Category: स्थानीय

  • रामबहादुरले एक दशकपछि पुनः देख्न थाले संसार

    रामबहादुरले एक दशकपछि पुनः देख्न थाले संसार

    ४ जेठ, गोरखा । गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाले । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनर्लाइ ज्वाइँ कर्ण माहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याएका थिए । उनी जस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थालेका छन् । आफ्नै गाउँमा गत म¬ङ्गलबार, बुधबार र बिहीबार आयोजना गरेको शल्यक्रिया शिविरमा गुरुङको आँखाको शल्यक्रिया गरिएको थियो ।

    निर्धारित समयमा वरिष्ठ आँखारोग विशेषज्ञ कमलबहादुर खड्का नेतृत्वको टोलीले धमाधम आँखाको पट्टि खोल्न थाल्यो । उनको पालो सबैभन्दा पछि थियो । जब चिकित्सकले गुरुङको आँखाको पट्टि खोले, उनी बसिरहेको कुर्चीबाट उठे र विस्तारै आँखाका परेला खोल्न थाल्थे । “एक दशकदेखि अन्धकार बनेको रङ्गीन संसार देखेँ । ऊ, मेरो ज्वाइँ”, घरबाट बोकेर ल्याएका कर्णमाहिलातिर देखाए, सबैतिर हेर्न हतार नगर्न चिकित्सक गुरुङले सुझाव दिए । उनले आफूलाई संसार देखाइदिने चिकित्सकलाई धन्यवाद दिए ।


    दुर्गम भेगमा रहेको गोरखाको धार्चे गाउँपालिका–५ गुम्दाका ८८ वर्षीय रामबहादुर गुरुङले दुवै आँखाको ज्योति गुमाएको १० वर्ष पुग्यो । “२०६८ सालमा बारी जोत्दा हलोको फालीले लागेर दाहिने आँखा गुमाएको थिएँ, त्यसको चार वर्षपछि देब्रे आँखा पनि देख्न छाडेँ”, गुरुङले भने । त्यसयता गुरुङलाई आफ्नो घरआँगन परदेश लाग्न थाल्यो, आफन्तहरू परायाजस्ता । आफैँ हिँड्न नसक्ने भएपछि उहाँलाई परिवारले सुताउने, उठाउने, खाना खुवाउने र शौचालयसम्म लैजाने, ल्याउने गर्नुपथ्र्यो ।

    “पहिले त स्वरले चिन्थेँ । स्वर पनि र्बिसिएर विस्तारै चिन्न छाडेको थिएँ । म फलानो हुँ भन्यो भने बल्ल याद आउँथ्यो”, गुरुङले भने, “घरमा बूढी पनि रोगी, छोरा बाहिर विदेशमा छ । एउटा बुहारीले घरबारीको काम, हामी बुढाबूढीको स्याहार, नातानातिनीको स्याहार सबै हेर्नुपर्छ । बुढेसकालमा अरु केही गर्न नसके पनि आफ्नो काम चाहिँ आफँै गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो सपना आज पूरा भयो”, शल्यक्रियापछि आँखाको ज्योति पाउनुभएका गुरुङले भने ।


    शल्यक्रियापछि ससुरा आफैँ हिँड्डुल गर्न सक्ने भएपछि कर्णमाइलालाई पनि सन्तोष मिलेको छ । “बुढो मान्छे, त्यसमाथि आँखा नदेख्ने भएपछि साह्रै बिजोग हुनेरहेछ”, उनले भने, “अब त सबै देखेँ, हिँड्छु भनेका छन् । यति भयो भने घरपरिवारलाई धेरै हलुका हुन्छ ।”

    धार्चे गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोग तथा मात्रिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा गुम्दामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा धार्चेको गुम्दा, सिङ्ला, लप्सीबोट, यामगाउँ, खानीगाउँलगायत आसपास क्षेत्रका चार सय सात जनाले सेवा लिएका थिए ।

    शिविरमा रामबहादुरसहित ४९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । तीन दिनसम्म चलेको शिविरमा वरिष्ठ आँखारोग विषेशज्ञ डा कमलबहादुर खड्का नेतृत्वको टोलीले सेवा दिएको थियो । विकट ठाउँमा आएर वृद्धवृद्धालाई सेवा दिन पाउँदा खुसी लागेको डा खड्काले बताए । “गाउँघर यस्तै हो, कति दुःख कति सुख । जे होस् यति टाढा आएर सेवा दिने मौका मिल्यो । खुसी लागेको छ”, उनले भने ।
    राससबाट

  • तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, चारजना घाइते

    तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, चारजना घाइते

    ४ जेठ, लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो ।

    घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

    घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरुमाथि खुकुरी प्रहार भएको हो । दुई समूहबीच झडप हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा उनीहरुबीच विवाद भएको बताइएको छ । खुकुरी प्रहार गर्नेहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

  • गण्डकी प्रदेश सरकारले बजेटको आकार घटाउँदै

    गण्डकी प्रदेश सरकारले बजेटको आकार घटाउँदै

    ४ जेठ, पोखरा । समानीकरण अनुदान र राजस्व खुम्चँदा गण्डकी प्रदेशमा आगामी आर्थिक वर्ष २०८२\८३ मा बजेटको आकार घट्ने भएको छ । चालु आवमा रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको प्रदेश सरकारलाई आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट ल्याउन प्रदेश स्रोत अनुमान समितिले सिफारिस गरेको छ ।

    आर्थिक मामिला मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालका अनुसार मन्त्रालयगत रूपमा बजेटको ‘सिलिङ’ घटेको जानकारी दिए । “झण्डै तीन अर्बले बजेट घट्ने अनुमान गरिएको छ, समानीकरण र समपूरकतर्फको बजेट कटौती हुँदा बजेट निर्माणमा दबाब बढेको हो, प्रदेशको आन्तरिक स्रोत पनि बढ्न सकेको छैन”, उनले भने ।


    आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा लक्ष्यको जम्मा ५२ प्रतिशत राजस्व सङ्कलन भएको उनले बताए । चालु आवमा लक्ष्यको झण्डै ७० प्रतिशतमात्र राजस्व उठ्ने देखिएको उनको भनाइ छ । प्रदेश नीति तथा योजना आयोगले सङ्घ सरकारले ल्याउने बजेटका आधारमा प्रदेशको बजेट केही थपघट हुनसक्ने जनाएको छ ।

    अहिलेकै अवस्थामा भने प्रदेश सरकारले ल्याउने बजेट घटेर आउने आयोगको भनाइ छ । आयोगले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई मात्र रु नौ अर्ब ४८ करोडको ‘सिलिङ’ तोकेर पठाएको छ । चालु आवमा उक्त मन्त्रालयमा रु १२ अर्ब ७० करोड बजेट थियो ।

    ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको ‘सिलिङ’ रु तीन अर्ब ९० करोड तोकिएको छ । चालु आवमा उक्त मन्त्रालयका लागि रु चार अर्ब चार करोड ५३ लाख बजेट विनियोजन गरिएको थियो । कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पनि चालु आवको भन्दा कम जम्मा रु एक अर्ब ९० करोडको बजेट ‘सिलिङ’ तोकिएको छ । चालु आवमा दुई अर्ब बढीको बजेट उक्त मन्त्रालयलाई छुट्टिएको थियो ।

    यस्तै स्वास्थ्य मन्त्रालयका लागि रु ती अर्ब दुई करोड ६७ लाख, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयलाई रु एक अर्ब ३५ लाख, वन तथा वातावरण मन्त्रालयका लागि रु ९० करोड, उद्योग तथा पर्यटन मन्त्रालयतलाई रु ६५ करोडको ‘सिलिङ’ तोकेर बजेट निर्माणको काम भइरहेको हो ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि रु एक अर्ब १५ लाख, आर्थिक मामिला मन्त्रालयतर्फ रु १३ करोड ३६ लाखको ‘सिलिङ’ तोकिएको छ । प्रदेश सरकारले आगामी बजेटमा कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकता दिनेगरी बजेट बाँडफाँटको तयारी अगाडि बढाएको छ ।

    प्रदेशको दास्रो पञ्चवर्षीय योजनालाई आधार बनाएर बजेटका प्राथमिकता निर्धारण गरिने भएको हो । आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयसँग बजेट निर्माणबारे छलफल सुरु गरेको छ । यसअघि स्थानीय तह, निजी क्षेत्रलगायतसँग बजेटका विषयमा छलफल गरिएको थियो । प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा नीतिगत सुधारका विषयलाई बढी जोड दिइने जनाएको छ ।

    कार्यान्वयनयोग्य र प्रदेशको यर्थाथअनुसारको बजेट ल्याइने तयारी गरिएको हो । बजेट तर्जुमा र समन्वयका विषयमा विषयगत मन्त्रालयय र मातहतका निकायसँग छलफल भइरहेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आगामी असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    रासस

  • ट्रकको ठक्करबाट मनोहरामा मोटरसाइकल चालकको मृत्यु

    ट्रकको ठक्करबाट मनोहरामा मोटरसाइकल चालकको मृत्यु

    ३ जेठ, काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज दिउँसो बा६०प १७९५ नंको मोटरसाइकललाई बाप्र–०३–००१ ख १२४७ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै, प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर पोडेपाटी नजिक रहेको गोपाल न्यौपानेको गाई–बाच्छा मठमन्दिर बचाउ तथा समाज विकास अभियानको टहरामा विद्युत् चुहावट भई आगलागी हुँदा गएराति करिब रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।


    ललितपुरको महालक्ष्मी नगरपालिका–८ नरकटे उखुटोलस्थित काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने चरण चौधरीको नर्भिक इन्स्टिच्युट अफ टेक्नोलोजी नेपाली प्राइभेट लिमिटेड कम्पनीको गोदाममा समेत विद्युत् चुहावट भई आगलागी प्रहरीले जनाएको छ । आगलागी हुँदा १२ वटा एलिग्रेटर ड्राफ्ट मेसिन जलेर करिब रु ७७ लाख बराबरको धनमाल नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • बैतडीमा खुकुरी प्रहारबाट दुई जना घाइते

    बैतडीमा खुकुरी प्रहारबाट दुई जना घाइते

    ३ जेठ, बैतडी । स्थानीय युवाद्वारा गरिएको खुकुरी प्रहारबाट बैतडीमा दुई जना महिला घाइते भएका छन् । पुर्चौंडी नगरपालिका–६ रपनाका २० वर्षीय धनवीर धानुकले आज बिहान सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरी घाइते बनाएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनका अनुसार आज बिहान धनवीरले दुवै जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको पाइएको छ ।

    घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छभने दुरोपतीको बायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी प्रवक्ता बडूले जानकारी दिनुभयो । खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बिखमतीका नाति दिनेश धानुकसँग धनवीरको लामो समयदेखि घरायसी विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न गएको जनाउँदै उनले दिनेशलाई खुकुरी प्रहार गर्न गएका धनवीरले निजलाई घरमा नभेटेपछि दुई वृद्धामाथि आक्रमण गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • गृहमन्त्री लेखक र पाण्डे सगरमाथा आधार शिविरमा

    गृहमन्त्री लेखक र पाण्डे सगरमाथा आधार शिविरमा

    ३ जेठ, सोलुखुम्बु । गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आज सगरमाथा आधार शिविर भ्रमणमा पुगेका छन् । पर्यटकीय यामका सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न भन्दै उनीहरु आज खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् । दुवै मन्त्रीलाई लिएर गएको हेलिकप्टर बिहानै खुम्बु क्षेत्रमा अवतरण गरेको थियो ।


    भ्रमणका क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए । उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै सरकारको नीति यस्तो सेवालाई सहज र संयमित बनाउने दिशामा केन्द्रित हुने स्पष्ट पारे ।


    गृहमन्त्री लेखकले भने , “सगरमाथा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकारले अब फरक ढङ्गले जनमुखी नीति कार्यान्वयन गर्दैछौँ, हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौँ ।” हालसम्म सगरमाथा क्षेत्रमा उद्धारबाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने भन्ने स्थानीय माग हुँदै आएको छ ।

    गाउँपालिकाले बारम्बार हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न आग्रह गर्दै आएको हो । अर्कोतर्फ पर्यटन व्यवसायीहरुले अत्यधिक हेलिकप्टर उडानमा प्रतिबन्धले व्यवसायमा नकारात्मक असर परेको जनाउँदै नियमनसहितको स्वतन्त्रता माग गर्दै आएका छन् । गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सगरमाथा क्षेत्रमा देखिएका समस्याबारे जानकार रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सगरमाथा संवाद कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
    त्यसैगरी पर्यटनमन्त्री पाण्डेले सरकार नेपालको पर्यटन विकासमा गम्भीर रहेको बताए । उनले सगरमाथा जस्तो विश्व प्रसिद्ध गन्तव्यको अवस्थालाई नियालेर आवश्यक पूर्वाधार विकास तथा व्यवस्थापनका काम अघि बढाइने उल्लेख गरे । “हामीले हिमाल र हिमाली क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौँ, यसै सन्दर्भमा हामी आधार शिविरमा उपस्थित भएका छौँ र यहाँको समस्या उजागर गर्दै समाधानतर्फ उन्मुख हुनेछौँ”, मन्त्री पाण्डेले भने ।

    सो अवसरमा सहभागी पर्यटन व्यवसायी तथा सरोकारवालाहरुले सगरमाथा क्षेत्रको समग्र व्यवस्थापन सुधारका लागि विभिन्न सुझाव र माग प्रस्तुत गरेका थिए । तीमध्ये आधार शिविरमा सञ्चार सेवा विस्तार, लुक्ला–खुम्बु जोड्ने सडकको स्तरोन्नति, बेसक्याम्पमा आपत्कालीन हेलिकप्टर सङ्ख्या वृद्धि, आरोही कल्याणकारी कोषको स्थापनाजस्ता माग प्रमुख थिए ।

