Category: समाचार

  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ, १३ असोज : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    यसैगरी, बैठकमा कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यस्तै, बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्नेछिन् ।

    त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछिन् । आजै अर्थसमिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, १३ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७४ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४२ रुपैयाँ २२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २७ पैसा र बिक्रीदर ११ रुपैयाँ ३२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०० रुपैयाँ १० पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ६१ पैसा बिक्रीदर ४०८ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ६८ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • प्रधान सेनापति ट्रफि शुभारम्भ

    प्रधान सेनापति ट्रफि शुभारम्भ

    काठमाडौँ, १२ असोजः प्रधान सेनापति अशोकराज सिग्देलले आज लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ २०६५ सालदेखि प्रधान सेनापति ट्रफिको सुरुआत भएको हो । एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ वटा विधा समावेश गरी सञ्चालन भएको उक्त प्रतियोगितामा पृतना तथा बाहिनीका १४ वटा टोली सहभागी छन् ।

    प्रतियोगिताअन्तर्गत आज सम्पन्न पाँच किलोमिटर दौडमा महिलातर्फ मध्य पूर्वी पृतनाका प्यूठ निर्मला केसी र पुरुषतर्फ उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा पहिलो भए । उनीहरुलाई प्रधान सेनापति सिग्देलले पुरस्कार वितरण गरे । समारोहमा रथीबृन्द, अधिकृत, निर्णायक मण्डल तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।

  • नेपालगञ्ज रङ्गशालामा फ्लड लाइट जडान गरिँदै

    नेपालगञ्ज रङ्गशालामा फ्लड लाइट जडान गरिँदै

    नेपालगञ्ज (बाँके), १२ असोज । नेपालगञ्ज रङ्गशालामा उच्च क्षमताको प्रकाश प्रणाली (फ्लडलाइट) जडान गरिँदैछ । सरकारले मुख्य सहरमा व्यावसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजनाअन्तर्गत यहाँको रङ्गशालालाई फ्लडलाइट जडानसहित स्तरोन्नति गर्न लागेको हो ।

    फ्लडलाइट जडानपछि रात्रिकालीन समयमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज भइ खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम ओलीले फ्लडलाइट जडानले यहाँको खेलकुद गतिविधिलाई नयाँ गति दिने बताए । “यहाँ गर्मीका कारण दिउँसो खेलकुद गतिविधि सञ्चालन गर्न कठिन छ । फ्लडलाइट जडान भएपछि राति पनि नियमित खेल, अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सकिनेछ ।” उनले भने, “यसले खेलकुदको दायरा विस्तारका साथै नेपालगञ्जलाई खेल पर्यटन गन्तव्यका रूपमा विकास गर्न समेत सहयोग पुर्याउनेछ ।”

    यस्ता कार्यक्रम आधुनिक पूर्वाधार विस्तारसँगै खेलाडी, दर्शक तथा आयोजकलाई समेत सहज वातावरण निर्माण हुनेछ । उक्त प्रविधिको जडानसँगै फुटबल मैदानको आधारभूत पूर्वाधार सुधारमा ध्यान दिइनुपर्ने आवश्यकता औँल्याइएको छ । जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्वअध्यक्ष मोहित शाहले मैदानको सतह, पानी निकासलगायतका पक्षमा सुधारको खाँचो औँल्याए । त्यस रङ्गशालामा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालनबाट आम्दानीका स्रोत बढ्न गई मर्मत सम्भारलाई निरन्तरता दिन सकिने सरोकारवालाको भनाइ छ ।

    नेपाल सरकारको खेलकुद पूर्वाधार विकास योजनाअन्तर्गत पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच यसै साता खेलकुद संरचनाको निर्माण तथा स्तरोन्नतिका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी तीन वर्षभित्र रङ्गशालालगायत निश्चित खेलकुद पूर्वाधारमा रु २५ करोडसम्म लगानी गरी आधुनिक फ्लडलाइट जडान तथा मर्मत सम्भारका काम गर्ने लक्ष्य राखिएको छ । लामो समयदेखि रङ्गशालालाई आधुनिक र सुविधा सम्पन्न बनाउन पर्ने माग हुँदै आएको थियो ।

  • अविरल वर्षाले विद्युत् संरचनामा ठूलो क्षति

    अविरल वर्षाले विद्युत् संरचनामा ठूलो क्षति

    काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण विभिन्न विद्युत् संरचनामा क्षति पुग्दा केही विद्युत् उत्पादन केन्द्र आकस्मिक रूपमा बन्द भएका छन् ।
    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले अवरुद्ध भएका उत्पादन केन्द्रमध्ये केही सञ्चालनमा आउन समय लाग्ने भए पनि वितरण केन्द्र तथा ग्रिड सञ्चालन महाशाखाको सक्रियतामा अधिकांश स्थानमा विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार बाँकी क्षेत्रमा समेत विद्युत् लाइन सुचारु गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।

    प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सहायक कम्पनीमार्फत प्रवद्र्धित राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ । टर्बाइन फ्लोरमा पानी पसेकाले सरसफाइपछि आयोजना सञ्चालनमा आउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ । आयोजनाको स्विचयार्डको अवस्था भने सामान्य रहेकाले चार्ज गरिसकिएको प्राधिकरणले जनाएको छ ।

    दाना–कुस्मा प्रसारण लाइनमा क्षति पुगेका कारण सातवटा जलविद्युत् आयोजना गरी कुल १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन । राहुघाट सबस्टेसनसँग जोडिएका आयोजनामध्ये ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना बाहेक १२७ मेगावाट उत्पादन सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।

    प्रणालीबाट बाहिर रहेका आठवटा विद्युत् आयोजनाको कुल क्षमता २३० मेगावाट रहेको छ । यसैगरी, बाढीका कारण सेती–मादी करिडोरमा अवरुद्ध २६२ मेगावाट तथा मस्र्याङ्दी करिडोरमा अवरुद्ध १९० मेगावाट क्षमताका जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । बाढीका कारण अवरुद्ध १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजना पनि आज साँझसम्म सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ ।

    कालीगण्डकी करिडोरको प्रसारण लाइनमा क्षति

    प्राधिकरणका अनुसार कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना–कुस्मा प्रसारण लाइनको म्याग्दीस्थित टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । क्षतिग्रस्त स्थानलगायत अन्य क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने बाटो अवरुद्ध रहेकाले प्रसारण लाइनमा पुगेको क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

    केही क्षेत्रमा विद्युत् आपूर्ति अझै अवरुद्ध

    वर्षाका कारण मनाङ, बागलुङ, मुस्ताङ, तनहुँको झापुटार सबस्टेसन क्षेत्र तथा प्युठानलगायतका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ । म्याग्दी, तनहुँको कुटार सबस्टेसन क्षेत्र, बागलुङ र पूर्वी रुकुमलगायतका क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन भइसकेको छ । बाँकी प्रभावित क्षेत्रमा मङ्गलबारसम्म विद्युत् आपूर्ति सुचारु गर्ने गरी प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

    सुख्खायाममा २३७२ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान
    प्राधिकरणले आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब एक हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरेको छ । माग र आपूर्तिबीच सन्तुलन कायम गर्न भारतबाट विभिन्न माध्यममार्फत थप एक हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।

    ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट तथा आरटिसीमार्फत १५० मेगावाट विद्युत् आयात गर्ने योजना छ । यसअनुसार सुख्खायाममा कुल दुई हजार ३७२ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ । गत वर्ष सुख्खायाममा नेपालको उच्चतम राष्ट्रिय विद्युत् माग दुई हजार २९२ मेगावाट रहेको थियो ।

    भोटेकोशी–त्रिशूली बाढीबाट ७४ अर्बको प्रारम्भिक क्षति

    यसैबीच, गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘बी’ को २२० केभी हबमा पुगेको क्षति तथा विभिन्न जलविद्युत् आयोजनामा भएको क्षतिका कारण ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ । बाढीबाट नेपाल विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीका विद्युत् उत्पादन, प्रसारण र वितरण संरचनामा करिब रु ७४ अर्ब बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

  • चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी

    चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी

    काठमाडौँ, १२ असोजः चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ । चाडपर्व नजिकिएसँगै देशभर यात्रुहरूको आवतजावत बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न विशेष अभियान सञ्चालनको तयारी थालिएको हो ।

    उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार चाडपर्वका समयमा अनधिकृत व्यक्तिबाट टिकट बिक्री, तोकिएभन्दा बढी भाडा असुली, सिट क्षमताभन्दा बढी टिकट बिक्री तथा एउटै सिटका लागि धेरै टिकट बिक्रीजस्ता घटना हुन सक्ने भएकाले त्यसको नियन्त्रणका लागि अभियान सञ्चालन गरिनेछ ।

    चाडपर्वका बेला तीव्र गति, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने र सडकमा सवारीसाधनबीच अस्वस्थ प्रतिस्पर्धाका कारण दुर्घटना हुन सक्ने भएकाले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिइने प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए । यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी संयुक्त रूपमा विशेष चेकजाँच तथा अनुगमन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रराज सुवेदीका अनुसार बसपार्क, चाबहिल, कोटेश्वर, चापागाउँ, बल्खु, पुल्चोक, नागढुङ्गा, कलङ्की, भीमढुङ्गा, साँखुलगायतका मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि विशेष अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत सवारीसाधनको यान्त्रिक अवस्था र प्रदूषण जाँच गरिनेछ भने लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक राख्नुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने भएको छ ।

    मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न ब्रेथलाइजर मेसिन प्रयोग गरी जाँच तथा अनुगमनलाई तीव्रता दिइने प्रवक्ता सुवेदीले बताए । दिवा तथा रात्रिकालीन समयमा सडकमा ट्राफिक प्रहरीको थप उपस्थिति गराई नागरिकलाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउने गरी अभियान सञ्चालन गरिने छ ।

    चाडपर्वका समयमा मठमन्दिरमा दर्शनार्थीको भीड बढ्ने भएकाले ती स्थानमा पार्किङ व्यवस्थापनका लागि समेत ट्राफिक प्रहरी परिचालन गरिनेछ । अभियानलाई प्रभावकारी बनाउन सिभिल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग तथा महानगर प्रहरीबीच समन्वय गरी एकीकृत रूपमा परिचालन गर्ने व्यवस्था मिलाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

  • दुर्गा प्रसाईँ पक्राउ, तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    दुर्गा प्रसाईँ पक्राउ, तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौँ, १२ असोजः साइबर अपराधसम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जानकारी दिए । साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि ब्यूरोको टोलीले आज दिउँसो प्रसाईँलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउ परेका प्रसाईँमाथि साइबर अपराधसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

  • त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल

    त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल

    काठमाडौँ, १२ असोजः त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब रु १६ करोड ५० लाख असुलउपर गरेको छ । त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा अवस्थाबाट करिब रु १६ करोड ५० लाख असुलउपर भइसकेको छ । त्रिविले अध्ययन बिदापछि सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट रकम असुलउपर गर्ने तथा अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जानासमेत जोडेर रकम असुल गर्ने प्रक्रिया अघि बढाइएको जनाएको हो ।

    त्यस्तै, थप अवस्थाहरूको हिसाबकिताब तयार गर्ने तथा अभिलेख खोजी गर्ने काम भइरहेको विश्वविद्यालयले जनाएको छ । उपलब्ध विवरणअनुसार हिसाबकिताब भएका अवस्थामा करिब रु २१ करोड ५० लाख रकम रहेको उल्लेख छ । विश्वविद्यालयका अनुसार सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गर्ने काम भइरहेको छ । त्यस्ता व्यक्तिबाट विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम असुलउपर गर्ने प्रक्रिया पनि जारी रहेको छ ।

    त्रिविले अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । उनीहरुले [email protected] मार्फत पनि सम्पर्क गर्न सक्ने विश्वविद्यालयले जनाएको छ । तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले स्पष्ट पारेको छ ।

  • मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन

    मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन


    लमजुङ, १२ असोजः मस्र्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना आजदेखि पुनः सञ्चालनमा आएका हुन् । बेँसीसहर नगरपालिका-१ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो । नदीमा पानीको सतह र बहाव बढेर जोखिमको अवस्था आएपछि आयोजना आइतबार बिहानदेखि पूर्ण रूपमा बन्द गरिएको थियो ।

    आयोजना प्रमुख तारादत्त भट्टराईका अनुसार उत्पादन बन्द गरेर आयोजनाबाट आएको पानी पूर्ण रूपमा नदीतर्फ निकास गरिएको थियो । नदीको बहाव सामान्य बन्दै गएपछि आज दिउँसोदेखि पुनः विद्युत् उत्पादन सुरु गरिएको उनले बताए । उनका अनुसार अहिले नदीमा तत्काल कुनै जोखिमको अवस्था छैन । प्रमुख भट्टराईले ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी आयोजनामा ३५–३५ मेगावाट क्षमताका दुई वटा टर्बाइन रहेका बताए ।


    यसैगरी, मर्स्याङ्दी गाउँपालिका ८ भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना पनि आज बिहान ११ः५० बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । आयोजनाका इन्जिनियर कर्ण अधिकारीका अनुसार आवश्यक प्राविधिक काम, सरसफाइ तथा अन्य व्यवस्थापन पूरा गरेपछि आज बिहान ११ः५० बजेदेखि विद्युत् उत्पादन पूर्ण रूपमा सुरु गरिएको हो ।

    मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि दुवै आयोजनाले सुरक्षालाई प्राथमिकता दिँदै विद्युत् उत्पादन रोकेका थिए । नदीको बहाव घट्दै गएपछि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम पूरा गरी दुवै आयोजना पुनः सञ्चालनमा ल्याइएको हो ।

  • लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना

    लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना

    घोराही, (दाङ) १२ असोजः लुम्बिनी प्रदेशमा यही असोज ८ देखि ११ गतेसम्म ७८ वटा विपद्का घटना भएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र (पिइओसी)का अनुसार विपद्का घटनामा परी छ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । केन्द्रका अनुसार सबैभन्दा बढी पहिरोका ३१ वटा घटना भएका छन् । पहिरोमा परी पाँचको मृत्यु र एक जना घाइते भएका छन् । पहिरोका कारण ४८० जना विस्थापित भएका छन् । यस्तै १० घर पूर्ण र आठ घर आंशिक रूपमा क्षति भएका छन् भने १०० घर जोखिममा रहेका प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन शाखाका अधिकृत विजयसिंह ठकुरीले जानकारी दिए ।

    डुबानका २६ घटनामा ७७८ जना सुरक्षित स्थानमा सारिएका छन् । डुबानका कारण नौ घर पूर्ण र १३ घर आंशिक रूपमा क्षति भएका छन् भने १६ घर डुबानमा परेका छन् । त्यस्तै, ७० घर जोखिममा रहेका विवरणमा उल्लेख छ । हावाहुरीका १३ र बाढीका आठ वटा घटना भएका अधिकृत ठकुरीले जानकारी दिए । उनका अनुसार हुरीबतासका कारण एक जनाको मृत्यु भएको छ भने एउटा घर पूर्ण र ३५ वटा घरमा आंशिक क्षति पुगेको छ । बाढीका कारण २२ जना विस्थापित भएका छन् भने सात वटा घर पूर्ण रूपमा क्षति भएका छन् ।

    विपद्का कारण प्रदेशभर एक हजार २८० जनालाई सुरक्षित स्थानमा सारिएको छ । यस अवधिमा २७ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ५६ वटा घरमा आंशिक क्षति पुगेको छ । सोह्र वटा घर डुबानमा परेका छन् भने १७० घर जोखिममा रहेका छन् । जिल्लागत रूपमा अर्घाखाँचीमा सबैभन्दा बढी १५ वटा विपद्का घटना दर्ता भएका केन्द्रका अधिकृत ठकुरीले जानकारी दिए । त्यसपछि बाँकेमा १३ र गुल्मीमा १० वटा घटना भएका छन् । मानवीय क्षतिको हिसाबले पाल्पा सबैभन्दा प्रभावित देखिएको छ । पाल्पामा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रोल्पामा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ ।

    विस्थापनतर्फ नवलपरासीमा सबैभन्दा बढी ७०० जना प्रभावित भएका ठकुरीले उल्लेख गरे । गुल्मीमा २९८ र अर्घाखाँचीमा १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । विपद्का कारण प्रदेशभर अनुमानित रु ४० लाख १७ हजारबराबरको आर्थिक क्षति भएको छ । आर्थिक क्षतिमा दाङ सबैभन्दा अगाडि छ । दाङमा रु २२ लाख १० हजारबराबरको क्षति भएको विवरणमा उल्लेख छ । नवलपरासीमा रु पाँच लाख ६० हजार, बर्दियामा रु पाँच लाख ५७ हजार क्षति भएको छ ।

    त्यस्तै दाङ, रुकुमपूर्व र रूपन्देहीमा एक(एक वटा विद्यालय क्षतिग्रस्त भएका छन् । बाँकेमा दुई तथा नवलपरासी, अर्घाखाँची, रुकुमपूर्व र रूपन्देहीमा एक(एक वटा उद्योगमा क्षति पुगेको छ । अर्घाखाँची, नवलपरासी, दाङ र पाल्पाका सरकारी कार्यालयमा पनि क्षति पुगेको पिइओसीले जनाएको छ । पाल्पामा दुई वटा सवारीसाधनमा क्षति भएको छ । विपद्का घटनामा घरबाहेक अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ । छ वटा गोठ पूर्ण र चारवटा आंशिक रूपमा क्षति भएका छन् । ७५ वटा पशुचौपाया क्षति भएका छन् । बाढीका कारण दाङ, गुल्मी र रुकुमपूर्वमा एक(एक वटा पुलमा क्षति पुगेको छ ।

  • कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझोखेतमा फुल्यो सपना

    कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझोखेतमा फुल्यो सपना

    लमजुङ, १२ असोजः बेँसीसहर नगरपालिका–१० बाँझाखेतमा मस्र्याङ्दी नदी किनारको जग्गामा तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेतीले नयाँ सम्भावना देखाएको छ । केही वर्षअघि कागतीखेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि इन्द्र घले, योगबहादुर घले र रामबहादुर गुरुङ ड्रागन फ्रुटखेतीतर्फ लागेका छन् ।
    तीन जनाले जनही रु तीन लाख लगानी गर्ने सहमति गरी ४० रोपनी जग्गा २० वर्षका लागि भाडामा लिए ।

    उत्पादन सुरु भएपछि प्रतिरोपनी वार्षिक रु चार हजार भाडा तिर्ने सहमति भएको इन्द्र घलेले बताए । सुरुमा करिब एक रोपनीमा ६०० कागतीका बिरुवा लगाइएको थियो । बलौटे माटोका कारण कागतीबाट अपेक्षित आम्दानी हुन सकेन । विसं २०७५–७६ तिर सामाजिक सञ्जालमार्फत ड्रागन फ्रुटखेतीबारे जानकारी पाएपछि त्यसतर्फ आकर्षित भएको उनले बताए ।

    विसं २०७७ चैतमा दमौलीबाट बिरुवा ल्याएर ५० वटा पिलरबाट ड्रागन फ्रुटखेती सुरु गरियो । सुरुमा १५–१६ जना मिलेर खेती गर्ने योजना बनाइएको थियो । तर व्यवस्थापन तथा निर्णय प्रक्रियामा कठिनाइ हुने देखिएपछि अन्ततः तीन जनाले खेतीलाई निरन्तरता दिएका छन् । ड्रागन फ्रुटसँगै उनीहरुले खुर्सानी र तरबुजाखेती गरेका छन् ।

    करिब दुई रोपनीमा लगाइएको खुर्सानी पहिलो वर्ष १० क्विन्टल र दोस्रो वर्ष ४० क्विन्टल उत्पादन भएको थियो । मृगले बालीमा क्षति पुर्याउन थालेपछि खुर्सानीखेती बन्द गरिएको इन्द्रले बताए । पहिलो वर्ष करिब ४० क्विन्टल तरबुजा उत्पादन हुँदा रु दुई लाख ५० हजार आम्दानी भएको थियो । सुरुमा आठ रोपनीमा लगाइएको तरबुजा अहिले पाँच रोपनीमा सीमित गरिएको छ ।

    ड्रागन फ्रुटको उत्पादन भने हरेक वर्ष बढ्दै गएको छ । विसं २०८० मा करिब एक क्विन्टल, २०८१ मा दुई क्विन्टल र २०८२ मा पाँच क्विन्टल उत्पादन भएको थियो । यस वर्ष बिरुवा परिपक्व हुँदै गएकाले करिब १५ क्विन्टल उत्पादन हुने अपेक्षा गरिएको इन्द्रले बताए । उनका अनुसार हालसम्म करिब १२ लाख आम्दानी भएको छ । प्रतिकिलोग्राम रु ४५० का दरले ड्रागन फ्रुट बिक्री भइरहेको छ । कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देलका अनुसार जिल्लामा करिब १० हेक्टरमा ड्रागन फ्रुटखेती भएको अनुमान छ ।

    आधिकारिक तथ्याङ्क प्राप्त नभए पनि ड्रागन फ्रुटको व्यावसायिक उत्पादन र विस्तारका लागि थप अध्ययन आवश्यक रहेको उनले बताए । उनका अनुसार पानी नजम्ने बलौटे माटोमा ड्रागन फ्रुटखेती राम्रो हुनसक्छ । घरआँगन, टारी तथा प्रयोगविहीन जग्गामा समेत खेती गर्न सकिने भएकाले यसको सम्भावना रहेको उनले बताए । खेतीमा मल व्यवस्थापन भने चुनौतीका रूपमा रहेको इन्द्रले बताए । आफ्नै पशुपालनबाट पर्याप्त मल नपुग्ने भएकाले बेँसीसहर र चनौटदेखि ल्याउनुपर्ने बाध्यता छ ।

    सुरुमा बाटोमा हिँड्ने तथा घुम्न आउने ग्राहकले खरिद गर्ने गरेकामा अहिले ग्राहक आफैँ बारीमा पुगेर ड्रागन फ्रुट किन्न थालेका छन् । उत्पादन बढेपछि लमजुङबाहिरका बजारमा समेत बिक्री गर्ने योजना रहेको उनले बताए । हालसम्म उक्त खेतीका लागि रु ३० लाख लगानी भइसकेको छ । पिलर, बिरुवा, सिँचाइ, मल तथा बारी व्यवस्थापनमा लगानी बढ्दै गए पनि कृषि कर्जा सहज रूपमा उपलब्ध नहुँदा थप विस्तारमा समस्या भएको उनले बताए । हाल करिब ५०० पिलरमा ड्रागन फ्रुटखेती गरिएको छ ।

    आगामी दिनमा पिलरको सङ्ख्या एक हजार पुर्याउने र गुणस्तरीय उत्पादन गर्दै जिल्लाबाहिरका बजारमा पुर्याउने लक्ष्य रहेको इन्द्रले बताए । कागतीबाट सुरु भएको यात्रा ड्रागन फ्रुटसम्म आइपुग्दा बाँझाखेतमा तीन युवाले खेतीमा नयाँ प्रयोगमात्र गरेका छैनन्, सम्भावना खोज्दै कृषि व्यवसायमा लाग्ने युवाका लागि नयाँ बाटोसमेत देखाएका छन् ।

  • ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ

    ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ

    काठमाडौँ, १२ असोजः होटल तथा रेष्टुरेन्टको डिजिटल रुपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरिएको छ । होटल व्यवसायी महासङ्घ नेपालले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरिएको हो । एक वर्षसम्म सञ्चालन हुने अभियानमार्फत सातै प्रदेशका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्तासँग जोड्ने लक्ष्य राखिएको महासङ्घका अध्यक्ष टिआर भण्डारीले जानकारी दिए ।


    अभियानअन्तर्गत गुगल बिजनेस प्रोफाइल, गुगल नक्सा, अनलाइन बुकिङ, होटल व्यवस्थापन प्रणाली, डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल, ग्राहक समीक्षा व्यवस्थापन तथा डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिने उनले बताए । कार्यक्रममा बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले साना तथा मझौला होटल व्यवसायीको क्षमता अभिवृद्धि र प्रविधिको प्रयोग आवश्यक रहेको बताउँदै अभियानमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठले अभियानलाई देशव्यापी बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । अभियानले विशेषगरी ग्रामीण क्षेत्र, राजमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यका होटल तथा रेस्टुरेन्टलाई डिजिटल बजारसँग जोड्ने लक्ष्य लिएको छ ।

  • कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

    कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

    वालिङ (स्याङ्जा), १२ असोजः कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ । चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना बन्द गरिएको थियो । विद्युत् उत्पादन सुरु गर्न लागिएको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले जानकारी दिए ।


    “कालीगण्डकी नदीमा पानीको उच्च बहाव भएकाले जोखिम हुन नदिनका लागि उत्पादन नै बन्द गरेका हौँ,” उनले भने, “अहिले नदीमा पानीको सतह घट्दै गएकाले अब सुरुङभित्र रहेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर सुचारु गर्ने तयारी गरेका छौँ ।” प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरेकाले आज बिहान १०ः०० बजेदेखि उत्पादन सुरु गर्न सकिने भएको उहाँले बताउनुभयो । कालीगण्डकी नदीमा बाढी आएपछि मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो । आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

    चार दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजार डुबानमा परेको छ । सेतीवेणी बजारका २६ घरका मानिसलाई नजिकैको विद्यालयमा राखिएको छ । यसैगरी, आयोजनाको बाँधस्थलभन्दा केही तल रहेको स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएर लगेको थियो ।

  • आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    काठमाडौँ, १२ असोजः राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढाएको छ ।
    गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले प्रविष्टि गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अङ्कलाई सच्याएर गुणस्तर सुनिश्चित गरिने जानकारी दिए ।


    लगत प्रशोधन प्रक्रियालाई अत्यन्त महत्त्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइन्छ । सङ्कलन गरिएको तथ्याङ्कलाई सही, परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ । आर्थिक गणनामा १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान सहभागी भएका थिए । गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना भएको थियो ।

    प्रतिष्ठानलाई तिनीहरूको प्रकृतिका आधारमा औद्योगिक, व्यापारिक, सेवामूलक अन्तरराष्ट्रिय वा राष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिने छ । यस्तै, कागजी वा डिजिटल फारमलाई केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्टि गर्ने काम भइरहेको निर्देशक डा ढकालले उल्लेख गरे । करिब दुई लाख व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रविष्ट गरिएको छ भने करिब छ लाख प्रतिष्ठानको कोडिङ सम्पन्न गरिसकिएको छ ।

    व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था, व्यापारसम्बन्धी प्रतिष्ठानको सङ्ख्या अलगअलग गणना गरी समावेश गरिनेछ । तथ्याङ्क प्रविष्टलगायत कार्यका लागि २०० जनशक्ति व्यवस्थापन गरिएको छ । सो प्रतिवेदन तयार भएपछि देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण तथ्याङ्क प्राप्त हुने अपेक्षा गरिएको छ ।

  • सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    रूपन्देही, १२ असोजः लगातारको वर्षासँगै विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएपछि भैरहवाबाट सञ्चालन हुने लामो दूरीका यातायात सेवा प्रभावित भएका छन् । काठमाडौँ, पोखरा, बागलुङ, बेनी, जनकपुरलगायतका गन्तव्यमा जाने दर्जनौँ बस सञ्चालन हुन नसकेपछि सिद्धार्थ बसपार्कमा रोकिएका छन् । सामान्य अवस्थामा काठमाडौँ र पोखरातर्फ नियमित रूपमा बस छुट्ने गरे पनि पछिल्ला दिनमा सडक अवरुद्ध भएपछि सेवा प्रभावित भएको हो ।

    सिद्धार्थ सार्वजनिक यातायात प्रालिका अध्यक्ष सञ्जीव रोक्काले वर्षाका कारण सडक अवरुद्ध हुँदा यातायात व्यवसायीको आम्दानी ठप्प भएको बताए । “सवारीसाधन सञ्चालन गर्न नसक्दा आम्दानी शून्य भएको छ । कर्मचारीको तलब, बैंकको किस्ता र अन्य खर्च नियमित रूपमा व्यहोर्नुपर्छ”, उनले भने । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले वर्षाका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जानकारी दिए । उनका अनुसार प्रहरीले सडकको अवस्था तथा यातायात सञ्चालनबारे नियमित रूपमा निगरानी गरिरहेको छ ।

    पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा बिपी राजमार्गलगायतका सडकखण्डमा पहिरो तथा बाढीका कारण आवागमन प्रभावित भएपछि भैरहवाबाट बाहिरिने लामो दूरीका सवारीसाधन रोकिएका हुन् । चाडपर्व नजिकिँदै गर्दा सडक अवरुद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी दुवै प्रभावित भएका छन् । सुनौलीनाका हुँदै नेपाल प्रवेश गरेका भारतीय मालवाहक सवारीसाधनसमेत सडक अवरोधका कारण विभिन्न स्थानमा रोकिएका छन् ।

  • फाइबर चुुडिएपछि तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद

    फाइबर चुुडिएपछि तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद


    म्याग्दी, १२ असोज । फाइबर चुुडिएपछि धवलागिरिका तीन जिल्लामा आइतबार बिहानदेखि सञ्चार सम्पर्क विच्छेद भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा कालीगण्डकीले कटान गरेर विद्युत्, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीको फाइबर जडित पोल बगाएपछि सञ्चार सेवा प्रभावित भएको हो । म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट तथा निजी कम्पनीहरूको इन्टरनेट सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।

    नेपाल टेलिकमको म्याग्दी वितरण केन्द्रका प्रमुख युवराज पौडेलले बाढीले पाँच सय मिटर फाइवर जोडेको चारवटा पोल बगाउँदा सञ्चार सेवा प्रभावित भएको बताए । “टेलिकमले तानेको फाइवरमा अन्य दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले पनि भाडामा लिएका हुुन्छन्”, उनले भने, “वैकल्पिक व्यवस्था गरेर अस्थायी रूपमा मोबाइल सेवा सञ्चालन गरे पनि इन्टरनेट सञ्चालनका लागि पोल गाड्ने र तार तान्ने अवस्था नभएकाले आइतबार दिनभर प्रयास गरे पनि सफल हुन सकेन ।”

    कालीगण्डकी नदीले मालढुुङ्गामा मोटरेबल पुलको पहुँचमार्ग बगाएकाले प्राविधिक टोली सहश्रधारा पुगेर फाइवर तान्न र मर्मत गर्न नसकेको उनले बताए । विपद्को समयमा सञ्चार सेवा अवरुद्ध हुँदा सूचना आदानप्रदान, उद्धार, राहतको काममा समस्या भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए । नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले सञ्चार सेवा अवरुद्ध हुँदा सर्वसाधारण, प्रशासनिक, सुरक्षा निकाय र जनप्रतिनिधिदेखि सञ्चारकर्मीलाई सूचना सम्प्रेषण गर्न समस्या भएको बताए ।

  • पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र

    पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र

    काठमाडौँ, १२ असोज । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ । सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी गाउँपालिका–५ बाङ्गेमोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ । ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाएको छ ।

    प्रवक्ता सुवेदीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत कृष्णभिरमा खसेको पहिरो हटाएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ । चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले सो सडकखण्डमा तत्काल नियमित रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले जानकारी दिए ।


    “कृष्णभिरको पहिरो हटाई एकतर्फी सञ्चालन गर्न सकिने भए पनि चालिसे र बाङ्गेमोडलगायतका स्थानमा अझै पहिरो हटाउने काम बाँकी भएको सो मार्ग हुँदै सवारी सञ्चालनमा केही कठिनाइ छ”, प्रवक्ता सुवेदीले भने । पहिरो हटाउने क्रममा थप वर्षा भएमा माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा थप समस्या हुनसक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

    यसैगरी, वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएपछि सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    कान्तिलोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा समेत पहिरो खसेकाले हटाउने काम भइरहेको छ । ट्राफिक प्रहरीका अनुसार वर्षाकै कारण बिपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध भएको हो ।

    बाढी र पहिरोका कारण सडकका विभिन्न स्थानमा आवागमन अवरुद्ध भएपछि यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको अवस्था बुझेरमात्र यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । वर्षा भइरहेका बेला पहाडी सडकमा जुनसुकै समयमा पहिरो खस्न सक्ने भएकाले अनावश्यक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । उता काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडकखण्डमा साना सवारीसाधन तथा टाटा सुमोलगायतका गाडी सञ्चालनमा छन् । ठूला सवारीसाधनलाई भने त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।


    ट्राफिक प्रहरीका अनुसार दक्षिणकाली–सिस्नेरी सडकखण्ड तथा त्रिभुवन राजपथमा सवारीसाधनलाई निश्चित समयतालिका बनाएर आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सडकको अवस्था, सवारीको चाप र मौसमलाई ध्यानमा राखेर आवश्यक व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा उपत्यका प्रवेश गर्ने प्रमुख सडकमार्गमा यातायात प्रभावित भएपछि यात्रु भने समस्यामा परेका छन् ।

    विशेषगरी पृथ्वीराजमार्ग र बिपी राजमार्गमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन् । प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म चालक तथा यात्रुलाई धैर्य गर्न, जबर्जस्ती अवरुद्ध सडक पार गर्ने प्रयास नगर्न र ट्राफिक प्रहरी तथा सम्बन्धित निकायले दिएको सूचनाअनुसार यात्रा गर्न आग्रह गरेको छ ।

  • बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

    बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

    बागलुङ, १२ असोजः बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । शनिबार एक जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ ।

    तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही स्थानमा पहिरोले आठ घर बगाएको छ । तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता भएका छन् ।


    निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उहाँका छोरा १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक छन् । यस्तै, निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ । शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

    बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली पुगेको थियो ।

    बाढी र पहिरोले तनहुँमा २४ घरमा क्षति

    विगत केही दिनदेखिको वर्षाका कारण बाढी र पहिरोले तनहुँका छ स्थानीय तहमा २४ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार व्यास नगरपालिकामा पाँच, म्याग्दे गाउँपालिकामा दुई, घिरिङ गाउँपालिकामा छ, ऋषिङ गाउँपालिकामा दुई, बन्दीपुर गाउँपालिकामा चार र भानु नगरपालिकामा पाँच घरमा क्षति पुगेको छ ।

    क्षति पुगेका घरका परिवारलाई प्रहरी टोलीले सुरक्षित स्थानमा सारेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण व्यास नगरपालिका–१ स्थित राइस मिलमा क्षति पुग्दा एक सय बोरा धान भिजेको छ । भिमाद नगरपालिका–६ मालेबगरमा कुखुराफार्म र बङ्गुरको खोरसमेत बगाएको छ ।

    देवघाटको सीता गुफा परिसरमा बाढीले क्षति

    तनहुँको देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचना तथा सामान बगाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बाढीले सीता गुफा नजिकको शौचालय, बाथरुम, ठूलो ढुङ्गामा कुँदिएको १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति, स्टोरका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री बगाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले सीता गुफामा पूजा गर्ने ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित स्थानमा सारेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, २ जनाको मृत्यु, एक दर्जन वेपत्ता

    मनाङको हिम्लुङ हिमालमा पहिरो, २ जनाको मृत्यु, एक दर्जन वेपत्ता

    मनाङ, ११ असोजः मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । पहिरोमा परी मानवीय क्षति भएको छ । हिमाल आरोहणमा गएका २२ जना (नौ जना पर्वतारोही र १३ जना सहयोगी) मध्ये करिब एक दर्जन बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए ।

    प्रहरीका अनुसार २ जनाको शव भेटिएको छ । उनीहरु सबैजना पर्वतारोहणको तयारी गर्न त्यसतर्फ गएका थिए । उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङ आए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको प्रजिअ खनालले बताउनुभयो । हिमपहिरोबाट के कति क्षति भयो भन्ने एकिन जानकारी प्राप्त हुन नसकेको उनले बताए ।


    यसैबीच लमजुङ हिमालको बेसक्याम्पमा पहिरो गएपछि घट्टे खोला थुनिएको छ । पहिरोले चामे गाउँपालिका–४ स्थित घट्टे खोला थुनिएको हो । खोला थुनिएपछि अहिले चामे गाउँपालिका–३, ४ र ५ नम्बर वडाका बासिन्दालाई नेपाली सेनाको नयाँ भैरवी दलभित्र राखिएको प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन् ।

  • वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

    वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

    काठमाडौँ, ११ असोजः विगत चार दिनदेखिको निरन्तर वर्षाद्ले गोकर्णेश्वर उत्तरगया पितृतीर्थ क्षेत्रमा सोह्र श्राद्ध गर्न आउनेहरू प्रभावित भएका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो । आज प्रतिपदा तिथि श्राद्ध गरिँदैछ । विगतका वर्षमा सोह्र श्राद्धको पहिलो दिन यस क्षेत्रमा सयौँ मानिसले श्राद्ध गर्ने स्थानका लागि तोकिएको शुल्क तिरेर रसिद काट्ने गरेकामा यस वर्ष ६६ जनाले मात्र रसिद काटेका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए ।

    उनका अनुसार यहाँ श्राद्ध गर्नेलाई समितिले सरसफाइका लागि रु २०० शुल्क लिने गरेको छ । विगत चार दिनदेखिको निरन्तर वर्षाले श्राद्ध गर्न आउनेहरू प्रभावित भएका उनले बताए । गोकर्णेश्वर मन्दिरभन्दा ५०० मिटरमाथिको दूरीमा रहेको कान्तिभैरव उत्तरगया क्षेत्रमा भने बिहानदेखि छ जनाले मात्र श्राद्ध गर्न रसिद काटेका कान्तिभैरव मन्दिर व्यवस्थापन समितिका कर्मचारी कोपिला थापाले जानकारी दिइन् । पानी नपरेका बेला भने यहाँ पनि दैनिक १०० जनाभन्दा धेरै मानिस श्राद्ध गर्नकै लागि आउने गरेका थिए ।

    राजधानीमा डेरा लिएर बसेकाहरू गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा आएर श्राद्ध गर्दछन् । डेरामा श्राद्ध गर्नुहुँदैन भन्ने मान्यता राख्नेहरू र डेरामा ठाउँ अभाव हुनेहरूले यहाँ आएर श्राद्ध गर्दछन् । धर्मशास्त्रविद् तोयराज नेपालले भने डेरामा ठाउँ भएसम्म श्राद्ध गर्न शास्त्रीय वचनका आधारमा कुनै बाधा नपर्ने बताए । भाडा तिरेर बसिसकेपछि रकम तिरुञ्जेल आफ्नै हुने भएकाले डेरामा श्राद्ध गर्न धर्मशास्त्रीय ग्रन्थले भने अनुसार कुनै बाधा नरहेको उनले बताए ।

    डेरामा ठाउँ अभाव भएर तीर्थमा गएर तिथिको श्राद्ध गर्नुपर्दा पहिले तीर्थ श्राद्ध गरेरमात्र तिथि वा सोह्र श्राद्धको तिथिको श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम रहेको जानकारी पनि धर्मशास्त्रविद् नेपालले दिए । तीर्थ श्राद्ध र तिथिको वा सोह्र श्राद्ध एकै दिन गर्दा तीर्थ श्राद्ध आफ्ना पुरेतबाट नभई अलग्गैबाट गर्नुपर्ने पनि उनले बताए । दुवै श्राद्ध एकै पुरेतबाट गराएर सिदा र दक्षिणा दान एकै जना ब्राह्मणलाई गराउन नहुने शास्त्रीय वचन रहेको छ ।

  • सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

    वालिङ ९स्याङ्जा०, ११ असोजः अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ । स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको कालीगण्डकी नदी र सेतीखोलाको किनारमा अवस्थित सेतीवेणी बजार डुबानमा परेको हो । चार दिनदेखि निरन्तर रुपमा परेको वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फको बजारका १७ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । त्यस्तै, पर्वततर्फका नौ घरमा क्षति पुगेको गल्याङ(५ का वडाध्यक्ष घनश्याम भट्टराईले बताए ।


    “स्याङ्जातर्फका १७ घरमा बाढी पस्दा घरहरू भत्किनुका साथै डुबानमा परेका छन्”, उनले भने, “गएराति २ः०० बजेतिरदेखि नदी तथा खोलामा बहाव बढेसँगै स्याङ्जा र पर्वततर्फका बाढी प्रभावितलाई पर्वततर्फको शालिग्राम मावि परिसरमा राखिएको छ ।” विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावितलाई तत्काल खानपान तथा आश्रयको व्यवस्थापन मिलाइएको उनले बताए । बाढीका कारण मानवीय क्षति नभएपनि केही पशुचौपाया भने नदीले बगाएर लगेको उनको भनाइ छ ।

    बजार डुबानमा परेपछि अहिले त्यहाँको जनजीवन प्रभावित बनेको छ । बाढीका कारण विश्व विराट शालिग्राम शीला डुबानमा परेको छ । कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मा मिर्मीमा रहेको कालीगण्डकी ए जलविद्युत् परियोजनाका सबै ढोका खोलेर विद्युत उत्पादन बन्द गरिएको छ । नदीमा आएको बाढीले आज बिहान मिर्मीस्थित स्याङ्जा र गुल्मीलाई जोड्ने मोटरेबल पुलसमेत बगाएको थियो ।

  • विपदबाट चार दिनमा १५ जनाको मृत्यु

    विपदबाट चार दिनमा १५ जनाको मृत्यु

    काठमाडौँ, ११ असोजः देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ । विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । विपद्का घटनामा चार जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    बाढी, पहिरो तथा डुबानमा परेका एक हजार २८४ जनाको उद्धार गरिएको छ । अन्य सुरक्षा निकाय र स्थानीयको समन्वयमा बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने काम भइरहेको प्रवक्ता काफ्लेले बताए ।

  • सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो

    सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो

    नवलपरासी (बर्दघाट) । ११ असोजः अविरल वर्षाका कारण नारायणी नदीको बाढी सुस्तामा पसेपछि स्थानीयलाई नारायणीवारि ल्याइएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ मा शुक्रबारदेखि बाढी पसेको हो । जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सुस्ताको थारु, वडाका टोललगायत क्षेत्रमा बाढी पसेपछि स्थानीय नागरिकलाई सुस्तामा रहेका आश्रयस्थलमा राखिएको थियो ।

    नारायणीमा बाढीको तह बढ्दै गएपछि ८०० भन्दा बढी नागरिकलाई नारायणीवारि सुस्ता बालिनगरमा रहेको बिपी माध्यमिक विद्यालयमा ल्याइएको उनले बताए । उनले भने, “सुस्तामा २१९ घरधुरीमा एक हजार ४५० भन्दा बढी नागरिक छन् । केही पहिलै आफन्तको घरमा गएर बसेका छन् भने बाँकीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा वारि ल्याउने काम भएको हो ।”

    “सुस्तावारि आउन नारायणी नदीमा झोलुङ्गे रहेकामा पुलमा जलसतह बढेपछि केही माथि उकालेर विद्यालयमा पुर्‍याउन ढिलाइ भएको हो”, प्रजिअ नेपालले भने । उद्योग वाणिज्य महासङ्घ नवलपरासी र नवलपरासी रेडक्रसले राहत सामग्री लिएर सो क्षेत्रमा पुगेको उनले बताए । अहिले गण्डक ब्यारेजमा चार लाख ७९ हजार १०० क्यूसेक पानी मापन गरिएको गण्डक योजना कार्यालय भैसालोटन बाल्मकीनगरका सम्पर्क तथा भूआर्जन अधिकृत सोभित हलुवाईले बताए ।

  • सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध

    सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध

    काठमाडौँ, ११ असोजः सोह्र श्राद्धको पहिलो दिन आज पशुपतिनाथ क्षेत्रमा छ सयभन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन् । बिहानैदेखि वर्षा भए पनि श्रद्धालुहरू आफ्ना दिवङ्गत पितृको सम्झनामा धार्मिक विधिअनुसार श्राद्ध गर्न पशुपति क्षेत्रमा पुगेका थिए । पशुपति क्षेत्रमा लामो समयदेखि श्राद्धलगायत धार्मिक कर्मकाण्ड गराउँदै आउनुभएका कलङ्कीका पण्डित शेषकान्त पन्तका अनुसार वर्षाका कारण विगतका वर्षको तुलनामा यस वर्ष पहिलो दिन श्रद्धालुको सङ्ख्या केही कम देखिएको हो ।

    उनले सोह्र श्राद्ध पितृहरूको सम्झना र सम्मानमा गरिने धार्मिक परम्परा भएको उल्लेख गर्दै पहिलो दिनमै वर्षा भएकाले श्रद्धालुको आवागमन प्रभावित भएको बताए । पितृहरूको आत्माको शान्तिको कामना गर्दै सोह्र श्राद्धका अवसरमा विभिन्न धार्मिक तथा तीर्थस्थलमा श्राद्ध, तर्पण र पिण्डदान गर्ने प्रचलन छ ।
    यस अवधिमा विशेषगरी पशुपतिनाथ क्षेत्रमा दिवङ््गत आफन्तको सम्झनामा धार्मिक कर्मकाण्ड गर्ने श्रद्धालुको बाक्लो उपस्थिति रहने गरेको पण्डित गङ्गाराज दाहालले बताए । उनका अनुसार आजदेखि सुरु भएको सोह्र श्राद्ध औँसीसम्म चल्नेछ ।

    यस अवधिमा श्रद्धालुहरूले आफ्ना दिवङ्गत पितृको सम्झनामा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने परम्परा रहिआएको छ । वर्षाका कारण बिहान श्रद्धालुको आवागमन केही प्रभावित भए पनि दिउँसोसम्म पशुपतिनाथ क्षेत्रमा श्राद्ध, तर्पण तथा पिण्डदान गर्नेहरूको चहलपहल जारी थियो ।

    कोटेश्वरबाट श्राद्ध गर्न पशुपति आएका कमल अधिकारीले वर्षा भए पनि तिथिअनुसार श्राद्ध गर्नुपर्ने भएकाले आफूहरू आएको बताए । उनले सोह्र श्राद्धको अन्तिम दिन श्रद्धालुको उपस्थिति अझ बाक्लो हुने अपेक्षा गरे । सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको चहलपहल बढेको छ । श्रद्धालुहरूको आगमनसँगै पण्डितहरूलाई पनि श्राद्ध, तर्पण तथा पिण्डदानलगायत धार्मिक कर्मकाण्ड गराउन भ्याइनभ्याइ भएको छ ।

  • बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

    बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

    गुल्मी, ११ असोजः अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका २३१ घर उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका केही परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार कालीगण्डकी गाउँपालिकाका १५, सत्यवती गाउँपालिकाका ३० घर, रुरुक्षेत्र गाउँपालिकाका ४०, मुसिकोट नगरपालिकाका १२ र रेसुङ्गा नगरपालिकाका २५ घर जोखिममा परेका छन् । त्यसैगरी गुल्मीदरबार गाउँपालिकाका पाँच, चन्द्रकोट गाउँपालिकाका ७०, धुर्कोट गाउँपालिकाका १५, इस्माका १२ र छत्रकोट गाउँपालिकाका सात घर पहिरोको जोखिममा परेका उनले जानकारी दिए ।


    प्रहरी उपरीक्षक बोगटीले जिल्लामा बाढीपहिरोबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको बताए । जोखिममा रहेका तथा विस्थापित परिवारको विवरण थपिन सक्ने भएकाले घटनाको विवरण सङ्कलन भइरहेको उनले बताए । बाढीपहिरोका कारण उच्च जोखिममा परेर विस्थापित परिवारलाई स्थानीय पालिकाहरूको सहयोगमा सुरक्षित स्थानमा सार्ने आवश्यक सहयोग उपलब्ध गराउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • रास्वपाद्वारा सांसदका स्वकीयलाई अभिमुखीकरण

    रास्वपाद्वारा सांसदका स्वकीयलाई अभिमुखीकरण

    काठमाडौँ, ११ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदका स्वकीय सचिवका लागि अभिमुखीकरण गरेको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आज भएको सो अभिमुखीकरणमा मुख्यसचेतक कवीन्द्र बुर्लाकोटी तथा सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले स्वकीय सचिवको भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिए ।

    कार्यक्रममा मुख्यसचेतक बुर्लाकोटीले पार्टीको विचार, अनुशासन तथा स्वकीय सचिवको जिम्मेवारी र कर्तव्यबारे सहभागीलाई प्रशिक्षत गरे । उनले स्वकीय सचिवको जिम्मेवारी पूर्णकालिक, संवेदनशील र संस्थागत हुने उल्लेख गर्दै सांसदको दैनिक कार्यसम्पादन सहज बनाउनेदेखि अध्ययन, समन्वय, सूचना व्यवस्थापन र नागरिक सम्पर्कसम्मका कामलाई व्यवस्थितरुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।


    यस्तै सचेतक परियारले स्वकीय सचिवको भूमिका तथा अर्का सचेतक धितालले स्वकीय सचिवका विभिन्न जिज्ञासा, प्रश्न र व्यावहारिक चुनौतीबारे स्पष्ट पारेको मुख्य सचेतक बुर्लाकोटीले जानकारी दिए ।

  • कोरला सडक पूर्ण रूपमा अवरुद्ध

    कोरला सडक पूर्ण रूपमा अवरुद्ध


    मुस्ताङ, ११ असोजः शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण (जोमसोम–कोरला) सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरबाट कोरला नाकासम्मको सडकमा ठाउँठाउँ पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरला पास क्षेत्रमा भारी हिमपात हुँदा आवागमन रोकिएको हो ।

    वर्षाका कारण राष्ट्रिय गौरवको कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुँदा वैकल्पिक कोरला नाका ठप्प हुँदा सयौँ कन्टेनर भन्सार यार्डमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गएरातिको भारी वर्षा र हिमपातले मुस्ताङको काभ्रेभीरबाट कोरला नाकासम्मको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार म्याग्दी-मुस्ताङ सिमाना काभ्रेभीर खण्डमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेर सडक अवरुद्ध बनेको छ ।

    भारी वर्षाका कारण मुस्ताङको थासाङ गाउँपालिका(४ घाँसा क्षेत्रका कतिपय ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको उहाँले जानकारी दिए । उनले तल्लो घाँसा, घाँसा चेकपोस्ट नजिकलगायत स्थानमा सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिए ।

    यसैगरी घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ फार्म नजिकैको फाराम खोलामा बाढी आउँदा सडक अवरुद्ध भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । बाढीका कारण सडक अवरुद्ध भए पनि भौतिक क्षति नभएको उनले बताए । त्यहाँ गाउँपालिकाको डोजर लगेर सडक खुलाउने प्रयास गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार कोरला नाका जोड्ने जोमसोम-पान्डा खोला सडकमा गए रातिको वर्षाले सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । यहाँका प्रहरी निरीक्षक बस्यालका अनुसार कागबेनीबाट वारागुङ-३ चैलेसम्मको सडक पनि अवरुद्ध भएको छ । कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन स्थानमा पहिरो खसेर सडक संरचनामा क्षति पुगेको उनले बताए ।


    यसैगरी मुस्ताङमा गएराति भारी वर्षा भइरहँदा लोमान्थाङ र कोरलानाका क्षेत्रमा भारी हिमपात भएको छ । लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)का ईञ्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरला नाका र भन्सार क्षेत्रमा गए राति भारी हिमपात भएको छ ।

    हिमपातका कारण कोरलानाकाको दशजगजा क्षेत्रमा पाल टाँगेर बस्ने स्थानीय व्यापारी समस्यामा परेका छन् । भारी हिमपातले स्थानीय व्यापारीले टाँगेका आधा दर्जन बढी पाल भत्किएका छन् भने कोरलाबाट लोमान्थाङ आवतजावत गर्ने राष्ट्रिय राजमार्ग सडक हिउँले पूर्ण रूपमा अवरुद्ध बनेको बिओपी इञ्चार्ज धितालले उल्लेख गरे ।


    कोरलानाका क्षेत्रमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण नेपाल(चीन निकासी तथा पैठारी व्यापार पूर्ण रुपमा प्रभावित भएको छ । बिओपी ईञ्चार्ज धितालका अनुसार कोरलानाकास्थित मुस्ताङ भन्सार यार्डमा २०० भन्दा बढी कन्टेनर अलपत्र परेका छन् । भन्सार जाँच पास भइसकेका र सीमापारी मालवस्तु लिन जाने खाली कन्टेनर यथास्थानमा रोकिएको उनको भनाइ छ । कोरलानाका क्षेत्रमा एक फिट बढी हिउँ परेको इञ्चार्ज धितालले जनाए ।


    त्यस्तै भारी वर्षाका कारण विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । जोमसोम विद्युत् वितरक संस्था निलगिरि उपभोक्ता सहकारीका प्रमुख सनप्रसाद थकालीका अनुसार घरपझोङ र थासाङ गाउँपालिकाको सिमाना चोखोपानीमा २४० किलोवाट क्षमताको जलविद्युत् गृहमा बाढी पसेर बन्द भएको हो । वर्षाका कारण गएरातिदेखि म्याग्दीको दानाबाट कोवाङसम्मको ३३ केभीए प्रसारण लाइनको सम्पर्क विच्छेद हुँदा मुस्ताङको विद्युत् सेवा पूर्ण रूपमा अवरोध भएको उनले बताए ।


    जिल्ला प्रहरी कार्यालय मुस्ताङले गए रातिको वर्षाले पुर्‍याएका क्षति विवरण सङ्कलन गर्नमा सञ्चार सम्पर्क हुन नसक्दा समस्या भइरहेको जनाएको छ । उत्तररदक्षिण जोड्ने बेनी(जोमसोम सडकखण्डको म्याग्दी खण्डमा पनि गएरातिको भारी वर्षाले दर्जनौँस्थानमा सडक अवरुद्ध हुन पुगेको बेनी–जोमसोमकोरला सडक आयोजनाका सुपर भाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

  • पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

    पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

    बागलुङ, ११ असोजः बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता तथा निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक फणिन्द्र प्रसार्इंले जानकारी दिए । अविरल वर्षाका कारण तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको हो ।

    यस्तै पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–४ सन्तरका ५० वर्षीय हस्तविर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । सोही पहिरोमा परेर हस्तविर श्रीपालीकी श्रीमती बेपत्ता भएकी छिन् । यसैगरी पहिरोले गोठ पुरिँदा निसीखोला गाउँपालिका–६ रङ्गिलमा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए ।

  • विश्व पर्यटन दिवसमा साइकल (याली

    विश्व पर्यटन दिवसमा साइकल (याली

    ललितपुर, १० असोज । बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ साइकल र्याली आयोजना गरेको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले (यालीको उद्घाटन गरे । पाटन दरबार क्षेत्रबाट सुरु भएको (याली पुल्चोक– कुपण्डोल– माइतीघर–रामशाहपथ– जयनेपाल सडक– नक्साल, टङ्गाल–बालुवाटार– नारायणगोपाल चोक हुँदै धुम्बाहारीमा पुगेर समापन भएको छ । (यालीमा उक्त मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीसहित १५० जना सहभागी थिए ।

  • सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

    सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय


    काठमाडौँ, ११ असोजः नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ । प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान सम्पादन गरिएको सेनाले स्पष्ट पारेको छ ।

    भोटेकोशी बाढीले राष्ट्रिय सङ्कट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । उनले भने, “सङ्कटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ ।”

    रसुवा बाढीपछिको एक महिनाको अवधिमा गरिएका खोज तथा उद्धार, स्वास्थ्य सेवा प्रदान र प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनस्र्थापनाका प्रयासबारे सेनाले राष्ट्रिय समाचार समिति (रासस)लाई उपलब्ध गराएको दस्तावेजमा विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको उद्धार भएको ठम्याइँ छ ।

    भोटेकोशी बाढीः खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेपाली सेना

    गत भदौ १० गते भोटेकोशीमा गएको विनासकारी बाढीले नदी आसपासका तटीय क्षेत्रमा अपूरणीय क्षति पुर्यायो । यस अप्रत्यासित जलप्रकोपका कारण स्थानीय मानव बस्ती, सडक पूर्वाधार, पुलहरू तथा जलविद्युत् आयोजना क्षणभरमै लेदोमा बिलिन हुन पुगे । यस्तो विकराल र विषम राष्ट्रिय सङ्कटको घडीमा नेपाली सेनाले आफ्नो उत्कृष्ट मानवीय दायित्व निर्वाह गर्दै आपत्कालीन खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह ग¥यो ।

    विपद्को खबर प्राप्त हुनासाथ रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासीलगायत इलाकामा तैनाथ सैनिक युनिट तत्काल उद्धार कार्यका लागि खटिएका थिए । विषम परिस्थितिमा उद्धार अभियानलाई चुस्त बनाउन नौ हजार ३०० भन्दा बढी सैनिक जनशक्ति परिचालन गरिनुका साथै कम्पोजित क्विक रियाक्सन टिम (सिक्युआरटी) र आपत्कालीन मेडिकल टिमसहित तुरुन्त चारवटा हेलिकप्टर खोज तथा उद्धारका लागि खटाइएका थिए । भौगोलिक विकटता र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको चुनौतीपूर्ण स्थितिमा सेनाले हवाई उद्धार, जमिनी उद्धार, टनेल उद्धार, स्वास्थ्य सेवा तथा सडक सञ्जाल पुनस्र्थापनामा द्रुतगतिमा कार्य अगाडि बढाइरहेको छ ।

    भौगोलिक जटिलता र सडक सञ्जाल पूर्ण रूपमा बिच्छेद भएको परिस्थितिमा नेपाली सेनाले हवाई मार्गलाई प्राथमिक माध्यम बनायो । एमआई–१७ लगायत सातवटा सैनिक हेलिकप्टर र निजी क्षेत्रका हवाई साधनलाई रणनीतिक रूपमा परिचालन गरिएको थियो । त्रिशूली र धुन्चेमा बेस स्थापना गरी एयर ट्राफिक कन्ट्रोल (एटिसी) सञ्चालनसहित दैनिक १५ देखि २२ वटा हेलिकप्टरमार्फत एक हजार ६०० भन्दा बढी उडानहरू भएका छन् ।

    यस हवाई अभियानबाट कुल चार हजार २४२ जना ९तीन हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिक०को सकुशल उद्धार भएको छ । यसका साथै टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकुबेँसीजस्ता स्थानमा हजारौँ किलो खाद्यान्न, औषधि, रासन र अक्सिजन सिलिन्डर एयरलिफ्ट तथा ड्रोनबाट पठाउनुका साथै टनेल क्षेत्रमा खोज तथा उद्धारका लागि अतिआवश्यक उपकरण लैजान स्लिङ अपरेसनसमेत सञ्चालन गरिएको थियो ।

    रसुवागढीदेखि नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा जमिनी खोज तथा उद्धारकार्यलाई उत्तिकै तीव्रताका साथ अगाडि बढाइ नेपाली सेनाले नदी किनार, जङ्गल, डाँडाकाँडा र सडक बिच्छेद तथा बाढीबाट बढी प्रभावित तुप्चे, दानसिङ, कालिकास्थान, स्याफ्रुबेँसीलगायत बस्तीमा निरन्तर पैदल गस्ती सञ्चालन गरी शव सङ्कलन र स्थानीय निकायसँग समन्वय र सहकार्य गरी परिस्थितिको बारेमा जानकारी सङ्कलन गरिएको थियो ।

    अप्ठ्यारो भूभागमा सम्भावित स्थानको पहिचान गर्न थर्मल ड्रोन तथा आधुनिक उपकरणको प्रयोग गरी रेकीसमेत भएका छन् । जमिनी उत्खनन र खोजीका क्रममा फेलापरेका एक हजार ४५१ वटा शवको व्यवस्थापनमा सहयोग गरेको छ । स्थानीय प्रशासन, स्थानीय निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सबै सरोकारवाला पक्षसँग समन्वय र सहकार्यमा यी कार्यहरु भएका छन् ।

    यस विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङहरूभित्र गरिएको उद्धारकार्य हो । जलविद्युत् आयोजनाको सुरुङ इलाकाबाट दुई हजार ७९८ र बाढीको लेदो, माटो र ठूला चट्टानले पुरिएका सुरुङबाट निरन्तर रूपमा गरिएको अथक प्रयासपश््चात सात जनाको जीवितै उद्धार गर्न सफल भएको छ । त्रिशूली–३ ‘ए’ मा ड्रिलिङ मेसिन, एक्स्काभेटर, रक ब्रेकर र नियन्त्रित विस्फोटमार्फत क्राउन हेड खोली, अक्सिजन पम्प गरेर भदौ १९ गते सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–१ बाट अडिट सुरुङको २२५ मिटर गहिराइबाट रबर बोट र थर्मल क्यामेराको प्रयोग गरी चिनियाँ नागरिकको सफल उद्धार गरिनुका साथै जम्मा ३७ वटा शवसमेत सङ्कलन भएका थिए ।

    खोज तथा उद्धार टोलीद्वारा करिब एक हजार ५० मिटर वैकल्पिक बाटो खोली चिलिमे सुरुङको ब्रेकथ्रुपश्चात् पाँचवटा शव तथा मानव अङ्ग सङ्कलन गर्नुका साथै रसुवागढी र त्रिशूली–३ ‘बी’ आयोजनामा उत्खनन गरी खोज तथा उद्धारकार्य भएको छ । छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुको जनशक्ति तथा प्रविधिसहित नेपाली सेनासँग संयुक्त रूपमा टनेलहरूमा खोज तथा उद्धारकार्यमा संलग्न भएका थिए ।

    त्यसैगरी, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्यका अतिरिक्त बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै सेनाले त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गर्यो, जसबाट तुरुन्त बाढीबाट घाइते र अन्य गरी चार हजार तीन जनाले प्रत्यक्ष चिकित्सा सेवा प्राप्त गरे । सुरुङ तथा भौगोलिक रूपमा विकट इलाकामा गम्भीर घाइते अवस्थामा फेलापरेका नागरिकलाई हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र अस्पताल पुर्याएर आपत्कालीन उपचार प्रदान गरियो । विस्थापितहरूका लागि अस्थायी आवास र होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै महामारी फैलन नदिन स्थानीय निकायसँगको समन्वयमा निसङ्क्रमण अपरेसन सञ्चालन गरिएको थियो ।

    खोज तथा उद्धारकार्य, स्वास्थ सेवा प्रदानका साथसाथै प्रभावित जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनस्र्थापनामा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्याएको छ । नुवाकोटको देवीघाटस्थित तादी नदीमा करिब ६० मिटर लम्बाइ र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनको निरन्तर प्रयासमा जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइयो । स्याफ्रुबेँसी–चिलिमे र इन्द्रेणी घाटमा तुइन तथा काठका अस्थायी फट्के निर्माण गरिए । बेत्रावतीमा बेलीब्रिज निर्माणकार्य अगाडि बढाउने क्रममा विष्फोटक पदार्थ प्रयोग गरी पुल निर्माण गर्ने स्थानसम्म जाने बाटो निर्माण भइहेको छ ।

    समग्रमा, रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा नेपाली सेनाको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रह्यो । सम्पूर्ण उद्धार अभियान प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच कार्यसम्पादन गरिएको थियो । आफ्नै परिवार तथा सैनिकसमेत विपद्बाट प्रभावित रहेको अवस्थामा पनि नेपाली सेनाले कर्तव्यलाई सर्वोच्च प्राथमिकता दिँदै नागरिकको जीवनरक्षाका लागि निरन्तर अग्रपङ्क्तिमा रही खोज तथा उद्धार कार्य सञ्चालन गरिएको छ ।

    विशेषतः हाइड्रोपावरको साँघुरो र जोखिमपूर्ण सुरुङभित्र करिब १७० मिटर गहिराइसम्म प्रवेश गरी लेदो, चट्टान, सीमित स्थान तथा थप जोखिमको सम्भावनाबीच गरिएको जीवित उद्धार नेपाली सेनाको अदम्य साहस, उच्च व्यावसायिक दक्षता, टोलीगत समन्वय र जोखिम वहन गर्ने सैनिक चरित्रको कारणले सम्भव भएको देखिन्छ ।

    राष्ट्रिय सङ्कट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तर–निकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको छ । सङ्कटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ ।

    साथै, विपद् प्रतिकार्यमा नेपाल सरकारको निर्देशनबमोजिम नेपाली सेनालगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय निकाय र स्थानीय समुदायबीच समन्वय र सहकार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट देखिएको छ ।