Category: समाचार

  • सुदन गुरुङले मागे गृहमन्त्रीको राजिनामा, रक्षा बम भन्छिन्, त्यो पर्दैन

    सुदन गुरुङले मागे गृहमन्त्रीको राजिनामा, रक्षा बम भन्छिन्, त्यो पर्दैन

    २१ कात्तिक, काठमाडौं । जेनजी अगुवाका नाममा उदाएका सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजिनामा मागेका छन् । उता अर्की अगुवा रक्षा बमले भने अहिले गृहमन्त्रीको राजिनामा आवश्यक नभएको बताएकी छिन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन समूह सुदन प्रति निकट मानिन्छ । सोहीकारण सुदनको आक्रोस बालेन समूहको आक्रोसका रुपमा हेरिएको छ ।

    गुरुङले सामाजिक मार्फत धारणा राख्दै गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ भनेका छन्। जेनजी आन्दोलनको क्रममा दमन गर्नेहरूलाई कारबाही नगरिएको भन्दै गुरुङ रुष्ट बनेका छन् । ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन। देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही गर’ भनको सुन्ने तपाईं गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो,’ गृहमन्त्री अर्याललाई उनले भनेका छन्, ‘शहीदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।’

    गुरुङले गृहमन्त्री अर्यालसँग आशा मरिसकेको उल्लेख गरेका छन्। जेनजीको आन्दोलन २०८४ को चुनाव २०८२ सार्नका लागि नभएको उल्लेख गर्दै गुरुङले चुनाव गराएर मात्रै दायित्व पूरा नहुने बताएका छन्। गुरुङले चेतावनी शैलीमा भनेका छन्, ‘चुनावको नाटक नचलोस्। ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो। नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।’

    प्रधानमन्त्री सुशीला कार्कीको प्रिय पात्र बनेर अर्याल गृहमन्त्रीमा बसिरहन नपाउने गुरुङले चेतावनी दिएका छन्। ‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्र भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो,’ गुरुङले भने।

  • एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छः प्रधानमन्त्री

    एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छः प्रधानमन्त्री

    काठमाडौँ, २० कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले एकथोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छिन् । द एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिइन् । आन्फ्रेल थाइल्याण्डको बैंककमा सचिवालय रहेको अन्तरराष्ट्रिय पर्यवेक्षकहरुको सञ्जाल हो ।

    सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्याङ्कन गर्न काठमाडौँ आइपुगेको छ । लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रुपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरु विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरुले बताए । “तपाईंको लामो समयदेखिको न्यायिक अनुभवले स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत राजनीतिक पुनःसंरचना सम्भव हुने देखेका छौँ र त्यसले लोकतान्त्रिक संस्थालाई जोगाउनेछ”, प्रतिनिधिमण्डलको भनाइ थियो । प्रधानमन्त्री कार्कीले पनि अन्तरराष्ट्रिय पर्यवेक्षकले चासो देखाएपछि निर्वाचन सुरु भइसकेको अनुभूति गराएको प्रतिक्रिया दिइन् ।

    प्रधानमन्त्री कार्कीले भनिन्, “हाम्रो मुख्य उद्देश्य नै चुनाव गराउनु हो, यसैमा केन्द्रित छौँ । स्वस्थ निर्वाचनको वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकको पनि भूमिका रहन्छ । यहाँहरुको उपस्थितिले निर्वाचन सुरु भइसकेको अनुभूति गराएको छ ।” आन्फ्रेल प्रतिनिधिहरुसँगै नेपालको निर्वाचन पर्यवेक्षकको सञ्जाल नियोकका पदाधिकारी तथा सदस्य पनि थिए । उनीहरुले यसपाली पहिलोपल्ट मतदान गर्ने युवा मतदातामा व्यापक उत्साह देखिएकाले मतदाता शिक्षामा विशेष जोड दिन सुझाव पनि दिए । सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गराउन तयारी तीव्र पारेको छ ।

  • काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध दिइयो उजुरी

    काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध दिइयो उजुरी

    काठमाडौँ, २० कात्तिकः राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । प्रमुख साहले केही दिनअघि नेपालमा प्रमुख दल, छिमेकीलगायत मित्रराष्ट्रविरुद्ध सामाजिक सञ्जालमा लेखेको विषयलाई साइबर कानुनअन्तर्गत कारबाही गर्न भोटाहिटीस्थित ब्युरोका कार्यालयमा पुगेर सङ्घले आज उजुरी दिएको हो । सङ्घका उपाध्यक्ष महाराज गुरूङले आफूहरुले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्याललाई भेटेर उजुरी दिएको र उनीहरुले कानुनी अवस्था अध्ययन गरेर निर्णय गर्ने बताएको जानकारी दिए ।

  • लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश

    लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश

    लुम्बिनी २०, कात्तिकः उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनीहरुको सुनुवाइका लागि आज पेसी तोकिएको थियो ।

    उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको १ नम्बर इजलासमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अन्य फाइल मगाउने आदेश भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । यसअघि यही कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो ।

    बिगो बमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न सभापति लामिछानेले माग गरेकामा उच्च अदालतले उनीसँगै जोशीको फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि सभापति लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई रु १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।

    सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो बराबरको रु दुई करोड ७४ लाख ८४ हजारको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । गत साउन २६ गते जिल्ला अदालतका न्यायधीश नारायण सापकोटाको इजलासले लामिछानेको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

    लामिछानेले जस्तै जोशीले त्यति नै बिगोवापतको जमानत पेस गर्नुभएको थियो । तर दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश जिल्ला अदालतले गरेको थियो । पुर्पक्षका लागि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा र जोशीलाई भैरहवा कारागारम राखिएको छ ।

  • राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय

    राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय

    काठमाडौँ, २० कात्तिकः परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो । मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि राहदानी सेवा सञ्चालन हुनेगरी पूर्वाधार तथा प्रणाली निर्माणसम्बन्धी कार्य तीव्र रूपमा भइरहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “हामी अहिले नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने ‘हेण्डओभर–टेकओभर’को सङ्क्रमणकालीन अवस्थामा छौँ । नयाँ खरिद सम्झौताबमोजिम नयाँ सेवा प्रदायकले आगामी फागुन ११ गतेदेखि राहदानी उत्पादन प्रारम्भ गर्ने निश्चित भएको छ ।” विभागबाट प्रदान गरिने अत्यावश्यक राहदानी सेवा निरन्तर सञ्चालनमा रहने भएपनि अतिआवश्यक परेका आकस्मिक उपचार, तत्काल रोजगारी वा विदेशमा अप्ठ्यारोमा परेको अवस्थाका व्यक्तिले मात्र हाल राहदानीका लागि आवेदन प्रक्रिया अगाडि बढाउन मन्त्रालयले अनुरोध गरेको छ । साथै मन्त्रालयले यस्तो अवस्थामा सबैले धैर्य गरी सरकारलाई सहयोग पु¥याउन आग्रहसमेत गरेको छ ।

    हालको सङ्क्रमणकालीन अवस्थामा राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक कार्य भइरहेको बताउँदै प्रवक्ता क्षेत्रीले यही कात्तिक १७ गते साँझ ५ बजेदेखि दैनिक (सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक) एक हजार जनाको आवेदन लिने व्यवस्था मिलाइएको जानकारी दिए । यसबाट हालको अत्यावश्यक माग पूरा गर्न सकिने मन्त्रालयको अपेक्षा छ । मन्त्रालयले आगामी फागुन ११ गतेदेखि राहदानी सेवा पूर्ण रूपमा सञ्चालन हुने भएकाले हालको सङ्क्रमणकालीन अवस्थामा अत्यावश्यक भएमात्र आवेदन दिनहुन सबैमा आग्रह गरेको छ ।

  • गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन

    गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन

    काठमाडौँ, २० कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गरेका छन् । पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनी भएको थियो । यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका हुन् । त्यसैगरी अर्यालले मङ्गलबार प्रथम राष्ट्रपति डा रामवरण यादवको ललितपुर बागडोलस्थित निवासको अवस्था बुझ्न पुगेका हुन् । रासस

  • अघिल्लो साताको हिमपातपछि छार्का भेरोलमा अलपत्र दुई पर्यटकको उद्धार

    अघिल्लो साताको हिमपातपछि छार्का भेरोलमा अलपत्र दुई पर्यटकको उद्धार

    मुस्ताङ, २० कात्तिकः मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो । पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
    यही कात्तिक ९ गते उपल्लो डोल्पाको भ्रमणमा निस्किएका दुवै जना पहिलो दिन मुस्ताङ वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता गाउँमा बास बसेका थिए । त्यसपछि त्यहाँको साङ्ता गाउँ हुँदै उपल्लो डोल्पाको भ्रमणका लागि उपल्लो डोल्पाको छार्का पुगेका थिए । प्रतिकूल मौसम र भारी हिमपातका कारण उपल्लो डोल्पाको छार्कामा रोकिएका जिसी र कुँवर छ दिनसम्म छार्कामा रोकिएका उनले बताए ।

    हिमपात रोकिएर मुस्ताङ फर्किने पर्खाइमा रहेका जिसी र कुँवर कात्तिक १६ गते हिमापात रोकिएपछि त्यहाँबाट स्थानीय निर्माण व्यवसायी विकास रोकायासँगै छार्का हुँदै मुस्ताङ प्रस्थान गरेका थिए । दुई जना पर्यटकसँगै आएका रोकाया छार्का भेरोलबाट छुट्टिएका थिए । रोकाया स्थानीय नागरिक भएकाले मुस्ताङको साङ्ता गाउँ पुगेपनि पर्यटकद्वय समुद्री सतहको पाँच हजार मिटर उचाइमा पर्ने छार्का भेरोलबाट पदमार्ग पहिचान गर्न नसक्दा चार दिनसम्म अलपत्र परेका प्रजिअ भुसालले उल्लेख गरे । उनका अनुसार रोकायाले सेटलाइट फोनमार्फत छार्का भेरोलमा दुई पर्यटक अलपत्र परेका स्थानीय प्रशासनलाई जानकारी गराएका थिए ।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले नेपाली सेनाको इन्द्रबक्स गणबाट दुई जना सेनाको टोली पुगेर हिमपातमा फसेका पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिए । पर्यटक जिसीले उपल्लो डोल्पामा भारी हिमपात भएकाले आफूहरू चार दिनसम्म मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको बताए । उनका अनुसार रोकायाले दिनुभएको जानकारी पश्चात् स्थानीय प्रशासन र सेनाले उद्धार गरेको हो ।

  • हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ चलचित्र घोषणा

    हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ चलचित्र घोषणा

    काठमाडौँ, २० कात्तिकः अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । उनले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको जानकारी दिए । निर्देशक निरौलाले भने, “हामीले पाँच जना दाजुभाइको कथालाई लिएर चलचित्र तयार गर्दैछौँ । यसको विषयसँग मिल्दो भएकाले पाँच पाण्डव नाम राखिएको हो । यसले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि प्रवाह गर्नेछ ।”

    उनले चलचित्रमा अभिनेता आचार्यसँगै सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले), दीपाश्री निरौला, रजनी गुरुङलगायतको अभिनय रहने जानकारी दिए । छायाङ्कन अगाडि अन्य कलाकारको परिचय मिडियामा गराउने निर्देशक निरौलाले बताए । कालीरानी फिल्म्सको प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता नवीन श्रेष्ठ छन् । ‘पाँच पाण्डव’ले हिन्दू महाकाव्य महाभारतका केन्द्रीय पात्र पाँच पाण्डवलाई आधुनिकता राखेर चलचित्रमा प्रस्तुत गरिने लेखक पौडेलले जानकारी दिए ।

  • म्यानमानरबाट १४ नेपालीको उद्धार

    म्यानमानरबाट १४ नेपालीको उद्धार


    २० कात्तिक, काठमाडौं । विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । म्यानमारस्थित नेपाली राजदूतावास र थाइल्याण्डका सम्बन्धित निकायहरूको सहयोगमा उनीहरुको उद्धार गरी थाइल्यान्ड पुर्‍याएर बुधबार नेपाल फर्काइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार थाइल्याण्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै बिहीबार नेपाल एयरलाइन्समार्फत् फर्काइएको छ ।

    यस्तै अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीको यथाशीघ्र उद्धारका लागि पहल भइरहेको दूतावासले जनाएको छ । म्यानमारको म्यावडीमा रहेका विभिन्न स्क्यामिङ केन्द्रहरुबाट १९ अक्टोबर २०२५ पछि ३८ जना नेपालीहरुसहित विभिन्न मुलुकका २ हजारभन्दा बढी विदेशीहरु थाइल्यान्ड प्रवेश गरेका थिए । ती ३८ जनालाई पनि नेपाल फर्काउन थाइल्यान्डका सम्बन्धित निकायहरुसँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।

    ‘नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा छ ।

  • धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

    धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण


    म्याग्दी, कात्तिक २० गते । मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको दृष्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ ।

    पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवद्र्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले पूर्वाधार निर्माण भएपछि कात्तिक पूर्णिमाका दिन तिनचुले बराहमा तोरण तार्ने धार्मिक मेला भर्न र अन्य समय प्राकृतिक सौन्दर्यमा रमाउन आउनेको सङ्ख्या बढेको जानकारी दिए । “गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको हो”, उनले भने, “केही वर्षअघिसम्म सुनसान तिनचुलेमा स्वदेशी पर्यटकको आगमन बढ्न थालेको छ ।”

    ताराखोला गाउँपालिकाको रु २० लाख बजेटबाट गत आर्थिक वर्षमा तिनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझखर्कदेखि तिनचुलेतर्फ जाने २१० मिटर ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण गरिएको थियो । स्थानीयले चन्दा सङ्कलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको रु सात लाख बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र २०० मिटर पदमार्ग निर्माण भएको थियो । तिनचुलेमा दृष्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानबाट करिब रु तीन लाख सङ्कलन भएको थियो ।

    गण्डकी प्रदेश सरकारको रु ७५ लाख र तालाखोला गाउँपालिकाको रु १० लाख लगानीमा ताराखोला गाउँपालिका–४ नागबेलीदेखि दावा हँुदै तिनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि दुई घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । यसैगरी, मङ्गला गाउँपालिका–५ देउरालीदेखि तिनचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु २१ लाख लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट दुई हजार २०० मिटर लामो पाइपबाट पानी लगेर पाँच हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र दुई वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ ।

    समुद्र सतहबाट दुई हजार ९२२ मिटर उचाइमा रहेको तिनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । तिनचुलेको शिवालयमा पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । रासस

  • जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

    जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने


    काठमाडौँ, कात्तिक २० गते । नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी) विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडिसी) ले सहयोग गर्ने भएका छन् । तीन दातृ निकायले आगामी तीन वर्षसम्म प्रदान गर्ने सहायतासम्बन्धी समझदारीपत्रमा बुधबार यहाँ हस्ताक्षर गरेका यहाँस्थित विश्व बैंकको कार्यालयले जनाएको छ ।

    त्रिपक्षीय समझदारीअनुसार जलवायुजन्य जोखिम मूल्याङ्कन, सूचना प्रणालीको सुदृढीकरण एवं जलवायु जोखिम व्यवस्थापनलाई प्राथमिकता दिइनेछ । नेपाल बाढी, पहिरो, खडेरी तथा हिमनदी पग्लनेजस्ता जलवायुजन्य जोखिममा रहेकाले सहायता अपरिहार्य भएको जनाउँदै उक्त कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा त्यसबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । रासस

  • राष्ट्रपति आज स्वदेश फर्कने

    राष्ट्रपति आज स्वदेश फर्कने


    काठमाडौँ, कात्तिक २० गते । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्किँदै छन् । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए ।

    सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए । रासस

  • आज देशका अधिकांश स्थानको मौसम सफा

    आज देशका अधिकांश स्थानको मौसम सफा


    २० कात्तिक, काठमाडौं । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बिहिवार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ ।

    महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । रासस

  • विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

    विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा प्रदर्शन गर्दै


    २० कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज काठमाडौंमा प्रदर्शन र सभा गर्दैछ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गर्न लागिएको नेकपाले जनाएको छ । दिउँसो १ बजे भृकुटीमण्डमा आयोजना हुने सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् । सभा अगाडि र्‍याली निकाल्ने योजना नेकपाको छ । सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतार्ने तयारी छ । १० हजार बढीको संख्यामा कार्यकर्ता उतार्ने दाबी उनीहरुको छ ।

  • रवि लामिछानेसँग आयोगले लियो बयान, के भने रविले ?

    रवि लामिछानेसँग आयोगले लियो बयान, के भने रविले ?


    १९ कात्तिक, काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ। बुधबार सिंहदरबारस्थित आयोगको कार्यालयमा पाँच घन्टाभन्दा बढी समय बयान लिइएको हो। बयान सकिएसँगै रविलाई ललितपुरको नख्खु कारागार फिर्ता पठाइएको छ । आयोगका सदस्यहरूले रविलाई सोध्न भनेर १९ वटा प्रश्न तयार पारेका थिए।

    स्रोतका अनुसार १९ वटासम्म प्रश्न थिए। दिउँसो करिब २ बजेदेखि सुरू भएको थियो। राति ८ बजेतिर सकिएको समेत स्रोतले बताएको छ । बयान भदौ २४ गते नख्खु कारागारमा के भएको र कसरी बाहिर निस्किएको भन्ने विषयमा केन्द्रित रहेको थियो । उनलाई बयानका लागि बुधबार दिउँसो पौने २ बजेतिर कार्यालयमा लगिएको थियो। रविको बयान लिनुअघि जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की मंगलबार नख्खु कारागार पुगेका थिए।

    आयोगले भदौ २४ गते नख्खुमा भएको घटनालाई लिएर नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग घटना केन्द्रित बयान समेत लिइसकेको छ। भदौ २४ गते जेलबाट निस्किँदा कारागारले आफूलाई पत्रसमेत दिएको रविले बताएका थिए। तर बयान क्रममा नख्खु कारागार प्रमुख जोशीले उक्त पत्र रविलाई आफूले नदिएको बताएका छन्। भदौ २४ गते नख्खु कारागारबाट सबै कैदीबन्दीहरू निस्किएका थिए। त्यहाँबाट निस्केपछि अन्यत्र पनि कारागारबाट कैदीबन्दीहरू भागेका थिए।

  • एकता घोषणा सभामा प्रचण्डले गरे जेन जी आन्दोलनको चर्चा

    एकता घोषणा सभामा प्रचण्डले गरे जेन जी आन्दोलनको चर्चा


    १९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दश पार्टीबीच ऐतिहासिक एकता निर्माणमा हुनुमा जेन–जी आन्दोलनको पनि प्रमुख भूमिका रहेको बताएका छन्। पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले जेन–जी आन्दोलनको बलिदानले पार्टी सच्चिनुपर्छ भन्ने उजागर गरेको बताएका हुन्।

    ‘२३ भदौमा जेन–जी हजारौं संख्यामा जेन–जी युवा सडकमा आएर भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा तथा राजनीतिक अस्थिरताको विरुद्ध र स्थायित्वको पक्षमा जो आवाज उठाए त्यसले हामीलाई राम्रैसँग घोच्यो, हाम्रा कमजोरी राम्रैसँग उजागर गरिदियो,’ प्रचण्डले भने, ‘त्यति ठूलो बलिदान गरेर उहाँहरूले जुन आवाज उठाउनुभयो त्यसले हामीलाई आफ्ना पार्टीभित्रका कमजोरी सच्याएर नयाँ अभियानमा अघि बढ्न प्रेरित गर्‍यो।’

    जेन–जी आन्दोलनका शहीदलाई पटकपटक सम्मान व्यक्त गर्दै उनले भने, ‘हाम्रो आजको एकता राष्ट्रिय सम्मेलन, सबै नेताले लिएका संकल्पको पछाडि जेन–जी आन्दोलन र आन्दोलनका शहीदहरूको भूमिका छ। उहाँहरूले बलिदान नदिएको भए हामी यति छिटो आफ्ना कमजोरीप्रति सचेत हुने, एकपछि अर्को विभाजनमा जाने शृंखला रोकेर एकताको नयाँ अभियानको सुरुवात गर्ने ठाउँमा आउथ्यौं वा आउँदैनथ्यौं। त्यसकारण पनि म ती महान् शहीदहरूलाई धन्यवाद भन्न चाहन्छु।’

    नयाँ पार्टीले युवाको भावना र आवश्यकता राख्ने बताउँदै उनले पार्टी संरचनामा मात्रै नभई राज्य संरचनामा पनि युवालाई उच्च प्राथमिकता दिने संकल्प गरे
    ‘यो एउटा ऐतिहासिका संकल्प र प्रतिबद्धता हो। हामीलाई आत्मसमीक्षा गर्ने यो ऐतिहासिक अवसर पनि हो,’ प्रचण्डले भने।

  • राष्ट्रपतिद्वारा कतारका सङ्ग्रहालयको अवलोकन

    राष्ट्रपतिद्वारा कतारका सङ्ग्रहालयको अवलोकन


    १९ कात्तिक, काठमाडौं । कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आएका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार यहाँस्थित क़तार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्रहालयको अवलोकन गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेललाई संग्राहालयका अधिकारीहरूले स्वागत गर्दै त्यहाँको बारेमा अवगत गराउनु भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ आइपुगेका हुन् ।

    कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल यहाँ आएका छन् । उनले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गरे । साथै उनले सम्मेलन अन्तर्गत यहाँ आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई समेत सम्बोधन गरेका थिए । राष्ट्रपति पौडेलले मङ्गलबार नै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए ।

    यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको छ । संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किनेछन् ।

  • आइसीसी विश्वकप लिग २ मा नेपालको लगातार चौथो हार

    आइसीसी विश्वकप लिग २ मा नेपालको लगातार चौथो हार


    १९ कात्तिक, काठमाडौं । आइसिसी विश्वकप लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भएको छ ।
    नेपालको यो शृङ्खलामा लगातार चौथो हार हो । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा बुधबार भएको खेलमा नेपाल घरेलु टोली युएईसँग पुनस् स्तब्ध बन्यो । यसअघि यस शृङ्खलामा पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रन र दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।

    जितका लागि दुई सय ४० रनको लक्ष्य पछ्याएको युइर्एले ४९।५ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो । युएईका लागि मुहमद साहदद र मुहमद वासिमले अर्धशतकीय पारी खेले । शतकबाट चुक्नुभएका साहददले एक सय २३ बलमा ६ चौका तीन छक्काको सहयोगमा ९६ रन बनाए । मुहमद वासिमले ७६ रन बनाए । यस्तै सोहिव खानले २९, कप्तान अलिसान सरर्फुले १८ र हर्षित कौशिकले १३ रन जोडेका छन् ।

    बलिङमा नेपालका करण केसीले तीन तथा नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए ।
    यस्तै कुशल मल्लले ४५ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७, ओपर आशिफ शेखले ३४, आरिफ शेखल ३० र सन्दीप लामिछानेले १५ रन बनाए । बलिङमा युएईका ध्रुव परासर, जुनैद सिद्धीकी र मुहमद जवादुल्लाहले दुई दुई तथा जाहिद अलले एक विकेट लिए । नेपाल आज यस शृङ्खलामा सान्त्वना जित निकाल्ने अभियानमा थियो । तर, असफल भएको छ । युएईसँगको हारसँगै २० खेलबाट १२ अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । विजेता युएई समान खेलबाट १० अङ्क जोड्दै अन्तिममा छ । यस्तै २४ खेलबाट ३६ अङ्क बनाएको अमेरिका शीर्षस्थानमा छ ।

    आठ टोली सहभागी लिगमा दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ । यस्तै तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २४ खेलबाट २८, चौथो स्थानमा रहेको ओमानको २० खेलबाट २४, पाँचौँ स्थानमा रहेको क्यानडाको २४ खेलबाट २१ र छैटौँ स्थानमा रहेको नामिबियाको २४ खेलबाट १९ अङ्क छ ।

    लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

  • नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी सहभागिता सुनिश्चित

    नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी सहभागिता सुनिश्चित


    काठमाडौँ, कात्तिक १९ गते। विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ। आज आयोजित पार्टी एकता घोषणा तथा एकताको राष्ट्रिय सम्मेलनमा प्रस्तुत घोषणापत्रमा पार्टीका सबै कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत जेनजी नवयुवा तथा युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व गराइने उल्लेख छ।

    घोषणापत्रअनुसार जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा सामूहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्व वहन गर्नेगरी पार्टीको निर्माण र सञ्चालन गरिनेछ भने पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद राखिएको छ। राज्यसत्ता सञ्चालनमा आमजनताको संस्थागत सहभागिता र सरकारको काममा निगरानी गर्ने व्यवस्था सुनिश्चित गरिनेछ। जनअपेक्षाअनुरूप काम नगर्ने जनप्रतिनिधिलाई प्रत्याश्वान गर्ने व्यवस्था गरिनेछ।

    पहिलो चरणमा सामान्यतः तीनखम्बे अर्थतन्त्रका रूपमा सार्वजनिक क्षेत्र, सामूहिक वा सहकारी क्षेत्र र निजी क्षेत्रमा उद्योगधन्दा विकास गरिनेछ। सार्वजनिक क्षेत्रको क्रमशः विस्तार गर्दै लगिनेछ। वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त एवं सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वय, सहकार्य र गतिशील भूमिकासहितको समाजवादी अर्थतन्त्र निर्माण गरिनेछ।

    स्वदेशी कच्चापदार्थ र श्रमशक्ति प्रयोग हुने उद्योगधन्दाको व्यापक विस्तार र विकास गरी पर्याप्तमात्रामा रोजगारी सिर्जना गरिनेछ। देशको सम्पूर्ण श्रमसक्षम जनशक्तिलाई ‘योग्यताअनुसारको काम र कामअनुसारको दाम’ उपलब्ध गराउने गरी आर्थिक क्षेत्रको द्रुततर विकास गरिनेछ।

    सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता

    नेपाली कम्युनिष्ट पार्टीले २३ बुँदे प्रतिबद्धतापत्र पनि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। नेपालको राष्ट्रिय स्वाधीनता, भौगालिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने, राष्ट्र र जनताप्रति इमान्दार, निष्ठावान् र समर्पित भई काम गर्ने सो पार्टीको प्रतिबद्धता छ।

    समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध रही नेकपाले आफ्नो स्थापनाकालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद स्थापनाको महान् लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीयस्वरूप र निर्वाचन प्रणाली, सङ्घीयताको सवलीकरण तथा स्थानीय तह र जप्रतिनिधिको सङ्ख्या घटाउनेलगायत विषयमा पहल गर्ने सो पार्टीको प्रतिबद्धता छ।

    भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त गर्न तथा सुशासन, पारदर्शीता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने तथा उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीलाई कडा कारबाही गराउन प्रभावकारी पहल गर्ने घोषणा गरेको छ।

    राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्तदुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आमजनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने नेकपाको प्रतिबद्धता छ।

    विगतका कामको समग्र समीक्षा गरेर भएका कमी कमजोरी सच्याउँदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रूपान्तरण गर्दै अघि बढ्ने तथा पार्टीमा आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्न र नेतृत्व विकास एवम् हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागू गर्न तत्पर रहने प्रतिबद्धता पत्रमा उल्लेख छ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी–समाजवादी, नेकपा (साम्यवादी)लगायतका विभिन्न कम्युनिष्ट तथा समाजवादी समूहहरू एकताबद्ध भएर नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिएको हो। सम्मेलनबाट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल चयन हुनुभएको छ। रासस

  • माओवादी र समाजवादीसहित १० बाम दलबीच एकता, बन्यो नेपाली कम्यूनिष्ट पार्टी

    माओवादी र समाजवादीसहित १० बाम दलबीच एकता, बन्यो नेपाली कम्यूनिष्ट पार्टी


    १९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबिच एकता घोषणा गरिएको हो ।

    एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको छ । एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव चिरन पुनलगायत शीर्ष नेता तथा कार्यकर्ता सहभागी भए । एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । सो अवसरमा उक्त पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ सार्वजनिक गरिएको हो ।

    त्यस अवसरमा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं एकता संयोजन समिति सदस्य प्रमेश हमालले सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएकाले विभिन्न वाम घटकबिच एकता भएको बताउनुभयो । उहाँका अनुसार पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने पार्टीको तत्कालीन कार्यनीति रहेको छ ।

    एकीकृत पार्टीबिच आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ । केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद रहने छ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुने छ ।

    एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने नौ दलबिच सहमति भएको छ । पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरूप हुने उल्लेख छ ।

  • श्रीलङ्कामा प्लास्टिकका झोला निःशुल्क वितरण गर्न नपाइने

    श्रीलङ्कामा प्लास्टिकका झोला निःशुल्क वितरण गर्न नपाइने

    कोलम्बो, १८ कात्तिक (रासस\सिन्ह्वा) । श्रीलङ्काको केन्द्रीय वातावरण प्राधिकरण (सिइए) ले नयाँ नियम अन्तर्गत सन् २०२५ नोभेम्बर १ देखि लागू हुनगरी कम घनत्व भएका पोलिथीन (प्लास्टिकका झोला) अब उपभोक्ताहरूलाई निःशुल्क वितरण गर्न नपाउने व्यवस्था गरेको जनाएको छ। अक्टोबर १ मा सरकारी राजपत्रमा प्रकाशित निर्देशन अनुसार व्यापारीहरूले त्यस्ता झोलाहरूको मूल्य उनीहरूको व्यावसायिक परिसरमा प्रमुखताका साथ प्रदर्शन गर्नुपर्नेछ र ग्राहकको बिलमा स्पष्ट रूपमा लागत खुल्नेगरी समावेश गर्नुपर्नेछ।

    यो नियम दैनिक बजारमा प्लास्टिकको अत्यधिक प्रयोग कम गर्ने र वातावरणीय जिम्मेवार व्यवहारलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ जारी गरिएको हो।
    सरकारले यो उपायले जनतामा पुनः प्रयोग गर्न मिल्ने झोलाहरूको प्रयोगलाई बढावा दिन र डिस्पोजेबल पोलिथिन फोहोरबाट हुने वातावरणीय क्षतिलाई कम गर्न खोजेको सीइएले जनाएको छ। उपभोक्ताहरूलाई दिगो उपभोगको लागि राष्ट्रिय प्रयासलाई समर्थन गर्न बजारमा जाँदा पुनः प्रयोग गर्न मिल्ने झोला बोक्न आग्रह गरिएको छ।

  • किसान श्रेष्ठ र रामकुमारी झाँक्री निशर्त एमालेमा फर्कदैं

    किसान श्रेष्ठ र रामकुमारी झाँक्री निशर्त एमालेमा फर्कदैं

    १९ कात्तिक, काठमाडौं । माधव कुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गरेसँगै केही नेताहरु एमालेमै फर्कने निश्चित भएको छ । रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताले आज पत्रकार सम्मेलन गरी निशर्त एमालेमा फर्कन तयार रहेको घोषणा गरे । श्रेष्ठले नेकपा एमालेमा निःशर्त फर्किन लागेको बताएका छन् । उनले एकताभन्दा पनि पसिना बगाएको मूल घर फर्किन लागेको बताए । आज पत्रकार सम्मेलनमा उनले भने, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’

  • आइसिसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र युएई भिड्दै

    काठमाडौँ, १९ कात्तिक । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सान्त्वना जित हात पार्ने नेपालको लक्ष्य छ । अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छभने युएई एक खेलमा विजयी भएको छ ।

    नेपाली टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशीलगायत छन् ।

  • पश्चिम नेपालमा आज वर्षाको सम्भावना

    पश्चिम नेपालमा आज वर्षाको सम्भावना

    काठमाडौँ, १९ कात्तिकः हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ ।

    त्यसैगरी, आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा

    काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा

    काठमाडौँ, १९ कात्तिकः काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो ।

    मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो । मन्त्रालयका अनुसार अब काठमाडौँको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा वाइफाइ सेवा उपलब्ध हुनेछ ।

    साथै काठमाडौँको ठूलोभ¥याङ यातयात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ । भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा नयाँस्थापनाको क्रममा रहेको मन्त्रालयको भनाइ छ । निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीसँग सम्झौता भइसकेको छ । नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन् ।

    सञ्चारमन्त्री खरेलको विशेष सक्रियतमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरेको हो । प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबिपिएस ब्याण्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ । ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ ।

    त्यसैगरी नेपाल टेलिकमले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने कार्ययोजना बनाएको छ । भक्तपुर क्यान्सर अस्पतालमा छ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा पाँच वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाइ सेवा उपलब्ध गराइएको छ ।

    गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णय गर्नुभएको थियो । मन्त्रालयका अनुसार उपत्यका बाहिरका महत्वपूर्ण दस वटा सहरमा पनि निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच पुर्याउने काम अघि बढेको छ ।

    निःशुल्क वाइफाइ इन्टरनेट सेवा सञ्चालनको अनुगमनका लागि सञ्चारमन्त्री खरेलसहितको टोली आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ ।

  • कसरी गरिँदैछ विद्युत् महसुल विवाद समाधान ?

    कसरी गरिँदैछ विद्युत् महसुल विवाद समाधान ?

    काठमाडौँ, १९ कात्तिकः डेडिकेटेड र ट्रङ्कलाइनको महसुलसम्बन्धी विवाद क्रमशः समाधानको दिशामा पुगेको छ । उद्योगी तथा व्यवसायीले प्राधिकरणले तय गरेको २८ वटा किस्तामध्ये पहिलो किस्ता शर्तसहित तिर्न तयार भएपछि विवाद समाधान हुनेतर्फ अघि बढेको हो । उद्योगी तथा व्यवसायीले पहिलो किस्ता बुझाएको १५ मिनेटभित्रै काटिएका लाइन जोडन नेपाल विद्युत् प्राधिकरण समेत तयार भएको छ ।

    सोमबारमात्रै चार वटा उद्योगले पहिलो किस्ता जम्मा पारेको १५ मिनेटमा नै प्राधिकरणले बिच्छेद गरिएको लाइन जोडिदिएको थियो । यसबाट पनि क्रमशः सकारात्मक वातावरण बनेको अनुमान गर्न सकिन्छ । नेपाल उद्योग वाणिज्य महासङ्घको सचिवालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले दिएको २८ किस्ताको सुविधामध्ये पहिलो किस्ताको रकमलाई किस्ताका रुपमा नलिई धरौटीका रुपमा बुझाएपछि काटिएको लाइन जोडिने जानकारी दिए । पहिलो किस्तालाई किस्ताका रुपमा नमानी धरौटीका रुपमा बुझाएपछि उद्योगीहरु पुनरावलोकनमा जाने र सँगै अन्य कानुनी उपचार खोज्न पनि सक्नेछन् ।

    प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, उद्योग वाणिज्यमन्त्री अनिल सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालबीच सोमबार भएको छलफलबाट डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधानको मध्यमार्गी प्रस्ताव गरिएको थियो ।

    प्रस्तावअनुसार उद्योगीले प्राधिकरणले यसअघि रकम बुझाउने गरी दिएको सुविधा २८ किस्ताको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभइ विवादित रकम मानि धरौटीका रुपमा बुझाएपछि काटिएको विद्युतको लाइन तुरुन्त जोडिनेछ । उक्त धरौटी रकम बुझाएपछि उद्योगीहरु पुनरावलोकनमा जानेसँगै अन्य कानुनी उपचार पनि खोज्न सक्नेछन् ।

    सम्बन्धित उद्योगीले प्राधिकरणमा धरौटी बुझाउँदा नै सोही निवेदनमा आफ्नो असहमति समेत राखी पुनरावलोकन एवं अन्य व्यहोरा उल्लेख गरी पेस गर्न सक्नेछन् । समस्या समाधानका लागि महासङ्घ अध्यक्ष ढकालले आइतबार पनि प्रधानमन्त्री कार्की, अर्थमन्त्री खनाललगायत उच्च अधिकारीसँग भेट गरेका थिए । त्यसलगत्तै सम्बन्धित उद्योगीलाई महासङ्घमा आमन्त्रित गरी छलफल गरिएको थियो ।

    उद्योगीहरुले महासङ्घ अध्यक्षलाई छलफल गर्दा किस्ता रकम नभनी विवादित रकमको धरौटीका रुपमा प्राधिकरणले स्वीकार गरी कानुनी उपचारको अवसर प्राप्त भए सहमति हुन सकिने बताएका थिए । अहिले करिब दुइ दर्जन उद्योगको डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेवापतको प्रिमियम रकम नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको छ । लामो समयदेखि विवाद समाधानका लागि अनेकन प्रयास भएपनि सार्थक समाधान हुन सकेको थिएन ।

    पछिल्लो पटक सरकार र उद्योगी व्यवसायीबीच छलफलका आधारमा मध्यमार्गी प्रस्ताव तयार पारेर समाधानको उपाय निकालेका हुन् । प्राधिकरणले पनि पहिलो किस्ताको रकम उपलब्ध गराए लाइन जोडिने प्रष्ट पारिसकेकाले विवाद तत्कालका लागि समाधान हुने स्पष्ट भएको छ । डेडिकेटेड र ट्रङ्कलाइन वापतको झण्डै रु आठ अर्ब बराबरको रकम उद्योगीले तिर्नुपर्ने प्राधिकरणले जनाउँदै आएको छ ।

  • तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

    तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

    दमौली (तनहुँ), १९ कात्तिक । बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो । कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • राष्ट्रपतिसँग महासचिव गुटेरेसको शिष्टाचार भेट

    राष्ट्रपतिसँग महासचिव गुटेरेसको शिष्टाचार भेट

    काठमाडौँ, १९ कात्तिकः ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिबारे विचारविमर्श भएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले राससलाई बताए ।


    राष्ट्रपतिले कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका निम्ति संयुक्त राष्ट्रसङ्घसँग निकट सम्पर्कमा रहेर नेपालले काम गर्ने बताए । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ मा आम निर्वाचनको घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको उल्लेख गर्दै यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनाका साथै सुशासन, विकास र समृद्धिको यात्रा सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।

    नेपालले कार्बन उत्सर्जन नगण्य रूपमा गरे पनि नेपाल जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट प्रताडित भएकाले जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तरराष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरेको राष्ट्रपतिको कथन थियो ।

  • राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

    राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

    काठमाडौँ, १८ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छिन् । मन्त्रालय र विभागका अधिकारीहरूलाई आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी माग गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

    प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिइन् । उनले राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न निर्देशन दिइन् ।

  • चार दशक सहकार्यपछि प्रचण्डको साथ छाड्ने जनार्दन र राम कार्कीको घोषणा, प्रगतिशील अभियान सुरुआत

    चार दशक सहकार्यपछि प्रचण्डको साथ छाड्ने जनार्दन र राम कार्कीको घोषणा, प्रगतिशील अभियान सुरुआत

    ललितपुर, १८ कात्तिक । ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले समाजवादी ऐक्यबद्धताको आह्वानसहित प्रगतिशील अभियानको सुरुआत भएको घोषणा गरेका छन् । प्रगतिशील अभियानले नेपालमा दशकौँदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्तिहरू एकजुट गराउने विश्वास व्यक्त गरेको छ । पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का पूर्वउपमहासचिव जनार्दन शर्माले भने, “विद्रोह हरेक पीडित, उत्पीडित र बेवास्ता गरिएको जनताको अधिकार हो । आजको आवश्यकता पुराना गल्तीबाट सिक्दै समाजवादी ऐक्यबद्धतामा नयाँ बाटो खोज्ने हो ।”

    उनले माओवादी आन्दोलन र शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक मोड बताउँदै भने, “क्रान्तिको मर्म र सहिदहरूको बलिदानलाई व्यर्थ जान नदिई समाजवादी राजनीति र जनताको सर्वोच्चतामा आधारित नयाँ दिशा तय गर्नुपर्छ ।” त्यसैगरी, माओवादी केन्द्रका पूर्वसचिव राम कार्कीले नेपाली कम्युनिष्ट आन्दोलनभित्रको गुटबन्दी, व्यक्तिवाद र अवसरवादले आन्दोलन कमजोर बनाएको बताए । उनले भने, “नेपालको वाम आन्दोलनले जनताको अपार विश्वास पाएको थियो, तर नेताहरूले जनताप्रति जवाफदेही बन्न नसक्दा त्यो ऊर्जा निराशामा परिणत भयो । अब वैचारिक शुद्धता, आत्मसमीक्षा र सङ्गठनात्मक नवजीवनमार्फत नयाँ समाजवादी आन्दोलन खडा गर्नैपर्छ ।” राम कार्की र शर्माले प्रचण्डको साथ चार दशकको सहकार्यमा टुटाएका हुन् ।