Category: स्थानीय

  • परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

    परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

    ३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न सबै नेपालीको साझा कर्तव्य भएको बताए ।


    उनले भर्खरैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गर्दै अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायलाई आह्वान गरे । यही भदौ २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माओवादीको माग छ ।

    अध्यक्ष दाहालले भने, “मलाई विश्वास छ, जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर हो, त्यति हुँदाहुँदै पनि २३ र २४ भदौका आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन । भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो ।”

  • दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते

    दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते

    २ असोज, इनरुवा । यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छभने २२ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

    सो दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । एक जनाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको थियो भने एक जनाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको उनले बताए । घाइतेहरुको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचार भइरहेको प्रनाउ खतिवडाले जानकारी दिए ।

  • प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

    प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

    २ असोज, भोजपुर । भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा दिँदै आएका छन् । प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीका लागि कक्षा ९ बाट कक्षा १२ सम्म यो शिक्षा लिने व्यवस्था गरिएको छ ।

    यहाँका पञ्चकन्या मावि च्याङ्ग्रे, यशोधरा मावि टक्सार, पञ्चकन्या मावि भुल्ने, सिद्धेश्वर मावि दावालगायत अधिकांश विद्यालयले प्राविधिक शिक्षा दिँदै आएका छन् । यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले शिक्षालाई व्यावहारिक र समय सुहाउँदो बनाउन प्रविधिमैत्री अभ्यासमूलक शिक्षणमा जोड दिँदै आएको बताए । यसले हरेक विद्यार्थीलाई स्वरोजगार बन्न सहयोग पुग्ने बताए ।


    राज्यको नीतिअनुसार नै जिल्लाका अधिकांश माध्यमिक तहका सामुदायिक विद्यालयले व्यावहारिक शिक्षामा जोड दिएको प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए । “सामुदायिक विद्यालयले प्राविधिकसँगै व्यावहारिक शिक्षामा जोड दिँदै आएका छौँ”, उनले भने, “समयको आवश्यकताअनुसार प्राविधिक शिक्षामा जोड दिनु अपरिहार्य छ । यस्तो शिक्षाले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नेछ ।”

    पञ्चकन्या माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकराज भट्टराईले शिक्षालाई पराम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन प्रविधिमैत्री शिक्षामा जोड दिइएको बताए । बिस्तारै विद्यार्थीहरूमा प्रविधिक शिक्षाप्रति आकर्षण बढेको छ । केही समयअघि सार्वजनिक कक्षा १२ को नजितामा परीक्षामा सामेल भएका ६० विद्यार्थीमध्ये ४९ जना प्राविधिकधार र ११ जना साधारणधारतर्फका उत्तीर्ण भएको भट्टराईले बताए ।

    विद्यार्थीलाई अभ्यासका लागि विद्यालय परिसर तथा ‘लिज’मा जग्गा लिएर विभिन्न तरकारीखेती गरिएको छ । विद्याथीले अकबरे खुर्सानी, च्याउ, टमाटरखेती, आधुनिक तरिकाबाट धान, मकैखेती, माछापालन, काउली, एभोकाडो खेतीसँगै अन्य कृषिका विषयमा अभ्यासमार्फत ज्ञान लिँदै आएका छन् ।

  • राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

    राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

    १ असोज, काठमाडौ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।
    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।

    जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

  • जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    ३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्‍याएका थिए ।

    आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो । सोही अनुसार, आज उनीहरूको सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ६ जनाको शव भने नेपाली सेनाले सम्बन्धित जिल्लामा लगेको छ ।

  • जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव जिल्लामा पुर्‍याइयो

    जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव जिल्लामा पुर्‍याइयो

    ३१ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्‍याइएको छ । यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गर्दै प्रदर्शनमा मृत्यु भएका व्यक्तिको शव घर ठेगानासम्म सरकारले पुर्‍याइदिने निर्णय गरेका थिए । प्रदर्शनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

  • आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए प्रचण्ड, पार्टी कार्यालय सरसफाइ

    आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए प्रचण्ड, पार्टी कार्यालय सरसफाइ

    ३१ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको नेपाल कम्युनिष्ट माओवादी (माओवादी केन्द्र)को पार्टी कार्यालय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागितामा सरसफाइ गरिएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको तीन तलामा छरपस्ट अवस्थामा रहेका फोहरलगायतका सामग्री एक ठाउँमा केन्द्रित गरिएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

    त्यसअघि अध्यक्ष दाहालले क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन गरेका थिए । आगजनीबाट पार्टी कार्यालयमा रहेका फर्निचर, कम्प्युटरलगायत करिब रु एक करोड ३० लाख बराबरको सामग्री नष्ट भएको माओवादी केन्द्रले जनाएको छ । यही सोमबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि पार्टी कार्यालयको सरसफाइमा जुटेका थिए । भ्रष्टाचार नियन्त्रणलगायत सुशासनका पक्षमा भएको जेनजी प्रदर्शनका क्रममा माओवादी पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।

  • असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

    असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

    ३१ भदौ, काभ्रे । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।

    कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो । मनसुनमा बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्गअन्तर्गत प्रथान बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो ।

    यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो । कार्यालयले पटकपटक सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाउँदै सतर्कता अपनाउन सार्वजनिक आह्वान गर्दै आइएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो ।

    मनसुनको समयमा बिपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिम देखिएकाले राति निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । आगामी असोज १ गतेदेखि पूर्ण रूपमा राजमार्ग खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । उनका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यसअघि यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिएको थियो ।

    यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म तथा साउन महिनाभर साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो ।

    गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा बढीले क्षति पुर्‍याएको थियो ।
    कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन् । रासस

  • मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

    मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

    ३१ भदौ, काठमाडौं । नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

    उनले आज जारी गरेको सूचनामा भनिएको छ, “यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रु १० लाख उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोध छ ।”

  • जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

    जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

    ३१ भदौ, काठमाडौं । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
    नवगठित मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले सहादत प्राप्त गर्नेलाई राष्ट्रिय सम्मानसहित राष्ट्रिय झण्डा ओढाउने र अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।


    यसैगरी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिको सम्मानमा आगामी असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय भएको छ । सरकारले सहिदका परिवारलाई क्षतिपूर्तिबापत नियमित दिँदै आएको रु १० लाख र अन्य खर्चबापत थप रु पाँच लाख थप गरी रु १५ लाख सहयोग गर्ने निर्णय गरेको उनले बताए । उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई उपलब्ध गराउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारलाई प्रदान गरिने छ ।

    बैठकले घाइतेको निःशुल्क उपचार, शव सम्बन्धित स्थानमा लैजानुपरेमा निःशुल्क व्यवस्था र दाहसंस्कारमा सघाउने निर्णय गरेको छ । बैठकले आन्दोलनका क्रममा भएको जनधनको क्षति र ज्यादतीको छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिए । सोही आयोगको प्रतिवेदनका आधारमा आवश्यक काम गरिने उनको भनाइ छ ।

    यसैगरी सहादत प्राप्त गर्ने सहिदको स्मरणमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय भएको छ । बैठकले अघिल्लो मन्त्रिपरिषद् बैठकमा पेस भएका तर निर्णय नभएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णयसमेत गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।

  • ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

    ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

    ३० भदौ, फुङ्लिङ । विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरुमा रेडपाण्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चका कार्याक्रम संयोजक रमेश राईले बता्रए ।

    मञ्चका अनुसार यही भदौ १८ गतेदेखि २९ गतेसम्म फुङ्लिङ, फक्ताङलुङ, सिरिजङ्घा र पाथीभरा याङवरक गाउँपालिकासहितका विद्यालयमा कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र आर्ट प्रतियोगिता आयोजना गरिएको थियो । ताप्लेजुङका दश वटा विद्यालमा रेडपाण्डा इकोक्लब सञ्चलनमा छन् । क्लबको सक्रियतामा रेडपाण्डा संरक्षण र महत्वका विषयमा विभिन्न कार्याक्रमको आयोजना गरिएको हिमाली संरक्षणमञ्च संस्थाका सचिव विवश केदेमले बताए ।

    हिमाली संरक्षण मञ्चका अनुसार, विद्यार्थीलाई रेडपाण्डा संरक्षणप्रति सचेत बनाउने उद्देश्यले विभिन्न प्रतिस्पर्धामूलक कार्यक्रम आयोजना गरिएको हो । जिल्लामा लामो समयदेखि रेडपाण्डा संरक्षणका कार्यक्रम सञ्चालन भएसँगै रेडपाण्डाको सङ्ख्यासमेत वृद्धि आएको हिमाली संरक्षण मञ्चले जनाएको छ । जिल्लामा करिब ७७ देखि एक सय ३४ रेडपाण्डा छन् ।

  • इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    सिबी अधिकारी/रासस

    ३० भदौ, काठमाडौं । जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गर्नुभएका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देर्खिए । तर पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि उभिनेमा उनी उत्तिकै आशावादी छन् । रसिलो आँखा पार्दै उनले भने, “यो सबै दृश्य मेरा आँखाले राम्रोसँग हेर्न पनि सकेका छैनन्, स्वाभाविक रुपमा भावुक छु, तर निराशासँगै आशा र विश्वास ढलेको छैन । पक्कै फेरि पनि सिंहदरबार उभिनेछ भन्नेमा म विश्वस्त छु ।”

    सिंहदरबार आगजनी र तोडफोडले कुरुप बनेको छ । भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहेझैँ लाग्छ । धुवाँधुवाँ बनेका सिंहदरबारको भित्ताहरुका कला कौशलले पुनःनिर्माण पर्खिरहेका छन् । आकर्षक शिल्पी र कला धुँवाको पोतोले लतपतिएका छन् । सिंहदरबारको तस्बिर कैद गरिरहनुभएकी कानुन व्यवसायी देवमाया घिमिरेले भने, “सिंहदरबार जलेको दृश्यले मन जलायो । हृदय भारी भयो । भवनको तस्बिर कैद गर्दा आफैँलाई बिझेजस्तो भयो । यो सबै दृश्य शब्दमा विश्लेषण गर्न सकिँदैन ।”

    अर्का कानुन व्यवसायी सुमित्रा श्रेष्ठलाई सिंहदरबार र यस्ता सार्वजनिक सम्पत्ति नजलाइदिए हुन्थ्यो भन्ने लागेको छ । सायद सिंदरबार पुग्ने जो कोहीका अनुहार मलिन देखिन्छन् । कैयौँका आँखा रसाएको हुनुपर्छ । जलेको सिंहदरबार आइतबार मध्यान्ह नियाल्दै गर्दा पंक्तिकारको मनमा पनि वेदना र खुल्दुली पोखियो । अधिकांशले मोबाइल र क्यामेराले सिंहदरबारको तस्बिर र भिडियो कैद गरिरहेका थिए । तस्बिर कैद गर्दा अधिकांशमा मौनता देखिन्थ्यो ।

    आइतबार प्रशासनिक कार्य खुलेपछि सिंहदरबारमा चहलपहल थियो । बाक्लो सङ्ख्यामा कर्मचारी एवं अन्य व्यक्तिहरु सिंहदरबार अवलोकन गरिरहेका थिए । सिंहदरबार नेपालको प्रशासनिक इतिहासको पछिल्लो भौतिक प्रमाण पनि हो । प्राध्यापक बस्याललाई इतिहास जल्दा पहिचान हराउँछकी भन्ने चिन्ता छ । उनी भन्छन्, “सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण थियो । पटकपटक आक्रमणमा पर्नु सम्पदा र संस्कृतिमाथिको चुनौती हो । यो देख्दा अत्यन्तै दुःख लागेको छ । यो ‘रिनोभेट’ गर्न नसकिने त हैन । मुलुकले धेरै ठूलो रकम खर्च गर्नु पर्दा अरु क्षेत्रमा जाने रकम खुम्चिन्छ । फेरि आशा गरौँ सिंहदरबार उठ्नेछ ।”

    गोरखा भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माणपछि निकै आकर्षक देखिएको थियो । सङ्घीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले पुनःनिर्माणपछिका दृश्य सम्झिँदै थपे, “धेरै राम्रो भएको थियो । अहिले यसरी जलेर खण्डहर हुँदा दुःख लागेको छ । नेपाल आफैँले ठूलठूला पूर्वाधार बनाउन कठिन छ । बनिरहेका पूर्वाधारले नेपाल बन्दैछ भन्ने आशा जगाएको थियो । अहिले यो दृश्यले भावुक बनायो ।”

    सिंहदरबार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो । राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहास र सम्पदामाथि प्रहार भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले सिंहदरबारको दृश्य असाध्यै पीडादायी रहेको बताए । “एकदम दुःखदायी अवस्थामा देखियो । अत्यन्तै भावुक र चिन्तित बनायो । देशको ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा हो । सरकारले यसलाई जुन अवस्थामा थियो सोही अवस्थामा बनाउदा उपयुक्त हुन्छ”, उनले भने ।


    पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछानेले ऐतिहासिक धरोहर खण्डहरको रुपमा परिणत भएको देख्दा असाध्यै पीडाबोध भएको बताए । उनले जलेको सिंहदरबार र संसद् भवनले आफूलाई निकै दुखित तुल्याएको बताए । सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा एकाइका जवान एन्जल सुवेदीको अनुहार पनि मलिन देखियो । सिंहदरबारभित्रै काम गर्ने उहाँले सिंहदरबार जलेर खरानी हुँदा मन थाम्नै नसकेको अनुभूति सुनाए ।


    यो राणाकालीन ऐतिहासिक सम्पदा हो । यसको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत थिए । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रुपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । एक हजार सात सय वटा कोठाहरु रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो । तत्कालीन अवस्थामा रु २५ लाख खर्च गरेर यो निर्माण गरिएको थियो ।

    विसं २००७ मा राणा शासनको अन्त्य भए पनि पछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरु थिए । विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो । यो भवन युरोपेली शैलीमा बनेको छ । चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरु शिकार गरिएका जनावरहरु तथा युरोपेली शैलीका चित्रकलाहरुले सजाएका थिए । बत्ती तथा अन्य शृङ्गारका वस्तुहरु युरोपबाट मगाइएको थियो ।

    आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएका छन् । आगजनी र तोडफोडबाट प्रभावित ती निकायका कर्मचारीहरूले नियमित काम सञ्चालन गरेका छन् । आशा गरौँ सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरी पनि उभिनेछ सिंहदरबार । जसलाई हेरेर हरेक नेपालीले देशको समृद्धिको कथा भन्नेछन् ।

  • जेन-जीको सुदन गुरुङ समूह कार्कीको राजिनामा माग्दै वालुवाटारमा

    जेन-जीको सुदन गुरुङ समूह कार्कीको राजिनामा माग्दै वालुवाटारमा

    ३० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति यो समूह असन्तुष्ट रहेको बताइएको छ । युवाहरुले मध्यराति बालुवाटारमा नाराबाजी गरेका छन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका थिए । जेन–जी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले यो समूहमा रहेका थिए । उनीहरुले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाए ।


    सुदन गुरुङले ‘जनता पावरफुल हो, कसैले हामीलाई रोक्न सक्दैन, जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु,’ भन्ने अभिव्यक्ति समेत दिएका छन् । सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन् । कार्कीले आइतबार तीन मन्त्री नियुक्त गरेको बताइएको छ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याल गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङ ऊर्जा मन्त्री नियुक्त भएको समाचार सार्वजनिक भएपछि यो समूह आक्रोसित बनेको हो ।

  • आन्दोलनमा सहभागी कार्यकर्तालाई माओवादीले कारबाही गर्ने

    आन्दोलनमा सहभागी कार्यकर्तालाई माओवादीले कारबाही गर्ने

    २९ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी पुस्ता’को आन्दोलनमा सहभागी भई तोडफोड तथा आगजनीमा संलग्न भएको पुष्टि भएमा आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गरी तोडफोड तथा आगजनीजस्ता गतिविधिमा आफ्नो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कारबाही गर्ने जनाएको छ । माओवादी केन्द्रले तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गर्न पनि आग्रह गरेको छ ।

    “हाम्रो पार्टीको कार्यालयहरु, दर्जनौँ नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी, तोडफोड गर्ने कार्य भएका छन्, त्यो तथ्य जनतासामु प्रस्ट छ, यो तथ्य जनतासामु प्रस्ट हुँदाहुँदै केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ । यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउनेप्रति सचेत रहँदै त्यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न पनि पार्टीले आम जनसमुदायलाई अपिल गरेको छ ।

    ‘जेनजी पुस्ता’ले उठाएका माग जायज भएको उल्लेख गर्दै पार्टीले आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्व घुसेर जुन खालको विध्वंस र वितण्ड मच्चाएको भन्दै भत्र्सना गरेको छ ।

  • बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियो

    बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियो

    २९ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ । भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिए । उनले भने, “जलेको अवस्थामा शनिबार छ वटा शव भेटिएका छन् । शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ ।”

  • ‘जेन-जी’ प्रदर्शनका क्रममा मृत्यु हुनेहरु सहिद घोषणा

    ‘जेन-जी’ प्रदर्शनका क्रममा मृत्यु हुनेहरु सहिद घोषणा

    २९ भदौ, काठमाडौं । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सो घोषणा गरेकी हुन् । उनले भनिन्, “मुख्य सचिवसँगको छलफलपछि सो प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने निणर्यमा मैले हस्ताक्षर गरेकी छु ।”

    यसैगरी, प्रदर्शनका क्रममा घाइते हुनेहरुलाई उपचार खर्चसहित केही राहत उपलब्ध गराउने, मृतकका परिवार काठमाडौँमा बस्दा लागेको खर्च व्यहोर्ने, मृतकको शवलाई स्थानीय तह (गाउँ)सम्म लैजान आवश्यक व्यवस्था गर्ने निर्णय भएको प्रधानमन्त्री कार्कीले जानकारी दिइन् ।

    सरकारका मुख्यसचिव एकनारायण अर्यालले भने, “समाजका सबै बौद्धिक वर्ग, सञ्चारकर्मी, सुरक्षा निकायलगायत आमनेपाली जनता, नेपालमा बस्नेमात्रै होइन, विदेशमा बस्ने सम्पूर्ण नेपाली समुदायले पनि नेपालको विकास र निर्माणको सुरुआत गर्नुपर्ने अवस्था सिर्जना भएको छ, हामी सबैले आआफ्नो ठाउँबाट सोहीबमोजिम योगदान गर्नुपर्नेछ ।”

  • प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यार्पण

    प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यार्पण

    २९ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यार्पण गरेकी छिन् । उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यार्पण गरेकी हुन् । प्रधानमन्त्री कार्की माल्यार्पणपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी थिइन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

  • पोखरामा चल्न थाले सार्वजनिक यातायात

    पोखरामा चल्न थाले सार्वजनिक यातायात

    २९ भदौ, गण्डकी । जेन–जी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको कास्कीको जनजीवन सामान्य बन्दै गएको छ । सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ । फोहरलाई सरसफाइ गर्ने काम थालिसकिएको छ । सार्वजनिक सेवा प्रवाहलाई सुरु गराउनका लागि कार्यालयले आआफ्ना तयारी थालिसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।


    सेवा प्रवाहकै सन्दर्भमा आज जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठक पनि राख्न लागेको जानकारी दिँदै उनले सेवा प्रवाह सुरु गर्ने सक्ने कार्यालयले अत्यावश्यक सेवा सुरु गरिसकेको बताइन् । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशसभा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सानाठूला गरी करिब ८० कार्यालयमा आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको छ ।

