Category: समाचार

  • महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा

    महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा

    महादेव अवस्थी–रासस
    दोधारा चाँदनी (कञ्चनपुर), २३ कात्तिक । यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी यहाँ आए । त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उनमा उत्साह थियो । करिडोर यातायातको सुविधामात्र नभइ अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ सम्भावना खुल्ने अपेक्षा उनमा थियो । आफ्नै घर छेउबाट सडक निर्माण हुने भएपछि यहाँको यहाँका स्थानीयको आर्थिक अवस्था फेरिने आशा पलाएको थियो । तर उक्त सडक निर्माण हुन्छ भनेको सुनेको पनि डेढ दशक भइसकेको छ । “त्यो बेला सडक निर्माण हुन्छ भन्ने सुनेपछि धेरै खुसी भएका थियौँ”, थापाले भने, “एकातर्फ महेन्द्रनगर बजार सहज पहुँच हुने र सडक बनेपछि शिक्षा, स्वास्थ्य र व्यापार हुने ठूलो आशा थियो तर अहिलेसम्म बनेन ।”

    उक्त क्षेत्रमा करिडोरको ट्रयाक खुलेको छ तर यात्रा गर्न सजह छैन । वर्षात्को समयमा त उक्त सडक बन्द हुने गरेको उनको भनाइ छ । “सडक नहुँदा बिरामीलाई बोकेर अस्पताल लग्नुपर्ने बाध्यता आउँछ गाउँमा न स्वास्थ्य संस्था छ न विद्यालय नै”, उनले भने, “हाम्रो मुख्य समस्या भनेकै सडक हो, सडक नहुँदा निकै सास्ती खेप्नुपरेको छ ।” उनले दुई घण्टा पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यताले नातिनीलाई कैलालीको लम्कीस्थित भाइको घरमा अध्ययनका लागि पठाएको बताए । अहिले पनि स्थानीय उत्पादन बिक्री गरेर आम्दानी गरिरहेको बताउँदै सडक सञ्जालले जोडिए यहाँका स्थानीयको आर्थिक सुधार हुने उनको भनाइ थियो ।

    बाइस वर्षदेखि यहाँको टुँडिखेलमा बस्दै आएका लीला पुनमगर पनि करिडोर निर्माण हुने खबरले उत्साही भए । तर सडक निर्माणमा ढिलाइ हुँदा भने उहाँको उत्साह पनि निराशामा परिणत भएको छ । “करिडोर बन्छ भन्ने सुनेको १२ वर्षपछि ट्रयाक ९मार्ग० खुलेको छ, अझै आशा त मरेको छैन तर सडक बनिसक्नुपर्ने समयसम्म पनि नबन्दा सुरुको जस्तो उत्साह छैन”, उनले भने, “सरकारले ढिलाइ गर्नु भएन यो सडकलाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्छ ।” उनले सडक निर्माणपछि लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने बताए ।
    महाकाली करिडोरले यातायातको पहुँचसँगै भारतसँगको व्यापारिक पहुँच, घरेलु उद्योगको विस्तार र पर्यटन सम्भावनामा समेत ठूलो भूमिका खेल्न सक्ने यहाँका स्थानीय रमेश नायक बताउँछन् । “यो सडक यातायातका लागि मात्र नभई व्यापारिक हिसाबले महत्त्वपूर्ण छ ।” उनले भने, “सरकारको पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणलाई पूर्णता दिनुपर्छ ।”

    उहाँले करिडोर सञ्चालनमा आए सुदूरपहाडका जनताको आर्थिक अवस्थामा पनि सुधार आउने बताए । “करिडोर सञ्चालनमा आइदिए यहाँका स्थानीयले आठआठ घण्टा लगाएर जानुपर्ने ठाउँमा दुई घण्टामै पुग्छौँ”, उनले भने, “यो सुदूरपहाडका जनताका लागि लाइफ लाइन नै हो ।” करिडोर बनेपछि ब्रह्मदेव, डडेल्धुराको जोगबुढा, बैतडीको पञ्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हँुदै टिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्याउने छ ।

    महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सृजना हुनेमा यहाँका व्यवसायी आशावादी छन् । सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा पनि बजेट अभाव, प्रक्रियागत उल्झन र सरकारी उदासिनताका कारण अलपत्र अवस्थामा पुगेको छ ।

    सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमानामा रहेको पिलर नम्बर १ सम्म चार सय १३ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ । सडक निर्माणपछि सुदूरपश्चिमका करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारण व्यापारिक महत्व पनि धेरै नै रहेको छ । यसका साथै धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको सुविधा उपलव्ध हुने देखिन्छ । तर प्रक्रियागत उल्झन र बजेट अभावले योजनाले अपेक्षित गति लिनसकेको छैन । सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको महाकाली करिडोर निर्माणका लागि न्यून बजेट विनियोजन हुँदा निर्माणको काम ठप्पजस्तै छ ।

    चालु आर्थिक वर्षमा करिडोर निर्माणका लागि रु २२ करोड ९७ लाखमात्र बजेट विनियोजन भएको महाकाली करिडोर सडक (ब्रह्मदेव–झुलाघाट–दाचुला–टिङ्कर सडक) योजना कार्यालयका योजनाका सूचना अधिकारी रामचन्द्र जैशीले जानकारी दिए । उक्त बजेटले निर्माण व्यवसायीको पनि भुक्तानी गर्न सकिँदैन । “योजनाअन्तर्गत कार्यालयले डेढ अर्ब दायित्व भुक्तानी गर्नुपर्ने छ”, उनले भने, “चालु आर्थिक वर्षमा आएको बजेट न्यून छ, यसले नयाँ ठेक्का खोलेर काम गर्न सकिने अवस्था छैन ।” उनले यही गतिमा बजेट आए योजना सम्पन्न गर्न अझै वर्षौँ लाग्ने बताए ।
    योजना कार्यालयका अनुसार करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा एक सय ४४ किलोमिटर र दार्चुलामा एक सय २१ किलोमिटर सडक निर्माण हुनेछ । जसमध्ये कञ्चनपुरमा ११ किलोमिटर मार्ग खुलिसकेको छभने डडेल्धुरामा २८ किलोमिटर खुलेको छ । त्यसैगरी, बैतडीमा एक सय १४ किलोमिटर र दार्चुलामा ७७ किलोमिटर मार्ग खुलेको छ । तुसारापानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडकखण्डमा मार्ग खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

    डडेल्धुराको सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुर्नयासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा मार्ग खोल्न बाँकी छ । हाल योजनाले छवटा प्याकेजमा गरी डडेल्धुरा र दार्चुलामा ३७ किमीमा सडक कालोपत्रको काम निर्माणाधीन छ । करिडोरअन्र्तगत दार्चुलाको महाकाली नगरपालिका क्षेत्रमा १२ किलोमिटर र खलङ्गादेखि तुसारपानी खण्डमा १०–१० किमी गरी दुई प्याकेजमा सडक कालोपत्रको काम निमार्णाधीन छ । आर्थिक वर्ष २०६५\६६ देखि सुरु भएको करिडोरको सुरुको कुल लागत अनुमान रु १८ अर्ब १६ करोडमा आर्थिक वर्ष २०८०\८१ सम्म पूरा गर्ने लक्ष्य थियो । तर बजेट अभाव, रुख कटानलगायत प्रक्रियागत उल्झनले योजनाको लागत र समय लम्बिँदै गएको छ ।

  • रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड

    रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड

    चितवन, २३ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराएको छ ।

    छिटफुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ । घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरी हित एवं राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुनेगरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आह्वान गरेको छ ।

    रास्वपा प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीले अगाडि सारेका दृष्टिकोण, एजेण्डा र उम्मेदवारको पक्षमा मतमार्फत जनविश्वास व्यक्त हुनेगरी प्रभावकारी योजना निर्माण एवं परिचालनमा केन्द्रित हुन पार्टी संरचना र पङ्क्तिलाई विशेष आग्रह गर्दछौँ ।”

    जेनजी आन्दोलनका क्रममा भएका मानवताविरोधी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न मागसमेत रास्वपाले गरेको छ । विज्ञप्तिमा आउँदा दिनमा राज्यका निकायमा जेनजी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताको प्रिय र विश्वासयोग्य शक्ति बनाउन पार्टीभित्र आन्तरिक लोकतन्त्रको सुदृढीकरण र समावेशितालाई थप व्यवस्थित र प्रोत्साहित गर्ने, पार्टी रुपान्तरणको पक्षमा व्यक्त भएका आवाज र प्रस्तावलाई विधि–प्रक्रियाअन्तर्गत नै सम्बोधन गर्ने तथा निर्णय प्रक्रियामा सबै तहका समिति र सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरणलाई क्रमशः फराकिलो बनाउने निर्णय गरेको छ ।

    देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेकाले यसका लागि समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह बैठकले गरेको छ ।

    फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति ९फागुन ७–९०मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै छ महिनाभित्र महाधिवेशन गर्नेगरी तालिका ल्याउन केन्द्रीय समितिलाई बैठकले आग्रह गरेको छ ।

    बैठकमा देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रूपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल र पार्टीको आन्तरिक जीवन एवं तत्कालीन कार्यभारबारे छलफल भएको थियो ।

    केन्द्रीय समितिका सदस्यसहित देशभरबाट आमन्त्रित पाँच सय १२ प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा स्वर्णिम वाग्लेले चुनावी बाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रुपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको थियो । ती प्रतिवेदनलाई समूहगत छलफल गरिएको थियो ।

    विस्तारित बैठकमा केन्द्रीय सदस्य डा तोसिमा कार्की, केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ तथा चितवन, झापा, रुपन्देही जिल्ला समितिले लिखित सुझाव पेस गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

  • कैलालीको घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन घाइते

    कैलालीको घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन घाइते

    घोडाघोडी (कैलाली), २३ कात्तिक । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौराको मृत्यु भएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए । प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

    घाइते हुनेमा पैदलयात्री घोडाघोडी –२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुर बस्ने ४५ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा रहेका छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । घाइते पदमबहादुर शाहीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

  • बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु

    बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु

    २३ कात्तिक, बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्युु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

    बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, २३ कात्तिक । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतयाः सफा रहनेछ । विभागद्वार आज यहाँ जारी मौसम बुलेटिनका अनुसार कोेशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बुलेटिनमा उल्लेख छ ।

  • बिहार चुनाव २०२५ : मतदाताको नाम सूचीबाट हटाइएको काङ्ग्रेसको आरोप

    बिहार चुनाव २०२५ : मतदाताको नाम सूचीबाट हटाइएको काङ्ग्रेसको आरोप

    पटना, भारत, २३ कात्तिक (रासस–एएनआई) । कांग्रेस नेता पवन खेराले नोभेम्बर ६ मा भएको बिहार चुनावको पहिलो चरणमा लामो समयदेखि मतदान गर्दै आएका व्यक्तिहरूलाई मतदाता सूचीबाट हटाइएको आरोप लगाएका छन् । उनले भारतीय जनता पार्टी (भाजपा) र भारतीय निर्वाचन आयोग (इसिआई) ले हरियाणामा मत हेरफेर गर्न मिलेर काम गरेको आरोपसमेत लगाए । खेलाले भने, “हामीलाई हाम्रा कार्यकर्ताहरूबाट गुनासोहरू प्राप्त भएका छन् कि यो निर्वाचनमा लामो समयदेखि मतदान गर्दै आएका व्यक्तिहरूको नाम मतदाता सूचीबाट हटाइएको थियो।”

    उनले अगाडी भने, “सम्पूर्ण राष्ट्रले के देखेको छ भने भारतीय निर्वाचन आयोग र भाजपाको मिलोमतोमा बिहारमा भएको विशेष गहन संशोधन (एसआईआर) निर्वाचनलाई प्रभावित पार्ने एउटा गलत अभ्यासबाहेक केही थिएन । उनीहरूले मत चोरे र हामी हरियाणामा सरकार बनाउन सकेनौँ।” यसअघि, राहुल गान्धीले शुक्रबार बिहार चुनावमा ‘भोट चोरी’ भएको आरोप लगाएका थिए । उनले चुनावी सूचीमा नक्कली मतदाताहरू समावेश गरिएको दाबी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र निर्वाचन आयोगले हरियाणा चुनावमा मतदाता जालसाजी गरेको आरोप लगाएका थिए । उनले भने, “बिहारका युवाहरूले यस पटक यस्तो हेरफेर गर्न दिने छैनन्।”

    भागलपुरमा एक चुनावी सभालाई सम्बोधन गर्दै राहुल गान्धीले भने, “हरियाणामा दुई करोड मतदाता छन् र मतदान सूचीमा २५ लाखभन्दा बढी मतदाताहरू नक्कली छन् । म तपाईंलाई सुनिश्चित गछर्स कि प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र निर्वाचन आयोगले मिलेर हरियाणा निर्वाचनमा मतदाता चोर्ने षड्यन्त्र गरेका छन्।”

    उनले थपे, “हामीले प्रमाणसहित भनेका थियौँ उनीहरूले लोकसभा, महाराष्ट्र, मध्य प्रदेश, छत्तीसगढमा मतदाता चोरी गरेका थिए र अब उनीहरू बिहारको चुनाव जित्न पनि यही नीति अपनाइरहेका छन् । हामीलाई अन्तिम क्षणसम्म मतदाता सूची प्राप्त हुँदैन । बिहारको जेन–जीले यहाँ भोट चोरी हुन दिने छैन।”

    नोभेम्बर ६ मा, १८ जिल्लामा फैलिएका १२१ सिटका लागि मतदान भएको थियो, जसमा ६४.५ प्रतिशत मतदाता मतदान भएको थियो। दोस्रो चरणको विधानसभा चुनाव नोभेम्बर ११ मा हुने तय भएको छ, जसको मतगणना नोभेम्बर १४ मा हुनेछ। दोस्रो चरणमा बिहारका २० जिल्लाका १२२ सिटमा मतदान हुनेछ, त्यसपछि, बिहारमा चुनाव सकिनेछ । दोस्रो चरणमा औरङ्गाबाद, जहानाबाद, गया, नवादा, जमुई, भागलपुर, पूर्णिया र अन्य जिल्लाहरूमा मतदान हुँदैछ।

  • माइक्रोबस दुर्घटनामा १७ जना घाइते

    माइक्रोबस दुर्घटनामा १७ जना घाइते

    गोरखा, २३ कात्तिकः सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन् ।
    भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटना भएको उनले बताए ।

    दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए । घाइते अधिकांश चितवनको खैरेनी नगरपालिका घर भएका रहेका खुल्न आएको प्रहरीले जनाएको छ । उक्त माइक्रोबसमा १९ यात्रु सवार थिए ।

  • चार घण्टादेखि त्रिभुवन विमानस्थल ठप्प, जहाजहरु धमाधम डाइभर्ट र रद्द

    चार घण्टादेखि त्रिभुवन विमानस्थल ठप्प, जहाजहरु धमाधम डाइभर्ट र रद्द

    २२ कात्तिक, काठमाडौं । धावनमार्गको लाइटिङ प्रणालीमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण ठप्प छ । विमानस्थल कार्यालयका अनुसार अहिले जहाजहरु धमाधम डाइभर्ट गरिएको छ । कतार एयरवेजलाई ढाका पठाइएको छ । कोरियन एयरको जहाज दिल्ली पठाइएको छ । फ्लाइ दुबई लखनउ डाइभर्ट गरिएको छ । दर्जनौं आन्तरिक उडान रद्द भएका छन् । अझै पनि समस्या समाधान भइसकेको छैन । आज रात्रिकालिन सबै उडान अनिश्चित बनेका छन् । आन्तरिक उडानका दर्जन बढी जहाज रद्द भएका छन् ।

  • ‘निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छ’

    ‘निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छ’

    काठमाडौँ, २२ कात्तिकः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिएका छन् । महासङ्घले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले राज्यले निजी क्षेत्रको योगदान आत्मसात् गर्दै आमसर्वसाधारणलाई पनि बुझाउने गरी मन्त्रिपरिषद्बाट सार्वजनिक महत्वको प्रस्ताव पारित गर्नु आवश्यक रहेको बताए ।


    “दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि सबैको प्रयास अहिलेको समयमा आवश्यक छ । यसका लागि सबै राजनीतिक दल, युवा पुस्तालगायत सरोकारवालासँगको संवाद र सहकार्यमा समयमै निर्वाचन हुने वातावरणको सुनिश्चितता हो”, उनले भने, “सरकारले यसतर्पm प्रयास गरिरहेको पनि छ । हामी निजीक्षेत्र पनि सम्पूर्ण रुपमा शान्ति स्थायित्व र समृद्धिका लागि समयमै निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछौँ । यसमा निजीक्षेत्र सहयोग र सहकार्य गर्न तयार छ ।”

    अध्यक्ष ढकालले अर्थमन्त्री रामेश्वर खनालले हालैको एक कार्यक्रममा निजीक्षेत्र भनेको फल दिने वृक्ष हो भनेको स्मरण गर्दै यसलाई थप मलजल गरी बढीभन्दा बढी फल दिनेगरी संरक्षण गर्न सकियो भने मात्रै मुलुकले अधिकतम लाभ लिनसक्ने र मुलुक समृद्ध बन्ने बताए । युवा पुस्ताको आन्दोलन र मागबमोजिम मुलुकमा भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्ने प्रयत्नमा सरकार लागेको समयमा निजीक्षेत्र पनि खरानी टक्टक्याउँदै जुर्मुराउन खोजिरहेको उनको भनाइ छ ।

    महासङ्घले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा रु ४८ अर्बको भौतिक क्षति भएको र यसबाट निजी क्षेत्रको करिब रु ८८ अर्ब बराबार नोक्सानी भएका उनको भनाइ छ । उनले हरेक आन्दोलन वा प्रदर्शनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको भए पनि यसपटक विगतका आन्दोलनभन्दा यसपटक बढी आहत भएको उल्लेख गरे ।

    “एउटा उद्यमीले जसोतसो जोहो गरेर, सरसापट गरेर, ऋण काडेर उद्यमीले लगानी गरेको हुन्छ, राजस्वमा योगदान पु¥याएको हुन्छ, रोजगारी सिर्जना गरेको हुन्छ । तर पनि आन्दोलनमा उद्यमी व्यवसायीका शयन कक्षसम्म लुटपाट भएको छ । व्यापार व्यवसायमा आगो लागेको छ । यो घटनाले सबैले आफैले आफैलाई फर्केर हेर्न पनि बाध्य पारेको छ । हामी पनि समीक्षा गर्दैछौँ हामी कहाँ चुक्यौँ । अनि समाज कहा चुक्यो”, उनले भने ।


    उनले आन्दोलनका क्रममा आगजनी, तोडफोड तथा लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही नहुने हो भने दण्डहीनता मौलाउने उल्लेख गर्दै दोषीलाई कुनै पनि नाममा प्रश्रय दिन नहुनेमा जोड दिए । उनले नेपालमा केही पनि हुँदैन र नेपालको लगानीले केही पनि गर्न सकिँदैन भन्ने नकारात्मक भाष्य चिर्नका लागि महासङ्घको पहलमा नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्श र गैरआवासीय नेपाली सङ्घ सदस्य एवं अन्य व्यवसायीको संलग्नतामा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपीं) कम्पनी स्थापना भएको पनि उल्लेख गरे ।

    “यस कम्पनीले मुलुकभर छरिएर रहेको आन्तरिक पुँजी सङ्कलन गरी ठूला पूर्वाधारका परियोजनामा लगानी गर्नेछ । यसबाट लगानीकर्ताको विश्वास बढाउने र आन्तरिक पुँजीको परिचालनबाट पनि ठूला परियोजना गर्न सकिने सन्देश दिन सकिनेछ”, उनले भने ।

  • आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की

    आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की

    काठमाडौँ, २२ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २।०’ लाई सम्बोधन गर्दै उनले उक्त क्षतिबाट मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत दिँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै प्रयास बाँकी नराख्ने विश्वास दिलाइन् ।

    कानुनको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागिपरेको बताइन् । “घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य छैन, लोकतन्त्रका नाममा लुटतन्त्र हामीलाई स्वीकार्य छैन, इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था रहनुहुँदैन”, जेनजी आन्दोलनको सन्देश स्पष्ट पार्दै उनले भनिन् ।


    सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वसर्त भएको जनाउँदै प्रधानमन्त्री कार्कीले राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट, निजी क्षेत्रमाथि लादिएका शङ्का र दोहनकारी सङ्कटपूर्ण प्रणालीप्रति सरकार सजग रहेको बताइन् । “व्यवसायीका पिर, मर्का हाम्रै पिर, मर्का हुन्, उद्योगी व्यवसायीहरू केवल राज्यलाई कर मात्र तिरेका हुँदैनन्, उनीहरूले रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितताबाट राज्यको ठूलो दायित्व पनि बहन गरिदिएका हुन्छन्”, उनले भनिन् । “तसर्थ, उद्योग व्यवसायबिना देश बन्दैन, उद्योगीको मनोबल नउठेसम्म अर्थव्यवस्था उठ्न सक्दैन, निजी क्षेत्रको मागलाई सम्बोधन गर्न निरन्तर सहकार्य गरिरहेका छौँ ।”

    नेपाल राष्ट्र बैङ्कमार्फत बैङ्क तथा वित्तीय क्षेत्रको स्थिरताका लागि कडा कदम चालिएको जानकारी दिँदै प्रधानमन्त्रीले व्यवसाय गर्ने वातावरण सुधार गर्न नीतिगत जटिलता हटाइँदै लगिएको बताइन् । प्रधानमन्त्री कार्कीले सिङ्गो मुलुक आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुटेको उल्लेख गर्दै निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढ्ने विश्वास व्यक्त गरिन् । “यहीँ नै गरी खान सकिन्छ भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन प्रयासरत छौँ”, उनले भनिन् ।


    अर्थमन्त्री डा रामेश्वर खनालले जेनजी आन्दोलनको प्रभावबाट निजी क्षेत्रलाई पूर्ववत् अवस्थामा ल्याउन वर्तमान सरकारले पहिलो दिनदेखि नै काम थालनी गरेको स्पष्ट पारिन् । “सरकारले पटकपटक निजी क्षेत्रसँग छलफल गरिरहेको छ”, उनले भनिन्, “निजी क्षेत्र मैत्री व्यवहार गर्न सरकार लागिपरेको छ ।” कर प्रशासनका सेवालाई विकेन्द्रित गर्दै लगिएको जानकारी दिँदै उहाँले व्यवसायी जगत्लाई भरोसा जगाउन सरकार प्रतिबद्ध रहेको बताइन् । “व्यवसायीलाई कुनै पनि दुःख नदिईकन सेवा दिन सरकार तत्पर छ”, उनले भनिन् ।


    गृहमन्त्री ओमप्रकाश अर्यालले आमनागरिकको अभिभावकका रूपमा काम गरिरहेको वर्तमान सरकारले निजी क्षेत्रको सरोकार सम्बोधन गर्ने बताए । “मुलुक अहिले कानुनी राज्यका रुपमा अघि बढिरहेको छ, सरकारले कानुनी राज्यको सरकारले गर्छ”, उनले भने, “अर्थतन्त्रको आधारशीला बलियो बनाउनुपर्छ, यसका अङ्गलाई सुरक्षा दिनुपर्छ, यही काम सरकारले गरिरहेको छ ।”

    अर्थतन्त्रको जगेर्ना गर्ने जिम्मेवारी निजी क्षेत्रको भएको उल्लेख गर्दै गृहमन्त्रीले सरकार र निजी क्षेत्रले मुलुकको समृद्धिमा हातेमालो गर्नुपर्ने बताए । “जेनजी आन्दोलनका घुुसपैठ भयो, आपराधिक तत्वले क्षति गरे, तर त्यसलाई राज्यले सम्बोधन गरेको छ”, उनले भने, “३८० जना पक्राउ परेका छन्, १५० जनामाथि मुद्दा चलेको छ, सरकारले उद्योगी, व्यवसायीलाई पूर्ण सुरक्षा दिन्छ ।”

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले औद्योगिक वातावरण प्रवर्द्धनका लागि बाधक बनेको कानुनी व्यवस्था परिमार्जनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उद्योगीलाई सहजीकरण गर्न मन्त्रालय प्रयासरत रहेको जानकारी दिँदै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक विषयलाई उच्च प्राथमिकता दिइने स्पष्ट पारे । मुख्यसचिव एकनारायण अर्यालले स्वदेशमा रोजगारी सिर्जना गरेर काम खोजीमा वैदेशिक रोजगारीमा विदेशिनुपर्ने बाध्यता अन्य गर्नुपर्नेमा जोड दिए ।

    नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले उच्च मनोबलका साथ निर्धक्क भएर व्यावसायिक क्रियाकलाप अघि बढाउन निजी क्षेत्रलाई आग्रह गरे । “उच्च मनोबलका साथ काम गर्नुस् । एउटा दुर्घटनाजस्तो भयो । त्यसपछि वैधानिक सरकार बनेको छ, यो अवसरलाई तपार्इंहरुले सकारात्मक रुपमा लिएर यसलाई सदुपयोग गर्नुहोला”, उनले भने । सो अवसरमा निजी क्षेत्रका प्रतिनिधिहरुले उद्योगी–व्यवसायीलाई निर्धक्क भएर व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने, ऐन कानुनलाई व्यवसायीमैत्री बनाउनुपर्ने, सेवा प्रवाहलाई सरलीकृत गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराए ।

  • अमेरिकी एयरलाइन्सहरुले किन गरे एक हजार उडान रद्द ?

    अमेरिकी एयरलाइन्सहरुले किन गरे एक हजार उडान रद्द ?

    वासिङ्टन, २२ कात्तिक (रासस–एपी) । अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् । यद्यपि अधिकांश तालिकाहरू सामान्य रहे पनि यात्रुहरू अझै पनि असहज अवस्थामा परेका छन् । सङ्घीय उड्डयन प्रशासन (एफएए)ले हवाई यातायात नियन्त्रकहरूमा अत्यधिक कार्यभार र तलब नपाएका कारण उत्पन्न तनाव कम गर्न व्यस्त विमानस्थलहरूमा सेवा घटाउने आदेश जारी गरेको छ । यसका कारण एटलान्टा, डलास, डेनभर, शार्लोटलगायत देशका प्रमुख विमानस्थलहरूमा लामो सुरक्षा लाइन र अन्तिम क्षणका उडान रद्दहरू देखिएका छन् ।

    एफएएको आदेशअनुसार हाल करिब चार प्रतिशत उडानहरू कटौती गरिएका छन् । यसको दर आगामी सातामा १० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । यातायातमन्त्री सिन डफीका अनुसार यदि सरकारी बन्द लामो समयसम्म रह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ ।

    – यात्रुहरू असहज, उडान पुनः बुकिङको हतारो –

    ह्युस्टनको जर्ज बुश इन्टरकन्टिनेन्टल विमानस्थलमा यात्रुहरू बिहानैदेखि लामो लाइनमा उभिन बाध्य भए । कतिपयले कुर्दा–कुर्दै कुर्सीमा सुत्नुपरेको अनुभव सुनाए । एटलान्टामा पुगेकी कारा बर्गेरोनले भनिन्, “लाइनहरू लगातार सर्दै थिए, यस्तो भीड मैले पहिले कहिल्यै देखेकी थिइनँ ।” केही यात्रुलाई भने अझ कठिनाइ भयो । कनेक्टिकटकी चिकित्सक करेन सोइकाको उडान न्युजर्सीको नेवार्कबाट रद्द भएपछि उनलाई न्युयोर्कको जोन एफ. केनेडी विमानस्थल पुग्नुपर्ने अवस्था आयो । उनले उटाह जाने योजनाका लागि कार भाडामा लिन खोजिन, तर उपलब्ध भएन । अन्ततः उनले ‘क्रस–कन्ट्री ट्रक चलाएर जानुपर्ने’ बताइन् । भाडाका कार कम्पनीहरूले पनि एकतर्फी यात्राको माग तीव्र रूपमा बढेको जनाएका छन् ।

    – एयरलाइन्सको प्रतिक्रिया र उडान कटौतीको अवस्था –

    उडान टङ्याकिङ वेबसाइट फ्लाइटअवेयर का अनुसार शुक्रबार मात्रै एक हजारभन्दा बढी उडानहरू रद्द भएका थिए । यो बिहीबारको तुलनामा पाँच गुणा बढी हो । वासिङ्टनस्थित रेगन राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित रह्यो । यहाँ १८ प्रतिशत उडान अर्थात करिब ८० भन्दा बढी रद्द गरिए ।
    डेल्टा एयरलाइन्सले शुक्रबार १७० उडान स्थगित गरेको बताएको छ भने अमेरिकन एयरलाइन्सले सोमबारसम्म दैनिक २२० उडान कटौती गर्ने योजना बनाएको छ । साउथवेस्ट एयरलाइन्सले पनि करिब १२० उडान रद्द गरेको छ । युनाइटेड र अमेरिकन दुवैले प्रभावित यात्रुहरूलाई पुनः बुक गर्न सक्रिय प्रयास भइरहेको बताएका छन् ।

    – राजनीतिक गतिरोध र दीर्घकालीन जोखिम –

    ट्रम्प प्रशासनले डेमोक्रेट सांसदहरूलाई सरकारी बन्द अन्त्य गर्न दबाब दिँदै गर्दा एफएएको आदेश आएको हो । नियन्त्रकहरूलाई महिनाभर तलब नदिइँदा उनीहरूमा आर्थिक र मानसिक दबाब बढेको एफएएको भनाइ छ । यातायातमन्त्री डफीले भने, “हामी ढिलाइ वा अवरोध देख्न चाहन्नौँ, तर जबसम्म सुरक्षा मापदण्ड सुधार हुँदैन, उडान कटौती आवश्यक छ ।”

    विश्लेषकहरूका अनुसार लामो समयसम्मको बन्दले अमेरिकी हवाई ढुवानी प्रणालीमा गम्भीर असर पार्न सक्छ । अमेरिकी हवाई मालसामानको करिब आधा हिस्सा यात्रु विमानमार्फत ढुवानी हुने भएकाले ढिलाइले आपूर्ति शृङ्खलामा पनि प्रभाव पार्नेछ । एलिभेट एभियसन ग्रुपका प्रमुख ग्रेग राइफलले भन्नुभयो, “हवाई यातायात अमेरिकी अर्थतन्त्रको मेरुदण्ड हो । यो बन्दले व्यापारिक बैठकदेखि लिएर पर्यटकहरूको यात्रा, सबै क्षेत्रमा असर पार्नेछ ।”

    – यात्रुहरूका लागि सल्लाह –

    सरकारको निर्देशन अनुसार ढिलाइ आफूहरूको नियन्त्रणभित्रको कारणले नभएसम्म एयरलाइन्सहरूले रद्द भएका उडानका टिकट फिर्ता गर्नुपर्छ तर खाना र आवास खर्च वहन गर्नुपर्ने छैन । यात्रा सल्लाहकार क्रिस्टिना श्लेगलले भनिन्, “आतङ्कित नहुनुहोस्, आफ्नो उडानको स्थिति निरन्तर जाँच गर्नुहोस् र वैकल्पिक मार्गको जानकारी तयार राख्नुहोस् ।” यदि सरकारी बन्द छिट्टै अन्त्य भएन भने आगामी बिदाहरूअघि हवाई यात्रा अझ अव्यवस्थित र महँगो बन्ने विश्लेषकहरूले चेतावनी दिएका छन् ।

  • म्याग्दीको कोसेली : टिमुरका परिकार

    म्याग्दीको कोसेली : टिमुरका परिकार

    रासस
    म्याग्दी, २२ कात्तिक । मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लगिन् । “मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले घर फर्कँदा टिमुर किनेको हो”, तामाङले भने, “पदयात्राको क्रममा लेक लागेमा औषधिको साथै खानासँगै चटनीका रूपमा प्रयोग गर्न स्वादिलो हुनेरहेछ ।”

    रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । म्याग्दी भ्रमणमा आउनेले किनेर लैजानेदेखि देशका विभिन्न सहर तथा विदेशमा रहेका आफन्तहरूलाई कोसेली पठाउने प्रमुख वस्तु टिमुर बनेको बेनीकी उद्यमी मिना राम्जालीले बताइन् । “घुम्न आएकाले सबैभन्दा धेरै किनेर लैजाने वस्तु टिमुरको धुलो र चटनी हो”, उनले भनिन्, “बहुउपयोगी टिमुर म्याग्दीको कोसेली बनेको छ ।” ग्रामीण क्षेत्रका किसानहरूले उत्पादन गरेको टिमुर बेनीका कोसेली घरहरूलाई ल्याएर बिक्री गर्छन् । उद्यमीहरूले टिमुरलाई प्रशोधन गरेर धुलो र चटनी बनाएर बट्टामा राखेर बिक्री गर्छन् । बट्टाको आकारअनुसार टिमुरको धुलो र चटनीको मूल्य हुन्छ ।

    कोसेलीको साथै मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुने गरेको टिमुर व्यवसाय गर्दै आएका बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले बताए । बेनी–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब १५० परिवारले व्यावसायिक टिमुरखेती गरिरहेका छन । यस वर्ष करिब ५० मुरी टिमुर उत्पादन भएको अनुमान गरिएको टिमुरखेती समेत गरेका बानियाँले बताए ।

    म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुरखेती भइरहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । बेनी–९ जिल्लामा बढी टिमुरखेती हुने स्थान हो । म्याग्दीमा हाल वार्षिक करिब छ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने गरेको वन डिभिजनको तथ्याङ्क छ । टिमुरखेतीसम्बन्धी अनुसन्धान गर्दै आएका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणि सापकोटाका अनुसार टिम्मुर औषधीय गुण भएको मसलेदार फल हो । उच्च रक्तचामलाई नियन्त्रण, कलेजो र दाँतको सुरक्षा, ‘फुड पोइजनिङ’ हटाउने टिमुर कलेजोसम्बन्धी समस्या भएका बिरामीहरूले पनि आयुर्वेदिक औषधिको रूपमा प्रयोग गर्ने उनले बताए ।

    पहिलाका वर्षमा साउन, भदौमा टिमुर टिप्ने किसानले पछिल्ला केही वर्षदेखि गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने गरेका छन् । अनुकूल मौसम भएको र फूल खेल्ने समयमा असिना नपरेकाले यसपालि टिमुरको उत्पादन बढेको ढावाकी जमुना राईले बताउनुभयो । खेतबारीमा निजी प्रयोजनका लागि रोपेको टिमुरको दाना बेचेर आम्दानी हुन थालेपछि यहाँका कतिपय किसानले व्यावसायिक उत्पादन पनि थालेका छन् ।

    पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसान नरबहादुर राइले बताए । जिल्लामा टिमुरखेती विस्तार गर्न डिभिजन वन कार्यालय, भू–तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले बिरुवा वितरण गर्दै आएका छन । म्याग्दी उद्योग वाणिज्य सङ्घले टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवर्द्धन गर्दै आइएको जनाएको छ ।

  • लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

    लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

    लमजुङ, २२ कात्तिक । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मस्र्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए । जिप अनयन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते भएपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो ।

    घाइतेहरूलाई बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहर लमजुङमा उपचारको लागि ल्याए पनि उपचारको क्रममा मृत्यु भएको उहाँको भनाइ छ । त्यस्तै सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका ४ का २० वर्षीय उमेश लिम्बू भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

  • मतदाता नामावली संकलन उत्साहजनक : आयोग

    मतदाता नामावली संकलन उत्साहजनक : आयोग

    काठमाडौँ, २२ कात्तिक । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढीरहेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुनेछ ।

    आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म अठार वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन् । आयोगका अनुसार सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले यही कार्तिक ३० गते भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरिएको छ ।

    मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आउने गरेको आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात विगतमा जस्तै १६ वर्ष उमेर पूरा भई नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने छन् ।

  • बाढीपहिरोको क्षतिबाट रु तीन अर्ब ७८ बराबरको बीमा दावी

    बाढीपहिरोको क्षतिबाट रु तीन अर्ब ७८ बराबरको बीमा दावी

    काठमाडौँ, २२ कात्तिकः गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दावी परेको छ । गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार कब्ूल ४३४ वटा बीमा दावीको आवेदन परेको छ ।

    प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ । कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दावीको आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बीमा दावीको आवेदन सुनसरीमा परेको छ । यस्तै, इलाममा ६०, काठमाडौँ ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दावीको आवेदन परेको छ ।


    प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो । प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बीमा कम्पनीमा बीमा दावीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ । हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दावीको आवेदन परेको हो ।

  • कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन

    कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन

    काठमाडौँ, २२ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौँको सीनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका आलमको आज बिहान २ः०० बजे निधन भएको हो ।

    आलमलाई दसैँअघिदेखि अस्पतालमा भर्ना गरेर राखिएको थियो । पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । आलमको उपचारका क्रममा आज निधन भएको अस्पतालका सञ्चालक एवं कांग्रेसका निवर्तमान सांसद डा सुनिल शर्माले राससलाई जानकारी दिए ।
    आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी भएका थिए ।

    विजयी भएसँगै विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री बनेका थिए । त्यसपछि उहाँ २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए । त्यसपछि उहाँ भूमि सुधारमन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत बनेका थिए । उनी विसं २०६७ को पार्टीको १२ औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।


    स्व आलमले विसं २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि कारागार जीवन बिताएका थिए । उनलाई गत जेठ १४ गते रौतहट जिल्ला अदालतको फैसलाले कारागारमुक्त भएपछि ब्रेन स्टोक भएको थियो । पूर्वमन्त्री आलमको दुई छोरा र एक छोरी छन् ।

  • नेपालगञ्ज विमानस्थलमा बन्यो अत्याधुनिक ‘टर्मिनल’ भवन

    नेपालगञ्ज विमानस्थलमा बन्यो अत्याधुनिक ‘टर्मिनल’ भवन

    नेपालगञ्ज, २२ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन निर्माण भएको छ । तोकिएको समयअघि निर्माण सकिएको उक्त भवन केही दिनमा नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनालाई हस्तान्तरण गरिने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आज नेपालगञ्ज विमानस्थालमा निर्माण सम्पन्न भएको टर्मिनल भवनको निरीक्षण गर्दै यथाशीघ्र यो टर्मिनल भवन सञ्चालनमा आउने गरी काम भइरहेको जानकारी दिए । उनले पोखरा, भैरहवा र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभन्दा गुणस्तरीय भवन निर्माण भएको बताउँदै यसले रोजगारी वृद्धिमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गरे ।


    काठमाडौँपछिको ठूलो विमानस्थल मानिएको नेपालगञ्ज विमानस्थालबाट भारतको प्रमुख सहर दिल्ली, लखनउ उडान गर्ने उद्देश्य राखिएको उल्लेख गर्दै महानिर्देशक अधिकारीले उडानका सन्दर्भमा नेपाल र भारतबीच छलफल जारी रहेको बताए । “नेपालगञ्ज विमानस्थलको टर्मिनल भवनबाट अन्तरराष्ट्रिय विमानको उडान गर्न पनि सहज हुनेछ”, उनले भने । धनी मुलुकबाट नेपाल आएका पर्यटकले यहाँको विमानस्थल हेरेर गरिब देशमा आएको अनभूत गरे विमान तथा उडानको अन्तरराष्ट्रिय व्यापार टिकाउ हुन नसक्ने उल्लेख गर्दै उनले समयको मागअनुसार अत्याधुनिक टर्मिनल भवन निर्माण गरिएको बताए ।


    नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनाका प्रबन्धक नलविक्रम थापाले म्याद सकिनुभन्दा करिब डेढ महिनाअघि निर्माण कम्पनीले काम पूरा गरेको जानकारी दिए । उनका अनुसार सो टर्मिनल भवनका लागि कुल लागत रु दुई अर्ब ९८ करोड रहेको छ । उनले भने, “काम एकदमै सन्तोषजनक छ, सबै काम गुणस्तरीय छन्, हाम्रा इन्जिनियरको प्रत्यक्ष निगरानीमा काम सम्पन्न भएको छ ।”

    शर्मा एण्ड कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक रमेश शर्माले करिब दुई महिनाअघि विमानस्थलको टर्मिनल भवनको निर्माण सकिएको उल्लेख गर्दै अन्तरराष्ट्रिय उडानसमेत गर्न मिल्नेगरी काम भएको बताए । नेपालमा निर्माण व्यवसायीले समयमा काम गर्न सक्दैनन् भन्ने भाष्य बनेको छ, त्यसलाई चिर्न सकिएको उनको भनाइ छ । अत्याधुनिक प्रविधि र सुविधा समेटिएको भवनले ‘पिकआवर’मा प्रतिघण्टा एक हजार ६०० यात्रुलाई सेवा दिन सक्ने बताइएको छ । विसं २०७९ पुसदेखि काम सुरु गरेको निर्माण कम्पनीले तीन वर्ष अर्थात् आगामी पुसमा सक्नेगरी तीव्रता दिएको थियो । टर्मिनल भवन सेमी बेसमेन्टसहित तीन तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ ।

    पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु चेकजाँच काउन्टर १४, भिआइपी कक्ष तीन, बच्चाका लागि खेल्ने क्षेत्र (चिल्ड्रेन प्लेइङ एरिया) एक, भन्सार र क्वारेन्टिइन चेकजाँचका लागि अलगअलग कक्ष निर्माण गरिएका छन् । नयाँ टर्मिनल भवनभित्र बगैँचाका साथै पाँचदेखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको पेरिफेरिमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको व्यवस्थापनसमेत गरिएको छ ।

  • उद्योग वाणिज्य महासङ्घले ‘राष्ट्रिय बृहत आर्थिक बहस’ आयोजना गर्दै

    उद्योग वाणिज्य महासङ्घले ‘राष्ट्रिय बृहत आर्थिक बहस’ आयोजना गर्दै

    काठमाडौँ, २१ कात्तिक : नेपाल उद्योग वाणिज्य महासङ्घले शनिबार काठमाडौँमा ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
    कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने महासङ्घले जनाएको छ ।

    यस्तै कार्यक्रममा मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, नेपालस्थित विभिन्न देशका राजदूतहरू, विकास साझेदार र नियोगका प्रमुख एवं प्रतिनिधि तथा निजी क्षेत्रका संस्थाका प्रमुख तथा पदाधिकारीको सहभागिता रहनेछ । जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ आयोजना गरिएको महासङ्घले जनाएको छ । उद्योग वाणिज्य महासङ्घले यसअघि पनि २०८० सालमा राष्ट्रिय बृहत आर्थिक बहस पहिलो शृङ्खला आयोजना गरेको थियो ।

  • हितेन्द्र शाक्यको मुद्दामा आएन अन्तरिम आदेश

    हितेन्द्र शाक्यको मुद्दामा आएन अन्तरिम आदेश

    काठमाडौँ, २१ कात्तिक । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले आज उक्त विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    आदेशमा भनिएको छ, “अन्तरवस्तु र प्रस्तुत रिट निवेदनको तथ्य, कानुनी प्रश्नलगायतका विषयहरू समान भएको र प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेशको माग गरेको विषयमा प्रस्तुत मुद्दाको अन्तिम सुनुवाइ र निर्णय हुँदा रिट निवेदकले उठाएको संवैधानिक एवं कानुनी प्रश्नमा आवश्यक व्याख्या भई निरुपण र सम्बोधन हुनसक्ने विषय देखिए समेतबाट ती सम्पूर्ण मुद्दाहरू र प्रस्तुत मुद्दासमेत साथै रात्रि निर्णय गर्नु उपयुक्त र आवश्यक हुँदा हाल निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन”, अदालतले आगामी मङ्सिर ९ गतेका लागि पेसी तोकेको छ ।

    न्यायाधीश निरौलाको इजलासले यही कात्तिक १८ गते कारण देखाऊ आदेश जारी गर्दै सात दिनभित्र लिखित जवाफ माग गरेको थियोे भने दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियोे । प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक शाक्यले सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएको भन्दै आफूलाई पुनःबहालीको माग गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । अघिल्लो सरकारले चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । वर्तमान सरकारले शाक्यलाई सरुवा गरेका थियो ।

  • सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

    सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

    बनेपा (काभ्रपेलाञ्चोक), २१ कात्तिकः सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताए ।


    उनले भने, “वर्षांैदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए । ठाउँ नै खण्डहर जस्तो बनेको थियो । धुलो टकटक््याएर छपाइ थालेका छौँ ।” उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने छ । सञ्चारमन्त्री खरेलले भने, “२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ ।”

    लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भए पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ सुरु गरिएको जानकारी दिए ।

    पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक पाँच सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ । कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आजैदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै रु तीन अर्ब लगानी भएको छ ।

  • सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    काठमाडौँ, २१ कात्तिकः आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरु, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    “मुद्दाका मिसिलहरु नष्ट हुनबाट बचेको हुँदा पेसी तारेखको मिति आउन बाँकी रहेका उक्त मुद्दाहरुको २०८२ मङ्सिर १ गते उप्रान्त पूर्ववत् रुपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ,” अदालतको सूचनामा भनिएको छ, “अन्य पेसी नचढेका मुद्दाहरुको कानुनबमोजिम अङ्ग पु¥याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”

    बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदनपत्र, दोहो(याई पाउँ भन्ने निवदेन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरु, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो ।

  • रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

    रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

    चितवन, २१ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सौराहामा सुरु भएको छ । बिस्तारित बैठक सुरु हुनुअघि आज बिहान पार्टीको केन्द्रीय समितिको बैठकले कार्यतालिका अनुमोदन गरेको हो । पार्टी प्रवक्ता मनिस झाका अनुसार कार्यतालिकासँगै पार्टीको आन्तरिक र राजनैतिक विषयमा छलफल भएको हो । केन्द्रीय समितिको बैठकपछि विस्तारित बैठक सुरु भएको उनले बताए । दुई दिन चल्ने बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधिसम्बन्धी प्रतिवेदन पेस गर्ने तालिका रहेको छ ।

    विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक र अर्का उपसभापति डा स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि प्रतिबद्धता पत्रको मस्यौदा पेस गर्नेछन् । बैठकमा प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्था बारेमा धारणा राख्नेछन् । पार्टीका केन्द्रीय सदस्य राजन गौतमका अनुसार बैठकमा पेस गरिएका प्रतिवेदनमाथि प्रतिनिधिहरूले सुझाव राख्ने र ती सुझावलाई समेत समेटेर परिमार्जन गर्नुपर्ने देखिए परिमार्जनसहित विस्तारित बैठकले पारित गर्ने छ ।

    बैठकमा पार्टीले आगामी फागुनमा तोकेको महाधिवेशनका बारेमा पनि छलफल हुने जनाइएको छ । बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी सङ्गठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी छन् ।

  • हङकङ सिक्सेस क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

    हङकङ सिक्सेस क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

    काठमाडौँ, २१ कात्तिक । हङकङमा आजदेखि सुरु भएको हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा आज भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो । जितका लागि ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए । उनले १४ बलमा ८ छक्का र १ चौकाको सहयोगमा ५३ रन जोडे । त्यस्तै राशिद खान र मोहम्मद आदिल आलमले समान ११÷११ रन जोडे । अर्को ओपनर लोकेश बमले १० रन बनाए । रुपेश श्रेष्ठ १ रनमा अविजित रहे ।

    यता अफगानिस्तानका लागि फरमुल्ला र इजाज अहमद अहमदजाइले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको थियो । उसका लागि करिम जनितले सर्वाधिक ३५ रन बनाएका थिए । त्यस्तै फरमनुल्लाह सफी ३० रनमा अविजित रहदा गुल्बादिन नाइबले २२ रन बनाए । नेपालका लागि रसिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । अर्को विकेट लोकेश बमले लिए । भोलि नेपालले समूह चरणको अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ ।

  • मेलम्चीको पानी पूर्ण रूपमा रोकियो

    मेलम्चीको पानी पूर्ण रूपमा रोकियो

    काठमाडौँ, २१ कात्तिक । आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए । उनले भने, “गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गरेका छन् । मुहान बन्द गरिएपछि बिहीबार दिउँसोेदेखि काठमाडौँमा आउने मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ ।”

    विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु गरिएको थियो । मेलम्चीको पानी काठमाडौँमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने कार्यकारी निर्देशक दासले बताए । सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

  • अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो

    अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो

    काबुल, २१ कात्तिक (रासस/एएफपी) :
    अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैसँगै उक्त निकायले सिन्थेटिक औषधि उत्पादन र तस्करीमा एकैसाथ तीव्र वृद्धि हुने खतरा रहेको चेतावनीसमेत दिएको छ । तालिबान सरकारका अधिकारीहरूले सत्तामा पुनः फर्किएको एक वर्षपछि सन् २०२२ मा राष्ट्रव्यापी रूपमा अफिम खेतीमा प्रतिबन्ध लगाएका थिए । उक्त प्रतिबन्धपछि अफिम खेतीका लागि समर्पित क्षेत्र सन् २०२४ को १२ हजार ८०० हेक्टर (करिब ३१ हजार ६०० एकड) बाट घटेर सन् २०२५ मा १० हजार २०० हेक्टरमा पुगेको संयुक्त राष्ट्रसङ्घको लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा जनाइएको छ ।

    युएनओडिसीका अनुसार सन् २०२२ मा अफिम खेतीको क्षेत्र करिब दुई लाख ३२ हजार हेक्टरमा फैलिएको थियो । हेरोइनको प्रमुख स्रोत मानिने अफिमको उत्पादन सन् २०२५ मा करिब २९६ टन मात्र भएको अनुमान गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले घटेको हो । प्रतिवेदनअनुसार अफिम बिक्रीबाट अफगान किसानहरूले सन् २०२४ मा प्राप्त गरेको २६ करोड अमेरिकी डलर आम्दानी यस वर्ष घटेर १३ करोड ४० लाख डलरमा सीमित भएको छ । यद्यपि सन् २०२५ मा खेती र उत्पादन घटे पनि सुक्खा अफिमको मूल्य प्रतिबन्धपूर्वको औसतभन्दा अझै पाँच गुणा बढी रहेको बताइएको छ ।

    संयुक्त राष्ट्रसङ्घको उक्त निकायले सिन्थेटिक औषधि, विशेषतः मेथामफेटामाइनको उत्पादन र तस्करी तीव्र गतिमा बढ्दै गएको चेतावनीसमेत दिएको छ । प्रतिवेदनमा भनिएको छ, “उत्पादनको सहजता, नियन्त्रण निकायका लागि पत्ता लगाउनको कठिनाइ र जलवायु परिवर्तनको असरबाट तुलनात्मक रूपमा कम प्रभावित हुने क्षमताका कारण सिन्थेटिक औषधिहरू सङ्गठित आपराधिक समूहहरूका लागि नयाँ व्यापार मोडेलका रूपमा उदाएका छन् ।”

    संयुक्त राष्ट्रसङ्घले बारम्बार अन्तर्राष्ट्रिय समुदायलाई अफगान किसानहरूलाई वैकल्पिक जीविकोपार्जनका उपायहरू उपलब्ध गराउन र अफिम खेतीबाट अन्य बालीतर्फ सर्न सहयोग गर्न आग्रह गर्दै आएको छ । तालिबान सरकारले पनि यस विषयमा विश्व समुदायसँग सहयोगको याचना गरेको छ । प्रतिवेदनका अनुसार अफिम प्रतिबन्धपछि धेरै किसानहरू अन्न र अन्य बालीतर्फ आकर्षित भएका छन्, तर खडेरी र कम वर्षा जस्ता प्रतिकूल मौसमका कारण ४० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहँदै आएको छ ।

    सन् २०२२ को प्रतिबन्धपछि अफगानिस्तानका खेतीयोग्य क्षेत्रहरूमा उल्लेखनीय भौगोलिक परिवर्तन आएको देखिएको छ । दक्षिणका तालिबान गढहरूबाट टाढा रहेका उत्तरपूर्वी क्षेत्रमा खेती बढेको र त्यहाँ केही प्रतिरोध पनि देखिएको प्रतिवेदनमा उल्लेख छ । बदख्सान प्रान्तमा सन् २०२४ को मे महिनामा अफिम खेती नष्ट गर्न पठाइएका सुरक्षाकर्मी र किसानहरूबीच झडप हुँदा कैयौँ नागरिकले ज्यान गुमाउनुपरेको पनि उल्लेख गरिएको छ । अफिम खेती घट्नुले अफगान अर्थतन्त्र र ग्रामीण जीवनमा गम्भीर असर पारेको तर प्रतिबन्धपछि अवैध औषधि व्यापार अन्य रूपमा विस्तार भइरहेको राष्ट्रसङ्घले चेतावनी दिएको छ ।

  • नेपालगन्जमा कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

    नेपालगन्जमा कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

    राँझा (बाँके), २१ कात्तिक । नेपालगञ्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपरेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पुर्याउनु ठूलो चुनौती थियो । प्रेमलाल साहु तेलीसँग वर्षौँअघि हवाईजहाजबाट नेपालगञ्जसम्म स्याउ ढुवानी गरेर बिक्री गरेको अनुभव छ ।

    कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो, तर पनि उनले कर्णालीको उत्पादनलाई बजारसम्म पुर्याउने आफ्नो प्रयास जारी राखे । “पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर बिक्री वितरण गर्नुपथ्र्यो, हवाईजहाजबाट ल्याउँदा स्याउ थिचिने सड्ने जोखिम धेरै हुन्थ्यो”, उनी सम्झन्छन् ।


    कर्णाली राजमार्ग सञ्चालनमा आएपछि भने ढुवानीमा क्रान्तिकारी परिवर्तन आएको छ । अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भई स्याउ सिधैँ तराईका बजारहरूमा आइपुग्छ । “अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भएर आउने हुँदा कर्णालीको स्याउ गुणस्तरीय छ, त्यसैले विदेशी स्याउलाई विस्थापित गर्न सकेको छ”, साहु तेली भन्छन् ।


    विषादी प्रयोग नहुने र गुणस्तर पनि राम्रो हुन थालेपछि कर्णालीको स्याउको माग बढेको छ । नेपालगञ्जमा विगत चार दशकदेखि कर्णालीको स्याउको थोक बिक्री गर्दै आउनुभएका प्रेमलालको अनुभवमा अहिले पश्चिम नेपालको फलफूल बजारमा कर्णालीको स्याउको दबदबा छ । भारतीय स्याउको तुलनामा सस्तो र राम्रो भएकाले उपभोक्ताले यसलाई बढी रुचाएका छन् ।

    सडक सञ्जालको सहजताले गर्दा अहिले सुर्खेत, नेपालगञ्ज, धनगढी, बुटवललगायतका सहरमा ग्राहक जुम्लाको स्याउ खोज्दै आउने गरेका छन् । हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आमउपभोक्ताको रुचिमा परेको छ । अहिले नेपालगञ्ज, कोहलपुर, सुर्खेत, दाङ र बुटवलका चोकचोकमा कर्णालीको जुम्ली स्याउले बजार तानेको प्रेमलालको भनाइ छ ।

    नेपालगञ्जमा कर्णालीको स्याउ थोक बिक्रेता रहेका प्रेमलालले यहाँबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सहरमा स्याउ बिक्री वितरण गर्छन् । कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा उपलब्ध छन् । नेपालगञ्जमा कर्णालीको स्याउको आयात बढ्दै गएको छ । यातायातको सिधा पहुँच भएसँगै कर्णालीको जुम्लालगायत जिल्लाबाट सुर्खेत र नेपालगञ्जमा स्याउ आउने गरेको छ ।

    जुम्लाका फलफूल व्यवसायी र किसानमार्फत नेपालगञ्ज र सुर्खेतमा ल्याएर थोक फलफूल व्यापारीले मागअनुसार देशभर कर्णालीको स्याउ बिक्री गर्ने गरेको प्रेमलालले बताए । उनका अनुसार गत वर्ष नेपालगञ्जबाट मात्र करिब तीन हजार क्विन्टल कर्णालीको स्याउ बिक्री भएको थियो । यो वर्ष पाँच हजार क्विन्टल बिक्री हुने अनुमान छ ।

    “अहिलेको उत्पादनले नेपाली बजारलाई तीन महिनालाई मात्र धानेको छ, सरकारले प्रोत्साहन गर्ने हो भने अहिलेको दोब्बर क्षेत्रफलमा स्याउ खेती गरी उत्पादन पनि दोब्बर लिन सकिन्छ”, प्रेमलालले भने, “उत्पादन बढाएर चिस्यान केन्द्रमा राख्ने होभने नेपालको कुल स्याउ बजारको छ महिनालाई नेपाली उत्पादनले धान्ने सम्भावना र अवसर छ ।”

    कर्णालीमा अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउखेती गरिरहेका छन् । टिपाइ, ग्रेडिङ, प्याकिङलगायतमा ध्यान दिनसके कर्णालीको स्याउ नेपालभर बिक्री गर्न सकिने व्यवसायी साहुको भनाइ छ । किसान र व्यवसायीको जोडबलमै कर्णालीको स्याउले बजार बनाएको उल्लेख गर्दै उनले सरकारले स्याउखेतीलाई प्राथमिकतामा राखेर प्रोत्साहनमूलक नीति र कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए ।

  • विश्व तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्न असफल

    विश्व तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्न असफल

    बेलेम, ब्राजिल, २१ कात्तिक (रासस-एएफपी) । विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार बताएका छन् । उनले कोप–३० सम्मेलनका अवसरमा ब्राजिलमा विश्व नेताहरूसँगको एक छलफलमा भने, “हामी तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएका छौँ । यो विश्वका सवै राष्ट्रको लागि ठूलो लागत र विनाशको कारक बन्नेछ।”

    कोप–३० जलवायु वार्ता अघि बेलेममा भएको नेताहरूको शिखर सम्मेलनमा गुटेर्रेसले भने, “दशकौँको ढिलाइ र अस्वीकारको अर्थ पेरिस सम्झौताको सबैभन्दा महत्वाकाङ्क्षी लक्ष्य, पूर्व–औद्योगिक युगदेखि तापक्रम १.५ डिग्रीभन्दा कम वृद्धिमा राख्ने अवस्था सुनिश्चित गर्न हामी असफल भएका छौँ।” “यो नैतिक असफलता हो र घातक लापरवाही हो,” उनले भने । उनले थपे, “विश्वले जीवाश्म इन्धनहरू चरणबद्ध रूपमा बन्द गर्नेजस्ता द्रुत कार्यहरूद्वारा अझै पनि क्षतिलाई कम गर्न सक्छ तर यसका लागि सबैको तत्परता आवश्यक छ।”

  • देशका अधिकांश भागमा आज मौसम सफा रहने

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    काठमाडौँ, २१ कात्तिकः जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

    कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ ।

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    राष्ट्रिय समाचार समिति (रासस)
    घोडाघोडी (कैलाली), २१ कात्तिक । यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपले त्यो दिन पालो पाएनन् । उनलाई धान बेच्नका लागि चार दिन लाग्यो ।

    जिल्लाको भजनी–४ का राजकुमार चौधरीलाई धान बेच्नका लागि चार दिन लाग्यो । सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाइने आशाले किसान उत्साहित छन् । तर खरिद प्रक्रिया ढिलो भई लामो लाइन बस्दा पालो नआउँदा त्यो उत्साह निराशामा बदलिँदै गएको छ । कतिपय किसानले बिहानदेखि बेलुकीसम्म कुर्दा धान बेच्न नपाई घर फर्किनुपरेको छ । कति रातभरै केन्द्र अगाडि बस्छन्, भोलिपल्ट पहिलो पालोमा आफ्नो धान बेच्न सकुन् ।

    तीन दिन भयो घर फर्किएको छैन । घोडाघोडीका किसान विष्णु चौधरी भन्छन्, “धान बेच्न यति दुःख कहिल्यै भएको थिएन । बिहानदेखि बेलुकीसम्म लाइनमा बस्दा पालो आउँदैन, रातमा डल्लफ र धानको सुरक्षा गर्न यही बस्नुपर्छ ।” उनीजस्तै धेरै किसान अहिले सरकारी खरिद केन्द्रमा धान बेच्नका लागि दिनरात लाइनमा उभिरहेका छन् । यस वर्ष सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ तोकेको छ । बजारमा व्यापारीहरूले कम रकममा किन्ने गरेकाले किसान सरकारी मूल्यमा बेच्ने आशामा केन्द्रमा लामबद्ध छन् ।

    जिल्लामा कात्तिक ११ गतेदेखि धान खरिद सञ्चालन गर्ने सूचना निकालिएको थियो । मौसमका कारण कात्तिक १६ गतेदेखि धान खरिद सुरु गरेको भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढा बताउँछन् । प्रतिकिसान ५० क्विन्टलका दरले धान खरिद भइरहेको उनले बताए । बुढाका अनुसार खरिदमा ढिलाइ हुनुको प्रमुख कारण पूर्वाधारको कमी हो । उनी भन्छन्, “धान खरिदका लागि एउटा काटामात्र सञ्चालनमा छ । किसानको समस्यालाई मध्यनजर गरी नगरपालिकासँग समन्वय गरी अर्को काटा थप्ने तयारी गरिरहेका छौँ ।”

    कैलाली जिल्लाको अधिकांश भूभाग तराईमै पर्छ, जहाँको मुख्य आम्दानीको स्रोत धानलगायत अन्य बाली हो । यहाँका किसानले वर्षभरको मेहेनत यही बालीमा लगाउँछन् । खेतमा पसिना बगाउने उनीहरूका लागि धान बेच्नुमात्र व्यापार होइन, परिवारको जीविकोपार्जनको आधार हो । तर धान बेच्ने पालो नपाउँदा उनीहरू समस्यामा छन् ।

    धान बिक्रीमा ढिलाइ हुँदा किसानको आर्थिक अवस्था प्रभावित भएको छ । खेतमा नयाँ बाली लगाउनका लागि रकम चाहिन्छ, तर धान नबेचेसम्म नगद हातमा आउँदैन । कतिपय किसान बाली बेचेर नै घर चलाउँछन् । घोडाघोडीकी रमिता चौधरी भन्छन्, “धान बेचेपछि तिरौला भनेर सापटी मागी घर खर्च चलाएको छु । लाइनमा बसेको दुई दिन भयो खै कहिले पालो आउँछ ।”

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानी १३ वटा खरिद केन्द्रहरू सञ्चालन गरिरहेको छ । जसअन्तर्गत नेपालभरि नै कैलालीबाट धान खरिद सुरु गरेको छ । भजनी, मोहनपुर, सत्ती, गौरीगङ्गा, जोशीपुर र टीकापुर गरी जिल्लाका छवटा खरिद उपकेन्द्रमार्फत धान खरिद गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रमुख दीपक थापाले जानकारी दिए । सबै उपकेन्द्रहरूमा किसानको लामो लाइन छ ।

    कैलालीमा ३५ हजार क्विन्टल धान खरिद गर्ने भनी तोकिएको छ । हिजोसम्म नौ हजार क्विन्टल बढी खरिद भइसकेको छ । सरकारको समर्थन मूल्यमा नै धान खरिद गरिरहेको बताउँदै उनले भने, “अरू ठाउँमा मूल्य कम पाउने गरेका कारण सबै किसान खरिद केन्द्रमै आएका छन् । जसका कारण निकै भीड छ ।”

    अर्कै समस्या जनशक्ति र पूर्वाधर हो । प्रदेश कार्यालयमा कर्मचारीको दरबन्दी कम हुन्छ । चार कर्मचारी, अछाम, बाजुरा, बझाङ, कालिकोटबाट ल्याएको बताउँदै थापाले भने, “यसपटक सरकारको बजेटमा नै धान खरिद गरेबापत रकम किसानको खातामा हाल्ने व्यवस्था गरेकाले कागजातहरू मिलानका लागि एक जना कर्मचारी त्यही व्यस्त हुन्छन् । त्यसैले धान खरिदमा केही जटिल भएको छ ।” एक उपकेन्द्रमा दुई जना कर्मचारी खटाइएको उनले बताए । बिहान १०ः०० बजेबाट ४ः०० बजेसम्म धान खरिद गर्नुपर्ने भए पनि किसानको चापका कारण बिहान ८ः०० देखि सुरु गरी बेलुका ९ः०० बजेसम्म नै धान खरिद गरिरहेको उनले बताए ।

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुर, २१ कात्तिक स् देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् । स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा बन्ने खुकुरीको मूल्य न्यूनतम रु पाँच सयदेखि अधिकतम रु ५२ हजारसम्म पर्छ । भोजपुरे खुकुरी नेपालका विभिन्न ठाउँसँगै विदेशबाट पनि माग हुने गरेको छ ।

    “यहाँका खुकुरीहरू देशभित्र मात्र होइन, विदेशसम्म निर्यात हुन्छन्”, उनले भने, “मागका आधारमा साधारणदेखि विशेष डिजाइनका खुकुरी बनाइन्छ ।” उच्च मूल्यका खुकुरी विशेष मागका आधारमा बन्ने गरेको छ । त्यसका लागि उच्च गुणस्तरका फलाम, काँसा र काठ प्रयोग गरिने उनले बताए । भोजपुरे खुकुरीले बजारका दैनिक सामान्य माग धान्ने गरे पनि कहिलेकाहीँ ठूलो परिमाणमा माग आउँदा बजारको माग पूरा गर्न कठिन हुने पनि उनको भनाइ छ ।

    परम्परागत सीप र नयाँ प्रविधिको मिश्रणसहित तयार हुने भोजपुरे खुकुरी अहिले पनि नेपाली साहस, गौरव र पहिचानको प्रतीकका रूपमा परिचित छ । भोजपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटक भोजपुरे खुकुरीलाई ‘स्मृति उपहार’का रूपमा लिएर जाने गरेका छन् । यसले यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्याएको स्थानीय बताउँछन् ।

    पहिले हातको सहायताले मात्र बनाइने खुकुरी अहिले आधुनिक उपकरणको सहयोगमा अझ आकर्षक र बलियो बनाइन्छ । फलाम तताउने, छेउ धारिलो पार्ने, फलाम पिट्ने, बिँड लगाउने, दाप बनाउने काम अहिले पनि स्थानीय कालीगढहरूले आफ्नै सीपले गर्दै आएका छन् । भोजपुरे खुकुरी देशका विभिन्न ठाउँसँगै अमेरिका, बेलायतलगायत देशबाट पनि माग हुने गरेको व्यवसायीहरूको भनाइ छ ।

    रासस