Category: समाचार

  • दिल्लीमा विष्फोटपछि अमेरिकाले जारी गर्यो सुरक्षा चेतावनी

    दिल्लीमा विष्फोटपछि अमेरिकाले जारी गर्यो सुरक्षा चेतावनी

    २५ कात्तिक, काठमाडौं । सोमबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा भएको विष्फोटपछि अमेरिकाले सुरक्षा चूनौति जारी गरेको छ । लाल किल्ला मेट्रो स्टेशन नजिकै भएको विष्फोटमा अहिलेसम्म ८ जनाको ज्यान गइसकेको छ । विष्फोटको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

    भारतले कैयौं राज्यमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । अमेरिकी दूतावासले भीडभाडमा नजान र सुरक्षा सतर्कता अपनाउन अमेरिकी नागरिकलाई अनुरोध गरेको छ । स्थानीय सञ्चार माध्यमबाट निरन्तर अपडेट लिन समेत आह्वान गरेको छ ।

  • अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

    अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

    वासिङ्टन, २४ कात्तिक (रासस–एएनआई) । अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा आइतबार दुर्लभ सप्ताहन्त सत्रका लागि आइतबार सिनेट पुनः बसेको छ । सदनले पारित गरेको खर्च विधेयकलाई अगाडि बढाउने वा नगर्ने निर्णय गर्दै सरकार पुनः सञ्चालन गर्ने बाटो खुलाउने उद्देश्य रहेको छ ।

    सिनेटमा निरन्तर प्रस्ताव अघि बढाउन कम्तीमा ६० मत आवश्यक रहेको छ । यो द्विदलीय सहमतिलाई केन्द्रमा राखिएको प्रयासले हप्तौँ लामो गतिरोध अन्त्य गर्ने सम्भावना देखाएको छ । सिबिएस न्युजका अनुसार मतदानअघि सिनेटमा एउटा सहमति भएको थियो जहाँ कम्तीमा आठ डेमोक्रेट सिनेटर कोषसम्बन्धी प्रस्तावलाई समर्थन गर्न तयार थिए । यो सहमति सिनेट रिपब्लिकन, मध्यमार्गी डेमोक्रेट र ह्वाइट हाउसबीचको केही दिनदेखिको वार्ताबाट सम्भव भएको हो ।

    सिनेटका बहुमतका नेता जोन थुनले सदनद्वारा पारित प्रस्तावलाई अघि बढाउने र त्यसपछि ‘मिनीबस’ भनेर चिनिने व्यापक विनियोजन प्याकेजमार्फत लामो अवधिको सरकारी कोष विस्तार गर्ने रणनीति तयार पारिरहनुभएको छ । सिनेटका विनियोजनकर्ताहरूले आइतबार तीन दीर्घकालीन खर्च विधेयकको पाठ सार्वजनिक गरे । उक्त विधेयकले जिओपीको शटडाउन समाधान योजनाको आधार बनाएको छ ।

    सिएनएनका अनुसार यो सम्झौता सिनेटका नेता थुन, ह्वाइट हाउस र डेमोक्रेटिक सिनेटर जीन शाहिन (न्युह्याम्पशायर), म्यागी हसन (न्युह्याम्पशायर) र स्वतन्त्र सिनेटर एङ्गस किङ (माइन) बीच भएको हो । सम्झौतामा डेमोक्रेटहरूको पुरानो माग अनुसार स्वास्थ्य बीमा कर क्रेडिट विस्तार गर्ने भविष्यको मतदानसमेत समावेश गरिएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पत्रकारहरूसँग कुरा गर्दै सटडाउन अन्त्य हुने आशा प्रकट गरे । उनले भने, “हामी सटडाउनको अन्त्य नजिकै छौँ । हामीले अवैध आप्रवासीहरूलाई कुनै पनि रकम दिने सहमति गरेका छैनौँ र मलाई लाग्छ डेमोक्रेटहरूले अब यो बुझिसकेका छन् । चाँडै नै समाधान हुनेछ ।”

    सिएनएनका अनुसार सम्भावित सम्झौताले सरकार पुनः सञ्चालन गर्न अस्थायी ‘स्टपग्याप’ उपायमार्फत जनवरीसम्म कोष विस्तार गर्नेछ । यो प्रमुख सङ्घीय एजेन्सीहरूलाई बजेट प्रदान गर्ने ठूलो विनियोजन प्याकेजसँग जोडिएको छ । आइतबार साँझ ८ः३० देखि ९ बजे ९स्थानीय समय० बीच मतदान हुने अपेक्षा गरिएको थियो ।

    सिनेटका डेमोक्रेटिक नेताहरूले अहिलेसम्म सार्वजनिक रूपमा सहमत समर्थन जनाएका छैनन् । तर हाउस डेमोक्रेटहरूले प्रस्तावित सम्झौताप्रति कडा आलोचना गर्दै सोमबारका लागि आफ्नै ककस बैठक बोलाएका छन् । यदि प्रस्ताव पारित भयो भने सिनेटले हाउस–पारित स्टपग्याप विधेयकमाथि मतदान गर्नेछ । कम्तीमा आठ डेमोक्रेटहरूको समर्थन जुटेपछि यसमा व्यापक कोष प्याकेज समावेश गरी अन्तिम पारितिका लागि पुनः सदनमा पठाइनेछ ।

    दुवै सदनबाट अनुमोदन भएपछि विधेयक राष्ट्रपति ट्रम्पको डेस्कमा पुग्नेछ, जसले एक महिनाभन्दा बढी समयदेखि सङ्घीय सेवा क्षतविक्षत भएको सटडाउन अन्त्य गर्नेछ । यद्यपि, सम्पूर्ण प्रक्रिया पूरा हुन अझ केही दिन लाग्ने देखिन्छ ।

  • लाल किल्ला विष्फोटबारे अहिलेसम्म के पत्ता लाग्यो ?

    लाल किल्ला विष्फोटबारे अहिलेसम्म के पत्ता लाग्यो ?

    नयाँदिल्ली, २४ कात्तिक (रासस–एएफपी) । भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ ७ बजे दिल्लीको लाल किल्लानजिकै भएको विस्फोटबारे सबै सम्भावनालाई ध्यानमा राखी अनुसन्धान गरिने बताएका छन् । उनले रेडफोर्ट नजिकैको सुभाष मार्गको ट्राफिक सिग्नलमा हुण्डाई आई २० कारमा विस्फोट भएको र केही पैदल यात्रीहरू घाइते भएका छन् भने केही सवारी साधनमा क्षति पुगेको जानकारी दिए । गृहमन्त्री शाहले एएनआईसँग भने, “दिल्ली क्राइम ब्रांच र दिल्ली स्पेशल ब्रान्चको टोली विस्फोटको सूचना पाएको १० मिनेटभित्र घटनास्थलमा पुगेको थियो।” उनका अनुसार घटनामा केही मानिसले ज्यान गुमाएका छन् ।

    अमित शाहले भने, “टोलीहरूले विस्तृत अनुसन्धान सुरु गरेका छन् र यसका लागि नजिकैका सबै सीसीटीभी क्यामेराहरूको जाँच गर्न आदेश दिइएको छ।”
    ’मैले दिल्लीका सीपी र विशेष शाखाका इन्चार्जसँग पनि कुरा गरेको छु । घटनास्थलमा दिल्ली सीपी र विशेष शाखा प्रमुख उपस्थित छन्। हामी सबैसम्भावनालाई ध्यानमा राखेर गहन अनुसन्धान गर्नेछौँ । सबै विकल्पहरूको तुरुन्त अनुसन्धान गरिनेछ र हामी परिणामहरू सार्वजनिक गर्नेछौँ,” उनले भने ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा भएको विस्फोटको अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री अमित शाहसँग कुरा गरी घटना र त्यसपछिको अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रिय राजधानीको लाल किल्ला मेट्रो स्टेसन नजिकै विस्फोटमा आठ जनाको मृत्यु भएको र सात जना घाइते भएका स्थानीय एक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टले पुष्टि गरेका छन् ।

    स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपु¥याउँदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन् । यसअघि, दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका थिए । उनले भने, “अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।”

  • इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

    इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

    क्विटो, २५ कात्तिक (रासस–एएफपी) । इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ । बिहान भएको सशस्त्र झडपमा चार जनाको मृत्यु भएपछि दिउँसो श्वासप्रश्वासमा समस्या भएर थप २७ कैदीको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । जेल प्रशासन एसएनएआईले एक विज्ञप्तिमा मचाला जेलभित्र मृत फेला परेकाहरू ‘आपसी सङ्घर्षका क्रममा श्वासप्रश्वास अवरुद्ध भएर तुरुन्त मृत्यु भएका’ हुन् । घटनाको कारण र विस्तृत विवरण स्पष्ट गर्न फरेन्सिक टोली अहिले पनि स्थलमै कार्यरत छ ।

    स्थानीय बासिन्दाहरूले जेलभित्रबाट गोली, विस्फोट र सहयोगका लागि कराएको आवाज सुनेका थिए । बिहान ३ बजे तिर सुरु भएको हिंसा केही घण्टामै नियन्त्रणबाहिर पुगेको थियो । एसएनएआईका अनुसार प्रारम्भिक भिडन्तमा चार जनाको मृत्यु भएको र ३३ जना कैदीसहित एक प्रहरी अधिकारी घाइते भएका थिए । त्यसपछि विशेष प्रहरी टोलीले तुरुन्तै जेलमा प्रवेश गरी नियन्त्रण पुनःस्थापना गरेको बताइएको छ ।

    अधिकारीहरूले मृतकहरूको पहिचान अझै सार्वजनिक गरेका छैनन् । घटनाको कारण प्रतिस्पर्धी लागुऔषध तस्करी गिरोहबीचको अन्तरद्वन्द्व हुनसक्ने अनुमान गरिएको छ । इक्वेडरका जेलहरू पछिल्ला वर्षहरूमा लागुऔषध तस्करी गिरोहहरूको प्रमुख सञ्चालन केन्द्र बनेका छन्, जसले अवैध व्यापार नियन्त्रणका लागि एक–अर्कासँग हिंसात्मक सङ्घर्ष गर्दै आएका छन् । सन् २०२१ यताका विभिन्न दङ्गामा ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ ।

    सरकारले यस महिनामा अर्को प्रान्तमा निर्माण सम्पन्न भएको नयाँ अधिकतम सुरक्षा जेल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यही स्थानान्तरण योजनासँग पछिल्लो हिंसा जोडिएको हुनसक्ने अधिकारीहरूको विश्वास छ । गत सेप्टेम्बरमा मचाला जेलमै भएको अर्को भिडन्तमा १३ कैदी र एक जेल अधिकारीको मृत्यु भएको थियो । वर्तमान घटना त्यसै शृङ्खलाको अर्को दुःखद अध्याय बनेको छ ।

  • नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु

    नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु

    कानो (नाइजेरिया), २४ कात्तिक (रासस\एएफपी) । उत्तरपूर्वी नाइजेरियामा प्रतिद्वन्द्वी जिहादी समूहहरूबीच भएको भीषण झडपमा करिब २०० जनाको ज्यान गएको बताइएको छ । अशान्त लेक चाड क्षेत्रमा भएको उक्त रक्तपातपूर्ण सङ्घर्षबारे गुप्तचर निकाय, स्थानीय मिलिसिया र जिहादी स्रोतहरूले सोमबार एएफपीलाई जानकारी दिएका हुन् ।

    बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका (आइएसडब्लुएपी) बीच चाड तालको किनारमा अवस्थित डोगोन चिकु क्षेत्रमा आइतबारदेखि भीषण युद्ध सुरु भएको थियो । दुवै समूहबीच वैचारिक विभाजनका कारण लामो समयदेखि तनाव रहँदै आएको भए पनि यसपटक क्षेत्रीय नियन्त्रणका लागि लडाइँ चरममा पुगेको बताइएको छ ।

    नाइजेरियाली सेनालाई सहयोग गर्ने जिहादीविरोधी मिलिसियाका सदस्य बाबाकुरा कोलाले भने, “हामीले प्राप्त गरेको विवरणअनुसार लडाइँमा करिब २०० जना बोको हरामका लडाकू मारिएका छन् ।” त्यसबेलादेखि हिंसक गतिविधि त्यागेर यस क्षेत्रमा जिहादीहरूका गतिविधि निगरानी गर्दै आएका बोको हरामका एक पूर्व लडाकू सादिकुले पनि भने, “झडपमा करिब २०० जना आइएसडब्लुएपीका लडाकू मारिए र उनीहरूको ठूलो मात्रामा हतियार पनि जफत गरियो ।”

    सादिकुका अनुसार बोको हरामले यस युद्धमा आफ्ना चार जना लडाकु गुमायो । उनले भने, “दुई समूहले एकअर्कामाथि प्रत्यक्ष आक्रमण गर्न थालेपछि यो पछिल्ला वर्षहरूको सबैभन्दा भीषण झडप हो ।” सादिकु हाल बोर्नो राज्यको राजधानी मैदुगुरीमा बसोबास गर्दै आउनुभएको छ । उक्त क्षेत्र लामो समयदेखि इस्लामिक उग्रवादको केन्द्रविन्दु रहँदै आएको छ ।

    यसैबीच, नाइजेरियाको एक गुप्तचर स्रोतले पनि झडपमा ‘१५० भन्दा बढीको मृत्यु भएको’ अनुमान गर्दै घटनाको परिणाम नजिकैबाट पछ्याइरहेको बताएको छ । स्रोतले भनेको छ, “हामी यो लडाइँबारे सचेत छौँ र यसले दुवै समूहको क्षमतामा ठूलो आघात पुर्‍याएको छ, जुन हाम्रो सुरक्षाका लागि सकारात्मक सङ्केत हो ।”

    आइएसडब्लुएपीले इस्लामिक स्टेटसँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै अलग्गिएपछि आइएसडब्लुएपी र बोको हरामबीचको वैचारिक मतभेद सन् २०१६ मा सुरु भएको हो । त्यसयता, दुवै समूहबीच चाड ताल क्षेत्रको नियन्त्रणका लागि अनेकौँ पटक रक्तपातपूर्ण युद्धहरू भएका छन् । लेक चाड क्षेत्र नाइजेरिया, नाइजर, चाड र क्यामरुनको सीमामा पर्ने रणनीतिक क्षेत्र हो । यहाँ जिहादीहरूले प्रायः आफ्नो गतिविधि सञ्चालन गर्दै आएका छन् । पछिल्ला केही वर्षयता नाइजेरियाली सेनाले उग्रवादीहरूविरुद्ध कारबाही तीव्र पारेको भए पनि बोको हराम र आइएसडब्लुएपीबीचको आन्तरिक सङ्घर्षले क्षेत्रलाई अझ अस्थिर बनाएको छ ।

    स्थानीय बासिन्दाहरूका अनुसार लडाइँपछि धेरै शवहरू अझै पनि क्षेत्रका दलदली भागमा फेला परिरहेका छन् र बाँकी बाँचेकाहरू वरपरका गाउँहरूमा भागेका छन् । सुरक्षाकर्मीहरूले भने अझै पनि युद्धस्थलको नियन्त्रण लिन प्रयास जारी राखेका छन् । यो पछिल्लो घटनाले लेक चाड क्षेत्रको अस्थिर सुरक्षास्थितिलाई फेरि उजागर गरेको छ, जहाँ दशकौँदेखि उग्रवादी हिंसाले हजारौँ नागरिकको ज्यान लिइसकेको छ र लाखौँलाई विस्थापित पारेको छ ।

  • ७० जनालाई राष्ट्रपति ट्रम्पले गरे आममाफीको घोषणा

    ७० जनालाई राष्ट्रपति ट्रम्पले गरे आममाफीको घोषणा

    वासिङ्टन, २४ कात्तिक (रासस÷एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनलाई बिथोल्ने प्रयास गरेको आरोप लागेका शीर्ष सहयोगीहरूलाई आममाफी दिएका छन् । ट्रम्प प्रशासनका ‘पार्डन एटोर्नी’ एड मार्टिनले एक्समा भनेका छन्, “राष्ट्रपतिका पूर्व वकिलहरू रुडी गिउलियानी र सिड्नी पावेल र ट्रम्पका पूर्व कर्मचारी प्रमुख मार्क मिडोजलगायत ७० भन्दा बढी व्यक्तिहरूको सूची सार्वजनिक गर्दै उनीहरूलाई ‘पूर्ण र बिना शर्त’ माफी दिइएको छ।”

