Category: स्थानीय

  • देशैभर फैलियो जेन–नी आन्दोलन, वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी

    देशैभर फैलियो जेन–नी आन्दोलन, वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी

    २३ भदौ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुकी ९ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो । ‘जेनजी’ समूहले आज बेलुका वीरगञ्जको घण्टाघर, माईस्थानलगायत स्थानमा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी गर्न थालेपछि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार बेलुका ९ बजेदेखि मङ्गलबार बिहान ९ः०० बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी भएको जानकारी दिए ।


    स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम महानगर क्षेत्रको पूर्वमा वाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचोक र दक्षिणमा शङ्कराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न नपाइने गरी निषेधाज्ञा आदेश जारी गरिएको उनले बताए । प्रजिअ सुवेदीले वीरगञ्ज आसपासमा प्रदर्शनी र आगजनीका घटना हुन थालेसँगै स्थिति नियन्त्रणका लागि निषेधाज्ञा लगाउनुपरेको बताए ।

    मङ्गलबार स्थितिलाई मध्यनजर गर्दै कफ्र्यूलाई थप बढाउन सकिने बताए । जेनजी समूहले वीरगञ्जमा साँझ टायर बालेर विरोध जनाएका छन् । जेनजी आन्दोलन देशैभरी फैलिएको छ । ठूला शहरहरुमा युवा तथा विद्यार्थीले भ्रष्टाचार नियन्त्रण गर्न र सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन माग राख्दै आन्दोलन थालेका हुन् ।

  • उपत्यकाका अस्पताल भरी आन्दोलनका घाइते, रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    उपत्यकाका अस्पताल भरी आन्दोलनका घाइते, रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    २३ भदौ, काठमाडौं । आज भएको जेन–जी प्रदर्शनका क्रममा घाइतेलाई रगतको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पताललाई जानकारी प्रदान गर्न ‘हटलाइन १११५’ रातभर सञ्चालन गर्ने भएको छ । मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधैँ १११५ मा फोन गरेर रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन् ।

    यसअघि ‘हेल्लो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सञ्चालित यो हटलाइन सेवा दैनिक बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मात्र उपलब्ध थियो । तर, आज भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारमा रगतको कमी हुन नदिन र सहज उपलब्धताका लागि मन्त्रालयले यो सेवालाई रातभर सञ्चालन गर्ने निर्णय गरेको हो ।


    स्वास्थ्य मन्त्रालये घाइते भएकालाई निःशुल्क उपचारको व्यवस्था गर्न सबै सङ्घीय अस्पताललाई सर्कुलरसमेत जारी गरिसकेको छ । अहिले विभिन्न अस्पतालमा ३ सय भन्दा बढी घाइतेको उपचार जारी छ । आन्दोलनका क्रममा १९ जनाको ज्यान गइसकेको छ । यो पछिल्ला वर्षहरुमा सरकारले गरेको सबैभन्दा घातक दमन हो ।

  • बानेश्वरसहित उपत्यकाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी, दिनभर तनावग्रस्त

    बानेश्वरसहित उपत्यकाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी, दिनभर तनावग्रस्त

    २३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाभित्र आज चार किल्ला तोकी कर्फ्यू आदेश जारी गरेको छ । जेनजी पुस्ताका नाममा भएको प्रदर्शन अराजक देखिएपछि तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो ।

    बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यू आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज भदौ २३ गते अपराह्न १२ः३० देखि रातिको १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    उता, काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकाका थप विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले आजै अर्को विज्ञप्तिमार्फत शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्रको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कर्फ्यू आदेश जारी गरिएको जनाएका छन् ।


    त्यस्तै, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म, नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

    प्रशासन कार्यालयले सिंहदरबार क्षेत्रको भद्रकाली मन्दिर (तीनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालयअगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

    प्रशासन कार्यालयले आज २३ गते अपराह्न १ः०० देखि रातिको १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको जनाएको हो । यसअघि प्रशासन कार्यालयले नयाँ बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

  • नेपालमा युवा- विद्यार्थीको आन्दोलन रक्तपातपूर्ण, हालसम्म १९ को मृत्यु–तीन सयभन्दा बढी घाइते

    नेपालमा युवा- विद्यार्थीको आन्दोलन रक्तपातपूर्ण, हालसम्म १९ को मृत्यु–तीन सयभन्दा बढी घाइते

    २३ भदौ, काठमाडौं । आज ‘जेन-जी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ ।

    यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ । यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको र तीन जनाको मृत्यु भइसकेको जानकारी प्रपात् भएको मन्त्रालयले जनाएको छ । आठ जनालाई अन्यत्र रेफर गरिएको छ ।

    यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छभने उपचाररत दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।

    मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ । काठमाडौँ उपत्यबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ ।

  • आश्विन कृष्ण पक्षः आजबाट सुरु भयो सोह्र श्राद्ध

    आश्विन कृष्ण पक्षः आजबाट सुरु भयो सोह्र श्राद्ध

    २३ भदौ, काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।
    आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

    यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् नेपाल बताउँछन् ।

    कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्को भनाइ छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख छ ।

    आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

    सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दुुुुुसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ ।

  • सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ता आज सडक प्रदर्शनमा उत्रँदै

    सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ता आज सडक प्रदर्शनमा उत्रँदै

    २३ भदौ, दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ८ सेप्टेम्बरको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ता आज सडक प्रदर्शनमा उत्रँदैछन् । उनीहरुले आज माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलनको घोषणा गरेका हुन् । सरकारले दिनयता सामाजिक सञ्जाल बन्द गरेको छ । यसको विरोधमा नयाँ पुस्ता सडक आन्दोलनमा आएको हो ।

    जेनजी सोमबार माइतीघर मण्डलामा भेला हुने छन् । टिकटकदेखि सबैतिर अहिले यो ट्रेण्ड चलाइएको छ । नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ देखि सडक आन्दोलनमा जेनजीले आफ्नो सहभागीता बढाएका छन् । उनीहरुको आन्दोलनलाई काठमाडौंका मेयर बालेनदेखि कुलमान घिसिङसम्मले समर्थन गरेका छन् ।

  • मेची खोलामा डुबेर पुरुषको मृत्यु

    मेची खोलामा डुबेर पुरुषको मृत्यु

    २१ भदौ, भद्रपुर । यहाँको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ । आज दिउँसो करिब १२ः२० बजे स्थानीयवासीले खोलामा बग्दै गरेको देखेपछि उद्धार गरी बाहिर निकालेका थिए । तर, उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    प्रनाउ खड्काका अनुसार मृतक झापा कचनकवल गाउँपालिका–६ पैनीटोला निवासी ६२ वर्षीय सोनुलाल मुर्मु हुन् । मुर्मु भारतस्थित छोरीको घर जाने क्रममा मेची खोला तर्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • एमाले सचिवालय बैठकः विधान महाविधेशनको कार्यतालिका स्वीकृत

    एमाले सचिवालय बैठकः विधान महाविधेशनको कार्यतालिका स्वीकृत

    १९ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले दोस्रो विधान महाविधेशनको कार्यतालिका स्वीकृत गरेको छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यलयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजको केन्द्रीय सचिवालय बैठकले भोलिदेखि सुरु हुने पार्टीको महाधिवेशनको कार्यकालिका स्वीकृत गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि महाधिवेशन भोलि नै दस्तावेज प्रस्तुतिकरणमा केन्द्रित हुने निर्णय गरेको छ ।

    बैठकले महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठकले स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्तावेज पनि प्रस्तुत गरिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । नेता थापाले आज पार्टी कार्यालयमा फरक मतको दस्तावेज दर्ता गराएका छन् ।


    उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय महाधिवेशनमा नल्याउन सबैलाई आग्रह गरे । “पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका सदस्यताका सम्बन्धमा कर्ण थापाले फरक मतमा के कुरा ल्याउनहुन्छ त्यो वेग्लै कुरा हो,” उनले भने, “पूर्वराष्ट्रपतिको जुन व्यक्तित्व र योगदानका विषय महाधिवेशको विषय नबनोस भन्ने हाम्रो आग्रह छ ।”

    त्यसैगरी बैठकले केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको एमाले उपमहासचिव ज्ञवालीले बताए । उनले महाधिवेशनको दोस्रो दिन भदौ २१ गते प्रस्तुत गरिएको दस्तावेजको १० वटा समूह बनाई छलफल गर्ने जानकारी दिए । उनका अनुसार भदौ २२ गते समूहबाट आएका सुझावलाई प्रस्तुतिकरण गर्ने र सुझावमाथि प्रतिउत्तर दिने कार्यतालिका छ ।

    यस्तै सोही दिन नै केन्द्रीय निर्वाचन आयोगका निर्वाचन गर्ने र समसामयिक प्रस्तावसहित महाधिवेशनको समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए । बैठकमा सचिवालयका सदस्यले पछिल्लो समसामायिक विषयमा पनि छलफल गरेको जानकारी दिए । “जे विषय महाधिवेशनसँग सम्बन्धित छन्, ती विषयमात्र महाधिवेशनमा छलफल हुनेछन् । जुन विषय केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठकसँग सम्बन्धित रहेका एजेण्डा छन् ति विषयलाई सोही कमिटीमा छलफल गरिने छ,” उनले भने ।


