Category: समाचार

  • मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    बागमती, ३० कात्तिक । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३–००५प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल आज बिहान खस्दा मोटसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो ।

    मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • चालु आवको चौमासिक अवधि, २५ स्थानीय तह बजेटविहीन

    चालु आवको चौमासिक अवधि, २५ स्थानीय तह बजेटविहीन

    काठमाडौँ, ३० कात्तिकः चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकारले र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्नुपर्दछ । चालु आवको एक चौमासिक बित्दासमेत मधेस प्रदेशका कुल एक सय ३६ स्थानीय तहमध्ये एक सय १२ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २४ स्थानीय तहले प्रस्तुत गरेका छैनन् ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, सप्तरीको राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका ,बलान बिहुन गाउँपालिका, कल्याणपुर नगरपालिकाले बजेट प्रस्तुत गरेका छैनन् । यस्तै, सिराहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको क्षिरेश्वर नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

    त्यस्तै, धनुषाको धनौजी गाउँपालिका,महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका र चन्द्रनगर गाउँपालिका तथा रामनगर गाउँपालिका, रौतहटको कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाइ गाउँपालिका, बाराको महागढीमाई नगरपालिका, विश्रामपुर गाउँपालिका र पर्साको पकाहा मैनपुर गाउँपालिकाले चालु आवको बजेट हालसम्म प्रस्तुत नगरेको पाइएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले हालसम्म चालु आवको बजेट प्रस्तुत गरेको छैन ।

  • रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

    रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

    काँक्रेविहार (सुर्खेत), ३० कात्तिक : डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै रु २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको सन्दर्भमा अर्को मार्गबाट पनि जुम्ला जोड्ने काम थालिएको हो

    त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भई ठेक्का प्रणालीबाट रु २५ करोड ९९ लाख ८८ हजार बजेटमा स्तरोन्नतिको काम सुरु भएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए । सडक स्तरोन्नतिपछि जुम्ला र डोल्पाका स्थानीयवासी तथा पर्यटक सहज हुने जनाइएको छ । रारा र फोक्सुन्डो ताल पनि सडकको माध्यमबाट जोडिने बताए ।
    कर्णालीका दुई प्रमुख पर्यटकीय गन्तव्य नै सडकसँग जोडिएमा दुवै जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै स्थानीयले पर्यटक लक्षित व्यवसाय गरेर आर्थिक उपार्जनसमेत गर्न सक्ने उनले बताए । त्यसैगरी, चुँगार्ड, लिकु हुँदै बलाङ्ग्रा जोड्ने सडकका लागि रु चार करोड बजेट छुट्याइएकाले थपेर कामको सुरुआत हुने बताए ।
    बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन भएको यस सडकखण्डले त्रिपुराकोट, छल, काइगाउँ, मौरेलेक, जुम्ला हुँदै मुगुको राराताल जोड्ने सडकका रूपमा लिइएको डोल्पास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख टेक हितानले जानकारी दिए । दुई वर्षभित्र स्तरोन्नति सक्नुपर्ने सडकको सम्झौता भने गत असारमा भएको थियो । निर्माण कम्पनीले त्रिपुराकोट–मौरे सडकको कुल लम्बाइ ६८ किलोमिटर छ । उक्त सडकको मार्ग खुलाउने कार्य यसअघिनै भइसकेकाले यो बजेटबाट पवित्र धार्मिक क्षेत्र बुढाल मष्ट मन्दिर–छलसम्म नालासहितको ग्राभेल सडक निर्माण गरिने उनको भनाइ छ ।

  • मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

    मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

    मुस्ताङ, ३० कात्तिकः घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ । विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत मुस्ताङ सदरमुकामदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने गरी पूर्वाधार विकास कार्यालयले कार्यान्वयनमा ल्याएको थियो ।

    घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम–ढुम्बा पाँच किलोमिटर सडक कालोपत्र र ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी पाँच दशमलव पाँच किमी ग्राभेल सडकको काम अघि बढाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनियर घनश्याम रोकामगरले जानकारी दिए ।

    निर्माण कम्पनी बन्दना भगवती निर्माण सेवाको चरम ढिलासुस्ती र बेवास्ताका कारण यहाँको थाक पाँचगाउँ जोड्ने घरपझोङ चक्रपथ सडक सम्पन्नमा विलम्ब भइरहेको थियो । सुरुआती ठेक्का सम्झौताअनुसार २०७७ माघमा सकिनुपर्ने भए पनि निर्माण कम्पनीले कोरना माहामारी, प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाउँदै सातौँ पटकसम्म म्याद थप गरेको थियो ।

    यहाँको घरपझोङ–४, ५, १ र २ जोड्ने चक्रपथको लागत रु २४ करोड ४५ लाख ७४ हजार रहेको सूचना अधिकारी रोकामगरले जानकारी दिए । घरपझोङस्थित थाक पाँच गाउँ जोड्ने सडक अन्तिम चरणमा पुगेको र चालु आवभित्रमा सडक कार्यालयलाई हस्तान्तरण गरिने उनले बताए । सडकको पछिल्लो भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८८ प्रतिशत रहेको छ ।

    चक्रपथको ६ किलोमिटर नाली निर्माणसहित ढुम्बातालसम्मको पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ । त्यसैगरी ढुम्बातालदेखि छैरो–चिमाङसम्मको दूरीमा चट्टान काटेर नयाँ सडक ट्रयाक खोलेर नालीसहित पाँच मिटर चौडा ग्राभेल सडक विस्तार भइसकेको सूचना अधिकारी रोकामगरको भनाइ छ । चक्रपथमा ट्राफिक सङ्केतका पोल गाड्ने, नाली सफा गर्ने र सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना रोक्न बार लगाउने काम भइरहेको छ । त्यसैगरी चक्रपथ सडकले ठिनी, ढुम्बा, छैरो र चिमाङलगायतका गाउँ सडक सञ्जालले जोडिएकाले त्यहाँका किसानले उत्पादन गरेका स्याउलगायत अन्नबाली, फलफूल र तरकारी यातायातका साधनमार्फत ढुवानी गर्न सजिलो भएको छ ।

  • यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ३० कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०९ रुपैयाँ २५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०३ पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

    लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

    काठमाडौँ, ३० कात्तिकः लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१÷८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको क्षेत्रफल एक दशमलव ४२ प्रतिशतले घटेर सात लाख ६८ हजार ९६८ हेक्टर कायम भएको छ ।

    समीक्षा वर्षमा यस प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन गत वर्षको तुलनामा तीन दशमलव ४३ प्रतिशतले वृद्धि भई ३३ लाख ८० हजार ३२७ मेट्रिक टन भएको छ । समीक्षा वर्षमा दूध, मासु, अण्डा र माछाको उत्पादन गत वर्षको तुलनामा क्रमशः दुई दशमलव ८८ प्रतिशत, तीन दशमलव शून्य तीन प्रतिशत, तीन दशमलव ११ प्रतिशत र १३ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा वनजन्य उत्पादनतर्पm काठ उत्पादन गत वर्षको तुलनामा दुई दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।

