Category: समाचार

  • चितवनमा दुई बस र ट्रक एक आपसमा ठोक्किए, ३३ घाइते

    चितवनमा दुई बस र ट्रक एक आपसमा ठोक्किए, ३३ घाइते

    १४ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको छ । गतराति पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा. प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किएको थियो ।

    बस सडकमा पल्टिएको थियो । लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो । घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ । क्रेनको सहायताले बसलाई सडक क्षेत्रबाट हटाएर आज बिहान करिब ३ बजेतिर सडक एकतर्फी खुलाइएको थियो । बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका–४ बस्ने ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

    घाइतेहरुमा उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ, धनुषाको जनकपुर उपमहानगरपालिका– १७ बस्ने ३९ वर्षीय सदाकत मिया, सोही ठाउँ बस्ने ५२ वर्षीय नरेन्द्र शाह छन् । यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय समिर अन्सारी, धनुषाको जनकपुर उपमहानगरपालिका– १ बस्ने ४६ वर्षीय बसन्त झा, धनुषाको जनकपर उपमहानगरपालिका– ४ वस्ने ४९ वर्षीय मुकेशलाल कर्ण, सोही ठाउँ बस्ने ३४ वर्षीया अन्जु कर्ण, सोही ठाउँ बस्ने आरुष कर्ण र धनुषाको लक्ष्मीनिया गाउँपालिका– ४ बस्ने १९ वर्षीया विद्या चौधरी छन् ।


    साथै, रौतहटको राजदेवी नगरपालिका– १ बस्ने २० वर्षीय अनिकेत कुमार साह, रौतहटको बृन्दावन नगरपालिका– ३ बस्ने ११ वर्षीय आरभ मिश्र, रौतहटको राजदेवी नगरपालिका– १ बस्ने कुष्ण कमार साह, रौतहटको गौर नगरपालिका–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी, महोत्तरीको पिपरा गाउँपालिका– १ बस्ने गितादेवी यादव, महोत्तरीको पिपरा गाउँपालिका–१ बस्ने ३७ वर्षीय राम श्रेष्ठ छन् ।

    यसैगरी धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत, धनुषाको जलेश्वर नगरपालिका–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह, सोही ठाउँ बस्ने ४३ वर्षीया रेखा सिंह, सोही ठाउँ बस्ने २१ वर्षीया अञ्जली सिंह, रौतहटको राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो, रौतहटको गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर र रौतहटको गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह छन् । साथै सोही ठाउँ बस्ने ४० वर्षीय उर्मिला कुमारी साह, रौतहटको बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा, भारत मोतिहारी बस्ने ३२ वर्षीय सुनिल प्रसाद, भारत मोतिहारी बस्ने २५ वर्षीया सुभद्रा कुमारी चौधरी, भारत मोतिहारी बस्ने ७ वर्षीया पृया जैशवाल छन् ।
    भारत मोतिहारी बस्ने ४ वर्षीया कृती जैशवाल, धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी, रौतहटको दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास, रौतहटको माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह। सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास र भारत मोतिहारी बस्ने २२ वर्षीय महमद साहेब समेत घाइते छन् ।

  • बीपी राजमार्गका विभिन्न स्थानमा अवरोध, यातायात अवरुद्ध

    बीपी राजमार्गका विभिन्न स्थानमा अवरोध, यातायात अवरुद्ध

    १४ कात्तिक, काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध छ । नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

    इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउन लाग्दा पुनस् माथिबाट पहिरो खसेको छ । पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्ला भित्रको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने बताए । उनले सुरक्षित यात्राका लागि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरे ।

  • मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार

    मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार

    १३ कात्तिक, मुम्बई । मुम्बईको पवई क्षेत्रमा कैयौँ बालबालिकालाई बन्धक बनाउने व्यक्तिलाई मुम्बई प्रहरीले बिहीबार पक्राउ गरेको छ । प्रहरीका अनुसार बालबालिकालाई बन्धक बनाएका रोहित आर्याले एक भिडियो जारी गर्दै आफूले केही बालबालिकालाई बन्धक बनाएको आफ्नो माग पूरा नगरे सबै कुरामा आगो लगाउने र बच्चासहित आफैंलाई हानि पुर्‍याउने धम्की दिएका थिए । अपहरणकारी ती व्यक्तिले बन्धक रिहाइका लागि आफूले केही व्यक्तिसँग कुरा गर्न चाहेको बताएका थिए।

    प्रहरी अधिकारीहरूका अनुसार ती व्यक्ति मानसिक रूपमा अस्थिर देखिएका थिए भने प्रहरीले परिस्थितिलाई सावधानीपूर्वक सम्हालेको छ। अपहरणपछि तत्काल मुम्बई प्रहरीद्वारा जारी गरिएको एक विज्ञप्तिमा घटनाको पुष्टि गर्दै भनिएको छ, “मुम्बईको पवई क्षेत्रमा रोहित आर्या नाम गरेका एक व्यक्तिले केही बालबालिकालाई बन्धक बनाएका छन् । उनले सार्वजनिक गरेको एक भिडियोमा उनी केही व्यक्तिहरूसँग कुरा गर्न चाहेको र त्यसो गर्न अनुमति दिइएन भने उनले सबै चीजमा आगो लगाइदिने र आफू र बच्चाहरूलाई हानि पुराउने चेतावनी दिएका थिए ।”

    प्रहरीले सबै बालबालिकालाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको पुष्टि गरेको छ । प्रहरीले अभियुक्तलाई हिरासतमा लिइएको र उनको कार्यको कारण पत्ता लगाउन र उनको मानसिक अवस्थाको परीक्षण गर्न सोधपुछ भइरहेको बताएको छ। प्रहरीद्वारा बालबालिकाको रिहाइपछि दिइएको जानकारीमा भनिएको छ, “घटनास्थलबाट सबै बालबालिकाको सकुशल उद्धार गरिसकेको छ। रोहित आर्या नाम गरेका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र उनीसँग कुरा गरिरहेको छ । उनले किन यस्तो कदम चाले र के उनी वास्तवमै मानसिक रूपमा अस्वस्थ छन् भनेर पत्ता लगाउने प्रयास पनि भइरहेको छ।