    एमालकोे विधान महाधिवेशन ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुँदैछ । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।

  • प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    १९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बाढीपहिरो, महँगी, भ्रष्टाचार, उखु किसानलगायतका मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अब्दूल खाँनले परनिर्भरता भन्दा पनि देशलाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुन राजनीतिक दल तथा दलका नेताहरुलाई अपिल गरे । उनले भने, “बाह्य देशबाट आयातित वस्तुको कारणले गर्दा नेपाली उत्पादनकर्ता समस्यामा परिरहेका छन्, अहिले केरा उत्पादनकर्ता किसानाले भारतीय बजारबाट आएको केरा बेच्नु परेको छ, त्यसैले सबैभन्दा पहिला हामी आत्मनिर्भर बन्न जरुरी छ ।”

    सांसद अम्मरबहादुर थापाले दैलेख जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण घर भत्किँदा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद अमरबहादुर रायमाझीले भने, “सरकारले असोज १ गतेदेखि अनिवार्य रुपमा लागू गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्बन्धमा आम नागरिकको गुनासो आइरहेको छ, यसको पर्याप्त मात्रामा तयार भएको छैन ।”

    सांसद अर्जुननरसिंह केसीले उखु किसानको भुक्तानी, सरकारी अनुदान कटौती, कम मूल्य, मलखातको अभाव लगायतका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद आस्माकुमारी चौधरीले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या जतिसक्दो चाँडो समाधान गर्नुपर्ने माग गरे । सांसद ईश्वरीदेवी न्यौपानेले सरकारले निजी विद्यालयलाई नियमन गर्नेभन्दा पनि सरकारी विद्यालयको शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।


    सांसदहरु सांसद ईश्वरी घर्ती, उर्मिला माझी, उदयशमशेर जबरा, ईश्वरबहादुर रिजाल, कान्तिका सेजुवाल, एकनाथ ढकाल, कृष्णकुमार श्रेष्ठ, डा अमरेशकुमार सिंह, कुसुमदेवी थापा, गङ्गाप्रसाद यादव, डा चन्द्रकान्त भण्डारी, चन्द्रबहादुर विश्वकर्मा, ज्वालाकुमारी साह, कालुराम राई, अमृतादेवी अग्रहरि, जुलीकुमारी महतो, अमनलाल मोदी र अच्युतप्रसाद मैनालीले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

  • मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

    मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

    १८ भदौ, मुस्ताङ । जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । एउटै कारागार भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको निवास हुँदा विभिन्न खालका समस्या तथा चुनौती देखा पर्ने गरेका छन् ।

    आधा शताब्दीभन्दा धेरै पुरानो यहाँको कारागार भवन ढुङ्गा र माटोले बनेको छ । भवनको छत यहाँको सक्खर माटो बिच्छ्याएको छ । एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको आवास स्थान रहेकाले त्यहाँका सुरक्षाकर्मीलाई निकै समस्या पर्ने गरेको पाइएको छ । विसं २०३७ मा स्थापना भएको मुस्ताङ कारागार भवनको आवश्यक भौतिक संरचना निर्माण नहुँदा त्यहाँ बस्ने कैदीबन्दी र सुरक्षाकर्मीले सास्ती भोग्न बाध्य छन् ।

    हाल कारगार भवनमा पानी चुहिन थालेपछि जस्ताले छाइएको छ । त्यही कारागार भवनमा सुरक्षाकर्मी मात्रै होइन त्यहाँका प्रशासनिक कर्मचारीसमेत बस्ने गरेका छन् । धेरै पहिला बनेको ढुङ्गा र माटोले निर्मित कारागारको जीर्ण भवन स्तरोन्नति नहुँदा कैदीबन्दी, सुरक्षाकर्मी र त्यहाँका काम गर्ने कर्मचारीलाई समस्या पर्ने गरेको छ । पछिल्लो समय मुस्ताङमा समेत वर्षा हुने क्रम बढेकाले त्यहाँको कारागार भवन पछिल्लो समय असुरक्षित महसुस गरिएको बताइएको छ ।

    कारागारमा आठ कर्मचारीको दरबन्दी छ । यहाँ एक जना कारागार प्रशासक, एक जना सहलेखापाल, एक स्वास्थ्यकर्मी, एक खरिदार, एक जना सहायक कम्प्युटर अपरेटर र तीन कार्यालय सहयोगीको दरबन्दी छ । यहाँका कुल दरबन्दीमध्ये कारागार प्रशासक, स्वास्थ्यकर्मी, खरिदार र एक कार्यालय सहयोगीको पद रिक्त छ । यहाँ कार्यरत सहायक कम्प्युटर अपरेटरको पनि सरुवा भइसकेकाले सो पद पनि रिक्त हुँदैछ । यहाँको कारागारमा कारागार व्यवस्थापन विभागले दरबन्दीअनुसार प्रशासनिक कर्मचारी पदपूर्ति गर्न नसक्दा कारागार व्यवस्थापनमा समस्या भइरहेको छ ।

