Category: स्थानीय

  • दार्चुलाको दुहुँ गाउँपालिका –५ मा कांग्रेसका कुँवर विजयी

    दार्चुलाको दुहुँ गाउँपालिका –५ मा कांग्रेसका कुँवर विजयी

    काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिका –५ मा सम्पन्न उपनिर्वाचन मा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्। कांग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् ।

    यस्तै माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन्। जम्मा खसेको मतमध्ये २० मत बदर भएको छ । वडा –५ का वडा अध्यक्ष मनोरथ भट्टको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो ।

  • जाजरकोट ७ वडाध्यक्षमा कांग्रेसका सिंह निर्वाचित

    जाजरकोट ७ वडाध्यक्षमा कांग्रेसका सिंह निर्वाचित

    काठमाडौ । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् । सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाएका छन् ।

    यो वडामा पहिले माओवादी केन्द्रले जितेको थियो । यो वडामा ०७९ को चुनावमा माओवादी केन्द्रले जितेको थियो । माओवादी केन्द्रका मनबहादुर घर्तीले ३८० मत ल्याएर वडाध्यक्ष जित्दा कांग्रेसका खम्ब बहादुर सिंहले ३१८ मत ल्याएका थिए भने एमालेका प्रसाद सिंहले १४८ मत ल्याएका थिए ।

  • कीर्तिपुरमा आजै मतगणना हुने

    कीर्तिपुरमा आजै मतगणना हुने

    काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना आजै सुरु हुने भएको छ । केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । सर्वदलीय बैठकले सुरुमा वडा नम्बर १ मा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु गर्ने निर्णय गरेको छ ।

    यसैगरी वडा नम्बर ४ मा पनि सुरुमा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु हुने छ । त्यसपछि क्रमशः वडा नम्बर २ देखि १० सम्मको वडाको मतगणना हुने छ । यसअघि आज मेयरको मतगणना नगर्ने समझदारी दलका प्रतिनिधिहरुबीच भएको थियो । तर सर्वदलीय बैठकले मेयरको पनि मतगणना गर्ने निर्णय गरेको थियो ।

  • रोल्पामा निर्माणाधिन पुलको पर्खाल भत्किँदा कम्तिमा ५ कामदारको मृत्यु

    रोल्पामा निर्माणाधिन पुलको पर्खाल भत्किँदा कम्तिमा ५ कामदारको मृत्यु


    काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खसेको छ । सो क्रममा ५ जनाको मृत्यु भएको छ । ६६ वर्षीय देविराम परियार, ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पाँचै जना सुनछहरी गाउँपालिका वडानम्बर ३ बाहिरी गामका हुन् । मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर आज बिहान ९ः५० बजे उनीहरु पुरिएका थिए । दुई जना भने भागेर ज्यान जोगाउन सफल भएका थिए । सो स्थानमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा ७ जना र प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक प्रकाश विष्टको कमाण्डमा ५ जनाको टोली उद्धारमा खटिएको समेत प्रहरीले जनाएको छ ।

  • मतदान देशैभर सुरु, कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?

    मतदान देशैभर सुरु, कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?

    काठमाडौं । रिक्त स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको हो । मतदान साँझ ५ बजे सम्पन्न हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष भने निर्विरोध निर्वाचित भइसकेका छन् ।


    काठमाडौंको कीर्तिपुरस्थित नवज्योती आधारभूत विद्यालय पांगा मतदान केन्द्रमा बिहान ७ः १० मा मतदान सुरु भएको थियो । यो मतदान केन्द्रमा १३४० मतदाता रहेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि उपनिर्वाचन सुरु भएको छ ।

    ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपलिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदै छ । त्यस्तै, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ को वडाध्यक्ष पदका लागि पनि निर्वाचन हुनेछ ।

    काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौं महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौंडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले जानकारी दिए ।

    दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम ९पश्चिम० सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

    स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।

  • आज देशभर उपनिर्वाचन, ४१ पदमा मतदान हुँदै

    आज देशभर उपनिर्वाचन, ४१ पदमा मतदान हुँदै

    काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएकाहरुले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।

    आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने\गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले सहयोगको अपेक्षा गरेको छ ।

  • काठमाडौंको तारकेश्वरमा बसको ढोकाबाट झरेर दुई जनाको मृत्यु

    काठमाडौंको तारकेश्वरमा बसको ढोकाबाट झरेर दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शेषमती लामबगर शान्तिटोल गेट नजिकै बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र नुवाकोटकै तादी गाउँपालिका–१ का ५८ वर्षीया सुन्तरी ओझा छन् । उनीहरू शनिबार बिहान बसको ढोकाबाट खसेका थिए ।

