Category: स्थानीय

  • भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति

    भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति

    १० असार, काठमाडौं । सरकारले अध्यागमन र ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा पूर्वमुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सभामुखसँग समय माग गरी सांसदहरुले समसामयिक विषयमा राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले उक्त समितिका सदस्यमा ६ मन्त्रालयका सहसचिव रहेको जानकारी दिए ।

    व्यवस्थापन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नीतिगत, कानुन र संरचनात्मक सुधारका लागि ठोस पहल गर्ने प्रतिबद्धता गरेबमोजिम समिति गठन गरिएको मन्त्री लेखकले जानकारी दिए । यो विषयमा प्रतिपक्ष र सत्तापक्षबीच सहमति भएको थियो ।

    सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन तथा छानबिन समितिमा प्रतिपक्षी दुई दलले असहमति जनाएका छन् । गृहमन्त्री लेखकपछि धारणा राख्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् डा स्वर्णिम वाग्लेले पूर्वमुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा गठित उक्त समितिलाई आफूहरुले अस्वीकार गर्ने बताए । उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा संसदीय छानबिन समिति गठन आवश्यक भएको बताए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणका सन्दर्भमा विगत १८ वर्षमा नियुक्त भएका १४ जना गृहमन्त्री उपर छानबिनको माग गरे । “अहिले गठित समितिमा हाम्रो असहमति छ, यो समितिले न्याय दिन सक्दैन, यो राजनीतिक र सत्तास्वार्थभन्दा माथि हो, यस प्रकरणमा जो सुकै दोषी भए पनि कारबाही गर्नुपर्छ”, उनले भने । बैठकमा आफ्ना धारणा राखेपछि दुई दलले बैठक बहिस्कार गरेका छन् ।

  • प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

    प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

    १० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस्भ न्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो ।

    त्यस्तै उनले नै प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकले सर्वसम्मत स्वीकृत गरेको छ । उपप्रधानमन्त्री पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावहरूमाथिको छलफलमा यस अघि सांसदहरू अमनलाल मोदी, भगवती चौधरी, राजेन्द्र केसीले भाग लिई आफ्ना धारणा राखेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही असार १४ गते बिहान ११ बजे बस्नेछ ।

  • समुदायको सस्कार र संस्कृति जोगाउन जुटे रामेछापका माझी

    समुदायको सस्कार र संस्कृति जोगाउन जुटे रामेछापका माझी

    १० असार, मन्थली । समुदायको संस्कार र संस्कृति जोगाउन रामेछापका माझी जुटेका छन् । माझी जागरण केन्द्रले आफ्नो समुदायको जन्मदेखि मुत्युसम्मको सस्कार र संकृति जोगाउन समुदायमा संस्कृति संरक्षण अभियान सञ्चालन गरेको हो । समुदायको संस्कारका बारेमा माझी युवालाई जानकारी नहुँदा संस्कृति लोप हुने अस्थामा पुगेकाले संस्कार र संस्कृति संरक्षण र प्रवर्द्धनुँगै पुस्तान्तरण अभियानमा जुटेको मन्थली नगरपालिका–८ का बालकृष्ण माझीले बताए । आफ्नो संस्कारका बारेमा अरु समुदायका साथै माझी समुदायका युवालाई जानकारी गराउने उद्देश्यले अभियानका रूपमा संरक्षण गर्न पहल थालिएको उनको भनाइ छ ।

    यहाँका माझी समुदायको सङ्गठन मझे सावाका संयोजक बहादुर माझी र समाजशास्त्री प्राडा कृष्ण भट्टचन्दले यो समुदायको संस्कृति र पहिचाहनका बारेमा जानकारी प्रस्तुत गरेका थिए । मन्थलीको गाईखुराबाट सुरु गरिएको उक्त अभियानको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले दीप प्रज्वलन गरी उद्घाटन गरे । कार्यक्रमका लागि आर्थिक सहयोग नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठान केन्द्रीय समितिले गरेको छ ।

  • धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

    धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

    ९ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान रामसिकन राना अहिले चैते धान काट्ने तयारीमा छन् । अधिकांश किसानले वर्षमा एक पटक मात्र धान रोप्ने गरेका छन्, तर रानाले चैते र बर्खे गरेर वर्षमा दुई पटक धानखेती गर्दै आएका छन् । डेढ बिघा खेतमा उनले ‘चैते–५’ जातको धान रोपेका छन् । रानाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत उनले बीउ, मल र सिँचाइमा ८५ प्रतिशत अनुदान पाएका थिए ।


    कृषि प्राविधिकको सल्लाहअनुसार खेती गरेकाले रोग–कीराको समस्या देखिएको छैन । “चैते धान पाक्नै लागेको छ”, उनले भने, “एक दुई दिनमा चैते धान काटेर वर्षे धानको रोपाइँ गर्ने सुरसारमा छौँ, वर्खे धान जस्तो चैते धानमा रोग कीराको समस्या छैन, उत्पादन पनि सोचेभन्दा बढी नै हुनेमा विश्वस्त छौँ ।” लगातार वर्षा हुन थालेकाले खेतमा काटेको चैते धान थन्क्याउने र थ्रेसिङ गर्ने पिरलो भने उनलाई छ ।

    परियोजना अन्तर्गत कञ्चनपुरमा यस वर्ष ५४ हेक्टरमा चैते धानखेती गरिएको छ । विगतको तुलनामा चैते धानखेती गर्ने किसानको सङ्ख्या बढेको कृषि अधिकृत सञ्जु उपाध्याय रिमालले बताए । उनका अनुसार चैते धान माघमा बीउ राखी फागुनदेखि चैतको पहिलो सातासम्म रोपिन्छ र १२० दिनभित्र पाकेर असारको सुरुवातमा कटनीका लागि तयार हुन्छ ।

    कृषि ज्ञान केन्द्रका अधिकृत जागृत खनालका अनुसार सीमसारयुक्त र डुबानग्रस्त खेतमा चैते धान उपयुक्त मानिन्छ । विशेषगरी बेलडाँडीलगायत डुबान हुने ठाउँका किसानका लागि यो वैकल्पिक बालीका रूपमा देखिएको छ । यस वर्ष कञ्चनपुरमा कूल २६० हेक्टर क्षेत्रमा चैते धानखेती भएको छ । त्यसमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि परियोजना, पालिकाको अनुदान र किसानको लगानी समावेश छ । चैते धानप्रति हेक्टर चार दशमलव छ मेट्रिकटन उत्पादन हुने गरेको छ ।

    महाकाली सिँचाइको कमाण्ड एरियाका किसानले थोरै लागतमा चैते धानखेती गर्दै आएका छन् । भूमिगत सिँचाइ पम्पसेट, स्यालो ट्युबेल, डिप ट्युबेल लगायतको सहायताले सिँचाइ गर्ने किसानको लागत खर्च भने बढी लाग्ने गरेको छ । बाली विकास अधिकृत खनालका अनुसार पुनर्वास नगरपालिकामा चालु आवमा चैते धानखेतीलाई प्रवद्र्धन गर्नका लाागि कार्यक्रम सञ्चालन गरिएको छ ।

    सो अन्तर्गत किसानलाई साना सिँचाइ, उन्नत बीउबिजन, कृषि औजार, उपकरण लगायतमा अनुदान दिइएको छ । त्यस अन्तर्गत नगरपालिका क्षेत्रमा २४ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको छ । जिल्लाको सिँचाइ सुविधा उपलब्ध भएका पुर्नवास, बेलौरी, भीमदत्त, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाका किसानले चैते धानखेती गर्दै आएका छन् । कृष्णपुर नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका केही किसानले फाट्टफुट्ट रुपमा चैते धानखेती गर्दै आएका छन् ।

    कृषि ज्ञान केन्द्रको अनुदानमा मात्रै जिल्लामा एक सय ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुदै आएको छ । किसानले उत्पादन गरेको चैते धानको बजारमा लागतअनुसार मूल्य नपाउने गरेको गुनासो गरेका छन् । उत्पादित चैते धान चिउरा र भुजा बनाउनका लागि बढी प्रयोग हुने गरेको छ । चैते धानखेती गर्ने किसालाई भने छाडा चौपायाबाट बाली जोगाउनका लागि खेतमै पहरा दिनुपर्ने बाध्यता छ । चैते धानमा रोग प्रतिरोधी क्षमता हुने भएकाले मौसमी असरमा पनि किसानले सोचेभन्दा बढी उत्पादन दिने कृषि प्राविधिकको भनाइ छ ।

