Category: समाचार

  • सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    १६ कात्तिक, भरतपुर । सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलास्थित सडकमा केहीबेर अघि माथिबाट सुक्खा पहिरो खसेका कारण सडक दुइतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउन पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

  • एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए, अमेरिकी दोस्रो स्थानमा

    एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए, अमेरिकी दोस्रो स्थानमा

    काठमाडौँ, १६ कात्तिकः सन् २०२५ को अक्टोवर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आएका छन् । भारतबाट अक्टोबर महिनामा मात्र १७ हजार २९८ पर्यटक नेपाल घुम्न आएका हुन् । यस्तै, अमेरिकाबाट १३ हजार २८६ र बेलायतबाट आठ हजार ७१८ पर्यटक नेपाल आएका छन् ।

    यसबाहेक छिमेकी मुलुक चीनबाट छ हजार ७५५ तथा जर्मनीबाट छ हजार ३६६ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन अवस्था हेर्दा कूल पर्यटकमध्ये युरोपेलीको हिस्सा ३१.६ प्रतिशत रहेको छ । युरोपेली मुलुकबाट मात्र ४० हजार ६० पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाली राष्ट्र (सार्क) बाट २२।६ प्रतिशत पर्यटक आएका छन् । भारतसहित सार्क देशबाट २९ हजार ६० पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अन्य एसियाली देशबाट २३ हजार १२७ पर्यटक नेपाल आएका छन् । गत वर्ष अक्टोबर महिनाको तुलनामा यस वर्ष ३.३ प्रतिशत बढी पर्यटक नेपाल घुम्न आएका हुन् ।

    सन् २०२४ को अक्टोबरमा एक लाख २४ हजार ३९१ पर्यटक नेपाल घुम्न आएका थिए । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ को १० महिनामा नौ लाख ४३ हजार ७१६ पर्यटक नेपाल घुम्न आएका छन् । सन् २०२४ को १० महिनामा नौ लाख ४१ हजार २४ पर्यटक नेपाल घुम्न आएका थिए ।

  • आठ पार्टीबीच कात्तिक १९ मा एकता, आज भयो हस्ताक्षर

    आठ पार्टीबीच कात्तिक १९ मा एकता, आज भयो हस्ताक्षर

    १६ कात्तिक, काठमाडौं । यही कात्तिक १९ गते विभिन्न आठ पार्टीबीच एकता हुने भएको छ । ती पार्टीले आज ‘पार्टी एकता सहमति पत्र’ जारी गरी १९ गते एकता घोषणा गर्ने जनाएका हुन् । सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा (माओवादी–समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (चिरन पुन) र नेकपा (साम्यवादी)का नेताहरूले हस्ताक्षर गरेका छन् ।
    सहमति पत्रमा भनिएको छ, “पार्टीको एकता राष्ट्रिय सम्मेलन एकता प्रक्रियामा सहभागी सबै घटकका केन्द्रीय समितिको संयुक्त भेलाको रुपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कात्तिक १९ गते गरिने छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायत कार्य गरिने छन् ।”

    पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद, पार्टीको तत्कालीन कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने जनाइएको छ ।

    पार्टी एकताबारे थप प्रष्ट पार्दै भनिएको छ, “पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता हो ।”

    आन्दोलनको स्वरूपमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने र परिस्थितिअनुसार सडक, सदन र सरकारलगायत सबै मोर्चा प्रयोग गरिने उल्लेख छ । यस्तै, आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा जनाइएको छ ।

    सहमति पत्रमा भनिएको छ, “केन्द्रीय समितिको गठन एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ, केन्द्रीय समितिभित्रको संरचना केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्यसंयोजन समिति हुनेछ ।”

  • तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालन

    तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालन

    काभ्रेपलाञ्चोक, १६ कात्तिकः बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा(नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

    सुक्खा पहिरोका कारण डाइभर्सन तथा अवरोध हटाउन केही समस्या भएको इञ्जिनियर योगेशले बताए । यस्तै, रोशी–१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन नसकिएको उनले बताए । “सुक्खा पहिरो रोकिएपछि अवरोध हटाउँदै राजमार्ग सञ्चालनमा ल्याइएको छ”, उनले भने । यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडकखण्डमा ढुङ्गा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा–नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

    सडक माथिबाट निरन्तर सुक्खा पहिरो खसेकाले बिहीबार रातिदेखि यातायात सञ्चालनमा रोक लगाइएको इञ्जिनियर योगेशले जानकारी दिए । उनका अनुसार बिहीबारदेखिको अविरल वर्षाले नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, बिरुवाडाँडा डालाबेँसी, नार्के, चारसयबेँसी, घुमाउनेलगायत स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर राजमार्गका विभिन्न भाग अवरुद्ध भएका थिए । यसअघि उक्त राजमार्गमा मनसुनको जोखिमका कारण पटकपटक सवारी सञ्चालनमा रोक लगाइँदै आइएको थियो ।

    गत वर्षको असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो । “सडक बगेपछि खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो”, उनले भने । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो ।

    कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइएको जनाएको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

  • सुनको मूल्यमा सामान्य वृद्धि

    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ, १६ कात्तिकः गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु पाँचले घटेको छ । गत शुक्रबार तोलाको रु दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज रु दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु तीन हजार ५५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • सामाजिक सुरक्षा कोषमा अहिलेसम्म ९४ अर्ब जम्मा

    सामाजिक सुरक्षा कोषमा अहिलेसम्म ९४ अर्ब जम्मा

    १६ कात्तिक, काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ । कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।

    कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम रु दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम रु २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दावी रकम रु २८ करोड ३५ लाख ९७ हजार र अवकाश दावी रकम रु १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रहेको छ ।

  • धनुषामा बसको ठक्करबाट चार जनाको मृत्यु

    धनुषामा बसको ठक्करबाट चार जनाको मृत्यु

    १६ कात्तिक, जनकपुर । धनुषामा यात्रुवाहक बसको ठक्करबाट चार जनाको मृत्यु भएको छ । शनिवार राति पूर्व-पश्चिम राजमार्ग अन्तर्गत वीरेन्द्रबजारस्थित सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । विराटनगरबाट ढल्केवरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २५८८ नम्बरको बसले प्रदेश ०२–०१–००१ घ १२२० नम्बरको अटोलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि अटोमा सवार धनुषा गणेशमान चारनाथ नगरपालिका–४ का ४० वर्षीय रमेश मगर, उनकी श्रीमती ३२ वर्षकी निशा मगर, सोही ठाउँ बस्ने ठुला मगर र अटो चालक वर्ष ४० को डम्बर राई को मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले जानकारी दिए ।

    उनका अनुसार ठक्करबाट गम्भीर घाइते भएका ठुला मगर र निशाको घटनास्थलमै मृत्यु भएको थियो भने अटो चालक र रमेशको उपचारको क्रममा जनकपुर न्युरो हस्पिटलमा मृत्यु भएको छ । सो दुर्घटनामा मृतक रमेश र निशाका दुई बच्चाहरू समेत गम्भीर घाइते भएका छन् । १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते भई उनीहरूको उपचार जनकपुर न्युरो हस्पिटलमा भइरहेको उनले बताए । ठक्कर दिने बस चालक लखिराम दनुवार थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकहरूको शव पोस्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको छ ।

  • मध्यरातमा बालेनको अश्लिल स्टाटस, १५ मिनेटमै डिलिट

    मध्यरातमा बालेनको अश्लिल स्टाटस, १५ मिनेटमै डिलिट

    १६ कात्तिक, काठमाडौं । मध्यरातमा बालेनले अश्लिल शब्दसहित राखेको स्टाटसका कारण विवादमा तानिएका छन् । बालेनले सो स्टाटस १५ मिनेटमै हटाएका थिए । तर, सामाजिक संजालमा भने चर्को आलोचना भइरहेको छ ।

    उनले अमेरिका, भारत र विभिन्न राजनीतिक दलको नाम लेख्दै स्टाटस राखेका थिए । समर्थकबाटै आलोचना भएपछि उनले सो स्टाटस हटाएका हुन् । सार्वजनिक जिवनमा नदेखिने तर सामाजिक संजालबाट विवादित स्टाटस लेख्ने बालेनको पुरानै बानी हो ।

  • वैशाखयता विपद्जन्य घटनामा तीन सय ३५ जनाको मृत्यु

    वैशाखयता विपद्जन्य घटनामा तीन सय ३५ जनाको मृत्यु

    १६ कात्तिक, काठमाडौं । कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते भएका छन् ।

    बाढीका मात्रै तीन सय १६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका पाँच सय ५० घटना हुँदा ६७ जनाको मृत्यु र चार जना बेपत्ता तथा चट्याङका तीन सय ५६ घटना हुँदा ४४ जनाको मृत्यु, सर्पदंशका पाँच सय ३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ । त्यसैगरी, जनावरको आक्रमणका दुई सय ६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ ।

    भारी वर्षाका चार सय २० घटनामा सात, आगलागीका एक हजार ६१४ घटनामा २६ र हुरीबतासका दुई सय ८६ घटनामा आठ जनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिए। हिउँ पहिरोमा परी नौ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा दुई जनाको मृत्यु भएको छ । विपदजन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।

  • आजबाट मौसम खुल्ने, कमजोर बन्यो ‘मोन्था चक्रवात’ प्रभाव

    आजबाट मौसम खुल्ने, कमजोर बन्यो ‘मोन्था चक्रवात’ प्रभाव

    १६ कात्तिक, काठमाडौं । बङ्गालको खाडीबाट उठेको ‘मोन्था’ चक्रवातका कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको छ । चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि आजदेखि मौसममा थप सुधार हुने मौसमविद्हरुको पूर्वानुमान छ । तर, केही स्थानमा भने आज पनि वर्षाको सम्भावना कायमै छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

  • काठमाडौंको शहरीकरण व्यवस्थित गर्न ५० वर्षे गुरुयोजना बनाउँदै सरकार

    काठमाडौंको शहरीकरण व्यवस्थित गर्न ५० वर्षे गुरुयोजना बनाउँदै सरकार

    १६ कात्तिक, काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाको सहरीकरणको ५० बर्से गुरुयोजना तयार गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यका सहरीकरणको गुरुयोजना तयार गरी सोहीबमोजिम योजना कार्यान्वयन अगाडि बढाइने जानकारी दिए ।


    “काठमाडौँ उपत्यकामा आगामी ५० वर्षमा बढ्ने जनसङ्ख्याको प्रक्षेपण गरी सुन्दर बनाउन दीर्घकालीन गुरुयोजना बनाएर सोहीबमोजिम सहरलाई सुन्दर बनाउन खोजेका छौँ,” मन्त्री घिसिङले भने, “ढल, विद्युत्, खानेपानी, सडक, फोहोर व्यवस्थापन, ढल प्रशोधन केन्द्र स्थापनालगायतका योजना एकीकृत रूपमा बनाएर सोहीबमोजिम काम अगाडि बढाउन लागेका छौं ।” पूर्वमुख्य सचिव लीलामणि पौड्यालले सहरीकरणका अन्य काममा भन्दा योजनाबद्ध रूपमा ढल निर्माण र प्रशोधनमा केन्द्रित गराउन सुझाव दिए ।

    यसैबिच मन्त्री घिसिङले डेडिकेटेड तथा ट्रङ्कलाइन महसुलको बक्यौता रकम भुक्तान गर्न उद्योगीलाई आग्रह गरेका छन् । शनिबार बागमती सफाइ महाअभियानको ६५० हप्ता पूरा भएको अवसरमा आयोजित विशेष कार्यक्रममा मन्त्री घिसिङले नियमित बिल तिरे पनि प्रिमियम महसुलको बक्यौता केही औद्योगिक ग्राहकले तिर्न नमान्दा नेपाल विद्युत् प्राधिकरण कानुनबमोजिम लाइन काट्न बाध्य भएको बताए । आफू प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पनि चार पटकसम्म लाइन काटिएको स्मरण गर्दै घिसिङले तत्कालीन अवस्थामा राजनीतिक तहबाट विरोध र अवरोध भएको जिकिर गरे ।


    “लाइन काट्ने निर्णय नयाँ होइन, विगतमा चार पटकसम्म बक्यौता असुली गर्ने प्रयास हुँदा पनि राजनीतिक तहबाट अवरोध र हस्तक्षेप भयो,” घिसिङले आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा समेत लेखेका छन् । “२०८१ साल चैत ११ गते मैले कार्यकारी निर्देशकको हैसियतमा, विनियमावली अनुसार बक्यौता उठाउन विद्युत् नियमन आयोगमा पत्राचार गरेको थिएँ । त्यसै दिन मलाई पदबाट हटाइयो । हो, बक्यौता असुली गर्ने मेरो इमानदार प्रयास नै पद गुमाउने कारण बन्यो ।”

    घिसिङले महसुल नतिर्दा बर्सेनि लाखौँ सर्वसाधारण ग्राहकको पनि लाइन काटिने गरेकोसमेत बताए । मन्त्री घिसिङले सबैले आफ्नो जिम्मेवारी बुझेर कानुनको सम्मान गर्दै देशको हितमा इमानदार बन्न आग्रह गरे । “प्राधिकरणले दिएको किस्ता सुविधा प्रयोग गरेर बक्यौता रकम बुझाउन सबै उद्योगी–व्यवसायीलाई अनुरोध गर्दछु,” उनले भने, “यदि कसैलाई अन्याय भएको महसुस छ भने न्यायिक निकायमार्फत आफ्नो हक खोज्ने अधिकार सबैलाई छ ।”

  • प्रधानमन्त्रीको आह्वानमा आज सातै प्रदेशका मूख्यमन्त्रीहरुको बैठक बस्दै

    प्रधानमन्त्रीको आह्वानमा आज सातै प्रदेशका मूख्यमन्त्रीहरुको बैठक बस्दै

    १६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

    बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निम्तो दिइएको छ ।

  • रुकुम पूर्वमा अटो दुर्घटना, २ जनाको मृतयु

    रुकुम पूर्वमा अटो दुर्घटना, २ जनाको मृतयु

    १६ कात्तिक, काठमाडौं । रुकुमपूर्वको भूमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको अनुसार शनिबार राति लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा१ह ६७९७ नम्बरको अटो सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुकुमपूर्व अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार उपचारका क्रममा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका २६ वर्षीय प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीय ब्युटी पुन, २ वर्षीया समृद्धि पुन र ३ वर्षीय सक्षम घर्ती सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अटो चालक भूमे–१ लुकुमका २९ वर्षीय जोते घर्ती फरार रहेको प्रहरीको भनाइ छ । दुर्घटनापछि प्रहरी चौकी लुकुम, इलाका प्रहरी कार्यालय काँक्री र जिल्ला प्रहरी कार्यालयको २० जनाको संयुक्त टोलीले उद्धार गरेको थियो ।

  • नागढुंगा सुरुङ सञ्चालनको तयारी, व्यवस्थापन र मर्मत गर्ने कम्पनी छनोट गर्न बोलपत्र आह्वान

    नागढुंगा सुरुङ सञ्चालनको तयारी, व्यवस्थापन र मर्मत गर्ने कम्पनी छनोट गर्न बोलपत्र आह्वान

    १६ कात्तिक, काठमाडौं । नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस ९१७ डिसेम्बर २०२५० रहेको छ । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भए तापनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण सञ्चालनमा आउन सकिरहेको छैन ।

    सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेको तर सडक विभागको हालको कार्यबोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङ सञ्चालन एवम् मर्मत कठिन हुने भन्दै विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो । सेवा प्रदायकले पाँच वर्षको सुरुङ मार्ग सञ्चालन तथा मर्मत गर्ने छ । यस अवधिमा पर्याप्त मात्रामा विदेशी विज्ञहरुबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य सुरुङ, फास्ट ट्रयाकजस्ता संरचनाहरु स्वदेशी जनशक्तिबाटै सञ्चालन गर्न सहज हुने विश्वास छ ।

    सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक पर्ने भन्दै त्यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ । सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । सडक उपभोग दस्तुर (टोल) उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८र८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।

    मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर तोकिसकेको छ । नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ । यसैगरी भारी उपकरणका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर तोकिएको छ ।

  • कांग्रेसका दुई महामन्त्री थापा र शर्मासँग प्रधानमन्त्रीको भेट, के भयो कुराकानी ?

    कांग्रेसका दुई महामन्त्री थापा र शर्मासँग प्रधानमन्त्रीको भेट, के भयो कुराकानी ?

    १५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छिन् । शनिबार उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छिन् । करिब एक घण्टा महामन्त्रीद्वयसँग आगामी निर्वाचनबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।


    प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताइन् । त्यस क्रममा महामन्त्रीद्वयको भनाइ थियो, ‘औपचारिक निर्णय गर्न बाँकी भएता पनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। अब चाँडै निर्णय गर्छौँ। नेकपा (एमाले) पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ।’

    उनीहरुले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताए । जेनजीलगायत सबै राजनीतिक दलसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि केके सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसदको पहिलो बैठकले के के निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा उन्रीहरुले राखेका छन् । प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएकी छिन् । आज पार्टीको बैठक भएका कारण अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको छ।

    प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरुसँग छलफल गरेकी थिइन् । प्रधानमन्त्रीकै आह्वानमा सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइसकेको छ।

  • भोजपुरमा सडक दुर्घटना, दुई जनाको मृत्यु

    भोजपुरमा सडक दुर्घटना, दुई जनाको मृत्यु

    १५ कात्तिक, काठमाडौं । भोजपुरको उत्तरी षडानन्द नगरपालिका –४ दुबेस्थित चाम्लादाङबाट दिङ्ला आउँदैगरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी लिएर आउने क्रममा अनियन्त्रित भएर सडकबाट ३० मिटर तल झरेको थियो ।

    ट्याक्टरमा सवार ६ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते ४ जनाको उपचारका लागि नगर अस्पताल दिङ्ला लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार ट्याक्टर चालक षडानन्द नगरपालिका –४ केराबारीका आइतबहादुर तामाङ र अरुण गाउँपालिका –४ चरम्बी निवासी नवीन तामाङको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको छ ।

    त्यस्तै, घाइते षडानन्द नगरपालिकाका १९ वर्षीय दाछिरी शेर्पा, २२ वर्षीय अम्बरबहादुर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङको नगर अस्पताल दिङलामा उपचार भइरहेको छ । शवलाई कानुनी प्रक्रिया पूरागरी पोस्टमार्टम गर्न लैजाने तयारी हुदैँछ । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    १५ कात्तिक, काठमाडौं । काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र–०२–०५९प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको आज दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको छ भने एकजना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • प्रचण्डसँग बिच्किए जनार्दन, प्रचण्डले भने : अराजक

    प्रचण्डसँग बिच्किए जनार्दन, प्रचण्डले भने : अराजक

    १५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाएको आरोप लगाएका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार बैठक राम्रो किसिमले चलिरहेको थियो तर आफ्ना कुरा राखेपछि शर्मा बाहिरिएका थिए । दाहालले शर्माको त्यो शैली राम्रो नभएको टिप्पणी गरे । माओवादी केन्द्रले माओवाद छोडेर पार्टी एकता गर्न खोजेको र महाधिवेशन टार्न लागेको शर्माले आरोप लगाएका थिए ।

    दाहालले भने, ‘केही जाँदैन, हाम्रो पार्टी सबै एकजुट भएको छ । केन्द्रीय समिति बैठकसम्म जनार्दन पनि एक हुनेछन् र हुनै पर्छ भन्ने विश्वास हामीलाई छ । बैठक राम्रो रूपमा सुरु भएको थियो । उहाँले विषय राख्नुभयो, ल, बस्नुस्, सबैका कुरा सुन्ने, भनेर भनिएको थियो, तर उहाँ उठेर हिँड्नुभयो । उहाँको त्यो शैली राम्रो होइन, कसैलाई मन पर्ने शैली होइन । त्यो अराजकता हो ।’ दाहालले केन्द्रीय समिति बैठकसम्म शर्मा पनि एक हुने विश्वास व्यक्त गर्दै माओवादी केन्द्र एकजुट रहेको दाबी गरे ।

  • आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    १५ कात्तिक, काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

    विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

    कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिन पनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए ।

    आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

    तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

    तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

    आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।

    किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

    कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।

    आजका दिन धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । यसैगरी काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

    यसैगरी नारायणहिटस्थित चातुव्र्युह नारायणस्थानमा गई पूजा, आराधना एवं दर्शन गर्नाले पनि काठमाडौँ उपत्यकाका चारै नारायणस्थानमा पुगे बराबरको फल पाइने शास्त्रीय मान्यता रहेको मन्दिरका मठाधीश डा राजेश्वरानन्दले जानकारी दिनुभयो । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

    रासस

  • तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

    तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

    १५ कात्तिक, काठमाडौं । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले उनीहरुको सफलतापूर्वक उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार गरिएका पर्यटकहरूमा एक जनाको खुट्टामा चोट लागेका, एक जना नौ वर्षीय बालक, एक जना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका छन् । सबैको अक्सिजन लेभल कम रहेको बताइएको छ ।

    उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै नौ घण्टाको यात्रापछि सम्पन्न भएको हो । पर्वतीय उद्धार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यू टिमले विशेष माउन्टेन रेस्क्यू गियर र उपकरणहरूको प्रयोग गरी यो जोखिमपूर्ण कार्य सम्पन्न गरेको छ । पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

    उक्त शिक्षालयमा यो आर्थिक वर्षमा पहिलो पटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यू तालिम सञ्चालन गरिएको थियो । यस तालिमका क्रममा पर्वतीय उद्धार तालिम शिक्षालयका प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ३९ जनाले अश्विन महिनाको अन्तिम सातामा चुलु फार इस्ट ९६,०३८ मिटर० को सफल आरोहण गरेका थिए । यसले सशस्त्र प्रहरी बल्को माउन्टेन रेस्क्यूको क्षमता अभिवृद्धि गरेको छ र भविष्यमा यस्ता घटनाहरूमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाएको छ ।

    सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि यस्ता तालिम र अभ्यासहरूलाई निरन्तरता दिने छ । हिमाली क्षेत्रमा भएका यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रमा मौसमी जोखिमहरूको सामना गर्न आवश्यक पूर्वतयारीको महत्त्वलाई उजागर गरेको सशस्त्र प्रहरी बलको अनुभव रहेको छ ।

  • विश्व क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै

    विश्व क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै

    १५ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको ठूलो हार बेहोरेको थियो ।

    त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ । अमेरिकाले भने नेपाल र यूएई दुवैलाई हराइसकेको छ र लिग २ मा दबदबा कायमै राखेको छ । लिग २ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १८ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।

  • दक्षिण अफ्रिकी क्रिकेट स्टार फाप डु प्लेसिस एनपीएल खेल्न नेपाल आउने, विराटनगरमा आवद्ध

    दक्षिण अफ्रिकी क्रिकेट स्टार फाप डु प्लेसिस एनपीएल खेल्न नेपाल आउने, विराटनगरमा आवद्ध

    १४ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका मध्यक्रमका ब्याटर फाप डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्। उनी अर्को महिनादेखि सुरु हुने एनपिएलका लागि विराटनगर किंग्समा आवद्ध भएका हुन् । ४१ वर्षीय प्लेसिस पछिल्लो समय व्यवसायिक क्रिकेटमा व्यस्त छन् । उनी सन् २०२१ देखि भने राष्ट्रिय टोलीमा छैनन् । पछिल्लो पटक उनले अमेरिकाको फ्रेञ्चाइज लिग खेलेका थिए।

    आइपिएल टोली दिल्ली क्यापिटल्स, चेन्नई सुपरकिंग्स, राइजिङ पुने सुपर जायन्ट र रोयल च्यालेन्जर्स बेंगलुरु गरी चार टोलीबाट उनले १५४ वटा आइपिएल खेल खेलेका छन्। आइपिएलमा उनले ४७ सय रन बनाउँदा ३९ पटक अर्धशतक पूरा गरेका छन्। उनले चेन्नईबाट सन् २०१८ र २०२१ मा उपाधि समेत जितेका छन्। अस्ट्रेलिया, पाकिस्तान र वेस्ट इन्डिजको फ्रेञ्चाइज क्रिकेट लिग समेत खेलेका प्लेसिसले राष्ट्रिय टोलीबाट ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी२० खेल खेलेका छन्। दक्षिण अफ्रिकाको कप्तानको भूमिका समेत निर्वाह गरेका उनले टेस्टमा १०, एकदिवसीयमा १२ र टी–२० मा १ शतक प्रहार गरेका छन्।

    यसअघि विराटनगरले ‍स्टकल्यान्डको ओपनर ब्याटर जर्ज मुन्से र अस्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध गरेको थियो। आगामी मंसिर १ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलका लागि विराटनगरको टोलीमा मार्की खेलाडी सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना छन्। उनी दोस्रो सिजनमा आवद्ध अहिलेसम्मकै ठूला खेलाडी हुन्
    ।

  • विवादका कारण काठमाडौंको फोहोर उठेन, घर भित्रै राख्न महानगरको आग्रह

    विवादका कारण काठमाडौंको फोहोर उठेन, घर भित्रै राख्न महानगरको आग्रह

    १४ कात्तिक, काठमाडौं । बन्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि काठमाडौंमा फोहोर उठ्न छाडेको छ । काठमाडौं महानगरपालिकाले फोहोर घर भित्रै राख्न समेत आग्रह गरेको छ । आज शहरी विकास मन्त्रालयमा स्थानीय बासी र सरकारबीच छलफल भएको थियो । छलफलमा स्थानीयले १८ बुँदे सहमति महानगरले पालना नगरेको भन्दै मेयर बालेन शाहसँग छलफल गर्ने अडान राखेका छन् । बालेन भने उपस्थित भएनन् ।


    छलफलमा सहभागी प्रभावित स्थानीयले २० वर्षदेखि संघर्ष गर्दा पनि आफूहरूलाई न्याय नदिइएको भन्दै आक्रोश पोखे। आफूहरूलाई संघीय सरकार र काठमाडौं महानगरपालिको पटकपटक झुक्याएको, भुलाएको भन्दै समस्या समाधान गर्न सक्ने आधिकारिक व्यक्तिहरू सम्मिलित वार्ताको माग गरे।

    ‘यो छलफलले समाधान दिन सक्दैन। हामीसँग यसअघि १८ बुँदे सहमति गरेका काठमाडौं महानगरपालिका मेयर, उपमेयर, कार्यकारी अधिकृतसहित संघीय सरकारका मन्त्रीहरूसँग हामी वार्ता चाहिरहेका छौं,’ छलफलमा सहभागी धुनिबेसी २ का स्थानीय सुवास पाठकले भने, ‘समाधान दिन नसक्ने यस्तो छलफलको अर्थ छैन।’

    बेलकोटगढी नगरपालिका २ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाले काठमाडौं महानगरपालिकालाई सोधेमा सहरी विकास मन्त्रालयलाई देखाउने, मन्त्रालयलाई सोधेमा महानगरलाई दोषारोपण गर्ने काम भइरहेको बताए। उनले पटकपटक अल्झाउने गर्दा जनता आक्रोशित भएको बताए। प्रभावित क्षेत्रका नागरिकले दुई दिन फोहोर रोक्दा काठमाडौं, भक्तपुर र बनेपासम्मका मानिसको टाउको दुख्ने, हामी २० वर्षदेखि फोहोरमा बस्दा हाम्रो समस्या कसले देख्ने ? भन्दै उनले प्रश्न गरे।

    साढे दुई घण्टासम्म चलेको छलफलका अन्त्यमा सहरी विकास मन्त्रालयका सचिव सिग्देलले समस्या समाधानका लागि मन्त्रालय र मन्त्री (कुलमान घिसिङ) गम्भीर रहेको बताए। प्रभावित क्षेत्रका जनप्रतिनिधिले पत्र पठाएर मन्त्रालयलाई समस्या समाधानको पहल गरिदिन आग्रह गरेकाले आफूहरूले छलफलको आयोजना गरेको भन्दै उनले लगातारका छलफलबाट समाधान निस्कने विश्वास व्यक्त गरे।

    यसअघि पीडित स्थानीयले गत असोज २६ गते भौतिक पूर्वाधार, शहरी विकासमन्त्री कुलमान घिसिङसमक्ष समस्या राखेका थिए। ल्यान्डफिल साइट निर्माण सम्पन्न नहुँदै फोहोर फाल्ने काम भइरहेको तर स्थानीय प्रभावितहरूसँग गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरूले समस्या समाधानको पहल गरिदिन मन्त्री घिसिङको ध्यानाकर्षण गराएका थिए।

  • मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन

    मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन

    रासस
    १४ कात्तिक, काठमाडौं । मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड ४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फुगाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् ।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उनीहरू बिहीबार साँझ सम्पर्कविहीन भएको सूचना प्राप्त भएको बताए । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको सीमावर्ती दामोदरकुण्ड क्षेत्रको मुस्ताङ–मनाङ सरिबुङ पास समुन्द्री सतहदेखि ६ हजार मिटर उचाइमा पर्दछ। त्यहाँ भारी हिमपात भएकाले विदेशी पदयात्रीसहित १४ जनाको टोली सम्पर्कविहीन भएको उनले उल्लेख गरे ।

    यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्पर्कविहीन रहेका पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरेको छ । सो धर्मशालामा खाने, बस्नेसहित अत्यावश्यक सामान व्यवस्थित रहेकाले सम्पर्कविहीन टोली त्यहाँ हुनसक्ने भन्दै प्रजिअ भुसालले धर्मशालामा उनीहरूलाई कुनै समस्या नपर्ने बताए ।

    हिमालय एडभेन्चर ट्राभल कम्पनीमार्फत सरिबुङ पासको पदयात्रामा निस्किएक सबै दुई साताअघि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका हिमालयन एडभेन्चरका व्यवस्थापक दीपक मैनालीले जानकारी दिए । मुस्ताङको दामोदरकुण्ड हुँदै सरिबुङ पास निस्किएका तीन अष्ट्रियन पर्यटकसहित नेपाली पदप्रदर्शकको टोली गत मङ्गलबारदेखि सम्पर्कमा नरहेको उनको भनाइ छ ।

    आज बिहान मात्रै फोन सम्पर्कमा आएका जनाउँदै मैनालीले स्पष्ट कुराकानी भने हुन नसकेको बताए । अक्टोबर २६ तारिखमा दामोदरकुण्डबाट सरिबुङ पासतर्फ हिँडेको जानकारी प्राप्त भएको बताउँदै उनले त्यसयता कुनै सम्पर्क नभएको उल्लेख गरे । ‘हामीलाई आज मात्रै पथप्रदर्शकले फोन सम्पर्क गरेका थिए, तर प्रतिकूल मौसम र सञ्चार अवरोधका कारण राम्ररी कुराकानी हुन सकेन’, व्यवस्थापक मैनालीले भने, ‘हामीले फोनको ‘ट्रयाकिङ’ गरेर स्थान पत्ता लगाउन गृह मन्त्रालयसँग अनुरोध गरेका छौँ।’

    सम्पर्कविहीन भएका पदयात्री रहेको स्थान पत्ता लगाउन सकेमा उद्धारका लागि हेलिकप्टर पठाउने तरी तयारी भएकोबारे गृहमन्त्रालयमा जानकारी गराइएको उनले उल्लेख गरे । सम्पर्कविहीन पदयात्री सरिबुङबाट मनाङको फुगाउँ हुँदै चाँमे निस्किने योजनामा रहेका व्यवस्थापक मैनालीले बताए ।

  • माधव नेपाल नेतृत्वको नेकपा एसले गर्यो माओवादीसँग एकता गर्ने निर्णय, केही नेता भने विरोधमा

    माधव नेपाल नेतृत्वको नेकपा एसले गर्यो माओवादीसँग एकता गर्ने निर्णय, केही नेता भने विरोधमा

    १४ कात्तिक, काठमाडौं । माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे ।

    एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी (नेसपा) सँग पनि एकता गर्ने निर्णय गरेको छ । बैठकमा अध्यक्ष नेपालले एकताका लागि पार्टीको सचिवालय बैठकले थप गृहकार्य गर्ने जानकारी दिएका उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।

    एकीकृत समाजवादीमा अध्यक्ष नेपाल इतरका एउटा पक्षले भने माओवादीसँग एकता गर्न नहुने अडान लिएको छ । एकता भए पार्टी पुनर्गठन गर्ने उनीहरूले बताउँदै आएका छन् । समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्यास भूसाल, नेताहरू विजय पौडेल, राम कुमारी झाँक्री लगायत नेता भने माओवादीसँगको एकताको विरोधमा छन् ।

  • माओवादीसँग एकताको विषयमा नेकपा एसमा असन्तुष्टी , ओलीले भने : हाम्रोमा आउनुस

    माओवादीसँग एकताको विषयमा नेकपा एसमा असन्तुष्टी , ओलीले भने : हाम्रोमा आउनुस

    १४ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएका नेता तथा कार्यकर्तालाई घर फर्कन आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्नेबारे विवाद भइरहेका बेला ओलीले फरक मत राख्नेलाई एमालेमा फर्कन सार्वजनिक रुपमा आहृवान गरेका हुन् । ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आहृवान गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।’

    उनले एमालेमा एकजुट भएर आशाको ज्याति बाल्न सकिने बताएका छन् । ‘फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं, देशको स्वाधीनता जोगाऔं । लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं,’ उनले आग्रह छ, ‘हामी एउटै परिवार हौं । हाम्रो लक्ष्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली । कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा–हाम्रो साझा सपना साकार पार्न । निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं ।’


    उनले मुलुकमा देखिएको राजनीतिक संकट टार्ने दिशामा अघि बढ्न आवश्यक भएको बताएका छन् । ‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्क्रिक संविधानमाथि आत्रमण भइरहेको छ,’ ओली थप्छन्, ‘यस्तो बेला हामी मौन रहन सक्दैनौं । राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ ।’

  • पेट्रोलियम पदार्थको मूल्य हेरफेर, हवाई इन्धनको बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य हेरफेर, हवाई इन्धनको बढ्यो

    १४ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य हेरफेर गरिएको छ । नेपाल आयल निगमका अनुसार आज राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाईको छ । पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

    भारतबाट पेट्रोलको मूल्य सामान्य घटेर आएको थियो । हवाई इन्धन पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका भने खरीद मूल्य नै कायम गरिएको छ । नयाँ मूल्य अनुसार काठमाडौंमा डिजेलको मूल्य प्रतिलिटर १४४ रुपैयाँ कायम भएको छ । यसअघि १४५ रुपैयाँ प्रतिलिटर थियो ।

  • राष्ट्रपति १७ कात्तिकदेखि कतार भ्रमणमा जाँदै

    राष्ट्रपति १७ कात्तिकदेखि कतार भ्रमणमा जाँदै

    काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लाग्नुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । सो औपचारिक भ्रमणका लागि उहाँ यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्ने उनले बताए । राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्नेछन् ।

    संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । भ्रमणबारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको सो दोस्रो सम्मेलनको महत्त्व र गरिमा अनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको उल्लेख गरे । सम्मेलनका दौरान राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।

    यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक सम्मेलन कतारले आयोजना गरेको हो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ । सचिव राईले भने, “सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्नेछ ।”

    संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहिआएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेकाले पनि सम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कनुहुने मन्त्रालयले जनाएको छ ।रासस

  • राष्ट्रिय परिचय पत्र अनिवार्य भएका क्षेत्रको दायरा बिस्तार, अब कुन कुन सेवामा थपियो ?

    राष्ट्रिय परिचय पत्र अनिवार्य भएका क्षेत्रको दायरा बिस्तार, अब कुन कुन सेवामा थपियो ?

    १४ कात्तिक, काठमाडौं । सरकारले विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचयपत्रको पहुँच विस्तार गरी अनिवार्य गरेको छ । कात्तिक १२ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय परिचयपत्रको आबद्धता विस्तार गरेको जानकारी दिए । मन्त्री खरेलका अनुसार वैदेशिक रोजगार सेवासम्बन्धी, अदालतका मुद्दा व्यवस्थापनसम्बन्धी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी, स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपत् व्यवस्थापन सम्बन्धमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

    अध्यागमन सेवा, बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरूको विवरण सम्बन्धमा राष्ट्रिय परिचयपत्र आबद्धता विस्तार गरेको उनले बतए । समरजङ्ग कम्पनी कार्यालयलाई गृह मन्त्रालय अन्तर्गत रहने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको पनि उनले जानकारी दिए । यसअघि राहदानी, बैंक खाता खोल्नेलगायतका सेवामा परिचय पत्र अनिवार्य छ ।

  • आज दिनभर वर्षा, साँझबाट सुधार

    आज दिनभर वर्षा, साँझबाट सुधार

    १४ कात्तिक, काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा शुक्रबार साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना छ ।

    यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ । यस्तै, ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ । भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण एवं किसानका साथै यात्रामा निस्किएका तथा सवारीचालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । रासस