    ढोकाबाट खसेपछि गम्भीर घाइते भएका उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, बसका सह–चालक पनि बसबाट खसेर घाइते भएका छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चालक भने फरार छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • रौतहटमा नुहाउन गएका २ युवकको डुबेर मृत्यु

    रौतहटमा नुहाउन गएका २ युवकको डुबेर मृत्यु

    काठमाडौं । रौतहटको गरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ। गरुडा नपा–२ गेडाहीका देवालाल साहको छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहको छोरा १८ वर्षीय राजीव साहको लमाह खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईले जानकारी दिए ।

    आज दिउँसो नुहाउन गएका दुई युवा बेपत्ता भएको खबरप्राप्त हुनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण तथा सुरक्षा बेस दुधियाभार र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको थियो। डुबेका दुवै जना व्यक्तिलाई अचेत अवस्थामा खोलाबाट उद्धार गरी एम्बुलेन्समा बेटर नेपाल मल्टी स्पेसलिटी हस्पिटल गरुडामा उपचारको लागि पठाइएको भए पनि दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी उपरीक्षक हुमागाईले जानकारी दिए ।

  • रामेछापमा गाडी दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

    रामेछापमा गाडी दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

    काठमाडौं । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। काठमाडौँबाट गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो। रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन्। तीनमध्ये एक जना गम्भीर घाइते रहेको उहाँको भनाइ छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ। दुर्घटनामा एक बालकसहित तीन जना घाइते भएका हुन्।

    दुर्घटनामा परेर गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेमा चालक हीराबहादुर कार्कीसमेत छन् ।

  • कीर्तिपुरमा समाजवादीका उम्मेदवारले माओवादी उम्मेदवारलाई समर्थन गर्ने

    कीर्तिपुरमा समाजवादीका उम्मेदवारले माओवादी उम्मेदवारलाई समर्थन गर्ने

    काठमाडौं । कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार भानु रिजालले माओवादीलाई समर्थन गर्ने जनाएका छन् । उनले आफ्नो उम्मेदवारी निष्कृय रहेको र माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै रिजालले मंसिर १६ मा हुने कीर्तिपुर नगरपालिका मेयरको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार महर्जनलाई समर्थन गर्न आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा गरेका छन् ।

    मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि मैले उम्मेदवारी दिएकामा पार्टी केन्द्रको निर्णयबमोजिम मेरो उम्मेदवारी निष्कृय गरेको छु,ु रिजालले विज्ञप्तिमा भनेका छन् । कीर्तिपुर नगर प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्राडा शिवशरण महर्जनलाई मतदानु गर्न पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार रिता खड्कालाई मतदान गर्न पनि रिजालले विज्ञप्तिमा लेखेका छन् । कीर्तिपुरको उपनिर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । माओवादीबाट मेयर उम्मेदवार र वडा नम्बर ४ को अध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार छन् ।

  • सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित एक जना पक्राउ

    सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित एक जना पक्राउ

    काठमाडौं । सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बाप्र०३–००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    उक्त गाडी चितवनबाट हेटौंडासिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

  • प्रधानमन्त्रीको दल एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै

    प्रधानमन्त्रीको दल एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) ले आज काठमाडौंको सडकमा प्रदर्शन गर्दैछ । दरबारमार्गमा प्रदर्शनपछि सभा राखिएको छ । जसलाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

    भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ । बिहान साढे ११ बजे जुलुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुने छ । एमालेले अराजकता र निराशालाई चिर्न जागरणसभा गर्न लागिएको दावि गर्दै आएको छ । उसको प्रदर्शनले आज दिनभर सडक भने प्रभावित हुनेछ ।

  • मोरङमा मोटरसाइकल दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

    मोरङमा मोटरसाइकल दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

    काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
    प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो ।

    दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । लिम्बुलाई झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगिएको थियो । धिमाल र गुरुङको अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो भने लिम्बूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

    दुई मोटरसाइकलमा चार जना सवार थिए । ओभरटेक गर्न खोज्दा दुई वटा मोटरसाइकल ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीका अनुसार ८४०६ नम्बरको मोटरसाइकलले अगाडि रहेको सवारी साधनलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा पथरीशनिश्चरे–५ का ३० वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएको प्रहरीले बताएको छ । उनको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