    यस्तै कीर्तिमानी आरोही कामी रिता शेर्पालगायत प्रतिनिधिले सम्पर्क अधिकृतको सङ्ख्या बढाउन, खुम्बु क्षेत्रमा बाटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई पाँच वर्षको म्याद थप गर्नुपर्ने सुझाव राखे । पर्यटनमन्त्री पाण्डेले प्रस्तुत सुझावप्रति सकारात्मक दृष्टिकोण व्यक्त गर्दै सरकारका तर्फबाट व्यवसायी तथा स्थानीयको चासो र मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

  • धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

    धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

    ३ जेठ, काभ्रेपलाञ्चोक । धुलिखेलमा विद्युत्को खम्बामा आज काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा बिहान ११ः३० बजे अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले घटनाको अनुसन्धानका लागि कार्यालयबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छ ।

    तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाविना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको जनाइएको छ । विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्र बनेपाले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि त्यसक्षेत्रमा ११ केभी लाइन चार्ज गरिने भएकाले लाइनको वरिपरी गाईवस्तु नछाड्न, विद्युत्को खम्बालगायतका विद्युतीय सामग्री नछुन सार्वजनिक आह्वान गरेको थियो । मृतक परियारको शवलाई खम्बाबाट निकालेर शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

  • चितवनमा धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

    चितवनमा धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

    २ जेठ, चितवन । एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् । भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् । उनले दुई जनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए ।


    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसपश्चात् उनले खुर्पा आफँैमाथि प्रहार गरेको उनले जानकारी दिए ।

    घटनालगत्तै तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । निज गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको पुरीले जानकारी दिए । घटना आज बिहान ९ः४५ बजेको समयमा भएको हो । रासस

  • काठमाडौंको बानेश्वर नजिक कारको ठक्करबाट घाइते बालकको मृत्यु

    काठमाडौंको बानेश्वर नजिक कारको ठक्करबाट घाइते बालकको मृत्यु

    २ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका एक बालकको उचारका क्रममा आज मृत्यु भएको छ ।
    मृत्यु हुनेमा भारतको सितामढी घर भई हाल काठमाडौँ–३१ कात्यानी चोक तीन वर्षीय बालक शिवाङ्श झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    उनका अनुसार कात्यानीबाट भिमसेनगोलातर्फ जाँदै गरेको कात्यानी बस्ने ५५ वर्षीय रमेशकुमार श्रेष्ठले चलाएको बा प्र ०१–०३१ च ९५६३ नम्बरको सुजुकी डिम्याक्स गाडीले ठक्कर दिँदा केएमसी अस्पताल सिनामङ्गल लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको हो । सवारी चालक श्रेष्ठ, सवारी साधन र कागजपत्र प्रहरी बृत्त वानेश्वरको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

  • हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति

    हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति

    २ जेठ, गाईघाट । वर्षासँगै आएको आँधी, हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार आज बिहान वर्षासँगै हावाहुरी र आँधी आउँदा जिल्लाका विभिन्न क्षेत्रमा विद्यालय तथा घरमा क्षति भएको हो । जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले जिल्लाको चौदण्डीगढी नगरपालिका–१० खैराहा झोडामा हावाहुरीका कारण स्थानीय हर्क श्रेष्ठको घर, ध्रुव खत्री, सम्भव अधिकारीको घरको छानो उडाएको जानकारी दिए ।

    उदयपुरगढी गाउँपालिका–६ को जगेटारस्थित माध्यमिक विद्यालयको सबै छानो हावाहुरीले उडाएको छ । त्रियुगा नगरपालिका क्षेत्रसहित चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा हावाहुरीले दर्जनौँ घर तथा भौतिक संरचनामा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीका कारण करिब रु २२ लाख ६० हजारभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक दोङले बताए । जिल्लाको अन्य स्थानमा थप क्षति भएका हुनसक्ने भन्दै तथ्याङ्क सङ्कलन कार्य भइरहेको उनले जानकारी दिए ।

  • कामदारको हत्या आरोपमा दम्पत्ति पक्राउ

    कामदारको हत्या आरोपमा दम्पत्ति पक्राउ

    २ जेठ, म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरको कामदारको हत्या आरोपमा एक दम्पत्ति पक्राउ परेका छन् । ४६ वर्षीय मनबहादुर दमाईको हत्या आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जीको दम्पत्ति पक्राउ परेका हुन् । गत वैशाख २८ गते मल्कबाङको खाम्चास्थित जङ्गलमा मनबहादुरको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । हत्या आरोपी दम्पत्तिलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

    अनुसन्धानका क्रममा ती दम्पत्तिले हत्या गरी शव लुकाएको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । आरोपित दम्पत्तिले बाउँसोको बिँडले टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेपछि घटनालाई लुकाउन जङ्गलमा लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पौडेलले बताए । आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

  • हावाहुरीका कारण रुख ढल्दा सुनवलमा २ जनाको मृत्यु

    हावाहुरीका कारण रुख ढल्दा सुनवलमा २ जनाको मृत्यु

    २ जेठ, सुनवल । हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ । रुखले च्यापेर सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । शुक्रबार हावाहुरीसहित आएको पानीबाट जोगिन उनीहरू प्रतिक्षालयमा ओत लागेका थिए । प्रतिक्षालयमाथि नै रुख ढलेपछि मानवीय क्षती भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    रुखले च्यापेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एकजनाको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको छ । यसैगरी शुक्रबार बिहान कैलालीमा पनि हावाहुरीले ढालेको रुखले लागेर राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीको मृत्यु भएको थियो।

  • हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

    हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

    २ जेठ, काठमाडौं । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान डाइभर्ट’ भएका छन् । “अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाडौँ आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन् । काठमाडौँबाट पश्चिमतर्फ उडेका विमान काठमाडौँनै डाइभर्ट भएका छन”, प्रवक्ता शेर्पाले भने ।

    उनका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत स्थानबाट उडेका विमान डाइभर्ट भएका हुन् । श्री एयरलाइन्सको विराटनगरबाट काठमाडौँ उडेको विमान विराटनगरै फर्किएको छ । यती एयरलाइन्सको विराटनगर–काठमाडौँ उडानका दुई विमान डाइभर्ट भएका छन् । भद्रपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ । बुद्ध एयरको काठमाडौँबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाडौँ नै फर्किएको छ ।

    त्यसैगरी काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौँ नै फर्किएको छ । श्री एयरलाइन्सकै काठमाडौँ भैरहवा उडानको विमान पनि काठमाडौँ फर्किएको छ । सोही एयरलाइन्सको काठमाडौँबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाडौँ फर्किएका छन् । बुद्ध एयरको काठमाडौँ–नेपालगञ्ज उडानको विमान पनि काठमाडौँ फर्किएको छ । काठमाडौँमा आज अपरान्हदेखि मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ ।

