Category: स्थानीय

  • अवैध भित्राइएका कुखुराका चल्ला बरामद, प्रहरीले खाल्डो खनेर पुर्यो

    अवैध भित्राइएका कुखुराका चल्ला बरामद, प्रहरीले खाल्डो खनेर पुर्यो

    २४ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी गरेर भित्र्याएको प्रतिबन्धित सात हजार ५०० गोटा कुखुराको चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले आज बिहान बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट अवैध रुपमा चोरी पैठारी गरी तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर नेपाल ल्याउँदै गरेको ७५ कार्टनु अर्थात् सात हजार ५०० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।

    सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बरामद भएको प्रतिबन्धित कुखुराको चल्लालाई क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको जानकारी दिए । सो चल्ला पैठारी कार्यमा प्रयोग भएका मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जनाइएको छ ।

  • प्रधानमन्त्री भन्छन् : आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ

    प्रधानमन्त्री भन्छन् : आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ

    २४ जेठ, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । मोरङको कटहरी गाउँपालिका(२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै उनले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

    “जीवन विकास सामुुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्था हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ । संसारमा कमै मात्र यस्ता अस्पताल हुन्छन्,” प्रधानमन्त्री ओलीले भने, “दुई सय शय्याबाट तीन सय शय्यामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज सञ्चालन गर्ने जीवन विकास समाजको योजना पूरा होस् । सरकार आवश्यक सहयोग गर्न तयार छ ।”

    अस्पतालका अध्यक्ष एवं सङ्घीय सांसद योगेन्द्र मण्डलको सृजनशील, सहकारिता र एकताबद्ध प्रयासको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलता र रोजगारी वृद्धिका लागि जनप्रतिनिधिले भाषणभन्दा यसैगरी काम गर्नुपर्नेमा जोड दिए । उनले अनुकूल प्रतिफल नहुने र तिर्न नसक्ने ऋण लिएर लगानी खेर फाल्नुभन्दा यस्तै अनुकरणीय काम गर्न अन्य जनप्रतिनिधि र पार्टीका नेतालाई पनि आग्रह गरे ।

  • नवलपरासीमा छोराले गरे बाबु र छिमेकीको हत्या

    नवलपरासीमा छोराले गरे बाबु र छिमेकीको हत्या

    २३ जेठ, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् । आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताए । खेमराजले दुवै जनाको टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको उनको भनाइ छ ।

    इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आरोपित पक्राउ गरिसकेको प्रहरीको भनाइ छ । खेमराजले किन हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । छिमेकीहरुका अनुसार आरोपित मानसिक रोगी थिए । उनले विवाह गर्ने विषयमा बुबासँग झगडा गरिरहने गरेको समेत खुलेको छ ।

  • भेरी नदीमा बेपत्ता दुई किशोर-किशोरीको शव फेला, एक वेपत्ता

    भेरी नदीमा बेपत्ता दुई किशोर-किशोरीको शव फेला, एक वेपत्ता

    २३ जेठ, काँक्रेविहार । जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ । भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए ।

    १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छन् । बेपत्ताको खोजी जारी छ । आज दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरु भेरीमा बेपत्ता भएका हुन् । जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिए । आशा र महेश एकै घरका दिदी भाई हुन् ।

  • बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्किँदा भीषण आगलागी

    बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्किँदा भीषण आगलागी

    २३ जेठ, बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिका ६ मा पर्ने बाम्का बजारमा आज दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको छ । बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए ।

    आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको बताउँदै उनले ग्यास पड्किँनुको कारण खुल्न नसकेको उल्लेख गरे । हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय लागिरहेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।

  • तीनपिप्लेमा माइक्रोबस दुर्घटना, आठ घाइते

    तीनपिप्लेमा माइक्रोबस दुर्घटना, आठ घाइते

    २३ जेठ, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका ३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक आज माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अलिराज बोहराका अनुसार आज दिउँसो काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएका यात्री बोकेको बा१ज ८६८५ नम्बरको माइक्रोबस तारकेश्वर(३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा काभ्रे बनेपा नगरपालिका–१० की ३८ वर्षीया सुनिता खड्का, ३८ वर्षीया शारदा रावत, ३७ वर्षीया अनिता थापा, ६० वर्षीया कान्छी खड्का, ४५ वर्षीया रामशोभा थापा, ४५ वर्षीया शान्ता खत्री, ७० वर्षीया पार्वती काफ्ले र ३७ वर्षीया लक्ष्मी खड्का घाइते भएका प्रहरी उपरीक्षक बोहराले जानकारी दिए । घाइते सबैको मेगा ग्रिनसिटी अस्पताल जरङ्खुमा उपचार भइरहेको छ । माइक्रोबस सडकबाट १० मिटर तल खसेको थियो । उक्त घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रवक्ता बोहराले बताए ।

  • उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन : गगन थापा

    उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन : गगन थापा

    २३ जेठ, धरान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा र भीड उक्साउने शैलीको राजनीतिमा विश्वास नराख्ने बताएका छन् । धरानमा नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घको प्रथम महाधिवेशनमा आज उहाँले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको यात्रामा कांग्रेसको अग्रणी भूमिका रहेको बताए । उनले संविधान निर्माणको संवैधानिक प्रक्रियामा मात्र नभएर त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारीमा कांग्रेस अग्रमोर्चामा उभिएको धारणा राखे ।