  • झिसमिसेमा त्रिशूलीमा खस्यो ट्रक

    झिसमिसेमा त्रिशूलीमा खस्यो ट्रक

    काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट मालबाहक ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको हो । यो गाडीले चामल बोकेको बताइएको छ । दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको छ ।

    उनीहरुलाई प्रारम्भिक उपचारका लागि मझिमटारस्थित बिहानी फार्मेसीमा पठाइएको छ । दुर्घटनास्थल धादिङ र चितवनको सिमानामा पर्ने हुग्दीखोला नजिकै पर्दछ । ट्रक आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

  • माओवादीको गढमा एमाले र कांग्रेसले गरे तालमेल

    माओवादीको गढमा एमाले र कांग्रेसले गरे तालमेल

    काठमाडौं । १६ मंसिरमा हुने उपनिर्वाचन अन्तर्गत रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र एक वडाध्यक्ष पदमा नेपाली कांग्रेस र एमालेले तालमेल गरेका छन् । यो माओवादी केन्द्रको बलियो आधार क्षेत्र मानिन्छ । सत्ता साझेदार दुई ठूला दलले तालमेल गरेका हुन् । दुई दलबीच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेले उम्मेदवारी दिएको छैन । बरु एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचनले कांग्रेस उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएकी छन् ।

    आइतबार उम्मेदवार मनोनयन गर्नुअघि दुई दलले लिखित सहमति गरी एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन दुवै पार्टीको तर्फबाट साझा उम्मेदवार बनेकी छन् । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारभन्दा माओवादी उम्मेदवार भूपेन्द्रा बुढा मगरले दोब्बर मत ल्याएर विजयी भएकी थिइन् ।

    भूपेन्द्रा बुढा ४ हजार ५९ मत ल्याएर निर्वाचित भएकी थिइन् भने कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए । पुथामा ११ हजार १ सय ८० मतदाता रहेका छन् । माओवादी केन्द्रबाट विजयी बुढाको असोजमा बागलुङमा भएको सवारी दुर्घटनामा परेर ज्यान गएपछि उपनिर्वाचन हुन लागेको हो ।

  • पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

    पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । फ्रन्टलाइन अस्पतालका अनुसार ढुंगाना घरमा बेहोस भएपछि अस्पताल ल्याइएका थिए ।

    काठमाडौं महानगरपालिका– ९ बत्तीसपुतलीस्थित निवासमा दिउँसो परिवारका सदस्यसँग कुरा गरिरहेका बेला १ बजेर ९ मिनेटमा एक्कासी बेहोस भएपछि ढुंगानालाई अस्पताल लगिएको थियो । कलेजोसम्बन्धी समस्या देखिएका ढुंगाना घरमै औषधि उपचार गराइरहेका थिए ।

    अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था जाँच गरेका थिए । ती कुनै पनि नचलेको पाइएपछि १ बजेर ४० मिनेटमा मृत घोषणा गरेका थिए । पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका छन् ।

    ०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामा पनि लागे । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए । ०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बने । ०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना शान्ति अभियानमा खुलेर लागेका थिए । उनी सरकार-माओवादी शान्ति वार्ताका सहजकर्ता थिए ।

  • दार्चुलामा जिप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    दार्चुलामा जिप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । शैल्यशिखर नगरपालिका (६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्यु भएको बताए । मृतकको सनाखत हुन बाँकी छ ।

    उनकाअनुसार अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजी भइरहेको छ । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको हो । प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करीब १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

  • काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका तीन जना मृत फेला

    काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका तीन जना मृत फेला

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत भेटिएका हुन् ।

    श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । पछि जाँच गर्दा बन्द कोठाभित्र शव भेटिएको बताइएको छ । शव कम्तीमा दुई साता पुरानो हुनसक्ने प्रहरीको प्रारम्भिक जाँचबाट देखिएको छ । प्रहरीका अनुसार तीन जनाकै शव सडेको अवस्थामा फेला परेको छ ।

    त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले गरेको स्थलगत जाँच, छिमेकीहरुसँगको सोधपुछ र मृतकका श्रीमानको बयानका आधारमा तीनै जनाको कम्तीमा दुई साताअघि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको हो । कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्त, बौद्ध र जिल्ला प्रहरी परिसर, काठमाडौंले खोजी थालेको थियो ।

    त्यसक्रममा बिहीबार अपराह्न आफ्नै घरको बन्द कोठाभित्र ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालकको शव भेटिएको थियो । प्रहरीका अनुसार, घरमा बाहिरबाट ताला लगाएकाले श्रीमती कतै गएको हुनसक्ने अनुमान गरेको श्रीमान् कान्छा नगरकोटीले बयान दिएका छन् ।

  • सवारी दुर्घटना गराएर भागेका भाइरल झांक्री पक्राउ

    सवारी दुर्घटना गराएर भागेका भाइरल झांक्री पक्राउ

    काठमाडौं । दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल छन् । उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो । भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए ।

    भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो । कारको ठक्करबाट मोटसाइकल चालकको नगरकोटीको मृत्यु भएको छ । मोटरसाइलको पछाडि बसेकी उनकी श्रमती किसानुमाया नगरकोटी भने घाइते छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

  • कालिकोटमा जिप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    कालिकोटमा जिप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    काठमाडौं । जिल्लाको पलाता गाउँपालिका जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ। दुर्घटनामा पलाता गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय पदमबहादुर बम, ३० वर्षीया छाया शाही, वडा नम्बर ६ का ५९ वर्षीया दसकला शाही, २५ वर्षीया भगवती रोकाया, ६० वर्षीय गणेश शाही र पलाता वडा नम्बर ३ का ६ वर्षीय बालक दमन रोकायाको मृत्यु भएको हो। घटनास्थल विकट ठाउँमा भएकाले दुर्घटनाका मृतकको पहिचानका लागि समय लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

    खिनदेखि थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको जिप आइतबार दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन्। घाइतेको नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरी उपचार सुरु भएको प्रहरी नायब निरीक्षक टेकबहादुर रावतले जानकारी दिए । गाडी सडकदेखि दुई सय सय मिटर तल खसेको थियो ।

  • धनगढीका सुरेश पोर्चुगलमा वेपत्ता, खोजीका लागि परिवारको आह्वान

    धनगढीका सुरेश पोर्चुगलमा वेपत्ता, खोजीका लागि परिवारको आह्वान

    काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । पोल्यान्ड हुँदै दुई वर्ष अघि पोर्चुगल आएका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन् । ओझा गत जुलाई ५ तारिखदेखि सम्पर्कविहीन भई बेपत्ता भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष दीपेश विष्टले जानकारी दिए ।

    राजधानी लिस्बनस्थित एक रेष्टुराँमा काम गर्दै आएका उनी सात महिनाअघि एकाएक बेवारिसे भएका थिए । बेवारिसे भएका ओझालाई मेट्रो स्टेसनबाट नाजुक अवस्थामा उद्धार गरी लिस्बनस्थित एक होस्टेलमा खाने बस्ने व्यवस्था मिलाएर राखिएको भए पनि होस्टेलबाटै भागेर बेपत्ता भएको विष्टले बताए ।

    ‘हामीले धेरै पटक उनको उद्धार गर्यौँ। परिवारको आग्रहमा नेपाल पठाउने तयारी पनि गरेका थियौँ । तर, उनी एकाएक सम्पर्कविहीन भई बेपत्ता भए’, विष्टले भने। समाजको पहल र व्यवस्थापनमा होस्टेलमा बस्दै आएका उनी गत जुलाईदेखि सम्पर्कबिहीन भएका हुन् ।

    हाल उनको खोजीकार्य भइरहेको र पोर्चुगलमा क्रियाशील नेपाली सङ्घ–संस्थालाई समेत उनको खोजबिनमा सहयोग गर्न आग्रह गरिएको विष्टले बताए । बेपत्ता भएका ओझा हालसम्म परिवार, आफन्तलगायत कोही कसैको सम्पर्कमा नआएको भन्दै उनको खोजी गरी नेपाल पठाइदिन परिवारले आग्रह गरेको उनले बताए । ओझाको परिवारमा वृद्ध आमा र पाँच दिदीबहिनी रहेका छन् ।

    यसैबीच धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले समेत सामाजिक सञ्जालमार्फत बेपत्ता भएका ओझाको खोजबिन र उद्धार गरिदिन पोर्चुगलवासी नेपालीसँग आग्रह गरेका छन् । नगरप्रमुख हमालले एक सूचना जारी गर्दै बेपत्ता ओझाको खोजबिन र उद्धारका लागि आग्रह गरेका हुन् । रासस

  • सुर्खेतमा गाडी दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    सुर्खेतमा गाडी दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    काठमाडौं । दैलेखबाट सुर्खेत जाँदै गरेको गाडी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(१४ रातानाङ्लामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन् । कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको फोर्स गाडी शुक्रबार दिउँसो २ः२० बजे दुर्घटना भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । दुर्घटनाको खबर आउने बित्तिकै सुर्खेतका प्रहरी प्रमुख सहितको टोली घटनास्थलमा पुगेको थियो ।

    त्यहाँबाट ३० जनालाई उद्धार गरेर अस्पताल पठाइएकोमा चार जनाको मृत्यु भएको चिकित्सकहरूले घोषणा गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । अन्य घाइतेको सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

  • नारायणगढ–मुग्लिन सडकमा दुई वटा गाडी ठोक्किए, कम्तिमा ४ जनाको मृत्यु

    नारायणगढ–मुग्लिन सडकमा दुई वटा गाडी ठोक्किए, कम्तिमा ४ जनाको मृत्यु

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोक्किएका थिए । दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो ।

    मृतक सबै हायस बसमा सवार यात्रुहरु हुन् । मृतकहरुमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०–४२ वर्षीय राज बहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बसका सहचालक काठमाडौं महानगरपालिका ३२ बस्ने ३० वर्षीय भोजविक्रम शाह सामान्य घाइते भएका छन् । घाइतेहरुमध्ये चार जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । अरु दुई जना सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।

  • हिमाली भेगमा हिमपात सुरु, कस्तो रहनेछ आजको मौसम ?

    हिमाली भेगमा हिमपात सुरु, कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । आज पनि देशका थोरै ठाउँमा वर्षा भइरहेको छ । पहाडी भू–भागका एक–दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । राति पनि बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका विभिन्न ठाउँमा सोमबार पनि वर्षा भएको थियो । दोलखाको कालिन्चोकमा सोमबा हिमपात भएको छ ।

  • सर्लाहीमा पोखरीमा डुब्यो कार, दुई जनाको मृत्यु

    सर्लाहीमा पोखरीमा डुब्यो कार, दुई जनाको मृत्यु

    काठमाडौं । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका २ मियाँखोरस्थित पोखरीमा डुबेको छ । डुबेको कारमा गौशाला नगरपालिका १० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका ८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला-२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका छन् । घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिए ।

    कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • मुस्ताङ जाने सडक बन्द

    मुस्ताङ जाने सडक बन्द

    काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले सोमबार दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको जानकारी दिए । रासस

  • त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, १ वेपत्ता

    त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, १ वेपत्ता

    काठमाडौं । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका ४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्।
    स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार रायले बताए ।

    उनका अनुसार कञ्चनरुप नगरपालिका ४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता छन्। बेपत्ता भएका बालिकाको खोजीकार्य जारी छ। रासस

  • अर्घाखाँचीमा भैलो खेलिरहेको समूहलाई बसले ठक्कर दियो, २ जनाको मृत्यु

    अर्घाखाँचीमा भैलो खेलिरहेको समूहलाई बसले ठक्कर दियो, २ जनाको मृत्यु

    काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ ।
    वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।

    बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्युु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । घटनाबारे थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

  • माडी खोलाले बगाउँदा दुईको मृत्यु

    माडी खोलाले बगाउँदा दुईको मृत्यु

    काठमाडौं । प्यूठानमा माडी नदीले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालका अनुसार स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी ३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव फेला परेको हो ।

    बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो २ बजे भिंगृस्थित तापा र बर्जिबाङ जोड्ने बेली ब्रिजको दुई सय मिटर तल शव भेटिएको प्रहरीको भनाइ छ । त्यस्तै खनाललाई स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्केपछि बेलिब्रिजको छेउमा नुहाउन जाँदा नदीले बगाएको थियो । खनालको शव गोठिबाङको घण्टीखोला दोभानमा फेला परेको प्रहरीले जनाएको छ ।

  • स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

    स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

    काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर २ पुरेनामा मंगलबार दिउँसो भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ मनिस थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए ।

    गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु १ ख ९०९२ नम्बरको स्कुल बसले उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ६६ प ४८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनाका घाइते थापालाई उपचारको लागि कपिलवस्तु अस्पताल तौलिहवा र थारुलाई चौराहा अस्पताल बुटवल लगिएको थियो। अस्पतालका चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।