Category: समाचार

  • निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

    निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

    पाटन (ललितपुर), ६ मङ्सिरः नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्र्दै निर्वाचनमा भाग लिने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नै वर्तमान राजनीतिक अवस्थाको उचित निकास निर्वाचन नै भएकाले पार्टीले भाग लिने निर्णय गरेको हो ।

    यही असोज २८ मा प्रारम्भ भएको बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेनजी प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ । निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य छ, तर हाल हजारौँ कैदीबन्दी फरार रहेका, ठूलो परिमाणमा हातहतियार हराएका, राजनीतिक दलहरूले निर्बाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाइरहेका र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसक्नुलगायत सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन् । त्यसैले तत्काल शान्तिसुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।”

    गत भदौ २४ गते मुलुकमा अकल्पनीय विध्वंश र अराजकताको अवस्था सिर्जना भएको जटिल परिस्थितिमा तत्कालीन सङ्कटबाट देशलाई बाहिर निकाल्ने र संविधानको संरक्षण गर्ने प्रश्न अत्यन्त संवेदनशील बनेको स्मरण गर्दै कांग्रेसले सरकारविहीन अवस्थाका बीच प्रदर्शनरत युवाहरूको माग सम्बोधन र शान्तिसुरक्षा कायम गर्न राष्ट्रपतिले संसद् बाहिरबाट अन्तरिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ ।

    संवैधानिक व्यवस्थाअनुसार संसद् भित्रैबाट निकास खोज्न सकिन्थ्यो भन्नेमा कांग्रेसको स्पष्ट धारणा रहेको पनि विज्ञप्तिमा उल्लेख छ । “कांग्रेस कार्यसम्पादन समितिको असोज ३ गतेको बैठकले संसद् विघटनको उपक्रम, संविधानको परिकल्पना तथा सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरीत छ भन्दै संसद् विघटन असंवैधानिक भएको र यस कदमले लोकतान्त्रिक उपलब्धि जोखिममा पारेको ठहर गरिसकेको छ । संविधानभित्रै समाधान सम्भव छ भन्ने कांग्रेसको दृढ विश्वास छ”, विज्ञप्तिमा भनिएको छ,“हाल अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय राजनीतिक मात्र नभई संवैधानिक पनि हो । सम्मानित सर्वोच्च अदालतमा यो विषय विचाराधीन रहेकाले अदालतबाट अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली कांग्रेसले विश्वास गरेको छ ।”

    बैठकले विद्यमान शान्तिसुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । यस्तो संवेदनशील अवस्थामा कुनै पनि राजनीतिक दल, समूह वा पक्षबाट कुनै पनि नाममा हिंसा भड्काउने, सद्भाव खल्बलाउने, उत्तेजना वा घृणा फैलाउने कार्य कदापि वाञ्छनीय हुन नसक्ने कांग्रेसले जनाएको छ ।

    “लोकतान्त्रिक व्यवस्था र विधिको शासनमा लहड वा आवेगमा कसैलाई निषेध गर्नु, शान्तिपूर्ण प्रदर्शन तथा विचार अभिव्यक्तिमा बन्देज लगाउने प्रयास गर्नु स्वाभाविक वा स्वीकार्य मान्न सकिँदैन । यस्तो कार्य संविधानको आधारभूत मूल्य मान्यता विपरीत छ । यसले समाजमा थप ध्रुवीकरण र हिंसा निम्त्याउने सम्भावना बढाउँछ । अतः उत्तेजना होइन संयम, निषेध होइन संवाद, अविश्वास होइन विश्वास र समझदारी आवश्यक भएकाले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवादमार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षलाई नेपाली कांग्रेस आह्वान गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै, कांग्रेस तथा विभिन्न राजनीतिक दलहरूको आह्वानमा जनताले धैर्य, सङ्घर्ष र त्यागका माध्यमबाट स्थापित गरेको सङ्घीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास साझा जिम्मेवारी हो भन्दै यसका लागि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक रहेको पनि निष्कर्ष निकालेको छ ।

    निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्बद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न कांग्रेसले जोडदार माग गरेको छ । गत भदौ २३ गते ‘जेनजी’ पुस्ताका युवाहरूको आह्वानमा भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा भएको प्रदर्शनका क्रममा अत्यन्तै अकल्पनीय र दुःखद घटना घट्न पुग्यो भन्दै कांग्रेसले उक्त दिन १९ जना युवाले ज्यान गुमाउनु परेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार गर्न माग गरिएको छ ।

    कांग्रेसले सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भदौ २४ गते भएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण अकल्पनीय जनधनको क्षति भएको उल्लेख गर्दै प्रदर्शनकारी तथा राष्ट्रसेवक सुरक्षाकर्मीसहित सोही दिनमा नै ५७ जनाको ज्यान गएको र सयौँ नागरिक घाइते बनाउने सो दिनको हिंसात्मक र आपराधिक गतिविधिका कारण देशमा राज्यविहीन अराजकताको स्थिति सिर्जना भएको ठहर गरेको छ ।

    कांग्रेसले प्रदर्शनका क्रममा भएका तोडफोड, आगजनी, लुटपाट, कुटपिटका घटनालाई अराजनीतिक, आपराधिक र पूर्ण रूपमा विध्वंशकारी भनेको छ । “प्रदर्शनका क्रममा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न अदालत, मालपोत कार्यालय, प्रदेश तथा स्थानीय तहका कार्यालय, प्रहरी कार्यालय, ऐतिहासिक तथा प्रशासनिक संरचनाहरू, विराटनगरको कोइराला निवास, काठमाडौँ चाक्सीबारीस्थित गणेशमान सिंह निवास, ललितपुर बाँडेगाँउस्थित सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रम जलाइयो ।

    पार्टी केन्द्रीय कार्यालय, ४८ जिल्लाका विभिन्न तहका पार्टी कार्यालय, पार्टी सभापति शेरबहादुर देउवा, उहाँकी धर्मपत्नी, केन्द्रीय सदस्य डा आरजु राणा देउवामाथि भएको साङ्घातिक आक्रमणका साथै उहाँहरूको निवासमा भएको तोडफोड, लुटपाट र आगजनीका साथै केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश, जिल्ला, क्षेत्र तथा स्थानीय तहका गरी १२५ भन्दा बढी नेताका निजी निवास जलाइएका छन् । यस्तै, अन्य विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निजी घर–डेरा, औद्योगिक तथा व्यावसायिक प्रतिष्ठान एवं निजी सम्पत्तिमा भएका यस्ता आक्रमण, तोडफोड, लुटपाट र आगजनीका सबै घटना अराजनीतिक, आपराधिक र पूर्ण रूपमा विध्वंशकारी थिए”, विज्ञप्तिमा उल्लेख छ ।

    बैठकले यस्ता घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै भदौ २४ मा भएको आक्रमण, लुटपाट, आगजनीसहितका विध्वंशकारी घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न तथा पीडितहरूलाई उचित क्षतिपूर्तिसहित न्याय उपलब्ध गराउन पुनः सरकारसँग माग गरेको छ । यसैगरी घटनाक्रममा लुटिएका सुरक्षाकर्मीका हातहतियार, बर्दी तथा सुरक्षा सामग्रीहरू तत्काल फिर्ता गराउन, विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई पुनः नियन्त्रणमा ल्याउन तथा तोडफोड र आगजनीबाट ध्वस्त गरिएका प्रहरी कार्यालयसहित सबै सरकारी संरचनाहरूको शीघ्रातीशीघ्र पुनर्निर्माण गरी समाजमा शान्तिसुरक्षाको प्रत्याभूति प्रदान गर्न पनि सरकारसँग जोडदार माग गरेको छ ।

    कांग्रेसले भदौ २४ को घटनाक्रममा आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण आर्थिक तथा व्यावसायिक क्षति व्यहोर्नुपरेका व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानहरू एवं अन्य साना व्यवसायीहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी उनीहरूलाई पुनः व्यवसाय सञ्चालन गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्न र स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल उठाउन सरकारलाई गरेको छ ।

    ‘जेनजी’ पुस्ताले प्रदर्शनमार्फत उठाएका ‘भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता’ जस्ता प्रमुख विषयहरू स्वाभाविक, वैध र आम नागरिकको आवाज हुन् भन्दै कांग्रेसले प्रदर्शनमार्फत उठाइएका सुशासनका मागलाई सदैव सकारात्मक ढङ्गले लिने स्मरण गराउँदै ती माग पूरा गराउने आवश्यक भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

    असोज २८ गते पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्नुभएको लिखित मन्तव्यलाई बैठकले स्वागत र अनुमोदन गरेको छ । साथै सभापति देउवा र उहाँकी धर्मपत्नीको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै केन्द्रीय कार्यसम्पादन समितिको २०८२ भदौ २७ र असोज ३ गते बसेको बैठकको निर्णयहरूलाई अनुमोदन गरेको छ ।

    यसैगरी आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गर्दै सो प्रयोजनका लागि केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

    बैठकले जेनजी प्रदर्शनमार्फत परिवर्तनका लागि मुखरित आवाजको सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक रहेको ठहर गर्दै सुशासन र पारदर्शितालगायत विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्र्ने, संविधानको मर्म र मूल्यमान्यताबमोजिम रूपान्तरणसहित देशलाई शान्ति, समुन्नति र स्थिरताको दिशातर्फ अघि बढाउन साझा समझदारी आवश्यकका लागि पहल गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि विघटित प्रतिनिधिसभाका दलहरू, प्रदर्शनपश्चात् उदाएका दल, जेनजी पुस्ता, नागरिक समाज, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी तथा सरोकार भएकाहरूसँग बहुपक्षीय संवाद तथा साझा राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गरेको छ ।

    ‘जेनजी’ प्रदर्शन तथा पछिल्ला घटनाक्रमको सूक्ष्म विश्लेषण गरी पार्टीभित्र र बाहिरका विभिन्न पक्षसँग संवाद तथा छलफल गर्न पार्टीका तर्फबाट यससम्बन्धी अध्ययन, अनुसन्धान गरी दस्ताबेजीकरण गर्ने निर्णयसमेत गरिएको मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “हाल मुलुक गम्भीर राजनीतिक सङ्कटमा छ, कांग्रेसले संयमता र धैर्यताका साथ एकताबद्ध भई सङ्कटको सामना गर्नुपरेको छ । विगतमा आएका कैयौँ राष्ट्रिय सङ्कटहरूलाई हामीले आफ्नै शक्ति, क्षमता र दूरदर्शिताले समाधान गर्दै आएको अनुभवका आधारमा यस विषम परिस्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, जनताका मौलिक हक–अधिकारको सुरक्षा तथा संविधानको संरक्षण र कार्यान्वयन सुनिश्चित गर्न सबैले सहकार्य गर्न आवश्यक छ । यस राष्ट्रिय दायित्वलाई आत्मसात् गर्दै नेपाली कांग्रेस सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूलाई आपसी संवाद, संयमता र समझदारीको मार्ग अवलम्बन गर्न हार्दिक अपिल गर्दछ”, जारी विज्ञप्तिमा उल्लेख छ ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर ११ गते बिहीबार दिउँसो २ः०० बजे पुनः बस्ने जनाइएको छ । गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै आएको छ ।

  • एनपिएलः विराटनगरको दोस्रो जित

    एनपिएलः विराटनगरको दोस्रो जित

    काठमाडौँ, ६ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित निकालेको हो । काठमाडौँ गोर्खाजले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । जसमा जर्ज मुन्सेले सर्वाधिक ३६, नरेन भट्टले २४, लोकेश बमले १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ रनको योगदान दिए । बलिङमा काठमाडौँका शाहव आलमले दुई, करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एक÷एक विकेट लिए ।

    यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । जसमा आदिल आलमले सर्वाधिक ४८ रनमा अविजित रहे । बेन चाल्सवर्थ ३२, सन्तोस यादवले २६ रन जोडे । विराटनगरका मर्चेन्ट डे लाङले दुई, कप्तान सन्दीप लामिछाने, शुभम् रन्जाने र सूर्य तामाङले एक÷एक विकेट हात पारे ।

    पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । तेस्रो खेल खेलेको काठमाडौँले भने दोस्रो हार बेहोरेको छ । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । यो जितपछि विराटनगर अङ्क तालिकाको दोस्रो स्थानमा पुगेको छ । काठमाडौँ तेस्रो स्थानमा छ । सुदूरपश्चिम शीर्ष स्थानमा कायमै छ । यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि नौ विकेटको जित निकालेको थियो ।

  • वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत

    वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत

    काठमाडौँ, ६ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा स्कटल्याण्डका मार्क वाटको बिस्फोटक ब्याटिङमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले नौ विकेटको शानदार जीत निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले प्रस्तुत गरेको १५७ रनको लक्ष्य कर्णालीले १२ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । कर्णालीको जीतमा वाटले शतक प्रहार गरे । उनी एनपिएलको जारी संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

    वाटले ४४ बल खेल्ने क्रममा १२ छक्का र छ चौकाको सहयोगमा ११४ रन बनाए । २९ बलमा अर्धतक पूरा गरेका उनले थप ४१ बलमा शतक पूरा गरेका थिए । कर्णालीका ओपनर प्रियांक पञ्चाल १२ रनमा आउट भए भने विलियम वोसिस्टो २९ रनमा अविजित रहे । लुम्बिनीका लागि एक मात्रै विकेट शेर मल्लले लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । यस्तै, रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे । जोहानीस जोनाथन स्मितले २३ रन तथा डी’आर्की शर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक\एक विकेट लिएका थिए ।

  • युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल

    युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल

    काठमाडौँ, ६ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा नै नयाँ नेपालको नेतृत्व भएको बताएका छन् ।
    पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित ‘जेन–जीसँग नेकपा’ कार्यक्रममा उनले युवालाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा नयाँ नेपालको नेता बनाउनेबारे पार्टीभित्र घनिभूत छलफल भइरहेको बताए । “मैले नयाँ पुस्तामा नवीन सपना देखिरहेको छु । अब युवालाई उत्तराधिकारी बनाउने र जिम्मेवारी सुम्पने सपना देख्नुपर्छ । युवालाई नयाँ नेपालको नेतृत्वका रूपमा तयार पार्नुपर्छ । त्यस विषयमा पार्टीले भूमिका खेल्नेछ”, संयोजक दाहालले भने ।


    उनले पार्टी कमिटी र निर्वाचनमा धेरैभन्दा धेरै युवालाई प्राथमिकता दिइने बताए । “नयाँ पुस्ताको युवालाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने वातावरण बनाउन हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको दायित्व हो । अब हामी छिट्टै त्यो निर्णय पनि गर्दैछौँ”, दाहालले भने । संयोजक दाहालले मुलुकबाट भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न ‘जेनजी’ युवाले लिएको पहलले संसारभरका नेपालीमा नयाँ चेतना पैदा भएको बताए । उनले जेनजी आन्दोलनले सबैलाई आत्मालोचना गर्ने ठाउँमा पु¥याएको पनि धारणा राखे ।


    आफ्नो पार्टीले लामो समयदेखि हामीले उठाउँदै आएका सुधारका विषय र जेनजीले राखेका माग समान रहेको भन्दै संयोजक दाहालले विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने र युवाको भावनाअनुसार आफूलाई बदल्ने नयाँ सङ्कल्प जेनजी आन्दोलनबाट प्राप्त भएको जिकिर गरे । नेकपाका नेता जगन्नाथ खतिवडाले ‘जेनजी’ पुस्ताको आवाज आफ्नो पार्टीले मात्रै सुन्ने र त्यसैअनुसार भूमिका निर्वाह गर्ने बताए । युवाको चाहना मुलुकबाट भ्रष्टाचार अन्त्य र सुशासन स्थापना रहेको भन्दै उनले यही सङ्कल्प बोकेर नेकपा अघि बढिरहको बताए । त्यस अवसरमा जेनजी युवा माओवादीमा सहभागी भएको घोषणा गरिएको थियो ।

  • वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

    वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

    काठमाडौं,६ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिएका छन् । आज बिहान वाग्मती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उनले वाग्मती करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिए ।

    मन्त्री घिसिङले नदी सफा भए मात्र शहर सफा हुने भन्दै वाग्मतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर प्राथमकिताका साथ हटाइने बताए । नदीको सबै फोहोर हटाएर त्यसको चेक बाँधलाई सञ्चालन, सो स्थानमा साना तलाउ बनाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी काम भइरहेको मन्त्री घिसिङले जानकारी दिएका छन् ।

  • तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

    तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

    सिरहा, ६ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ । तराई\मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गतको यो पुल २०६८ सालमा तीन वर्षभित्र सक्ने गरी सम्झौता भएको भए पनि १४ वर्ष बितिसक्दा पनि अपूरै रहेको थियो । मन्त्री घिसिङले शुक्रबार पुल निर्माणस्थलको निरीक्षण गर्दै स्थानीयले वर्षौंदेखि भोग्दै आएको जोखिम, सास्ती र असुरक्षा लाई नजिकबाट अनुभूत गरेृका थिए । उनले स्वयं डुङ्गा चढेर नदी पार गर्दै स्थानीयको दैनिक कष्टलाई प्रत्यक्ष अनुभव गरेका थिए ।


    निरीक्षणपछि मन्त्री घिसिङले आज सामाजिक सञ्जालमा लेख्दै आफ्नो मन भारी भएको उल्लेख गरेका थिए । “विसं २०६८को जेठमा तीन वर्षमै बन्ने गरी ठेक्का सम्झौतासहित सुरु गरिएको यो पुल आजसम्म अधुरो छ र यसको सबैभन्दा धेरै मार स्थानीय बासिन्दाले बेर्होनु परिरहेको छ”, उनलले अगाडि लेखेका छन्, “अनुगमनका क्रममा स्थानीय बासिन्दाले भोग्दै आएको दैनिक सास्ती, जोखिम र आक्रोश प्रत्यक्ष देख्दा मन भारी भयो । स्थानीयका वर्षौंदेखिका कष्ट कति चुनौतीपूर्ण छन् भन्ने गहिरो अनुभूति गरायो ।”

    उनले स्थानीयको तत्काल आवतजावत सहज बनाउन अस्थायी विकल्पबारे पनि विस्तृत छलफल भएको र आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए । साथै, प्राविधिक पक्षमा उठेका प्रश्नबारे सम्बद्ध निकायहरू जिम्मेवार हुने र मन्त्रीस्तरीय अनुगमन निरन्तर चलिरहने स्पष्ट पारे । पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले मन्त्रीसमक्ष तीन महिनाभित्र पुलको काम सकेर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थलगत निरीक्षणको क्रममा उनले भने, “हामी मन्त्रीज्यू समक्ष तीन महिनाभित्र पुल सकेर सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौँ ।”

    विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो । तर, पटक–पटक म्याद थपेर १३ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै छ । पप्पु कन्ट्रक्सनले तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको थियो । विसं २०७८ असार १७ को बाढीका कारण पुलका दुई जग भासिँदा क्षति भएको थियो । कूल ४६९ मिटर लम्बाइको यो पुलको ८३ प्रतिशत भौतिक प्रगति र ८२ प्रतिशत वित्तीय प्रगति भएको छ । पुल निर्माणका सम्झौता हाल नवौँ म्याद थपको प्रक्रियामा छ ।

    शुक्रबारको स्थलगत अनुगमन टोलीमा मन्त्री घिसिङसँगै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतो, जेन्जी अगुवाहरू सुदन गुरुङ, शिव यादव, पुरषोत्तम यादवलगायतको टोली सहभागी थियो । कमला नदीको यो पुल मधेस प्रदेशको यातायात सुगमता, सुरक्षा र आर्थिक विकासका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । मन्त्रालयले अब नियमित अनुगमन, सहजीकरण र आवश्यक सहयोग गर्दै कामलाई समयमै सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ ।

  • थपिए आठ लाख ३७ हजार नयाँ मतदाता

    थपिए आठ लाख ३७ हजार नयाँ मतदाता

    काठमाडौँ, ६ मङ्सिरः प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख नौ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको हो ।

    प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको सङ्ख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो । सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपिएको थियो ।

  • कान्तिलोकपथ सडक अवरुद्ध

    कान्तिलोकपथ सडक अवरुद्ध

    बागमती, ६ मङ्सिर । सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड लिई जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकमा ब्रेकफेल भई अनियन्त्रित भएर पल्टिँदा सो सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
    सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ गुडेको र काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन् । दुर्घटनास्थलबाट ट्रक हटाएर बाटो सुचारु गराउने पहल भइरहेको उनले बताए । उता, मकवानपुरको राक्सिराङ गाउँपालिका–७ ध्यारी टोलमा आगलागी हुँदा करिब रु चार लाख मूल्य बराबरको क्षति भएको छ ।

    घरमा जडान गरिएको सोलारको तार सर्ट भई आगलागी हुँदा स्थानीय ७० वर्षीया आइती मायाँ प्रजाको एक तले घर, घरभित्र रहेको नगद रु ७० हजार, सुनको तिलहरी एक थान, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नलगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएकाले थप क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

  • बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    चितवन, ६ मङ्सिर । बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमा नै मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर दिएसँगै बस अनियन्त्रित भई खेतमा खस्दा बसमा सवार दुई जना घाइते भएका छन् । घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए । बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • नवलपरासीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई गम्भीर घाइते

    नवलपरासीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई गम्भीर घाइते

    मध्यविन्दु (नवलपरासी), ६ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् । गए राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नंको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।

    मोटरसाइकल चालक कावासोती नगरपालिका–१६ गैडाचोक बस्ने ४२ वर्षीय हीराबहादुर परियारको उपचारको क्रममा गए राति मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार कावासोती नगरपालिका–३ बस्ने वर्ष ३२ की सुनिता जोहार्जा र कावासोती नगरपालिका–१४ बस्ने वर्ष २४ की मीना मगरको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने सवारीसाधनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए ।

  • एनपिएलमा आज दुई खेल हुँदै

    एनपिएलमा आज दुई खेल हुँदै

    काठमाडौँ, ६ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ । लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ ।

    यस्तै, दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् । करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।

  • मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण

    मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण

    काठमाडौँ, ५ मङ्सिरः निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदताको उमेरको निर्दिष्ट समय (कट अफ डेट) निर्धारण गरेको छ । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेभसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिने बताए । विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते आयोगले मतदताको अन्तिम नामावाली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताए ।

  • एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा

    एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा

    काठमाडौँ, ५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ । एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ‘कमाण्ड’ घोषणा गरिएको हो । पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली रहेको छ ।

    संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरे । टोलीमा सहसंयोजकसहित केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले छन् । टोलीलाई पार्टीका अध्यक्ष ओलीले बधाई दिँदै सपथसमेत गराए । फोर्समा पार्टीका विभिन्न जनसङ्गठनबाट प्रतिनिधित्व हुने र ती सङ्गठनबाट जिम्मेवारी लिइसकेका व्यक्तिलाई पनि समावेश गरिने नेता ढकालले बताए ।

    कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सुरक्षाका लागि फोर्सले काम गर्ने बताए । गत असोज १५ गते भक्तपुरको गुण्डुमा उक्त फोर्स घोषणा कार्यक्रममा केन्द्रीय टोली सार्वजनिक गर्ने जनाइएको थियो ।
    कार्यक्रममा ्नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवगठित राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले मुलुकमा सङ्कट र विपत्ति पर्दा जनताको सुरक्षा तथा सहयोगका लागि काम गर्ने बताए ।

    पूर्वप्रधानमन्त्री ओलीले यो कसैका विरुद्ध नभइ हिंसा र अराजकताविरुद्ध गठन गरिएको बताए । यसले जनधनको रक्षा, औद्यागिक प्रतिष्ठानको सुरक्षामा सहयोग पु¥याउने उल्लेख गर्दै उनले सुरक्षा निकाय र सामाजिक संस्थासँग मिलेर काम गर्ने बताए । अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाबाट मुलुकको राजनीतिक निकास हुन्छ भन्ने पार्टीको अडान दोहोर्याए ।

  • ‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

    ‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

    बारा, ५ मङ्सिरः ‘जेनजी’ अगुवा र स्थानीय प्रशासनबीच यहाँ वार्ता सुरु भएको छ । सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा वार्ता सुरु भएको हो । वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

    बाराको सिमरामा बुधबार ‘जेनजी’ र नेकपा (एमाले) कार्यकर्ताबीच विवाद भएपछि असामान्य अवस्था बनेको थियो । त्यसपछि यहाँ स्थानीय प्रशासनले दुई दिन ‘कफ्र्यू’ लगाउनुपरेको थियो । प्रदर्शन पक्षधरले आफूहरूलाई एमालेका नेता कार्यकर्ताले कुटपिट गरेको भन्दै संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि यहाँको अवस्था सामान्य बन्दै गएको छ ।

    आज बिहानदेखि जनजीवन समान्य बन्दै गएको हो भने यातायात पनि पूर्ण रूपमा सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय प्रशासनको आग्रहपछि अभियन्ता सुदन गुरुङ, ‘जेनजी’ नेता पुरुषोत्तम यादवलगायत काठमाडौँबाट मधेस आएका छन् । उनी वार्तामा सहभागी भएपछि निष्कर्षमा पुगिने जनाइएको छ ।

  • ‘धुर्मुस’लाई रङ्गशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा

    ‘धुर्मुस’लाई रङ्गशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा

    नारायण अधिकारी\रासस
    चितवन, ५ मङ्सिर । धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । सङ्घीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे पनि कानुनी व्यवधान आउँदा भुक्तानी गर्न नसकेको महानगरपालिकाले स्पष्ट गरेको छ ।

    भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सङ्घीय सरकारले सिर्जित सम्पत्ति खरिद गर्न भनेर महानगरलाई रु १५ करोड बजेट व्यवस्था गरेको बताए । उनका अनुसार सिर्जित सम्पत्ति खरिद शीर्षकमा रकम छुट्याएको र यसरी छुट्याइएको रकम सार्वजनिक खरिद ऐनबमोजिममात्र खर्च गर्न पाइने व्यवस्था छ ।

    प्रमुख प्रशासकीय अधिकृत पौडेलले अनुदान भनेर बजेट प्रबन्ध गरेको भए महानगरलाई भुक्तानी दिन सहज हुने थियो भन्दै रङ्गशालाको निर्माण सार्वजनिक खरिद ऐनअनुसार नगरिएकाले कसरी पैसा भुक्तानी दिने भन्नेमा नीतिगत अन्योल भएको बताए । उनले अगाडि भने, “फाउन्डेसन मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएको संस्था नभएको र सार्वजनिक खरिद ऐनअनुसार रकम भुक्तानी गर्दा ‘भ्याट’ तिर्नुपर्ने भएकाले पनि यो विषय पेचिलो बनेको हो ।”

    निर्माणको समयमा महानगरपालिकाले अनुदानका रूपमा फाउन्डेसनलाई रकम दिएको थियो । तत्कालीन समयमा महानगरको आफ्नै स्रोतको रकम भएकाले आफैँले कार्यविधि बनाएर भुक्तानी गरेको भए पनि अहिले सङ्घबाट आएको रकम सङ्घीय कार्यविधिअनुसार मात्र भुक्तानी गर्न मिल्ने पौडेल बताउँछन् । उनले भने, “पहिले फाउन्डेसनलाई बजेट दिन मिल्ने, अहिले किन नमिल्ने ? भन्ने प्रश्न छ, पहिले हामीले आफ्नै स्रोतबाट कार्यविधि बनाएर अनुदान दिएका थियौँ । अहिले सङ्घीय बजेट हो । सङ्घीय ऐन, कानुन र कार्यविधिभित्र रहेरमात्र भुक्तानी दिनुपर्छ ।”

    यस विषयमा थप स्पष्ट हुन आफूहरूले सङ्घीय सरकारअन्तर्गत अर्थ मन्त्रालय र खेलकुद मन्त्रालयमा पत्राचार गरेको भए पनि ती दुवै संस्थाबाट थप राय आवश्यक नरहेको भन्ने जवाफ पाएको उनले जानकारी दिए । महानगरले गत कात्तिक २१ गते यस विषयमा थप स्पष्ट हुनका लागि अर्थ मन्त्रालयमा पत्रचार गरेको थियो । जसको जवाफ मन्त्रालयले कात्तिक २४ गते पठाएको छ । यसैगरी महानगरले कात्तिक २८ गते पुनः खेलकुद मन्त्रालयमा पत्राचार गरेको थियो । खेलकुद मन्त्रालयले कात्तिक ३० गते जवाफ दिएको थियो ।

    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भुक्तानीमा कठिनाइ भएपछि आफूले अर्थमन्त्री, सचिव र विज्ञहरूसँग परामर्श गर्दा महानगरपालिकाले सोझै भुक्तानी गर्न नसक्ने जवाफ पाएको जानकारी दिइन् । उनले भनिन्, “हामी यथाशक्य छिटो भुक्तानी गर्न चाहन्छौँ, तर कानुनी प्रक्रिया मिलेन ।” महानगरले जतिसक्दो चाँडो भुक्तानी गर्न चाहेको भए पनि कानुनी अड्चनका कारण नसकिएको उनले प्रष्ट पारिन् ।


    महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फाउन्डेसनलाई रकम भुक्तानी गर्ने पक्षमा महानगर रहेको तर ऐन, कानुनका कारण भुक्तानी दिन नसकिएको बताए । उनले भने, “महानगर प्रमुख, म र प्रमुख कार्यकारी अधिकृत यस विषयलाई यथाशक्य छिटो टुङ्ग्याउने उद्देश्यका साथ निरन्तर छलफलमा छौँ । सम्बन्धित क्षेत्रका अधिकारी एवं विज्ञहरूसँग परामर्शका आधारमा रकम भुक्तानी दिन सकिने अवस्था छैन । कानुनी अड्चनका कारण हाम्रो चाहनाले मात्र दिन नसकिने रहेछ ।” महानगरले नचाहेको भए पहिले नै खेलकुद मन्त्रालयमा फिर्ता पठाइने बताउँदै उनले उपाएको खोजीमा आफूहरू लागिरहेको बताए । उनले भने, “महानगरले भुक्तानी गरेन भन्नुभएन, भुक्तानीको बाटो खोजिरहेका छौँ, वास्तविकताभन्दा बाहिर गई यस विषयलाई अतिरञ्जित नगर्न सबैसँग अनुरोध गर्दछु ।”

    महानगरकै आग्रहमा फाउन्डेसनले रङ्गशाला बनाएको र नसकेपछि जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको थियो । फाउन्डेसनले छाडेपछि विसं २०८० कात्तिक २१ मा भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच मिलेर रङ्गशाला निर्माणको काम अगाडि बढाउने सहमति भएको थियो । यस्तो सहमतिपछि कात्तिक २३ मा सङ्घीय सरकारले यो रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

    फाउन्डेसनले हस्तान्तरण गरेको अधुरो निर्माणसम्बन्धी काम महानगरले विसं २०८१ सालको असारबाट अगाडि बढाइसकेको छ । जसमा अहिलेसम्म ४५ प्रतिशत काम भएको छ । फाउन्डेसनले रु ५७ करोड १२ लाखबराबरको काम सम्पन्न गरेको दाबी गर्दै आएको छ । जसमध्ये रु १८ करोड ४३ लाख उधारो रहेको जनाएको छ ।

    फाउन्डेसनले विसं २०७५ माघ १६ मा काठमाडौँमा गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको थियो । त्यसलगत्तै फाउन्डेसन र भरतपुर महानगरबीच रङ्गशाला निर्माणको सम्झौता भएको थियो । जसमा महानगरले जग्गा उपलब्ध गराउनुपर्ने, उक्त जग्गामा रङ्गशाला बनाउन अनुमानित रु तीन अर्ब लाग्ने र त्यो खर्च फाउन्डेसनले नेपाल सरकार तथा देश विदेशमा रहेका व्यक्ति, संस्था, सबै निकायसँग आह्वान गरी नगद या जिन्सी सहयोग लिने उल्लेख छ । फाउन्डेसनले सहमति गरेपछि आर्थिक व्यवस्थापन गर्न नसकेपछि महानगरलाई हस्तान्तरण गरेको हो ।

    यसैबीच भरतपुर महानगरपालिकाले आज एक विज्ञप्ति प्रकाशित गरी राज्यको सर्वोसञ्चित कोषबाट सरकारी निकायले भुक्तानी दिने विषयमा कानुनका निश्चित प्रक्रिया, मापदण्ड, औचित्य र नियमितताका आधार अनिवार्य रूपमा पूरा गर्नुपर्ने उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “निजी व्यक्ति तथा संस्थाले निजी रूपमा सिर्जना गरेको निजी दायित्व सरकारी रकम प्रयोग गरी सरकारी कार्यालयबाट भुक्तानी दिने विषय अत्यन्त संवेदनशील एवं कानुनी रूपमा जटिल विषय हो ।”

    प्रमुख प्रशासकीय अधिकृत पौडेलद्वारा जारी विज्ञप्तिमा सार्वजनिक प्रशासकीय कार्याहरू भावनात्मक संवेगद्वारा भन्दा पनि वैज्ञानिक विधिद्वारा सञ्चालित हुनुपर्ने जनाइएको छ । महानगर समस्या समाधानमा केन्द्रित भइरहेको भन्दै नकारात्मक टिप्पणी र पूर्वाग्रहयुक्त धारणा सार्वजनिक नगर्नसमेत अपिल गरिएको छ ।

  • सात लाख थान विद्युतीय राहदानी खरिद गर्न विभागलाई स्वीकृति

    सात लाख थान विद्युतीय राहदानी खरिद गर्न विभागलाई स्वीकृति

    काठमाडौँ, ५ मङ्सिर । सरकारले अन्तरिम अवधिका लागि सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौताअनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्ता कम्पनीसँग भेरियसन आदेशमार्फत राहदानी खरिद गर्न विभागलाई स्वीकृति प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले बङ्गलादेशको ढाकामा यही मङ्सिर १० र ११ गते हुने नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रको संयुक्त कार्यसमूह तथा संयुक्त सञ्चालक समितिको सातौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

    सरकारले नेपाली सेनाका एक जनालाई महासेनानीबाट सहायक रथी तथा एक जनालाई सहायक रथीबाट उपरथीमा विशेष बढुवा गर्ने निर्णय पनि गरेको छ । यसैगरी, लुम्बिनी विकास कोष (लुम्बिनी विकास परिषद्का) सदस्यसचिवमा गोरखाका दीपक श्रेष्ठलाई मनोनयन गर्ने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद्ले उपभोक्ता अदालत र बाल अदालतको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी यही मङ्सिर ८ देखि १२ गतेसम्म चीनको सिजाङ (तिब्बत) स्वशासित क्षेत्रको ल्हासा सहरमा आयोजना हुने महिला सेमिनारमा सहभागी हुन आदिवासी जनजाति आयोगका सदस्य रीना रानालाई स्वीकृति प्रदान गरिएको छ ।

  • एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

    एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

    काठमाडौँ, ५ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा साविकको उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित दर्ता गरेको हो । यो जितसँगै सुदूरपश्चिम चार अङ्कसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ । पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग पराजित भएको थियो ।

    आज सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा आठ विकेट गुमाउँदै १७५ रनमा समेटियो । पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले पनि जित दिलाउन सकेनन् । कुशलले ३२ बलमा ५३ रन बनाएर आउट भए । जिम्मी निशमले ४७, ड्यान डाउथवैट ३७ रनको योगदान दिए । बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले दुई, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन साउदले समान एक–एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै रनको १९३ रन बनाएको थियो ।

    सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ६८ रनको योगदान दिए । विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान ऐरीले १५ रन बनाए । पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरेका थिए । पोखराका लागि निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले समान दुई–दुई विकेट लिए । नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

  • कमला नदी पुल निरीक्षणमा पुगे भौतिक मन्त्री घिसिङ

    कमला नदी पुल निरीक्षणमा पुगे भौतिक मन्त्री घिसिङ

    गोलबजार, ५ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हुलाकी सडकखण्डअन्तर्गत सिरहा–धनुषा जोड्ने क्षतिग्रस्त कमला पुलको निरीक्षण गरेका छन् । यो पुल ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दा पनि पुल निर्माण हुन सकेको छैन । तराई–मधेसको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ साल जेठमा रु २४ करोड ९१ लाख ९भ्याटसहित०मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौताबमोजिम पुल निर्माण २०७१ साल मङ्सिरमा सम्पन्न हुनुपर्ने थियो ।

    तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि आठौँपटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेस भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको हुलाकी सडक आयोजना निर्देशनालय जनकपुरधामका कार्यालय प्रमुख इञ्जिनियर कृष्णकुमार महतोले जानकारी दिए ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले यो पुल समग्र मधेस क्षेत्रको विकासका लागि अत्यन्तै महत्त्वपूर्ण रहेकाले तीव्रगतिमा निर्माणकार्य अगाडि बढाइने प्रतिबद्धता जनाए । उनले पुल जसरी पनि बनाइने र विगतमा निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेको पनि बताए । दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गरिने उनले बताए ।

    हालसम्म रु २० करोड ४३ लाख ९भ्याट०सहित भुक्तानी भइसकेको छ । पुल निर्माणको भौतिक प्रगति र वित्तीय प्रगति क्रमशः ८३ र ८२ प्रतिशत रहेको छ । बाह्रवटा स्पान भएको पुलको लम्बाइ चार सय ६९ मिटर रहेको छ । व्यवसायीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो ।

    पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ एक हजार ३०० मिटर नदी नियन्त्रण र दुई सय मिटर पहुँच सडक निर्माण गर्नुपर्ने छ । अनुगमन टोलीमा मन्त्री घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायत सम्मिलित टोलीले शुक्रबार कमला पुलको अनुगमन गरेको छ ।

  • रुसद्वारा युद्धका क्रममा मृत्यु भएका करिब एक हजार युक्रेनी सैनिकको अवशेष फिर्ता

    रुसद्वारा युद्धका क्रममा मृत्यु भएका करिब एक हजार युक्रेनी सैनिकको अवशेष फिर्ता

    किएभ, युक्रेन, ५ मङ्सिर (रासस–एएफपी) । युक्रेनले बिहीबार रुसबाट युद्धका क्रममा मृत्यु भएका करिब एक हजार युक्रेनी सैनिकको अवशेष प्राप्त गरेको बताएको छ। किएभ र मस्कोबीच युद्धबन्दीहरूको आदान–प्रदान र मृत सैनिकहरूको अवशेष आदानप्रदान गर्ने सहमति अन्तर्गत ती सैनिकका अवशेष प्राप्त भएको किएभले जनाएको छ। युद्धबन्दीहरूको उपचारका लागि किएभको समन्वय मुख्यालयले सामाजिक सञ्जालमा भनेको छ, “आज, मृतक सैनिक र सर्वसाधारण व्यक्तिको अवशेष फिर्ता गर्ने काम भएको छ। रुसी पक्षले युक्रेनी सैनिकको भएको दाबी गरेका एक हजार शवहरू युक्रेनलाई बुझाएको छ।”

    उक्त निकायका अनुसार अनुसन्धानकर्ता र विज्ञहरूले चाँडै नै सबै आवश्यक परीक्षण गर्नेछन् र स्वदेश फर्काइएका शवहरूको पहिचान गर्नेछन् । रुसी सरकारी सञ्चारमाध्यमले अज्ञात स्रोतलाई उद्धृत गर्दै मारिएका एक हजार युक्रेनी सैनिकको शवको बदलामा ३० जना रुसी सैनिकको अवशेष हस्तान्तरण गरिएको जनाएको छ । सार्वजनिक रूपमा उपलब्ध जानकारीका अनुसार किएभले युद्धको अवधिभर मस्कोबाट कुल १५ हजार मृतक सेना र नागरिकका अवशेष फिर्ता पाउको छ।

  • साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

    साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

    खोटाङ, ५ मङ्सिर । साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ । परम्परागत रूपमा ‘म्यानुअल’ प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत सुरु गरेको हो । गृह मन्त्रालयअन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यो सेवा सुरु गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिए ।

    “अबदेखि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि वडा कार्यालयले सो विवरण अनलाइन प्रणालीमा प्रविष्ट गरेर सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नेछ । यसरी प्रमाणित भएको कागजात अनलाइनमा प्रविष्ट हुन्छ । जसका आधारमा जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता प्रमाणपत्र प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराइनेछ”,उनले भने ।


    अनलाइन प्रणालीले नागरिकता सिफारिस र वितरण प्रक्रियामा पारदर्शिता, एकरुपता र समय बचत हुने भएकाले अनिवार्य रूपमा अनलाइन प्रणाली लागू गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए । यो प्रणाली लागू भएपछि गाउँपालिकाको प्रशासनिक कामकाजमा ‘डिजिटलीकरण’को थप अध्याय सुरु भएको र गाउँपालिकालाई ‘डिजिटलाइज गाउँपालिका’ बनाउने कार्यमा एक इँटा थपिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए ।

    जिल्लाको सबैभन्दा सानो (पाँचवटा वडा रहेको) साकेला गाउँपालिकामा जन्म, मृत्यु, बसाइँसराइ, विवाहदर्ता, सम्बन्धविच्छेदजस्ता पञ्जीकरणको सम्पूर्ण काम अनलाइन प्रणालीमार्फत नै जारी हुँदै आएको थियो । स्थानीय सेवाग्राहीले यस कदमलाई स्वागत गर्दै यसले सेवाग्राहीलाई समेत छिटो, पारदर्शी र झन्झटमुक्त सेवा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

  • बिहारमा दशौं पटक नितिश कुमारको शासन, बन्यो रेकर्ड

    बिहारमा दशौं पटक नितिश कुमारको शासन, बन्यो रेकर्ड

    पटना, ५ मङ्सिर (रासस–एएनआई) । जनता दल (युनाइटेड) का प्रमुख नितिश कुमारले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का वरिष्ठ नेताहरूको उपस्थितिमा इतिहास रच्दै दशौँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । सन् २०२० मा प्रधानमन्त्रीले शपथ समारोहमा भाग लिन नसके पनि यसपटक उनको विशेष उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो ।

    शपथ ग्रहण पटनाको ऐतिहासिक गान्धी मैदानमा सम्पन्न भएको हो । यहाँ नितिश कुमारले सन् २००५, २०१० र २०१५ मा पनि सरकार गठनको घोषणा गरेका थिए । यही स्थान सन् १९७४ मा जयप्रकाश नारायणले ‘पूर्ण क्रान्ति’ को आह्वान गरेको ऐतिहासिक पृष्ठभूमिका कारणले पनि प्रख्यात मानिन्छ । कार्यक्रममा एनडिए नेतृत्व गरेका विभिन्न राज्यका मुख्यमन्त्रीहरूको उल्लेख्य उपस्थिति थियो । हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी, असमका हिमन्त बिस्वा सरमा, नागाल्यान्डका नेफियू रियो, आन्ध्रप्रदेशका एन. चन्द्रबाबु नायडू, उत्तर प्रदेशका योगी आदित्यनाथ र उत्तराखण्डका पुष्कर सिंह धामीलगायत प्रतिष्ठित व्यक्तिहरू सहभागी भए ।


    बिहारका राज्यपाल आरिफ मोहम्मद खान, एलजेपी (राम विलास) का नेता चिराग पासवानलगायतका प्रमुख व्यक्तित्वहरू पनि समारोहमा उपस्थित भए । बुधबार पटनास्थित आधिकारिक निवासमा आयोजित नयाँ विधायकहरूको बैठकमा जेडीयू विधायक दलले सर्वसम्मतिले नितिश कुमारलाई पहिलो पटक आफ्नो दलको नेताका रूपमा चुनेको थियो । यसपछि एनडिए विधायक दलले पनि उनलाई सर्वसम्मतिले नेता चयन गर्दै नयाँ सरकार गठनको बाटो खुला गरेको हो ।


    भारतीय जनता पार्टी (भाजपा) को प्रदेश मुख्यालयमा बसेको बैठकमा सम्राट चौधरी र विजयकुमार सिन्हालाई क्रमशः भाजपाको विधायक दलको नेता तथा उपनेता चयन गरिएको थियो । बिहारमा विधायक दलको नेतृत्व चयनका लागि केन्द्रीय पर्यवेक्षकका रूपमा आएका उत्तर प्रदेशका उप–मुख्यमन्त्री केशवप्रसाद मौर्यले दुवै नाम प्रस्ताव गरे । जसलाई बाँकी सांसद तथा विधायकहरूले समर्थन जनाएका थिए ।

    सन् २०२५ को बिहार विधानसभा चुनाव नितिश कुमारका लागि ‘लिटमस टेस्ट’ मानिएको थियो । विगत दुई दशकदेखि उनले राज्यको राजनीतिलाई आफ्नो नेतृत्वमा स्थिरता र निरन्तरतासहित अघि बढाउँदै आएको तथ्यलाई मतदाताले फेरि पुष्टि गरेका छन् । ७४ वर्षीय नितिश कुमार २०१४–१५ बीच नौ महिनाको छोटो अवकाश बाहेक सन् २००५ नोभेम्बरदेखि लगातार मुख्यमन्त्री पदमा रहँदै आएका छन् ।
    यसपटक एनडिएले २४३ मध्ये २०२ सिट जित्दै ऐतिहासिक बहुमत हात पार्‍यो । महागठबन्धन भने ३५ सिटमा सीमित रह्यो । तीन चौथाइ बहुमतसहित एनडिएले राज्यमा विगत १५ वर्षपछि दोहोरो इतिहास बनाएर २०० भन्दा बढी सिट जित्ने उपलब्धि पुनःदोहोर्‍याएको छ । सन् २०१० मा पनि गठबन्धनले २०६ सिट जितेको थियो ।

    एनडिएभित्र भाजपाले ८९, जनता दल (युनाइटेड) ले ८५, लोक जनशक्ति पार्टी (राम विलास) ले १९, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) ले पाँच र राष्ट्रिय लोक मोर्चाले चार सिट जितेका छन् । विपक्षमा आरजेडीले २५, काङ्ग्रेसले छ, सीपीआई (एमएल) लिबरेशन ले दुई, भारतीय समावेशी पार्टीले एक र सीपीआई (एम) ले एक सिट ल्याएका छन् ।

    एआइएमआइएमले पाँच तथा बहुजन समाज पार्टीले एक सिट हासिल गरेका छन् । दुई चरणमा नोभेम्बर ६ र ११ मा सम्पन्न भएको बिहार विधानसभा चुनावमा ६७.१३ प्रतिशत मत खसेको थियो । यो सन् १९५१ पछि सबैभन्दा बढी हो । खासगरी महिला मतदाताले ७१.६ प्रतिशत सहभागितासहित पुरुष मतदाताको ६२.८ प्रतिशत सहभागिता पार गर्दै ऐतिहासिक उपस्थिति जनाएका थिए ।

  • छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

    छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

    दमौली, ५ मङ्सिर । जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । प्रसिद्ध छिम्केश्वरी मन्दिरको नजिकै रहेको यस उद्यानमा बिदा र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । प्रसिद्ध छिम्केश्वरी माई मन्दिरमा पूजाआजाका लागि आउनेहरू यस उद्यानमा घुम्न नछुटाउने गुरुङको भनाइ छ ।

    गण्डकी प्रदेश सरकारको रु २० लाख र स्थानीय जनसहभागिता रु दुई लाख गरी रु २२ लाखको लागतमा पार्क निर्माण गरिएको हो । यहाँ २० फिट अग्लो नेपालको झण्डासमेत राखिएको छ । यहाँको मौसम शीतल रहेकाले गर्मी मौसममा अझ बढी पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ । उनले भने, “यहाँ छिनछिनमा मौसम परिवर्तन भइरहन्छ, एकैछिनमा घाम लाग्छ एकैछिनमा हुस्सुले छेकिन्छ ।”

    यहाँ आउने आन्तरिक पर्यटक तस्बिर खिच्न, टिकटक बनाउन पार्कमा भुल्ने गरेका छन् । यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पर्यटकलाई अझ मोहित बनाउने गरेको छ । छिम्केश्वरीबाट धवलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिर जीर्णोद्वार गरिसकेको छ । यसअघि रहेको पुरानो मन्दिरलाई जीर्णोद्वार गरी मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिरमा पित्तलको छानो राखिएको छ ।

    गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

  • आज विश्व टेलिभिजन दिवस

    आज विश्व टेलिभिजन दिवस

    काठमाडौँ, ५ मङ्सिरः आज विश्व टेलिभिजन दिवस हो । यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो ।

    टेलिभिजन सूचना आदानप्रदान विश्वभरका समुदायलाई जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने र सार्वजनिक धारणा निर्माणमा सहायता पु¥याउने प्रमुख माध्यम मानिन्छ ।

    यसै पृष्ठभूमिमा संयुक्त राष्ट्रसङ्घले सन् १९९६ को नोभेम्बर २१ र २२ मा पहिलो विश्व टेलिभिजन फोरम आयोजना गरेर विश्वका प्रमुख सञ्चारकर्मीहरूलाई एकै स्थानमा ल्याएर बदलिँदो विश्वमा टेलिभिजनको भूमिका, प्रभाव र अन्तरराष्ट्रिय सहकार्य कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो । त्यसपछि हरेक वर्ष २१ नोभेम्बरलाई विश्व टेलिभिजन दिवसका रूपमा मनाउन थालिएको हो ।
    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

    अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

    काठमाडौँ, ५ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार प्राधिकरणले नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा रु एक अर्ब र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा रु दुई अर्ब बराबरको स्वपुँजी लगानी हुनेछ ।

    इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली चार–चार केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति दुई देशका उच्च सरकारी अधिकारीका बीचमा यसअघि नै भइसकेको छ । विद्युत् आदानप्रदानका लागि महत्त्वपूर्ण मानिएका ती अन्तरदेशीय प्रसारण लाइन सन् २०३० सम्म निर्माण हुनेछन् ।

    प्रसारण लाइन निर्माणका लागि नेपालतर्फ स्थापना हुने कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र भारतीय कम्पनी पावर ग्रीड कर्पोरेशन अफ इन्डिया लिमिटेडको ४९ प्रतिशत सेयर रहनेछ । यस्तै, भारतमा स्थापना हुने कम्पनीमा भारतीय कम्पनीको ५१ प्रतिशत र प्राधिकरणको ४९ प्रतिशत सेयर रहनेछ ।

    नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको आन्तरिक स्रोतबाट स्वपुँजी लगानी गरिनेछ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम भारतमा स्थापना हुने संयुक्त कम्पनीको लगानीमा छुट दिइनेछ । ऊर्जा मन्त्रालयका सचिव चटौतका अनुसार मन्त्रिपरिषद्को निर्णयबमोजिम आवश्यक सूचना राजपत्रमा प्रकाशित गरी जानकारी दिइएको छ । रासस

  • घरजग्गा कारोबार क्रमश : ओरालो लाग्दै, राजस्व सङ्कलन पनि घट्यो

    घरजग्गा कारोबार क्रमश : ओरालो लाग्दै, राजस्व सङ्कलन पनि घट्यो

    काठमाडौँ, ५ मङ्सिर : देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः ओरालो लागेको छ ।

    सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व सङ्कलन अपेक्षित रूपमा बढ्नसकेको छैन । केही दिन पहिलेमात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ । गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ बराबरको राजस्व सङ्कलन गरेको थियो ।

    गत असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व सङ्कलन भएको थियो । यस्तै, भदौमा रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरको राजस्व सङ्कलन भएको थियो । गत साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबरको राजस्व सङ्कलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्ट्रेसन दस्तुर रु एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत रु ९९ करोड ७८ लाख ४४ हजार ३९२ सङ्कलन गरेको थियो ।

  • सफा रहनेछ आज देशभरको मौसम

    सफा रहनेछ आज देशभरको मौसम

    काठमाडौँ, ५ मङ्सिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।

    कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।

  • एनपिएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

    एनपिएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

    काठमाडौँ, ५ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐेरीले गर्ने छन् ।

    पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् । सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन् ।

  • बारामा जेन जीका नाममा दिनभर प्रदर्शन, स्थानीय प्रशासनद्वारा ‘कर्फ्यु’ जारी

    बारामा जेन जीका नाममा दिनभर प्रदर्शन, स्थानीय प्रशासनद्वारा ‘कर्फ्यु’ जारी

    बारा, ४ मङ्सिरः बाराको सिमरामा जेन जीका नाममा प्रदर्शन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले ‘कर्फ्यु ’आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अप्रिय घटना नघटोस् भनेर कफ्र्यु आदेश जारी गरिएको जानकारी दिए । नेकपा (एमाले) समर्थित नेता तथा कार्यकर्ता र जेनजीबीच झडप भएपछि बुधबार पनि अप्रिय घटना नघटोस् भन्दै दिउँसो १२ः३० देखि राति ८ः०० बजेसम्म ‘कर्फ्यु ’आदेश जारी गरिएको थियो ।

    आज पनि बिहानैदेखि सिमरा चोकमा जेनजीले पुनःप्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो १ः०० बजेदेखि राति ८ः०० बजेसम्म ‘कर्फ्यु ’लगाएको हो । प्रजिअ मिश्रले जेनजीलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । आज जेनजीका नाममा उत्तेजित भीडले प्रहरीमाथि आक्रमण गरेको थियो ।

  • निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

    निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

    काठमाडौँ, ४ मङ्सिरः आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा ९१० बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    आजको बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने विविध चुनौतीहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो । साथै राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१–८२ को मस्यौदामाथि छलफल भएको थियो । उक्त मस्यौदामा आवश्यक संशोधनसहित स्वीकृति गरी नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपतिसमक्ष पेस गर्नेसमेत निर्णय भएको जनाइएको छ ।

  • सोह्रखुट्टेमा बाइक र स्कुटर जुधे, एक जनाको मृत्यु

    सोह्रखुट्टेमा बाइक र स्कुटर जुधे, एक जनाको मृत्यु

    काठमाडौँ, ४ मङ्सिरः काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा आज बागमती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा ४१ प ६७९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । मोटरसाइकल चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।