Category: समाचार

  • अराजक अभिव्यक्ति दिँदै हिड्ने निकोलस भुसाल पक्राउ

    अराजक अभिव्यक्ति दिँदै हिड्ने निकोलस भुसाल पक्राउ

    गोरखा, १८ कात्तिकः प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उनलाई प्रहरीले सदरमुकामस्थित रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । भुसाल सोमबार गोरखा आएको र उनलाई विषेश सूचनाका आधारमा पक्राउ गरिएको बताइएको छ ।

    सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो । भुसाललाई काठमाडौँस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताए । भुसालले पछिल्लो समय जेन जी युवालाई भड्काउन विभिन्न अराजक अभिव्यक्ति दिँदै हिड्ने गरेका थिए ।

  • यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

    यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

    काठमाडौँ, १८ कात्तिकः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले विद्युतीय गाडीको प्रयोग बढिरहेको र भन्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरेर इन्डक्सन अथवा वैकल्पिक ऊर्जाको प्रवद्र्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।


    मन्त्री घिसिङले अहिले चार्जिङ स्टेशनको सहजीकरणका लागि यसको नीति परिवर्तन गर्न लागिरहेको जानकारी दिए । सिँचाइको क्षेत्रमा सोलारको प्रयोगलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भनेर कार्यायोजना बनाइरहेको जानकारी दिँदै उहाँले सरकारको नीति सोलारको प्रवद्र्धन रहेको स्पष्ट पारे ।
    हावाबाट बिजुली निकाल्ने प्रविधिको विकास गर्नतर्फ सरकारको ध्यान गएको र यसका लागि काम गर्न इच्छुक निजी क्षेत्रलाई मन्त्री घिसिङले आह्वान गरे । यसमा निजी क्षेत्रले खासै चासो दिएको नपाइएको उल्लेख गर्दै उनले भने, “वीन पावरमा कोही चाहना राख्छ भने सरकारले सहयोग गर्छ ।”

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विकट ठाउँ र विपन्न परिवारका लागि ठूलो योगदान गरेकामा प्रशंसा गर्दै मन्त्री घिसिङले अझै धेरै गर्न बाँकी रहेको औँल्याए । उनले वैकल्पिक ऊर्जाको कार्यक्षेत्र धेरै बढेकाले अझै प्रभावकारी रूपमा काम गर्न जरुरी रहेको बताए । कार्यक्रममा मन्त्रालयका ऊर्जा सचिव चिरञ्जीवी चटौतले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जलवायु परिवर्तनको असर कम गर्न, ऊर्जा दक्षता वृद्धि र कार्वन उत्सर्जन कटौतीमा ठूलो योगदान पुर्याएको स्मरण गरे । उनले नागरिकमा विद्युतको पहुँच शतप्रतिशत पुर्याउने सरकारको लक्ष प्राप्त गर्न र ग्रामिण क्षेत्रमा विद्युत् पुर्याउन केन्द्रको महत्वपूर्ण भूमिका हुने बताए ।


    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले वैकल्पिक ऊर्जाको विकासका लागि केन्द्रले आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै लगेको जानकारी दिँदै सौर्य ऊर्जा, सिँचाइ, खानेपानी, फलामे सुधारिएको चुलोलगायत क्षेत्रमा काम गरिरहेको बताए । उनले आठवटा कार्वन उत्सर्जन कटौतीका आयोजनामा काम गरी ३६ मिलियन अमेरिकी डलर आम्दानी गर्न सफल भएको जानकारी दिए ।

    हाल १३६ स्थानीय तहसँग साझेदारी भएको उनले बताए । आगामी पाँच वर्षमा १० लाख घरधुरीमा पुग्ने लक्ष्य राखिएको उल्लेख गर्दै कार्यकारी निर्देशक ढकालले सबै प्रकारका प्रविधि उपयोग गर्ने ३७ लाख घरधुरीमा पहुँच पुर्याउने योजना रहेको बताए । “यसबाट अहिले ४० हजार रोजगारी सिर्जना भएको छ”, उनले भने । कार्यक्रममा मन्त्री घिसिङले सौर्य तापीय मार्गचित्र तथा कार्यान्वयनन योजनाको विमोचन गरे ।

  • पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    गोरखा, १८ कात्तिकः गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ । पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए ।

    आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ । पाङबारीे हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए । फरिनातो र गापुटो हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेका बताइएको छ ।

    उनीहरुसँगै अलपत्र परेका इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । उनको साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौँ पठाइएको उनले बताए ।

  • राहदानी बनाउन पोर्चुगलको फारोबाट एक सय २० को आवेदन

    राहदानी बनाउन पोर्चुगलको फारोबाट एक सय २० को आवेदन

    लिस्बन (पोर्चुगल), १८ कात्तिकः विद्युतीय राहदानी (ई–पासपोर्ट_ बनाउन पोर्चुगलको फारोबाट एक सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । लिस्बनस्थित नेपाली दूतावासको टोलीले अल्गार्भको फारोमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी दुईदिने घुम्ती शिविरबाट १२० जना नेपालीको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो ।

    शिविरबाट १२० जनाको राहदानी नवीकरण, २८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३६ वटा अन्य कागजात प्रमाणीकरण गरी झन्डै २०० नेपालीलाई सेवा प्रदान गरिएको टोली प्रमुख एवं लिस्बनस्थित नेपाली दूतावासका प्रथम सचिव रामबाबु नेपालले राससलाई जानकारी दिए ।


    उनका अनुसार शिविरबाट १८ हजार ५१५ युरो अर्थात् ३० लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । अल्गार्भ क्षेत्रमा देखिएको राहदानीलगायतका कागजातसम्बन्धी समस्यालाई सम्बोधन गर्ने योजनाअनुरुप पहिलोपटक सञ्चालन गरिएको शिविरबाट नेपाली सेवाग्राही लाभान्वित भएका छन् ।

    शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको थियो भने प्रहरी ‘रिपोर्ट’लगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा प्रदान गरिएको थियो । शिविरमा लागोस, फारो, अल्बुफेइरा, पोर्टिमाओ, भिलामौरा, ताभिरालगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीले सेवा लिएको दूतावासले जनाएको छ ।

    शिविरमा दूतावासका प्रथम सचिव नेपाल, तृतीय सचिव अनिल राना र स्थानीय कर्मचारीको टोली खटिएको थियो । राहदानी नवीकरण तथा प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्या भोगिरहेका अल्गार्भ क्षेत्रका नेपालीहरूको सहजताका लागि घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले बताए ।

  • बाँकेमा अटोरिक्सा चलेपछि स्थानीयको आवागमन सहज

    बाँकेमा अटोरिक्सा चलेपछि स्थानीयको आवागमन सहज

    राँझा, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटोरिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको हो ।
    नरैनापुर–६ गङ्गापुर निवासी सोहनलाल यादवका अनुसार साँझ र बिहान यात्रुवाहक बस जाने÷आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटोरिक्साले अन्त्य गरेको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडक पक्की भएसँगै नरैनापुरमा सञ्चालनमा ल्याइएको अटोरिक्साले स्थानीयवासीलाई सहज बनाएको उनको भनाइ छ ।