    अधिकारीहरूले अगाडि भनेका छन्, थप विवरणहरू अनुसन्धानपछि सार्वजनिक गरिने बताएका छन्। “सबै बालबालिका सकुशल छन् र उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको छ । अन्य विवरणहरू उचित प्रमाणीकरण पछि चाँडै साझा गरिनेछ,” मुम्बई प्रहरीले भनेको छ। रासस-एएनआई

  • कप्तान रोहितको सानदार ब्याटिङका बावजुत हार्यो नेपाल

    कप्तान रोहितको सानदार ब्याटिङका बावजुत हार्यो नेपाल

    १३ कात्तिक, काठमाडौं । दुबईमा जारी आइसिसी विश्वकप लिग–२ शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग पाँच विकेटले हारेको छ ।
    जारी श्रृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको थियो । दुबई एकेडेमी मैदानमा जितका लागि दुई सय ३४ रनको लक्ष्य पछ्याएको युएईले ४३.३ ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ३७ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

    युएईका लागि आर्याम्स शर्माले सर्वाधिक ९८ रन बनाए । उनले ९८ बलमा १० चौका र तीन छक्का प्रहार गरे । ओपनर आलिसान सरफुले ४५, मुहमद वासिमले २६, अर्षित कौशिकले १३, ध्रुव परासरले अविजित १६ र जाहिद अलीले अविजित ११ रन बनाए । कप्तान राहुल चोप्रा १५ रनमा रिटायर्ड हट भए ।


    बलिङमा नेपालका सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह एरीले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३३ रन बनाएको थियो ।

    नेपालका लागि कप्तान रोहितकुमार पौडेलले पाँच चौका र दुई छक्काको मद्दतमा १०९ रन बनाए । एकदिवसीयमा कप्तान पौडेलको यो दोस्रो शतक हो । यसअघि उनले पपुवा न्युगिनीविरुद्ध शतक प्रहार गरेका थिए । ओपनर आशिफ शेखले ३५, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरीले २३, करण केसीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न जोड्न सकेनन् ।


    नेपाललाई सस्तैमा रोक्न यूएईका लागि जाहिद अलीले चार र जुनैद सिद्दिकीले तीन विकेट हात पार्दा मोहम्मद रोहिद र हैदर अलीले एकएक विकेट हात पारे । यस जितसँगै १८ खेलबाट आठ अङ्क बनाएको युएई अन्तिममै छ । समान खेलबाट १२ अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ । आठ टोली सहभागी लिगमा हाल अमेरिका २२ खेलबाट ३२ अङ्क जोड्दै शीर्षस्थानमा छ ।

    दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ । यस्तै तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २४ खेलबाट २८, चौथो स्थानमा रहेको ओमानको २० खेलबाट २४, पाँचौँ स्थानमा रहेको क्यानडाको २४ खेलबाट २१ र छैटौँ स्थानमा रहेको नामिबियाको २४ खेलबाट १९ अङ्क छ । लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

  • बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु

    बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु

    १३ कात्तिक, काठमाडौं । बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका ७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका ५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका ७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।
    बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास गर्दै जाँदा बिहीबार दिउँसो भिरमा मृत अवस्थामा फेला परेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनका अनुसार शिवनाथ–६ ओल्या भिरभन्दा करिब ५०० मिटर तल भीमको शव फेला परेको हो ।

    इन्द्रसिंहको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, बुधबारदेखि हराइरहेकी कार्कीको खोजी गर्दा भिरबाट करिब एक मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक बडूले जानकारी दिए । न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा उनको भिरबाट लडेर मृत्यु भएको जनाइएको छ । तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    रासस

  • राहदानी छपाईमा पहल गरिदिन प्रधानमन्त्रीले जर्मनीका राजदूतसँग  गरिन् आग्रह

    राहदानी छपाईमा पहल गरिदिन प्रधानमन्त्रीले जर्मनीका राजदूतसँग गरिन् आग्रह

    १३ कात्तिक, काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग आज शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदानप्रदान भएको थियो। प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि उनीहरूबीचको यो पहिलो भेट हो । यस क्रममा जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यका लागि शुभकामना व्यक्त गर्दै सदाझैं नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

    प्रधानमन्त्री कार्कीले धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मिति अगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिन् ।

    नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरिन् । जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट कम्पनीलाई अनुरोध गरी यस विषयमा सक्दो पहल गर्ने बताए । भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत कूटनीतिक अधिकारीहरूको उपस्थिति थियो ।

  • मुगुको कोइकी हिमाल आरोहण गर्दै पाँच आरोहीले बनाए कीर्तिमान

    मुगुको कोइकी हिमाल आरोहण गर्दै पाँच आरोहीले बनाए कीर्तिमान

    १३ कात्तिक, मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा पहिलो पटक सफल आरोहण भएको छ । कात्तिक ३ गते चार अष्ट्रियन र एक जर्मन गरी पाँच जनाको टोलीले सो हिमालमा सफल आरोहण गरेका हुन् । सफल आरोहीहरुमा अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब लिन्ड छन् । समुद्री सतहदेखि ६ हजार १६९ मिटर अग्लो कोइकी हिमालको सफल आरोहणले मुगुम कार्मारोङवासी उत्साहित भएका छन्।


    ‘गाउँकै सामुन्ने रहेको यो हिमालको शिखरमा पहिलो पटक मान्छे पुगेको खबरले हामी हर्षित छौं। चोरी र याक चराउन फेदसम्म पुग्ने स्थानीय कसैले पनि यो हिमाल आरोहण गरेको सुनेका देखेका थिएनन्’, स्थानीय तुण्डुल तामाङले भने, ‘अब यस हिमालमा पनि आरोहणका लागि अरु आरोही आउँछन् भन्ने लागेको छ।’
    पहिलो पटक रिजन ट्रेक प्रालिको व्यवस्थापनमा चार जना अष्ट्रियाका, एकजना जर्मन आरोहीले आरोहण गरेको जनाइएको छ। मुगुम कार्मारोङ गाउँपालिका–२ का पूर्व वडाअध्यक्ष कार्मा तामाङ भने, ‘कोइकी हिमालको सफल आरोहणले मुगु मात्र होइन, देशकै पर्यटनको सम्भावना थपिएको छ। अब यस क्षेत्रको प्रचारप्रसारमा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरुरी छ।’

    सो हिमालका सफल आरोही मध्येका २८ वर्षीय अष्ट्रियाका नागरिक सेन्द्रोकले भने, ‘मैले संसारका थुप्रै हिमाल आरोहण गरेको छु, तर कोइकी हिमालमा उभिँदा बेग्लै अनुभूति भयो । यो हिमाल सफा, शान्त र सुन्दर छ । कतै फोहर छैन, हावामा ताजगी छ । यस्तो प्राकृतिक शुद्धता मैले पहिलो पटक महसूस गर्दै थिएँ।’\


    उनले यहाँका स्थानीयको माया र आतिथ्यले आफू प्रभावित बनाएको र आफ्नो देश फर्केर साथीभाइलाई यो हिमाल चढ्न प्रेरित गर्ने बताए । “यो ठाउँको अझ प्रचार भयो भने, मजस्ता सयौँ विदेशी पर्यटक यहाँ आउनेछन्’, उनले भने । रिजन ट्रेक प्रालिका पथप्रदर्शक पासाङ शेर्पाका अनुसार, कोइकी हिमाल चढ्दा कुनै ठूला कठिनाई परेन । मौसम अनुकूल रह्यो, बाटो रमणीय थियो र दृश्य अद्भुत । अरू हिमालको तुलना गर्दा यहाँको यात्रा सहज र यादगार रह्यो। उनी भन्छ्न्, ‘विदेशी आरोही अत्यन्त उत्साहित थिए । उनीहरू फर्कँदा पनि बारम्बार यही कुरा भन्दै थिए हामी फेरि फर्कनेछौँ । कोइकी हिमाल पुग्ने बाटोमा कुनै कठिनाइ भोग्नु परेन।’


    पहिलो सफल आरोहणसँगै प्रचारप्रसारमा जोड दिएमा कोइकी हिमाल अब मुगुको पर्यटनको अर्को सम्भावना बन्ने पर्यटन व्यवसायी राजु कार्की बताउँछन् । ।


    यसरी पुग्न सकिन्छ कोइकी
    हवाई या स्थलमार्ग भएर नेपालगञ्ज जाने । नेपालगञ्जबाट रारा विमानस्थल करिब ३५ मिनेटको हवाई उडानमार्फत पुग्न सकिन्छ । रारा विमानस्थलबाट १५–२० मिनेटको जीप यात्रामा सदरमुकाम गमगढी पुगिन्छ । त्यसैगरी स्थलमार्ग भएर जानेका लागि नेपालगञ्ज वा कोहलपुरबाट बसमार्फत सुर्खेत, दैलेख, कालीकोट हुँदै पहिलो दिन मान्म वा नाग्मा त्यसपछि दोस्रो दिन बिहानै हिँडेर जुम्लाको गोठी ज्युला वा बुलबुले हुँदै दिउँसो गमगढी पुग्न सकिन्छ।


    त्यहाँ एक रात बास बसेर भोलिपल्ट बिहानै मुगुम कार्मारोङ गाउँपालिकाको छायल बजार, माग्री गाउँ र ढुङ्गेधारा बजार हुँदै जानुपर्छ । रिउस बगर वा पुलु बजार, लादेगाड, चिताई बगर हुँदै तेस्रो दिन साँझ मुगुम गाउँ पुगिन्छ। चौथो दिन बिहानै मुगुम गाउँको पाटन क्षेत्र हुँदै पाँचौँ दिन समुन्द्री सतहबाट चार हजार ६०० मिटर उचाइमा रहेको सो हिमालको आधारशिविर पुग्न सकिन्छ।

  • बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो २ अर्ब ६० करोड अनुदान

    बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो २ अर्ब ६० करोड अनुदान

    १३ कात्तिक, काठमाडौं । बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।
    जापान सरकारले यो राजमार्गको मर्मत र पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी येन (२ अर्ब ६० करोड रुपैयाँ) बराबर अनुदान सहायता दिने भएको छ । सम्झौता अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा अर्थ मन्त्रालयमा आज भएको हो । महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलान्चोक जिल्लाको धुलिखेलसम्मको यो राजमार्गको कुल लम्बाई १५९ किलोमिटर रहेको छ । राजमार्ग जापान सरकारको अनुदान सहयोगमा बनेको हो ।

    गत वर्षको विनासकारी बाढी र पहिरोका कारण राजमार्गका विभिन्न खण्डमा गम्भीर क्षति पुगेको छ । जसमा रोशी खोला आसपासको खण्ड पूर्ण रुपमा नष्ट भएको छ । सम्झौतामा अर्थसचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत तोरु माएदाले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा अर्थमन्त्री खनालले अनुदान सहायता नेपाल र जापानबीचको मित्रता र सहकार्यको महत्त्वपूर्ण प्रतिक भएको बताए । जापानी राजदूत माएदाले यो सहयोगले बीपी राजमार्गका क्षतिग्रस्त भाग पुनर्स्थापना गर्न सहयोग पुग्ने बताए ।