    यसैगरी कारागारमा एक प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा ११ सुरक्षाकर्मी खटाइएको छ । यहाँको कारागारमा कूल कैदीबन्दीको क्षमता १५ जनाको रहेको छ । हाल यस कारागारमा २२ वर्षदेखि ६८ वर्ष उमेर समूहका १२ कैदीबन्दी रहेको कारागारका निमित्त प्रशासक युवराज तिमिल्सिनाले जानकारी दिए ।

    कारागार निमित्त प्रमुख तिमिल्सिनाका अनुसार कारागारमा सुरक्षाकर्मीको बेग्लै आवास भवन नरहेको, कारागारमा चाहिने सवारीसाधन नभएको, खानेपानीको समस्या रहेको, कारागारको पर्खाल मजबुत नभएको, कारागारमा पानी चुहिने समस्या रहेको र कैदीबन्दीलाई स्वास्थ्योपचार तथा अदालतमा म्याद थप गर्न लैजाँदा समस्या पर्ने गरेको छ ।

  • विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

    विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

    १८ भदौ, त्रिशूली । तादी गाउँपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ । खोलाले बगाएर अन्य तीन जना विद्यार्थी घाइते भएका छन् । विद्यालय छुट्टीपश्चात् आज अपराह्न ४ बजे घर फर्कने क्रममा चिलाउने खोलाले बगाउँदा बालकक्षामा अध्ययनरत स्थानीय रामबहादुर तामाङका चार वर्षीया छोरी शशिकला तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।

    उनका अनुसार खोलाको कल्भर्ट पार गर्न हात समाएर चार जना विद्यार्थीहरू तर्ने क्रममा शशिकलालाई खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो । खोलाले बगाएर उनलाई करिब १०० मिटर तल पुर्‍याएको तादी–२ का अध्यक्ष बच्चुराम तामाङले जानकारी दिए । उनीसँगै खोला तर्ने क्रममा बाढीले बगाएका अन्य दुई जना बालिका र एक जना बालक खोलाको किनारतर्फ पुगेकाले घाइते भएका छन् । घाइते हुनेमा जोयस तामाङ, ज्योति तामाङ र सुस्मा तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरूको अहिले खरानीटार अस्पतालमा उपचार भइरहेको छ ।

  • पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर

    पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर

    १८ भदौ, काठमाडौं । काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रो बसले आज सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको छ । ठक्करबाट घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । ठक्करबाट नौ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१ की ५ वर्षीय आशिका राई घाइते भएकामा विवेक तामाङको अवस्था गम्भीर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनले भने, “आज पद्मोदय मोडबाट कमलादीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको थियो । त्यसमध्येका विवेक तामाङको अवस्था गम्भीर छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।” आशिकाको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको र माइक्रो चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

    दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

    १८ भदौ, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो ।

    गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । निजलाई उपचारार्थ पोखरा पठाइएको छ ।

  • हिले–जलजलेमा कृत्रिम ताल निर्माण

    हिले–जलजलेमा कृत्रिम ताल निर्माण

    १८ भदौ, धुलिखेल । यहाँको हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिएको छ । बनेपा नगरपालिका–२ घिमिरेगाउँ नजिकैको थुम्कीखोला र ओख्रेखोलाको सङ्गमस्थलमा बहुउद्देश्यीय पर्यटकीय कृत्रिम ताल निर्माण गरिएको हो । सोही स्थानमा अब उद्यान निर्माण गरिने र तालमा डुङ्गा सञ्चालन गर्ने योजना बनाइएको छ । घिमिरेगाउँका स्थानीय बासिन्दा केशवप्रसाद घिमिरेले ताल निर्माणसँगै सो स्थान पर्यटकीय गन्तव्य बनेको बताए । “पर्यटकीय क्षेत्र बनेपछि टाढाटाढाबाट मानिस आउँछन्, त्यसरी आउनेले यहीँका उत्पादन सागसब्जी र फलफूल बिक्री गरेर आम्दानी लिने बाटो खुल्छ भन्ने आशामा गाउँले छौँ”, उनले भने, “सुरुआती अवस्थाले उत्साह थपिएको छ, उद्देश्य नै बहुउद्देश्यीय पर्यटकीय ताल भएकाले सुविधायुक्त बन्नेमा विश्वस्त छु ।”

