राष्ट्रिय समाचार समिति (रासस) दोधारा चाँदनी (कञ्चनपुर), २७ कात्तिकः भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् । कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेका छन् । मजदुरी छोडेर मालिक बन्न रानाले धेरै मेहनत र सङ्घर्ष गर्नुपर्यो । विसं २०६८ देखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न सुरु गर्नुभएका उहाँ अहिले डेरी मालिक बन्न सफल भएका छन् ।
रानाले दुई लिटर दूधबाट व्यवसाय सुरु गरेका हुन् । अहिले उनी दैनिक एक हजार ५०० लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । “भारतमा मजदुरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालेँ,” रानाले भने, “यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु ।” सुरुआतमा साइकलमा दूध सङ्कलन गर्दै हिँड्ने रानाले आफूलाई स्थापित गर्न धेरै सङ्घर्ष गरे ।
त्यही लगन र परिश्रमले उनलाई राम्रो आम्दानीसँगै सफल व्यवसायी समेत बने । गाउँगाउँबाट दूध सङ्कलन गरेर रानाले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा बिक्री गर्दै आएका छन् । दूध बोक्न ६ जनालाई मासिक रु २० हजारदेखि रु २६ हजारसम्म तलब दिएर उनले कामदार राखेका छन् । “दुई लिटर दूधबाट सुरु गरेको थिएँ, बिस्तारै दूध बढी सङ्कलन हुन थाल्यो,” उनले भने, “अहिले एक हजार ५०० लिटर दूध सङ्कलन हुन्छ ।”
यसै व्यवसायबाट रानाले करिब रु ९० लाख बराबरको सम्पत्तिसमेत जोडेका छन् । “दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक रु १३ लाखसम्म आम्दानी हुने गरेको छ,” रानाले भने, “यसबाट म एकदमै खुसी छु, अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको छु ।”
पछिल्लो समय स्वदेशमा रोजगारी नभएको भन्दै थुप्रै युवा विदेश पलायन भइरहेका छन् । तर विदेशमा गरिने दुःखभन्दा आफ्नै भूमिमा केही गर्नुपर्छ भन्दै फर्किनेहरु पनि थुप्रै छन् । विदेशको जागिर छोडेर आफ्नै गाउँघरमा कडा परिश्रम गरेका रानाको सफलता लोभलाग्दो छ । उनी अहिले समाजमा उदाहरणीय व्यक्ति बनेका छन् ।
काठमाडौँ, २७ कात्तिकः हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।
अदानचुली (हुम्ला), २७ कात्तिकः सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएपनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो । अन्य विद्युत्को स्रोत नहुँदा विद्युत्बाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन् । यतिबेला केही सरकारी कार्यालयमा ‘सोलार’ राखिएको भए पनि हिउँदको समयमा खासै घाम नलाग्ने भएकाले मोबाइल चार्ज गर्न समेत समस्या भएको छ ।
मोबाइल र ल्यापटप चार्ज गर्नसमेत नपाएकाले समाचार सङ्कलन र सम्प्रेषणमा समेत समस्या भएको सञ्चारकर्मी नरजङ तामाङले बताए । सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको विद्युत् गृहलगायतका संरचनामा मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत् वितरण बन्द गरिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहले बताए ।
मर्मत कार्य चाँडो गर्न सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले मर्मतस्थलमा पुगेर निर्देशन दिएका छन् । शनिबारसम्म विद्युत् आपूर्ति सञ्चालन गर्ने गरी काम भइरहेको उनले बताए । त्यसैगरी मुहानदेखि फर्बेसम्मको नहरमा पानी चुहिने स्थानको पनि मर्मत कार्य पूरा भएको छ ।
भोजपुर, २७ कात्तिकः भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान गरिएको हो ।
गाउँपालिकाले हालसम्म बाह्र सामुदायिक विद्यालयमध्ये नौ विद्यालयमा मेसिन जडान गरिसकेको र बाँकी विद्यालयमा चाँडै जडान गरिने गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । “अघिल्ला वर्षमा हामीले विद्यालयमा सेनेटरी प्याड पठाउने गथ्र्यौं,” अध्यक्ष राई भने, “तर धेरै छात्राले लाजका कारण मागेर प्रयोग गर्न हिचकिचाउने गर्थे । अब यो मेसिनबाट उनीहरूले सहजै र गोप्य रूपमा आफैँले लिन सक्नेछन् ।”
गाउँपालिकाले पहिलो चरणमा सात माध्यमिक विद्यालय र पाँच आधारभूत विद्यालयमा यस्तो मेसिन जडान गर्ने योजना बनाएको छ । मेसिनमार्फत कार्ड प्रणालीको प्रयोग गरी छात्राले आवश्यक सेनेटरी प्याड विद्यालयमा नै लिन सक्नेछन् । शिक्षा शाखाका अनुसार, महिनावारीका कारण छात्राको विद्यालयमा उपस्थिति दर घट्ने समस्या समाधान गर्न यो योजना प्रभावकारी हुनेछ ।
मेसिन जडान भएपछि छात्रालाई आत्मसम्मानका साथ विद्यालय आउन सहयोग पुग्ने शाखाले जनाएको छ । विद्यालयमा नै प्याड वितरण भएसँगै छात्राको उपस्थितिको दर बढ्ने शाखाको विश्वास छ । गाउँपालिकाले आगामी चरणमा अन्य विद्यालयमा यस्ता मेसिन जडान गर्ने, साथै विद्यार्थीका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
लिमा, २७ कात्तिक (रासस–एएफपी) । पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु हुनुको साथै २४ जना घाइते भएका छन्। दक्षिणी पेरुको अरेक्विपामा भएको दुर्घटना दक्षिण अमेरिकी राष्ट्रमा हालैका वर्षहरूमा भएको सबैभन्दा खराब दुर्घटनामध्ये एक हो।
पेरुलाई चिलीसँग जोड्ने पानामेरिकाना सुर राजमार्गको एक भागमा बिहानै यो घटना भएको थियो। “हामीसँग ३७ जनाको मृत्यु भएको र २४ जना घाइते भएका जानकारी प्राप्त भएको छ,” अरेक्विपाका क्षेत्रीय स्वास्थ्य प्रबन्धक वाल्थर ओपोर्टोले भने । लामोसस कम्पनीले सञ्चालन गरेको बस कारवेली प्रान्तको चालाबाट अरेक्विपातर्फ जाँदै थियो। बसमा ६० जना यात्रु सवार थिए ।
स्थानीय मिडिया रिपोर्टका अनुसार आपसमा दुई सवारी साधन ठक्कर खाएपछि गाडी लगभग २०० मिटर (६५० फिट) गहिरो खोँचमा खसेको थियो भने पिकअप ट्रक सडक नजिकै पल्टेको थियो। अत्यधिक गति, खराब सडकको अवस्था, ट्राफिक सङ्केतको अभाव र अधिकारीहरूको कमजोर कार्यान्वयनका कारण पेरूमा ट्राफिक दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।
इस्तानबुल, २७ कात्तिक (रासस–एएफपी) । टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको मृत्यु भएको टर्की सरकारले पुष्टि गरेको छ । टर्कीको रक्षा मन्त्रालयका अनुसार उक्त सी–१३० हर्कुलस विमानले मङ्गलबार दिउँसो अजरबैजानको पश्चिमी सहर गन्जाबाट उडान भरेको थियो र केही समयपछि जर्जियाको आकाशीय क्षेत्र पार गर्दै गर्दा दुर्घटनामा परेको हो ।
विमानमा रहेका सबै २० जना सुरक्षाकर्मी र प्राविधिक जनशक्तिको निधन भएको जनाइएको छ । टर्कीका रक्षामन्त्री यासर गुलरले आफ्नो आधिकारिक एक्स खातामा विज्ञप्ति प्रकाशित गर्दै भने, “अजरबैजानबाट स्वदेश फर्कंदै गरेको हाम्रो सी–१३० सैन्य कार्गो विमान दुर्घटनामा परेर ११ नोभेम्बर २०२५ मा हाम्रा वीर सहकर्मीहरू शहीद हुनुभएको छ । देशले उहाँहरूको बलिदानलाई सधैँ सम्झनेछ ।”
दुर्घटनाको कारणबारे टर्कीले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन । तर अजरबैजानका सञ्चारमाध्यमहरूले प्रकाशित गरेका प्रत्यक्षदर्शी दृश्यहरूमा विमान हावाबाट तीव्र रूपमा खस्दै जमिनमा ठोक्किएपछि ठूला–ठूला टुक्रामा फुटेको र वरिपरि धुवाँको मुस्लो उठेको देखिन्छ । जर्जियाको गृह मन्त्रालयका अनुसार दुर्घटना अजरबैजान सीमाबाट करिब पाँच किलोमिटर टाढा सिघनाघी क्षेत्रमा भएको हो । मन्त्रालयले स्थानीय सुरक्षा निकाय र उद्धार टोलीहरू घटनास्थलमा पठाइसकेको छ र आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।
जर्जियाको एयर ट्राफिक कन्ट्रोलका अधिकारीहरूले विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै राडार सम्पर्क हराएको जानकारी दिएका छन् । “विमानले कुनै सङ्कट सङ्केत प्रसारण नगरी अचानक सम्पर्क विच्छेद भयो”, एक वरिष्ठ अधिकारीले भने । त्यसपछि आपतकालीन सेवाहरूले दुर्घटनास्थल पत्ता लगाएका थिए ।
दुर्घटनामा परेको सी–१३० हर्कुलस विमान अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित हो । यसलाई विश्वभरका सेनाहरूले मालसामान र जनशक्ति ढुवानीका लागि प्रयोग गर्ने गर्छन् । टर्की र जर्जियाका अधिकारीहरूले संयुक्त रूपमा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् । प्रारम्भिक मूल्याङ्कन अनुसार खराब मौसम वा प्रविधिगत समस्या दुर्घटनाको सम्भावित कारण हुनसक्ने बताइएको छ । टर्की सरकारले शहीद सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति समवेदना प्रकट गरेको छ ।
काठमाडौँ, २६ कात्तिक । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा ९ब्ल्याक प्यान्थर० अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले राससलाई जानकारी दिए ।
पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त कालो चितुवा हाल सामान्य अवस्थामा आएपश्चात अवलोकन गर्न सक्ने गरी राखिएको हो । यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन् उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्ण रूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू विरलै मात्रामा भेटिने गर्छन् ।
काठमाडौँ, २६ कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरी सेवामा रहँदा देखाउनुभएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरी कर्मचारीको मनोबल उच्च रहेको बताएका छन् । तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए ।
उनले भने, “अवकाश हुँदैमा छुट हुँदैन, राष्ट्रिय जीवनमा तपाईंहरुको योगदान यो मुलुकले अपेक्षा गरिरहने छ ।” गृहसचिव रामेश्वर दङ्गालले प्रहरी सङ्गठनको नेतृत्वमा रहेर खापुङले देखाएको कार्यकुशलता प्रसंशनीय रहेको बताए । प्रहरी महानिरीक्षक खापुङले कुनै पनि सेवामा सफल हुनका लागि सेवाप्रति निष्ठा भाव र लगनशीलता महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे ।
काठमाडौँ, २६ कात्तिकः काठमाडौंँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो ।
स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा पालिकाले अग्रस्थान हासिल गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य सेवाको क्षेत्रमा प्राप्त उत्कृष्टता नगरवासीका लागि गर्वको विषय भएको नगर प्रमुख दीपक रिसालले बताए । उनले यो उत्कृष्टताले नगरवासीलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरिय सेवा दिन प्रोत्साहन गर्ने बताए ।
नगरपालिकाले गुणस्तरिय स्वास्थ्य सेवाका साथै नगरवासीको शारीरिक एवं मानसिक स्वास्थ्यका लागि जीवनशैली परिवर्तन र योगका कार्यक्रमलाईसमेत उच्च महत्व दिएको नगर प्रमुख रिसालले जानकारी दिए । योग नगर घोषणा गरिएको गोकर्णेश्वर नगरपालिकाको विभिन्न ९ वटै वडामा गरी हाल ४५ वटा नियमित योग केन्द्र सञ्चालनमा रहेका छन् ।
गोकर्णेश्वर नगर अस्पतालमार्फत नगरपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्नुका साथै नेपाल मेडिकल कलेज, नेपाल अर्थोपेडिक अस्पताल र शङ्करापुर अस्पतालबाट पनि उपचारमा छुटको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।
गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको गहन मूल्याङ्कन पश्चात तयार पारिएको नतिजाका आधारमा शङ्खरापुर नगरपालिका दोस्रो र टोखा नगरपालिका तेस्रो भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९–८० को वार्षिक समीक्षामा पनि गोकर्णेश्वर प्रथम भएको थियो ।
काठमाडौँ, २६ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीका सम्बन्धमा आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीसमेतसँग छलफल गरेकी हुन् । आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्याङ्कनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी गराएको छ ।
आयोगमा दर्ता रहेका र कम्तीमा वडा सदस्यसम्म विजय भएका दलसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताइन् । बरु विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएको कारण विगतमाभन्दा अझै सहज वातावरण बन्दै गएको भण्डारीको भनाइ थियो ।
आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुनेक्रम पनि उत्साहजनक रहेको बताउँदै उहाँले तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव रहेको र आयोग यसका लागि सक्षम आयोगले आफ्नो अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको, जनशक्ति बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको जनाएको छ ।
यस्तै राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्र वितरणका लागि सङ्कलन गरेको जैविक तथ्याङ्क निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताए । आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्दैछ । यसका लागि आज रातभरिमा प्राविधिक तयारी र परीक्षणका सबै काम गरिसक्ने आयोगले जनाएको छ
निर्वाचनका लागि हालसम्म २२ वटा राष्ट्रिय र दुई वटा अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि आवेदन दिएका छन् । यस्तै निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको र अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको आयोगले जनाएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्चको सीमा घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भन्ने विषयमा चासो राखेकी थिइन् ।
काठमाडौँ, २६ कात्तिकः नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालबीच सशक्त र सुदृढ पार्टी निर्माण गर्न सङ्गठनात्मक एकीकरण गर्ने सहमति भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल तथा जागरण अभियानका प्रस्तावक भीम रावलबीच आज पार्टी एकता गर्नेसम्बन्धी सातबुँदे सहमति भएको हो । सहमतिसँगै काठमाडौँको राष्ट्रियसभा गृहमा पार्टी एकता घोषणा सभा सुरु भएको छ ।
जनताको हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृक्तिको मार्गमा अग्रसर रहने दुई पार्टीबीच सहमति भएको छ । यस्तै समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक–सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने, आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पत्रमा उल्लेख छ ।
महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने, सबै तहमा र मातृभूमि जागरण अभियान, नेपालअन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने सहमति भएको छ ।
यस्तै पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमलगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने, पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने तथा पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गरिने सहमति पत्रमा उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीबाट निष्काषित गरेपछि रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका छन् ।
कमलामाई (सिन्धुली), २६ कात्तिक ः सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ प २१४२ नम्बरको मोटरसाइकल तथा मप्र.०२–००६ प ५८४१ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुधौली नगरपालिका–११ टाडी निवासी ३४ वर्षीय रामकुमार कुमर र दुधौली नगरपालिका–३ निवासी २५ वर्षीय फुलबाबु धामीको उपचारका क्रममा दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा दुधौली–३ का २६ वर्षीय विप्लव धामी, सोही ठाउँका २७ वर्षीय वुद्धि थारू, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी घाइते भएका छन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एवं प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार उनीहरू बोल्न समेत नसक्ने अवस्थामा छन् ।
दुर्घटनाग्रस्त मप्र।०२–००६ प ५८४१ नम्बरको मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा क्षति भएकोे छ । ट्रक चालक धनकुटा छथर जोरपाटी गाउँपालिका–६ निवासी २५ वर्षीय शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते चारै जनालाई उपचारका लागि दुधौली नगर अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिए ।
काठमाडौँ, २६ कात्तिकः बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैकले गरेको अध्ययनमा देखिएको छ । केन्द्रीय बैंकले गरेको ‘आर्थिक वर्ष २०८१\८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार, यस प्रदेशमा प्राकृतिक प्रकोपको जोखिम उच्च रहेकाले यस्ता प्रकोपलाई रोकथाम गर्दै ती प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने कार्य चुनौतीपूर्ण रहेको उल्लेख गरेको छ ।
बागमती प्रदेशका केही चुनौतीहरु उल्लेख गर्दै अध्ययनमा भनिएको छ, “शिक्षामा गुणात्मक विकास गर्ने कार्य तथा स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुका साथै सहज पहुँच विस्तार गर्ने कार्य चुनौतीपूर्ण रहेको छ ।” सहरी क्षेत्रमा बढ्दो जनसङ्ख्या वृद्धिले कृषियोग्य भूभाग सङ्कुचन हुनुका साथै पहाडी तथा हिमाली क्षेत्रमा बसाइसराइका कारण जमिन बाँझो हुने प्रवृत्तिका कारण कृषियोग्य जमिनको संरक्षण तथा उपयोगमा सन्तुलन मिलाउने कार्य चुनौतीपूर्ण रहेको अध्ययनमा देखाइएको छ ।
जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपका कारण कृषि, जलविद्युत्, पूर्वाधार, उद्योग, सेवा क्षेत्रमा पर्न सक्ने असरलाई न्यूनीकरण गर्दै दिगो विकासका लागि आवश्यक लगानी बढाउने कायलाई पनि जटिलताको रुपमा लिइएको छ । कृषिमा आश्रित जनसङ्ख्यालाई पूर्णकालीन रोजगारीका अवसर सिर्जना गर्ने र कृषि उत्पादन बृद्धि गर्ने कार्यलाई पनि केन्द्रीय बैंकले चुनौतीको रुपमा ठहर गरेको छ ।
उपत्यकालगायत आसपासका क्षेत्रमा जग्गाको मूल्यमा वृद्धि भएसँगै उद्योग स्थापनाका लागि निजी क्षेत्रले अधिक मूल्यमा जग्गा लिजमा लिनुपर्ने र सोकारण उत्पादित वस्तुतथा सेवाको उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउने कार्यलाई जटिलताका रुपमा लिइएको छ । यस प्रदेशमा चुनौती मात्रै होइन सम्भावना पनि उत्तिकै रहेको अध्ययनमा समावेश छ । काठमाडौं, भक्तपुर, ललितपुरजस्ता ऐतिहासिक स्थललाई धार्मिक सांस्कृतिक पर्यटनमा ठुलो योगदान पु¥याउन सक्ने सम्भावना छ ।
नेपालको अन्तरराष्ट्रिय विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल यसै प्रदेशमा रहेको र अन्य प्रदेशको तुलनामा पर्याप्त पर्यटकीय पूर्वाधार रहकाले पनि छिट्टै आर्थिक विकास हुन सक्ने केन्द्रीय बैंकको अध्ययनमा समावेश छ । पर्यटन क्षेत्रको विकासमार्फत प्रदेशको चौतर्फी विकास गर्ने सम्भावना रहेको र यस प्रदेशमा उपलब्ध भौगोलिक विविधता तथा अन्य प्रदेशको तुलनामा कृषि, पर्यटन, जलविद्युत् तथा व्यापारका क्षेत्रमा रहेको लगानीका कारण रोजगारीको अवसर र आर्थिक वृद्वि हासिल गर्ने सम्भावना उच्च छ ।
सूचना प्रविधि तथा बढ्दो सञ्जालीकरणले उपलब्ध गराएको अवसरको उपयोगमार्फत प्रदेशमा दिगो आर्थिक वृिद्व हासिल गर्ने सम्भावना उच्च रहेको अध्यनमा देखिएको छ । यस प्रदेशमा रहेका उच्च बहावयुक्त नदी एवम् जलस्रोतको उच्चतम प्रयोगमार्फत जलविद्युत् उत्पादनको ठूलो सम्भावना रहेको छ । कृषि क्षेत्रमा नवीनतम प्रविधि, गुणस्तरीय बिउ बीजन एवम् प्राविधिक सहजीकरणको उपयोग गरी कृषिमा व्यावसायीकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने तथा भौगोलिक अवस्थिति अनुसार जडिबुटीको खेती गरी कृषकहरूको आयआर्जन एवम् सो उत्पादनहरूलाई अन्तिम वस्तुका रूपमा प्रशोधन गर्ने उद्योग स्थापना गरी बहुआयामिक लाभ लिन सक्ने सम्भावना रहेको अध्ययनमा उल्लेख छ ।
पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटकीय गतिविधिसँग सम्बन्धित सेवामूलक उद्योग स्थापना गरी प्रत्यक्ष तथा परोक्ष रुपमा पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटकीय गतिविधिसँग सम्बन्धित सेवामूलक उद्योग स्थापना गरी प्रत्यक्ष तथा परोक्ष रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहको अध्ययनमा देखाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर पाँच दशमलव दुई प्रतिशत रहने अनुमान छ । गत वर्ष यस्तो वृद्धिदर तीन दशमलव सात प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१–८२ मा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु २२ खर्ब ३० अर्ब २३ करोड पुग्ने अनुमान छ । समीक्षा वर्षमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११ दशमलव आठ प्रतिशत, ११ दशमलव एक प्रतिशत र ७७ दशमलव एक प्रतिशत रहने अनुमान छ ।
समीक्षा वर्षमा मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा बागमती प्रदेशको अंश क्रमशः १७ दशमलव एक प्रतिशत, ३१ दशमलव सात प्रतिशत र ४५ दशमलव चार प्रतिशत रहने अनुमान छ । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमध्ये थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको अंश सबैभन्दा बढी रहेको छ । घरजग्गा कारोबारको अंश १५ दशमलव दुई प्रतिशत, कृषि, वन तथा मत्स्यपालनको अंश ११ दशमलव आठ प्रतिशत, वित्तीय तथा बीमाको अंश ११ दशमलव दुई प्रतिशत, यातायात तथा भण्डारणको अंश नौ दशमलव तीन प्रतिशत तथा उत्पादनमूलक उद्योगको अंश चार दशमलव नौ प्रतिशत रहको छ ।
काठमाडौँ, २६ कात्तिकः गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष चार सय ९५ जनाको निधन भएकामा यस वर्ष एक सय ४० जनाको ज्यान भएको छ ।
गत वर्ष विपद्का कारण १० हजार आठ सय २३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार नौ सय ९५ घरपरिवार प्रभावित भएका छन् । विपद्मा परेर गत वर्ष ६६ जना बेपत्ता भएकामा यस वर्ष ३० जना बेपत्ता भएका छन् । गत वर्ष विपद्जन्य घटनामा परेर पाँच सय २२ जना घाइते भएकामा यस वर्ष तीन सय जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
प्राधिकरणका अनुसार, यस वर्ष बाढीका दुई सय ९२, पहिरोका पाँच सय १३, भारी वर्षा तीन सय ९७ र चट्याङका दुई सय ५२ वटा घटना भएका थिए । बाढीमा परेर ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते हुँदा तीन हजार दुई सय घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । यस्तै पहिरोमा परेर ६७ जनाको मृत्यु,चार जना बेपत्ता र ७७ जना घाइते भएका थिए भने एक हजार पाँच सय १८ घरपरिवार प्रभावित भएका छन् ।
भारी वर्षाका कारण सात जनाको मृत्यु, २० जना घाइते भए भने नौ सय ६६ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार, चट्याङमा परेर २९ जनाको मृत्यु, एक सय ८९ घाइते हुँदा तीन सय ११ घरपरिवार प्रभावित भएका छन् । यस वर्ष मनसुन सरदरभन्दा बढी अवधिसम्म रह्यो । सरदरभन्दा केही दिनअघि अर्थात् २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन एक सय ३५ दिन रहेर गत असोज २४ गते बाहिरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा एक हजार तीन सय ७५ दशमलव चार मिलिमिटर वर्षा भएको छ । जुन सरदर एक हजार चार १५ दशमलव पाँच मिलिमिटर वर्षाको तुलनामा ९७ दशमलव २३ प्रतिशत हो । औसतभन्दा बढी वर्षा भएपनि मानवीय तथा भौतिक क्षति विगत बर्षको तुलनामा कम भएको थियो । मनसुनको अन्त्यतिर अर्थात् गत असोज १७ देखि २० गतेसम्म ५३ जनाको ज्यान गएको थियो । मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो । इलाममा मात्रै ३९ जनाको ज्यान गएको थियो ।
सरकारले इलामलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । रसुवाको भोटेकोशीमा गत असार २४ गते गएको बाढीका कारण १८ जना बेपत्ता भएकामा ११ वटा शव तथा मानव अंग फेला परेको थियो । बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगायो । सुक्खा बन्दरगाह र तीन वटा जलविद्युत् आयोजानमा अर्बौको क्षति भयो । कार्गोसहित ७६ वटा गाडी बगायो । मनसुनको सुरुवातमा मधेश प्रदेशमा सुक्खाको समस्याबाट प्रभावित भयो । सरकारले मधेश प्रदेशलाई गत सायन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरी सबै निकायलाई एकीकृत रुपमा परिचालन गरेका कारण क्षति कम भएको अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा कमाण्ड सेन्टर स्थापना गरी लगातार ३८ घण्टासम्म स्म्बन्धित सरोकारवालासँग समन्वय तथा निर्देशन जारी भएको थियो ।
यस्तो छ १० वर्षको विवरण
प्राधिकरणका अनुसार, २०७३ सालमा छ सय ४२ विपदजन्य घटना भई दुई सय ८९ जनाको निधन भएको थियो । यस्तै, २०७४ मा छ सय २४ वटा विपदजन्य घटनामा परेर दुई सय ८९ जनाको ज्यान गएको थियो । प्राधिकरणका अनुसार, २०७५ मा छ सय ९३ विपदजन्य घटनामा परेर एक सय २२ जनाको ज्यान गयो ।
यस्तै, २०७६मा आठ सय ४६ विपदजन्य घटनामा परेर दुई सय तीन जनाको निधन भएको थियो । यस्तै, २०७७ मा एक हजार १५ विपदजन्य घटनामा परेर तीन सय ८२ जनाले अकालमा ज्यान गुमाउनु प¥यो । प्राधिकरणको विवरण अनुसार, २०७८ मा सात सय ३७ विपदजन्य घटनामा परेर एक सय ६५ जनाको निधन भयो ।
त्यस्तै, २०७९ मा सात सय १२ वटा विपदजन्य घटनामा परेर एक सय ७९ जनाको ज्यान गयो । त्यसैगरी, २०८० मा आठ सय ९१ वटा विपदजन्य घटनामा परेर ९२ जनाको ज्यान गयो । विसं २०८१ मा दुई हजार एक सय ३९ वटा विपदजन्य घटनामा परेर चार सय ९५ जनाको निधन भएको प्राधिकरणले जनाएको छ ।
मुग्लिन (चितवन), २६ कात्तिकः मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ भरतपुर पठाइएको छ । जिपमा चालकसहित चार जना सवार थिए । जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ, २६ कात्तिकः दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८६ लाख ३० हजार बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको रु २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकामा हिजो उक्त रकम दाखिला गरेको हो । उक्त उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ ।
काठमाडौँ, २६ कात्तिकः मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका सम्बोधन गरिनेछ ।
“मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आव २०७९÷८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउन स्थानीय तहबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा पेस गरिनेछ”, सहमतिमा भनिएको छ ।
त्यसका लागि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सत्यतथ्य सङ्कलन गरिनेछ । राहत तथा क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयमा अनुरोध गरिनेछ । सो समितिमा मेलम्ची खानेपानी विकास समिति र स्थानीय सरोकारवाला पिडित पक्षको तर्फबाट तीन जना प्रतिनिधि रहने गरी प्रक्रिया अगाडि बढाउने र यस कार्यलाई तीन महिनाभित्र सम्पन्न गरिनेछ ।
विभिन्न समयमा आएकाको बाढीको कारण मेलम्ची प्रभावित क्षेत्रमा भएको जनधनको क्षति, उद्योग व्यवसाय, कृषि फर्म तथा दैनिक जीवनयापनमा परेको प्रभाव समेतको अध्ययन गरिनेछ । स्थानीय भेण्डरहरुको बक्यौता रकम निकासा गर्ने निर्णय अनुसार अर्थ मन्त्रालयवाट हालसम्म निकासा हुन नसकेकोले निकासा गराई १५ दिनभित्र निकासा गरिनेछ ।
आयोजनाबाट वितरण हुने खानेपानीको परिपूरण निर्धारणका सम्बन्धमा यसअघि गठन भएका समितिका प्रतिवेदन समेतका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी पैतालिस दिनभित्र मन्त्रिपरिषदमा पेश गरिने सहमति भएको छ ।
यस्तै, मेलम्ची अम्बाथान मेलम्ची घ्यांग सडक निर्माणका लागि विनियोजन भएको बजेट रकममध्ये रु २५ करोड सडक विभागलाई हस्तान्तरण भइसकेको हुँदा उक्त रकमको ठेक्का प्रक्रिया अगाडि बढाइनेछ । सो सडकलाई बहुबर्षीय ठेक्का योजनाअन्तर्गत रु एक अर्बको स्रोत सहमति लिई डिभिजन सडक कार्यालय, दोलखाले बोलपत्रको प्रक्रिया तत्काल अगाडि बढाइनेछ ।
स्थानीय सामाजिक उत्थानका कार्यक्रम समितिका लागि बिनियोजन भएको रकम रु चार करोड र थप रकम रु १९ करोड निकासाको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिनेछ । मेलम्ची हेलम्बु एकीकृत विकास कोरिडोर विकास कार्यक्रम अगामी आवका लागि प्रस्ताव गर्ने सहमति भएको छ । सहमति भए पश्चात् आयोजनामा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । सहमतिपत्रमा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हस्ताक्षर गरेका छन् ।
यस्तै, सहमतिपत्रमा स्थानीयबासी तथा सरोकारवाला समूहका तर्फबाट हस्ताक्षर भएको छ । यस्तै, मेलम्ची खानेपानी विकास समितिका तर्फबाट कार्यकारी निर्देशक जगरनाथ दासलगायतले हस्ताक्षर गरेका छन् । नेपाल सरकार, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको समुपस्थितिमा उक्त सहमति भएको हो ।
इस्लामावाद, २६ कात्तिक (रासस–सिन्ह्वा) । पाकिस्तानको राजधानी इस्लामाबादको जिल्ला अदालत बाहिर मङ्गलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले मिडियालाई बताएका छन् । उनले आत्मघाती विस्पोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थानमा धेरै जिल्ला अदालत रहेको बताए । प्रहरी र उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगी शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको जनाइएको छ ।
घाइते मध्ये इस्लामाबादको मिडिया शाखाका केही अधिकारीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार आक्रमणकारीहरु न्यायिक परिसरमा प्रवेश गर्न चाहेको तर कडा सुरक्षा घेरा पार गर्न नसके पछि अन्ततः परिसर बाहिर प्रहरीको गाडीमा आक्रमण गरेको जनाइएको छ । विस्फोटको कारण केहि गाडीहरूमा आगो लाग्नुका साथै केही क्षतिग्रस्त भएको जनाइएको छ ।
घटनास्थलबाट आत्मघाती आक्रमणकारीहरुले शरीरका अङ्गहरू बरामद गरेको प्रहरीले जनाएको छ भने फरेन्सिक टोलीले आक्रमणकारीको पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासनले अदालत परिसर खाली गरेको छ भने सुरक्षा विभागले उक्त क्षेत्रमा खोजी अभियान सुरु गरेको जनाइएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी नलिएको जनाइएको छ । यद्यपि, सुरक्षा स्रोतहरूलाई उदृत गर्दै सिन्ह्वाले अफगानिस्तानबाट सञ्चालित प्रतिबन्धित सङ्गठन तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले आक्रमण गरेको जनाएको छ ।
रियाद, २६ कात्तिक (रासस\एएफपी) । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने बताए । “यो निश्चित हो,” उनले भिडियो लिङ्कमा साउदी फोरमसँग भने, उनलाई सोधिएको प्रश्नमा उनले भनेका छन्, “सन् २०२६ मेरोे विश्वकप खेलका लागि अन्तिम स्पर्धा हुनेछ।”
“म ४१ वर्षको हुनलागेँ र मलाई लाग्छ यो क्षण अन्तराष्ट्रिय खेलबाट विदा लिन उपयुक्त हुनेछ।” सन् २०२३ मा साउदी अरबको अल नासरमा आकर्षक कार्यकाल सुरु गरेका रोनाल्डोले गत हप्ता आफूले चाँडै नै संन्यास लिने बताए । “सम्भवतः अझै एक वा दुई वर्ष हो म खेलमा हुनेछु,” उनले भने । पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले आगामी वर्ष छैटौँ पटक विश्वकप खेलमा प्रतिस्पर्धा गर्ने लक्ष्य राखेका छन् । सन् २००६ मा पोर्चुगल सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो र यो नै उनको नेतृत्वमा पोचुगलका लागि उपाधिको लागि सबैभन्दा उत्कर्ष अवस्था थियो ।
पोर्चुगलले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा छनोट हुन सकेको छैन तर बिहीबार आयरल्यान्डलाई पराजित गरेमा पोर्चुगलले आफ्नो स्थान सुरक्षित गर्नेछ । रोनाल्डो २०२२ को अन्त्यमा दोस्रो पटक म्यानचेस्टर युनाइटेड छोडेपछि अल नासरमा सामेल भएका थिए । उनको आगमनले तेलको धनी राष्ट्र साउदी अरबमा पछिल्लो समय विश्वका प्रसिद्ध खेलाडी आगमनका लागि तयार बनेका छन् ।
आर्थिक विविधीकरण योजनाअन्तर्गत खेलकुद र मनोरञ्जनमा ठूलो रकम खर्च गरिरहेको साउदी अरबलाई गत डिसेम्बरमा सन् २०३४ को विश्वकप आयोजनाको लागि अवसर दिने फुटकलको सबैभन्दा उच्च अन्तर्राष्ट्रिय समिति फिफाले घोषणा गरेको थियो ।
काठमाडौँ, २६ कात्तिक । काठमाडौँ महानगरपालिकाले गौरवको योजनाअन्तर्गत सहरलाई धुलोमुक्त बनाउने कार्यलाई तीव्र बनाएको छ । उक्त कार्यअन्र्तगत पछिल्लो समय बिग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान धमाधम भइरहेको कामपाको धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव काफ्लेले जानकारी दिए । कामपा वडाबाट आएको मागका आधारमा काम गरिने ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पश्चिम क्षेत्रमा करिब ८ किलोमिटर सडक सुधार योजना कार्यान्वयन थालिएको छ ।
इञ्जिनियर काफ्लेका अनुसार लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको एक हजार १६० मिटर लामो सडक पनि कालोपत्रे हुनेछ । स्थानीयबासीले आफ्नो नामको जग्गा सडकमा रहेको दावी गरिरहेको यो विवादित सडक खण्डको करिब १९० मिटर सडक गएको महिना कालोपत्रे गरिएको छ । यो सडक खण्डमा ९ मिटरदेखि १४ मिटरसम्मको चौडाइ छ ।
बालाजु सडकसँगै विष्णुमती कोरिडोरअन्तर्गत वडा नम्बर १३, १४, १५ र १६ क्षेत्र, कुलेश्वर टेकु सडक, भगवती मन्दिर (कुमारी क्लव), कुलेश्वर लिङ्क मार्ग, शितला स्कुलबाट नागरिक बजार चोक ९जामाचो मार्ग०, सोह्रखुट्टे– पकनाजोल, चाक्सीबारीबाट जेपी चोकसम्म, कुलेश्वर–फलफूल बजार, बालाजु हाइटको गणेश मन्दिरबाट नागार्जुन पर्खालसम्म, शितला मार्गबाट पहिरा लिङ्क मार्ग, उमा महेश्वर मार्ग, रवि भवन मार्ग, बल्खुको सर्भिस ट्रयाकसहितका सडकमा काम हुनेछ ।
पूर्वाधार सुधार धुलोरहित सहर बनाउने कामपाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने बहुवर्षीय योजना हो । यसका लागि हरेक वर्ष करिब रु १ अर्ब खर्च हुने अनुमान गरिएको छ ।
यस कार्यका लागि कामपाको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडा पर्छन् । पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन् । उत्तर क्षेत्रमा वडा नं १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । मध्य क्षेत्रमा भित्री वडाहरू, वडा नं ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब रु ४५ करोड लागत अनुमान गरिएको छ ।
काठमाडौँ, २५ कात्तिक । मसुरीको दाल, रायोको साग, र टमाटरको चटनीसहित अम्बिका विश्वकर्माले श्रीमान् सन्तोषका लागि खाना पस्किइन् । सन्तोष गहना पसलमा काम गर्थे । बिहानको खाना खाएपछि गहना बनाउने कामका लागि जानुपर्ने सन्तोषको दैनिकी थियो । गत भदौ २३ गते भने सन्तोष सधैँ भन्दा अलि हतारमा देखिन्थे ।
अम्बिकाले त्यो दिन सम्झिँदै भनिन्, “खै किन हतार थियो ? फोन आइरहेको थियो साथीहरुको । खाएर निस्किहाल्नुभयो ।” कामका लागि होला भन्दै अम्बिकाले छिटो खाना खुवाएर सन्तोषलाई बिदा गरिन् । “छोराछोरीले बाउ खोज्छन्, साँझ बेलैमा आउनु है,” सन्तोषले अम्बिकातिर हेर्दै जवाफमा “ल । ल ।” दुई शब्द मात्रै पmर्काए । भदौ २३ गते बिहान १०ः०० बजे बिदा भएका सन्तोष रात बित्यो, फर्किएनन् ।
दिनभर बानेश्वर संसद्भवनअगाडि आगजनी र गोली चल्यो भन्ने समाचार, भिडियोहरु अम्बिकाले सामाजिक सञ्जालमा हेरिरहिन् । त्यही संसद भवन नजिकै आन्दोलनमा सहभागी सन्तोषलाई अम्बिकाले गोली लागेको खबर राति १२ः०० बजे मात्रै थाहा पाइन् ।
काम गर्न भनेर निस्किएका श्रीमान् बेलुका आएरसँगै खाना खाउँला भन्ने प्रतीक्षामा रहेकी अम्बिकालाई श्रीमानलाई गोली लागेर अस्पताल भर्ना भएको खबर मध्यरातमा पाउँदा पृथ्वी भासिएझैँ भयो । खुट्टाहरु काँपिरहे । मुटु चिसो भयो । उदयपुरको बेलका नगरपालिका–४ देखि काठमाडौँ आएर सपरिवार बस्न थालेको एक वर्षमात्रै भएको थियो । काठमाडौँको रहनसहनमा त्यति अभ्यस्त हुन बाँकी अम्बिका विचल्लीमा परिन् ।
राति हिँड्ने स्थिति थिएन । भोलिपल्ट उनी सन्तोषका साथीहरुको सहयोगमा काठमाडाँैमा भए जतिका अस्पतालमा घाइते श्रीमान् खोज्न हिँडिन् । अन्तिममा वीर अस्पतालमा मृत शरीर रहेको थाहा भयो । गेटबाट भित्र प्रवेश गर्ने अवस्था थिएन । प्रहरीको कडा सुरक्षाले गर्दा आफ्नो मान्छेसमेत हेर्न जान पाइनन् । अम्बिकालाई त्यो दिन सम्झँदा अहिले पनि रिङ्गटा लाग्छ ।
बोल्दाबोल्दै वाक्य बन्द हुन्छ । आँखाबाट आँशु टिल्पिलाउन थालिहाल्छ । अनि मन पोल्छ । अँध्यारो कोठामा चिच्याउँदै रुन मन लाग्छ । “कति रुनुँ रु मैँ रोए छोराछोरीको मुहारमा हाँसो कसरी आउला ?” अम्बिका यसैगरी फेरि कमजोर भएको मनलाई बलियो बनाएर छोराछोरीका लागि सङ्घर्ष गर्दै छिन् । उनको सङ्घर्ष अब राज्यसँग छ । आन्दोलनमा ज्यान गुमाएर सहिद भएका श्रीमान्को सपना पूरा गर्ने जिम्मेवारी अम्बिकाको काँधमा छ । दुई छोराछोरीको शिक्षादीक्षासँगै उदयपुर, बेलका–४ मा रहेका बुबाआमाको हेरचारसमेत गर्नुछ ।
सन्तोष कान्छा छोरा थिए । उमेरले ७० कटेका बृद्ध बुबाआमाको हेरचाह उनले नै गर्थे । मजदुरी गरेरै जीवन चलाएका सन्तोषको परिवारको अहिलेसम्म सरकारी भूमिमा स्वामित्व छैन । “ऐलानी जग्गामा घर छ, कमाउने मान्छे ढल्यो । सधैँ सुकुम्वासी बन्ने भइयो”, अम्बिका वेदना पोख्दै भन्छिन्, “केही काम पाए, गर्थें । केटाकेटीको पेट पाल्न त सक्थेँ ।”
अम्बिकाका अनुसार सरकारले सहिदका नाममा रु १५ लाख राहत रकम दिएको छ । यीबाहेक जेनजी आन्दोलनमा सहिद भएका परिवारका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने, श्रीमान् वा श्रीमतीलाई रोजगार दिने आमा वा बुबामध्ये एक जनालाई पेन्सन दिनुपर्ने माग थियो । अहिले अम्बिका राज्यसँग पूरा हुन नसकेका माग प्राप्तिका लागि सङ्घर्षरत छिन् । श्रीमान बितेको दिन महिनादेखि अम्बिकाको आम्दानीको स्रोत बन्द भएको छ । सरकारी विद्यालयमा दुई छोराछोरी पढ्छन् । उनीहरुको भविष्यका लागि पनि अम्बिकालाई रोजगारी आवश्यक छ । उनी भन्छिन्, “मैले जीवन साथी गुमाएँ, छोराछोरीले बाउको सहारा गुमाए । बाँच्ने आधार के हो ? राज्यले निकास दिनुपर्छ ।”
जेनजी सहिद परिवारका समूहमा उनले यिनै कुरा उठान गर्दै आएकी छिन् । कलाकारितामा रुचि भएकी छोरीलाई कलाकार बनाउने सन्तोषको सपना अधुरै रहेको अम्बिकाले बताइन् । जेनजी आन्दोलमा बुबा गुमाएको कुरा गरिरहँदा छोराछोरीको मनोविज्ञानमा असर परेको पनि उनको भनाइ छ । “छोरीले बाबा सम्झिन्छिन्, छोरो टोलाइरहन्छ”, अम्बिका भन्छिन्, “के काम गरेर पेट पाल्ने ? रोजगार छैन ।”
काठमाडौँ, २५ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग हालसम्मको प्रगतिबारे जानकारी लिँदै उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा यही कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् । समितिमा क्याप्टेन केबी लिम्बू विज्ञसदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख सदस्यसचिव छन् । सचिव मैनालीले यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।
दोधारा चाँदनी (कञ्चनपुर), २५ कात्तिकः नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा यही कात्तिक २७ गतेदेखि मङ्सिर ३ गतेसम्म भारतको देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न उक्त टोली भारत प्रस्थान गरेको हो । महिला टोलीलाई जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरले आज यहाँ एक कार्यक्रमबीच बिदाइ गरेको हो ।
देहरादुनमा हुने सो प्रतियोगितामा नेपालले भारतको राजस्थान, पश्चिमबङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष एवं क्यानका केन्द्रिय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार नेपालले पहिलो खेल कात्तिक २७ गते राजस्थानविरुद्ध खेल्नेछ । यस्तै कात्तिक २८ गते उत्तराखण्डसँग, कात्तिक २९ गते पश्चिमबङ्गालसँग, आगामी मङ्सिर १ गते राजस्थानसँग, मङ्सिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मङ्सिर ३ गते पश्चिम बङ्गालविरुद्ध खेल्ने छ ।
“विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत गएको हो, यो प्रतियोगिताबाट खेलाडीको क्षमता बढ्ने छ”, उनले भने । टोलीमा कप्तान इन्दु बर्मा, कविता कुँवर, साना परविन, रुबिवना क्षेत्री, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सवनम राई, विन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन् ।
काठमाडौँ, २५ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा यही कात्तिक २६ गते आयोजना हुने आइसिटी लिडरसिप फोरममा सहभागी हुन सञ्चारमन्त्री खरेल आज साँझ कोरिया प्रस्थान गरेका हुन् । मन्त्री खरेलका साथमा उहाँका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया गएका छन् । सञ्चारमन्त्री खरेललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव राधिका अर्यालसहितको टोलीले बिदाइ गरेको छ ।
फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसनः स्ट्राटिजिस एन्ड च्यालेन्ज र ग्लोबल कोअपरेशन फर सस्टेनेवल डिजिटल फ्युचर विषयमा दुई सत्रहरू सञ्चालन हुनेछन् । डिजिटल र एआई ट्रान्सफर्मेसनः एसडिजीहरू र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषयअन्तर्गत फोरममा एचिभिङ द एसडिजी एन्ड ए फ्युचर’ विषयक फोरममा नेपाल, भुटान, श्रीलङ्का, पाकिस्तान, कम्बोडिया, लाओ पिडीआर, भियतनाम, काजकिस्तान, मङ्गोलिया र उब्जेकिस्तानका मन्त्रीहरू र वरिष्ठ नीति निर्माताहरू सहभागी हुनेछन् । एसिया प्रसान्तका लागि संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तरराष्ट्रिय संस्थाहरू पनि सहभागी हुने जनाइएको छ । मन्त्री खरेल यही कात्तिक २९ गते स्वदेश फर्कने तालिका छ ।
काठमाडौँ, २५, कात्तिकः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता कार्यलाई तीव्रता दिएको छ । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकले मात्र मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जनाएको छ ।
फागुन २० गतेसम्म १८ वर्ष नपुगेका तर नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिलाई भने निर्वाचन सम्पन्न भएपछि पनि मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ । दैनिक आठ सयभन्दा बढी नाम दर्ता भइरहेका तथा जिल्लामा दुई चरणमा ६÷६ घण्टाका दरले सेवा प्रवाह गरिने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उक्त प्रयोजनका लागि काठमाडौँं उपत्यकाभित्रका तीन जिल्लाका दर्ता केन्द्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएको छ । अन्य जिल्लामा भने सेवाग्राहीको चापका आधारमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले आवश्यक थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरेको आयोगले जनाएको छ ।
काठमाडौँ, २५ कात्तिकः सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले आज मुख्यमन्त्री यादवलाई उक्त प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश दिएको हो ।
“यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यही कात्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त सरोजकुमार यादव र निजको सिफारिसमा सोही मितिमा गठन भएको मन्त्रिपरिषद्बाट मधेस प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) (क) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ ।”
अर्जुन साह र रकिप्रसाद साहले सोमबार दायर गरेको रिट निवेदनमा अदालतले उक्त आदेश दिएको हो । अदालतले उक्त विवादलाई अग्राधिकार दिई आगामी मङ्सिर ११ गते बोलाएको छ । साथै, मङ्सिर १० गतेभित्र लिखित जवाफ पेस गर्न आदेशमा भनिएको छ ।
काठमाडौँ, २५ कात्तिकः विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मुलुकका ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको छ । पालिकाहरुमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन गरी कोणसभा गर्ने एमालेको कार्यक्रम रहेको छ ।
सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताए ।
उनका अनुसार यही कात्तिक २२ गते देशका छ हजार ७४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन् । यही कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको उनले जानकारी दिए ।
सोलुखुम्बु, २५ कात्तिकः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ ।
विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्तयाम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुनेगरी तयारी भइरहेको छ । यो करिब २०० मिटरजति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उनले बताए । खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवं पर्यटनविद् आङ्छिरिङ शेर्पा बताए । उनका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित नुप्सेतर्फको उक्त बाटो उपयोगविहीन भएको हो । यो बाटो खुम्बु आइसफलतर्फको भन्दा धेरैगुणा सुरक्षित र भरपर्दो रहेको उनको भनाइ छ ।
सोही मार्गको खोजी, अनुसन्धान तथा पुनःसञ्चालनका लागि विश्वविख्यात आरोही तथा अनुसन्धानकर्ता काजी शेर्पा, फ्रान्सका आरोही मार्क वटाई र फ्रान्सकै अर्का विश्वविख्यात आरोही एन्ट्वान एरोेलाई जिम्मा दिइएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए । उनका अनुसार नुप्से हिमालको फेदीमा सगरमाथा आधार शिविर हुनेगरी उक्त मार्ग निर्माणको करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ ।
बाँकी २० प्रतिशत कार्य पूरा गरी आगामी वसन्तयाम (फागुन–चैत) भित्रमा सञ्चालन गर्नेगरी तयारी भइरहेको विभागका निर्देशक गौतमले बताए । “विश्वविख्यात आरोही नेपालका काजी शेर्पा र सगरमाथा आरोही फ्रान्सका मार्क वटाईको टोली सक्रिय भएका छन्, मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले अनुमति दिइसकेको छ”, उनले भने, “यद्यपि त्यसका लागि सरकारको आर्थिक लगानी भने गरेको छैन ।”
फ्रान्सस्थित विभिन्न पर्वातारोहण सङ्घसंस्थाको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले उक्त ऐतिहासिक बाटोलाई वैकल्पिक रूपमा खुलाउन लागेको गौतमले जानकारी दिए । “सगरमाथा आरोहणका लागि अहिले सञ्चालनमा रहेको खुम्बु आइसफल हुँदै क्याम्प एकसम्मको बाटो असाध्यै जोखिमयुक्त मानिन्छ । बर्सेनि आधा दर्जनभन्दा बढी आरोहीले अरोहणका क्रममा सगरमाथा क्षेत्रमा ज्यान गुमाउने गरेका छन् । तीमध्ये एक चौथायी घटना खुम्बु आइसफलमा हुने गरेको छ”, विभागका निर्देशक गौतमले भने ।
सगरमाथा आरोहण गर्दा पहिलो जोखिम भनेको खुम्बु आइसफलमा हो । यहाँ हिउँ पग्लने, फाट्ने भइरहने हुनाले धेरै खतरा मोलेर जानुपर्ने सगरमाथा आरोही विजय घिमिरेले बताए । नयाँ मार्ग नुप्सेको फेदीबाट खुम्बु आइसफल छलेर जाने भएकाले अन्यन्त उपयोगी र कम जोखिमयुक्त हुनसक्ने उनको भनाइ छ ।
सोही बाटो हुँदै ७२ वर्षअघि तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा शिखरमा पाइला टेकेका थिए । यही पुरानो मार्गलाई पुनःजीवन दिनेगरी करिब १० जना विश्वविख्यात आरोहीसहितको समूहले करिब तीन वर्षअघिदेखि सक्रिय नयाँ पदमार्ग खोजी गरेको खोज तथा अनुसन्धानकर्ता काजी शेर्पाले बताए । उनका अनुसार आगामी वसन्तयाम (स्प्रिङ सिजन) भित्र सो आरोहण मार्ग औपचारिक रूपमा खुल्ने तयारी तीव्र गतिमा अघि बढेको छ ।
काजीले भने, “यो केबल हिमाल आरोहणको बाटो होइन । यो नेपालको इतिहास, गौरव र पहिचानको पुनर्जन्म हो, जसमा यसपटक स्थानीय समुदाय, नेपाली आरोही, अन्तरराष्ट्रिय दाताहरू र नेपाल सरकार सबैको सहकार्य जोडिएको छ । अहिलेसम्म पूरै मार्गको ८० प्रतिशत काम पूरा भइसकेको छ । बाँकी काम आगामी मार्च–अप्रिल अर्थात् वसन्तयामभित्र सक्ने लक्ष्य राखिएको छ ।”
सरकारद्वारा अनुमति प्राप्त
सगरमाथाका लागि ऐतिहासिक उक्त मार्ग खुलाउन सरकारले काजी शेर्पा र फ्रान्सका मार्क वटाईको नेतृत्वमा अनुमति प्रदान गरेको छ । सङ्घीय सरकारको २०८१ पुस २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा र वटाईको टोलीलाई लिखित रूपमा अनुमति दिइएको विभागका निर्देशक गौतमले जानकरी दिए ।
विभिन्न फ्रान्सेली संस्था तथा दाताहरूको आर्थिक सहयोगमा काम अघि बढे पनि अन्य सहयोग र समन्वयमा सङ्घीय सरकारअन्तर्गत पर्यटन विभागको साथ रहेको उक्त समूहको नेतृत्व लिनुभएका शेर्पाले बताए । विभागले आरोही शेर्पाको नेतृत्वमा रहेको समूहलाई छ हजार १०० मिटर उचाइसम्म मार्ग विस्तार र निश्चित मार्ग निर्माणको लिखित अनुमति दिएको छ ।
“सगरमाथा क्याम्प एकसम्म मात्रै अनुमति दिइएको छ । क्याम्प एकभन्दा माथि जाने बाटो भने एउटै छ”, पर्यटन विभागका निर्देशक गौतमले भने । यो मार्ग सञ्चालनमा ल्याउनसके आरोहण यामका बेला हालको आधार शिविरमा भइरहेको मानवीय चाप, कोलाहल तथा प्रदूषणलाई कम गर्न सकिने विभागको विश्वास छ ।
यो परियोजना नेपालको पर्वतारोहण इतिहाससँग सम्बन्धित भएकाले मन्त्रालयको सहमति र पर्यावरणीय स्वीकृतिसहित अघि बढाइएको गौतमले बताए । उनले भने, “हामीले यसलाई सुरक्षित र स्थायी बनाउन सबै प्राविधिक मापदण्डमा ध्यान दिएका छौँ ।”
स्थानीय र अन्तरराष्ट्रिय सहकार्यको नमुना
यो अभियानको विशेषता केबल सरकारी परियोजना मात्र नभएर मुलुकको इतिहाससँग जोडएको विज्ञको भनाइ छ । यस अभियानमा हिमालयन एक्सपेडिसन लुम्बिनी विकास कोषका गुडविल एम्बासडर तथा ग्रिसका कन्सुलर विक्रम पाँडेकाजीले पनि आर्थिक सहयोग गर्नुभएको छ । साथै पर्यटन विभागका तत्कालीन महानिर्देशक डा नारायणप्रसाद रेग्मीले प्राविधिक र नीतिगत समन्वयमा सक्रिय रूपमा साथ दिनुभएको शेर्पाले उल्लेख गर्नुभयो ।
फ्रान्सका एन्तोनियो इरोडले पनि उक्त टोलीसँग जोडिएर काम गरिरहेका छन् । “यो केबल मार्ग निर्माण होइन, यो विश्वका आरोहीहरूसँग नेपालको पुरानो सम्बन्ध पुनःस्थापना हो”, इरोडले भने । उनका अनुसार अहिलेसम्म करिब २२० वटा निश्चित खुट्किला तयार भइसकेका छन् । “यसले आरोहणमा प्रयोग हुने सुरक्षा डोरी र सिँढीहरूको आधार तयार गर्छ । कूल करिब २७० वटा खुट्किला बनाउनुपर्नेमा बाँकी ५० वटाको काम आगामी फागुन, चैतभित्र सम्पन्न हुने योजना छ”, उनले भने ।
चार लाख अमेरिकी डलर अनुमानित लागत
यो मार्ग पूर्ण रूपमा तयार गर्नका लागि करिब चार लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म तीन लाख डलर खर्च भइसकेको आरोही काजी शेर्पाले बताए । बाँकी एक लाख डलर दाताहरूले अझै सङ्कलन गरिरहेको उनको भनाइ छ ।
शेर्पाले भने, “मुख्य सहयोग फ्रान्सका पर्वतारोहण प्रेमी र निजी दाताबाट आएको छ । यो रकम निश्चित मार्गसहित खुट्किला निर्माण, सुरक्षा व्यवस्थापन, प्राविधिक उपकरण र मार्ग सफाइका लागि प्रयोग भइरहेको छ ।”
नयाँ बाटोः कम जोखिम, बढी सुरक्षा
नयाँबाटो पुरानो खुम्बु आइसफल मार्गको विकल्पका रूपमा तयार हुँदैछ । खुम्बु आइसफल सगरमाथाको सबैभन्दा जोखिमपूर्ण भाग मानिन्छ । जहाँ वार्षिक रूपमा हिउँपहिरो र हिउँका ब्लक खस्ने घटनाले आरोहीको ज्यान लिने गर्छ । आरोहीको ज्यान लिने अधिकांश घटना खतरायुक्त खुम्बु आइसफल क्षेत्रमा हुने गरेको पर्यटन विभागका निर्देशक गौतमले बताए । उनका अनुसार सगरमाथा आरोहणका लागि बर्सेनि करिब ५०० जना विदेशी तथा ३०० जति नेपाली सहयोगी गरी ८०० जनाभन्दा बढीले अनुमति लिने गर्दछन् । खुम्बु आइसफल जोखिमयुक्त भएकाले कतिपय आरोहीले आरोहण नगरी फर्कने गरेका गौतमको भनाइ छ ।
अब खुल्ने भनिएको वैकल्पिक बाटो दूरीको हिसाबले करिब २०० मिटर जति लामो रहेको जनाउँदै जोखिम निकै कम हुने आरोहण क्षेत्रका जानकारहरू बताउँछन् । पर्यटन विज्ञ आङ्छिरिङ शेर्पाले भने, “यो बाटोले खुम्बु आइसफलको खतरा घटाउँछ र सगरमाथा आरोहण अझ सुरक्षित र विश्वसनीय बन्नेछ ।”
यो बाटो खुल्दा नेपालको पर्वतारोहण उद्योगमा क्रान्ति ल्याउने विश्वास व्यक्त गर्दै उहाँले यो बाटो खुल्ने हो भने नेपालमा सगरमाथा आरोहणका लागि आउने आरोहीहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुने बताए ।
अन्तरराष्ट्रिय ध्यान पुनःसगरमाथातर्फ
यो परियोजनाले अन्तरराष्ट्रिय पर्वतारोहण जगत्को ध्यान फेरि नेपालतिर तानेको छ । विश्वका प्रमुख पर्वतारोहण संस्था र डोनरहरूले यसलाई ‘हिस्टोरिक रुट रिभाइभल’ का रूपमा नियालेका छन् । मार्ग निर्माणका क्रममा उनीहरुले पर्यावरणीय सन्तुलनमा विशेष ध्यान दिएका छन् ।
पर्यटनमा हुने सम्भावित प्रभाव
यो मार्ग खुल्नेपछि सगरमाथा आरोहणका लागि आउने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ । नेपाल पर्वतारोहण सङ्घका अनुसार हरेक वर्ष करिब ८०० भन्दाबढी आरोही सगरमाथाको अनुमति लिन्छन् । तर खुम्बु आइसफलको जोखिमका कारण धेरै आरोही नेपाल बाहिरका अन्य हिमाल रोज्ने गरेका छन् । नयाँ मार्गले त्यो धारणा तोड्ने अपेक्षा गरिएको छ ।
सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी दावा शेर्पाले भने, “यो बाटो खुल्दा नेपालका गाइड, पोर्टर र स्थानीय व्यवसायी सबैको रोजगारी बढ्नेछ । सगरमाथा पुनःविश्व पर्वतारोहणको केन्द्र बन्नेछ ।”
इतिहास, संस्कृति र आत्मसम्मानको पुनर्जन्म
तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथा आरोहण गर्दा नेपाली जनताको आत्मसम्मान विश्वमाझ पुगेको थियो । सगरमाथा आरोही तेम्बा छिरी शेर्पाले भने, “हिँडेको बाटो पुनःखुल्दैछ, त्यसले त्यो गौरवलाई पुनर्जीवित गरेको अनुभूति सबैमा छ ।” यो मार्ग नेपालका युवाका लागि प्रेरणाको बाटो हो, सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भने, “यो केबल चढाइ होइन, इतिहाससँगको पुनःसम्बन्ध हो ।”
२५ कात्तिक, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । आयोजनाको बाँध (हेडवर्क्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभीसँग भएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।
आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको छ । ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिँदा पनि भौतिक प्रगति एकदमै न्यून ९करिब १० प्रतिशत० मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकताका नदेखाएको, सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत त्यसतर्फ कुनै चासो नदिएकाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ ।
आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल–रमण जेभीले कार्यसम्पादन जमानतवापत राखेको २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोड गरी ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेण्टी जफतको प्रक्रियासमेत अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आयोजनामा निर्माणमा अस्वाभाविक ढिलाई देखएपछि गत ७ असोजमा मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजनाका प्रमुख,परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।
सुरुङ निर्माण सम्पन्न भइसकेको तर बाँध, विद्युतगृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका आयोजनालाई नयाँ सिराबाट अगाडि विकल्प नहरको बताएका थिए । आयोजना निर्माणका लागि पटेल(रमण जेभीसँग १४ अर्ब ८ करोड ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो ।
पटेल–रमण जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेको थियो । निर्माण व्यवसायीले माघ २०७९बाट काम सुरु गरेको थियो । असार २०८४ भित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख थियो । तर, हालसम्मको भौतिक प्रगति करिब १० प्रतिशत मात्र छ । हालसम्म २ अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम भुक्तानी गरिएको छ । आयोजनाको १३।३ किलोमिटर टनेल बोरिङ मेसिनको प्रयोग गरी खनिएको थियो । सुरुङ २६ वैशाख २०८१मा छिचोलिएको थियो ।
सिन्धुली र रामेछापको सीमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पुर्याइने छ । हाल सिँचाइ भएको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको कूल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ ।
सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाटको जलविद्युत उत्पादन गरिने छ । मधेश प्रदेशका उर्वर भूमि रहेका पाँच वटा जिल्लामा वर्षैभरी सिँचाइ सुविधा पुर्याइ कृषि उत्पादकत्वको बृिद्ध किसानको जीविकोपार्जनमा उल्लेख्य सुधार, जलविद्युतसमेत उत्पादन गरी सिंगो देशको अर्थतन्त्रमा टेवा दिनुको साथै प्रादेशिक सुन्तुलनमा समेत योगदान दिने भएकाले सुनकोशी मरिणलाई राष्टिय गौरव तथा रुपान्तरणकारी आयोजनाका रुपमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
काठमाडौँ, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा तीन अनुसार इजाजत लिएर मात्रै विदेशी विनिमयको कारोबार गनुपर्ने प्रावधान अनुसार नयाँ प्रबन्ध गरिएको जनाएको छ ।
विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावलीसमेत जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको जनाएको हो । क्यासिनोलगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय (भारतीय मुद्रा समेत)को कारोबार गर्नु÷गराउनु पर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।
त्यस्तै, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै ‘प्रिपेड कार्ड’, ‘डेबिट कार्ड’ र ‘क्रेडिट कार्ड’बाट गरिने कारोबारको सीमा निर्धारण गरिएको छ । नयाँ व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार रु २० हजार बराबर मात्रै गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । यो व्यवस्थाअनुसार अब प्रतिदिन रु ५० हजार बराबरको मात्रै कारोबार हुनेछ । यसअघि प्रतिदिन रु एक लाख बराबरको कारोबार हुँदै आएको थियो ।
यसैगरी, प्रिपेड कार्डबाट प्रतिकारोबार रु १० हजार बराबर मात्रै गर्न सकिनेछ । प्रतिदिन रु २० हजार बराबर मात्रै कारोबार गर्न सकिने र मासिक रूपमा रु दुई लाख बराबर कारोबार हुनेछ । प्रिपेड कार्डबाट हुने कारोबारमा भने कुनै संशोधन भएको छैन । क्रेडिट कार्डका हकमा स्वीकृत सीमाको १० प्रतिशतसम्म गर्न सकिने पूरानै व्यवस्था कायम छ ।