    सूचीमा रहेका नामहरू एरिजोना, जर्जिया र मिशिगन लगायतका व्यापक चुनावी प्रतिस्पर्धा हुने राज्यहरूमा मतदाता नामावली परिवर्तन गर्ने योजनामा मुछिएका थिए । ती राज्यहरूमा जो बाइडेनले सन् २०२० को राष्ट्रपति दौडमा विजय हाँसिल गर्न सफल भएका थिए । ट्रम्प र उनका सहयोगीहरूको समर्थनमा रहेको त्यो षड्यन्त्रले प्रदर्शनलाई बढावा दिन मद्दत गरेको थियो र सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटल (संसद भवन_मा आक्रमण गर्ने दङ्गाग्रस्त भीडमा परिणत भएको थियो।

    चार पृष्ठको क्षमादानको पत्रमा नाम उल्लेख भएकाहरू मध्ये कसैलाई पनि संघीय स्तरमा आरोप लगाइएको थिएन तर यो निर्देशनले भविष्यका प्रशासनहरूलाई कथित सह–षड्यन्त्रमा संलग्न सहयोगीहरूलाई मुद्दा चलाउनबाट रोक्न सक्छ। माफी पाएकाहरूमा चुनाव परिणामको प्रमाणीकरण रोक्नको लागि रणनीतिहरू प्रस्ताव गरेका जोन इस्टम्यान र लामो समयदेखि ट्रम्पका सल्लाहकार रहेका बोरिस एप्स्टेन पनि रहेका छन्।

    ट्रम्पले लामो समयदेखि सङ्घीय अपराधका लागि आफुलाई नै माफी दिने शक्ति पनि उनीसँग रहेको बताउँदै आएका थिए । तर उनले अझै पनि यो सिद्धान्तको परीक्षण गरेका छैनन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनसँग सम्बन्धित वा मतदानमा धाँधली भएको पर्दाफास गर्ने प्रयासका लागि माफी दिने पत्रमा ट्रम्पले भनेका छन्, “यो माफी अमेरिकी राष्ट्रपतिलाई लागू हुँदैन ।”

  • स्थानीय स्तरमा उन्नत जातका धानखेतीतर्फ आकर्षण

    स्थानीय स्तरमा उन्नत जातका धानखेतीतर्फ आकर्षण

    गलेश्वर (म्याग्दी) २५ कात्तिकः गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान रमाइरहेका छन् । धानखेतीका लागि उर्वरभूमिका रुपमा परिचत ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, बाबियाचौर, राखुलगायतका फाँटहरुमा रैथाने जातलाई विस्थापित गर्दै उन्नत जातका धान लगाउने चलन बढेको छ ।

    करिब दुई दशकअघिसम्म म्याग्दीका सबैजसो फाँट खेतहरूमा गौरिया, गुडुरा, जेठोबुढो, ताकमारे, जौधानलगायतका रैथाने जातिका धान लगाउने चलन थियो । तर, अहिले यहाँका फाँटमा स्थानीय जातको धान पाउन करिब मुस्किल हुने भएको छ । जिल्लास्थित कृषि प्राविधिकका अनुसार अहिले यहाँ स्थानीय जातका धान लगाउने चलन करिब हराइसकेको छ । रैथाने धानका विकल्पमा नयाँ–नयाँ उन्नत जातका धान लगाउने चलन बढ्दो छ । बेनी नगरपालिका–१ रत्नेचौरमा उत्पादन हुने औषधीय गुणसमेत भएको ‘जौधान’ लगाउन छोडेपछि यहाँस्थित लोकप्रिय एवं प्रसिद्ध ‘भुजा’ इतिहासमा सीमित बन्न पुगेको छ ।

    कृषि ज्ञान केन्द्र म्याग्दीले स्थानीय जातको धानको बीउ संरक्षण र उत्पादनमा जोड दिए पनि कृषकले नै उन्नत जातको धान रोज्न थालेपछि स्थानीय धान संरक्षण अभियान सङ्कटमा परेको स्पष्ट गरेको छ । जिल्लाको मङ्गला गाउँपालिकाले रैथाने जातका धानको बीउ संरक्षणका लागि पहल गरिरहेको कृषि प्राविधिक प्रशान्त पौडेल बताउँछन् । रैथाने जातका धान बालीमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले रोग प्रतिरोधी जातसँग ‘क्रसिङ’ गरेर परम्परागत जातहरू संरक्षण गर्ने अभियानमा पालिका जुटेको छ । लोपोन्मुख जातको संरक्षणका लागि बीउ सङ्कलन गरी खुमलटारस्थित ‘जिन’ बैङ्कमा राख्ने गरिएको प्राविधिक पौडेल बताउँछन् ।

    वासनामय ‘गौरिया’ धान अहिले बगरफाँटका खेतमा पाइनै छाडेको स्थानीय पदमपाणि शर्मा बताउँछन् । उनका अनुसार पहिलापहिला बगरफाँटमा झुल्ने गौरिया र गुडुरा धान खेत वरपरसमेत हरहर बास्ना आउने गरेकामा अहिले रासायनिक मल प्रयोग गरेकै कारण होला, भान्छामा पनि बास्ना आउन छाडेको छ । “उत्पादन त कम हुने नै भयो, पहिलोको तुलनामा स्वाद पनि हराएको छ,” उनले भने । समुद्री सतहबाट करिब ३०० मिटरदेखि एक हजार २०० मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । पछिल्ला वर्षमा गौरिया, गुडुरा, आँगा, जौ, भट्टे, मार्सी, ठिमुहा, जेठोबुढो, पोखरेली, ताकमारे बर्मेली, एक्लेजस्ता धान विस्थापित नै भइसकेको कृषकहरू बताउँछन् ।

    कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा तीन हजार ८९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । गौरीया, गुडुरा जेठो बूढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङजस्ता रैथाने जातका धान लगाउने चलन कम हुँदै गएको र माछापुच्छे«, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेतीतर्फ कृषक आकर्षित हुने गरेको देखिन्छ ।

  • हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

    हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

    निजगढ, २५ कात्तिकः पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरी रहेका छन् । प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार वन क्षेत्रबाट राजमार्गमा निस्किएको जङ्गली हात्तीले ना ४ ख १८३० नम्बरको ट्रकका चालक चौधरीलाई आक्रमण गरेको थियो । ज्यान जोगाउन ट्रकबाट ओर्लिएर भागेका चौधरीलाई राजमार्गदेखि केहीभित्र जङ्गलमा हात्तीले आक्रमण गरेको थियो ।

    घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक तामाङ, डिभिजन वन कार्यालयका प्रमुख राजिव झासहित सुरक्षा निकायका प्रमुखहरु हात्ती प्रभावित क्षेत्र गएका छन् । हात्ती जङ्गल पस्ने र राजमार्गमा निस्कने गरेका कारण दिनभर उक्त क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ । हात्तीलाई धपाउन अनेकौँ प्रयास गरे पनि सफल हुन सकेको छैन् । हात्ती जङ्गल पसेका बेला सुरक्षाकर्मीको सहयोगमा रोकिएका सवारीसाधनलाई पठाउने गरिएको प्रहरी उपरीक्षक तामाङले बताए । हात्तीले आइतबार रातिदेखि नै उक्त क्षेत्रमा उपद्रो मच्चाइरहेको छ ।

    राजमार्गमा राति करिब १० बजे हात्ती देखिएपछि नेपाली सेना, नेपाल प्रहरीको टोलीले राति नै भगाएको थियो । डिभिजन वन कार्यालयका प्रमुख झाले हात्ती नियन्त्रणमा लिन चितवनबाट विज्ञ टोली आउँदै गरेको बताए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता एवं ट्राफिक प्रहरी नायब उपरीक्षक वकिल सिंहले हात्तीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भइरहेको बताए ।

  • अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

    अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ, २५ कात्तिकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआइयस अपरेटर हरिचन्द्र विष्टबिरुद्ध आरोपपत्र दायर गरेको हो ।

    आर्थिक वर्ष २०७८\७९ मा नगरपालिकाको वडा नं. ५ स्थित खदाङदेखि ल्हाासम्मको मोटरबाटो स्तरोन्नति गर्ने क्रममा अनियमिता गरेको आरोपमा आरोपपत्र दायर गरिएको आयोगका आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।
    उक्त आयोजनाको खरिद प्रक्रिया मूल्याङ्कनमा सङ्लग्न बोलपत्र मूल्याङ्कन समितिका सदस्य तथा आयोजनाका इञ्जिनियर शिशिरकुमार गुरुङ, दिव्यानिर्माण सेवा प्रालि दुनै डोल्पा र निर्माण कम्पनीका भीमराज न्यौपानेलाई समेत प्रतिवादी बनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सबै आरोपितविरुद्ध जनही ५५ लाख ८९ हजार ६३ रुपैयाँ छपैसा बिगो कायम गरिएको छ ।

  • एनपिएलको खेल तालिका सार्वजनिक

    एनपिएलको खेल तालिका सार्वजनिक

    काठमाडौं, २४ कात्तिकः नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको तालिका आज सार्वजनिक गरेको छ । आगामी मङ्सिर १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ । आगामी मङ्सिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजे हुने तय भएको छ ।

    प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । दिनमा दुई वटा खेल हुँदा पहिलो खेल दिउँसो ११ः४५ र दोस्रो खेल ३ः३० तथा ४ बजे सुरू हुनेछन् । प्लेअफका तीन खेल भने दिउँसो ४ बजे सुरू हुनेछन् । आगामी मङ्सिर २७ गते हुने फाइनल पनि फ्लडलाइटमा हुने तयारी रहेको क्यानले जनाएको छ । कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइनेछन् ।

  • राम कुमारी झाँक्री र किसान श्रेष्ठ एमाले प्रवेश

    राम कुमारी झाँक्री र किसान श्रेष्ठ एमाले प्रवेश

    काठमाडौँ, २४ कात्तिकः घर फर्क राष्ट्रिय अभियानअन्तर्गत आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) फर्किएका छन् । राष्ट्रियसभा गृहमा आज आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेत्री झाँक्री, किसान श्रेष्ठसहितलाई एमालेमा स्वागत गरे ।

    एमालेका कार्यालय सचिव डा भीष्म अधिकारीले ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ गरेर सुरुआत मात्रै भएको र देशैभर यो अभियान जारी रहने बताए । एमाले अध्यक्ष ओलीले केही दिनअघि विगतमा एमाले छाडेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेका थिए । सोही आह्वानअनुुसार घर फर्क अभियानअन्तर्गत आज १५० भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको जनाइएको छ ।

  • अशोक राई नेतृत्वको जसपा र भीम रावलको समूह समेत प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

    अशोक राई नेतृत्वको जसपा र भीम रावलको समूह समेत प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

    काठमाडौँ, २४ कात्तिकः जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । दुवै पार्टीका नेताहरुबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो । अशोक राई नेतृत्वको पार्टीले हालै सम्पन्न केन्द्रीय बैठकबाट एकताका लागि केन्द्रीय कार्यकारिणी परिषदलाई जिम्मेवारीसमेत प्रदान गरेको केन्द्रीय सदस्य सोनाम लामाले जानकारी दिए । उनले दुवै पक्ष सैद्धान्तिक विषयमा सहमत भएपछि केही नेताहरु व्यवस्थापनलगायत प्राविधिक विषयको टुङ्गो लगाइने र केही दिनभित्र एकताको घोषणा गरिने जानकारी दिए ।


    नेपाली कम्युनिष्ट पार्टीले समान विचारधारा भएका समूह तथा राजनीतिक दलसँग एकता गरी बृहत् कम्युनिष्ट केन्द्र निर्माणको अभियान थालेको छ । नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत दश वामपन्थी दलले गत बुधबार एकता गरेपछि गठन भएको उक्त पार्टीले चुनाव अगाडि वाम शक्ति ध्रुवीकरण गर्ने जनाएको छ । छिट्टै सातै प्रदेशमा एकतासभा गर्ने तयारी समेत गरेको पार्टीले नेकपा (एमाले)का पूर्वउपाध्यक्ष एवं मातृभूमि जागरण अभियानका संयोजक भीम रावलसँग पनि एकताको सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ ।

  • दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट, आठ जनाको मृत्यु

    दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट, आठ जनाको मृत्यु

    नयाँदिल्ली, २४ कात्तिक (रासस–एएनआई) । भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमबार साँझ भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य सात जना सख्त घाइते भएका छन्। स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन् ।

    दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । उनले भने, “अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।” घटनास्थलमा पुगेका डिआइजी सिआरपिएफले केही भन्न हतार हुने बताए, “म घटनास्थलमा जाँदैछु,” उनले भने । अग्नि नियन्त्रण कार्यालयका उप प्रमुख एके मलिकले चाँदनी चोक मेट्रो स्टेशन नजिकै एउटा कारमा विस्फोट भएको जानकारी प्राप्त भएको बताए । उनले भने, “हामीले घटनालगत्तै प्रतिक्रिया दियौँ र सात युनिटहरू घटनास्थलमा पठाइयो। विस्फोटपछि लागेको आगो साँझ ७ः३० सम्ममा नियन्त्रणमा आएको छ । यसमा हताहती हुने सम्भावना रहेको छ । हाम्रा सबै टोली घटनास्थलमा उपस्थित छन्।”

    प्रत्यक्षदर्शीले केही व्यक्तिको मृत्यु भएको बताएका छन् । एक स्थानीयले एएनआईलाई भने, “जब हामीले सडकमा कसैको हात देख्यौँ, हामी पूर्ण रूपमा स्तब्ध भयौँ। म यसलाई शब्दमा व्याख्या गर्न सक्दिनँ। अर्का प्रत्यक्षदर्शीले भने, “जब हामी घटनास्थल नजिक पुग्यौँ, हामीले सडकमा शरीरका अङ्गहरू छरिएको देख्यौँ। के भयो कसैले पनि बुझ्न सकेनन् । धेरै कारहरू क्षतिग्रस्त भएका छन्।”

    एक स्थानीय पसलेले एएनआईलाई बताए अनुसार उनले आफ्नो जीवनमा यति ठूलो विस्फोट कहिल्यै सुनेका थिएनन्। उनले भने, “विष्फोटका कारण म तीन पटक लडेँ । यस्तो लाग्यो कि हामी सबै मृत्युको मुखमा गइरहेका छौँ । घटनामा धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।“ एलएनजेपी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले घाइतेमध्ये एक जनाको अवस्था स्थिर रहेको बताएका छन् । उनले भने, “पन्ध्र जनालाई लोकनायक अस्पतालमा ल्याइएको छ । तीमध्ये आठ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो । तीन जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था स्थिर रहेको छ।

  • दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता हुने गरी तय

    दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता हुने गरी तय

    काठमाडौँ, २४ कात्तिकः सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियामावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । साथै गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीबाट ११ जना कर्मचारी थप्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिए ।


    सरकारले यही कात्तिक २६ गतेदेखि २८ गतेसम्म भारतको नयाँदिल्लीमा आयोजना हुने नेपाल–इन्डिया कोअर्डिनेसन बैठकको नवौँ बैठकमा सहभागी हुन सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल संयोजकत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने, भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने समेत बैठकले निर्णय गरेको मन्त्री खरेलले बताए ।

  • मधेश प्रदेशमा भाडभैलो निम्याउने प्रदेश प्रमुख सुमित्रा सुवेदी बर्खास्त गर्न सिफारिस

    मधेश प्रदेशमा भाडभैलो निम्याउने प्रदेश प्रमुख सुमित्रा सुवेदी बर्खास्त गर्न सिफारिस

    काठमाडौँ, २४ कात्तिकः सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    बैठकले मधेस प्रदेशको प्रदेश प्रमुखमा धनुषाका सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्नका लागिसमेत राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए । भण्डारीले एमालेका सरोजकुमार यादवलाई होटेलबाट मूख्यमन्त्री नियुक्त गर्दै सपथ खुवाएपछि आज मधेश प्रदेशमा भाँडभैलो भएको छ । विपक्षी दलहरुले कार्यालयमा तोडफोड गरेका छन् भने कर्मचारीमाथि समेत हातपात गरेका छन् ।

  • नेपाल प्रहरी महानिरीक्षकमा कार्की नियुक्त, गर्नेछन् साढे दुई वर्ष नेतृत्व

    नेपाल प्रहरी महानिरीक्षकमा कार्की नियुक्त, गर्नेछन् साढे दुई वर्ष नेतृत्व

    काठमाडौँ, २४ कात्तिकः सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
    मन्त्रिपरिषद्को आजको बैठकले कार्कीलाई यही कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । कार्की प्रहरी संगठन भित्र इमानदार कमाण्डर मानिन्छन् । गुल्मीका कार्कीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका गरेका छन् । उनले अब साढे दुई वर्ष प्रहरी संगठनको नेतृत्व गर्नेछन् । उनी अहिले काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।

    प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।

    डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो । चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् ।

  • ट्रम्प डक्युमेन्टरी सम्पादन विवादपछि बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखद्वारा राजीनामा

    ट्रम्प डक्युमेन्टरी सम्पादन विवादपछि बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखद्वारा राजीनामा

    २४ कात्तिक, लण्डन । बीबीसीको एक प्रसिद्ध कार्यक्रम प्यानोरमा अन्तर्गत प्रशारित एक वृत्तचित्रमा समावेश गरिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्पादित भाषणले दर्शकहरूलाई भ्रमित पारेको भन्दै आलोचना भएपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिएका छन्। यो सार्वजनिक प्रसारण संस्थाले विभिन्न विवाद र पूर्वाग्रहका आरोपहरू खेप्नुपरेपछि डेभी दबावमा परेका थिए। उनी पाँच वर्षदेखि उक्त पदमा थिए।

    बाहिर चुहिएको बीबीसीको एक आन्तरिक परिपत्रको विस्तृत विवरण द टेलिग्राफ पत्रिकाले सोमवार प्रकाशित गरेको थियो। त्यसमा प्यानोरमा कार्यक्रमले अमेरिकी राष्ट्रपतिको भाषणका दुई भागमा भएको सम्पादनले उनले ज्यानुअरी २०२१ मा क्यापिटल हिलमा भएको दङ्गा गर्न उक्साएको जस्तो देखाएको उल्लेख छ। यूकेका नेताहरूले डेभी र टर्नेसका राजीनामाले परिवर्तन हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले पनि उक्त निर्णयको स्वागत गरेका छन्।
    बीबीसीका कार्यकारी निर्देशक र समाचार प्रमुखले एकैदिन राजीनामा दिनु अभूतपूर्व घटना हो।

    बीबीसीबाट

  • गगनको प्रस्ताव : निर्वाचनअघि पार्टीको अधिवेशन

    गगनको प्रस्ताव : निर्वाचनअघि पार्टीको अधिवेशन

    काठमाडौँ, २४ कात्तिकः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद् र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गरे । महामन्त्री थापाले भने, “संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन ।”

    उनले नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको निर्णय स्पष्टरूपमा प्रस्तुत गरिसकेको बताए । उनले कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल निर्वाचनको विषयका सन्दर्भमा नभएको स्पष्ट पारे । महामन्त्री थापाले निर्वाचनअघि पार्टीको अधिवेशन गरे अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र कांग्रेसलाई निर्वाचन लड्न योग्य बनाउने पनि उल्लेख गरे ।

  • मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

    मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

    धनुषा, २४ कात्तिकः मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको हो ।

    सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल समेत गठन गरिएको छ । सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका छन् । संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट छ ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले यही कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी बर्दिबासको पानस होटलमा शपथ खुवाएकी हुन् ।

  • पाँच वर्षमा छ पटक ठेक्का म्याद थप, बल्ल सुरु भयो कालोपत्रे

    पाँच वर्षमा छ पटक ठेक्का म्याद थप, बल्ल सुरु भयो कालोपत्रे

    गलकोट (बागलुङ), २४ कात्तिक । निर्माण व्यवसायीको लापर्वाहीले जीर्ण बनेको यहाँको काठेखोला गाउँपालिका–७ रेश जाने चार किलोमिटर सडक छ पटक ठेक्का म्याद थपेपछि कालोपत्र थालिएको छ । कोरोना, आर्थिक संकट र भुक्तानी जस्ता समस्या देखाउँदै निर्माण व्यवसायीले सडक कालोपत्र गरेका थिएनन् । हाल भने धमाधम ‘ग्राभेल’ भइरहेको छ । सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण थालिएको सडक कालोपत्रका लागि बिग्रेका पूर्वाधार निर्माण भइरहेका छन् । २०७७ जेठमा दुई वर्षमा सम्पन्न गर्ने गरी जोशी÷निशान÷आचार्य जेभीसँग रु छ करोड ७१ लाखमा ठेक्का लागेको थियो । सम्झौता अवधिमा काम नहुँदा छ पटक म्याद थपिएको छ ।

    एक वर्षदेखि फिल्डमा नदेखिएको निर्माण व्यवसायी काममा फर्केपछि कालोपत्रको तयारी थालिएको काठेखोला गाउँपालिकाका इञ्जिनियर विनोद लामिछानेले जानकारी दिनुभयो । पूर्वाधारको काम पहिल्यै सम्पन्न गरेपनि कालोपत्र हुन नसक्दा पूर्वाधारहरु समेत जीर्ण बनेका थिए । उक्त सडकको ७० प्रतिशत भौतिक तथा ६५ प्रतिशत आर्थिक प्रगति भएको छ ।

    इञ्जिनियर लामिछानेले १४ औं खरिद संशोधनलाई आधार मानेर अन्तिम पटक म्याद थप गरेको बताउनुभयो । यस पटक भने कालोपत्रका लागि उपकरण र कच्चा समाग्रीको समेत जोहो भइसकेको छ । कोराना कहर, भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काममा ढिला भएको जनाउँदै निर्माण व्यवसायी प्रकाश आचार्यले छिट्टै काम सम्पन्न गरी सडक हस्तान्तरण गर्ने बताउनुभयो । उक्त सडक बरेङ–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् ।

  • आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

    आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौँ, २४ कात्तिक । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरे्को प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।


    विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।


    राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल गणेशमान प्रवास जानुअघि तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका छ ।

    प्रजातन्त्र स्थापनाका लागि भएको विसं २००७ को क्रान्तिका एक अगुवाका रुपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक रुपमा बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रुपमा रहे । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील भए ।
    विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा कारावास जीवन बिताए ।

    विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । २०३३ सालमा बिपीसँगै राष्टिूय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहे । तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठ वटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए । गणेशमानले विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे ।

    बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रुपमा गणेशमानले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान विसं २०४६ मा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायत विरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बने ।


    नेता सिंहलाई विसं २०१७ पुस १ गतेको कूपछि विसं २०२५ सम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरुलाई विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो । विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ ।

  • ‘सुपर टाइफून’ फङ–वोङ फिलिपिन्समा अवतरण, यस्तो छ ताजा अवस्था

    ‘सुपर टाइफून’ फङ–वोङ फिलिपिन्समा अवतरण, यस्तो छ ताजा अवस्था

    मनिला, २४ कात्तिक (रासस–एएफपी) । फुङ–वोङ नामाकरण गरिएको सुपर टाइफून आइतवार फिलिपिन्सको पूर्वी समुद्री तटमा ठोक्किएको राष्ट्रिय मौसम विभागले जानकारी गराएको छ । फुङ–वोङका कारण कम्तिमा दुई व्यक्तिको मृत्यु भइसकेको छ भने बढी प्रभावित क्षेत्रका १० लाखभन्दा बढी व्यक्ति सुरक्षित स्थानमा जान बाध्य भएका छन्। फिलिपिन्सको लगभग सम्पूर्ण दायरामा फैलिएको आँधीले लुजोनको मुख्य टापु अरोरा प्रान्तमा स्थानीय समय अनुसार राति ९ः१० अवतरण गरेको फिलिपिन्सको मौसम पूर्वानुमान् निकायले जनाएको छ।

    फङ–वोङले फिलिपिन्सको अधिकांश क्षेत्रमा हावा र भारी वर्षा ल्याउने अपेक्षा गरिएको छ । फिलिपिन्समा गत हप्ता मात्र काल्मेगी नाम दिइएको आँधी आउँदा २२० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। नागरिक सुरक्षा कार्यालयले आँधीका कारण दुई जनाको बाढीमा डुबेर मृत्यु भएको पुष्टि गरेको छ ।
    “हामीलाई वास्तवमै डराउने कुरा के हो भने अपेक्षित आँधीको अवतरण रातिको समय हुनेछ,”३४ वर्षीय एएफपीले आइतबार एएफपीसँग भने ।

    आँधी तीब्र वेगका साथ आउनेछ । आँधीका कारण उत्तरी कागायान प्रान्तको एक उद्धार केन्द्रमा आश्रय लिइरहेका मानिसहरुले बाढीको सामना गर्नुपर्ने डरले घर छोड्न बाध्य भएका अधिकारीले एएफपीलाई बताए । राजधानी मनिला सहित लुजोनको मुख्य टापुमा सोमबार विद्यालय र सरकारी कार्यालयहरू बन्द गर्न आदेश दिइएको छ र लगभग ३०० उडानहरू रद्द गरिएको छ।

    A man looks at a landslide-hit residential area in Guinobatan town, Albay province, south of Manila on November 9, 2025, following heavy rains brought about Super Typhoon Fung-wong. Super Typhoon Fung-wong slammed into the Philippines’ eastern seaboard on November 9, the national weather service said, after killing at least two people and forcing more than a million to evacuate. (Photo by CHARISM SAYAT / AFP)
  • सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

    सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

    मनिला, २४ कात्तिक (रासस–एपी) । यस वर्ष फिलिपिन्सलाई प्रत्यक्ष असर पार्ने सबैभन्दा शक्तिशाली आँधी सुपर टाइफुन फङ–वोङ (स्थानीय नाम उवान) ले आइतबार देशको उत्तर–पूर्वी तटमा नजिकिँदै गर्दा विनाशकारी हावा र मुसलधारे वर्षाका साथ प्रहार गर्न थालेको छ । तीव्र गतिका कारण देशभर बिजुली अवरुद्ध भएको छ भने करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ ।

    फङ–वोङले दक्षिणपूर्वी एसियाली द्वीपसमूहको करिब दुई–तिहाइ भू–भागलाई आफ्नो एक हजार ६०० किलोमिटर (९९४ माइल) चौडा हावा र वर्षाको घेराभित्र ल्याउने सम्भावना छ । यो आँधी फिलिपिन्स पुग्नुअघि नै प्रशान्त महासागरबाट तीव्र रूपमा नजिकिँदै थियो, त्यही बेला देश अझै पनि हालैको टाइफुन कलमेगीले पारेको व्यापक विनाशसँग जुधिरहेको थियो । कलमेगीले गत मङ्गलबार देशका मध्य प्रान्तहरूमा कम्तीमा २२४ जनाको ज्यान लिएको थियो ।

    राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले कलमेगीको विनाश र फङ–वोङबाट हुनसक्ने सम्भावित क्षतिका कारण राष्ट्रव्यापी आपतकाल घोषणा गरेका छन् । फिलिपिन्स मौसम विभागका अनुसार फङ–वोङले आइतबार दिउँसोसम्ममा पूर्वी क्याटान्डुआनेस प्रान्तको पान्डान सहर नजिक तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

    एक सय ८५ किलोमिटर प्रतिघण्टा (११५ माइल प्रतिघण्टा) को निरन्तर हावा र २३० किलोमिटर प्रतिघण्टा (१४३ माइल प्रतिघण्टा) सम्मका झोकासहितको यो आँधी उत्तरपश्चिम दिशातर्फ सर्दै अरोरा वा इसाबेला प्रान्तको तटमा आइतबार बेलुका वा सोमबार बिहान अवतरण गर्न सक्ने बताइएको छ । मुसलधारे वर्षा र बाक्लो कुहिरोका कारण प्रभावित क्षेत्रमा दृश्यता अत्यन्त सीमित बनेको छ ।

    फिलिपिन्समा १८५ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढी वेगका उष्णकटिबन्धीय चक्रवातहरूलाई ‘सुपर टाइफुन’ का रूपमा वर्गीकृत गरिन्छ — यो वर्गीकरण हालका वर्षहरूमा बढ्दो चरम मौसमी अवस्थासँग सम्बन्धित जोखिमलाई विशेष रूपमा औँल्याउन लागू गरिएको हो । देशको उत्तरपूर्वी क्षेत्र विशेषगरी बिकोल प्रान्तका तटीय गाउँहरूमा बाढी र माटोको बहावको जोखिम अत्यधिक रहेको बताइएको छ । त्यहाँ देशकै सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक मायोन पनि अवस्थित छ । अधिकारीहरूले उच्च जोखिम भएका क्षेत्रमा रहेका नौ लाख १६ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिसकेको जनाएका छन् ।

    रक्षा मन्त्रालयका प्रमुख गिल्बर्टो टिओडोरो जुनियरले शनिबार टेलिभिजन सम्बोधनमार्फत नागरिकहरूलाई सचेत रहन आग्रह गर्दै भने, “फङ–वोङ अत्यन्त शक्तिशाली छ । यसको प्रभावले देशको विशाल भू–भागलाई असर गर्न सक्छ — विशेषतः हालै कलमेगीले तहसनहस पारेका मध्य प्रान्तहरू, सेबू र राजधानी क्षेत्र महानगरीय मनिलासहित ।”

    नागरिक सुरक्षा कार्यालयका अनुसार तीन करोडभन्दा बढी मानिस प्रत्यक्ष रूपमा फङ–वोङको खतरामा पर्न सक्ने सम्भावना छ । टिओडोरोले उच्च जोखिमका क्षेत्रका बासिन्दालाई तुरुन्तै सुरक्षित ठाउँमा सार्न र अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गर्दै भन्नुभयो, “जब टाइफुन आइसक्छ र बाढी सुरु हुन्छ, त्यसपछि मानिसहरूलाई उद्धार गर्न निकै कठिन हुन्छ । त्यसैले पूर्वतयारी नै जीवनरक्षक उपाय हो ।”

    फिलिपिन्सले कलमेगीपछि तत्काल अन्तर्राष्ट्रिय सहायता नमागे पनि रक्षामन्त्री टिओडोरोले देशका दीर्घकालीन मित्रराष्ट्रहरू संयुक्त राज्य अमेरिका र जापान आवश्यक सहयोगका लागि तयार रहेको बताएका छन् । फङ–वोङले नजिकिँदै जाँदा देशका धेरै पूर्वी सहर र गाउँहरूमा बिजुली आपूर्ति पूर्ण रूपमा बन्द भएको छ । नागरिक रक्षा कार्यालयका उप–प्रशासक बर्नार्डो राफेलिटो अलेजान्ड्रोका अनुसार हावा र वर्षाको तीव्रताका कारण धेरै स्थानहरूमा सम्पर्क र सञ्चार अवरुद्ध भएको छ, जसले उद्धार र राहत कार्य कठिन बनाइरहेको छ ।

    उत्तरी प्रान्तका अधिकारीहरूले सोमबार र मङ्गलबार विद्यालय र सरकारी कार्यालयहरू बन्द गर्ने आदेश दिएका छन् । सप्ताहन्त र सोमबारसम्म ३२५ आन्तरिक र ६१ अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् र १०९ बन्दरगाहहरूमा छ हदार ६०० भन्दा बढी यात्रु र कर्मचारीहरू फसेका छन् । तटरक्षकले उच्च समुद्री जोखिमका कारण जहाजहरूलाई समुद्रमा जान निषेध गरेको छ । मौसम पूर्वानुमानकर्ताहरूले महानगरीय मनिलासहित २० भन्दा बढी प्रान्त र क्षेत्रहरूमा तीन मिटर ९१० फिट० भन्दा अग्ला समुद्री छाल र जीवनघातक आँधीबेहरीको जोखिम रहेको चेतावनी दिएका छन् ।

    फिलिपिन्स विश्वकै सबैभन्दा विपद्–संवेदनशील देशहरू मध्ये एक हो । हरेक वर्ष करिब २० वटा टाइफुन र आँधीबेहरीले यस देशलाई असर पार्छन् । साथै, बारम्बार भूकम्प आउने र एक दर्जनभन्दा बढी सक्रिय ज्वालामुखीहरू रहेकाले पनि यो द्वीपसमूह निरन्तर प्राकृतिक जोखिमको सामना गर्दै आएको छ ।

  • प्रधानमन्त्रीसमक्ष डा केसीको ज्ञापनपत्र

    प्रधानमन्त्रीसमक्ष डा केसीको ज्ञापनपत्र

    काठमाडौँ, २४ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीसमक्ष चिकित्सा शिक्षा सुधारको माग राख्दै डा गोविन्द केसीले दशबुँदे ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री कार्कीलाई सिंहदरबारमा आज भेटेर डा केसीले ज्ञापनपत्र बुझाएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

    ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा सुधा गौतम तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनी झा र डा केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी तथा प्राडा जगदीशप्रसाद अग्रवाल सहभागी थिए ।

    ज्ञापनपत्रमा सरकारी अस्पताल तथा स्वास्थ सेवा संस्थाहरूमा अहिलेको आवश्यकताअनुसार जनशक्ति दरबन्दी वृद्धि गर्ने, चिकित्सकलगायत स्वास्थ्यकर्मीको रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग रहेका छन् ।

  • मनाङमा हराएका दुई भारतीय पर्यटक मृत भेटिए

    मनाङमा हराएका दुई भारतीय पर्यटक मृत भेटिए

    मनाङ, २४ कात्तिकः यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई पर्यटक मृत भेटिएका छन् । मृत भेटिनेमा भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन् । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको नेतृत्वमा उद्धार सामग्रीसहित खटिएको टोलीले आइतबार मिलेरेपा गुम्बाभन्दा १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।
    मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मिलेरेपा गुम्बा घुम्न गएका भारतीय नागरिक सम्पर्क विहीन भएका थिए । उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्लाई जानकारी गराएको थियो । “शव प्रदेश अस्पताल मनाङ ल्याइँदैछ । सोमबार त्रिवि शिक्षण अस्पताल काठमाडौँ पठाउँछौँ”, प्रजिअ पौड्यालले भने ।

  • आन्दोलनका क्रममा प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप

    आन्दोलनका क्रममा प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप

    काठमाडौँ, २३ कात्तिकः आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जको भवनमा आगजनी, लुटपाट तथा प्रहरी कर्मचारीमाथि आक्रमणमा संलग्नलाई खोजतलास गर्ने क्रममा प्रहरीले भोजपुर घर भई हाल काठमाडौँको पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राईलाई सामाखुसी चोकबाट पक्राउ गरेको थियो ।

    पक्राउपछि उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको समय दिएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक पवनकुमार भट्टराईले राससलाई बताए । यसरी अपराधमा संलग्न फरार व्यक्तिको खोजतलास गर्ने क्रममा उनलाई नियन्त्रणमा लिई निजको कोठा खानतलासी गर्दा प्रहरीको टाइप–५४ पेस्तोल, त्यसमा लाग्ने म्याग्जिन, सात राउन्ड गोली र अन्दोलनका दिन लगाएको कपडा र जुत्तासमेत बरामद गरिएको उनले बताए ।

    राईमाथि हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरी वृत्त महाराजगञ्जबाट ज्यानसम्बन्धी कसुरमा मुद्दा चलेको समेत अभिलेखमा देखिएको उनले बताए ।

  • काठमाडौंमा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

    काठमाडौंमा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

    काठमाडौँ, २३ कात्तिकः काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाइएको कामपाको वातावरण विभागले जनाएको छ ।
    चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्नेक्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्दा वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले रोक लगाइएको विभागका प्रमुख सरिता राईले जानकारी दिए । उनका हाँअनुसार उक्त व्यवस्था अटेर गरेमा प्रतिपटक रु १० हजार जरिवाना हुनेछ ।

    “हरेक वर्ष जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक बढ्ने गरेको छ । प्रदूषण बढ्नुमा यसरी खुला रूपमा बालिने प्लाष्टिकजन्य वस्तुको महत्त्वपूर्ण हिस्सा छ”, विभागका प्रमुख राईले भने, “जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।”वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दमखोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिलाई नकारात्मक असर गर्दछ ।

    ती व्यक्तिका साथै सहरवासी सबैको स्वास्थ्य सुरक्षा र वातावरण जोगाउन पनि खुला रूपमा प्लाष्टिकजन्य वस्तु बालेर धुँवा उत्सर्जन घटाउने प्रयास कामपाले गरेको हो । राईले भने, “कामपाले जारी गरेको प्रतिबन्धसम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ ।”

  • लागुऔषधसहित पक्राउ गरेका व्यक्तिको घरबाट रिभल्वर बरामद

    लागुऔषधसहित पक्राउ गरेका व्यक्तिको घरबाट रिभल्वर बरामद

    काठमाडौँ, २३ कात्तिकः प्रहरीले काठमाडौँ महानगरपालिका–१२ टेकु ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ९२० मिलिग्राम, नगद रु ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली बरामद गरेको छ ।

    लागुऔषधसहित पक्राउ परेका काठमाडौँ महानगरपालिका–१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाहीको घर पछाडि लुकाइराखेको रिभल्वर एक थान तथा गोली दुई राउण्ड र सुजनको घरमा लुकाइराखेको रिभल्वर एक थान तथा गोली चार राउण्ड फेला पारेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

    उनले भने, “हाम्रो टोली र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको थियो, थप अनुसन्धानका क्रममा उनीहरुको घरबाट शनिबार रिभल्वर दुई थान र गोली बरामद गरिएको छ ।” उक्त विषयमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी आचार्यले बताए ।

  • सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत

    सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत

    राजकुमार पराजुली/रासस

    काभ्रेपलाञ्चोक, २३ कात्तिकः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए यस अवधिभित्र नौ प्रकारको कागजमा आधारित सेवा उपलब्ध गराउन सक्ने जनाएको हो ।

    हालसम्म केन्द्रमा व्यवस्थित गरिएका अन्तःशुल्क स्टिकरलगायत छपाइका मेसिनहरु पुनःप्रयोगमा ल्याउन सरसफाइ एवं जडान गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउन छ महिना लाग्ने जनाइएको छ । कतिपय मेसिन सञ्चालनमा ल्याउन विदेशबाट समेत जनशक्ति ल्याउनुपर्ने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले जानकारी दिए ।

    उनका अनुसार केन्द्र पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिए नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा, हुलाक टिकट, भिसा स्टिकरलगायत नौ प्रकारका कागजमा आधारित सेवा उपलब्ध गराउन सकिनेछ । “कागजात, कार्ड र बैंक नोटमा आधारित सेवाका लागि केन्द्रले अलगअलग योजना निर्माण गरिरहेको छ”, ढुङ्गानाले भने ।


    केन्द्रमा हालसम्म भौतिक निर्माणलगायत उपकरण व्यवस्थापनमा रु तीन अर्बभन्दा धेरै लगानी भइसकेको जनाइएको छ । ढुङ्गानाका अनुसार केन्द्रमा रु ५० करोडका मेसिन जडान गरिसकिएको छ । जनशक्ति तथा उपकरण व्यवस्थापन गर्न सकिए केन्द्र ११ प्रकारका सेवा उपलब्ध गराउन सक्षम रहेको ढुङ्गानाको भनाइ छ । उनले भने “खरिद नियमावली १४ आँै संशोधनले अवरुद्ध ठेक्काका लागि खुला भएको छ भने केन्द्रभित्रका सातवटा ठेक्का पनि भएका छन्, केन्द्रलाई नियमितता दिन सकिए छपाइका नाममा नेपाल सरकारबाट विदेसिने अर्बौं रकम जोगिने छ ।”

    यसैबीच केन्द्रमा शुक्रबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न सुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत शुक्रबार केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरेका हुन् । सो अवसरमा खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद आवश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताए । हाल २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेको मन्त्री खरेलको भनाइ थियो ।

    उनले भने, “लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको अवस्थामा पूर्वाधार र स्रोतसाधन भएर पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर लाइसेन्स छपाइ सुरु गरियो ।” उनले वर्षांैदेखि केन्द्रअन्तर्गतका मेसिन यतिकै थन्किएर पार्टपूर्जा सबै धुलाम्मे भई खण्डहरजस्तो बनेको केन्द्र धुलो टकटक््याएर छपाइ थालेको बताए ।


    पहिलो चरणमा १२ लाख प्रति लाइसेन्स छपाइको सम्झौता भएअनुरुप शुक्रबारदेखि काम सुरु गरिएको केन्द्रले जनाएको छ । सुरुका दिनमा दैनिक ५०० छाप्ने र यसको मात्रा बढाउँदै लगिने कार्यकारी निर्देशक ढुङ्गानाले जानकारी दिए । उनका अनुसार आगामी पाँच वर्षभित्र केन्द्रबाट सरकारलाई वार्षिक लगानीको २३ दशमलव ७४ प्रतिशत मुनाफा दिन सकिनेछ । सरकारले सुरक्षण मुद्रण केन्द्रसम्बन्धी ऐन २०८१ जारी गरिसकेको छ । तत्कालीन सरकारको रु ३३ अर्ब लगानी गर्ने महत्वकांक्षी योजनालाई रु आठ अर्बमा सीमित गरिएको उनले बताए । केन्द्रका अनुसार ६२ कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ ।

    यसअघि २०८१ चैतमा बजेट अभावमा केन्द्रको भौतिक निर्माणलगायत अन्य व्यवस्थापनको काम रोकिएको थियो । त्यतिबेला केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगे पनि रङरोगन र झ्याल–ढोका हाल्ने कामसमेत रोकिएको थियो । सूचना–प्रविधि पार्क (आइटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई केही वर्षअघि मात्रै केन्द्रमा परिणत गरिएको हो । एक वर्षअघिसम्म केन्द्रको मुख्य भवनको अग्रभाग भने पुनः सजावट कार्य सकिएर केन्द्रमा आवश्यक गोदामघरलगायत पूर्वाधार निर्माण, उपकरण खरिद तथा भएका भवनको मर्मतसम्भारको काम हुँदै आएको थियो ।

    एक वर्षअघि निर्माण सम्पन्न ५० मिटर लम्बाई र २५ मिटर चौडाइ क्षेत्रफलमा निर्माण भएको गोदाम भवनमा सुरक्षित छपाइका कागज, मसी तथा अन्य कच्चा पदार्थ लामो समयसम्म भण्डारण गर्न सकिने जनाइएको छ । उक्त भवनमा कच्चा पदार्थ र उत्पादित सुरक्षित मुद्रण भण्डारण गर्दा ‘पेपर स्रिन्क’ हुनबाट बच्ने र मसी सुकेर जाने समस्या रहने छैन । उक्त बहुउद्देश्यीय भवन भूकम्प्रतिरोधी, आगोबाट असर नगर्ने ‘स्टिल ट्रस सिष्टम’ गुणस्तरमा निर्माण भएको हो । भवनमा सुरक्षित मुद्रणको उपकरण जडान गर्नसमेत सकिने जनाइएको छ ।

    केन्द्रमा यसअघि इराकबाट ल्याइएका दुई उच्च सुरक्षित डिजिटल मेसिनबाट अन्तःशुल्क स्टिकरको नमूना छपाइ गरिएको थियो । हाल जडित दुई मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिनेछ । अघिल्लो आर्थिक वर्षको रु ७३ करोड बजेटबाट उक्त मेसिन तथा केही सूचना–प्रविधिका सामग्री खरीद गरिएको थियो । केन्द्रमा एक थान ‘डाई कटिङ मेसिन’ रहेको छभने अन्य तीन थान मेसिन जडान कार्य गरिए पनि सञ्चालन भएका थिएनन् । प्रशासनिक प्रक्रियापछि अन्य मेसिन ल्याएर जनशक्ति र कच्चा पदार्थ व्यवस्थापनपछि आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालन गर्न केन्द्रले तयारी थालेको हो ।

    केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि चार वर्षअघि प्रारम्भिक बजेट विनियोजन भई आइटी पार्कमा प्रेसको काम सुरु गरिएको हो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्थानार्थ पनौती नपा–५ स्थित प्रयोगविहीन अवस्थामा रहेका उक्त पार्क छनोट गरी निर्णय गर्नुभएको थियो । प्रेसको काम थाल्न आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको सुरुआत गरिएको थियो । त्यतिबेला केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरिएको थियो ।

    प्रेस निर्माणार्थ आवश्यक भवनलगायत भौतिक संरचनाका लागि जमिन मिलाउने, पर्खाल निर्माण तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माणको काम सम्पन्न भएको छ । खानेपानीका लागि एक\एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङ्की निर्माण, छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान तथा सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको भूमिगत डिजेल ट्याङ्की निर्माण भएका छन् ।

    प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रुपमा बाहिरिने रु १० अर्ब जोगिन अपेक्षा गरिएको छ । केन्द्रका लागि २०० प्राविधिकसहित करिब एक हजार जनशक्तिको आवश्यकता पर्ने बताइन्छ । तत्कालीन सरकारले सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न दुई वर्षअघि कार्यमूलक एवं नतिजामूलक गुरुयोजना तयार पारेको थियो ।

    सोहीअनुरुप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी दश वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिण–पूर्वी एसियाका राष्ट्रहरुलाई उपलब्ध गराउने छ । साथै, तेस्रो चरणमा भने आगामी १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरेको हो ।

    विसं २०५७ मा निर्माण सुरु गरिएको उक्त आइटी पार्क निर्माण कार्य सम्पन्न भई २०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । कूल २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र दुई वटा ठूला व्यापारिक÷प्रशासनिक भवन तथा चार सुविधा सम्पन्न आवासीय भवनलगायत नौ भवन छन्् ।

    तत्कालीन समयमा दक्षिण एसियामै नमूना र ठूलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो । प्रयोगविहीन अवस्थामा रहँदा उक्त पार्कमा यसअघि चलचित्रको छायाङ्कन, जिल्लाका राजनीतिक तथा अन्य कार्यक्रम हुँदै आएका थिए । यसबीचमा केही सूचना–प्रविधिका संस्थाले पार्कमा बसेर काम थाले पनि छोटो समयमै छाडेर जाने गर्दथे ।

  • राष्ट्रपति पौडेलले गरे ‘एनटिभी वर्ल्ड’ शुभारम्भ

    राष्ट्रपति पौडेलले गरे ‘एनटिभी वर्ल्ड’ शुभारम्भ

    काठमाडौँ, २३ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण ९पिएसबी० नेपालले स्थापनाको प्रथम वार्षिकोत्वसका अवसरमा ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गरेका छन् । सिंहदरबारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा आज आयोजित समारोहमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रुपमा ‘एनटिभी वर्ल्ड’ शुभारम्भ गरिएको हो । यो च्यानलले नेपाल अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझिने सामग्रीहरु समावेश गर्नेछ ।

    कार्यक्रममा राष्ट्रपति पौडेलले पिएसबीको लोगो र मोबाइल एप सार्वजनिक गरे । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पिएसबी नेपालले प्रथम वार्षिकोत्सव मनाएको हो । राष्ट्रपति पौडेलबाट २०८१ असोज २२ गते विधेयक प्रमाणीकरण भएको थियो ।

    ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेदेखि सो कानुन कार्यान्वयनमा आएको हो । यो ऐन कार्यान्वयनमा आएसँगै रेडियो प्रसार सेवा विकास ९समिति० गठन आदेश, २०४१ अन्तर्गत गठित रेडियो नेपाल र सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापित नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थियो ।