  • पूर्वाधार अभावमा कोरला नाका सञ्चालनमा समस्या

    पूर्वाधार अभावमा कोरला नाका सञ्चालनमा समस्या

    धर्मेन्द्र झा/रासस

    २ जेठ, मुस्ताङ । गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरलानाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको सेवा जेठ लाग्दा पनि सुरू हुनसकेको छैन । लामो समयसम्म अध्यागमन कार्यालय सञ्चालन हुन नसक्दा यसको मार स्थानीय व्यापारीलाई परेको छ । नेपालतर्फको अध्यागमन कार्यालयमा ताला लागेको छ ।

    कार्यालय कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अन्योल छ । नाका सञ्चालन हुनका लागि भन्सारका साथै आवश्यक पशु तथा खाद्य क्वारेन्टाइन स्थापना भएको छैन । भन्सार कार्यालय सञ्चालनमा आउन क्वारेन्टाइन सञ्चालन आवश्यक छ । स्थानीयहरू सरकारले कोरलानाका सञ्चालनका लागि सक्रियता नदेखाउँदा समस्या भइरहेको गुनासो गर्छन् ।

    मुस्ताङको कोरोलास्थित नेपाल–चीन सीमा नाकामा नेपालको अध्यागमन कार्यालय रहे पनि पूर्णरुपमा अझै सञ्चालनमा आउन सकेको अवस्था छैन । तस्बिरः धर्मेन्द्र झा/रासस

    अध्यागमन कार्यालय उद्घाटन भएपछि नाकाबाट वारपार गर्न तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आशा गरिए पनि त्यसो हुन नसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्यहर्वु गुरूङको बुझाइ छ । उहाँका अनुसार नाकामा सुरक्षा व्यवस्था पनि राम्रो छैन । नाका नजिकै दक्षिणतर्फ नेपालले टिनले छाएको चारकोठे भवनबाहेकका पूर्वाधार नहुँदा मानिस त्यहाँ रोकिने अवस्था छैन । यतिसम्मकि पानी पर्दा ओत लाग्ने ठाउँ पनि छैन ।

    “लोमान्थाङबाट नाका २१ किलोमिटरको दूरीमा पर्छ, नाका पुग्न १३ किलोमिटर अगाडि रहेको न्हेछुङमा प्रहरी पोष्ट (यस क्षेत्रमा अन्तिम पोष्ट) भए पनि नाकामा प्रहरीको उपस्थिति कमजोर छ”, उनले भने । नाकामा पूर्वाधार नभएका र तीव्रगतिमा चिसो हावा चल्ने भएकाले लामो समय टिकिराख्न गाह्रो हुने गरेको छ । त्यसैले प्रहरीहरू न्हेछुङबाट बिहान नाकातर्फ जाने र साँझ फर्कने गर्दै आएका छन् । कोरलानाकामा चीनतर्फ भने सुविधासम्पन्न अध्यागमन कार्यालय, भन्सार र सुरक्षाकर्मी बस्ने व्यवस्था छ ।

    लोमान्थाङबाट देखिएका पर्वतीय शृङ्खला मुस्ताङ, नेपालको मरुभूमि भनेर चिनिने उपल्लो मुस्ताङ (लोमान्थाङ) जाने बाटोमा पर्ने पर्वतीय शृङ्खला । तस्बिरः धर्मेन्द्र झा÷रासस

    “सरकारले सामान्य टेन्टको पनि व्यवस्था गरेको छैन, सुरक्षाकर्मीका लागि बस्ने भवन छैन, विद्युत्को पोल भए पनि बिजुली पुगेको छैन”, उनले भने, “पूर्वाधार निर्माण गरी नाकाको प्रभावकारी सञ्चालन हुनसके मुस्ताङका लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकावासीले लाभ लिने थिए ।” नाकामा खानेपानी र ल्याण्डलाइन फोनको पनि सुविधा उपलब्ध नभएकाले पनि आफूहरूलाई समस्या भएको उनको भनाइ छ । गुरूङका अनुसार नाका सहज रूपमा सञ्चालनमा आए चिनियाँ पर्यटकको नेपाल आगमन पनि सहज हुनेछ । “अहिले पनि चीनबाट पाँच सय डलरसम्म खर्चेर नेपाल आउन चिनियाँ पर्यटक इच्छुक छन्, तर नेपालतर्फको अध्यागमन कार्यालय सञ्चालनमा नआउँदा समस्या भइरहेको छ”, अध्यक्ष गुरूङले भनु ।
    कोरलानाकामा व्यापार गर्दै आएका जिग्मे आङ्मा गुरूङका अनुसार भवन नहुँदा व्यापारी खुला चौरमा व्यापार गर्न बाध्य छन् । “अहिले पनि हामी खुला चौरमै व्यापार गरिरहेका छौँ, पानी पर्दा र हुरी चल्दा समस्या हुन्छ”, उनले भने, “सरकारले आवश्यक पूर्वाधार निर्माण गरिदिए व्यापार गर्न सहज हुने थियो ।” उहाँजस्ता व्यापारीहरू बिहान ९ः०० बजे चीनतर्फ जाने र त्यहाँबाट सामान लिएर दिउँसो २ः०० बजेसम्म फर्कने गरेका छन् ।

    चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य वस्तु, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पिठो, चिउरा, चाउचाउ, जडीबुटी, पस्मिनालगायत सामान निकासी गर्न सकिने सम्भावना छ । कोरलानाका राजनीतिक रूपमा पनि महत्त्वपूर्ण छ । विसं २०७२ को भूकम्पपछि तातोपानी, केरूङसँगै यो नाकाको पनि चर्चा भएको थियो । यो नाका सहज रूपमा सञ्चालनमा आउँदा यस क्षेत्रले ठूलो आर्थिक लाभ लिन सक्ने व्यापारी गुरूङको बुझाइ छ ।

    उनका अनुसार व्यापार गर्ने र नाका पुगेकालाई सहज हुनेगरी आवश्यक पूर्वाधार नहुँदा धेरै समस्या हुने गरेको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका स्थानीयलाई प्रवेशपास दिने भएकाले उनीहरू सहजै चीन जान पाउँछन् भने अन्यलाई विशेष पासको व्यवस्था गरिएको छ ।

    कोरलानाकामा एकीकृत भन्सार कार्यालय खोल्नका लागि सरकारले एक हजार तीन सय ४४ रोपनी जग्गा भन्सार कार्यालयको नाममा ल्याउने प्रक्रिया चार वर्षयता सुरू गरे पनि अहिलेसम्म आवश्यक संरचना निर्माण सुरू भएको छैन । यद्यपि यसका लागि सीमाङ्कन गरी सिफारिस भने भइसकेको छ । कोरलानाकाबाट ल्याएको सामान जाँच गर्नका लागि १३ किलोमिटरको दूरीमा न्हेछुङ पुग्नुपर्ने बाध्यता छ । चीनले सीमा नजिकै जाँचपासको व्यवस्था गर्दा पनि नेपालले पूर्वाधार निर्माण गर्न नसकेको स्थानीय गुनासो गर्छन् ।