    सोही ठाउँका अर्का स्थानीय बासिन्दा कृष्णप्रसाद दाहालले पर्यटकीय ताल बनेसँगै यहाँबाट बगेको पानीले तलतिर रहेको पाखो खेतबारी सिञ्चित भई उत्पादन वृद्धि हुने आशामा रहेको बताए । हिले जलजले पर्यटकीय ताल संरक्षण समितिका संयोजक गोपाल घिमिरेका अनुसार सुरुआती चरणमा ताल निर्माणका लागि बाँधको संरचना निर्माण गरी पानी जमाउने काम भएको छ । बाँध निर्माणसँगै बाँधस्थलमा घेराबार गर्ने र मानिस हिँडडुल गर्न स्टिलको रेलिङ निर्माण गरिएको छ ।

    बागमती प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पूर्वाधार निर्माणको जिम्मा पाएको विजय\लोटस\तेजस्वी जेभीले २०८० साल मङ्सिरदेखि काम थालनी गरी हाल अन्तिम चरणमा पु¥याएको छ । पहिलो चरणमा बाँध निर्माणका लागि निर्माण कम्पनीले रु पाँच करोड ८७ लाख लागतमा काम सम्पन्न गरेको हो । विस्तृत परियोजना प्रतिवेदनअनुसार सो तालमा डुङ्गा सञ्चालन गर्ने र आसपासका क्षेत्रमा पर्यटकका लागि मनोरञ्जन गर्ने उद्यान निर्माण गर्ने योजना छ । विस्तृत परियोजना प्रतिवेदनअनुसार करिब रु १७ करोड लागतमा यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिने उल्लेख छ ।

  • श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ

    श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ

    १८ भदौ, अर्घाखाँची । यहाँका एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा मंगलबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार निजले एक साताअघि ३४ वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठमा नै शव गाडेका थिए ।

    छोरी हराइएको जाहेरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा भान्सामा सडेको शव फेला परेको हो । घरायसी विवाद बढेपछि आवेशमा आफूले हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन् । अभियुक्त प्युठानको नौबहिनी गाउँपालिका– १ स्थायी बासिन्दा हुन् ।

  • बाढीमा बगेर दुई युवकको मृत्यु

    बाढीमा बगेर दुई युवकको मृत्यु

    १८ भदौ, रसुवा । दुई दिनअघि सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव आज फेला परेको छ । प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका– ६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो । गत आइतबार मोटरसाइकलमा घरतर्फ गइरहेका उनीहरू घर नपुगेपछि खोजी थालिएको थियो । शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भेटिएको छैन । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • एमालेले सचिवालय बैठक बोलायो

    एमालेले सचिवालय बैठक बोलायो

    १८ भदौ, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते (बिहीबार) अपराह्न ३ः०० बजे सचिवालय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । उनले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिने बताए ।


    महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् । एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ । एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुँदैछन् ।

  • रतुवाको मासुसहित पक्राउ

    रतुवाको मासुसहित पक्राउ

    १७ भदौ, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–२ पूर्णागिरि टोलका अन्ताजी ५६ वर्षीय राजेन्द्र सिंह भाटलाई आज प्रहरीले रतुवाको मासुसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार भाटलाई सोही नगरपालिका–३ शान्ति टोलबाट गोप्य सूचनाका आधारमा रतुवाको मासुसहित पक्राउ गरिएको छ । बरामद रतुवाको मासुसहित भाटलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जिम्मा लगाइएको छ । निकुञ्जले भाटमाथि आवश्यक कारबाही प्रक्रियासँगै थप अनुसन्धानको कार्य अगाडि बढाएको छ ।

  • लहानमा आमा र छोरा मृत फेला

    लहानमा आमा र छोरा मृत फेला

    १७ भदौ, सिरहा । यहाँको लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा घरमै मृत अवस्थामा फेला परेका छन् । लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान मृत फेला परेका हुन् । रञ्जितासँगै रहेका नौ महिनाका अर्का छोरा भने अचेत अवस्थामा भेटिएको र उपचारका लागि प्रादेशिक अस्पताल, लहानमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार प्रारम्भिक अनुसन्धानबाट रञ्जिताले आफ्ना दुई छोरालाई विष सेवन गराई आफूले आत्महत्या गरेको आशङ्का छ । उनले भने, “शवको अवस्था हेर्दा विष सेवनपछि रञ्जिताले आत्महत्या गरेजस्तो देखिन्छ । यद्यपि, थप अनुसन्धान र परीक्षणपछि मात्रै घटनाको यथार्थ स्पष्ट हुनेछ ।”

    स्थानीय बासिन्दाका अनुसार केही दिनदेखि उक्त घरमा चहलपहल नदेखिएपछि खुला रहेको झ्यालबाट भित्र हेर्दा रञ्जिता झुन्डिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । मृतक रञ्जिताको श्रीमान् प्रवीण चौधरी भने पछिल्ला तीन\चार दिनदेखि डेरामा नदेखिएका स्थानीयको भनाइ छ । उनी हालसम्म पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

    लहान–१२ का वडाध्यक्ष बद्रीनारायण चौधरीका अनुसार प्रवीण र रञ्जिता विगत दुई वर्षदेखि लहान बजारमा डेरामा बस्दै आएका थिए । प्रवीणले दैनिक मजदुरी गर्दै आएका थिए । शवबाट दुर्गन्ध आउन थालेकाले घटना केही दिनअघि घटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

  • कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

    कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

    १७ भदौ, गलकोट । नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियमविपरीत सङ्कलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको हो । जिल्ला समन्वय समितिको सक्रियतामा बागलुङ नगरपालिकाभित्र अवैध रूपमा कालीगण्डकी दोहन गरेर सङ्कलन गरिएको बालुवा जफत गरेर रु १५ लाख राजस्व राजस्व सङ्कलन गरिएको छ । दोहन भइरहेको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ र बागलुङ नगरपालिकास्थित भाटेखोला बगरबाट सङ्कलन गरिएको चार हजार ९७२ घनमिटर बालुवा जफत गरेर राजस्व सङ्कलनका लागि नगर कार्यालय पठाइएको थियो ।

    बागलुङ नगरपालिकाले भाटेखोला बगर, दब्ल्याङ बगरलगायत बगरबाट अवैध रूपमा उत्खनन गरी बालुवा सङ्कलन गर्ने विभिन्न व्यक्तिलाई कारबाही गरी रु १५ लाख राजस्व सङ्कलन गरिएको नगरपालिकाका राजस्व शाखा प्रमुख सरस्वती रेग्मीले जानकारी दिइन् । उनका अनुसार नगरले जरिवानास्वरुप विभिन्न क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेलाई कारबाही गरेको हो ।

    गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भए पनि रातिको समयमा दोहन गरी नदी छेउमा राखिएको सामग्री जफत गरी राजस्व सङ्कलन गरिएको रेग्मीको भनाइ छ । नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले अनुगमन गरेर नगरपालिकालाई कारबाहीका लागि पठाएको हो । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छली अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुवाको परिणाम मूल्याङ्कन गरी बागलुङ नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिइरहेको बताए ।


    “अहिले कालीगण्डकीबाट बालुवा निकाल्न पाइँदैन, ठेक्का लगाएपछि मात्रै मापदण्डअनुसार निकाल्न मिल्छ । तर मध्यरातमा दोहन भइरहेको छ, हामीले दोहन भएर बिक्रीका लागि राखिएको बालुवाको परिणामका आधारमा जरिवाना गर्न थालेका छौँ, यो अभियान बागलुङ नगरपालिकामा मात्र सीमित नभई जिल्लाभर चलाइनेछ, स्थानीय तहले राजस्व गुमाउने र नदीजन्य पदार्थको दोहन भइरहने परिपाटीको अन्त्य हुन आवश्यक छ”, प्रमुख थापाले भने ।

  • जिल्ला प्रशासन कार्यालय बैतडीले किन भन्यो ‘उच्च सतर्कता अपनाउनु’ ?

    जिल्ला प्रशासन कार्यालय बैतडीले किन भन्यो ‘उच्च सतर्कता अपनाउनु’ ?

    १७ भदौ, बैतडी । लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आकस्मिक अवस्थाबाहेक यात्रामा नगर्न र जोखिम भएका स्थानमा नबस्न जिल्लावासीलाई आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनले भने, “अविरल रूपमा वर्षा भइरहेको छ । यस्तो अवस्थामा यात्रा नगर्न र विपद्जन्य घटना भएको अवस्थामा तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा रहन जिम्मेवार निकाय तथा सरोकारवाला सबैलाई भनेका छौँ ।”

    मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, अत्यावश्यकबाहेक यात्रा नगर्न, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई आग्रह गरिएको छ । यसका साथै बाढीपहिरोको जोखिम हुनसक्ने भएकाले रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक पनि लगाइएको छ ।

    विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र यात्रा नगर्न अनुरोध गरिएको प्रजिअ पौडेलले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले पनि अविरल वर्षाका कारणले बाढीपहिरो आई बाटोघाटो अवरुद्ध हुनसक्ने भएकाले बाहिर निस्कँदा र लामो तथा छोटो दूरीका सवारीसाधन चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ ।

    बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले विपद्बाट बच्नका लागि सावधानी अपनाउन र आआफ्नो गाउँघर छरछिमेकीमा बाढीपहिरोसम्बन्धी क्षति हुन वा सक्ने सम्भावित क्षेत्रबारे नजिकको प्रहरी एकाइमा जानकारी दिन अनुरोध गरे । यसका साथै महाकाली नदीको सतह बढेकाले नजिकका बस्तीमा जोखिम बढी हुने भएको हुँदा सुरक्षा सावधानी अपनाउन पनि आग्रह गरिएको छ । गत तीन दिनदेखिको लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

  • गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

    गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

    १७ भदौ, गोरखा । काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले राससलाई जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    १६ भदौ, ढोरपाटन ।कालापैराखोलामा आएको भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो । आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो ।

    रातिदेखि अवरुद्ध लोकमार्ग खुलाउन नसकिएको निसीखोला गाउँपालिका–४ का वडा अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए । लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौँ, पोखरा जाने सवारी साधन कालापैरामा ठप्प भएका छन् । बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा यातायातका साधान कानाबगरमा रोकिएको अध्यक्ष पौडेलको भनाइ छ ।

    सडक खुलाउन निरन्तर प्रयास भइरहेको उनको भनाइ छ । निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्ने गर्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको अध्यक्ष पौडेलले बताउँछन् । वर्षा हुने वित्तिकै माथिदेखि लेदो झरेर सडकमा थुप्रिँदा यातायात सञ्चालनमा कठिनाइ भएको पौडेलले बताए ।

    अध्यक्ष पौडेलले भने, ‘यसपाली ठूलो बाढी आयो, त्यसले गर्दा सवारी साधन आवागमन ठप्प भएका छन्, लोकमार्गमा काम गर्ने मेसिन मगाएर खुलाउने प्रयास गरेका छौँ, एकतर्फी भए पनि खुलाएर यात्रुलाई गन्तव्यमा पठाउनुपर्छ भनेर लागेका छौँ, सबै सडक सफा गर्न त धेरै समय लाग्छ, सडक त पूरै बगरमा परिणत भएको छ ।”

  • काठमाडौंको चन्द्रागिरि–१ ‘बाल श्रममुक्त वडा’ घोषणा

    काठमाडौंको चन्द्रागिरि–१ ‘बाल श्रममुक्त वडा’ घोषणा

    १६ भदौ, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बाल श्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । यस क्रममा आइतबार चन्द्रागिरि–१ लाई बाल श्रममुक्त घोषणा गरियो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि–१ का वडाध्यक्ष हरिश्याम रानामगरलाई ‘बाल श्रममुुक्त वडा घोषणा’ प्रमाणपत्र हन्तान्तरणसँगै चन्द्रागिरि–१ लाई बाल श्रममुक्त वडा घोषणा गरिएको थियो ।

    हालसम्म नगरका १५ वडामध्ये विभिन्न १४ वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा भइसकेका छन् । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बाल श्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित नगरका वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गरिएका हुन् । नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७५ को लक्ष्यअनुसार बाल श्रम निवारणको लागि बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अवलम्बन गरेको छ । साथै नगरपालिकाले बाल श्रम निवारणसम्बन्धी कार्ययोजना बनाइ बाल श्रममुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि नगर प्रमुख गिरीले आइतबार आयोजित कार्यक्रममा चन्द्रागिरि–१ लाई ‘बाल श्रममुक्त वडा घोषणा’ गर्दै बाल श्रम निवारणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको जानकारी दिए । उनले घोषणा पछिको दिगोपनमा काम गर्न आग्रह गरे ।

    बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बाल श्रममुक्त बनाउँदै लगिएको उनले जानकारी दिए । उनका अनुसार चालु आवमा नगरका सबै वडा बाल श्रममुक्त वडा घोषणा भइसक्ने छन् । यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने जनाएको छ । सो अवसरमा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, जनप्रतिनिधिलगायत विभिन्न नगरपालिकाका विषयगत शाखाका प्रमुख, विभिन्न बाल क्लब, विद्यालयका छात्रछात्रा एवं स्थानीयवासीको सहभागिता थियो ।

    बाल श्रममुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ । अन्तरराष्ट्रिय श्रम सङ्गठनका (आइएलओ) को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बाल श्रममा संलग्न छन् । १३ वर्ष उमेर समूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालकभन्दा बालिका श्रममा बढी रहेको जनाइएको छ । १४ प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेका हुन्छ ।

