Category: स्थानीय

  • रुकुमपश्चिम दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो, ६ जनाको पहिचान

    रुकुमपश्चिम दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो, ६ जनाको पहिचान


    ७ कात्तिक, काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको परिचय खुलेको छ ।

    मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली रहेका छन् ।

    प्रहरीका अनुसार मृतक एक जना महिलाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेहरूको  परिचय खुलेको छैन ।घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ । जीप सडकदेखि ७०० मिटर तल खसेको छ । 

  • कैलालीमा तीन बालिकाको डुबेर मृत्यु

    कैलालीमा तीन बालिकाको डुबेर मृत्यु


    ७ कात्तिक, काठमाडौं । कैलालीमा तीन बालिकाको पानीमा डुबेर मृत्यू भएको छ । रानी जमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरीया नदीमा पौेडी खेल्न गएका बालिकाहरूको डुबेर मृत्यू भएको हो ।

    इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसारका मृत्यु हुनेमा जानकी गाउँपालिका–५, नवलपुरकी १२ वर्षकी सुलोचना उपाध्याय, १० वर्षकी निशा बजगाई र ८ वर्षकी मानसी बजगाई छिन् ।

    शुक्रबार मध्यान्ह कुलरियामा पौडी खेल्न गएकी बालिका डुबेपछि दुई जना उद्धार गर्न लागेकाले तीनै जना डुबेको बताइएको छ । स्थानीयले देखेपछि उद्धार गरी टीकापुर अस्पतालमा उपचारका लागि ल्याए पनि अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मृतक बजगाई दिदीबहिनी हुन् । टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० मा बस्ने बजगाई दिदीबहिनी तिहारको बेला मामाको घर गएकी थिइन । सुलोचना बजगाईकी मामाकी छोरी हुन् । बजगाई दिदीबहिनी जनजागृति मावि टीकापुरमा कक्षा ५ मा अध्ययनरत थिइन ।

  • रुकुम पश्चिममा जिप दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

    रुकुम पश्चिममा जिप दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

    ७ कात्तिक । रुकुम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । 
    शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै ज्यान गएको जानकारी प्राप्त भएको बताए । उनका अनुसार घाइतेको उद्धार कार्य भैरहेको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । 

    दुर्घटनाको सूचना लगत्तै नदुवास्थित प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेर उद्धारमा सक्रिय रहेको छ । प्रहरीका अनुसार जीपमा करिब १८ जना यात्रु थिए । 
    जीप चालक टोपजंग बुढा गम्भीर रहेको प्रहरीको भनाइ छ । मृतकको पहिचान खुलेको छैन । 

  • दल र नेतालक्षित बालेनको आक्रोशित स्टाटस

    दल र नेतालक्षित बालेनको आक्रोशित स्टाटस

    ५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश पोखेका छन् । उनले आफूलाई आरोप लगाउनेहरू नै लुसिफर रहेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रश्‍न गरेका छन्, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ । चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ । लाज लाग्दैन ?’

    उनले तुइन र काठको पुल बनाउने नेताहरुले देश विदेशीले बिगारेको आरोप लगाउनेहरु र अरुलाई ‘विदेशी एजेन्ट’ भनेर आरोप लगाउनेहरुप्रति पनि कडा कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो, भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ ।’

  • मूर्ति विसर्जन गर्ने क्रममा डुबेर रुपन्देहीमा तीन जनाको मृत्यु

    मूर्ति विसर्जन गर्ने क्रममा डुबेर रुपन्देहीमा तीन जनाको मृत्यु

    ५ कात्तिक, काठमाडौं । मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बुधबार रुपन्देहीमा तीन जना युवाको मृत्यु भएको छ। गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा घटना भएको हो। मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए। बेपत्ता भएको खबरपछि प्रहरी र स्थानीयले खोजी गर्दा शव फेला परेको थियो। करिब २०० मिटर तल शव फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता कार्कीले बताए।

    दानव र कञ्चन नदी शंगम सूर्यपुरास्थित सन्तेश्वर घाटमा बुधबार दिउँसो तीन बजे उनीहरू मूर्ति सेलाउन पुगेका थिए। सोही घाटमा छठको तयारी पनि सुरु भइसकेको थियो। तिहारको बेला गाउँका तीन युवाको पनि डुबेर मृत्यु भएको थियो। बुधबारको घटनापछि सूर्यपुरा र मायादेवी शोकमा डुबेको स्थानीय सन्दीप गुप्ताले बताए ।

  • आन्दोलनमा जलाइएको बालकोटस्थित निवास पुगे ओली, के भने ?

    आन्दोलनमा जलाइएको बालकोटस्थित निवास पुगे ओली, के भने ?

    ५ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दम्पतीले जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गरेका छन् । अध्यक्ष ओलीसँगै राधिका शाक्य, पोलिटब्युरो सदस्य महेश बस्नेतसहित नेता कार्यकर्ता सहभागि थिए ।

    अवलोकनको क्रममा अध्यक्ष ओलीले राष्ट्रको नाममा गरिसकिएको घर जलाएर राष्ट्रको सम्पत्ति खरानी भएको बताए । उनले घरको सबै संरचनालाई स्थलगत अवलोकन गरे । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एक समूहले अध्यक्ष ओलीको घरमा आगजनी गरेको थियो । ओलीले गृहमन्त्रीले आफुविरुद्ध व्यक्तिगत रिसिइवी साध्न खोजेको समेत बताए ।

  • प्रधानमन्त्रीसँगको छलफलमा एमालेले राख्यो यस्तो शर्त

    प्रधानमन्त्रीसँगको छलफलमा एमालेले राख्यो यस्तो शर्त

    ५ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका केही मन्त्रीहरूको व्यवहार तत्काल नियन्त्रणमा लिन आवश्यक भएको बताएका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका महासचिव पोखरेलले त्यसपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । सामाजिक सञ्जालमार्फत विभिन्न बुँदामा पार्टीको धारणा राख्दै उनले सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित हुनुपर्ने माग राखेका छन् ।

    ‘मुख्य दलहरूलाई निषेध गरेर गरिने निर्वाचनले राजनीतिक वैधता पाउन सक्दैन । राजनीतिक दलका नेताहरूको क्रियाशीलतामा अवरोध गर्न खोज्ने प्रवृत्तिको प्रतिवाद सरकारतर्फबाट भएको देखिँदैन,’ उनले भनेका छन् । साथै, कतिपय समूहहरू समानान्तर सत्ता सञ्चालन गर्नेजस्ता गतिविधिमा सक्रिय भएको उनले बताए । ‘यस्ता अवस्थाको नियन्त्रण अनिवार्य छ । सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित गर्नुपर्छ । तर, अहिलेका केही मन्त्रीहरू त्यसको विपरीत व्यवहार गरिरहेका छन्, जसमा तत्काल नियन्त्रण आवश्यक छ,’ पोखरेलले बताएका छन् ।

  • चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    ५ कात्तिक, काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–२ जनजोन टोलस्थित भित्रि सडकमा मंगलबार राति करिब साढे १२ बजे बागमती प्रदेश ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो । अन्दाजी २२–२३ वर्ष देखि युवाको नाम थर र वतन नखुलेको प्रहरीले जनाएको छ ।

  • रोल्पामा वृद्ध मृत फेला

    रोल्पामा वृद्ध मृत फेला

    ५ कात्तिक, काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–४ गुँरासेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । ७९ वर्षीय देवसिंह घर्तीमगर झिम्रुक खोलामा मृत अवस्थामा फेला परेका हुन् । उनी मंगलबार बिहान ससुराली जान भन्दै गुँरासेबाट थबाङतर्फ हिँडेका थिए । स्थानीयले झिम्रुक खोलामा उनको शव फेला पारेको वडा नम्बर १ का अध्यक्ष हिरा प्रसाद बुढामगरले जानकारी दिए । बाटोदेखि करिब १५० मिटर तल उनको शव भेटिएको बुढामगरले बताए ।

    मृतकको परिवार र आफन्तलाई खबर गरिसकिएको बताएका छन् । ‘विकट र दुर्गम भौगोलिक कारणले आफन्त र प्रहरी टोलीलाई घटनास्थलमा पुग्न केही समय लाग्नेछ,’ उनले भने । घटनाको थप विवरण र मृत्युको कारणबारे अनुसन्धान गर्न प्रहरी त्यसतर्फ गइरहेको छ ।

  • राष्ट्रिय सम्मानसहित महाकाली किनारमा गरियो विपिनको अन्त्येष्टि

    राष्ट्रिय सम्मानसहित महाकाली किनारमा गरियो विपिनको अन्त्येष्टि

    ४ कात्तिक, काठमाडौं । कञ्चनपुरका विपिन जोशीको मङ्गलबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । विपिनको अन्तिम श्रद्धाञ्जलीका लागि भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । स्थानीय तहका जनप्रतिनिधि, नेता कार्यकर्ता, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी स्थानीय, परिवारजन तथा शुभेच्छुकलगायतले दिवङ्गत विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    राष्ट्रिय सम्मानका साथ चितामा दागबत्ती दिएर शवको अन्त्येष्टि गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । भुजेलाघाटमा इजरायली राजदूत, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय, आफन्त, परिवारजन, कूटनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित भए । “सिक्दै सिकाउँदै” कार्यक्रमअन्तर्गत विसं २०८० असोजमा इजरायल गएका विपिनको हमास र इजरायलबिच भएको द्वन्द्वमा परी ज्यान गएको थियो । दुई वर्ष पहिले नै ज्यान गुमाएका विपिनको कूटनीतिक पहल हुन नसक्दा असोज २७ गते मात्रै परिवारलाई जानकारी गराइएको थियो ।

  • कागेश्वरी मनोहरमा कार र स्कुटर ठोक्किए, एक जनाको मृत्यु

    कागेश्वरी मनोहरमा कार र स्कुटर ठोक्किए, एक जनाको मृत्यु

    ४ कात्तिक, काठमाडौं । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका –६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

    उक्त सडक खण्डमा बा ५ च ८३२० नम्बरको कारले बाप्र.०२–०२७ प ६७३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका –३ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका –६ थली बस्ने ३६ वर्षीय मिङ्मार पाख्रिनको उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

    उनले भने, “कारको ठक्करबाट पाख्रिन आइतबार राति गम्भीर घाइते भएका थिए । उनको शङ्खरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।” ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

  • दिपावलीकै दिन विपिनको घरमा शव, परिवारजनमा बज्रपात

    दिपावलीकै दिन विपिनको घरमा शव, परिवारजनमा बज्रपात

    ४ कात्तिक, काठमाडौं । कञ्चनपुरका विपिन जोशीको शव उनको घरमा पु¥याइएको छ । सोमबार इजरायलबाट काठमाडौं पुगेको शव सोही दिन नै उनको घर लगिएको हो । नेपाली सेनाको स्काइ ट्रकमा काठमाडौंबाट धनगढी ल्याइएको शव धनगढी विमानस्थलबाट धनगढी उपमहानगरपालिकाको शव बाहनमा राखेर भीमदत्त नगरपालिका–३ जोशीको घरमा लगिएको थियो । नेपाल प्रहरीको स्कर्टिङमा शव लगिएको थियो । शव घरमा पुगिसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    सबैतिर तिहारको रमझम चलेको बेला छोराको शव पुगेपछि जोशी परिवार शोकमा डुबेको छ । टीकापुर कृषि क्याम्पसमा अन्तिम वर्षको परीक्षा दिएर सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत ११ महिनासम्म इन्टर्नका लागि विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० जनाको ज्यान गएको थियो । विपिनलाई भने हमासले बन्धक बनाएर लगेको थियो । बन्धक बनाइएको विपिनको दुई वर्ष अगाडि नै हत्या गरिएको इजरायलले पुष्टि गरेको छ । विपनको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिँदैछ ।

  • भरतपुरमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

    भरतपुरमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

    ४ कात्तिक, काठमाडौं । भरतपुर महानगरपालिका–१० स्थित एयरपोट नजिकै सोमबार राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार राति २ बजे बा.प्र.०६–००३ प ०६९२ नं।को स्कुटर आफैँ अनियन्त्रित भई पल्टदा सो दुर्घटना भएको हो ।

    दुर्घटनामा परी स्कुटर चालक भरतपुर म.न.पा.२१ वस्ने वर्ष २५ को संदिप घिमिरे र स्कुटर पछाडी सवार वर्ष २८ को कुशल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका दुवैको भरतपुर अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको हो । उनिहरु दुबै जनाको टाउकोमा गम्भीर चोट थियो ।

  • प्रचण्डको सचिवालयबाट गंगाले दिइन् राजिनामा

    प्रचण्डको सचिवालयबाट गंगाले दिइन् राजिनामा

    ३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् । आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताएकी छिन् । ‘निरन्तर मलाई देखाएर नेकपा ९माओवादी केन्द्र०का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,’ उनले भनेकी छिन् ।

    पार्टीमा जिम्मेवार कार्यकर्ता भएर सधैं क्रियाशील रहने पनि उनले बताएकी छिन् । ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भनेकी छिन् । आफ्नाबारे विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार आएको दाबी गर्दै उनले ध्यानाकर्षण पनि गराएकी छिन् ।

  • बुद्धशान्तिमा नवजात शिशु फेला

    बुद्धशान्तिमा नवजात शिशु फेला

    भद्रपुर, २ कात्तिकः यहाँस्थित बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा एक नवजात शिशु फेलापरेका छन् । सीमा आचार्यको घरको बरन्डामा अनुमानित ४–५ दिन उमेरको शिशु अलपत्र अवस्थामा फेलापरेकी हुन् । आचार्यको घरमा भाडामा बस्दै आएका ताप्लेजुङ श्रीजगा गाउँपालिका–७ का ओमप्रकाश तुमिहाङ लिम्बूले गए राति करिब ९ः०० बजेतिर शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराएका थिए ।


    सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । स्थानीय, जनप्रतिनिधि र भद्रभलादमीको उपस्थितिमा शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या

    सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या

    सप्तरी, २ कात्तिकः सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।
    गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए । घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ ।

    घटनास्थलबाट दुईवटा गोलीका खोका फेलापरेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । उनका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाइएको छ ।

  • सातवटा सवारीसाधन एकापसमा ठक्कर खाएको घटनामा २१ घाइते

    सातवटा सवारीसाधन एकापसमा ठक्कर खाएको घटनामा २१ घाइते

    चितवन, १ कात्तिक : भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ७ः३० बजे उक्त दुर्घटना भएको हो । घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ ।

    मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना७ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरकोे इलेक्टिक माइक्रो, त्यस पछाडि ग२ख १६२६ नम्बरको बस, त्यस पछाडि ना३च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार ठक्कर खाएका हुन् ।

    सवारीहरू ठक्कर खाँदा घाइते भएकामध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

  • कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

    ३१ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । कांग्रेस बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको बैठकबाटै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर बिदा लिएका थिए ।

    २९ गते बुधबार भने कांग्रेसको बैठक बसेन । दोस्रो बैठक ३० गते बिहीबार बसेको थियो । दोस्रो बैठकमा सात जना नेताले आआफ्नो धारणा राखेका छन् । दोस्रो बैठकमा बोल्ने अधिकांशले नियमित महाधिवेशनमा जोड दिएका थिए ।

  • सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

    सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

    ३१ असोज, काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए ।

    उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए । उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरे । शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा थिए । उनको आज काठमाडौँ कपनस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

  • खोलामा डुबेर झापामा तीन बालिकाको मृत्यु

    खोलामा डुबेर झापामा तीन बालिकाको मृत्यु

    झापा, ३१ असोजः गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् । उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

    मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

    अर्घाखाँची, ३० असोज : यहाँको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो । उनीहरू दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए । गम्भीर घाइते दुवैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

    रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

    रासस
    गुल्मी, ३० असोजः गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ । विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका फेला परेका छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्र दुर्लभ चराहरुको मुख्य वासस्थान रहेको नेपाल पंक्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् ।

    रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर पाइन्छ । नेपालमा पाइने ९०२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशतभन्दा बढी चरा फेला परेका अधिकृत भट्टराईले जानकारी दिए । नेपाल पंक्षी संरक्षण सङ्घले विभिन्न समयमा गरेकोे पंक्षी सर्भेक्षणअनुसार रेसुङ्गा वन क्षेत्रमा २७६ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २८९ प्रजातिका चरा फेला परेका हुन् । जिल्लाका दुई वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्भेक्षणअनुसार रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा गरी ३२५ प्रजातिका चराहरुको तथ्याङ्क रेकर्ड गरिएको छ । यो सङ्ख्या नेपालमा पाइने चरा प्रजातिको सङ्ख्याअनुसार हाल ३५ प्रतिशतभन्दा बढी रहेको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ ।

    विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा समेत पाइने भएको कारण यसको संरक्षणका लागि अति सङ्कटापूर्ण अवस्थामा रहेका चराको वासस्थानलाई जोगाई राख्नुपर्नेमा यहाँका स्थानीय एवं सरोकारवालाले जोड दिएका छन् । सङ्घले जिल्लामा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै तिनीहरुको संरक्षणका लागि विभिन्न प्रयास गर्दै आएको छ ।

    सङ्घले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र सम्वद्र्धनसँगै विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । गुल्मीमा धार्मिक पर्यटन सँगैसँगै चरा पर्यापर्यटनको समेत प्रचुर सम्भावना रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । यसबाट जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्नुका साथै यसले स्थानीयको जीविकोपार्जनमा समेत ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

    दुर्लभ प्रजातिका चरा संरक्षणका लागि पछिल्लो समयमा मुख्य चुनौतीको रुपमा वासस्थान विनास, पानीको अभाव, वन–डढेलो, अवैध शिकार, जनचेतनाको अभावजस्ता कारण रहेको सङ्घले जनाएको छ । सङ्घले विगत दश वर्षदेखि जिल्लामा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।

  • एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी

    एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी

    काठमाडौँ, ३० असोजः नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहेका छन् ।

    पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार बसेको बैठकमा ५० केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि वर्णानुक्रमअनुसार उल्टोतिरबाट (ज्ञ बाट) पालो मिलाइएको छ ।

    बुधबारको बैठकमा अध्यक्ष ओलीले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने तय भएको छ । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्टजवाफ दिने तयारी छ ।

  • पेट्रोलको मूल्य घट्यो, डिजेलको यथावत

    पेट्रोलको मूल्य घट्यो, डिजेलको यथावत

    काठमाडौँ, २९ असोजः नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर रू १५९, सुर्खेत र दाङमा रू १५८ अन्य क्षेत्रमा रू १५६.५० कायम गरिएको छ ।

    “इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनगर गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्यवृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था गर्न खुद्रा बिक्री मूल्यलाई यथावत कायम गरिएको छ”, निगमले भनेको छ ।

  • उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु

    उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु

    चितवन, २९ असोज । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको थियो । भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए ।

    उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनीहरूको चितवन मेडिकल कलेजमा उपचारका त्रममा मृत्यु भएको हो ।

    यस्तै घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन् । घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छभने अवस्था मध्यम रहेको खनालले जानकारी दिए ।

  • बानेश्वरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    बानेश्वरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    काठमाडौँ, २९ असोजः यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियार रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

    यातायात विभाग मीनभवनस्थित सडकखण्डमा नयाँबानेश्वरबाट आएर सोही स्थानमा ‘राइट टर्न’ गर्दै गरेको वाग्मती बिएबी ०३६५ नम्बरको जिप नयाँबानेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकल गए राति एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक परियार घाइते भएका थिए । उनको उपचारका क्रममा सभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • बजार बिस्तारमा मुस्ताङको स्याउ, एक वर्षमै एक अर्बभन्दा बढीको उत्पादन

    बजार बिस्तारमा मुस्ताङको स्याउ, एक वर्षमै एक अर्बभन्दा बढीको उत्पादन

    रासस
    मुस्ताङ, २९ असोजः मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष रु ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष रु एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ ।

    कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरुको स्थानीय किसानको फरक÷फरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र यहाँका किसानका आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरुङले बताए । यस वर्ष ८० प्रतिशत जिल्लाबाहिर निकासी भइसकेको छ भने १० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ । साथै १० प्रतिशत हार्भेस्ट गर्न बाँकी रहेको केन्द्र प्रमुख गुरुङको भनाइ छ ।

    यसवर्ष छ हजार १०८ मेट्रिकटन बढी स्याउ जिल्लाबाहिर निकासी हुँदा रु ८६ करोड १८ लाख ४० हजार मुस्ताङ भित्रिएको छ । ७६३ मेट्रिकटन अर्थात् रु ११ करोड दुई लाख ३० हजार बराबर स्याउ जिल्लामै खपत भएको छ । अब ७६३ मेट्रिकटन स्याउ हार्भेस्ट गर्न बाँकी छ । यहाँ कूल ८३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र छ । जसमा स्थानीय स्याउ छ हजार ६९ मेट्रिकटन र हाइब्रिड स्याउ एक हजार ५६७ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ ।

    यहाँ स्थानीय स्याउ रु ७८ करोड ८९ लाख ७० हजार बराबरको उत्पादन भएको हो । हाइब्रिडतर्फ रु ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रले उल्लेख गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी रु १३० र हाइब्रिड स्याउ प्रतिकेजी रु २०० मा बिक्री भइरहेको छ । यसवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ४१ मेट्रिकटन र हाइब्रिड स्याउको प्रतिहेक्टर उत्पादकत्व २६ दशमलव १२ मेट्रिकटनले उत्पादन भएको केन्द्रले जनाएको छ । गतवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ७४ मेट्रिकटन भएकोमा यसवर्ष शून्य दशलव ३३ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व घटेको छ ।

    यसैगरी गतवर्ष उच्च घनत्वको हाइब्रिड स्याउ प्रतिहेक्टर उत्पादकत्व २५ मेट्रिनटनले उत्पादन भएकोमा यसवर्ष प्रतिहेक्टर उत्पादकत्व एक दशमलव १२ मेट्रिकटन वृद्धि भएको छ । यहाँ स्थानीय र हाइब्रिड गरी समग्रतामा प्रतिहेक्टर उत्पादकत्व एघार दशलव ८७ मेट्रिकटन रहेको केन्द्रले जनाएको छ । यसवर्ष मुस्ताङको तल्लो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादनमा आंशिक ह्रास आएको देखिए माथिल्लो क्षेत्रमा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपुगेको कार्यालय प्रमुख राजेश गुरुङले बताए ।
    यसवर्ष स्याउ उत्पादनशील क्षेत्र वृद्धि भएकै कारण स्याउ उत्पादन बढेको हो । गतवर्ष ५६६ हेक्टर स्थानीय जातका स्याउ उत्पादनशील क्षेत्र रहेकामा १३ हेक्टर क्षेत्रफल विस्तार हुँदै यसवर्ष ५८३ हेक्टर क्षेत्रफल पुगेको हो । यसैगरी गतवर्ष ५० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र रहेकोमा १० हेक्टर क्षेत्रफल विस्तार हुँदै ६० हेक्टर क्षेत्रफल पुगेको हो ।

  • काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा

    काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा

    रासस
    काठमाडौँ, २९ असोजः जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो । सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ः०० बजे अनलाइन स्लट खुल्नेछ ।

    सेवाग्राहीको अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ ।

  • इलामको जोगमाई खोलामा बनाइयो डाइभर्सन

    इलामको जोगमाई खोलामा बनाइयो डाइभर्सन

    रासस
    फिक्कल, २९ असोज । मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ । सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि बुधबारदेखि यातायात सञ्चालनमा आउने भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । “जोगमाई खोलामा हाइड्रोपावरको टेलरेस्ट र ह्युमपाइप बिच्छयाउने काम सकेर त्यहाँ बाटो निर्माण गर्ने काम भइरहेको छ”, उनले भने, “बुधबारदेखि सो सडकमा साना खालका सवारी साधन सञ्चालन गर्ने तयारीमा छौं ।”

    उनका अनुसार जोगमाई खोलामा आठवटा ह्युमपाइप र हाइड्रोपावरको टेलरेस्ट तीन टुक्रा खोलामा बिच्छ्याएर पानी कटाइएको छ । डाइभर्सन निर्माणका लागि चारवटा एक्साभेटर परिचालन गरिएको थियो । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताए । त्यहाँको जोगमाई खोलाको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएपछि डाइभर्सन निर्माण गरिएको हो । एघार दिनमा समेत वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती परेको छ ।

    इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने १२ किलोमिटरको यो वैकल्पिक सडक तत्कालनका लागि प्रमुख विकल्प मानिएको छ । आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्फत साना सवारी साधन सञ्चालनमा रहेका छन् । ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रजिअ नेपालले बताए । तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ ।

    वर्षासँगै आएको पहिरो झरेपछि विगत ११ दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद छ । इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा समस्या देखिएको छ । जटिल भू–संरचनाका कारण सो सडक तत्कालन खुलाउन नसकिने भएको सडक डिभिजन प्रमुख भट्टराईले बताए ।

  • खेवाङले दिए गाउँलेलाई ‘भ्यू–टावर’ उपहार

    खेवाङले दिए गाउँलेलाई ‘भ्यू–टावर’ उपहार

    राष्ट्रिय समाचार समिति
    पाँचथर, २९ असोज । पाँचथरको याङवरक गाउँपालिका-६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू–टावर निर्माण गरी गाउँलाई उपहार दिएका छन् । बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त खेवाङ निरन्तर गाउँमै बसेर सामाजिक क्षेत्रमा योगदान दिँदै आएका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नजिकै परेवाडाँडाबाट पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न भू–भागको दृश्यावलोकन गर्न सकिने भएपछि खेवाङले भ्यू–टावर निर्माण गरेका हुन् ।


    व्यक्तिगत रु १५ लाखको लागतमा निर्माण गरिएको भ्यू–टावरको सोमबार खेवाङ र याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले उद्घाटन गरे । खेवाङको ९७औँ जन्मदिनको अवसर पारेर याङवरक गाउँपालिका–६ को कार्यालय र स्थानीयवासीले भ्यू–टावरको उद्घाटन तथा खेवाङलाई शुभकामना दिने कार्यक्रम आयोजना गरेका थिए ।

    खेवाले गाउँमा आइपर्ने सबै समस्यामा आर्थिक र नैतिक सहयोग गरेर ठूलो योगदान दिएका कारण जन्मदिनको अवसरमा सम्मान गरिएको याङवरक–६ का वडाध्यक्ष अमृतबहादुर योङहाङले बताए । खेवाङले कमजोर आर्थिक अवस्थाका गाउँलेहरुको स्वास्थ्योपचार, काजकिरिया, सामाजिक पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै आउनुभएको वडाध्यक्ष योङहाङले बताए ।


    याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले वयोवृद्ध खेवाङले बेलायतमै बस्ने अवसर भए पनि त्यसलाई छोडेर गाउँको सेवामा ५० वर्षदेखि क्रियाशिल हुनु समग्र गाउँपालिकाका लागि भाग्यको कुरा भएको बताए । “उनले गाउँका हरेक क्षेत्रका योगदान दिएका छन्, उपाध्यक्ष मेन्याङ्बोले भने । “उनको आफ्नो जीवनशैली पनि उदाहरण र प्रेरणादायी छ ।”

    खेवाङका दुई छोराहरु गणेशबहादुर र दलबहादुर पनि बेलायती सेनामै काम गरी क्रमशः लेफ्टिनेन्ट र गोरखा मेजर पदबाट सेवा निवृत्त भए । विसं १९८६ असोज २७ गते ताप्लेजुङको थिङलाबूमा जन्मिएका खेवाङ परिवार विसं २००५ देखि पाँचथरको चित्तोकमा बस्न थालेको थियो । सोही वर्ष खेवाङ भारतको दार्जिलिङस्थित जलपहाड बेलायती सेनामा भर्ना भएका हुन् । विसं २०३२ मा सेवा निवृत्त भएपछि खेवाङ परेवाडाँडामा आइ बसोबास गर्दै आएका छन् ।


    खेवाङको परिवारका कतिपय सदस्य बेलायतमै छन् । आफू पटक–पटक घुम्न बेलायत गए पनि बस्न मन नलागेको उनको भनाइ छ । “मलाई यहाँ गाउँमै बस्न, गाउँले जीवनशैलीमा रमाउन मन लाग्छ”, खेवाङले भने, “मलाई मेरा ब्याजीहरुले धरान, काठमाडौँ, दार्जिलिङलगायत ठाउँमा बसौँ भनेका थिए । तर मलाई यहाँ (परेवाडाँडा) मै बस्ने सहज लागेर बसेको हुँ ।”

    आफूले गाउँका लागि सक्दो सहयोग गर्ने गरेको र यसमा सबै गाउँलेहरु खुसी भएको उनको भनाइ छ । खेवाङले भने, “परेवाडाँडाबाट धेरै ठाउँको दृश्य राम्रो देखिने भएकाले भ्यू–टावर बनाइदिएको हुँ ।” भ्यू–टावरमा विश्रामस्थल, मोबाइल चार्ज गर्ने व्यवस्थासमेत मिलाइएको छ । भ्यू-टावरबाट तेह्रथुमको आठराई, ताप्लेजुङका दर्जनौँ गाउँहरु तथा पाँचथरतर्फ नेपाल(भारत सीमा चिवाभञ्ज्याङसम्मका दृश्य देख्न सकिन्छ ।