Category: समाचार

  • रास्वपाद्वारा सांसदका स्वकीयलाई अभिमुखीकरण

    रास्वपाद्वारा सांसदका स्वकीयलाई अभिमुखीकरण

    काठमाडौँ, ११ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदका स्वकीय सचिवका लागि अभिमुखीकरण गरेको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आज भएको सो अभिमुखीकरणमा मुख्यसचेतक कवीन्द्र बुर्लाकोटी तथा सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले स्वकीय सचिवको भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिए ।

    कार्यक्रममा मुख्यसचेतक बुर्लाकोटीले पार्टीको विचार, अनुशासन तथा स्वकीय सचिवको जिम्मेवारी र कर्तव्यबारे सहभागीलाई प्रशिक्षत गरे । उनले स्वकीय सचिवको जिम्मेवारी पूर्णकालिक, संवेदनशील र संस्थागत हुने उल्लेख गर्दै सांसदको दैनिक कार्यसम्पादन सहज बनाउनेदेखि अध्ययन, समन्वय, सूचना व्यवस्थापन र नागरिक सम्पर्कसम्मका कामलाई व्यवस्थितरुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।


    यस्तै सचेतक परियारले स्वकीय सचिवको भूमिका तथा अर्का सचेतक धितालले स्वकीय सचिवका विभिन्न जिज्ञासा, प्रश्न र व्यावहारिक चुनौतीबारे स्पष्ट पारेको मुख्य सचेतक बुर्लाकोटीले जानकारी दिए ।

  • कोरला सडक पूर्ण रूपमा अवरुद्ध

    कोरला सडक पूर्ण रूपमा अवरुद्ध


    मुस्ताङ, ११ असोजः शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण (जोमसोम–कोरला) सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरबाट कोरला नाकासम्मको सडकमा ठाउँठाउँ पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरला पास क्षेत्रमा भारी हिमपात हुँदा आवागमन रोकिएको हो ।

    वर्षाका कारण राष्ट्रिय गौरवको कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुँदा वैकल्पिक कोरला नाका ठप्प हुँदा सयौँ कन्टेनर भन्सार यार्डमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गएरातिको भारी वर्षा र हिमपातले मुस्ताङको काभ्रेभीरबाट कोरला नाकासम्मको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार म्याग्दी-मुस्ताङ सिमाना काभ्रेभीर खण्डमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेर सडक अवरुद्ध बनेको छ ।

    भारी वर्षाका कारण मुस्ताङको थासाङ गाउँपालिका(४ घाँसा क्षेत्रका कतिपय ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको उहाँले जानकारी दिए । उनले तल्लो घाँसा, घाँसा चेकपोस्ट नजिकलगायत स्थानमा सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिए ।

    यसैगरी घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ फार्म नजिकैको फाराम खोलामा बाढी आउँदा सडक अवरुद्ध भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । बाढीका कारण सडक अवरुद्ध भए पनि भौतिक क्षति नभएको उनले बताए । त्यहाँ गाउँपालिकाको डोजर लगेर सडक खुलाउने प्रयास गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार कोरला नाका जोड्ने जोमसोम-पान्डा खोला सडकमा गए रातिको वर्षाले सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । यहाँका प्रहरी निरीक्षक बस्यालका अनुसार कागबेनीबाट वारागुङ-३ चैलेसम्मको सडक पनि अवरुद्ध भएको छ । कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन स्थानमा पहिरो खसेर सडक संरचनामा क्षति पुगेको उनले बताए ।


    यसैगरी मुस्ताङमा गएराति भारी वर्षा भइरहँदा लोमान्थाङ र कोरलानाका क्षेत्रमा भारी हिमपात भएको छ । लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)का ईञ्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरला नाका र भन्सार क्षेत्रमा गए राति भारी हिमपात भएको छ ।

    हिमपातका कारण कोरलानाकाको दशजगजा क्षेत्रमा पाल टाँगेर बस्ने स्थानीय व्यापारी समस्यामा परेका छन् । भारी हिमपातले स्थानीय व्यापारीले टाँगेका आधा दर्जन बढी पाल भत्किएका छन् भने कोरलाबाट लोमान्थाङ आवतजावत गर्ने राष्ट्रिय राजमार्ग सडक हिउँले पूर्ण रूपमा अवरुद्ध बनेको बिओपी इञ्चार्ज धितालले उल्लेख गरे ।


    कोरलानाका क्षेत्रमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण नेपाल(चीन निकासी तथा पैठारी व्यापार पूर्ण रुपमा प्रभावित भएको छ । बिओपी ईञ्चार्ज धितालका अनुसार कोरलानाकास्थित मुस्ताङ भन्सार यार्डमा २०० भन्दा बढी कन्टेनर अलपत्र परेका छन् । भन्सार जाँच पास भइसकेका र सीमापारी मालवस्तु लिन जाने खाली कन्टेनर यथास्थानमा रोकिएको उनको भनाइ छ । कोरलानाका क्षेत्रमा एक फिट बढी हिउँ परेको इञ्चार्ज धितालले जनाए ।


    त्यस्तै भारी वर्षाका कारण विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । जोमसोम विद्युत् वितरक संस्था निलगिरि उपभोक्ता सहकारीका प्रमुख सनप्रसाद थकालीका अनुसार घरपझोङ र थासाङ गाउँपालिकाको सिमाना चोखोपानीमा २४० किलोवाट क्षमताको जलविद्युत् गृहमा बाढी पसेर बन्द भएको हो । वर्षाका कारण गएरातिदेखि म्याग्दीको दानाबाट कोवाङसम्मको ३३ केभीए प्रसारण लाइनको सम्पर्क विच्छेद हुँदा मुस्ताङको विद्युत् सेवा पूर्ण रूपमा अवरोध भएको उनले बताए ।


    जिल्ला प्रहरी कार्यालय मुस्ताङले गए रातिको वर्षाले पुर्‍याएका क्षति विवरण सङ्कलन गर्नमा सञ्चार सम्पर्क हुन नसक्दा समस्या भइरहेको जनाएको छ । उत्तररदक्षिण जोड्ने बेनी(जोमसोम सडकखण्डको म्याग्दी खण्डमा पनि गएरातिको भारी वर्षाले दर्जनौँस्थानमा सडक अवरुद्ध हुन पुगेको बेनी–जोमसोमकोरला सडक आयोजनाका सुपर भाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

  • पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

    पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

    बागलुङ, ११ असोजः बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता तथा निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक फणिन्द्र प्रसार्इंले जानकारी दिए । अविरल वर्षाका कारण तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको हो ।

    यस्तै पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–४ सन्तरका ५० वर्षीय हस्तविर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । सोही पहिरोमा परेर हस्तविर श्रीपालीकी श्रीमती बेपत्ता भएकी छिन् । यसैगरी पहिरोले गोठ पुरिँदा निसीखोला गाउँपालिका–६ रङ्गिलमा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए ।

  • विश्व पर्यटन दिवसमा साइकल (याली

    विश्व पर्यटन दिवसमा साइकल (याली

    ललितपुर, १० असोज । बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ साइकल र्याली आयोजना गरेको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले (यालीको उद्घाटन गरे । पाटन दरबार क्षेत्रबाट सुरु भएको (याली पुल्चोक– कुपण्डोल– माइतीघर–रामशाहपथ– जयनेपाल सडक– नक्साल, टङ्गाल–बालुवाटार– नारायणगोपाल चोक हुँदै धुम्बाहारीमा पुगेर समापन भएको छ । (यालीमा उक्त मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीसहित १५० जना सहभागी थिए ।

  • सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

    सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय


    काठमाडौँ, ११ असोजः नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ । प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान सम्पादन गरिएको सेनाले स्पष्ट पारेको छ ।

    भोटेकोशी बाढीले राष्ट्रिय सङ्कट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । उनले भने, “सङ्कटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ ।”

    रसुवा बाढीपछिको एक महिनाको अवधिमा गरिएका खोज तथा उद्धार, स्वास्थ्य सेवा प्रदान र प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनस्र्थापनाका प्रयासबारे सेनाले राष्ट्रिय समाचार समिति (रासस)लाई उपलब्ध गराएको दस्तावेजमा विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको उद्धार भएको ठम्याइँ छ ।

    भोटेकोशी बाढीः खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेपाली सेना

    गत भदौ १० गते भोटेकोशीमा गएको विनासकारी बाढीले नदी आसपासका तटीय क्षेत्रमा अपूरणीय क्षति पुर्यायो । यस अप्रत्यासित जलप्रकोपका कारण स्थानीय मानव बस्ती, सडक पूर्वाधार, पुलहरू तथा जलविद्युत् आयोजना क्षणभरमै लेदोमा बिलिन हुन पुगे । यस्तो विकराल र विषम राष्ट्रिय सङ्कटको घडीमा नेपाली सेनाले आफ्नो उत्कृष्ट मानवीय दायित्व निर्वाह गर्दै आपत्कालीन खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह ग¥यो ।

    विपद्को खबर प्राप्त हुनासाथ रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासीलगायत इलाकामा तैनाथ सैनिक युनिट तत्काल उद्धार कार्यका लागि खटिएका थिए । विषम परिस्थितिमा उद्धार अभियानलाई चुस्त बनाउन नौ हजार ३०० भन्दा बढी सैनिक जनशक्ति परिचालन गरिनुका साथै कम्पोजित क्विक रियाक्सन टिम (सिक्युआरटी) र आपत्कालीन मेडिकल टिमसहित तुरुन्त चारवटा हेलिकप्टर खोज तथा उद्धारका लागि खटाइएका थिए । भौगोलिक विकटता र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको चुनौतीपूर्ण स्थितिमा सेनाले हवाई उद्धार, जमिनी उद्धार, टनेल उद्धार, स्वास्थ्य सेवा तथा सडक सञ्जाल पुनस्र्थापनामा द्रुतगतिमा कार्य अगाडि बढाइरहेको छ ।