    शुक्लाफाँटा नगरपालिकाका कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐर एकै वर्षमा वर्खे र चैते धानखेती गरी किसानले दुई पटक धान उत्पादन लिन थालेको बताउँछन् । “धानको उत्पादन बढेसँगै किसानको वार्षिक आम्दानी दोब्बरले बढेको छ”, उनले भने, “गहुँ बाली तथा तरकारी बाली लगाएर खाली हुने खेतको सदुपयोग भएको छ, देशको खाद्य भण्डार बढाउने कार्यसँगै आपतकालीन अवस्थामा खाद्य आपूर्तिका लागि चैते धानखेती सहयोगी रहेको छ ।”

  • सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल

    सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल

    ९ असार, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल गरिएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको दोस्रो बैठकमा सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

    प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले मनसुन अवधिभर भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो, डुबानसमेतलाई दृष्टिगत गरी सम्भावित जोखिम रहेका क्षेत्र, नदी, खोला नाला र पानीको बहाव समेत उच्च हुनसक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सडक सञ्जालहरू समेतमा मौसम पूर्वानुमान र परिस्थिति समेतको विचार गरी सवारी साधनमा रोक लगाउन पहल गरिने बताए ।

    “गत जेठ २८ गते बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकको निर्णय कार्यान्वयन अवस्थाबारे छलफल तथा समिक्षा भएको र समिक्षाबाट मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ को कार्यान्वयनका लागि सबै निकायको एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने देखिएको छ,” उनले भने, “सबै निकायले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ को प्रभावकारी कार्यान्वयन गरी सोको प्रगति मासिक रूपमा प्राधिकरणमा पठाउने निर्णय भएको छ ।”

    सडक\राजमार्गमा बाढी, पहिरो, डुबान आदिका कारणले जुनसुकै बेला जुनसुकै स्थानमा अबरोध आउन सक्ने हुँदा सडक राजमार्ग तत्काल सञ्चालन गर्न आवश्यक पर्ने उपकरण २४सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गर्न सडक विभाग र ७५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको कार्यकारी प्रमुख भट्टले जानकारी दिए ।

    उनका अनुसार यसैगरी तत्काल उद्धार र राहतमा प्रयोग हुने न्यूनतम सामग्रीहरू समेत तयारी अवस्थामा राख्न र विशेष अवस्थामा सडक अवरूद्ध भई सवारी साधनहरू चल्न नसक्ने परिस्थितिमा कम्तिमा १५ दिनका लागि खाद्यान्न अभाव नहुने गरी व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

  • करेन्ट लागेर मुगुमा दश खच्चर मरे

    करेन्ट लागेर मुगुमा दश खच्चर मरे

    ९ असार, मुगु । विद्युत सेवा चुहावट हुँदा छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा दश खच्चर मरेका छन् । जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका ती खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा सो करेन्ट लागेको थियो । प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नबनाउँदा आइतबार दिउँसो ती खच्चरलाई करेन्ट लागेको खच्चड धनी छायानाथ–१ का स्थानीय कन्नबहादुर मल्लले गुनासो गरे ।

    उनले भने, “पानी परिरहेका बेला सडक छेउमा रहेको ट्रान्समिटरबाट विद्युत जमिनमा बगेको रहेछ हामीलाइ थाहै भएन, एक्कासी १० खच्चर करेन्ट लागेर मरे, मलाई पनि करेन्ट लागेको थियो चप्पल लगाएको हुनाले सामान्य झड्कामात्र लाग्यो म बचेँ ।” उनका अनुसार एउटा खच्चरको मूल्य एक लाख ५० हजारभन्दा बढी पर्दछ । उनले खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गर्नुभयो ।

    छायाँनाथ रारा–१ का कर्णबहादुर मल्लका चार, वडा नं १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीनवटा खच्चर मरेका हुन् । गत शुक्रबार मात्र पनि वडा नं १२ कम्फागाउँ निवासी खड्कबहादुर बुढाको भैँसी करेन्ट लागेर मरेको थियो । नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रले वितरण गरेको विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँ दिनहुँ स्थानीयले सास्ती भोग्नुपरेको बढुवालले बताए । केन्द्रका प्रमुख साजन ऐडीले वर्षात र हुरीबतासका कारण विद्युत सेवा प्रभावित हुँदा समस्या भएको र नियमानुसार पाउने क्षतिपूर्तिका लागि आफूले प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने जानकारी दिए ।

  • वर्षाले सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

    वर्षाले सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

    ९ असार, गोरखा । सहिद लखन गाउँपालिका–७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । गए राति परेको वर्षाले सडक भासिएर दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको सहिद लखन–७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।


    उनले भने, “गत वर्ष वर्षाले सामान्य क्षति पुगेको उक्त सडक समयमा मर्मत नहुँदा गए रातिको भीषण वर्षाले थप क्षति पुगेको हो । गएको बर्खादेखि नै सडक भासिँएर जोखिमपूर्ण अवस्थामा रहँदै आएको थियो, अहिले त चारपाङ्ग्रे सानाठूला कुनै पनि सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन ।”


    सहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्री समस्यामा परेका छन् । सडक भासिएकाले मोटरसाइकल र पैदलयात्री जोखिम मोलेर ओहोरदोहोर गर्नुपर्ने अवस्था बनेको छ । सडक पूर्वाधार विकास कार्यालयले शनिबारदेखि सडक पुनर्निर्माणको काम सुरु गरेको भए पनि वर्षाका कारण निर्माण प्रभावित भएको छ ।

  • श्रीमतीको हत्या अभियोगमा पक्राउ

    श्रीमतीको हत्या अभियोगमा पक्राउ

    ९ असार, वीरगञ्ज । आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा यहाँको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए । “प्रहरीको प्रारम्भिक अनुसन्धानले लामो समयदेखि श्रीमान् श्रीमतीबीच बोलचाल नभएको थाहा भएको छ,’’ उनले भने, ‘‘श्रीमान लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुनसक्ने देखिएको छ ।’’

  • काठमाडौंका नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

    काठमाडौंका नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

    ९ असार, काठमाडौं । काठमाडौँ उपत्यकाका नदीहरुमा जलसतह सतर्कता तह आसपास पुगेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मध्यरात भएको बर्षाका कारण विष्णुमति, बाग्मती र धोवीखोलामा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ । विशेषगरी बाग्मती नदी (गौरीघाट) र धोवीखोला (चाबहिल) क्षेत्रमा पानीले सतर्कता तह नाघेको विभागले जनाएको छ ।

    नदी किनारको बाटो भई यात्रा गर्ने र नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ । त्यसैगरी गोरखामा पनि भारी वर्षा भएकाले सावधानी अपनाउन विभागले सूचना मार्फत अनुरोध गरेको छ । मध्यरात भएको भारी बर्षाका कारण काठमाडौँका विभिन्न स्थानका सडक समेत जलमग्न भएका थिए ।

  • इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

    इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

    ८ असार, इलाम । इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए ।

    घाइतेमध्ये बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरीको झापास्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

  • पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

    पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

    ८ असार, काभ्रेपलाञ्चोक । यहाँको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी सङ्कलन गर्न लक्षित कृषि उपज सङ्कलन तथा बजार केन्द्र स्थापना गरिएको छ । रासायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरी उत्पादिन भएका तरकारी सङ्कलन गर्न उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनार्थ लवग्रीन नेपाल नामक संस्थाको रु २५ लाख र पाँचखाल नगरको रु नौ लाखको साझेदारी गरिएको थियो । पाँचखालका नगरप्रमुख महेश खरेलका अनुसार विशेषगरी एकीकृत शत्रुजीव व्यवस्थापन ९आइपीएम० प्रविधिबाट उत्पादन गरिएका तरकारी सङ्कलन गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो ।