  • जमैकामा शक्तिशाली तुफान मेलिसाले पार्दैछ तहसनहस, २० भन्दा बढीको मृत्यु

    जमैकामा शक्तिशाली तुफान मेलिसाले पार्दैछ तहसनहस, २० भन्दा बढीको मृत्यु

    १३ कात्तिक, काठमाडौं । क्यारेवियन मुलुक जमैकामा शक्तिशाली तुफान मेलिसाले तहसनहस बढाएको छ । यस आँधीका कारण कैयौं इलाकामा बाढी आएको छ । जसले गर्दा ठूलो मात्रामा जन धनको क्षति भएको विवरण सार्वजनिक भएका छन् । अहिलेसम्म २० जनाको मृत्युको विवरण आएको छ ।

    कतिपय मानिस छतमा फसिरहेको देख्न सकिन्छ । विजुली र खानेपानीको आपूर्ति बन्द भएको छ । प्रधानमन्त्री एन्ड्रयूले मुलुकमा अहिले पूर्णतया क्षतिग्रस्त अवस्था देखिएको बताएका छन् । अधिकांश स्थानमा अन्धकार छाएको छ । फोन सेवा समेत ठप्प् बनेको छ । एजेन्सी

  • बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु

    बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु

    १३ कात्तिक, बैतडी । मेलौली नगरपालिका – ७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए । अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । रासस

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, के छन् एजेण्डा ?

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, के छन् एजेण्डा ?

    १३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रित रहेको जनाइएको छ ।

    आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ ।

    नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।

    यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।

    यसबीचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गतेको अन्तिम पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो ।

    रासस

  • पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभावले नेपालका अधिकांश स्थानमा वर्षा

    पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभावले नेपालका अधिकांश स्थानमा वर्षा

    १३ कात्तिक, काठमाडौं । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव परेको छ ।

    महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । महाशाखााले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने जनाएको छ । वर्षा र हिमपातको सम्भावना रहेका स्थानको यात्रा गर्ने तथा ती भेगका किसानलाई महाशाखाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

  • जितको दवावमा रहेको नेपालले लिग २ मा यूएईको सामना गर्दै

    जितको दवावमा रहेको नेपालले लिग २ मा यूएईको सामना गर्दै

    १३ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ । जारी शृंखलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए । नेपालले १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने यूएई ४ विकेटले पराजित भएको थियो । दुवै टोली शृंखलामा पहिलो जितको खोजीमा हुनेछन् ।

    यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ । लिग २ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ । स्कटल्याण्ड ३० अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै १७ खेलमा १२ अंक जोडेर नेपाल सातौं स्थानमा छ भने १७ खेलमा ६ अंकसहित यूएई पुछारमा छ ।

  • महिला फुटबल : अन्जना चम्किएको खेलमा नेपालले भारतलाई पेनाल्टीमा हरायो

    महिला फुटबल : अन्जना चम्किएको खेलमा नेपालले भारतलाई पेनाल्टीमा हरायो

    १२ कात्तिक, काठमाडौं । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा पराजित गरेको छ । सिक्किमको पाल्जोर स्टेडियममा बुधबार भएको अनअफिसियल मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३–० ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । जहाँ अन्जना राना मगर नायक बन्दै दुई पेनाल्टी बचाइन् ।

    पेनाल्टीसुटआउटमा नेपालका लागि सविता राना मगर, रश्मि कुमारी घिसिङ र निशा थोकरले गोल गरे । अनिता बस्नेतको प्रहार बाहिरिएको थियो । यस्तै भारतको दुई प्रहार नेपाली गोलकिपर अन्जना राना मगरले बचाइन् । उनले प्रियदर्शनी र अस्ताम ओरामको प्रहार बचाइन् भने सन्तोषको प्रहार बाहिरिएको थियो ।

    त्यसअघि निर्धारित समयमा भारतले पहिले अग्रता लिएको थियो । सौम्य गोगुलोथले ३०औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपालका डिफेण्डर निशा थोकरको गल्तीमा सौम्यले गोल गरेकी हुन् । तर त्यो अग्रता लामो समय भने टिकेन । नेपालका लागि रश्मि कुमारी घिसिङले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल फर्काइन् । कप्तान अनिता बस्नेतको कर्नरमा पेनाल्टी बक्समा रहेकी रश्मिले गोल गरेकी हुन् ।

    सिक्किम राज्यको ५०औं स्थापना दिवसको अवसर पारेर नेपाल र भारतको महिला टिमबीच खेल आयोजना गरिएको हो । जहाँ नेपालले दोस्रो रोजाईँका खेलाडीहरुलाई अवसर दिइएको थियो । यस्तै भारतले पनि रिजर्भ टिम र युवा खेलाडीहरुलाई खेलाएको थियो । शिलोङमा भएको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाल र भारतको टोली सिक्किम पुगेको थियो । ट्राईनेसन्स मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई २१ ले पराजित गरेको थियो ।

  • पाल्पामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    पाल्पामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    १२ कात्तिक, काठमाडौं । पाल्पामा इभी गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा ४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा वडा नं। २ सोमादीका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र वडा नं. ४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेको प्रहरीले पाल्पा प्रहरीका सूचना अधिकारी होम प्रसाद चौधरीले जानकारी दिए । रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्गमा ईभी गाडी दुर्घटना भएको थियो ।

    बुटवलबाट छहराको मेहलढापका लागि छुटेको लु प्र ०१ ००१ ज ००९१ नम्बरको ईभी गाडी बुधबार दिउँसो २ः १० बजेतिर दुर्घटना भएको थियो । मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण नखुलेपनि सवारी सडकबाट करिब तीन सय ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ ।

  • दक्षिणकाली र फर्सीडोलमा दुई जना मृत भेटिए

    दक्षिणकाली र फर्सीडोलमा दुई जना मृत भेटिए

    १२ कात्तिक, काठमाडौं । काठमाडौँ र ललितपुरमा आज दुईजना मृत भेटिएका छन् । काठमाडौँको दक्षिणकाली नगरपालिका–१ नौमूलेमा आज एक व्यक्ति मृत भेटिएका हुन् । यहाँको नौमूले कृषि फर्म तथा रेष्टुरेन्टमा कीर्तिपुर नगरपालिका–५ भण्डारीगाउँ बस्ने ४६ वर्षीय विपिन बस्नेत मृत भेटिएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार मृत्युको कारणबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    उता ललितपुर महानगरपालिका–२२ फर्सीडोल खोइचास्थित बाँसघारीमा एक पुरुष पनि आजै मृत भेटिएका प्रहरीले जनाएको छ । अन्दाजी ४०, ४२ वर्षीय पुरूष आज मृत भेटिएका र उक्त घटनाका सम्बन्धमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

    यसैबीच काठमाडौँ महानगरपालिका–१६ माछापोखरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर करिब १ ग्राम ६ सय २० मिलिग्राम र नगद २५ हजार रूपैयाँसहित काठमाडौँ नयाँ बसपार्क बस्ने काभ्रे रोशी गाउँपालिका–१० घर भएका २९ वर्षीय रामबहादुर दुलाल पक्राउ परेका छन्। प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको र सोही घटनामा अनुसन्धानका लागि अर्का एक जनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

  • चौधरी ग्रुपसँगको सहकार्यमा नेपाल भित्रियो बिकाजी, नवलपरासीमा खुल्ने भयो स्न्याक्स उद्योग

    चौधरी ग्रुपसँगको सहकार्यमा नेपाल भित्रियो बिकाजी, नवलपरासीमा खुल्ने भयो स्न्याक्स उद्योग

    १२ कात्तिक, काठमाडौं । राजनीतिक अन्यौल तथा आर्थिक चुनौतिपूर्ण वातावरणबीच चौधरी ग्रुपले वैदेशिक लगानी भित्र्याएको छ । ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेसनल सँगको सहकार्यमा वैदेशिक लगानी भित्र्याएको हो । सो लगानीबाट नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्री सञ्चालन हुने भएको छ । फ्याक्ट्रीको आज शिलान्यास गरिएको छ ।

    बुधबार आयोजित भूमिपूजन समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा प्लान्टको शिलान्यास गरेका हुन् । समारोहमा ग्रुपका अध्यक्ष विनोद चौधरीको समेत उपस्थिति थियो । हालैको जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यवसायिक प्रतिष्ठानहरूमाथि आगजनी एवं तोडफोड भएको थियो । सीजी इलेक्ट्रोनिक्सको मुख्य केन्द्रमाथि आगजनी गरेर ध्वस्त बनाइनुका साथै ग्रुपका अध्यक्ष विनोद चौधरीको निजी निवासमा पनि आगजनी गरिएको थियो ।

    उक्त घटनापछि ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले यस्ता घटनाका बाबजुत सीजीको नेपालप्रतिको प्रतिवद्धतामा कमी नआउने र आर्थिक विकासका लागि नयाँ सोचका साथ अगाडि बढ्ने संकल्प गरे । उक्त घटनाको करिव डेढ महिना बितिरहँदा चौधरीले ग्रुपले नेपालमा बहुर्राष्ट्रिय कम्पनीलाई भित्र्याएको हो ।

    बिकाजीसँगको साझेदारीमा निर्माण हुन लागेको यो फ्याक्ट्रीमार्फत भुजिया, नमकीन लगायत अन्य लोकप्रिय स्न्याक्सहरुको उत्पादन हुनेछ । यो साझेदारी नेपालको खाद्य उद्योगलाई नयाँ गतिमा अघि बढाउने, आयातमा निर्भरता घटाउने र नेपाली बजारका लागि विश्वस्तरीय उत्पादन उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

    यस प्लान्टमा पहिलो चरणमा करिब ५० करोड रूपैयाँ लगानी हुनेछ भने करिव चार सय रोजगारी सिर्जना हुनेछ । शिलान्यास समारोहमा बोल्दै प्रबन्ध निर्देशक वरुण चौधरीले भने, ‘नेपालको अर्थतन्त्रलाई नयाँ ऊर्जाको आवश्यकता रहेको समयमा हामीले नेपालमा नयाँ क्षेत्रमा लगानी गर्दैछौँ, यसले नेपालप्रति चौधरी ग्रुपको गहिरो प्रतिबद्धतालाई पुष्टि गर्दछ।’

    निराशाबाट गुज्रिरहेको नेपाली अर्थतन्त्रमा यस लगानीले नयाँ आशाको सञ्चार गर्ने विश्वास रहेको प्रवन्ध निर्देशक चौधरीले बताए । नवलपरासीसहित आसपासका ग्रामीण क्षेत्रमा औद्योगिक गतिशीलता ल्याउन यस पहलले सकारात्मक योगदान पुग्नेछ ।

    चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फुड्सका उत्पादन हाल ६३ देशहरूमा फैलिएका छन् । विश्वभर चर्चित ‘वाइ वाइ’ ब्रान्डको निर्माता सिजी फुड्सले नयाँ–नयाँ उत्पादन वर्गहरूमा विस्तार गर्दै नवप्रवर्तन, रोजगारी सिर्जना र राष्ट्रिय औद्योगिकीकरणलाई बल पुर्‍याइरहेको छ ।

  • राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने

    राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने

    १२ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    बैठकले नेपाल र मौरिसेसबीच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने, सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ हेरफेर गर्ने र स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको उनले बताए ।

    यसैगरी छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिँदै सञ्चारमन्त्री खरेलले अब अनलाइनको दर्ता र नवीकरणसम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित भएपछि लागू हुने स्पष्ट गरे । कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसियल डेभलपमेन्ट’ विषयक कार्यक्रममा सहभागी हुनेक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा यही कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमणलाई स्वीकृत गरको पनि प्रवक्ता खरेलले जानकारी दिए । रासस

  • दल, जेनजी र प्रधानमन्त्रीबीच वालुवाटारमा छलफल, के भयो कुराकानी ?

    दल, जेनजी र प्रधानमन्त्रीबीच वालुवाटारमा छलफल, के भयो कुराकानी ?

    १२ कात्तिक, काठमाडौं । जेनजी प्रतिनिधिले चुनावसँगै सरकार भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनका एजेन्डामासँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
    बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको छलफलमा चुनावसँगै भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनमा जोड दिएका हुन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार जेनजी प्रतिनिधिले चुनाव चाहिएको भए पनि चुनाव चुनाव भनेर भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनको एजेन्डा बिर्सनु नहुने बताएका हुन्।

    ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन। हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो। ‘भ्रष्टाचारविरुद्धको कारबाही हो’, जेनजी प्रतिनिधिको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको निजी सचिवालयले भनेको छ, ‘यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ।’ छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले संवादको सुरुवात भएको भन्दै सबै विचारको आदानप्रदान गर्न आग्रह गरिन् । छलफलमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइ दिँदैन। एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ। हामीले सुरुवात गरेका छौँ। आआफ्ना विचार राख्न म खुला गर्छु।’

    पहिलो पटक भएको त्रिपक्षीय छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत सहभागी थिए । छलफलमा जेनजी समूहबाट १३ जना प्रतिनिधि सहभागी भए ।

    राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले) का महेश बर्तौला, क्षितिज थेबे, नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी सहभागी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, नेकपा एकीकृत समाजवादीको तर्फबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी भए ।


    छलफलमा जेनजी प्रतिनिधिका रुपमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल, राजन रानामगर सहभागी भए । यसअघि कात्तिक ४ गते प्रधानन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो। त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच छलफल भइसकेको छ।

  • प्रतिनिधिसभा विघटन रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    प्रतिनिधिसभा विघटन रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    १२ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
    जेनजी आन्दोलनपछिको सरकार निर्माण प्रक्रिया र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको जिकिर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा १६ वटा रिट दर्ता भएका थिए । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासको सुनुवाइपछि यस्तो आदेश भएको हो ।

    निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तुसमेत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिँदा हाल निवेदन मागदाबी बमोजिम अन्तरिम आदेश जारी गरिरहनुपरेन,’ बुधाबारको सुनुवाइपछिको आदेशमा भनिएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सातदिनभित्र लिखित जवाफ मागसमेत गरिएको छ ।

    आदेशमा भनिएको छ, “आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक ७ (सात) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी प्रत्यर्थीका नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा लिखित जवाफ पर्ने अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु ।” अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । अन्तरिम सरकारका प्रधानमन्त्रीको नियुक्ति बदर, संसद् विघटन बदर एवं संसद् पुनःस्थापना गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।

    रिट निवेदन पेस गर्नेमा अधिवक्ता डा प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलसमेत, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खड्कबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, अधिवक्ता दलबहादुर धामी, प्रकाश भुजेल र विपिन ढकाल, अधिवक्ता आभास पोखरेल, ओमप्रकाश जङ्ग शाह, अधिवक्ता विमल पोखरेल, अधिवक्ता डा पुण्यप्रसाद खतिवडा र अधिवक्ता शेरबहादुर रोकाया छन् ।
    बुधबार रिट निवेदनका तर्फबाट बहस भएको थियो ।

    रिट निवेदक डा प्रेमराज सिलवाल, आयुष बडाल, वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष गोपलाकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, टीकाराम भट्टराई, डा सुरेन्द्र केसी, अधिवक्ताहरु खम्मबहादुर खाती, कृतिनाथ भट्टराई, शिव यादव, विकास भट्टराई, अनन्तराज लुइँटेललगायत बहस गरेका थिए । गत भदौ २४ गते सर्वोच्च अदालतको मूल भवन आगजनीका कारण पूर्ण रुपमा नष्ट भएपछि आजदेखि एनेक्स भवनको संवैधानिक इजलासमा उक्त रिट निवेदनको सुनुवाइ भएको हो ।

  • दुई क्रसबोर्डर प्रसारण लाइन बनाउन नेपाल–भारत लगानी सम्झौता, ६ हजार मेवा विद्युत निर्यातको क्षमता

    दुई क्रसबोर्डर प्रसारण लाइन बनाउन नेपाल–भारत लगानी सम्झौता, ६ हजार मेवा विद्युत निर्यातको क्षमता

    १२ कात्तिक, काठमाडौं । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इण्डियाले संयुक्त कम्पनी स्थापना गरी दुवै प्रसारण लाइन निर्माण गर्ने सहमति जनाएका छन्। दुवै प्रसारण लाइन सन् २०३० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ र नेपालले २५ वर्षको आईटीएसए सम्झौताअनुसार प्रसारण लाइन प्रयोग गर्नेछ।


    १२ कात्तिक, काठमाडौं । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


    सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक सुभाषकुमार मिश्र र पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जय कुमार गुप्ताले हस्ताक्षर गरे । संयुक्त लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि कम्पनी संस्थापना गर्न बाटो खुलेको छ ।

    दुई वटा अन्तरदेशीय प्रसारण लाइनको भारतीय भूभागमा पर्ने खण्ड निर्माणका लागि भारतमा स्थापना गरिने संयुक्त कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ४९ प्रतिशत र पावर ग्रिडको ५१ प्रतिशत सेयर हिस्सा रहनेछ । त्यस्तै नेपाली भूभागमा पर्ने खण्ड नेपालका लागि नेपालमा संस्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत सेयर हिस्सा रहनेछ ।

    दुई प्रसारण लाइनको निर्माणमा ८० प्रतिशत ऋण र २० प्रतिशत सेयर पूँजी रहने गरी वित्तीय व्यवस्थापन गरिनेछ । इनरुवा पूर्णिया प्रसारण लाइनको करिब २६ किलोमिटर खण्ड नेपाली र १०९ किलोमिटर खण्ड भारतीय भूभागमा पर्नेछ । लम्की बरेली प्रसारण लाइनको करिब ३३ किलोमिटर खण्ड नेपाली र १८५ किलोमिटर खण्ड भारतीय भूभागमा निर्माण हुनेछ ।

    नेपाल भारत संयुक्त प्राविधिक टोलीले सन् २०१९ मा तयार पारेको अध्ययन प्रतिवेदनअनुसार इनरुवा पूर्णिया प्रसारण लाइनको प्रारम्भिक लागत नेपाली र भारतीय खण्डको क्रमशः २ अर्ब ६५ लाख र ४ अर्ब १३ करोड भारतीय रुपैयाँ ९भारु० लाग्ने अनुमान गरिएको छ ।

    त्यस्तै लम्की बरेली प्रसारण लाइनको नेपालमा प्रारम्भिक लागत अनुमान नेपाली र भारतीय खण्डको क्रमशः २ अर्ब ५७ करोड र ६ अर्ब १४ करोड भारु रहेको छ ।प्राधिकरणले आफ्नै स्रोतबाट नेपाल र भारतमा संस्थापना हुने संयुक्त कम्पनीमा क्रमश १ अर्ब र २ अर्ब बराबरको इक्विटी लगानी गर्नेछ ।

    नेपाल र भारतबीचको विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन संयोजन एवम् सञ्चालन संयोजन सम्बन्धी सम्झौताको प्रावधनबमोजिम दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ फेब्रुवरी २०२५ मा भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकले प्रसारण लाइन निर्माण तथा सञ्चालन र लगानी मोडालिटीमा सहमति गरेको थियो ।

    त्यसपछि प्राधिकरण र पावर ग्रिडबीच विभिन्न चरणमा भएका छलफलपछि २२ अप्रिल २०२५ मा प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी संस्थापना गर्ने समझदारीपत्र ९एमओयू०मा हस्ताक्षर भएको थियो । दुवै लाइनको निर्माण सन् २०३० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    नेपाल र भारतबीच व्यापारका लागि हाल ४०० केभीको ढल्केबर–मुजफ्फरपुर पहिलो क्रस बोर्डर प्रसारण लाइन सञ्चालनमा छ । बुटवल—गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ । नेपालको चमेलियादेखि भारतको उत्तराखण्डस्थित जैलिजिवीसम्म २२० केभी प्रसारण लाइन निर्माण गर्न दुई देशबीच सहमति जुटिसकेको छ ।

    त्यस्तै, भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यसँग जोडिएका १३२, ३३ र ११ केभीका प्रसारण लाइन पनि रहेका छन् । प्राधिकरणले हाल ४०० र १३२ केभी प्रसारण लाइन संरचना प्रयोग गरी भारत एवम् बंगलादेशतर्फ विद्युत निर्यात गरिरहेको छ । नेपालले दैनिक ११ सय २५ मेगावाट विद्युत निर्यात गर्छ भने भारतको बाटो हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात हुन्छ ।

    निर्माणाधीन प्रसारण लाइन सम्पन्न भएपछि त्यसमार्फत ६ हजार मेगावाटसम्म विद्युत निर्यात हुन सक्नेछ । अघिल्लो वर्ष नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी दीर्घकालीन विद्युत व्यापार सम्झौता भएको थियो । यी प्रशारण लाइनले त्यो लक्ष्य हासिल गर्न महत्वूर्ण भूमिका निर्वाह गर्नेछन् ।

    अब दोस्रो चरणमा दुवै देशमा निर्माण हुने प्रसारण लाइन प्रयोगका लागि कार्यान्वयन तथा प्रसारण सेवा सम्झौता हुनुपर्ने छ । नेपाल र भारत दुवैतर्फको प्रसारण लाइन सम्पूर्ण रुपमा नेपाल विद्युत प्राधिकरणले नै प्रयोग गर्ने सहमति गत ९ माघमा भारतको नयाँ दिल्लीमा भएको दुई देशको ऊर्जा सम्बन्धी संयुक्त कार्यदल ९जेडब्लुजी० बैठकमा भएको थियो ।

    त्यसअनुसार यी प्रसाणलाइन प्रयोग र भाडा ९ह्विलिङ चार्ज० विद्युत प्राधिकरणले नै २५ वर्षको आईटीएसए सम्झौता गर्ने सहमति भएको थियो । तर, त्यसपछि प्रसारण लाइन कसको स्वामित्वमा आउने भन्ने विषयमा भने सहमति हुन बाँकी छ ।

    यसअघि ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनको भारततर्फको खण्ड पनि २५ वर्षपछि नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा आउने गरी सम्झौता भएको छ । तर, बुटवल गोरखपुर प्रसारण लाइनको भारततर्फको खण्डका विषयमा पछि दुई देशबीच हुने सहमतिका आधारमा हुने गरी सम्झौता भएको छ ।

    हस्ताक्षर कार्यक्रममा मन्त्री घिसिङले थप दुईवटा क्रस बोर्डर प्रसारण लाइन निर्माण अगाडि बढ्नु द्धिपक्षीय एवम् क्षेत्रीय विद्युत व्यापारका लागि अर्को महत्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गरे ।

    उनले अन्तरदेशीय प्रसारण लाइनको निर्माणबाट दुई देशबीच तथा क्षेत्रीयस्तरमा समेत नेपालमा उत्पादित विद्युत निर्यात गर्ने आधार तयार भई अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्‍याई नेपालको जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने बताए ।

    भारतीय विद्युतमन्त्री खट्टरले थप दुई वटा क्रस बोर्डर प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि नेपाल—भारतबीचको विद्युत विनिमय सारभूत रुपमा थप सुदृढ हुनुका साथै क्षेत्रीय ऊर्जा सुरक्षामा सुधार, सुदृढ ग्रिड बन्नेहुँदा यसले दुवै देशको आर्थिक वृद्धिमा योगदान पुर्‍याउने उल्लेख गरे ।

    मन्त्रिपरिषद्को ३० असोजको बैठकले प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा नेपाल तथा भारत दुवै भूमिमा दुईवटा संयुक्त कम्पनी स्थापना गर्न र उक्त कम्पनीहरूमा स्वपूँजी ९इक्विटी० लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

    कार्यक्रममा मन्त्री घिसिङले दुई वटा थप अन्तरदेशीय प्रसारण लाइनको निर्माणबाट दुई देशबीच तथा क्षेत्रीयस्तरमा समेत नेपालमा उत्पादित विद्युत निर्यात गर्ने आधार तयार भई अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्‍याइ नेपालका जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने बताए ।

    हस्ताक्षर कार्यक्रममा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो ।

  • सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

    १२ कात्तिक, काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकप्ट दुर्घटना भएको हो । ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । उनका अनुसार हेलिकप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिइन् । काठमाडौंबाट उद्धार गर्न गएको हेलिकप्टर दुर्घटना भएको हो । अहिले सो क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ ।

  • सरकार, दल र जेनजीबिच आज त्रिपक्षीय संवाद हुँदै

    सरकार, दल र जेनजीबिच आज त्रिपक्षीय संवाद हुँदै

    काठमाडौँ, कात्तिक १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गर्नुभएको छ । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सरकारको अग्रसरतामा पहिलो पटक त्रिपक्षीय संवाद हुने भएको हो ।

    प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षसँग सघन रूपमा वार्ता र छलफल गरिरहेकी छिन् । उनको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार (आज) अपराह्न ४ बजे सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबिच निर्वाचनकेन्द्रित संवाद हुने छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजीबिच संयुक्त बैठक आयोजना गरिएको बताए । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए ।

    प्रधानमन्त्री कार्कीले कात्तिक ४ गते पनि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग संवाद गरेकी थिइन् । बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण गर्न दलहरूले सरकारलाई आग्रह गरेका थिए ।

    प्रधानमन्त्री कार्कीले जेनजीका प्रतिनिधिसहित विभिन्न पक्षसँग निरन्तर संवाद गरिरहेकी छिन् । सरकारले निर्वाचनको तयारीका काम अगाडि बढाएको छ । सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको प्राविधिक तयारीबारे गृहकार्य अघि बढाएको छ । निर्वाचन आयोगले पनि आफ्नो क्षेत्राधिकारभित्रको काम आरम्भ गरिसकेको छ ।

  • प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजबाट सुनुवाइ

    प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजबाट सुनुवाइ

    काठमाडौँ, कात्तिक १२ गते । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा बुधबारदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले विशेष अवस्थामा संसद बाहिरबाट प्रधानमन्त्री नियुक्ति गरेसँगै यो मुद्दा अदालत पुगेको हो । रासस

  • दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

    दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

    भद्रपुर, १२ कात्तिक । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् । बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

  • हिमाली र उच्च पहाडी भेगमा आज पनि हिमपातको सम्भावना

    हिमाली र उच्च पहाडी भेगमा आज पनि हिमपातको सम्भावना

    १२ कात्तिक, काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
    जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
    विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने छ । ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स साना नदीनालामा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेको विभागको भनाइ छ ।

    यस्तै बागमती प्रदेशका काठमाडाँै उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने ससाना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ । सम्भावित वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव, पहिरोलगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रहरूमा प्रभाव पर्न सक्ने सम्भावना रहेको छ ।

    बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ । यसपछि चक्रवातको प्रभाव विस्तारै कमजोर हुँदै उत्तर उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भूभाग नजिक आई पूर्वतर्फ सर्ने विभागले जनाएको छ ।

  • माधव नेपालका सबै सुरक्षाकर्मी किन गरियो फिर्ता ?

    माधव नेपालका सबै सुरक्षाकर्मी किन गरियो फिर्ता ?

    ११ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको छ । अध्यक्ष नेपालको पतञ्जली जग्गा हिनामिनामा प्रकरणमा भ्रष्टाचार मुद्दा विचाराधीन छ । गृह मन्त्रालय स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीका हैसियतमा उनलाई दिइएका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको हो ।

    नेपालले आफूलाई सुरक्षा थ्रेटको महसुस गरेमा मन्त्रालयमा निवेदन दिन सकिने गृह मन्त्रालय स्रोतले बताएको छ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

  • सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफलको तयारी

    सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफलको तयारी

    ११ कात्तिक, काठमाडौं । निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको बताए । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए । यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सबैपक्ष सकारात्मक भएका थिए ।

    यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको भनाइ छ । निर्वाचनको तयारीस्वरुप सरकारले सबैखाले काम अगाडि बढाएको मन्त्री खरेलले बताए । सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ । सोहीअनुसार आयोग निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ ।

  • एमाले नेता तथा व्यवसायी भट्टचन पक्राउ, कारण के हो ?

    एमाले नेता तथा व्यवसायी भट्टचन पक्राउ, कारण के हो ?

    ११ कात्तिक, काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । व्यवसायी समेत रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । उनलाई प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा पक्राउ गरिएको प्रहरी स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले पुष्टी गरेका छन् ।

    उनी प्रभु ग्रुपका अध्यक्ष समेत हुन् । भट्टचनविरुद्ध यसअघि नै उजरी समेत परेको थियो । उनी सहकारी ठगी प्रकरणमा पनि मुछिएका थिए । भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै जाहेरी दिएकी थिइन् । तर, उक्त जाहेरी लामो समय प्रहरी कार्यालयमा अलपत्र परेको थियो ।

  • हिमपातपछि तिलिचो वेक्याम्पमा फसेका ७५० जना पर्यटकको उद्धार

    हिमपातपछि तिलिचो वेक्याम्पमा फसेका ७५० जना पर्यटकको उद्धार

    ११ कात्तिक, काठमाडौं । हिमाली जिल्लामा हिमपातमा फसेका ७ सयभन्दा बढी पर्यटकहरूको उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ती पर्यटकहरूको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र ७५० जना पर्यटकलाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याएको थापाले बताए ।

    अन्य ५० जनालाई तिलिचो बेस क्याम्पमा सुरक्षितसाथ राखिएको छ । मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए । यसैबीच, तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर बेहोस भएका काठमाडौं महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको छ । सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिम समेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकको उद्धारमा सहजता भएको जनाइएको छ ।