    राजनीति उक्सावट लोकतन्त्रमाथि नै गम्भीर प्रश्न उठ्न सक्ने भएकाले पार्टी शान्ति स्थिरता र संस्थागत सुधारका लागि जिम्मेवार भूमिका खेल्दै आएको बताए । उनले भने, “लोकतान्त्रिक मूल्य, बहस सहमतिदेखि नीति नै कांग्रेसको राजनीति आधार हो । राजनीतिमा भावना हुन्छ तर भावनालाई हामीले बेचेर राष्ट्र बन्दैन । परिवर्तनको प्रक्रिया शान्त र स्थायी र सवलीकरणको मार्गबाट अघि बढ्नुपर्छ ।”

    कांग्रेसले विवेकपूर्ण बहस र नीति निर्माणका कामलाई बलियो बनाउँदै अघि बढ्ने बताउँदै महामन्त्री थापाले राजनीतिमा लोकमत र भावनाभन्दा विचार नीति र पहुँचमुखी संवादलाई महत्त्व दिनु आजको आवश्यकता रहेको बताए । राष्ट्रवादको बहानामा कुनै पनि बहुकालीन व्यवस्थामा फर्किन नहुने धारणा राख्दै उहाँले नेपालको आर्थिक सामाजिक परिवर्तनमा प्रजातन्त्रले अतुलनीय योगदान दिएको बताए । उनले भने, “अहिले दुई दलको सरकार र राजनीतिलाई नै शक्तिशाली बनाउनु हाम्रो पहिलो आवश्यकता हो ।”

  • सप्तरीमा डाँका समूहद्वारा लुटपाटसँगै एकको हत्या

    सप्तरीमा डाँका समूहद्वारा लुटपाटसँगै एकको हत्या

    २३ जेठ, राजविराज । डाँकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ । बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले राससलाई जानकारी दिए । डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् । चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाँकाहरूको खोजी भइरहेको बताएको छ ।

  • रामेछापमा फौजी कीराको प्रकोप

    रामेछापमा फौजी कीराको प्रकोप

    २३ जेठ, मन्थली । जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन् । सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि कीराका कारण निस्कन सकेका छैनन् । केही निस्किहाले भने पनि त्यो धानचमराले काम नगर्ने, घोगा नलाग्ने, पात ठुटै पारेर खानेजस्ता समस्या छ ।

    मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगङ्गा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा फौजी कीराले दुःख दिने गरेको हो । उक्त कीरा नियन्त्रण नगर्ने हो भने मकैबाली सखाप परिदिने अवस्था भएको मन्थली नगरपालिका–७ की किसान सरिता ढुङ्गेलले बताए ।

    नगरपालिकाका कृषि विकास शाखाका प्रमुख कृष्ण भुजेलका अनुसार, फौजी कीराले मकैबालीलाई दुःख दिएको जानकारी आफूलाई भएकाले पालिकामार्फत त्यसको नियन्त्रणका लागि आवश्यक पहल भइरहे पनि नियन्त्रणका लागि निकै समस्या छ ।

  • गाउँगाउँका सडक कालोपत्र, स्थानीय खुसी

    गाउँगाउँका सडक कालोपत्र, स्थानीय खुसी

    २३ जेठ, दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ । “पहिले हिलैहिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो”, स्थानीय नन्दकुमार पुनले भने, “अहिले त साइकलमा नै बजार पुग्न सजिलो छ, छिट्टै बजार पुगिन्छ ।”

    कालोपत्र नहुँदा गाडीले धुलो उडाउने र त्यो धुलो घरभित्रै पस्थ्यो । सुकाएका कपडामा पनि धुलैधुलो हुने अवस्था थियो । अहिले त्यो अवस्था हटेको स्थानीय देवी थापाले बताए । “सुकाएका कपडामा पनि धुलैधुलो हुन्थ्यो, घरै फोहर हुन्थ्यो, अब त सजिलो भयो”, उनले भने, सोही ठाउँको आठ सय मिटर सडक कालोपत्र भएको हो ।

    त्यसैगरी, तुलसीपुर–१२ कै हरिपौरीमा झनै कम्मरसम्म हिलो हुने समस्या थियो । त्यतिमात्र होइन, वर्षात्मा घरहरू नै डुबानमा पर्ने अवस्था हुन्थ्यो । तर, अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको स्थानीय डिला केसीले बताए । “वर्षात्मा घरहरू पनि डुब्ने अवस्था हुन्थ्यो, कम्मरसम्म हिलो हुन्थ्यो”, उनले भने, “तर अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको छ ।” जहाँ साढे तीन सय मिटर सडक कालोपत्र भएको हो ।

    यी दुवै सडकका लागि रु ८६ लाख बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट उक्त काम पूरा गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताए । उनका अनुसार वडाले आवश्यकताका आधारमा नगरस्तरीय बजेटलाई व्यवस्थापन गरेको भन्दै उनले यो ठाउँमा कालोपत्र गरिएको बताए ।