    केही दिनयता सुरक्षा अवस्थालाई दृष्टिगत गरी लगाइएको निषेधाज्ञा एवं कफ्र्यू शनिबारदेखि खुला गरिएसँगै पोखरामा व्यापार व्यवसाय एवं सार्वजनिक यातायातहरू पूर्ववत् सञ्चालनमा आउन थालेका छन् । आन्दोलनकै कारण बन्द भएका शैक्षिक संस्था सञ्चालन गराउने तयारी गरिएको छ ।


    पोखरा महानगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको बैठकको निर्णयअनुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए । नुुभयो ।

  • ‘जेनजी’ आन्दोलन : काभ्रेमा क्षति विवरण सङ्कलन गरिँदै

    ‘जेनजी’ आन्दोलन : काभ्रेमा क्षति विवरण सङ्कलन गरिँदै

    २९ भदौ, काभ्रे । ‘जेनजी’ आन्दोलनका क्रममा जिल्लामा रहेका सरकारी तथा निजी संरचनामा गरिएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्बन्धित क्षतिग्रस्त कार्यालय तथा व्यक्तिका सहभागितामा क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने जनाएको हो ।
    कार्यालयले आजदेखि क्षतिग्रस्त सरकारी तथा निजी संरचनाको विस्तृत विवरण सङ्कलन हुने जनाएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले प्रशासनको समन्वयमा सम्बन्धित सरकारी कार्यालयले आफैँ विस्तृत क्षतिको विवरण सङ्कलन गरी कार्यालयका पठाउनेछन् भने तथा व्यक्तिका क्षतिको हकमा भने स्थानीय प्रहरी तथा जनप्रतिनिधिको सहभागितामा क्षतिको विवरण सङ्कलन हुने बताए । उनका अनुसार करिब एक हप्तामा जिल्लाका सबै संरचनाको क्षतिको विवरण सङ्कलन भइसक्नेछ ।

    कार्यालयको प्रारम्भिक विवरणअनुसार विभिन्न १८ सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको छ । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पुर्याइएको प्रशासनको प्रारम्भिक विवरणमा जनाइएको हो । प्रदर्शनका क्रममा मङ्गलबार बनेपा नगरपालिका कार्यालयमा तोडफोड गरी आगजनी गर्दा महत्त्वपूर्ण कागजात र केही सवारीसाधन पूर्ण रूपमा क्षति पुर्याइएको छ ।

    यस्तै इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, पाँचखाल र पनौतीका प्रहरी चौकी तथा हिँगुवापाटीसहितका प्रहरी बिटमा तोडफोड र आगजनी गरिएको कार्यालयले जनाएको छ । बनेपा नगर कार्यालय भने भग्नावशेषमा परिणत भएको छ । प्रदर्शनकारीले पनौती नगर र पाँचखाल नगर कार्यालय तथा सुनकोशी–पाँचखाल खानेपानी आयोजनाको कार्यालयमा समेत तोडफोड गरेका हुन् । त्यसैगरी, नेकपा (एमाले) र नेपाली कांग्रेसको कार्यालयमा तोडफोड गरी आगजनी हुँदा क्षति भएको छ । प्रदर्शनकारीले ती कार्यालय तोडफोड गरी फर्निचर र महत्त्वपूर्ण कागजात बाहिर निकाली आगो लगाएका हुन् । ती कार्यालयमासमेत आगजनी गरेका छन् ।

    प्रदर्शनकारीले जिल्लास्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इँ, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जू, पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तथा पनौतीका पूर्व नगरप्रमुख भीम न्यौपानेको दुई घर, २ नं वडाका अध्यक्ष पुरुषोत्तम अधिकारी र व्यवसायी रामेश्वर थापाको पनौतीको कुशादेवीस्थित घरमा लुटपाट गरी तोडफोड तथा आगजनी र एक हेलिकप्टरमासमेत आगजनी गरेका थिए ।

    धुलिखेलस्थित जिल्ला कारागार कैदीबन्दीले आगजनी गरेका थिए । अन्य स्थानका कारगारबाट कैदीबन्दी भागेपछि आफूहरूलाई पनि रिहा गर्नुपर्ने माग राख्दै कारगारभित्र तोडफोड र आगजनी गरेपछि तत्कालै दमकल प्रयोग गरेर कारगारमा भएको आगजनी नियन्त्रणमा लिइएको थियो । दुई सय ८३ कैदीबन्दी रहेको उक्त कारागारमा आगजनी भएपछि बाहिर ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । ‘जेनजी’ आन्दोलनका क्रममा जिल्लाका दुई जनाले काठमाडौँमा ज्यान गुमाएका छन् ।

  • प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

    प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

    २८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

    सेन्टरका प्रमुख डा बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ । उनले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराए । प्रमुख डा रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको राससलाई बताए ।

  • काठमाडौँ उपत्यकामा चल्न थाले सार्वजनिक सवारीसाधन

    काठमाडौँ उपत्यकामा चल्न थाले सार्वजनिक सवारीसाधन

    २८ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीसाधनको आवागमन सञ्चालन भएको छ । काठमाडौँ उपत्यकामा आज सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन बिहानैदेखि चलिरहेका छन् । जेनजीको प्रदर्शनका कारण गत मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि सुरु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।


    उनले भने, “शुक्रबार सार्वजनिकलगायतका सवारीसाधन फाट्टफुट्ट मात्रै चलेका थिए । बिहानदेखि बाक्लो सङ्ख्यामा चलेका छन् । यात्रुहरुको चहल पहल बढेको देखिन्छ ।” त्यसैगरी चितवनतर्फबाट आज सार्वजनिक बसहरु काठमाडौँका लागि प्रस्थान गरेकाले काठमाडौँबाट बाहिरी जिल्लामा जाने सवारीसाधन आज साँझदेखि चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ । गत मङ्गलबारदेखि उपत्यका लगायतका सबै क्षेत्रमा जेनजीको प्रदर्शन भएसँगै नेपाली सेनाले कर्फ्यु लगाएपछि सार्वजनिक सवारीसाधन बन्द गरिएका थिए । आज बिहानदेखि काठमाडौँको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य बनेको हो ।

  • जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा

    जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा

    २८ भदौ, काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।

    भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ । आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ । २३ र २४ भदौको आन्दोलनले नेपालमा राजनीतिक कोर्ष नै परिवर्तन गरिदिएको छ ।

  • जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत

    जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत

    २८ भदौ, वीरगञ्ज । दुई महिनाअघि मात्रै वीरगञ्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिएका थिए । आफ्नो वैवाहिक जीवन राम्रोसँग अघि बढाउन नपाउँदै असहावले गत मङ्गलबार काठमाडौँमा भएको जेनजी समूहको प्रदर्शनीमा प्रहरीको गोली लागेर ज्यान गुमाए । बाइस वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सिता खातुनसँग दुई महिनाअघि मात्रै प्रणयसूत्रमा गाँसिएका थिए । तर, कलिलो उमेरमै आन्दोलनमा परेर ज्यान गुमाएपछि अहिले वीरगञ्ज महानगर मुर्लीका बासिन्दा शोकमा डुबेका छन् ।

    विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा असहाव काठमाडौँमा थिए । तर, मङ्लबार पठाओमा यात्रुलाई गोङ्गबु लैजाने क्रममा प्रहरीको गोली लागेर जेनजी आन्दोलनमा सहादत प्राप्त गरेको उनको परिवारले जनाएको छ । उनको मृत्युसँगै अहिले उनकी आमा नजला खातुन र उनकी श्रीमती रोक्सिता खातुन बेलाबखतमा मुर्छित हुँदै अचेत अवस्थामा छन् । आफ्नो छोराको मृत्युले विछिप्त आमा नजला खातुनले आफ्नो छोरा श्रवणकुमारजस्तै आमाबुबालाई असाध्यै माया गर्ने सन्तान रहेको बताइन् ।


    “मेरो छोरा श्रवणकुमार जस्तै थियो । भर्खरै बिहे गरेर बुहारी भित्र्याएको छ । अब मेरी बुहारी कसको मुख हेरेर बाँच्ली ?” आमा नजलाले रुँदै भनिन्, “दुई महिनाअघि मात्रै विवाह गरेर ल्याएकी बुहारीको सिउँदो उजाडिएको छ ।” आमा नजमाले आफ्नो छोरालाई प्रहरीले किन मारेको भनेर बारम्बार प्रश्न सोध्दै आएकी छिन् । “अहिले बुहारी छोराको यादमा बिलौना गरेर बसिरहेकी छन् । मेरी बुहारीले के अपराध गरेकी थिइन् र उनलाई बिछोड गराइयो ?” उनले स्तब्ध हुँदै भनिन् ।


    मृतक ठकुराई पाँच सन्तानमध्येका तेस्रो छोरा हुन् । असहाव वीरगञ्जको ग्लोबल विजनेस कलेजबाट कक्षा १२ व्यवस्थापन सङ्कायमा पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौँ गएका थिए । असहावका छिमेकी मनोज गुप्ताले असहाव गत मङ्गलबार बिहान १०ः०० बजेपछि सम्पर्कविहीन भएपछि खोजी गर्दा उनको शव काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेट्टिएको थियो ।
    “असहावको छाती र पेटमा गरेर दुई वटा गोली लागेको देखिन्छ”, उनले भने ।

    शुक्रबार परीक्षणलगायतका प्रक्रिया पूरा गरेर असहावका काकाले उनको शव ल्याउँदै छन् । छिमेकी गुप्ताले असहाव निकै मिजासिलो र आँखामा राख्दा पनि नबिजाउने प्रकृतिको व्यक्तित्व रहेको बताए । असहावका काका असराल आलम ठकुराईले असहावको मृत्युले निकै मर्माहत भएको बताए । “उनको मृत्युले हामी निकै मर्माहत भएका छौँ”, उनले भने, “जेनजी आन्दालेनमा असहावजस्तै ज्यानको आहुति दिने योद्धाको बालीदानले मुलुकमा नयाँ क्रान्तिको सुरुआत होस् ।”

    वीरगञ्ज महानगर–१३ का पूर्ववडाध्यक्ष तुफान अन्सारीले आफूले एक असल छिमेकी भाइ गुमाउनुपर्दा निकै मर्माहत भएको बताए । “असहाव भाइ निकै असल व्यक्ति थिए, उनको निधनले अपुरणीय क्षति भएको छ”, उनले भने । “अहिले उनको परिवारमात्रै नभएर सिङ्गो मुर्लीवासी स्तब्ध र शोकमा डुबेका छौँ ।” शुक्रबार साँझ जेनजी आन्दोलनमा ज्यान गुमाएका असहावको सम्झना गर्दै वीरगञ्जका मुर्लीवासीले वीरगञ्जको प्रतिमाचोकमा मैनबत्ती बालेर स्मरण गरेका छन् ।

  • राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ

    राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ

    २७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराएका छन् ।
    राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उनले पद तथा गोपनीयताको सपथ लिएकी छिन् ।
    राष्ट्रपति पौडेलले विसम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक दल र सरोकारबालासँगको परामर्शमा उनलाई नियुक्ति गरेका हुन् ।


    राष्ट्रपति पौडेलबाट नेपालको संविधान बमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिशमा छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उनलाई नियुक्त गरेका हुन् ।


    सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित थिए । जेनजीले उठाएका मागका विषयमा सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । नवनियुक्त प्रधानमन्त्रीले सानो मन्त्रिमण्डल गठन गर्ने र उक्त मन्त्रिमण्डलले गर्ने सिफारिशका आधारमा सरकारका प्राथमिकताका थप काम अघि बढाइनेछ ।

    जेनजीले मुलुकमा सुशासन, नयाँ पुस्ताको नेतृत्व र निस्क्रिय तुल्याइएको सामाजिक सञ्जालको सञ्चालन सञ्चालनको माग राख्दै आयोजना गरिएको प्रदर्शनी र त्यसपछिका घटनामा ठूलो जनधनको क्षति भएको थियो । उक्त घटनापछि तत्कालिन सरकारका प्रदानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि उक्त आन्दोलनको माग अनुरूप पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो ।

    मुलुकमा अचानक बदलिएको राजनीतिक परिस्थिति र अन्यौलको वातावरणमा नेपाली सेनाको पहलमा क्रमशः कानुनी राज्य र अमनचयन कायम गर्दै वार्ता र संवादका माध्यमबाट नयाँ सरकार गठनमा सफलता मिलेको हो । सेनाले इतिहासदेखि नै प्राप्त जिम्मेवारीलाइ संविधान सम्मतढङ्गबाट प्रजातान्त्रिक–मूल्य मान्यताका आधारमा जिम्मेवारी बहन गर्दै आएको छ । निकै जटिलपूर्ण अवस्थामा संयम भई छोटो समयमा परिस्थितिलाई सहजरूपमा अवतरण गराउन सफल भएको छ ।

  • जेन जी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारी

    जेन जी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारी

    २७ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका विभिन्न घटनाका क्रममा ३६ जनाको मृत्यु भएको जनाएको छ ।
    मन्त्रालयका सचिव डा विकास देवकोटाले देशभरिका अस्पतालबाट प्राप्त गरेको विवरणअनुसार हालसम्म ३६ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७७१ जना घाइतेको उपचार गरिएको उनले बताए । घाइतेको अस्पतालले निःशुल्क उपचार गरिरहेका छन् ।

    सचिव डा देवकोटाका अनुसार हाल निजामती कर्मचारी अस्पतालमा २३, ट्रमा सेन्टरमा ३२, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज ३५, नेपाल पुलिस अस्पतालमा २८, झापाको बिएन्डसी अस्पतालमा ५३ जनाको उपचार भइरहेको छ । यस्तै, प्रदर्शनका क्रममा घाइते भएका एक हजार ३७९ जना बिरामी उपचारपश्चात् घर फर्किसकेका छन् ।

  • धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार शव फेला

    धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार शव फेला

    २७ भदौ, धरान । आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ ।
    जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मङ्गलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार आगजनीमा ती व्यक्ति सुपरमार्केटभित्रै फसेका थिए । मृतकमध्ये तीन जनाको शव चौथो तलामा र एक जनाको दोस्रो तलामा फेलापरेको उनले जानकारी दिए ।

    प्रवक्ता खतिवडाले भने, “जलेको अवस्था रहेकाले शवहरूको पहिचान तत्काल सम्भव नभएको र अब डिएनए परीक्षणबाट मात्र पहिचान हुनेछ ।” सबै शवको मुचुल्का उठाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको उनले बताए । भदौ २४ गते बेलुका करिब ७ः०० बजे ‘जेनजी आन्दोलन’का क्रममा एक समूहले भाटभटेनी सुपरमार्केटको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए । सो आगलागी आज बिहानमात्र नियन्त्रणमा आएको थियो ।

  • नयाँ प्रधानमन्त्रीको सपथ आजै, सानो आकारको मन्त्रिपरिषद् बन्ने

    नयाँ प्रधानमन्त्रीको सपथ आजै, सानो आकारको मन्त्रिपरिषद् बन्ने

    २७ भदौ, काठमाडौं । नयाँ प्रधानमन्त्री सुशीला कार्कीको आजै शपथ हुने भएको छ । राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने तयारी छ । राष्ट्रपतिले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्‍यलाई नियुक्त गर्ने र आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयार्री गरिएको छ ।

    नयाँ प्रधानमन्त्रीले आजै पदभार ग्रहण गर्नेछिन् । सिंहदरबार भित्र निर्माणाधिन गृह मन्त्रालयको भवनमा नयाँ प्रधानमन्त्रीका लागि कार्यालय बनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन पुरै जलेका कारण सिंहदरबार भित्र नयाँ प्रधानमन्त्रीका लागि नयाँ भवन खोज्नु परेको हो ।

  • सामान्य बन्दै पोखराको जनजीवन

    सामान्य बन्दै पोखराको जनजीवन

    २७ भदौ, गण्डकी । जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ । आज बिहानदेखि सवारीसाधनको चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेको पनि चहलपहल देखिन्छ । बिहानको समयमा आवतजावत खुकुलो पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताइन् । “दिउँसोसम्मको परिस्थिति मूल्याकङ्न गरेर निषेधाज्ञा थप कडा गर्ने या सहज बनाउँदै जाने भन्ने निर्णय हुन्छ”, उनले भनिन्, “अहिले सुरक्षा व्यवस्था चुस्त र कडा तुल्याइएको छ ।”

    अत्यावश्यक कामका लागि आवतजावत गर्न बिहान र साँझपख निषेधाज्ञा खुकुलो पारिएको उहाँको भनाइ छ । पोखरा महानगरपालिकाभित्र रातको समयमा भने कर्फ्यु लगाइँदै आएको छ । जेनजीले यही भदौ २३ र २४ गते गरेको आन्दोलन उग्र बनेपछि पोखराका अधिकांश सरकारी भवनमा आगजनी र तोडफोड भएको थियो । गण्डकी प्रदेशसभा भवनदेखि प्रदेश सरकारका मन्त्रालय, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, वडा कार्यालयलगायत दर्जनौँ सरकारी तथा निजी भवनमा आगजानीले ठूलो क्षति पु¥याएको छ ।

  • भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

    भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

    २७ भदौ, कञ्चनपुर । भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै लुटिएका छन् । पूर्वपश्चिम राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा तीन जना सेतो रङको स्कुटरमा आएका अपरिचित व्यक्तिले हतियार देखाई कालिकोट जिल्ला पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई लुटेका हुन् ।

    “सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडेका थियौँ”, कलमबहादुरले भने, “तीन जना स्कुटरमा आएका अपरिचित व्यक्तिले खुकुरी देखाउँदै मेरो मोबाइल खोसे । त्यसपछि मेरो साथमा रहेको १४ हजार भारु पनि खोसे । राजमार्गमा अर्को यात्रु चढेको मोटरसाइकल नजिकै आउन थालेको देखेपछि भागे ।” कलम, नैनबहादुरसँगै सिंहराज खत्री, कलबहादुर खत्री र अभिराज धामी पनि थिए ।

    दुई जनालाई लुटेराहरूले लुटे पनि तीन जना भने लुटिनबाट जोगिएका छन् । “भारतमा मजदुरीका लागि दुई महिनाअघि मात्र गएका हौँ”, कलमबहादुरले भने, ‘भारतमा पनि गतिलो मजदुरीको काम पाइएन, काम पाइए पनि कहिले बाढी, कहिले वर्षाले काम गर्न नपाइएपछि फर्केका हौँ, बीच बाटोमै लुटिएपछि बिचल्लीमा परेका छौँ ।” लुटपाट भएकोबारे इलाका प्रहरी कार्यालय झलारीमा जानकारी गराइएको नैनबहादुरले बताए । प्रहरी निरीक्षक राजेश बस्नेतले पीडितले दिएको हुलियाका आधारमा लुटेराहरूको खोजतलास भइरहेको बताए ।

  • तनहुँमा दुई महिला मृत फेला, पहिचान खुलेन

    तनहुँमा दुई महिला मृत फेला, पहिचान खुलेन

    २७ भदौ, दमौली । तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा एक वृद्धाको शव फेलापरेको छ । नदी किनारमा अन्दाजी ५५–६० वर्षीया वृद्धाको शव फेलापरेको हो ।

    स्थानीयवासीको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले महिलाको शवको मुचुल्कासमेतको प्रारम्भिक कार्य गरी शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ । शवको सनाखत गर्ने कार्यका लागि घरपरिवार तथा आफन्तका बारेमा स्थानीयवासीसँग बुझ्दा केही विवरण खुलेको छैन । त्यसैगरी, व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा एक महिलाको शव फेलापरेको छ ।

    डिहीगाउँ जाने पक्की पुलमुनि अन्दाजी ३०–३५ वर्षीया महिलाको शव फेलापरेको हो । पानीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अस्पातलमा राखिएको र सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।