन खडका, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, बर्ष १५ कि सिर्जना बस्नेतको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिए । दुई जनाको घटना स्थलमै र एकजनाको बाटोमा मृत्यु भएको हो । मृत्यु हुनेमा सबै बालबालिका छन ।
दुर्घटनामा घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय संजीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले घाइते भएका सबैलाई अहिले उपचारका लागि कपुरकोट गाउँपालिकाको अस्पतालमा राखिएको बताए । घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले रिफर गर्न लागिएको छ ।
उहाँका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो । साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिए पनि कसरी दुर्घटना भयो भन्ने नखुलेको उनको भनाइ छ ।
काठमाडौं । दाङमा बोलेरो जिप दुर्घटनामा परेको छ । घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका ४ निवासी २२ बर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका ६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए ।
उनका अनुसार राप्ती लोकमार्गअन्तर्गत आज बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ साततलेमा रा१ज ८२२ नम्वरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ बर्षीय देवा वली, उनका छोराहरु १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । प्रहरीका अनुसार गाडीदेखि तीन सय मिटर तल खसेको छ । गाडी सल्यानबाट तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवातको प्रत्यक्ष असर नेपालमा नपर्ने मौसमविदले बताएका छन् । तर त्यसको आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने उनीहरुको प्रक्षेपण छ । ‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ ।
यसको असरले ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता अपनाइएको छ । प्रभावित क्षेत्रबाट हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार टोलीलाई उच्च सतर्कताका साथ राखिएको छ । हवाई र रेल सेवा स्थगित गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ ।
दाना चक्रवातको सबैभन्दा बाहिरी घेराका हल्का बादलमात्र नेपालसम्म आउने मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार चक्रवातको असरले कोशी प्रदेशको तराईदेखि पहाडसम्मै हल्का वर्षाको सम्भावना छ । तर अन्य स्थानमा खासै वर्षाको सम्भावना छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको छ । तर यो वर्षा स्थानीय वायुको प्रभावले भएको मौसमविदले बताएका छन् । मौसमविद झाका अनुसार आगामी २४ घण्टामा पनि कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । पोखरामा सहकारी पीडित र रास्वपाका नेता–कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रहरीले बताएको छ ।
रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् । रास्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामा छन् । शनिबारदेखि पोखरामा प्रदर्शन जारी छ । रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रम राखेका छन् ।
सहकारी पीडितहरुले अनुसन्धान र न्यायका निम्ति कुनै कसर नराख्न दबाब दिँदै शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् । शनिबारदेखि रास्वपाको विरोध प्रदर्शनमा माओवादी निकटका कार्यकर्ताहरुको सहानुभूति देखिएको थियो भने सहकारी पीडितका पक्षमा उपस्थित हुन कांग्रेस, एमालेकै नेताहरुलेसमेत आह्वान गरिरहेका छन् ।
काठमाडौं । बाँकेमा टाउकोबिनाको शव भेटिएको प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई साताअघि जेलबाट छुटेका एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी धर्मराज भण्डारीका अनुसार घटनामा संलग्नताको आशंकामा रोल्पाको माडी गाउँपालिका–६ का २४ वर्षका अनिल परियार पक्राउ परेका हुन् । उनी जबर्जस्ती करणीसम्बन्धी मुद्दामा २ वर्ष ९ महिना जेलमा बसेर यही १३ असोजमा बाँकेको नौवस्ता कारागारबाट छुटेका थिए ।