    भौगोलिक जटिलता र सडक सञ्जाल पूर्ण रूपमा बिच्छेद भएको परिस्थितिमा नेपाली सेनाले हवाई मार्गलाई प्राथमिक माध्यम बनायो । एमआई–१७ लगायत सातवटा सैनिक हेलिकप्टर र निजी क्षेत्रका हवाई साधनलाई रणनीतिक रूपमा परिचालन गरिएको थियो । त्रिशूली र धुन्चेमा बेस स्थापना गरी एयर ट्राफिक कन्ट्रोल (एटिसी) सञ्चालनसहित दैनिक १५ देखि २२ वटा हेलिकप्टरमार्फत एक हजार ६०० भन्दा बढी उडानहरू भएका छन् ।

    यस हवाई अभियानबाट कुल चार हजार २४२ जना ९तीन हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिक०को सकुशल उद्धार भएको छ । यसका साथै टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकुबेँसीजस्ता स्थानमा हजारौँ किलो खाद्यान्न, औषधि, रासन र अक्सिजन सिलिन्डर एयरलिफ्ट तथा ड्रोनबाट पठाउनुका साथै टनेल क्षेत्रमा खोज तथा उद्धारका लागि अतिआवश्यक उपकरण लैजान स्लिङ अपरेसनसमेत सञ्चालन गरिएको थियो ।

    रसुवागढीदेखि नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा जमिनी खोज तथा उद्धारकार्यलाई उत्तिकै तीव्रताका साथ अगाडि बढाइ नेपाली सेनाले नदी किनार, जङ्गल, डाँडाकाँडा र सडक बिच्छेद तथा बाढीबाट बढी प्रभावित तुप्चे, दानसिङ, कालिकास्थान, स्याफ्रुबेँसीलगायत बस्तीमा निरन्तर पैदल गस्ती सञ्चालन गरी शव सङ्कलन र स्थानीय निकायसँग समन्वय र सहकार्य गरी परिस्थितिको बारेमा जानकारी सङ्कलन गरिएको थियो ।

    अप्ठ्यारो भूभागमा सम्भावित स्थानको पहिचान गर्न थर्मल ड्रोन तथा आधुनिक उपकरणको प्रयोग गरी रेकीसमेत भएका छन् । जमिनी उत्खनन र खोजीका क्रममा फेलापरेका एक हजार ४५१ वटा शवको व्यवस्थापनमा सहयोग गरेको छ । स्थानीय प्रशासन, स्थानीय निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सबै सरोकारवाला पक्षसँग समन्वय र सहकार्यमा यी कार्यहरु भएका छन् ।

    यस विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङहरूभित्र गरिएको उद्धारकार्य हो । जलविद्युत् आयोजनाको सुरुङ इलाकाबाट दुई हजार ७९८ र बाढीको लेदो, माटो र ठूला चट्टानले पुरिएका सुरुङबाट निरन्तर रूपमा गरिएको अथक प्रयासपश््चात सात जनाको जीवितै उद्धार गर्न सफल भएको छ । त्रिशूली–३ ‘ए’ मा ड्रिलिङ मेसिन, एक्स्काभेटर, रक ब्रेकर र नियन्त्रित विस्फोटमार्फत क्राउन हेड खोली, अक्सिजन पम्प गरेर भदौ १९ गते सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–१ बाट अडिट सुरुङको २२५ मिटर गहिराइबाट रबर बोट र थर्मल क्यामेराको प्रयोग गरी चिनियाँ नागरिकको सफल उद्धार गरिनुका साथै जम्मा ३७ वटा शवसमेत सङ्कलन भएका थिए ।

    खोज तथा उद्धार टोलीद्वारा करिब एक हजार ५० मिटर वैकल्पिक बाटो खोली चिलिमे सुरुङको ब्रेकथ्रुपश्चात् पाँचवटा शव तथा मानव अङ्ग सङ्कलन गर्नुका साथै रसुवागढी र त्रिशूली–३ ‘बी’ आयोजनामा उत्खनन गरी खोज तथा उद्धारकार्य भएको छ । छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुको जनशक्ति तथा प्रविधिसहित नेपाली सेनासँग संयुक्त रूपमा टनेलहरूमा खोज तथा उद्धारकार्यमा संलग्न भएका थिए ।

    त्यसैगरी, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्यका अतिरिक्त बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै सेनाले त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गर्यो, जसबाट तुरुन्त बाढीबाट घाइते र अन्य गरी चार हजार तीन जनाले प्रत्यक्ष चिकित्सा सेवा प्राप्त गरे । सुरुङ तथा भौगोलिक रूपमा विकट इलाकामा गम्भीर घाइते अवस्थामा फेलापरेका नागरिकलाई हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र अस्पताल पुर्याएर आपत्कालीन उपचार प्रदान गरियो । विस्थापितहरूका लागि अस्थायी आवास र होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै महामारी फैलन नदिन स्थानीय निकायसँगको समन्वयमा निसङ्क्रमण अपरेसन सञ्चालन गरिएको थियो ।

    खोज तथा उद्धारकार्य, स्वास्थ सेवा प्रदानका साथसाथै प्रभावित जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनस्र्थापनामा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्याएको छ । नुवाकोटको देवीघाटस्थित तादी नदीमा करिब ६० मिटर लम्बाइ र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनको निरन्तर प्रयासमा जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइयो । स्याफ्रुबेँसी–चिलिमे र इन्द्रेणी घाटमा तुइन तथा काठका अस्थायी फट्के निर्माण गरिए । बेत्रावतीमा बेलीब्रिज निर्माणकार्य अगाडि बढाउने क्रममा विष्फोटक पदार्थ प्रयोग गरी पुल निर्माण गर्ने स्थानसम्म जाने बाटो निर्माण भइहेको छ ।

    समग्रमा, रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा नेपाली सेनाको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रह्यो । सम्पूर्ण उद्धार अभियान प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच कार्यसम्पादन गरिएको थियो । आफ्नै परिवार तथा सैनिकसमेत विपद्बाट प्रभावित रहेको अवस्थामा पनि नेपाली सेनाले कर्तव्यलाई सर्वोच्च प्राथमिकता दिँदै नागरिकको जीवनरक्षाका लागि निरन्तर अग्रपङ्क्तिमा रही खोज तथा उद्धार कार्य सञ्चालन गरिएको छ ।

    विशेषतः हाइड्रोपावरको साँघुरो र जोखिमपूर्ण सुरुङभित्र करिब १७० मिटर गहिराइसम्म प्रवेश गरी लेदो, चट्टान, सीमित स्थान तथा थप जोखिमको सम्भावनाबीच गरिएको जीवित उद्धार नेपाली सेनाको अदम्य साहस, उच्च व्यावसायिक दक्षता, टोलीगत समन्वय र जोखिम वहन गर्ने सैनिक चरित्रको कारणले सम्भव भएको देखिन्छ ।

    राष्ट्रिय सङ्कट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तर–निकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको छ । सङ्कटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ ।

    साथै, विपद् प्रतिकार्यमा नेपाल सरकारको निर्देशनबमोजिम नेपाली सेनालगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय निकाय र स्थानीय समुदायबीच समन्वय र सहकार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट देखिएको छ ।

  • तिनाउ बाढीमा छ घर बगे

    तिनाउ बाढीमा छ घर बगे

    रूपन्देही, ११ असोजः तिनाउको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकबहादुर शाहीका अनुसार बाढीले दुई पक्की र चार कच्ची घर बगाएको हो । घरसँगै त्यहाँका सरसामान पनि बगेका छन् । मानवीय क्षति भने भएको छैन । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । वर्षा रोकिएको छैन ।

  • बाँकेमा हुरीले धानबालीमा क्षति

    बाँकेमा हुरीले धानबालीमा क्षति

    राँझा (बाँके),११ असोजःलगातारको वर्षासँगै शनिबारको हुरीले यहाँको धानबालीमा क्षति भएको छ । नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ । डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ । कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताइन् ।

  • बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

    बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

    बागलुङ, ११ असोजः बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो । केहीबेर अघि तीन जनाको शव निकालिएको हो ।

  • सिद्धार्थ राजमार्ग अवरुद्ध

    सिद्धार्थ राजमार्ग अवरुद्ध

    वालिङ (स्याङ्जा), ११ असोजः पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको वालिङ–स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो ।
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार पुतलीबजार नगरपालिका–१ तीनधारे र वालिङ नगरपालिका–१ रामबाच्छामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । प्रहरी, स्थानीय पालिका, सडक विभागको सहकार्यमा बाटो खोल्ने प्रयास जारी छ ।

  • आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

    आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)


    काठमाडौँ, ११ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नपछि गर्नुपर्ने समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।


    आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

    यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । सोह्र श्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् ।


    कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

    आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्रा डा भट्टराईले जानकारी दिए ।


    त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले बताउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । सोह्र श्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफूअनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको धर्मशास्त्रविद्रहरु बताउँछन् ।

    पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत जेठ महिनामा अधिकमास परेकाले सोेह्र श्राद्ध र बडादसैँ पर्व पछि सरेको छ ।

  • बर्दियामा वर्षाले तीन घरमा क्षति

    बर्दियामा वर्षाले तीन घरमा क्षति


    बर्दिया, ११ असोजः बर्दियामा अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा तीन घरमा क्षति पुगेको छ । घरको भित्ता भत्किँदा बाँसगढी नगरपालिका–८ रेशम टोलमा एउटा बङ्गुरसमेत मरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानबाट ठूलो क्षति हुन नदिन जिल्ला प्रशासन र प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

    प्रहरीलाई पूर्वतयारी अवस्थामा राखिनुका साथै नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन गाउँगाउँमा माइकिङसमेत गरिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।
    दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण बाँसगढी नगरपालिका–८ रेशम टोलका जलबहादुर चौधरीको चारकोठे इँटा, माटोको कच्ची घरको दक्षिणतर्फको भित्ता भत्किएको छ ।

    भित्ता भत्किँदा घरसँगै जोडिएको बङ्गुरको खोर च्यापिएर खोरमा रहेको बङ्गुर मरेको प्रहरीले जनाएको छ । त्यसैगरी, मधुवन नगरपालिका–५ का खिरबहादुर गुरुङको चारकोठे कच्ची घरको दक्षिणतर्फको एउटा कोठाको भित्ता भत्किएको छ भने बारबर्दिया नगरपालिका–९ खैरेनीमा दुईकोठे कच्ची घरको पश्चिम र दक्षिणतर्फको भित्ता भत्किएको छ । उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    निरन्तर वर्षाका कारण स्थानीय कुला तथा नालामा पानीको सतह बढेपछि गुलरिया नगरपालिका–१ छेदापुर चोकमा पाँचवटा कच्ची घरमा पानी पसेको छ । पानी घरभित्र पसेको जानकारीपछि प्रहरी र वडाका जनप्रतिनिधिको सहयोगमा प्रभावित परिवारलाई उद्धार गरेर छेदापुरस्थित श्री स्वामी प्रमानन्द प्राथमिक विद्यालयमा बस्ने व्यवस्था मिलाएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।


    त्यसैगरी, बढैयाताल गाउँपालिका–१ दैलेखी टोलकी गोमा विकको कच्ची घरमा पनि पानी पसेको छ । वर्षाका कारण प्रभावित परिवारलाई घरका सामानसहित सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । बर्दियामा कर्णाली, गेरुवा र भादा नदीमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका बासिन्दा डुबानको जोखिममा पर्ने गरेका छन् । नदीको जलसतह खतराको चिह्न पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई सतर्क गराउन साइरन बजाउने गरिएको छ ।

    कर्णाली नदीको चिसापानी जलसतह मापन केन्द्रमा १० मिटर आठ सेन्टिमिटर जलसतह पुगेपछि खतरा तह पार गर्ने जनाइएको छ । हाल उक्त केन्द्रमा नदीको जलसतह खतरा तहभन्दा तल रहेको गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । वर्षा निरन्तर भइरहेकाले नदीको जलसतह भने बढिरहेको उनले बताए । त्यसैगरी, बबई नदीको जलसतह पनि खतरा तहभन्दा तल रहेको चेपाङस्थित जलसतह मापन केन्द्रका गेज रिडर मोहनलाल जैसीले जानकारी दिए ।

  • सप्तरीका ५०० घर डुबानमा, बागलुङका सबै सडक अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा, बागलुङका सबै सडक अवरुद्ध


    सप्तरी, ११ असोजः लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ बाढी पस्दा १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका छन् । शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताए ।


    उनले भने, “बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरे पनि अलिकति पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ ।”

    बागलुङका विभिन्न सडक अवरुद्ध

    बागलुङः लगातारको वर्षाका कारण बागलुङका दुई राष्ट्रिय राजमार्गसहित दर्जनौँ ग्रामीण सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम बागलुङ बजारसँग सम्पर्क टुटेको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसहित विभिन्न शाखा तथा ग्रामीण सडकमा बाढीपहिरोले क्षति पुर्याउँदा यातायात सेवा प्रभावित बनेको हो ।

    गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने गलकोट–ताराखोला सडकको गाईघाट झरना क्षेत्रमा ताराखोला नदीले पक्की सडक कटान गरेपछि शुक्रबारदेखि सडक अवरुद्ध भएको छ । बागलुङ बजारदेखि तित्याङ, रायडाँडा हुँदै भकुण्डे जोड्ने सडकको बागलुङ नगरपालिका–३ गौडाकोटमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित गणेशथान घुम्तीदेखि निरयघाट जाने सडकमा पहिरो खस्दा सडक बन्द भएको छ ।

    पहिरोका कारण बागलुङ बजारदेखि सिगाना हुँदै सायकोट जाने सडकसमेत अवरुद्ध भएको छ । बागलुङ बजारदेखि दब्ल्याङ हुँदै बलेवा–कुश्मिसेरा जोड्ने मुख्य सडक अवरुद्ध भएपछि दक्षिण बागलुङको यातायात सम्पर्क टुटेको छ । बागलुङ बजारदेखि मुलपानी–तितौरे जाने सडकको तल्लो पात्लेमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बरेङ जाने सडक, निसीखोलामा राजमार्गबाट गाउँ जोड्ने साना सडक तथा ढोरपाटनका ग्रामीण सडकमा समेत ठाउँठाउँमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले वर्षाका कारण राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार अवरुद्ध सडक खुलाउन सडक आयोजनाका प्रमुख, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी तथा स्थानीय तहसँग समन्वय भइरहेको छ । लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा जिल्लाका विभिन्न ग्रामीण बस्तीको सदरमुकामसँगको यातायात सम्पर्क प्रभावित भएको छ ।

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    कर्णाली, ११ असोजः यही असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाले सुर्खेत–दैलेख–कालीकोट–बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत–दैलेख–कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्गअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला, एस मोड र सुर्खेतको बराहताल गाउपालिका–७ को औलिसेमा गएको पहिरोले करिडोर तथा राजमार्ग दुवै अवरुद्ध भएको छ ।

    त्यस्तै, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–२ सम्लेखोलामा गएको पहिरोले मध्यपहाडी राजमार्ग, सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा गएको पहिरोले राप्ती राजमार्ग बन्द भएको प्रवक्ता राठौरले बताए । उनका अनुसार सल्यानकै बनगाड कुपिण्डे नगरपालिका–८ को र्यालेमा गएको पहिरोले सुर्खेत–सल्यान र त्रिवेणी गाउँपालिका–३ ढुङ्गेबगरमा गएको पहिरोले लुहाम–कालीमाटी सडकखण्ड अवरुद्ध भएका छन् ।

    त्यसैगरी, जाजरकोट छेडागाड नगरपालिका–४ लेवाभिर, कालीकोट तिलागुफा नगरपालिका–१ भिग्म, जुम्ला तातोपानी गाउँपालिका–१ बाइराँका र राँकागाउँ बीचको सडकखण्ड, मुगु रारा छाँयानाथ नगरपालिका–७ र ८ पिनास्थित गमगढी–नाग्म सडकखण्ड पनि बन्द भएको यद्यपि सडक सञ्चालनका लागि पहिरो पन्छाउन सडक डिभिजन कार्यालय जुम्ला, जाजरकोट सल्यान र सुर्खेतबाट जेसिबी तथा स्काभेटरलगायतका उपकरण पठाएको प्रवक्ता राठौरले बताए ।

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक


    गण्डकी, ११ असोजः गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडान शनिबार चौथो दिनमा पनि उत्साहजनक रह्यो । शनिबार साँझ ६ः०५ बजे १५६ यात्रुसहित पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइ दुबईको जहाजले पोखराबाट ८३ यात्रु लिएर दुबई फर्केको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।


    यसअघि गति बिहीबार दुबईबाट फ्लाइ दुबईमार्फत १२२ यात्रु पोखरा अतवरण गरेका थिए । पोखराबाट १४३ यात्रु उक्त जहाजबाट दुबई गएका थिए । शुक्रबार भने खराब मौसमका कारण पोखरा–दुबई उडान रद्द भएको थियो । बुधबार पहिलो उडानबाट ११३ यात्रु दुबईबाट पोखरा आएका थिए । फर्कँदा उक्त जहाजले पोखराबाट १५२ यात्रु लिएर गएको थियो ।

    यस उडानलाई प्रभावकारी र दिगो बनाउन कस्सिएका पोखराका पर्यटन व्यवसायीलगायत सम्बद्ध पक्ष सुरुआतका दिनमा यात्रु सङ्ख्या देखेर उत्साहित छन् । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–दुबई उडानको सुरुआती सङ्केत सकारात्मक र उत्साहजनक रहेको बताए । “यात्रुको बुकिङ पनि राम्रो छ, टुर्स एन्ड ट्राभल्स व्यवसायीहरू पनि खुसी हुनुहुन्छ”, उहाँले भन्नुभयो, “यस उडानबाट आउने यात्रुलाई लक्षित गरी होटल, रेष्टुराँले छुट योजना ल्याएका छन् ।” फ्लाइ दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र साँझ ७ः१५ बजे दुबई प्रस्थानको तालिका रहेको विमानस्थलका सूचना अधिकारी रावतले जानकारी दिए ।


    फ्लाइ दुबईले १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई–पोखरा–दुबई उडान सुरु गरेको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सुरु गर्ने फ्लाइ दुबई पहिलो वायुसेवा कम्पनी हो । यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तरराष्ट्रिय चार्टर उडान गरेका थिए ।

    यो उडान सुरु भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकबाट सजिलै पोखरा आउन सकिने भएको छ । यसबाट पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुनसकेको थिएन ।

    सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान सुरु गरेको हो । दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो ।

    सरकारले अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ ।

  • पर्वतमा बाढी, पाँच घर बगे

    पर्वतमा बाढी, पाँच घर बगे

    गण्डकी, ११ असोजःकालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् । गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । कालीगण्डकी बाढीले म्याग्दी, पर्वत, बागलुङलगायत जिल्लाका तटीय क्षेत्रमा विभिन्न स्थानमा कटान गरेको छ । गएरातिदेखि कालीगण्डकीमा जलसतह बढेपछि सर्वसाधारणमा त्रास बढेको छ ।

  • सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

    सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

    कास्की, १० असोज । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ । रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी किनारमा रहेका पोखरा–९ र पोखरा–११ का सुकुमवासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहहरूसमेत जलमग्न भई जोखिममा परेका छन् । सेतीमा पानीको बहाव बढेर रामघाटमा ताल बनेपछि त्यस वरपरको सुकुमवासी बस्तीमा सुरक्षाकर्मी परिचालन गरी सतकर्ता अपनाइएको र प्रहरीले निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।


    उनका अनुसार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट वरपरको क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । “विगतमा जस्तै पानीको उच्च बहावले ताल बने पनि अहिल्यै आत्तिनुपर्ने अवस्था नभएको स्वयं स्थानीयले बताएका छन् । हामीले सुरक्षाकर्मी परिचालन गरी पूर्वसावधानी र जोखिम मुल्याङ्कन गरीरहेका छौँ । अहिलेको अवस्था हेर्दा आतङ्कित हुनेभन्दा सतर्क र सचेत बन्नु आवश्यक छ । खतरा हुने वित्तिकै नदीको वारी र पारी दुवैतर्फ रहेका बस्तीहरू सुरक्षित स्थानमा छौँ”, सहायक प्रजिअ बरालले भने ।

    बजारको मध्य भाग भएर बग्ने नदीको बहाव रोकिएर ताल बनेपछि पोखरेली भने त्रसित छन् । यसैगरी अविरल वर्षाका कारण जिल्लामा केही ग्रामीण सडकहरू भने अवरुद्ध भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्याउली बजारमा मोदी खोलाले सडक कटान गर्दा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध भएको छ ।

    मोदीले शुक्रबार साँझ स्याउली बजारमा १० मिटर सडक कटान गरेको गाउँपालिका प्रवक्ता भरतमान गुरूङले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध हुँदा पर्यटकीय क्षेत्र घान्द्रुकको पोखरासँगको सम्पर्क विच्छेद छ ।

  • पछिल्लो विपद्बाट छ जनाको मृत्यु

    पछिल्लो विपद्बाट छ जनाको मृत्यु

    काठमाडौँ, १० असोजः अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ । विपद्बाट बागमती र लुम्बिनी प्रदेशमा दुई-दुई, गण्डकी र कर्णालीमा एकरएक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । बाढीपहिरोमा परी दुई जना घाइते भएका छन् । घाइतेका लागि स्थानीय अस्पताल उपचार भइरहेको छ । प्रहरीले ४०७ जनाको उद्धार गरेको छ ।

  • कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

    कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

    कर्णाली, १० असोज । पानी पार्ने प्रणाली पश्चिम सरेसँगै कर्णाली प्रदेशको हुम्लामा भारी वर्षा भएको छ । यो सन् १९७८ पछिको ठूलो वर्षा हो । असोज ९ गते शुक्रबार दिउँसो १ः०० बजेदेखि १० गते शनिबार दिउँसो १ः०० बजेसम्मको २४ घण्टाको मापन अनुसार हुम्लाको सदरमुकाम सिमकोटमा ११४ दशमलव ८ मिलिमिटर वर्षा भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतका कार्यालय प्रमुख डा इन्दिरा कँडेलले जानकारी दिए ।

    उनका अनुसार सन् २०२१ मा सिमकोटमा ११० मिलिमिटर र २०१५ मा ९८ मिलिमिटर वर्षा भएको थियो । कार्यालय प्रमुख डा कँडेलले भने, “हुम्लाको हिसाबमा ११४ दशमलव ८ मिलिमिटर पानी पर्नु भनेको यो विषम वर्षा हो । यो रेकड ब्रेक वर्षा पनि हो । समुद्री सतहदेखि दुई हजार ९९३ मिटर उचाइमा रहेको हुम्ला सदरमुकाम सिमकोटमा १४ हजार ११३ दिन वर्षा मापन गरिएको थियो । जसमा एक मिलिमिटरभन्दा बढी वर्षा भएको दिन तीन हजार ७९४ को अभिलेख छ ।”

    उनका अनुसार वर्षा भएको तीन हजार ७९४ दिन मध्ये १०० मिलिमिटरभन्दा बढी वर्षा भएको एक दिन, ७५ मिलिमिटरभन्दा बढी वर्षा भएको ६ दिन र ५० मिलिमिटरभन्दा बढी वर्षा भएको १२ दिन रहेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कमा अभिलेख गरिएको छ ।

    त्यसैगरी, असोज ९ गते शुक्रबार दिउँसो १ः०० बजेदेखि १० गते शनिबार दिउँसो १ः०० बजेसम्मको २४ घण्टाको वर्षा मापन गर्दा सुर्खेत वीरेन्द्रनगरमा भने ७५ दशमलव ५ मिलिमिटर पानी परेको बताउँदै उनले कर्णालीका भारी वर्षा भएको बताए । भारी वर्षाका कारण हुम्ला, जाजरकोट, कालीकोट, मुगु, जुम्ला, सल्यान जिल्लाका विभिन्न स्थानमा पहिरो गएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताए ।

  • हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’

    हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’

    ‘
    काठमाडौँ, १० असोजः जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नेपालद्वारा आज आयोजित ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम भएको हो ।

    नेपालले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उक्त उच्चस्तरीय विशेष कार्यक्रम गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिमाल, नदी, समुद्र तथा तटीय र द्वीपीय क्षेत्र जलवायु परिवर्तनका दृष्टिले परस्पर जोडिएका पारिस्थितिक प्रणाली भएकाले जलवायु सङ्कट सम्बोधनका लागि सामूहिक र समन्वित प्रयास आवश्यक रहेको बताए ।


    परराष्ट्रमन्त्री खनालले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले हिमालदेखि समुद्रसम्मको साझा जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए । परराष्ट्रमन्त्री खनालले भने, “तपाईंहरूको साझेदारीले हिमाली, द्वीपीय र तटीय क्षेत्रका दृष्टिकोणलाई एउटै संवादमा ल्याएको छ ।”


    नेपाल अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै मन्त्री खनालले गत २६ अगस्ट (भदौ १०) मा लाङटाङ क्षेत्रमा चट्टान र हिमनदीको ठूलो हिस्सा खस्दा भोटेकोशी बाढी गएको जनाउँदै यसबाट ठूलो जनधन तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको बताए । उनले उक्त घटनालाई आफूले ‘हिमालयन सुनामी’ का रूपमा वर्णन गरेको उल्लेख गर्दै भने, “घाउहरू अझै ताजा छन् । यस्तो अवस्थामा यो विषयमा छलफल गर्नु उपयुक्त समय हो ।”

    परराष्ट्रमन्त्री खनालले ‘सगरमाथादेखि समुद्रसम्म’को अवधारणा जलवायु प्रणाली राजनीतिक सीमाभन्दा पर रहेको यथार्थमा आधारित रहेको बताए । पृथ्वीको सर्वोच्च शिखर सगरमाथा तथा हिमालय क्षेत्रलाई ध्रुवीय क्षेत्रबाहेक सबैभन्दा ठूलो हिम तथा हिउँ भण्डार रहेको ‘थर्ड पोल’ अर्थात् ‘तेस्रो ध्रुव’ का रूपमा व्याख्या गर्दै उनले यस क्षेत्रमा ६३ हजार ७०० भन्दाबढी हिमनदी रहेको जानकारी दिए ।


    परराष्ट्रमन्त्री खनालले सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिमनदीलाई ‘आइस रिजभ्र्वायर्स’ अर्थात् ‘बरफका जलाशय’ का रूपमा वर्णन गरेको स्मरण गरे । हिमनदीबाट निस्कने पानी नदी हुँदै पारिस्थितिक प्रणाली र समुदायलाई पोषण गर्दै समुद्रसम्म पुग्ने बताउँदै उनले पछिल्ला तीन दशकमा नेपालले आफ्नो हिम क्षेत्रको करिब एकतिहाइ हिस्सा गुमाइसकेको जानकारी दिए ।
    परराष्ट्रमन्त्री खनालले हिमनदीको ह्रासले नदीको बहावमा परिवर्तन ल्याउँदै तल्लो तटीय क्षेत्रका जनजीवनमा असर पारिरहेको र अर्कोतर्फ द्वीपीय तथा तटीय मुलुकहरूले समुद्री सतह वृद्धि, तटीय क्षय र विस्थापनको सामना गरिरहेको बताए । उनले भने, “नक्सामा हेर्दा हिमाल र समुद्र एकअर्काबाट टाढा देखिन सक्छन्, तर प्रकृतिले हामीलाई त्यसको विपरीत कुरा बताउँछ ।”

    जलवायु सङ्कटका विषयमा सम्बोधनका लागि मन्त्री खनालले पाँच वटा प्रस्ताव अघि सारेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनले विज्ञान, नीति र लगानीले हिमाल, ताजा पानीका प्रणाली र महासागरबीचको पारिस्थितिक निरन्तरतालाई स्वीकार गर्नुपर्ने धारणा राखेका हुन् ।


    जलवायु प्रक्रियामा हिमाललाई थप प्राथमिकता दिँदै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचनामा यसको व्यवस्थित समावेश गरिनुपर्नेमा परराष्ट्रमन्त्री खनालले जोड दिए । विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य कायम राख्नुपर्नेमा जोड दिँदै उनले कार्बन उत्सर्जन कटौतीलाई तीव्रता दिन तथा जीवाश्म इन्धनबाट सङ्क्रमणसम्बन्धी जलवायु प्रक्रियाअन्तर्गत भएका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने बताए ।

    परराष्ट्रमन्त्री खनालले प्रारम्भिक चेतावनी प्रणाली, उत्थानशील पूर्वाधार, पूर्वानुमानमा आधारित अग्रिम कार्य तथा वैज्ञानिक सहकार्यलाई थप सुदृढ गर्नुपर्ने धारणा राखे । विकासशील मुलुकका लागि पर्याप्त, पूर्वानुमानयोग्य र सहज पहुँचयोग्य जलवायु वित्त, प्रविधि तथा क्षमता विकास आवश्यक रहेको उल्लेख गर्दै उनले हानि तथा क्षतिलाई सम्बोधन गर्ने कोषलाई पर्याप्त स्रोतसहित प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिए ।


    परराष्ट्रमन्त्री खनालले भने, “जलवायु न्याय तब मूर्त हुन्छ, जब देशहरूले प्राप्त गर्ने सहयोगमा जिम्मेवारी, क्षमता र जोखिमको स्तर प्रतिबिम्बित हुन्छ ।” जलवायु परिवर्तन न्यूनीकरण तथा वातावरण संरक्षणमा नेपालले आफ्नोतर्फबाट योगदान गरिरहेको उल्लेख गर्दै उनले नेपालको करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको, स्वच्छ जलविद्युत् र विद्युतीय यातायातको विस्तार भइरहेको तथा समुदायको नेतृत्वमा हुने संरक्षण कार्य वातावरणीय व्यवस्थापनको महत्वपूर्ण आधार रहेको बताए ।


    नेपालले सन् २०२५ मा जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यलाई केन्द्रमा राखेर पहिलो ‘सगरमाथा संवाद’ आयोजना गरेको स्मरण गर्दै परराष्ट्रमन्त्री खनालले यसको दोस्रो संस्करणमा आगामी वर्ष अन्तरराष्ट्रिय समुदायलाई स्वागत गर्न नेपाल इच्छुक रहेको बताए । उनले ‘सगरमाथादेखि समुद्रसम्म’ लाई ज्ञान, साझेदारी र व्यावहारिक सहकार्यको मञ्चका रूपमा विकास गर्ने नेपालको परिकल्पना रहेको बताए ।


    नेपाल सरकार र नेपाली जनताका तर्फबाट सहभागीलाई स्वागत गर्दै मन्त्री खनालले सहआयोजक मुलुकहरू भुटान, माल्दिभ्स, न्युजिल्यान्ड, सामोआ र ताजिकिस्तान तथा संयुक्त राष्ट्रसङ्घीय निकाय, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोगलाई उक्त कार्यक्रममा सहकार्यका लागि धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ । कार्यक्रममा नेपाल, संयुक्त राष्ट्रसङ्घसहित विश्वका विभिन्न मुलुकबाट उच्चस्तरीय तहमा सहभागिता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले कार्यक्रममा भोटेकोसी बाढीको भिडियो प्रस्तुत गरेको थियो ।

  • बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

    बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित


    गुल्मी, १० असोजः अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन् । बाढी तथा पहिरोको जोखिममा परेका, घरको छानोमा क्षति पुगेका प्रभावित परिवारलाई प्रहरी तथा स्थानीयको सहयोगमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कायालय गुल्मीका सुभना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । रुरुक्षेत्र गाउँपालिका–१ रिडीस्थित लामाचौपारी क्षेत्रमा कालीगण्डकी नदीको बहाव बढेपछि नदी किनारमा पसल सञ्चालन गरी बस्दै आएका सात घरधुरी जोखिममा परेका छन् । जोखिममा परेका परिवारलाई स्थानीयवासी र प्रहरीको सहयोगमा आफन्तको घरमा स्थानान्तरण गरिएको छ ।

    रेसुङ्गा नगरपालिका-४ सेउघामा घर माथिबाट पहिरो खसेपछि दुई परिवार विस्थापित भएका छन् । तेजबहादुर खत्रीको चार र एमकला खत्रीको दुईसहित छ जनालाई प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार गरी नजिकैको गोठमा स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले जानकारी दिए ।

    उनका अनुसार मदाने गाउँपालिका-६ पुर्कोटदहस्थित ठुम्कामा हावाहुरी र वर्षाका कारण घरको टिनको छानो उडेपछि ३७ वर्षीय सन्तोष चुदराको परिवार विस्थापित भएको छ । चन्द्रकोट गाउँपालिका-४ रेमीमा ४४ वर्षीय खेमबहादुर कार्कीको गोठ भत्किएर क्षति पुगेपछि उहाँको परिवार पनि विस्थापित भएको छ । कार्कीको एकतले कच्ची गोठ भत्किँदाभित्र बाँधिएका पाडापाडी पुरिएर मरेका छन् ।

    यसैगरी मुसिकोट नगरपालिका १ पखेरामा २७ वर्षीया सुशीला विकको एकतले कच्ची गोठ भत्किँदा एउटा माउ बाख्रा पुरिएर मरेको छ । बाढी तथा पहिरोबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पहिरोग्रस्त क्षेत्रमा उद्धार कार्यलाई सक्रिय बनाएका छन् । जोखिमयुक्त क्षेत्रमा समयमै उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणमा आग्रह गरेको छ ।

    कालीगण्डकीमा पानीको बहाव बढेपछि स्थानीयलाई सारियो

    लगातारको वर्षासँगै आएको बाढीका कारण गुल्मीको कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि रुरुक्षेत्र गाउँपालिका(१ रिडि बजारस्थित तटीय क्षेत्रका उच्च जोखिममा परेका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । इलाका प्रहरी कार्यालय रिडिबाट प्रहरी सहायक निरीक्षक मनबहादुर विश्वकर्माको नेतृत्वमा प्रहरी टोली उद्धार तथा स्थानान्तरणको काममा खटिएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले जानकारी दिए ।

    आज बिहान नदीमा पानीको सतह एकाएक बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारका नागरिकलाई सर्तक रहन र सुरक्षित स्थानमा बसोवास गर्न आग्रह गरेको छ । कालीगण्डकी नदीमा पानीको बहाव उच्च रूपमा बढ्दै गएपछि रिडीवासीमा यतिबेला थप त्रास बढेको छ ।

  • सरकारले भन्यो : संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

    सरकारले भन्यो : संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

    काठमाडौँ, १० असोजः प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा महासभाअन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको बताइएको छ । प्रधानमन्त्री शाह महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् । उनको भ्रमणबारे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जानकारी दिनुहुँदै परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले महासभामा नेपालको सक्रिय सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा मुलुकको प्रतिष्ठा अभिवृद्धि भएको बताए ।
    प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन यही असोज ६ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए । उक्त उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना भइरहेको छ । प्रधानमन्त्री शाहले महासभाको ‘जनरल डिबेट’ मा २४ सेप्टेम्बर २०२६ मा सम्बोधन गरेका थिए ।

    उक्त सम्बोधनका क्रममा उनले गत महिना भोटेकोशीमा गएको विनाशकारी बाढीलाई जलवायु सङ्कटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गरेको निमित्त सचिव ढकालले बताए । प्रधानमन्त्री शाहले उक्त विपद्बाट भएको ठूलो जनधनको क्षति, भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असरबारे विश्वसमुदायको ध्यानाकर्षण गराए ।


    सो अवसरमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर तथा हिमनदी र ‘पर्माफ्रस्ट’ पग्लिँदै जाँदा हिमपहिरो, बाढी र पहिरोलगायत विपद्को जोखिम बढ्दै गएको बताएको उनले जानकारी दिए । सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले जोखिमयुक्त हिमतालको निगरानी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र विपद्का समयमा सीमापार समन्वयका लागि ‘हिमालयन क्लाइमेट रेजिलेन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गरेका थिए ।


    साथै प्रधानमन्त्री शाहले ‘यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’ भन्दै विश्व शान्तिको आह्वान गरेको निमित्त सचिव ढकालले बताए । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए । भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताए ।

    प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए । भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताएको उनले बताए ।


    यसैगरी, प्रधानमन्त्री शाहले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानिजसँग भेटवार्ता गरेका थिए । उक्त अवसरमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । महासभाको क्रममा आयोजना हुने अतिकम विकसित मुलुक, भू–परिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न मुलुक, जि–७७ र चीन लगायत मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भइरहेको निमित्त सचिव ढकालले बताए ।

    साथै, संयुक्त राष्ट्रसङ्घले आयोजना गरेका अन्य उच्चस्तरीय छलफल तथा साइड इभेन्टमा पनि मन्त्री खनालले सम्बोधन गरिरहेका छन् । परराष्ट्रमन्त्री खनालले छिमेकी मुलुकलगायत विभिन्न मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसङ्घका उच्चस्तरीय पदाधिकारीहरूसँग भेटवार्ता गरिरहेका छन् ।

  • बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

    बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध


    बागलुङ, १० असोजः बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरूद्व भएको छ । कालीगण्डकी करिडोर बागलुङ खण्डको जैमिनी नगरपालिका र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको निसोखोला गाउँपालिकामा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक ठप्प भएको हो ।

    यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।


    दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको बताउँदै उपरीक्षक प्रसाईंले पानी निरन्तर परिरहेकाले पहिरो खुलाउन नसकिएको र सकभर यात्रा नगर्न आग्रह गरिएको छ ।

  • बाढी पसेपछि सुस्तावासी समस्यामा

    बाढी पसेपछि सुस्तावासी समस्यामा

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको क्बाढीबस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् । जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित थारु टोलका घरपरिवार बाढी पसेपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तकहाँ आश्रय लिएका छन् । प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले भने, “सुस्ताको थारु टोलमा केही घरमा बाढी पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको हो । केही आफन्तको घरमा गएर बसेका छन । भने केही सुस्तामा रहेको सुरक्षित आश्रय स्थल (सामुदायिक भवन)मा बसेका छन् ।”

    सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार थारु टोलमा रहेको ७८ घरपरिवारलाई सुस्ताको आश्रयस्थल र आफन्तका घरमा सारिएको छ । नारायणी नदीको बाढी थारु टोलमा प्रवेश गरेपछि नेपाल प्रहरी लगायत उद्धारका लागि खटिएका सुरक्षाकर्मी सहयोगमा सूचना प्रवाह गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो ।

    सुस्ता कै स्थानीय मुन्सीकुमार हरिजनका अनुसार लगातारको वर्षाले सुस्ताको थारु टोलमा रहेको केही घर डुबानमा परेको छ । नारायणी नदीको बाढी सिधै सुस्ताको थारु टोलमा प्रवेश गरी घर, खेतबारी तथा बाटो डुबान गराएको बताए । उनले भने, “मैलै लगाएको १० कठ्ठामा उखु खेती पनि नारायणीको बाढीले बटान गरी बगाएको छ । म जस्तै दर्जनौँभन्दा बढी किसानको धान र उखुलगायतको बाली कटान गरि बगाएको छ ।” सुस्तास्थित नारायणी नदीले वर्षा मौसम सुरु भए लगतै अस्थायी बाँध कटान गर्दै सुस्ताको धेरै भूमि कटान गरिसकेको छ ।

  • ‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ’

    ‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ’


    काठमाडौँ, १० असोजः नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न अन्तरराष्ट्रिय समुदायबीच सामूहिक र समन्वित प्रयास आवश्यक रहेकामा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा ‘सगरमाथा टु द सीः अ कल टु एक्सन फर अ क्याइमेट रेजिलियन्ट फ्युचर’ शीर्षकमा नेपालले आज आयोजना गरेको विशेष कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले हिमाल, नदी, समुद्र तथा तटीय क्षेत्रलाई एउटै पारिस्थितिक प्रणालीका रूपमा हेर्नुपर्ने बताए ।
    नेपालले पछिल्ला जलवायुजन्य विपद्का घटनापछि जलवायु परिवर्तनका कारण सिर्जित जोखिम र त्यसको प्रभावलाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने सन्दर्भमा भएको उक्त कार्यक्रममा उनले गत महिना लाङटाङ क्षेत्रमा चट्टान र हिमनदीको ठूलो हिस्सा खस्दा जनधन तथा महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति भएको बताए ।


    उक्त घटनालाई ‘हिमालयन सुनामी’ का रूपमा चित्रण गर्दै उहाँले जलवायुजन्य विपद्बारे बहस अपरिहार्य भएकामा जोड दिएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ । मन्त्री खनालले हिमालय क्षेत्र ध्रुवीय क्षेत्रबाहेक विश्वको सबैभन्दा विशाल हिम भण्डार भएको वास्तविकता सुनाउँदै यस क्षेत्रबाट ६३ हजार ७०० भन्दा बढी हिमनदी बग्ने गरेका बताए । पछिल्ला तीन दशकमा नेपालले आफ्नो हिम क्षेत्रको करिब एकतिहाइ भाग गुमाइसकेको बताउँदै हिमनदीको ह्रासबाट तल्लो तटीय क्षेत्रका समुदायलाई असर पारिरहेको बताए ।


    द्विपीय तथा तटीय मुलुकहरूले समुद्री सतह वृद्धि, तटीय क्षय र विस्थापनको सामना गरिरहेको बताउँदै मन्त्री खनालले हिमाल र समुद्रलाई छुट्टाछुट्टै नभई परस्पर जोडिएको जलवायु प्रणालीका रूपमा हेर्नुपर्नेमा जोड दिए । जलवायु सङ्कट सम्बोधनका लागि विज्ञान, नीति र लगानीमा हिमाल, ताजा पानीका प्रणाली र महासागरबीचको सम्बन्धलाई समेट्नुपर्ने, जलवायु प्रक्रियामा हिमाललाई थप प्राथमिकता दिनुपर्ने तथा विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यअनुरूप उत्सर्जन कटौतीलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो ।

    विकासशील मुलुकका लागि पर्याप्त, पूर्वानुमानयोग्य र सहज पहुँचयोग्य जलवायु वित्त, प्रविधि तथा क्षमता विकास आवश्यक रहेको उल्लेख गर्दै मन्त्री खनालले हानि तथा क्षतिलाई सम्बोधन गर्ने कोषलाई पर्याप्त स्रोतसहित प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिए । “जलवायु न्याय तब मूर्त हुन्छ, जब देशहरूले प्राप्त गर्ने सहयोगमा जिम्मेवारी, क्षमता र जोखिमको स्तर प्रतिबिम्बित हुन्छ,” उनले भने ।
    जलवायु परिवर्तन न्यूनीकरण तथा वातावरण संरक्षणमा नेपालले आफ्नोतर्फबाट योगदान गरिरहेको, नेपालको करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको, जलविद्युत् र विद्युतीय यातायातको विस्तार भइरहेको तथा समुदायको नेतृत्वमा हुने वातावरण संरक्षण एवं व्यवस्थापनलाई वर्तमान सरकारले प्राथमिकताका साथ कार्यान्वयन गरेको परराष्ट्रमन्त्री बताए ।

  • इर्यू राष्ट्रहरूद्वारा युक्रेनी हतियार कोषको ६.६ अर्ब युरो प्रयोग गर्न दिने सहमति

    इर्यू राष्ट्रहरूद्वारा युक्रेनी हतियार कोषको ६.६ अर्ब युरो प्रयोग गर्न दिने सहमति


    ब्रसेल्स, १० असोज (रासस–एएफपी) । युरोपेली सङ्घ (ईयू) सदस्य राष्ट्रहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूूर्ति गर्न बनाइएको कोषबाट ६।६ अर्ब युरो (७.५ अर्ब डलर) जारी गर्न सहमति जनाएका समूहकी शीर्ष कूटनीतिज्ञले शुक्रबार बताएका छन् । इयू राष्ट्रहरू वर्षौंदेखि समूहको युरोपेली शान्ति सुविधा कोषअन्तर्गत प्रतिपूर्तिको प्रतीक्षामा थिए। युक्रेनलाई सैन्य सहयोग दिन हङ्गेरीको विरोधका कारण भुक्तानीहरूका लागि भिटो लागेको थियो ।

    अप्रिलमा पिटर म्याग्यारले भिक्टर ओरबानलाई प्रतिस्थापन गरेपछि बुडापेस्टले नीति परिवर्तन ग¥यो। त्यसपछि युरोपेली राजधानीहरूले यो रकम कसरी प्रयोग गर्ने भन्नेबारे छलफल गर्दै आएका थिए। शुक्रबार युरोपेली सङ्घकी विदेश नीति प्रमुख काजा काल्लासले ४।७ अर्ब युरो सदस्य राष्ट्रहरूलाई प्रतिपूर्ति गर्न प्रयोग गरिने बताउनुभयो । केही देशहरूले आफ्नो अंश युक्रेनलाई रुसविरुद्ध लड्न सहयोग गर्न प्रयोग गर्ने बताइसकेका छन्।

    “करिब ९० करोड युरो युक्रेनी सेनाका लागि युरोपेली सङ्घको नेतृत्वमा हुने तालिम मिसनमा खर्च हुनेछ भने एक अर्ब युरो नयाँ संयुक्त खरिद उपकरणमा खर्च हुनेछ,” काल्लासले बताए । “मस्कोको हाइब्रिड आक्रमणले युरोपलाई युक्रेनप्रति सहयोग घटाउन डराउने प्रयास गर्दैछ। युरोप उल्टो गरिरहेको छ,” उहाँले सामाजिक सञ्जालमा लेखेका छन् ।

  • श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा सवा लाख व्यक्तिलाई सार्वजनिक क्षेत्रमा रोजगारी दिने

    श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा सवा लाख व्यक्तिलाई सार्वजनिक क्षेत्रमा रोजगारी दिने

    कोलम्बो, १० असोज (रासस–सिन्ह्वा । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको सार्वजनिक प्रशासन मन्त्री चन्दना अबेयरत्नेले शुक्रबार बताएकी छिन् । “यस भर्नाले शिक्षा, स्वास्थ्य र कृषिलगायत सार्वजनिक क्षेत्रका विभिन्न क्षेत्रमा रहेका खाली पदहरू पूर्ति गर्नेछ,” अबेयरत्नेले पत्रकारहरूसँग भनिन् ।


    कार्यक्रमअन्तर्गत करिब ३० हजार शिक्षक र अन्य एक हजार ५०० भन्दा बढी ग्रामिण स्तरका अधिकारीको भर्ना अन्तिम चरणमा पुगेको छ । अबेयरत्नेले स्वास्थ्य र कृषि क्षेत्रका खाली पदहरू पूर्ति गर्न थप भर्ना गरिने बताएकी छिन् । सन् २०२५ मा स्नातक र अन्य योग्य युवासहित करिब ३५ हजार व्यक्तिसार्वजनिक सेवामा भर्ना भएपछि यो नवीनतम भर्ना अभियान आएको हो । श्रीलङ्काको तत्कालिन गोटवाय राजपाक्ष प्रशासनले चरम आर्थिक सङ्कटका कारण सन् २०२२ मा चरम खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गर्नुपरेको थियो ।

    देशले भोगिरहेको यो सङ्कट विगत सात दशक यताकै सबैभन्दा खराब सङ्कट थियो । विदेशी मुद्राको सञ्चिती रित्तिएपछि यहाँ निजी सवारी साधनका लागि पेट्रोल र डिजल बेच्न प्रतिबन्ध लगाइएको थियो । मानिसहरू इन्धनका लागि कैयौँ दिनसम्म लाइन लाग्न बाध्य भएका थिए । परिणामस्वरूप तत्कालिन राष्ट्रप्रमुख राजपाक्षको प्रशासनको अन्त्यको माग गर्दै आन्दोलन भएको थियो ।

    यसैका कारण राजपाक्षले देश नै छोड्नु परेको थियो भने पछि बनेको अन्तरिम सरकारले देशको सङ्कटलाई सम्हालेको थियो । सोही सरकारले निर्वाचन गरी त्यहाँका समाजवादी नेता अरणा कुमारा दिशानायकेको नेतृत्वमा अहिले निर्वाचित सरकार रहेको छ र यो सरकारले केही महत्वाकाङ्क्षी सुधारका प्रयासह गर्दै आएको छ ।

  • खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

    खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार


    सोलुखुम्बु, १० असोजः सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ ।

    हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ्न रोक लगाइएको छ । उनले भने, “माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ । कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ जमेको जानकारी आएको छ । पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह, स्थानीयवासी र प्रहरीसँग समन्वय गरी उनीहरुलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ ।”


    भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) क्षेत्रमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार चिनीया मूलका ती पर्यटक युरोपेली नागरिक भएको जानकारी आएको छ । हिमपातका कारण माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा ल्याइएको हो ।

    इम्जा छे अर्थात् आइल्यान्ड पिक सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको महत्वपूर्ण पर्वतारोहण गन्तव्य हो । नेपाल पर्यटन बोर्डका अनुसार दिङबोचेबाट इम्जा खोला हुँदै चुकुङतर्फ जाने पदमार्ग सगरमाथा आधार शिविर क्षेत्रको प्रमुख पदयात्रा मार्गसँग जोडिन्छ । आइल्यान्ड पिकलाई स्थानीय नाम इम्जा छेले चिनिन्छ । यो क्षेत्र समुद्री सतहबाट करिब छ हजार १६५ मिटर उचाइमा रहेको र खुम्बु हिमाल क्षेत्रमा पर्ने पर्वतारोहण गन्तव्य हो । नेपाल सरकारको पर्यटन तथ्याङ्कमा रूपमा अभिलेख गरिएको छ ।


    प्रतिकूल मौसमका कारण माथिल्लो क्षेत्रमा थप पर्यटक तथा पदयात्रीलाई जान नदिन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरिएको छ । हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक रहेको प्रशासनको भनाइ छ । उनीहरुको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ ।


    खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार प्रतिकूल मौसमका कारण पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन गाउँपालिकाले सूचना जारी गरेको छ । “मौसम प्रतिकूल भएकाले पर्यटकको सुरक्षालाई प्राथमिकता दिएका छौँ । जोखिमयुक्त अवस्थामा अनावश्यक रूपमा माथि नजान आग्रह गरिएको छ,” उनले भने ।


    सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार खुम्बु क्षेत्र हिमाली पारिस्थितिक प्रणालीमा पर्ने उच्च जोखिमयुक्त भौगोलिक क्षेत्र हो । निकुञ्जको माथिल्लो भागमा हिमनदी, हिमाल र गहिरा उपत्यका रहेका छन् । इम्जा खोला प्रणालीसमेत निकुञ्जको महत्वपूर्ण जलाधार क्षेत्रमा पर्छ । नेपाल पर्यटन बोर्डले सगरमाथा क्षेत्रलाई उच्च हिमाली भूगोलका कारण मौसममा तीव्र परिवर्तन हुने क्षेत्रका रूपमा उल्लेख गरेको छ । यहाँको माथिल्लो क्षेत्रमा तापक्रम न्यून हुने र वर्षा तथा हिमपातका कारण पदयात्रा तथा पर्वतारोहण प्रभावित हुनसक्ने भएकाले मौसमको अवस्थाअनुसार यात्रा गर्नुपर्ने हुन्छ ।

    खुम्बु पासाङल्हामु गाउँपालिकाले समेत उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएपछि पर्यटक, पदयात्री, पर्वतारोही, गाइड तथा भरियालाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमपूर्ण अवस्थामा अनावश्यक आवागमन नगर्न आग्रह गरेको छ । गाउँपालिकाले थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार हिमपात बढ्दै गएमा उच्च क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको उद्धारका लागि स्थानीय तह, प्रहरी, प्रशासन र स्थानीयवासीबीच समन्वय कायम गरिएको छ । “विपद्को समयमा स्थानीय जनप्रतिनिधि सक्रिय हुनुहुन्छ । जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा आवश्यक उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि तयारी अवस्थामा छौँ,” उनले भने । प्रशासनले मौसम सामान्य नभएसम्म उच्च क्षेत्रमा अनावश्यक आवागमन नगर्न र स्थानीय प्रशासन तथा पालिकाले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरेको छ ।

  • भोटेकोशी बाढीको महाविपद एक महिना खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

    भोटेकोशी बाढीको महाविपद एक महिना खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

    काठमाडौँ, असोज १० । रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पु¥याएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एकहजार ४५३ जनाको अकालमा मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन् । यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका प्रभावित आश्रयस्थलमा पनि छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत सहित अन्य सेवाका लागि तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी अहोरात्र तल्लीन छन् ।

    बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ । उक्त विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन ९आरडिएनए० प्रतिवेदन अनुसार पुनर्निर्माण एवं पुनस्र्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ । विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घरहरू क्षतिग्रस्त भएका छन् ।

    यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । सात सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट प्रभावित भएका छन् भने ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त, ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ बगेका छन् । यस्तै, ६८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ । करिव सात हजार ५७० घरहरु प्रभावित हुँदा आठ हजार ३०० घरपरिवार र करिव ४० हजार जनसङ्ख्या प्रभावित भएका छन् ।

    बाढीका कारण उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ । त्यसैगरी, १७ बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत वितरण जारी छ भने क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण, सडक सञ्जालको पहुँचले जोड्ने लगायतका कार्य द्रुत जारी छ ।

    ‘संकटमा ‘राज्य र रेडक्रस उपस्थित छन्’

    विनाशकारी बाढीगए लगत्तै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी०को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले आवश्यक समन्वय एवं पहल गरी आपत्कालीन सहयोग कोष (ड्रिफ) मार्फत् १२ लाख अमेरिकी डलर खर्च गर्न स्वीकृति सुनिश्चित गर्दै बाढी प्रभावितको तत्काल खोज, उद्धार तथा राहतमा जुट्न नेपाल रेडक्रसको स्वयंसेवक र ‘आइएफआरसी’का ‘टिम’लाई आह्वान गरेका थिए ।


    साथै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाइ सम्बन्धित जिल्ला शाखा तथा स्वयंसेवकहरूलाई बाढी प्रभावितको खोज, उद्धार परिचालित गरेको थियो । सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीका नेतृत्वमा एक टोलीले तत्काल प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी बाढी प्रतिकार्य सञ्चालनलाई अगाडि बढाएको थियो ।

    स्वयंसेवकहरूले खोज तथा उद्धारमा सहयोग गर्नुका साथै प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान र समन्वयमा सहयोग पु¥याइरहेका छन् । ‘आइएफआरसी’को ‘ड्रिफ’ ले विपद प्रभावितलाई तत्काल उद्धार र राहत सुरुआत गर्न सम्भव बनाइरहेको छ । यसबाट खानेपानी, टेन्ट, तारपोलिन, कम्बल, ओछ्याउने म्याट, प्राथमिक उपचार, स्ट्रेचर, शव व्यवस्थापनका लागि सामग्री (डेथ बडी–ब्याग), मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सहयोग, आपतकालीन स्वास्थ्य सेवा, सरसफाइ ‘किट’ जस्ता सामग्री तथा सेवा छिटो भन्दा छिटो प्रभावित स्थानमा पठाउन र वितरण गर्न सम्भव भएको जनाइएको छ ।

    महासचिव तथा प्रमुख कार्यकारी अधिकृत चापागाईँँले भने, न्नुभयो, “ड्रिफ समयमा निकासा हुँदा तत्काल बाढी प्रतिकार्यमा सहयोग पु¥यायो । स्वयंसेवक सहित उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न सफल भए । प्रभावितले राहत सामग्री उपयोग गर्न पाउनुभयो । यसले अकाल मृत्यु, रोग र थप मानवीय पीडाको संकट घटाउन सहयोग पु¥यायो । यसबाट विश्वासको वातावरण निर्माण बनाउन सहयोग पु¥यायो । संकटका अवस्थामा ‘राज्य र रेडक्रस उपस्थित छन्’ भन्ने अनुभूति समुदायमा दिलायो । यसले सामाजिक तनाव र अविश्वास घटाउन सहयोग पु¥यायो ।”

    भोटेकोशी बाढीमा ‘फ्ल्यास फ्लड’को प्रकृतिअनुसार स्रोत परिचालनको गति पनि अत्यन्तै छिटो भएको र ‘ड्रिफ’ र आपतकालीन अपिल अत्यन्त छिटो सक्रिय रहेको उनले जानकारी दिए । महासचिव चापागाईँ भन्छन्, “भोटेकोशी बाढी प्रतिकार्यलाई ‘जलवायु संवेदनशील मानवीय प्रतिकार्य’को एउटा महत्वपूर्ण ‘मोडेल’ बन्न सक्छ । ”

    बढी प्रतिकार्य अन्तर्गत विभिन्न मानवीय सहायताका काम निरन्तर जारी रहेको नेपाल रेडक्रसले जनाएको छ । नेपाल रेडक्रसको महामन्त्री ऋषिरमण खनालले भोटेकोशी बाढी गएको सुरुआती दिनदेखि प्रतिकार्य निरन्तर जारी रहेको जानकारी दिनुभयो । उहाँले सुरुआती क्षणमा बाढी प्रभावितको खोज,उद्धारमासहयोगको साथसाथै हाल आवास तथा गैरखाद्य, खाद्य सामग्रीको वितरण, खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य तथा मनोसामाजिक सहयोग, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तथा प्राथमिक मनोसामाजिक सहयोग, रेडक्रस आपत्कालिन स्वास्थ्य क्लिनिक, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना, बहुउद्देश्यीय नगद सहायता÷नगद तथा भौचर सहायता लगायतका क्षेत्रमा मानवीय सेहायता निरन्तर जारी रहेको बताए ।

    मानवीय सहायता निरन्तर जारी

    महामन्त्री खनालद्वारा जारी विज्ञप्तिका अनुसार हालसम्म आवास तथा गैरखाद्य सामग्रीको वितरण अन्तर्गत एकहजार २१८ सेट, त्रिपाल ५६३ थान, म्याट्रेस ७०१ थान र कम्बल एकहजार ३२४ थान वितरण गरिएको भने करिव दुई हजार प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको छ । एकमहिनाका अवधिमा बाढी प्रभावित दुई हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पु¥याएको, १८ पानी ट्याङ्की व्यवस्थापन गरिएको र आवश्यक स्थानहरुमा ट्याङ्करबाट पानी वितरण गरिएको सोसाइटीले जनाएको छ ।

    विज्ञप्तिमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तथा प्राथमिक मनोसामाजिक सहयोगबाट एकहजार ७१० बाढी प्रभावित लाभन्वित भएका, रेडक्रस आपत्कालिन स्वास्थ्य क्लिनिक सेवाबाट एकजार २३९ जनालाई आवश्यक स्वास्थ्य परीक्षण, औषधि अन्य आवश्यक सेवा उपलब्ध गराएको, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनाबाट दुईहजार २९१ खोजतलाससम्बन्धी ‘केस’मा सेवा तथा सहजीकरण गरिएको साथै नेपाल सरकारका विभिन्न सुरक्षा निकायहरुलाई दुईहजार शव व्यवस्थापन झोला उपलब्ध गराइएको उल्लेख छ ।

    विज्ञप्तिमा बहुउद्देश्यीय नगद सहायता÷नगद तथा भौचर सहायता सेवा अन्तर्गत बाढीबाट प्रभावित समुदायको तत्काल आवश्यकता परिपूर्तीको लागि धादिङको १९८ र नुवाकोटका २६२ घरधुरीलाई नगद सहयोग उपलब्ध गराइएको, समुदायको गुनासा, सुझाव तथा आवश्यकता सङ्कलन सेवा अन्तर्गत विभिन्न माध्यमबाट समुदायबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा, अनुरोध तथा सुझावहरू संकलन गरी आवश्यक जानकारी, सहजीकरण तथा ‘रेफरल’ सेवा प्रदान गरिएको, संरक्षण, लैङ्गिक तथा समावेशीकरण अन्तर्गत मर्यादा ‘किट’ ५८७ र स्वच्छता किट एकहजार ०८७ वितरण गरिएको तथा बालमैत्री सुरक्षित स्थान मार्फत् एकहजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराएको उल्लेख छ । मर्यादा ‘किट’ ५८७ र स्वच्छता किट एकहजार ०८७ वितरण गरिएको तथा बालमैत्री सुरक्षित स्थान मार्फत् एकहजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराएको उल्लेख छ ।

    सूचना तथा सहायता कक्ष सेवा अन्तर्गत प्रभावित समुदायलाई सूचना, आवश्यक सहयोग तथा सहजीकरण उपलब्ध गराउन विभिन्न १७ स्थानमा सहायता÷सूचना कक्ष सञ्चालन गरी सेवा उपलब्ध गराएको र सूचना, शिक्षा तथा सञ्चार सामग्री सेवा अन्तर्गत बाढी प्रभावित समुदायका लागि बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना तथा सुरक्षा सन्देश, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य तथा सरसफाइ, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना, राहत तथा सेवामा पहुँच, बहुउद्देश्यीय नगद सहायता तथा समुदायको गुनासा÷सुझाव दर्ता गर्ने प्रक्रियासम्बन्धी सूचना सामग्री विकास गरी रेडक्रसको सामाजिक सञ्जाल र रेडियो मार्फत प्रचारप्रसार गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ “विशेषगरी विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने, आवश्यक सामग्रीको समयमै व्यवस्थापन गर्ने तथा प्रभावित समुदायको आवश्यकता र प्राथमिकताअनुसार प्रतिकार्यलाई थप सुदृढ गर्ने विषय नेपाल रेडक्रसको प्राथमिकतामा रहेको छ । साथै, प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि नेपाल सरकारका प्राथमिकतामा रहेका क्षेत्रहरूमा सहयोग पुग्ने गरी आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

    यस विपद्का समयमा प्रभावित समुदायको जीवनरक्षा, राहत तथा मानवीय सहायता र आवश्यक सेवाहरू निरन्तर सञ्चालन गर्न सहयोग पु¥याउनुहुने रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, साझेदार राष्ट्रिय सोसाइटी , नेपाल सरकार तथा सम्बन्धित सरकारी निकाय, स्थानीय तह, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक तथा सहयोगी व्यक्ति र सम्पूर्ण सरोकारवालाहरूप्रति नेपाल रेडक्रस धन्यवाद तथा आभार व्यक्त गर्दछ । ”

  • भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

    भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

    काठमाडौँ, ९ असोजः सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल जुद्ध सालिकमै गाडीबाट झरेर पैदल गद्दी बैठक पुगेका हुन् । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल जाने क्रम तीन वर्षअघिदेखि सुरु भएको हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए ।

    जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्ले, प्रधानन्यायधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत मन्त्रीगण, सांसदहरू, प्रदेशसभा सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म गएका थिए ।


    आगन्तुक विशिष्ट अतिथिहरूलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल, गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डन, प्रशासक शैलेशराज कुँवर, महानगरपालिका वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलगायतले पुष्पगुच्छासहित वसन्तपुर दरबार क्षेत्रमा स्वागत गरे ।

    जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन बुधबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख पवित्राकुमारी पाण्डेले राससलाई जानकारी दिइन् । शनिबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।

    असोज १३ गते मङ्गलबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार पुगेर कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन् । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ । असोज १३ गते मङ्गलबार राति ९ः२५ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।

    वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा पनि गरिएको थियो । जात्राका अवसरमा लाखेनाच, दशअवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

  • भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

    भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात


    रसुवा, ९ असोजः रसुवाको भोटेकोशीमा आएको वनाशकारी बाढीले बगाएर बेपत्ता भएका रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित दुई जना जनप्रतिनिधिको एक महिनासम्म कुनै जानकारी नपाएपछि पीडित परिवारले परम्परागत काजकिरिया सुरु गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी गाउँपालिकाका उपाध्यक्ष प्रतिमा लामा, वडा नं २ का वडाध्यक्ष कामीछिरिङ तामाङ र वडा नं ५ का वडाध्यक्ष दावामिङ्मार तामाङ बेपत्ता भएका थिए । एक महिनासम्म स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीयवासीले खोजीकार्य जारी राखे पनि उनीहरुको कुनै जानकारी पाउन सकिएको छैन ।

    खोजीकार्यबाट कुनै सफलता नमिल्दा बेपत्ता जनप्रतिनिधिहरू जीवितै भेटिने आशा क्षीण हुँदै गएपछि पीडित परिवारले ‘कतै जीवितै उद्धार भएका छन् कि ?’ आशालाई शोकमा बदल्दै उनीहरुको परम्परागत संस्कारअनुसार काजकिरिया प्रक्रिया अघि बढाएका हुन् । बाढीमा परी बेपत्ता भएका तीनै जना जनप्रतिनिधि स्थानीय क्षेत्रमा ऊर्जावान र उदीयमान नेताका रूपमा परिचित थिए ।

    विसं २०७९ को स्थानीय तह निर्वाचनमा गोसाइँकुण्ड गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित लामाले स्नातकमा नर्सिङ (बिएससी) अध्ययन पूरा गरेकी थिइन् । विद्यार्थी जीवनदेखि राजनीतिक गतिविधिमा सक्रिय उनले स्वास्थ्य, शिक्षा र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गरिरहेकी थिइन् । राजनीतिमा आउनुअघि उहाँले राष्ट्रिय महिला भलिबल टोलीको खेलाडीका रूपमा समेत देशको प्रतिनिधित्व गरेकी थिइन् ।


    विभिन्न सामाजिककार्यमार्फत जनताको मन जितेर स्थानीय निर्वाचनमा वडा नं २ बाट वडाध्यक्ष पदमा निर्वाचित कामीछिरिङ जनताको सुखदुःखमा सधैँ साथ दिने जनप्रतिनिधि थिए । त्यस्तै, वडा नं ५ बाट निर्वाचित दावामिङ्मार लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा समाजमा स्थापित र परिचित थिए ।

    गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार एकैपटक तीन जना ऊर्जावान्, योग्य र जनताका प्यारा जनप्रतिनिधि गुमाउनुपर्दा सिङ्गो पालिका इतिहासकै ठूलो सङ्कट र शोकमा डुबेको छ । उनले पालिकाले अपूरणीय क्षति व्यहोर्नुपरेको बताए । गत भदौ १० गते गोसाइँकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा भोटेकोशी नदीको बाढीले भीषण रूप लिएको थियो । उक्त बाढीले स्थानीय बजार, थुप्रै घर र भौतिक संरचना बगाएर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो ।

    बाढी गएको एक महिना बितिसक्दा स्थानीय प्रशासन र सुरक्षा निकायको खोजीकार्य जारी रहे पनि हालसम्म पनि बेपत्ताहरूको कुनै जानकारी पाइएको छैन । विपद्को यस कठिन घडीमा बेपत्ताका परिवारसँगै सिङ्गो रसुवावासी गहिरो शोकमा डुबेका छन् । गाउँपालिकाका थुप्रै कर्मचारी, शिक्षकशिक्षिका, बालबालिकासमेत बेपत्ता भएका छन् ।