Category: समाचार

  • नुनका नदीहरू : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

    नुनका नदीहरू : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

    खुल्ना (बङ्गलादेश), ९ मङ्सिर (रासस–एएफपी) । विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको तटीय डेल्टाको त्यही पानीले जीवनको हरेक लय, हरेक सङ्घर्ष र हरेक परिवर्तनलाई परिभाषित गर्दछ । सरकारी वैज्ञानिकहरूको भनाइमा जलवायु परिवर्तनका कारण समुद्रको सतह असाध्यै तीव्र रूपमा बढ्दै गइरहेको छ । यसले तल्लो भूभागलाई बगाउँदै लैजान थालेको छ भने आँधीबेहारी र चक्रवातहरूले समुद्री नुनिलो पानीलाई अझ भित्री क्षेत्रसम्म पु¥याई कुवा, पोखरी र तालका पानीलाई नुनिलो बनाइरहेका छन्।

    माटो र म्यानग्रोभ वनले भरिएको पर्यावरणीय रूपमा अति संवेदनशील डेल्टामा बस्ने लाखौँ नागरिकका लागि पिउने शुद्ध पानी फेला पार्नु अहिले एक कठिन चुनौती बनेको छ । सन् २००९ मा आएको विनाशकारी चक्रवात आइला तटीय जीवनमा एक निर्णायक मोड सावित भयो । बाँधहरू भत्किए, समुद्री नुनिलो पानी बस्तीमा पस्यो, घरहरू मात्रै नभइ, उर्वर मरुभूमि पनि नुनले छोपियो । कुनै समय जीवनरक्षक मानिने ताजापानी अचानक पिउन अयोग्य बन्यो र खेतबाली रोपिने जमिन बिस्तारै नुनिलो तहमुनि धसिँदै गयो ।

    आज खुल्ना र सतखिराका बासिन्दाहरू भूमिमा र समुद्रसँगको कडा सङ्घर्षबीच नाजुक सन्तुलनमा बाँचिरहेका छन् । निरन्तर ज्वारभाटा बाढीबाट जोगिन धेरै परिवारहरू बाँसका स्टिल्टमा उचो बनाइएका घरमा बस्छन् । बालबालिकाहरू पहेँलो, नुनिलो पानीमै नुहाउँछन्, त्यसै परिवेशमा खेल्छन् र त्यहीँ हुर्कन्छन् । त्यहाँ नदीहरूले वर्षौँ अघिदेखि नै घर, बस्ती, विद्यालय बगाइरहेकै छन् । विस्थापन यहाँ सामान्य जीवनचक्रको एक भागझैँ बनिसकेको छ ।

    पुरुषहरू महिनौँसम्म काम खोज्दै घरदेखि टाढा बसाइँ सर्छन् । उता महिलाहरू र बालबालिकाहरू भने परोपकारी संस्थाले उपलब्ध गराइदिने ट्याङ्की वा टाढाका पोखरीबाट वर्षाको पानी सङ्कलन गर्न घन्टौँसम्म सुक्खा र पत्र पत्र भएको माटोमा हिँड्न बाध्य छन् । प्रत्येक घरधुरीले धेरै मुश्किलले केही हजार लिटर पानी सङ्कलन गर्छ । त्यो पानी अर्को मनसुन नआउँदासम्म अत्यन्तै सावधानीपूर्वक बाँडेर प्रयोग गर्नुपर्ने हुन्छ ।

    दैनिक पानी बटुल्ने, भण्डारण गर्ने, हेरचाह गर्ने काम यहाँका परिवारका लागि धैर्य र सहनशीलताको मौन अनुशासनझैँ बनिसकेको छ । यो प्रतिवेदन एएफपीको सन् २०२५ माराई फोटो ग्रान्टअन्तर्गत युवा फोटो–पत्रकार मुहम्मद अमदाद हुसेनद्वारा तयार पारिएको फोटोग्राफी शृङ्खलासँग प्रकाशित गरिएको हो । यो सम्मानित पुरस्कार दक्षिण एसियाका २५ वर्ष वा सोभन्दा कम उमेरका फोटोग्राफरहरूका लागि खुला हुन्छ र यस वर्षको विषयवस्तु ‘जलवायु परिवर्तन’ तथा त्यसले दैनिक जीवनमा पारेको प्रभावमा केन्द्रित थियो ।

    एजेन्स फ्रान्स–प्रेसले यो पुरस्कार आफ्नो दिवङ्गत फोटो पत्रकार शाह माराईको नाममा स्थापना गरेको हो । माराई अफगान फोटोग्राफी जगतका लागि प्रेरणा व्यक्तित्व थिए र एएफपी काबुल ब्युरोका फोटो प्रमुखका रूपमा कार्यरत रहँदै सन् २०१८ अप्रिल ३० मा आत्मघाती आक्रमणमा ४१ वर्षको उमेरमा शहीद भएका थिए ।

  • साउदी अरबमा विदेशीका लागि मदिरा खरिद खुकुलो पारियो

    साउदी अरबमा विदेशीका लागि मदिरा खरिद खुकुलो पारियो

    रियाद, साउदी अरब, ९ मङ्सिर (रासस–एएफपी) । साउदी अरबले केही विदेशी बासिन्दाहरूको लागि रक्सी खरिदमा प्रतिबन्धहरू खुकुलो पारेको छ । साउदी अरबमा कार्यरत विदेशी कूटनीतिज्ञ र प्रिमियम भिसाधारकहरूले एएफपीसँग भने, “सरकारले हालैका दिनहरूमा रक्सी बिक्रीको बारेमा कुनै बयान नदिएको भए पनि स्रोतका अनुसार तथाकथित प्रिमियम आवासीय दर्जा भएका गैर–मुस्लिम व्यक्तिहरूले अब रियादमा रहेको देशको एकमात्र मदिरा पसलमा रक्सी किन्न पाउनेछन् । यो यस पहिले कूटनीतिज्ञहरूका लागि मात्र खुला रहने गरेको थियो।”

    एएफपीले कुरा गरेका चार व्यक्तिहरूले नाम नबताउने शर्तमा ९साउदी अरबको कडा कानुनका कारण सरकारले घोषणा नगरेको कुरा सार्वजनिक गर्दा समस्या हुने भएकोले० नियमहरू परिवर्तन भएको बताए । उनीहरू कूटनीतिक स्रोत र प्रिमियम भिसा स्थिति दुबै भएका केही बासिन्दाहरू थिए।
    “मैले यसको बारेमा साथीहरूबाट सुनेको थिएँ । मैले पनि खरीदका लागि प्रयास गरे । म दुई दिनअघि त्यहाँ गएको थिएँ र मेरा लागि खरिद खुला थियो,” नाम नबताउने सर्तमा एक प्रिमियम भिसाधारकले एएफपीसँग भने ।

    उनले भने, “यसले मलाई कालो बजारबाट किन्नुको सट्टा धेरै पैसा बचायो। मूल्यहरू उचित छन् र हामी अन्ततः साउदी अरबमा रक्सी किन्न सक्ने भएका छौँ ।” एएफपीले रिपोर्टमा टिप्पणीको लागि साउदी अधिकारीहरूसँग सम्पर्क गरेको थियो तर उनीहरूले समाचार प्रकाशित हुने बेलासम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

    सन् २०१९ मा सुरु गरिएको साउदी अरबमा प्रिमियम रेजिडेन्टको स्थिति विदेशीहरूको चयन समूहको लागि उपलब्ध छ । यसका लागि एक पटकका लागि आठ लाख रियाल रियाल (झण्डै दुई लाख १३ हजार अमेरिकी डलर) को एक पटक भुक्तानी आवश्यक पर्छ । त्यसपछि उनीहरूका लागि विभिन्न आवश्यकताहरू पूरा गर्न साउदी नागरिक र अन्य सामान्य विदेशी पर्यटक, व्यवसायी तथा श्रमिकको तुलनामा सहज हुने गर्छ ।

    भिसाले मानिसहरूलाई स्थानीय ‘प्रायोजक’ बिना नै साउदी अरबमा बस्न, काम गर्न र स्वतन्त्र रूपमा लगानी गर्न अनुमति दिन्छ । अन्य गैर–नागरिकहरूलाई साउदी अरबमा बस्नको लागि एक प्रकारको ‘साक्षी’ आवश्यक छ। एक प्रिमियम रेसिडेन्सी–धारक विदेशीले एएफपीलाई बताए, “एक विदेशी व्यक्तिले मैले रक्सी किन्नुअघि मरोजस्तै पहिचान भएका एक विदेशी व्यक्तिले पनि खरीद गरेको थिए।”

    “यसले ै मेरो लागि काम वास्तवम ग¥यो, यो धेरै सजिलो छ,” उनले भने। एक पश्चिमा कूटनीतिज्ञले एएफपीसँग प्रिमियम रेसिडेन्सीको पहिचान भएका व्यक्तिहरूले पछिल्ला केही दिनहरूमा सहजै मदिरा किन्न सकेको बताएका थिए। उनले भने, “प्रवासीका ह्वाट्सएप ग्रुपहरूमा यही समाचारहरू आइरहेका छन्।”

    एक कूटनीतिज्ञले एएफपीलाई भनिन्, “मदिरा पसल खचाखच भरिएको थियो, जब उनले मानिसहरुलाई ३० बोतलसम्म मदिरा लिएर बाहिर निस्किरहेको मैले देखेको थिएँ।” मदिरा नियमहरू स्पष्ट रूपमा खुकुलो भएको लगभग दुई वर्ष पछि साउदी अरबले सन् २०२४ जनवरीमा विशेष गरी गैर–मुस्लिम विदेशी राजदूतहरूलाई सेवा प्रदान गर्न राजधानीको कूटनीतिज्ञहरूको आवागमन हुने क्षेत्रमा आफ्नो पहिलो र एक मात्र रक्सी पसल खोलेको थियो ।

    “त्यस समयमा कुनै आधिकारिक घोषणा भएको भने थिएन, दुई छुट्टाछुट्टै स्रोतहरूले एएफपीसँग पुष्टि गरे। साउदी क्राउन प्रिन्स र वास्तविक शासक मोहम्मद बिन सलमान शक्तिमा आएपछि साउदीले अर्थव्यवस्थालाई विविधीकरण गर्ने र पर्यटक र अन्तर्राष्ट्रिय व्यापारलाई आकर्षित गर्ने योजना अनुसार निरन्तर परिवर्तनहरू गरिँदै आएको छ।

    अहिले महिलाहरूलाई गाडी चलाउन अनुमति दिइएको छ, विदेशी पर्यटकहरूलाई स्वागत गरिएको छ र पुनः सिनेमा घरहरू खुलेका छन्। तथापि, इस्लामको जन्मस्थान र यसका दुई सबैभन्दा पवित्र शहरहरूको घर रहेको राज्यमा मदिरालाई खुला गर्ने बिषयले चर्चा पाउने बिषय बनेको छ । अहिले पनि यो स्वदेशी मुश्लिमहरूको लागि खुला गरिएको छैन ।

  • एनपिएलः सन्दीपको उत्कृष्ट बलिङमा विराटनगर लगातार विजयी

    एनपिएलः सन्दीपको उत्कृष्ट बलिङमा विराटनगर लगातार विजयी

    काठमाडौँ, ८ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा विराटनगर किङ्ग्स विजयी भएको छ । विराटनगर लगातार आफ्नो तेस्रो खेलमा विजयी भएको हो । आजको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई नौ रनले हराएको हो । जितका लागि १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय २६ रन मात्रै बनाउन सक्यो । जनकपुरका लागि निकोल लेफ्टी इटनले ४१, लाहिरू मिलन्थाले २३, सञ्जय कृष्णमुर्तिले २० तथा आशिफ शेखले १३ रन बनाए ।

    बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । उनले चार ओभर बलिङ गर्ने क्रममा मात्र ११ रन खर्चिए । यस्तै सूर्य तामाङले दुई तथा मर्चेन्ट डे लाङले र शुभम रन्जनेले एक एक विकेट लिए । यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनायो । विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २९ बल खेल्दै दुई छक्का र दुई चौका प्रहार गरे । यस्तै बसिर अहमदले ३५ बलमा तीन छक्काको मद्दतमा ३६ रन बनाए । प्रारम्भिक ब्याटर लोकेश बमले २६ बल खेल्ने क्रममा एक छक्का र दुई चौका हान्दै २८ रनको योगदान दिए । यस्तै मार्टिन गुप्टिलले १३ र जर्ज मुन्सेले १० रन बनाए । विराटनगरका दुई ब्याटर रनआउट भए ।

    बलिङतर्फ जनकपुर बोल्टस्का रूपेश सिंह र सङ्गीथ कुरेले दुई दुई तथा आदित्य महताले एक विकेट लिए । यसअघि विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौँविरुद्ध जित दर्ज गरेको थियो । तेस्रो खेलमा जितेसँगै विराटनगर ६ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । अहिले ४ः०० बजेदेखि दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच सुरु हुँदैछ ।

  • नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

    नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

    काठमाडौँ, ८ मङ्सिरः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव २२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा एक दशमलव ८१ प्रतिशतले बढेर दुई हजार ६४७ दशमलव ४४ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ८४ अङ्कले बढेर ४५६ दशमलव १३ अङ्कमा पुगेको छ । नेप्से परिसुचकसँगै आज कारोबार रकमसमेत बढेको छ ।

    कूल ३३० कम्पनीको एक करोड ४२ लाख चार हजार ३६२ कित्ता शेयर रु सात अर्ब तीन करोड ५४ लाख ८० हजार १३६ मा खरिद बिक्री भएको छ ।
    नेप्सेका अनुसार कारोबार भएका सबै समूहका उपसूचकहरु बढेका छन् । कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्सोरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर रु २४ करोड ८१ लाख ५१ हजार ५४६ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । आज झापा इनर्जी लिमिटेडको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो ।

    त्यस्तै सागर डिस्टिलरी लिमिटेड, बन्दीपुर केवलकार, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रोटेक इन्ड्रष्टी लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाएका छन् । आजको कारोबारमा मविलुङ इनर्जी लिमिटेडको लगानीकर्ताले चार दशमलव ४४ प्रतिशतले गुमाए ।

  • मुख्य सचिवमा अर्याल नियुक्त

    मुख्य सचिवमा अर्याल नियुक्त

    काठमाडौँ, ८ मङ्सिरः नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद्को निर्णयले अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए । हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् ।

  • एनपिएलः ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिमको तेस्रो जित

    एनपिएलः ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिमको तेस्रो जित

    काठमाडौँ, ८ मङ्सिरः कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज कर्णाली याक्सविरुद्ध जीत निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४० रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली याक्स १९ दशमलव दुई ओभरमा ९४ रनमा अलआउट भयो ।

    सुदूरपश्चिमको जीतमा कप्तान ऐरी ब्याटिङ र बलिङ दुवैमा चम्किए । उनले ब्याटिङ गर्दै ३९ रन बनाए भने बलिङतर्फ चार विकेट लिए । कर्णालीका लागि पवन सराफले सर्वाधिक २७ बनाए भने मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४, गुल्शन झाले १३ रन बताए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    सुदूरपश्चिमका लागि कप्तान ऐरीले चार विकेट लिए भने हर्मित सिंह र अभिनास बोहराले समान दुई÷दुर्य विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । उसका लागि कप्तान ऐरीले सर्वाधिक ३९ रन बनाए भने आरिफ शेखले २७ रन जोडे । कर्णालीका लागि कप्तान कामीले तीन विकेट लिँदा ३, नन्दन यादवले दुई विकेट लिएका थिए ।

  • सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

    सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

    काठमडौँ, ८ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको निरीक्षण भ्रमण गरेका छन् । मङ्गलबारबाट लुम्बिनी प्रदेशबाट सुरु हुन लागेको प्रदेशस्तरीय सुरक्षा गोष्टीको पूर्वसन्ध्यामा उनले आज यहाँ आएको अवसरमा निरीक्षण भ्रमण गरेका हुन् । मन्त्री अर्यालले आजै लुम्बिनी पुगेर मायादेवी मन्दिरको दर्शन गर्दै त्यहाँको समग्र वस्तुस्थितिबारे पनि जानकारी लिए ।


    निरीक्षणका क्रममा मन्त्री अर्यालसँग गृह सचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत टेकेन्द्र कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी तथा सशस्त्र प्रहरी प्रमुख र जिल्लाका प्रहरी प्रमुखको उपस्थिति रहेको थियो । मन्त्री अर्याललाई प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जाँच चौकीको भौतिक प्रगति तथा उपलब्ध हुने सेवाबारे जानकारी गराए । हालसम्म जाँच चौकीको भौतिक प्रगति ७९ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत पुगेको जानकारी गराइएको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

    यस्तै, मन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालको भैरहवास्थित सीमा सुरक्षा गुल्म, पुगेर समग्र सीमा सुरक्षा तथा वस्तुस्थितिबारे जानकारी लिए । त्यस क्रममा उनले नेपाल–भारत सीमामा हुनसक्ने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रणका लागि कठोर भएर र नेपाली नागरिकलाई सीमामा हुन सक्ने हैरानीबारे सचेत रहँदै सहज वातावरण बनाउन निर्देशन दिए । मन्त्री अर्यालले सीमाबाट हुनसक्ने अवैध ओसारपोसार, अवान्छित गतिविधि नियन्त्रणका लागि पनि जिल्ला सुरक्षा प्रमुखलाई निर्देशन दिए ।

  • दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई प्रधानमन्त्रीको बधाई

    दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई प्रधानमन्त्रीको बधाई

    काठमाडौँ, ८ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र सम्बद्ध पक्षलाई बोलाएर उहाँले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकामा बधाई दिएकी हुन् ।

    यो उपलब्धि नेपाली खेलकुदकै लागि ऐतिहासिक र गौरवको विषय भन्दै प्रधानमन्त्री कार्कीले दृष्टिविहीन महिला क्रिकेट टोलीलाई थप उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।“तपाईँहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पका कारण यो उपलब्धि प्राप्त भएको हो”, उनले भनिन्, “तपाईंहरू हरेक खेलाडी र अफिसियल यस उपलब्धिको हकदार हुनुहुन्छ । अर्कोपल्ट च्याम्पियन बन्ने गरी लाग्नुहोस् ।”

    प्रधानमन्त्री कार्कीले आफ्नै पहलमा खेलाडीले देखाएको प्रतिभा सराहनीय रहेको उल्लेख गर्दै यसमा सरकारले लगानी गर्न सकेमा अझै प्रगति हुने बताइन् ।अब सरकारका तर्फबाट गर्न सकिने सहयोगबारे सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्ने उनको प्रतिबद्धता थियो । प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलङ्कामा भएको प्रतियोगितामा दोस्रो भएको हो । उनीहरुले साधनस्रोत सम्पन्न मुलुकका टोलीलाई जितेर दोस्रो हुन सकेको र सरकारको साथ पाएमा च्याम्पियनसमेत बन्ने क्षमता रहेको बताए ।

  • मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

    मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

    कास्की, ८ मङ्सिर । मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ । कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ ।

    यस खण्डको काम अहिले लगभग सकिन लागेको छ । यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जीनीयर किरण सुवेदीले जानकारी दिए । उनका अनुसार यस खण्डको निर्माण सकिएपछि यात्रु सहज रुपमा पोखरादेखि बागलुङहुँदै पश्चिम क्षेत्र जान र फर्कन सक्नेछन् ।“हरिचोक–याम्दी खण्डको मुख्य काम सकिएर पब्लिकलाई सेवा दिन तयार भएका छौँ । कालोपत्रको काम सकिएर फिनिसिङको चरणमा छौँँ ।” इञ्जीनीयर सुवेदीले भने । उनका अनुसार सडकमा रेलिङ, व्यारियर र रोड सेफ्टीका केही काम मात्र अब बाँकी रहेको छ । इञ्जीनीयर सुवेदीका अनुसार यस खण्डमा अब जम्माजम्मी १० प्रतिशत काम बाँकी छ ।

    विसं २०७९ साउन १४ गते यस खण्डको ठेक्का सम्झौता भएको थियो । मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिसँग दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती तथा निर्माण क्षेत्रमा बिजुली र खानेपानीको पाइप स्थानान्तरण लगायतका प्राविधिक समस्याले काममा अवरोध आएको थियो ।
    तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक विसं २०८१ साउन १४ गते र दोस्रो पटक २०८१ चैत ५ गतेसम्म म्याद थप गरिएको थियो । यस खण्डको तेस्रो पटक थपिएको म्याद विसं २०८३ वैशाख मसान्तसम्म रहेको इञ्जीनीयर सुवेदीले बताए ।
    “तेस्रो पटक थपिएको म्यादभन्दा अगावै काम सकिने निश्चित छ । निर्माणको क्रममा केही प्राविधिक तथा निर्माण कम्पनीबाट ढिलासुस्तीसमेत भयो । कार्यालयबाट पटक पटक ताकेता भयो, स्थानीयवासी, जनप्रतिनिधि सबैको सहयोगबाट अब सम्पन्न हुने अन्तिम अवस्थामा पुगेको छ ।” सुवेदीले भने । सडक निर्माणसँगै स्थानीयवासी भने उत्साहित भएका छन् । लामो समय धुलो र हिलोको सास्ती बेर्होन परेका उनीहरु फराकिलो र सुन्दर सडक बनेसँगै खुसी भएका हुन । पोखरा सिमपानीका माधव पोखरेलले स्थानीयवासीले भोग्नुपरेको कष्ट हटेको भन्दै खुसी व्यक्त गरे । मध्यपहाडीको हरिचोक–याम्दी खण्ड निर्माण सम्पन्न भएसँगै देशको पश्चिम क्षेत्रमा मात्र नभइ साविकका धौलागिरिका चार जिल्ला तथा कास्कीका उत्तर पश्चिम भेगका नागरिकसमेत सहज सडक पूर्वाधारबाट लाभान्वित भएका छन् ।

  • जेन जी आन्दोलनमा चितवनबाट फरार बन्दी झापामा पक्राउ

    जेन जी आन्दोलनमा चितवनबाट फरार बन्दी झापामा पक्राउ

    झापा, ८ मङ्सिर । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी यहाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए ।

    प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबारपक्राउ गरेको जनाएको छ । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ ।

  • कोटेश्वरसहित छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

    कोटेश्वरसहित छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौँ, ८ मङ्सिर । काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर घाइते भएका उहाँको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै मोरङ, बुढीगङ्गा गाउँपालिका–५ स्थित सडकमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने सप्तरी राजविराज नगरपालिका–१ घर भएका १९ वर्षीय सुरज नुनियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको विराट टिचिङ अस्पताल गङ्गाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

    कपिलवस्तु, कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगरस्थित सडकमा लु ३ त ५९५० नम्बरको थ्रेसर आइतबार दिउँसो दुर्घटना हुँदा थ्रेसरमा सवार सोही नगरपालिका–३ झण्डेनगर बस्ने ४२ वर्षीय पिताम्बर लोनियाको घटनास्थलमै मृत्यु भएको छ । थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदान रकम

    एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदान रकम

    काठमाडौँ, ८ मङ्सिर । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबर पुगेको छ । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार तीन सय नौ पुगेका छन् । यस्तै सूचीकृत योगदानकर्ता २६ लाख ४१ हजार एक सय ८९ बराबर पुगेको छ । कोषले हालसम्म रु १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार छ सय ८४ बराबरको रकम दाबी भुक्तानी गरेको छ ।

    कोषका अनुसार, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम रु दुई अर्ब ५१ करोड २० लाख ९४ हजार आठ सय २२, दुर्घटना तथा अशक्तता दावी रु २२ करोड ८६ लाख ५३ हजार चार सय ७५ बराबर रहेको छ । त्यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम रु २९ करोड सात लाख ७२ हजार एक सय १६ र अवकाश दाबी रकम रु १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार दुई सय ७१ बराबर छ ।

    सरकारले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य रूपमा सहभागी हुनैपर्ने वाध्यकारी व्यवस्था गरेपछि कोषको प्रभावकारिता समेत बढेको छ । स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान तथा विभिन्न सङ्घसंस्थाका कार्यरत कामदार तथा श्रमिक कोषमा सहभागी भइ योगदानकर्ता बन्न सक्छन् ।

    कोषमा नियमित रूपमा योगदान गर्नेले औषधोउपचार, पेन्सन तथा दुर्घटना अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सुविधा पाउँछन् । कोषलाई प्रभावकारी बनाउन थप सिर्जनशल योजना ल्याउनुपर्ने आवाज पनि उठ्दै आएको छ । कोषमा योगदान रकम बढ्दै जाँदा लगानीका अन्य स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

  • एनपिएल : कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

    एनपिएल : कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

    कमलकुमार बस्नेत–रासस
    काठमाडौँ, ८ मङ्सिरः यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत आज ‘विश्राम दिन’ । जसअनुसार आज कुनै पनि खेलको तालिका छैन । कूल ३२ मध्ये आठ खेल भइसकेका छन् । विश्रामपछिको दिन अर्थात् सोमबारका लागि भने दुई खेल राखिएका छन् ।

    प्रतियोगितामा हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स अविजित छन् । दुईरदुई खेल खेलेका यी टोली चाररचार अङ्कसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तीन खेलमा एक जीतसँगै दुई अङ्क बटुलेको काठमाडौँ गोर्खाज अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

    दुई–दुई खेल खेलेका लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले एकरएक खेलमा जीत दर्ता गर्दै क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । सातौँ स्थानमा रहेको जनकपुर बोल्ट्स एउटा मात्रै खेल खेलेको छ । जनकपुर अहिले अङ्कविहीन छ । अङ्क तालिकाको पुच्छारमा पोखरा एभेञ्जर्स छ । पोखराले दुवै खेलमा हार बेहोरेको छ ।

    खेलाडीतर्फ मार्क वाटको प्रदर्शन उत्कृष्ट देखिएको छ । लुम्बिनी लायन्सविरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै कर्णालीलाई जीत दिलाएका उनले दुई वटा विकेट लिएका छन् भने दुई वटा क्याच लिएका छन् । कुशल भूर्तेलले पनि ब्याटिङ, बलिङ र फिल्डिङबाट राम्रो प्रदर्शन गरेका छन् । उनले दुई खेलमा ११२ रन बनाएका छन् भने एक विकेट लिएका छन् साथै दुई वटा क्याच आउट लिएका छन् । हर्मित सिंहले पनि ब्याटिङमार्फत ५७ रन बनाउँदै चार विकेट लिएका छन् ।

    ब्याटिङमा विदेशी खेलाडी हावी

    हालसम्म भएका आठ खेलमा ब्याटिङमा विदेशी खेलाडी हावी देखिएका छन् । सबैभन्दा बढी रन बनाउने शीर्ष १० ब्याटरमा सात जना विदेशी खेलाडी छन् । कर्णालीका लागि दुई खेल खेलेका स्कट्ल्याण्डका मार्क वाटले एक शतकसहित १३० रन बनाएका छन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ११४ रन बनाएका थिए ।

    इङ्ग्ल्याण्डका रवि बोपाराले दुई खेलमा दुई वटा अर्धशतकसहित ११८ रन बनाएका छन् भने नेपाली खेलाडी कुशल भूर्तेलले पनि दुई अर्धशतकसहित ११२ रन जोडेका छन् । भारतीय खेलाडी प्रियाङ्क पञ्चालले एक अर्धशतकसहित १०२ रन बनाएका छन् भने नेपाली खेलाडी रोहित पौडेलले ८८ रन बनाएका छन् । त्यसैगरी मार्टिन गुप्टिल र लोकेश बमले एकरएक अर्धशतकसहित समान ८६ रन जोडेका छन् । इङ्ग्ल्याण्डका बेन चाल्र्सवर्थले पनि समान ८६ रन नै बनाएका छन् ।

    बलिङमा केसी अगाडि

    हालसम्म सबैभन्दा बढी विकेट लिनेमा काठमाडौँ गोर्खाजका कप्तान करण केसी छन् । उनी एक्लैले छ विकेट लिएका छन् । उनले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चार विकेट लिएका थिए । सुदूरपश्चिमविरुद्ध चार ओभर बलिङ गरेका उनले सात दशमलव ५० को इकोनोमीमा ३० रन खर्चिएका थिए । केसीले हालसम्म सात दशमलव ८८ इकोनोमीमा रन खर्चिएका छन् ।

    मिलिन्द कुमारले पाँच विकेट लिएका छन् । उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा तीन विकेट लिएका थिए । उक्त खेलमा चार ओभर बलिङ गर्ने क्रममा उनले तीन दशमलव ७५ को औसतमा १५ रन खर्चिए । हर्मित सिंह र मर्चेन्ट डे लांगेले हालसम्म समान चाररचार विकेट लिएका छन् । साथै रुवेन ट्रम्पप्लेमान, सन्दीप लामिछाने, स्कट लुगेलेजिन, सहाब आलम, सोमपाल कामी, हेमन्त धामी, शुभम रञ्जने, जिमी निशम, आकाश चन्दले समान तीनरतीन विकेट लिएका छन् ।

    स्ट्राइक रेटमा जैब अब्बल

    चितवनका सैफ जैब स्ट्राइक रेटमा अब्बल देखिएका छन् । यद्यपि उनले दुई खेलमा जम्मा ५३ रन बनाएका छन् । उनले २३० दशमलव ४२ को स्ट्राइक रेटमा रन बनाएका छन् । दुई सयभन्दा बढी स्ट्राइक रेट हुने खेलाडीमा हर्मित सिंह, जर्ज मुन्से, मार्क वाट छन् ।

    आलमको किफायती बलिङ

    किफायती बलिङ गर्नेमा भने नेपालका सहाब आलम अगाडि छन् । उनले प्रतिओभर चार दशमलव ७२ मात्रै दिएका छन् । उनले तीन खेलमा ११ ओभर बलिङ गरेका छन् । उनले औसतमा २२ रनमा एक विकेट लिएका छन् ।

    हर्मित सिंहले पनि पाँच दशमलव ३७ इकोनोमीमा किफायती बलिङ गरेका छन् । दुई खेलमा आठ ओभर बलिङ गरेका उनले ४८ रन दिएर चार विकेट हात पारेका छन् ।

    सन्दीप लामिछानेले पनि पाँच दशमलव ५० इकोनोमीमा बलिङ गरेका छन् । लामिछानेले दुई खेलमा आठ ओभर बलिङ गर्दै ४४ रन खर्चिएका छन् भने तीन विकेट हात पारेका छन् । सबैभन्दा बढी इकोनोमी हुनेमा डि आर्की सर्ट र म्याट टेलर छन् । दुवैले प्रतिओभर औसतमा १२ रन खर्चिएका छन् ।

    ५९ पटक क्याच आउट

    आठ खेलमा ५९ पटक खेलाडीहरु क्याच आउट भएका छन् । यस अवधिमा कूल ४० जनाले क्याचमार्फत आउट गरेका छन् । सबैभन्दा बढी क्याच लिनेमा चार खेलाडी कुशल भूर्तेल, सन्दीप जोरा, स्कट लुगेलेजिन र मोहम्मद आदिल आलम छन् । यी खेलाडीले हालसम्म समान तीनरतीन वटा क्याच लिएका छन् ।

    विराटनगरको उच्च स्कोर

    एनपिएलको जारी संस्करणमा विराटनगर किङ्ग्सले सबैभन्दा बढी रन बनाएको छ । उसले पोखरा एभेञ्जर्सविरुद्धको खेलमा २० ओभरमा छ विकेटको क्षतिमा २२० रन बनाएको थियो । त्यस्तै सबैभन्दा बढी रन बनाउने दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्स छन् । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएको थियो । त्यसैगरी, कम स्कोर बनाउनेमा काठमाडौँ गोर्खाज छ । काठमाडौँ गोर्खाज सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याउने क्रममा ११८ मा अलआउट भएको थियो ।

  • विवाह पञ्चमीमा माछा–मासु र मदिरा बिक्री वितरणमा रोक

    विवाह पञ्चमीमा माछा–मासु र मदिरा बिक्री वितरणमा रोक

    जनकपुर, ८ मङ्सिरः विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाममा आजदेखि तीन दिनसम्म माछा÷मासु र मदिरा बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको छ । आज राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि उक्त रोक लगाएको हो ।

    विवाहपञ्चमी महामहोत्सव यही मङ्सिर ९ गते सुरक्षित, मर्यादित र सौहार्द्रपूर्ण वातावरणमा मनाउने सन्दर्भमा बसेको सरोकारवालासँगको बैठक तथा जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सूचनामा जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री–वितरण, पशुपक्षी मारकाट, माछा मासु बिक्री–वितरण, उत्पादनलगायत अन्य नसालु पदार्थको सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको उल्लेख छ ।

    सूचना विपरीत निषेधित क्षेत्रमा उक्त कार्य गरिएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही भई जाने व्यहोरा उल्लेख गरिएको छ । मिथिलाको सांस्कृतिक, धार्मिक र पौराणिक पर्वका रुपमा रहेको रामजानकी विवाह महोत्सवलाई लक्षित गरी निषेध गरिएको सहायक प्रजिअ दाहालले बताए । यसैबीच विवाहपञ्चमी महोत्सवमा कुनै अप्रिय घटना हुन नदिन तथा शान्तिसुरक्षा प्रभावकारी बनाउन जनकपुरधाममा नेपाल प्रहरी र शास्त्र प्रहरीका गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

  • नुवाकोट पुगेर प्रचण्डले भने : निर्वाचनको विकल्प छैन

    नुवाकोट पुगेर प्रचण्डले भने : निर्वाचनको विकल्प छैन

    त्रिशूली (नुवाकोट), ७ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा जारी अस्थिर राजनीतिक परिवेषलार्ई निर्वाचनमार्फत समाधान गर्न सकिने बताएका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा आज घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले नेपाली नागरिकको आत्मनिर्णयको अधिकार जोखिममा परेकाले त्यसको पुनःस्थापनाका लागि एकमात्र विकल्प निर्वाचन रहेको बताए । त्यसका लागि तोकिएको समयमा निर्वाचन गराउन राष्ट्रिय राजनीतिक एकताको आवश्यकता रहेको उनको भनाइ थियो ।

    “कम्युनिष्ट घटकमात्र होइन कांग्रेस लगायतका सम्पूर्ण राजनीतिक शक्ति एकजुट भएर चुनाव सम्पन्न गर्न केन्द्रित हुनुपर्छ”, संयोजक दाहालले भने, “फागुन २१ गते समयको अभावले चुनाव हुन नसक्ने भएमा आगामी वैशाखदेखि जेठ पहिलो सातासम्ममा ताजा जनादेश लिनुपर्छ । देशमा जारी अस्थिरतालार्ई निकास दिएर नयाँ गतिमा अघि बढ्नुपर्छ ।” चुनावका लागी नेपाली कांग्रेससहितका दल तयारीमा लागिसकेकाले नेकपा (एमाले)ले पनि सहभागी हुने संयोजक दाहालले विश्वास व्यक्त गरे । “सबै शक्ति एकजुट भएर चुनावमा लाग्नुपर्छ यसमा नै सबैको भलो हुन्छ”, संयोजक दाहालले भने ।

  • पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या

    पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या

    काठमाडौँ, ७ मङ्सिरः विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् । गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ । पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ ।

    राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ चाडपर्वका लागि सामान ल्याएका झण्डै २०० कन्टेनर केरुङ नाकामै थन्किएको बताउँछन् । “दसैँका लागि साउनमा चीनबाट आयात गरिएको सामग्री अझै केरुङ नाकामै अलपत्र छन्, नाकामा सामान रोकिँदा समस्यामा परिएको छ”, उनले भने ।


    सिन्धुपाल्चोकको तातोपानी नाका अहिले फाट्टफुट्ट मात्रै सञ्चालनमा छ । वर्षाको कारण अरनिको राजमार्ग बन्द हुँदा रोकिएको उक्त नाका तिहारपछि राम्रोसँग सञ्चालनमा आएको हो । सङ्घका पूर्वअध्यक्ष श्रेष्ठ केरुङ र तातोपानी नाका राम्रोसँग सञ्चालन नहुँदा केही व्यवसायीहरुले महङ्गो ढुवानी तिरेर मुस्ताङको कोरोला नाका हुँदै सामान आयत गर्नुपरेको बताउँछन् ।

    कोरोला नाकामा भने सामान ढुवानीका सवारीसाधनलाई प्रवेशमा कडाइ गरेको छ । उक्त नाकामा दैनिक चार÷पाँच ढुवानीका सवारीले मात्र चीन प्रवेशका लागि पास पाउँदै आएको व्यवसायीको गुनासो छ । हाल उक्त चिसो मौसम सुरु भएपछि उक्त नाका बन्द रहेको छ । कोरोला नाकाबाट ल्याएको सामान मुस्ताङ, पोखरा हुँदै काठमाडौँ ल्याउनुपर्ने बाध्यता छ ।

    कोरोला नाका चिसो बढेकाले गाडी ‘स्टार्ट’ गरेर राख्नुपर्ने बाध्यताले गर्दा तेल समेत धेरै खर्च हुने गरेको व्यवसायी बताउँछन् । केरुङ नाका चाँडो खोल्नसके सामान आयतमा सहज हुने व्यवसायीहरु बताउँछन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्की नेपाल चीन जोड्ने दुई ठूला नाका राम्रोसँग सञ्चालनमा नआउँदा सामान आयतमा समस्या परेको बताउँछन् । “मुख्य नाका बन्द हुँदा बैकल्पिक नाका प्रयोग गरेर सामान ल्याउँदा सामानको मूल्यसमेत बढ्न जान्छ, तत्काल नाका खुलाउन सरकार पहल गर्नुप¥यो”, उनी भन्छन् । चीनबाट नेपालमा लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स, फलफूल, सवारी साधनको पार्टस्लगायत आयात हुँदै आएको छ ।

    तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल तातोपानी नाकाबाट अपेक्षाअनुसार सामान भित्रिने नसकेको बताउनुहुन्छ । “केरुङ नाका सञ्चालन हुँदापनि तातोपानी नाकाबाट दैनिक २५ देखि ३० कन्टेनर सामग्री भित्रिने गरेको थियो, हाल उक्त नाका बन्द छ तर तातोपानी नाकाबाट सामान भित्रिने कन्टेनर बढ्नुको सट्टा घटेको छ”, उनी भन्छन् । वर्षातको समयमा मुलुकका विभिन्न भागमा बाढीपहिरो जाँदा अरनिको राजमार्ग पनि रोकिएको थियो ।

    पछिल्लो समय चीनबाट नेपाल भित्रिएका सामग्रीमध्ये झण्डै ८० प्रतिशत फलफूल रहेको भन्सार कार्यालय तातोपानीले जनाएको छ । तातोपानीका प्रमुख भन्सार अधिकृत चुडाल चीनबाट सहज रुपमा सामान आयतका लागि चीनस्थित महावाणिज्य दूतावाससँग कुराकानी भइरहेको बताउँछन् ।


    भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौला केरुङ नाका सञ्चालन नभएपनि तातोपानी नाका हुँदै चीनबाट नेपालमा सामान भित्रिरहेको बताउँछन् । “चिसोको कारण कोरोला नाकाबाट सामान आउन सकेको छैन, तातोपानी नाकाबाट दैनिक ३०र३५ कन्टेनर सामान भित्रिरहेको छ”, उनी भन्छन् ।

  • विराटनगरमा महेश बस्नेत चढेको गाडीमा जेन-जीको आक्रमण

    विराटनगरमा महेश बस्नेत चढेको गाडीमा जेन-जीको आक्रमण

    काठमाडौँ, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफू चढेको गाडीमा आज बिहान मोरङको विराटनगर विमानस्थल परिसरमा रातो मसी छ्याप्ने प्रयास भएकामा चिन्ता व्यक्त गरेका छन् । नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएको जानकारीमा आएको उल्लेख गर्दै उक्त घटना लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध रहेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ, लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि यो प्रयास मर्यादाविपरीत छ ।”

    शान्तिपूर्ण विरोध, सभा–जुलुस र देशभर स्वतन्त्र आवतजावत गर्ने अधिकार सर्वसाधारणको नैसर्गिक हक भएको बताउँदै उनले यस्तो किसिमको आक्रमणकारी व्यवहार कुनै पनि लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने बताए । बस्नेतले घटनापछि सुरक्षा निकायको तत्कालीन सक्रियताप्रति धन्यवाद दिँदै हिंसा नभई विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फत् नै देश अगाडि बढ्ने जनाएका छन् । आज बिहान विमानस्थलमा जेन जी युवाले उनी चढेको गाडीमा आक्रमण गरेका हुन् ।

  • कास्कीको अन्नपूर्ण आसपास भूकम्प

    कास्कीको अन्नपूर्ण आसपास भूकम्प

    काठमाडौँ, ७ मङ्सिर । कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो । यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।

  • दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    काठमाडौँ, ७ मङ्सिर : सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । आज न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आदेश जारी गर्दै प्रसार्इंलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको हो ।

    अदालतको आदेशमा अभिव्यक्तिका कारण मात्र प्रसाईंलाई थुनामा राखिनु संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन हुने उल्लेख गरिएको छ । साथै सरकारसँग २०८२ मङ्सिर ६ मा महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न सहमति भइसकेको, बदलिएको परिस्थितिमा प्रसाईंमाथि लगाइएको कसुरमा थप तहकिकात वा हिरासत आवश्यक नपर्ने ठहर गर्दै जारी गरिएको पक्राउपुर्जी तथा म्याद थपका प्रक्रियाहरू बदर गरिएको उल्लेख छ ।


    प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पु¥याउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मङ्सिर २ गते मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । महाअभियानले ७ मङ्सिरदेखि नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो, तर शनिबार सरकार र प्रसाईं नेतृत्वको महाअभियानबीच वार्ता भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएका छन् ।

  • नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

    नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

    काठमाडौँ, ७ मङ्सिरः यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो । आज ३३४ कम्पनीको एक करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर ७६ हजार २८ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सामूहिक लगानीबाहेक सबै समूहको उपसूचक बढेका छन् ।

    सागर डिष्ट्रिलरी लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । यो हाइड्रोको शेयर मूल्य आज सात दशमलव ५६ प्रतिशतले घटेको छ । त्यस्तै कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चरको सबैभन्दा बढी रु ६५ करोड ६० लाख ९१ हजार ९२९ को कारोबार भएको छ भने शेयर सङ्ख्याका आधारमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ८६ हजार ७८ कित्ता शेयर किनबेच भएको छ ।

  • पत्रकार खनिया मृत भेटिए

    पत्रकार खनिया मृत भेटिए

    काठमाडौँ, ७ मङ्सिरः पत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उनी बस्दै आएको घरमा पत्रकार खनिया आज मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।

  • एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय पक्राउ

    एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय पक्राउ

    काठमाडौँ, ७ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आन्द्र प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी तथा २८ वर्षीय सेखचन्द बसल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

    प्रतियोगितामा सहभागी भई अनलाइनमार्फत बेटाकुलर लाइभ नामक बेटिङ साइटबाट खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेका उनीहरुलाई बल्खुबाट पक्राउ गरिएको हो । निजहरूका साथमा फेला परेका १५ थान मोबाइलको प्रविधियुक्त अनुसन्धान गरी मुलुकी अपराधसहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

  • नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित

    नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित

    लागोस, ७ मङ्सिर (रासस–एएफपी) नाइजेरियामा बन्दुकधारी एक समूहले आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थी र शिक्षकहरूलाई अपहरण गरेको एक इसाई समूहले शनिबार बताएको छ। अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियाको नाइजर राज्यमा रहेको सेन्ट मेरिज को–एजुकेशन स्कुलमा शुक्रबार बिहान बन्दुकधारीले आक्रमण गरी २५ जना केटीलाई अपहरण गरी लगेका थिए ।

    क्रिश्चियन एसोसिएसन अफ नाइजेरिया ९क्यान० ले पहिले २२७ जनालाई अपहरण गरेको बताएको थियो तर सङ्ख्यालाई अद्यावधिक गर्दै अपहरणमा परेका पीडितहरूको कुल सङ्ख्या ३०३ जना विद्यार्थी र १२ जना शिक्षक गरी ३१५ रहेको जानकारी गराएको छ। सेन्ट मेरिज स्कूलबाट अपहरण गरिएका केटा र केटीहरूको सङ्ख्या विद्यालयको कुल विद्यार्थी सङ्ख्याको आधा हो ।

    नाइजेरिया सरकारले अपहरणमा परेका विद्यार्थी र शिक्षकको सङ्ख्याबारे कुनै टिप्पणी गरेको छैन । नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले गुप्तचर विभाग र प्रहरीले ‘क्षतिको गणना’ गरिरहेको र दिनको अन्त्यसम्ममा तथ्याङ्क सार्वजनिक हुने बताए । अपहरणपछि सरकारले बागोका केही विद्यालयहरू बन्द गर्न आदेश दिएको छ।

    राष्ट्रपति बोला तिनुबुले सङ्कटको सामना गर्न जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा भाग लिने लगायतका अन्तर्राष्ट्रिय कार्यक्रम रद्द गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा कट्टरपन्थी इस्लामवादीहरूले इसाईहरूको हत्या गरेको आरोपमा सैन्य कारबाहीको धम्की दिएपछि दुई वटा अपहरण र एउटा चर्चमा आक्रमण भएको छ।

    अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार नाइजेरियाली राष्ट्रिय सुरक्षा सल्लाहकार नुहु रिबादुसँगको वार्ताका क्रममा अबुजालाई ‘इसाई धर्मावलम्बीविरुद्धको हिंसा रोक्न तत्काल र दिगो दुवै कदम चाल्न आग्रह गरेको’ पेन्टागनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एक दशकभन्दा बढी समयअघि उत्तरी बोर्नो राज्यको चिबोकमा बोको हराम जिहादीहरूले करिब ३०० किशोरी अपहरण गरेपछि नाइजेरिया अझै पनि त्रसित छ। तीमध्ये केही किशोरीहरू अझै पनि फिर्ता भएका छैनन् । उनीहरू सरकारको वेपत्ताको सूचीमा रहेका छन्।

  • सूर्यविनायक-धुलिखेल सडक निर्माणमा तिव्रता दिन मन्त्री कुलमानको निर्देशन

    सूर्यविनायक-धुलिखेल सडक निर्माणमा तिव्रता दिन मन्त्री कुलमानको निर्देशन

    काठमाडौं, ७ मंसिर । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ मिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ ।


    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ । निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङलले काम गर्ने अहिले अहिले उपयुक्त मौसम रहेकाले निर्माणलाई तिब्रता दिन आग्रह गरे ।


    उहाँले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उनले उल्लेख गरे ।


    सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन पनि आग्रह गरे । दुबै प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण प्रगति ९५ प्रतिशत रहेको छ । साँगा—धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

  • म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नति गरिँदै

    म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नति गरिँदै

    तेह्रथुम, ७ मङ्सिरः म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ । एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेको छ । म्याङलुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्बूका अनुसार काम सम्पन्न भएपछि हिसाब गरेर आधा–आधा बजेट दुवै वडाले व्यहोर्ने छन् । म्याङलुङ–२ का वडाध्यक्ष राजकुमार लिम्बूले ८० प्रतिशत सडक स्तरोन्नतिको काम सकिएको बताए ।


    नगरपालिकाको स्काभेटर र ट्याक्टर प्रयोग गर्दै म्याङलुङ–१ र २ नम्बर वडाले मिलेर कच्ची सडक स्तरोन्नति गरिँदै छ । यो सडक सदरमुकामलाई छिमेकी जिल्ला पाँचथरको फिदिमसँग छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण मार्ग हो । यो सडक पाँचथरको कुम्मायक गाउँपालिकाबाट म्याङलुङको शुक्रबारे हटिया आउन प्रयोग हुँदै आएको छ । यो सडक तेह्रथुम–पाँचथर दुवै जिल्लाका बासिन्दाका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

    कुम्मायक गाउँपालिकाका लागि सबैभन्दा नजिकको ठूला हटिया म्याङलुङ भएकाले त्यहाँ उत्पादित दाल, बदाम, मकै, कुखुरा, सुङ्गुरका पाठालगायत कृषि तथा पशुपालनजन्य वस्तु यही बजारमा बिक्री गरिँदै आएको छ । पहिला घण्टौँ हिँडेर कठिन यात्रा गर्दै सामान ल्याउने किसान यो सडक बनेपछि लुबुघाटदेखि म्याङलुङसम्म ट्याक्टरमार्फत सहज रूपमा आवतजावत गर्दै आएका छन् ।

    वर्षात्को पानीले खाल्डाखुल्डी बनाएर सवारीसाधन आवतजावतमा कठिनाइ भएपछि सडक स्तरोन्नतिपछि भने कुम्मायकबाट म्याङलुङको हटियामा आउने स्थानीयवासीलाई थप सहज हुने छ । म्याङलुङबाट पाँचथर फिदिम र तमोर करिडोरमार्ग भएर सुनसरीको धरानसम्म आवतजावत गर्न पनि यसबाट सुविधा पुग्ने छ ।

  • शनिबार एकै दिन देशभर विपद्का १८ घटना, सावधानी अपनाउन प्राधिकरणको आग्रह

    शनिबार एकै दिन देशभर विपद्का १८ घटना, सावधानी अपनाउन प्राधिकरणको आग्रह

    काठमाडौँ, ७ मङ्सिरः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईवटा घटना घटेका छन् । मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो । सो दिन मनाङको नासो गापा–१ तालडाँडास्थित बेँसीसहर–चामे सडकखण्डमा माथिबाट सुक्खा पहिरो खसी बाटो दुवैतर्फ अवरोध भयो । धनुषा र डडेल्धुरामा सर्पदंशका घटना भयो । विपद्का कारण दुई जना घाइते भए भने अनुमानित क्षति रु ५३ लाख सात हजार ५५० बराबर भयो ।

    त्यसैगरी, मङ्सिर ५ गते देशभर १९ वटा विपद्का घटना हुँदा १५ वटा आगलागीका थिए । त्यस दिन सुनसरी र पर्सामा दुई–दुईवटा आगलागीका घटना भएका थिए । प्राधिकरणका अनुसार झापा, पाँचथर, सुनसरी, खोटाङ, उदयपुर, सर्लाही, रौतहट, बारा, लमजुङ, पर्वत, नवलपरासीपूर्व र पाल्पामा आगलागी हुँदा भौतिक सम्पत्तिको क्षति भयो । त्यस दिन पाल्पाको रिब्दीकोट–३ मा सुक्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको थियो । सप्तरी, चितवन र मुगुमा जनावर आक्रमणका कारण घाइते भएकालाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइयो ।

    प्राधिकरणका अनुसार मङ्सिर ४ गते देशभर २० विपद्का घटना हुँदा आगलागीका मात्र १३ वटा थिए । एकैदिन रुपन्देही र कास्कीमा तीन–तीनवटा आगलागीका घटना भए । झापमा दुई, मोरङ, सुनसरी, सिरहा, बारा, दाङमा आगलागीका कारण भौतिक क्षति भयो । विपद्का घटनामा परेर त्यस दिन ११ जना घाइते हुँदा अनुमानित क्षति रु १३ लाख ६५ हजारबराबर भयो । त्यस दिन जनावर आक्रमणका पाँच घटना भए । झापा, मोरङ, धनुषा, बझाङ र अछाममा जनावर आक्रमणका घटना घटेका थिए ।

    त्यस्तै, मङ्सिर ३ गते देशव्यापी रूपमा १६ विपद्का घटना घटेका थिए । त्यसमा आगलागीका मात्रै १२ घटना थिए । लेक लाग्ने तीन र जनावर आक्रमणका एक घटना घटेका थिए । विपद्का कारण रु दुई करोड ७६ लाख ३१ हजारबराबरको क्षति भयो । प्राधिकरणको विवरण अनुसार मङ्सिर २ गते कुल १७ विपद्का घटना हुँदा आगलागीका १३ घटना भए । कञ्चनपुर, सुनसरीमा मात्रै दुई दुईवटा आगलागीका घटना भए । त्यस दिन झापा, उदयपुर, सप्तरी, सिरहा, तनहुँ, नवलपरासीपूर्व, रुपन्देही र अछाममा आगलागी भएको थियो । लेक लाग्नु, सर्पदंश, जनावर आक्रमणका एक–एक घटना भएका थिए । त्यस दिन विपद्मा परेर पाँच जना घाइते भए भने रु ३१ लाख १४ हजारबराबरको भौतिक क्षति भयो ।

    त्यसैगरी, मङ्सिर १ गते कुल १० विपद्का घटना घटेकामा सबै आगलागीका थिए । आगलागीमा परेर दुई जना घाइते भए भने रु १४ लाख ९३ हजारबराबरको धनमाल जलेर नष्ट भएको थियो । प्राधिकरणको यो विवरणअनुसार कतिपय आगजनी असावधानीका कारण भएको छभने कतिपय अवस्थामा विद्युत् सर्ट भएको छ ।

    जनचेतनाको अभाव एवं लापरवाहीका कारण आगजनी हुँदा ठूलो क्षति हुनपुगेको छ । प्राधिकरणले आगो बाल्दा र ज्वलनशील पदार्थ चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ । सामान्य सावधानी अपनाउँदा पनि ठूलो मेहेनतले सृजना गरेको भौतिक सम्पत्ति जोगाउन सकिने भन्दै प्राधिकरणले सबैलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ ।

  • चितवनमा बोलेरो दुर्घटना, एकको मृत्यु

    चितवनमा बोलेरो दुर्घटना, एकको मृत्यु

    मुग्लिन (चितवन), ७ मङ्सिर । सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका नागरपालिका–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा१८च८९७३ नम्बरको बलेरो गए राति १०ः३० बजे अनियन्त्रित भई दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका–४ का राममणि न्यौपानेको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुर अस्पतालमा पुर्याउँदा राति नै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । बलेरो सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । बलेरोमा चालक न्यौपानेमात्र सवार रहेको जनाइएको छ ।

  • व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य

    नारायण अधिकारी – रासस
    चितवन, ७ मङ्सिरः अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो । यसअनुसार अति ठूलो ९एक्सएल० अण्डा प्रतिक्रेट ९३० वटाको० रु पाँच सय २०, ठूलो अण्डा रु पाँच सय पाँच र मिडिएम रु चार सय ९० कायम गरिएको छ ।

    सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट रु ५५ ले बढेको हो । उहाँका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उनले बताए ।


    सङ्घका सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा भारतीय रु सात दशमलब ८० मा बिकेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत नगरिएको हो । कँडेलले भने, “नेपालमा भारतीय अवैध अण्डा नभित्रिँदा किसानले लागत मूल्य पाउने देखियो ।” अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा रु १६ दशमलब ५७ पर्न आउँछ । अहिलेको दररेटमा अण्डा बिक्री गर्दा नेपालका किसानले लागत मूल्य पाएको उहाँले बताउनुभयो ।

    नेपालमा अण्डाको बजारीकरणमा जुटिरहेको सङ्घका अध्यक्ष पोखरेलले जाडो महिनामा अण्डाको खपत बढ्ने गरेको बताए । उनका अनुसार जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण माग बढेको हो । तीन महिनाअघि ठूलो अण्डा प्रतिक्रेट रु पाँच सय ३० पुगेकामा क्रमशः रु चार सयमा झरेको थियो । पुनः क्रमश बढ्दै गएर किसानले लागत मूल्य पाउने अवस्थामा पुगेको हो । यससँगै किसान लाभान्वित हुने भएका छन् । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ ।

  • दुर्गा प्रसाईले फिर्ता लिए विरोधका सबै कार्यक्रम

    दुर्गा प्रसाईले फिर्ता लिए विरोधका सबै कार्यक्रम

    काठमाडौँ, ७ मङ्सिरः राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गर्नुभएको छ ।

    वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर छलफल, वार्ता तथा सहजीकरण गर्दै सहमति भएको विज्ञप्तिमा उल्लेख छ । वर्तमान शान्ति सुरक्षाको अवस्थालाई समेतलाई ध्यानमा राखी महाअभियानले उठाएका जायज मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै सहमति गरेको छ ।

    सो सहमतिलगत्तै महाअभियानले आजदेखि हुनेगरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण कार्यक्रममा रुपान्तरण गर्ने सहमति भएको छ । अर्को चरणको वार्ता महअभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारीसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।यो पार्टी दुर्गा प्रसाईको हो ।

  • राजधानीमा एमालेले गर्यो प्रदर्शन

    राजधानीमा एमालेले गर्यो प्रदर्शन

    काठमाडौँ, ६ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्‍याली आयोजना गरेको छ । काठमाडौँकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो । संविधान र लोकतन्त्रका लागि आयोजित जनसभा पार्टीको जनपरिचालनअन्तर्गतको अन्तिम चरणका रूपमा आयोजना गरिएको सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटीमण्डपमा आमसभामा परिणत भएको हो । जनसभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गरे ।


    यसअघि एमालेले गत कात्तिक २२ गते देशैभरीका वडामा वडा भेला, २५ गते सबै पालिकामा ¥याली सम्पन्न गरेको थियो । यस्तै कात्तिक २९ गते सबै जिल्लामा जनसभा आयोजना गरिएको थियो । एमालेका प्रदर्शनका कारण सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा चाप देखिएको छ । एमाले नेता तथा कार्यकर्तासहितको ¥यालीका कारण उक्त क्षेत्रमा सवारी सञ्चालनमा समस्या उत्पन्न भएको हो ।

    र्‍यालीका कारण सवारी सञ्चालनमा समस्या भएपछि आज प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई डाईभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “र्‍यालीका कारण सवारी आवागमनमा समस्या भएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र राष्ट्रिय सभागृहमोडबाट डाइभर्सन गरिएको हो ।”