कोहलपुर नगरपालिका–८ स्थित सरस्वती चोक जाने बाटोमा प्रहरीले २७ भदौमा टाउकोबिनाको शव फेला परेको थियो । लगत्तै प्रहरीले तालिम प्राप्त कुकुरसहित टोली घटनास्थलमा लगेर अनुसन्धान थालेको थियो । पछि मृतक कोहलपुरको नहरटोल बस्ने चन्द्रबहादुर कामी भएको खुलेको थियो । उनी सामान्य मजदुरी गरेर गुजारा चलाउँदै आएका व्यक्ति हुन् ।
प्रहरीका अनुसार, पक्राउ परेका परियार बसेको आफन्तको घरको सेप्टिक ट्यांकीबाट मृतकको टाउको र घटनामा प्रयोग भएको हतियारसहित बरामद गरिएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी तुलबहादुर कार्कीसहितको टोलीसमेत त्यहाँ पुगेको थियो । कोहलपुरका डीएसपी भण्डारीका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले नजिकैको सीसी टीभी फुटेज संकलन गरेको थियो । जसमा मृतक र हत्या आरोपी दुवै जनाको दृश्य कैद भएको थियो ।
सीसी टीभी फुटेजमा देखिएको हुलियाका आधारमा प्रहरीले संलग्न व्यक्तिको खोजी थालेको थियो । उनको फोटो र हुलियासहित प्रहरीका सबै युनिटलाई खोजीमा परिचालन गरिएको थियो । त्यसक्रममा प्रहरी निरीक्षक हरि भट्टराई नेतृत्वको १५ जना प्रहरी र स्थानीयको टोली मृतकको टाउको खोजीमा परिचालन भएको प्रहरीको भनाइ छ ।
अधिकृतहरुका अनुसार, सीसी टीभीमा आरोपी साइकलमा चढेर आएको देखिएकाले साइकलको खोजी पनि सँगसँगै थालिएको थियो । त्यसक्रममा सोमबार साढे ८ बजे भट्टराईको टोली परियारकी एक आफन्तको घरसम्म पुगेको थियो । ‘घटनास्थलबाट कम्तीमा ५ सय मिटर पूर्वउत्तरमा रहेको घरमा इट्टा सिमेन्टले बनाएको र रडले ढकन लगाएको सेप्टी ट्यांकीमा शंका लागेर टोलीले खोजतलास ग¥यो’, डीएसपी भण्डारीले भने, ‘त्यसक्रममा मृतकको टाउको, खुर्पा र मृतकले लगाएको सेतो हरियो रङको टिसर्टको घाँटीतर्फको आधा भाग फेला प¥यो ।’
टाउको बरामद भएलगत्तै प्रहरीले भेरी अस्पताल, नेपालगञ्ज पठाएको थियो । अहिले शवको पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको छ । मंगलबार प्राविधिक पक्षको विश्लेषणसहित खोजतलासमा खटिएको टोलीले बिहान ८ बजेतिर प्रहरीले हत्या आरोपी परियारलाई नियन्त्रणमा लियो । त्यसक्रममा गरिएको प्रारम्भिक सोधपुछमा उनले हत्यामा आफू संलग्न रहेको स्वीकार गरेको प्रहरी अधिकृतहरु बताउँछन् ।
प्रहरीका अनुसार, परियारले साइकलमा हिँडिरहेका बेला बाटोमा सुतिरहेको अवस्थामा चन्द्रबहादुर कामीलाई देखेका थिए । त्यसक्रममा साइकलले उनलाई छोएको थियो । ‘त्यही विषयमा वादविवाद भएको देखिन्छ, त्यति नै बेला धारिलो हतियारले प्रहार भएको खुलेको छ’, डीएसपी भण्डारीले भने, ‘कसैले थाहा नपाओस् भन्ने हिसाबले टाउको लुकाएको उनले भनेका छन् ।’ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या ५ पुगेको हो । बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।
उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना८ख १०७८ नम्बरको बस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौंडी–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए । दुर्घटनामा अन्य ११ जना पनि घाइते छन् ।
बस सडकबाट झन्डै तीन सय मिटर खसेर पोखरा–बेलापुर सडकमा परेको छ । दुर्घटनाका कारण भने खुल्न सकेको छैन । दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशङ्कामा प्रहरीले खोजी जारी राखेको छ । स्थानीय सर्वसाधारण र प्रहरी खोजतलास जारी राखेका छन् । दुर्घटनाग्रस्त बस क्षतविक्षत भएको छ ।
काठमाडौं । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए । उनकाअनुसार गम्भीर अवस्था डडेल्धुरा अस्पताल पुगाइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो । दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । डडेल्धुरामा किशोरीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका व्यापारीलाई आइतबार सार्वजनिक गरिएको छ । पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् । उनी पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल सञ्चालन गर्ने व्यापारी हुन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आइतबार पत्रकार सम्मेलन गर्दै भण्डारी सार्वजनिक गरेको हो । भण्डारीले किशोरीको हत्या गरेको स्वीकार गरेको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुगन्ध श्रेष्ठले बताए । उनकाअनुसार भण्डारीले आफ्नै पसलको कोठामा भट्टराईको घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।
तर भण्डारीले किशोरीको हत्या के–कति कारणले गरे ? भन्ने कुरा खुलिसकेको छैन । भण्डारीले आवेशमा आएर भट्टराईको हत्या गरेको बयान दिएका छन् । प्रहरीले घटनास्थलबाट सवुत प्रमाण फेला पारेको बताउँदै त्यसबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।
भण्डारीसँग पूरानो चिनजान भएकी भट्टराईलाई पसलमा कुराकानीकै क्रममा भण्डारीले हत्या गरेको देखिएको छ भने पछि उनले भट्टराईको शव व्यवस्थापन गर्ने उद्देश्यले प्लास्टिकको बोरामा हालेका थिए । शव व्यवस्थापन गर्न नसकेपछि पसलबाट भागेका उनी मदिरा सेवन गरेर फेरी राति घटनास्थलमा पुगेका थिए ।
शव व्यवस्थापन गर्ने क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा खसेका थिए भने शवलाई पसल नजिकै फालेर घरतर्फ हिडेका थिए तर राति स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । किशोरीको शव परीक्षण रिर्पोट प्राप्त भएपछि धेरै कुरा खुल्ने विश्वास प्रहरीले गरेको छ ।
काठमाडौं । धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको खबर आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइतबार तल्लो शिविरमा फर्कने निर्णय लिएका आरोहीहरुको मृत्यु भएको निर्देशक गुरुङले बताए ।
‘आफूहरु फर्कने निर्णयमा पुगेको जानकारी उनीहरुले आफ्ना साथीलाई आधार शिविरमा गराएका रहेछन्,’ गुरुङले भने । तर, रातको ११ बजेपछि उनीहरुसँगको सम्पर्क टुटेको थियो । सोमबार दिनभर गरिएको खोजी अभियानपछि मंगलबार बिहान मात्र उनीलाई प्राणविहिन अवस्थामा फेला पारिएको हो ।
उनीहरु रसियाका चर्चित र अनुभवी आरोही रहेको गुरुङले जानकारी दिए । यस वर्ष कुल १४ जना आरोही धवलागिरी हिमाल आरोहणका लागि गएका थिए । त्यसमध्ये दुई समूहमा ७(७ जना आरोही आरोहणमा लागेका थिए । त्यसमध्ये ६ जनाले आरोहण गर्न नसकिने भनी परित्याग गरेको जानकारी विभागमा गराइएको थियो । बाँकी ८ जनामध्ये दुई जनाले सफल आरोहण गरी आधार शिविरमा फर्किएका थिए ।
बाँकी ६ जना आरोहणमा जाँदै गर्दा थप एक जनाले बीच बाटोबाटै आरोहण परित्याग गरेर आधार शिविरमा फर्किएका थिए । आरोहणको अठोट बोकेर अघि बढेका आरोहीहरुको निधन भएको हो । प्रतिकुल मौसमका कारण उनीहरुलाई आधार शिविरमा झार्न नसकिएको विभागले जनाएको छ । आइएएम ट्रेकिङबाट यस सिजनका लागि १४ जना रसियन आरोहीले अनुमति लिएका थिए ।
काठमाडौं । झापामा हत्या आरोपमा एक नाबालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका–७ का ३१ वर्षीय समीर राजवंशी, सोही ठाउँकी २० वर्षीया मेचे राजवंशी र सोही ठाउँका एक नाबालक छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमणिले पक्राउ गरेको हो ।
१५ जेठ २०८१ को राति साढे ११ बजेतिर बाह्रदशी गाउँपालिका–५ फुलाबारी बस्ने २२ वर्षीय राजेश हजाम वेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । लगत्तै खोजी तथा अनुसन्धानमा खटिएको प्रहरी टोलीले केही संकित व्यक्तिमाथि सोधपुछ गरेको थियो । अनुसन्धानकै क्रममा २० असोजमा बाह्रदशी–७ बिरिङ खोलामा अस्थिपञ्जर भेटिएको थियो । उक्त अस्थिपञ्जर हजामकै भएको पुष्टि भएपछि थप अनुसन्धान गरेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौं । हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका २० राँजा बस्ने ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा रहेका छन् । बुढा विष्णुसँग नेपालगन्ज मामा घर दसैं मान्न जान लागेका थिए ।
हुम्लाको ताजाँकोट गाउँपालिका-२ पुइमामा शनिबार जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दिउँसो कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिकाको सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए ।
गियर बक्स बिग्रेर रोकेको अवस्थामा सडकबाट ब्याक भई जिप ३०० मिटर तल खसेर दुर्घटनामा परेको उनले बताए । जिपमा चालकसहित ७ जना सवार थिए । गियर बक्स बिग्रेपछि पाँच जना गाडीबाट झरेका थिए । तर, दुईजना गाडीमै थिए । अचानक गाडी ब्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । एकतर्फी सञ्चालनमा आएको महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक सूचना प्रकाशित गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ । बर्दघाट नगरपालिका-४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएको छ । साथै करिब ४ सय मिटर सडक भास्सिएको छ ।
सडक भास्सिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ । सोमबार साँझबाट अवरुद्ध बाटो रातभर काम गरी मंगलबार बिहान पौने ९ बजे एकतर्फी खुला गरिएको थियो । सडक मर्मत गरी सहज यातायात खुलाउने प्रयोजनका लागि मंगलबार रातभरि बन्द गरिने प्रशासनले जनाएको छ । बर्दघाट बजारबाट दाउन्ने बजारसम्म अत्यावश्यकबाहेकका सबै सवारी साधन बन्द हुने प्रशासनले उल्लेख गरेको छ ।
काठमाडौं । सरकारले बाढी र पहिरो प्रभावित नागरिकको राहत, उद्धार एवं पुनस्र्थापनाका लागि विपत् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सम्पन्न मन्त्रीपरिषद् बैठकले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनबमोजिमको विपत् व्यवस्थापन कोषमा बाढी र पहिरो प्रभावितको तत्काल राहत र उद्धारका लागि अर्थ मन्त्रालयबाट एक अर्ब रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढी र पहिरोका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति नेपाल सरकारका तर्फबाट दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको बताए । सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ प्रदान गर्ने निर्णय पनि गरेको छ ।
सरकारले २०८१ असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्दै सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने, शोक सन्तप्त परिवारजनहरूमा हार्दिक समवेदना व्यक्त गर्ने र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
सरकारले विपत्बाट भएको क्षतिको सम्बन्धित मन्त्रालयहरूले आकलन गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा यथाशीघ्र प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ । विपत् जोखिम न्यूनीकरण ऐन २०७४ को दफा २२ बमोजिम विपत् व्यवस्थापन कोषमा बाढीपहिरो प्रभावितलाई तत्काल राहत र उद्धारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीपरिषद्का सबै सदस्यको एक महिना बराबरको पारिश्रमिक दिने निर्णय भएको छ ।
सरकारले खोज, उद्धार, तत्काल राहत र घाइतेको निःशुल्क उपचारमा उच्च प्राथमिकता दिने निर्णय गरेको छ । साथै बाढीपहिरोबाट प्रभावित एवं विस्थापित परिवारलाई तत्काल अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने निर्णय भएको छ ।
काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए।
बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए।
काठमाडौं । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-१ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प९२५२ नम्बरको मोटरसाइकल ठोक्किंदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका-८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको बताए ।
उनकाअनुसार चौधरी से६प ६२७९ नम्बरको मोटरसाइकल र मल्ल बा९५प ९२५२ नम्बरको मोटरसाईकलका चालक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीको नवजीवन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । यस्तै, बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार कञ्चनरको शुक्लाफाँटा नगरपालिका-७ का २२ वर्षीया दिपक बोहोरा घाइते भएका छन् । उनको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं । धादिङस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो जाँदा सडक अवरूद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गजुरी गाउँपालिका २ परेवा भीरमा सुख्खा पहिरो खसेको हो। पहिरो खस्दा दुई तर्फी सडक अवरूद्ध बनेको हो। सडक खुलाउन सम्पूर्ण सुरक्षा निकाय खटिएको कार्यालयले जनाएको छ। यस्तै राति नै सडक पन्छ्याउन नसकिने अवस्था रहेको हुँदा सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न पनि कार्यालयले अनुरोध गरेको छ।
काठमाडौं । नेपाली सेनाले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रपलाञ्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौंबाट गरी सोमबार बेलुकीसम्म ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । ‘
वीपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन् स्थानमा अलपत्र परेका ५३२ जनाको त्यहाँबाट उद्धार गरी सुरक्षित स्थान सार्नुका साथै घाइतेहरुलाई अस्पतालसम्म पुर्याइएको छ।’ प्रवक्ता तिवारीले भने, ‘निजी हेलिकप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्धार भएको छ।’
गत शनिबारदेखि सोमबार बेलुकीसम्म हवाइ उद्धारमा सेनाका तीन वटा हेलिकप्टर परिचालित थिए । ‘हवाइ उद्धारको कार्य अन्तिम अन्तिम चरणमा पुगेको छ।’ प्रवक्ता तिवारीले भने, ‘आवश्यकता अनुसार भोलीबाट पनि हवाइ उद्धार हुन्छ।’ सेनाको टोलीले उद्धारसंगै हवाइ साधन मार्फत राहत सामाग्री समेत प्रभावित क्षेत्रमा पुर्याउँदै आएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरका साथै राहत वितरणको कार्य समेत गृह मन्त्रालय गरिरहेको छ।
विपद्का घटनामा सुरक्षाकर्मीहरुले मुलुकभरका प्रभावित क्षेत्रबाट चार हजार भन्दा बढीको सकुशल उद्धार गरेको छ । सोमबार बेलुकीसम्म विपद्मा परी २०९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले दिएको जानकारी अनुसार विपद्का कारण अवरुद्ध राजमार्गहरु तीव्र रुपमा सुचारु भइरहेको छ भने कतिपय बढी प्रभावित राजमार्गमामा वैकल्पिक सडक सञ्चालनमा तयारी पनि भइरहेको छ ।
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ । गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ ।
बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् । यस्तै ४५ जना घाइतेको उपचार भइरहेको छ । देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् । ३६५४ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।
काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ ।
दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।
काठमाडौं । पछिल्लो दुई दिनयताको अविरल वर्षाका कारण देशभर मूख्य राष्ट्रिय राजमार्गमा ठूलो क्षति भएको छ । राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मूख्य राजमार्गमै बाढी र पहिरोले क्षति गरेको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । सडक विभागका अनुसार शनिबार साँझसम्म उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने सबै नाका ठप्प भएका छन् ।
अहिलेसम्म २३ राजमार्गका ६६ भन्दा धेरै स्थानमा बाढी र पहिरोले क्षति पुगेकाले यातायात बन्द गर्नु परेको छ । यसमध्ये पनि आधा दर्जन पुल बाढी र पहिरोले बगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गबाट दुई मुलुकबीचको सडक सम्पर्क समेत विच्छेद हुन पुगेको छ ।
सडक विभागका अनुसार शनिबार वीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाका विभिन्न स्थान र सिन्धुलीमा सडक अवरुद्ध छ । कान्ति राजमार्गको मकवानपुर खण्ड, त्रिभुवन राजपथको धादिङ र मकवानपुर खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध रहेको छ ।
पुष्पलाल रामार्गको ओखलढुंगा, सिन्धुली, खोटाङसहितका जिल्लामा सडक अवरुद्ध रहेको छ । राप्ती राजमार्गको सल्लान, सिद्धार्थ राजमार्थको पाल्पा, तानसेन–रिडी–कोरला राजमार्गको मुस्ताङ, पृथ्वी राजमार्गको धादिङ र तनहुँका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको छ ।
सालझण्डी–ढोरपाटन खण्डको अर्घाखाँची र स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड समेत अवरुद्ध रहेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार यस सडक खण्डमा मात्र विभिन्न ६ स्थानमा पहिरो गएको छ । यी पहिरोग्रस्त क्षेत्रमा पैदल यात्रु समेत पास हुन नसक्ने अवस्था छ ।
महानिर्देशक पोखरेलका अनुसार शनिबार साँझसम्म देशभर करीव आधा दर्जन सडक पुलमा क्षति पुगेको छ । मेची राजमार्गको हेवाखोलामा गत वर्ष मात्र बनाइएको बेली व्रिज आज पुनः भत्किएको छ । इलामको सन्दकपुरस्थित राता खोलामा निर्माणाधिन पुल भत्किएको छ ।
सिन्धुलीको खुर्कोटमा सुनकोशी नदीमाथिको पुलमा क्षति पुगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गका पुलहरुमा समेत क्षति पुगेको महानिर्देशक पोखरेलले जनाएका छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ तातोपानीका वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार लार्चाको बेली ब्रिज बगेको छ ।
१० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज समेत बगेको छ । तातोपानी नाका जाने लिपिङको पुल समेत बगेको छ । कान्ति लोकपथमा पर्ने बागमति नदीमाथिको पुल समेत बाढीले बगाएको छ ।
काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना बेपत्ता छन् ।
सशस्त्र प्रहरीका अनुसार, २ हजार १०३ जनाको उद्धार गरिएको छ । कोशी प्रदेशमा १५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर १९५ घरमा क्षति पुगेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी बलले उद्दारका लागि उपत्यकामा २३ वटा डुंगा र गोताखोरसहितको टोली ९० स्थानमा परिचालन गरेको छ ।
नेपाली सेनाले पनि उद्दारमा उपत्यकासहित बाढी, पहिरो प्रभावित इलाकामा फौज परिचालन गरेको छ । सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, सेनाको हेलिकोप्टरमार्फत कुसुन्ती चेकमा डुबानमा फसेका २ जनासहित ४ जनाको उद्दार गरिएको छ । ललितपुरको नख्खुवेसीबाट पनि ५ जनाको उद्दार गरेर काठमाडौं ल्याइएको सेनाले जनाएको छ ।
काठमाडौं । सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात पनि अवरुद्ध भएका कारण विद्यालय बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
शनिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकस्मिक बैठकले हाललाई विश्वविद्यालयलगायत सबै शैक्षिक संस्थाको परीक्षा स्थागित गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको थियो । मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईका अनुसार विद्यालय भवनमा आकस्मिक व्यवस्थापन गर्नुपर्ने भएकाले विद्यालय ३ दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरिएको हो ।
काठमाडौं । काठमाडौं । काठमाडौं भित्रिने नागढुङ्गा नौबिसे राजमार्गमा बस, ट्रक तथा हायसलाई पहिरोले पुरेको छ । प्रहरीका अनुसार अहिले उद्दारलाइ तीव्रता दिएको छ । शनिबार साझसम्म १४ वटा शव निकालिएको छ ।
धादिङको झ्याप्ले खोला भन्ने स्थानमा पहिरोले गाडी पुरेको हो । ३ वटा गाडीबाट ८ पुरुष, ५ महिला र १ बच्चा गरि १४ जनाको शब फेला परेको प्रहरीले बताएको छ ।
काठमाडौं । वनस्थली क्षेत्रमा मोटरसाइकल नालीमा खस्दा एक जना बेपत्ता भएका छन् । बुधबार दिउँसो बालाजु अन्नपूर्ण चोक नजिकै बाप्र– ०२–०८१ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको प्रहरीले जनाएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेका अनुसार मोटरसाइकल निकालिएको छ । तर चालक वेपत्ता छन् । उनको खोजी भइरहेको छ । बुधबार रातिदेखि परेको पानीका कारण उपत्यकाका नदी किनार क्षेत्र जलमग्न भएको छ ।
काठमाडौं । सप्तकोशी नदीमाथि बनेको कोशी ब्यारेजबाट यात्रु बस खसेको छ। पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार साँझ बस नदीमा खसेको हो। विराटनगरबाट पश्चिम गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस कोशी ब्यारेजको पुल दक्षिणतर्फ खसेको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स यातायातको बस बिहीबार साँझ कोशी ब्यारेजको ३४–३५ नम्बर ढोकामा खसेको हो।
बसमा २० जना सवार रहेकोमा सबै यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बस भने कोशी नदीमै छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
काठमाडौं । यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ । बुधबार दिउँसो कार्यालय परिसरबाट बिचौलियालाई पक्राउ गरेको हो । कार्यालयहरुको स्थलगत अनुगमन गर्दा नक्कली डाक्टर (आफूलाई डाक्टर भनि चिनाउने) व्यक्तिसहित १७ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलका अनुसार पक्राउ परेकाहरुमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।
काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चलेको छ । घटनामा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम प्रहरीले खुलाएको छैन । बिहीबार बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीका अनुसार गोली लागेर मृतक चित्रलेखाका ससुरा ५४ वर्षीय रामदिनेश राय घाइते छन् । उनलाई वायाँ हातमा गोली लागेको छ ।
घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । डिएसपी श्रेष्ठका अनुसार चित्रलेखाका श्रीमान् एक महिना अघि मात्र कुवेतबाट घर आएका थिए । उनी घर आएदेखि परिवारका सदस्यहरुसँग बेलाबेला झगडा भइरहन्थ्यो । त्यसपछि उनी घरबाट हिँडेका थिए । गएराति एक्कासी एकजना साथीसँग मोटरसाइकलमा आएको र घरमा गोली प्रहारको घटना भएको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्ति चित्रलेखाकै श्रीमान् हुन् वा उनले अरु कसैलाई गोली हान्न लगाए भन्नेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतहरु थप पुष्ट्याइँको प्रयासमा छन् । त्यसैले जिल्ला प्रहरी कार्यालयले चित्रलेखाका श्रीमानको नाम गोप्य राखेको जनाएको छ ।
काठमाडौं । चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। च्याङ्ग्राको रकम ४२ लाख दिनुपर्नेमा नदिई च्याङ्ग्रासहित सम्पर्कविहीन फकिरलाई पोखरा महानगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरिएको हो। रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं। ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ मासवार बस्ने वर्ष ५० को फकिर अरू दुई जना साथीसहित मुस्ताङ गएका थिए ।
फकिरले असोज २ गते पोखरा–२५, घट्टेखोलाबाट च्याङ्ग्रा बिक्री गरी अरू नै सवारीमा पठाएको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । फकिरमाथि कास्की जिल्ला अदालतबाट छ दिन म्याद थप भएको छ। ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा फकिरमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
असोज १ गते निजी कारमा मुस्ताङ पुगेका फकिरले मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ३ का किसान ताक्ला गुरुङका च्याङ्ग्रा किनेर पोखरा पुगेपछि पैसा दिने सर्तमा ल्याएका थिए । च्याङ्ग्रा धनी ताक्ला गुरुङसमेत पैसा लिन सँगै पोखरा आएका थिए । पोखरा आइपुगेपछि डेमसाइडको होटलमा गुरुङ सुतिरहेको अवस्थामा फकिर सम्पर्कविहीन बनेका थिए ।
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व (नवलपुर)को विनयी खोला नजिक यात्रुबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आज बिहान आफैं अनियन्त्रित भई पल्टिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बसमा करिब ४५ जना यात्रु रहेकामा २३ जना घाइते छन् । घाइतेहरुको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।