    यो नाका तिब्बतमा रहेको हिन्दूहरूको आस्थाको केन्द्र कैलाश र मानसरोवर जानका लागि पनि उपयुक्त मानिन्छ । लोमान्थाङबाट तिब्बततर्फ ४० किलोमिटरमा ढोङवासेन पर्छ । त्यहाँबाट करिब छ सय किलोमिटर दूरी पार गरेपछि मानसरोवर पुग्न सकिन्छ । नाकाको सहज सञ्चालन हुने होभने नेपालबाट कैलाश मानसरोवर पुग्ने सबैभन्दा छोटो र सहज बाटो बन्न सक्ने स्थानीय जानकार बताउँछन् ।

    पछिल्ला केही वर्षमा आन्तरिक पर्यटक कोरलानाकासम्म पुग्ने गरेका छन् । उनीहरूका लागि खानेपानी र शौचालयको पनि व्यवस्था छैन । पर्यटक त्यहाँ रहेको २४ नम्बर पिलरमा तस्बिर लिन्छन् र फर्कन्छन् । त्यहाँ पुग्नका लागि सडकको पहुँच भए पनि बस्नका लागि सुविधा नहुँदा पर्यटक केही समय घुमेर फर्कने गरेका छन् । न्हेछुङमा रहेको प्रहरीका अनुसार पर्यटक आउने समयमा दैनिक औसतमा तीन सयवटा सवारीसाधन आउने गरेका छन् ।

    लोमान्थाङ मुस्ताङ, नेपालको मरुभूमि भनेर चिनिने उपल्लो मुस्ताङ (लोमान्थाङ) । यो खुला र पठार क्षेत्र रहेको सिर्सिरे बतास, ऐतिहासिक गुफा, जैविक विविधतायुक्त हिमालको बीचमा रहेको उपत्यकाको रुपमा पनि परिचित छ । तस्बिरः धर्मेन्द्र झा÷रासस

    यसअघि गत कात्तिक दोस्रो सातामा गण्डकी प्रदेशसभाअन्तर्गतको अर्थ तथा विकास समितिको टोलीले कोरलानाकाको निरीक्षण गरी कोरलामा तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे सरकारलाई सुझाव दिएको थियो । जसमध्ये खानेपानी र शौचालय तथा फोहर व्यवस्थापनको काम तत्कालै गर्नुपर्ने सुझाव दिइएको थियो । यो नाका कोरोना महामारीको समयमा २०७६ सालमा पूर्ण रूपमा बन्द भएको थियो । त्यसको चार वर्षपछि २०८० साल कात्तिक २७ गते सञ्चालनमा आएको थियो । त्यसअघिका वर्षमा नाकामा वर्षमा दुईपटक वैशाख–जेठ र दसैँका समयमा अन्तरदेशीय व्यापार मेला हुँदै आएको थियो ।

    तर कोरोना महामारीपछि व्यापार मेला हुनसकेको छैन । नाका सञ्चालनको व्यावसायिक योजना बनाउन र भौतिक संरचनाको आवश्यकता भएको तत्कालीन समयमा समितिले सुझाव दिएको थियो । नाकाको प्रभावकारी सञ्चालनका विषयमा दुवै देशका अधिकारीहरूबीच पटकपटक छलफल पनि भइसकेको छ । तत्कालीन समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणका क्रममा पनि कोरलानाका सञ्चालनका विषयमा चासोपूवर्क छलफल भएको थियो ।

    जोमसोमदेखि कोरलानाकासम्म एक सय १० किलोमिटर दुई लेनको कच्ची सडकको पहुँच विस्तार भएको छ । गण्डकी प्रदेश सरकारले चीनको कोरला र भारतको त्रिवेणी नाका जोड्ने सडकलाई प्रदेशको भाग्यरेखाका रूपमा प्राथमिकता दिएर स्तरोन्नति अगाडि बढाएको छ । यो सडक निर्माणपछि आर्थिक र पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

  • चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

    चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

    २ जेठ, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
    लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।

    बसमा ३९ जना सवार थिए । घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

  • काठमाडौँबाट चोरिएको माइक्रोबस धादिङमा फेला

    काठमाडौँबाट चोरिएको माइक्रोबस धादिङमा फेला

    १ जेठ, काठमाडौं । पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस प्रहरीले धादिङमा भेट्टाएको छ ।

    उक्त माइक्रोबस स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई काठमाडौँको बनस्थली बस्ने १९ वर्षीय सुदीप थापाले चोरी गरी धादिङ पु¥याएको अवस्थामा जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।


    प्रहरीले माइक्रोबस चोरीमा संलग्न थापालाई आज सार्वजनिक गरेको हो । उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । थापाले गत वैशाख २९ गते बिहान ४ः ३० बजे पार्किङबाट माइक्रोबस चोरेर लगेको खुलेको छ ।

  • युट्युबबाट सीप सिकेर उद्यम

    युट्युबबाट सीप सिकेर उद्यम

    १ जेठ, कञ्चनपुर । पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार बनेकी छिन् । उनले महिनामै रु ६० हजार बढीको कारोबार गर्छिन । खर्च कटाएर रु ३० हजारसम्म आम्दानी हुने गरेको छ । विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नु पर्यो । खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच त थियो र लगानीका लागि पैसा थिएन ।

    भर्खरै बजार क्षेत्रमा सृजनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो । त्यसमा आबद्ध भएर ऋण लिने निधो गरिन् । फेरि ऋण त लिने तर कुन प्रयोजनका लागि लिने भन्नेबारे द्वविधा उत्पन्न भयो । त्यही बेला हो प्रविधिले गरिखाने बाटो देखाउन सघाएको । “इन्टरनेट चलाउँथे, विभिन्न व्यवसाय गरिरहेका व्यक्तिका बारेमा र तिनले गरेका व्यावसायिक कार्यबारे निकै अभिरुचिपूर्वक हेर्थें । केक, पेष्टी र बदाम सेक बनाउने कार्य सहज लाग्यो, त्यही कार्य गर्ने निक्र्यौल गरी व्यवसाय सुरु गरेँ”, चन्दले सुनाइन् ।


    रु एक लाखबाट सुरु गरिएको व्यवसायबाट उनले हाल रु पाँच लाखको सामान थालेकी छिन् । युट्युबाटै सिकेर हाल केक, पेष्टी र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिइन् । ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, सङ्घसंस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उनले बताइन् ।

    बकसरी सामानबाहेक उहाँले गिफ्टका सामग्रीको समेत कारोबार गरिरहेकी छिन् । भविष्यका लागि भनेर उनले मासिक रु आठ हजार जति सहकारीमै बचत गर्दै आएकी छिन् । “घरको खर्च पसलकै कमाईले धानिएको छ । छोरीलाई पसलकै कमाईबाटै पढाउन थालेकी छु”, चन्दले भनिन् । राससको सहयोगमा