    सदरमुकाम नेपालगञ्जबाट नरैनापुर ४४ किलोमिटर टाढा पर्ने नरैनापुरमा यसअघि सवारीसाधनको सास्ती हुँदै आएको थियो । हिजोआज रिक्सा चढेर एक घण्टामा नेपालगञ्ज पुग्न सकिने नरैनापुर-५ जमुनीगाउँकी टीका बूढाथोकीले बताए । “रिक्सामा चढेपछि घामपानीले प्रभावित गर्दैन, समयको पनि बचत भएको छ । अहिले सजिलोसँगै गन्तव्यमा पुुग्न सकिन्छ”, उनले भने, “नरैनापुरमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई दैनिकी कामका लागि सदरमुकामसम्म पुग्न सहज भएको छ ।”

    नरैनापुर गाउँपालिकाभित्रका गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयाका गाउँबस्तीसम्म आवागमनमा अटोरिक्साले सहज बनाएको छ । साइकल वा मोटरसाइकलजस्ता निजी सवारीसाधन नहुने सर्वसाधारणलाई गाउँपालिकाभित्रैका एक वडाबाट अर्को वडामा आउनजान अटोरिक्साले सुविधा पुगेको छ ।

    अटोरिक्सा सञ्चालनमा आएपछि बालबालिका, अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिक तथा बिरामी प्रत्यक्ष लाभान्वित भएका छन् । महिला, विद्यार्थी, शिक्षक र कर्मचारीले पनि रिक्साको उपयोग गर्दै आएका छन् । एक घण्टा पैदल हिँड्नुुपर्ने यात्रा १५÷२० मिनेटमा पुगिने बूढाथोकीले जानकारी दिए । अटोरिक्सा चलाएर नागरिकलाई यातायात सेवा दिनुका साथै गाउँमै राम्रो आम्दानी गर्दै आएको नरैनापुर–१ कटकुइँया निवासी अटोचालक जाकिर अलीले बताए । चार सिट क्षमताको अटोरिक्साले नरैनापुरको सीमावर्ती क्षेत्र सुइँया बघौडादेखि नेपालगञ्जसम्मको प्रतिव्यक्ति रु २५० र गाउँपालिका केन्द्र नरैनापुरदेखि रु २०० भाडा लिने गरेको उनको भनाइ छ।

  • एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

    एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

    म्याग्दी, १८ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुुर पुनका अनुुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् ।

    नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमतामध्य कालीगण्डकी जलविद्युुत् आयोजना निर्माणाधीन छ । नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको वडाध्यक्ष पुनले जानकारी दिए ।


    निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङको कायापलट भएको छ । भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाबाट महत्वपूर्ण योगदान भएको वडाध्यक्ष पुनले बताए । “हामीले कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन् घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ”, उनले भने, “अवसर र रोजगार खोज्दै सहरबजार, पसेका र विदेशिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइँसराइ रोकिएको छ ।”

    गाउँमै प्राविधिक विषयको विद्यालय सञ्चालन, स्वास्थ्य संस्थाको भवन बनेका छन् । जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेलिब्रिज र भवनलगायत पूर्वाधारले स्थानीयवासीलाई सुविधा पुगेको छ । जग्गाको मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटल, रेष्टुरेन्ट, ठेक्कापट्टा, ढुवानी, यातायात व्यवसाय, शेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताए । जलविद्युत् आयोजनाले सरकारलाई तिर्ने रोयल्टी ९सलामी दस्तुर०मध्ये सङ्घीयले ५०, प्रदेश र पालिकालाई २५÷२५ प्रतिशतका दरले बाँडफाँट हुने संवैधानिक व्यवस्था छ । नारच्याङमा रहेको प्रभा मावीले हाइड्रो इञ्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गरेको छ ।

    म्रिस्तीखोला जलविद्युत् आयोजनाले विसं २०७१ कालीगण्डकी नदीमाथि बेलिब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो । बेँसी र पटारको सिमानास्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप दुई वटा बेलिब्रिज बनाएको म्रिस्तीखोलाले फेदीसम्म १४ किलोमिटर सडक निर्माण गरेको छ । नीलगिरि खोला जलविद्युत् आयोजनाले छोटेपा हुुँदै हुुमखोलासम्म पहुँचमार्ग बनाएपछि सहज यातायात पहुँच भएपछि अन्नपूूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।

    रेलेखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेंसीदेखि लेकगाउँ सडक सञ्जालमा जोडिएको वडा सदस्य श्याम पुर्जाले बताउनुभयो । घलेम्दी र म्रिस्तीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले प्रभावित क्षेत्रको बासिन्दाका हिसाबले संस्थापक शेयर लगानी गरेका छन् । नीलगिरि पहिलो, दोस्रो र रेलेखोला जलविद्युत् आयोजनाको प्रवद्र्धकले शेयर निष्काशनको प्रक्रियामा छन् ।

    कालीगण्डकी र आसपासका नदीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा सबस्टेशन बनाएको छ । विसं २०७७ मा निर्माण सकिएको २२० केभी क्षमताको सबस्टेशनबाट हाल घलेम्दी, म्रिस्ती र थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडिएका छन् ।

    म्याग्दीको अन्नपूर्ण–३ दाना र पर्वतको कुश्मा–२ खुर्कोटमा सबस्टेशन र प्रसारण लाइन बनाएपछि कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्षसमेत रहनुभएका घलेम्दीखोलाका सञ्चालक प्रमोद श्रेष्ठले बताए ।

  • १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    राष्ट्रिय समाचार समिति (रासस)
    म्याग्दी, १८ कात्तिक । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो ।

    मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भेटिएका जानकारी दिए ।
    “सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए”, उनले भने, “सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पाइएको छ ।” समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी सिकारी नियन्त्रण, बासस्थान वरपर मानवीय र घरपालुुवा जनावरको गतिविधि बढ्दा चिरकालिजको सङ्ख्या वृद्धिमा सहयोग पुुगेको अनुुसन्धानकर्ता रजकले बताए ।


    खरबारी, पाखोबारीमा मानिसले घाँस काट्ने, पशुुचौपायाको चरन क्षेत्र हुँदा झाडी हटेर आहारा खोज्न सजिलो हुने भएकाले चिरकालिजको बसोबासका लागि अनुुकूल वातावरण बनेको उनको भनाइ छ । चिरकालिजले फुल कोरल्नेबाहेकका समयमा डढेलो लाग्दा झाडी नष्ट हुुने र प्रशस्त आहारा पाउँदा उसका लागि अनुुकूल मानिन्छ । चैत, वैशाख र जेठ चिरकालिजले फुल पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो ।

    समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता रहने अनुुसन्धानकर्ता केशव चोखालले जानकारी दिए । “चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ”, उनले भने, “बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।”

    ‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पन्छीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिममा चेडु चराको नामले चिनिने गरिएको छ । भिरमा नै बासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्ने जनाइएको छ । चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइन्छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुु अधिकारीले बताउनुभयो । कालीगण्डकीका साथै म्याग्दी र रघुगङ्गाको तटीय क्षेत्रमा देखिएकाले अनुुसन्धान थालिएको हो । चिरकालिजको अध्ययनका लागि दातृ निकाय टोलेडोजुुले सहयोग गरेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।

    धवलागिरि गाउँपालिकाको म्याग्दी नदी आसपास र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अध्ययनपछि प्राप्त हुुने प्रतिवेदनका आधारमा चिरकालिज संरक्षण कार्यक्रम गरिने जैविक बिविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले बताए । दुर्लभ पन्छी हेर्नका लागि विदेशी पर्यटक आउँदा स्थानीयस्तरमा रोजगारी सृजना र आयआर्जन वृद्धिमा सघाउ पुुग्ने उनले बताए ।

  • वर्षाले धानबालीमा क्षति, समस्यामा किसान

    वर्षाले धानबालीमा क्षति, समस्यामा किसान

    १८ कात्तिक, चन्द्रपुर । गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आँकलन सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्याएको छ ।

    जिल्लामा बाढीले १७ हजार ६३८ हेक्टर खेतको धानबाली, एक हजार ८०४ हेक्टर क्षेत्रफलको उखुबाली, छ सय ८५ हेक्टरको तरकारी, चार सय सात हेक्टरको फलफूलबाली र पाँच सय हेक्टर अन्य बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए ।


    जिल्लाका १८ वटै पालिकासँग समन्वय गरेर क्षतिको विवरण सङ्कलन गरिएको उनले बताए । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्याएको उनले जानकारी दिए ।


    क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको र राहतका लागि कुरा भइरहेको उनले जानकारी दिए । जिल्लाको करिब ५१ हजार हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३८ हजार ५०० हेक्टरमा धानबाली लगाइएकामा बाढीले एक हजार ६३८ हेक्टर खेतको धानबालीमा क्षति पुर्याएको उनको भनाइ छ ।

    जिल्लामा ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएको छ । यसैबीच दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले किसानले पाउनुपर्ने राहत रकम चाँडोभन्दा चाँडो उपलब्ध गराउन माग गरे । बाढीले रौतहटका करिब साढे चार सय घरपरिवार विस्थापित भएका थिए ।

    त्यसैगरी, पछिल्लोपटक आएको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । भित्र्याउने बेलाको धान वर्षाले भिजाएपछि किसान चिन्तित बनेका हुन् । वर्षाले किसानले धान भित्र्याउन नपाएको बृन्दावन– १ का किसान शिवमङ्गल पटेलले गुनासो गरे । खेतमा काटेर राखेको धान सबै वर्षाले डुबाएको छ ।

  • तराई भेगमा सुरु भयो हुस्सुको कहर

    तराई भेगमा सुरु भयो हुस्सुको कहर

    १८ कात्तिक, काठमाडौं । नेपालको तराई भेगमा हुस्सुको कहर सुरु भएको छ । जसले गर्दा हवाई उडानदेखि सामान्य जनजीवन समेत प्रभावित हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले तत्कालका लागि मौसममा प्रतिकुल प्रभाव पार्ने अर्को प्रणाली देखिएको छैन । जसले गर्दा तराई भेगमा मौसममा परिवर्तन आउने सम्भावना समेत छैन । बाक्लो हुस्सुसँगै तापक्रम समेत तल झर्ने क्रम सुरु हुन्छ ।

    सुनसरीको इनरुवा नगरपालिका-४ मा मङ्गलबार बिहान लागेको हुस्सु र उदाउँदै गरेको सूर्य । तस्बिर : नवीन गड्तौला / रासस
  • आज यस्तो छ नेपालको मौसम पूर्वानुमान

    आज यस्तो छ नेपालको मौसम पूर्वानुमान

    काठमाडौँ, १८ कात्तिक : नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने महाशाखाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • उपत्यकामा अत्यधिक धुवाँ फाल्ने ३७ सवारीसाधन प्रहरीको नियन्त्रणमा

    उपत्यकामा अत्यधिक धुवाँ फाल्ने ३७ सवारीसाधन प्रहरीको नियन्त्रणमा

    काठमाडौँ, १८ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ । सोमबार ट्राफिक प्रहरीले जाँचपास नभएका तथा सडकमा अत्यधिक धुवाँ फाल्दै गुडिरहेका ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

    उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा सवारी जाँचपास नभएका तथा अत्यधिक धुवाँ फाल्ने भाँडाका बस १६, पिकअप भ्यान १४, स्कुल बस चार, व्यक्तिगत कार दुई र भाडाका कार एक गरी ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।


    उनले भने, “अत्यधिक धुवाँ फाल्ने र सवारी जाँचपास नभएका गरी ३७ सवारीसाधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अवस्था ठीक नभएको सवारीसाधन चलाउन नहुने कसुरमा कारबाही हुन्छ ।” वायु प्रदूषण नियन्त्रण गर्न र सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पछिल्ला दिनमा कडाइका साथ अनुगमन अभियान सञ्चालन गरिरहेको र सोही क्रममा सोमबार ३७ सवारीसाधन नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।


    उनले भने, “अत्यधिक धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वातावरण प्रदूषित हुन्छ, जसको असर सर्वसाधारणको स्वास्थ्यमा पर्छ । त्यस्तै, मर्मत नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले मर्मत गरी दुरुस्त अवस्थामा मात्रै सञ्चालन गर्न सबै चालक र सवारी मालिकलाई मेरो आग्रह छ ।”

    उनले सवारी चालकलाई सवारीको प्राविधिक अवस्था समयसमयमा परीक्षण गर्न र जाँचपास अवधि समाप्त हुन नदिन आग्रह गरे । सोमबार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक मर्मत कार्य सम्पन्न गरी तोकिएको जरिवाना तिरेपछि मात्रै कागजपत्र फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ । यसअघि पनि उपत्यका ट्राफिक प्रहरीले धुवाँ फाल्ने सवारीसाधन र जाँचपास नभएका गाडीविरुद्ध नियमित रूपमा कारबाही गर्दै आएको छ ।

    ट्राफिक प्रहरीले पछिल्लो समय वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै, पेट्रोल र डिजेलबाट चल्ने पुराना सवारीसाधनको अवस्था परीक्षण, अनुगमन तथा चालक सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । साथै, सवारी जाँचपास तथा बिमा नवीकरणका विषयमा चालकलाई जानकारीमूलक अभियान सञ्चालन गरिरहेको छ ।

    वातावरणविद्का अनुसार उपत्यकामा वायु प्रदूषणका प्रमुख कारण अत्यधिक धुवाँ फाल्ने पुराना सवारीसाधन हुन् । यसले खासगरी बालबालिका, वृद्धवृद्धा र दम, रोगीमा स्वास्थ्य समस्या बढाउने गरेको पाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी धुवाँ परीक्षणलाई अझ प्रभावकारी बनाउन मोबाइल इमिसन टेस्ट युनिट थप गर्ने तयारी गरेको जनाएको छ ।

    कार्यालयका अनुसार आगामी दिनमा पनि यस्ता चेकिङ अभियानलाई निरन्तरता दिइनेछ र नियमविपरीत सञ्चालनमा रहेका सवारीसाधन माथि थप कडाइ गरिनेछ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सञ्चालन र सुरक्षित बनाउन ट्राफिक प्रहरीले सर्वसाधारणसँग सहकार्यको पनि आह्वान गरेको छ । रासस

  • दक्षिणी भारतमा सडक दुर्घटनाः ट्रक बसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ घाइते

    दक्षिणी भारतमा सडक दुर्घटनाः ट्रक बसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ घाइते

    हैदराबाद, १८ कात्तिक (रासस\एपी) । दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको र करिब दुई दर्जन व्यक्ति घाइते भएको पुष्टि भएको छ । कङ्क्रिट ढुङ्गा बोकेको ट्रक यात्रुबसमा ठोक्किँदा यो दुःखद घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

    राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के। चन्द्रकलाले जानकारी दिनुभयो । उहाँका अनुसार बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको र धेरै यात्रु भित्रै फसेका थिए ।

    चेभल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा। राजेन्द्र प्रसादका अनुसार दुर्घटनास्थलबाट २० जनाको शव शवगृहमा लगिएको छ र कानूनी प्रक्रिया पूरा भएपछि तिनीहरूका पारिवारिकजनलाई हस्तान्तरण गरिनेछ । घाइतेहरूलाई नजिकका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ ।

    यो दुर्घटना भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार राति भएको अर्को दुर्घटनाको ठीक भोलिपल्ट भएको हो । राजस्थानमा यात्रु बोकेको मिनीबस राजमार्गमा पार्क गरिएको ट्रकमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । राजस्थानको कोलायत तीर्थस्थलमा पूजापाठ गरेर फर्किरहेका ती यात्रुहरू मरुभूमि सहर जोधपुरतर्फ गइरहेका थिए । मृतकमध्ये १० महिला, चार बालबालिका र बस चालक रहेको वरिष्ठ सरकारी अधिकारी श्रीमती श्वेता चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

    दुर्घटनामा मिनीबसको अगाडिको भाग च्यातिएको थियो र धातुको टुक्रामा पीडितहरू फसेका थिए । वरिष्ठ प्रहरी अधिकारी कुन्दन कन्वारियाले प्रारम्भिक अनुसन्धानको नतिजा उद्धृत गर्दै भने, “बस चालकले अर्को सवारीलाई ओभरटेक गर्ने प्रयास गर्दा राजमार्गमा पार्क गरिएको ट्रकमा ठोक्किएको देखिन्छ । सम्भवतः उनले ब्रेक लगाउन पनि समय पाएनन् ।”

    भारतमा राजमार्गहरूमा ट्रक र ट्रेलरहरू चेतावनी बत्ती वा परावर्तक चिह्नबिना नै अव्यवस्थित रूपमा पार्क गरिने सामान्य प्रवृत्ति रहेको बताउँदै अधिकारीहरूले यस्तो लापरवाहीले रातको समयमा गम्भीर जोखिम निम्त्याउने र पछिल्ला वर्षहरूमा यस्तै कारणले धेरै घातक दुर्घटनाहरू भएको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदी, तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डी तथा राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले दुवै दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्दै मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । राजस्थानमै करिब तीन हप्ताअघि यात्रुबसमा सर्ट सर्किटका कारण आगलागी भई कम्तीमा २० जनाको ज्यान गएको घटनापछि पुनः यस्तो ठूलो दुर्घटना हुनुका कारण भारतको सडक सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

  • किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

    किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

    काठमाडौँ, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट छुट्टिएर गोपाल किराँतीको नेतृत्वमा गठन भएको देशभक्त समाजवादी मोर्चा झण्डै आठ वर्षपछि माओवादी केन्द्रमै समाहित भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष किराँतीले सोमबार पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे ।


    मुलुकको पछिल्लो परिस्थितिलाई सही दिशा दिन क्रान्तिकारीबीच एकता र ध्रुवीकरण अनिवार्य भएको सहमतिपत्रमा उल्लेख छ । दुई पार्टीबीच विगतमा भए गरेका वैचारिक–राजनीतिक एवं साङ्गठनिक गल्ती कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्ने, किरातीद्वारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रबारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने सहमति भएको छ ।

    तत्कालीन अवस्थामा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको एकताप्रति असन्तुष्टि देखाउँदै नेता किराँतीले माओवादी केन्द्र परित्याग गरी नयाँ दल गठन गरेका थिए ।

  • चीनमा रोबोटिक उपकरणको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

    चीनमा रोबोटिक उपकरणको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

    ग्वाङझाउ, १८ कात्तिक (रासस\एएफपी) । चीनको एक मेडिकल टिमले चार हजार किलोमिटर टाढाको बिरामीको उपचार गर्न फाइभजी जडित रोबोटको प्रयोग गरेर आँखाको सफल शल्यक्रिया गरेको छ। उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीस्थित एक अस्पतालमा आइतवार दक्षिणी शहर ग्वाङझाउका शल्य चिकित्सकहरूले रोबोटको हातलाई टाढैबाट नियन्त्रण गरेर आँखाको शल्यक्रिया गरेका हुन् । माइक्रोन–स्तरको सटीकताका साथ गरिएको शल्यक्रियाले प्रविधिको लाभ उठाउँदै विकसित तटीय क्षेत्र र दुर्गम क्षेत्रहरू बीचको चिकित्सा संसाधन खाडललाई कम गर्न महत्त्वपूर्ण कदम मानिएको छ।

    उरुम्कीमा रोबोटले बिरामीको आँखामा माइक्रोस्कोपिक सुई राखेपछि, ग्वाङझाउका शल्य चिकित्सकहरूले रिमोट कन्ट्रोलको सहायतामा सुईलाई रेटिनाको सतहमा लगी पूर्व–निर्धारित गहिराइमा इन्जेक्सनमार्फत् औषधि दिएका थिए। टाढाबाट उपकरणको सहयोगमा गरिएको सम्पूर्ण शल्यक्रियाका लागिसात मिनेट भन्दा कम समय लागेको बताइएको छ । शल्यक्रियाका क्रममा नेटवर्क स्थिर रहेकोले रोबोटले कुनै कम्पन बिना सजिलैसँग काम गरेको थियो ।

    ‘सवरेटिनल इन्जेक्सन’ एउटा यस्तो कमजोर नाजुक माइक्रोसर्जिकल प्रविधि हो जसले ‘सबम्याकुलर हेमोरेज’ जस्ता अन्धा विकारहरूमा दृष्टि बचाउन प्रयोग गरिन्छ। “यो क्लिनिकल शल्यक्रिया चीनमा रिमोटद्वारा आँखाको शल्यक्रियाको सफल उपचारको सम्भाव्यताको व्यावहारिकतामा एक महत्वपूर्ण फड्को हो,” सन यात–सेन विश्वविद्यालयको झोङशान आँखा उपचार केन्द्रका परियोजनाका प्रमुख लिन हाओटियनले भने ।

  • मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : सार्वजनिक खर्च मितव्ययी गर्नुस

    मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : सार्वजनिक खर्च मितव्ययी गर्नुस

    काठमाडौँ, १७ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न निर्देशन दिएकी छिन् । उनले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको सुनिश्चितता गर्न निर्देशन दिइन् ।


    वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण दिन आज आयोजित मन्त्री र सचिवहरूको बैठकमा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाबमोजिम नतिजामुखी हुन मातहतका निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

    “भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सबै मन्त्रालयहरूले ‘ब्लुप्रिन्ट’ तयार गरी कार्यान्वयन गर्नुहोस्”, प्रधानमन्त्री कार्कीले भनिन्, “निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्नुहोस् ।”

    आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अवलम्बन गर्नुपर्नेलगायतका १४ बुँदे निर्देशन दिँदै उनले कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई व्यवस्थित गरी अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिइन् ।


    “आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउनुहोस्”, प्रधानमन्त्री कार्कीले भनिन्, “भौतिक संरचना मेसिनरी औजार तथा उपकरणमा पुगेको क्षतिबाट सेवा प्रवाह अवरुद्ध हुन नदिन तत्काल खरिद वा वैकल्पिक सेवा प्रवाहको व्यवस्था गर्नुहोस् ।”

    निर्वाचनको वातावरण बनाउन आफूले निर्वाचन आयोग, सुरक्षा निकाय राजनीतिक दल र अन्य सरोकारवालाहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिँदै उनले निर्वाचनको पूर्वतयारीका लागि आआफ्ना जिम्मेवारीका कार्यहरूलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्न निर्देशन दिइन् । प्रधानमन्त्री कार्कीले सबै मन्त्रालयहरूको वार्षिक कार्ययोजना कार्यान्वयनको समीक्षा गर्दै परम्परागत शैलीबाट माथि उठेर नयाँ मानकहरू स्थापनाका लागि आवश्यक पहल गर्न सुझाव दिइन् ।


    आफ्नो अध्यक्षताका अन्तरप्रदेश परिषद्लगायतका सबै परिषद् वा समितिका बैठकका लागि प्रबन्ध मिलाउन निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा कूटनीतिक मामिलासम्बन्धी छलफल आयोजना गर्नसमेत ध्यानाकर्षण गराइन् ।

    प्रदेशमा जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने र तीनै तहका सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिँदै उनले भनिन्, “कानुनको शासन प्रत्याभूत गर्न सबै खाले आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्नुपर्नेछ । यसमा कुनै सम्झौता नगर्नुहोस् ।”

    प्रधानमन्त्री कार्कीले अनावश्यक देखिएका संरचना खारेज गर्ने, गाभ्ने तथा हस्तान्तरण गरी सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त र उच्च उत्पादकत्वयुक्त बनाउने कार्य तत्काल प्रारम्भ गर्न निर्देशन दिइन् । उनले भनिन्, “तपाइँहरू स्थायी सरकार हो । आफ्नो ज्ञान सीप अनुभवको प्रयोग गरी कर्तव्य र उत्तरदायित्व पालनामा खरो उत्रनु हुनेछ ।’

  • पहिरोमा पुरिएकी विदेशी पर्यटक फेला परिनन्

    पहिरोमा पुरिएकी विदेशी पर्यटक फेला परिनन्

    गोरखा, १७ कात्तिक । मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा पुरिएकी एक विदेशी महिला पर्यटक चार दिनसम्म भेटिएकी छैनन् । मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि फेला पार्न नसकिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । ठाउँठाउँमा झरेको पहिराका कारण उद्धारकर्ता शुक्रबार र शनिबार घटनास्थलसम्म पुग्न सकेका थिएनन् । पहिरो पन्छाउँदै सो टोली आइतबार घटनास्थल पुगेको थियो । उनीसँगै पदयात्रामा गएका श्रीमान् र पथप्रदर्शकले भने भागेर ज्यान बचाएका थिए ।

  • राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्कन सरकारको पत्राचार

    राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्कन सरकारको पत्राचार

    काठमाडौँ, १७ कात्तिक । सरकारले ११ देशका नेपाली राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै कामकाज गर्नेगरी फिर्ता बोलाउन पत्राचार गरेको छ । सरकारको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकारले आज पत्र पठाउँदै उनीहरुलाई फर्कन पत्राचार गरेको मन्त्रालयले जनाएको छ । सबै राजदूतहरूलाई मन्त्रालयमै बोलाउन आजै पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

    गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति लिएका ११ राजदूतहरूलाई यही कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले आइतबार निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

  • हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता

    हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता

    दोलखा, १७ कात्तिक : गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिमपहिरोमा परेका छन् । हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ः०० बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको अवस्था अझै एकिन हुनसकेको छैन । आज बिहानैदेखि उद्धारका लागि प्रशासनलाई आग्रह गरे पनि उद्धारमा ढिलाइ भएको वडाध्यक्ष निमगेली शेर्पाले बताए । हेलिकप्टर उडानका लागि रोल्वालिङ क्षेत्र प्रतिबन्धित भएकाले प्रशासनले अनुमतिमा ढिलाइ गर्दा थप समस्या भएको शेर्पाको भनाइ छ ।

    हिमपहिरोमा परेकाको खोजीको प्रयास भइरहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीनहरुको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाएपनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

  • चार उद्योगले तिरे पहिलो किस्ता, काटिएको बिजुली जोडियो

    चार उद्योगले तिरे पहिलो किस्ता, काटिएको बिजुली जोडियो

    १७ कात्तिक, बुटवल । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । पहिलो किस्ता तिरेपछि उद्योगहरूको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

    उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगहरुले पहिलो किस्ता तिरेका छन् ।

    बाध्यात्मक अवस्थाका कारण बक्यौताको २८ किस्ता मध्ये एक किस्ता बापत दुई लाख ८० हजार रुपैयाँ तिरेपछि प्राधिकरणले दुई उद्योगमा लाइन जोडिदिएको पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहुले बताए । आजै पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिक्सले विद्युत् नियमन आयोगमा उजुरी दिएका थिए । ‘राष्ट्रिय गौरवका आयोजना र उपभोक्तालाई दिनुपर्ने समान समयमा दिनुपर्ने र सयौं कर्मचारीको रोजगारीको दायित्वबाट पन्छिन नमिल्ने बाध्यात्मक अवस्थाले कानुनी लडाइँ जारी राख्ने निर्णय सहित एक किस्ता तिरेका हौ,’ साहुले भने, ‘एक किस्ता तिर्नुको अर्थ हामीले ट्रङ्क लाइन प्रयोग गरेको स्विकारेको कदापी होइन ।’

    उनले पूर्वी नेपालका उद्योगहरू र पञ्चकन्या कोरिडोरका उद्योगको विवाद एउटै नभएको भन्दै यहाँका उद्योगले ट्रङ्क लाइन माग पनि नगरेको र प्रयोग नगरेको दाबी गरे । विद्युत प्राधिकरणले माग र प्रयोग गरेको प्रमाण टीओडी मिटर समेत दिन नसकेको साहुको भनाइ छ ।

  • भीमफेदी कारागारबाट भागेका २६ विदेशी कैदीबन्दी अझै सम्पर्कका आएनन्

    भीमफेदी कारागारबाट भागेका २६ विदेशी कैदीबन्दी अझै सम्पर्कका आएनन्

    बागमती, १७ कात्तिकः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना अझै फरार छन् । गत भदौ २४ गते राति १ बजेतिर कारागारको पर्खाल भत्काएर फरार भएका ३९ विदेशी कैदीबन्दी १३ जना कारागार फर्किएको र २६ जना अझै फरार रहेको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । भीमफेदी कारागारबाट फरार विदेशीसहित चार सय ४० कैदीबन्दीमध्ये हालसम्म दुई सय ८६ जना कैदीबन्दी कारागार फर्केका छन्,भने एक सय ५४ जना कैदीबन्दी अझै फर्किन बाँकी रहेका छन् ।

    कारागार प्रमुख पौडेलका अनुसार अन्य कारागारबाट फरार भएका ७१ जनासमेत भिमफेदी कारागार फर्किएका छन् । अन्य कारागारका ७१ कैदीबन्दीमध्ये ३५ जनालाई स्थानान्तरण पठाइएको, एक जना थुनामुक्त भएको र ३५ जना कारागारमा रहेको प्रमुख पौडेलले बताए । कारागारको तीन वटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट दुई ६० र (क) ब्लकबाट एक सय ८० गरी चार सय ४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीको क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए । कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए ।

  • भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

    भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

    हनोई, १७ कात्तिक (रासस–एएफपी) । यस हप्ताको लगातार भारी वर्षा र बाढीका कारण मध्य भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार २४ घण्टाभित्र १.७ मिटर (५ फिट ६ इन्च) सम्मको रेकर्ड वर्षा भएपछि तटीय प्रान्तहरू तहसनहस भएका छन् । भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरण (भिडिडिएमए) का अनुसार मृतकहरू ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तका रहेका छन् । युनेस्को विश्व सम्पदा सूचीमा रहेको प्राचीन सहर होइ एन पनि कम्मर–गहिरो पानीमा डुबानमा परेको छ । स्थानीय नदी ६० वर्षयताको उच्चतम स्तरमा पुगेपछि बासिन्दाहरू काठका डुङ्गा प्रयोग गरी सहरमा यात्रा गर्न बाध्य भएका छन् ।

    होइ एनका निवासी चुओङ गुयेनले भने, “सबैजना स्तब्ध छन् । हामीले बाढीका लागि तयारी गरेका थियौँ तर पानी यति बढ्ने अपेक्षा गरेका थिएनौँ । धेरै घरहरू समयमै तयार हुन नसक्दा धेरै सामान नष्ट भए ।” भिडिडिएमएका अनुसार १६ हजार ५०० भन्दा बढी घर डुबानमा परेका छन्, ४० हजारभन्दा बढी कुखुरा र गाईवस्तु बगाएका छन् र करिब पाँच हजार ३०० हेक्टर ९१३ हजार एकड० बाली जमिन बाढीले नष्ट गरेको छ । वातावरण मन्त्रालयका अनुसार कुल एक लाखभन्दा बढी घर बाढीले प्रभावित भएका छन् र १५० भन्दा बढी स्थानमा भूस्खलन भएको छ ।

    वैज्ञानिकहरूका अनुसार मानव–सिर्जित जलवायु परिवर्तनका कारण बाढी, आँधीबेहरी र भूस्खलनजस्ता चरम मौसमी घटनाहरू अझ घातक र विनाशकारी बन्दै गएका छन् । भियतनाम पृथ्वीको सबैभन्दा सक्रिय उष्णकटिबन्धीय चक्रवात क्षेत्रहरूमध्ये एक हो, जहाँ सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुन्छ ।

    तर सन् २०२५ मा मात्र देशले १२ वटा उष्णकटिबन्धीय आँधीबेहरीको सामना गरिसकेको छ । प्राकृतिक प्रकोप—मुख्यतया आँधीबेहरी, बाढी र भूस्खलन—का कारण यस वर्षको पहिलो नौ महिनामा मात्रै १८७ जनाको मृत्यु वा बेपत्ता भएको सरकारी तथ्याङ्कले जनाउँछ । सरकारका अनुसार बाढी र प्रकोपजन्य क्षतिको आर्थिक मूल्य ६१ करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । राहत र उद्धारका लागि स्थानीय निकायहरू सक्रिय रहेका छन् तर लगातार वर्षाका कारण कार्य कठिन बनेको छ ।

  • कतार उडे राष्ट्रपति

    कतार उडे राष्ट्रपति

    १७ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुँदैछन् । राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन् ।

    संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । आय त्रिभुवन विमानस्थलमा उनलाई प्रधानमन्त्री सुशीला कार्कीसहितले बिदाई गरेका छन् । हाल नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेकाले पनि सम्मेलनमा सहभागिता अर्थपूर्ण छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज सोमबार त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । राष्ट्रपति पौडेललाई विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले विदाई गर्नुभयो । तस्बिर : किरणराज बिष्ट / रासस
  • राजकुमार एन्ड्रयुले अन्तिम सैन्य उपाधि समेत गुमाउने

    राजकुमार एन्ड्रयुले अन्तिम सैन्य उपाधि समेत गुमाउने

    लन्डन,१७ कात्तिक (रासस–एएफपी) । बेलायत सरकारले आइतबार पूर्व राजकुमार एन्ड्रयुको उप–एडमिरलको मानार्थ उपाधि खोस्ने निर्णय गरेको छ। अमेरिकी यौन अपराधी जेफरी एपस्टीनको मुख्य अभियुक्त भर्जिनिया जुफ्रेले सन् २०२२ मा मुद्दा दायर गरेपछि एन्ड्रयुलाई उहाँकी आमा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयले दिएको उनको मानार्थ सैन्य उपाधि खोसिएको हो । एन्ड्रयुको एपस्टीनसँगको सम्बन्धलाई लिएर बेलायतको बढ्दो आक्रोशको बीचमा राजा चाल्र्स तृतीयले बिहीबार आफ्नो कान्छो भाइको बाँकी सबै शाही उपाधि र सम्मान हटाएपछि पछिल्लो कदम चालिएको हो।

    “एन्ड्रयुले सेनामा पाएको मानार्थ भाइस एडमिरल पद राजाको निर्देशनमा हामी अहिले हटाउने काम गरिरहेका छौँ,” रक्षामन्त्री जोन हेलीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। रक्षामन्त्री हेलीले लौरा कुएन्सबर्ग कार्यक्रममा एन्ड्रयुले आफ्नो सैन्य उपाधि गुमाउनु पर्छ कि पर्दैन भन्ने विषयमा पनि राजाले नै सरकारलाई निर्देशन दिएको बताएका छन् ।


    सन् १९८२ को फकल्याण्ड युद्धमा रोयल नेवी हेलिकप्टर पायलटको रूपमा उनको भूमिकाको लागि एन्ड्रयुलाई उप–एडमिरल उपाधिबाट सम्मानित गरिएको थियो। उनी २२ वर्षको सेवापछि सन् २००१ मा सेवानिवृत्त भएका हुन् । एन्ड्रयुले जुफ्रेलाई यौन दुव्र्यवहार गरेको कुरालाई सधैँ अस्वीकार गर्दै आएका छन् ।

    जुफ्रेको अक्टोबरमा मरणोपरान्त प्रकाशित संस्मरणमा जुफ्रेले तत्कालिन राजकुमार एन्ड्रयुसँग तीन पटक यौन सम्बन्ध राखेको र दुई पटकसम्म यौन सम्पर्क राख्दा उनी केबल १७ वर्षकी रहेको उल्लेख छ । गत बिहीबार बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै भनेको थियो, “राजकुमार एन्ड्रयु अब एन्ड्रयू माउन्टबेटन विन्डसरको रूपमा मात्र चिनिनुहुनेछ।” विज्ञप्तिमा भनिएको छ, “उहाँले अस्वीकार गरे पनि ‘उहाँमाथि लागेका यी निन्दाहरूविरूद्ध कारबाही आवश्यक मानिन्छ।”

  • अब दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    अब दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    काठमाडौँ, १७ कात्तिकः राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

    नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्था (ह्याण्डओभर र टेकओभर) तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ ।

    उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको र अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन गर्न विभागले सबैलाई आग्रह गरेको छ । राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न, त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन विभागले ध्यानाकर्षण गराएको छ ।

  • राष्ट्रपति पौडेल सोमबार कतार भ्रमणमा जाँदै

    राष्ट्रपति पौडेल सोमबार कतार भ्रमणमा जाँदै

    काठमाडौँ, १७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दैछन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सम्मेलनमा सहभागी हुन सोमबार त्यहाँ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।

    राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन् ।
    संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । भ्रमणबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको सम्मेलनको महत्त्व र गरिमाअनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको उल्लेख गरे । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।

    यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक कतारले सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ । सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्ने जनाइएको छ ।

    सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध रहिआएको छ । हाल नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेकाले पनि सम्मेलनमा सहभागिता अर्थपूर्ण छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

  • हर्क साम्पाङ नेतृत्वको पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान

    हर्क साम्पाङ नेतृत्वको पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान

    काठमाडौंँ, १७ कात्तिकः निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र आज प्रदान गरेको हो ।

    आयोगका अनुसार जेन जी आन्दोलनपछि आयोगमा सातवटा नयाँ दलले दर्ताका लागि आवेदन गरेकामा साम्पाङ नेतृत्वको पार्टीले सबैभन्दा पहिले प्रमाणपत्र प्राप्त गरेको हो । आयोगमा १२५ दलको दर्ता कायम छ । दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि साम्पाङले भने, “ हामीले २८ सदस्यीय कार्यसमिति बनाएका छौँ, हामी देशका लागि काम गरेर देखाउँछौँ । देश र जनताप्रति हामी इमानदार छौँ ।”

  • बञ्चरेडाँडामा फोहोर बोकेका गाडी जान थाले

    बञ्चरेडाँडामा फोहोर बोकेका गाडी जान थाले

    काठमाडौँ, १६ कात्तिकः स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहरका गाडी जान सुरु गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । स्थानीय सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै दबाब दिने उद्देश्यले फोहर फाल्न अवरोध गरेका थिए । चार दिनसम्म फोहर फाल्न अवरोध हुँदा काठमाडौँका अधिकांश घर गल्लीमा फोहरको थुप्रो लागेको छ ।

  • सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

    सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

    काठमाडौँ, १७ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण निर्माणका लागि आह्वान गर्नुभएको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि सङ्घ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा सराहना गर्दै उहाँहरूले निर्वाचनका पक्षमा वातावरण बनाउन यो कदम फलदायी हुने विश्वास व्यक्त गरिन् । मुख्यमन्त्रीहरूले शान्ति सुरक्षाको विषय निर्वाचनको प्रमुख चुनौती रहेकाले यसमा गम्भीरताका साथ लाग्नुपर्ने धारणा राख्नुभएको थियो । सङ्घ, प्रदेश र स्थानीय सरकारले आपसी सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित काम गरेमा तोकिएकै मितिमा निर्वाचन गर्न सकिने उनीहरुको भनाइ थियो ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने, “म एमालेको प्रतिनिधित्व गर्छु । हामी चुनावका विरोधी होइनौँ, तर चुनावको वातावरण बनाउन सङ्घ सरकार लागोस् र त्यसमा हाम्रो भूमिकालाई पनि नबिर्सोस् । अबको निकास चुनाव नै हो ।” यस्तै, ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणका लागि सङ्घ सरकारले नै ‘प्याकेज’ ल्याउनुपर्ने मुख्यमन्त्रीहरूले सुझाव दिए । उनीहरुले खर्च कटौतीका लागि सङ्घीय सरकारले गरेको परिपत्रले प्रदेश सरकारको क्षेत्राधिकारमा हस्तक्षेप गर्न खोजेको हो कि भन्ने आशङ्का उत्पन्न भएको पनि बताए ।


    सङ्घ सरकारले कानुनले तोकेभन्दा बढी सहयोगी र सल्लाहकार राख्न नपाउने, रु १० लाखभन्दा माथिका योजनाको ठेक्कामा अनिवार्य बोलपत्र आह्वान गरी प्रतिस्पर्धा गराउनुपर्नेजस्ता मार्गदर्शन गरेको थियो । ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका बीच गठित सरकारले न्यायिक, प्रशासनिक सुधारका काम नगरेको तर प्रदेशका राजनीतिक पदाधिकारीको सुविधामा मात्र लक्षित गरी परिपत्र गरेको हो कि भन्ने आशङ्का रहेको पनि मुख्यमन्त्रीहरुले बताए ।

    मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार (सोनल)ले खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत घोषणा गर्न माग गरे । मुख्यमन्त्रीहरूले ‘डेडिकेटेड फिडर’को बक्यौता नबुझाउने उद्योगको बिजुलीको लाइन काट्ने निर्णयले उद्योगका साथै मजदुर र सरकारको राजस्वमा असर पर्र्नेतर्फ पनि ध्यानाकर्षण गराए । प्रधानमन्त्री कार्कीले पनि राजनीतिक दल नै यस व्यवस्थाकावाहक भएकाले जतिसक्दो छिटो निर्वाचन गरी दलीय सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

  • विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

    विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

    काठमाडौँ, १७ कात्तिकः गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ । आइतबार भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, मन्त्रालयअन्तर्गतका कानुन महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, डा दीपक खड्कासहितको टोली सहभागी भएको थियो ।

    बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदान प्रक्रिया र यसलाई सम्भव बनाउन आवश्यक संयन्त्र, कानुन र अन्य आवश्यकताबारे छलफल गरिएको जनाइएको छ । विदेशमा रहेका नागरिकको मतदानका विषयमा विद्यमान कानुनी अवस्था, अन्य मुलुकको कार्यान्वयन अनुभव र चुनौतीहरूबारे प्रारम्भिक छलफलका लागि प्रतिष्ठानलाई आमन्त्रण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    बैठकमा ‘आउट अफ कन्ट्री भोटिङ’ का विषयमा नीति प्रतिष्ठानले अघि बढाएको अनुसन्धानको कार्यप्रगति र प्रयोग हुन सक्ने विधिहरू प्रस्तुत गरिएको थियो । विदेशमा हुने मतदान प्रक्रिया, हुन सक्ने सुरक्षा चुनौती, आवश्यक जनशक्ति र यसका कार्यान्वयनका लागि निर्माण हुनुपर्ने राजनीतिक वातावरण आदि विषयबारे पनि चर्चा भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

  • लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ

    लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ

    लन्डन, १६ कात्तिक (रासस\एपी) । पूर्वी इङ्गल्यान्डबाट लन्डनतर्फ गइरहेको रेलमा भएको सामूहिक छुरा प्रहारको घटनापछि बेलायतभर त्रास र अराजकता फैलिएको छ । आइतबार बिहानसम्म अस्पतालमा रहेका १० जनामध्ये नौ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीका अनुसार दुई जना संदिग्धलाई नियन्त्रणमा लिइएको छ र उनीहरूको उद्देश्य पत्ता लगाउने कार्य तीव्र गतिमा भइरहेको छ ।

    आक्रमणको प्रारम्भिक विवरण अझै अस्पष्ट छ । शनिबार साँझ करिब साढे सात बजे लामो दूरीको रेल हन्टिङडन सहरमा आपतकालीन रूपमा रोकिँदा रगतले लथपथ यात्रुहरू बाहिर निस्कँदै थिए । ती यात्रुलाई भेट्न दर्जनौँ सशस्त्र प्रहरीहरू स्टेसनमा पहिल्यै उपस्थित थिए । स्टेसनमै प्रहरीले तत्कालै दुई जना संदिग्धलाई पक्राउ गरेको थियो । यद्यपि, प्रहरी अधिकारीहरूले उनीहरूको परिचय सार्वजनिक गरेका छैनन् र घटनाको उद्देश्य पनि खुलासा गरिएको छैन । ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले आतङ्कवाद विरोधी एकाइले अनुसन्धानमा सहयोग गरिरहेको बताएको छ ।

    रक्षामन्त्री जोन हिलीले स्काई न्युजसँगको अन्तर्वार्तामा प्रारम्भिक मूल्याङ्कन अनुसार यो ‘एक पृथक र एकल आक्रमण’ भएको विश्वास व्यक्त गरे । ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो ठूलो घटना घोषणा गरिएको छ । दस जनालाई अस्पतालमा भर्ना गरिएको छ र तिनीहरूमध्ये नौ जनाको अवस्था चिन्ताजनक छ । काउन्टर टेररिज्म पुलिसिङले हाम्रो अनुसन्धानमा सहयोग गरिरहेको छ र हामी घटनाको सम्पूर्ण परिस्थिति र प्रेरणा पत्ता लगाउने प्रयासमा छौँ ।”

    प्रहरीका अनुसार घातक आतङ्ककारी आक्रमणको सम्भावनामा प्रयोग गरिने ‘प्लेटो’ नामक राष्ट्रिय कोड शब्दलाई केही समयका लागि सक्रिय गरिएको थियो, तर पछि खारेज गरिएको थियो । प्रमुख उपरीक्षक क्रिस केसिले भने, “हामी घटनाको कारण र प्रकृति पत्ता लगाउन सोधपुछ जारी राखिरहेका छौँ । प्रारम्भिक चरणमा अनुमान लगाउनु उचित हुने छैन ।”

    यो आक्रमण उत्तरी इङ्गल्यान्डको डोनकास्टरबाट लन्डनको किङ्स क्रस स्टेसनतर्फ गइरहेको रेल क्याम्ब्रिज विश्वविद्यालय सहरभन्दा केही माइल उत्तरपश्चिममा रहेको बजार सहर हन्टिङडन नजिक पुग्दा भएको बताइएको छ । एक यात्रु ओली फोस्टरले बिबिसीलाई भने, “मैले कसैले ‘दौड्नुहोस्, दौड्नुहोस्, त्यहाँ एक व्यक्तिले सबैलाई छुरा प्रहार गरिरहेको छ ?’ भनेर चिच्याएको सुनेँ । सुरुमा मलाई लाग्यो, सायद यो हेलोविनको मजाक होला । तर जब यात्रुहरू भाग्दै थिए, मैले आफ्नो छेउको सीटमा बस्ने एक जनाको हात रगतले ढाकिएको देखेँ ।”

    घटनापछि केही मिनेटमै सशस्त्र प्रहरी, एम्बुलेन्स र एयर एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । हन्टिङडन स्टेसनमा पुगेपछि आक्रमण नियन्त्रणमा आएको बताइएको छ । फरेन्सिक पोशाकमा रहेका प्रहरी अधिकारीहरू र प्रहरी कुकुरहरू प्लेटफर्ममा देखिएका थिए । स्थानीय प्रहरी निकाय क्याम्ब्रिजसायर कन्स्टेबुलरीका अनुसार अधिकारीहरू घटनाको करिब केही मिनेटमै स्थलमा पुगेका थिए ।

    यस घटनाप्रति बेलायती प्रधानमन्त्री किर स्टार्मरले गहिरो दुःख प्रकट गर्दै भने, “यो एक भयावह घटना हो । मेरा विचारहरू पीडित र उनीहरूको परिवारसँग छन् ।” क्याम्ब्रिजसायर र पिटरबरोका मेयर पल ब्रिस्टोले पनि रेलमा देखिएका ‘भयानक दृश्यहरू’ बारे दुःख व्यक्त गरे । लन्डन उत्तरपूर्वी रेलवेका अधिकारीहरूले आफ्ना रेलमध्ये एकमा घटना भएको पुष्टि गर्दै सोमबारसम्म उक्त मार्गमा ठूलो अवरोध रहने जनाएका छन् ।