    “सबै क्षेत्रलाई सन्तुलन मिलाउने गरी हामीले अहिले गाउँगाउँका सडक स्तरवृद्धि तथा कालोपत्र गर्ने काम गरिरहेका छौँ”, उनले भने, “यसले निकै सहज बनाएको छ ।” यस वर्षमात्र वडामा दर्जन बढी सडक स्तरवृद्धि गरिएको बताए । आवश्यकतानुसार नयाँ ट्रयाक खोल्ने, नाली निर्माण गर्ने, कल्भर्ट हाल्ने, ग्राभेल गर्ने कार्यसमेत गरिएको उनको भनाइ छ ।

  • बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

    बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

    २३ जेठ, इटहरी । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ । उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले राससलाई जानकारी दिए । हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ ।

  • मबाट सरकारी एक टुक्रा जमिन कसैलाई दिने निर्णय भएको छैन : अध्यक्ष नेपाल

    मबाट सरकारी एक टुक्रा जमिन कसैलाई दिने निर्णय भएको छैन : अध्यक्ष नेपाल

    २२ जेठ, चन्द्रपुर । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले एक टुक्रा पनि सरकारी जमिन कसैलाई दिने निर्णय नभएको बताएका छन् । गृहनगर रौतहटको गौरमा आज पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफ्नो कार्यकालमा राष्ट्रलाई नोक्सान हुने कुनै पनि निर्णय नगरेको बताए । “म प्रधानमन्त्री हुँदा कुनै पनि मन्त्रीलाई अनुचित काम गर्न निर्देशन दिएको छैन”, उनले भने, “सबै हेर्ने न्याय जीउँदै भएकाले न्यायभन्दा ठूलो र सत्यभन्दा ठूलो कुरा केही हुँदैन ।”

    अध्यक्ष नेपालले कसैमाथि आरोप लगाउन नचाहेको उल्लेख गर्दै कानुनभन्दा माथि कोही पनि नभएकाले अब कानुनी प्रक्रियाबाट नै अगाडि बढ्ने बताए । अहिलेसम्म आफुले कुनै खराब नियतबाट राष्ट्रलाई हानी हुने गरी लाभ उठाएर भ्रष्टाचार नगरेको उनको भनाइ छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा अध्यक्ष नेपालविरुद्ध मुद्दा दायर गरेपछि उनी आजै काठमाडौं फर्किएका छन् ।

  • सप्तकोशीमा अभ्यास गर्दै गर्दा गोताखोर बेपत्ता

    सप्तकोशीमा अभ्यास गर्दै गर्दा गोताखोर बेपत्ता

    २२ जेठ, इटहरी । सप्तकोशी नदीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका छन् । सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयले सप्तरी र सुनसरीलाई छुट्याउने सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएको जानकारी दिएको छ । बेपत्ता हुनेमा दन्तकाली तालिम केन्द्र बरमजियाका प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेको कार्यालयले जनाएको छ ।

    उनीहरु विपद्का बेला नदीमा फसेका व्यक्तिहरुको उद्धार गर्ने तरिका सिक्नका लागि अभ्यास गर्दै थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले बेपत्ता भएका गोताखोरहरूको खोजी भइरहेको बताए । उनले भने, “बेपत्ताको खोजीमा तीव्रता दिएको छ । आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ ।”

  • सवारी दुर्घटनामा एक जनाको मृत्यु

    सवारी दुर्घटनामा एक जनाको मृत्यु

    २२ जेठ, भद्रपुर । दमक–७ पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए ।

    उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर लगिएकामा निजको उपचारका क्रममा मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । दुर्घटनापछि बस चालक झापाको गौरादह–४ बस्ने सरकार टुडु र दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस् : गृहमन्त्री

    जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस् : गृहमन्त्री

    २१ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । आज सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् । “जुनसुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ ।

    तर, भूकम्प र आगलागीको पूर्वानुमान हुँदैन”, उनले भने, “हामी मनसुनको पूर्वसन्ध्यामा छौँ । मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ । त्यसको पूर्वतयारीमा हामी तयार रहनुपर्छ ।” विपद्को व्यवस्थापन पनि नेपालको जिम्मेवारी दिएको भन्दै चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिए । “विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख छ । नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ । मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ ।

    विपद्मा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्छ । हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ”, उनले भने । अहिले बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो । “मनसुनजन्य विपद्का लागि आजदेखि तयार हुनुपर्‍र्यो । समयमै पूर्वसूचना गराउन र उद्दारका लागि तयार अवस्थामा बस्न जरूरी छ ।

    जेठ २८ गतेदेखि मनसुन सक्रिय हुने अनुमान छ”, उनले भने । यसपटक पहिलेकोभन्दा नेपाल प्रहरीको बजेट बढेको भन्दै तलब, पोशाक, महँगी भत्तामा कुनै समस्या नहुने उनको भनाइ थियो । यस्तै नेपाल प्रहरीको ऐन संशोधनका लागि सङ्घीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा चाँडै छलफल सुरू हुने गृहमन्त्री लेखकले बताए ।

  • भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

    भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

    २१ जेठ, बैतडी । भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको हो । उनले भने, “भारतको विभिन्न सहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शङ्कास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको छ । कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौँ ।”

    कोभिड पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । उनले भने, “कोभिड पुष्टि भएका तीनैजनाको स्याम्पल काठमाडौँ पठाएका छौंँ । काठमाडौँमा पिसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ ।” भारत तथा अन्य छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को सङ्क्रमण देखा परिरहेकाले नेपालमा पनि यसको सङ्क्रमण र महामारी निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सीमानाकामा सतर्कता अपनाइएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन निर्देशन दिए पनि सुदूरपश्चिममा कोभिड सङ्क्रमण भए नभएको पत्ता लगाउने किटको अभाव रहेको छ ।