  • झापामा हावाहुरी, एक जनाको मृत्यु

    झापामा हावाहुरी, एक जनाको मृत्यु

    १ जेठ, भद्रपुर । हुरीका कारण घर भत्किँदा झापाको हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गत रातिको हो । रासस

  • विद्युतीय माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

    विद्युतीय माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

    ३१ वैशाख, मलेखु । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
    पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

    मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छभने दुई जना पुरुषको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

  • सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

    सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

    ३१ वैशाख, किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । घरमै बसिरहेका अवस्थामा अचानक चट्याङ लागेर तामाङको मृत्यु भएको हो ।

    हावाहुरीसँगै बर्षेको चट्याङ लागेर गम्भीर घाइते तामाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको र उनको त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए । त्यस्तैगरी चट्याङ लागेर १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ गम्भीर घाइते भएका निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए ।

    गम्भीर घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्मलाको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । जिल्लामा चट्याङ लागेर एक वर्षको अवधिमा पाँच जनाको मृत्यु भइसकेको छ ।

  • सुशासनमा प्रश्न : ३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

    सुशासनमा प्रश्न : ३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

    ३१ वैशाख, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् । साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पूर्जा पाएका थिएनन् । “आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नपरयो”, स्थानीय रामबहादुर दनुवारले भने । उनले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पूर्जा लिए ।

    लालपूर्जाविहीनका लागि स्थानीय अगुवाले वर्षौँदेखि पूर्जा दिलाउन प्रयास गरेका थिए । छब्बीस परिवारलाई नगरप्रमुख खरेलले पूर्जा वितरण गरे खाँडका नाममा दर्ता उक्त जग्गामध्ये हाल करिब २७ रोपनी जग्गाको पूर्जा बनाई वितरण गरिएको उनले बताए । “पहिलो चरणमा बनेको पूर्जा २६ जना जग्गाधनीलाई वितरण गरियो, अब पूर्जा बन्न बाँकी जग्गाको जिल्ला मालपोत कार्यालयमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ”, उनले भने ।

  • मौसम बदली, ठाउँठाउँमा भारी वर्षा

    मौसम बदली, ठाउँठाउँमा भारी वर्षा

    ३० वैशाख, काठमाडौं । सोमबार देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभे्रपलाञ्चोकका केही क्षेत्रमा भारी वर्षा भएको हो । गुल्मीमा ५६.४ मिलीमिटर वर्षा भएको छ । यसैगरी स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । काभ्रेमा पछिल्लो छ घण्टामै ३९.६ मिलीमिटर वर्षा भएको उनले बताउनुभयो । अहिले सो क्षेत्रमा वर्षा रोकिएको छ । पनौतीको कतिपय ठाउँमा क्षति हुनेगरी बाढी आएको छ ।

    पछिल्लो एक घण्टामा बागमती, लुम्बिनी र कर्णालीका कतिपय पहाडी भूभागमा वर्षा भइरहेको उनले बताए । हाल चितवन, मकवानपुर, बारा र पर्सा आसपास पानी पर्ने बादल रहेको तथा मेघगर्जनसहितको पानी परिरहेको छ । उक्त प्रणाली पूर्वतिर सरिरहेको हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । भोलि कोशी, गण्डकी र बागमतीका पहाडी भूभागमा वर्षा हुने तर पश्चिम तराईमा गर्मीकै अवस्था रहने जनाइएको छ ।

  • काठमाडौंको सुन्धारामा दुई मोटरसाइकल ठोक्किए, एकको मृत्यु

    काठमाडौंको सुन्धारामा दुई मोटरसाइकल ठोक्किए, एकको मृत्यु

    २९ वैशाख, काठमाडौं । काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज भएको दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनीका ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार एक जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

  • बिहे भोजले जन्तीसहित एक सय बढी बिरामी

    बिहे भोजले जन्तीसहित एक सय बढी बिरामी

    रासस
    २९ वैशाख, जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दा बढी बिरामी परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिए पछि खाजामा बुनियाँ, रसबरीलगायतका अनिय मिस्ठान्न खाएको केही समेय पछि पेट दुख्ने, बान्ता हुने, कमजोर हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवले बताए ।

    साठी जनाभन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए । केही भने उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् । “खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ । घटनास्थल पुगेर हामीले खाजाको नमुना ल्याएका छौँ । परीक्षणका लागि प्रयोगशालामा पठाएको र परीक्षण गरेर के कारणले भएको हो भन्ने पुष्टि हुन्छ,” यादवले भने ।

  • रुकुमपश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु

    रुकुमपश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु

    २० वैशाख, रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा जीप दुर्घटनामा परेको छ । सो क्रममा दुई जनाको ज्यान गएको छ । थप दुई जना गम्भीर घाइते छन् । चौरजहारी नगर अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा सानीभेरी गाउँपालिका–१० की ४४ वर्षीया लीला ओलीको मृत्यु भएको छ । यसअघि आजै दिउँसो लुप्र०२००१च ०१७७ नम्बरको जीप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।

    मृत्यु हुने श्रीमान श्रीमती हुन् । दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार जीपचालक दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ४४ वर्षीय लीलामणि भण्डारी र सोही स्थानका ५० वर्षीया दुर्गा ओली छन् । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • सगरमाथालाई नजिकैबाट नियाल्न ‘गौरीटाप’

    सगरमाथालाई नजिकैबाट नियाल्न ‘गौरीटाप’

    कमलकुमार बस्नेत/रासस

    २८ वैशाख, सोलुखुम्बु । बिहानको चिसो सिरसिर हावामा कालोचियाको चुस्की लिँदै गौरीटापमा अघिल्लो रात आइपुगेका सहभागीहरु सूर्योदयको पर्खाइमा थिए । नजिकैबाट सगरमाथालगायतका हिमाल हेर्न लालायित उनीहरुले मोबाइलको क्यामरा सगरमाथातर्फ तेस्र्याएका थिए । कोही हिमाल र गुँरासलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दै थिए त कोही राजेश हमाल, क्याप्टेन विजय लामा, आनिछोइङ डोल्मालगायतका कलाकारसँगको तस्बिर आफ्नो क्यामेरा र मोबाइलमा कैद गर्दै थिए ।

    सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवद्र्धन गर्न कलाकार, उद्यमी, पर्यटनकर्मी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सक्रिय करिब २०० जनाले शुक्रबार र शनिबार गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा बिताए । ‘स्पार्क कार’को आयोजनामा सञ्चालित ‘स्पार्क एड्भेञ्चर’ कार्यक्रमले विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई यहाँसम्म ल्याएको थियो ।

    प्रचूर सम्भावनाका बाबजुद ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसका लागि काठमाडौँबाट करिब ५० विद्युतीय सवारीसाधनमा उनीहरु सोलुुखुम्बु आइपुगेका थिए । “स्पार्क एड्भेञ्चरको उद्देश्य ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र विद्युतीय सवारीसाधनमार्फत ग्रिन मोबिलिटी प्रवर्द्धन गर्नु हो, पहिलो संस्करण लम्जुङको भुजुङ र दोस्रो संस्करण दोखलाको शैलुङमा आयोजना गरिएको थियो, यसपटक गौरीटाप रोजाइमा प¥यो”, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने ।


    निर्देशक घिमिरेका अनुसार सगरमाथालाई नजिकबाट नियाल्नका लागि गौरीटाप काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य हो । कालोपत्र सडकलगायतका पूर्वाधारको सुविधा हुँदा पनि आवश्यक प्रचारप्रचारको अभावमा गौरीटाप पर्यटकीय गन्तव्य बन्न नकसेको उनको भनाइ छ । समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप सत्ययुगमा माता गौरीले तपस्या गरेको स्थान भएको लामो समयदेखि गौरीटापमा रहनुभएका लौरेश्वर बाबाले बताए ।
    “माता गौरीले तपस्या गरेको स्थानमा रहेको शीलामा ‘गौरी’ नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको र सो क्रममा गाईको टाप (खुर) ढुङ्गामा बसेकाले यस ठाउँको नाम गौरीटाप रहन गएको जनविश्वास छ”, उनले भने । चारपाङ्ग्रे सवारीसाधनमै पुग्न सकिने गौरीटापबाट सगरमाथालगायतका आठ हजार मिटरभन्दा अग्ला गौरीशङ्कर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ । लालीगुराँसको घनाजङ्गल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशङ्कर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर र शिव पञ्चायन मन्दिर छन् ।

    नेपाली चलचित्रका अभिनेता राजेश हमालले गौरीटाप अत्यन्तै सुन्दर र रमणीय स्थान रहेको उल्लेख गर्दै यहाँ आउनपाउँदा खुसी लागेको बताए । “काठमाडौँदेखि गौरीटापसम्म सहज यात्रा गर्दै यहाँ आइपुगेका थियौँ, यहाँबाट देखिने सगरमाथालगायतका हिमाल र सूर्योदयको दृश्य निकै सुन्दर लाग्यो, यहाँको पर्यटन प्रवद्र्धन गर्न आवश्यक सहयोगका लागि म सबैलाई आह्वान गर्दछु”, उनले भने । गौरीटापमा अघिल्लो टेन्टक्याम्पिङ गर्दै रमाइलो गरेपछि शनिबार दिउँसो उक्त टोली ओखलढुङ्गाको रुम्जाटार झरेको थियो । उक्त टोलीलाई रुम्झाटारमा स्थानीय पालिकाका जनप्रतिनिधिका साथै गुरुङ, राई, नेवारलगायतका समुदायले स्वागत गरेका थिए । रुम्जाटारस्थित बौद्ध गुम्बामा स्वागत गरिनुका साथै गुम्बाबारे आवश्यक जानकारी दिइएको थियो ।

    शनिबार साँझ कलाकारहरु विमलराज क्षेत्री, सुनिता दुलाल, सन्दीप क्षेत्री, राजा राजेन्द्र, आस्था राउत र राजु लामा एण्ड मंगोलियन हर्टले आफ्नो प्रस्तुति दिएका थिए । उनीहरुले सांस्कृतिक एकता, रैथाने खाना र संस्कृतिको प्रवद्र्धन गर्न आग्रह गरे । उनीहरुले ‘घुमिफिरी रुम्जाटार’ भन्ने उखान नेपाली जनजिब्रोमा प्रचलित रहेको उल्लेख गर्दै यसैमार्फत यहाँको प्रचारप्रसार गर्न सकिने बताए ।

    बिबिसी मास्टरसेफ सन्तोष साहले यहाँको रैथाने परिकार खान पाउँदा निकै खुसी लागेको बताए । “विशेष गरी गुन्द्रुक र न्यूरोको अचारको स्वाद निकै मीठो लायो, यहाँसम्म आएर यहाँको कला र संस्कृति, भूगोल जान्न पाउनुलाई मैले ठूलो उपलब्धि मानेको छु”, उनले भने । गुरुङ समुदायको बाहुल्यता रहेको रुम्जाटार कुनै समय भेडापालन र राडीपाखीका लागि प्रख्यात थियो । यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडीपाखी रुम्जाटार विमानस्थलबाट काठमाडौँसम्म पु¥याइन्थ्यो ।

  • लमजुङ एउटै जिल्लामा १७ जलविद्युत आयोजना, सबैबाट उत्पादन

    लमजुङ एउटै जिल्लामा १७ जलविद्युत आयोजना, सबैबाट उत्पादन

    २८ वैशाख, लमजुङ । जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेको पाइएको छ । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन गरिरहेका हुन् । लमजुङ विद्युत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईका अनुसार जिल्लामा उत्पादित उक्त सङ्ख्याका आयोजनाबाट करिब ३०० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

    उक्त केन्द्रका अनुसार जिल्लामा सबैभन्दा बढी मस्र्याङ्दी नदीमा निर्माण भएको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ५० मेगावाटको अपर मस्र्याङ्दी, ३० मेगाावट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, ७ मेगावाटको उपर मिदिम, पाँच मेगावाटको सिउरीखोला तथा चार दशमलव चार मेगावाटको राँधीखोला आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ ।

    त्यसैगरी चार–चार मेगावाट क्षमताको खुदीखोला साना जलविद्युत् आयोजना र अपर छन्दीखोला, तीन मेगावाटको मिदिमखोला, दुई दशमलव चार मेगावटको अपर स्याँगे खोला, दुई मेगावाटको छन्दीखोला, १८३ किलोवाटको स्याँगे माइक्रो हाइड्रो र ८० किवाको मिदिम माइक्रो हाइड्रोबाट विद्युत् उत्पादन भइरहेको छ । जिल्लामा ४० हजार ५४२ ग्राहक रहेको उक्त केन्द्रले जनाएको छ ।

    केन्द्रीय विद्युत् लाइन केहीकेही भागबाहेक जिल्लाको अधिकांश भागमा पुगेको कार्यालय प्रमुख भट्टराईले बताए । उनका अनुसार जिल्लामा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म दुई करोड ३९ लाख, आठ हजार ९२५।९० युनिट बिजुली बिक्री भएको छ । सोबाट रु १९ करोड ५३ लाख ५४ हजार उठेको छ । केन्द्रका अनुसार जिल्लामा ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

    सोमध्ये मस्र्याङ्दी बेँसी ५० मेगावाट, सुपर न्यादी हाइड्रो ४० दशमलव २७, अपर खुदी २१ दशमलव २१, न्यादी फिदी २१ मेगावाट, मिदिमखोला–१ आयोजनाबाट १३ दशमलव ४२४, १२ दशमलव छ मेगाावट क्षमताको लोयर न्यादी, छ दशमलव ८२ मेगावाट क्षमताको हिदीखोला, चार दशमलव आठ मेगावाट क्षमताको मिडिल मिदिम, दुई मेगावाट क्षमताको चेपेखोला क्यास्केड, एक दशमलव छ मेगावाटको लोदोखोला साना आयोजना र शून्य दशमलव ९९६ मेगावाट क्षमताको लोअर मिदिम आयोजना निर्माणाधीन छन् । लमजुडमा दुई हजार ५०० मेगावाट क्षमता विद्युत् उत्पादन हुनसक्ने अनुमान छ ।
    राससबाट

  • पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

    पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

    २८ वैशाख, म्याग्दी । धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ ।

    गुर्जाका बासिन्दा तुलसी छन्त्यालले तास्नाधुरीमा न्यून सङ्ख्यामा पर्यटक आउने गरेको बताए । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल समुदायको संस्कृति, रहनसहन र जीवनशैलीमा रमाउन पर्यटक आउँछन् । “पहाडको फेदीमा रहेको गुर्जाबाट डाँडाले छेक्ने भएकाले हिमाल देखिँदैन”, उनले भने, “दृष्यावलोकनका लागि पर्यटकलाई तास्ना उकाल्न सके बसाइ लम्ब्याउन सकिन्छ ।”

    गुर्जाबाट एक घण्टा पैदलयात्रा गरेपछि तास्नाधुरी पुगिन्छ । गुुर्जा गाउँको शिरमा भिरालो पाखोमा तास्नाधुरी अवस्थित छ । तास्नावरपरको पाखामा वसन्तयाममा गुराँस र बर्खामा बुकी फुलेर रङ्गिन्छ । तास्नाको बुकीपाटन घरपालुवा गाईभैँसी र भेडाबाख्राको घुम्ती गोठ राख्ने चरन खर्क हो । हालै गुुर्जा घुुमेर आउनुभएका बेनीका नारायण शर्माले हिमाल हेर्दै हाइकिङ गरेर तास्नाधुरी पुग्दा उकालो यात्राको थकान भुुलाएको अनुुभव सुनाए । डाँडामा बसेर पृष्ठभूमिमा हिमाललाई नजिकबाट नियाल्न पाउँदा मन प्रफुल्ल भएको उनले बताए । प्रकृतिसँग रमाउन तास्नाधुुरी उपयुक्त गन्तव्य भएको शर्माको अनुभव छ ।

    गुर्जामा पाहुनाको बसाइ लम्ब्याउन तास्नाधुरीलाई सहायक गन्तव्यका रूपमा विकास गर्न पूूर्वाधार निर्माण थालिएको छ । वडाध्यक्ष झक छन्त्यालले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटबाट गुुर्जाको नाइलीबारीबाट तास्नाधुरी जोड्ने पदमार्ग निर्माण गरिएको बताए । बीस जना बेरोजगार युवायुवती परिचालन गरेर तीन किलोमिटर पाँच सय मिटर पदमार्ग निर्माण गरिएको छ ।

    गोठला र स्थानीयवासीले घाँस, दाउरा गर्न तास्नाधुरी जावतजावत गर्न प्रयोग गरेको परम्परागत बाटोलाई स्तरोन्नति गरेर पदमार्ग बनाइएको हो । माटो काट्ने र ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाइएको छ । पदमार्ग बनेपछि भिर र पाखोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने तथा बाटो बिराउने समस्या हटेको छ, यात्रा सुरक्षित भएको छ ।

    बिचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संस्कृतिले भरिपूर्ण गुर्जागाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ । गुर्जाबाट ढोरपाटन, गुर्जा, पुथा, चुरेन हिमालको आधार, डोल्पा र पूर्वीरुकुम जान सकिन्छ ।

  • मुग्लिन-नारायणगढ सडकमा ट्रक पल्टियो, यातायात एकतर्फी बन्द

    मुग्लिन-नारायणगढ सडकमा ट्रक पल्टियो, यातायात एकतर्फी बन्द

    काठमाडौं , मुग्लिन-नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा पूर्णरुपमा बन्द भएको बाटो एकतर्फी खुलेको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको थियो ।

    कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुईतर्फी सूचारु हुन अझै केहीबेर लाग्ने छ ।

  • बजारमा दही र महीको माग बढ्दै

    बजारमा दही र महीको माग बढ्दै

    २८ वैशाख, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो । तर अहिले परिस्थिति फेरिँदै गएको छ । गाउँदेखि सहरसम्म, साधारण भोजदेखि पार्टीप्यालेससम्म, मही र दहीको प्रयोग पुनः लोकप्रिय बन्दै गएको छ । पछिल्लो केही वर्षदेखि भोजभतेरमा मही तथा दहीको प्रयोग अनिवार्यजस्तै बन्दै गएको कावासोतीस्थित पानस पार्टीप्यालेसका सञ्चालक गुरु पोख्रेलले बताए । “पहिले गाउँघरमा मही र दही भोजमा अनिवार्यजस्तै थियो । अहिले पनि त्यसैगरी भोजमा मही र दही राख्न थालिएको छ”, उनले भने ।

    गाउँमा मात्र होइन, सहरबजारका पार्टीप्यालेसमा पनि अब मही विशेष पेयका रूपमा प्रस्तुत गरिन थालेको छ । पार्टीप्यालेसका सञ्चालक पोख्रेलका अनुसार पहिला चिसो पेय र बोतलको पेय राखिन्थ्यो । अहिले ग्राहक आफैँले मही माग्छन् । हामीले भोजभतेरको ‘मेनु’मा नै दही महीलाई समावेश गर्न थालेका छौँ ।”
    जिल्लामा पछिल्लो समय आयोजना गरिने सभासमारोह एवं औपचारिक कार्यक्रममा पनि महीको प्रयोग हुन थालेको छ । यस्ता कार्यक्रममा खाजाका रूपमा तयारी जुस वा चिया दिइने गरेकामा गर्मी मौसममा मही नै रोजाइमा पर्न थालेको देवचुली नगरपालिका–१० का राजु चापागाईँले बताए ।


    “स्वाद, स्वास्थ्य र संस्कृतिको सङ्गम बनेको मही हिजोआज भोजभतेरसँगै औपचारिक कार्यक्रममा पनि राखेको देख्न पाइन्छ”, उनले भने, विशेषगरी गर्मी मौसममा महीले चिसो र शीतल पार्ने हुँदा यसको प्रयोग बढ्दो छ । देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार मही प्रोटिन, क्याल्सियम र इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ । भोजमा कोल्ड ड्रिङ्कको सट्टा मही राख्दा स्वास्थ्यका लागि लाभदायक हुने उनको भनाइ छ ।

    माग बढ्न थालेपछि स्थानीय पशुपालक तथा दुग्ध उत्पादक किसानले दही र महीको आपूर्तिमा ध्यान दिन थालेका छन् । भोजभतेर तथा कार्यक्रमका लागि दैनिक दही र महीको माग आउने क्रम बढेको गौरादेवी नवीन कृषि तथा पशु फार्म कावासोती–६ का सञ्चालक गङ्गाधर न्यौपानेले बताए । “हिजोआज भोजमा एकैचोटी सयौँ किलो दहीको माग आउँछ । यसले किसानलाई फाइदा पुगेको छ”, उनले भने ।

    राससको सहयोगमा