    “केन्द्रमा सङ्कलन गरिएका कृषि उपजको प्याकेजिङ, ब्राण्डिङ र सर्टिङ गरेर राजधानी काठमाडौँ आपूर्ति गर्ने उद्देश्य राखेका छौँ”, खरेलले भने । अग्र्यानिक तरकारी उत्पादनले पाँचखालमा उत्पादन भएका तरकारीबारे दशकौँदेखि गरिएको दुष्प्रचार मेटाउन सफलतातर्फ उन्मुख भएको उनको भनाइ छ । अब हाटबजार सञ्चालनार्थ प्रक्रिया अघि बढाइने खरेलले बताए ।


    केन्द्रको जापान सरकारको अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का नेपालका प्रमुख प्रतिनिधि माचुजाकी मिजुकी, नगरप्रमुख खरेल र लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीले सयुक्त रूपमा शनिबार शुभारम्भ गरे । केन्द्रले नगरमा विषादीरहित तरकारी उत्पादनमा सहयोग पुग्ने जाइका नेपालका प्रमुख प्रतिनिधि माचुजाकीले बताए ।


    नगर कार्यालय र लवग्रीन नेपालद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले करिब चार वर्षदेखि सञ्चालन गरेको ‘विषादीमुक्त पाँचखाल’ बनाउने अभियानअन्तर्गत हाल उत्पादित तरकारीलगायत बाली अग्र्यानिक हुँदै गएको जनाइएको छ् । केन्द्रमा १८ महिने आइपीएम कृषक पाठशालामा २२ थरिका आइपीएम प्रविधि अध्ययन गरेका एक हजार २०० अगुवा किसानले जैविक विषादी प्रयोग गरी उत्पादित तरकारी सङ्कलन हुने अपेक्षा गरिएको छ ।

  • कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन

    कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन

    ७ असार, गुल्मी । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिराका कारण आज पनि बन्द नै रह्यो । कालीगण्डकी गाउँपालिका –१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गङ्गाबहादुर सारुले बताए ।

    “सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरुलाई वैैकल्पीक सडक प्रयोग गर्न आग्रह गरेका छौ,” प्रहरी नायव उपरिक्षक सारुले भने । उनले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए । पहिराले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका –७ स्थीत सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रुपमा सञ्चालन गएिको प्रहरीले जनाएको छ ।

  • चितवनमा सवारी दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते

    चितवनमा सवारी दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते

    ७ असार, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहरुको मृत्यु भएको हो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन । विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

  • डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

    डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

    ७ असार, सिरहा । यहाँको धनगढीमाई नगरपालिका–१३ स्थित डावरटोलमा निर्माणाधीन दश करोडभन्दा बढी लागतको खानेपानी आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ । विसं २०८० असार २५ गते दुई वर्षभित्र सम्पन्न गर्ने लक्षसहित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरसँग आयोजना सम्झौता भएको थियो । उक्त निर्धारित समय सकिनु २० दिन अगावै निर्माण सम्पन्न भएको हो ।

    निर्धारित समयसीमा अगाडीनै काम सम्पन्न भएर उदाहरणीय आयोजना बनेको धनगढीमाई नगरप्रमुख शिव शंकर महतोले बताए । नगरभित्रका अन्य खानेपानीको आयोजनाहरु लामो समय व्यतित हुँदा निर्माणाधिन अवस्थामै जीर्ण हुँने गरेको जनाउँदै उनले भने, “मलाई त आश्चर्य लागेको छ । समयसीमा अगावै काम सम्पन्न हुनु गौरवको विषय हो । अन्य निर्माणाधिन आयोजना पनि समयमै सम्पन्न गर्न यसले सकरात्मक सन्देश दिएको छ ।” खानेपानी आयोजनालाई राजनीतिकरण गरिने र प्रतिष्ठासँग जोड्ने प्रवित्तिले आम जनता वाक्क भएको अनुभूति आफूले गरेको उनको भनाइ थियो ।

    यस खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गर्नका लागि ‘डावरटोल नैनपुर टोल खानेपानी तथा सरसफाई उपभोक्ता समिति’ले काम गरेको थियो । समितिका अध्यक्ष श्रवण ठकुरी भने, हामीले गत जेठमै काम सम्पन्न गरिसकेका थियौँ । जेठबाटै परीक्षणका रुपमा पानी उपभोक्तालाई वितरण गरिसकेका थियौँ । निरन्तरको सक्रियता, लगनशीलता र मिहिनेतले यो सम्भव भएको हो ।”

    कूल रु १० करोड छ लाख ५८ हजार लागत रहेको यस आयोजनाबाट वडा नं १३, १२ र ११ का एक हजार चार सय ४७ घरधुरीका आठ हजार छ सय ४२ भन्दाबढी जनसंख्या लाभान्वित भएका जनाइएको छ । स्थानीयले खोला, कुवा र पोखरीको दूषित पानी खानुपर्ने दिनहरु अब सदाका लागि अन्त्य भएको छ ।

  • डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

    डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

    ७ असार, ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन । गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन् । स्थानीयको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा ओखरगैंडा खानेपानी आयोजना सुरू भएको थियो ।

    योजनाको दुई किलोमिटर टाढा घिनसिङ खोलाबाट मौरीभिर सम्मो भन्ने ठाउँमा लिफ्टमार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना थियो । तर त्यो योजना १५ वर्ष पुग्दासम्म पनि अधुरै छ । स्थानीयले दैनिक खानेपानीका लागि लाइनमा बस्नु पर्ने बाध्यता छ । सरकारले अपर्याप्त बजेट विनियोजन गर्दा कामा ढिलासुस्ती भएको हो ।

    विसं २०७२ मा सङ्घीयता आएपछि उक्त खानेपानी योजना सशर्त कार्यक्रमअन्तर्गत नेपाल सरकारबाट प्रदेश सरकारको जिम्मेवारीमा आएको छ । प्रदेश सरकारले उक्त आयोजनालाई पुनः डिजाइन गरेर काम गर्दै आएको छ । पहिले निर्माण भएको रिजर्भ ट्याङ्की र सार्वजनिक धारा अहिले काम नलाग्ने भएका छन् । यहाँको झण्डै १०० घरधुरीको घर घरमा धारा निर्माण भएका छन् ।

    घरमा धारा भए पनि पर्याप्त पानी नआउँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । सिसाखानीको बाघखोरमा रिजर्भ ट्याङ्की निर्माण भएपछि मात्रै सहज रूपमा पानी वितरण गर्न सकिने ओखरगैँडा खानेपानी आयोजनाका अध्यक्ष दिलबहादुर पुनले बताए । एउटा ४५ हजार लिटर र अर्को २० हजार लिटरको ट्याङ्की निर्माण गरेपछि मात्र खानेपानी समस्या समाधान हुने उनको भनाइ छ ।

    अध्यक्ष पुनले भने, “यहाँ खानेपानी आयोजना सुरू भएको धेरै भयो तर अहिलेसम्म सम्पन्न नहुँदा हामीहरूले खानेपानीको सक बेहोर्नुपरेको छ, आयोजनाका लागि वर्षमा कहिले पाँच लाख, अहिले १० लाख बजेट आउँछ, त्यो बजेटले अपुरो काम हुन्छ, बजेट अभावका कारण अहिलेसम्म यो खानेपानी आयोजना सम्पन्न हुन सकेन, राज्यको ध्यान नगएको महसुस भएको छ ।”

    करिब ६० लाख बजेट आए मात्रै आयोजना सम्पन्न हुने अध्यक्ष पुन बताउँछन् । ट्याङ्कीसँगै वडा कार्यालय, विद्यालयलगायत स्थानमा सार्वजनिक धारा र केही घरमा निजी धारा निर्माणको काम पनि बाँकी रहेको पुन बताउँछन् । वर्षौंदेखिको आयोजना पूरा नहुँदा अहिले पनि नागरिक पानी बोकेर उपभोग गर्नुपरेको स्थानीय किशोर काउचा घर्तीले बताए ।

    अहिले बस्तीभन्दा झण्डै एक किलोमिटर तल रहेको रिजर्भ ट्याङ्कीबाट ओखरबोटमा रहेको २० हजार लिटरको ट्याङ्कीमा झारेर अस्थायी रूपमा पानी वितरण गरिएको छ । बिहान दुई घण्टा र साँझ दुई घण्टा पानी तानेर वितरण भइरहेको उहाँको भनाइ छ । खानेपानी पर्याप्त नहुँदा सरसफाइ गर्न, बस्तुभाउलाई खुवाउन र सागसब्जीखेती गर्न समस्या भएको घर्ती बताउँछन् ।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सागर अधिकारीले अहिले अस्थायी रूपमा यहाँका स्थानीयलाई पानी खुवाउने व्यवस्था मिलाएको बताए । आगामी वर्ष अर्को ट्याङ्की निर्माण गरेपछि हरेक घरमा पानी पुर्‍याउने उहाँको भनाइ छ । अपर्याप्त बजेटका कारण धेरै योजना सम्पन्न गर्न नसकिएको अधिकारीले बताए । रासस

  • दुम्कीबास दाउन्ने सडकमा निरन्तर सास्ती

    दुम्कीबास दाउन्ने सडकमा निरन्तर सास्ती

    ७ असार, मध्यविन्दु । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड चार दिनदेखि ठप्प छ । यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन् । बिहीबार राति काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको डाइभर्सनमा फसेको थियो । बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको थियो ।

    उद्धार गरिएकामध्ये बर्दियाका किरण चौधरीले घटनाको सम्झना गर्दै भने, “मध्यरातमा खोलाबीचमा अलपत्र पर्दा भगवान् सम्झनु बाहेक केही गर्न सकिँदैनथ्यो।” एकतीस वर्षीय शिवनारायण थारु काठमाडौँबाट बर्दिया जाँदै गर्दा डाइभर्सनमा फसेका थिए । उनी बाढी देखेर आत्तिएर खोलामै हाम फालेर पौडिँदै ज्यान जोगाए । “त्यो क्षण म मर्छु जस्तो लागिरहेको थियो, भाग्यले बाँचेछु,” शिवनारायणले भने ।


    सडक अवरुद्ध भएपछि यात्रुले घण्टौँ पैदल यात्रा गर्न थालेका छन् । लामो दूरीका सवारी चालक गाडीमै रात बिताउन बाध्य छन् । जङ्गलबीचमा खाना र पानी नपाउने अवस्था सिर्जना भएको छ । मालवाहक गाडी सडकमा अलपत्र परेका छन् । यात्रुहरूको पीडा देखेर विनयी त्रिवेणी गाउँपालिका–१ का स्थानीय युवा, व्यवसायी र सामाजिक सङ्घसंस्थाले शुक्रवार दिनभर निःशुल्क खानाको व्यवस्था गरेका छन् । दुम्कीवासमा स्थानीयले भात, दाल तरकारी र शुद्ध पानी निःशुल्क वितरण गर्दै यात्रुलाई राहत दिइरहेका छन् । शुक्रवार मात्र एक हजार ५०० यात्रुले खाना खाएको समाजसेवी गोमा बस्यालले जानकारी दिए ।

    प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग क्षेत्र नै अहिले अस्तव्यस्त बन्दा धेरै समस्या सृजना भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले निर्माणको लागि भत्काइएको सडक वर्षा परेपछि हिलाम्य हुने स्वाभाविक भए पनि ठेकेदारको लापरबाहीले समस्या चर्किएको बताए । “स्थानीय तह, निर्माण कम्पनी र प्रहरी प्रशासनको समन्वयमा वैकल्पिक व्यवस्थाको प्रयास भइरहेको छ”, उनले भने, “तर अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ ।”

    विसं २०७५ सालदेखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा अहिले धेरै चुनौती बढ्दै गएको छ । विनयी खोलामा अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको छ, तर खोलामा बाढी आउँदा बारम्बार डाइभर्सन बग्ने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हालसम्म आठ पटकसम्म डाइभर्सन बगाइसकेको छ ।

    सडक निर्माणको क्रममा भत्काइएको दाउन्ने क्षेत्रको १४ किलोमिटरको बाटो वर्षाको समयमा हिलाम्मे हुँदै कष्टकर बन्दै आएको छ । स्थानीय प्रशासनले सडक सुधारको दबाब दिँदै आए पनि ठेकेदार कम्पनीले गिट्टी–बालुवा हालेर सामान्य मर्मतसमेत नगरेको यात्रुको गुनासो छ ।

  • बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

    बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

    ७ असार, मध्यविन्दु । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ ।
    गत पुस २६ गते दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगरिने भएको हो । गत बिहीबार राति विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस नै खोलाले बगाए पछि पुनःडाइभर्सन निर्माण नगरिने निर्णय गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।जेठको अन्तिम हप्तादेखि लगातार वर्षा भई रहेकाले पटक–पटक डाइभर्सन बगाउने समस्या बढे पछि सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।


    “जिल्लास्थित सरोकारवालाको बैठकबाट खोलाको डाइभर्सनमा थप जोखिम बढेकाले अब नयाँ बन्दै गरेको पुल नै छिटो सञ्चालन गर्ने गरी पर्खने निर्णय गरिएको छ”, उनले भने, “दुम्कीवास पुल असार १६ गतेदेखि सञ्चालन गर्न सकिने निर्माण पक्षले जानकारी गराएको छ त्यसैले त्यो समयसम्म वैकल्पिक सडक नै प्रयोग गर्नुपर्ने हुन्छ ।” यस सडकखण्डअन्तर्गत दुम्कीवास पुलको विकल्पको रूपमा हलुका सवारीलाई होङ्सी सिमेन्ट गेट हुँदै सर्दीबाट दुम्कीवास बजार निस्कने सडक प्रयोग गरिएको छ ।

    तर मालवाहक सवारीसाधन पूर्ण रूपमा रोकिएको छ । वर्षा सुरू भएसँगै दाउन्ने क्षेत्रमा सडक चिप्लो र हिलो हुँदा सवारी गुड्न नसकेकाले त्यो क्षेत्रमा पनि अवरोध कायम रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । “दाउन्ने खण्डमा वर्षाका कारण भने अहिलेको अवस्थामा सवारी चलाउन सकिँदैन, त्यसलाई मर्मत गर्नुपर्छ, मर्मत कार्य यथाशीघ्र अगाडि बढाउनुपर्छ, अन्यथा अहिलेको अवस्थामा ठूला सवारीसाधन यो बाटो चलाउन सकिँदैन”, उनले भने, “रातिको समयमा ठूला साना कुनै पनि सवारीसाधन चलाउन सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका छाँै । यो दाउन्ने सडक मर्मत हुनुपर्यो, पुल सञ्चालन भएपछि मात्रै पूर्ववत् रूपमा सवारी चलाउन सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो । यही निर्णय हामीले माथिल्लो निकायमा पठाएका छौँ ।”

    यस सडकखण्डमा विगत पाँच दिनदेखि मालवाहक सवारीसाधनबीच बाटोमा रोकिएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका सवारी विनयी खोलाका कारण रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ हिँडेका सवारी दाउन्ने पहाडमा रोकिएका छन् । अहिलेको अवस्थामा मालवाहक सवारी चलाउन सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट पारे ।

    देशकै प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग क्षेत्र नै अहिले अस्तव्यस्त बन्दा धेरै समस्या सिर्जना भएका छन् । निर्माणको लागि भत्काइएको सडक वर्षा परेपछि हिलाम्य हुने स्वाभाविक भए पनि ठेकेदारको लापार्वाहीले समस्या चर्किएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । विसं २०७५ देखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा अहिले धेरै चुनौती बढ्दै गएको छ ।

  • मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

    मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

    ६ असार, सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको साइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

    मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो । तर, चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए । मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • ढुङ्गा प्रहारबाट युवकको मृत्यु

    ढुङ्गा प्रहारबाट युवकको मृत्यु

    ६ असार, दमक । ढुङ्गा प्रहारबाट यहाँको कमल गाउँपालिकामा एक युवाको ज्यान गएको छ । यसरी ज्यान जानेमा कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख राजन लिम्बूका अनुसार बिहीबार साँझ ५ः३० बजे मृतक लिम्बू र सोही ठाउँका ३७ वर्षीय देवेन्द्र लावतीबीच एकापसमा विवाद भएको थियो ।

    दुवैले मादकपदार्थ सेवन गरेका र झगडाका क्रममा देवेन्द्र लावतीको ढुङ्गा प्रहारबाट सूर्यविक्रम गम्भीर घाइते भएका थिए । घाइतेलाई दमकको लाइफलाइन अस्पताल ल्याई सामान्य उपचारपश्चात थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएकामा उपचारका क्रममा आज मृत्यु भएको उनले जानकारी दिए । लावतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

    आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

    ६ असार, सिरहा । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ । पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन् । मालदहलगायत आँपको सुवासले सिरहा मगमगाइरहको छ । हरेक घरको आँगन, बगैँचाको कुना र बजारको छेउमा बगिरहेको आँपको सुगन्ध सिरहाको पहिचान हो । हावामा घुलिएको त्यो सुगन्ध, जुन स्वादमा बदलिन्छ । यही स्वाद अब व्यवसाय, रोजगारी र आत्मनिर्भरताको गाथा बन्न थालेको छ ।

    आँपको राजधानीका रूपमा लिइन्छ सिरहालाई । यद्यपि, यो उपाधि कुनै आधिकारिक निकायले दिएको नभएर जनमानसमा विकसित भएको उपमा हो । सिरहालाई ‘आँपको राजधानी’ भन्ने चलन यसको बृहत् उत्पादन, समथर भूभाग, गर्मी मौसम, विशिष्ट गुणस्तर र व्यापारिक महत्वजस्ता कारण मुख्य हुनसक्छ ।

    आँप केवल स्वादिलो फलमात्र होइन, यो पोषण, स्वास्थ्य, संस्कृति र अर्थतन्त्रसँग गाँसिएको फल पनि हो । त्यही भएर यसलाई ‘फलको राजा’ मात्र नभई ‘जीवनको फल’ पनि मानिन्छ । यसको खेतीमा जीवनयापन गर्ने हजारौँ व्यावसायिक किसानको आशा, मेहनत र भविष्य यसैमा गाँसिएको हुन्छ । आँप केवल स्वाद र सुगन्धको प्रतीकमात्र होइन, यो धेरैका लागि जीवनको आधार पनि हो ।

    गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाका किसान भरत यादव र निरज सिंहले करिब सय बिघा क्षेत्रफलमा फैलिएको आँपको व्यवस्थित बगैँचा तयार गरेका छन्, जुन अहिले जिल्लाकै सबैभन्दा ठूलो व्यावसायिक आँपखेतीको नमूना बनेको छ । यो बगैँचाले केवल उत्पादनको मात्रामा मात्र योगदान दिएको छैन, जिल्लामा व्यावसायिक आँपखेतीतर्फ किसानको रुचि बढाउने प्रेरणा पनि प्रदान गरेको छ ।

    “पहिला परम्परागत रूपमा खेती गथ्र्यौँ, अहिले भने बजार, प्रविधि र व्यवस्थापनमा ध्यान दिएर व्यावसायिक बनाएका छौँ”, किसान निरज सिंहले भने, “आँपखेतीबाट दैनिक २५ देखि ३० जनाले रोजगारी पाउने गरेका छन् । सिजनमा दुई सयदेखि पाँच सय कार्टुनसम्म आँप टिप्ने, प्याक गर्ने र त्यसलाई काठमाडौँ, पोखरा, वीरगञ्ज, जनकपुरसम्म लैजाने गरेका छौँ ।” बगैँचाबाट हरेक वर्ष लाखौँ रूपैयाँको आँप बिक्री हुने गरेको उनको भनाइ छ ।

    नेपालमा आँपको मुख्य मौसम सुरू नहुँदै बजार भारतीय आँपले भरिने क्रम यस वर्ष पनि दोहोरिएको किसान सिंहले दुःखेसो पोखे । उनका अनुसार, जेठ दोस्रो सातादेखि नै नेपालका सहरबजारमा भारतीय आँपको बर्चस्व देखिन्छ, जबकि स्थानीय आँप असारको पहिलो, दोस्रो हप्तामात्र परिपक्व हुन सुरू गर्छन् । “यसले गर्दा देशभरका व्यावसायिक किसान चिन्तित छन्”, उनले भने ।


    यहाँका आँप बजारमा आउनुअघि नै सस्तो दरमा भारतीय आँप बग्रेल्ती भित्रिएपछि यहाँका किसान प्रतिस्पर्धामा पछाडि परेका छन् । सिरहाको मुसहर्नियाका व्यावसायिक कृषक भरत यादव भन्छन्, “हामीले मेहनत गरेर आँप उत्पादन गर्यौँ, तर भारतीय आयातले हाम्रो उत्पादनलाई बजार नै नदिएपछि ठूलो घाटा सहनुपरेको छ । एकातिर आँपको उत्पादन घटयो, अर्कातर्फ बजार मूल्य उस्तै रह्यो ।”

    मधेस प्रदेश आँपखेतीका लागि उर्वरभूमि हो । यहाँको हावापानी, माटो आँप उत्पादनका लागि सुहाउँदो छ । प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्लामा व्यावसायिक रूपमै आँपखेती हुँदै आएको छ । आँप उत्पादनमा यो प्रदेशको ७७ प्रतिशतभन्दा बढी योगदान रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेशका सचिव डा उमेश दाहालको भनाइ छ ।

    मन्त्रालयको तथ्याङ्कानुसार देशभर ४२ हजार ७७३ हेक्टर क्षेत्रफलमा आँपखेती हुन्छ । जसबाट वार्षिक उत्पादन हुने पाँच लाख १३ हजार ५५ मेट्रिक टन आँपमा मधेस प्रदेशमा मात्र २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँपखेती हुने गरेको छ । जहाँबाट वार्षिक तीन लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ ।

    आँप उत्पादनका दृष्टिले सिराहा सबैभन्दा अगाडि छ । सिराहमा वार्षिक एक लाख चार हजार ६७६ मेट्रिक टन आँप फल्छ भने सप्तरीमा ९६ हजार, धनुषामा ३६ हजार ९१६, महोत्तरीमा ३२ हजार ७२२, सर्लाहीमा ३९ हजार ११८, रौतहटमा ६२ हजार ५६१, बारामा १९ हजार २६९ र पर्सामा चार हजार ७३१ मेट्रिक टन आँप उत्पादन हुने गरेको मन्त्रालयको तथ्याङ्क छ ।

    नेपालका विभिन्न सहरमा ‘लहानको माल्द आँप’ भनेर बिक्री हुने आँप स्वादका हिसाबले चर्चित त छ, तर पछिल्लो समय बजारमा ठगी, विषादी प्रयोग र नक्कली ‘लेबलिङ’का कारणले यसको बदनामी पनि उत्तिकै बढ्दो छ । लहानकै माल्दको स्वाद पाएकाहरूमाझ भने यो आँप नामी छ । विसं २०८१ चैत २६ गते मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको मुख्य फल आँपलाई युरोपलगायत मुलुकमा निर्यात गर्नुपर्ने बताएका थिए ।

    मधेसको आँपको रसलाई जुसका रूपमा ब्राण्डिङ गरेर मनग्य आम्दानी लिन सकिने प्रधानमन्त्रीको भनाइ थियो । तर आँपको भण्डारण गर्न आवश्यक पर्ने चिस्यान केन्द्र सिरहामा मात्र होइन, मधेस प्रदेशमै छैन । चिस्यान केन्द्र निर्माणका लागि स्थानीय तहको स्रोतसाधनले नधान्ने लहान नगरप्रमुख महेशप्रसाद चौधरीको भनाइ छ । त्यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पटकपटक पहलकदमी गरेता पनि बेवास्ता गरिएको उनले बताए ।

  • दव्ल्याङमा पहिरो, कालीगण्डकी करिडोर ठप्प

    दव्ल्याङमा पहिरो, कालीगण्डकी करिडोर ठप्प

    ६ असार, बलेवा । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ ।

    करिडोर अवरुद्ध हुँदा बागलुङको सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले बताए । करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारी समेत पहिरोको आसपासमा रोकिएका छन् ।

    कालोपत्रको काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर क्षतविच्छेद बनाएको छ । कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने उनले बताए ।

  • झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

    झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

    रासस
    ५ असार, दाङ । दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ । बर्खामा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीलाई आवतजावत गर्न समस्या भएको थियो । राप्ती गाउँपालिका–९ स्थित देवी आधारभूत विद्यालय मसरी डाँडाका विद्यार्थी पानी परेका बेला घरमै बस्नुपर्ने बाध्यता थियो ।

    “खोला तर्न नसक्दा पढाइ छुट्थ्यो । अहिले पुल बनेपछि ढुक्कसँग विद्यालय जान सकिने भएको छ,” कक्षा ६ मा अध्ययनरत सुस्मिता राना मगरले भनिन् । त्यहाँका ५० भन्दा बढी विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन् । पुल बनेपछि वर्खामा पनि विद्यार्थी नियमित रुपमा पढ्न जाने गरेका कक्षा ६ मा अध्ययनरत भीमबहादुर गाहा मगरले बताए ।


    विद्यार्थीलाई मात्रै होइन, त्यहाँका स्थानीयलाई पनि पुल बनेपछि सहज भएको छ । त्यहाँ करिब १९५ घरधुरीको बसोबास रहेको छ । कोही बिरामी पर्दा पनि पुल नहुँदा बाढीले छेक्ने गरेको राप्ती गाउँपालिका–९ का वडाध्यक्ष रिमबहादुर सुनारीले बताए । अहिले त्यहाँ ११२ मिटर लामो पुल निर्माण भएको छ । सङ्घीय सरकारको रु ४३ लाख ४८ हजार र राप्ती गाउँपालिकाको रु १८ लाख तथा स्थानीयको रु एक लाख २५ हजार बराबरको श्रमदानबाट उक्त पुल निर्माण भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

  • भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान

    भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान

    ५ असार, भोजपुर । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा ९हाब्रे०संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो । रेड पान्डा पाइने चार वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ ।

    रेड पान्डाको संरक्षणको लागि यहाँको टेम्केमैयुङ–१ सावामा रहेको भुरुखेक र महाभिर वाल्वानी सामुदायिक वनमा आठ हजार मालिङ्गो बिरुवा रोपन गरिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि यी क्षेत्रमा तीन वटा ठूला पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ ।

    गत आर्थिक वर्षमा पोखरी निर्माण तथा रेड पान्डाको आहार मालिङ्गो रोपनको लागि श्रमदानसहित रु १३ लाख ३० लागत बराबरको काम सम्पन्न भएको अधिकृत अधिकारीले जानकारी दिए । “हामीले रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि काम गरिरहेका छौँ”, उनले भने, “रेड पान्डाको मुख्य आहार मालिङ्गो (बाँस प्रजाति)को आठ हजार बिरुवा रोपन गरेका छौँ । रेड पान्डा नेटवर्कसँगको सहकार्यमा रेड पान्डाको संरक्षण गरिरहेका छौँ । रेड पान्डाले मालिङ्गोका टुसा मन पराउने हुनाले यहाँ बिरुवा रोपन गरिएको हो ।”

    राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार रेड पान्डाको चोरी, सिकारी गरेको खण्डमा रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना, एकदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको अधिकारीले जानकारी दिए । मुन्दुम पदमार्गमा पर्ने यी स्थानमा रेड पान्डा संरक्षणले यहाँको पर्यापर्यटनमा समेत टेवा पुग्ने उहाँको भनाइ छ । रेड पान्डाको वासस्थन संरक्षणको लागि विशेष रुपमा जोड दिएको छ । यहाँको नयाँ खर्क, भुरुखेक, धप्परे एकराते र मैयुङ सामदायिक वनमा क्यामेरा जडान गरिएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । यहाँको धप्परे एकराते सामुदायिक वनमा रेड पान्डा फेला भएको उनको भनाइ छ ।

    “हामीले रेड पान्डा नेटवर्कमार्फत संरक्षणको काम गरिरहेका छौँ”, अध्यक्ष श्रेष्ठले भने, “यहाँ रेड पान्डा फेला परेको अवस्था छ । संरक्षित क्षेत्रमा क्यामेरा जडान गरेर गणनाको काम भइरहेको छ । स्थानीयलाई सचेत गराएर रेड पान्डाको संरक्षणसँगै चोरी, सिकारीबाट रोक्नको लागि आवश्यक काम गरिरहेका छौँ ।” रेड पान्डाको सुरक्षाको लागि घुम्ती गस्ती गर्न तालिम दिएर सात वटा समूहलाई परिचालन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

    स्थानीयवासीले रेड पान्डाको अवस्थाको जानकारीसँगै चोरी सिकारी हुनबाट बचाउन भूमिका खेल्ने उनले जानकारी दिए । साथै पारिश्रमिक दिएर दुई जना वन अभिभावकसमेत नियुक्त गरिएको अध्यक्ष श्रेष्ठले बताए । वन अभिभावकले हेरालु समूहको परिचालनसँगै यहाँको रेड पान्डाको विषयमा समय÷समयमा अध्यावधिक गराउने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

  • चैते धान थन्क्याउने चटारोमा किसान

    चैते धान थन्क्याउने चटारोमा किसान

    ५ असार, डुम्रे । जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा धानखेती गरिन्छ । तर, भानु, व्यास, म्याग्दे र आँबुखैरेनीका अधिकांश फाँटमा चैते धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    जिल्लाका कुल नौ हजार ४६४ हेक्टर क्षेत्रफलमा धानखेती हुने भए पनि एक हजार ८०२ हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले भने, “मनसुन सुरु भएसँगै चैते धानखेती थन्क्याउन किसान व्यस्त छन् । चैते धान थन्क्याउनासाथ असारे धान (वर्षे धान) रोप्ने चटारो हुन्छ । जिल्लाका चैते धानखेती हुने फाँटमा लगाइएका धान थन्क्याउन भ्याननभ्याई छ ।”

    मनसुन सुरु हुनासाथ वर्षेधान मात्रै हुने स्थानमा अहिले रोपाइँ सुरु भइसकेको उनले बताए । तनहुँ धानखेती हुने पहाडी जिल्लाकै रूपमा पर्ने गरेको उनको भनाइ छ । अधिकृत परियारका अनुसार उक्त क्षेत्रफलमा गरिएको धानखेतीबाट आर्थिक वर्ष २०८०÷८१ मा ३७ हजार ९४२ मेट्रिकटन धान उत्पादन भएको छ । त्यसमध्ये आठ हजार ७०४ मेट्रिकटन चैते धान उत्पादन भएको जनाएको छ ।

    चैते धान प्रवद्र्धन कार्यक्रमले यसतर्फ किसान आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ । थन्क्याउने कार्य चलिरहेकाले चालु आर्थिक वर्षको तथ्याङ्क आउन बाँकी रहेको उनले बताए । उनले भने, “सिँचाइ भएको क्षेत्रफल र केही क्षेत्रमा सिँचाइको व्यवस्थापन भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।”

    भानुको चुँदीफाँट, खहरेफाँट, सतीघाटफाँट, व्यासको घाँसीकुवाफाँट, साँगेफाँट, कलेस्तीफाँट, माझफाँट, गजौडेफाँट, शिशाघाटफाँट, म्याग्देको गुणादीफाँट, थर्पुफाँट, पसलेफाँट, सेराफाँट र शुक्लागण्डकीको ढोरफिर्दीफाँट, भिमादको बुडुवाफाँटलगायतका विभिन्न पालिकाका फाँटमा धानखेती हुने गरेको छ । चैते धान विशेषगरी चिउरा उत्पादनका लागि उपयोग हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।

  • नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    ४ असार, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै खाडीमूलुक जान लागेका चार महिलासहित एक पुरुषलाई ठोरीबाट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट खटिएका सशस्त्र प्रहरीले शङ्का लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडीमूलुक कुबेत र ओमन जान लागेका उनीहरुलाई पक्राउ गरेको हो ।

    “पक्राउ परेकामध्ये इलामका दुई महिला ओमन जाने बताएका छन् भने रोल्पाका दुई महिला नयाँ दिल्लीमार्फत खाडीमूलुक जान लागेको बताएका छन्”, सशस्त्र प्रहरी बल नेपाल विओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक प्रेम राउतले भने, “उनीहरुलाई भारत लैजान लागेको आशङ्कामा चितवन माडी नगरपालिका–८ का दीपक खड्कालाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौँ ।”

    सशस्त्र प्रहरीले इलामका दुईजना महिलाको साथबाट भिसा नभएको दुई वटा राहदानीसमेत फेला पारेको छ । सशस्त्र प्रहरीले आवश्यक सोधपुछ गरेसँगै पक्राउ परेका पाँचै जनालाई आवश्यक कागजात तयार पारेर आजै इलाका प्रहरी कार्यालय ठोरीलाई हस्तान्तरण गर्ने जनाएको छ ।

  • काभ्रेका स्थानीय तहको कस्तो छ वार्षिक प्रगति ?

    काभ्रेका स्थानीय तहको कस्तो छ वार्षिक प्रगति ?

    ४ असार, काभ्रे । काभ्रेका स्थानीय तहले औसतः प्रदर्शन गरिरहेको देखिएको छ । जिल्ला समन्वय समिति काभ्रेले आर्थिक वर्ष २०८१–०८२को प्रगति समीक्षा सोमबार सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको आठौं जिल्ला सभाले, जिल्लामा रहेका १३ स्थानीय तह , संघ र प्रदेश स्तरीय विषयगत कार्यालयको वार्षिक प्रगती विवरण प्रस्तुत गरेको हो । धुलिखेल अस्पतालस्थित अडिटोरियम हलमा सम्पन्न समीक्षा कार्यक्रममा सो विवरण प्रस्तुत गरिएको हो ।


    कार्यक्रममा आर्थिक वर्ष २०८१–८२ मा जिसस काभ्रेले विपदबाट आक्रान्त नागरिक तथा पालिकाहरुलाई विनाशबाट पुगेको क्षतिपछि राहत र उद्दारमा सहयोग गरेको जानकारी दिइयो । विपद् अनुगमन गरि सम्बन्धि निकायमा जानकारी गराउने तथा खानी र गिट्टी बालुवाको निरीक्षण गरिएको समेत जानकारी गराइयो । यस वर्ष काठमाडौ विश्वविद्यालयमा विश्व युवा सम्मेलन आयोजना समेत गरिएको थियो , जिससको यस वर्ष ७७.४ प्रतिशत वित्तिय प्रगती देखिएको छ ।


    बनेपा नगरपालिकाले आफ्नो वडाहरुमा विपद व्यवस्था समिति गठन गरेका जनाएको छ । नगरभित्रका सामुदायिक विद्यालयमा दिवा खाजामा पाँच रुपैया थप गरेको कार्यक्रममा बताइयो । धुलिखेल नगरपालिकाले विद्यालयमा डिजिटल माध्यमबाट पढाउन सुरु गर्नुका साथै ५७.८ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिइयो ।

    पनौती नगरले भैंसी सुत्केरि भत्तावितरण गरि कृषकलाई प्रोत्साहन गरेको बताएको छ । संरक्षित क्षेत्रलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न पहल लिएको दावि गरिएको छ । नमोबुद्दले पर्यटन सुचना केन्द बनाएको र ११ हजार ६ सय ३३पशुको विमा गरेको तथ्यांक प्रस्तुत गरियो । अस्थाई आबासको रकम पूर्ण रुपमा वितरण गरेको दावि छ ।


    पाँचखाल नगरले १ हजार ५ सय ३१ व्यक्तिगत घटना दर्ता गरेको तथ्यांकले देखाएको छ। ५१ भन्दा बढि सामुदायिक वनमा फलफूल तथा जडिबुटी रोपेर आत्मनिर्भर बन्ने प्रयास गरेको बताएको छ । मण्डनदेउपुर नगरले जापानको एक नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरि शहर उन्मुख बन्ने प्रयास गरेको बताएको छ । विपदमा परेका नागरिकलाई ५० हजार नगद सहयोग गर्नुका साथै नगरले विद्यार्थीहरुको नाक, कान,घाँटीको निशुल्क जाँच सुरु गरेको दावि गरेको छ ।
    महाभारत गाउँ पालिकाले यस आजमा शून्य बेरुजु पालिका हुन सफल भई देशमा उदाहरणीय पालिकाको रुपमा प्रस्तुत भएको बताएको छ । बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्नुका साथै कफि राप्ने १ बोट हातमा २० को नोट अभियान मार्फत कृषकसँग सहकार्य गरिहेको बताएको छ । भुम्लु गाउँ पालिकाले डडेलो मुक्त पालिका घोषणा गरेको छ ।

    स्थानीय उत्पादन कोदो र फापरमा २० देखि ३० रुपैयाँ अनुदान दिएको बताइएको छ । प्रशाकिय भवन निर्माणका लागि जग्गा प्राप्तिको काम अगाडि बढेको बताइएको छ । पाँच पाण्डबको मुर्ति स्थापना गरि एसईईमा प्रथम स्थान हुने विद्यार्थीलाई १–१लाख रकम दिएर प्रोत्साहन गरिरहेको समेत जानकारी दिइयो ।
    बेथानचोक गाउँपालिकाले गत असोज १२–१३ गतेको विपद् डटेर सामना गरेको बताएको छ । यस गाउँपालिकाले ५३.५९ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ ।

    रोशीले ४४ जना कृषकलाई पशुपालनमा अनुदान दिएको थियो । पालिकाको न्यायिक समितिमा दर्ता भएका ९ मुद्दा मध्य ५ मुद्दा मेलमिलाप भइसकेको बताएको छ । खानिखोलाले सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको बताएको छ । चौरीदेउराली गाँउपालिकाले व्यावसायीक खेतिलाई प्राथमिकता दिएको रसामाजिक सुरक्षा भत्ता घर घरमा गएर बाँडने गरेको बताइएको छ ।

    तेमाल गाउँपालिकाले दक्ष जनशक्तिको अभावको बीचमा पनि सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर दिने गरेको जानकारी दिइयो । कार्यक्रममा सांसद गोकुल बास्कोटासहित काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत प्रसाद वाग्े समेत सहभागी थिए ।

  • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    ४ असार, वीरेन्द्रनगर । भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा लिची र आँपका बोट लगाउन थालेका छन् । यस क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूलका रूपमा लिइन्छ । पछिल्लो केही वर्षयता कृषकले मकैखेतीको तुलनामा फलफूलखेती बढी लाभदायक देखेपछि बारीका डिल, छेउछाउ तथा घर आँगनमै लिची र आँपका बिरुवा रोप्न थालेका छन् ।


    गाउँभर अहिले लिची टिप्न किसानलाई भ्याइ–नभ्याइ छ । किसानहरु हरेक दिन भ¥याङ ठड्याएर लिचीका दान चिप्ने चटारो देखिन्छन । रामघाट–११ की रूपा धौलाकोटीले लिची उत्पादनबाट वार्षिक रुपमा लाखौँको आम्दानी गर्दै आएकी छिन् । ४६ वर्षीया धौलाकोटीले करिब चार बिघामा ३० वटा लिचीका बोट र १५० वटा आँपका बोट रोपेकी छिन् । २५ वर्षअघि रोपेका लिची र आँप उहाँको आम्दानीको स्रोत हुन् । ‘‘यसपालि हावाहुरीले आँपमा असर ग¥यो तर लिची राम्रो फल्यो”, उनले बताइन् ।


    उनका अनुसार बोटमै प्रतिकिलो रु एक सयदेखि रु एक सय ५० सम्ममा लिची बिक्री हुने गरेको छ । ग्राहक स्वयं किसानको घरमै आइपुग्ने भएकाले बजार खोज्न जानु नपर्ने उनी बताउँछिन् । “वार्षिक रूपमा लिचीबाट मात्र एक लाखभन्दा बढी आम्दानी हुन्छ”, उनले भनिन्, “यस आम्दानीले घर खर्च धान्न र केही बचत गर्न सकेको छु ।”

    उनले थपिन्, ‘‘बाहिरबाट ल्याइने फलफूलमा विषादीको मात्रा बढी पाइने भएकाले पनि ग्राहकहरु आफैँ बगैँचा मै आउने गर्नुभएको छ, यसले हामी किसानले बजार खोज्न जान पनि परेको छैन र मूल्य पाएका छौँ ।’’ रुपा जस्तै रामघाट–११ का किसान टेकबहादुर धमला अचेल लिची टिप्नमा व्यस्त हुनुहुन्छ । पाँच रोपनी जमिनमा लिची खेती गर्दै आउनुभएका धमलाले यस वर्ष पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको बताए । “यो वर्ष कीरा लागेर लिची उत्पादन अघिल्ला वर्षहरूजस्तो धेरै भएन, तै पनि झण्डै एक लाख जति आम्दानी भयो”, उनले भने ।


    धमलाका अनुसार लिची खेतीले राम्रो आम्दानी दिने देखिएको छ । उनले भने, “पानी, मल र समयमै हेरचाह गर्न सके राम्रो फलेर बजारमा राम्रै मूल्य पाइन्छ । अहिले त लिचीको माग पनि बढ्दो छ ।” रामघाटमा सबै जसो घरघरमा दुई÷चार वटा लिचीका बोटहरू देख्न सकिन्छ । कतिपय किसानले भने लिचीलाई व्यावसायिक रूपमा विस्तार गर्न थालेका छन् । धमलाले थपे, “अहिले गाउँका धेरै किसान लिचीखेती गर्न थालेका छन् । सुरुवाती लगानी धेरै नपर्ने र बजार सहज भएकाले लिची आकर्षक बन्दै गएको हो ।” उनका अनुसार सरकारले मल, प्राविधिक सहयोग र बजार सुनिश्चितता गरिदिए लिचीखेतीमा किसान आकर्षित भएका हुन् ।

    हाल रामघाटका किसानहरू आफ्नै क्षेत्रका बजार, वीरेन्द्रनगर, नेपालगञ्ज र दाङमा लिची बिक्री गर्दै आइरहेका छन् । भेरीगङ्गा नगरपालिका कृषि विकास शाखाका प्रमुख सुरज विसीका अनुसार रामघाटको वडा नम्बर ११ र १३ लिची र आँप उत्पादनका मुख्य केन्द्र हुन् । उनले भने, “रामघाटको वडा नम्बर १२, ७ र ८ मा लिची उत्पादनका लागि वातावरणीय अवस्था उपयुक्त छ । यहाँको हावापानी र जमिनको बनावट फलफूल खेतीका लागि अनुकूल छ ।’’

    रामघाट क्षेत्रमा हाल फलफूलका विभिन्न जात व्यावसायिक रूपमा लगाइएका छन् । आँप २९.९ हेक्टर, सुन्तला ३.१ हेक्टर, केरा १६ हेक्टर, कागती ७.८ हेक्टर र लिची १३.५ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । रामघाट क्षेत्रको झण्डै ८० प्रतिशत भूभाग वडा नम्बर ११ र १३ ले ओगटेको छ । कृषि विकास शाखाका प्रमुख बिसीका अनुसार भेरीगङ्गा नगरपालिकाले किसानहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    उनले भने, “कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा आँप, लिची र कागतीका बोटबिरुवा वितरण गरिने कार्यक्रम यस वर्ष पनि सञ्चालनमा छ । फलफूल बगैँचा सुधार र क्षेत्र विस्तारलाई प्राथमिकता दिएका छौँ ।”

  • लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

    लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

    ४ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो ।

    लेकगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रञ्तिजाले बताए । “घरघरमा निर्माण भएका धारामा पानी आउन थालेको छ, मुहानदेखि ट्याङ्की हुँदै धाराका पूर्वाधार बनाउँदा पानी सुरक्षालाई ध्यान दिइएको छ, घरघरमा खानेपनीको सुविधालाई स्थानीयवासीलाई सहज भएको छ”, अध्यक्ष रञ्तिजाले भने ।


    गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो । मङ्गलबार एक समारोहका बीच नवनिर्मित खानेपानी आयोजनालाई समुदायमा हस्तान्तरण गरिएको छ । गत चैत २९ गतेदेखि निर्माण सुरु भएको यस आयोजना दुई महिनामै निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको गोर्खा वेल्फेयर ट्रष्टका नारच्याङ खानेपानी आयोजना प्रमुख सन्तापसिंह राईले जानकारी दिए ।


    उनका अनुसार खानेपानी आयोजना निर्माणका लागि ट्रष्टको रु ५० लाख ५४ हजार ३०४ र स्थानीयवासीको १० लाख ९२ हजार ८०० बराबरको श्रमदान गरी कूल रु ६१ लाख ४७ हजार एक सय चार लगानी भएको छ । आयोजनाले इन्टेक, कलेक्सन च्याम्बर, बिपिटी, आरबिटी, वितरण च्याम्बरलगायतका पूर्वाधारसँगै मुख्य र वितरण पाइपलाइनमार्फत घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण सुरु गरेको छ ।

    आयोजनाले स्थानीय क्रान्ति आधारभूत विद्यालयमा खानेपानीको धारासँगै अपाङ्गमैत्री शौचालय निर्माण गरिदिएको छ । नेपाल सरकारले लागू गरेको खानेपानी सुरक्षा योजनालाई पूर्णरुपमा पालना गरी मुहानदेखि नै खानेपानी योजनाका पूर्वाधारलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउने प्रयास गरिएको आयोजनाका इञ्जिनियर उत्तमलाल श्रेष्ठले जानकारी दिए ।

    “हामीले खानेपानी आयोजना बनाउने मात्रै होइन, उपभोक्तालाई सुरक्षित र स्वच्छ खानेपानी दिनुपर्छ भन्ने मान्यता अनुरुप पूर्वाधार निर्माणमा गुणस्तरीयता र आयोजनाको सुरक्षालाई ध्यान दिएका छाँै”, उहाँले भन्नुभयो । यस आयोजनाको मूलमा बाढीले असर नगर्ने प्रविधिलाई प्रयोग गरिएको छ भने पानी ट्याङ्कीहरुमा बाहिरबाट कुनै पनि फोहरभित्र पस्न नसक्ने गरी सावधानी अपनाइएको छ ।

    आयोजना निर्माण सुरु भएको दुई महिनाको अवधिमै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि स्थानीयवासीहरू उत्साहित भएका छन् । गाउँको शिरानमा रहेको पानीखाना मूलबाट पानी ल्याएर १० हजार र छ हजार लिटरका दुई वटा पानी सङ्कलन ट्याङ्की निर्माण गरेर घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको आयोजनाका सुपरभाइजर जमूना जिरेलले जानकारी दिए ।

    यस आयोजनामा खानेपानीमा शुद्धता कायम गर्न मूल र पानी ट्याङ्कीहरुको संरक्षण गरिएको छ । योजनाका दिगोपानका लागि स्थानीय उपभोक्तालाई निर्माण कार्यमा परिचालन गर्नुका साथै मर्मत सम्भार तालिम प्रदान गरिएको छ ।

  • रसुवाको दुई स्थानमा तीन जनाको मृत्यु

    रसुवाको दुई स्थानमा तीन जनाको मृत्यु

    ३ असार, रसुवा । रसुवाको दुई स्थानमा तीन जनाको निधन भएको छ । नौकुण्ड गापा वडा नं ५ र कालिका गापा वडा नं ५ को सिमाना पाहाखोलामा दुई बालिकाको शव फेला परेको र कालिका गापा वडा नं १ ग्राङ गाउँमा भर्‍याङले थिची एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

    नौकुण्ड गापा वडा नं ५ सिस्नेरीका लालबहादुर मुक्तानको छोरीद्वय १३ वर्षकी सर्गम मुक्तान र १० वर्षकी सविना मुक्तान खोलामा मृतावस्थामा आज फेला परेको र ग्राङका वर्ष ४३ की चिर्की तामाङ निर्माणाधीन बौद्य गुम्बाको भर्‍याङ भत्किँदा घाइते भई उपचारको क्रममा जिल्ला अस्पताल धुञ्चे लाँदैगर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए ।

    शव परीक्षणका लागि दुई बालिकाको त्रिशूली अस्पताल पठाइएको छ । तीनै जनाको मृत्युका सम्बन्धमा प्रहरीद्वारा अनुसन्धान जारी राखिएको बताइएको छ ।

  • आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    ३ असार, काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । ती प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका हिमपातको सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।