  • वीरगञ्जलाई विरुप बनाउने खम्बाका तार हटाइँदै

    वीरगञ्जलाई विरुप बनाउने खम्बाका तार हटाइँदै

    रासस
    २१ जेठ, वीरगञ्ज । वीरगञ्जलाई विरुप बनाएका बिजुलीका खम्बाका तार आगामी १५ दिनमा हटाइने भएको छ । स्थानीय प्रशासनले बिजुलीका खम्बामा लत्रिएका टेलिफोन, इन्टरनेट र केबलका तार हटाउने निर्णय गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा मङ्गलबार भएको जिल्ला विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँगको बैठकले नगर क्षेत्रका अव्यवस्थित तारलाई १५ दिनभित्र व्यवस्थित गर्ने निर्णय गरेको हो ।

    तार व्यवस्थापनको अनुगमनका लागि प्रहरी नायब उपरीक्षक किशोर लम्सालको संयोजकत्वमा नेपाल टेलिकम, वीरगञ्ज महानगर, नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्र, ग्रिनिसिटी सामुदायिक सेवा केन्द्र र आइस्पानका प्रतिनिधि सम्मिलित कार्यान्वयन एवं अनुगम टोली गठन गरी बुधबारदेखि नै परिचालन गर्ने निर्णय भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुवेले वीरगञ्ज सहरमा अव्यवस्थित रूपमा रहेका तारमा आगजनीका घट्न बढ्दै आइरहेको पनि नियन्त्रण गर्न आवश्यक रहेको बताए । नेपाल टेलिकम वीरगञ्ज कार्यालय प्रमुख मनिष गुप्ताले सामूहिक प्रयासले मात्र अव्यवस्थित तार व्यवस्थापन गर्न सकिने बताए । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले अव्यवस्थित तार हटाउने कार्यमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

    नेपाल टेलिकम मधेस प्रादेशिक कार्यालय प्रमुख कुसुमप्रसाद भण्डारीले एकअर्का निकायबीच समन्वय नहुँदा तार व्यवस्थापनमा जटिलता थपिएको बताए ।
    पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सरोकारवाला निकायले तोकिएको समयसीमाभित्र नै तार व्यवस्थापन नगरेको खण्डमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए । वल्र्डलिङ्क वीरगञ्ज र सिजिनेट वीरगञ्जका प्रतिनिधिद्वय सुचित पौडेल र शेख सजाजले तार व्यवस्थित गर्ने अभियानमा आफूहरूले पनि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • सडक पक्की बनेसँगै सुगम बन्दैछन् पर्वतका ग्रामीण बस्ती

    सडक पक्की बनेसँगै सुगम बन्दैछन् पर्वतका ग्रामीण बस्ती

    रासस
    २१ जेठ, पर्वत । कुनै समय थियो, सरकारी वा गैरसरकारी निकायका कर्मचारीको पर्वत जिल्लामा सरुवा भयो भने आउन मान्दैनथे । पर्वत भनेको डाँडाकाँडा मात्रै भएको विकट जिल्ला होला, सडक सुविधा छैन होला भन्ने आम सोच थियो । विंस २०४८ तिर जिल्लामा तत्कालीन भूपि शेरचन राजमार्गको रुपमा पोखरा–बागलुङ राजमार्ग विस्तार भयो । जसले सदरमुकाम कुश्मा बजारलाई जोड्यो । तर बागलुङबाट छुट्ने सबै सवारीसाधनमा पर्वत वा कुश्मा भनेर लेखिएको हुँदैनथ्यो । बागलुङ र म्याग्दी भन्ने मात्रै हुन्थ्यो ।

    यति मात्र हैन कुनै बेला मकै, घ्यू, चामल, महलगायत स्थानीय उत्पादनको भारी बोकेर पैदल हिँड्दा पाँच दिनसम्मको यात्रा गरेर बुटवल पुगिन्थ्यो । आफूले लगेको वस्तुसँग नुन, चिनी, चियापती जस्ता वस्तु साटेर फेरि पाँच दिनको पैदल यात्रा गरेर फर्किन्थ्यो । उतिबेला निकै दुःख थियो, सडक, बिजुली भन्ने कुरा कल्पनासमेत गरिएको थिएन । बिहादी गाउँपालिका–२ बर्राचौरका ८३ वर्षीया इन्द्रप्रसाद पराजुलीले चार दशकअघिका दुःख सम्झिँदै भने, “नुन बोक्न जाँदा कतिपय बाटोमै बित्थे, भीरबाट लडेर अङ्गभङ्गसमेत हुन्थ्यो, “म पनि कैयौँ पटक नुनको भारी बोक्न आफन्तसँग गएको थिए । अहिलेको यो परिवर्तन देख्दा र ती कहाली लाग्दा दिन उमेर सम्झेर अचम्म लाग्छ ।”