  • कोशी ब्यारेजको ३१ ढोका खोलियो

    कोशी ब्यारेजको ३१ ढोका खोलियो

    १६ भदौ, धरान । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो ।

    प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन् । कोशी ब्यारेमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको प्रहरी प्रवक्ता खतिवडाले बताए ।

  • सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

    सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

    १५ भदौ, सिरहा । सिरहमा दुई छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दुई जनाको मृत्यु भएको हो भने आज एक महिला घाइते भएकी हुन् । यहाँको सिरहा नगरपालिका–४ रमौलमा बसोबास गर्ने इद महमदका १५ वर्षीय छोरा मो अम्माद र लहान नगरपालिका–१९ कटहाका ४० वर्षीय कमकलाल सदायको शनिबार करेन्ट लागेर मृत्यु भएको हो । इनारबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेपछि गम्भीर घाइते भएका अम्मादको उपचारका क्रममा प्रादेशिक अस्पताल सिरहामा निधन भएको हो ।

    सिरहा–४ रमौलमा आज सदरे आलमकी ३० वर्षीया श्रीमती अफ्रोजा खातुन पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएका छन् । हाल उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । यस्तै, सदाय पनि आफ्नो घरमा सिटी रिक्सा ‘चार्ज’ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनका स्थानीय अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार, हाल सबै घटनाबारे अनुसन्धान भइरहेको छ । विद्युत् प्रयोगमा सावधानी नअपनाउँदा यस्ता घटनाको सङ्ख्या बढ्दै गइरहेकाले सतर्कता अपनाउन उनले आग्रह गरे ।

  • प्रा डा केसीद्वारा सत्याग्रह सुरु

    प्रा डा केसीद्वारा सत्याग्रह सुरु

    १५ भदौ, सुदूरपश्चिम । प्राध्यापक डा गोविन्द केसीले आज कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा सत्याग्रह सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका उनले आज पत्रकार सम्मेलन गर्दै तीनदिने २३औँ सत्याग्रह सुरु गरेको घोषणा गरे । डा केसीले सरकारले गलत ढङ्गले निजी मेडिकल कलेजलाई विद्यार्थी सङ्ख्या वृद्धि गर्न गरेको निर्णय तुरन्त फिर्ता लिन र शुल्क वृद्धि नगर्न माग गर्दै सत्याग्रह सुरु गरेको बताए ।


    यसैगरी, विगतमा भएको सम्झौताअनुसार इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना तथा गेटा मेडिकल विश्वविद्यालयमा तत्काल पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न उनको माग छ ।

    यस्तै, एकीकृत स्वास्थ्य शिक्षा र विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्न, ऐनअनुसार मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन र सरकारी अस्पताललगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गरी सेवा प्रवाह गर्नेलगायत यसअघिका सम्झौता कार्यान्वयन गर्न डा केसीले आग्रह गरे । चिकित्सा शिक्षाको सुधारको माग गर्दै विगतमा पनि उनी पटकपटक अनशन बसेका छन् ।

  • रास्वपाबाट रुपन्देही–३ को उम्मेदवार लेखजङ्ग थापा

    रास्वपाबाट रुपन्देही–३ को उम्मेदवार लेखजङ्ग थापा

    १५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा लेखजङ्ग थापालाई उम्मेदवार बनाउने भएको छ । रास्वपा केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टीको तर्फबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उम्मेदवार छनोटका लागि पार्टीमा भएको प्रारम्भिक निर्वाचनअनुसार प्रस्तावित उम्मेदवार थापालाई चयन गरिएको जानकारी दिए । यसअघि आज नौ जना उम्मेदवारले पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा गएर भेट गरेका प्रवक्ता मनिष झाले जानकारी दिए ।

  • मोटरसाइकल एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    मोटरसाइकल एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    १५ भदौ, बारा । यहाँ मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

    आज दिउँसो जितपुरसिमरा उपमहानगरपालिका–२ पानीट्याङ्की नजिकै सिमरादेखि पथलैयातर्फ जाँदै गरेको बा ९०प ६७९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र०६–००३ प१७५३ नंको मोटरसाइकल एकापसमा ठोकिएका थिए ।

    बा९०प ६७९४ नंको मोटरसाइकलमा चालक चौधरी र त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी सवार थिए । भूपेन्द्र घाइते भएकामा उनको स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ । पण्डितको एल एस न्यूरो अस्पताल परवानिपुरमा र चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।

  • सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

    सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

    १५ भदौ, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताए ।

    बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन् । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् ।

    गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन् । बर्तालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।

    महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।

    यसैबीच गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ । सरकारले आइतबार भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते सोमबार गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।