    केन्द्रीय बैंकका अनुसार कृषि क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव ४६ प्रतिशतले घटेको छ भने कुल प्रवाहित कृषि कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४३ दशमलव ८० प्रतिशत र रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम शून्य दशमलव ४० प्रतिशतमात्र रहेको छ । लुम्बिनी प्रदेशका उद्योगको औसत क्षमता उपयोग ५० दशमलव ६० प्रतिशत रहेको छ । नमूना छनोटमा परेका उद्योगमध्ये रोजिन उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ८८ दशमलव ६९ प्रतिशत र सबैभन्दा कम ड्राइ सिरप उत्पादन गर्ने उद्योगले आठ दशमलव ६४ प्रतिशत क्षमता उपयोग गरेका छन् ।

    त्यस्तै, समीक्षा वर्षमा औद्योगिक उत्पादनतर्पm सबैभन्दा बढी सिन्थेटिक कपडाको उत्पादन एक सय ७० दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ६ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ । औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगहरूमा ४३ दशमलव ६३ प्रतिशत र सबैभन्दा कम विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा एक प्रतिशतमात्र रहेको छ ।

    सेवा क्षेत्रअन्तर्गत नमूना छनोटमा परेका पर्यटकस्तरीय होटलमध्ये १० वटाबाट प्राप्त तथ्याङ्कबमोजिम होटल शय्या सङ्ख्या ३४ दशमलव २० प्रतिशत, शय्या बिक्री स¬ङ्ख्या ४५ दशमलव ७४ प्रतिशत र पर्यटक आगमन सङ्ख्यामा ६१ दशमलव ७८ ले घटेको छ । यस्तै, घरजग्गा रजिष्ट्रेशन सङ्ख्यामा ४२ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा रजिष्ट्रेशनबापतको राजस्व रकम गत वर्षको तुलनामा पाँच दशमलव ४५ प्रतिशतले ह्रास भएको छ ।

    केन्द्र्रीय बैंकका अनुसार २०८२ असार मसान्तसम्ममा सो प्रदेशका बैंक तथा वित्तीय संस्थाले गरेको निक्षेप परिचालन २०८१ असार मसान्तको तुलनामा १५ दशमलव ४३ प्रतिशत र कुल कर्जा प्रवाह दुई दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा छनोटमा परेका बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी दुई दशमलव ४४ प्रतिशतले ह्रास भएको छ भने बचत परिचालन ६ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । उक्त संस्थाबाट गरिएको कर्जा प्रवाह दुई दशमलव ५० प्रतिशतले वृद्धि भएको छ ।

  • डिजेल र पेट्रोलको मूल्य बढ्यो

    डिजेल र पेट्रोलको मूल्य बढ्यो

    काठमाडौँ, २९ कात्तिकः नेपाल आयल निगमले डिजेल\मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा मूल्य प्रतिलिटर रु तीन रुपैयाँ र पेट्रोलमा प्रतिलिटर रु दुई बढाएको हो । मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ तोकेको छ ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ ५४ पैसा र डिजेलमा छ रुपैयाँ ५३ पैसाले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

  • भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते

    भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते

    नयाँ दिल्ली, २९ कात्तिक (रासस–सिन्ह्वा\एएफपी) । भारतको काश्मिरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु र करिब ३१ जना घाइते भएका छन् । विस्फोटपछि प्रहरी चौकी र परिसरभित्र रहेका सवारीसाधनमा आगलागी भई ठूलो क्षति पुगेको छ । स्थानीय मिडियाका अनुसार, दिल्लीमा हालै भएको कार बम विस्फोटसम्बन्धी अनुसन्धानका क्रममा फरीदाबादबाट ल्याइएका विस्फोटक सामग्री जाँच गर्ने क्रममा दुर्घटना भएको बताइए पनि प्रहरीले आधिकारिक बयान दिएको छैन ।


    मृतकमध्ये अधिकांश प्रहरी तथा फरेन्सिक टोलीका सदस्य रहेको जनाइएको छ । घटनापछि ठूलो सङ्ख्यामा दमकल र एम्बुलेन्स परिचालित गरी घाइतेहरूलाई नजिकका अस्पताल पुगेको छ । यसअघि दिल्लीको लालकिल्ला नजिकै सोमबार भएको कार विस्फोटमा ८ जनाको मृत्यु भएकोमा पछिल्ला रिपोर्टले मृतक सङ्ख्या १३ पुगेको उल्लेख गरेका छन् ।

  • प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र रामकुमारीले गुल्मीमा भने : एमाले चुनावबाट विचलित हुने पार्टी होइन

    प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र रामकुमारीले गुल्मीमा भने : एमाले चुनावबाट विचलित हुने पार्टी होइन

    गुल्मी, २९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरूले आफ्नो पार्टी चुनावविरोधी नभएको बताएका छन् । एमालेले गुल्मीद्वारा आज सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा नेताहरूले एमाले चुनावबाट विचलित हुने र के परिणाम आउँछ भनेर आत्तिने पार्टी नभएको भन्दै चुनावका लागि सरकारले निष्पक्षता र भयरहित वातावरण बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्णराज बिष्ट र नेत्री रामकुमारी झाँक्रीले सरकारले दलहरूलाई ढुक्कसँग मतदातासँग जान र मतदाताले पनि ढुक्कसँग मतदानस्थलसम्म पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।


    उपमहासचिव ज्ञवालीले संसद् विघटनपछि देश शून्यतामा पुगेको आरोप लगाउँदै भदौ २३ र २४ को प्रदर्शनमा जेनजीका भावना र कलिला काँधमा चढेर देशलाई खरानी बनाउन अपराधीहरूले प्रतिगामी षडयन्त्र गरेको बताए । सचिव विष्टले लोकतन्त्रको विकल्प हुन नसक्ने भन्दै कार्यकर्तालाई निराश नबनी पार्टीमा थप ऊर्जाशील भएर लाग्न आग्रह गरे । नेत्री झाँक्रीले सरकारले निर्वाचनको वातावरण बनाउन नसके राष्ट्रिय सहमतिमा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने धारणा राखिन् ।

  • एनपिएलको तयारी पूरा, सोमबारबाट खेल सुरु

    एनपिएलको तयारी पूरा, सोमबारबाट खेल सुरु

    काठमाडौँ, २९ कात्तिकः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरुप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

    त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ ।
    एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । जहाँ यस पटक प्याराफिट र रात्रिकालिन खेल हुन सक्नेगरी लाइट जडान गरिएको छ ।

  • विभिन्न जिल्लामा एमालेको जनसभा

    विभिन्न जिल्लामा एमालेको जनसभा

    काठमाडौँ, २९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा ¥यालीसहित जनसभा आयोजना गरेको छ । सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट राससकास्थानीय समाचारदाताहरुले जनाएका छन् । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन् ।

  • नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

    नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

    नवलपुर (नवलपरासी), २९ कात्तिकः पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो । नारायणघाट बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले हरेक दिन राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म काम भइरहेको बताए ।

    “दिउँसोमा सवारीसाधनको चाप अत्यधिक हुने भएकाले सहज रूपमा काम गर्न समस्या देखियो”, उनले भने, “रातिमा सवारीसाधनको न्यून चाप हुनाले सहज रूपमा सडक विस्तार भइरहेको छ ।” दिनमा यो सडकमा काम गर्दा सवारीसाधनको लामो जाम भएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि रातिमा काम थालिएको उनले बताए ।


    कार्यतालिका बमोजिम प्रगति हासिल भएमा अबको १० दिनमा यस सडकमा कालोपत्र गरेर सकिने सूचना अधिकारी खनालले बताए । गैँडाकोटको यसखण्ड र दाउन्नेको पहाडबाहेक नारायणघाट बुटवल सडकको पूर्वी खण्डमा एकतर्फी कालोपत्रको काम भइसकेको आयोजना कार्यालयले जनाएको छ । चाडपर्व सकिएपछि सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको खनालको भनाइ छ ।

    “दाउन्नेमा तीन किमी सडक कालोपत्र गरिँदै छ भने बाँकी करिब १० किमी ढलानको काम भइरहेको छ”, उनले भने, “दुईतर्फी सडक कालोपत्र भइसकेको ठाउँमा भने डिभाइडर, सर्भिसलेनलगायत सौन्दर्यकरणको काम हुँदैछ ।” यस सडकको भौतिक प्रगति करिब ७० प्रतिशत हाराहारी पुगेको खनालले जानकारी दिए । उनका अनुसार नारायणघाट–बुटवल खण्डको ११४ किमीमध्ये पूर्वी खण्डमा ६५ किमी र पश्चिम खण्डमा ४९ किमी पर्दछ ।

    सडक विस्तारका क्रममा यस खण्डको १०० किमी चार लेनमा तथा दाउन्नेको १४ किमी सडक तीन लेनमा विस्तार हुँदैछ । भौगोलिक कठिनाइका कारण दाउन्नेमा तीन लेनमा मात्रै सडक विस्तार हुने आयोजनाका सूचना अधिकारी खनालले बताए । उनका अनुसार विस्तारका क्रममा सहरी क्षेत्रमा सडकबाट उत्तरतर्फ र दक्षिणतर्फ अतिरिक्त दुई लेनलाई ‘सर्भिस लेन’का रूपमा निर्माण गरिनेछ ।

  • म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ

    म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ

    काठमाडौँ, २९ कात्तिक । काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले राससलाई जानकारी दिए । उनले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको पनि जानकारी दिए ।

    उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ । उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ ।

  • सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

    सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

    काठमाडौँ, २९ कात्तिकः सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देशभर सात स्थानमा आगलागीको घटना भएको छ । प्राधिकरणका अनुसार, मोरङ, सुनसरी, उदयपुर, भक्तपुर, रोल्पा, सुर्खेत, कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ ।

    प्राधिकरणको विवरणअनुसार कात्तिक २७ गते देशभर, १६ स्थानमा आगलागीका घटना भएका छन् । त्यसदिन बारा र रुपन्देहीका दुई स्थानमा आगलागीको घटना भएको थियो । त्यस्तै, पाँचथर, झापा, मोरङ, उदयपुर, धनुषा, रौतहट, भक्तपुर, रसुवा, कास्की, स्याङजा, बाग्लुङ र हुम्लामा भएको आगलागीका कारण भौतिक सम्पत्ति जलेर नष्ट भएको छ ।

    प्राधिकरणका अनुसार, कात्तिक २६ गते देशभर ११ स्थानमा आगलागीका घटना भए । कात्तिक २५ गते आठ स्थानमा, कात्तिक २४ गते देशभर नौ स्थानमा आगलागीका घटना भएका थिए । जनचेतना र असावधानीका कारण आगलागीका घटना भएको भन्दै प्राधिकरणले सबैलाई सचेत गराएको छ । यस्तै, शुक्रबार मात्रै ताप्लेजुङमा लेक लागेर तीन जना बिरामी परेका छन् ।

    कञ्चनजङ्घा आधार शिविर जानेक्रममा स्थानीय खामाचेन भन्ने स्थानमा दुई जापानी नागरिक लेक लागेर बिरामी परेका छन् । त्यस्तै, कञ्चनजङ्घा आधार शिविरबाट फर्कने क्रममा एक अमेरिकी नागरिकसमेतलाई लेक लागेको छ । मोरङ, सिन्धुपाल्चोक, म्याग्दी र बर्दियामा जनावर आक्रमणका कारण तीन जना घाइते भएका छन् ।

  • सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव

    सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव

    कास्की, २९ कात्तिकः विश्व मधुमेह दिवस९नोभेम्बर १४० का अवसरमा शुक्रबार पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ ।
    पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको थियो ।

    शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिए । उनले सबैले मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह गरे । सकेसम्म घरकै खाना खानुस्, कामका अनुपातमा खानुस् । अनावश्यक तनाव हुने काम नगर्नुस्, खानपान र जीवनशैली सुर्धानोस्, बेलाबेलामा जाँच गराउनुस्,” डा अधिकारीले भने ।
    मधुमेहका कारण अनेक समस्या आउने उल्लेख गर्दै अहिले मिर्गौला डायलाइसिस गराइरहेकामध्ये ७० प्रतिशत जति मधुमेह हुँदा हेलचेक्र्याई गर्ने भएको सुनाए । मधुमेह समाज र राष्ट्रकै लागि बोझ बनेको जनाउँदै डा अधिकारीले अब समाज, राष्ट्र, स्वास्थ्यकर्मी र आममानिसको एकीकृत प्रयासले मात्र यसको प्रभाव कम गर्न सकिने विचार राखे । मधुमेहले तत्काल असर गरेको नदेखिए पनि हेलचेक्र्याई गरे दीर्घकालसम्म अनेक असर हुने उल्लेख गरे ।


    “मधुमेह लागेपछि पनि हेलचेक्र्याई गर्दा पाँच वर्षसम्म केही असर नदेखिन सक्छ । त्यसपछि मिर्गौलामा असर, थकान, तीर्खा लाग्ने हुन सक्छ । पाँचदेखि १० वर्षसम्म आँखामा असर हुन सक्छ, रोग प्रतिरोधि शक्ति कम हुन्छ । १० वर्षसम्म पनि उपचार नगरे शरीरका सबै अङ्गमा असर गर्न थाल्छ ।” अधिकारीले भने ।
    कार्यक्रममा पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले नागरिकको स्वास्थ सरकारको मुख्य सरोकार भएको बताए ।

    वडाध्यक्ष बरालले जनस्तरबाट हुने यस खालका सचेतना र शिविरले सरकारको लक्ष्य प्राप्त गर्न सघाउने उल्लेख गरे । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले सर्वसाधारणलाई स्वास्थ्य सचेतना, निःशुल्क जाँचसँगै पोखरामा विश्वस्तरको गुणस्तरको सेवा प्रदान गर्न लागिपरेको बताए । युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब हो ।

    पोखराभित्र सात ठाउँबाट सेवा दिइरहेको युआरएलले मुख्य कार्यालयसहित गण्डकी प्रदेशका १८ स्थानबाट सेवा प्रदान गरिरहेको छ । विभिन्न सङ्घसंस्थासँग सहकार्य र आफैँसमेतले शिविर आयोजना गर्दै आएकोमा शुक्रबारको शिविर २११ औँ रहेको अध्यक्ष पन्थको भनाइ छ ।

  • ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस : प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

    ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस : प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

    दमौली (तनहुँ), २९ कात्तिकः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई वटा मतदान केन्द्र थप गर्न स्थानीय तहबाट सिफारिस भएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले थपघट गर्नुपर्ने भए सिफारिस गर्न आग्रह गरिएबमोजिम ऋषिङ गाउँपालिकाबाट दुई वटा मतदान केन्द्र थप गर्न सिफारिस भएर आएको हो ।

    प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ऋषिङ गाउँपालिका–४ र ६ मा यसअघि एक÷एक मतदान केन्द्र रहेकामा थप एक÷एक मतदान केन्द्र थप्न सिफारिस भएर जिल्लामा आएको जानकारी दिए । उनले भने, “भूगोल ठूलो भएकाले मतदान केन्द्रसम्म पुग्नै दुई घण्टाभन्दा बढी लाग्ने देखिएको छ । सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउन पालिकाबाट थपका लागि सिफारिस भएर आएको छ ।”

    आइतबार बस्ने समितिको बैठकले जिल्लाका मतदान केन्द्र र मतदानस्थलका बारेमा निर्णय गर्ने प्रजिअ अधिकारीले बताए । उनले भने, “निर्वाचन आयोगले कात्तिक ३० गतेभित्र निर्णय गराएर पठाउन निर्देशन दिएको छ, सोही बमोजिम तयारी गरेका छौँ ।” ऋषिङ गाउँपालिकाबाट थप गर्न माग गरिएका मतदान केन्द्रको जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन गरेको छ ।

    तनहुँका दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ३०५ मतदान केन्द्र रहेका छन् । २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता रहेका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख १९ हजार ८९ जना र महिलाको सङ्ख्या एक लाख २७ हजार ९१५ जना रहेको छ । कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली दर्ता गर्ने समय रहेकामा हाल जिल्ला निर्वाचन कार्यालय तनहुँमा मतदाता नामावली दर्ता गर्नेको घुइचो लागेको निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।

  • जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

    जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

    टोकियो, २८ कात्तिक (रासस–एएफपी) । टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु विरुद्ध गोली हान्न अनुमती दिएको बताइएको छ ।

    अप्रिल देखि देशभर जनावरको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको जनाइएको छ भने लगभग दिनहु जसो भालुहरू घरभित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू रिपोर्ट गरिएको छ । सरकारले आक्रमणमा भएको वृद्धिलाई सामना गर्न खोजिरहेको छ, भने वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या, द्रुत गतिमा बढिरहेको भालुहरूको सङ्ख्या लगायतका कारणले आक्रमण बढी रहेको बताएका छन् ।

    अधिकांश आक्रमणहरू भएका अकिता र इवाटेका उत्तरी क्षेत्रहरूमा बिहीबार एक समारोह आयोजना गरि प्रहरीलाई जनधनको सुरक्षाको लागि भालुहरूलाई गोली हान्न राइफल लगायतका हतियार प्रयोग गर्न अनुमति दिएको हो । गत हप्ताको घोषणा पछि हातहतियार सम्बन्धि नियमहरूमा परिवर्तन गरी बिहीबार देखि लागु भएको स्थानीय अधिकारीहरूलाई उदृत गरी एएफपीले जनाएको छ ।

    टोकियो स्थित अमेरिकी दूतावासले बुधबार आफ्नो वेबसाइटमा चेतावनी जारी गर्दै मानिसहरूलाई भालुहरू देखिएका क्षेत्रहरूमा एक्लै नहिँड्न र आक्रमणबाट जोगिन पूर्ण रूपमा भालुबाट टाढा रहन चेतावनी दिएको छ । बेलायती सरकारले पनि यात्रुहरूलाई भालुहरू देखिएका क्षेत्रहरूमा एक्लै नहिँड्न र आक्रमणबाट जोगिन आग्रह गरेको छ ।

    पछिल्लो समयमा जापानमा नियमित रूपमा आक्रमणहरू भएका छन् । इवाटे प्रान्तको इवाटे हानामाकी एयरपोर्टको वरपर बुधबार, एउटा भालुको बच्चा देखा परे पछि रनवे करीव एक घण्टाका लागि बन्द हुदाँ दुई वटा घरेलु उडानहरू ढिलाइ भएको स्थानीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
    जापानले पनि गत हप्ता देखि अकिता क्षेत्रमा सैनिकहरू तैनाथ गर्न थालेको छ, यद्यपि सैनिकहरूलाई भालुहरूको सिकार गर्ने अनुमती भने दिएको छैन ।

  • भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

    भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

    श्रीनगर (भारत), २८ कात्तिक (रासस–एपी) । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको आतङ्कवादी आक्रमण’ ठहर गरेको छ । यद्यपि सरकारले घटनासँग सम्बन्धित कुनै नयाँ प्रमाण सार्वजनिक गरेको छैन । सोमबार ऐतिहासिक लालकिल्ला नजिकै भएको विस्फोटमा आठ जनाको मृत्यु र कैयौँ घाइते भएका थिए । अनुसन्धानका क्रममा बुधबार अधिकारीहरूले विवादित काश्मीर क्षेत्रका विभिन्न भागबाट केही सन्दिग्धलाई पक्राउ गरेको जनाएका छन् । भारत सरकारले मङ्गलबारदेखि नै यस घटनालाई सम्भावित आतङ्कवादी गतिविधि मानेर अनुसन्धान सुरु गरेको हो, जसअन्तर्गत अधिकारीहरूलाई व्यापक कानूनी अधिकार प्राप्त भएको छ ।

    बुधबार राति मन्त्रिपरिषद्ले पारित गरेको प्रस्तावमा सो घटनालाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको जघन्य आतङ्ककारी कृत्य’ भनेर व्याख्या गरिएको छ । प्रत्येक वर्ष स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीले देशलाई सम्बोधन गर्ने लालकिल्लालाई भारतीय गौरवको प्रतीक मानिन्छ । यदि यो योजनाबद्ध आक्रमणको रूपमा पुष्टि भयो भने सन् २०११ पछि भारतको राजधानीमा भएको सबैभन्दा घातक विस्फोट हुनेछ ।

    – कश्मीरमा गिरफ्तारी र अनुसन्धान –

    पुलवामा जिल्लामा मङ्गलबार राति सञ्चालन गरिएको छापामारीमा कम्तीमा पाँच व्यक्तिलाई सोधपुछका लागि हिरासतमा लिइएको छ । विस्फोटको केही घण्टाअघि काश्मीरमा कार्यरत सुरक्षा निकायहरूले नयाँदिल्ली बाहिर फरीदाबादमा रहेको एक सन्दिग्ध आतङ्कवादी सेल ध्वस्त गरेको घोषणा गरेका थिए । त्यस क्रममा दुई चिकित्सकसहित सात जनालाई पक्राउ गरिएको र ठूलो मात्रामा विस्फोटक पदार्थ र हतियार बरामद गरिएको थियो ।

    भारतीय सञ्चार माध्यमहरूले फरीदाबादको सो सेल र लालकिल्ला विस्फोटबीच सम्बन्ध हुन सक्ने आशङ्का प्रकट गरेका छन् । यद्यपि प्रहरीले आधिकारिक रूपमा कुनै पुष्टि गरेको छैन । प्रहरी अधिकारीहरूले नाम नखुलाउने सर्तमा बताएअनुसार श्रीनगर वरिपरि अक्टोबर १९ मा देखा परेका भारतविरोधी पोस्टरहरूको अनुसन्धानकै क्रममा सो सेलको सुराकी फेला परेको थियो । ती पोस्टरहरूले भारतीय सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्ने धम्की दिएका थिए ।

    सिसिटिभी फुटेजको सहायताले प्रारम्भिक तीन सन्दिग्ध पहिचान गरिएका थिए । त्यसपछिका दिनहरूमा दुई काश्मीरी चिकित्सक र अन्य केही व्यक्तिलाई समेत पक्राउ गरिएको बताइएको छ । स्थानीय मिडियाले विस्फोट भएको कारको चालक पनि काश्मीरी भएको उल्लेख गरेका छन् ।

    प्रहरीले फरीदाबादको मेडिकल कलेजमा अध्यापन गर्ने एक चिकित्सकले उक्त कार चलाइरहेका थिए कि थिएनन् भन्नेबारे पनि अनुसन्धान गरिरहेको छ । केही रिपोर्टअनुसार उनले विस्फोटबाट बच्न जानाजानी बम विस्फोट गराएका हुन सक्छन् वा दुर्घटनावश विस्फोटक पदार्थ ओसार्दा घटना घटेको हुन सक्छ ।

    दिल्ली प्रहरीका प्रवक्ता सञ्जय त्यागीले अनुसन्धान टोलीले ‘आतङ्कवादी आक्रमण, आकस्मिक विस्फोट वा यान्त्रिक त्रुटि — सबै कोणबाट अनुसन्धान भइरहेको’ बताए । पुलवामाकी शगुफ्ता जान नामक महिलाले आफ्नो चिकित्सक दाजु गत शुक्रबारदेखि सम्पर्कविहीन रहेको बताउँदै चिन्ता व्यक्त गर्नुभयो । “उहाँले हामीलाई फोन गरेर घर आउने बताउनुभएको थियो, तर त्यसपछि कुनै सम्पर्क भएन”, उहाँले भन्नुभयो । प्रहरीहरूले सोमबार राति उनका परिवारका सदस्यहरूलाई पनि सोधपुछका लागि लगेको जनाइएको छ ।

    – भारत–पाकिस्तान तनाव फेरि बढ्ने आशङ्का –

    यस घटनाले पुनः भारत र पाकिस्तानबीच तनाव चुलिन सक्ने चिन्ता बढाएको छ । भारतले लामो समयदेखि पाकिस्तानमाथि आफ्नो भूमिमा हुने आतङ्कवादी आक्रमणहरूलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ । इस्लामाबादले भने यस्ता आरोपलाई अस्वीकार गर्दै आएको छ ।

    यस वर्ष अप्रिलमा काश्मीरमा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमा धेरैजसो हिन्दू तीर्थयात्रीहरू थिए । नयाँदिल्लीले त्यस घटनाको दोष पाकिस्तानमाथि थोपरेको थियो, जसले त्यसपछि दुवै देशबीच सैन्य झडपको अवस्था सिर्जना गरेको थियो ।

    भारत र पाकिस्तान दुवैले काश्मीरको आंशिक प्रशासन गर्छन्, तर दुवै देशले सम्पूर्ण क्षेत्रमाथि दाबी गर्दछन् । सन् १९८९ देखि काश्मीरी विद्रोहीहरू भारतको नियन्त्रण विरुद्ध लडिरहेका छन् । भारतले यो सघर्षलाई पाकिस्तानद्वारा प्रायोजित आतङ्कवाद मानेको छ भने पाकिस्तानले यसलाई काश्मीरी जनताको स्वतन्त्रता सङ्घर्ष’ को रूपमा व्याख्या गर्छ ।

    नयाँदिल्लीले विगतमा पनि ठूला आतङ्कवादी आक्रमणहरू भोगिसकेको छ । सन् १९९६ मा लाजपत नगर बजारमा भएको कार बम विस्फोटमा १३ जनाको मृत्यु भएको थियो भने २००८ मा समन्वित विस्फोटहरूमा २० जनाको ज्यान गएको थियो । ती घटनाहरूमा पनि काश्मीरी उग्रवादी समूह र एक भारतीय इस्लामिक विद्यार्थी सङ्गठनमाथि संलग्नताको आरोप लगाइएको थियो । नयाँदिल्लीको हालको कार विस्फोटले राजधानीको सुरक्षामा प्रश्न उठाएको मात्र नभई काश्मीर विवाद र भारत–पाकिस्तान सम्बन्धमा पुनः अशान्ति निम्त्याउने सङ्केत पनि देखिएको छ ।

  • मधेसमा उमेर नपुग्दै विवाह हुने चलन विकराल

    मधेसमा उमेर नपुग्दै विवाह हुने चलन विकराल

    राष्ट्रिय समाचार समिति (रासस)

    महोत्तरी, २८ कात्तिक : मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा छ । बालविवाहविरुद्धको कानुन र यससँग जोडिएका अभियान सञ्चालनमा रहे पनि यो समस्या मधेसमा अझै रहेको तथ्याङ्कले देखाएको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँले प्रकाशित गरेको तथ्याङ्कमा मधेसमा अझै १० वर्ष नपुग्दै विवाह हुने पनि पाइएको उल्लेख छ ।

    यद्यपि यस्तो सङ्ख्या शून्य दशमलव दुई ०.२ मात्र छ । त्यसैगरी १० देखि १४ वर्षभित्र विवाह हुने ९.३ र १५ देखि १७ वर्षभित्र विवाह हुने २७.७ प्रतिशत छन् । यसैगरी १८ देखि २० वर्षमुनिका ३९.५ प्रतिशत रहेका तथ्याङ्कमा उल्लेख छ । पछिल्लो १८ देखि २० वर्ष उमेर समूहभित्र पुरुषको उमेर सालाखाला २० वर्ष देखिए पनि महिला भने १७ को हाराहारी पाइएका छन् ।

    मधेसमा १८ वर्ष नपुग्दै विवाह गर्ने महिलाको सङ्ख्या ४२.४ प्रतिशत छ । यो सङ्ख्या महोत्तरीमा अझ बढी ४३.३ प्रतिशत रहेको बालविवाहविरुद्ध सामाजिक अभियानमा विभिन्न सामाजिक सङ्घसंस्थासँग सहकार्य गर्दै आएको अन्तरराष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेन बर्दिबास कार्यालयका सञ्चार अधिकृत झम्केश्वर ओझा बताउँछन् । मधेसमा पहिलो विवाहको औसत उमेर १८ वर्ष देखिन्छ । जसमा पुरुषको २० वर्ष र महिलाको १७ वर्ष रहेको तथ्याङ्कमा उल्लेख छ । यी उमेर समूहभित्रको विवाहमा पुरुषभन्दा महिला बढी देखिएका छन् । यस्तै २१ देखि २४ वर्ष उमेरभित्र विवाह हुने मधेसमा १४.५ प्रतिशत छन् ।

    यद्यपि तथ्याङ्कमा उल्लेख यो अवस्थामा २०७८ सालको जनगणनायता निकै सुधार भएको जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्ण बताउँछन् । “हामीकहाँ बालविवाह अझै सामाजिक समस्याको रूपमा छँदैछ, यद्यपि २०७८ यता यसमा निकै सुधार भएको छ”, कर्ण भन्छन्, “यसबीचमा बालविवाहविरुद्धका सामाजिक अभियानको निरन्तरताले अवस्थामा निकै सुधार आएको छ ।” जिल्लाका १५ मध्ये सात स्थानीय तहले विभिन्न सामाजिक सङ्घसंस्थासँगको साझेदारीमा बालविवाहविरुद्धको अभियानलाई निरन्तरता दिएपछि ती ठाउँमा निकै सुधार आएको कर्णको भनाइ छ ।

    त्यसैगरी, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले २०७८ सम्म विकराल सामाजिक समस्या रहेको बालविवाह अब आफ्नो नगर क्षेत्रमा करिब शून्यमा झारिएको बताए । “हामीले त्यसयता बर्सेनि विवरण सङ्कलन, छोरी शिक्षा कार्यक्रम र किशोरी शिक्षासँगसँगै बालविवाहविरुद्ध बस्तीबस्तीमा अभियान टोली सञ्चालन गरेपछि यसको सकारात्मक परिणाम आएको छ”, उनी भन्छन्, “यो वर्ष बालविवाहका घटना देखिएका छैनन् ।”

    बालविवाहको अवस्था विकराल देखिएपछि मधेस प्रदेश सरकारले २०७८ सालमै सन् २०३० सम्म प्रदेशलाई बालविवाह मुक्त बनाउन १० वर्षको रणनीतिक योजना अघि बढाएको छ । यसअघि प्रदेश बालअधिकार ऐन, २०७७, सारभूत लैङ्गिक समानता नीति, २०७८, बाल सहभागितासम्बन्धी कार्यविधि, २०७८, बालिका सशक्तीकरण तथा संरक्षण ऐन, २०८१ र सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानले पनि बालविवाहलाई दुरुत्साहन गर्दा पछिल्ला वर्षहरूमा उत्साहजनक सुधार हुँदै आएको जिल्ला समन्यव समितिका प्रमुख कर्णको भनाइ छ ।

  • कँडेलको चरा पाल्ने रहर : वनकुखुरा पालनमा ५० लाख लगानी

    कँडेलको चरा पाल्ने रहर : वनकुखुरा पालनमा ५० लाख लगानी

    ढोरपाटन (बागलुङ), २८ कात्तिक । घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले यहाँ आउने धेरैलाई आकर्षित गर्छ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका स्थानीय चुडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो ।

    कँडेलले २०७५ सालमा रहरले काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज ल्याएर पाले । सुरुमा उहाँलाई व्यावासयिक रूपमा पालन गर्छु भन्ने लागेको थिएन । तर पछि धेरै पाल्ने चाहना जागेपछि अहिले उनको कालिजपालन व्यवसाय फस्टाउँदै गएको हो । रु २४ हजारमा चारवटा कालिज ल्याएर थालेको व्यवसायमा कँडेलले हालसम्म रु ५० लाख बढी लगानी गरिसकेका छन् । दश रोपनी क्षेत्रफलमा कँडेलले तारबार लगाएर कालिज हुर्काइराखेका छन् ।

    कालिज व्यवसाय राम्रो हुँदै गएपछि उनले चल्लासमेत आफैँ उत्पादन गर्न थालेका छन् । वनमा पाइने कालिज कँडेलले व्यावसायिक रूपमै पाल्न थालेपछि स्थानीयसमेत दङ्ग छन् । बाह्र वर्ष अगाडि स्थायी रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएका कँडेल स्वास्थ्यकर्मी हुन् । बिहानबेलुका कालिजको रेखदेख गर्ने उहाँ दिउँसोको समयमा बुर्तिबाङ प्रादेशिक अस्पतालमा काम गर्छन् । सानैदेखि चराचुरुङ्गी समाउन र पाल्न रुचि राख्ने कँडेलले कालिजपालनमा थालेपछि टाढाटाढाबाट हर्ने आउनेको सङ्ख्या ठूलो छ ।

    सात वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर सुरु गरेको व्यवसाय राम्रो हुँदै गएपछि कँडेल उत्साहित छन् । अहिले उनको फार्ममा सानाठूला गरी करिब दुई हजार कालिज छन् । एक हजार ५०० बढी त बिक्रीका लागि तयार भएको कँडेलले बताए । दसैँतिहारको अवधिमा करिब दुई सय बढी कालिज बिक्री भएको सुनाउँदै पछिल्लो समय कालिज खोज्दै फार्मसम्म धेरै ग्राहक आउने गरेको उनले सुनाए । सुरुमा कालिज बिक्री गर्न निकै समस्या भएको भन्दै अहिले राम्रो बजार पाएको कँडेल बताउँछन् । प्रतिकालिज रु दुई हजारदेखि रु दुई हजार ५०० सम्ममा बिक्री गर्दै आएको उनको भनाइ छ ।

    “यो पेसा मेरो रहरको पेसा हो, मैले सुरुमा थोरै लिएर पालेको थिएँ, पछि यसलाई व्यावसायिक रूपमा गर्न सकिने सम्भावना देखेपछि फार्म निर्माण गरेर पाल्न थालेको हुँ, सात वर्षमा कालिजपालन कसरी गर्न सकिँदोरहेछ भन्ने बुझियो, कालिजका भाषा पनि बुझ्न थालियो”, उनले भने, “पहिले धेरै समस्या थियो, अहिले विस्तारै राम्रो हुँदै गएको छ, लगानी पनि बढाउँदै गएको छु ।”

    केही दिनअगाडि चितुवा फार्ममा पसेर एक सय ५० कालिज मारिदिँदा रु तीन लाख नोक्सानी व्यहोरेको उनले सुनाए । रुचिले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुसी छन् । कँडेलको कालिजपालनलाई बुबा तुलसीराम कँडेलले साथ दिएका छन् । यस वर्ष रु १५ लाखको कालिज बिक्री गर्ने लक्ष्य रहेको चुडामणिले बताए । पछिल्लो समय फार्म व्यवस्थित बन्दै गएपछि मागसमेत बढ्दै गएको कँडेलको भनाइ छ । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत आफैँ चल्ला उत्पादन गर्ने उनी बताउँछन् । उत्पादन बढ्दै गए पनि बजार पाउन भने मुस्किल पर्ने उनले सुनाए ।
    राष्ट्रिय समाचार समिति (रासस)

  • देशका अधिकांश भागमा मौसम सफा

    देशका अधिकांश भागमा मौसम सफा

    काठमाडौँ, २८ कात्तिकः हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

    त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छभने केही स्थानमा आंशिक बदली हुनेछ ।

  • थारू महिलाको पौरख :नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

    थारू महिलाको पौरख :नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

    राँझा ९बाँके०, २८ कात्तिक । नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्वाद बोकेर आएको छ । थारू महिलाको मिहिनेतले उत्पादन भएको यो ताजा उपजले अहिले नेपालगञ्जवासीलाई मात्रै लोभ्याएको छैन, महिला सशक्तीकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण पनि प्रस्तुत गरेको छ । प्रत्येक दिन बिहानीपख नेपालगञ्जको धम्बोझी चोक क्षेत्रमा थारू महिलाहरूको एउटा मिनीबजार नै लाग्ने गर्छ ।

    विषादीरहित र ताजा तरकारीको खोजीमा रहेका उपभोक्ताको यहाँ लर्को लाग्ने गर्दछ । नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी सुनीलसिंह हमाल विगत तीन वर्षदेखि आफ्नो भान्सामा यही गाउँको अर्ग्यानिक तरकारी पाक्ने गरेको अनुभव सुनाउँछन् । उनका अनुसार यो कार्य आर्थिक कारोबारमात्र नभइ थारू महिलाको सेवाभाव पनि हो ।

    मौसमअनुसार महिलाहरूले बिक्री गर्ने तरकारीमा बोडी, फर्सी, लौका, घिरौला, तीतेकरेलो, तोरी र भाजीको साग, काँक्रालगायत उपज प्रमुख छन् । यसबाहेक उनीहरूले अरहर र मसुराको दाल पनि बिक्री गर्ने गरेका छन् । ग्रामीण क्षेत्रका थारू महिलाका लागि यो कृषि पेसा केवल जीविकोपार्जनको साधनमात्र नभई स्वावलम्बनको आधार बनेको छ । बाँकेको बैजनाथ गाउँपालिका नौबस्तामा घरवरिपरि तरकारीखेती गरिरहेकी वसन्ती थारू परिवारको जीविकोपार्जन तरकारी बिक्रीबाटै चलेको छ । तरकारीको माग बढेपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफैँले उत्पादन गरेर बजारमा पुर्याउन थालेका छन् ।

    बर्दिया बढैयाताल गाउँपालिका–३ की महिला वडासदस्य दुसानी थारू त जनप्रतिनिधि भएर पनि दैनिक बर्दियाबाट नेपालगञ्ज अग्र्यानिक तरकारी ल्याएर बिक्री गर्छिन् । उनी विगत १० वर्षदेखि कृषि पेसामा संलग्न छिन् । उनको भनाइमा पहिले साइकलमा राखेर चोकचोकमा पुर्याउनुपर्ने तरकारी अहिले धम्बोझीमा सहजै बिक्री हुन्छ । विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्न उनी सफल छिन् । बर्दिया राजापुरकी श्यामकली थारू तरकारी बेचेर घरखर्च जुटाउन सहज भएको बताउँछिन् । गाउँबाट ल्याएको तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि यो पेसातर्फ अधिकांश थारू महिला आकर्षित भइरहेका छन् ।

    नेपालगञ्जको धम्बोझी क्षेत्रमा तरकारी बिक्री गर्ने थारू महिलाले भारतीय बजार रूपैडिहाको तरकारी बिक्रेताले पनि सँगै राखेर बिक्री गर्दा आफूहरूलाई समस्या भएको गुनासो गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले थारू महिलाहरूको यो मिहिनेत र अर्ग्यानिक तरकारी उपलब्ध गराउने कार्य सराहनीय रहेको बताए । उनले उनीहरूले उत्पादन गरेको तरकारी व्यवस्थित रूपमा बिक्री वितरणको व्यवस्था गराउन उपमहानगरपालिकाले आवश्यक पहल गरिरहेको जानकारी दिए । बाँके र बर्दियाका थारू महिलाहरूले आफ्नो पौरखबाट सहरलाई स्वस्थ तरकारीको उपलब्धतामात्र गराएका छैनन्, बरु स्थानीय उत्पादन, महिला नेतृत्व र दिगो कृषि प्रणालीको महत्वलाई पनि उजागर गरेका छन् । उनीहरूको यो अभियानले नेपालगञ्जको बजारमा गाउँको स्वाद र पौरखलाई पुनःस्थापित गरिरहेको प्रवक्ता रिजालको भनाइ छ ।

    रासस

  • अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध

    अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध

    काठमाडौँ, २८ कात्तिक । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार काठमाडौँ उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न प्रहरी इकाईमा आगजनी, तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजात जलेर नष्ट भएकाले निवेदक तथा पीडितसँग भएका कागजात एवं विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

    ती कागजात उपलब्ध भए अनुसन्धान प्रक्रियालाई सहज रूपमा अगाडि बढाउन सहज हुने प्रहरीको भनाइ छ । प्रहरीले नजिकको सम्बन्धित वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौँमा ती कागजात उपलबध गराइदिन अनुरोध गरेको छ ।

  • भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

    भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

    काठमाडौं, २८ कात्तिक २०८२ । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ । परिमार्जित राष्ट्रिय भवन संहितालाई बिहीबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ । नयाँ कोडले भवन मात्र नभएर जलविद्युत आयोजनाका बाँध, विद्युतगृह, सुरुङजस्ता भूमिगत संरचना निर्माणका लागि मार्गदर्शन प्रदान गर्नेछ ।


    शहरी विकास मन्त्री कुलमान घिसिङले यो परिमार्जित कोड देशको सुरक्षित भविष्य निर्माणका लागि कोशेढुङ्गा रहेको बताए । मन्त्री घिसिङले नयाँ कोड अनुसार बनाइएका भवनबाट आगामी दिनमा आउनसक्ने भूकम्पबाट हुने ज्यान र सम्पत्तिको हानिलाई न्यून बनाउने विश्वास व्यक्त गरे । स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई नयाँ भवन निर्माणमा कोडलाई काडाइकासाथ लागू गर्न आह्वान उनले आग्रह गरे ।


    परिमार्जित कोडमा ७५३ वटै स्थानिय तहलाई समेट्ने गरी नयाँ सिस्मिक जोनिङ्ग म्याप (भूकम्पीय क्षेत्रगत नक्सा) तयार गरिएको छ । जसले स्थानअनुसार डिजाइनमा स्पष्ट दिशानिर्देश गर्छ । माटोको वर्गीकरणमा सुधार गर्दै काठमाण्डौ उपत्यकाको माटोको प्रकार सम्बन्धमा विशेष नक्सा समावेश गरिएको छ । नयाँ लोड संयोजन सूत्रहरूमा हिमपात, तरल पदार्थको दवाव र माटोको दवाव समावेश गरी लोड संयोजन गरी स्थायित्व जाँचको लागि नयाँ समीकरण समेत अद्यावधिक गरिएको छ ।


    संरचनाको लचिलोपन सुधार गर्न नयाँ मापदण्ड समावेश गरी भवनहरूलाई भूकम्पका बेला थप ऊर्जा वहन गर्न सक्ने वनाइएको छ । अग्ला भवनहरुको स्थायित्वको लागि सफ्टस्टोरी र टोर्सनल इरेगुलरिटीमा नियन्त्रणको विषयमा सुधार गरिएको छ । यसबाट भवन निर्माणमा हुने खर्च कटौती हुनेछ ।


    पेशागत डिजाइनर,स्ट्रक्चरल इन्जिनियरर्स एसोसिएसन (सिनेप), पेशागत समाज, विश्वविद्यालयका प्राज्ञहरुलगायतका सरोकारवालासँग छलफल तथा अन्तक्रिया गरी प्राप्त सुझावलाई समेटेर नयाँ कोडा तयार गरिएको हो । भवन संहितालाई समय सापेक्ष प्रयोगकर्तालाई सहज र सरल हुने गरी प्रयोग गर्न सक्ने बनाउन विभिन्न देशले प्रयोगमा ल्याएका कोडको व्यवस्थालाई समेत अध्ययन गरी आन्तरिक तथा वाह्य विशेषज्ञहरु समक्ष छलफल गराई प्राविधिक रुपमा परिमार्जन गरिएको छ ।

    पुरानो कोडमा केही अन्तर्राष्ट्रि मापदण्डहरू अपुग भएका कारण डिजाइनमा प्राविधिक कठिनाइ देखिएको थियो । परिमार्जित कोडले भवन भूकम्पमा कम क्षति हुने, मानव जीवनको सुरक्षा बढ्ने, डिजाइन र निर्माणमा एकरूपता र पारदर्शिता कायम हुने, स्थानीय तहका भवन स्वीकृति प्रक्रियामा वैज्ञानिक मूल्याङ्कन गर्न सजिलो हुने, दीर्घकालीन लागत घट्ने, मर्मतसम्भार सरल हुने, इन्जिनियर र डिजाइनरका लागि स्पष्ट दिशानिर्देश गर्ने छ ।

  • युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

    युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

    दोधारा चाँदनी (कञ्चनपुर), २८ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्थे ।
    उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गरे । एक दिन उहाँका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उनको मोबाइलमा पठाउनुभयो । “इन्टरनेटमा भिडियो देखेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ”, महराले भने, “हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो घर खर्च चलाउनै समस्या हुन्थ्यो, अहिले मजदुरीभन्दा यसमा फाइदा छ ।” उनले दुई वर्षअघिदेखि विजयसालको काठ र बाँसबाट गिलास, जग, बोत्तल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनालगायत सामग्री बनाउने गरेको बताए ।

    उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री रु पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुने गरेका छन् । युट्युबकै सहायताबाट अहिले उहाँले काठका भाँडाकुँडा तयार पार्दै आएका छन् । “अहिले मासिक रु ४० हजारभन्दा बढी आम्दानी हुन्छ, पहिला महिनौँसम्म खाली बस्नुपथ्र्यो”, महराले भने, “यसरी राम्रो आम्दानी गर्न सकिएला भन्ने साचेकै थिइनँ ।” अहिले उनले उत्पादन गरेका सामग्री खरिद गर्न घरमै पुग्छन् । उनले उत्पादन गरेका सामग्री बिक्री गर्न समस्या नरहेको बताए । “माग त धेरै आउँछ, मागअनुसार मैले उत्पादन गर्न सकेको छैन एक्लै छु”, उनले भने, “यहाँका सामुदायिक वनले राम्रो गरेका छौँ भनेर कच्चा पदार्थ दिने गरेका छन् ।”

    पछिल्लो समय युट्युबलगायत विभिन्न सामाजिक सञ्जालमा मानिस लामो समय बिताउने गरेका छन् । तर यी सञ्जालहरूको सदुपयोग गर्न जानेमा धेरै लाभ लिन सकिन्छ भन्ने एक उदाहरणीय पात्र बनेका छन् महरा । उनको पारिवारिक समस्याका कारण ज्याला मजदुरी गर्दागर्दै यहाँसम्म पुगेको महराको भनाइ छ । “आर्थिक अभावले छिटो पैसा कमाउने भन्ने सोच थियो । यसमा मलाई यति राम्रो आम्दानी होला भन्ने कल्पना गरेको थिइनँ”, महराले भने, “अहिले सन्तुष्ट छु राम्रै कमाइ भइरहेको छ ।” उहाँले स्वदेशमै लगनशील भएर आफ्नो सीपको सदुपयोग गरे यहाँ मनग्य आम्दानी गर्न सकिने बताए ।

  • निवर्तमान महानिरीक्षक खापुङलाई स्थान हद लगाउन पत्राचार

    निवर्तमान महानिरीक्षक खापुङलाई स्थान हद लगाउन पत्राचार

    काठमाडौँ, २७ कात्तिकः गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले आजदेखि सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्थान हद लगाउन पत्राचार गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले आज प्रेस विज्ञप्ति जारी गरी उनलाई गत भदौ २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझका लागि स्थान हद लगाइएको उल्लेख गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, “कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागू हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने ।” आयोगले यसअघि, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसहित पाँचजनालाई स्थान हद लगाउने निर्णय गरेको थियो ।

  • लामिछाने र जोशीको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन आदेश

    लामिछाने र जोशीको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन आदेश

    लुम्बिनी, २७ कात्तिकः उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट सक्कल प्रमाण मिसिल झिकाउन आदेश दिएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आज न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सो आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

    बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको सुनुवाइका लागि आज तोकिएको पेसीमा छलफल हुँदा सर्वोच्च अदालतबाट यस मुद्दामा यसअघि भएको आदेशको सक्कल मिसिल झिकाउने आदेश भएको सूचना अधिकारी कुँवरले जानकारी दिए ।
    यसअघि यही कात्तिक २० गतेको पेशीमा न्यायाधिश वासुदेव आचार्य र अर्यालको इजलासमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको सुरु आदेशलगायत अन्य फाइल मगाउने आदेश भएको थियो ।

    सोही आदेशअनुसार जिल्ला अदालतबाट मिसिल प्राप्त भएपछि आजका लागि पेशी तोकिएको हो । यसअघि कात्तिक १३ गते तोकिएको पेशी जोशीका कानुन व्यवसायीको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधिशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

    बिगो बमोजिमको रकम बुझाइ थुना बाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले लामिछानेसँगै जोशीको फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई रु १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।

    सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बिगो बराबरको रु दुई करोड ७४ लाख ८४ हजारको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । गत साउन २६ गते जिल्ला अदालतका न्यायाधिश नारायण सापकोटाको इजलासले लामिछानेको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

    लामिछानेले जस्तै जोशीले त्यति नै बिगोवापतको जमानत पेस गरेका थिए । तर दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश जिल्ला अदालतले गरेको थियो । सहकारी संस्था रकम ठगी र सङ्गठित अपराध अभियोगमा अदालतको आदेशबाट लामिछानेलाई ललितपुरको नख्खु कारागारमा र जोशीलाई भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।

  • लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

    लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

    काठमाडौँ, २७ कात्तिकः नेपाल स्काउटको लैनचौरस्थित जग्गामा खड्का ल्याड डेभलपर प्रालिले निर्माण गरेको संरचनालाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ । स्काउटले बाँकी वक्यौता तिर्न यही कात्तिक २० गते उक्त कम्पनीलाई सातदिने सूचना जारी गरेको थियो । उक्त कम्पनीले बुधबारसम्म बक्यौता नतिरेपछि स्काउटले ती संरचना हटाइदिन काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको थियो ।

    स्काउटको अनुरोधमा महानगर प्रहरी बलको टोली आज ती संरचना भत्काएको महानगरीय प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले राससलाई जानकारी दिए । स्काउटका जग्गामा रहेका पार्टी प्यालेस, रेष्टुरेन्टलगायत संरचनाको नक्शा पाससमेत नरहेको उनले बताए । यो संरचना पूर्वऊर्जा मन्त्री दीपक खड्काको कम्पनीले बनाएको हो ।

  • अब विदेशबाटै नेपालीले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने

    अब विदेशबाटै नेपालीले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने

    काठमाडौँ, २७ कात्तिकः नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन प्रणालीबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने सुविधा सुरु भएको बताएकी छिन् । उक्त सूचनाअनुसार राष्ट्रिय परिचयपत्र भएका नागरिकले निर्वाचन आयोगको वेवसाइटमा प्रि–रजिष्ट्रेशन फारम भरेपछि बायोमेट्रिकका लागि कार्यालय जानुपर्ने बाध्यता हटेको छ ।

    मतदाता दर्ता प्रक्रिया चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा राष्ट्रिय परिचयपत्रको विवरण मिलान गरी मतदाता परिचयपत्रसँग जोड्ने प्रक्रिया सुरु हुनेछ । दोस्रो चरणमा देखिएका विवरण पुनःजाँच गरी त्रुटि भए सच्याउने व्यवस्था गरिएको छ । तेस्रो चरणमा मतदानस्थल छनोट गर्न तथा नयाँ बसोबास वा विवाहका कारण ठेगाना परिवर्तन भए आवश्यक कागजात अपलोड गर्न सकिनेछ । चौथो चरणमा सबै विवरण अन्तिम पटक जाँच गरी फारम अनलाइनमार्फत पेस गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया पूरा हुनेछ ।

  • कालीगण्डकी कोरिडोरः लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

    कालीगण्डकी कोरिडोरः लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

    म्याग्दी, २७ कात्तिकः कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो । बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा दुई किलोमिटर ढलान भइसकेको छ”, उनले भने ।


    यसअघि मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर कालोपत्र भएको थियो । मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ साल चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो ।