Category: समाचार

  • मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

    मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

    बागमती, १८ चैतः चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको होे । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

  • बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    गलकोट (बागलुङ), १८ चैतः चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी रु पाँच लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा रु ४२ लाख भेटी सङ्कलन भएको थियो ।

    गण्डकी प्रदेशको प्रमुख सक्तिपिठ मध्येको एक ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैतेदसैँको अवसरमा यसवर्ष आएका सात लाखभन्दा बढी दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते रु एक लाख १७ हजार, चैत ६ गते रु एक लाख ५३ हजार, चैत ७ गते रु चार लाख ३८ हजार, चैत ८ गते रु एक लाख ७० हजार, चैत ९ गते रु एक लाख ७१ हजार तथा चैत १० गते रु चार लाख ९२ हजार सङ्कलन भएको थियो ।

    यस्तै चैत ११ गते रु तीन लाख, चैतेदसैँको मुख्य दिन चैत १२ गते रु १० लाख ४४ हजार सङ्कलन भएको अध्यक्ष खड्काले बताए । नवमीको दिन रु चार लाख ८० हजार र दशमीको दिन रु तीन लाख ५५ हजार ७३५ सङ्कलन भएको छ । “चैतेदसैँको मुख्य दिनमा सबैभन्दा धेरै भक्तजन र धेरैै भेटी सङ्कलन भएको छ विगतका वर्षाहरूको तुलनामा यो वर्ष पाँच लाख मात्रै भेटीमा कमी आएको छ, वर्षाको कारणले केही भक्तजनमा कमी आएको थियो”, अध्यक्ष खड्काले भने, “अष्टमीमा एकै दिन चार लाखभन्दा बढी भक्तजन आए, ट्राफिक व्यवस्थापनमा हम्मेहम्मे प¥यो ।”

    बागलुङ कालिका मन्दिरमा वडा दसैँ र चैतेदसैँ अनि शनिबार तथा मङ्गलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट कमाइ हुने गरेको छ । मन्दिरमा परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरबाट आम्दानी जोडिने गरिएको अध्यक्ष खड्काले बताए । विसं १५९१ मा पर्वते राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेका थिए । विवाहमा राजकुमारीले आफूसँगै दाइजोको रुपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोकेर यही कालिका मन्दिर रहेको स्थानसम्म ल्याइएको थियो । राजकुमारी कालिका देवी भएको अनन्य भक्त थिए । त्यही कालिका देवीको मूर्ति अहिले कालिका मन्दिर रहेको स्थानमा ल्याएर बिसाइएको थियो ।

  • रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    म्याग्दी, १८ चैतः रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक दशकअघि निर्माण सुरु भएको यो सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताए । हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताए ।

  • बिपी राजमार्ग अनिश्चितकालीन बन्द

    बिपी राजमार्ग अनिश्चितकालीन बन्द

    काभ्रेपलाञ्चोक, १७ चैतः बिपी राजमार्गमा आज साँझदेखि अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ । आज साँझ ७ः०० बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा भारी वर्षात् भएकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गका हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अहिले जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तगा काभ्रेभञ्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पु¥याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो । सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ ।

    छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरेर यातायात होल्ड र व्यवस्थापन गरिएको विष्टले बताए । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिल गरिएको छ । यसअघि गत शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले दुई दिन बिपी राजमार्ग अवरुद्ध बनाएपछि करिब ३६ घण्टापछि आइतबार बिहानदेखि सञ्चालनमा ल्याइएको थियो । त्यसबेला पनि दुईतर्फी रूपमा नै सञ्चालन भएको जनाउँदै कार्यालयले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्नसमेत अनुरोध गरेको थियो ।

    शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबारको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको थियो । गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो ।

  • अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार

    अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार

    काठमाडौँ, १८ चैतः कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा लगाइएका १२ नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अनलाइन ठगि तथा कम्बोडियामा बिना भिसा बसिरहेका १२ नेपालीको थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरी आज स्वदेश फर्काइएको हो ।

    यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ । कम्बोडियामा नेपाली नागरिक अनलाईन ठगीलगायत गैर कानुनी काममा लगाइएको र बिना भिसा वा भिसा–अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।

    कम्बोडियामा माथि उल्लेखित अवस्थामा बसिरहनुभएका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैर–आवासीय नेपाली सङ्घ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । स्क्यामिङ केन्द्रमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनि धेरै जनाको गुनासो आएको छ । त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदुतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ ।

    कम्बोडियाको प्रयटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई हजार ९४० जना, सन् २०२४ मा छ हजार ४०४ जना तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपालीहरू कम्बोडिया गएको देखिन्छ ।

    नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।

  • भक्तपुर यातायात कार्यालयबाट दुई विचौलिया पक्राउ

    भक्तपुर यातायात कार्यालयबाट दुई विचौलिया पक्राउ

    भक्तपुर, १७ चैत स् मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय भक्तपुरमा आएका सेवाग्राहीहरूलाई लिखित तथा प्रयोगात्मक परीक्षा पास गराइदिन्छु भन्दै रकम माग्दै हिँड्ने दुई जना विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरी वृत्त थिमिबाट खटिएका प्रहरी टोलीले सेवाग्राहीलाई अनावश्यक दुःख एवं हैरानी दिने गरेको भन्दै दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।

    सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ घर भई हाल राधेराधे बस्ने २९ वर्षीया यमकुमारी श्रेष्ठ र चितवनकालिका नगरपालिका–६ घर भई हाल राधेराधे बस्ने ३० वर्षीय सुनील थापालाई पक्राउ गरिएको उनले जानकारी दिए । कार्यालयमा कर्मचारीले बाहिर रहेका फोटोकपीदेखि फाराम भर्न खोलिएका पसलहरूदेखि आँखा र रगत जाँच गर्नेहरूबाट समेत रकम लिने गरेको र पूर्वप्रहरीदेखि फाराम गर्न खोलिएका पसलहरूबाटै विचौलिया परिचालित हुने गरेको गुनासो आएको प्रहरीले जानकारी दिएको छ ।

  • महिलाको चरित्र हत्या गरेको अभियोगमा महिला रेस्लर पक्राउ

    महिलाको चरित्र हत्या गरेको अभियोगमा महिला रेस्लर पक्राउ

    काठमाडौँ, १७ चैतः सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लिल कमेन्ट गरी सार्वजनिक रुपमा बेइज्जत गराई घृणा, द्धेष फैलार्ई चरित्रहत्या गर्ने रामेछाप मन्थली नगरपालिका–१२ घर भई काठमाडौँको शान्तिनगर बस्ने ३५ वर्षीय भगवती खड्कालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले सामाजिक सञ्जालमा अरुको चरित्रहत्या गर्ने खड्कालाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरिएको जानकारी दिए । पक्राउ खड्कालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए ।

  • हवाई इन्धनको मूल्य भारी वृद्धि

    हवाई इन्धनको मूल्य भारी वृद्धि

    काठमाडौँ, १८ चैतः नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरिएको छ । साविकमा प्रतिलिटर रु एक सय २७ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब बृद्धिपछि प्रतिलिटर रु दुई सय ५१ पुगेको छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर आठ सय १९ अमेरिकी डलर प्रतिकिलोलिटरले बृद्धि भएको छ ।

    परिमार्जित मूल्य अनुसार काठमाडौँमा प्रतिलिकिलोटर नौ सय ६६ अमेरिकी डलर रहेकोमा बृद्धिपछि अब एक हजार सात सय ८५ अमेरिकी डलर पुगेको छ । अर्को मूल्य समायोजन नगर्दासम्म पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको भने साविकको मुद्रा मूल्य नै कायम राखिएको निगमले जनाएको छ ।

  • पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    गुल्मी, १७ चैत । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ । सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको एक सय ४६ मिटर लामो सस्पेन्सन (एनटाइप) पुलको निर्माण आस्था सम्झना जेभी अर्घाखाँचीले निर्माण समयअघि नै सम्पन्न गरेको हो । पुल निर्माणका लागि रु एक करोड ७१ लाख ८४ हजार ४६० बजेट विनियोजन गरिएको थियो ।

    निर्माण व्यवसायीसँग २०८२ भदौ ३ गते सम्झौता भई २०८३ भदौ ३ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा खुसी बनेका छन् । वर्षायाममा खोलामा बाढी आउँदा स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई आवतजावतमा निकै सास्ती खेप्नुपर्ने बाध्यता थियो ।

    यसअघि पुल अभावमा वर्षात्को समयमा कतिपय विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने अवस्था रहेको स्थानीय यमबहादुर थापाले बताए । उनका अनुसार पुल नहुँदा खोला तर्न जोखिम मोल्नुपर्ने तथा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । अब पुल सञ्चालनमा आएपछि करिब आधा घण्टाको दूरी पाँच मिनेटमै छोटिने भएको छ ।

    स्थानीय रामलाल घिमिरेका अनुसार पुल सञ्चालनमा आएपछि विद्यालय तथा स्वास्थ्य सेवा लिन जानका लागि सहज हुनुका साथै व्यापारिक क्षेत्रमा पनि चहलपहल बढ्ने छ । लामो समयदेखि त्यस क्षेत्रका बासिन्दाले राजनीतिक दलहरूसँग गरेको झोलुङ्गे पुलको माग ढिलै भए पनि पूरा गरिदिएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । उक्त पुलले वारिपारिका दुई बस्तीलाई जोड्ने मात्र नभई त्यस क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ ।

  • बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    काठमाडौँ, १७ चैत । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह आग्रह गरेको छ ।

    स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएकोप्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुनविपरीतका गतिविधि नगर्न तथा नगराउन बोर्डले चेतावनी दिएको छ । अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ बमोजिम कारबाही हुने बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

  • चिलीद्वारा करिब दुई लाख आप्रबासीलाई कागजात दिने योजना रद्द गर्ने घोषणा

    चिलीद्वारा करिब दुई लाख आप्रबासीलाई कागजात दिने योजना रद्द गर्ने घोषणा

    सान्टियागो, चिली, १७ चैत (रासस–एएफपी) । चिलीको नयाँ दक्षिणपन्थी सरकारले सोमबार अनियमित रूपमा देश प्रवेश गर्ने दशौँ हजार आप्रवासीलाई कानुनी मान्यता दिने योजना रद्द गर्ने घोषणा गरेको छ । राष्ट्रपति ग्याब्रियल बोरिकको अघिल्लो वामपन्थी सरकारले कानुनी हैसियतका लागि आवेदन दिने एक लाख ८२ हजार मानिसलाई कानुनी मान्यता दिने प्रतिवद्धता व्यक्त गरेको थियो । आप्रवासनविरुद्ध कडाइ गर्ने प्रतिबद्धताका साथ अभियान चलाएको जोसे एन्टोनियो कास्टको नयाँ सरकारले यो आदेशलाई कार्यान्वयन नगर्ने आप्रवासन सेवाले बताएको छ।

    “हामी बोरिक सरकारले प्रस्ताव गरेजस्तो आवासीय कागजातहरूको ठूलो अनुमतिको लागि अगाडि बढ्ने छैनौँ,“ आप्रबासन सेवाका निर्देशक फ्रान्क साउरबाउमले भने । कास्टले पेरुको सीमामा नयाँ अवरोधहरू निर्माण गर्न यसै महिनाको सुरुमा आदेश दिएका थिए । कास्टले पेरू र बोलिभियाबाट आउने आप्रवासीहरूलाई रोक्न ‘सीमा निगरानी’ बढाउने र प्रवेशमा कडाइ गर्ने वाचा गरेका थिए । कास्टले हत्या, अपहरण र फिरौती असुलीमा वृद्धि रोक्न कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । उनले हत्या, अपहरण र फिरौती असुलीजस्ता घटनामा वृद्धि हुनुलाई कागजात नभएका आप्रवासीहरू प्रवेश दिइनु केही कारकमध्ये एक भएको बताए ।


    दक्षिणपन्थी राष्ट्रपति कास्टको निर्वाचन चिलीको इतिहासमा सन् १९७३ देखि १९९० सम्म अगस्टो पिनोचेको सेनाको नियन्त्रण रहेको सत्तापछि चिलीमा वर्तमान् राष्ट्रपति कास्टको निर्वाचनले देशमा एक अतिराष्ट्रवादी नेताको नेतृत्व दिएको छ। सरकारी अनुमान अनुसार चिलीमा रहेका करिब तीन लाख ३७ हजार विदेशी नागरिकहरूसँग आवासीय अनुमतिका लागि कागजातहरू छैनन् ।

  • धवलागिरि माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरि माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    म्याग्दी, १७ चैत । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटीखेती गरेका हुन् । माकुसका बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवाखेती गरेको बताए । “इलामबाट प्रतिगोटा रु ३० का दरले बिरुवा किनेर ल्याई सतुवा रोपेको हो”, उनले भने, “एक सय किलोग्राम सतुवा उत्पादन भएको छ ।” केही वर्षअघिसम्म प्रतिकिलोग्राम रु १६ हजारमा बिक्री हुने सतुवाको मूल्य घटेर रु पाँच हजार प्रतिकिलोमा झरेकाले बिक्री गर्न नपाएको उनले बताए ।

    रोकाले सतुवाको गानाका साथै १० हजार नयाँ बिरुवा तयार पार्नुभएको छ । यसअघि मकै, गहुँ, कोदो, उवा, जौँखेती हुने पाखोबारी र खोल्साको पाखामा सतुवा लगाएको रोकाले बताए । तत्कालीन सशस्त्र द्वन्द्व पछि ४५ वर्षीय रोका खेतीकिसानी र पशुपालन गर्दै आएका थिए । समुद्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा भिरालो पाखामा अवस्थित माकुसको भूगोल र हावापानी अनुकूल तथा उच्च मूल्य पाइने भएकाले सतुवाखेती गरेको रोकाले बताए ।
    उहाँले सतुवाखेतीका साथै व्यावसायिक बाख्रापालन पनि गर्नुभएको छ । पचासभन्दा बढी बाख्रा पालेका छन् । माकुस नजिकैको जङ्गलमा प्राकृतिक रूपमा पनि सतुवा उत्पादन हुँदै आएको थियो ।

    परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटीखेती गरेको रोकाले भने । वैदेशिक रोजगार र परम्परागत खेतीकिसानीको विकल्पमा व्यावसायिक जडीबुटीखेती गरेका रोकालाई धवलागिरि गाउँपालिकाले सतुवाखेती गरेको बारीमा पर्खाल बनाएर घेराबार गर्न गत वर्ष रु एक लाख अनुदान सहयोग गरेको वडाध्यक्ष अमर छन्त्यालले बताए ।


    त्यसैगरी, सतुवाको बिरुवा भएको पल्टमा पलास्टिकको टनेल बनाउन सकेमा तापक्रम सन्तुलित बनाउन, हिउँ, असिना र रोगकीराबाट बचाउन सकिने रोकाको अपेक्षा छ । औषधि बनाउन प्रयोग हुने सतुवा पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्ने चलन छ ।

  • आन्दोलन दवाएको अभियोगमा काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    आन्दोलन दवाएको अभियोगमा काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    काठमाडौँ, १७ चैत । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो । गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै तत्कालीन पूर्वप्रजिअ रिजाललाई कारबाही सिफारिस गरेको जनाइएको छ ।

    पक्राउ पर्नुभएका पूर्वप्रजिअ रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले राससलाई जानकारी दिए । अब जिल्ला अदालतबाट म्याद थप गरी उहाँमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, १७ चैत । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चटयाङ, हुरीबतास र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

    आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौँ, १७ चैतः जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँड्नुभएका महावीर जैनको २६२५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन तपस्यामा निस्किएका विभिन्न जैन ग्रन्थमा उल्लेख गरिएको छ । करिब १२ वर्ष तपस्या गरेपछि उनले मानव समुदायलाई जैन दर्शन बाँडेका थिए ।


    नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैन शास्त्रीय मान्यताअनुसार २४ वटा तीर्थङ्कर जैन छन् । धर्मको बाटो देखाउने भएकाले तीर्थङ्कर नाम दिइएको हो । हिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने सन्देश महावीरले दिएका थिए । अरुलाई दुःख दिनु पनि हिंसा भएकाले अरुको उपकार गर्नु नै अहिंसा हुने महावीरको विचार छ । उनको उत्तर अध्याय सूत्र कृति चर्चित छ । जसको नेपाली अनुवाद मानव लिन केन्द्रका संस्थापक डा मणिभद्र मुनिजीले गरेका छन् । महावीरको जन्मजयन्तीका अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न सङ्घ संस्थाले कार्यक्रम आयोजना गरी यो दिवस मनाउने जनाइएका छन् ।

  • दाङमा १० जनाले बुझाएनन् चुनावी खर्च विवरण

    दाङमा १० जनाले बुझाएनन् चुनावी खर्च विवरण

    दाङ, १७ चैतः गत फागुन २१ गते मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका ६० उम्मेदवारमध्ये १० जनाले अझै चुनावी खर्चको विवरण बुझाएका छैनन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार खर्च विवरण नबुझाउनेमा निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेका आमजनता पार्टीका सीताराम यादव, निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका ढुण्डीराज थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतीक अधिकारी, नागरिक उन्मुक्ति पार्टी नेपालका झरेन्द्रबहादुर खत्री, आमजनता पार्टीका कृष्णबहादुर सुनार र स्वतन्त्र उम्मेदवार पदमप्रसाद पाण्डे रहेका छन् ।

    त्यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३ बाट जनता समाजवादी पार्टी नेपालका शोभा डाँगी, मितेरी पार्टी नेपालका सन्तोष सिंह, नागरिक उन्मुक्ति पार्टीका महेश चौधरी र स्वतन्त्र उम्मेदवार भागीराम चौधरी रहेका कुँवरले जानकारी दिए । सूचना अधिकारी कुँवरका अनुसार निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । रासस

  • लापसे गरेर सवारी चलाउनेमाथि कञ्चनपुरमा ट्राफिक प्रहरीको कडाइ

    लापसे गरेर सवारी चलाउनेमाथि कञ्चनपुरमा ट्राफिक प्रहरीको कडाइ

    रासस
    कञ्चनपुर, १७ चैतः जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कडाइ गरेको छ । लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनेमाथि प्रहरीले विशेष जाँच अभियान सञ्चालन गर्दै आएकोे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बालेन्द्र नाथका अनुसार गत कात्तिकदेखि हालसम्म लागुपदार्थ सेवन गरेका २२ जना चालकमाथि कारबाही गरिएको छ ।

    सोही क्रममा हिजो मात्रै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गरिएको छड्के जाँचका क्रममा चार जना चालक लागुपदार्थ सेवन गरेर सवारी चलाउँदै गरेको अवस्थामा फेला परेका छन् । स्वास्थ्य कार्यालय र महाकाली अस्पतालको प्राविधिक सहयोगमा गरिएको जाँचमा १६ जना चालकको परीक्षण गर्दा चार जनाले लागुपदार्थ सेवन गरेको पुष्टि भएको प्रहरी निरीक्षक नाथले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

    उनका अनुसार लागुपदार्थ सेवन गरेर सवारी चलाउनु केबल ट्राफिक नियम उल्लङ्घन मात्र नभई गम्भीर अपराध र सार्वजनिक सुरक्षामाथिको खेलबाड हो । लापसे जाँचका लागि प्रहरीले ‘ड्रग डिटेक्सन किट’ प्रयोग गर्ने गरेको छ । “यस प्रविधिमा चालकको ¥यालको नमुना सङ्कलन गरी परीक्षण गरिन्छ । जसबाट चालकले लागुपदार्थ सेवन गरेको वा नगरेको तत्कालै थाहा हुन्छ”, प्रहरी निरीक्षक नाथले भने । सेवन गरेको पुष्टि भएमा लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइँदै आएको छ ।

    यसअघि मादक पदार्थ सेवन (मापसे) को मात्र जाँच हुँदै आएकामा अब चिकित्सकको निगरानीमा लागुपदार्थ सेवन जाँच सुरु गरिएकाले लागुऔषध प्रयोग गरेर सवारी चलाउने चालक कानुनी दायरामा आउन थालेका छन् । उनका अनुसार लागुपदार्थ सेवन गरेका चालकको स्नायु प्रणालीमा असर पर्ने, निर्णय क्षमता कमजोर हुने, प्रतिक्रिया समय ढिलो हुने र दृष्टिमा भ्रम हुने भएकाले दुर्घटनाको जोखिम अत्यधिक रहने गर्दछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले राजमार्ग क्षेत्रमा महिनामा लागुपदार्थ सेवनबारे दुई(तीन पटक छड्के जाँच गर्ने र साँझको समयमा दैनिक मापसे जाँचलाई निरन्तरता दिने कार्य गर्दै आएको छ ।

    “यसले चालकमा सचेतना बढाउनुका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ”, प्रहरी निरीक्षक नाथले भने, “यस कार्यले कारबाहीसँगै सडक सुरक्षाबारे सचेतना फैलाउने काम पनि हुँदै आएको छ ।” सडकमा लापसे जाँच गर्नुको मुख्य उद्देश्य दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए । राजमार्गमा हुने दुर्घटना कम गर्न र लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न आगामी दिनमा पनि लापसे तथा मापसे जाँच अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ।

  • लोकप्रिय बन्दै पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम

    लोकप्रिय बन्दै पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम

    रासस
    गोरखा, १७ चैतः जिल्लाको पालुङटार नगरपालिकाले सञ्चालन गरेको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ । आर्थिक वर्ष २०८१–८२ देखि सुरु भएको उक्त कार्यक्रममा हाल पालिकाका अधिकांश किसान आबद्ध रहेका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत पालिकाले कृषक, कृषि समूह तथा कृषि सहकारीलाई शतप्रतिशत अनुदानमा बीउ उपलब्ध गराउँदै आइएको छ । पालिकाले किसानको इच्छाअनुसार विभिन्न प्रकारको खाद्यान्न, रैथाने र मसला बालीको बीउ उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।


    “खाद्यान्नअन्तर्गत धान र मकै, रैथाने बालीअन्तर्गत कोदो, फापर, मास र कागुनो तथा मसला बालीअन्तर्गत अधुवा र हलेदोको बीउ उपलब्ध हुन्छ”, प्रमुख प्रशासकीय अधिकृत बिसीले भने बीउ पैँचो कार्यक्रममा कृषकको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

    पालिकाले उपलब्ध गराएको बीउबाट किसानले बीउ उत्पादन गर्नुपर्ने प्रावधान रहेको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए । “निश्चित समयपछि किसानले पालिकाले अनुदानमा उपलब्ध गराएको बीउ पालिकामै फिर्ता गर्नुपर्ने हुन्छ”, उनले भने, “किसानले पालिकाले जतिमात्रामा बीउ उपलब्ध गराएको थियो, त्यति पालिकालाई फिर्ता गरेर बाँकी आफूखुसी बेच्न सक्नुहुन्छ ।” यसरी किसानले फिर्ता गरेको बीउ पुनःअन्य किसानलाई उपलब्ध गराएर बीउ पैँचो कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।


    “सुरुको वर्षमा किसानलाई आवश्यकपर्ने बीउ बाहिरबाट ल्याउनुपर्ने हुन्छ । विस्तारै यही उत्पादन बढ्न थालेपछि किसानबीच बीउ पैँचोको अभ्यास सुरु हुन्छ”, उनले भने । पालुङटारले किसानसँग बीउ पैँचो कार्यक्रमका लागि चालु आव २०८२–८३ मा रु दुई लाख विनियोजन गरेको छ । पालिकाले हाल कार्यक्रम जारी गरेर इच्छुक किसानलाई कार्यक्रममा आबद्ध हुन सूचना प्रकाशन गरिसकेको छ ।

    गत वर्ष कार्यक्रममा आबद्ध भएका किसानले बीउसमेत फिर्ता गरिसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसीले उल्लेख गरे । कार्यक्रम किसानको मागमा आधारित हुन्छ । विशेषगरी पालिकाको रैथाने बाली प्रवर्द्धन गर्न, कृषकको जीविकोपार्जनमा सहयोग पुर्‍याउन र पालिकालाई बीउमा आत्मनिर्भर बनाउन ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

  • माओवादी विद्रोहमाथि भारतले विजय गरेको गृहमन्त्रीको घोषणा

    माओवादी विद्रोहमाथि भारतले विजय गरेको गृहमन्त्रीको घोषणा

    बस्तर, भारत, १७ चैत (रासस–एएफपी) । भारतले दशकौँ लामो विद्रोहलाई परास्त गर्न लामो समयसीमा पूरा गर्दै सोमबार मुलुकलाई माओवादी द्वन्द्वमुक्त मुलुक घोषणा गरेको छ । गृहमन्त्री अमित शाहले नक्सल चिनिने विद्रोहीहरूबाट भारत ’स्वतन्त्र’ बनेको संसदमा घोषणा गरे । “म खुल्लमखुल्ला भन्न सक्छु कि हामी नक्सलवादीमुक्त भएका छौँ, यो भन्न कुनै हिचकिचाहट छैन,” उनले भने, “सम्पूर्ण अभियान सकिएपछि म देशलाई सार्वजनिकरूपमा पनि जानकारी दिनेछु ।”

    भारतले विगत दुई वर्षमा नक्सलवादी विद्रोहको अन्तिम अवशेषविरुद्ध आफ्नो अभियान तीव्र बनाएको बताउँदै आएको थियो । यो आन्दोलनको नाम पश्चिम बङ्गालको हिमालयको फेदीमा रहेको नक्सलबारी गाउँको नामबाट राखिएको छ । यो छ दशकअघि माओवादी प्रेरित विद्रोह सुरु भएको स्थानबाट नै उक्त आन्दोलनको नाम राखिएको थियो ।

    विद्रोहले देशको लगभग एक तिहाइ भाग नियन्त्रण गरेको थियो र सन् २००० को दशकको मध्यमा अनुमानित १५ हजार देखि २० हजार लडाकुहरू भएको आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । तर हालैका वर्षहरूमा यो नाटकीय रूपमा कमजोर भएको थियो। अधिकांश सशस्त्र विद्रोहीहरू मध्य छत्तीसगढ राज्यको बस्तर क्षेत्रसम्म सीमित थिए, जुन घना जङ्गल र पहाडहरूको विशाल खनिज–समृद्ध क्षेत्र हो । “बस्तर अब नक्सलमुक्त छ,” ९० मिनेटको भाषणका क्रममा शाहले विद्रोह अन्त्यका लागि सुरक्षा बलले अपनाएको इतिहास र रणनीतिबारे जानकारी दिँदै भने । उनले भने, “माओवादी हिंसा गर्ने, नक्सलवाद हिंसा गर्नेहरुको दिन अब सकिएको छ ।”

    सन् २०२५ मा सुरक्षा फौजले ३६४ विद्रोहीहरूलाई मारेको र एक हजार २२ लाई पक्राउ गरेको थियो भने वरिष्ठ नेताहरूसहित अन्य दुई हजार ३३७ जनाले आत्मसमर्पण गरेका थिए । सन् २०१० यता नागरिक र सुरक्षा बलको मृत्युमा ९० प्रतिशतले कमी आएको छ भने माओवादी आक्रमणको संख्या एक हजार ९०० बाट घटेर गत वर्ष करिब २०० मा झरेको छ । शाहले सरकारले विद्रोहबाट प्रभावित राज्यहरूमा स्थानीय प्रहरी बलको क्षमतालाई बलियो बनाएको र सुरक्षा बलहरूबीच समन्वय गहन बनाएको बताए ।

    “हामीले हतियार मात्र होइन, सबै निकायको दृष्टिकोण अपनाएका छौँ,” शाहले भने, “माओवादीका दुई कमान्डरबाहेक सबै या त मारिएका छन् वा आत्मसमर्पण गरेका छन्। उनीहरूले पनि चाँडै आत्मसमर्पण गर्नेछन्।” छत्तिसगढका उपमुख्यमन्त्री विजय शर्माले यसअघि एएफपीलाई राज्य नक्सलवादी विद्रोहीहरूबाट पूर्ण रूपमा मुक्त रहेको बताएका थिए । उनले भने, उनीहरुको सम्पूर्ण सशस्त्र लढाकू मारिएका छन् ।”

    माओवादीले वन क्षेत्रमा सीमान्तकृत आदिवासी जनजातिको अधिकारका लागि आफूहरू लडिरहेको बताएका थिए । सन् १९६७ मा मुट्ठीभर गाउँलेहरूले आफ्ना सामन्ती शासकहरूविरुद्ध विद्रोह गरेपछि १२ हजारभन्दा बढी विद्रोही, सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ। माओवादी केन्द्रका पूर्व विद्रोही २६ वर्षीय विष्णु माडवीले छापामारसँग सात वर्षपछि गत जनवरीमा आत्मसमर्पण गरेका थिए । “मेरो कमान्डर सन् २०२५ मा प्रहरीको कारबाहीमा मारिएकोमा मुस्किलले बाँचेको छ,” माड्वीले सोमबार एक शिविरबाट एएफपीलाई बताए । उनले भने, “हाम्रा शीर्ष नेताहरू सबै यात शाहदत प्राप्त गरिसकेका छन् या आत्म समर्पण । प्रहरीले हामी घेराबन्दी गरेको अवस्थामा आन्दोलन छोड्नुको विकल्प थिएन।”

  • अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला

    अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला

    ताप्लेजुङ, १६ चैत : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ मा रहेको अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला परेका छन् । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१, गैरी गाउँका ४० वर्षीय यमराज लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गत फागुन ८ गते घर जान्छु भनेर हिँडेका लिम्बू हालसम्म सम्पर्कमा नआएको भन्दै चैत १ गते खोजतलासका लागि हुलियासहित निवेदन परेको थियो ।

    सोही आधारमा खोजी कार्य गर्दै जाँदा आइतबार फक्ताङलुङ गाउँपालिका–२ मा मेथेन खोलमा सडेगलेको अवस्थामा लिम्बूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिए । घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा मृतकको बाँया हातमा रहेको ट्याटुका आधारमा शवको पहिचान गरिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • थाइल्याण्डमा एएनओको समिति गठन

    थाइल्याण्डमा एएनओको समिति गठन

    काठमाडौँ, १६ चैतः विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली जाति र नेपालीभाषीबीच आफू बसेकै देशमा नेपाली भाषा र संस्कृतिको पहिचानका लागि अभियान सञ्चालन गरिरहेको एसोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ० को थाइल्याण्ड समिति गठन गरिएको छ । थाइल्याण्डको बैंकक सहरमा आइतबार आयोजित एएनओको भेलाले सो समितिको अध्यक्षमा थाइल्याण्डमै जन्मेकी पाचौँ पुस्ताकी नेपाली मूलकी नागरिक अमरा राई चयन गरेको हो ।

    थाइल्याण्डमै जन्मेका र पुस्तौँदेखि थाइल्याण्ड र बर्मामा बसोबास गरिरहेका नेपाली जातिका नागरिकहरुको सहभागितामा सम्पन्न सो भेलाले उक्त समितिमा मिलन घिमिरे, नरेश पाण्डे, सोनिया राई, एमी राई, बसन्ती प्रधान, दीपा पौडेल, अस्मिता न्यौपाने, सुमन कार्की र विक्की सिन्च्यूरीलाई चयन गरेको छ । त्यस अवसरमा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपली कला, संस्कृति, भाषा र परम्परालाई नेपाली मूलका मानिसहरुमा पुस्तान्तरण गर्ने एएनओको अभियानले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे ।


    एएनओका अन्तरराष्ट्रिय महासचिव चूडामणि भट्टराईले एएनओको निवेदनलाई स्वीकार गर्दै नेपाल सरकारले कुनै पनि नेपाली मूलको मानिस नेपाल जाँदा अब विमानस्थलमा विदेशीको लाइनमा बस्नु नपर्ने व्यवस्था हालै मिलाएको जानकारी दिँदै यसबाट संसारभरका नेपालीले सम्मानित महसुस गरेका बताए ।


    कार्यक्रममा क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्राध्यापक डा मोहन डाँगीले नेपालीपनको विस्तारको एजेण्डाले मन छोएको बताए । बैंककलाई कर्मभूमि बनाएर प्राध्यापनरत नेपाल पोलिसी इन्स्टिच्युडका अध्यक्ष डा खगेन्द्र ढकालले गैरआवासीय नेपाली सङ्घले तीन पुस्ताभित्रका नेपालीमात्र समेट्ने भएकाले त्यस बाहिरका नेपालीलाई समेट्ने संस्थाको रुपमा एएनओ आएकोमा खुसी व्यक्त गरे ।


    थाइ नेपाली सङ्घका उपाध्यक्ष विनोद लामिछाने, गैरआवासीय नेपाली सङ्घ एशिया प्रशान्त क्षेत्रीय उपप्रमुख भविन्द्र बस्नेत, एएनओको बोर्ड अफ ट्रष्टी सदस्य वात्सना राई र केन्द्रीय कार्यसम्पादन समितिका सदस्य राज कर्माचार्य र प्राध्यापक भारती लिम्बूनीले थाइल्याण्डमा पनि नेपाली भाषा र संस्कृति विस्तारका लागि अर्को एक मञ्च बनेकामा खुसी व्यक्त गरे । सो भेलामा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन एक र दुईमा थाइल्याण्ड र बर्माबाट सहभागी कलाकारहरुले पितृभूमि नेपालको सम्झनामा संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

  • यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ

    यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ

    काठमाडौँ, १६ चैतः यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ प्रहरी टोलीले आज ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरुलाई पक्राउ गरेको हो । ललितपुर प्रहरीले आज एक सूचना जारी गरी यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गर्ने गरेको पाइएपछि १५ जनालाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ । उनीहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखिएको र थप आवश्यक अनुसन्धान थालिएको पनि प्रहरी परिसरले जनाएको छ ।

    त्यसैगरी नेपाल प्रहरीले सन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिइओ अर्याललाई आज पक्राउ गरेको हो । अर्याललाई काठमाडौँ महानगरपालिका वडा नं २९ न्यूप्लाजा पुतलीसडकबाट पक्राउ गरिएको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले कर्मचारीलाई छुट्याएको सेयर बाँडफाँट सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण पेस गर्दा कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र त्यसका प्रतिलिपिको विवरण फरकफरक निकायमा पेस गरेकाले पक्राउ गरिएको जानकारी दिए । अर्यालले गरेको उक्त काम धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०० विपरीत कसुर भएकाले पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेका अर्यालसँग थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।

  • एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश

    एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश

    काठमाडौँ, १६ चैतः सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सो रिट निवेदनमा आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक तीन दिन भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।

    आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको जादेश किन जारी हुनु नपर्ने हो रु आदेश जारी हुनुनपर्ने भए सोको आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक तीन दिन भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरुको नाउँमा यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी म्याद सूचना पठाइ म्यादभित्र लिखितजवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नू ।”

    अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(६) को प्रतिकूल जरुरी पक्राउपुर्जी जारी भएको भन्ने निवेदकका तर्फबाट बहस पैरवी गर्न उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू तथा अधिवक्ताहरूले तर्कपूर्ण बहस गर्नुभएको हुँदा निवेदकलाई जरूरी पक्राउ पुर्जी जारी गर्नुपर्ने उल्लिखित दफाको पूर्वावस्था रहे नरहेको के हो प्रत्यर्थीहरूबाट जवाफ आउने गरी लिखितजवाफ पेस गर्न लगाउनु भनेको छ ।

    साथै, सुनुवाइको दिन कार्की आयोगको छानबिन प्रतिवेदनसमेतको अनुसन्धानको मिसिल इजलाससमक्ष देखाइ फिर्ता लानेगरी मगाउन भनिएको छ । अध्यक्ष ओलीको पत्नी राधिका शाक्यले आइतबार गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।
    सो रिट निवेदनमा भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको थियो।

  • चैते धानको समर्थन मूल्य सिफारिस

    चैते धानको समर्थन मूल्य सिफारिस

    काठमाडौँ, १६ चैतः कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएको हो । धानको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति, बजार मूल्य, उत्पादनलागतको विश्लेषण गरिएको प्रतिवेदनमा मूल्य तोक्नका लागि सिफारिस गरिएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए ।


    विभागको टोलीले स्थलगत अध्ययन गरेपछि उत्पादन लागत, ढुवानी खर्च, बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर वैज्ञानिक मूल्यको प्रस्ताव प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । प्रस्तावका आधारमा प्रतिक्विन्टल मूल्य तोक्न सरोकारवालासँग छलफल भएको बताउँदै उनले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको जानकारी दिए ।


    मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्र मूल्य सार्वजनिक गरिने जनाइएको छ । धानको चिस्यान मापदण्डसमेत मूल्याङ्कन गरी किसानद्वारा उत्पादित धानको समर्थन मूल्य सुनिश्चित गरिने छ । धानको १८ प्रतिशतसम्म चिस्यान भएमा तोकिएको मूल्य लागू हुने जनाउँदै १८ प्रतिशतभन्दा बढी चिस्यान भएमा तौल घटाउने नियम लागू गरिने मन्त्रालयले जनाएको छ । सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत धान खरिद हुने जनाइएको छ । सरकारले गत वर्ष प्रतिक्विन्टल दुई हजार ८०० समर्थन मूल्य तोकेको थियो ।

  • प्रवेश परीक्षा तयारी कक्षा र मापदण्डविपरीतका ‘ब्रिजकोर्स’ बन्द गरिने

    प्रवेश परीक्षा तयारी कक्षा र मापदण्डविपरीतका ‘ब्रिजकोर्स’ बन्द गरिने

    काठमाडौँ, १६ चैतः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षाका विभिन्न तह लक्षित कार्यक्रम प्रचलित कानुनबमोजिम सञ्चालन नभएको भए बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा आज जारी विज्ञप्तिमा नवनियुक्त मन्त्री सस्मित पोखरेलले गरेको निर्णयका आधारमा विद्यालय तहका विभिन्न कक्षामा भर्ना लिन प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिजकोर्सका नाममा विभिन्न संस्थाले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रम बन्द गराउन निर्देशन दिइएको उल्लेख छ । आगामी वैशाख १ गतेदेखि पूर्णरुपमा बन्द गराउने निर्णयबमोजिम यस्तो निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

    “निर्धारित काुननी मापदण्डअनुरुप त्यस्ता कार्यक्रमहरु सञ्चालन भए नभएको अनुगमन गरी प्रचलित कानुबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरिन्छ”, विज्ञप्तिमा भनिएको छ । विद्यालय तहमा यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्ने मन्त्रालयको बुझाइ रहेको छ ।

  • आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

    आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

    काठमाडौँ, १६ चैतः प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज कर्णाली प्रदेशका सङ्घीय सांसदहरुसँगको छलफलमा उनले बजेटमार्फत कर्णाली प्रदेशलाई न्यायोचित सम्बोधन गरिने विश्वास दिलाए ।

    “कर्णालीलाई आगामी बजेटमा न्यायोचित सम्बोधन गरिन्छ, बजेट सन्तुलित हुन्छ”, प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी सल्यान क्षेत्र नं १ का सांसद रमेश मल्लले भने । छलफलमा प्रधानमन्त्री शाहले सरकार यस वर्ष शासकीय सुधारमा केन्द्रित रहने बताए ।


    नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचित सांसद मल्ल प्रधानमन्त्रीसँगको छलफल आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमा केन्द्रित रहेको राससलाई जानकारी दिए । छलफलमा सहभागी सांसदहरुले आगामी वर्षको बजेटमा कर्णालीलाई पहिलो प्राथमिकता दिन, प्रदेशको शासकीय सुधार तथा भौतिक पूर्वाधार निर्माणलगायत बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।


    “जाजरकोट भूकम्पपछिको राहत तथा पुनर्निर्माण, मनसुनपूर्व तयारी, कर्णाली, भेरी, राप्तीलगायत विभिन्न सडक करिडोर तथा मध्यपहाडी, मदनभण्डारी, लुम्बिनी–रारालगायत लोकमार्ग तथा सडक पूर्वाधार, स्वास्थ्य बिमा, मातृ–शिशु पोषण, दैलेखको पेट्रोलियम खानी अनुसन्धान, वन्यजन्तुबाट हुने जोखिम व्यवस्थापन साथै सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ, कृषि, वन, पर्यटन, शिक्षा क्षेत्रका प्राथमिकताबारे प्रधानमन्त्रीसँग कुरा राखेका छौँ”, सांसद मल्लले भने ।

    छलफलमा कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सहभागी थिए ।

  • सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    रासस
    इलाम, १६ चैतः सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको छ । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर)को सहकार्य तथा हेल्वेटास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सुरु गरिएको नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले बताए ।

    “विद्यार्थीलाई कामको संसारबारे जानकारी गराउने, उनीहरूलाई आफ्नो रुचि, क्षमता र सम्भावनाअनुसार पेसा वा व्यवसाय छनोट गर्न प्रेरित गर्ने तथा व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको छ”, उनले भने, “विद्यार्थीलाई कामप्रतिको सम्मानको भावना विकास गराउनुका साथै भविष्यमा रोजगारीका लागि आवश्यक पर्ने व्यावहारिक तथा प्राविधिक सीपका बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको हो ।”

    नगरपालिकाभित्रका आठ विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीका लागि कार्यक्रम भइरहेको छ । “बौद्धधाम, कृष्णाश्रम, सिंहदेवी, फिक्कल, कर्फोक, जनक, सरस्वती र ज्योति माद्यमिक विद्यालयका विद्यार्थीलाई यो अभियानमा सहभागी गराइएको छ ।” शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले भने, “यस कार्यक्रमले विद्यार्थीलाई कामको संसार, विभिन्न पेसा तथा रोजगारीका अवसर, उद्योग तथा कम्पनीको कार्यप्रणालीलगायतका विषयमा व्यावहारिक जानकारी प्रदान गर्ने लक्ष्य छ ।”

    कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्योग तथा व्यवसायको भ्रमण, स्थानीय व्यवसायी तथा विज्ञहरूसँग अन्तक्र्रिया, प्रेरणादायी अनुभव आदानप्रदान, बायोडाटा लेखन, अन्तर्वार्ता तयारी, प्रभावकारी सञ्चार सीप तथा उद्यमशीलता विकाससम्बन्धी विभिन्न गतिविधिमा सहभागी गराइने सामाजिक विकास समिति संयोजक डिकबहादुर बम्जनले बताए । यसबाट विद्यार्थीलाई विद्यालयमा प्राप्त हुने सैद्धान्तिक शिक्षासँगै व्यावहारिक अनुभव पनि प्राप्त हुने अपेक्षा गरिएको उनले बताए ।

    सहयोगी संस्था इन्स्योरका प्राविधिक अधिकृत रिसु श्रीवास्तवाका अनुसार यस्तो कार्यक्रमले विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र सम्भावनाअनुसार भविष्यको करिअर निर्धारण गर्न सहयोग पुर्याउनेछ । साथै विद्यार्थीमा उद्यमशील सोचको विकास गर्दै रोजगारी सृजना गर्न सक्ने क्षमताको विकास गर्ने विश्वास गरिएको छ । विद्यालयस्तरमै विद्यार्थीहरूलाई कामको वास्तविक संसारसँग परिचित गराउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीको सोच, दृष्टिकोण तथा भविष्यप्रतिको तयारीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको कर्फोक क्याम्पसका प्रमुख गोपाल कट्टेलले बताए ।


    चौधवटा वडा रहेको पूर्वी पहाडकै ठूलो नगर सूर्योदयमा सामुदायिक, गुरुकुल र गुम्बा गरी ६६ विद्यालय छन् । नगरमा ३१ संस्थागत र गुठीबाट सञ्चालित एक विद्यालय छन् । नगरले आधारभूत तथा माध्यमिक शिक्षा ऐन–२०७६ तयार गरी लागू गरेको छ । “नगरका सबै आधारभूत तहका सामुदायिक विद्यालयमा नेपाली र अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको छ ।”

    नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले भने, “सबै विद्यालयमा इन्टरनेट, कम्तीमा एउटा कम्प्युटर र प्रिन्टर व्यवस्था गरिएको छ । तर, कागज प्रयोग निरुत्साहित गरिँदै छ ।” नगरले ल्याएको ‘१२ महिना–१२ कार्यक्रम’अनुसार हरेक महिना शिक्षक र विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ । स्थानीय पाठ्यपुस्तकका रूपमा ‘हाम्रो सूर्योदय’ अहिले कक्षा १ देखि ५ सम्म पढाइ भइरहेको छ ।

    नगरले विद्यालयका लागि आर्थिक व्यवस्थापन कार्यविधि कार्यान्वयन गरेको छ भने विद्यालय कार्यसम्पादन निर्देशिकासमेत लागू गरिएको भुजेलको भनाइ छ । गणितको नतिजा सुधार्न नगरले ‘गणितसँग खेलौँ, गणितीय धारणा बनाऔँ’ अवधारणासहित छुट्टै अभ्यास पुस्तिकासमेत वितरण गरेको छ । विज्ञान र गणित एकीकृत रूपमा शिक्षण गर्न माध्यमिक विद्यालयमा विज्ञान र आधारभूतमा गणित प्रयोगशाला स्थापना गरिएको छ ।

    गरिब तथा जेहेन्दार बुहारी र छोरीहरूलाई नगरले स्नातक तहमा छात्रवृत्ति दिएको छ । नगरका २४ सामुदायिक विद्यालयमा ई–हाजिरी जडान भई नगरबाटै अनुगमनको व्यवस्था मिलाइएको छ । अभिभावकलाई समेत परिचयपत्र व्यवस्था गरिएको छ । वर्षमा कम्तीमा चार पटक विद्यालय गएर पठनपाठन र शैक्षिक अवस्थाबारे अभिभावकले पनि अन्तक्र्रिया गर्ने गरेका छन् । धुलोरहित कक्षाकोठा, बालमैत्री र अपाङ्गमैत्री संरचना निर्माण भइरहेको छ भने शिक्षक–कर्मचारीलाई श्रम ऐनअनुसार सुविधा उपलब्ध गराउन नगरले प्रोत्साहन रकम नै थपेको छ ।

    विद्यालयमा बालबालिका टिकाउन र बचत गर्ने बानी विकास गर्न बैंकमा कक्षा १ देखि ५ सम्मका बालबालिकाको बचत खाता खोलिएको छ । नगरले समेत थपिदिने बचत रकमले बालबालिकालाई उच्च शिक्षा अध्ययनका लागि सहयोग पुर्याउने लक्ष्य राखिएको नगर कार्यपालिका सदस्य लत्ता अधिकारीले बताइन् ।

  • मध्यपूर्व युद्धमा पाकिस्तानको कूटनीतिक सक्रियता

    मध्यपूर्व युद्धमा पाकिस्तानको कूटनीतिक सक्रियता

    इस्लामावाद, १६ चैत (रासस–एएफपी) । मध्यपूर्वमा फैलिँदै गएको युद्धका बीच तनाव कम गर्ने प्रयासस्वरूप पाकिस्तानले साउदी अरेबिया, टर्की र इजिप्टका विदेशमन्त्रीहरूलाई इस्लामावादमा आमन्त्रण गर्दै महत्त्वपूर्ण कूटनीतिक पहल अघि बढाएको छ । आइतबार हुने चारपक्षीय बैठकमा क्षेत्रीय सुरक्षा, युद्धको अवस्था र तनाव न्यूनीकरणका उपायहरूबारे विस्तृत छलफल हुने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । पाकिस्तानले यसबीच अमेरिका र इरानबीच संवादको पुलका रूपमा भूमिका निर्वाह गरिरहेको छ ।

    बैठकका लागि टर्कीका विदेशमन्त्री हाकान फिदान र इजिप्टका बद्र अब्देलट्टी शनिबार राति इस्लामावाद आइपुग्नुभएको थियो भने साउदी अरेबियाका विदेशमन्त्री फैसल बिन फरहान आइतबार दिउँसो पुग्नुभएको थियो । उच्चस्तरीय भ्रमणलाई ध्यानमा राख्दै राजधानीको रेड जोन क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ र त्यहाँ जाने मुख्य सडकहरू बन्द गरिएका छन् । सरकारी कार्यालय र कूटनीतिक क्षेत्रहरू रहेको उक्त इलाकामा चारै देशका झण्डाले वातावरण सजाइएको देखिएको छ ।

    बैठकअघि पाकिस्तानका विदेशमन्त्री इशाक दारले इजिप्ट र टर्कीका समकक्षीसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता गरेका थिए । त्यसपछि ती तीनै देशका मन्त्रीहरूले संयुक्त रूपमा पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असीम मुनीरसँग भेटवार्ता गरे । मध्यपूर्वको द्वन्द्व चर्किँदै जाँदा पाकिस्तानले आफूलाई एक महत्त्वपूर्ण मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरेको छ । तेहरानसँग पुरानो सम्बन्ध र खाडी मुलुकहरूसँगको नजिकको सम्पर्कका साथै प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख मुनीरको अमेरिकी नेतृत्वसँगको व्यक्तिगत सम्बन्धले पनि इस्लामावादलाई कूटनीतिक रूपमा सक्रिय बनाएको देखिन्छ ।

    यद्यपि इरानले अमेरिकासँग औपचारिक वार्ता स्वीकार नगरेको जनाइएको छ, तर इरानी सञ्चारमाध्यम तस्निमले इस्लामावादमार्फत अमेरिकी प्रस्ताव—ट्रम्पको १५ बुँदे योजना—बारे प्रतिक्रिया पठाइएको उल्लेख गरेको छ । शनिबार प्रधानमन्त्री सरिफले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग एक घण्टाभन्दा लामो टेलिफोन संवाद भएको जानकारी दिँदै जारी कूटनीतिक पहलहरूबारे छलफल भएको बताएका थिए । पेजेस्कियानले क्षेत्रीय तनाव कम गर्न पाकिस्तानले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गरेका थिए ।


    यसैबीच, विदेशमन्त्री दारले इरानले थप २० वटा पाकिस्तानी झण्डा भएका जहाजलाई होर्मुज जलडमरूमध्य पार गर्न अनुमति दिएको जानकारी दिए । जसअनुसार दैनिक दुईवटा जहाज आवागमन गर्न पाउनेछन् । दारले सामाजिक सञ्जालमार्फत संवाद, कूटनीति र विश्वास निर्माण नै वर्तमान सङ्कट समाधानको एक मात्र उपाय भएको उल्लेख गर्दै अमेरिका र इरानका शीर्ष अधिकारीहरूलाई पनि यस दिशामा अघि बढ्न आग्रह गरे ।

  • तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते

    तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते

    मध्यविन्दु (नवलपरासी), १६ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक आज बिहान नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको लुप्र०१–००१ख ०९१० नम्बरको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बाप्र०१–०२८च ५००४ नम्बरको पिकअप भ्यान र सोही दिशातर्फ जाँदै गरेको बा३ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

    दुर्घटनामा ट्रक चालक रामेछाप खाँडादेवी गाउँपालिका–४ निवासी ३२ वर्षीय इन्द्र तामाङ, पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१२ निवासी ३३ वर्षीय दर्शन काप्री र बस चालक बाँके नेपालगन्ज उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय मोहनसिंह बलामी मगर घाइते भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । त्यसैगरी, बसमा सवार अन्य नौ जना यात्रु पनि सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि चितवन लगिएको छ । हाल यातायात सञ्चालन सामान्य अवस्थामा आएको प्रहरीले जनाएको छ ।

  • रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    रसुवा, १६ चैतः डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने भएको छ । विसं २०६५मा गतलाङ क्षेत्रको वन भीषण आगलागीको चपेटामा परेको थियो । आगोको चपेटाबाट सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति जलेर नष्ट भएको थियो ।

    डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले भौगोलिक असहजका भएपछि डडेलोका कारण उजाड बनेका गतलाङका वन क्षेत्रमा ड्रोनबाट वनस्पतिका बीउ छर्न लागिएको जानकारी दिए । उनले भने, “स्थानीय हावापानी सुहाउँदा वनस्पतिका बीउ सङ्कलन अहिले तीव्र रूपमा भइरहेको छ । आगामी जेठको अन्तिम सातादेखि ड्रोन प्रयोग गरी बीउ छर्ने कार्य सुरु गरिने छ । ” यसका लागि ‘इसिमोड’, वन विज्ञान अध्ययन संस्थान तथा डिभिजन वन कार्यालयबीचको त्रिपक्षीय साझेदारी समेत भएको छ ।

    डढेलोले प्रभावित चार सय ५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा एक सय हेक्टर जमिनमा बीउ छर्ने तालिका तय गरिएको छ । गतलाङ जङ्गलमा रहेका करिब १६ हजार गोब्रे सल्ला, ठिउरे सल्ला, लालीगुराँस तथा अन्य बहुमूल्य प्रजातिका रुख आगलागीबाट नष्ट भएको जनाइएको छ ।

    आर्थिक वर्ष २०७९÷८० देखि व्यवस्थापन कार्य सुरु भए पनि डढेका रुखको उचित व्यवस्थापन गर्न नसक्दा जङ्गल लामो समयसम्म पुनर्जीवन पाउन नसकेको बताइएको छ । वन पुनःस्थापनाअन्तर्गत हालसम्म ३० हजारभन्दा बढी सल्लाका बिरुवा रोपिसकिएको छ । तीमध्ये करिब २५ हजार बिरुवा रसुवागढी जलविद्युत् आयोजनाले उपलब्ध गराएको वन कार्यालयले जनाएको छ ।

    जिल्ला वन कार्यालयको कार्यक्षेत्र समयक्रमसँगै परिवर्तन हुँदै आएको छ । विसं २०५६ सालमा लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा धेरै आधार इलाका रूपान्तरण भएपछि वन कार्यालयको कार्यक्षेत्र घटेर अहिले आठ हजार ३२१ हेक्टरमा सीमित भएको छ । हाल आमाछोदिङ्मो गाउँपालिकाको पाँचवटा वडा, गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १ तथा उत्तरगया गाउँपालिकाका वडा नं १, २ र ३ समेत नौवटा वडा छन् । हाल गठित ६८ वटा सामुदायिक वन यसअन्तर्गत संरक्षणको काम अगाडि बढिरहेको छ ।

    वन कार्यालयले डढेलो नियन्त्रणका चेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ । जिल्लाको भिरालो भूगोल, चैतवैशाखको हुरीबतास र दुर्गम वनक्षेत्रका कारण आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्ने छ । त्रिशूली नदीपारिको पश्चिमी रसुवामा रहेको यो वनक्षेत्र मालागढीदेखि अधेरी खोलासम्म फैलिएको छ । थुमन, तातोपानी, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, नेशिङ, करुम्राङ, कटुन्जे, डाँडागाउँलगायत गाउँ वनसँग प्रत्यक्ष रूपमा जोडिएको वन प्राविधिकहरूले जनाएका छन् ।