Category: समाचार

  • सार्वभौम क्रेडिट रेटिङमा नेपालले फेरि पायो ‘बीबी माइनस’

    सार्वभौम क्रेडिट रेटिङमा नेपालले फेरि पायो ‘बीबी माइनस’

    २ मंसिर, काठमाडौं । सार्वभौम क्रेडिटमा नेपालले पुनः ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ । सन् २०२५ का लागि ‘फिट्च रेटिङ्स’बाट दोस्रो पटक यस्तो रेटिङ्स प्राप्त गरेको हो । गत वर्षको मूल्याङ्कनबाट पनि नेपालले सोही रेटिङ प्राप्त गरेको थियो । पछिल्ला महिनाहरूमा देखिएको सामाजिक–राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुप्रति अर्थ मन्त्रालय भने सन्तुष्ट देखिएको छ ।

    मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले नेपालको दीर्घकालीन दायित्व पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गर्ने उनले बताए । चुनाव–केन्द्रित खर्च तथा अनिश्चितता बढ्ने सम्भावनाबीच पनि सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र रणनीतिक परियोजनाहरूलाई अवरोध रहित रूपमा निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास मजबुत बनाएको उनको दाबी छ ।

    साथै, नेपालले प्राप्त गरेको यो रेटिङले मुलुक भित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको स्पष्ट संकेत दिएको छ । मुलुकभित्र वैदेशिक लगानी बढाउन, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तार गर्न र भविष्यमा अन्तर्राष्ट्रिय वित्तीय बजारमा नेपालले आफ्नो सार्वभौम ऋण जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्न यो रेटिङले मद्दत पुर्‍याउने समेत उनले बताए ।

    विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा हुने दीर्घकालीन लगानी आकर्षणका लागि रेटिङ स्थायित्व अत्यन्त महत्त्वपूर्ण सूचकको रुपमा रहेको हुन्छ । यस अवसरमा अन्तर्राष्ट्रिय विकास साझेदारहरू, वैदेशिक लगानीकर्ताहरू, निजी क्षेत्र तथा आम नागरिकहरूले नेपाल सरकार प्रति देखाएको विश्वास र सहयोगका लागि अर्थ मन्त्रालयले आभार व्यक्त गरेको छ । आगामी दिनमा पनि आर्थिक स्थायित्व, पारदर्शिता, सुशासन, उत्पादनमूलक लगानी, रोजगारी सिर्जना तथा सामाजिक–आर्थिक रुपान्तरणका साझा लक्ष्य प्रति प्रतिबद्धता व्यक्त गरिएको छ ।

  • फर्किएको रैथाने खान्कीको रौनक

    फर्किएको रैथाने खान्कीको रौनक

    अच्युत रेग्मी\रासस

    काठमाडौँ, २ मङ्सिरः एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैथे । गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की हो भन्ने मानसिकता थियो । त्यो समयमा चामलको भात धनी अर्थात् सम्पन्नहरुले र कोदो गरिबले खान्छन् भन्ने थियो । यसकारण गाउँघरमा कतैकतै त घरभित्र ढिँडो खाने र बाहिर कुकुरलाई चाहिँ एकगाँस दूधभात दिने गरेको तथ्यहरु पनि सुन्न पाइन्थ्यो ।

    अहिले जमाना बदलिएको, छ, समय फेरिएको छ । मानिस गाउँघरको त के कुरा सहर बजारका ठूलै होटलमा पनि ढिँडो खोज्दै जान थालेका छन् । ढिँडो अब लुकेर र लुकाएर खाने खान्की नभएर मनपर्ने खाना मात्र नभएर रोजाइको खानामा पर्न थालेको छ । त्यसैले मानिसले अहिले ढिँडो खाँदा गर्व गर्छन् र सामाजिक सञ्जालमा आज ढिँडो खाइयो भनेर तस्बिर पोष्ट गर्ने गर्छन् ।

    पहिले दुर्लभ मानिएको भात अहिले विकल्पको खाना भएको छ । घरमा होस् या होटलमा, मानिसहरुले सकेसम्म भात खाँदैनन् । रोटी, च्याख्ला या ढिँडो नै रोजाइमा पर्न थालेको छ । पहिलेको धनीमानी तथा सानको खाना भातलाई अहिले मानिस रोगको घरका रुपमा लिन्छन् । किनभने चिकित्सकहरु नै धेरै भात नखान सुझाउँछन् । सकेसम्म अर्गानिक खाना, रैथाने उत्पादनको खान्की र सकेसम्म भात थोरै खानुपर्ने चिकित्सकहरुको सल्लाह छ ।

    पहिलेको तुलनामा अहिले मानिसमा आफ्नो स्वास्थ्यसम्बन्धी चेतनामा वृद्धि भएको देखिन्छ । त्यसैले मानिस विषादी प्रयोग नभएको, रैथाने उत्पादन तथा कार्बोहाइड्रेट धेरै नभएका खानेकुरा रोज्न थालेका छन् । खाद्य, पोषण तथा जनस्वास्थ्यविद् डा अरुणा उप्रेती पछिल्लो समय पहिलेका रैथाने अन्न जस्तै कोदो, फापर, गुद्रुक, मकै तथा च्याख्ला र दाल भात धेरैको रोजाइमा पर्न थालेको बताउनुहुन्छ । रक्तचाप, मधुमेहलगायत रोगबाट जोगिनका लागि पनि बजारका र आधुनिक खानेकुराभन्दा रैथाने खाना नै खानुपर्छ भन्ने चेतना मानिसमा बढ्दै गएको उहाँको अनुभव छ ।

    “पहिला रैथाने खाना खाँदा अपहेलित हुने अवस्था पनि थियो । तर अहिले त्यस्तो छैन, सञ्चारमाध्यमले गर्दा रैथाने खानातर्फ मानिस आकर्षित भएका छन् । पहिला मैले कोदो खाएँभन्दा मान्छेलाई अपमान महसुुस पनि हुने गरेको थियो । अहिले भने पाँचतारे होटलमै पनि कोदो, फापरको रोटी ढिँडो पाउन सकिन्छ । मेन्युमा नै पनि यस्ता परिकार लेख्न थालिएको देखिन्छ”, उहाँ भन्नुहुन्छ ।

    मानिसमा शारीरिक व्यायाम आदि कम हुँदै गएको र बजारका खानेकुराको मात्रा बढ्दै गएकाले अर्गानिक तरिकाबाट उत्पादन गरिएका यस्ता स्थानीय, रैथाने खानाले स्वास्थ्यलाई राम्रो गर्ने उहाँको सुझाव छ । केही वर्ष पहिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापास्थित आफ्नो घरमा नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन नेताद्वय एवं पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएको विषयले चर्चा पायो ।

    प्रसाईंले दुई पूर्वप्रधानमन्त्रीसँगै बसेर मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएसँगै बजारमा मार्सी चामलको चर्चा चुलियो । मार्सी चामलको ‘ब्राण्डिङ’ गरेर अहिले ललितपुरको झम्सिखेलमा ‘मार्सी थकाली’ सञ्चालनमा आएको छ ।

    मार्सी धान विशेषतः चिसो हावापानीमा उत्पादन हुने धान हो । चिसो हावापानीमा उत्पादन हुने भएकाले मार्सी चामलको खाना स्वादिलो हुने गरेको छ । मार्सी थकालीका सञ्चालक मधुसुदन ढकाल हिमाली क्षेत्रमा उत्पादित हुने धानलाई आफ्नो रेष्टुरेन्टले ‘ब्राण्ड’ बनाएर अगाडि बढाएको बताउनुहुन्छ । मार्सी थकालीमा मार्सी खानासहित स्थानीयस्तरमा उत्पादित गुन्द्रुक, कालिज, बँधिया कुखुरा, बट्टाई, च्याङ्ग्राको सुकुटी, गँगटा, घुँगी, लोकल कुखुरालगायत रैथाने स्वाद लिन पाइन्छ ।

    काठमाडौँको लाजिम्पाटस्थित बुकी बुटिक होटलका व्यवस्थापक मनिष श्रेष्ठ केही वर्षअघिसम्म मानिस होटलमा विशेषगरी भात खान नै आउने गरेकामा अहिले उनीहरुको खानपिनमा निकै परिवर्तन आएको आफूले पाएको अनुभव सुनाउनुहुन्छ ।

    माानिस बढी त लोकल अथवा रैथाने उत्पादनमा नै बढी आकर्षित हुने गरेको बताउँदै श्रेष्ठ भात नै खोजे पनि मानिसले मार्सी चामल या अरु नै त्यस्तै रैथाने चामलको भात खोज्ने नत्र ढिँडोलगायत अरु खानेकुरा मन पराउने गरेको बताउनुहुन्छ ।

    त्यसैले आफूले स्थानीय उत्पादन, मार्सी चामलको थाली, लोकल कुखुरा तथा गाउँघरबाटै रैथाने गेडागुडी, कालो मासको दाल र लोकल सागहरु मगाउने गरेको उहाँको भनाइ छ । यही कारणले अहिले सो होटल परिसरमा हरेक शनिबार बिहान स्थानीय एवं रैथाने उत्पादन जस्तै जुम्लाको सिमी, मुस्ताङको आलु, जुम्ली मार्सी चामल, फापर एवं काठमाडौँकै पनि काँठतिरका सागसब्जी र गेडागुडीका अर्गानिक उत्पादनको बजार लाग्ने गरेको श्रेष्ठ बताउनुहुन्छ ।

    सेफ्स एशोसियसन नेपालका पूर्वअध्यक्ष एवं काठमाडौँको नागार्जुनस्थित नागार्जुन रिसोर्टका सल्लाहकार सेफ गोविन्दनरसिंह केसी रैथाने खाना खानेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको बताउनुहुन्छ ।

    “पहिले त होटलमा गएर खाने भनेको ठूलाबडाले मात्र हो भन्ने थियो, किनभने मानिससँग पैसा नै हुँदैनथ्यो । कहिलेकाहीँ होटल जानेहरुले पनि रैथानेभन्दा पनि होटलको आधुनिक परिकार नै खोज्थे । तर अहिले त्यस्तो छैन । मानिस ठूलै होटलमा गएर पनि अर्गानिक तथा रैथाने खाना खोज्ने गरेका छन् । यो चाहिँ स्वास्थ्यसम्बन्धी एक प्रकारको चेतना पनि हो”, उहाँ भन्नुहुन्छ ।

    विगतमा सोल्टी होटलको सेफसमेत रहनुभएका केसी पहिले अहिलेजस्तो तरकारी आदिमा विषादी प्रयोग गर्ने चलन नरहेकाले होटलको खाना पनि त्यति अस्वस्थ हुँदैनथ्यो भन्नुहुन्छ । केसीको अनुभवमा अहिले उत्पादन बढाउन अनेकथरि औषधि, मलको प्रयोगले गर्ने र यस्ता समाचारले मानिसमा चेतना बढेको बताउँदै काठमाडौँका मानिस रैथाने खाना तथा स्थानीय उत्पादन खोज्दै अहिले नागार्जुन रिसोर्ट जस्तै काँठ क्षेत्रका होटलमा पुग्ने गरेका छन् ।

    काठमाडौँको डाँडागाउँस्थित रोयल भिल्ला रिसोर्टका सञ्चालक पुष्कल मल्लको अनुभव पनि त्यस्तै छ । काठमाडौँको भिडभाडबाट केही पर जङ्गल नजिक रहेको आफ्नो रिसोर्टमा पनि स्थानीय एवं नेपाली स्वादका खानामा ‘इञ्जोय’ गर्न मानिस आउने गरेको बताउनुहुन्छ ।

    “पछिल्लो समय नेपाली खानाप्रति मानिसको रुचि बढेको देख्छु । हामीकहाँ पनि धेरै गेष्ट काठमाडौँबाटै आउनुहुन्छ र नेपाली मात्र नभएर रैथाने र अर्गानिक खाना नै खोज्नुहुन्छ, ढिँडो, गुद्रुक, सिस्नु फापर, मार्सी चामलको भात, लोकल कुखुराको झोल आदि खाने प्रचलन अहिले धेरै बढेको छ । धेरैको रोजाइ टिपिकल खाना पर्ने गर्दछ”, मल्ल भन्नुहुन्छ ।

    केही वर्षयता राजधानी काठमाडौँ सहरभित्रभन्दा पनि काँठ क्षेत्रमा बढी नै मात्रामा होटल रेष्टुरेन्टहरु खुलेका छन् । ती होटलमा सहरका तुलनामा धेरै नै पाहुना जाने गरेको सञ्चालकहरुको अनुभव छ ।

    राजधानी काठमाडौँबाहेक नेपालको प्रमुख पर्यटकीय नगरी पोखराको विमानस्थल नजिक रहेको ‘एयरपोर्ट’ थकाली, चिप्लेढुङ्गाको मन्त्र थकाली, फेवाताल ड्यामसाइडस्थित मोनालिसा थकाली, पोखराको नौडाँडामा रहेको भण्डारी भान्सा घर, चितवनको भरतपुरस्थित पाते ढिँडो थकाली, भरतपुरमै रहेको बाजेको माछा महललगायत थुप्रै होटल तथा रेष्टुरेन्टहरुले पारखीहरुलाई स्थानीय रैथाने खानाको स्वाद चखाइरहेका छन् ।

  • मध्यराती समातिए दुर्गा प्रसाई, दिइरहेका थिए अराजक अभिव्यक्ति

    मध्यराती समातिए दुर्गा प्रसाई, दिइरहेका थिए अराजक अभिव्यक्ति

    २ मंसिर, काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट उनलाई मध्यराती पक्राउ गरेको हो । प्रहरी स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले यसको पुष्टी गरेका छन् । सामाजिक सञ्जालमा समेत प्रहरीले उनलाई पक्राउ गरेको भिडियो सार्वजनिक भएका छन् । उनले निरन्तर हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिइरहेका छन् ।

    १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए । २३ र २४ भदौको आन्दोलनमा उदंगा मच्याउनमा उनको समेत हात गरेको आशंका छ ।

  • झापा आएका १५ जंगली हात्ती मोरङतिर फर्किए

    झापा आएका १५ जंगली हात्ती मोरङतिर फर्किए

    झापा, २ मङ्सिर । यहाँ आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग नजिक रतुवामाई वृक्षरोपण जङ्गलमा आइपुगेको थियो । बथानमा हात्तीका थुप्रै छावा पनि थिए । तीमध्ये १५ वटा हात्तीको झुण्ड सोमबार मोरङतिरै फर्किएको खबर प्राप्त भएको छ”, डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले भने, “हामी निरन्तर निगरानीमा छौँ । रतुवामाई आइपुगेको हात्तीको बथान छिन्नभिन्न भएर कोही मोरङतिरै फर्किए र बाँकी झापातिरै अलमलिएका छन् ।”

    मोरङको सुन्दरहरैँचास्थित कानेपोखरी जङ्गल क्षेत्रबाट आइतबार लावालस्करसहित पूर्व लागेको हात्तीको बथानले झापाको बाहुनडाँगी गौडा हुँदै भारतको पश्चिम बङ्गालतिर फर्किने बाटो पछ्याएको अनुमान गरिएको थियो । दिनभरि स्थानीय जङ्गलमा विश्राम गर्ने ती हात्तीहरू रात परेपछि मात्र हिँड्थे । तर सोमबार दिनभरि ती हात्ती झापाको शिवसताक्षीस्थित रतुवामाई र दमकको हम्सेदुम्से सामुदायिक वनमा विश्राममा रहेको श्रेष्ठको भनाइ छ ।

    दुई वर्षअघि ५० देखि ६० को सङ्ख्यामा हात्तीको ठूलो बथान बाहुनडाँगीको प्रसाद गौडा हुँदै नेपाल प्रवेश गरेको थियो । तीमध्ये अधिकतम ३० वटा हात्ती डेढ महिना नेपाल विचरणपश्चात भारततर्फ फर्किएका थिए । अरु हात्ती भने मोरङ र सुनसरीको वन क्षेत्रमा बसेका थिए । हात्तीको बथान मोरङबाट झापातिर आइरहेको खबर प्राप्त भएपछि डिभिजन वन कार्यालय र स्थानीय पालिकाले जनधनको क्षति नहोस् भनेर व्यापक सुरक्षा सतर्कता अपनाएका छन् । वन कार्यालयले गस्ती टोली परिचालन गरी सर्वसाधारणलाई सावधानी अपनाउन माइकिङसमेत गरेको थियो ।

    भारतको आसामदेखि नेपालको कोशी टप्पु क्षेत्रसम्म जङ्गली हात्तीहरू ओहोरदोहोर गर्दै आएका छन् । भारतबाट भित्रिने गर्भिणी हात्ती नेपालमा सुरक्षितरूपमा बालबच्चा हुर्काएरमात्र भारत फर्किने गरेका छन् । अहिले भारत फर्किन लागेको बथानमा हात्तीका थुप्रै छावा रहेको बताइएको छ । भारत नफर्किएसम्म सावधानी अपनाउन वन कार्यालयका प्रमुख श्रेष्ठको आग्रह छ ।

  • पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

    पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

    काठमाडौँ, २ मङ्सिर । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।

    यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात मङ्गलबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् । मङ्गलबार रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

    प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको मङ्गलबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ।

    आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

    शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । धर्मशास्त्रविद् प्रा तोयराज नेपाल शतबीज भन्नाले हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्नुहुन्छ । “भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्य क्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उहाँले भन्नुभयो ।

    बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

    यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

    त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

    आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

    माता, पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्न नहुने धर्मशास्त्रविद् नेपालले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।
    रासस

  • एनपीएल क्रिकेट : आज चार टोली प्रतिस्पर्धा गर्दै

    एनपीएल क्रिकेट : आज चार टोली प्रतिस्पर्धा गर्दै

    काठमाडौँ, २ मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ ।

    चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् ।यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

  • पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खेलाडी मख्ख

    पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खेलाडी मख्ख

    २ मंसिर, काठमाडौं । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको साथ । नेपाल प्रिमियर लिग ९एनपिएल०को उद्घाटन खेलमा सीमित सिटका कारण कैयौँ दर्शक मैदान बाहिरबाटै समर्थन जनाए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल हेर्ने दर्शक मात्रै होइन खेलाडीले पनि खुसी व्यक्त गरे । उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेपछि काठमाडौँ गोर्खाजका कप्तान करण केसीले यस मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्न पाउँदा निकै खुसी लागेको बताए ।

    “आजको खेलमा छुट्टै अनुभव भयो, पहिलोपटक घरेलु मैदान र दर्शकसामु फ्लडलाइटमा खेल्न पाउँदा भित्रैबाट खुसी लागेको छ”, उनले भने, “फ्लड लाइटमा पहिलो पटक खेल्नु ऐतिहासिक क्षण थियो, त्यसका पनि पहिलो खेलमै जित हाात पार्दा निकै खुसी छौँ ।” पहिलो खेलमा पिचले स्पिनरलाई साथ दिएको उनको भनाइ थियो । स्पिनरकै कारणले खेल आफूहरुले जितेको उनले प्रतिक्रिया दिए । “आगामी दिनमा पनि राम्रो गर्दै जानेछौँ”, उनले भने, “सुरुआत सुखद् छ, नेपाली र विदेशी सबै खेलाडीको प्रदर्शन राम्रो भयो ।” उनले गत संस्करणमा भएका कमीकमजोरी सच्याएर उपाधि जित्ने लक्ष्यका साथ आफूहरुले तयारी गरेको उनले बताए ।

    खेलपछि जनकपुरका बोल्ट्सका कप्तान अनिल साहले पनि पहिलोपटक नेपालमै फ्लड लाइटमा खेल्न पाउँदा सुखी लागेको प्रतिक्रिया दिए । उनले भने, “नेपालको आफ्नै मैदानमा फ्लड लाइटमा खेल्ने सपना थियो, त्यो पूरा भएको छ, यसमा हामी एकदमै खुसी छौँ ।” आफू ब्याटिङमा चुक्दा खेल आफ्नो पक्षमा नपरेको उल्लेख गर्दै साहले ब्याटिङमा लामो साझेदारी बन्दा नसक्दा पराजित हुनुपरेको बताए । उनले भने, “पारीको सुरुआत राम्रो भयो, आसिफले राम्रो ब्याटिङ गरे पनि उनीसँगको साझेदारी अन्य ब्याटरको हुन सकेन, लक्ष्य कम भएकाले दोस्रो पारीमा खेलमा फर्कनसक्ने अवस्था रहेन ।” प्रतियोगिताको पहिलो खेलमा हार बेहोरे पनि आगामी खेलमा राम्रो प्रदर्शन गर्दै अगाडि बढ्ने उनको भनाइ थियो ।

    एनपिएलको पहिलो संस्करण सफल भएपछि सरकारले मैदानमा फ्लड लाइट जडानमा चासो देखाएको थियो । फ्लड लाइटका जडानका लागि सरकारले रु ४२ करोड १९ लाख खर्च गरेको छ । निर्माण कम्पनी विशन–ईश्वरी ज्वाइन्ट भेञ्चरका अनुसार मैदानमा राखिएका छ वटा खम्बामा फ्लडलाइट जडान गरिएको छ । कम्पनीका अनुसार एउटा खम्बामा ७० वटा लाइट गरी कूल ४२० वटा लाइट जडान भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एनपिएलका कूल ३२ खेलमध्ये २३ फ्लड लाइटमा खेलाउने तालिका बनाएको छ । सोमबारदेखि सुरु एनपिएल यही मङ्सिर २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा आठ टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।

  • दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङको आग्रह

    दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङको आग्रह

    काठमाडौँ, १ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन् । एडिबी दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग आज भएको भेटमा उनले वित्तीय व्यवस्थापन धेरै लामो समयदेखि चर्चामा रहेकाले तत्काल टुङ्गो लगाइनुपर्ने बताए ।


    आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब रु दुई खर्ब २५ अर्ब) रहेको छ । यसमध्ये एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी स्वपुँजी जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको जनाइएको छ । एडिबीको नेतृत्वमा विभिन्न अन्तरराष्ट्रिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुनेछ । त्यसमध्ये एडिबीले ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ । आयोजनाको हाल निर्माणपूर्वका तयारीका काम भइरहेका छन् ।

    भेटमा मन्त्री घिसिङले खानेपानी, सडक, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका क्षेत्रमा लगानी बढाउन आग्रह गरे । काठमाडौँ उपत्यकाका विभिन्न चोकको ट्राफिक व्यवस्थापनका लागि फ्लाइओभर, सुरुङमार्गलगायतको सम्भाव्यता अध्ययनका लागि पनि आवश्यक सहायता उपलब्ध गराउन उनले आग्रह गरे ।

    मन्त्री घिसिङले एडिबीको सहायतामा सञ्चालित आयोजनामा वन क्षेत्रका जग्गा प्रयोग एवं रुख कटान, जग्गा प्राप्ति, ऐलानी जग्गाको क्षतिपूर्तिलगायत वातावरणीय तथा सामाजिक सुरक्षणका विषय कार्यान्वयनमा देखिएका समस्या समाधान गरिने र कार्यान्वयन गर्ने निकायको संस्थागत क्षमता विकास गर्दै जाने बताए । सहायतामा सञ्चालित आयोजनाको खर्च गर्ने क्षमता बढाउन, जग्गा अधिग्रहण तथा ऐलानी जग्गाको क्षतिपूर्तिमा देखिएको समस्या समाधान गर्न, आयोजना कार्यान्वयन गर्ने निकायको क्षमता अभिवृृद्धि गर्न एडिबीका तर्फबाट अनुरोध गरिएको थियो ।

  • सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

    सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

    काठमाडौँ, १ मङ्सिरः जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् ।
    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज जीउ मास्ने मुद्दामा कैद भुक्तान गरिरहेकी धादिङकी ४४ वर्षीया गीता लामा र सुन भन्सार चोरी पैठारी मुद्दाका कैदी काठमाडौँका ३३ वर्षीय मङ्गल महर्जनलाई पक्राउ गरेको हो ।

    लामालाई ललितपुर महानगरपालिका–३ धोबिघाट र महर्जनलाई काठमाडौँ महानगरपालिका–१७ धोबिचौरबाट पक्राउ गरिएको व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । लामा जगनथदेवल (महिला बन्दीगृह)बाट फरार भएकी थिइन् । २२ वर्ष कैद सजाय फैसला भएकी उनी २०७६ मङ्सिर १९ गते कारागार चलान भएकी थिइन् । एक वर्ष कैद र एक करोड आठ लाख ३९ हजार सात सय ४७ रुपैयाँ ५० पैसा जरिवाना कायम भएका महर्जन गत चैतदेखि कैद भुक्तान गरिरहेको थिए । दुवै कैदी कारागार कार्यालय जगन्नाथदेवल चलान भएका छन् ।

  • पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग

    पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग

    ढाका, १ मङ्सिर (रासस–एएफपी) । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसीको सजाय सुनाइएको केही घण्टापछि सोमबार भारतसँग सुपुर्दगी गर्न माग गरेको छ। हसिनालाई नयाँदिल्लीले समर्थन गरेको बताउने गरिएको छ। सन् २०२४ अगस्टमा भएको जनविद्रोहको बलमा ७८ वर्षीया हसिनालाई पदच्युत गरिएपछि उनी भागेर भारतको राजधानी नयाँदिल्ली पुगेकी छिन् । अहिले पनि उनी नयाँदिल्ली वा अन्य कुनै भारतीय शहरमा रहेको अनुमान गरिएको छ। भारतले पूर्व प्रधानमन्त्री हसिनालाई सहयोग गरेको र शरण दिएको बिषयले दुई छिमेकीबीचको सम्बन्ध बिग्रिएको छ।

    गत वर्ष विद्यार्थी नेतृत्वमा भएको विद्रोहविरुद्ध भएको घातक दमनमा मानवताविरुद्धको अपराधमा दोषी ठहर भएपछि ढाकाको एक अदालतले हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई उहाँहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको थियो। पूर्वमन्त्री कहाँ छन् भन्ने थाहा छैन, तर बङ्गलादेशले भने उनी पनि भारतमा रहेको दावी गर्दै आएको छ।

    बङ्गलादेशको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी भारत सरकारसँग आग्रह गर्छौं कि ती दुई दोषीलाई तत्काल बङ्गलादेशी अधिकारीहरू समक्ष सुपुर्दगी गरियोस् ।” बङ्गलादेशले चेतावनी स्वरमा भनेको छ, “यी दोषीहरुलाई शरण दिने बिषय अत्यन्त अमैत्रीपूर्ण र न्यायको अपमान हुनेछ।” भारतीय विदेश मन्त्रालयले हसिनाको फैसलालाई ध्यान दिएको जनाएको छ ।

    “भारत शान्ति, लोकतन्त्र, समावेशिता र स्थिरता सहित बङ्गलादेशका जनताको सर्वोत्तम हितका लागि प्रतिबद्ध छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। हसिनाको १५ वर्षे कार्यकालमा व्यापक मानवअधिकार उल्लङ्घन भएको थियो, जसमा उहाँका राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्याहरू समावेश छन्।

    बङ्गलादेशले गत वर्ष हसिनाका लागि इन्टरपोलमा ‘अत्यन्त खोजी’ सूचना जारी गर्ने बताएको थियो, तर विश्वव्यापी प्रहरी निकायको सूचीमा कुनै रेकर्ड दर्ता नभएको बताइएको छ। बङ्गलादेशका अन्तरिम सरकारका नेता मोहम्मद युनुसले अदालतको फैसलाको स्वागत गरेका छन् । “पूर्व प्रधानमन्त्री हसिना र मन्त्री खान कमललाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको फैसला सुनाउनु ऐतिहासिक फैसला हो,” नोबेल शान्ति पुरस्कार विजेता युनुसले एक विज्ञप्तिमा भनका छन् । उनले शान्ति कायम गर्न आग्रह गर्दै ‘सार्वजनिक व्यवस्था उल्लङ्घन गर्ने कुनै पनि प्रयास’ नगर्न चेतावनी दिँदै ‘सबैलाई अनुशासनहीन कार्यबाट टाढा रहन आग्रह गर ।

  • उत्कृष्ट करदाता सम्मानित, को को परे ?

    उत्कृष्ट करदाता सम्मानित, को को परे ?

    काठमाडौँ, १ मङ्सिर : राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०\८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ ।

    त्यस्तै, एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल, वस्तु निर्यातको कारोवार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रालि, सूचना प्रविधि सम्बन्धी सेवामा सबैभन्दा बढी आयकर दाखिला गर्ने ओरिक्स नेपाल प्रालि र कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्ये गर्ने मध्ये पोषक ब्रिडर फार्म प्रालिलाई सम्मानित गरिएको हो ।

    त्यस्तै, बैंकिङ र बीमा संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापार गर्ने संस्थातर्फ भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी कारोबार गर्ने संस्थामा आईएमई लिमिटेड सम्मानित भएको हो ।

    व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सम्मानित गरिएको छ । वार्षिक कारोबारका आधारमा रू ५० करोडदेखि रू एक अर्बसम्मको कारोबार गर्नेमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड र रू ५० करोडसम्मको कारोबार गर्ने संस्थाका रूपमा भिएफ सर्भिसेज प्रालिलाई सम्मानित गरिएको छ ।

    त्यस्तै, २०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । गतवर्ष सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बाग्लुङलाई सम्मानित गरिएको छ ।

  • एनपीएल उद्घाटनमा भीआइपी, प्रधानमन्त्रीबाट शुभारम्भ

    एनपीएल उद्घाटनमा भीआइपी, प्रधानमन्त्रीबाट शुभारम्भ

    काठमाडौँ, १ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गरेकी छिन् । कीर्तिपुरस्थित र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भव्य कार्यक्रमबीच प्रधानमन्त्री कार्कीले उक्त प्रतियोगिताको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।

    उद्घाटन समारोह त्रिवि मैदानमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । आजको उद्घाटन खेलमा काठमान्डु गोर्खाजले टस जितेर साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध फिल्डिङ रोजेको थियो । खेल काठमाडौंले जितेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म चल्ने छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

  • एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

    एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

    काठमाडौँ, १ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जनकपुरमाथि पाँच विकेटको जित निकालेको हो । जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो ।

    काठमाडाँैको जितमा बेन चाल्र्सवर्थले ४६ रन बनाए । उनले २३ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाए । यसैगरी आकाश त्रिपाठीले ३९ रन बनाए । मिलिन्द कुमारले १९ रन बनाए भने जोहन सिम्पसनले १३ रन जोडे । बलिङतर्फ जनकपुरका किशोर महतो, अनिल साह, सञ्जय कृष्णमूर्ति र ललित राजवंशीले समान एक÷एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रनको योगफल बनाएको थियो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाएका हुन् । यस्तै, मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए । लाहिरु मिलन्था सात रनमा आउट भए ।

    काठमाडौं गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक÷एक विकेट लिए । यसअघि भएको पहिलो संस्करणको खेलमा भने जनकपुरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको थियो ।

    आजदेखि सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले टोलीले रु करोड १० लाख पाउने छ । दोस्रो हुनेले रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो हुनेले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । मङ्गलबारको पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच हुनेछ । पहिलो खेल बिहान ११ः४५ बजे हुनेछ भने दोस्रो खेल दिउँसो ४ः०० बजे हुनेछ ।

  • एनपिएल : क्रिकेट महाकुम्भको शानदार सुरुआत

    एनपिएल : क्रिकेट महाकुम्भको शानदार सुरुआत

    काठमाडौँ, १ मङ्सिरः ‘फ्लड लाइट’को उज्यालो र १० हजारभन्दा बढी दर्शकलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आजदेखि सुरु भयो । कीर्तिपुरको चिसो डाँडामा साँझ अबेरसम्म हजारौँ दर्शक क्रिकेटको रौनकमा रमाए । तीन दिनअघि नै उद्घाटन खेलको टिकट ‘सोल्ड आउट’ भए पनि खेल नसकिँदासम्म मैदान बाहिर पनि हजारौँ दर्शक बसिरहे । टिकट नपाउनेहरु कसैले रुखमै चढेर खेल हेरे भने कतिले अग्लो स्थानमा बसेर टाढैबाट हेर्दै प्रतियोगिताको साक्षी बने ।

    नेपाली क्रिकेटको यो महाकुभ्म मेला यही मङ्सिर २७ गतेसम्म यसैगरी चल्नेछ । जहाँ हरेक दिन हजारौँ दर्शकले साथ दिनेछन् । एनपिएलको पहिलो संस्करण अपेक्षा गरिएभन्दा बढी सफल भएपछि दोस्रो संस्करण थप स्तरीय मात्रै भएको छैन, यसले नेपाली मनलाई एकापसमा जोड्ने बलियो माध्यम पनि भएको छ । पूर्वाधारका हिसाबले यस वर्ष फ्लड लाइट थपिएको छ ।

    नेपाली दर्शकले पहिलोपटक क्रिकेटमा ‘डे–नाइट’ खेल हेर्न पाएका छन् । गत वर्ष खुला मैदानमा खचाखच भरिएका दर्शक यसपटक सहज रुपमा सिटमा बसेर रमाए । नयाँ क्रिकेट खेलाडीले मौका पाए । एनपिएलको चर्चा विदेशी क्रिकेटप्रेमीमाझ अझ बलियो भयो । विदेशका पूर्वक्रिकेटरहरु प्रशिक्षकका रुपमा एनपिएलमा जोडिएका छन् ।

    त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माणमा रु ४४ करोड ७७ लाख र फ्लड लाइटका लागि रु ४२ करोड १९ लाख खर्च भइसकेको छ । एउटै मैदानको स्तरोन्नतिका लागि यति ठूलो रकम एकै पटक जुट्न दर्शकको साथकै कारण सम्भव भएको हो । त्यसैले त एनपिएल खेलमा मात्रै सीमित नभई आर्थिक र सामाजिक दृष्टिले पनि महत्त्वपूर्ण बनेको छ । यो पछिल्लो समय विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने सेतु बनेको छ ।

    एनपिएल दोस्रो संस्करणको पहिलो खेल पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच भयो । जसमा काठमाडौँ गुर्खाजले नतिजा पाँच विकेटले आफ्नो पक्षमा पार्न सफल भयो । एनपिएलको पहिलो खेलमा राष्ट्रिय टिमका ओपनर आशिफ शेखले अर्धशतकीय पारीसँगै दर्शकको मन जिते । पहिलो पारीमा विदेशी खेलाडी मिलिन्द कुमारले किफायती बलिङ गर्दै महत्त्वपूर्ण तीन विकेट लिए । जनकपुरका लागि मयन यादवले ३४ रन र लहिरु समाराकुनले २२ रन जोडे र जनकपुरले काठमाडौँ सामु १३१ रनको सामान्य लक्ष्य प्रस्तुत ग¥यो ।

    लक्ष्य पछ्याएको काठमाडौँको सुरुआत निकै राम्रो भयो । पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेको काठमाडौँलेको गति भने त्यसपछि सुस्त भयो । उसका लागि ओपनरद्वय आकाश त्रिपाठी र बेन चाल्र्सवर्थले क्रमशः ३९ र ४६ रनको योगदान दिए । काठमाडौँ गुर्खाजका कप्तान करण केसीले खेलपछि प्रतिक्रिया दिँदै आजको खेलमा स्पिनरलाई पिचले साथ दिएको बताए । “टियुको मैदान कहिले बलर त कहिले ब्याटरलाई साथ दिन्छ, आज स्पिनरलाई राम्रो भयो”, उनले भने ।

    दोस्रो संस्करणको एनपिएलमा पनि पहिलो संस्करणमा जस्तै एन्ड्रयु लियोनार्डले ‘कमेन्ट्री’मार्फत टेलिभिजन दर्शकलाई थप रोमाञ्चक बनाए । सदाझैँ विदेशी ‘कमेन्टेटर’लाई नेपाल र ढाका टोपीको बयान गर्न छुट्टाएनन् । आयरल्याण्डमा जन्मिए पनि एन्ड्रयु नेपाली दर्शकका कारण चर्चामा छन् । उनलाई नेपाली दर्शकले टक्लु उपनाम दिएका छन् ।

    एनपिएल विजेताले टोलीले रु एक करोड १० लाख पाउने छ । साथै दोस्रो हुनेले रु ५१ लाख र तेस्रो हुनेले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।

    rss

    विदेशी खेलाडी

    विराटनगर किङ्सले यसपटक दक्षिण अफ्रिकाका पूर्वकप्तान फाप डुप्लेसिलाई भित्र्याएको छ । त्यसबाहेक न्यूजिल्याण्डका मार्टिन गप्टिल र मर्चेन्ट डि लांगे, स्कटल्याण्डका जर्ज मुन्सी, अष्ट्रेलियाका हिजलेट र अमेरिकाका शुभम रञ्जनेलाई ल्याएको छ ।

    पोखरा एभेञ्जर्सले यसपटक न्यूजिल्याण्डका स्टार जिमी निशम, इंग्ल्याण्डका जेसन रोय, एडम रोसिंटन, ड्यान डौथवेट र वेस्ट इन्डिजका रेयमन रइफरलाई ल्याएको छ । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियाबाट क्रिस लिन र जोस ब्राउन, न्युजिल्याण्डबाट स्कट कुग्लाइन र अमेरिकाबाट हरमित सिंहलाई भित्र्याएको छ ।

    जनकपुर बोल्ट्सले दक्षिण अफ्रिकाका वेन पार्नेल, श्रीलङ्काबाट लाहिरु मिलान्था, लाहिरु समरकुन, सङ्गीत कोरे, नामिबियाका जाननिकोल लोफ्टी इटन र अमेरिकाका सञ्जय कृष्णमूर्तिलाई ल्याएको छ । चितवन राइनोजले इंग्लायण्डबाट रवि वोपरा, डेविड मलान, सैफ अली जैब, पाकिस्तानबाट सोहेल तनबिर र युगाण्डाका अल्पेस रामजानीलाई ल्याएको छ ।

    लुम्बिनी लायन्सले अष्ट्रेलियाबाट डार्सी सर्ट, अफगानिस्तानका गुल्बदिन नाइब, इटालीका थोमस ड्राका तथा नामिबियाका रुबेन ट्रम्पलम्यान र जेजे स्मितसँग अनुबन्ध गरेको छ । काठमाडौँ गुर्खाजले विदेशी कोटाबाट इङ्ग्लायण्डका जोन सिम्पसन, बेन चाल्र्सवर्थ, नामिबियाका जेरार्ड इरासमस, भारत सन्नी पटेल, दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनसेलोस र अमेरिकाका मिलिन्द कुमारलाई अनुबन्ध गरेको छ ।

    साथै कर्णाली याक्स पनि अष्ट्रेलियाका विल बोसिस्टो, भारतका प्रियांक पाञ्चाल र जयकिशन कोलसावाला, नेदरल्याण्ड म्याक्स ओडाउड, स्कटल्याण्डका मार्क वाट र अफगानिस्तानका नाजिबउल्लाह जाद्रानलाई अनुबन्ध गरेको हो ।
    रासस

  • ढाकामा सुरक्षा कडा, शेख हसिना विरुद्धको मुद्दाको फैसला अघि देशभर तनाब

    ढाकामा सुरक्षा कडा, शेख हसिना विरुद्धको मुद्दाको फैसला अघि देशभर तनाब

    ढाका, १ मंसिर, (रासस\एएनआई) । बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मुद्दामा फैसला सुनाउन तयारी गरिरहेकै बेला देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । यो मुद्दा सन् २०२४ जुलाई–अगस्टमा विद्यार्थी नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा मानवता विरुद्धका कथित अपराधसँग सम्बन्धित छ । हसिनाले भने आफूमाथि लागेको सम्पूर्ण आरोप अस्वीकार गरिरहेकी छिन् ।

    फैसला आउनुअघि नै देशको राजनीतिक वातावरण तनावपूर्ण बनेको छ । शेख हसिना नेतृत्वको बङ्गलादेश अवामी लिगले आइतबार बिहानदेखि देशभर दुई दिने बन्दको घोषणा गरेपछि सामान्य जनजीवन प्रभावित बनेको छ । राजधानी ढाकामा ट्राफिक अत्यन्तै कम देखिएको छ भने केही क्षेत्रमा पटाखा विस्फोट भएको रिपोर्टसमेत आएको छ ।

    आगामी आम चुनावले देशमा स्थिरता पुनःस्थापना गर्ने आशामा व्यवसायी तथा उद्योगीहरूले राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बिजिएमइए) का पूर्वअध्यक्ष काजी मोनिरुज्जमानले परिस्थितिलाई अत्यन्तै असहज भनेका छन् ।

    उनले भने, “हामी निकै चिन्तित छौँ । आशा छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेछ, जनता शान्तिपूर्वक मतदान गर्न पाउनेछन् र निर्वाचित सरकारले अहिले निकै कमजोर बनेको व्यापार, सामाजिक समस्या तथा कानून–व्यवस्थालाई सुधार गर्नेछ ।” उनले सन् १९७१ को मुक्ति युद्धका एक स्वतन्त्रता सेनानीका रूपमा जनतालाई परेको असुविधाप्रति दुःख व्यक्त गर्दै भने, “गत वर्ष अत्यन्त कठिन रह्यो । सन् २०२६ को निर्वाचनले देशलाई नयाँ आशा दिने अपेक्षा छ । हाम्रो सार्वभौमिकताको रक्षा गर्दै सबै छिमेकी राष्ट्रसँग सन्तुलित र मधुर सम्बन्ध राख्नु आवश्यक छ । यस क्षेत्रको शान्तिका लागि सबैले एकताबद्ध हुनुपर्छ ।”

    भारतसँगको सम्बन्धलाई लिएर पनि मोनिरुज्जमानले विशेष जोड दिँदै भने, “भारतले सन् १९७१ मा हामीलाई अमूल्य सहयोग गरेको थियो । स्वतन्त्रता सेनानीका रूपमा मैले त्यहाँ प्रशिक्षणसमेत पाएको हुँ । हाम्रो स्वतन्त्रता र सार्वभौमसत्तालाई सम्मान गर्दै भारतसँग सुदृढ सम्बन्ध कायम राख्नु आवश्यक छ । ठूलो छिमेकीका हैसियतले भारतले हाम्रो भावनाको सम्मान गर्नेछ भन्ने आशा छ ।”

    गार्मेन्ट उद्योगबारे उनले भने, “यो उद्योग हाम्रो देशको गर्व हो । धेरै वर्षदेखि यसको योगदान उच्च छ, तर अहिलेको अस्थिरताले यसलाई जोखिममा पारेको छ । कुनै पनि अशान्तिले उद्योगलाई हानि पु¥याउन सक्छ र विदेशी क्रेताहरूले विश्वास गुमाउन सक्छन् । अधिकांश विदेशी मुद्रा यही क्षेत्रबाट कमाइन्छ र विशेषगरी महिलाहरूको ठूलो रोजगारको स्रोत यही उद्योग हो । यदि उद्योग असुरक्षित बन्यो भने सामाजिक अशान्ति र आर्थिक सङ्कट थपिन सक्छ ।”

    अल्पसङ्ख्यकको प्रसङ्गमा उनले भने, “मानवका रूपमा म कुनै धार्मिक विभाजनमा विश्वास गर्दिनँ । हामी सबै पहिले बङ्गलादेशी हौँ, अनि मात्र विभिन्न धर्मका अनुयायी ।” यसैबीच, मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले अवामी लिग तथा यसको सम्बद्ध सङ्गठनहरूको गतिविधिमा प्रतिबन्ध लगाएदेखि पार्टी नेताहरूले अज्ञात स्थानबाट अनलाइनमार्फत कार्यक्रमहरूको घोषणा तथा प्रचार–प्रसार गरिरहेका छन् ।

    सन् २०२४ जुलाईको विद्यार्थी नेतृत्वको आन्दोलनपछि शेख हसिनाको सरकार अपदस्थ भएको थियो । सन् २०२४ अगस्ट ५ मा उनी भारत प्रस्थान गरेकी थिइन् । त्यसपछि मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनअनुसार सोही महिनामा भएको हिंसात्मक प्रदर्शनमा करिब एक हजार ४०० जनाको मृत्यु भएको हुनसक्ने उल्लेख छ ।

    शेख हसिनाको नेतृत्वमा नै सन् १९७१ को मुक्ति युद्धमा भएका अपराधको मुद्दा चलाउन अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण स्थापना गरिएको थियो । सोही ट्रिब्युनलले उनको कार्यकालमा जमात–ए–इस्लामीका धेरै नेतामाथि युद्ध अपराधका मुद्दा दायर गरेको थियो ।

  • दिल्लीमा कार विस्फोटमा सहयोगी मानिएका एक व्यक्ति पक्राउ

    दिल्लीमा कार विस्फोटमा सहयोगी मानिएका एक व्यक्ति पक्राउ

    नयाँ दिल्ली, १ मंसिर, (रासस–एएफपी) । भारतीय अधिकारीहरूले नयाँ दिल्लीमा गत हप्ता भएको घातक कार विस्फोटमा सहयोगी भूमिका रहेका एक व्यक्तिलाई आइतबार पक्राउ गरिएको बताएका छन् । अधिकारीहरूले आक्रमण ‘आत्मघाती हमलाकारी’ व्यक्तिद्वारा गरिएको दुःखद् घटना भएको बताएका छन्। राष्ट्रिय अनुसन्धान निकाय (एनआइए) ले आक्रमणकारी र दोस्रो संदिग्ध दुवै प्रहरीले हालैका दिनहरूमा व्यापक छापा मारेको भारत प्रशासित कश्मीरका भएको जनाएको छ ।

    अनुसन्धानमा सफलता आएको घोषणा गर्दै एनआइएले आमिर रसिद अलीलाई ‘आत्मघाती हमलाकारी’को सहयोगी भएको बताएको छ । प्रतिआतंकवाद एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनी विस्फोट गराउन प्रयोग गरिएको कार खरिदका लागि दिल्ली आएका थिए।” दुर्घटनामा चालकको नाम कश्मीरका उमर उन नबी रहेको र उनी उत्तरी राज्य हरियाणाको एक विश्वविद्यालयमा जनरल मेडिसिनका सहायक प्राध्यापक थिए ।

    सोमबार राजधानीको पुरानो दिल्लीस्थित ऐतिहासिक लाल किल्ला नजिकै रहेको व्यस्त मेट्रो स्टेशन नजिकै विस्फोट भएको थियो । उक्त स्थान नजिकै प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवस अवसरमा एउटा वार्षिक सम्बोधन गरिरहेका थिए । अस्पतालका एक अधिकारीले विस्फोटमा परी १२ जनाको मृत्यु भएको बताएका छन् । मृतक सङ्ख्यामा नाबीलाई समावेश गरिएको थियो वा थिएन भन्ने स्पष्ट भएको छैन।

    आक्रमणमा परी १० जनाको मृत्यु भएको र अन्य ३२ जना घाइते भएको भारतीय अनुसन्धान निकाय (एनआइए) ले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
    एनआइएले नाबीको अर्को गाडी पनि नियन्त्रणमा लिएको जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले उक्त आक्रमणलाई ‘षड्यन्त्र’ को संज्ञा दिएका छन् । उनको सरकारले ‘अपराधी, सहयोगी र प्रायोजक’ हरूलाई न्यायको कठघरामा ल्याउने वाचा गरेको छ।

    गत अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पर्यटकीय स्थल पहलगाममा २६ जना हिन्दु सर्वसाधारणको मृत्यु भएपछि पाकिस्तानसँग झडप भएपछि भएको यो सबैभन्दा ठूलोसुरक्षा घटना हो । सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै काश्मिर भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले पूर्ण रूपमा हिमाली क्षेत्र दाबी गर्छन्। नयाँ दिल्ली र इस्लामावादबीच तनाव उच्च रहेको छ ।

  • सडकका २५ रुग्ण ठेक्का तोडियो

    सडकका २५ रुग्ण ठेक्का तोडियो

    काठमाडौं, १ मंसिर । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७\६८ देखि २०७९\८०मा सम्झौता भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । त्यसपछि सडक विभाग मातहतका कार्यालय रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएका थिए ।


    सडक डिभिजन कार्यालय काठमाडौंबाट गत ११ कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको कार्यालयका प्रमुख सुवोध देवकोटाले जानकारी दिए । कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने देवकोटाले उल्लेख गर्नुभयो । निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन दिइएको छ ।


    ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लङ्घन,ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नगरेकाले सम्झौता रद्द गरिएको उल्लेख छ । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ ।

  • घट्दैछ तापक्रम, प्रकृतिले दिँदैछ हिँउदयामको आभास (तस्वीर कथा)

    घट्दैछ तापक्रम, प्रकृतिले दिँदैछ हिँउदयामको आभास (तस्वीर कथा)

    १ मंसिर, काठमाडौं । नेपालमा यतिबेला हरेक दिन तापक्रम ओरालो लाग्ने क्रममा छ । हिँउदयाम सुरु भएको छ । माथिल्लो भेगमा हिमपात भएको छ भने उपत्यकासहितका क्षेत्रमा न्यूनतम तापक्रम कम भइरहेको छ । तराई भेगमा हुस्सुले जनजीवन प्रभावित हुन थालेको छ । देशभर आलोलागीका घटना बढ्न थालेका छन् । उता, प्रकृतिले समेत यस्तै आभास गराइएको छ । यहाँ केही प्रतिनिधिमुलक तस्वीर प्रस्तुत गरिएको छ ।

    पवित्र तीर्थस्थल देवघाटधामस्थित कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल । नवलपुर, तनहुँ र चितवनमा पर्ने यस स्थानमा बालाचतुर्दशीको अवसरमा स्नान गर्न र सतबिज छर्न देशभरबाट हजारौँ भक्तजनहरु आउने गर्दछन् । तस्बिरः टेकराज पोखरेल\रासस
    पोखरा महानगरपालिका-१४ सेतिदोभानस्थित फुलको हाँगामा बसेर फूलको रस चुस्दै गरेको जुरेली चरा । तस्बिर : राधिका कँडेल / रासस
    मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित करिब पाँच सय वर्षभन्दा पुरानो इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा र पृष्ठभूमिमा सेताम्मे धौलागिरि हिमाल । यो गुम्बामा बौद्ध धर्म मान्ने धर्मावलम्बीहरुले विशेष पूजाआजा गर्ने गर्छन् ।तस्बिरः सुशीलबाबु थकाली\रासस
    धनगढी उपमहानगरपालिका–६ मटियारीमा ढकमक्क फुल्दै गरेको तोरीखेती । कैलालीमा झण्डै १५ हजार हेक्टर क्षेत्रफलमा तोरी खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तस्बिरः मीन ठकुरी\रासस
    मध्यपुर थिमि– ४ विष्णुकण्डल परिसरमा धान सुकाउँदै स्थानीय किसान। यहाका स्थानीय किसानहरू धान काटिसकेपछि घरमा भित्र्याउनु अघि ८–१० दिन घाममा सुकाएर मात्र धान भित्र्याउने गरिन्छ । तस्बिरः रत्न श्रेष्ठ\रास
    घोराही–धारापानी सडकमा आइतबार बिहान लागेको कुहिरो। जाडो बिस्तारै बढ्दै जाँदा दाङमा कुहिरो लाग्न सुरु गरेको छ। तस्बिरः रञ्जिता अधिकारी\रासस
  • नेपालको इतिहासमा पहिलो पटक फ्लडलाइट र प्यारापिटसहितको रंगशालामा ठूलो प्रतियोगिता

    नेपालको इतिहासमा पहिलो पटक फ्लडलाइट र प्यारापिटसहितको रंगशालामा ठूलो प्रतियोगिता

    १ मंसिर, काठमाडौं । नेपालको इतिहामा पहिलो पटक प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रंगशालामा ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । नेपाल प्रिमियर लीग क्रिकेटको दोस्रो संस्करण आजबाट कीर्तिपुरमा सुरु हुँदैछ । यो खेलले धेरै अर्थमा कीर्तिमान राख्ने छ । सरकारको लगानीमा काठमाडौं कीर्तिपुरमा प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रंगशालाको पहिलो चरणको काम पूरा भएसँगै आइतबार साँझ विशेष कार्यक्रमका बीच यो रंगशाला हस्तान्तरण गरिएको हो । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्रिकेट रंगशालाको पहिलो चरणमा निर्माण गरिएका प्यारापिट र फ्लड लाइट नेपाल क्रिकेट संघ (क्यान)लाई आइतबार हस्तान्तरण गरेको हो ।

    अहिले रंगशालाको पहिलो चरणका काम पूरा गरी क्यानलाई हस्तान्तरण गरिएको हो । दोस्रो चरणमा थप १० अर्ब लगानीको योजना छ । ३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय गरेको थियो । सोही बैठकले रंगशालामा दर्शक बस्ने प्यारापिट, रात्रिकालीन खेलकुदका लागि फ्लड लाइट र अन्य संरचना बनाउने तथा त्यस कामका लागि ३ सय दिनको समयसीमा समेत निर्धारण गरेको थियो । तर, समयसीमा अनुसार काम भने हुन सकेन ।

    त्यसो त चैत २०७९ मै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा कीर्तिपुर मैदानमा फ्लड लाइट जडान प्रक्रिया अगाडि बढाइएको थियो । त्यो कामले समेत गति लिन सकेको थिएन । पछिल्लो पटक फागुन २०८१ मा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न ठेक्का लागेको थियो । २४ वैशाख २०८२ भित्र काम सक्ने गरी सुरुमा सम्झौता भए पनि पुनस् म्याद थप्दै कामलाई तीव्रता दिइएको थियो । यस रंगशालामा ४३ करोड ७७ लाख लागतमा प्यारापिट निर्माण गरिएको छ । जसको क्षमता १० हजार सिट बराबर छ । बीकेओआई केसीडीसी बिजी जेभीले प्यारापिट निर्माण गरेको हो । फ्लड लाइट जडानको काम विशाण–ईश्वरी जेभीले गरेको हो । जसको लागत ४२ करोड १९ लाख रुपैयाँ छ ।

  • बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

    बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

    कीर्तिपुर (काठमाडौँ) । १ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ । यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्

    त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो सम्स्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिट्मै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका कारण खेलहरु अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् । सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई पहिलो एनपिएलको पूर्व सन्ध्यामा आइतबार साझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो ।

    प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ । एनपिएल दोस्रोका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट दुई दिन अगाडि नै बिक्री भइसकेको छ ।

    उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ रु एक हजार ५०० राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ रु दुई हजार राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ ।

    एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक एनपिएलबाट रु ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य छ ।

  • राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

    राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

    काठमाडौँ, १ मङ्सिरः नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैङ्कका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

    वार्षिक प्रतिवेदनअनुसार आव २०८१–८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ हानी समायोजनअघिको खुद् आय अघिल्लो वर्षको तुलनामा नौ दशमलव ११ प्रतिशतले वृद्धि भई रु ८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ९१ मा बैङ्कले वासलात, आय, व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

  • गृहले गर्यो एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत

    गृहले गर्यो एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत

    काठमाडौँ । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गमा सम्पन्न गर्न गृहमन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ । गृह मन्त्रालयमा आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृह प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।


    एकीकृत निर्वाचन सुरक्षा योजना तर्जुमा गर्नका लागि गृहले सहसचिव तथा शान्तिसुरक्षा महाशाखा प्रमुख काफ्लेको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य रहनेगरी एकीकृत निर्वाचन सुरक्षा योजना कार्यदल असोज ९ गते बसेको बैठकले गठन गर्ने निर्णय गरेको थियो । यस्तै बैठकले स्वीकृत निर्वाचन सुरक्षा योजनाअनुरुप निर्वाचन प्रयोजनार्थ नेपाली सेनाको परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्समक्ष सिफारिस गर्न रक्षा मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

    त्यसैगरी, गृह मन्त्रालयले निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्न मङ्सिर ९ गतेदेखि सुरु हुनेगरी लुम्बिनी प्रदेशबाट आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए । प्रवक्ता काफ्लेका अनुसार निर्वाचन अवधिभर देशमा हिंसा भड्काउने, जनतालाई आतङ्कित बनाउने गतिविधिहरुलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अगाडि बढाउनेसमेत जानकारी दिए । बैठकमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, नेपाली सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्तिसुरक्षा महाशाखा प्रमुख काफ्लेलगायतको सहभागिता रहेको थियो ।

  • पूर्वसचिव अर्जुन कार्की पक्राउ

    पूर्वसचिव अर्जुन कार्की पक्राउ

    काठमाडौँ, ३१ मंसिर । नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा दिने सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पु¥याएको अभियोगमा ट्रष्टका तत्कालीन सचिवसमेत रहेका कार्कीलाई आज पक्राउ गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङबीच भाडामा दिने र लिने करार सम्झौता गर्दा सूचनामा उल्लेख भएकाभन्दा बढी जग्गा दिएको पाइएकाले अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।

    ब्यूरोका अनुसार कित्ताको जग्गाभन्दा बढी अर्को कित्तासमेत थप गरी भाडामा दिने र लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय तथा आधारविना बदनियतपूर्वक सम्झौता गरिएको पाइएको छ । उक्त जग्गा विसं २०७४ जेठ १४ गते करार सम्झौता गरी भाडामा दिइएको थियो । ब्यूरोले उक्त घटनाको अनुसन्धानका क्रममा गत कात्तिक २१ गते ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई समेत पक्राउ गरेको थियो ।

  • प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

    काठमाडौँ, १ मंसिर । निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
    आयोगको आइतबारको बैठकको निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आयोगको वेवसाइटमा र नेपाल राजपत्रमा प्रकाशन गर्ने गरी सार्वजनिक गरिएको हो ।

    पहिलो निर्वाचित हुने प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार विसं २०८२ माघ ६ गते बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ भने सोही दिन बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

    मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

    माघ ९ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम विसं २०८२\०८\२० गतेदेखि सञ्चालन हुनेछ ।

    सो कार्यक्रमअनुसार मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते दिउँसो ४ः०० बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्ने, मङ्सिर २४ गते बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने, पुस १३ र १४ गते बिहान १०ः०० बजेदेखि ४०० बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्ने र माघ २० गते बिहान १०ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

  • एनपिएलमा सुरक्षा प्रबन्ध चुस्त–दुरुस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन

    एनपिएलमा सुरक्षा प्रबन्ध चुस्त–दुरुस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन

    काठमाडौँ, ३० कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपिएल) का बारेमा त्यसको सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे जानकारी लिएका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग आज एनपिएलको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले जानकारी लिएका हुन् ।

    गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा अर्यालले प्रतियोगिता अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए । “पहिलोपटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरुरी भएकाले सोही अनुसार प्रबन्ध मिलाउन हुन निर्देश गर्दछु”, मन्त्री अर्यालले बैठकमा भने ।

  • त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लड लाइट क्यानलाई हस्तान्तरण

    त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लड लाइट क्यानलाई हस्तान्तरण

    कीर्तिपुर (काठमाडौँ), ३० कात्तिकः त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माण गरिएको प्यारापिट र ‘फ्लड लाइट’ नेपाल क्रिकेट सङ्घ (क्यान)लाई हस्तान्तरण गरिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् ती संरचना क्यानलाई हस्तान्तरण गरेको हो । सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले आज साँझ ‘फ्लड लाइट’को ‘स्विच’ थिचेर क्यानलाई हस्तान्तरण गरे ।


    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले त्रिवि क्रिकेट रङ्गशाला नेपालमा चाँडोभन्दा चाँडो सम्पन्न भएको योजना हुन पुगेको बताए । उनले सरकारबाट दोस्रो चरणको स्तरोन्नतिका लागि रु १० अर्बको गुरुयोजना र ठेक्का प्रक्रियाका लागि स्वीकृति दिइसकेको जानकारी दिए । “सबै पूर्वाधार सम्पन्न क्रिकेट मैदान बनाउने सपना पूरा हँुदै छ, नेपाली क्रिकेटको बढ्दो अन्तरराष्ट्रियस्तरअनुरुप सरकारले आवश्यक सबै स्रोतसाधन उपलब्ध गराउने छ,” मन्त्री घिसिङले भने । नेपालमा क्रिकेट एउटा खेल मात्र नभई राष्ट्रिय एकता र आर्थिक समृद्धिको माध्यमसमेत भएको उनको भनाइ थियो ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि रङ्गशालामा नेपाली क्रिकेटप्रेमीको नेपालमा नै अन्तरराष्ट्रिय क्रिकेट हेर्ने सपना पूरा हुने कामको सुरुआत भएको बताए । उनले क्रिकेट सङ्घले तोकेका प्राथमिकताअनुसार क्रिकेट मैदान बनाउन राजनीतिक नेतृत्वसँग आग्रह गरे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले खेलप्रेमी नेपालीको सपना पूरा भएको बताउँदै अब दोस्रो चरणका संरचना निर्माण गर्न उत्तिकै प्राथमिकता दिन सरकारलाई आग्रह गरे । देशका अन्य भागमा पनि एनपिएल जस्ता खेल आयोजना गर्न सक्ने संरचना बनाउनुपर्ने उनको भनाइ थियो ।

    कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले कीर्तिपुरको आँगनमा अन्तरराष्ट्रिय खेल हुनु समग्र कीर्तिपुरवासीकै गौरवको विषय भएको बताए । “कीर्तिपुरको नाम अन्तरराष्ट्रिय स्तरमा प्रख्यात हुने अवसर आएको छ”, उनले भने । कार्यक्रममा निर्माणमा महत्वपूर्ण योगदानकर्तालाई मन्त्री घिसिङले सम्मानित गरे । देशमा नै पहिलोपटक आधुनिक प्यारापिट र ६ वटा फ्लड लाइटसहित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रङ्गशाल एनपिएलको दोस्रो संस्करणको पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालयले हस्तान्तरण गरेको हो ।

    त्रिभुवन विश्वविद्यालयको आन्तरिक खेल मैदानका रुपमा रहेको मैदान २०५५ सालदेखि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका रुपमा विकास गर्ने काम सुरु भएको हो । देशमा क्रिकेट खेलको मोह बढ्दै गएपछि पूर्ववर्ती केपी शर्मा ओली सरकारले गत २०८१ मङ्सिरमा मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा त्रिवि क्रिकेट रङ्गशालालाई प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रङ्गशालामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

    यसअन्तर्गत पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र रात्रिको समयमा पनि खेल सञ्चालन गर्न सकिने गरी ६ फ्लड लाइट जडान गरिएका हुन् । सरकारले बनाएको गुरुयोजनाअनुसार दोस्रो चरणमा कुल २५ हजार दर्शक अट्ने तथा अन्तरराष्ट्रियस्तरका सबै आधुनिक क्रिकेट सुविधासहितको रङ्गशाला बनाइने छ ।

  • तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो, एक महिनामै २ खर्ब माथि

    तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो, एक महिनामै २ खर्ब माथि

    काठमाडौँ, ३० कात्तिकः चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२–८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो । गत असोज महिनामा मात्र रु दुई खर्ब एक अर्ब २२ करोड विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

    यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु छ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु चार खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो । पछिल्लो तीन महिना अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४५९ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ ।

  • मुद्रास्फीति एक दशमलव ६७ प्रतिशत

    मुद्रास्फीति एक दशमलव ६७ प्रतिशत

    काठमाडौँ, ३० कात्तिकः गत वर्षको तुलनामा मुद्रास्फीति उल्लेख्य रुपमा घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२–८३ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ४७ प्रतिशत देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२–८३ को प्रथम त्रैमासको औसत मुद्रास्फीति एक दशमलव ६७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको थियो ।

    गत असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८० प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सात दशमलव ७५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको तीन दशमलव ७१ प्रतिशत र माछा तथा मासुको तीन दशमलव १५ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ६३ प्रतिशत, मरमसलाको सात दशमलव ८२ प्रतिशत र दाल तथा गेडागुडीको चार दशमलव ४१ प्रतिशतले घटेको छ ।

    गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ५१ , शिक्षाको सात दशमलव ६७, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव ८४ र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव २३ प्रतिशतले घटेको छ ।

    त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव २९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ५३ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ३३, मधेश प्रदेशको एक दशमलव २०, बागमती प्रदेशको एक दशमलव १३, गण्डकी प्रदेशको एक दशमलव १६, लुम्बिनी प्रदेशको एक दशमलव ८९, कर्णाली प्रदेशको एक दशमलव ९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ६९ प्रतिशत रहेको छ । त्यस्तै काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ४३, तराईको एक दशमलव २९, पहाडको एक दशमलव ५० प्रतिशत र हिमालको दुई दशमलव ३३ प्रतिशत रहेको छ ।

  • कार्बन साझेदारी कोषबाट मुलुकलाई एक अर्ब १९ करोड प्राप्त

    कार्बन साझेदारी कोषबाट मुलुकलाई एक अर्ब १९ करोड प्राप्त

    काठमाडौँ, ३० कात्तिकः तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट रु एक अर्ब १९ करोड प्राप्त प्राप्त गरेको छ । यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (इआरपिए)अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो । यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।

    बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार बल पुग्ने विश्वास व्यक्त गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले प्राप्त रकमले वनमा निर्भर समुदाय, आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको बताए ।

  • सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनचाँदीको मूल्यमा भारी गिरावट

    काठमाडौँ, ३० कात्तिकः अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा रु छ हजार ९००ले गिरावट आएको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ८०० निर्धारण भएको छ । शुक्रबार एक तोला सुन रु दुई लाख ४९ हजार ७०० मा किनबेच भएको थियो ।

    त्यसैगरी, चाँदीको मूल्य पनि रु १५० ले घटेको छ । आज चाँदी प्रतितोला रु तीन हजार १३५ मा कारोबार भइरहेको छ । गत शुक्रबार त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।