    विकासले पिछडिएर जिल्लाकै कालापानी भनेर परिचित दक्षिण पर्वतका तीन पालिकाको अवस्था अहिले निकै फरक भइसकेको छ । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो मार्ग कालीगण्डकी करिडोर विस्तारपछि कालापानीको परिचय फेरिएर सुगम क्षेत्र बन्न पुगेको छ । पर्वत जिल्लामा सङ्घीयताअघि नै तत्कालीन ५५ वटै गाविसमा सडक सञ्जालले छोएको थियो । वडा तहसम्म सडक सञ्जाल फैलिए हिउँदका केही महिना मात्र मुस्किलले यातायातको सुविधा पाइन्थ्यो । वर्षायाम लागेपछि ती सडकहरु ठप्प नै हुन्थे । समयमा मर्मत हुँदैनथ्यो, बजेट कम हुन्थ्यो ।

    विसं २०६५ पछि दोविल्ला–फलेवास सडक र कुश्मा–दुर्लुङ्ग सडक तत्कालीन ग्रामीण पूर्वाधार विकास आयोजनामार्फत स्तरोन्नति थालियो । केही ग्रामीण सडक सञ्चालनमा आए । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर पर्वत हुँदै ट्रयाक खोल्न सुरु गरेपछि जिल्लाको कालापानी भनेर चिनिने दक्षिण पर्वतको विहादी र पैंयुँ गाउँपालिकामा पनि सडकका पहुँच पुग्न थाल्यो । वर्षायामा नभए पनि हिउँदका महिनामा ग्रामीण क्षेत्रका नागरिकले सडक सुविधा पाउन थाले ।

    अहिले पर्वतको परिचय पहिलेको जस्तो छैन । पर्वत सुगम जिल्लाको रुपमा परिचित छ । सङ्घीयता कार्यान्वयनसँगै तीनै तहका सरकारको पहलमा जिल्लाका सबै टोल बस्तीमा सडकको पहुँच पुगेको छ । सडकबाट घरसम्म जानका लागि जस्तोसुकै विकट बस्तीका नागरिकलाई पाँचदेखि १० मिनेटभन्दा बढी हिँड्नुपर्ने अवस्था नरहेको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक बताउँछन् ।
    पर्वतका सबै टोल बस्तीमा सहज रुपमा सडकको पुहँुच पुगिसकेको छ । जिल्लाका सातवटै स्थानीय तहसम्म कालोपत्रे सडकको सुविधा छ भने अधिकांश वडा कार्यालयसम्म कालोपत्रे सडकले छोएको अवस्था छ । आसपासका छिमेकी जिल्लाको तुलनामा पर्वत सडक पूर्वाधारमा उल्लेख मात्रामा विकास भएको विकको भनाइ छ ।
    तत्कालीन जिल्ला विकास समितिकै तथ्याङ्कअनुसार पर्वतमा विसं २०७३ सम्म करिब दुई हजार दुई सय किलोमिटर सडकको कच्ची ट्रयाक खुलेको थियो । तर अहिले यसको दुरी बढेर दुई हजार छ सयको हाराहारीमा छ । चार सय ९४ वर्ग किलोमिटरमा फैलिएको पर्वत जिल्लामा सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय तहले ती सडकको स्तरवृद्धिमा लगानी गरिरहेका छन् । प्रदेश र केन्द्रमा पहुँच हुने पालिका प्रमुखले मुख्य सडक स्तरवृद्धि तथा कालोपत्रको काम तीव्ररूपमा अघि बढाउँदै गएपछि अहिले जिल्लाका अधिकांश वडामा गुणस्तरीय सडकको पहुँच विस्तार भएको छ ।

    कुश्मा नगरप्रमुख रामचन्द्र जोशीका अनुसार नगरका सबैजसो वडामा कालोपत्र सडक पुगेको छ । “कच्ची सडकले नछोएको कुनै बस्ती छैन”, उनले भने, “कालेपत्र हुन बाँकीमा पनि चाँडै काम हुन्छ ।” पर्वतका सातै पालिकाको तथ्याङ्कअनुसार हालसम्म करिब चार सय किलोमिटर ग्रामीण सडक कालोपत्रे भइसकेको छ । त्यसबाहेक करिब ५० किलोमिटर सडक ढलान छ । भिरालो र ओसिलो क्षेत्रको सडक कालोपत्र गर्दा टिकाउ नहुने भएकाले ढलान गर्नुपरेको प्राविधिकको भनाइ छ ।

  • अन्नपूर्ण क्षेत्रमा प्रधानमन्त्री

    अन्नपूर्ण क्षेत्रमा प्रधानमन्त्री

    २० जेठ, म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङ पुगेका छन् । अन्नपूर्ण हिमाल आरोहण भएको ७५ औं वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

    महोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले अन्नपूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला सङ्ग्रहालय उद्घाटन र आरोहीहरुको सालिक अनावरण गरिएको छ ।
    प्रधानमन्त्री ओलीका साथमा संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजालगायत रहेका थिए । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।

    आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनले बताए ।


    आरोहण भएको ७५ वर्षपछि अन्नपूर्ण हिमाल भएकै ठाउँमा मनाउन लागिएको हीरक जयन्तीको सबै तयारी पूरा भएको उनले जानकारी दिए । यसअघि काठमाडाँै, पोखरा र कास्कीको भूगोलमा पर्ने आधार शिविरमा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । यही जेठ १७ गतेदेखि मनाउन सुरु गरिएको अन्नपूर्ण आरोहण महोत्सव जेठ २२ गते पोखरामा समापन गर्ने कार्यक्रम छ ।

  • महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशी निमित्त प्रमुख

    महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशी निमित्त प्रमुख

    २० जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् । पाण्डे निलम्बनमा परेसँगै कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत विष्णु जोशीलाई नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

    यसअघि गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । जोशीले आफूलाई अर्को निर्णय नहुँदासम्म प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिए । यससँगै महानगरपालिकामा प्रमुख बालेन शाह र गुरागाइबीचको इगो अझ बढ्ने देखिएको छ । पाण्डे बालेनको आदेश पालक नगरप्रहरी हुन् ।

  • हिमानी र हृदयेन्द्रको उपस्थितिमा राजावादीले कमलादीमा गरे दीप प्रज्वलन

    हिमानी र हृदयेन्द्रको उपस्थितिमा राजावादीले कमलादीमा गरे दीप प्रज्वलन

    काठमाडौं । नारायणहिटी राजदरबार हत्याकाण्डको २३औं स्मृतिमा पूर्वराजपरिवारका सदस्यहरुले दीप प्रज्वलन गरेका छन् । कमलादी गणेश मन्दिरमा हिमानी ट्रष्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पूर्व राजपरिवारका सदस्यहरू पुगेका हुन् । मन्दिरमा दीप प्रज्वलनका लागि पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्र शाह पनि पुगेका हुन् । हिमानी ट्रष्टको अध्यक्ष पूर्वराजा ज्ञानेन्द्र शाहकी पत्नी कोमल र उपाध्यक्ष उनीहरूकी बुहारी हिमानी शाह छिन् ।


    हिमानी ट्रष्टले २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र मारिएका तत्कालीन राजपरिवारका सदस्यहरूको स्मृतिमा नारायणहिटी दरबारभित्रै दीप प्रज्वलनको कार्यक्रम गर्ने तयारी गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको ट्रष्टले जनाएको छ । आज कमलादीमा वाइसीएल नेपालको समेत कार्यक्रम थियो । नजिकै राजावादी पुग्दा दुबै पक्षबीच नारावाजी भएको थियो । प्रहरीको बाक्लो उपस्थितिका कारण अप्रिय घटना भने हुन पाएन ।

  • प्रमुख तीन दलको बैठक : संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको आग्रह

    प्रमुख तीन दलको बैठक : संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको आग्रह

    १९ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको गत्यावरोध अन्त्य गर्ने वातावरण बनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उनले संसद्को बैठक सञ्चालन गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

    “सत्तापक्षका तर्फबाट सदन खोल्नुपर्छ भन्ने आयो, प्रधानमन्त्रीले पनि यो विषय राखे । गृहमन्त्रीलगायतले पनि राजिनामा होइन, संसद् खोलेर अघि बढनुपर्छ भन्ने कुरा राख्नुभयो”, प्रमुख सचेतक पाण्डेले भने, “हामीले सुशासनको विषय महत्वपूर्ण हो भनेका छौँ । अरु नयाँ कुरा केही भएन, दलबीच छलफल गर्दै जाआँै भन्ने भएको छ ।”

    प्रमुख सचेतक पाण्डेले आफूहरूले राख्दै आएको विषयवस्तु यथावत नै रहेको जनाउँदै ‘भिजिट भिसा’का विषयमा उठेको प्रश्नलाई छानबिन र अनुसन्धान गर्न गृहमन्त्रीले सहयोग गर्नुपर्ने मत राखेको बताए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता सहभागी थिए ।

  • हुम्लामा दुई सबस्टेसन निर्माण हुँदै

    हुम्लामा दुई सबस्टेसन निर्माण हुँदै

    १९ जेठ, हुम्ला । यहाँको अदानचुलीगाउँपालिका–१ कुम्णामा ३३ केभि प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण हुन लागेको हो । केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो । हाल हुम्लामा दुई वटा ३३र३३ केभि क्षमताका सबस्टेसन बनिरहेका छन् ।

    सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कुम्णामा निर्माण भइरहेका यी दुवै सबस्टेसन निर्माणधीन छन् । यी दुबै सबस्टेसन निर्माण सम्पन्न भएपछि यहाँका सात वटै गाउँपालिकामा विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरण, हिल्दुम विद्युत्् वितरण केन्द्र प्रमुख जितेन्द्र शाहले बताए । “प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत्् अभाव हुने छैन, यहाँ मात्र नभएर मुगु र बाजुराका स्थानीय तहमा पनि विद्युत् विस्तार हुनेछ ।” जिल्ला सदरमुकामस्थित हिल्दुम वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत्् पहुँच पुर्याए पनि अन्य गाउँपालिकामा अझै लघु जलविद्युत्को भरमा गाउँले छन् ।

    जिल्लाको तल्लो क्षेत्रको ताँजाकोटमा कादुरी नामक संस्थाले लघु जलविद्युत् उत्पादन गरी विद्युत् वितरण गरेको छभने अदानचुलीमा हाल स्थानीयस्तरमा उत्पादन भएका १०० किलोवाटका दुई वटा विद्युत् आयोजना भएपनि पटकपटक बिग्रने गरेको छ । हाल कुकुर फाल्ना लघु जलविद्युत् आयोजना मात्र सञ्चालनमा छ । तर, सो विद्युत् सबै वडामा नभई ४, ५ र ६ वडाका केही घरमा मात्र बलेको छभने वडा नम्बर १, २ र ३ का लागि बनेको छहराखेत जलविद्युत्को पावर हाउस गतवर्ष पहिरोले बगाउँदा पुनःनिर्माण हुन सकेको छैन ।

    ती प्रसारण लाइनबाट गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभि प्रसारण लाइनका सबस्टेसन निर्माण गर्न लागिएको हो । यसले विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताए । यतिबेला ३३ केभि सबस्टेसन बन्न सुरु गरेको छ भने यता सुदुरपश्चिम हुँदै ११ केभिको एलटीलाईन तान्ने काम भइरहेको निर्माणको जिम्मा लिएको न्यु स्मार्ट इलेक्ट्रीक एण्ड प्लम्बिङ सर्भिस प्रालिका सुनिल घिसिङले बताए । उनका अनुसार बाजुराको मार्तडी सबस्टेसनबाट, कोल्टी, खत्त्याड हुँदै अदानचुली सबस्टेसनमा आउने भएकाले हाल तीन हजार ओटा पोल गाड्ने काम भइरहेको र सकेसम्म दसैँमा विद्युत् बाल्ने तयारी छ ।

    हुम्लाको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन सदरमुकाम सिमकोट र अदानचुलीको कुम्णामा ३३ केभी सबस्टेसन र ११ केभीको लाइन तान्ने काम भइरहेको प्राधिकरण प्रमुख शाह बताउँछन् । हुम्ला र मुगुका चार सब स्टेसन निर्माण गर्ने ठेक्का हेन्स टिसी कम्पनीले लिएर काम गरिरहेको तुम्च सब स्टेशन कुम्णामा खटिनुभएका इन्जिनियर योगेन्द्र रोकायाले जानकारी दिए । उनका अनुसार हाल मुगुको खत्याड र माङ्ग्रीमा, हुम्ला सदरमुकाम सिमकोट र अदानचुलीमा सबस्टेशन निर्माण भइरहेको छ ।

    हाल ३३ केभीमा स्तरोन्नति भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख शम्भु कुसियत यादवले बताए । विसं २०८० भदौ २५ गते मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगु सदरमुकाम गमगढीसम्म विद्युत् पुर्याएको थियोे ।

    मुगुमा राष्ट्रिय ग्रिड पुगेपछि अब हुम्ला मात्र जोडिन बाँकी रहेकामा अबको केही महिनामा राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको हो । हुम्लामा राष्ट्रिय प्रसारण लाइन पुर्याउन ठेक्का सम्झौता सम्पन्न भई हाल सदरमुकाम सिमकोट, जिल्लाको तल्लो क्षेत्र अदानचुलीको तुम्च र कुम्णामा सब स्टेसन निर्माण भइरहेको छ ।

  • जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

    जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

    १९ जेठ, काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो ।

    दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो । तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो । छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएपनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन् । पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । यस अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ ।

  • सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछः प्रधानमन्त्री

    सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछः प्रधानमन्त्री

    १८ जेठ, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने चेतावनी दिएका छन् । मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै उनले सिँचाइको आशामा मधेशका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भन्दै परियोजना चाँडो सम्पन्न गर्न आग्रह गरे ।


    प्रधानमन्त्री ओलीले सुशासन र विकासमा जोड दिँदै भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ती भएकाले विकासमा बामे सर्ने नभई रफ्तारमा काम गर्नुपर्नेमा जोड दिए । कुनै पनि परियोजनमा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भई विकास र समृद्धिमा बाधा उत्पन्न हुने उनको भनाइ थियो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुलीमा रहेको सुनकोशी नदीको पानी बाग्मतीको सहायक मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी मधेशका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइने लक्ष्य छ । साथै ३१ दशमलव ०७ मेगावाटको जलविद्युुत् उत्पादनबाट औद्योगिक विकासमा टेवा पुु¥याइने जनाइएको छ । रु ४९ अर्ब ४२ करोडको लागतमा बन्ने सो आयोजनाको ‘हेडवक्र्स’मा गत वर्षको बाढी–पहिरोबाट सामान्य क्षति हुँदा केही समय काम प्रभावित भएको थियो ।

    प्रधानमन्त्री ओलीले ऐतिहासिक र पवित्र भूूमिका रूपमा रहेको मधेश प्रदेशको विकासका लागि केन्द्र सरकार दृढ रहेको बताउँदै जनकपुरको रेल सेवामा घाटा अन्त्य र आफ्नै दक्ष जनशक्तिको विकास गरिने बताए । उनले चुुरे संरक्षण, कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, शिक्षा–स्वास्थ्यमा विशेष ध्यान, जनकपुरमा रङ्गशालाको निर्माण, छोरी पढाऔँ अभियानजस्ता काममा गुणस्तर कायम गर्दै प्राथमिकता दिन आग्रह गरे । प्रधानमन्त्री ओलीलेसुशासनका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिँदै राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्ने जो कोहीलाई कारबाही हुने स्पष्ट गरे ।

  • राइड सेयरिङलाई प्रदेश सरकारले मान्यता दिएसँगै देशैभरी यातायात व्यवसायी आन्दोलित, मर्कामा यात्रु

    राइड सेयरिङलाई प्रदेश सरकारले मान्यता दिएसँगै देशैभरी यातायात व्यवसायी आन्दोलित, मर्कामा यात्रु

    १८ जेठ, काठमाडौं । यातायात व्यवसायी तथा मजदुरले निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न दिएकामा आपत्ति जनाएका छन् । यातायात व्यवसायी तथा मजदुरले आज एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’का नाममा निजी सवारीसाधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएकामा आपत्ति जनाएका हुन् । यातायात व्यवसायी तथा मजदुरले सोमबारदेखि सवारीसाधन थन्क्याएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गण्डकी प्रदेश सरकारले संविधानको धारा, ५७ को उपधारा ६, उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत निजी सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै आन्दोलनमा जान बाध्य हुनुपरेको बताए । प्रदेश सरकार र सङ्घ सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर सेवा बन्द गर्न लागिएको उनको भनाइ थियो ।

    आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात व्यवसायी महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजजुर सङ्घ, एकीकृत समाजवादी यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलगायतले ऐक्यबद्धता जनाएका छन् ।

  • नेता कार्यकर्ता रिहा नभए थप आन्दोलन घोषणा गर्ने राप्रपाको निर्णय

    नेता कार्यकर्ता रिहा नभए थप आन्दोलन घोषणा गर्ने राप्रपाको निर्णय

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार प्रदर्शनका क्रममा पक्राउ परेका नेता, कार्यकर्तालाई रिहा नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले सो निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा कार्यसम्पादन समितिका सदस्य सांसद सिंह र गिरफ्तारमा पर्नुभएका सबैको अविलम्ब र बिनाशर्त रिहाइ गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ राप्रपाको निर्णयमा भनिएको छ, ‘गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्नेछ ।’

    निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेप भएको भन्दै राप्रपाले घोर भत्र्सना गरेको छ । ‘प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य ७ जनालाई प्रशासनले नियन्त्रणमा लिएको, गिरफ्तार हुनु भएकाहरुलाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद मा।दिपक बहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्था विपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रष्ट धारणा रहेको छ,’ राप्रपाको निर्णयमा भनिएको छ ।

  • राजावादी प्रदर्शन हिंस्रक बन्दै, पक्राउ परे कमल थापा

    राजावादी प्रदर्शन हिंस्रक बन्दै, पक्राउ परे कमल थापा

    १८ जेठ, काठमाडौं । राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । सो क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा समेत लिएको छ । प्रहरी नियन्त्रणमा लिइएकाहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) नेपालका अध्यक्ष कमल थापा, ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का ३३ वर्षीय विनोद कपाली, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना र राजीव झा छन् ।

    उनीहरू सबैलाई नारायणचौरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताएका छन् । उनका अनुसार उनीहरू नारायणचौरबाट निषेधित क्षेत्र तोडेर बालुवाटार प्रवेश गर्ने भन्दै अघि बढेका थिए । सोही क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिनेक्रममा झडप समेत भएको थियो । उनीहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

    राजावादीहरूले १५ जेठदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । उनीहरूका अनुसार यो प्रदर्शन अनिश्चित समयसम्म हुने बताइएको छ । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले भोलीबाट आन्दोलन अझै चर्किने चेतावनी दिएका छन् ।

  • राजावादीले आज लगातार तेस्रो दिन प्रदर्शन गर्दै, नारायणचौरमा भेला हुँदै

    राजावादीले आज लगातार तेस्रो दिन प्रदर्शन गर्दै, नारायणचौरमा भेला हुँदै

    १८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा सुरु भएको राजावादी आन्दोलन आज तेस्रो दिन प्रवेश गरेको छ । शनिबार नारायणहिटी अगाडी आन्दोलनको तयारी गरिरहेका पूर्वराजा समर्थकलाई सरकारले निषेधाज्ञा लगाएको थियो । त्यसपछि आन्दोलनकारी बालुवाटार मोडिएका थिए । आज भने आन्दोलन नारायणचौरमा केन्द्रित हुने राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले जानकारी दिए ।

    उनले आन्दोलनमा सहभागी सहयोगी सबैलाई धन्यवाद समेत भनेका छन् । गणतन्त्र दिवसका अवसरमा एमालेले आह्वान गरेको प्रदर्शनको तुलनामा राजावादी आन्दोलनमा जनसहभागिता बढेको भन्दै राप्रपाका नेताहरु उत्साहित छन् ।

  • धरान–धनकुटा सडक एकतर्फी सञ्चालन

    धरान–धनकुटा सडक एकतर्फी सञ्चालन

    १७ जेठ, धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको एक भाग बगाएपछि अवरुद्ध भएको सो सडक आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी मूलघाटमा खोलाले सडक बगाएपछि राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको हो । अस्थायी डाइभर्सन गरेर आज साँझदेखि एकतर्फी सवारी सञ्चालन गरिएको कोशीे प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए ।

    सडक अवरुद्ध हुँदा धरानतर्फ आउने र धनुकुटातर्फ जाने सवारीसाधन बाटोमा अलपत्र परेका थिए । ती सवारीसाधनका यात्रीलाई नेपाल प्रहरी तथा नेपाली सेनाको सहयोगमा वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइएको थियो । सडक अबरुद्ध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईको धरानबाट भेडेटार, धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जाने सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो ।